पाँचौं महत्वपूर्ण मोड: सन्तान

13 अगस्ट 2021

विवाह गरिसकेपछि, व्यक्तिले अर्को पुस्ताको सन्तान हुर्काउन सुरु गर्छ। आफूले कति जना र कस्ता बालबच्‍चा जन्‍माउने भन्‍ने बारेमा व्यक्तिले कुनै निर्णय गर्न सक्दैन; यो पनि सृष्टिकर्ताले पूर्वनिर्धारित गर्नुभएको व्यक्तिको नियतिद्वारा नै निर्धारित हुन्छ। व्यक्तिले पार गरेर जानैपर्ने पाँचौं महत्वपूर्ण मोड यही हो।

यदि कुनै व्यक्ति कसैको सन्तान बन्‍ने भूमिकालाई पूरा गर्नको लागि जन्‍मन्छ भने, उसले कसैको बाबुआमाको भूमिका पूरा गर्न अर्को पुस्ताको सन्तान हुर्काउँछ। भूमिकामा हुने यो परिवर्तनले व्यक्तिलाई फरक-फरक दृष्टिकोणबाट जीवनका फरक-फरक चरणहरूलाई अनुभव गराउँछ। यसले व्यक्तिलाई फरक-फरक जीवन अनुभव पनि प्रदान गर्छ जसद्वारा उसले सृष्टिकर्ताको सार्वभौमिकतालाई जान्‍न पुग्छ, जसलाई सधैँ उही किसिमले लागू गरिन्छ, र जसद्वारा व्यक्तिले सृष्टिकर्ताको पूर्वनिर्धारित गन्तव्यलाई कसैले पनि नाघ्‍न सक्दैन वा परिवर्तन गर्न सक्दैन भन्‍ने तथ्यलाई बुझ्‍छ।

१. आफ्‍नो सन्तान के बन्‍छ भन्‍ने कुरालाई कसैले पनि नियन्त्रण गर्न सक्दैन

आफ्‍नो सन्तान के बन्‍छ भन्‍ने कुरालाई कसैले पनि नियन्त्रण गर्न सक्दैन

जन्‍म, हुर्काइ-बढाइ, विवाह सबैले फरक-फरक हदमा विभिन्‍न प्रकारका निराशाहरू ल्याउँछन्। कतिपय मानिसहरू आफ्‍ना परिवार वा आफ्‍नो शारीरिक रूपप्रति असन्तुष्ट हुन्छन्; कतिले आफ्‍ना बाबुआमालाई मन पराउँदैनन्; कति आफू हुर्केको वातावरणको बारेमा बेखुसी हुन्छन् र गुनासो गर्छन्। अनि धेरैजसो मानिसहरूका लागि, यी सबै निराशाहरूमध्ये विवाह सबैभन्दा बढी असन्तुष्टपूर्ण हुन्छ। आफ्‍नो जन्‍म, हुर्काइ, वा विवाहको बारेमा व्यक्ति जति नै असन्तुष्ट भए पनि, यी कुराहरू पार गर्दै जानेहरू हरेकलाई थाहा हुन्छ कि तिनीहरू कहाँ र कहिले जन्‍मन्छन्, तिनीहरूको रूप कस्तो हुन्छ, तिनीहरूको आमाबाबु को हुनेछन्, र तिनीहरूको पति वा पत्‍नी को हुनेछन् भन्‍ने कुरा कसैले पनि छनौट गर्न सक्दैन, बरु तिनीहरूले त स्वर्गको इच्‍छालाई नै स्वीकार गर्नुपर्छ। तैपनि जब मानिसहरूले अर्को पुस्ताको सन्तान हुर्काउने समय हुन्छ, तब तिनीहरूले तिनीहरूका सन्तानले तिनीहरूको आफ्‍नै जीवनको अघिल्‍लो भागमा तिनीहरूले भोगेका निराशाहरू सबैलाई पूर्ति गर्नेछन् भन्‍ने आशा गर्दै, आफ्‍नो जीवनको पहिलो भागमा तिनीहरूले पूरा गर्न नसकेका सबै इच्‍छाहरू आफ्‍ना सन्तानमा लाद्छन्। त्यसकारण, मानिसहरू आफ्‍ना छोराछोरीका बारेमा अनेक किसिमका कल्‍पनाहरू गर्छन्: तिनीहरूका छोरीहरू अत्यन्तै सुन्दर हुनेछन्, तिनीहरूका छोरा आकर्षक भलाद्मी बन्‍नेछन्; तिनीहरूका छोरीहरू सभ्य र प्रतिभावान् बन्‍नेछन् र तिनीहरूका छोराहरू उत्कृष्ट विद्यार्थी र उत्कृष्ट खेलाडी बन्‍नेछन्; तिनीहरूका छोरीहरू विनम्र, चरित्रवान्, र समझदार बन्‍नेछन्, अनि तिनीहरूका छोराहरू बुद्धिमानी, सक्षम, र संवेदनशील बन्‍नेछन्। तिनीहरूले आफ्‍ना सन्तान, चाहे तिनीहरू छोरी हुन् वा छोरा, तिनीहरूले आफूभन्दा ठूलालाई आदर गर्नेछन्, आफ्‍ना बाबुआमाको वास्ता गर्नेछन्, हरेकले तिनीहरूलाई माया र तारिफ गर्नेछन् भन्‍ने आशा गरेका हुन्छन्…। यस विन्दुमा, जीवनसम्‍बन्धी तिनीहरूको आशा ताजा बन्छ, अनि मानिसहरूको हृदयमा नयाँ जोसको दियो बल्छ। मानिसहरूलाई थाहा छ, तिनीहरू यो जीवनमा शक्तिहीन र आशाविहीन छन्, भीडभन्दा राम्रो हुनको लागि तिनीहरूसँग अर्को मौका वा अर्को आशा हुनेछैन, र तिनीहरूसँग आफ्‍नो नियति स्वीकार गर्नेबाहेक केही उपाय नै छैन। त्यसैले तिनीहरूले आफ्‍ना सबै आशाहरू, आफ्‍ना पूरा नभएका इच्‍छा र आकांक्षाहरू अर्को पुस्तामा लाद्छन् र आशा गर्छन् कि तिनीहरूका सन्तानले तिनीहरूलाई तिनीहरूका सपनाहरू पूरा गर्न अनि तिनीहरूका इच्‍छाहरू हासिल गर्न सहयोग गर्न सक्छन्; तिनीहरूले आशा गर्छन कि तिनीहरूका छोराछोरीहरूले परिवारको नाममा वैभव ल्याउनेछन्, तिनीहरू महत्त्वपूर्ण, धनी, अनि चर्चित बन्‍नेछन्। छोटकरीमा भन्नुपर्दा, तिनीहरूले आफ्‍ना छोराछोरीको ऐश्‍वर्य उचाइमा पुगेको हेर्न चाहन्छन्। मानिसहरूका योजना र कल्‍पनाहरू त पूर्ण छन्; तर के तिनीहरूले जन्माउने सन्तानहरूको संख्या, तिनीहरूका छोराछोरीको रूप, क्षमता आदि इत्यादि तिनीहरूले निर्णय गर्ने कुरा होइन, तिनीहरूको हातमा त आफ्ना सन्तानको नियति समेत छैन भन्‍ने तिनीहरूलाई थाहा छैन र? मानिसहरू आफ्‍नो नियतिका मालिक होइनन्, तैपनि तिनीहरूले नयाँ पुस्ताको नियति परिवर्तन गर्ने आशा गर्छन्; तिनीहरू आफ्‍नै नियतिबाट उम्कन असमर्थ छन्, तैपनि तिनीहरूले आफ्‍ना छोराछोरीहरूको नियति नियन्त्रण गर्ने प्रयास गर्छन्। के तिनीहरू आफैले आफ्नो अधिक-मूल्याङ्कन गरिरहेका छैनन् र? के यो मानवीय मूर्खता र अज्ञानता होइन र? आफ्‍ना सन्तानको लागि मानिसहरू जुनसुकै हदसम्‍म जान्छन्, तर आखिरमा, व्यक्तिको योजना र इच्‍छाहरूले उसले कति जना सन्तान जन्‍माउँछ वा ती छोराछोरी कस्ता हुन्छन् भन्‍ने कुरालाई नियन्त्रण गर्न सक्दैन। कतिपय मानिसहरूसँग सुक्‍को हुँदैन तैपनि धेरै जना सन्तान जन्‍माउँछन्; कतिपय मानिसहरू धनी हुन्छन् तैपनि एउटै बच्‍चा जन्‍माएका हुँदैनन्। कतिले छोरी चाहन्छन् तर त्यो इच्‍छा पूरा हुँदैन; कति जना छोरा चाहन्छन् तर छोरा जन्‍माउन सक्दैनन्। कतिका लागि छोराछोरी आशीर्वाद हुन्; अरूका लागि, ती श्राप हुन्। कतिपय दम्पतीहरू बुद्धिमान हुन्छन्, तैपनि सुस्त मस्तिष्क भएको बच्‍चा जन्‍माउँछन्; कतिपय आमाबाबु मेहनती र इमानदार हुन्छन्, तैपनि तिनीहरूले हुर्काउने सन्तान अल्छी हुन्छन्। कतिपय बाबुआमा दयालु र सीधा हुन्छन् तर तिनीहरूका छोराछोरी कुटिल र बदमास हुन्छन्। कतिपय बाबुआमाको मस्तिष्क र शरीर तन्दुरुस्त हुन्छ तर तिनीहरूले अपाङ्ग सन्तान जन्‍माउँछन्। कतिपय बाबुआमा साधारण र असफल हुन्छन्, तर तिनीहरूका छोराछोरीले ठूला-ठूला कुराहरू हासिल गर्छन्। कतिपय बाबुआमा न्यून प्रतिष्ठाका हुन्छन् तर तिनीहरूका छोराछोरीले उच्‍च प्रतिष्ठा प्राप्त गर्छन्। …

२. अर्को पुस्ताका सन्तान हुर्काइसकेपछि, मानिसहरूले नियतिसम्‍बन्धी नयाँ बुझाइ प्राप्त गर्छन्

अर्को पुस्ताका सन्तान हुर्काइसकेपछि, मानिसहरूले नियतिसम्‍बन्धी नयाँ बुझाइ प्राप्त गर्छन्

विवाह-बन्धनमा प्रवेश गर्ने धेरैजसो मानिसहरूले प्रायजसो तीस वर्षको हाराहारीमा विवाह गर्छन्, जुन जीवनको त्यो समय हो जुन बेला व्यक्तिले मानव नियतिको बारेमा कुनै बुझाइ प्राप्त गरेको हुँदैन। तर जब मानिसहरूले सन्तान हुर्काउन थाल्छन्, र तिनीहरूका सन्तान हुर्कन्छन्, तब तिनीहरूले नयाँ पुस्ताले पनि अघिल्‍लो पुस्ताकै जीवन र सबै अनुभवहरूलाई दोहोर्‍याएको देख्छन्, अनि तिनीहरूले नयाँ पुस्ताको जीवनमा तिनीहरूकै आफ्‍नो विगत प्रतिबिम्‍बित भएको देख्दा, नयाँ पुस्ताले हिँड्ने मार्ग पनि तिनीहरूको आफ्‍नो मार्गजस्तै योजना र छनौट गर्न नसकिने किसिमको रहेछ भन्‍ने महसुस गर्छन्। यो तथ्यलाई सामना गरेपछि, हरेक व्यक्तिको नियति पूर्वनिर्धारित हुन्छ भन्‍ने कुरालाई स्वीकार गर्नुबाहेक तिनीहरूसँग केही विकल्‍प हुँदैन, अनि तिनीहरूले महसुस समेत नगरीकन तिनीहरूका आफ्‍नै इच्‍छाहरूलाई बिस्तारै पन्छ्याउन थाल्छन्, अनि तिनीहरूको हृदयमा भएका लालसाहरू फुट्दै मरेर जान्छन्…। आधारभूत रूपमा जीवनका महत्त्वपूर्ण विन्दुहरूलाई पार गरिसकेपछि, यो अवधिमा मानिसहरूले जीवनको बारेमा नयाँ बुझाइ हासिल गरेका हुन्छन्, नयाँ मनोवृति धारण गरेका हुन्छन्। यस उमेरको व्यक्तिले भविष्यबाट के अपेक्षा गर्न सक्छ र उनीहरूले अपेक्षा गर्नको लागि उनीहरूसँग के नै आशा हुन्छ र? पचास वर्षकी कुन महिलाले अझै आकर्षक राजकुमारको सपना देखिरहेकी हुन्छे र? पचास वर्षको कुन पुरुषले अझै आफ्‍नी हिउँजस्तै गोरीको खोजी गरिरहेको हुन्छ र? आधा उमेरकी कुन महिलाले अझै कुरूप हाँसबाट सुन्दर चखेवीमा परिवर्तन हुने आशा गरिरहेकी हुन्छे र? के धेरैजसो वृद्ध पुरुषहरूमा जवान पुरुषहरूको जस्तै जीवनवृतिसम्‍बन्धी जोस हुन्छ र? समग्रमा भन्दा, चाहे पुरुष होस् वा स्‍त्री, यो उमेरको कुनै पनि व्यक्तिमा विवाह, परिवार, र सन्तानप्रति तुलनात्मक रूपमा तर्कसंगत, व्यवहारिक मनोवृति हुने सम्‍भावना बढी हुन्छ। त्यस्तो व्यक्तिसँग आधारभूत रूपमा कुनै विकल्‍प बाँकी हुँदैन, नियतिलाई चुनौती दिने कुनै हठ हुँदैन। मानव अनुभवको हकमा भन्दा, जब व्यक्ति यो उमेरमा पुग्छ, उसले स्वाभाविक रूपमै निश्‍चित मनोवृति विकास गर्छ: “व्यक्तिले नियतिलाई स्वीकार गर्नैपर्छ; आफ्‍ना छोराछोरीको पनि आ-आफ्‍नै नियति हुन्छ; मानव नियति स्वर्गले तोकेको हुन्छ।” यो संसारका सबै घटना, हैरानी, र कठिनाइहरूलाई सामना गरिसकेपछि पनि सत्यतालाई नबुझ्‍ने मानिसहरूले मानव जीवनसम्‍बन्धी तिनीहरूका अन्तर्दृष्टिलाई यी चार शब्‍दमा सारांशित गर्नेछन्: “नियति भनेको यही हो!” यो वाक्यले मानव नियतिसम्‍बन्धी सांसारिक मानिसहरूको बुझाइ र तिनीहरूले निकालेको निष्कर्षलाई संक्षिप्त गर्ने भए तापनि, र यसले मानवजातिको विवशतालाई व्यक्त गर्ने र यसलाई वास्तविक र सही भनेर व्याख्या गर्न सकिने भए तापनि, यो सृष्टिकर्ताको सार्वभौमिकताको बुझाइभन्दा निकै टाढाको कुरा हो, र यो सृष्टिकर्ताको अख्‍तियारको ज्ञानको विकल्‍प हुँदै होइन।

३. नियतिमा विश्‍वास गर्नु भनेको सृष्टिकर्ताको सार्वभौमिकताको ज्ञानको विकल्प होइन

धेरै वर्षसम्‍म परमेश्‍वरलाई पछ्याइसकेपछि, नियतिसम्‍बन्धी तिमीहरूको ज्ञान र सांसारिक मानिसहरूको ज्ञानको बीचमा कुनै सारगत भिन्‍नता छ? के तिमीहरूले सृष्टिकर्ताको पूर्वनिर्धारित गन्तव्यलाई साँच्‍चै बुझेका छौ र सृष्टिकर्ताको सार्वभौमिकतालाई साँचो रूपमा बुझेका छौ? कतिपय मानिसहरूसँग “नियति भनेको त्यही हो” भन्‍ने वाक्यको बारेमा उल्‍लेखनीय, गहन बुझाइ हुन्छ, तैपनि तिनीहरूले परमेश्‍वरको सार्वभौमिकतामा अलिकति पनि विश्‍वास गर्दैनन्; परमेश्‍वरले नै मानव नियतिलाई बन्दोबस्त र योजनाबद्ध गर्नुहुन्छ भन्‍नेमा तिनीहरू विश्‍वास गर्दैनन्, र तिनीहरू परमेश्‍वरको सार्वभौमिकतामा समर्पित हुन अनिच्‍छुक हुन्छन्। त्यस्ता मानिसहरू छालहरूले यता-उता फालेर, बहावसँगै बगिरहनेजस्तो, निष्क्रिय रूपले प्रतीक्षा गर्दै आफैलाई नियतिको हातमा समर्पित गर्नेबाहेक अन्य विकल्‍पविहीन हुन्छन्। तैपनि मानव नियति परमेश्‍वरको सार्वभौमिकताको अधीनमा छ भन्‍ने तिनीहरूले पहिचान गर्दैनन्; तिनीहरूले आफै परमेश्‍वरको सार्वभौमिकता जान्‍न पहल गरेर परमेश्‍वरको अख्तियारको ज्ञान हासिल गर्न, परमेश्‍वरको योजनाबद्ध कार्य र बन्दोबस्तमा समर्पित हुन, नियतिलाई इन्कार गर्न छोड्न, र परमेश्‍वरको हेरचाह, सुरक्षा, र मार्गनिर्देशनमा जिउन सक्दैनन्। अर्को शब्‍दमा भन्दा, नियतिलाई स्वीकार गर्नु र सृष्टिकर्ताको सार्वभौमिकतामा समर्पित हुनु एउटै कुरा होइन; व्यक्तिले नियतिमा विश्‍वास गर्छ भन्दैमा उसले सृष्टिकर्ताको सार्वभौमिकतालाई स्वीकार गर्छ, पहिचान गर्छ, र चिन्छ भन्‍ने हुँदैन; नियतिमा विश्‍वास गर्नु भनेको यसको सत्यता र यसको बाहिरी प्रकटीकरणलाई पहिचान गर्नु मात्रै हो। यो कुरा सृष्टिकर्ताले मानवजातिको नियतिमाथि कसरी शासन गर्नुहुन्छ भन्‍ने कुरा जान्‍नुभन्दा फरक छ, सृष्टिकर्ता यावत् थोकको नियतिमाथिको प्रभुत्वको स्रोत हुनुहुन्छ भन्‍ने कुरालाई पहिचान गर्नुभन्दा फरक छ, र मानवजातिको नियतिको लागि सृष्टिकर्ताको योजनाबद्ध कार्य र बन्दोबस्तमा समर्पित हुनुभन्दा निकै टाढाको कुरा हो। यदि व्यक्तिले नियतिमा विश्‍वास मात्रै गर्छ—चाहे उसले यसको बारेमा गहन अनुभव नै किन नगरोस्—तर उसले मानवजातिको नियतिमाथिको सृष्टिकर्ताको सार्वभौमिकतालाई जान्‍न र पहिचान गर्न, यसमा समर्पित हुन र यसलाई स्वीकार गर्न सक्दैन भने, तिनीहरूको जीवन एउटा दुःखान्त, व्यर्थमा जिइएको, खोक्रो जीवन हुनेछ; तिनीहरू अझै पनि सृष्टिकर्ताको प्रभुत्वमा आउन, सबैभन्दा सच्‍चा अर्थमा सृष्टि गरिएको मानिस बन्‍न, अनि सृष्टिकर्ताको स्वीकृती प्राप्त गर्न असमर्थ हुनेछन्। सृष्टिकर्ताको सार्वभौमिकतालाई साँचो रूपमा जान्‍ने र अनुभव गर्ने व्यक्ति सक्रिय स्थितिमा हुनुपर्छ, निष्क्रिय वा लाचार स्थितिमा होइन। त्यस्तो व्यक्तिले सबै कुराहरूको नियति पूर्वनिर्धारित हुन्छ भन्‍ने कुरालाई स्वीकार गर्ने भए तापनि, तिनीहरूले जीवन र नियतिसम्‍बन्धी यथार्थ परिभाषा धारण गर्नुपर्छ: हरेक जीवन सृष्टिकर्ताको सार्वभौमिकताको अधीनमा हुन्छ। जब व्यक्तिले आफूले हिँडेको बाटोलाई फर्केर हेर्छ, जब व्यक्तिले आफ्‍नो यात्राको हरेक चरणलाई सम्‍झन्छ, तब उसले उसको यात्रा कठिन वा सहज जेसुकै भए पनि, हरेक चरणमा परमेश्‍वरले नै उसलाई मार्गनिर्देश गरिरहनुभएको थियो, यसको बारेमा योजना गरिरहनुभएको थियो भन्‍ने देख्छ। व्यक्तिले थाहै नपाई उसलाई आजसम्‍म डोर्‍याउने भनेको परमेश्‍वरको सावधानीपूर्ण बन्दोबस्त, उहाँको होसियार योजना नै थियो। सृष्टिकर्ताको सार्वभौमिकतालाई स्वीकार गर्न सक्षम हुनु, उहाँमार्फत मुक्ति प्राप्त गर्न सक्षम हुनु—आहा कस्तो सौभाग्यको कुरो! यदि नियतिप्रति व्यक्तिको मनोवृत्ति नकरात्मक छ भने, परमेश्‍वरले तिनीहरूका लागि बन्दोबस्त गर्नुभएका सबै कुराहरूको तिनीहरूले प्रतिरोध गरिरहेका छन् र तिनीहरूमा समर्पित मनोवृत्ति छैन भन्ने प्रमाणित गर्छ। यदि मानव नियतिमाथिको परमेश्‍वरको सार्वभौमिकताप्रति व्यक्तिको मनोवृत्ति सकरात्‍मक छ भने, जब व्यक्तिले आफ्‍नो यात्रालाई फर्केर हेर्छ, जब व्यक्तिले परमेश्‍वरको सार्वभौमिकतालाई साँचो रूपले बुझ्छ, तब उसले परमेश्‍वरले बन्दोबस्त गर्नुभएको सबै कुरामा थप इमानदारिताका साथ समर्पित हुने इच्‍छा गर्नेछ, परमेश्‍वरलाई आफ्‍नो नियतिको योजना गर्न दिन र परमेश्‍वरको विरुद्धमा विद्रोह गर्न छाड्नको लागि उसमा थप संकल्प र आत्मविश्वास हुन्छ। किनभने जब व्यक्तिले नियतिलाई बुझ्दैन, जब व्यक्तिले परमेश्‍वरको सार्वभौमिकतालाई बुझ्दैन, जब व्यक्तिले कुहिरोभित्र लर्खराउँदै र ढलपलिँदै दृढताका साथ छामछुम गर्दै अघि बढ्छ, तब उसले त्यो यात्रा अत्यन्तै कठिन, अत्यन्तै हृदयविदारक हुन्छ भन्‍ने कुरा बुझ्छ। त्यसकारण, जब मानिसहरूले मानव नियतिमाथिको परमेश्‍वरको सार्वभौमिकतालाई पहिचान गर्छन्, तब चलाखहरूले यसलाई जान्‍ने र स्वीकार गर्ने, तिनीहरूले आफ्‍नै दुई हातले सुन्दर जीवन निर्माण गर्ने प्रयास गर्दाका पीडादायी दिनहरूलाई बिदा गर्ने, र नियतिको विरुद्धमा संघर्ष गर्न अनि आफ्ना तथाकथित “जीवन लक्ष्यहरू” आफ्‍नै तरिकाले खोज्न छाड्ने निर्णय गर्छन्। जब कुनै व्यक्तिसँग परमेश्‍वर हुनुहुन्न, जब व्यक्तिले उहाँलाई देख्‍न सक्दैन, जब व्यक्तिले परमेश्‍वरको सार्वभौमिकतालाई स्पष्ट रूपमा पहिचान गर्न सक्दैन, तब हरेक दिन अर्थहीन, निरर्थक, दुःखदायी हुन्छ। व्यक्ति जहाँ भए पनि, व्यक्तिको जागिर जे भए पनि, उसको दिनचर्याका माध्यमहरू र लक्ष्यहरूको खोजी कार्यले उसलाई हृदयमा अटुट चोट र चैनविनाको कष्ट बाहेक केही पनि दिँदैन, यतिसम्‍म कि उसले आफ्‍नो विगतलाई फर्केर समेत हेर्न सक्दैन। व्यक्तिले सृष्टिकर्ताको सार्वभौमिकतालाई स्वीकार गरेपछि मात्रै, ऊ उहाँका योजनाबद्ध कार्यहरू र बन्दोबस्तहरूमा समर्पित भएपछि मात्रै, र उसले साँचो मानव जीवनको खोजी गरेपछि मात्रै, क्रमिक रूपमा ऊ सबै हृदयको चोट र कष्टबाट स्वतन्त्र हुन, अनि जीवनको रिक्तताबाट मुक्त हुन थाल्छ।

४. सृष्टिकर्ताको सार्वभौमिकतामा समर्पित हुनेहरूले मात्रै साँचो स्वतन्त्रता प्राप्त गर्न सक्छन्

मानिसहरूले परमेश्‍वरका योजनाबद्ध कार्यहरू र परमेश्‍वरको सार्वभौमिकतालाई पहिचान नगर्ने हुनाले, तिनीहरूले आफ्ना वर्तमान परिस्‍थितिहरू परिवर्तन गर्ने र आफ्‍नो नियति परिवर्तन गर्ने व्यर्थ आशा गर्दै, सधैँ अवज्ञाकारी र विद्रोही मनोवृत्तिले नियतिको सामना गर्छन्, अनि सधैं परमेश्‍वरको अख्तियार र सार्वभौमिकता र नियतिमा रहेका कुराहरूलाई पन्छाउन चाहन्छन्। तर तिनीहरू यसमा कहिल्यै सफल हुन सक्दैनन् र तिनीहरूले हरेक मोडमा ठक्‍कर खान्छन्। व्यक्तिले आफ्‍नो जीवन खेर फाल्‍ने क्रममा, उसको अन्तस्करणमा हुने यो संघर्षले यति भयानक पीडा दिन्छ कि त्यसले उसको हड्डी नै गलाउँछ। यो पीडाको कारण के हो त? के यो परमेश्‍वरको सार्वभौमिकताको कारण हो कि व्यक्ति अभागी भएर जन्‍मेकोले हो? अवश्य नै, दुवै सत्य होइन। आधारभूत रूपमा, मानिसहरूले लिने मार्गहरू, तिनीहरूले आफ्‍नो जीवन जिउन छनौट गर्ने शैलीहरूको कारण यस्तो हुन्छ। कतिपय मानिसहरूले यी कुराहरू महसुस नगरेका हुन सक्छन्। तर जब तैँले साँचो रूपमा जान्दछस्, जब तैँले मानव नियतिमाथि परमेश्‍वरको सार्वभौमिकता छ भनेर साँचो रूपमा पहिचान गर्न पुग्छस, जब तैँले परमेश्‍वरले तेरो लागि योजना गर्नुभएका र तेरो लागि निर्णय गर्नुभएका सबै कुराहरू अत्यन्तै धेरै फाइदा र सुरक्षाका हुन् भनी बुझ्छस्, तब तैँले आफ्नो पीडा हल्‍का हुन थालेको अनुभव गर्छस्, अनि तेरो सम्पूर्ण सारत्व शान्त, स्वतन्त्र र मुक्त हुन्छ। अधिकांश मानिसहरूका स्थितिहरूको आधारमा मूल्याङ्कन गर्दा, तिनीहरूले व्यक्तिपरक हिसाबमा पहिले जस्तो जिउन र आफ्‍नो पीडाबाट राहत पाउन नचाहने भए पनि, तिनीहरूले मानव नियतिमाथिको सृष्टिकर्ताको सार्वभौमिकताको व्यवहारिक मूल्य र अर्थलाई वस्तुपरक रूपमा स्वीकार गर्न सक्‍दैनन्; वस्तुगत हिसाबमा, तिनीहरूले सृष्टिकर्ताको सार्वभौमिकतालाई साँचो रूपमा पहिचान गर्न र यसमा समर्पित हुन सक्दैनन्, तिनीहरूले सृष्टिकर्ताका योजनाबद्ध कार्यहरू र बन्दोबस्तहरूलाई कसरी खोजी र स्वीकार गर्ने भन्ने बारेमा जान्‍नु त परै जाओस्। त्यसैले, यदि मानिसहरूले मानव नियतिमाथि र सम्पूर्ण मानव मामलाहरूमाथि सृष्टिकर्ताको सार्वभौमिकता छ भन्‍ने तथ्यलाई साँचो रूपमा पहिचान गर्न सक्दैनन् भने, यदि तिनीहरू सृष्टिकर्ताको प्रभुत्वमा साँचो रूपमा समर्पित हुन सक्दैनन् भने, तिनीहरू “आफ्‍नो नियति आफ्‍नै हातमा हुन्छ” भन्‍ने विचारद्वारा सञ्चालित हुन र बन्धनमा पर्न कठिन हुनेछैन। तिनीहरूले नियति र सृष्टिकर्ताको अख्तियारविरुद्धको आफ्नो तीव्र संघर्षको पीडालाई हटाउन कठिन हुनेछ, अनि, अवश्य पनि तिनीहरूले साँचो रूपमा स्वतन्त्र र मुक्त हुन, परमेश्‍वरको आराधना गर्ने मानिस बन्‍न पनि कठिन नै हुनेछ। तर यो स्थितिबाट आफूलाई मुक्त गर्ने एउटा अत्यन्तै सरल तरिका छ र यो सरल तरिका भनेको जीवन जिउने आफ्नो पुरानो तरिकालाई बिदा गर्नु हो; आफ्‍नो जीवनका पहिलेका लक्ष्‍यहरूलाई बिदा गर्नु हो; आफ्‍नो पहिलेको जीवनशैली, जीवन सम्‍बन्धी दृष्टिकोण, खोजी, इच्‍छा, र आदर्शहरूलाई सारांशित र विश्‍लेषण गर्नु हो; त्यसपछि तिनलाई मानिसप्रतिको परमेश्‍वरका इच्‍छा र मागहरूसँग तुलना गरेर तीमध्ये कुनै पनि कुराहरू परमेश्‍वरका इच्‍छा र मागहरूअनुरूप छन् कि छैनन्, तीमध्ये कुनै पनि कुराहरूले जीवनका सही मूल्यहरू प्रदान गर्छन् कि गर्दैनन्, व्यक्तिलाई सत्यतासम्‍बन्धी वृहद बुझाइमा लैजान्छन् कि लैजाँदैनन्, अनि व्यक्तिलाई मानवता र मानवजातिको स्वरूपमा जिउने तुल्याउँछन् कि तुल्याउँदैनन् भनेर हेर्नु हो। जब तैँले मानिसहरूले जीवनमा पछ्याउने विभिन्‍न लक्ष्यहरू र तिनीहरूका जिउने अनेक तरिकाहरूलाई बारम्‍बार अनुसन्धान र होसियारीसाथ विश्‍लेषण गर्छस्, तब तैँले तीमध्ये एउटै पनि मानवजातिलाई सृष्टि गर्दा सृष्टिकर्ताले जुन अभिप्राय राख्‍नुभएको थियो त्यो मौलिक अभिप्रायअनुरूप नरहेको पाउनेछस्। ती सबैले मानिसहरूलाई सृष्टिकर्ताको सार्वभौमिकता र हेरचाहबाट टाढा लैजान्छन्; ती सबै मानिसहरूलाई भ्रष्ट तुल्याउने, तिनीहरूलाई नर्कतर्फ डोर्‍याउने पासोहरू हुन्। तैँले यो कुरालाई पहिचान गरिसकेपछि, तैँले गर्नुपर्ने काम भनेको जीवनसम्‍बन्धी तेरो पुरानो विचारलाई पन्छ्याउनु हो, विभिन्‍न पासोहरूबाट टाढा बस्‍नु हो, परमेश्‍वरलाई तेरो जीवन नियन्त्रण गर्न र तेरो लागि बन्दोबस्तहरू गर्न दिनु हो; यो भनेको परमेश्‍वरका योजनाबद्ध कार्यहरू र अगुवाइमा मात्रै समर्पित हुने प्रयास गर्नु हो, व्यक्तिगत छनौटविना नै जिउनु हो, अनि परमेश्‍वरलाई आराधना गर्ने व्यक्ति बन्‍नु हो। यो कुरा सुन्दा सहज लाग्छ, तर गर्न चाहिँ कठिन छ। केही मानिसहरूले यसको पीडा सहन सक्छन्, अन्य व्यक्तिहरूले सक्दैनन्। कतिपय व्यक्तिहरू अनुपालन गर्न इच्‍छुक हुन्छन्, अरूहरू चाहिँ अनिच्‍छुक हुन्छन्। जो अनिच्‍छुक छन् तिनीहरूमा त्यसो गर्ने इच्‍छा र संकल्पको कमी हुन्छ; तिनीहरू परमेश्‍वरको सार्वभौमिकताको बारेमा स्पष्ट रूपमै सचेत हुन्छन्, तिनीहरूलाई मानव नियतिको योजना र बन्दोबस्त गर्ने परमेश्‍वर नै हुनुहुन्छ भन्‍ने कुरा पूर्ण रूपमा थाहा हुन्छ, तैपनि तिनीहरूले लात मार्छन् र संघर्ष गर्छन् अनि आफ्‍नो नियति परमेश्‍वरको हातमा राख्ने र परमेश्‍वरको सार्वभौमिकतामा समर्पित हुने कुरालाई स्वीकार गर्दैनन्; अझ भन्ने हो भने, तिनीहरूले परमेश्‍वरका योजनाबद्ध कार्यहरू र बन्दोबस्तहरूप्रति खेद प्रकट गर्छन्। त्यसकारण. आफू कति सक्षम छु भनी हेर्न चाहने कतिपय मानिसहरू सधैँ नै हुनेछन्; तिनीहरूले आफ्‍नै दुई हातले आफ्‍नो नियति परिवर्तन गर्न, वा आफ्‍नै बलबूताले खुशी हासिल गर्न, आफू परमेश्‍वरको अख्तियारका सीमाहरू बाहिर गई परमेश्‍वरको सार्वभौमिकताभन्दा माथि उठ्न सकिन्छ कि सकिन्न भनी हेर्न चाहन्छन्। मानिसको दुःखान्त भनेको उसले खुशीयालीपूर्ण जीवन चाहनु होइन, उसले ख्याति र सम्पत्तिको खोजी गर्नु वा कुहिरोभित्र आफ्‍नै नियतिसँग संघर्ष गर्नु होइन, बरु उसले सृष्टिकर्ताको अस्तित्व देखिसकेपछि पनि, मानव नियतिमाथि सृष्टिकर्ताकै सार्वभौमिकता छ भन्‍ने तथ्य जानिसकेपछि पनि, उसले अझै आफ्‍ना मार्गहरूलाई सुधार्न नसक्नु हो, आफ्‍ना खुट्टाहरूलाई दलदलबाट तान्‍न नसक्नु हो, अनि आफ्‍नो हृदयलाई कठोर बनाएर आफ्‍ना गल्तीहरूमै दृढ रहनु हो। ऊ त बरू अलिकति पछुतो समेत नमानीकन सृष्टिकर्ताको सार्वभौमिकताविरुद्ध हठी भएर लड्दै, तीतो अन्त्य नआउञ्‍जेल प्रतिरोध गर्दै, हिलोमै लुटपुटिरहन्छ। जब ऊ पछारिन्छ र रक्ताम्मे हुन्छ, तब मात्र उसले आखिर हरेस खान्छ अनि पछि फर्कने निर्णय गर्छ। यो साँचो मानव व्यथा हो। त्यसैले, म भन्छु, समर्पित हुने निर्णय गर्नेहरू बुद्धिमान हुन्, र जसले संघर्ष गर्ने र भाग्‍ने निर्णय गर्छन्, तिनीहरू वास्तवमै मूर्ख हुन्।

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वर स्वयम् अद्वितीय ३” बाट उद्धृत गरिएको

तपाईं र तपाईंको परिवार बाँच्ने बारेमा एउटा ठूलो कुरा: के तपाईं ठूला विपत्तिहरूमा कसरी सुरक्षा प्राप्त गर्ने र बच्ने भनेर सोच्नुहुन्छ? तलको बटनमा क्लिक गर्नुहोस् र तपाईंले बाटो पाउनुहुनेछ।

सम्बन्धित विषयवस्तु

पहिलो महत्वपूर्ण मोड: जन्‍म

व्यक्तिको जन्‍म कहाँ हुन्छ, तिनीहरू कुन परिवारमा जन्‍मन्छन्, उसको लिङ्ग, रूप, अनि जन्‍मको समय—व्यक्तिको जीवनको पहिलो महत्वपूर्ण मोडका...

मानिसको भवितव्य सम्‍बन्धी परमेश्‍वरको व्यवस्थापनको तथ्यलाई बुझ्‍नु र पहुँच गर्नु

मानव नियतिमाथि परमेश्‍वरको सार्वभौमिकता छ भन्‍ने तथ्यलाई कसैले पनि परिवर्तन गर्न सक्दैन मैले भर्खरै बताएको सबै कुरा सुनिसकेपछि, के...

मानवजातिको नियति र ब्रह्माण्डको नियतिलाई सृष्टिकर्ताको सार्वभौमिकताबाट अलग गर्न सकिँदैन

तिमीहरू सबै वयस्क हौ। तिमीहरूमध्ये कोही आधा उमेरका छौ; कोही वृद्ध अवस्थामा प्रवेश गरिसकेका छौ। तिमीहरू परमेश्‍वरमा विश्‍वास नगर्नेदेखि...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्