व्यक्ति कसरी साँचो प्रार्थनामा प्रवेश गर्न सक्छ

9 फेब्रुअरी 2022

परमेश्‍वरका प्रासंगिक वचनहरू:

प्रार्थना गर्दा, परमेश्‍वर समक्ष तेरो हृदय शान्त हुनुपर्दछ, र तँसँग इमान्दार हृदय हुनुपर्दछ। तँ वास्तवमै परमेश्‍वरसँग कुराकानी गर्दै र प्रार्थना गर्दै गरिरहेको हुन्छस्—तैँले परमेश्‍वरलाई राम्रा सुनिने शब्दहरूले मनाउने प्रयास गर्नुहुँदैन। प्रार्थना त्यो कुरामा केन्द्रित हुनुपर्दछ जुन परमेश्‍वरले अहिले नै पूरा गर्न चाहनुहुन्छ। तँलाई अझ बढी अन्तर्दृष्टि र ज्योति प्रदान गर्न अनुरोध गर्नुहोस्, तैँले प्रार्थना गर्दा, तैँले परमेश्‍वर सामु गरेको संकल्प सहित, तेरा वास्तविक स्थितिहरू र तेरा समस्याहरू उहाँको उपस्थितिमा लिएर जा। प्रार्थना भनेको प्रक्रियाको पालना गर्नु होइन; यो त इमान्दार हृदयले परमेश्‍वरको खोजी गर्नु हो। परमेश्‍वरले तेरो हृदयको सुरक्षा गर्नुभएको होस् भनेर अनुरोध गर्, ताकि तेरो हृदय उहाँसामु प्रायः शान्त हुन सकोस्; उहाँले तँलाई जुन वातावरणमा राख्नुभएको छ, त्यसमा तैँले आफैलाई चिन्छस्, आफैलाई तुच्छ ठान्छस्, र आफैलाई त्याग्छस्, यसरी तँ परमेश्‍वरसँग सामान्य सम्बन्ध राख्न र परमेश्‍वरलाई वास्तवमै प्रेम गर्ने व्यक्ति बन्न सक्छस्।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रार्थनाको अभ्यासको सम्बन्धमा

परमेश्‍वरले मानिसबाट माग गर्नुहुने न्यूनतम कुरा भनेको मानिसले आफ्नो हृदय उहाँसामु खोल्न सक्षम होस् भन्‍ने हो। यदि मानिसले परमेश्‍वरलाई उसको साँचो हृदय प्रदान गर्दछ र उसको हृदयमा वास्तवमा जे छ त्यो बोल्दछ भने, परमेश्‍वर उसमा कार्य गर्न इच्छुक हुनुहुन्छ। परमेश्‍वरले जे चाहना गर्नुहुन्छ त्यो मानिसको कुटिल हृदय होइन, तर शुद्ध र इमान्दार हृदय हो। यदि मानिसले आफ्नो हृदयबाट परमेश्‍वरसँग कुरा गर्दैन भने, परमेश्‍वरले उसको हृदयलाई प्रेरित गर्नुहुनेछैन वा उसमा काम गर्नुहुनेछैन। तसर्थ, प्रार्थनाको मुख्य विषय भनेको परमेश्‍वरलाई तेरा कमजोरीहरू वा विद्रोही स्वभावबारे बताउँदै, आफूलाई उहाँसामु पूर्ण रूपमा खुला राख्दै तेरो हृदयदेखि परमेश्‍वरसँग कुरा गर्नु हो; तब मात्र परमेश्‍वरले तेरो प्रार्थनामा चासो राख्नुहुनेछ, अन्यथा उहाँले आफ्नो अनुहार तँबाट लुकाउनुहुनेछ। प्रार्थनाको लागि न्यूनतम मापदण्ड भनेको तैँले आफ्नो हृदयलाई परमेश्‍वर समक्ष शान्त राख्न सक्षम हुनुपर्दछ, र यो परमेश्‍वरबाट अलग हुनुहुँदैन भन्‍ने हो। यो हुन सक्छ कि, यस चरणको अवधिमा, तैँले नयाँ वा उच्च अन्तर्दृष्टि प्राप्त गर्दैनस्, तर त्यसबेला तैँले यथास्थिति कायम राख्नको लागि प्रार्थनाको उपयोग गर्नुपर्दछ—तँ पछाडि हट्नु हुँदैन। तैँले प्राप्त हासिल गर्नुपर्ने सबैभन्दा सानो कुरा यही हो। यदि तैँले यो पनि पूरा गर्न सक्दैनस् भने, यसले तेरो आत्मिक जीवन सही मार्गमा छैन भन्‍ने प्रमाणित गर्छ। परिणामस्वरूप, तँ पहिले आफूसँग भएको दर्शनलाई कायम राख्न असमर्थ हुनेछस्, तैँले परमेश्‍वरमाथिको विश्‍वास गुमाउनेछस्, र त्यसपश्‍चात तेरो संकल्प लोप हुनेछ। तँ आत्मिक जीवनमा प्रवेश गरेको छस् कि छैनस् भन्ने कुराको एउटा सङ्केत भनेको तेरा प्रार्थनाहरू सही मार्गमा छन् कि छैनन् भनेर हेर्नु हो। सबै मानिसहरू यस यथार्थतामा प्रवेश गर्नैपर्छ; उनीहरू सबैले सचेतनापूर्वक आफूहरूलाई प्रार्थनामा तालिम दिने काम गर्नुपर्दछ, निष्क्रिय रूपमा पर्खेर होइन, तर ध्यानपूर्वक पवित्र आत्माद्वारा उत्प्रेरित हुन खोजेर। त्यसपछि मात्र उनीहरू साँचो रूपले परमेश्‍वरको खोजी गर्ने मानिसहरू हुनेछन्।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रार्थनाको अभ्यासको सम्बन्धमा

प्रार्थना चलायमान हुने, कार्यविधि अनुसरण गर्ने, वा परमेश्‍वरका वचनहरू पाठ गर्नु मात्र होइन। भन्नुको मतलब, प्रार्थना गर्नु भनेको निश्‍चित शब्दहरू घोक्नु होइन र यो अरूको नक्कल गर्नु होइन। प्रार्थनामा, एक व्यक्ति त्यस्तो अवस्थामा पुग्नु पर्दछ, जहाँ आफ्नो हृदयलाई खुला राखेर परमेश्‍वरलाई प्रदान गर्न सकियोस्, ताकि यो परमेश्‍वरद्वारा उत्प्रेरित हुन सकोस्। यदि प्रार्थना प्रभावकारी हुनु छ भने, यो परमेश्‍वरका वचनहरूको पठनमा आधारित हुनुपर्दछ। परमेश्‍वरका वचनहरू भित्रबाट प्रार्थना गरेर मात्र कुनै व्यक्तिले अझ महान् अन्तर्ज्ञान र ज्योति प्राप्त गर्न सक्दछ। एउटा साँचो प्रार्थनाका अभिव्यक्तिहरू यस प्रकार छन्‌: परमेश्‍वरले भन्नुभएका सबै कुराको तृष्णा गर्ने, र यसका साथै उहाँले जुन कुरा माग गर्नुहुन्छ त्यो पूरा गर्ने चाहना गर्ने हृदय हुनु; परमेश्‍वरले जुन कुरा घृणा गर्नुहुन्छ त्यो कुरालाई घृणा गर्नु र त्यसपछि, यस जगमाथि टेक्दै, यसबारे केही बुझाई प्राप्त गर्नु, र परमेश्‍वरले विस्तृत वर्णन गर्नुभएको सत्यताहरूबारे केही ज्ञान र स्पष्टता प्राप्त गर्नु। जहाँ संकल्प, विश्‍वास, ज्ञान, र प्रार्थनाको अनुसरण गर्ने अभ्यासको मार्ग हुन्छ, तब मात्र यसलाई साँचो प्रार्थना भन्न सकिन्छ, र केवल यस प्रकारको प्रार्थना मात्रै प्रभावकारी हुन सक्‍छ। तथापि प्रार्थना परमेश्‍वरका वचनहरूको आनन्दमा निर्माण हुनुपर्दछ, यो परमेश्‍वरसँग उहाँका वचनहरूमा कुराकानी गर्ने आधारमा स्थापित हुनुपर्दछ, र हृदय परमेश्‍वरको खोजी गर्न र उहाँसामु शान्त हुन सक्षम हुनुपर्दछ। यस प्रकारको प्रार्थना परमेश्‍वरसँगको साँचो बातचितको चरणमा प्रवेश गरिसकेको हुन्छ।

प्रार्थनाको बारेमा सबैभन्दा आधारभूत ज्ञान:

१. मनमा जे आउँछ त्यही नभन्। तेरो हृदयमा एक बोझ हुनुपर्दछ, अर्थात्, जब तँ प्रार्थना गर्छस् तेरो एउटा उद्देश्य हुनुपर्छ।

२. प्रार्थनामा परमेश्‍वरका वचनहरू समावेश हुनुपर्दछ; यो परमेश्‍वरको वचनमा आधारित हुनुपर्दछ।

३. प्रार्थना गर्दा, तैँले पुराना विषयहरूलाई कण्ठ गरेर भन्‍नुहुँदैन। तेरा प्रार्थनाहरू परमेश्‍वरका वर्तमान वचनहरूसँग सम्बन्धित हुनुपर्छ, र जब तँ प्रार्थना गर्छस्, परमेश्‍वरलाई तेरो अन्तस्करणका विचारहरू बता।

४. सामूहिक प्रार्थना एउटा विषयमा केन्द्रित हुनुपर्छ, जुन अपरिहार्य रूपमा नै, पवित्र आत्माको वर्तमान कार्य हो।

५. सबै मानिसहरूले मध्यस्थ बिन्ती प्रार्थना गर्न सिक्नुपर्दछ। यो परमेश्‍वरको इच्छाको ख्याल राख्ने एउटा तरिका पनि हो।

व्यक्तिको प्रार्थनाको जीवन, प्रार्थनाको महत्त्व र प्रार्थनाको आधारभूत ज्ञानको बुझाइमा आधारित हुन्छ। दैनिक जीवनमा, तेरा आफ्नै कमी-कमजोरीहरूको लागि बारम्बार प्रार्थना गर्, जीवनमा तेरो स्वभावमा परिवर्तन ल्याउनको निम्ति प्रार्थना गर्, र परमेश्‍वरका वचनहरू सम्‍बन्धी तेरो ज्ञानको आधारमा प्रार्थना गर्। हरेक व्यक्तिले आ-आफ्नै प्रार्थनाको जीवन स्थापित गर्नुपर्दछ, उनीहरूले परमेश्‍वरका वचनहरू जान्नको लागि प्रार्थना गर्नुपर्छ, र उनीहरूले परमेश्‍वरको कामको ज्ञानको खोजी गर्न प्रार्थना गर्नुपर्दछ। तेरा व्यक्तिगत परिस्थितिहरू परमेश्‍वर समक्ष खुलस्त राख् र तैँले प्रार्थना गर्ने तरिकामा अनावश्यक चासो नदिई वास्तविक बन्, र मुख्य कुरा भनेको सही बुझाइ प्राप्त गर्नु हो, र परमेश्‍वरका वचनहरूको वास्तविक अनुभव प्राप्त गर्नु हो। आत्मिक जीवनमा प्रवेश गर्न खोज्‍ने व्यक्तिले धेरै प्रकारले प्रार्थना गर्न सक्षम हुनुपर्छ। मौन प्रार्थना, परमेश्‍वरका वचनहरूमाथि चिन्तन गर्नु, परमेश्‍वरको कार्यलाई जान्‍नु—यी सबै सामान्य आत्मिक जीवनमा प्रवेश प्राप्त गर्नका खातिर गरिने आत्मिक सङ्गतिको उद्देश्यपूर्ण कार्यका उदाहरणहरू हुन्, जसले सदैव परमेश्‍वरसामु एक व्यक्तिको अवस्थालाई सुधार गर्छ र जीवनमा अहिलेसम्मकै महान् प्रगति गर्न हौसला प्रदान गर्दछ। संक्षेपमा भन्नुपर्दा, तैँले गर्ने जुनसुकै काम, चाहे यो परमेश्‍वरका वचनहरू खाने र पिउने होस्, वा मौन रूपले प्रार्थना गर्ने होस्, वा ठूलो स्वरमा घोषणा गर्ने होस्, त्यो सबै तँलाई परमेश्‍वरका शब्दहरू, उहाँको कार्य, र उहाँले तँमा हासिल गर्न चाहनुभएको कुरालाई स्पष्ट रूपमा देख्न सक्षम पार्नको लागि हो। अझ महत्त्वपूर्ण कुरा, तैँले गर्ने सबै कुरा परमेश्‍वरले माग गर्ने स्तरहरूमा पुग्न र तेरो जीवनलाई नयाँ उचाइहरूमा उठाउनको लागि गरिन्छ।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रार्थनाको अभ्यासको सम्बन्धमा

अनि तँ कसरी पवित्र आत्‍माद्वारा छोइनलाई खोजी गर्छस्? महत्त्वपूर्ण कुरा भनेको परमेश्‍वरका वर्तमान वचनहरूमा जिउनु, र परमेश्‍वरका मापदण्डहरूको जगमा रही प्रार्थना गर्नु हो। यसरी प्रार्थना गरिसकेपछि, पवित्र आत्‍माले तँलाई अवश्य नै छुनुहुन्छ। यदि तँ आज परमेश्‍वरले बोल्‍नुभएका वचनहरूको जगमा रही खोजी गर्दैनस् भने, यो व्यर्थ हुन्छ। तैँले यसो भन्दै प्रार्थना गर्नुपर्छ: “हे परमेश्‍वर! म तपाईंको विरोध गर्छु, र म तपाईंको धेरै ऋणी छु; म धेरै अनाज्ञाकारी छु, र म कहिल्यै पनि तपाईंलाई सन्तुष्ट तुल्याउन सक्दिनँ। हे परमेश्‍वर, तपाईंले मलाई मुक्ति दिनुभएको होस् भन्‍ने मेरो कामना छ, म तपाईंलाई अन्त्यसम्‍मै सेवा दिन चाहन्छु, म तपाईंकोनिम्ति मर्न चाहन्छु। तपाईंले मलाई न्याय गर्नुहोस् र मलाई सजाय दिनुहोस्, अनि मसँग कुनै गुनासो छैन; म तपाईंको विरोध गर्छु र म मर्न योग्य छु, ताकि मेरो मृत्युमा सबै मानिसहरूले तपाईंको धर्मी स्वभावलाई देख्‍न सकून्।” जब तँ हृदयबाटै यसरी प्रार्थना गर्छस्, परमेश्‍वरले तँलाई सुन्‍नुहुनेछ र तँलाई अगुवाइ गर्नुहुनेछ; यदि तँ पवित्र आत्माको आजका वचनहरूको जगमा रही प्रार्थना गर्दैनस् भने, पवित्र आत्माले तँलाई छुनुहुन्छ भन्‍ने कुराको कुनै सम्‍भावना हुँदैन। यदि तँ परमेश्‍वरको इच्‍छा अनुसार, र आज परमेश्‍वरले जे गर्न चाहनुहुन्छ त्यो अनुसार प्रार्थना गर्छस् भने, तैँले यसो भन्‍नेछस्: “हे परमेश्‍वर! म तपाईंका आज्ञाहरूलाई स्वीकार गर्न र तपाईंका आज्ञाहरूप्रति विश्‍वासयोग्य हुन चाहन्छु, अनि म मेरो सम्पूर्ण जीवन नै तपाईंकै महिमामा अर्पण गर्न इच्‍छुक छु, ताकि मैले गर्ने सबै कुरा परमेश्‍वरका मानिसहरूका मापदण्डहरूसम्‍म पुग्‍न सकून्। मेरो हृदय तपाईंद्वारा छोइएको होस्। तपाईंको आत्माले मलाई सधैँ अन्तर्दृष्टि दिनुभएको होस्, मैले गर्ने सबै कुराले शैतानलाई शर्ममा पारोस्, आखिरमा मलाई तपाईंले प्राप्त गर्नुभएको होस् भन्‍ने मेरो कामना छ।” यदि तँ यसरी, परमेश्‍वरको इच्‍छावरिपरि केन्द्रित भई प्रार्थना गर्छस् भने, पवित्र आत्माले अपरिहार्य रूपमै तँमा काम गर्नुहुनेछ। तेरो प्रार्थनाका शब्‍दहरू कति धेरै छन् त्यसले केही फरक पार्दैन—तैँले परमेश्‍वरको इच्‍छालाई बुझ्छस् कि बुझ्दैनस्, मुख्य कुरा त्यही हो। तिमीहरू सबैले सायद निम्‍न अनुभव प्राप्त गरेका छौ: भेलामा प्रार्थना गरिरहेको बेला कहिलेकहीँ पवित्र आत्‍माको कार्यका गतिशीलताहरू तिनको चरम अवस्थामा पुग्छन् र त्यसले सबैको सामर्थ्यलाई माथि उठाउँछ। कतिपय मानिसहरू प्रार्थना गर्दा-गर्दै परमेश्‍वरको अघि पछुतोले भरिएर नराम्ररी रुन्छन् अनि रोएर बरर आँसु झार्छन्, र कतिपय मानिसहरू तिनीहरूका सङ्कल्प देखाउछन् र भाकल गर्छन्। पवित्र आत्माको कामले हासिल गर्नुपर्ने प्रभाव त्यस्तै हो। आज, सबै मानिसहरूले परमेश्‍वरको वचनमा आफ्‍नो हृदय पूर्ण रूपमा खन्याउनुमहत्त्वपूर्ण छ। पहिले बोलिएका वचनहरूमा ध्यान नदे; पहिले जे आएको थियो त्यसलाई नै तँ अझै पक्रिरहन्छस् भने, पवित्र आत्‍माले तँभित्र काम गर्नुहुनेछैन। के तँ यो कति महत्त्वपूर्ण छ भन्‍ने देख्छस्?

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको सबैभन्दा नयाँ कामलाई चिन र उहाँका पाइलाहरू पछ्याऊ

जब तँ प्रार्थना गर्न सुरु गर्छस्, एकै झट्कामा सबै प्राप्त गर्ने आशा गर्दै आफैलाई असफल नबना। तैँले आफ्नो मुख खोल्नासाथै तँ पवित्र आत्माद्वारा उत्प्रेरित हुनेछस्, वा तैँले अन्तर्ज्ञान वा ज्योति प्राप्त गर्नेछस्, वा परमेश्‍वरले तँमाथि अनुग्रह वर्षाउनुहुनेछ भन्ने आशा गरेर तैँले आवश्यकताभन्दा बढी माग गर्न सक्दैनस्। त्यसो हुनेछैन; परमेश्‍वरले अलौकिक कामहरू गर्नुहुन्न। परमेश्‍वरले उहाँको आफ्नै समयमा मानिसहरूका प्रार्थनाहरू स्वीकार गर्नुहुन्छ, र कहिलेकाहीँ तँ उहाँसामु निष्ठावान् छस् कि छैनस् भनेर तेरो विश्‍वासको परीक्षण गर्नुहुन्छ। जब तँ प्रार्थना गर्छस् तँसँग विश्‍वास, दृढ निश्‍चयता, र संकल्प हुनै पर्दछ। धेरै मानिसहरू, जब भर्खरै तालिम लिन सुरु गरेका हुन्छन्, तिनीहरू हरेस खान्छस् किनकि उनीहरू पवित्र आत्माद्वारा उत्प्रेरित हुन असफल हुन्छन्। यसले काम गर्दैन! तैँले लगनशील भएर प्रयत्न गर्नुपर्दछ; तैँले पवित्र आत्माको गतिशीलता महसुस गर्न र खोजी एवं अन्वेषण गर्नमा ध्यान केन्द्रित गर्नुपर्दछ। कहिलेकाहीँ, तेरो अभ्यासको मार्ग सही हुँदैन र कहिलेकाहीँ, तेरा व्यक्तिगत मनसायहरू एवं धारणाहरू परमेश्‍वर समक्ष दृढ रूपमा कायम रहन सक्दैनन्, र त्यसैले परमेश्‍वरको आत्माले तँलाई उत्प्रेरित गर्न सक्‍नुहुन्‍न। अरू समयमा, परमेश्‍वरले तँ निष्ठावान् छस् कि छैनस् भन्ने हेर्नुहुन्छ। संक्षेपमा, तालिममा तैँले ठूलो मूल्य चुकाउनु पर्दछ। यदि तँ आफ्नो अभ्यासको पथबाट अचानक बरालिँदैछस् भन्ने पत्ता लगाइस् भने, तैँले आफ्नो प्रार्थना गर्ने तरिका बदल्न सक्‍छस्। जबसम्म तँ इमान्दार हृदयले खोजी गर्छस् र प्राप्त गर्न उत्कट इच्‍छा राख्छस्, तबसम्‍म पवित्र आत्माले तँलाई निश्‍चित रूपमा यस यथार्थतामा लैजानुहुन्छ। कहिलेकाहीँ तँ निष्कपट हृदयले प्रार्थना गर्छस् तर तैँले विशेष रूपले उत्प्रेरित भएको महसुस गर्दैनस्। यस्ता समयहरूमा, परमेश्‍वरले तेरा प्रार्थनाहरूलाई हेर्नुहुन्छ भन्ने विश्‍वास गर्दै तँ विश्‍वासमा निर्भर हुनुपर्छ; तँ आफ्ना प्रार्थनाहरूमा अटल रहनुपर्छ।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रार्थनाको अभ्यासको सम्बन्धमा

मैले सबै मानिसमा हुने एउटा समस्या पत्ता लगाएको छु: जब उनीहरूलाई केही हुन्छ उनीहरू प्रार्थना गर्न परमेश्‍वरको सामु आउँछन्, तर उनीहरूका निम्ति प्रार्थना एउटा कुरा हो र हातमा भएको विषय अर्को कुरा हो। उनीहरूलाई जे भइरहेका हुन्छन् प्रार्थनामा त्यसको कुरा गर्नु हुँदैन भनी उनीहरू विश्‍वास गर्छन्। तिमीहरूले विरलै साँचो रूपमा प्रार्थना गर्छौ, र कोही-कोही यस्ता पनि छन् जसले प्रार्थना कसरी गर्नुपर्छ भनी जान्दैनन्। वास्तवमा, प्रार्थना गर्नु भनेको मुख्य रूपमा तेरो हृदयमा भएको कुरा भन्नु हो, मानौं तैँले सामान्य रूपमा बोलिरहेको छस्। तापनि, यस्ता मानिसहरू पनि छन्, जसले प्रार्थना गर्न थालेपछि आफ्नो ठाउँ बिर्सन्छन्; तिनीहरू परमेश्‍वरले तिनीहरूलाई केही देऊन् भनी जिद्दी गर्छन्, त्यो उहाँको इच्छासित मेल खान्छ कि खाँदैन भनी ध्यान दिँदैनन्, फलस्वरूप, प्रार्थना गर्दागर्दै उनीहरूको प्रार्थना सिद्धिन्छ। जब तँ प्रार्थना गर्छस्, तैँले हृदयमा जे मागिरहेको हुन्छस्, तैँले जे कुराको तृष्णा गरिरहेको हुन्छस्; वा, सायद तैँले सम्बोधन गर्न चाहेको विषय छ, तर त्यसको विषयमा तँमा कुनै अन्तर्दृष्टि छैन, र तँ परमेश्‍वरले तँलाई बुद्धि वा बल दिनुभएको होस् वा उहाँले तँलाई ज्ञान दिनुभएको होस् भनी बिन्ती गरिरहेको हुन्छस्—तेरो निवेदन चाहे जे भए पनि, त्यसलाई शब्दहरूमा व्यक्त गर्न तँ समझदार हुनुपर्छ। यदि तँ त्यसो गर्दैनस् भने र घुँडा टेकेर यसो भन्छस् भने, “हे परमेश्‍वर, मलाई शक्ति दिनुहोस्! मलाई मेरो प्रकृति देखाउनुहोस्; म तपाईंलाई काम गर्नुहोस् भनी बिन्ती गर्छु; म तपाईंलाई यसको र त्यसको लागि बिन्ती गर्दछु; म तपाईंसँग बिन्ती गर्दछु कि मलाई यस्तो र त्यस्तो बनाउनुहोस्।” तेरो त्यो “बिन्ती” मा बाध्य पार्ने गुण हुन्छ; यो परमेश्‍वरलाई दबाब दिने प्रयास हो, तैँले चाहेको कुरा गर्न उहाँलाई बाध्य पार्नु हो—जसका सर्तहरूको बारेमा तैँले अघिबाटै एकतर्फी रूपमा निर्णय गरिसकेको हुन्छस्, यो त्योभन्दा कम अरू केही होइन। जब तैँले के गर्न चाहन्छस् भनी अघिबाटै सर्तहरू निश्चित गरिसकेको छस् भने, पवित्र आत्माले त्यसलाई देख्‍नुभएपछि, त्यस्तो प्रार्थनाको कस्तो प्रभाव हुनसक्छ? व्यक्तिले खोजी गर्ने, आज्ञाकारी हृदयसहित प्रार्थना गर्नुपर्छ। उदाहरणका निम्ति, जब तँमाथि केही आइपर्छ, र त्यसको सामना कसरी गर्ने भनी तँलाई थाहा हुँदैन, तब तैँले यसो भन्न सक्छस्, “हे परमेश्‍वर! यस विषयमा के गर्ने हो मलाई थाहा छैन। म यस कुरामा तपाईंलाई सन्तुष्ट पार्न र तपाईंको इच्छा खोज्न चाहन्छु। तपाईंको इच्छा पूरा होस्। म केवल तपाईंको इच्छाअनुसार गर्न चाहन्छु, मेरो इच्छाअनुसार होइन। तपाईं जान्नुहुन्छ सबै मानवीय इच्छा तपाईंको भन्दा विपरीत हुन्छ, र तपाईंको विरोध गर्दछ, र सत्यसँग मेल खाँदैन। म तपाईंसँग बिन्ती गर्दछु, कि तपाईंले मलाई ज्ञान दिनुहोस्, यस विषयमा मलाई अगुवाइ गर्नुहोस्, र म तपाईंलाई दुःखी नबनाऊँ…।” प्रार्थना गर्ने सही तरिका यही हो। यदि तँ “हे परमेश्‍वर, म तपाईंलाई बिन्ती गर्दछु कि तपाईं मलाई मद्दत गर्नुहोस्, मलाई अगुवाइ गर्नुहोस्, मलाई सही वातावरण र सही मानिसहरू दिनुहोस्, र मैले मेरो काम राम्ररी गर्न सकूँ…,” मात्र भन्छस् भने, तैँले प्रार्थना गरिसकेपछि पनि परमेश्‍वरको इच्छालाई अझै बुझेको हुँदैनस्, किनकि तैँले आफ्नै इच्छाअनुसार परमेश्‍वरसँग बिन्ती गरिरहेको हुन्छस्।

अब तैँले प्रार्थनामा प्रयोग गर्ने शब्दहरू युक्तिसंगत छन् कि छैनन् त्यो निश्चित गर्नुपर्छ। यदि तेरा प्रार्थनाहरू युक्तिसंगत छैनन् भने, यदि यो तेरो मूर्खताको कारण वा जानी-जानी नै गरेको हो भने पनि पवित्र आत्माले तँमा काम गर्नुहुनेछैन। त्यसकारण, जब तँ प्रार्थना गर्छस्, तँ उचित तरिकामा समझदार भएर बोल्नुपर्छ। यसो भन्: “हे परमेश्‍वर! तपाईं मेरो कमजोरी र मेरो विद्रोहीपन जान्नुहुन्छ। म तपाईंसँग केवल यति बिन्ती गर्दछु, कि तपाईं मलाई बल दिनुहोस् र तपाईंको इच्छाअनुसार मात्र मलाई मेरा परिस्थितिहरू सामना गर्न सहायता गर्नुहोस्। म यति मात्र बिन्ती गर्दछु। तपाईंको इच्छा के छ सो मलाई थाहा छैन, तैपनि तपाईंको इच्छा पूरा होस्। यदि मलाई सेवा गर्न वा प्रतिभार बन्न लगाइयो भने पनि, म त्यो खुसीसाथ गर्नेछु। मलाई बल र बुद्धि दिनुहोस् भनी म तपाईंसँग बिन्ती गर्दछु, र यस विषयमा म तपाईंलाई सन्तुष्ट पार्न सकूँ। म केवल तपाईंको बन्दोबस्तहरूमा समर्पित हुन चाहन्छु…।” यस्तो प्रार्थना गरिसकेपछि, तेरो हृदयले सहज महसुस गर्नेछ। यदि तँ निरन्तर मागि मात्र रहन्छस् भने, तैँले जति धेरै कुरा भने पनि त्यो सब खोक्रा शब्दहरू मात्र हुनेछन्; परमेश्‍वरले तेरो निवेदनको जबाफमा काम गर्नुहुनेछैन, किनकि तँ के चाहन्छस् त्यो तैँले पहिले नै निर्णय गरेको हुन्छस्। जब तँ प्रार्थना गर्न घुँडा टेक्छस्, तब यसो भन्: “हे परमेश्‍वर! तपाईं मानिसको कमजोरी जान्नुहुन्छ, र तपाईं मानिसका अवस्थाहरू जान्नुहुन्छ। म बिन्ती गर्छु, यस विषयमा तपाईंले मलाई ज्ञान दिनुहोस्। म तपाईंको इच्छा बुझ्न सकूँ। म तपाईंले बन्दोबस्त गर्नुभएका सबै कुराको अधीनमा रहने इच्छा गर्दछु; मेरो हृदय तपाईंको आज्ञापालन गर्न इच्छुक छ…।” यसरी प्रार्थना गर्, र पवित्र आत्माले तँलाई उत्प्रेरित गर्नुहुनेछ। यदि तेरो प्रार्थना गर्ने तरिका सही छैन भने, तेरो प्रार्थना बासी हुनेछ, र पवित्र आत्माले तँलाई उत्प्रेरित गर्नुहुनेछैन। आफ्नै निम्ति बोल्दै धेरै बकबक नगर्—त्यसो गर्नु भनेको असावधान र लापरवाह हुनु मात्र हो। यदि तँ असावधान र लापरवाह भइस् भने के पवित्र आत्माले काम गर्नुहुन्छ? जब कोही परमेश्‍वरको सामु आउँछ, तिनीहरू व्यवस्थाको युगका पूजाहारीहरू जस्तो धार्मिक आचरणसहित सही र उचित हुनुपर्छ, जो सबैले बलिहरू चढाउँदा घुँडा टेक्थे। प्रार्थना गर्नु कुनै साधारण कुरा होइन। व्यक्ति उसका तीखा दाँतहरू देखाउँदै र तिनीहरूका नङ्ग्राहरू हल्लाउँदै परमेश्‍वरको सामु आउनु वा परमेश्‍वरले सुन्नुहुनेछ भनी विश्‍वास गर्दै उत्तानो परेर, सिरकभित्र गुटमुटिएर प्रार्थना गर्नु कसरी उचित हुन सक्छ? त्यो भक्ति होइन! यस कुराकानीमा मेरो उद्देश्य मानिसहरूलाई केही विशेष नियम पालन गर्न लगाउनु होइन; कम्तीमा पनि एक व्यक्तिले उसको हृदयलाई परमेश्‍वरतिर झुकाउन सक्छ र एउटा भक्तिपूर्ण आचरण सहित उहाँको सामु आउन सक्छ।

आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “प्रार्थनाको महत्त्व र त्यसको अभ्यास”

तिमीहरूको प्रार्थनामा प्रायजसो तर्कशीलताको कमी हुन्छ; तँ सधैँ निम्न तरिकाले प्रार्थना गर्छस्: “हे परमेश्‍वर! तपाईंले मलाई यो कर्तव्य पूरा गर्न दिनुभएको हुनाले, म जे गर्छु ती सबैलाई तपाईंले उचित बनाउनुपर्छ, यसैले कि तपाईंको काममा बाधा नहोस् र परमेश्‍वरको परिवारको हितलाई कुनै नोक्सानी नहोस्। तपाईंले मलाई रक्षा गर्नैपर्छ…।” यस्तो प्रार्थना अत्यन्तै अनुचित हो, होइन र? यदि तँ परमेश्‍वरको सामु आएर यस प्रकारले प्रार्थना गर्छस् भने के परमेश्‍वरले तँमा काम गर्नुहुनेछ? यदि तँ मेरो सामु आउँछस् र त्यसरी बोल्छस् भने के म तेरो कुरा सुन्छु होला? म तँलाई लत्याएर ढोका बाहिर निकाल्नेछु! के तँ ख्रीष्टको सामु जस्तो छस् त्यस्तै आत्माको सामु पनि हुँदैनस् र? जब व्यक्ति प्रार्थना गर्न परमेश्‍वरको सामु आउँछ, तिनीहरूले कसरी बुद्धिमानीपूर्वक प्रार्थना गर्न सक्छस् र भक्ति प्राप्त गर्न र अधीनमा बस्न सक्ने हुन तिनीहरूले आफ्नो आन्तरिक अवस्थालाई मिलाउन सक्छन् त्यसमाथि विचार गर्नुपर्छ। त्यसो गरिसकेपछि, तँ अगाडि बढ्नु र प्रार्थना गर्नु राम्रो हुन्छ; तैँले परमेश्‍वरको उपस्थितिको महसुस गर्नेछस्। धेरै चोटि मानिसहरू प्रार्थना गर्न आफ्नो घुँडा टेक्छन्; तिनीहरू आफ्नो आँखा बन्द गर्छन्, र तिनीहरूकहाँ यीबाहेक अरू कुनै शब्द आउँदैन, “हे परमेश्‍वर! हे परमेश्‍वर!” तँ किन त्यति लामो समयसम्‍म त्यसरी शब्‍द विहीन रूपमा चिच्याउँछस्? तेरो अवस्था सही छैन। के तिमीहरू कहिल्यै यसो गर्छौ? तिमीहरूले के गर्न सक्छौ र त्यो कुन सीमासम्म गर्न सक्छौ भन्‍ने अब तिमीहरूलाई थाहा छ, र तिमीहरूले आफ्नो नाप लिएका छौ, तर धेरै पटक तँ असामान्य अवस्थाहरूमा हुनेछस्। कहिलेकहीँ, तेरो अवस्था समायोजित हुनसक्‍ने भए पनि, यो कसरी भयो भनेर तँलाई थाहा नहुन सक्छ र प्रायजसो तेरो प्रार्थनामा तँलाई कुनै शब्दहरू आउँदैनन्। तैँले शिक्षाको कमीले यस्तो भएको हो भनेर पनि भन्‍न सक्छस्। के प्रार्थना गर्नका निम्ति व्यक्ति सुशिक्षित हुनुपर्छ र? प्रार्थना कुनै निबन्ध होइन—साधारण मानिसको तर्कशक्ति सहित इमानदारीसाथ बोले मात्रै पनि हुन्छ। येशूका प्रार्थनाहरू हेर् (यद्यपि मानिसहरूलाई उहाँको स्थान र ओहदा लिने बनाउनका निम्ति यहाँ उहाँका प्रार्थनाहरू उल्लेख गरिएका छैनन्): गेतसमनीको बगैंचामा, उहाँले यस्तो प्रार्थना गर्नुभयो, “यदि सम्भव छ भने…।” अर्थात्, “यदि यो गर्न सकिन्छ भने।” यो कुराकानी गर्दा भनिएको थियो; उहाँले “म तपाईंसँग बिन्ती गर्दछु” भनेर भन्नुभएन। समर्पित हृदय र समर्पित अवस्थामा उहाँले यसो भनेर प्रार्थना गर्नुभयो, “यदि सम्भव छ भने, यो कचौरा मबाट हटोस्: तैपनि मेरो इच्छा होइन, तर तपाईंको इच्छा पूरा होस्” (मत्ती २६:३९)। उहाँले दोस्रो पटक पनि यसरी नै प्रार्थना गर्नुभयो, र तेस्रो पटक उहाँले यसरी प्रार्थना गर्नुभयो, “तपाईंको इच्‍छा पूरा होस्।” परमेश्‍वर पिताको अभिप्रायहरूलाई बुझेर उहाँले भन्नुभयो, “तपाईंको इच्‍छा पूरा होस्।” कुनै पनि व्यक्तिगत छनौट नगरी उहाँ पूर्ण रूपमा समर्पित हुन सक्‍नुभयो। उहाँले त्यो कचौरा उहाँबाट हटाउन परमेश्‍वरको निम्ति सम्भव हुन्छ कि हुँदैन भनी सोध्नुभयो। त्यसको अर्थ के हो? उहाँले क्रूसमा अन्तिम साससम्म रगत बगाएर मर्नुपर्ने कुरा सोचेर—अनि त्यसले मृत्युको विषयलाई छोएकोले—र उहाँले अझसम्म परमेश्‍वर पिताको अभिप्रायलाई पूर्ण रूपमा नबुझ्नुभएकोले यसरी प्रार्थना गर्नुभएको थियो। दुःख भोग्नुपर्ने कुरा सोचेर पनि उहाँले त्यसरी प्रार्थना गर्न सक्नुभएको कुरालाई विचार गर्दा उहाँ साँच्चै अति समर्पित हुनुहुन्थ्यो। उहाँको प्रार्थना गर्ने शैली सामान्य थियो; उहाँले आफ्नो प्रार्थनामा कुनै सर्तहरू राख्नुभएन, न त उहाँले त्यो कचौरा हटाइनुपर्छ नै भन्नुभयो। बरु, उहाँको उद्देश्य उहाँले बुझ्न नसक्ने परिस्थितिमा परमेश्‍वरको इच्छा खोज्नु थियो। पहिलो पटक उहाँले प्रार्थना गर्नुहुँदा, उहाँले बुझ्नुभएको थिएन, त्यसैले उहाँले भन्नुभयो, “यदि सम्भव छ भने … तर तपाईंको इच्छा पूरा होस्।” उहाँले समर्पित अवस्थामा परमेश्‍वरसँग प्रार्थना गर्नुभयो। दोस्रो पटक पनि उहाँले त्यसरी नै प्रार्थना गर्नुभयो। समग्रमा, उहाँले तीन पटक प्रार्थना गर्नुभयो (अवश्य पनि, यी तीनवटा प्रार्थनाहरू केवल तीन दिनमा मात्र गरिएको थिएन), र उहाँको अन्तिम प्रार्थनामा, उहाँले परमेश्‍वरको इच्छालाई पूर्ण रूपमा बुझ्न सक्नुभयो, त्यसपछि उहाँले फेरि कुनै कुराका निम्ति बिन्ती गर्नुभएन। उहाँको पहिलो दुई वटा प्रार्थनामा, उहाँले खोजी गर्दैहुनुहुन्थ्यो, र उहाँले समर्पित अवस्थामा खोजी गर्नुभयो। तापनि, मानिसहरू त्यसरी प्रार्थना गर्दैनन्। तिनीहरूका प्रार्थनामा मानिसहरू भन्छन्, “हे परमेश्‍वर, म तपाईंसँग यो वा त्यो कुरा गरिदिनुहोस् भनी बिन्ती गर्दछु, र तपाईंले मलाई यसमा वा त्यसमा अगुवाइ गर्नुहोस् भनी बिन्ती गर्दछु, तपाईंले मेरो लागि अवस्थाहरू तयार गरिदिनुहोस् भनी बिन्ती गर्दछु…।” सायद उहाँले तेरो निम्ति सुहाउँदा अवस्थाहरू तयार गरिदिनुहुनेछैन र तँलाई कष्टहरू भोग्न दिनुहुनेछ। मानिसहरूले सधैँ यसो भन्दै प्रार्थना गर्नु अति नै अनुचित हो, “हे परमेश्‍वर, म बिन्ती गर्दछु, कि तपाईंले मेरो निम्ति तयारीहरू गरिदिनुहोस् र मलाई शक्ति दिनुहोस्।” तैँले प्रार्थना गर्दा तँ विवेकी हुनुपर्छ, अनि तँ समर्पित भएर त्यसो गर्नुपर्छ। तैँले प्रार्थना गर्नुभन्दा अघि सर्तहरू नराख्। तैँले प्रार्थना गर्न सुरु गर्नुभन्दा अघि यस्तो सोचेर तैँले सर्तहरू राखिरहेको हुन्छस्: मैले परमेश्‍वरसँग बिन्ती गर्नुपर्छ र उहाँलाई यस्तो र त्यस्तो गर्न लगाउनै पर्छ। यसरी प्रार्थना गर्ने तरिका अति नै अनुचित हो। धेरै पटक, परमेश्‍वरले मानिसहरूका प्रार्थनाहरू एउटै पनि सुन्नुहुन्न, त्यसैले जब मानिसहरूले प्रार्थना गर्दछन्, तिनीहरूलाई केही पनि महसुस हुँदैन।

आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “प्रार्थनाको महत्त्व र त्यसको अभ्यास”

परमेश्‍वरको उपस्थितिमा प्रार्थना गर्नु र खोजी गर्नु भनेको परमेश्‍वरलाई यो वा त्यो गर्न बाध्य पार्ने विषय होइन। उचित प्रार्थना के हो? अनुचित प्रार्थना के हो? तैँले केही समयपछि अनुभवबाट यी कुराहरू जान्‍नेछस्। उदाहरणका लागि, तैँले प्रार्थना गरिसकेपछि तैँले के अनुभव गर्न सक्छस् भने, जुन कुराका निम्ति प्रार्थना गरिस् त्यो पवित्र आत्माले गर्नुभएको छैन, न त तैँले प्रार्थना गरेजस्तो उहाँले तँलाई अगुवाइ नै गर्नुभएको छ। अर्को पटक प्रार्थना गर्दा तैँले भिन्नै प्रकारले प्रार्थना गर्नेछस्। पछिल्लो समय गरेको जस्तो तैँले परमेश्‍वरसँग फेरि जबरजस्ती गर्ने कोसिस गर्दैनस् वा तेरा आफ्नै इच्छाहरूको आधारमा उहाँसँग बिन्ती गर्दैनस्। तैँले भन्नेछस्: “हे परमेश्‍वर! सबै कुरा तपाईंको इच्छाअनुसार हुन्छ।” जबसम्म तँ यस तरिकामा ध्यान दिन्छस्, तब केही समयसम्म अलमलिएपछि, तैँले अनुचित हुनु भनेको के हो त्यो जान्‍नेछस्। यस्तो अवस्था पनि हुन्छ जहाँ तैँले आफ्नो आत्मामा के महसुस गर्छस् भने, जब तँ आफ्नै इच्छाहरूअनुसार प्रार्थना गर्छस्, तेरा प्रार्थनाहरू कुण्ठित बन्छन्, र तैँले चाँडै नै तँसँग भन्नुपर्ने कुरा केही पनि छैन भन्‍ने पत्ता लगाउनेछस्। तँ जति धेरै बोल्छस्, तेरो बोली उत्ति नै अनौठो हुन्छ। यसले के प्रमाणित गर्छ भने, जब तैँले यसरी प्रार्थना गर्छस्, तैँले पूर्ण रूपमा देहलाई पछ्याइरहेको हुन्छस्, र पवित्र आत्माले काम गर्नुहुनेछैन वा तँलाई त्यस मार्गमा डोऱ्याउनुहुनेछैन। यो पनि खोज्नुपर्ने र अनुभव गर्नुपर्ने कुरा हो। अब मैले यस विषयमा तँसँग कुरा गरिसकेको भए पनि तैंले आफ्नो अनुभवमा केही विशेष परिस्थितिहरूको सामना गर्ने सम्भावना हुन्छ। प्रार्थना गर्नु भनेको मुख्य रूपमा इमानदारीताको साथ बोल्नु हो। “हे परमेश्‍वर! तपाईंलाई मानिसको भ्रष्टता थाहा छ। आज मैले अर्को अनुचित काम गरेको छु। मैले मनमा एउटा उद्देश्य राखेको छु—म एक छली व्यक्ति हुँ। मैले तपाईंको इच्छा वा सत्यअनुसार काम गरिरहेको थिइनँ। मैले आफ्नै इच्छाअनुसार काम गरें, र आफूलाई ठीक ठहराउने कोसिस गरें। अब, मैले मेरो भ्रष्टतालाई बुझेँ। म तपाईंसँग बिन्ती गर्दछु, कि मलाई अझ बढी अन्तर्दृष्टि दिनुहोस्, र मलाई सत्यता बुझ्ने, त्यसलाई अभ्यास गर्ने र यी भ्रष्टताहरूलाई फाल्ने तुल्याउनुहोस्।” यसरी बोल्; वास्तविक कुराहरूको वास्तविक विवरण दे। धेरैजसो मानिसहरूले प्रायजसो साँचो रूपमा प्रार्थना गर्दैनन्; तिनीहरू आफ्नो मनमा थोरै ज्ञान लिएर र पश्चात्ताप गर्न इच्छुक हुँदै केवल विगतको बारेमा याद गर्छन्, तापनि उनीहरूले न त सत्यतालाई विचार गरेका हुन्छन्, न त बुझेका हुन्छन्। प्रार्थना गर्दा परमेश्‍वरका वचनहरूमाथि विचार गर्नु र सत्यताको खोजी गर्नु भनेको केवल स्मरण र ज्ञानभन्दा अझ गम्भीर कुरा हो। पवित्र आत्माको कामद्वारा तँमा हुनआउने प्रेरणाहरू र परमेश्‍वरको वचनद्वारा उहाँको कामले तँलाई प्रदान गर्ने अन्तर्दृष्टि र प्रकाशले तँलाई साँचो ज्ञान र साँचो पश्चात्तापतिर डोऱ्याउँछ; ती मानवीय विचार र ज्ञानभन्दा धेरै गहन हुन्छन्। यो तैँले राम्ररी जान्नुपर्ने कुरा हो। यदि तँ सतही, अव्यवस्थित सोचविचार र जाँचमा संलग्न हुन्छस्, तँसँग अभ्यास गर्ने कुनै उपयुक्त मार्ग हुँदैन, र तैँले सत्यतातर्फ थोरै मात्र प्रगति गर्छस् भने, तँ परिवर्तन हुन नसक्‍ने अवस्थामा नै रहनेछस्।

आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “प्रार्थनाको महत्त्व र त्यसको अभ्यास”

मानिसहरूले कसरी परमेश्‍वरसँग सम्बन्ध कायम राख्न सक्छन्‌? र यसो गर्न उनीहरू कुन कुरामा भर पर्नुपर्छ? उनीहरू परमेश्‍वरसित गरिने बिन्तीमा, परमेश्‍वरसित प्रार्थना गर्ने कार्यमा, र आफ्‍नो हृदयमा परमेश्‍वरसँग कुराकानी गर्ने कार्यमा भर पर्नुपर्छ। यस्तो सम्बन्ध छ भने, मानिसहरू सधैँ परमेश्‍वरको सामु जिउँछन् र त्यस्ता मानिसहरू अति शान्तिप्रिय हुन्छन्। कतिपय मानिसहरूले उनीहरूको सम्पूर्ण समय बाहिरी कार्यहरूमा बिताउँछन्, आफैलाई बाहिरी कार्यहरूमा व्यस्त तुल्याउँछन्। एक-दुई दिन आत्मिक जीवनरहित भएपछि, तिनीहरूले केही पनि महसुस गर्दैनन्; तीन वा पाँच दिनपछि, वा एक-दुई महिनापछि, उनीहरूले अझै पनि केही महसुस गर्दैनन्; उनीहरूले प्रार्थना गरेका हुँदैनन्, बिन्ती गरेका हुँदैनन्, वा आत्मिक कुराकानी गरेका हुँदैनन्। बिन्ती गर्नु भनेको तँलाई केही हुँदा गरिने कुरा हो, र तँ परमेश्‍वरले तँलाई सहायता गर्नुभएको होस्, तँलाई अगुवाइ गर्नुभएको होस्, तेरो निम्ति जुटाइदिनुभएको होस्, तँलाई ज्ञान दिनुभएको होस्, तँलाई उहाँको इच्छा बुझ्न सिकाउनुभएको होस् र सत्यसित मिल्दो हुने गरी के गर्नुपर्छ सो बुझ्न सिकाउनुभएको होस् भनी अनुरोध गर्छस्। प्रार्थनाको दायरा फराकिलो हुन्छ: कहिलेकहीँ तँ आफ्नो हृदयका वचनहरू बोल्छस्, अनि परमेश्‍वरलाई तेरा कठिनाइहरू वा नकारात्मकता र कमजोरीहरूको बारेमा बताउँछस्; त्यसरी नै तँ विद्रोही हुँदा पनि तैँले परमेश्‍वरसित त्यसरी नै प्रार्थना गर्छस्, वा प्रत्येक दिन तँलाई हुन आउने कुराहरूको बारेमा उहाँलाई बताउँछस्, चाहे ती तेरा निम्ति स्पष्ट होस् वा नहोस्। प्रार्थना गर्नु भनेको यही हो। प्रार्थनाको दायरा मुख्य रूपले परमेश्‍वरसँग कुरा गर्नु र मनको कुरा भन्नु नै हो। कहिलेकहीँ यो नियमित समयमा गरिन्छ, कहिले गरिँदैन; तँलाई इच्छा भए अनुसार तँ जहिले पनि र जहाँ पनि प्रार्थना गर्न सक्छस्। आत्मिक कुराकानी धेरै औपचारिक हुँदैन। कहिलेकहीँ तँसँग समस्या भएकोले हुन्छ, कहिलेकहीँ यसो हुँदैन। कहिलेकहीँ यसमा शब्दहरू समावेश हुन्छन्, कहिलेकहीँ हुँदैनन्। जब तँसित कुनै समस्या हुन्छ, तब तँ त्यस विषयमा परमेश्‍वरसँग कुराकानी र प्रार्थना गर्छस्; जब तँसँग कुनै समस्या हुँदैन, तँ परमेश्‍वरले मानिसहरूलाई कसरी प्रेम गर्नुहुन्छ, उहाँले कसरी मानिसहरूको वास्ता गर्नुहुन्छ, उहाँले कसरी मानिसहरूलाई हप्काउनुहुन्छ भन्‍ने बारेमा सोच्छस्। तैँले परमेश्‍वरसित कुनै पनि समयमा वा कुनै पनि ठाउँमा कुराकानी गर्न सक्छस्। आत्मिक कुराकानी भनेको यही हो। कहिलेकहीँ, जब तँ दैनिक कामकाजमा लाग्छस् र तँलाई दुःखी बनाउने कुनै कुराको बारेमा सोच्छस्, त्यसबेला तैँले घुँडा टेक्नु वा आफ्नो आँखाहरू बन्द गर्नुपर्दैन। तैँले आफ्नो हृदयमा परमेश्‍वरलाई यसो मात्र भन्नुपर्छ: “हे परमेश्‍वर, कृपया यसमा मलाई अगुवाइ गर्नुहोस्। म कमजोर छु, म यसलाई जित्न सक्दिनँ।” तेरो हृदय उत्प्रेरित हुन्छ; तँ केही सरल शब्दहरू मात्र बोल्छस्, र परमेश्‍वरले बुझ्‍नुहुन्छ। कहिलेकहीँ तँलाई घरको याद आउँछ र भन्छस्, “हे परमेश्‍वर! मलाई साँच्चै घरको याद आयो…।” तँलाई विशेष गरी कसको याद आउँछ तैँले त्यो स्पष्ट भन्दैनस्। तँ केवल निराश महसुस गर्छस् र त्यो कुरा परमेश्‍वरलाई भन्छस्। समस्याहरू तब मात्र समाधान गर्न सकिन्छ जब तँ परमेश्‍वरसँग प्रार्थना गर्छस् र तेरो हृदयमा भएका कुराहरू उहाँलाई भन्छस्। के अरू मानिसहरूसँग कुरा गरेर समस्याहरूको समाधान हुन्छ? यदि तैँले सत्यतालाई बुझ्ने कुनै व्यक्तिलाई भेटिस् भने त ठीकै छ, तर यदि तिनीहरूले बुझ्दैनन् भने—तैँले कुनै नकारात्मक र कमजोर व्यक्तिसँग भेटिस् भने—तैँले उनीहरूलाई प्रभाव पार्न सक्छस्। यदि तँ परमेश्‍वरसँग बोलिस् भने, परमेश्‍वरले तँलाई सान्त्वना दिनुहुनेछ, र तँलाई प्रेरित गर्नुहुनेछ। यदि तँ परमेश्‍वरको सामु चुपचाप बसेर परमेश्‍वरका वचनहरू पढ्न सक्छस् भने, तैँले सत्यतालाई बुझ्न र समस्या समाधान गर्न सक्नेछस्। परमेश्‍वरका वचनहरूले तँलाई उम्कने बाटो, त्यो सानो बाधाबाट पार हुने उपाय पत्ता लगाउन सहायता गर्नेछ। त्यो बाधाले तँलाई अल्झाएर लडाउनेछैन, त्यसले तँलाई रोक्‍नेछैन, न त त्यसले तेरो कर्तव्य पूरा गर्ने कार्यमा नै असर गर्नेछ। कहिलेकहीँ यस्तो समय आउँछ जब तँलाई अचानक सुस्त वा भित्री रूपमा असहज महसुस हुन्छ। त्यस्तो समयमा, परमेश्‍वरसित प्रार्थना गर्न सङ्कोच नमान्। हुनसक्छ तैँले परमेश्‍वरसित कुनै बिन्ती गर्दैनस्, परमेश्‍वरले केही गर्नुभएको होस् वा तँलाई अन्तर्दृष्टि दिनुभएको होस् भनी तैँले इच्छा गर्दैनस्—तँ जहाँ भए पनि, तैँले कुनै पनि बेला परमेश्‍वरसँग बोल्न र तेरो मनको कुरा भन्न सक्छस्। तैँले हरसमय के महसुस गर्नुपर्छ? त्यो यही हो, “परमेश्‍वर सधैँ मेरो साथमा हुनुहुन्छ, उहाँले मलाई कहिल्यै छोड्नुभएको छैन, म यो महसुस गर्न सक्छु। म जहाँ भए पनि वा मैले जे गरिरहेको भए पनि—मैले आराम लिइरहेको बेला, वा भेलामा हुँदा, वा मेरो कर्तव्य गरिरहेको बेला—मेरो हृदयमा, मलाई थाहा हुन्छ, कि परमेश्‍वरले मलाई हातमा समातेर डोऱ्याइरहनुभएको छ, उहाँले मलाई कहिल्यै पनि छाड्नुभएको छैन।” कहिलेकहीँ, बितेका केही वर्षहरूमा तैँले प्रत्येक दिन कसरी बिताएको छस् भनी याद गर्दा तँलाई आफ्नो कद बढेको छ, तँलाई परमेश्‍वरले डोऱ्याउनुभएको छ, परमेश्‍वरको प्रेमले तँलाई अहिलेसम्म सुरक्षा गरेको छ भन्‍ने लाग्छ। यी कुराहरू सोच्दै तँ आफ्नो हृदयमा परमेश्‍वरलाई धन्यवाद चढाउँदै प्रार्थना गर्छस्: “हे परमेश्‍वर, म तपाईंलाई धन्यवाद दिन्छु! म अति नै दुर्बल र कमजोर, अति गम्भीर रूपमा भ्रष्ट छु। तपाईंले मलाई यसरी नडोऱ्याउनुभएको भए त, मैले आफैमा भर परेर यो गर्न सक्ने थिइनँ।” के यो आत्मिक कुराकानी होइन र? यदि मानिसहरूले प्रायजसो यसरी नै कुराकानी गर्न सक्छन् भने, के तिनीहरूसित परमेश्‍वरलाई भन्नु पर्ने धेरै कुराहरू हुनेछैनन् र? उनीहरू धेरै दिनसम्म परमेश्‍वरलाई केही नभनी रहन सक्दैनन्। जब तँसँग परमेश्‍वरलाई भन्नुपर्ने केही छैन, परमेश्‍वर तेरो हृदयमा हुनुहुन्‍न। यदि परमेश्‍वर तेरो हृदयमा हुनुहुन्छ, र तँ परमेश्‍वरमा विश्‍वास राख्छस् भने तैँले आफ्नो विश्‍वासपात्रलाई मात्र भन्न सक्ने कुरा लगायत आफ्नो हृदयमा भएका सबै कुरा उहाँलाई भन्न सक्नेछस्। वास्तवमा, परमेश्‍वर तेरो सबैभन्दा नजिकको विश्‍वासपात्र हुनुहुन्छ। यदि तँ परमेश्‍वरलाई आफ्नो सबैभन्दा नजिकको विश्‍वासपात्र मान्छस्, तेरो परिवारमा निर्भर भए जस्तो निर्भर हुन्छस्, सबैभन्दा बढी भर पर्छस्, धेरै भरोसा गर्छस्, धेरै विश्‍वास गर्छस्, जोसँग तँ अति घनिष्ठ छस् भने तँसँग परमेश्‍वरलाई भन्नु पर्ने केही नहुनु असम्भव हुन्छ। यदि तँसँग सधैँ परमेश्‍वरलाई भन्नुपर्ने केही हुन्छ भने के तँ सधैँ परमेश्‍वरको सामु जिउँदैनस् र? यदि तँ सधैँ परमेश्‍वरको सामु जिउन सक्छस् भने, हरेक क्षणमा तँ परमेश्‍वरले कसरी अगुवाइ गर्नुहुन्छ, तँलाई कसरी वास्ता र सुरक्षा गर्नुहुन्छ, उहाँले तँलाई कसरी शान्ति र आनन्द दिनुहुन्छ, उहाँले कसरी तँलाई आशिष् दिनुहुन्छ, उहाँले कसरी तँलाई अन्तर्दृष्टि दिनुहुन्छ, उहाँले तँलाई कसरी हप्काउनुहुन्छ, तँलाई अनुशासन कारबाही गर्नुहुन्छ, तँलाई ताडना दिनुहुन्छ, तँलाई सजाय दिनुहुन्छ र तेरो न्याय गर्नुहुन्छ त्यो महसुस गर्नेछस्; यो सबै कुरा तेरो हृदयमा स्पष्ट र प्रत्यक्ष हुनेछन्। तँ हरेक दिन केही थाहा नपाई, परमेश्‍वरमा विश्‍वास गर्छु मात्र भन्दै, आफ्नो कर्तव्य पूरा गर्दै, देखा पर्नका निम्ति भेलाहरूमा जाँदै, दिनहुँ परमेश्‍वरको वचन पढ्दै र प्रार्थना गर्दै, झारा टार्दै अस्तव्यस्ततामा बिताउनेछैनस्—तैँले गर्ने कुराहरू यस प्रकारको बाहिरी धार्मिक कार्यक्रम मात्र हुनेछैन। त्यसको सट्टामा, तेरो हृदयमा तँ परमेश्‍वरलाई हेर्छस् र हरेक क्षण परमेश्‍वरसँग प्रार्थना गर्छस्, तँ हरसमय परमेश्‍वरसँग कुराकानी गर्नेछस्, र तँ परमेश्‍वरको अधीनमा बस्न सक्नेछस्, र परमेश्‍वरको सामु जिउनेछस्।

आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “यदि तँ सधैं परमेश्‍वरको सामुन्‍ने जिउन सक्दैनस् भने, तँ एक अविश्‍वासी होस्”

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्