परमेश्‍वरलाई पछ्याउने मानिसहरूको जीवन र मृत्युको चक्र

13 अगस्ट 2021

यसपछि, हामी परमेश्‍वरलाई पछ्याउने मानिसहरूको जीवन र मृत्युको चक्रको बारेमा कुरा गरौं। यो तिमीहरूसँग सम्‍बन्धित छ, त्यसैले ध्यान दिएर सुन: सबैभन्दा पहिले, परमेश्‍वरलाई पछ्याउने मानिसहरूलाई कसरी वर्गीकरण गर्न सकिन्छ त्यसको बारेमा विचार गर। (परमेश्‍वरका चुनिएका मानिसहरू, र सेवाकर्ताहरू।) वास्तवमा दुई वर्ग छन्: परमेश्‍वरका चुनिएका मानिसहरू, र सेवाकर्ताहरू। पहिले, हामी परमेश्‍वरका चुनिएका मानिसहरूका बारेमा कुरा गरौं, जो थोरै हुन्छन्। “परमेश्‍वरका चुनिएका मानिसहरू” ले कसलाई जनाउँछ? परमेश्‍वरले सबै थोक सृष्टि गरिसक्‍नुभएपछि र मानिस अस्तित्वमा आइसकेपछि, परमेश्‍वरले उहाँलाई पछ्याउने मानिसहरूको एउटा समूह छनौट गर्नुभयो; यिनीहरूलाई “परमेश्‍वरका चुनिएकाहरू” भनेर भनिन्छ। परमेश्‍वरले यी मानिसहरूलाई छनौट गर्नुको विशेष प्रयोजन र महत्त्व थियो। यो चुनिएका थोरैमा मात्रै सीमित थियो, जो उहाँले महत्त्वपूर्ण कार्य गर्ने क्रममा आउनैपर्छ, यस अर्थमा यो प्रयोजन विशेष छ। अनि महत्त्वचाहिँ के हो त? तिनीहरू परमेश्‍वरले छनौट गर्नुभएको समूह भएका हुनाले, महत्त्व निकै ठूलो छ। अर्थात्, परमेश्‍वरले यी मानिसहरूलाई पूर्ण बनाउन, र तिनीहरूलाई सिद्ध बनाउन चाहनुहुन्छ, अनि उहाँको व्यवस्थापन कार्य समाप्त भएपछि, उहाँले यी मानिसहरूलाई प्राप्त गर्नुहुनेछ। के यो महत्त्व ठूलो छैन र? यसर्थ, चुनिएका यी मानिसहरू परमेश्‍वरका लागि अत्यन्तै महत्त्वपूर्ण हुन्छन्, किनभने परमेश्‍वरले प्राप्त गर्न चाहनुभएकाहरू तिनीहरू नै हुन्। सेवाकर्ताहरूको बारेमा भन्दा, हामी अहिलेको लागि परमेश्‍वरको पूर्वनिर्धारित गन्तव्यको विषयलाई छोडौं, र सुरुमा तिनीहरूको उत्पत्तिको कुरा गरौं। “सेवाकर्ता” ले शाब्दिक रूपमा सेवा गर्ने व्यक्तिलाई जनाउँछ। सेवा गर्नेहरू क्षणिक हुन्छन्; तिनीहरूले दिर्घकालीन रूपमा वा सदासर्वदा सेवा गर्दैनन्, बरु तिनीहरूलाई अस्थायी रूपमा काममा लगाइन्छ वा नियुक्त गरिन्छ। तिनीहरूमध्ये धेरैजसोको उत्पत्ति तिनीहरूलाई अविश्‍वासीहरूबाट छनौट गरिएर भएको हुन्छ। तिनीहरूले परमेश्‍वरको कार्यमा सेवाकर्ताको भूमिका निर्वाह गर्नेछन् भनी उर्दी जारी गरिएपछि तिनीहरू पृथ्वीमा आएका हुन्छन्। अघिल्‍लो जीवनमा तिनीहरू पशु-प्राणीका रूपमा रहेका हुन सक्छन्, तर तिनीहरू अविश्‍वासीहरूका रूपमा पनि रहेका हुन सक्छन्। सेवाकर्ताहरूको उत्पत्ति यसरी नै भएको हुन्छ।

परमेश्‍वरलाई पछ्याउने मानिसहरूको जीवन र मृत्युको चक्र

हामी परमेश्‍वरका चुनिएका मानिसहरूको बारेमा थप कुरा गरौं। जब तिनीहरू मर्छन्, तब तिनीहरू अविश्‍वासीहरू र विश्‍वासका विभिन्‍न मानिसहरूको भन्दा पूर्ण रूपमा फरक स्थानमा जान्छन्। यो त्यस्तो स्थान हो जहाँ तिनीहरू स्वर्गदूतहरू र परमेश्‍वरका सन्देशवाहकहरूको साथमा हुन्छन्; यो परमेश्‍वरले व्यक्तिगत रूपमा नै प्रशासन गर्नुहुने स्थान हो। यस स्थानमा परमेश्‍वरका चुनिएका मानिसहरूले आफ्‍नै आँखाले परमेश्‍वरलाई देख्‍न नसक्‍ने भए तापनि, यो आत्मिक क्षेत्रको अन्य कुनै पनि ठाउँभन्दा फरक हुन्छ; मानिसहरूको यो समूह मरेपछि जाने फरक स्थान यही हो। तिनीहरू मरेपछि, तिनीहरूलाई पनि परमेश्‍वरका सन्देशवाहकहरूले कठोर अनुसन्धान गर्छन्। अनि केको अनुसन्धान गरिन्छ त? परमेश्‍वरका सन्देशवाहकहरूले परमेश्‍वरमाथिको विश्‍वासमा यी मानिसहरूले आफ्‍नो जीवनभरि लिएका मार्गहरू, त्यो समय अवधिमा तिनीहरूले परमेश्‍वरलाई विरोध गरे कि गरेनन् वा सरापे कि सरापेनन्, र तिनीहरूले कुनै गम्‍भीर पाप वा दुष्ट काम गरे कि गरेनन् भन्‍ने अनुसन्धान गर्छन्। कुनै निश्‍चित व्यक्तिलाई बस्‍न दिइन्छ कि ऊ त्यहाँबाट जानुपर्छ भन्‍ने प्रश्‍न यही अनुसन्धानले समाधान गर्नेछ। “जानुपर्छ” भन्‍नुको अर्थ के हो? अनि “बस्‍नु” भनेको के हो? “जानुपर्छ” भनेको तिनीहरूको व्यवहारको आधारमा तिनीहरू परमेश्‍वरका चुनिएका मानिसहरूको दर्जामा रहन्छन् कि रहँदैनन् भन्‍ने हो; “बस्‍नु” को अर्थ आखिरी दिनहरूको अवधिमा परमेश्‍वरले पूर्ण बनाउनुहुने मानिसहरूको बीचमा तिनीहरू रहन सक्छन् भन्‍ने हो। बस्‍नेहरूका लागि, परमेश्‍वरको विशेष बन्दोबस्तहरू हुन्छन्। उहाँको कामको हरेक अवधिमा, उहाँले त्यस्ता मानिसहरूलाई प्रेरितहरूका रूपमा काम गर्न वा मण्डलीहरूलाई जागृत गर्ने वा हेरचाह गर्ने काम गर्न पठाउनुहुन्छ। तैपनि, त्यस्ता काम गर्न सक्‍ने मानिसहरू एकपछि अर्को पुस्तामा पुनर्जन्‍म हुने अविश्‍वासीको रूपमा बारम्‍बार पुनर्जन्‍म हुँदैनन्; बरु, तिनीहरू परमेश्‍वरको कार्यका मापदण्ड र चरणहरूअनुसार पृथ्वीमा फर्कन्छन्, र तिनीहरूको बारम्‍बार पुनर्जन्‍म हुँदैन। त्यसो भए, तिनीहरूको पुनर्जन्‍म कहिले हुन्छ भन्‍ने विषयमा कुनै नियमहरू छन् त? के तिनीहरू केही वर्षको अवधिमा बारम्‍बार आउँछन् त? के तिनीहरू त्यसरी बारम्बार रूपमा आउँछन् त? तिनीहरू त्यसरी आउँदैनन्। यो सबै परमेश्‍वरको कार्य, यसका चरणहरू र उहाँका खाँचोहरूमा आधारित हुन्छ, र कुनै निर्दिष्ट नियमहरू छैनन्। एउटै मात्र नियम के हुन्छ भने जब परमेश्‍वरले आखिरी दिनहरूमा आफ्‍नो कामको अन्तिम चरण गर्नुहुन्छ, यी चुनिएका मानिसहरू सबै आउनेछन्, र यो आगमन तिनीहरूको अन्तिम पुनर्जन्‍म हुनेछ। अनि किन त्यसो हुन्छ त? यो परमेश्‍वरको कामको अन्तिम चरणमा हासिल गर्नुपर्ने परिणाममा आधारित हुन्छ—किनभने कामको यो अन्तिम चरणको अवधिमा, परमेश्‍वरले चुनिएका यी मानिसहरूलाई सम्पूर्ण तवरमा पूर्ण तुल्याउनुहुनेछ। यसको अर्थ के हो त? यो अन्तिम चरणको अवधिमा, यदि यी मानिसहरूलाई पूर्ण र सिद्ध तुल्याइयो भने, तिनीहरू पहिलेको जस्तो पुनर्जन्‍म हुनेछैनन्; मानव हुनुको तिनीहरूको प्रक्रिया, साथै तिनीहरूको पुनर्जन्मको प्रक्रिया पूर्ण रूपमा समाप्त भइसकेको हुनेछ। यो बस्‍नेहरूसँग सम्‍बन्धित छ। त्यसो भए, बस्‍न नसक्‍नेहरू कहाँ जान्छन् त? बस्‍न अनुमति नदिइनेहरूको आफ्‍नै उचित गन्तव्य हुन्छ। सर्वप्रथम, तिनीहरूको दुष्कर्म, तिनीहरूले गरेका गल्तीहरू, अनि तिनीहरूले गरेका पापहरूको परिणामस्वरूप, तिनीहरू पनि दण्डित हुनेछन्। तिनीहरूलाई दण्ड दिइसकिएपछि, परमेश्‍वरले परिस्‍थितिहरूअनुरूप कि त तिनीहरूलाई अविश्‍वासीहरूका बीचमा पठाउने बन्दोबस्त गर्नुहुनेछ कि त विश्‍वासका विभिन्‍न मानिसहरूका बीचमा पठाउने बन्दोबस्त गर्नुहुनेछ। अर्को शब्‍दमा भन्दा, तिनीहरूका लागि दुई वटा सम्भावित परिणाम हुन्छन्: एउटाचाहिँ दण्डित हुनु र पुनर्जन्‍म भएपछि निश्‍चित धर्मका मानिसहरूका बीचमा जिउनु, र अर्कोचाहिँ अविश्‍वासीहरू बन्‍नु। यदि तिनीहरू अविश्‍वासीहरू बने भने, तिनीहरूले सबै अवसर गुमाउनेछन्; तैपनि, यदि तिनीहरू विश्‍वासका मानिसहरू बने भने—उदाहरणको लागि, यदि तिनीहरू इसाई बने भने—तिनीहरूसँग अझै पनि परमेश्‍वरका चुनिएका मानिसहरूको दर्जामा फर्कने अवसर हुनेछ; यसमा अत्यन्तै जटिल सम्‍बन्धहरू छन्। छोटकरीमा, यदि परमेश्‍वरका चुनिएका मानिसहरूमध्ये एक जनाले परमेश्‍वरलाई रिस उठाउने कुनै काम गर्छ भने, तिनीहरूलाई अरू कुनै व्यक्तिलाई जस्तै दण्ड दिइनेछ। उदाहरणको लागि, पावललाई लिऊँ, जसको बारेमा हामीले पहिले नै कुरा गरिसकेका छौं। पावल दण्डित हुने व्यक्तिको एउटा उदाहरण हो। मैले केको बारेमा कुरा गरिरहेको छु के त्यो तिमीहरूले बुझ्दैछौ? के परमेश्‍वरका चुनिएका मानिसहरूको प्रयोजन निश्‍चित गरिएको हुन्छ? (प्राय, गरिएको हुन्छ!) यसमध्ये धेरैजसो निश्‍चित गरिएको हुन्छ, तर यसको थोरै भाग निश्‍चित गरिएको हुँदैन। किन त्यसो हुन्छ त? मैले यहाँ सबैभन्दा स्पष्ट कारणको बारेमा उल्‍लेख गरेको छु: दुष्ट कार्य गर्नु। जब मानिसहरूले दुष्ट कार्य गर्छन्, परमेश्‍वरले तिनीहरूलाई चाहनुहुन्‍न, र जब परमेश्‍वरले तिनीहरूलाई चाहनुहुन्‍न, तब उहाँले तिनीहरूलाई विभिन्‍न जाति र प्रकारका मानिसहरूका बीचमा फ्याँक्‍नुहुन्छ। यसले तिनीहरूलाई आशाविहीन तुल्याउँछ र तिनीहरू फर्कने कार्य कठिन हुन्छ। यो सबै परमेश्‍वरलाई पछ्याउने मानिसहरूको जीवन र मृत्युको चक्रसँग सम्‍बन्धित छ।

अर्को विषय सेवाकर्ताहरूको जीवन र मृत्युको चक्रसँग सम्‍बन्धित छ। हामीले भर्खरै सेवाकर्ताहरूको उत्पत्तिको बारेमा कुरा गर्‍यौं; अर्थात्, तिनीहरू अघिल्‍लो जीवनमा अविश्‍वासी र पशु-प्राणीको रूपमा रही पुनर्जन्‍म भएका हुन्छन् भन्‍ने तथ्यको बारेमा कुरा गर्‍यौं। अन्तिम चरणको कामको आगमनसँगै, परमेश्‍वरले अविश्‍वासीहरूबाट त्यस्ता मानिसहरूको समूह छनौट गर्नुभएको छ, र यो समूह विशेष छ। परमेश्‍वरले यी मानिसहरूलाई चुन्‍नुको उद्देश्य तिनीहरूलाई उहाँको सेवा गर्ने मानिसहरू बनाउनको लागि हो। “सेवा” त्यति सुन्दर सुनिने शब्‍द होइन, न त यो हरेकको कामनाअनुरूपको कुरा नै हो, तर यो कोप्रति लक्षित छ सो कुरालाई हामीले हेर्नुपर्छ। परमेश्‍वरका सेवाकर्ताहरूको अस्तित्वको विशेष महत्त्व छ। अरू कसैले पनि तिनीहरूको भूमिका निर्वाह गर्न सक्दैन, किनभने तिनीहरूलाई परमेश्‍वरले नै चुन्‍नुभएको हुन्छ। र यी सेवाकर्ताहरूको भूमिका के हो त? तिनीहरूको भूमिका परमेश्‍वरका चुनिएका मानिसहरूको सेवा गर्नु हो। सामान्यतया, तिनीहरूको काम भनेको परमेश्‍वरको कामको निम्ति सेवा दिनु, यसमा सहकार्य गर्नु, र परमेश्‍वरले आफ्‍ना चुनिएकाहरूलाई पूर्ण तुल्याउने कार्यमा सहयोग गर्नु हो। तिनीहरूले परिश्रम गरिरहेको भए पनि, कामको कुनै पक्ष अघि बढाइरहेको भए पनि, वा निश्‍चित कार्यहरू गरिरहेको भए पनि, यी सेवाकर्ताहरूप्रति परमेश्‍वरको मापदण्ड के हुन्छ त? के उहाँ तिनीहरूप्रतिको आफ्‍ना मापदण्डहरूमा उहाँ अत्यन्तै धेरै कठोर हुनुहुन्छ? (होइन, उहाँले तिनीहरूलाई निष्ठावान हुन मात्र लगाउनुहुन्छ।) सेवाकर्ताहरू पनि निष्ठावान हुनुपर्छ। तेरो उत्पत्ति जे-जस्तो भए पनि वा परमेश्‍वरले तँलाई जुन कारणले छनौट गर्नुभएको भए पनि, तँ परमेश्‍वरप्रति, परमेश्‍वरले तँलाई सुम्‍पनुहुने कुनै पनि कार्यभारहरूप्रति, र तँ जुन कामको निम्ति जिम्‍मेवार छस् त्यस कार्यप्रति र तैँले पूरा गर्नुपर्ने जिम्‍मेवारीहरूप्रति तँ निष्ठावान हुनैपर्छ। परमेश्‍वरप्रति निष्ठावान हुन सक्‍ने र उहाँलाई सन्तुष्ट तुल्याउन सक्‍ने सेवाकर्ताहरूको हकमा, तिनीहरूको परिणामहरू के हुनेछन्? तिनीहरू बस्‍न सक्‍नेछन्। के बस्‍ने सेवाकर्ताहरूको लागि यो आशिष् हो? बस्‍नु भनेको के हो? यो आशिष्‌को महत्त्व के हो त? हैसियतमा, तिनीहरू परमेश्‍वरका चुनिएका मानिसहरूभन्दा विपरीत देखिन सक्छन्; तिनीहरू फरक देखिन्छन्। तर वास्तविकतामा, के तिनीहरूले यस जीवनमा प्राप्त गर्ने कुरा परमेश्‍वरका चुनिएका मानिसहरूको जस्तै होइन र? कम्तीमा पनि, यो यस जीवनमा उही हुन्छ। तिमीहरूले यसलाई नकार्दैनौ, होइन र? परमेश्‍वरका वाणीहरू, परमेश्‍वरको अनुग्रह, परमेश्‍वरको बन्दोबस्‍त, परमेश्‍वरका आशिष्‌हरू—कसले यी कुराहरूमा आनन्द लिँदैन र? त्यस्तो प्रशस्ततामा सबैले आनन्द लिन्छन्। सेवाकर्ताको पहिचान भनेको सेवा गर्ने व्यक्ति हो, तर परमेश्‍वरको लागि, उहाँले सृष्टि गर्नुभएका सबै थोकमध्ये एउटा थोक मात्रै हो; के मात्रै हो भने तिनीहरूको भूमिका सेवाकर्ताको हो। तिनीहरू दुवै परमेश्‍वरका सृष्टि भएका हुनाले, सेवाकर्ता र परमेश्‍वरको चुनिएको मानिसको बीचमा कुनै भिन्‍नता छ त? वास्तवमा, भिन्‍नता छैन। सामान्य रूपमा भन्दा, एउटा भिन्‍नता छ; सारमा र तिनीहरूले खेल्‍ने भूमिकामा एउटा भिन्‍नता छ—तर परमेश्‍वरले मानिसहरूको यो समूहलाई अनुचित रूपमा व्यवहार गर्नुहुन्‍न। त्यसो भए, यी मानिसहरूलाई किन सेवाकर्ताको रूपमा परिभाषित गरिन्छ त? तिमीहरूसँग यस विषयमा केही बुझाई हुनैपर्छ! सेवाकर्ता अविश्‍वासीहरूका बीचबाट आउँछन्। तिनीहरू अविश्‍वासीहरूका बीचबाट आउँछन् भनेर हामीले उल्‍लेख गर्नेबित्तिकै, तिनीहरूको पृष्ठभूमि खराब हुन्छ भन्‍ने कुरा स्पष्टै हुन्छ: तिनीहरू सबै नास्तिक हुन्, र विगतमा पनि त्यस्तै थिए; तिनीहरूले परमेश्‍वरलाई विश्‍वास गरेका हुँदैनन्, र उहाँप्रति, सत्यताप्रति, र सकारात्मक सबै कुराप्रति तिनीहरू शत्रुवत् रहेका हुन्छन्। तिनीहरूले परमेश्‍वरमा वा उहाँको अस्तित्वमा विश्‍वास गरेका हुँदैनन्। त्यसो भए, के तिनीहरूले परमेश्‍वरका वचनहरूलाई बुझ्‍न सक्छन् त? धेरै हदसम्‍म, तिनीहरूले त्यसो गर्न सक्दैनन् भनेर भन्दा अत्योक्ति हुँदैन। जसरी पशु-प्राणीले मानव शब्‍दहरूलाई बुझ्‍न सक्दैनन्, त्यसरी नै सेवाकर्ताहरूले परमेश्‍वरले के भनिरहनुभएको छ, उहाँले के मापदण्ड तोक्नुहुन्छ वा उहाँले किन त्यस्ता मापदण्डहरू तोक्नुहुन्च भन्‍ने कुरालाई बुझ्‍न सक्दैनन्। तिनीहरूले बुझ्दैनन्; यी कुराहरू तिनीहरूको बुझाइबाहिरका हुन्छन्, र तिनीहरू ज्ञान नपाएको अवस्थामा नै रहन्छन्। यही कारणले गर्दा, यी मानिसहरूसँग हामीले बताएको जीवन हुँदैन। जीवनविना, के मानिसहरूले सत्यतालाई बुझ्‍न सक्छन्? के तिनीहरू सत्यताद्वारा सुसज्‍जित हुन्छन्? के तिनीहरूसँग परमेश्‍वरका वचनहरूको अनुभव र ज्ञान हुन्छ? (हुँदैन।) सेवाकर्ताहरूको उत्पत्ति यसरी नै हुन्छ। तैपनि, परमेश्‍वरले नै यी मानिसहरूलाई सेवाकर्ताहरू बनाउनुहुने भएकोले, तिनीहरूको लागि उहाँले तोक्नुभएका आवश्यक मापदण्डहरू हुन्छन्; उहाँले तिनीहरूलाई नीच ठान्‍नुहुन्‍न, न त उहाँले तिनीहरूसँग झारा टार्ने व्यवहार नै गर्नुहुन्छ। तिनीहरूले उहाँका वचनहरूलाई बुझ्‍न नसके पनि र तिनीहरूसँग जीवन नभए पनि, परमेश्‍वरले तिनीहरूलाई दयालु व्यवहार नै गर्नुहुन्छ, र उहाँले तिनीहरूले पूरा गर्नैपर्ने भनी तोक्नुभएका आवश्यक कुराहरूको हकमा मापदण्डहरू हुन्छन्। तिमीहरूले भर्खरै यी मापदण्डहरूका बारेमा बतायौ: परमेश्‍वरप्रति निष्ठावान हुनु र उहाँले भनेको काम गर्नु। तैँले सेवा गर्दा, तैँले जहाँ आवश्यक छ त्यहाँ सेवा गर्नुपर्छ, र तैँले अन्तिमसम्‍मै सेवा गर्नुपर्छ। यदि तँ निष्ठावान सेवाकर्ता हुन सक्छस् भने, अन्तिमसम्‍मै सेवा गर्न सक्छस् र परमेश्‍वरले तँलाई सुम्पनुभएको कार्यभारलाई पूरा गर्न सक्छस् भने, तैँले मूल्यवान् जीवन जिउनेछस्। यदि तैँले यसो गर्न सक्छस् भने, तँ रहन सक्‍नेछस्। यदि तैँले अलि बढी प्रयास गरिस् भने, यदि तैँले अझै बढी कडा परिश्रम गरिस्, परमेश्‍वरलाई चिन्‍ने तेरो प्रयासलाई दुई गुणा बढाइस् भने, परमेश्‍वरलाई चिन्‍नेबारेमा थोरै बोल्‍न सक्छस् भने, उहाँको गवाही दिन सक्छस् भने, साथै तैँले उहाँको इच्‍छाको कुनै कुरालाई बुझ्‍न सक्छस्, परमेश्‍वरको कार्यमा सहकार्य गर्न सक्छस्, र परमेश्‍वरका अभिप्रायहरूको बारेमा कुनै न कुनै हिसाबले ध्यान दिन सक्छस् भने, सेवाकर्ताको रूपमा तैँले सौभाग्यमा परिवर्तन भएको अनुभव गर्नेछस्। अनि यो सौभाग्यमा हुने परिवर्तन के हुनेछ त? तँ रहन मात्रै सक्‍नेछैनस्। तेरो आचरण र तेरा व्यक्तिगत आकांक्षा र खोजीहरूअनुसार, परमेश्‍वरले तँलाई चुनिएका व्यक्तिहरू मध्येको एक बनाउनुहुनेछ। तेरो सौभाग्यमा हुने परिवर्तन यही हुनेछ। सेवाकर्ताहरूको लागि, यसबारेमा सबैभन्दा उत्तम कुरा के हो त? यो तिनीहरू परमेश्‍वरको चुनिएको मानिस बन्‍न सक्छन् भन्‍ने कुरा नै हो। यदि तिनीहरू त्यस्तो बन्‍न सके भने, यसको अर्थ तिनीहरू अविश्‍वासीहरूजस्तो अबउप्रान्त पशु-प्राणीको रूपमा पुनर्जन्‍म हुनुपर्नेछैन। के त्यो असल कुरा होइन र? हो, र यो असल खबर पनि हो: यसको अर्थ सेवाकर्ताहरू पनि परिवर्तन हुन सक्छन्। सेवाकर्ताको हकमा, परमेश्‍वरले तिनीहरूलाई एकपटक सेवा गर्न पूर्वनिर्धारित गर्नुभएपछि, तिनीहरूले सदासर्वदा त्यसो गर्नेछन् भन्‍ने हुँदैन; त्यस्तै भइरहनुपर्छ भन्‍ने छैन। यस व्यक्तिको व्यक्तिगत आचरण सुहाउँदो हुने गरी नै उहाँले त्यस व्यक्तिसँग व्यवहार गर्नुहुनेछ र प्रतिक्रिया दिनुहुनेछ।

तैपनि, अन्त्यसम्‍मै सेवा गर्न नसक्‍ने सेवाकर्ताहरू पनि हुन्छन्; सेवाको अवधिमा, आधा बाटोमा नै हार मान्ने र परमेश्‍वरलाई त्याग्‍ने मानिसहरू, साथै धेरै गलत कार्यहरू गर्ने मानिसहरू पनि हुन्छन्। परमेश्‍वरको कार्यलाई धेरै हानि गर्ने र यसमा धेरै घाटा ल्याउने मानिसहरू पनि हुन्छन्, र परमेश्‍वरलाई सराप्‍ने आदि इत्यादि कार्य गर्ने सेवाकर्ताहरू पनि हुन्छन्। यी सुधार गर्न नसकिने परिणामहरूले के सङ्केत गर्छन्? त्यस्तो कुनै पनि दुष्ट कार्यहरूले तिनीहरूका सेवाको समाप्तिलाई जनाउँछ। तेरो सेवाको अवधिमा तेरो आचरण अत्यन्तै खराब रहेकोले र तँ अति हदसम्‍म पुगेको हुनाले, परमेश्‍वरले तेरो सेवा मापदण्डअनुरूप छैन भन्‍ने देख्‍नुभएपछि, उहाँले तँलाई सेवा गर्ने तेरो योग्यताबाट निकालिदिनुहुनेछ। उहाँले तँलाई अबउप्रान्त सेवा गर्न दिनुहुनेछैन; उहाँले तँलाई उहाँको नजरबाट र परमेश्‍वरको घरबाट निकालिदिनुहुनेछ। के यो तैँले सेवा गर्न नचाहेर हो? के तैँले निरन्तर दुष्ट कार्य गर्न चाहँदैनस् र? के तँ निरन्तर अविश्‍वासयोग्य हुँदैनस् र? त्यसो भए, एउटा सहज समाधान छ: तँलाई सेवा गर्ने तेरो योग्यताबाट हटाइनेछ। परमेश्‍वरको लागि, सेवाकर्तालाई सेवा गर्ने उसको योग्यताबाट हटाउनुको अर्थ यो सेवाकर्ताको अन्त्यको घोषणा गरिएको छ, र ऊ अबउप्रान्त परमेश्‍वरको सेवा गर्नको लागि योग्य हुनेछैन भन्‍ने हुन्छ। परमेश्‍वरलाई अबउप्रान्त यस व्यक्तिको सेवाको खाँचो हुँदैन, र तिनीहरूले जस्तोसुकै राम्रो कुरा बोले पनि, ती शब्‍दहरू व्यर्थ हुनेछन्। जब काम-कुराहरू यस्तो अवस्थामा आइपुगेका हुन्छन्, परिस्थिति समाधान गर्न नसकिने अवस्थामा पुगेको हुनेछ; यस्ता सेवाकर्ताहरू पछि फर्केर आउने कुनै उपाय हुनेछैन। अनि परमेश्‍वरले यस्ता सेवाकर्ताहरूसँग कसरी व्यवहार गर्नुहुनेछ? के उहाँले तिनीहरूलाई सेवा गर्नबाट मात्रै रोक्‍नुहुन्छ? होइन। के उहाँले तिनीहरूलाई रहनबाट मात्रै रोक्‍नुहुन्छ? कि, उहाँले तिनीहरूलाई एकपट्टि राखेर तिनीहरू फर्किऊन् भनेर प्रतीक्षा गर्नुहुन्छ? उहाँले त्यसो गर्नुहुन्‍न। सेवाकर्ताहरूका हकमा, परमेश्‍वर त्यति प्रेमिलो हुनुहुन्‍न, यो साँचो कुरा हो। यदि परमेश्‍वरको सेवाप्रति व्यक्तिको मनोवृत्ति यस्तो छ भने, यो मनोवृत्तिको परिणामस्वरूप, परमेश्‍वरले तिनीहरूलाई सेवा गर्ने तिनीहरूको योग्यताबाट हटाउनुहुनेछ, र फेरि पनि तिनीहरूलाई अविश्‍वासीहरूका बीचमा फ्याँक्‍नुहुनेछ। अनि अविश्‍वासीहरूका बीचमा फ्याँकिएको सेवाकर्ताको भवितव्य के हुन्छ त? यो अविश्‍वासीहरूको जस्तै हुन्छ: तिनीहरू पशु-प्राणीको रूपमा पुनर्जन्‍म हुनेछन् र आत्मिक संसारमा अविश्‍वासीको रूपमा दण्ड प्राप्त गर्नेछन्। यसअलावा, यस व्यक्तिको दण्डमा परमेश्‍वरले कुनै व्यक्तिगत चासो दिनुहुनेछैन, किनभने परमेश्‍वरको कार्यसँग त्यस्तो व्यक्तिको कुनै उचित सम्‍बन्ध हुँदैन। यो परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वासको जीवनको अन्त्य मात्रै हुँदैन, बरु यो त तिनीहरूको आफ्‍नै भवितव्यको समाप्ति, साथै तिनीहरूको भवितव्यको घोषणा पनि हुन्छ। तसर्थ, यदि सेवाकर्ताहरूले नराम्ररी सेवा गर्छन् भने, तिनीहरूले आफै परिणामहरू भोग्‍नुपर्नेहुन्छ। यदि सेवाकर्ताले अन्तिमसम्‍मै सेवा गर्न सक्दैन, वा आधा बाटोमा सेवा गर्ने उसको योग्यताबाट हटाइन्छ भने, तिनीहरूलाई अविश्‍वासीहरूका बीचमा फ्याँकिनेछ—र यदि यसो भयो भने, यस्तो व्यक्तिलाई चौपायाजस्तै, बौद्धिकता वा चेतना नभएका मानिसहरूलाई जस्तै व्यवहार गरिनेछ। मैले यस कुरालाई यसरी बताउँदा, तिमीहरूले बुझ्‍न सक्छौ, होइन त?

उपर्युक्त कुरा परमेश्‍वरलाई पछ्याउने मानिसहरू र सेवाकर्ताहरूको जीवन र मृत्युको चक्रलाई परमेश्‍वरले कसरी सम्‍हाल्‍नुहुन्छ भन्‍नेबारेमा थियो। यो कुरा सुनेपछि, तिमीहरूलाई कस्तो अनुभूति भयो? के मैले यस विषयमा पहिले कहिल्यै बताएको थिएँ? के मैले कहिल्यै परमेश्‍वरका चुनिएका मानिसहरू र सेवाकर्ताहरूको विषयमा बोलेको छु? मैले वास्तवमा यस विषयमा कुरा गरेको छु, तर तिमीहरूलाई याद छैन। आफ्‍ना चुनिएका मानिसहरू र सेवाकर्ताहरूप्रति परमेश्‍वर धर्मी हुनुहुन्छ। सबै कुराको विषयमा, उहाँ धर्मी हुनुहुन्छ। मैले सही कुरा भनेँ? यसमा तिमीहरूले कहीँ त्रुटि भेट्न सक्छौ? के यसो भन्‍ने मानिसहरू छैनन् र, “चुनिएका मानिसहरूप्रति परमेश्‍वर किन यति सहनशील हुनुहुन्छ? अनि सेवाकर्ताहरूप्रति उहाँ किन थोरै मात्र सहनशील हुनुहुन्छ?” के सेवाकर्ताहरूका लागि कोही खडा हुन चाहन्छ? “के परमेश्‍वरले सेवाकर्ताहरूका लागि थप समय दिन, र तिनीहरूप्रति थप धैर्य र सहनशील हुन सक्‍नुहुन्छ?” के त्यस्तो प्रश्‍न उठाउनु सही कुरा हो? (होइन, हो सही होइन।) किन होइन? (किनभने हामीलाई सेवाकर्ताहरू बनाउने कार्यमा नै वास्तवमा निगाह प्रदान गरिसकिएको हुन्छ।) सेवा गर्नको लागि अनुमति दिएर नै सेवाकर्ताहरूलाई वास्तवमा निगाह प्रदान गरिसकिएको हुन्छ! “सेवाकर्ताहरू” भन्‍ने पदवीविना, र तिनीहरूले गर्ने कामविना, यी मानिसहरू कहाँ हुनेथिए? तिनीहरू चौपायाहरूसँग बस्दै र मर्दै अविश्‍वासीहरूका बीचमा हुनेथिए। परमेश्‍वरको सामुन्ने आउन र परमेश्‍वरको घरमा आउन पाएर तिनीहरूले आज कति महान् अनुग्रह पाएका छन्! यो त निकै ठूलो अनुग्रह हो! यदि परमेश्‍वरले तँलाई सेवा गर्ने यो मौका नदिनुभएको भए, तैँले उहाँको सामुन्ने आउने मौका कहिल्यै पाउने थिइनस्। कम्तीमा पनि, यदि तँ बुद्ध धर्मावलम्बी होस् र तैँले फल प्राप्त गरेको छस् भने पनि, तँ बढीमा आत्मिक संसारको एउटा तल्लो तहको कर्मचारीबाहेक केही पनि होइनस्; तैँले परमेश्‍वरलाई कहिल्यै पनि भेट्नेछैनस्, उहाँको आवाज वा उहाँका वचनहरू सुन्‍नेछैनस्, वा उहाँको प्रेम र आशिष्‌हरू अनुभव गर्नेछैनस्, न त तँ कहिल्यै परमेश्‍वरको आमने-सामने आउने सम्‍भावना नै हुन्छ। बुद्ध धर्मावलम्बीहरूका सामुन्ने हुने कुराहरू भनेका सरल कार्यहरू मात्रै हुन्। तिनीहरूले परमेश्‍वरलाई चिन्‍नु असम्‍भव छ, र तिनीहरूले केवल आज्ञापालन गर्छन् र हुकुम मान्छन्, तर सेवाकर्ताहरूले कामको यो चरणको अवधिमा धेरै कुरा प्राप्त गर्छन्! पहिलो, तिनीहरू परमेश्‍वरको आमने-सामने आउन, उहाँको आवाज सुन्‍न, उहाँका वचनहरू सुन्‍न, र उहाँले मानिसहरूलाई दिनुहुने अनुग्रह र आशिष्‌हरू अनुभव गर्न सक्छन्। यसको साथै, तिनीहरूले परमेश्‍वरद्वारा दिइएका वचन र सत्यताहरूको आनन्द लिन सक्छन्। सेवाकर्ताहरूले साँच्‍चै धेरै कुरा प्राप्त गर्न सक्छन्! तसर्थ, सेवाकर्ताको रूपमा, तैँले उचित प्रयास समेत गर्न सक्दैनस् भने, के परमेश्‍वरले तँलाई राख्‍न सक्‍नुहुन्छ त? उहाँले तँलाई राख्‍न सक्‍नुहुन्‍न। उहाँले तँलाई त्यति धेरै माग्‍नुहुन्‍न, तैपनि उहाँले माग्‍नुभएको केही पनि कुरा तैँले उचित रूपमा गर्दैनस्; तैँले तेरो कर्तव्य पालन गरेको छैनस्। तसर्थ, परमेश्‍वरले तँलाई राख्‍न सक्‍नुहुन्‍न भन्‍ने कुरामा कुनै शङ्का छैन। परमेश्‍वरको धर्मी स्वभाव यही हो। परमेश्‍वरले तँलाई पुलपुल्याउनुहुन्‍न, तर उहाँले तँलाई पक्षपात पनि गर्नुहुन्‍न। परमेश्‍वरले काम गर्नुहुने सिद्धान्तहरू यिनै हुन्। परमेश्‍वरले सबै मानिस र प्राणीहरूलाई यसरी नै व्यवहार गर्नुहुन्छ।

जब आत्मिक संसारको कुरा आउँछ, यदि यसका विभिन्‍न प्राणीहरूले कुनै गलत कार्य गर्छन् वा तिनीहरूले आफ्‍नो काम सही तरिकाले गर्दैनन्, तब तिनीहरूको निराकरण गर्नको लागि परमेश्‍वरसँग सम्‍बन्धित स्वर्गीय आदेश र उर्दीहरू हुन्छन्; यो ठोस कुरा हो। त्यसकारण, परमेश्‍वरको हजारौं वर्षको व्यवस्थापन कार्यको अवधिमा, गलत कार्य गर्ने कतिपय कर्तव्य निर्वाहकर्ताहरूलाई समाप्त पारिएको छ, र कतिलाई आजको दिनसम्‍म नै थुनामा राखिएको र दण्ड दिइएको छ। आत्मिक संसारमा हरेक प्राणीले सामना गर्नुपर्ने कुरा यही हो। यदि तिनीहरूले कुनै गलत वा दुष्ट कार्य गरे भने, तिनीहरूलाई दण्ड दिइन्छ—र यो कुरा परमेश्‍वरले आफ्‍ना चुनिएका मानिसहरू र सेवाकर्ताहरूलाई गर्नुहुने व्यवहार जस्तै छ। तसर्थ, आत्मिक संसार र भौतिक संसार दुवैमा, परमेश्‍वरले जुन सिद्धान्तहरूअनुसार काम गर्नुहुन्छ, ती परिवर्तन हुँदैनन्। तैँले परमेश्‍वरका कार्यहरूलाई देख्‍न सके पनि नसके पनि, तिनका सिद्धान्तहरू परिवर्तन हुँदैनन्। सम्पूर्ण समयमा, परमेश्‍वरले सबै थोकलाई गर्ने व्यवहार र सबै थोकलाई सम्‍हाल्‍ने कार्यमा उही सिद्धान्तहरूअनुसार काम गर्नुभयो। यो अपरिवर्तनीय कुरा हो। परमेश्‍वरले तुलनात्मक रूपमा उचित तरिकाले जिउने अविश्‍वासीहरूलाई दया गर्नुहुनेछ, र हरेक धर्ममा रही राम्रो व्यवहार गर्ने र दुष्ट कार्य नगर्नेहरूलाई अवसरहरू दिनुहुनेछ, र परमेश्‍वरले व्यवस्थापन गर्नुहुने सबै थोकमा तिनीहरूलाई आफ्‍नो भूमिका निर्वाह गर्न र तिनीहरूले गर्नुपर्ने कार्य गर्न दिनुहुनेछ। यसरी नै, परमेश्‍वरलाई पछ्याउनेहरू, र उहाँका चुनिएका मानिसहरूलाई परमेश्‍वरले उहाँका यी सिद्धान्तहरूअनुसार कुनै पनि व्यक्तिलाई पक्षपात गर्नुहुन्‍न। इमानदार रूपमा उहाँलाई पछ्याउन सक्‍ने हरेक व्यक्तिप्रति उहाँ दयालु हुनुहुन्छ, र उहाँलाई इमानदार रूपमा पछ्याउने प्रत्येकलाई उहाँले प्रेम गर्नुहुन्छ। यति मात्रै हो कि यी विभिन्‍न प्रकारका मानिसहरूलाई—अविश्‍वासीहरू, विश्‍वासका विभिन्‍न प्रकारका मानिसहरू, र परमेश्‍वरका चुनिएका मानिसहरूलाई—उहाँले दिनुहुने कुराहरू फरक-फरक हुन्छन्। उदाहरणको लागि अविश्‍वासीहरूलाई लिऊँ: तिनीहरूले परमेश्‍वरमा विश्‍वास नगरे तापनि, र परमेश्‍वरले तिनीहरूलाई पशुका रूपमा हेर्नुहुने भए तापनि, सबै थोकको बीचमा तिनीहरू प्रत्येकसँग खानलाई खाने कुरा, बस्‍नलाई तिनीहरूको आफ्‍नै स्थान, र जीवन र मृत्युको सामान्य चक्र हुन्छ। दुष्ट कार्य गर्नेहरूलाई दण्ड दिइन्छ, र असल कार्य गर्नेहरू आशिषित हुन्छन् र तिनीहरूले परमेश्‍वरको दया प्राप्त गर्छन्। के कुरा यही त हो नि, होइन र? विश्‍वासका मानिसहरूको हकमा, यदि तिनीहरूले एक जन्‍मपछि अर्को जन्‍मसम्‍म तिनीहरूका धार्मिक नियमहरूलाई कठोरताका साथ पालन गर्न सक्छन् भने, ती सबैको पुनर्जन्मपछि, परमेश्‍वरले तिनीहरूका निम्ति उहाँको घोषणा गर्नुहुनेछ। त्यसै गरी, आज तिमीहरूको हकमा, तिमीहरू परमेश्‍वरका चुनिएका मानिसहरू भए पनि वा सेवाकर्ता भए पनि, परमेश्‍वरले आफूले तय गर्नुभएका नियम र प्रशासनिक आदेशहरूअनुसार नै तिमीहरूलाई उचित मार्गमा ल्याउनुहुनेछ र तिमीहरूको परिणाम निर्धारित गर्नुहुनेछ। यस प्रकारका मानिसहरूमध्ये, विश्‍वासका फरक-फरक प्रकारका मानिसहरूलाई—अर्थात्, विभिन्‍न धर्मका मानिसहरूलाई—के परमेश्‍वरले बस्‍ने ठाउँ दिनुभएको छ? यहूदीहरू कहाँ छन्? के परमेश्‍वरले तिनीहरूको विश्‍वासमा हस्तक्षेप गर्नुभएको छ? उहाँले गर्नुभएको छैन, होइन र? अनि इसाईहरूको हकमा नि? उहाँले तिनीहरूलाई पनि हस्तक्षेप गर्नुभएको छैन। उहाँले तिनीहरूलाई तिनीहरूका आफ्‍नै पद्धतिहरू पालन गर्न दिनुहुन्छ, उहाँले तिनीहरूसँग कुराकानी गर्ने वा तिनीहरूलाई अन्तर्दृष्टि दिने गर्नुहुन्‍न, यसअलवा, उहाँले तिनीहरूलाई कुनै पनि कुरा प्रकट गर्नुहुन्‍न। यदि तँलाई यो सही लाग्छ भने, यसरी नै विश्‍वास गर्। क्याथोलिकहरूले मरियममा विश्‍वास गर्छन्, र तिनले नै येशूलाई सुसमाचार हस्तान्तरण गरिन् भनी विश्‍वास गर्छन्; तिनीहरूको विश्‍वासको रूप त्यस्तै छ। के परमेश्‍वरले कहिल्यै तिनीहरूको विश्‍वासलाई सुधार गर्नुभएको छ र? उहाँले तिनीहरूलाई स्वतन्त्रता दिनुहुन्छ; उहाँले तिनीहरूलाई कुनै ध्यान दिनुहुन्‍न र तिनीहरूलाई जिउनको लागि निश्‍चित क्षेत्र दिनुहुन्छ। मुस्लिमहरू र बुद्ध धर्मावलम्बीहरूका हकमा पनि, यही कुरा लागू हुँदैन र? उहाँले तिनीहरूका लागि पनि सीमाहरू तय गर्नुभएको छ, र तिनीहरूको सम्बन्धित विश्‍वासमा हस्तक्षेप नगरीकन, तिनीहरूलाई जिउने आफ्‍नै क्षेत्र दिनुभएको छ। सबै कुरा सुव्यवस्थित छन्। अनि यी सबैमा तिमीहरू के देख्छौ? परमेश्‍वरसँग अख्‍तियार छ, तर उहाँले यसको दुरुपयोग गर्नुहुन्‍न। परमेश्‍वरले सबै थोकलाई सर्वोत्तम रूपले सुव्यवस्थित क्रममा मिलाउनुहुन्छ र सुव्यवस्थित रूपमा उहाँले यसो गर्नुहुन्छ, र यसैमा उहाँको बुद्धि र सर्वशक्तिमान्‌ता छ।

आज हामीले एउटा नयाँ र विशेष विषय, अर्थात् आत्मिक संसारका कुराहरूसँग सम्‍बन्धित विषयलाई छोयौं, जसले त्यस क्षेत्रमाथि परमेश्‍वरको प्रशासन र प्रभुत्वको एउटा पक्षलाई प्रतिनिधित्व गर्छ। तिमीहरूले यी कुराहरूलाई बुझ्‍नुभन्दा पहिले, तिमीहरूले यसो भनेका हुन सक्छौ, “यससँग सम्‍बन्धित सबै कुरा रहस्य हो, र हाम्रो जीवन प्रवेशसँग यसको कुनै सम्‍बन्ध छैन; मानिसहरूले वास्तवमा कसरी जिउँछन् भन्‍ने कुरासँग यी कुराहरूको कुनै सम्‍बन्ध छैन, र हामीले तिनलाई बुझ्‍नु आवश्यक छैन, न त हामीले तिनलाई सुन्‍नु नै आवश्यक छ। परमेश्‍वरलाई चिन्‍ने विषयमा तिनको कुनै सम्‍बन्ध छैन।” अब, के तिमीहरूलाई त्यस किसिमको सोचाइमा समस्या छ भन्‍ने लाग्छ? के यो सही छ? (छैन।) त्यस्तो सोचाइ सही छैन र यसमा गम्‍भीर समस्याहरू छन्। यसको कारण के हो भने यदि तँ परमेश्‍वरले सबै थोकमाथि कसरी शासन गर्नुहुन्छ भन्‍नेबारेमा बुझ्‍न चाहन्छस् भने, तैँले देख्‍न सक्‍ने र तेरो सोचाइले बुझ्‍न सक्‍ने कुरालाई मात्रै बुझेर हुँदैन; तैँले अरू संसारको कतिपय कुरालाई पनि बुझ्‍नुपर्छ, जुन तेरो लागि अदृश्य हुन सक्छ, तर त्यो तैँले देख्न सक्ने यो संसारसँग अपरिहार्य रूपमा जोडिएको हुन्छ। यो परमेश्‍वरको सार्वभौमिकतासँग सम्‍बन्धित छ, र यो “सबै थोकका लागि जीवनको स्रोत परमेश्‍वर नै हुनुहुन्छ” भन्‍ने विषयसँग सम्‍बन्धित छ। यो त्यसैसँग सम्‍बन्धित जानकारी हो। यो जानकारीविना, परमेश्‍वर कसरी सबै थोकको जीवनको स्रोत हुनुहुन्छ भन्‍नेबारेको मानिसहरूको ज्ञानमा त्रुटि र भूलहरू हुनेछन्। तसर्थ, आज हामीले जे बतायौं त्यसले हाम्रा अघिल्‍ला विषयहरूलाई बिट मारेको छ, साथै “सबै थोकका लागि जीवनको स्रोत परमेश्‍वर नै हुनुहुन्छ” भन्‍ने विषयवस्तुलाई समापन गरेको छ। यसलाई बुझिसकेपछि, के तिमीहरूले अब यस विषयवस्तुबाट परमेश्‍वरलाई चिन्‍न सक्छौ? त्योभन्दा पनि महत्त्वपूर्ण कुरा, मैले तिमीहरूलाई आज सेवाकर्ताहरूका बारेमा अत्यन्तै महत्त्वपूर्ण जानकारी प्रदान गरेको छु। मलाई थाहा छ, तिमीहरूलाई यस्ता विषयहरूको बारेमा सुन्दा आनन्द लाग्छ, र तिमीहरूले साँच्‍चै नै यी विषयहरूमा चासो लिन्छौ। त्यसकारण, के आज मैले जुन कुराको विषयमा बताएको छु त्यसप्रति तिमीहरू सन्तुष्ट छौ? (हो, छौं।) अन्य केही कुराले तिमीहरूलाई त्यति ठूलो प्रभाव नपारेको हुन सक्छ, तर सेवाकर्ताहरूको बारेमा मैले जे बताएको छु त्यसले विशेष रूपमा ठूलो प्रभाव पारेको छ, किनभने यो विषयले तिमीहरू प्रत्येकको प्राणलाई छुन्छ।

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वर स्वयम् अद्वितीय १०” बाट उद्धृत गरिएको

तपाईं र तपाईंको परिवार बाँच्ने बारेमा एउटा ठूलो कुरा: के तपाईं ठूला विपत्तिहरूमा कसरी सुरक्षा प्राप्त गर्ने र बच्ने भनेर सोच्नुहुन्छ? तलको बटनमा क्लिक गर्नुहोस् र तपाईंले बाटो पाउनुहुनेछ।

सम्बन्धित विषयवस्तु

विभिन्‍न विश्‍वासका मानिसहरूको जीवन र मृत्युको चक्र

हामीले भर्खरै पहिलो वर्गका मानिसहरूको अर्थात्, अविश्‍वासीहरूको जीवन र मृत्युको चक्रको बारेमा छलफल गर्‍यौं। अब, हामी दोस्रो वर्गको, अर्थात्...

आत्मिक संसार भनेको के हो?

भौतिक संसारको हकमा, जब-जब मानिसहरूले निश्‍चित कुराहरू वा घटनाहरूलाई बुझ्दैनन्, तब तिनीहरूले उचित जानकारीको खोजी गर्न वा ती कुराहरूको...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्