व्यक्तिले कसरी परमेश्‍वरसँग सामान्य सम्बन्ध स्थापित गर्न सक्छ

9 फेब्रुअरी 2022

परमेश्‍वरका प्रासंगिक वचनहरू:

परमेश्‍वरमा विश्‍वास राख्दा, तैँले कम्तीमा पनि परमेश्‍वरसँगको सामान्य सम्बन्धका विषयमा रहेको समस्यालाई समाधान गर्नुपर्छ। यदि परमेश्‍वरसँग तेरो सामान्य सम्बन्ध छैन भने, परमेश्‍वरप्रतिको तेरो विश्‍वासको अर्थ गुमेको छ। परमेश्‍वरको उपस्थितिमा शान्त रहने हृदयको साथमा परमेश्‍वरसँगको सामान्य सम्बन्धको स्थापना पूर्ण रूपमा हासिल गर्न सकिन्छ। परमेश्‍वरसँगको सामान्य सम्बन्धको अर्थ उहाँको कुनै पनि कार्यलाई शङ्का र इन्कार नगर्नु र उहाँको कार्यप्रति समर्पित हुन सक्नु हो। यसको अर्थ परमेश्‍वरको उपस्थितिमा सही अभिप्राय राख्नु हो, आफ्नो लागि योजना नबनाउनु हो, र सबै कुरामा परमेश्‍वरको परिवारको हितलाई सबैभन्दा पहिले विचार गर्नु हो; यसको अर्थ परमेश्‍वरको सुक्ष्म जाँचलाई स्वीकार गर्नु र परमेश्‍वरका प्रबन्धहरूको पालना गर्नु हो। तैँले गर्ने सबै कार्यमा आफ्नो हृदयलाई परमेश्‍वरको उपस्थितिमा शान्त बनाउनु सक्नुपर्छ। तैँले परमेश्‍वरको इच्छा नबुझे पनि, तैँले तेरो क्षमताले भ्याएसम्म तेरा कर्तव्य र जिम्मेवारीहरू पूरा गर्नैपर्छ। परमेश्‍वरको इच्छा तँलाई प्रकाश पारिएपछि, त्यसमा काम गर्, र त्यसो गर्दा त्यति धेरै ढिलो हुनेछैन। जब परमेश्‍वरसँगको तेरो सम्बन्ध सामान्य बन्छ, अनि मानिसहरूसँग तेरो सम्बन्ध सामान्य बन्छ। सबै कुरा परमेश्‍वरका वचनहरूको जगमा विकास भएको हुन्छ। परमेश्‍वरका वचनहरू खा र पिई, त्यसपछि परमेश्‍वरका आवश्यक मापदण्डहरूलाई अभ्यास गर, तेरा दृष्टिकोणहरूलाई सच्या, परमेश्‍वरको विरोध गर्ने वा मण्डलीलाई बिथोल्ने कुनै पनि काम नगर्। तेरा दाजुभाइ तथा दिदीबहिनीहरूको जीवनलाई लाभ नपुर्‍याउने कुनै पनि कार्य नगर्, अरूलाई अनुपयोगी हुने कुनै पनि कुरा नबोल्, र लज्जाबोध हुने कुनै पनि कार्य नगर्। तैँले गर्ने सबै कार्यमा निष्पक्ष र प्रतिष्ठित बन् र तेरो प्रत्येक कार्य परमेश्‍वरसमक्ष पेश गर्न सकिने कुरा सुनिश्चित गर्। कहिलेकाहीँ देह कमजोर बन्न सक्ने भए तापनि, तैँले व्यक्तिगत लाभको लोभविना परमेश्‍वरको परिवारको हितलाई सबैभन्दा अगाडि राख्न सक्नुपर्छ, र तैँले धर्मी रूपमा काम गर्न सक्नुपर्छ। यदि तैँले यसरी अभ्यास गर्न सकिस् भने, परमेश्‍वरसँगको तेरो सम्बन्ध सामान्य बन्छ।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरसँग तेरो सम्बन्ध कस्तो छ?

एक सामान्य मानव जीवन, अर्थात्, परमेश्‍वरसित सामान्य सम्बन्ध भएको सामान्य मानव जीवन प्राप्त गर्न, तैंले पहिले उहाँका वचनहरूमा विश्‍वास गर्नुपर्दछ। यदि तैंले मानिसहरूमा पवित्र आत्माले गर्नुहुने कामको पहिलो चरण प्राप्त गरेको छैनस् भने, तँसँग कुनै जग छैन। यदि सिद्धान्तहरूमध्ये सबैभन्दा कम महत्त्वपूर्ण सिद्धान्त पनि तँदेखि टाढा छ भने, तँ अगाडिको बाटोमा कसरी हिंड्नेछस्? परमेश्‍वरले मानिसलाई सिद्ध बनाउनुहुने सही बाटोमा खुट्टा टेक्नुको अर्थ पवित्र आत्माको वर्तमान कामको सही बाटोमा प्रवेश गर्नु हो; यसको अर्थ पवित्र आत्माले लिनुभएको मार्गमा खुट्टा टेक्नु हो। अहिले, पवित्र आत्माले लिनुभएको बाटो भनेको परमेश्‍वरका वर्तमान वचनहरू हुन्। त्यसरी नै, यदि मानिसहरू पवित्र आत्माको बाटोमा खुट्टा टेक्नु छ भने, तिनीहरूले देहधारी परमेश्‍वरका वर्तमान वचनहरू पालन गर्नुपर्छ, खानुपर्छ र पिउनुपर्छ। उहाँले गर्नुहुने काम भनेको वचनहरूको काम हो; सबै कुरा उहाँका वचनहरूबाट सुरु हुन्छ, र सबै कुरा उहाँका वचनहरूमाथि, उहाँका वर्तमान वचनहरूमाथि निर्माण हुन्छन्। चाहे देहधारी परमेश्‍वरको बारेमा निश्चित हुने कुरा होस्, वा देहधारी परमेश्‍वरलाई चिन्ने कुरा होस्, यी दुई मध्ये, प्रत्येकको लागि उहाँका वचनहरूमा धेरै प्रयास गर्नु आवश्यक हुन्छ। नत्र भने, मानिसहरूले केही पनि पूरा गर्न सक्दैनन् र खाली हात हुनेछन्। परमेश्‍वरको वचन खाने र पिउने जगमाथि निर्माण गरेर, अनि त्यसरी उहाँलाई चिनेर र उहाँलाई सन्तुष्ट पारेर मात्र, मानिसहरूले बिस्तारै परमेश्‍वरसँग सामान्य सम्बन्ध निर्माण गर्न सक्छन्। मानिसका लागि, परमेश्‍वरका वचनहरू खानु र पिउनु अनि उहाँका वचनहरूलाई अभ्यास गर्नुभन्दा अझ राम्रो सहकार्य अर्को कुनै छैन। यस्तो अभ्यासद्वारा तिनीहरू परमेश्‍वरका मानिसहरूको रूपमा रहेको तिनीहरूको साक्षीमा राम्ररी दृढ रहन सक्छन्। जब मानिसहरूले परमेश्‍वरको वर्तमान वचनको सार बुझ्‍न र पालन गर्न सक्छन्, तब तिनीहरू पवित्र आत्माले डोऱ्याउनुभएको मार्गमा जिउँछन् र मानिसलाई सिद्ध पार्ने परमेश्‍वरको सही मार्गमा खुट्टा टेकेका हुन्छन्। यसभन्दा पहिले, मानिसहरूले परमेश्‍वरको अनुग्रह खोजेर, वा शान्ति र आनन्द खोजेर मात्रै परमेश्‍वरको काम प्राप्त गर्न सक्थे, तर अहिले स्थितिहरू फरक छन्। देहधारी परमेश्‍वरका वचनहरूविना, उहाँका वचनहरूको वास्तविकताविना, मानिसहरूले परमेश्‍वरको अनुमोदन प्राप्त गर्न सक्दैनन् र सबै जनालाई परमेश्‍वरले हटाउनुहुनेछ। एक सामान्य आत्मिक जीवन हासिल गर्नको लागि, मानिसहरूले पहिले परमेश्‍वरका वचनहरू खानु र पिउनु पर्छ र तिनलाई अभ्यास गर्नुपर्छ, अनि त्यसपछि त्यही जगमाथि परमेश्‍वरसित एउटा सामान्य सम्बन्ध स्थापित गर्नुपर्दछ।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। स्वभाव परिवर्तन भएका मानिसहरू परमेश्‍वरका वचनहरूको वास्तविकतामा प्रवेश गरेकाहरू हुन्

यदि तँ सामान्य आत्मिक जीवन प्राप्त गर्न चाहन्छस् र परमेश्‍वरसँग सामान्य सम्बन्ध राख्न चाहन्छस् भने तैँले सबैभन्दा पहिले आफ्‍नो हृदय उहाँलाई अर्पित गर्नुपर्छ। उहाँको सामुन्ने तैँले आफ्नो हृदय शान्त बनाएपछि मात्र र तेरो पूरा हृदय उहाँमा अर्पित गरेपछि मात्र तँ स्वाभाविक आत्मिक जीवन विकसित गर्न क्रमशः सक्षम हुनेछस्। यदि परमेश्‍वरमा मानिसहरूको विश्‍वासमा उनीहरूले आफ्नो हृदय उहाँमा अर्पित गर्दैनन् र यदि उनीहरूको हृदय उहाँमा छैन भने र उहाँको अभिभारालाई उनीहरूले आफ्नै अभिभाराको रूपमा लिँदैनन् भने, उनीहरूले गर्ने सबै कुरा परमेश्‍वरलाई बेइमान गर्ने काम, धार्मिक मानिसहरूको नमूनाको काम हो र उनीहरूले परमेश्‍वरको प्रशंसा प्राप्त गर्न सक्दैनन्। यस प्रकारको व्यक्तिबाट परमेश्‍वरले केही पनि प्राप्त गर्न सक्नुहुन्न। यस प्रकारका व्यक्तिले परमेश्‍वरको घरमा अनावश्यक र प्रयोगहीन सजावट जस्तै, परमेश्‍वरको काममा प्रतिभारको रूपमा मात्र काम गर्न सक्छ। परमेश्‍वरले यस प्रकारको व्यक्तिलाई कुनै कामको लागि पनि प्रयोग गर्नुहुन्न। यस प्रकारको व्यक्तिमा पवित्र आत्माको कामको लागि कुनै अवसर नहुने मात्र होइन, ऊ पूर्णता हुनुमा समेत कुनै मूल्य हुँदैन। यस प्रकारका व्यक्ति, सच्चाइमा जिउँदो लास हो। यस्ता मानिसहरूमा पवित्र आत्माले प्रयोग गर्न सक्ने केही कुरा पनि हुँदैन, तर यसको विपरीत, उनीहरू सबै शैतानद्वारा हडपिएका र पूरै भ्रष्ट बनेका छन्। परमेश्‍वरले यी मानिसहरूलाई निष्कासन गर्नुहुनेछ। हाल, मानिसहरूको प्रयोग गर्दा पवित्र आत्माले उनीहरूका ती भागहरू, जुन काम पूरा गर्नको लागि वाञ्छनीय हुन्छन्, तिनीहरू प्रयोग मात्र गर्नुहुन्न, उहाँले उनीहरूका अवाञ्छनीय भागहरूलाई सिद्ध बनाउने र परिवर्तन गर्ने पनि गर्नुहुन्छ। यदि तेरो हृदय परमेश्‍वरमा अर्पित गर्न सकिस् र उहाँको सामुन्ने शान्त रहन सकिस् भने, पवित्र आत्माद्वारा प्रयोग हुने, पवित्र आत्माको अन्तर्दृष्टि र प्रकाश प्राप्त गर्ने, अवसर र योग्यता पाउनेछस् र अझ बढी, पवित्र आत्माको लागि तेरा कमजोरीहरूलाई राम्रो बनाउने अवसर तैँले पाउनेछस्। जब परमेश्‍वरलाई तँ आफ्‍नो हृदय अर्पित गर्छस्, सकारात्मक पक्षमा, तैँले अझ गहन प्रवेश गर्न पाउनेछस् र अन्तर्दृष्टिको उच्च तह प्राप्त गर्न सक्नेछस्। नकारात्मक पक्षमा, तँलाई तेरा आफ्नै गल्तीहरू र कमजोरीहरूको बढी जानकारी हुनेछ, परमेश्‍वरको इच्छा पूरा गर्ने खोजीमा तँ बढी उत्सुक हुनेछस् र तँ निष्क्रिय हुनेछैनस् बरु सक्रिय रूपमा प्रवेश गर्नेछस्। तसर्थ, तँ सही व्यक्ति बन्नेछस्। परमेश्‍वरका सामुन्ने तेरो हृदय शान्त रहन सक्षम छ भन्‍ने मान्दा, पवित्र आत्माबाट तैँले प्रशंसा प्राप्त गर्छस् वा गर्दैनस् र तैँले परमेश्‍वरलाई खुशी राख्छस् वा राख्दैनस् भन्‍ने कुराको कुञ्‍जी तँ सक्रिय रूपमा प्रवेश गर्न सक्छस् कि सक्दैनस् भन्ने हो। जब पवित्र आत्माले कुनै व्यक्तिलाई अन्तर्दृष्टि प्रदान गर्नुहुन्छ र उनीहरूको प्रयोग गर्नुहुन्छ, यसले उनीहरूलाई कहिल्यै पनि नकारात्मक बनाउँदैन बरु उनीहरूलाई सक्रिय रूपमा प्रगति गर्ने बनाउँछ। उक्त व्यक्तिमा कमजोरीहरू भए पनि उनीहरू ती कमजोरीहरूमा आधारित भएर उनीहरूको जीवन निर्वाह गर्ने मार्गबाट टाढा रहन सक्छन्। उनीहरूले आफ्नो जीवन वृद्धिको विलम्बलाई टार्न सक्छन् र परमेश्‍वरको इच्छालाई सन्तुष्ट पार्ने खोजीलाई निरन्तरता दिन्छन्। यो एउटा मापदण्ड हो। यदि तैँले यसलाई प्राप्त गर्न सकिस् भने, तैँले पवित्र आत्माको उपस्थिति प्राप्त गरेको यो पर्याप्त प्रमाण हो। यदि कुनै व्यक्ति सधैँ नकारात्मक छ, र यदि अन्तर्दृष्टि प्राप्त गरेपछि पनि र आफूलाई चिन्न सक्षम भए पछि पनि, उनीहरू नकारात्मक र निष्क्रिय नै रहे र खडा हुन र परमेश्‍वरसँग सहकार्य गर्न सकेनन् भने, यस्ता प्रकारका व्यक्तिले परमेश्‍वरको कृपा मात्र प्राप्त गर्छ तर उनीहरूसँग पवित्र आत्मा रहनुहुनेछैन। जब कुनै व्यक्ति नकारात्मक छ, यसको अर्थ उनीहरूको हृदय परमेश्‍वरतिर फर्किएको छैन र उनीहरूको आत्मा परमेश्‍वरको आत्माद्वारा प्रभावित भएको छैन। यो सबैले बुझ्नुपर्छ।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरसँग सामान्य सम्बन्ध स्थापित गर्नु अति नै महत्त्वपूर्ण छ

यदि तँ परमेश्‍वरसँग सामान्य सम्बन्ध राख्न चाहन्छस् भने तेरो हृदय परमेश्‍वरमा फर्किनै पर्छ। यसको जगमा अन्य मानिसहरूसँग पनि तेरो सम्बन्ध स्वाभाविक हुनेछ। यदि परमेश्‍वरसँग तेरो सम्‍बन्ध सामान्य छैन भने, अन्य मानिसहरूसँग तेरा सम्बन्धहरू कायम राख्न तैँले जे गरे पनि, तैँले जति कठिन परिश्रम गरे पनि वा तैँले जति शक्ति प्रयोग गरे पनि, यी सबै मानिसको जीवन जिउने सम्बन्धी दर्शनशास्त्रसँग सम्बन्धित हुनेछन्। तैँले मानवीय दृष्टिकोण र मानवीय दर्शनद्वारा मानिसहरूका बीचमा तेरो प्रतिष्ठा कायम गरिरहेको छस् ता कि मानिसहरू तेरो प्रशंसा गरून्, तर मानिसहरूसँग सामान्य सम्बन्ध स्थापित गर्न तैँले परमेश्‍वरका वचनलाई पालन गरिरहेका छैनस्। यदि तैँले मानिसहरूसँगको तेरा सम्बन्धहरूमा ध्यान केन्द्रित गर्दैनस् तर परमेश्‍वरसँग स्वाभाविक सम्बन्ध कायम राख्छस् भने, यदि तँ आफ्नो हृदय परमेश्‍वरलाई अर्पित गर्न र उहाँको आज्ञा पालन गर्न सिक्न तत्पर छस् भने, प्राकृतिक रूपमै सबै मानिसहरूसँगका तेरा सम्बन्धहरू सामान्य हुनेछन्। यसप्रकार, ती सम्बन्धहरू शरीरमा होइन, तर परमेश्‍वरका प्रेमका आधारमा स्थापित हुन्छन्। त्यहाँ झण्डै शून्य शारीरिक अन्तरक्रिया हुन्छ, तर आत्मामा भाइचारा, पारस्परिक प्रेम, पारस्परिक सान्त्वना, र एक-अर्काको लागि प्रबन्ध हुन्छ। यी सबै परमेश्‍वरलाई सन्तुष्ट पार्ने हृदयको जगमा गरिन्छ। जीवन जिउने सम्बन्धी मानवीय सिद्धान्तमा आधारित भएर यी सम्बन्धहरू कायम राखिँदैन, तर परमेश्‍वरको लागि अभिभारा बोकेर प्राकृतिक तरिकाले नै स्थापित हुन्छ। यसको लागि मानव निर्मित प्रयत्न आवश्यक पर्दैन। तैँले परमेश्‍वरको वचन सिद्धान्त अनुसार अभ्यास मात्र गर्नु आवश्यक हुन्छ। के तँ परमेश्‍वरको इच्छाप्रति विचारशील हुन इच्छुक छस्? के तँ परमेश्‍वरको सामुन्ने “कारण विनाको” व्यक्ति हुन इच्छुक छस्? के तँ परमेश्‍वरलाई आफ्‍नो हृदय पूर्णरूपमा अर्पित गर्न र मानिसहरूका बीचमा रहेको हैसियतलाई उपेक्षा गर्न इच्छुक छस्? तँसँग सम्पर्कमा भएका सबै मानिसहरू मध्ये कोसँग तेरो उत्कृष्ट सम्बन्ध छ? कोसँग तेरो खराब सम्बन्ध छ? के मानिसहरूसँगका तेरा सम्बन्धहरू सामान्य छन्? के तँ सबै मानिसहरूलाई समान रूपले व्यवहार गर्छस्? के अन्य मानिसहरूसँगका तेरा सम्बन्धहरू तेरो जीवन जिउने दर्शनमा आधारित भएर कायम रहेका छन् कि तिनीहरू परमेश्‍वरका प्रेमको जगमा बनेका छन्? जब कुनै व्यक्तिले उनीहरूको हृदय परमेश्‍वरमा अर्पित गर्दैनन् तब उनीहरूको आत्मा कुण्ठित, लाटो र अचेत बन्छ। यस प्रकारका व्यक्तिले परमेश्‍वरका वचनहरू कहिले पनि बुझ्‍नेछैन र परमेश्‍वरसँग कहिले पनि सामान्य सम्बन्ध हुनेछैन; यस प्रकारको व्यक्तिको स्वभाव कहिले पनि परिवर्तन हुनेछैन। आफ्नो स्वभाव परिवर्तन गर्नु भनेको परमेश्‍वरलाई पूर्ण रूपमा आफ्नो हृदय अर्पित गर्ने र परमेश्‍वरका वचनहरूबाट अन्तर्दृष्टि र ज्योति प्राप्त गर्ने प्रक्रिया हो। परमेश्‍वरको कामले व्यक्तिलाई सक्रिय रूपमा प्रवेश गर्न दिन सक्छ साथै उनीहरूलाई उनीहरूका नकारात्मक पक्षहरूबारे ज्ञान प्राप्त गरेपछि तिनलाई हटाउन सक्षम बनाउँछ। जब तँ आफ्‍नो हृदय परमेश्‍वरमा अर्पित गर्ने बिन्दुमा पुग्छस्, तब तँ आफ्‍नो आत्माभित्रका प्रत्येक सूक्ष्म चाललाई बुझ्‍न सक्षम हुनेछस् र परमेश्‍वरबाट प्राप्त प्रत्येक अन्तर्दृष्टि र ज्योतिको ज्ञान तँलाई हुनेछ। यसलाई समातेर राख्, र तँ पवित्र आत्माद्वारा सिद्ध पारिने बाटोमा बिस्तारै प्रवेश गर्नेछस्। परमेश्‍वरको सामुन्ने तेरो हृदय जति शान्त हुन सक्छ, तेरो आत्मा त्यति नै बढी संवेदनशील र कोमल हुनेछ र पवित्र आत्माले कसरी यसलाई चलाउनुहुन्छ त्यस बारेमा तेरो आत्माले जति बुझ्‍न सक्छ, तब परमेश्‍वरसँगको तेरो सम्बन्ध अझै बढी सामान्य हुनेछ।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरसँग सामान्य सम्बन्ध स्थापित गर्नु अति नै महत्त्वपूर्ण छ

तैँले गर्ने सबै कुरामा, तैँले तेरो अभिप्राय सही छ वा छैन भनेर जाँच्नुपर्छ। यदि तँ परमेश्‍वरका आवश्यक मापदण्डहरूअनुरूप काम गर्न सक्षम छस् भने, परमेश्‍वरसँगको तेरो सम्बन्ध सामान्य हुन्छ। यो न्यूनतम मापदण्ड हो। आफ्नो अभिप्रायलाई हेर्, र यदि कुनै गलत अभिप्रायहरू उत्पन्न भएको पत्ता लगाइस् भने, तिनीहरूप्रति आफ्नो पिठ्युँ फर्काउन सक्षम बन् र परमेश्‍वरका वचनहरूअनुसार काम गर्; यसरी तँ परमेश्‍वरको अगाडि सही व्यक्ति बन्न सक्छस्, जसले परमेश्‍वरसँगको तेरो सम्बन्ध सामान्य भएको, र तैँले गर्ने सबै कुराहरू परमेश्‍वरका खातिर भएको, तेरो आफ्नो लागि नभएको दर्साउँछ। तैँले गर्ने र भन्ने सबै कुरामा, तेरो हृदयलाई सही पार्न र तेरा कामहरूमा धर्मी बन्न, र आफ्ना भावनाहरूमा नबग्न, र तेरो आफ्नो इच्छाअनुसार काम नगर्न सक्षम बन्। परमेश्‍वरका विश्‍वासीहरूले आफूलाई आचरणमा राख्न प्रयोग गर्ने सिद्धान्तहरू यिनै हुन्। साना कुराले मानिसको अभिप्राय र कद प्रकाश पार्न सक्छ, र त्यसैले, परमेश्‍वरबाट सिद्ध बनाइने मार्गमा प्रवेश गर्नका लागि तिनीहरूले पहिले परमेश्‍वरसँगको आफ्ना अभिप्रायहरू र सम्बन्धलाई सच्याउनुपर्छ। परमेश्‍वरसँगको तेरो सम्बन्ध सामान्य भएपछि मात्रै तँ उहाँबाट सिद्ध बनाइन योग्य हुन्छस्, त्यसपछि मात्रै परमेश्‍वरको निराकरण, काँटछाँट, ताडना र शोधनले तँमा तोकिएका प्रभाव हासिल गर्न सक्छ। यसो भन्नुको अर्थ, यदि मानवजातिले परमेश्‍वरलाई तिनीहरूको हृदयमा राख्न सक्षम भएमा र व्यक्तिगत लाभको खोजी नगरेमा वा तिनीहरूको आफ्नै भविष्यको बारेमा (देहको हिसाबमा) नसोचेमा, बरु त्यसको सट्टा जीवनमा प्रवेश गर्ने भारलाई बोकेमा, सत्यको खोजी गर्ने सक्दो प्रयास गरेमा, र परमेश्‍वरको कार्यमा समर्पित भएमा—यदि तैँले यसो गर्न सकेमा, तैँले अघि बढाउने लक्ष्यहरू सही हुनेछन्, र परमेश्‍वरसँगको तेरो सम्बन्ध सामान्य बन्नेछ। परमेश्‍वरसँगको सम्बन्धलाई सही बनाउनुलाई आत्मिक यात्रामा प्रवेश गर्ने पहिलो कदम भन्न सकिन्छ। मानिसको नियति परमेश्‍वरको हातमा रहेको र परमेश्‍वरले पूर्वनिर्धारण गर्नुभएको भए तापनि, र मानिसले परिवर्तन गर्न नसक्ने भए तापनि, तँ परमेश्‍वरबाट सिद्ध बनाइने वा उहाँबाट प्राप्‍त गरिने कुरा परमेश्‍वरसँग तेरो सम्बन्ध सामान्य छ वा छैन भन्ने कुरामा निर्भर रहन्छ। तेरा केही भागहरू कमजोर वा अवज्ञाकारी हुन सक्छन्—तर तेरो दृष्टिकोण र तेरो अभिप्राय सही हुँदासम्म, र परमेश्‍वरसँगको तेरो सम्बन्ध सही र सामान्य हुँदासम्म, तँ परमेश्‍वरबाट सिद्ध पारिन योग्य हुन्छस्। यदि परमेश्‍वरसँगको तेरो सम्बन्ध सही छैन भने, र तँ देह वा तेरो परिवारको निम्ति काम गर्छस् भने, तैँले जतिसुकै कडा मेहनत गरे पनि, त्यो सबै व्यर्थ हुनेछ। यदि परमेश्‍वरसँगको तेरो सम्बन्ध सामान्य छ भने, अन्य सबै कुरा आफैँ मिलेर आउँछ। परमेश्‍वरले अरू केही कुरा पनि हेर्नुहुन्न, परमेश्‍वरप्रतिको तेरो दृष्टिकोण सही छ वा छैन भनेर मात्र हेर्नुहुन्छ: तँ कसलाई विश्‍वास गर्छस्, तँ कसको लागि विश्‍वास गर्छस्, र तँ किन विश्‍वास गर्छस्। यदि तैँले अवस्थालाई स्पष्ट रूपमा देख्न र तेरो दृष्टिकोणलाई राम्रो स्वभावसहित अभ्यास गर्न सक्छस् भने, तैँले तेरो जीवनमा प्रगति गर्न सक्छस्, र सही मार्गमा तेरो प्रवेशको प्रत्याभूतिसमेत हुनेछ। यदि परमेश्‍वरसँगको तेरो सम्बन्ध सामान्य छैन भने, र परमेश्‍वरमाथिको तेरो विश्‍वास विकृत छ भने, सबै कुरा व्यर्थ हुन्छ, र तैँले जतिसुकै विश्‍वास गरे पनि, तैँले केही पनि पाउने छैनस्। परमेश्‍वरसँग तेरो सम्बन्ध सामान्य भएपछि, तैँले देह परित्याग गरेर, प्रार्थना गरेर, कष्ट भोगेर, सहेर, समर्पित भएर, तेरा दाजुभाइ र दिदीबहिनीहरूलाई सहयोग गरेर, परमेश्‍वरका लागि आफूलाई अर्पित गरेर, आदि इत्यादि गरेर मात्रै उहाँको प्रशंसा जित्न सक्छस्। तैँले गर्ने कुराहरूको महत्त्व र अर्थ तेरो अभिप्राय सही छ, छैन र तेरो दृष्टिकोण सही छ, छैन भन्ने कुरामा निर्भर रहन्छ। आजकल, धेरै मानिसहरू भित्ते घडी हेर्नका लागि टाउको घुमाएजस्तो गरी परमेश्‍वरमा विश्‍वास गर्छन्—तिनीहरूको दृष्टिकोण विकृत हुन्छ, र तिनीहरूलाई नयाँ खोजसहित सही बनाइनुपर्छ। यदि यो समस्या समाधान भयो भने, सबै कुरा राम्रो हुन्छ, यदि भएन भने, सबै कुरा व्यर्थ हुनेछ। केही मानिसहरूले मेरो उपस्थितिमा राम्रो व्यवहार देखाउँछन्, तर मेरो पिठ्युँपछाडि, उनीहरूले गर्ने भनेकै मेरो विरोध हो। यो तिनीहरूको कुटिलता र कपटको अभिव्यक्ति हो र त्यस्तो व्यक्ति शैतानको दास हो; र तिनीहरू परमेश्‍वरको परीक्षा गर्न आएका, शैतानका सटीक प्रतिरूप हुन्। यदि मेरो काम र मेरा वचनहरूमा तँ समर्पित हुन सक्छस् भने मात्रै त सही मानिस होस्। परमेश्‍वरका वचनहरू तैँले खान र पिउन सक्दासम्म; तैँले गरेका सबै कुराहरू परमेश्‍वरको अगाडि प्रस्तुत गर्न योग्य हुँदासम्म र तैँले गर्ने सबै काममा तैँले निष्पक्ष र प्रतिष्ठित रूपमा व्यवहार गर्दासम्म; तैँले लाजमर्दो कुराहरू वा अरूको जीवनमा क्षति पुग्ने काम नगर्दासम्म; र तैँले उज्यालोमा जिउँदासम्म र आफूलाई शैतानबाट शोषित हुन नदिँदासम्म, परमेश्‍वरसँगको तेरो सम्बन्ध उचित स्थितिमा रहन्छ।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरसँग तेरो सम्बन्ध कस्तो छ?

तेरो दैनिक जीवनमा, तैँले बोल्ने कुन शब्द वा तैँले गर्न सक्ने कुन कुराहरूले परमेश्‍वरसँगको तेरो सम्बन्धलाई असामान्य बनाउँछ भन्ने विषयमा तैँले बुझ्नुपर्छ, र तैँले सही व्यवहारमा प्रवेश गर्न आफैलाई सच्याउनुपर्छ। सबै समयमा, तेरा शब्द, तेरा कार्य, तेरा प्रत्येक चाल, र तेरा सबै सोच तथा विचारहरूलाई परीक्षण गर्। तेरो वास्तविक स्थितिको उचित बुझाइ हासिल गर् र पवित्र आत्माको कार्यको व्यवहारमा प्रवेश गर्। परमेश्‍वरसँग सामान्य सम्बन्ध कायम राख्ने यो एक मात्रै तरिका हो। परमेश्‍वरसँगको तेरो सम्बन्ध सामान्य छ, छैन भनेर लेखाजोखा गर्दै, तैँले तेरो अभिप्रायलाई सच्याउन, मानिसको प्रकृति-सार बुझ्न, र आफूलाई साँच्चिकै बुझ्न सक्छस्, र, यसो गरिरहँदा तँ वास्तविक अनुभवमा प्रवेश गर्न, वास्तविक तरिकाले आफूलाई त्याग्न, र अभिप्रायसहित समर्पित हुन सक्नेछस्। परमेश्‍वरसँगको तेरो सम्बन्ध सामान्य छ वा छैन भन्ने विषयसँग जोडिएका कुराहरूलाई तैँले अनुभव गर्दा, तैँले परमेश्‍वरबाट सिद्ध हुने अवसरहरू प्राप्‍त गर्छस् र पवित्र आत्माको धेरै स्थितिहरू बुझ्न सक्षम हुनेछस्। तैँले शैतानका धेरै छलहरू छिचोलेर हेर्न र त्यसका षड्यन्त्रहरूलाई भित्रैबाट बुझ्न सक्षम हुनेछस्। यो मार्गले मात्रै परमेश्‍वरबाट सिद्ध हुनेतिर अघि बढाउँछ। तैँले परमेश्‍वरसँगको तेरो सम्बन्धलाई सही राखेमा, तँ उहाँको प्रबन्धहरूमा पूर्ण रूपमा समर्पित हुन सक्नेछस्, र तैँले वास्तविक अनुभवको अझ भित्रसम्म प्रवेश गर्न र पवित्र आत्माको कार्य अझै धेरै पाउन पनि सक्नेछस्। जब तैँले परमेश्‍वरसँगको सामान्य सम्बन्धको साथ अभ्यास गर्छस्, तब प्रायः, देहलाई परित्याग गरेर र परमेश्‍वरसँगको वास्तविक सहकार्यमार्फत सफलता हासिल हुनेछ। “सहकार्य गर्ने हृदयविना, परमेश्‍वरको कार्य प्राप्‍त गर्न गाह्रो हुन्छ; यदि देहले कष्ट भोगेन भने, परमेश्‍वरबाट आर्शीवाद प्राप्त हुनेछैन; यदि आत्माले सङ्घर्ष गरेन भने, शैतानलाई लज्जित बनाउन सकिनेछैन” भनेर तैँले बुझ्नुपर्छ। यदि तैँले यी सिद्धान्तहरूको अभ्यास गरिस् र यिनलाई राम्ररी बुझिस् भने, परमेश्‍वरप्रतिको विश्‍वासको बारेमा तेरो दृष्टिकोण सही हुनेछ। तिमीहरूको हालको अभ्यासमा, तिमीहरूले “भोक मेट्न रोटी खोज्ने” मानसिकतालाई त्याग्नुपर्छ, तिमीहरूले “सबैकुरा पवित्र आत्माले गर्नुहुन्छ, र मानिसहरू हस्तक्षेप गर्न असक्षम छन्” भन्ने मानसिकतालाई त्याग्नुपर्छ। यस्तो भन्ने सबैले “मानिसहरूले आफूलाई इच्छा लागेको जे पनि गर्न सक्छन्, र समय आएपछि, पवित्र आत्माले उहाँको कार्य गर्नुहुनेछ। मानिसहरूले देहलाई नियन्त्रित गर्नु वा सहकार्य गर्नु आवश्यक छैन, सबैभन्दा महत्वपूर्ण कुरा भनेको पवित्र आत्माबाट प्रेरित हुनु हो” भनेर सोच्छन्। यी रायहरू सबै निरर्थक छन्। यस्ता परिस्थितिहरूमा, पवित्र आत्माले काम गर्न सक्नुहुन्न। यस्तो प्रकारको दृष्टिकोणले पवित्र आत्माको कार्यलाई धेरै अवरोध ल्याउँछ। प्रायः, पवित्र आत्माको कार्य मानव सहकार्यबाट हासिल हुन्छ। सहकार्य नगर्ने र संकल्प नभएका, तर आफ्नो स्वभावमा परिवर्तन र पवित्र आत्माको कार्य र परमेश्‍वरबाट अन्तर्दृष्टि र ज्योति प्राप्‍त गर्ने इच्छा राख्नेहरूसँग वास्तवमै अनावश्यक विचारहरू हुन्छन्। यसलाई “आफैमा लिप्‍त हुनु र शैतानलाई माफी दिनु” भनिन्छ। यस्ता मानिसहरूको परमेश्‍वरसँग सामान्य सम्बन्ध हुँदैन। तैँले आफूभित्र शैतानी स्वभावको धेरै प्रकाश र अभिव्यक्ति खोज्नुपर्छ र परमेश्‍वरको अहिलेको आवश्यक मापदण्डसँग बाझिने अभ्यास खोज्नुपर्छ। के तँ अब शैतानलाई त्याग्न सक्षम छस्? तैँले परमेश्‍वरसँग सामान्य सम्बन्ध हासिल गर्नुपर्छ, परमेश्‍वरको अभिप्रायअनुसार काम गर्नुपर्छ, र नयाँ जीवनसहित नयाँ मान्छे बन्नुपर्छ। विगतको अपराधमा नभौँतारिई; अनावश्यक रूपमा पश्चातापी नबन्; खडा हुन र परमेश्‍वरसँग सहकार्य गर्न सक्षम बन्, र तैँले पूरा गर्नुपर्ने कर्तव्यहरू पूरा गर्। यसरी, परमेश्‍वरसँगको तेरो सम्बन्ध सामान्य बन्नेछ।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरसँग तेरो सम्बन्ध कस्तो छ?

परमेश्‍वरको प्रत्येक वाणी पढ् र यी वाणीलाई बुझ्नेबित्तिकै अभ्यास गर्। तेरो देह कमजोर भएको, वा तँ विद्रोही बनेको, वा तैँले विरोध गरेको अवसरहरू शायद थिए होलान्; तैँले विगतमा जे-जस्तो व्यवहार गरेको भए पनि, परिणामको हिसाबमा त्यसले खासै फरक पर्दैन, र यसले आज तँलाई परिपक्व हुनबाट रोक्न सक्दैन। त्यसैले, आज परमेश्‍वरसँग तेरो सामान्य सम्बन्ध हुँदासम्म, आशा अझै बाँकी हुन्छ। यदि प्रत्येकपटक परमेश्‍वरको वाणी पढ्दा तँमा परिवर्तन आउँछ, र अरूले तेरो जीवन राम्रो हिसाबमा परिवर्तन हुँदै गएको छ भनेर भन्छन् भने, यसले परमेश्‍वरसँगको तेरो सम्बन्ध अब सामान्य छ, सही भएको छ भन्ने देखाउँछ। परमेश्‍वरले मानिसहरूलाई तिनीहरूको अपराधको आधारमा व्यवहार गर्नुहुन्न। तैँले एकपटक बुझेपछि र सचेत भएपछि, तैँले विद्रोह वा विरोध गर्ने काम बन्द गर्दासम्म, तँमाथि परमेश्‍वरको कृपा भइरहनेछ। परमेश्‍वरद्वारा सिद्ध पारिनका लागि खोजी गर्ने तँसँग बुझाइ र सङ्कल्प छ भने, परमेश्‍वरको उपस्थितिमा तेरो स्थिति सामान्य बन्छ। तैँले जेसुकै गरिरहेको भए तापनि, ती कुरा गर्दा निम्न कुराहरूमा ध्यान दिनू: मैले यो गर्दा परमेश्‍वरले के सोच्नुहुन्छ? के यसले मेरा दाजुभाइ र दिदीबहिनीहरूलाई फाइदा गर्छ? के यो परमेश्‍वरको घरमा हुने कार्यलाई लाभदायक छ? प्रार्थना, सङ्गति, प्रवचन, कार्य वा अन्यसँगको सम्पर्कमा, तेरो अभिप्रायलाई जाँच गर्, र परमेश्‍वरसँगको तेरो सम्बन्ध सामान्य छ, छैन परीक्षण गर्। यदि तैँले तेरो आफ्नै अभिप्राय र सोचलाई बुझ्न सक्दैनस् भने, यसको अर्थ तँमा विभेदीकरणको कमी छ भन्ने हो, जसले तैँले एकदमै कम सत्य बुझ्छस् भन्ने प्रमाणित गर्छ। यदि तँ परमेश्‍वरले गर्नुभएको प्रत्येक कार्यलाई स्पष्ट रूपमा बुझ्न, र उहाँको पक्षमा खडा भएर, उहाँका वचनहरूको दृष्टिबाट परिस्थितिहरूलाई बुझ्न सक्षम छस् भने, तेरो दृष्टिकोण सही भएको हुनेछ। तसर्थ, परमेश्‍वरसँग राम्रो सम्बन्ध स्थापना गर्नु परमेश्‍वरमा विश्‍वास राख्ने जोकोहीको लागि एकदमै महत्त्वपूर्ण हुन्छ; सबैले यसलाई सर्वाधिक महत्त्वको कार्य र तिनीहरूको जीवनको सबैभन्दा ठूलो घटना सम्झिनुपर्छ। तैँले गर्ने सबै कुराहरूलाई परमेश्‍वरसँग तेरो सम्बन्ध सामान्य छ, छैन भन्ने कुराद्वारा मापन गरिन्छ। यदि परमेश्‍वरसँगको तेरो सम्बन्ध सामान्य छ र तेरा अभिप्रायहरू सही छन् भने, काम गर्। परमेश्‍वरसँगको सम्बन्धलाई सामान्य बनाइराख्नलाई तैँले तेरो व्यक्तिगत रुचिहरूमा क्षति हुन्छ कि भनी डराउनु हुँदैन; शैतानलाई जित्न तैँले दिनु हुँदैन, तैँले शैतानलाई तँलाई खरिद गर्न दिनु हुँदैन, र तैँले शैतानलाई तँलाई हाँस्यपात्र बनाउन दिनु हुँदैन। यस्ता अभिप्रायहरू हुनु भनेको परमेश्‍वरसँग तेरो सम्बन्ध सामान्य छ भन्ने कुराको सङ्केत हो—र यो देहको लागि नभएर आत्माको शान्तिको लागि हो, पवित्र आत्माको कार्यको प्राप्तिका लागि हो, र परमेश्‍वरको इच्छा सन्तुष्ट पार्नका लागि हो। सही स्थितिमा प्रवेश गर्नका लागि, तैँले परमेश्‍वरसँग राम्रो सम्बन्ध स्थापना गर्नुपर्छ र परमेश्‍वरमाथिको तेरो विश्‍वासको दृष्टिकोणलाई सही बनाउनुपर्छ। यसरी मात्रै तँलाई परमेश्‍वरले प्राप्त गर्न सक्नुहुन्छ, र उहाँले तँमा उहाँका वचनहरूको फल अभिव्यक्त गर्न र अझ धेरै तँलाई अन्तर्दृष्टि र ज्योति दिन सक्नुहुन्छ। यसरी, तँ सही तरिकामा प्रवेश भएको हुनेछस्। आजका परमेश्‍वरका वचनहरू खान र पिउन जारी राख्, पवित्र आत्माको काम गराइको विद्यमान तरिकामा प्रवेश गर्, परमेश्‍वरका आजका आवश्यक मापदण्डहरूअनुसार काम गर्, अभ्यासको पुरानो ढर्राको तरिका अनुसरण नगर्, काम गर्ने पुरानो तरिकाहरूमा नझुन्डी, र यथाशक्य चाँडो आजको कामको तरिकामा प्रवेश गर्। यसरी, परमेश्‍वरसँगको तेरो सम्बन्ध पूर्ण रूपमा सामान्य हुनेछ, अनि तैँले परमेश्‍वरमाथिको विश्‍वासको सही मार्ग प्रारम्भ गरेको हुनेछस्।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरसँग तेरो सम्बन्ध कस्तो छ?

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्