ख्याति र प्राप्तीका बन्धनहरू

21 अक्टोबर 2021

जिएलि, स्पेन

२०१५ को वार्षिक चुनावमा, म मण्डलीको अगुवाको रूपमा छानिएँ। दर्जनौं दाजुभाइ-दिदीबहिनीहरूमध्येबाट छानिनु भनेको म अरूभन्दा राम्रो भएर नै हो भन्‍ने विचारले गर्दा म एकदम उत्साहित थिएँ। त्यसपछिको मेरो कर्तव्यमा, दाजुभाइ-दिदीबहिनीहरू आफूलाई जीवनमा समस्या पर्दा, सङ्गतिको लागि आउथे, र समूहका अगुवाहरूले मण्डलीको काम गर्दा सामना गरेका समस्याहरू लिएर मकहाँ आउथे। मैले यस्तो श्रेष्‍ठताको अनुभूति गर्नबाट आफैलाई रोक्‍न सकिनँ। म घमण्डी भएर, छाती फलाएर यताउता हिँड्थें र भेलाहरूमा सङ्गति गर्ने समयमा म बढी आत्मविश्‍वासको साथ बोल्थें। केही समयपछि, मेरी सहकर्मी सिस्टर लिउ, क्षमतावान् छिन्, सत्यता सम्‍बन्धी उनको सङ्गति स्पष्‍ट छ, र मानिसका समस्याहरूको जरालाई बुझेर समाधान गर्न सक्छिन् भन्‍ने मैले ख्याल गरेँ। उनले अभ्यासका मार्गहरू पनि देखाइदिइन्, र सबै जनाले उनको सङ्गति सुन्‍न चाहन्थे। म उनको तारिफ र डाह दुवै गर्थेँ। म उनीभन्दा कम हुन चाहँदिनथिएँ, त्यसैले मैले हरेक भेलाको अगाडि होशियारीसाथ तयारी गर्थेँ, र सङ्गतिलाई कसरी अझ प्रकाश पारेर प्रभावकारी बनाउने भनेर आफ्नो दिमाग नथाकेसम्म तयारी गर्थेँ। मैले सङ्गति सकाएपछि दाजुभाइ-दिदीबहिनीहरूले सहमतिमा टाउको हल्लाएको देख्‍दा म आफैदेखि खुशी हुन्थें र उपलब्धिको अनुभूति गर्थेँ। पछि, मैले मेरो सहकर्मी ब्रदर जेङ्गसँग चलचित्रको क्षेत्रमा व्यावसायिक ज्ञान रहेछ र उनी कम्प्यूटरमा पनि सिपालु रहेछन् भन्‍ने थाहा पाएँ। चलचित्रसँग सम्बन्धित कर्तव्य पूरा गर्ने दाजुभाइ-दिदीबहिनीहरू सम्‍बन्धित विषयमा छलफल गर्न उनीकहाँ जाँदा रहेछन्, र मण्डलीको एक अगुवा भएको नाताले मसँग आफूले थप्नुपर्ने कुरा केही पनि थिएन। मैले आफैलाई अनावश्यक व्यक्तिजस्तै महसुस गरेँ, मलाई रिस उठ्यो। उनीहरू समस्याको समाधान खोज्न ब्रदर जेङ्गकहाँ जान्छन्, त्यसैले मलाई उनलाई जति आउँदैन भन्‍ने उनीहरूले विचार गर्छन् होला भन्‍ने लाग्यो। मलाई लाग्यो, मलाई पनि चलचित्रको बारेमा केही कुरा थाहा भयो भने एकदम राम्रो हुन्छ, त्यसो भयो भने दाजुभाइ-दिदीबहिनीहरू आफ्ना समस्याहरू लिएर मकहाँ आउनेछन्। म बिहान सबेरै उठ्थें र राती अबेरसम्म बसेर चलचित्रहरू कसरी बनाउने भनेर अनुसन्धान गर्न र सिक्न थालेँ ताकि मैले अझ धेरै कुरा जान्‍न सकूँ। मैले मण्डलीका अरू सबै कुराहरूलाई र दाजुभाइ-दिदीबहिनीहरूको अवस्थाहरूलाई बेवास्ता गरेँ। केही समयपछि, धेरै समूहहरूमा समस्याहरू देखिन थाले, र मैले जसरी सङ्गति गरे पनि वा भेलाहरू आयोजना गरे पनि तिनलाई समाधान गर्न सकिनँ। दाजुभाइ-दिदीबहिनीहरूको अवस्थाको समस्या समाधान नभएको हुनाले चलचित्र निर्माणको काम अगाडि बढ्न सकेन र एकपछि अर्को समस्या थपिन थाले। म यति धेरै दबाबमा परेँ कि सास फेर्न समेत गाह्रो भयो। म आफै पीडित भएको महसुस गरेँ। अरूले मेरो बारेमा कस्तो विचार गर्लान्, उनीहरूले ममा अगुवामा हुनुपर्ने क्षमता नभएको र म त्यो काम गर्न योग्य नभएको ठान्छन् कि भनेर चिन्ता लाग्यो। मलाई म यो अगुवाको स्थानमा रहिरहन सक्दिनँ कि जस्तो लाग्न थाल्यो। मैले यस्तो विचार गर्दै जाँदा म झन् नकारात्मक बन्‍न थालेँ। मैले आफूलाई हावा नभएको बेलुन जस्तै र ममा पहिलेको जस्तो ऊर्जा नभएको महसुस गरेँ। नकारात्मक भएर जिउँदा र आफ्नो कामलाई लत्याउँदा, मैले आखिरमा पवित्र आत्माको कामलाई नै गुमाएँ। मैले मेरो काममा केही पनि उपलब्धि हासिल गर्न नसकेकोले मेरो ठाउँमा अर्कैलाई राखियो। त्यति बेला मैले आफ्‍नो इज्‍जत गुमाएको छु जस्तो लाग्यो र पृथ्वीले मलाई निलिदिए हुन्‍थ्यो जस्तो लाग्यो। “दाजुभाइ-दिदीबहिनीहरूले मलाई व्यवहारिक काम नगर्ने झूटो अगुवा भन्लान् कि” भनेर मैले सोच्न थालेँ। मैले यसको बारेमा जति सोच्थें म त्यति नै निराश बन्दै गएँ।

त्यो रात म निदाउन नसकेर ओछ्यानमा यताउता कोल्टो फेरिरहेँ। मैले परमेश्‍वरलाई बारम्बार पुकारेँ, मलाई मेरो अवस्था थाहा पाउनको लागि डोर्‍याउनुहोस् भनेर बिन्ती गरेँ। त्यसपछि मैले परमेश्‍वरका यी वचनहरू पढेँ: “तिमीहरूको खोजीमा, तिमीहरूसँग अत्यन्तै धेरै धारणा, आशा र भविष्यहरू छन्। अहिलेको काम तिमीहरूको हैसियतको चाहना र असाधारण चाहनाहरूको निराकरण गर्नको निम्ति हो। आशा, हैसियत र धारणाहरू सबै शैतानिक स्वभावका उत्कृष्ट प्रतिनिधित्वहरू हुन्। शैतानको विषले सधैँ मानिसहरूका विचारहरूलाई नष्ट गर्छ र मानिसहरू शैतानका यी परीक्षाहरूदेखि मुक्त हुन सधैँ असमर्थ छन्, त्यही कारणले नै मानिसहरूका हृदयमा यी कुराहरूको अस्तित्व छ। तिनीहरू पापको माझमा जिउँछन् तापनि यसलाई पाप भनी विश्‍वास गर्दैनन्, तैपनि तिनीहरू सोच्छन्: ‘हामी परमेश्‍वरमा विश्‍वास गर्छौं, त्यसैले उहाँले हामीलाई आशिष्‌हरू दिनुपर्छ र हाम्रो निम्ति सबै कुरा उचित तवरले व्यवस्था गर्नुपर्छ। हामी परमेश्‍वरमा विश्‍वास गर्छौं, यसैले हामी अरूभन्दा श्रेष्ठ हुनुपर्छ र हाम्रो हैसियत र भविष्य अरूको भन्दा अझ धेरै हुनुपर्छ। हामीले परमेश्‍वरमा विश्‍वास गर्ने हुनाले, उहाँले हामीलाई असीमित आशिष्‌हरू दिनुपर्छ। अन्यथा, यसलाई परमेश्‍वरमाथि गरिने विश्‍वास भनिने थिएन।’ … तैँले जति यस किसिमले खोजी गर्छस्, तैँले त्यति नै कम कटनी गर्छस्। व्यक्तिको हैसियतको इच्छा जति ठूलो हुन्छ, तिनीहरूसँग त्यति नै धेरै गम्भीर निराकरण गरिनुपर्ने हुन्छ र तिनीहरू त्यति नै ठूलो शोधन भएर जानुपर्ने हुन्छ। यस्ता मानिसहरू बेकम्मा हुन्छन्! तिनीहरूले यी कुराहरूलाई पूर्ण रूपमा छोड्नको लागि तिनीहरूको यथेष्ट निराकरण र न्याय गरिनुपर्छ। यदि तिमीहरू अन्त्यसम्मै यसरी पछि लाग्यौ भने, तिमीहरूले केही पनि कटनी गर्नेछैनौ। जीवनको पछि नलाग्‍नेहरूलाई रूपान्तरण गर्न सकिँदैन र सत्यको निम्ति नतिर्खाउनेहरूले सत्य प्राप्त गर्न सक्दैनन्। तैँले व्यक्तिगत रूपान्तरण र प्रवेशको पछि लाग्‍ने कुरामा ध्यान दिँदैनस्, तर परमेश्‍वरमाथिको तेरो विश्‍वासमा अवरोध गर्ने र उहाँको नजिक लानबाट तँलाई रोक्‍ने असामान्य इच्छा र चीजहरूमा ध्यान दिन्छस्। के ती कुराहरूले तेरो रूपान्तरण गर्न सक्छन्? के तिनीहरूले तँलाई राज्यभित्र ल्याउँछन्?” (वचन देहमा देखा पर्नुहुन्छको “तँ किन प्रतिभार हुन अनिच्छुक छस्?”)। यो पढिसकेपछि मैले हालैको मेरो अवस्थामाथि पुनर्विचार गरेँ। मैले अगुवाको जिम्मा लिएदेखि नाम र पदको पछि लागेर अरूभन्दा माथि हुने इच्छा बाहेक अरू केही गरिरहेको थिइनँ। लिउ बहिनीले सत्यताको विषयमा गरेको सङ्गति मेरोभन्दा राम्रो भएको देख्‍दा म उनले मलाई जित्छिन् कि भनेर डराएँ। अरूले मेरो तारिफ गरून् र प्रशंसा गरून् भनेर मैले उनले भन्दा अझ राम्रोसँग सङ्गति कसरी गर्ने भन्‍ने बारेमा विचार गरेँ। जब ब्रदर जेङ्‍गसँग व्यावसायिक क्षमता छ र धेरै दाजुभाइ-दिदीबहिनीहरू उनीकहाँ आफ्नो कामहरूको बारेमा कुरा गर्न जान्छन् भन्‍ने मैले देखेँ, तब मैले डाह गरेँ र उनलाई तिरस्कार गरेँ। उनलाई जित्‍नको लागि मैले आफैलाई ज्ञानले सुसज्जित पार्न कठिन परिश्रम गरेँ, र समूहहरूभित्रका समस्याहरूलाई समेत बेवास्ता गरेँ। मैले दाजुभाइ-दिदीबहिनीहरूको समस्या समाधान गर्न नसक्दा म परमेश्‍वरमा भर परिनँ, वा अन्य दाजुभाइ-दिदीबहिनीसँग सङ्गतिद्वारा समाधान पत्ता लगाउन सत्यतालाई खोजिनँ। मैले त केवल मेरो पद गुमाउने चिन्ता गरिरहेँ, मैले मेरो काम राम्रोसँग गरिनँ भने म यो पदमा रहिरहन सक्दिनँ भनेर डराएँ। अन्तमा मैले थाहा पाएँ कि मैले परमेश्‍वरको इच्छाको बारेमा विचार गरेर होइन तर अरूभन्दा राम्रो गर्ने र अरूमाथि प्रभुत्व गर्ने आफ्नो बेलगाम महत्वाकांक्षालाई सन्तुष्‍ट पार्नको लागि काम गरिरहेको रहेछु। दाजुभाइ-दिदीबहिनीहरूले मलाई भरोसा गरेर मण्डलीको अगुवाको रूपमा छाने, तर मैले भने मण्डलीको काम वा उनीहरूको जीवनको बारेमा केही पनि विचार गरिनँ। मैले आफ्नो कामको जिम्मा ठीकसँग लिइनँ वा जिम्‍मेवार बनिनँ, यसले अन्तमा मण्डलीलाई हानि पुर्‍यायो। म एकदम स्वार्थी र घृणायोग्य बनेँ। मैले आफ्नो कर्तव्य पूरा गरिरहेको थिइनँ—मैले दुष्‍ट काम गरिरहेको थिएँ र परमेश्‍वरलाई प्रतिरोध गरिरहेको थिएँ! म आफ्‍नो विश्‍वासमा सही बाटोमा नहिँडेको, तर सधैँ नै नाम र प्राप्तिको लागि लडिरहेको, परमेश्‍वरलाई तुच्छ बनाइरहेकोमा पछुताएँ। मेरो कामबाट निष्कासित हुनु परमेश्‍वरको ठीक न्याय र सजाय थियो। उहाँले मलाई निकाल्नुभएको होइन, तर मेरो सट्टामा अर्कोलाई राख्‍नुभएको थियो ताकि मैले आफ्नो व्यवहारको पुनरावलोकन गर्न सकूँ। त्यसद्वारा परमेश्‍वरले मलाई सुरक्षा गर्दैहुनुहुन्थ्यो र बचाउँदैहुनुहुन्थ्यो! भक्ति र पुनरावलोकनका समयहरूद्वारा मेरो अवस्था विस्तारै सुधार हुँदै गयो, त्यसैले मण्डलीका अगुवाले मेरो लागि नियमित कामहरूको व्यवस्थापन गर्नुभयो। मलाई त्यो मौका दिनुभएकोमा म परमेश्‍वरप्रति साँच्‍चै नै कृतज्ञ भएँ, र यो जिम्मालाई म बहुमूल्य ठानेर पूरा गर्नेछु, र परमेश्‍वरको विरुद्धमा नाम र पदको पछाडि लागि पर्दिनँ भनेर मैले चुपचाप सङ्कल्‍प गरेँ।

त्यो अनुभवपछि, मेरो नाम र पदको इच्छालाई त्याग्‍न सक्छु भन्‍ने मलाई लाग्यो, तर म शैतानद्वारा अत्यन्तै गहिरोरूपमा भ्रष्‍ट भइसकेको थिएँ। अलिकति बुझाइ र पुनरावलोकनले मात्र भ्रष्‍ट स्वभावको समाधान गर्न सकिँदैन, त्यसकारण मलाई खुलासा गर्न र बचाउनको लागि परमेश्‍वरले फेरि एउटा परिस्थिति तय गर्नुभयो।

केही महिनापछि एक दिन, मण्डलीको अगुवाले हामीलाई एक जना समूह-अगुवा छान्‍न लगाउनुभयो। यो कुरा सुन्‍ने बित्तिकै मैले सोच्‍न थालेँ: “समूहको अगुवा हुनको लागि मलाई छान्छन् कि? म काम गर्न सक्षम छु, तर मसँग कुनै व्यावसायिक सीप छैन, त्यसैले मेरो मौका कमै छ।” त्यसपछि मैले समूहमा भएका केही दाजुभाइ-दिदीबहिनीहरूको बारेमा विचार गरेँ। ब्रदर झाङ्ग आफ्नो व्यावसायिक सीपमा निपुण थिए र सत्यता सम्‍बन्धी उनको सङ्गति व्यवहारिक थियो, साथै उनमा न्यायको भावना थियो र उनले मण्डलीको कामको भार उठाउन सक्थे। समग्रमा, मभन्दा उनी छानिने सम्भावना बढी थियो। म मण्डलीको अगुवा हुँदा ब्रदर झाङ्गलाई मैले कसरी काम अह्राउथें भन्‍ने बारेमा मैले विचार गरेँ, तर उनी मण्डलीको अगुवा छानिए भने त उनले मलाई काम अह्राउनेथिए। त्यसले मलाई उनको अगाडि सानो देखाउँदैन र? यो विचारले मलाई साह्रै असहज बनायो। जब चुनावको समय आयो, म नआत्तिई बस्न सकिनँ, र मभित्रको युद्ध सुरु भयो: “म कसलाई भोट दिऊँ? के म ब्रदर झाङ्गलाई भोट दिऊँ?” अरू दाजुभाइ-दिदीबहिनीहरूले आफ्नो काममा समस्या आउँदा कसरी यसबारे छलफल गर्न सधैँ उनीकहाँ जान्‍थे, अनि अरू समूहका मानिसहरू पनि आफ्‍नो कामको बारेमा सधैँ उनीसँग छलफल गर्थे भन्‍ने बारेमा मैले विचार गरेँ—यसले उनलाई एकदम राम्रो देखाउँथ्यो। यदि उनी समूहको अगुवा बने भने, के उनी मभन्दा उच्च स्थानमा हुँदैनन् र? त्यसपछि, मलाई उनको पक्षमा भोट हाल्न मन लागेन, तर ममा व्यावसायिक ज्ञान थिएन र म समूहको अगुवा हुन योग्य थिइनँ। मैले वास्तवमा उदास र दु:खी महसुस गरेँ, र मलाई कामको बारेमा त्यति थाहा नभएको हुनाले मलाई आफैप्रति घृणा लाग्यो। ठीक त्यही बेला मेरो मनमा एउटा डरलाग्दो विचार आयो: “यदि म समूहको अगुवा हुन सकिनँ भने, म पक्‍का गर्छु कि तिमी पनि हुन सक्नेछैनौ।” त्यसकारण मैले ब्रदर वुलाई भोट हालेँ, जसमा त्यति धेरै व्यावसायिक ज्ञान थिएन। ब्रदर झाङ्गले नै भोट जितेको देख्दा म छक्‍कै परेँ। यस्तो भएको मलाई मन परेन, तर तुरुन्तै मलाई अप्‍ठ्‍यारो महसुस भयो, मैले लाजमर्दो काम गरेको जस्तो मलाई लाग्यो। पछि मैले परमेश्‍वरको यो वचन पढेँ: “यदि केही मानिसले कसैलाई आफूभन्दा अझ असल देखे भने, तिनीहरूले उनीहरूलाई दमन गर्छन्, अरूले तिनीहरूलाई धेरै ठूलो रूपमा नहेरून्, र कसैभन्दा कोही राम्रो छैन भनी देखाउन तिनीहरूको बारेमा झूटो हल्ला फैलाउँछन् भने, त्यो अहङ्कार र स्व-धार्मिकता साथै धूर्तता, छलीपन र कुटिलपनको भ्रष्ट स्वभाव हो, र यी मानिसहरू आफ्ना लक्ष्यहरू प्राप्त गर्न कुनै कुरामा रोकिँदैनन्। तिनीहरू यस्तै प्रकारले जिउँछन् र अझै पनि तिनीहरू आफूलाई महान् हुन् र तिनीहरू असल मानिसहरू हुन् भनी सोच्छन्। तापनि, के तिनीहरूमा परमेश्‍वरको भय मान्ने हृदय हुन्छ? सबैभन्दा पहिले, यी विषयहरूका प्रकृतिहरूको दृष्टिकोणबाट भन्नुपर्दा, के यस तरिकाले काम गर्ने मानिसहरूले आफूलाई उचित लागेअनुसार कार्य गर्दैनन् र? के तिनीहरूले परमेश्‍वरको परिवारको बारेमा विचार गर्छन्? तिनीहरू परमेश्‍वरको परिवारले भोग्न पर्ने हानिको कुनै परवाह नगरी आफ्नै भावनाहरूको बारेमा मात्र सोच्छन् र केवल आफ्ना लक्ष्यहरू हासिल गर्न चाहन्छन्। यस्ता मानिसहरू अहङ्कारी र आफैलाई सोझो ठान्ने मात्र हुँदैनन्, तिनीहरू स्वार्थी र घृणित पनि हुन्छन्; तिनीहरू परमेश्‍वरको अभिप्रायलाई पटक्कै ध्यान नदिने हुन्छन्, र निस्सन्देह, यस्ता मानिसहरूमा परमेश्‍वरको भय मान्ने हृदय हुँदैनन्। यसैकारण, कुनै दोषको भावनाविना, कुनै डरविना, कुनै चिन्ता वा फिक्रीविना र परिणामहरूलाई विचार नगरी तिनीहरू आफूले जे चाहन्छन् त्यही गर्छन् र कुनै कारणविना लापरवाही काम गर्छन्। तिनीहरूले प्रायः यसै गर्छन्, र सधैँ यसरी नै व्यवहार गरेका हुन्छन्। त्यस्ता मानिसहरूले कस्ता-कस्ता नतिजाहरू भोग्छन्? तिनीहरू समस्यामा हुनेछन्, हैन? यसलाई सरल रूपमा भन्नुपर्दा, त्यस्ता मानिसहरूमा व्यक्तिगत ख्याति र हैसियतका निम्ति अति नै बढी जोस हुन्छ र अति नै बलियो चाहना हुन्छ; तिनीहरू अति नै छली र विश्‍वासघाती हुन्छन्। यसलाई अझ कठोर रूपमा भन्नुपर्दा, मुख्य समस्या के हो भने, त्यस्ता मानिसहरूको हृदय अलिकति पनि परमेश्‍वरको भय मान्ने हुँदैन। तिनीहरू परमेश्‍वरको भय मान्दैनन्, तिनीहरू आफैलाई अत्यन्त महत्त्वपूर्ण ठान्छन्, र तिनीहरू आफ्नो हरेक पक्षलाई परमेश्‍वरभन्दा उच्च र सत्यताभन्दा उच्च ठान्छन्। तिनीहरूका हृदयमा, परमेश्‍वर सबैभन्दा कम उल्लेखयोग्य र अति नगण्य हुनुहुन्छ, र तिनीहरूको हृदयमा परमेश्‍वरको कुनै हैसियत नै हुँदैन। जुन व्यक्तिहरूको हृदयमा परमेश्‍वरका निम्ति कुनै स्थान हुँदैन, र जसमा परमेश्‍वरप्रति कुनै आदर हुँदैन, के तिनीहरूले सत्यतामा प्रवेश प्राप्त गरेका हुन्छन्? (हुँदैनन्।) त्यसैले, जब तिनीहरू विशेष रूपले खुसी हुँदै यताउता गएर आफूलाई व्यस्त राख्छन् र धेरै ऊर्जा खर्च गर्छन्, तब तिनीहरूले के गरिरहेका हुन्छन्? त्यस्ता मानिसहरूले परमेश्‍वरको निम्ति अर्पित हुन आफूले सबै कुरा त्यागेका र धेरै दुःख भोगेका समेत दाबी गर्छन्, तर वास्तवमा तिनीहरूका सबै कार्यहरूका अभिप्राय, सिद्धान्त र उद्देश्य आफ्नै फाइदाका लागि हुन्छन्; तिनीहरूले केवल आफ्नै व्यक्तिगत हितको रक्षा गर्ने कोसिस मात्रै गरिरहेका हुन्छन्। के तिमीहरू यस किसिमको मानिस डरलाग्दो हुन्छ भनी भन्छौ, कि भन्दैनौ? परमेश्‍वरलाई आदर नगर्ने मानिस कस्तो किसिमको व्यक्ति हो? के तिनीहरू अहङ्कारी होइनन्? के तिनीहरू शैतान होइनन्? कस्ता-कस्ता कुराहरूले परमेश्‍वरलाई आदर गर्दैन? जनावरहरू बाहेक, परमेश्‍वरलाई आदर नगर्नेहरूमा सबै भूतात्माहरू, शैतान, प्रधान स्वर्गदूत र परमेश्‍वरसँग झगडा गर्नेहरू पर्छन्” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “आफ्नो विश्‍वासमा सही मार्गमा हुनका निम्ति आवश्यक पाँच अवस्था”)। यी शब्दहरूले मलाई एकदम चोट पुर्‍यायो। चुनावको समयमा मैले गरेको विचार र व्यवहारलाई सम्झेर, मलाई त अब म कसैलाई अनुहार देखाउन सक्दिनँ जस्तो लाग्यो। मैले आफ्नो पद र प्रतिष्‍ठालाई सुरक्षित पार्न, परमेश्‍वरको जाँचलाई स्वीकार नगरिकन र उहाँप्रति कति पनि श्रद्धा नराखी व्यक्तिगत मनसायअनुसार मत खसालेको थिएँ। ब्रदर झाङ्ग सिपालु थिए, सत्यता सम्‍बन्धी उनको सङ्गति व्यवहारिक हुन्थ्यो, र उनी समूहको अगुवा हुँदा सबैको जीवनमा र मण्डलीको काममा फाइदा हुनेथियो। तर म डाही बनेँ, उनी मभन्दा माथि समूहको अगुवा बन्‍नेछन् भनेर डराएको थिएँ, त्यसैले मैले जानी-जानी उनलाई भोट दिइनँ। म त ठूलो रातो अजिङ्गरको “एकतन्त्र सफल नभए, प्रजातन्त्र पनि सफल नहोस्” भन्‍ने सिद्धान्तअनुसार हिँडेको थिएँ। ठूलो रातो अजिङ्गरको सिद्धान्त यदि त्यो शक्तिमा हुन सक्दैन भने अरू कोही पनि हुन सक्दैन भन्‍ने हो। यसको लागि आवश्यक परेको खण्‍डमा, यसले नमीठो संघर्षको प्रयोग गरेर दुवै पक्षलाई नष्‍ट पार्छ। म पनि त्यस्तै भइनँ त? मैले त्यो स्थान पाइनँ भने, ब्रदर झाङ्गले पनि त्यो ठाउँमा जान पाउँदैन। मेरो आफ्नो प्रतिष्‍ठा र पद बचाउनको लागि बरु त्यो भूमिकामा गलत व्यक्ति गएर मण्‍डलीको काम बिगारेको देख्‍न म तयार थिएँ। म परमेश्‍वरप्रति अलिकति पनि श्रद्धा नराखी स्वार्थी, घिन लाग्दो, दुष्‍कर्मी र धूर्त बनेँ। परमेश्‍वरले व्यक्त गर्नुभएको कति धेरै सत्यताहरूको मैले आनन्द लिएको थिएँ, अनि मेरो कर्तव्य पूरा गर्ने त्यो मौका पाउनु भनेको परमेश्‍वरले मलाई दया देखाउनुभएकोले थियो। तर परमेश्‍वरको प्रेमको ऋण कसरी चुक्ता गरूँ भनेर विचार गर्नुको सट्टामा, म डाही बनेँ र मैले नाम र प्राप्तिको लागि संघर्ष गरेँ। मैले परमेश्‍वरको घरको काममा बाधा दिँदै, शैतानको नायकको रूपमा सेवा गर्दैथिएँ। के म पतित दुई जिब्रे भइनँ र? एक वर्षअगाडि, मैले आफ्नो काम ठीकसँग नगरेको र व्यवहारिक काम पनि गर्न नसकेको, तर केवल नाम र प्राप्तिको लागि मात्र संघर्ष गरिरहेको हुनाले कसरी मलाई जिम्‍मेवारीबाट हटाइएको थियो भन्‍ने कुरालाई विचार गरेँ। अनि अहिले पनि, म त्यस्तै खालको परिस्थितिमा थिएँ तर म अझै पनि सत्यताको लागि नभएर नाम र पदको पछि दगुर्दैथिएँ। यदि मैले यसरी नै व्यवहार गरिरहने हो भने, म परमेश्‍वरद्वारा तिरस्कृत र निष्कासित हुनेथिएँ।

पछि मैले परमेश्‍वरका यी वचनहरू पढेँ: “तिमीहरूलाई आफ्नो ठाउँ थाहा छैन, तैपनि तिमीहरू एक-अर्कासँग गोबरमा लडाइँ गर्छौ। त्यस्तो सङ्घर्षबाट तैंले के प्राप्त गर्न सक्छस्? यदि तिमीहरूको हृदयमा मेरो लागि साँच्चै आदर थियो भने, तिमीहरू मेरो पिठिउँ पछाडि कसरी एक-अर्कोसँग लडाइँ गर्न सक्थ्यौ? तेरो हैसियत जति नै उच्‍च भए पनि के तँ अझै पनि गोबरमा बस्ने गनाउने सानो गँड्यौला होइनस् र? के तँ पखेटा टुसाउन सक्छस् र आकाशमा उड्ने ढुकुर बन्न सक्छस्?” (वचन देहमा देखा पर्नुहुन्छको “जब झर्ने पातहरू तिनको जराहरूमा फर्कन्छन्, आफूले गरेका सबै दुष्ट कामका निम्ति तैँले पछुतो गर्नेछस्”)। “परमेश्‍वरले किन मानिसहरू ‘किरा’ हुन् भन्नुहुन्छ? उहाँको नजरमा, यी भ्रष्ट मानिसहरू स्पष्ट रूपमा सृष्टि गरिएका प्राणीहरू हुन्—तर के उनीहरूले सृष्टि गरिएका प्राणीहरूले गर्नुपर्ने जिम्मेवारी र कर्तव्यहरू पूरा गर्छन्? धेरै मानिसहरूले आफ्ना कर्तव्यहरू निर्वाह गरिरहेका भए पनि उनीहरूको कार्य-प्रदर्शन कति राम्ररी प्रकट गरिएको छ? उनीहरू आफ्नो कर्तव्य पूरा गर्न अलिकति पनि सक्रिय हुँदैनन्; उनीहरूले विरलै मात्र त्यस्तो जिम्मेवारी उठाउँछन्। यदि उनीहरूलाई काँटछाँट, निराकरण वा अनुशासित गरिएन भने उनीहरूले केही पनि गर्दैनन्। यसैले उनीहरूमा थोरै भए पनि विश्‍वास होस्, थोरै भए पनि सक्रिय होऊन् भनेर भेला, सङ्गति र भरणपोषण गर्नु सधैं आवश्यक हुन्छ। के यो मानिसको भ्रष्टता होइन र? … उनीहरूले दिनभरि सोचविचार गर्ने कुनै पनि कुराको सत्यसँग वा परमेश्‍वरको मार्ग पछ्याउने कार्यसँग कुनै सम्बन्ध हुँदैन; उनीहरू सम्पूर्ण दिन केवल भात खाएर बिताउँछन् र कुनै पनि कुरा सोच्दैनन्। यदि उनीहरूले केही कुरामाथि थोरै विचार गरे भने पनि त्यो सत्य सिद्धान्तहरूसँग मिल्दो हुँदैन। परमेश्‍वरले मानवजातिसँग गर्नुभएको अपेक्षासित त्यसको अलिकति पनि सम्बन्ध हुँदैन। उनीहरूले गर्ने सबै कामहरू बाधा दिने र बिथोल्ने किसिमका हुन्छन् र उनीहरूले परमेश्‍वरको थोरै पनि साक्षी दिँदैनन्। उनीहरूको मस्तिष्क देहको लागि राम्रो हुने कुराहरू कसरी खोज्ने, हैसियत र ख्यातिका निम्ति कसरी लड्ने, मानिसहरूको कुनै समूहमा कसरी अटाउने, र सम्मान र प्रतिष्ठा कसरी प्राप्त गर्ने भन्ने विचारहरूले भरिएको हुन्छ। उनीहरूले परमेश्‍वरले दिनुभएको भोजन खान्छन्, उहाँले प्रदान गर्नुहुने सबै कुराको आनन्द लिन्छन्, तर मानवजातिले जे गर्नुपर्छ त्यो गर्दैनन्। के परमेश्‍वरले त्यस्ता मानिसहरूलाई मन पराउन सक्‍नुहुन्छ? … सबैभन्दा महत्त्वपूर्ण कुरा, ती जो किराहरू हुन् उनीहरू बेकम्मा र निर्लज्‍ज छन् र परमेश्‍वरको नजरमा उनीहरूको कुनै मूल्य छैन! म किन त्यस्ता मानिसहरूको कुनै मूल्य छैन भन्दै छु? परमेश्‍वरले तँलाई बनाउनुभयो, र तँलाई जीवन दिनुभयो, तापनि तँ आफूले गर्नुपर्ने आफ्नो न्यूनतम कर्तव्य गर्न सक्दैनस्; तँ केवल सित्तैंमा खाँदै बस्छस्। उहाँको नजरमा, तँ केवल बेकम्मा छस्, र तँ जीवित रहनुको कुनै अर्थ छैन। के त्यस्ता मानिसहरू किराहरू होइनन् र? यसैले, यदि मानिसहरू किरा हुन चाहँदैनन् भने उनीहरूले सबैभन्दा पहिले के गर्नुपर्छ? सबभन्दा पहिले, तेरो आफ्नो ठाउँ खोज्, र हरप्रकारले तेरो कर्तव्य पूरा गर्ने कोसिस गर, अनि तँ सृष्टिकर्तासँग जोडिनेछस्; तैंले उहाँलाई तेरो हिसाब दिन सक्छस्। त्यसपछि, तेरो कर्तव्य पूरा गर्न कसरी बफादारी हासिल गर्ने सो विचार गर्। तँ झारातिरुवा हुनु हुँदैन वा तैँले लटरपटर गर्दै अघि बढ्नु हुँदैन; बरु, तैँले आफ्नो सम्पूर्ण हृदय त्यसमा लगाउनुपर्छ। तैँले सृष्टिकर्तालाई मूर्ख बनाउने कोसिस गर्नुहुँदैन। परमेश्‍वरले तँलाई जे गर्नू भनी भन्नुहुन्छ त्यो गर्नुपर्छ र तैँले उचत ध्यान दिनुपर्छ र समर्पित हुनुपर्छ” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “जीवन वृद्धिका छ वटा सूचकहरू”)।

मैले परमेश्‍वरको वचनमा विचार गर्दै गर्दा, म एकदमै नै व्याकुल बनेँ। मैले थाहा पाएँ कि परमेश्‍वरले नाम र प्राप्तिको लागि मैले गरेको संघर्षलाई घृणित र नीच ठान्‍नुहुँदो रहेछ। परमेश्‍वरको घरमा आफ्नो काम गर्ने सौभाग्य पाउनु परमेश्‍वरको असाधारण उदारता थियो, तर मैले मेरो दायित्व पूरा गरिरहेको थिइनँ। बरु, मैले त आफ्नै नाम र पदको बारेमा मात्र विचार गरिरहेँ र ती कुराहरूको निम्ति परमेश्‍वरको घरको काममा अवरोध ल्याइरहेको थिएँ। मैले शैतानको भूमिका निर्वाह गर्दैथिएँ। त्यो परमेश्‍वरको निम्ति एकदम घिनलाग्दो र घृणित कुरा थियो। परमेश्‍वर भन्नुहुन्छ, “तेरो हैसियत जति नै उच्‍च भए पनि के तँ अझै पनि गोबरमा बस्ने गनाउने सानो गँड्यौला होइनस् र?” मैले बुझेँ, म एउटा सृष्‍टि गरिएको प्राणी, घिनलाग्दो, भ्रष्‍ट व्यक्ति हुँ, जसको कुनै मूल्य र मर्यादा छैन, त्यसकारण मैले स्थान पाएँ भने पनि, म के हुँ भन्‍ने कुरालाई त्यसले परिवर्तन गर्न सक्दैनथियो। मैले आफ्नो कर्तव्य समेत ठीकसँग पूरा गर्न सकिनँ, तर लगातार नाम र प्राप्तिको लागि प्रतिस्पर्धा गरिरहेँ, अरूले मलाई उच्‍च नजरले हेरून् भन्‍ने चाहिरहेँ। मेरो विवेक र विचार गर्ने क्षमता कहाँ गयो? मेरो जीवनको मूल्य नै के रह्यो र? के म काम नलाग्ने कीरा जस्तो भइनँ र? परमेश्‍वरको वचनबाट मेरो प्रकृति र सारको बारेमा प्रकाश पाएर केही बुझेपछि, मैले आफैलाई घृणा गरेँ र म यो देहलाई त्याग्न र सत्यताको अभ्यास गर्न तयार भएँ।

केही समयपछि म ब्रदर झाङ्गकहाँ गएँ र मेरो भ्रष्‍टताको बारेमा कुरा गरेँ, अनि मैले मेरो तुच्छ मनसाय र चुनावको समयमा गरेको व्यवहारको बारेमा खुलासा गरेँ। उनले मलाई तुच्छ नठानेका मात्र होइन, तर उनले आफ्नै अनुभवबाट सङ्गति दिएर मलाई सहायता गरे। उनीसँग सङ्गति गरिसकेपछि, हामी दुई बीचको पर्खाल हट्यो र मलाई साँच्‍चै नै स्वतन्त्र र सहज भएको महसुस भयो। त्यस दिनदेखिको मेरो काममा कुनै कठिनाइ आयो वा केही बुझिनँ भने म सल्लाह लिन ब्रदर झाङ्गकहाँ जान्थेँ, उनले धैर्य गरेर मेरा प्रश्‍नहरूको उत्तर सङ्गतिद्वारा दिन्थे। केही समयपछि मेरो व्यावसायिक सीप अझ राम्रो भयो। जब मैले नाम र पदलाई छोडेँ र सत्यताको अभ्यास गरेँ, तब मैले मेरो काममा सहजता र शान्ति आएको महसुस गरेँ, र परमेश्‍वरसँग अझ नजिक भएँ। म फेरि नाम र पदको बन्धनबाट उम्कन सकेँ र मेरो लागि परमेश्‍वरको व्यवहारिक मुक्तिको स्वाद पाउन सकेँ।

२०१७ अक्टोबरमा मण्डलीको वार्षिक चुनाव आयो, र दाजुभाइ-दिदीबहिनीहरूले उम्‍मेदवारको लागि मेरो नाम पनि सिफारिस गरे। मभित्र केही कुरा उर्लेको जस्तो भयो, र मैले विचार गरेँ, “अगुवाको पदबाट मलाई हटाएको दुई वर्ष भइसकेछ, र मेरो बारेमा केही दाजुभाइ-दिदीबहिनीहरूको राम्रो विचार छ भन्‍ने कुरा पनि मैले सुनेको छु। मैले गर्ने सङ्गति अझ व्यवहारिक भएको र ममा केही परिवर्तनहरू आएका कुरा पनि उनीहरूले गर्छन्। यस पटक मैले अगुवाको स्थान पाउँछु कि पाउँदिन होला।” मैले फेरि इज्जत र पदलाई पछ्याउँदैछु भन्‍ने मैले थाहा पाएँ र म यी कुराहरूको बन्धनमा पर्दा र बाँधिँदा कति पीडादायी भएको थियो भन्‍ने कुरालाई मैले विचार गरेँ। मैले त्यो खोजीलाई जारी राख्‍नु हुँदैन, मैले देहलाई त्याग्नुपर्छ र सत्यताको अभ्यास गर्नुपर्छ भन्‍ने मलाई थाहा थियो। त्यसपछि मैले परमेश्‍वरको वचनबाट यो खण्डको बारेमा विचार गरेँ: “तैँले शैतानका प्रतिष्ठा र हैसियत त्यागिसकेपछि, तँ फेरि शैतानी विचारहरू र दृष्टिकोणहरूद्वारा बाध्य हुनेछैनस् र धोकामा पर्नेछैनस्। तैँले छुटकारा पाउनेछस्, र तैँले झन्-झन् बढी सहज महसुस गर्नेछस्। र तँ मुक्त र स्वतन्त्र हुनेछस्। जब तँ मुक्त र स्वतन्त्र बन्ने दिन आउँछ, तैँले त्यागेका थोकहरू उल्झनहरू मात्र थिए, र तैँले साँच्चै प्राप्त गरेका कुराहरू तेरो लागि सबैभन्दा मूल्यवान् छन् भन्‍ने कुरा तैँले थाहा पाउनेछस्। तैँले ती सबैभन्दा बहुमूल्य थोकहरू हुन्, र ती सम्हालेर राख्नुपर्ने थोकहरू हुन् भन्‍ने महसुस गर्नेछस्। तैँले मन पराएका ती थोकहरू—भौतिक सुख, प्रसिद्धि र धन-सम्पत्ति, प्रतिष्ठा, पैसा, इज्जत, र अरूको आदर—तँलाई व्यर्थ लाग्नेछ; ती कुराहरूले तँलाई ठूलो कष्ट दिएका हुन्छन्, र तैँले फेरि ती कुराहरूको चाहना गर्नेछैनस्। यदि तँलाई अझ उच्च सम्मान र हैसियत प्रदान गरियो भने पनि तैँले उप्रान्त तिनको चाहना गर्नेछैनस्; यसको सट्टामा, तैँले ती कुरालाई तेरो हृदयको गहिराइबाटै घृणा र इन्कार गर्नेछस्!” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “परमेश्‍वरलाई आफ्नो साँचो हृदय देओ, अनि तिमीहरूले सत्यता प्राप्त गर्नेछौ”)। मेरो हृदय हर्षित भयो, अनि नाम र पदको पछि लाग्नुको कुनै मूल्य छैन भन्‍ने कुरा, र सत्यताको अभ्यास गर्न र सृष्‍टि गरिएको प्राणीको कर्तव्य पूरा गर्नु नै बहुमूल्य कुरा हो भन्‍ने मलाई थाहा भयो। वास्तवमा, चुनावमा सहभागी हुनु भनेको अगुवापनको लागि लड्नु होइन, तर यो त प्रकृयामा सहभागी भएर मेरा जिम्‍मेवारीहरू पूरा गर्नु थियो। मैले नाम र पदको मेरो अनियन्त्रित इच्छालाई त्याग्नुपर्थ्यो र सत्यताका सिद्धान्तहरू अनुसार सुहाउँदो अगुवालाई भोट दिनुपर्थ्यो। परमेश्‍वरको घरको कामको लागि त्यो नै फाइदाजनक थियो। यदि म अगुवाको रूपमा छानिएँ भने पनि, मैले मेरो कर्तव्य ठीकसँग पूरा गर्नुपर्ने थियो। यदि छानिएन भने मैले परमेश्‍वरलाई दोष दिने थिइनँ, तर मैले सकेजति राम्रोसँग मेरो जिम्‍मेवारी पूरा गर्थेँ। यसरी चुनावको बारेमा मैले आफ्नो अभिप्रायलाई ठीक पारिसकेपछि, म अचम्ममा परेँ, किनभने अगुवाको रूपमा सेवा गर्न म नै छानिएछु। यो परिणाम देखेर, म अरूभन्दा राम्रो छु भन्‍ने विचार गरेर पहिलेको जसरी यसैमा रमाइनँ, तर मलाई के लाग्यो भने, यो त मलाई दिइएको जिम्‍मेवारी र कर्तव्य हो, र मैले सत्यतामा र आफ्नो कर्तव्य ठीकसँग पूरा गर्ने कार्यमा ध्यान केन्द्रित गर्नुपर्छ ताकि म परमेश्‍वरको प्रेम र मुक्तिको योग्य बन्‍न सकूँ।

झण्डै तीन वर्षको त्यस समयमा, परमेश्‍वरको न्याय र सजायले मलाई नाम र पदले पुर्‍याउने हानिको बारेमा स्पष्‍टसँग देखायो, र मैले सत्यतालाई पछ्याउने संकल्‍प गरेँ। कति पटक म अझै नाम र फाइदाको लागि लड्न चाहन्छु, तैपनि म सचेत रूपमा परमेश्‍वरसँग प्रार्थना गर्न, सत्यताको अभ्यास गर्नमा ध्यान केन्द्रित गर्न, र मेरो कर्तव्य राम्ररी पूरा गर्न सक्छु। म अब मेरो शैतानी, भ्रष्‍ट स्वभावको बन्धनमा छैनँ। जब मैले नाम र पदलाई छोडेँ, मलाई लाग्यो कि मैले त्यसलाई मात्र छोडिनँ, तर शैतानले मलाई बाँधेको गह्रौं बन्धनलाई पनि त्याग्न सकेँ। मलाई एकदम सहज र स्वतन्त्र महसुस हुन्छ।

तपाईं र तपाईंको परिवार बाँच्ने बारेमा एउटा ठूलो कुरा: के तपाईं ठूला विपत्तिहरूमा कसरी सुरक्षा प्राप्त गर्ने र बच्ने भनेर सोच्नुहुन्छ? तलको बटनमा क्लिक गर्नुहोस् र तपाईंले बाटो पाउनुहुनेछ।

सम्बन्धित विषयवस्तु

आखिरमा आफ्नो कर्तव्य कसरी पूरा गर्ने भनेर मैले सिकेँ

क्षिन्‍चेङ, इटालीसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “आफ्नो दायित्वलाई पूरा गर्ने प्रक्रियाद्वारा मानिस बिस्तारै परिवर्तन गरिन्छ, र यही...

जिउने सुन्दर तरिका

क्षुन्‍क्‍वी, जापानम सानो छँदा मलाई के सिकाइयो भने, अरूसँग ठाडे व्यवहार नगर्नू र अरूलाई दुःखी नबनाउनू, र त्यो नै मेरो जीवनको दर्शन थियो।...

म अब जिम्‍मेवारीदेखि डराउँदिनँ

चेङ्ग नुओ, चीनईश्वी सम्वत् २०२० नोभेम्बर महिनामा एक दिन हाम्रो टोली भेलामा एकजना अगुवा सहभागी भए र भेला सकेपछि उनले हाम्रो सम्पादन कार्यको...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्