कष्टहरू परमेश्‍वरका आशिष्‌ हुन्

21 अक्टोबर 2021

वाङ ग्याङ, चीन

सन् २००८ को हिउँदेयामको एउटा मध्याह्न, दुईजना दिदीहरू र म आखिरी दिनहरूमा परमेश्‍वरले गर्नुभएको कामको बारेमा एकजना सुसमाचार लक्षित व्यक्तिलाई गवाही दिँदै थियौँ, तब दुष्ट मानिसहरूले त्यसको उजुरी गरेछन्। छ जना प्रहरीहरू हाम्रो आवास अनुमतिपत्र जाँच गर्ने बहाना गर्दै हामीले सुसमाचार सुनाउँदै गरेको व्यक्तिको घरमा एक्‍कासी प्रवेश गरे। ढोकाबाट प्रवेश गर्नेबित्तिकै तिनीहरू गर्जेः “हलचल नगर!” दुईजना प्रहरीहरू ममाथि झम्टिँदा तिनीहरू पूरै मगज खुस्केका जस्ता देखिन्थे; एउटाले मेरो छातीको लुगा समात्यो र अर्कोले मेरा पाखुराहरू समातेर भएभरको बल लगाई ढाडपछाडि लगेर कस्यो र डरलाग्दो गरी सोध्योः “तँ के गर्दैछस्? तेरो नाउँ के हो? तँ कहाँको होस्?” मैले प्रत्युत्तरमा सोधेँ: “तपाईंहरू को हुनुहुन्छ? तपाईंहरूले केको निम्ति मलाई पक्राउ गर्दै हुनुहुन्छ?” मैले यसो भनेको सुनेपछि, तिनीहरू साँच्‍चै रिसाए र आक्रामक ढङ्गले सोधेः “कारण के हो जरुरी छैन, हामीले खोजिरहेको तैँ होस् र तँ हामीसित जानुपर्छ!” त्यसपछि, ती प्रहरीहरूले म र दुईजना दिदीहरूलाई लगेर प्रहरीको गाडीभित्र धकेले।

हामी सार्वजनिक सुरक्षा ब्युरोमा पुगेपछि, ती प्रहरीहरूले मलाई लगेर सानो कोठामा बन्द गरे; तिनीहरूले मलाई भुईंमा झुक्‍न आदेश दिए र मेरो निगरानी गर्न चारजनाको व्यवस्था गरे। म लामो समयसम्म टुक्रुक्‍क बसेको कारण म यति थाकेँ कि मैले त्यो सहनै सकिनँ। मैले उभिने कोशिश गर्दा तिनीहरू हतपत दौडेर आउँथे र मेरो शिरलाई तल झुकाएर मलाई उभिनदेखि रोक्थे। केही समय नबित्दै, मैले अर्को कोठामा कसैलाई यातना दिइएको कहालीलाग्दो चित्कार सुनेँ र त्यस क्षण, म साह्रै डराएँ: तिनीहरूले मेरो पालोमा कस्तो प्रकारको यातना दिनेछन् मलाई थाहा थिएन! मैले आफ्नो हृदयमा परमेश्‍वरसित तुरुन्तै प्रार्थना गर्न थालेँ: “हे सर्वशक्तिमान् परमेश्‍वर, म अहिले अति नै डराएको छु, कृपया मलाई विश्‍वास र शक्ति दिनुहोस् र मलाई दृढ र साहसी बनाउनुहोस्। म तपाईंको साक्षी भएर खडा हुन इच्छुक छु। मैले तिनीहरूको निर्दयी यातना सहन सकिनँ भने यहूदाले जस्तो तपाईंलाई विश्‍वासघात गर्नुभन्दा म बरु आफ्नो जिब्रो टोकेर आत्महत्या गर्नेछु!” प्रार्थनापछि, मैले आफूभित्र शक्ति उदय भएको अनुभव गरेँ र मेरो डर साम्य भयो।

त्यस साँझ सात बजेपछि, तिनीहरूले मेरा पाखुराहरूलाई पछाडि ढाडमा कसेर हथकडी लगाए, मलाई माथिल्लो तल्लाको सोधपुछ कक्षमा लगे अनि भुईंमा जोडसँग घच्याए। त्यहाँ यातना दिने हरप्रकारका साधनहरू थिए, जस्तै डोरी, काठका लठ्ठीहरू, छडीहरू, कोर्रा इत्यादि। एउटा प्रहरीले विद्युतीय छडी हातमा लियो जसले विचित्रको पड्किने आवाजहरू निकाल्थ्यो र उसले धम्कीपूर्ण शैलीमा जानकारी माग्यो, “तिमीहरूको मण्डलीमा कति मानिसहरू छन्? तिमीहरूको बैठक गर्ने ठाउँ कहाँ छ? त्यहाँको सञ्‍चालक को छ? त्यस क्षेत्रमा कति जना मानिसहरूले सुसमाचार प्रचार गरिरहेका छन्? बोल्! नत्रभने, तैँले भेट्लास् अब!” मैले विद्युतीय छडीको खतरा नजिकिँदै गरेको देखेँ र यातना दिने साधनहरूले कोठा भरिएको देखेँ; म व्याकुल र भयभीत नभई रहन सकिनँ। मलाई यो यातनामाथि विजयी हुन सकिएला कि नसकिएला थाहा थिएन, त्यसैले मैले परमेश्‍वरलाई पुकार्दै रहेँ। मैले केही नभनेको देखेर, ऊ अलमलमा पर्यो र उसले हिंस्रक रूपले मेरो छातीको बायाँ भागमा विद्युतीय छडीले घोच्यो। उसले झण्डै एक मिनेटसम्म मलाई झट्का दियो। मैले तुरुन्तै मेरो शरीरको रगत उम्लेको अनुभव गरेँ; म शिरदेखि खुट्टासम्मै असहनीय पीडामा थिएँ र भुईंमा निरन्तर चिच्याउँदै लडीबडी गरेँ। उसले अझै मलाई छोडेन र एक्‍कासी उसले मलाई घिसार्दै उठायो र चिउँडोमा छडी राखेर मेरो शिरलाई उठायो र चिच्यायोः “बोल्! के तँ केही पनि स्वीकार गर्दैनस्?” यी दुष्टात्माहरूको उन्मादी यातना सामना गर्दा म डराएको एउटै कुरा भनको मैले तिनीहरूको यातना सहन नसकूँला र परमेश्‍वरलाई विश्‍वासघात गर्न पुगुँला भन्‍ने थियो, अनि मैले आफ्नो हृदयमा बडो हताश भएर परमेश्‍वरसित प्रार्थना गरेँ। यस समय, मैले परमेश्‍वरका वचनहरूको बारेमा सोचेँ, “सत्तामा हुनेहरू बाहिरबाट द्वेषपूर्ण देखिन सक्छन्, तर नडराऊ, किनकि तिनीहरूसित थोरै विश्‍वास छ। जहिलेसम्म तिमीहरूको विश्‍वास बढ्छ, कुनै पनि कुरा अति कठिन हुनेछैन” (वचन देहमा देखा पर्नुहुन्छको, प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरूको “अध्याय ७५”)। परमेश्‍वरका वचनहरूले मलाई फेरि विश्‍वास र शक्ति दिए र मेरो सामु रहेका दुष्ट प्रहरीहरू सन्की र बेलगाम भए पनि तिनीहरू परमेश्‍वरद्वारा नै बन्दोबस्त गरिएको कुरा मैले पहिचान गरेँ। परमेश्‍वरको अनुमतिविना तिनीहरूले मलाई मार्न सक्दैनथे। जबसम्म म विश्‍वासमा अडेस लगाउँछु र परमेश्‍वरमाथि भर पर्छु अनि तिनीहरूसित हार मान्दिनँ, तिनीहरू अपमानित भएर लड्नेछन् भन्‍ने कुरा अवश्यम्भावी छ। यो सोचेर, मैले मेरो सम्पूर्ण शक्ति लगाएर ठूलो सोरमा जवाफ दिएँ: “तपाईंहरूले मलाई किन यहाँ ल्याएको? किन तपाईंहरू मलाई विद्युतीय छडीले प्रहार गर्दै हुनहुन्छ? मैले के अपराध गरेको छु?” एक्‍कासी दुष्ट प्रहरी गाडीको उज्यालोमा मृग अत्तालिएजस्तो भयो र ग्लानिले झुक्यो। ऊ भक्भकायो र केही बोल्न सकेन। त्यसपछि, तिनीहरू लुरुक्‍क पर्दै निस्किए। शैतानको द्विविधाको लज्‍जाजनक अवस्था देखेर मेरो आँखामा आँशु आयो। यो दुर्दशामा मैले साँच्‍चै सर्वशक्तिमान् परमेश्‍वरका वचनहरूको शक्ति र अख्तियार अनुभव गरेँ। जबसम्म मैले परमेश्‍वरको वचनलाई अभ्यास गरेँ, तबसम्म मैले परमेश्‍वरका कार्यहरू अनुभव गरेँ। पाँच छ मिनेटपछि दुईजना प्रहरीहरू भित्र आए, तर यस समय तिनीहरूले अर्को युक्ति लगाउने प्रयास गरे। एउटा दुब्लो अधिकारीले मलाई स्‍नेहपूर्वक भन्यो, “हामीलाई अलिकति साथ देऊ। हाम्रा उत्तरहरू देऊ, नत्रभने हामी तिमीलाई जान दिन सक्‍नेछैनौ”। मैले एक शब्द पनि बोलिनँ, उसले मलाई हस्ताक्षर गराउनको निम्ति एक टुक्रा कागज ल्यायो। त्यसमा, “श्रमद्वारा पुनर्शिक्षा” लेखिएको देखेर मैले इन्कार गरेँ। अर्को अधिकारीले मेरो बायाँ कानमा डरलाग्दो झापड हान्यो र यसको प्रहारले मलाई झण्डै ढोकासम्मै पुर्‍यायो। मेरो कान केही समयसम्म बजिरहेको थियो र स्पष्टसित सुन्‍न मलाई केही समय लागेको थियो। तिनीहरूले मलाई फेरि हथकडी लगाए र त्यस सानो कोठामा बन्द गरिदिए।

त्यो सानो कोठामा फर्कँदा, म चोटैचोट र घावैघाउले भरिएको थिएँ र पीडा असहनीय थियो। मैले हृदयभित्र उदास र कमजोर अनुभव नगरीरहन सकिनँ: मैले राम्रो अभिप्राय राखेर सुसमाचार प्रचार गरेँ, मैले मानिसहरूलाई मुक्तिदाता आउनुभएको छ, र तिनीहरू हतारिनुपर्छ र सत्यतालाई पछ्याएर मुक्ति पाउनुपर्छ भनी बताएँ, तर मैले अनपेक्षित रूपमा यो कष्ट सहेको छु। यसबारेमा सोच्दा, मैले झन् धेरै आफूलाई अन्याय भएको अनुभव गरेँ। अनि मैले प्रार्थनामा परमेश्‍वरलाई पुकारेँ, “हे परमेश्‍वर, मेरो कद अति सानो छ र म धेरै कमजोर छु। परमेश्‍वर, म तपाईंमा आड लिन चाहन्छु र तपाईंको निम्ति गवाही भएर खडा हुन चाहन्छु। कृपया, मलाई मार्गदर्शन गर्नुहोस्।” त्यसपछि, मैले परमेश्‍वरका वचनहरूको एउटा भजनको बारेमा विचार गरेँ: “निराश नबन्, कमजोर नबन्, अनि म तेरो लागि सबै कुरो स्पष्ट बनाउनेछु। राज्यमा पुग्‍ने मार्ग सहज छैन; कुनै पनि कुरो त्यति साधारण छैन! तिमीहरूकहाँ आशिष सहजै आएको नै तिमीहरू चाहन्छौ। आज सबैले कठिन परीक्षाको सामना गर्नु पर्नेछ। यस्तो परीक्षाविना मेरो निम्ति तिमीहरूसँग भएको प्रेम बलियो हुन सक्दैन अनि तिमीहरूमा मेरो निम्ति साँचो प्रेम हुनेछैन। यस्ता परीक्षाहरू स-साना परिस्थितिहरूले भरिएका भए तापनि सबैले यसबाट पार भएर नै जानुपर्नेछ, केवल परीक्षाको कठिनाइ व्यक्ति अनुरूप फरक हुनेगर्छ। परीक्षाहरू मैले दिएका आशिषहरू हुन्, अनि तिमीहरूमध्ये कति जना मकहाँ बारम्बार आएर मेरो आशीर्वादको निम्ति घुँड़ा टेकेर प्रार्थना गर्छौ? तिमीहरू सधैँ यो सोच्छौ कि केही ठूलठूला शब्दहरू मेरा आशीर्वादहरू हुन्। तरै पनि तिक्तता पनि आशीर्वादहरू हुन् भन्ने तिमीहरू जान्दैनौ” (थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्को “परीक्षाको पीडा त परमेश्‍वरको आशिष्‌ हो”)। परमेश्‍वरका वचनहरूबाट मैले बुझेँ कि यो सतावट र कठिनाइको सामना गर्नुपर्ने कारण उहाँले हाम्रो विश्‍वास र प्रेमलाई सिद्ध गर्न सक्‍नुहोस् भन्‍नका लागि हो। त्यो वातावरण परमेश्‍वरको आशिष्‌ थियो। मैले कसरी परेमश्‍वरलाई गुनासो गर्न र दोष लगाउन सक्थेँ र? म पक्राउ र प्रताडित त भएँ तर अग्‍निपरीक्षाको त्यो पूरै अवधिमा परमेश्‍वरले मलाई उहाँका वचनहरूद्वारा मार्गदर्शन गर्दै हुनुहुन्थ्यो; यो परमेश्‍वरको प्रेम थियो। मैले आफ्नो हृदयमा त्यो भजन गाएँ र जति लामो समय त्यो भजन गाएँ, त्यति नै बढी मैले शक्ति पाएको अनुभव गरेँ। यसले मेरो विश्‍वासलाई पनि पुनर्स्थापित गर्यो, अनि मैले परमेश्‍वरसित शपथ खाएँ: “परमेश्‍वर, प्रहरीले मलाई जतिसुकै यातना दिए पनि, म गवाही भएर खडा हुने र तपाईंलाई कहिल्यै विश्‍वासघात नगर्ने चाहना गर्छु। म तपाईंलाई अन्त्यसम्म पछ्याउन दृढ़ छु।” 

बन्दीगृहमा, प्रहरीहरूले ममाथि हरप्रकारका यातनाका विधिहरू प्रयोग गर्न जारी राखे र मलाई पिट्न बारम्बार कैदीहरूलाई भड्काए। हिउँदको ठिर्‍याउने चिसोमा, तिनीहरूले कैदीहरूलाई ममाथि बाल्टिनका बाल्टिन चिसो पानी खन्याउन अह्राउँथेँ र मलाई चिसो पानीले नुहाउन बाध्य पार्थे। म शिरदेखि पैतालासम्मै चिसोले कामिरहेको हुन्थेँ। मुटुको धड्कन बढ्ने र पसिना छुट्ने अनुभव गर्दै, मेरो हृदय यति दुख्थ्यो कि मेरो ढाड पनि सँगसँगै दुख्‍न थाल्थ्यो। त्यहाँका कैदीहरू चिनियाँ कम्युनिष्ट पार्टीका निम्ति पैसा कमाउने मेशिनहरू थिए र तिनीहरूसित कुनै कानूनी अधिकार थिएन। अरूले निचोर्दा र दास झैँ फाइदा उठाउँदा सहनुबाहेक तिनीहरूसित कुनै विकल्प थिएन। दिनमा, कैदखानाका पहरेदारहरूले मलाई कागजको पैसा छाप्‍न दबाब दिन्थे जुन मरेकाहरूको लागि होमबलिको रूपमा प्रयोग गरिन्थ्यो। पहिला, मैले दिनमा १,००० कागजका टुक्राहरू छाप्‍नुपर्छ भनी तिनीहरूले नियम बनाए, त्यसपछि तिनीहरूले त्यसलाई बढाएर दिनमा १,८०० टुक्राहरू बनाए, अनि अन्त्यमा ३,००० टुक्राहरू पुर्‍याए। यो संख्या पूरा गर्न एउटा अनुभवी व्यक्तिको निम्ति पनि असम्भव थियो, मजस्तो अनुभवहीनको निम्ति त झन् परको कुरा थियो। वास्तवमा, मैले त्यसलाई पूरा गर्न नसकोस् भनेर नै तिनीहरूले जानीजानी त्यसो गरेका थिए ताकि तिनीहरूसित मलाई यातना दिने र जथाभाबी गर्ने बहाना होस्। जहिलेसम्म मैले त्यो तोकिएको संख्या पूरा गर्दिनथेँ, तहिलेसम्म ती दुष्ट प्रहरीहरूले मेरो खुट्टाको वरिपरि ५ किलोको नेल राख्थे र मेरो हात-खुट्टालाई साङ्लाले बाँध्थेँ। मैले गर्न सक्‍ने कुरा भनेको हलचल नगरी त्यहाँ बस्‍नु, शिर निहुराउनु र ढाड खुम्च्याउनु मात्र हुन्थ्यो। योभन्दा घिनलाग्दो कुरा, यी अमानवीय तथा भावनाहीन प्रहरीहरूले मेरो आधारभूत आवश्यकताहरूको बारेमा सोध्‍ने वा वास्ता गर्ने काम गर्दैनथे। जेलको कोठामा शौचालय भए पनि, म त्यहाँ जान र त्यसलाई प्रयोग गर्न पूर्ण रूपले असक्षम थिएँ; मैले मेरा सङ्गी—कैदीहरूलाई मलाई उचालेर शौचालयसम्म पुर्‍याइदिन बिन्ती मात्र गर्न सक्थेँ। यदि तिनीहरू अलिकति मात्र राम्रा कैदीहरू भएका भए तिनीहरूले तानेर सहायता गर्थे; यदि कसैले सहायता नगरेको खण्डमा, दिशापिसाब रोक्‍नुबाहेक मसित अरू कुनै उपाय हुँदैनथ्यो। सबैभन्दा पीडादायी समय खाना खाने समयमा हुन्थ्यो किनकि मेरा हात र खुट्टामा हथकडी लगाइएको हुन्थ्यो। मैले मेरो भएभरको बलले शिर निहुराउन अनि मेरा हात र खुट्टा उठाउन मात्र सक्थेँ। यही एउटा तरिकाले मात्रै मैले बफ्याइएको रोटी मेरो मुखमा हाल्न सक्थेँ। मेरो हरेक गाँसको लागि मैले ठूलो मात्रामा शक्ति खर्च गर्नुपर्थ्यो। मेरो हात-खुट्टामा साङ्लाहरू रगडिन्थे र धेरै पीडा हुन्थ्यो। लामो समयपछि, मेरा नाडीहरू र गोलीगाँठोहरूको छालामा कालो र चमकदार ठेला उठे। मलाई ताल्चा मारिएको बेला प्रायः म खाना खान सक्दिनथेँ, अनि विरलै मात्र, कैदीहरूले मलाई दुईवटा साना बफ्याइएका रोटीहरू दिन्थे। अधिकांश समय, तिनीहरूले मेरो सबै भाग खाइदिन्थे र मैले पाउने रित्तो पेट मात्रै हुन्थ्यो। मैले पिउने कुरा त अझ थोरै मात्रै पाउँथेँ; सुरुमा सबैलाई हरेक दिन दुई कचौरा पानी मात्र दिइन्थ्यो, तर मलाई ताल्चा मारिएको र हलचल गर्न नसकेको कारणले मैले विरलै मात्र पानी पिउन सक्थेँ। मलाई चारपल्ट त्यस प्रकारको अमानवीय यातना दिइयो जुन कूल दश दिनसम्म रह्यो। त्यस्तो अवस्थामा पनि ती प्रहरीहरूले मलाई रातको समयमा काम गर्न लगा। मैले भरपेट खाना नखाएको लामो समय बितिसकेको थियो; मेरो भोकले प्रायः मलाई धड्कन बढ्ने, अरुचि, छातीमा कडापन हुन्थ्यो। म हाड र छालामा परिवर्तन भइसकेको थिएँ। जब मेरो भोक मैले साँच्‍चै सहनै नसक्‍ने हदसम्म पुग्यो, तब प्रभु येशूले परिक्षाको माझमा शैतानलाई प्रत्युत्तर दिनुभएको बारेमा सोचँ: “मानिस रोटीले मात्र होइन, तर परमेश्‍वरको मुखबाट निस्केको हरेक वचनले बाँच्‍नेछ” (मत्ती४:४)। यसले मलाई राहत अनुभूति गरायो, अनि शैतानले मलाई दिएको सतावटमा परमेश्‍वरका ती वचनहरूलाई व्यक्तिगत रूपले अनुभव गर्न म तयार भएँ। मैले प्रार्थना गर्न र उहाँको वचनहरू मनन गर्न आफैलाई परमेश्‍वरको सामु शान्त गराएँ, अनि मैले थाहा पाउनुअघि नै, मेरो पीडा र भोक शान्त भइसकेको थियो। एकचोटि एउटा कैदीले मलाई भन्योः “एउटा जवान मान्छे यसअघि यसरी नै हथकडीमा थियो र ऊ भोकभोकै पर्‍यो। मैले देखेको छु, तिमीले धेरै दिनहरूसम्म खाएको छैनौ, र पनि तिमी अझै त्यस्तो प्रफुल्ल मुद्रामा छौ।” उसका शब्दहरू सुनेर, मैले शान्तपूर्वक परमेश्‍वरलाई धन्यवाद चढाएँ। मैले यो परमेश्‍वरका वचनहरूमा भएको जीवन शक्ति हो जसले मलाई आड दिइरहेको छ भनी महसुस गरेँ। यसले मलाई परमेश्‍वरको वचन सत्य, बाटो र जीवन हो र निश्‍चय नै मैले बाँच्नको निम्ति म भर पर्नुपर्ने आधार पनि हो भन्‍ने अनुभव गरायो। त्यसकारण, परमेश्‍वरमा मेरो विश्‍वास अचेत रूपले बढ्यो। कष्टको यस वातावरणमा मैले सत्यताको वास्तविकतालाई साँच्‍चै अनुभव गर्न सकेँ: “मानिस रोटीले मात्र होइन, तर परमेश्‍वरको मुखबाट निस्केको हरेक वचनले बाँच्‍नेछ।” यो साँच्‍चै परमेश्‍वरले मलाई दिनुभएको जीवनको सबैभन्दा बहुमूल्य सम्पत्ति हो, र यो मेरो अद्वितीय उपहार पनि हो। खाना वा कपडाको चिन्ता गर्नु नपर्ने वातावरणमा मैले यो कहिल्यै प्राप्त गर्न सक्दिनथेँ। यो कष्टको कति धेरै अर्थ र मूल्य छ!

सतावट र यातनाको अनुभवले कम्युनिष्ट पार्टीको निम्ति मेरो हृदयमा भएको घृणालाई अझ तीव्र पार्‍यो। अरू केही नभई परमेश्‍वरलाई विश्‍वास गरेकै कारण मलाई पक्राउ गरियो र हरप्रकारको यातना दिइयो। यो अमानवीय दुर्व्यवहार थियो; यो पूर्ण रूपले दुष्ट कार्य थियो! मैले पहिले पढेको परमेश्‍वरका वचनहरूको एउटा खण्डको बारेमा मैले विचार गरेँ: “गहिराइको अनुहार अस्तव्यस्त र अँध्यारो छ, जबकि यस्तो पीडा भोग्ने आम जनताले स्वर्गसँग पुकारा गर्छ र पृथ्वीसँग गुनासो गर्छ। मानिसले कहिले आफ्नो शिर ठाडो गर्न सक्‍नेछ? मानिस दुब्लो र पातलो छ, ऊ यो क्रूर र निरङ्कुश शैतानसँग कसरी लड्न सक्छ? किन उसले सकेसम्म चाँडो परमेश्‍वरलाई आफ्नो जीवन दिन सक्दैन? ऊ किन अझै पनि डगमगाउँछ? उसले परमेश्‍वरको काम कहिले समाप्त गर्न सक्छ? त्यसरी, उद्देश्यहीन रूपमा धम्काइए पनि र थिचोमिचो गरिए पनि, उसको सम्पूर्ण जीवन अन्ततः व्यर्थमा व्यतीत हुनेछ; ऊ पुग्न किन हतार गर्छ, र प्रस्थान गर्न किन त्यत्ति हतार गर्छ? किन उसले परमेश्‍वरलाई दिन मूल्यवान्‌ थोकहरू राख्दैन? के उसले घृणाको सहस्राब्दीलाई बिर्सेको छ?” (वचन देहमा देखा पर्नुहुन्छको “काम र प्रवेश (८)”)। यो अनुभवले मलाई परमेश्‍वरको शत्रुको रूपमा, सत्यताको शत्रुको रूपमा कम्युनिष्ट पार्टीको साँचो सार देखायो। यसले मलाई परमेश्‍वरको निम्ति गवाही भएर खडा हुने मेरो सङ्कल्पलाई मजबुत बनायो।

एक महिनापछि, चीनियाँ कम्युनिष्ट प्रहरीले ममाथि “समाजको सुव्यवस्थालाई खलल पुर्याएको अनि कानूनको कार्यान्वयनलाई बरबाद गरेको” निराधार अभियोग लगायो, अनि मलाई एक वर्षको निम्ति श्रमद्वारा सुधारको सजाय दिइयो। श्रम शिविर प्रवेश गर्नेबित्तिकै, प्रहरी अधिकारीहरूले मलाई हरेक दिन काम गर्न बाध्य गरे। जब म कार्याशालामा झोलाहरू गन्‍न काम गरिरकेको थिएँ, म १०० वटा झोलाहरू गनेर त्यसलाई सँगै बाँध्दथे। कैदीहरू सँधै जानीजानी आउँथे अनि मैले गनिसकेकोबाट एउटा वा केही झोलाहरू लान्थे, त्यसपछि मैले राम्रोसित गनेको छैन भनी भन्थे अनि मलाई मुक्‍का र लात्ती हान्‍न अवसरको रूपमा त्यसलाई लिन्थे। जब टोलीका कप्तानले मलाई पिटिएको देख्थे, तब तिनी आउँथे र के भइरहेको छ भनी मलाई कपटपूर्ण ढङ्गले सोध्दथे अनि कैदीहरूले मैले पर्याप्त झोलाहरू गनिरहेको छैनँ भनी गलत प्रमाणहरू प्रस्तुत गर्थे। त्यसपछि, मैले टोली प्रमुखबाट निष्ठुर आलोचनाको गोलाबारी सहनुपथ्र्यो। जब जब मैले अन्याय अनुभव गरेँ र म पीडामा हुन्थेँ, तब तब काम गर्दै म परमेश्‍वरका वचनहरूको एउटा भजन गाउँथेँ: “यी आखिरी दिनहरूमा तिमीहरूले परमेश्‍वरको गवाही दिनैपर्छ। तिमीहरूका दु:ख-कष्टहरू जतिसुकै ठूलो भए पनि तिमीहरू अन्त्यसम्मै हिँड्नुपर्छ, र तिमीहरूको अन्तिम सासमा पनि तिमीहरू परमेश्‍वरप्रति र परमेश्‍वरको कृपामा विश्‍वासयोग्य रहनुपर्छ; केवल यो मात्रै परमेश्‍वरलाई साँचो रूपले प्रेम गर्नु हो, र यो मात्र बलियो र जोडदार गवाही हो” (थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्को “तिम्रो कष्ट जति ठूलो भए पनि परमेश्‍वरलाई प्रेम गर्ने प्रयास गर”)। गीत गाउँदा गाउँदै, मैले भावुक र प्रेरित भएको अनुभव गर्दै रहेँ, अनि मेरा गालाहरूबाट भएर बगिरहेका आँशुका धाराहरूलाई मैले रोक्‍न सकिनँ। मैले जतिसुकै कष्ट सहनुपरेतापनि, म परमेश्‍वरको निम्ति गवाही भएर खडा रहनेछु भनेर मैले सङ्कल्प गरेँ। मेरै उमेर जतिको एउटा अर्को भाइ थियो जो त्यस समयमा संयोगले मसितै थुनामा परेको थियो। दिनको समयमा जब हामी काम गरिरहेका हुन्थ्यौँ, तब हामी कुरा गर्न पाउँदैनथ्यौँ तर रातको समयमा हामी गोप्य रीतिले हामीले सम्झना गरेका परमेश्‍वरका वचनहरू र भजनहरू लेखेर एक अर्कालाई आदानप्रदान गथ्र्यौं। केही समयपछि हामीलाई सँगै काम गर्न खटाइयो, त्यसैले हामी अति शान्तपूर्वक सङ्गतिमा सहभागी हुन्थ्यौँ, यस क्रममा एक अर्कालाई सहायता र उत्साह दिन्थ्यौँ। यसले साँच्‍चै कष्टलाई हल्का गर्न सहायता गर्यो।

यसबाहेक, मलाई हरेक बिहान “आचरणका नियमहरू” कण्ठ गर्न बाध्य गरिन्थ्यो र त्यसलाई कण्ठ नगरेमा मलाई पिटिन्थ्यो; तिनीहरूले मलाई कम्युनिष्ट पार्टीको गुणगान गाउने गीतहरू पनि गाउन बाध्य पार्थे। मैले नगाएको वा मेरा ओठहरू नचलेको देखेमा तिनीहरूले राति मलाई नपिटी छोड्दैनथे। तिनीहरूले मलाई भुइँ पुछ्ने दण्ड पनि दिन्थे, र मैले तिनीहरूको अपेक्षाअनुरूप भुइँ नपुछ्दा मलाई डरलाग्दो गरी पिट्थे। एकचोटि, केही कैदीहरूले एक्‍कासी मलाई हिर्काउन र लात्ती हान्‍न थाले। मलाई पिटेपछि, तिनीहरूले मलाई सोधेः “केटा, तँलाई किन पिटिँदैछ, थाहा छ? किनभने जेलको हाकिम आउनुहुँदा तैँले उठेर अभिवादन गरिनस्।” हरेकपल्ट पिटिँदा, मलाई रिस उठ्थ्यो तर मैले केही भन्‍न सक्दिनथेँ। म रुन र शान्तपूर्वक प्रभुलाई प्रार्थना गरी मेरो हृदयमा भएको आक्रोश र दुःख पोख्‍न मात्र सक्थेँ। त्यस अराजक, अविवेकी ठाउँमा विवेकपूर्ण कुनै कुरा थिएन, त्यहाँ केवल हिँसा थियो। त्यहाँ मानिसहरू थिएनन्, त्यहाँ केवल विक्षिप्त दुष्टात्माहरू थिए! मैले हरेक दिन यो अवस्थामा बाँचेर धेरै पीडा र दबाब अनुभव गरेँ; म एक मिनेटभन्दा बढी रहन पनि इच्छुक थिइनँ। हरेक समय, म कमजोरी र पीडाको अवस्थामा हुँदा म सर्वशक्तिमान् परमेश्‍वरका वचनहरूको बारेमा सोच्थेँ: “के तिमीहरूलाई दिइएको आशिषहरूलाई तिमीहरूले कहिल्यै स्वीकार गरेका छौ? के तिमीहरूका निम्ति गरिएका प्रतिज्ञाहरूलाई तिमीहरूले कहिल्यै खोजी गरेका छौ? मेरो ज्योतिको अगुवाइमा, तिमीहरूले अवश्य नै अन्धकारको शक्तिको पकडलाई तोड्नेछौ। अन्धकारको बीचमा तिमीहरूलाई अगुवाइ गर्ने ज्योतिलाई तिमीहरूले अवश्य नै गुमाउनेछैनौ। तिमीहरू अवश्य नै सारा सृष्टिका मालिक बन्‍नेछौ। तिमीहरू अवश्य नै शैतानको अघि विजय बन्‍नेछौ। ठूलो रातो अजिङ्गरको पतनमा तिमीहरू अवश्य नै मेरो विजयको साक्षी बन्‍नका लागि धेरै भीडहरूका बीचमा खडा हुनेछौ। सिनिमको देशमा तिमीहरू अवश्य नै दह्रिलो गरी र अटल रूपमा खडा हुनेछौ। तिमीहरूले सामना गरेका कष्टहरूद्वारा, तिमीहरू मेरा आशिषहरूका उत्तराधिकारी हुनेछौ, र अवश्य नै सम्पूर्ण ब्रह्माण्डमा मेरो महिमालाई चम्काउनेछौ” (वचन देहमा देखा पर्नुहुन्छको, सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरूको “अध्याय १९”)। परमेश्‍वरका वचनहरूले मलाई उत्साह दियो। परमेश्‍वरले मभित्र गर्नुभएको सबै कुरा मेरो भरणपोषण र मेरो मुक्तिको निम्ति थियो भनी मैले बुझेँ; यो मभित्र सत्यता हाल्न र सत्यतालाई मेरो जीवन बनाउनका निम्ति थियो। परमेश्‍वरले ममाथि सतावट र संकष्ट आउन दिनुभयो, र शारीरिक रूपले मैले धेरै कष्ट सहनु परे पनि, यसले मलाई स्पष्ट रूपले ठूलो रातो अजिङ्गरको परमेश्‍वरलाई विरोध र घृणा गर्ने दुष्ट सार देख्‍न, त्यसलाई घृणा र परित्याग गर्न, शैतानको प्रभावबाट पूर्ण रूपले उम्किन र पूर्ण रूपले परमेश्‍वरमा फर्केर परमेश्‍वरद्वारा विजेता बनाइन सक्षम तुल्यायो। यसले मलाई परमेश्‍वर मेरो साथमा हुनुहुन्छ भनी साँचो अनुभव पनि गरायो; यसले कदम-कदममा मलाई यस अन्धकारपूर्ण नरकको दुलोबाट पार गराउन परमेश्‍वरका वचनहरू मेरो जीवनको रोटी र खुट्टाको बत्ती र मेरो बाटोको उज्यालो बन्दा त्यसको आनन्‍द लिन मलाई सक्षम तुल्यायो। यही नै सतावट र संकष्टमा मैले अनुभव र प्राप्त गरेको परमेश्‍वरको प्रेम र सुरक्षा हो। त्यस समयमा, म कति अन्धो थिएँ भनी मैले देख्‍न सकेँ। परमेश्‍वरमा विश्‍वास गर्दा, मलाई केवल कसरी परमेश्‍वरको अनुग्रह र आशिष्‌ अनुभव गर्ने भन्‍ने थाहा थियो तर म रतीभर पनि सत्यता र जीवनलाई पछ्याउँदिनथेँ। मेरो शरीरले अलिकति कठिनाइ भोगेपछि, म निरन्तर काइँकाइँ-कुइँकुइँ गर्थें; म परमेश्‍वरको इच्छालाई बुझ्दिनथेँ र परमेश्‍वरको कामलाई बुझ्न खोजी-कार्य गर्दिनथेँ। म परमेश्‍वरलाई सधैँ मेरो विषयलाई लिएर दुःख र पीडा अनुभव गर्ने तुल्याउँथे। म साँच्‍चै नै विवेकरहित थिएँ! खेद र आत्मदोष अनुभव गर्दा, मैले परमेश्‍वरसित शान्तपूर्वक प्रार्थना गरेँ: “हे सर्वशक्तिमान् परमेश्‍वर, तपाईंले गर्नुहुने सबै कुरा मलाई मुक्ति दिन र मलाई प्राप्त गर्न नै हो भनी मैले देखेँ। म यति विद्रोही र अन्धो छु र यसप्रति मलाई एकदमै घृणा छ। मैले सधैँ तपाईंलाई गलत रूपले बुझेको छु र तपाईंको इच्छाप्रति विचारशील भएको छैनँ। हे परमेश्‍वर, आज तपाईंको वचनले मेरो अचेत हृदय र आत्मालाई जगाएको छ र तपाईंको इच्छालाई बुझ्ने तुल्याएको छ। अबउप्रान्त म मेरो आफ्नै इच्छा र आकांक्षाहरू प्राप्त गर्न चाहँदिन; म केवल तपाईंका बन्दोबस्तहरूप्रति मात्र समर्पित रहनेछु। मैले जतिसुकै धेरै कष्ट सहनुपरे पनि, म शैतानका सतावटहरूको अवधिभर तपाईंको गवाही हुनेछु।” प्रार्थना गरिसकेपछि, मैले परमेश्‍वरका असल अभिप्रायहरूलाई बुझेँ, अनि मैले थाहा पाएँ कि परमेश्‍वरले मलाई अनुभव गर्न दिनुभएको हरेक वातावरण मेरो निम्ति परमेश्‍वरको सबैभन्दा ठूलो प्रेम र मुक्ति हो। त्यसकारण, म अबउप्रान्त डरले खुम्चिने वा परमेश्‍वरलाई गलत रूपले बुझ्नेछैनँ। परिस्थिति अझै त्यही नै भएको भए पनि, मेरो हृदय साँच्‍चै नै आनन्द र हर्षले भरिपूर्ण थियो; मैले अनुभव गरेँ कि परमेश्‍वरमाथिको मेरो विश्‍वासको निम्ति कठिनाइहरू र सतावट सहन सक्षम हुनु सम्मानको कुरा हो र यो मजस्तो एउटा भ्रष्ट व्यक्तिको निम्ति अद्वितीय उपहार थियो, यो मेरो निम्ति परमेश्‍वरको विशेष आशिष्‌ र अनुग्रह थियो।

जेलमा एक वर्षको कठिनाइ अनुभव गरेपछि, मैले देखेँ कि म त अति सानो कदको रहेछु र मसित सत्यताको धेरै कमी रहेछ। सर्वशक्तिमान् परमेश्‍वरले साँच्‍चै यस अद्वितीय वातावरणद्वारा मेरा कमजोरीहरूको परिपूर्ति गरिदिनुभएको छ र मलाई वृद्धि हुन दिनुभएको छ। मेरो विपत्तिमा, उहाँले मलाई जीवनको सबैभन्दा बहुमूल्य धन प्राप्त गर्न, मैले विगतमा नबुझेका धेरै सत्यताहरू बुझ्न र परमेश्‍वरलाई सताउने र ख्रीष्टियनहरूलाई यातना दिने चिनियाँ कम्युनिष्ट पार्टीका जघन्य अपराधहरूलाई स्पष्ट देख्‍न सक्षम तुल्याउनुभयो। मैले शैतान, दियाबलसको घिनलाग्दो रूप र परमेश्‍वरप्रति त्यसको विरोधको प्रतिक्रियावादी सारलाई पहिचान गरेको छु। मैले गम्भीरतापूर्वक मजस्तो एउटा भ्रष्ट व्यक्तिप्रति सर्वशक्तिमान् परमेश्‍वरको महान् मुक्ति र कृपालाई अनुभव गरेको छु, र सर्वशक्तिमान् परमेश्‍वरका वचनहरूमा भएको शक्ति र जीवनले मलाई ज्योति दिलाउन सक्छन्, ती मेरो जीवन बन्‍न सक्छन्, र तिनले शैतानमाथि विजयी हुन र मृत्यु छायाको उपत्यकादेखि दृढतापूर्वक बाहिर निस्कन अगुवाइ गर्छन् भन्‍ने अनुभव गरेको छु। परमेश्‍वरलाई धन्यवाद होस्!

अब विपत्तिहरू भइरहेका छन्। हामी कसरी विपत्तिहरुको बीचमा प्रभुलाई स्वागत गर्ने मौका पाउन सक्छौं? उत्तर प्राप्त गर्न हामीलाई सम्पर्क गर्नुहोस्।

सम्बन्धित विषयवस्तु

स्वार्थीपनको समाधान कसरी गर्ने

झाङ्ग जिङ्ग, चेक गणतन्त्रसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “कुन मापदण्डअनुसार व्यक्तिका कामहरू असल वा खराब हुन् भनी निर्धारित गरिन्छ? यो...

आफ्‍नो कर्तव्य पूरा गर्नु भनेको के हो मैले बल्‍ल बुझेँ

क्षुन्‍क्‍वी, दक्षिण कोरियासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “वास्तविकतामा, मानिसले पूरा गर्ने आफ्नो दायित्व भनेको मानिसभित्र...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्