अब्राहामलाई परमेश्वरको प्रतिज्ञा
उत्पत्ति २२:१६-१८ यहोवाले भन्नुभयो, म आफैले शपथ खाएको छु किनभने तैँले यो गरेको छस् र तैँले तेरो छोरा अर्थात् तेरो एक मात्र छोरा मलाई नदिई आफूसँग राखेको छैनस्: आशिष्मा म तँलाई आशिष् दिनेछु र वृद्धिमा तेरा सन्तानलाई बढाएर आकाशका ताराहरूसरह, र समुद्र किनारको बालुवासरह वृद्धि गर्नेछु; र तेरा सन्तानले त्यसका शत्रुहरूको प्रवेशद्वार कब्जा गर्नेछन्; र तेरा सन्तानमा पृथ्वीका सबै जातिहरूले आशिष् पाउनेछन्; किनभने तैँले मेरो वचन पालन गरेको छस्।
यो परमेश्वरले अब्राहामलाई दिनुभएको आशिष्को सम्पूर्ण विवरण हो। संक्षिप्त भए पनि, यसको विषयवस्तु समृद्ध छ: यसमा परमेश्वरले अब्राहामलाई वरदान दिनुको कारण, र पृष्ठभूमि, र उहाँले अब्राहामलाई दिनुभएको कुरा के थियो सो कुरा समावेश छन्। यसमा परमेश्वर आनन्द र उत्साहले ओतप्रोत भएर यी वचनहरू बोल्नुभएको, साथै उहाँको वचन सुन्न सक्नेहरूलाई प्राप्त गर्ने उहाँको चाहनाको तीव्रता पनि छ। यसमा, हामी परमेश्वरका वचनहरू पालन गर्ने र उहाँका आज्ञाहरू मान्नेहरूप्रति उहाँको स्नेह र प्रेम देख्छौँ। यसरी हामी परमेश्वरले मानिसहरूलाई प्राप्त गर्न चुकाउनुहुने मूल्य, र मानिसहरूलाई प्राप्त गर्नको लागि उहाँले समर्पण गर्नुहुने वास्ता र विचारलाई देख्छौँ। यसबाहेक, “म आफैले शपथ खाएको छु,” भन्ने वचनहरू भएको यो खण्डले हामीलाई परमेश्वरले उहाँको व्यवस्थापन योजनाको यो कामको दृश्यपछाडि सहनुभएको तीतोपना र पीडाको कडा आभास दिलाउँछ। यो विचारोत्तेजक खण्ड हो, र यो घटनापछि आउनेहरूका लागि यसको विशेष महत्त्व थियो, र उनीहरूमा यसको दूरगामी प्रभाव पारेको थियो।
मानिसले उसको इमानदारिता र आज्ञापालनको कारण परमेश्वरका आशिष्हरू प्राप्त गर्छ
के हामीले यहाँ पढेको परमेश्वरले अब्राहामलाई दिनुभएको आशिष् महान् थियो? यो कतिसम्म महान् थियो? यहाँ एउटा मुख्य वाक्य छ: “र तेरा सन्तानमा पृथ्वीका सबै जातिहरूले आशिष् पाउनेछन्।” यो वाक्यले के देखाउँछ भने, अब्राहामले त्यस्ता आशिष्हरू पाए जुन तिनीभन्दा अघि वा पछि आएका कसैलाई पनि दिइएन। परमेश्वरले भन्नुहुँदा अब्राहामले तिनको एक मात्र प्रिय छोरा परमेश्वरलाई फर्काइदिए (यहाँ हामीले “बलि चढाउनु” भन्न सक्दैनौं; तिनले आफ्नो छोरा परमेश्वरलाई फर्काइदिए भनेर हामीले भन्नुपर्छ), परमेश्वरले अब्राहामलाई इसहाकको बलि चढाउनबाट मात्र रोक्नुभएन, उहाँले त तिनलाई आशिष् पनि दिनुभयो। उहाँले अब्राहामलाई कुन प्रतिज्ञाको आशिष् दिनुभयो? उहाँले तिनका सन्तानलाई वृद्धि गर्ने प्रतिज्ञा दिनुभयो। अनि तिनीहरू कतिसम्म वृद्धि हुनेवाला थिए? धर्मशास्त्रले निम्न विवरण दिन्छ: “आकाशका ताराहरूसरह, र समुद्र किनारको बालुवासरह; र तेरा सन्तानले त्यसका शत्रुहरूको प्रवेशद्वार कब्जा गर्नेछन्; र तेरा सन्तानमा पृथ्वीका सबै जातिहरूले आशिष् पाउनेछन्।” परमेश्वरले कुन सन्दर्भमा यी वचनहरू बोल्नुभयो? भन्नुको अर्थ, अब्राहामले कसरी परमेश्वरको आशिष् पाए? तिनले धर्मशास्त्रमा परमेश्वरले भन्नुभएजस्तै गरी ती प्राप्त गरे: “किनभने तैँले मेरो वचन पालन गरेको छस्।” अर्थात्, अब्राहामले परमेश्वरको आज्ञापालन गरेका थिए, तिनले परमेश्वरले भन्नुभएका, माग्नुभएका र आज्ञा गर्नुभएका सबै काम एउटै पनि गुनासो नगरी पूरा गरे, यसैले परमेश्वरले तिनीसित त्यस्तो प्रतिज्ञा गर्नुभयो। यस प्रतिज्ञामा एउटा महत्त्वपूर्ण वाक्य छ, जुन त्यस समयका परमेश्वरका विचारहरूसँग सम्बन्धित छ। के तिमीहरूले यो देखेका छौ? हुन सक्छ, तिमीहरूले “म आफैले शपथ खाएको छु” भन्ने परमेश्वरका वचनहरूमा त्यति ध्यान दिएका छैनौ होला। ती वचनहरूको अर्थ के हो भने, जब परमेश्वरले यी वचनहरू बोल्नुभयो, उहाँ आफैले शपथ खानुभयो। शपथ खाँदा मानिसहरू के कसम खाने गर्छन्? तिनीहरू स्वर्गको कसम खान्छन्, भन्नुको अर्थ, तिनीहरूले परमेश्वरसित शपथ खान्छन् र परमेश्वरको नाउँमा कसम खान्छन्। परमेश्वरले कुन घटनाको कारण आफ्नै नाममा कसम खानुभयो भन्नेबारेमा मानिसहरूलाई त्यत्ति ज्ञान नहुन सक्छ, तर मैले तिमीहरूलाई सही प्रकारले बताएपछि तिमीहरूले बुझ्न सक्नेछौ। परमेश्वरले उहाँको वचन मात्र सुन्ने तर उहाँको हृदयलाई नबुझ्ने एक जना मानिसको सामना गर्नुभएपछि एकचोटि फेरि उहाँले एकलो र अन्योल महसुस गर्नुभयो। निराशामा—र यो पनि भन्न सकिन्छ कि अवचेतन रूपमा—परमेश्वरले एउटा अत्यन्त स्वाभाविक काम गर्नुभयो: परमेश्वरले आफ्नो हात आफ्नो हृदयमा राख्नुभयो र अब्राहामलाई यो प्रतिज्ञा दिनुहुँदा आफैलाई सम्बोधन गर्नुभयो, र यस क्रममा परमेश्वरले “म आफैले शपथ खाएको छु” भन्नुभएको मानिसले सुन्यो। परमेश्वरका कार्यहरूद्वारा तँ आफ्नै बारेमा सोच्न सक्छस्। जब तँ आफ्नो हात आफ्नो हृदयमा राख्छस् र आफैसँग बोल्छस्, तब के तैँले आफूले भनेको कुरा स्पष्ट बुझ्छस्? के तेरो मनोवृत्ति इमानदार छ? के तँ आफ्नो हृदयसित खुलस्त कुरा गर्न सक्छस्? यसैले, हामी यहाँ देख्छौँ कि परमेश्वर अब्राहामसँग बोल्नुहुँदा उहाँ गम्भीर र इमानदार हुनुहुन्थ्यो। अब्राहामसँग बोल्नुहुँदा र तिनलाई आशिष् दिनुहुँदा, परमेश्वर आफैसित पनि बोलिरहनुभएको थियो। उहाँले आफैलाई भन्दै हुनुहुन्थ्यो: म अब्राहामलाई आशिष् दिनेछु, र त्यसका सन्तान आकाशका ताराहरूजत्तिकै असङ्ख्य र समुद्रको किनारको बालुवासरह प्रशस्त बनाउनेछु, किनकि त्यसले मेरो वचन पालन गर्यो र म त्यसैलाई चुन्छु। जब परमेश्वरले “म आफैले शपथ खाएको छु” भन्नुभयो, तब अब्राहाममा उहाँले इस्राएलको चुनिएका मानिसहरू जन्माउनुहुनेछ भनी सङ्कल्प गर्नुभयो र त्यसपछि उहाँले ती मानिसहरूलाई उहाँको कामको गतिअनुसार अगाडि बढाउनुहुनेथ्यो। अर्थात्, परमेश्वरले अब्राहामका सन्तानलाई परमेश्वरको व्यवस्थापनको काम वहन गर्न लगाउनुहुनेथ्यो, र परमेश्वरको काम र परमेश्वरद्वारा व्यक्त गरिएको कुरा अब्राहामबाट सुरु हुनेथ्यो र अब्राहामका सन्तानमा जारी रहनेथ्यो, र यस प्रकारले मानिसलाई मुक्ति दिने परमेश्वरको इच्छा साकार हुनेथ्यो। तिमीहरू के भन्छौ, के यो एक आशिषित कुरा होइन र? मानिसका लागि योभन्दा ठूलो आशिष् अर्को कुनै छैन; यो भन्न सकिन्छ कि यो नै सबैभन्दा धेरै रूपमा आशिषित कुरा हो। अब्राहामले प्राप्त गरेको आशिष् तिनको सन्तान धेरै वृद्धि हुनु थिएन, बरु परमेश्वरद्वारा अब्राहामको सन्तानमा उहाँको व्यवस्थापन, उहाँको आज्ञा र उहाँको काम हासिल गर्नु थियो। यसको अर्थ के हो भने, अब्राहामले पाएका आशिष्हरू अस्थायी थिएनन्, ती आशिष् त परमेश्वरको व्यवस्थापन योजना अगाडि बढ्दै जाँदा निरन्तर रहिरहे। जब परमेश्वर बोल्नुभयो, जब परमेश्वरले आफ्नै नाउँमा शपथ खानुभयो, उहाँले पहिले नै सङ्कल्प गरिसक्नुभएको थियो। के त्यो सङ्कल्पको प्रक्रिया सत्य थियो? के त्यो वास्तविक थियो? त्यस समयदेखि यता, उहाँका प्रयासहरू, उहाँले तिर्नुभएको मूल्य, उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ, उहाँका सबै थोक, र उहाँको जीवनसमेत अब्राहाम र अब्राहामका सन्तानहरूलाई दिइनेछ भनी परमेश्वरले सङ्कल्प गर्नुभयो। यसरी परमेश्वरले यो पनि सङ्कल्प गर्नुभयो कि मानिसहरूको त्यो झुन्डबाट सुरु गरेर, उहाँले आफ्ना कार्यहरू प्रकट गर्नुहुनेछ, र मानिसलाई उहाँको बुद्धि, अख्तियार र शक्ति देखाउनुहुनेछ।
परमेश्वरलाई चिन्नेहरू र उहाँको गवाही दिन सक्नेहरूलाई प्राप्त गर्नु परमेश्वरको अपरिवर्तनीय इच्छा हो
परमेश्वरले आफैसँग बोल्ने क्रममा उहाँ अब्राहामसँग पनि बोल्नुभयो, तर परमेश्वरले तिनलाई दिनुभएको आशिष् सुन्नुबाहेक, के अब्राहामले त्यस बेला परमेश्वरका सबै वचनहरूमा उहाँको वास्तविक इच्छा बुझ्न सके? तिनले सकेनन्! यसैले, जब परमेश्वरले आफ्नै नाउँमा शपथ खानुभयो, त्यस बेला उहाँको हृदय एकलो र दुःखी थियो। उहाँले चाहनुभएको र योजना बनाउनुभएको कुरा बुझ्ने एक जना व्यक्ति पनि थिएन। त्यस बेला, अब्राहामलगायत कोही पनि उहाँसँग हिम्मतसाथ बोल्न सक्दैनथ्यो, उहाँले गर्नुपर्ने काममा उहाँसँग सहकार्य गर्न सक्ने कोही हुनु त झन् परै जाओस्। बाहिरबाट हेर्दा, परमेश्वरले अब्राहामलाई प्राप्त गर्नुभएको थियो, जसले उहाँको वचन पालन गर्न सक्थ्यो। तर वास्तवमा, यस व्यक्तिको परमेश्वरसम्बन्धी ज्ञान अति नै थोरै थियो। परमेश्वरले अब्राहामलाई आशिष् दिइसक्नुभएको थियो, तापनि परमेश्वरको हृदय अझै सन्तुष्ट थिएन। परमेश्वर सन्तुष्ट हुनुहुन्नथ्यो भन्नुको अर्थ के हो? यसको अर्थ उहाँको व्यवस्थापन भर्खरै मात्र सुरु भएको थियो, र उहाँले प्राप्त गर्न चाहनुभएका मानिसहरू, उहाँले हेर्न चाहनुभएका मानिसहरू, उहाँले प्रेम गर्नुभएका मानिसहरू अझै पनि उहाँबाट धेरै टाढा थिए; उहाँलाई समय चाहिएको थियो, उहाँले पर्खनु आवश्यक थियो, उहाँ धैर्यवान् हुनु आवश्यक थियो। किनकि त्यस समय उहाँलाई के चाहिएको थियो, वा उहाँले के प्राप्त गर्न चाहनुभएको थियो वा उहाँले के चाहनुहुन्थ्यो भनेर जान्ने परमेश्वर स्वयम्बाहेक अरू कोही थिएन। यसैले, परमेश्वर अत्यन्तै उत्साहित हुनुभएको त्यो बेला, उहाँले आफ्नो हृदय भारी भएको पनि महसुस गर्नुभयो। तैपनि उहाँले आफ्ना पाइलाहरू रोक्नुभएन, र उहाँले आफूले गर्नुपर्ने कामको अर्को चरणको योजना बनाउँदै जानुभयो।
परमेश्वरले अब्राहामलाई दिनुभएको प्रतिज्ञामा तिमीहरू के देख्छौ? परमेश्वरले अब्राहामलाई महान् आशिष् दिनुभयो, किनकि तिनले परमेश्वरको वचन पालन गरे। बाहिरबाट हेर्दा यो कुरा सामान्य देखिए पनि, र अवश्य नै यसमा हामी परमेश्वरको हृदय देख्छौँ: परमेश्वर विशेष गरी उहाँप्रतिको मानिसको आज्ञाकारितालाई मूल्यवान् ठान्नुहुन्छ अनि उहाँको बारेमा मानिसको बुझाइ र उहाँप्रतिको इमानदारितालाई कदर गर्नुहुन्छ। परमेश्वरले यस्तो इमानदारितालाई कति हदसम्म कदर गर्नुहुन्छ? उहाँले त्यसलाई कति हदसम्म कदर गर्नुहुन्छ भनी तिमीहरू बुझ्न सक्दैनौ होला, अनि यसलाई महसुस गर्ने त झन् कोही पनि नहुन सक्छ। परमेश्वरले अब्राहामलाई एउटा छोरा दिनुभयो र त्यो छोरो ठूलो भएपछि परमेश्वरले अब्राहामलाई आफ्नो छोराको बलि चढाउनू भनी भन्नुभयो। अब्राहामले परमेश्वरको हरेक आज्ञा पालन गरे, तिनले परमेश्वरको वचन पालन गरे, र तिनको इमानदारिताले परमेश्वरको हृदय छोयो र परमेश्वरले यसलाई मूल्यवान् ठान्नुभयो। परमेश्वरले यसलाई कति मूल्यवान् ठान्नुभयो? अनि, परमेश्वरले यसलाई किन मूल्यवान् ठान्नुभयो? कसैले पनि परमेश्वरको वचन नबुझेको वा उहाँको हृदयलाई नबुझेको समयमा अब्राहामले यस्तो काम गरे जसले स्वर्ग हल्लायो र पृथ्वी थर्कायो, र त्यसले परमेश्वरलाई अभूतपूर्व सन्तुष्टि प्रदान गर्यो, र उहाँका वचनहरू पालन गर्न सक्ने कुनै व्यक्तिलाई प्राप्त गर्नुको आनन्द परमेश्वरलाई दियो। यो सन्तुष्टि र आनन्द परमेश्वरको आफ्नै हातले बनाएको प्राणीबाट आयो, र त्यो मानिसले परमेश्वरलाई चढाएको पहिलो “बलिदान” थियो र मानिसलाई सृष्टि गरिएको समयदेखि यता परमेश्वरले सबैभन्दा बढी त्यसलाई नै मूल्यवान् ठान्नुभएको थियो। यो बलिको प्रतीक्षा गर्न परमेश्वरलाई निकै कठिन भएको थियो, र उहाँले त्यसलाई उहाँले सृष्टि गर्नुभएको मानिसबाट पाउनुभएको पहिलो सबैभन्दा महत्त्वपूर्ण उपहारको रूपमा लिनुभयो। यसले परमेश्वरलाई उहाँको प्रयास र उहाँले तिर्नुभएको मूल्यको पहिलो फल देखायो, र यसले गर्दा उहाँले मानवजातिमा आशा देख्नुभयो। त्यसपछि, उहाँलाई साथ दिन, उहाँसित इमानदार व्यवहार गर्न, र इमानदारीसाथ उहाँको वास्ता गर्नका निम्ति परमेश्वरले त्यस्ता मानिसहरूको झुन्डको अझ ठूलो चाहना गर्नुभयो। परमेश्वरले अब्राहाम जीवित रहिरहून् भन्नेसमेत आशा गर्नुभयो, किनकि उहाँले आफ्नो व्यवस्थापनलाई अगाडि बढाउँदै जाने क्रममा अब्राहामको जस्तो हृदयले उहाँलाई साथ देओस् र त्यस्तो हृदय उहाँको साथमा रहोस् भनी इच्छा गर्नुभयो। परमेश्वरले जे चाहनुभएको भए पनि त्यो एउटा इच्छा, एउटा विचार मात्र थियो—किनकि अब्राहाम त उहाँको आज्ञापालन गर्न सक्ने एक मानिस मात्र थिए, र तिनमा रत्तीभर पनि परमेश्वरको बारेमा बुझाइ वा ज्ञान थिएन। अब्राहाम त्यस्तो मानिस थिए जो मानिसबाट परमेश्वरले अपेक्षा गर्नुभएका मापदण्डहरूको स्तरभन्दा धेरै तल थिए, र ती मापदण्डहरू यी थिए: परमेश्वरलाई चिन्नु, परमेश्वरको गवाही दिन सक्नु, र परमेश्वरसँग एक मनको हुनु। यसैले अब्राहाम परमेश्वरसँग हिँड्न सकेनन्। अब्राहामले इसहाकलाई बलि चढाउने घटनामा परमेश्वरले अब्राहामको इमानदारिता र आज्ञाकारिता देख्नुभयो, र तिनले परमेश्वरको जाँचको सामना गर्न सकेको देख्नुभयो। परमेश्वरले तिनको इमानदारिता र आज्ञाकारितालाई स्वीकार गर्नुभएको भए पनि, तिनी परमेश्वरको विश्वासपात्र बन्न, परमेश्वरलाई चिन्ने र बुझ्ने व्यक्ति बन्न, र परमेश्वरको स्वभावको बारेमा ज्ञान भएको व्यक्ति बन्न अझै योग्य भइसकेका थिएनन्; तिनी परमेश्वरसँग एकै मनको हुने र परमेश्वरको इच्छा पूरा गर्न सक्ने क्षमताबाट अझै धेरै टाढा थिए। त्यसकारण, हृदयमा परमेश्वर अझै एकलो र चिन्तित हुनुहुन्थ्यो। परमेश्वर जतिजति एकलो र चिन्तित हुनुभयो, त्यतित्यति नै उहाँले आफ्नो व्यवस्थापनलाई जतिसक्दो चाँडो निरन्तरता दिनु, र उहाँको व्यवस्थापन योजना पूरा गर्न र उहाँको इच्छा हासिल गर्न जतिसक्दो चाँडो मानिसहरूको एउटा झुन्ड चुन्नु र प्राप्त गर्नु आवश्यक भयो। यो परमेश्वरको उत्सुक इच्छा थियो, र यो सुरुदेखि आजसम्म अपरिवर्तित छ। आदिमा उहाँले मानिसलाई सृष्टि गर्नुभएदेखि यता, परमेश्वरले विजेताहरूको एउटा झुन्डको चाहना गर्नुभएको छ, यस्तो झुन्ड जुन उहाँको साथमा हिँड्नेछ र उहाँको स्वभावलाई जान्न र बुझ्न सक्षम छ। परमेश्वरको यो इच्छा कहिल्यै परिवर्तन भएको छैन। उहाँले अझै जति लामो समयसम्म पर्खनु परे पनि, अगाडिको बाटो जति नै कठिन भए पनि, र उहाँले चाहनुभएका उद्देश्यहरू जति नै टाढा भए पनि, परमेश्वरले मानिसबाट राख्नुभएका अपेक्षाहरू कहिल्यै पनि बदल्नुभएको वा त्याग्नुभएको छैन। अब मैले यो भनिसकेपछि, के तिमीहरूले परमेश्वरको इच्छाको बारेमा केही महसुस गर्यौ? सायद, तिमीहरूले जे महसुस गरेका छौ त्यो गहन नहोला—तर यो बिस्तारै आउनेछ!
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वरको काम, परमेश्वरको स्वभाव र परमेश्वर स्वयम् २
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।