स्वर्ग र पृथ्वी अनि यावत् थोकहरू सृष्टि गर्नुहुने साँचो परमेश्‍वर एउटै हुनुहुन्छ कि तीन जना

9 फेब्रुअरी 2022

परमेश्‍वरका प्रासंगिक वचनहरू:

सबै थोकमाथि शासन गर्ने र सबै थोकमाथि प्रशासन चलाउनुहुने परमेश्‍वर नै हुनुहुन्छ। अस्तित्वमा भएका सबै कुरा उहाँले नै सृष्टि गर्नुभएको हो, अस्तित्वमा भएका सबै कुरामाथि उहाँले नै प्रशासन चलाउनुहुन्छ, र अस्तित्वमा भएका सबै थोकमाथि उहाँले नै शासन गर्नुहुन्छ, र अस्तित्वमा भएका सबै थोकलाई उहाँले नै भरणपोषण गर्नुहुन्छ। परमेश्‍वरको हैसियत यही हो, र उहाँको पहिचान यही हो। सबै थोक र अस्तित्वमा रहेका सबै कुराको लागि, परमेश्‍वरको साँचो पहिचान भनेको सबै सृष्टिको सृष्टिकर्ता र शासक हो। परमेश्‍वरको पहिचान यही हो, र उहाँ सबै थोकका बीचमा अद्वितीय हुनुहुन्छ। परमेश्‍वरका कुनै पनि सृष्टिहरूले—चाहे तिनीहरू मानवजातिका बीचमा होऊन् वा आत्मिक संसारमा होऊन्—परमेश्‍वरको पहिचान र हैसियतलाई अनुकरण गर्न वा प्रतिस्थापन गर्नको लागि कुनै पनि माध्यम वा बहानाको प्रयोग गर्न सक्दैनन्, किनभने सबै थोकको बीचमा यो पहिचान, शक्ति, अख्तियार, र सृष्टिमाथि शासन गर्ने यो क्षमता भएको एक मात्रै हुनुहुन्छ: हाम्रा अद्वितीय परमेश्‍वर स्वयम्। उहाँ सबै थोकमाझ जिउनुहुन्छ र घुमफिर गर्नुहुन्छ; उहाँ सबैभन्दा उच्‍च स्थानमा, सबै थोकभन्दा माथि उठ्न सक्‍नुहुन्छ। मानिस बनेर, देह र रगतकाहरूमध्ये एक बनेर, मानिसहरूको आमने-सामने आएर अनि तिनीहरूसँग खुशी र दुःख बाँडेर उहाँले आफैलाई नम्र तुल्याउन सक्‍नुहुन्छ, यसको साथै उहाँले अस्तित्वमा रहेका सबै थोकको नियति र यो सबै अघि बढ्ने दिशा निर्धारण गर्दै अस्तित्वमा रहेका सबै थोकमाथि हुकुम चलाउनुहुन्छ। यसको साथै, उहाँले सारा मानवजातिको नियतिको मार्गनिर्देश गर्नुहुन्छ, र मानवजातिको दिशा तय गर्नुहुन्छ। यस्तो परमेश्‍वरलाई सबै मानवजातिले आराधना गर्नुपर्छ, आज्ञापालन गर्नुपर्छ, र चिन्‍नुपर्छ। यसरी, तँ मानवजातिको जुनसुकै समूह वा प्रकारमा भए तापनि, परमेश्‍वरलाई विश्‍वास गर्नु, परमेश्‍वरलाई पछ्याउनु, उहाँको नियमलाई स्वीकार गर्नु र तेरो भाग्यको लागि उहाँका बन्दोबस्तहरूलाई स्वीकार गर्नु कुनै पनि व्यक्ति र कुनै पनि जीवित प्राणीको लागि एउटै मात्र विकल्‍प हो, अर्थात् अत्यावश्यक छनौट हो। परमेश्‍वरको अद्वितीयपनमा, मानिसहरूले उहाँको अख्‍तियार, उहाँको धर्मी स्वभाव, उहाँको सार देख्छन् अनि उहाँले सबै थोकलाई भरणपोषण गर्ने माध्यमहरू सबै पूर्ण रूपमा अद्वितीय रहेको देख्छन्; यो अद्वितीयपनले परमेश्‍वर स्वयम्‌को साँचो पहिचानलाई निर्धारित गर्छ, र यसले उहाँको हैसियतलाई पनि निर्धारित गर्छ। त्यसकारण, सारा सृष्टिको बीचमा, परमेश्‍वरको अनुकरण गर्ने प्रयास असम्‍भव भएझैं आत्मिक संसारमा वा मानवजातिको बीचमा रहेको कुनै पनि जीवित प्राणीले परमेश्‍वरको स्थानमा खडा हुने इच्‍छा गर्थ्यो भने, त्यस कार्यमा सफलता मिल्न असम्‍भव हुनेथियो। तथ्य यही नै हो।

वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय १०

परमेश्‍वरको व्यवस्थापनको योजना छ हजार वर्षसम्म फैलिन्छ र उहाँको कामका भिन्नताहरूको आधारमा तीन युगहरूमा विभाजित भएको छ: पहिलो युग पुरानो करारको व्यवस्थाको युग हो; दोस्रो अनुग्रहको युग हो; र तेस्रो आखिरी दिनहरूको—परमेश्‍वरको राज्यको युग हो। प्रत्येक युगमा फरक पहिचानको प्रतिनिधित्व गरिएको छ। यो काममा भिन्नता, अर्थात्, कामको मागहरूको कारणले मात्र हो। व्यवस्थाको युगको अवधिमा गरिएको कामको पहिलो चरण इस्राएलमा सम्पन्न भयो र छुटकाराको दोस्रो चरणको काम यहूदियामा सम्पन्न गरियो। छुटकाराको कामका लागि, येशू पवित्र आत्माद्वारा गर्भधान हुनुभयो अनि एक मात्र पुत्रको रूपमा जन्मनुभयो। यी सबै कामको मागले गर्दा भएको थियो। आखिरी दिनहरूमा, परमेश्‍वर अन्यजाति राष्ट्रहरूमा आफ्नो कामको विस्तार गर्न र त्यहाँका मानिसहरूलाई जित्न चाहनुहुन्छ, यसैले कि उहाँको नाउँ तिनीहरूका बीचमा महान् होस्। उहाँ मानिसहरूलाई समझमा र सबै सत्यताको प्रवेशमा डोऱ्याउन चाहनुहुन्छ। यी सबै काम एउटै आत्माद्वारा गरिन्छ। यद्यपि उहाँले फरक दृष्टिकोणबाट यो गर्न सक्नुहुनेछ, तर पनि कामका प्रकृति र सिद्धान्तहरू त्यस्तै रहन्छन्। एकचोटि जब तैंले ती सिद्धान्तहरू र उहाँहरूले गरेको कामको प्रकृति अवलोकन गर्छस्, तब यो सब एक आत्माद्वारा गरिएको हो भनी तँलाई थाहा हुनेछ।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। के त्रिएकत्व अस्तित्वमा छ?

यदि कामका तीन चरणहरूलाई त्रिएकत्वको अवधारणा अनुसार मूल्याङ्कन गरिन्छ भने, त्यहाँ तीन जना परमेश्‍वर हुनुपर्दछ, किनकि प्रत्येकले गरेको काम एउटै छैन। यदि तिमीहरूमध्ये कसैले त्रिएकत्व साँच्चै छ भन्छौ भने, तीन व्यक्तित्वहरूमा एक परमेश्‍वर भनेको के हो त्यो बताऊ। पवित्र पिता के हुनुहुन्छ? पुत्र के हुनुहुन्छ? पवित्र आत्मा के हुनुहुन्छ? के यहोवा पवित्र पिता हुनुहुन्छ? के येशू पुत्र हुनुहुन्छ? त्यसोभए, पवित्र आत्माको बारेमा के छ? के पिता आत्मा हुनुहुन्न? के पुत्रको सार पनि आत्मा होइन र? के येशूको काम पवित्र आत्माको काम थिएन? के त्यसबेला यहोवाको काम येशूको कामजस्तै आत्माद्वारा गरिएको थिएन र? परमेश्‍वरसँग कतिवटा आत्मा हुन सक्छ? तेरो बयानअनुसार पिता, पुत्र र पवित्र आत्माका तीन व्यक्तित्वहरू एक हुन्; यदि त्यसो हो भने, तब त्यहाँ तीनवटा आत्मा छन्, तर तीनवटा आत्मा हुनुको अर्थ त्यहाँ तीन परमेश्‍वर छन् भन्ने हुन्छ। यसको अर्थ त्यहाँ कुनै एक साँचो परमेश्‍वर छैन; यस प्रकारको परमेश्‍वरसँग अझै पनि परमेश्‍वरको अन्तर्निहित तत्व कसरी हुन सक्छ? यदि तँ एक मात्र परमेश्‍वर हुनुहुन्छ भनेर स्वीकार गर्छस् भने, कसरी उहाँको पुत्र हुन र पिता हुन सक्छ? के यी सबै केवल तेरा धारणाहरू होइनन्? परमेश्‍वरमा एक मात्र हुनुहुन्छ, यस परमेश्‍वरमा एक मात्र व्यक्तित्व हुनुहुन्छ, र परमेश्‍वरका एक आत्मा मात्र हुनुहुन्छ, बाइबलमा “पवित्र आत्मा एउटै मात्र हुनुहुन्छ, र एउटै परमेश्‍वर हुनुहुन्छ” भन्नेबारे धेरै लेखिएका छन् भन्ने जस्तै। तैंले भन्ने पिता र पुत्र अस्तित्वमा भए पनि आखिर परमेश्‍वर एक मात्र हुनुहुन्छ, अनि तिमीहरूले विश्‍वास गर्ने पिता, पुत्र र पवित्र आत्माको सार पवित्र आत्माको सारमा छ। अर्को शब्दमा भन्ने हो भने, परमेश्‍वर आत्मा हुनुहुन्छ, तर उहाँ देह बन्न र मानिसहरूका माझ वास गर्न साथै सबै थोकभन्दा उच्च हुन सक्नुहुन्छ। उहाँका आत्मा सर्व-सम्मिलित र सर्वव्यापी छ। उहाँ एकसाथ देहमा र ब्रह्माण्डमा र त्यसमाथि हुन सक्नुहुन्छ। सबै मानिसहरूले परमेश्‍वर एक मात्र साँचो परमेश्‍वर हुनुहुन्छ भन्ने गरेकाले, परमेश्‍वर एक मात्र हुनुहुन्छ, कसैले पनि आफ्नो इच्छाले विभाजन गर्न सक्दैन! परमेश्‍वर एक मात्र आत्मा, र एक मात्र व्यक्तित्व हुनुहुन्छ; र त्यो परमेश्‍वरका आत्मा हुनुहुन्छ। यदि तैंले भनेको जस्तै पिता, पुत्र र पवित्र आत्मा हो भने त, के उहाँहरू तीन परमेश्‍वर हुनुहुन्न र? पवित्र आत्मा एउटा थोक हुनुहुन्छ, पुत्र अर्को, र पिता अझ अर्को। उहाँहरूका व्यक्तित्व फरक छन् र उहाँहरूका सारहरू फरक छन्, त्यसोभए उहाँहरू प्रत्येक कसरी एउटै परमेश्‍वरका भागहरू हुन सक्नुहुन्छ? पवित्र आत्मा आत्मा हुनुहुन्छ; यो बुझ्न मानिसका निम्ति सजिलो छ। यदि त्यसो हो भने, पिता झन् अझ बढी आत्मा हुनुहुन्छ। उहाँ यस पृथ्वीमा कहिल्यै ओर्लनुभएको छैन र कहिल्यै देह बन्नुभएको छैन; मानिसहरूका हृदयमा उहाँ यहोवा परमेश्‍वर हुनुहुन्छ, र निश्चय उहाँ एक आत्मा पनि हुनुहुन्छ। त्यसोभए उहाँ र पवित्र आत्माको बीचमा के सम्बन्ध छ? के यो पिता र पुत्रबीचको सम्बन्ध हो? वा के यो पवित्र आत्मा र पिताको आत्मा बीचको सम्बन्ध हो? के प्रत्येक आत्माको सार एउटै हो? वा के पवित्र आत्मा पिताको साधन हुनुहुन्छ? यसलाई कसरी वर्णन गर्न सकिन्छ? तब पुत्र र पवित्र आत्माको बीच के सम्बन्ध छ? के यो दुईवटा आत्मा बीचको सम्बन्ध हो वा मानिस र आत्मा बीचको सम्बन्ध हो? यी सबै यस्तै विषयहरू हुन् जसको हामीसित कुनै स्पष्टीकरण छैन! यदि उहाँहरू सबै एउटै आत्मा हुनुहुन्छ भने, तीन व्यक्तित्वहरूको कुरा हुन सक्दैन, किनकि उहाँहरूमा एउटै आत्मा हुनुहुन्छ। यदि उहाँहरू फरक-फरक व्यक्तित्वहरू थिए भने, उहाँहरूका आत्माहरू शक्तिमा फरक हुनेथियो, र उहाँहरू केवल एक मात्र आत्मा हुन सक्नुहुन्न। पिता, पुत्र र पवित्र आत्माको यो अवधारणा सबैभन्दा हास्यस्पद छ! यसले परमेश्‍वरलाई विभाजित गर्दछ र उहाँलाई फरक-फरक प्रतिष्ठा र आत्मा भएका तीन व्यक्तित्वहरूमा बाँड्दछ; त्यसोभए अझै पनि उहाँ कसरी एक आत्मा र एक परमेश्‍वर हुन सक्नुहुन्छ? मलाई भन्, के आकाश र पृथ्वी, र त्यसभित्रका सबै थोक पिता, पुत्र वा पवित्र आत्माले सृष्टि गर्नुभएको हो? कोही भन्छन् कि उहाँहरू सबैले एकसाथ सृष्टि गर्नुभएको हो। त्यसोभए मानवजातिलाई कसले छुटकारा दियो? के पवित्र आत्माले, पुत्रले वा पिताले हो? कसै-कसैले भन्छन्, मानवजातिलाई पुत्रले उद्धार गर्नुभएको हो। त्यसोभए, सारमा पुत्र को हुनुहुन्छ? के उहाँ परमेश्‍वरका आत्माको देहधारण हुनुहुन्न र? देहधारणले स्वर्गमा हुनुहुने परमेश्‍वरलाई सृष्टि गरिएको मानिसको दृष्टिकोणबाट पिताको नाउँले सम्बोधन गर्दछ। के येशू पवित्र आत्माद्वारा गर्भधारण भई जन्मनुभएको तँलाई थाहा छैन? उहाँभित्र पवित्र आत्मा हुनुहुन्छ; तैंले जे भने पनि, उहाँ अझै पनि स्वर्गका परमेश्‍वरसँग एक हुनुहुन्छ, किनकि उहाँ परमेश्‍वरका आत्माको देहधारण हुनुहुन्छ। पुत्रको बारेमा यो धारणा असत्य हो। एउटै आत्मा हुनुहुन्छ, जसले सबै काम गर्नुहुन्छ, केवल परमेश्‍वर स्वयमले मात्र, अर्थात् परमेश्‍वरका आत्माले आफ्नो काम गर्नुहुन्छ।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। के त्रिएकत्व अस्तित्वमा छ?

यसले प्रायःजसो मानिसहरूका मनमा उत्पत्तिको पुस्तकको वचन सम्झना गराउँछः “मानिसलाई हाम्रै स्वरूपमा, हाम्रै रूपमा बनाऔं।” यहाँ परमेश्‍वरले “हामी” मानिसलाई “हाम्रै” स्वरूपमा बनाऔं भन्नुभएकोले, “हामी” शब्दले दुई वा अधिकलाई संकेत गर्दछ; उहाँले “हामी” भन्नुभएकोले त्यहाँ एक मात्र परमेश्‍वर छैनन्। यसरी, मानिसले अस्पष्ट भिन्नाभिन्नै व्यक्तित्वहरूको बारेमा सोच्न थाल्यो, र यी शब्दहरूबाट पिता, पुत्र र पवित्र आत्माको धारणा उत्पन्न भयो। त्यसो भए पिता कस्तो हुनुहुन्छ? पुत्र कस्तो हुनुहुन्छ? अनि पवित्र आत्मा कस्तो हुनुहुन्छ? के आजको मानवजाति तीन जना मिलेर बनेको एक व्यक्तित्वको स्वरूपमा बनाइनु सम्भव छ? त्यसो भए, के त्यस्तो मानिसको स्वरूप पिता, पुत्र वा पवित्र आत्माको जस्तो हुन्छ? मानिस परमेश्‍वरको कुन व्यक्तित्वहरूको स्वरूपमा छ? मानिसको अवधारणा केवल गलत र मूर्खतापूर्ण छ! यसले एक परमेश्‍वरलाई धेरैवटा परमेश्‍वरहरूमा विभाजन गर्न मात्र सक्दछ। मोशाले उत्पत्तिको पुस्तक लेखेका समयमा मानवजाति संसारको सृष्टिपछि सृष्टि गरिएको थियो। आदिमा, संसार सुरु भएको बेला मोशा थिएनन्। मोशाले धेरैपछि मात्र बाइबल लेखेका थिए, त्यसैले स्वर्गका परमेश्‍वरले के बोल्नुभयो भनी तिनले सम्भवतः कसरी जान्न सक्थे? परमेश्‍वरले संसार कसरी सृष्टि गर्नुभयो भन्ने कुराको तिनलाई अलिकति पनि आभास थिएन। बाइबलको पुरानो करारमा पिता, पुत्र र पवित्र आत्माको बारेमा कुनै उल्लेख गरिएको छैन, केवल एक मात्र सत्य परमेश्‍वर, यहोवाले इस्राएलमा आफ्नो काम गर्नुभएको उल्लेख मात्र छ। युग परिवर्तन हुँदै जाँदा उहाँलाई विभिन्न नाउँहरूले सम्बोधन गरियो, तर ती प्रत्येक नाउँले फरक-फरक व्यक्तित्वलाई बुझाउँछ भनी यसले प्रमाणित गर्दैन। यदि त्यस्तो हुन्थ्यो भने, तब के परमेश्‍वरमा असङ्ख्य व्यक्तित्वहरू हुने थिएनन् र? पुरानो करारमा जे लेखिएको छ त्यो यहोवाको काम हो, त्यो व्यवस्थाको युगमा सुरु गर्न परमेश्‍वर आफैले गर्नुभएको काम थियो। त्यो परमेश्‍वरको काम थियो, र जसै उहाँ बोल्नुभयो, त्यस्तै हुन आयो र जसै उहाँले आज्ञा गर्नुभयो, त्यस्तै भयो। कुनै पनि समयमा यहोवाले उहाँ काम गर्न आउनुभएका पिता हुनुहुन्छ भन्नुभएन, न ता उहाँले मानवजातिको उद्धार गर्न पुत्र आउनुहुने अगमवाणी नै गर्नुभयो। जब येशूको समय आयो, त्यस बेला परमेश्‍वर सम्पूर्ण मानवजातिलाई छुटकारा दिन देह बन्नुभयो मात्र भनियो, पुत्र आउनुभयो भनी भनिएन। युगहरू एकै प्रकारका नभएकाले र परमेश्‍वर आफैले गर्नुहुने काम पनि फरक-फरक हुने भएकोले, उहाँले आफ्नो कामलाई विभिन्न क्षेत्रहरूमा गर्नु आवश्यक छ। यस प्रकारले, उहाँले प्रतिनिधित्व गर्नुहुने पहिचान पनि फरक-फरक हुन्छन्। मानिसले यहोवा येशूका पिता हुनुहुन्छ भनी विश्‍वास गर्छ, तर वास्तवमा येशूले यसलाई स्वीकार्नु भएन, जसले भन्नुभयोः “हामी कहिल्यै पनि पिता र पुत्रको रूपमा चिनिंदैनौ; म र स्वर्गमा हुनुहुने पिता एक हौं। पिता ममा हुनुहुन्छ र म पितामा छु; जब मानिसले पुत्रलाई देख्छन्, तिनीहरूले स्वर्गमा हुनुहुने पितालाई देख्दछन्।” सबै भनिसकेपछि, उहाँ चाहे पिता होऊन् वा पुत्र, उहाँहरू एक आत्मा हुनुहुन्छ, अलग-अलग व्यक्तित्वहरूमा विभाजित हुनुहुन्न। मानिसले एक पटक व्याख्या गर्न खोज्यो भने फरक-फरक व्यक्तित्वहरू साथै पिता, पुत्र र पवित्र आत्माको सम्बन्धको धारणाले गर्दा विषयहरू जटिल बन्छन्। जब मानिसले फरक-फरक व्यक्तित्वहरूको कुरा गर्छ, के त्यसले परमेश्‍वरलाई भौतिक बनाउँदैन? मानिसले ती व्यक्तित्वहरूलाई पहिलो, दोस्रो र तेस्रो दर्जामा राख्छ; यी सबै मानिसको कल्पना मात्र हुन्, जुन उल्लेख गर्नु योग्यको छैन, र पूर्ण रूपमा अवास्तविक छ! यदि तैंले उसलाई, “त्यहाँ कतिजना परमेश्‍वरहरू छन्?” भनी सोधिस् भने, उसले भन्नेछ कि परमेश्‍वर पिता, पुत्र र पवित्र आत्मा भएको त्रिएकत्व हुनुहुन्छः एक मात्र साँचो परमेश्‍वर। यदि तैंले फेरि, “पिता को हुनुहुन्छ?” भनी सोधिस् भने, उसले यसो भन्नेछः “पिता स्वर्गमा हुनुहुने परमेश्‍वरका आत्मा हुनुहुन्छ; उहाँ सबैका नियन्त्रक हुनुहुन्छ, र उहाँ स्वर्गका मालिक हुनुहुन्छ।” “त्यसोभए के यहोवा आत्मा हुनुहुन्छ?” उसले भन्नेछः “हो!” यदि तैंले उसलाई, “पुत्र को हुनुहुन्छ?” भनी सोधिस् भने, उसले भन्नेछ कि अवश्य येशू पुत्र हुनुहुन्छ। “त्यसोभए येशूको कथा के हो? उहाँ कहाँबाट आउनुभएको हो?” उसले भन्नेछः “येशू पवित्र आत्माद्वारा मरियमको गर्भमा आउनुभयो र जन्मनुभयो।” त्यसो भए के उहाँको सार पनि आत्मा होइन र? के उहाँको काम पनि पवित्र आत्माको प्रतिनिधि होइन र? यहोवा आत्मा हुनुहुन्छ, र यसैले येशूको सार पनि हुनुहुन्छ। यो भन्नु आवश्यक छैन कि अब आखिरी दिनहरूमा पनि आत्माले अझै पनि काम गरिरहनुभएको छ; उहाँहरू कसरी फरक-फरक व्यक्तित्वहरू हुन सक्छन्? के यो आत्माले भिन्नै दृष्टिकोणबाट गरिरहनुभएको आत्माकै काम होइन र? जस्तै, त्यहाँ व्यक्तित्वहरू बीच कुनै भिन्नता हुँदैन। येशूको गर्भधान पवित्र आत्माबाट भएको थियो, र निस्सन्देह, उहाँको काम ठ्याक्कै पवित्र आत्माको काम थियो। यहोवाले गर्नुभएका कामको पहिलो चरणमा उहाँ न ता देह नै हुनुभयो, न मानिसकहाँ देखा पर्नुभयो। यसैले मानिसले उहाँको रूप कहिल्यै पनि देखेन। उहाँ जतिसुकै महान् र जति नै अग्लो हुनुहुन्थ्यो भने पनि, उहाँ अझै आत्मा, परमेश्‍वर स्वयम् नै हुनुहुन्थ्यो, जसले पहिले मानिसलाई सृष्टि गर्नुभएको थियो। अर्थात्, उहाँ परमेश्‍वरका आत्मा हुनुहुन्थ्यो। जब उहाँ बादलहरूको बीचबाट मानिससँग बोल्नुभयो, उहाँ केवल आत्मा हुनुहुन्थ्यो। उहाँ देखापर्नुभएको घटनालाई कसैले पनि देखेन; अनुग्रहको युगमा जब परमेश्‍वरका आत्मा देहमा आउनुभयो र यहूदियामा देहधारण हुनुभयो एक यहूदीको स्वरूपमा पहिलोचोटि मानिसले उहाँलाई देख्यो। यहोवाका विचारहरू बुझ्न सकिंदैन। तापनि, उहाँ पवित्र आत्माद्वारा गर्भधान, अर्थात् स्वयम् यहोवा स्वयमको आत्माद्वारा गर्भधान हुनुभयो, र येशू परमेश्‍वरका आत्माको मुर्तरूपको रूपमा जन्मनुभयो। मानिसले पहिले पवित्र आत्मा ढुकुरको रूपमा येशूमाथि ओर्लनुभएको देख्यो; यो केवल येशू मात्र आत्मा थिएन, बरु पवित्र आत्मा हुनुहुन्थ्यो। त्यसोभए के येशूका आत्मालाई पवित्र आत्माबाट अलग गर्न सकिन्छ? यदि येशू, पुत्र र पवित्र आत्मा पवित्र आत्मा नै हुनुहुन्छ भने, तब उहाँहरू कसरी एक हुन सक्नुहुन्छ? यदि त्यस्तो हुन्थ्यो भने, काम गर्न सकिने थिएन। येशूभित्रका आत्मा, स्वर्गमा हुनुहुने आत्मा, र यहोवाका आत्मा सबै एक हुन्। उहाँलाई पवित्र आत्मा, परमेश्‍वरका आत्मा, सात गुणा तीब्र पारिएको आत्मा र सर्व-सम्मिलित आत्मा भन्न सकिन्छ। परमेश्‍वरका आत्माले धेरै काम गर्न सक्नुहुन्छ। उहाँले संसारलाई सृष्टि गर्न सक्नुहुन्छ र जलप्रलय पठाएर यसलाई नाश गर्न पनि सक्नुहुन्छ; उहाँले सबै मानवजातिलाई उद्धार गर्न सक्नुहुन्छ, र यसबाहेक उहाँले सारा मानवजातिलाई जित्न र नाश पार्न सक्नुहुन्छ। यो काम सबै परमेश्‍वर आफैले गर्नुभएको हो र उहाँको ठाउँमा परमेश्‍वरको कुनै अर्को व्यक्तित्वहरूले गर्न सक्दैन थियो। उहाँका आत्मालाई यहोवा र येशू, साथै सर्वशक्तिमान् भनेर पनि सम्बोधन गर्न सकिन्छ। उहाँ प्रभु र ख्रीष्ट हुनुहुन्छ। उहाँ मानिसको पुत्र पनि बन्न सक्नुहुन्छ। उहाँ स्वर्गहरूमा हुनुहुन्छ र पृथ्वीमा पनि हुनुहुन्छ; उहाँ ब्रह्माण्डभन्दा माथि र भीड्को माझमा हुनुहुन्छ। स्वर्गहरू र पृथ्वीका एकमात्र मालिक उहाँ हुनुहुन्छ! सृष्टिको समयदेखि अहिलेसम्म यो काम परमेश्‍वर स्वयमको आत्माले गर्दै आउनुभएको छ। त्यो काम चाहे स्वर्गहरूमा होस् वा देहमा, सबै उहाँको आफ्नै आत्माद्वारा गरिन्छ। चाहे स्वर्गमा होस् वा पृथ्वीमा, सबै प्राणीहरू उहाँको सर्वशक्तिमान् हत्केलामा छन्; यी सबै स्वयम् परमेश्‍वरका काम हुन् र उहाँको ठाउँमा अरू कसैले यो गर्न सक्दैन। स्वर्गहरूमा उहाँ आत्मा हुनुहुन्छ, तर परमेश्‍वर स्वयम् पनि हुनुहुन्छ; मानिसहरूका माझ उहाँ देह हुनुहुन्छ, तर परमेश्‍वर स्वयम् नै रहनुहुन्छ। यद्यपि उहाँलाई सयौं हजारौं नाउँले सम्बोधन गर्न सकिन्छ, उहाँ अझै पनि उहाँ नै हुनुहुन्छ, र सबै कामहरू उहाँको आत्माको प्रत्यक्ष अभिव्यक्ति हो। उहाँको क्रुसिकरणद्वारा सारा मानवजातिको छुटकारा उहाँका आत्माको प्रत्यक्ष कार्य थियो, र आखिरी दिनहरूमा सबै जाति र सबै देशहरूका निम्ति घोषणा पनि हो। सबै समयमा, परमेश्‍वरलाई सर्वशक्तिमान् र एक मात्र साँचो परमेश्‍वर, सर्व-सम्मिलित परमेश्‍वर स्वयम् भन्न सकिन्छ। अलग-अलग व्यक्तित्वहरू छैनन्, पिता, पुत्र र पवित्र आत्माको धारणाको त कुरै नगरौँ। स्वर्ग र पृथ्वीमा एउटै मात्र परमेश्‍वर हुनुहुन्छ!

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। के त्रिएकत्व अस्तित्वमा छ?

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्