परमेश्‍वरका दैनिक वचनहरू: कार्यका तीन चरणहरू | अंश ५

मानवजातिलाई व्यवस्थापन गर्ने कामलाई तीन भागमा विभाजन गरिएको छ, जसको अर्थ मानवजातिलाई बचाउने कामलाई तीन चरणहरूमा विभाजन गरिएको छ। यी तीन चरणहरूमा संसारलाई सृष्टि गरिएको कार्य पर्दैन, तर व्यवस्थाको युग, अनुग्रहको युग र राज्यको युग कामका तीन चरणहरू हुन्। संसारलाई सृष्टि गर्ने काम सारा मानवजातिलाई पैदा गर्ने काम थियो। यो मानिसलाई मुक्ति दिने काम थिएन, मानवजातिलाई मुक्ति दिने कार्यसँग यसको कुनै सरोकार छैन, किनभने संसार सृष्टि गर्दा मानवजाति शैतानद्वारा भ्रष्ट पारिएका थिएनन्, त्यसैले मानवजातिको मुक्तिको कार्यलाई अघि बढाउनु आवश्यक थिएन। जब मानवजाति शैतानद्वारा भ्रष्ट भयो तब मात्र मानवजातिलाई मुक्ति दिने कार्य सुरु भयो, त्यसैले मानवजाति भ्रष्ट भएपछि मात्र मानवजातिको व्यवस्थापनको कार्य सुरुवात भयो। अर्को शब्दमा, परमेश्‍वरको मानव व्यवस्थापनको कार्य मानवजातिलाई उद्धार गर्ने कार्यको परिणामस्वरूप प्रारम्भ भयो र यो संसारलाई सृष्टि गर्ने कुराबाट उदय भएन। मानवजातिले भ्रष्ट स्वभाव प्राप्त गरेपछि मात्र व्यवस्थापनको कार्य अस्तित्वमा आयो, त्यसैले मानवजातिलाई व्यवस्थापन गर्ने कार्यमा चार चरणहरू वा चार युगहरूभन्दा पनि तीन भागहरू पर्छन्। परमेश्‍वरले मानवजातिको व्यवस्थापन गर्ने कार्यलाई जनाउने उपयुक्त तरिका यही मात्र हो। जब अन्तिम युगको अन्त आउँछ, तब मानवजातिको व्यवस्थापन कार्यको पूर्ण अन्त आएको हुनेछ। व्यवस्थापन कार्यको समाप्तिको अर्थ सबै मानवजातिलाई उद्धार गर्ने कार्य पूर्ण रूपमा सिद्धिनु, र मानवजातिको निम्ति यो चरण पूरा भइसकेको छ भन्‍ने हो। सारा मानवजातिलाई मुक्ति दिने कार्यविना मानवजातिको व्यवस्थापनको कार्य अस्तित्वमा रहने थिएन, न त कार्यका तीन चरणहरू नै हुनेथिए। यो त मानवजातिको भ्रष्टताकै कारणले थियो र मानवजाति मुक्तिको तत्काल आवश्यकतामा थियो त्यसकारण परमप्रभुले सृष्टिको काम टुङ्ग्याउनुभयो र व्यवस्थाको युगको काम सुरुवात गर्नुभयो। त्यसपछि मात्र मानवजातिको व्यवस्थापन गर्ने कार्य सुरुवात भयो, जसको अर्थ त्यसपछि मात्र मानवजातिलाई मुक्ति दिने कार्य सुरु भयो भन्‍ने हुन्छ। “मानवजातिको व्यवस्थापन” को अर्थ पृथ्वीमा भर्खरै सृष्टि गरिएका मानवजातिको जीवनको अगुवाइ गर्नु होइन (जसको तात्पर्य, मानवजाति अझै भ्रष्ट भएको थिएन)। बरु, यो त शैतानद्वारा भ्रष्ट पारिएको मानवजातिको मुक्ति हो, जसको तात्पर्य, यो भ्रष्ट मानवजातिलाई रूपान्तरण गर्नु हो। “मानवजातिको व्यवस्थापन” को अर्थ यही हो। मानवजातिलाई मुक्ति दिने कार्यमा संसार सृष्टि गर्ने कुरा पर्दैन, त्यसरी नै मानवजातिलाई व्यवस्थापन गर्ने कार्यमा संसारलाई सृष्टि गर्ने काम पर्दैन, तर यसमा संसारको सृष्टिभन्दा अलग कार्यका तीन चरणहरू मात्र पर्छन्। मानवजातिको व्यवस्थापनको कार्यलाई बुझ्न कार्यका तीन चरणहरूका इतिहासप्रति सजग हुनु आवश्यक हुन्छ—मुक्ति पाउनको निम्ति हरेक व्यक्ति यही कुरामा सजग हुनुपर्छ। परमेश्‍वरको सृष्टिहरू भएको हैसियतले, मानिसलाई परमेश्‍वरले सृष्टि गर्नुभएको हो भनी तिमीहरूले जान्नुपर्छ र मानवजातिको भ्रष्टताको स्रोत र यसको अलाबा, मानिसको मुक्तिको प्रक्रियालाई तिमीहरूले पहिचान गर्नुपर्छ। यदि तिमीहरूलाई परमेश्‍वरको कृपा पाउने प्रयासमा सिद्धान्तअनुसार काम गर्न मात्र आउँछ, तर परमेश्‍वरले मानिसलाई कसरी मुक्ति दिनुहुन्छ वा मानवजातिको भ्रष्टताको स्रोतको बारेमा थाहा छैन भने, परमेश्‍वरको प्राणी भएको हैसियतले तिमीहरूमा यही कुराको कमी छ। परमेश्‍वरको व्यवस्थापन कार्यको व्यापक क्षेत्रप्रति अनभिज्ञ रहँदा पनि व्यवहारमा उतार्न सकिने ती सत्यताहरूको बुझाइसित मात्र तँ सन्तुष्ट हुनु हुँदैन—यदि यस्तै अवस्था हो भने तँ अत्यन्त कट्टर छस्। कार्यका तीन चरणहरू मानिसलाई व्यवस्थापन गर्ने परमेश्‍वरको कार्य, सम्पूर्ण संसारमा सुसमाचारको आगमन, सबै मानवजाति माझ महान्‌ रहस्यका भित्री कथा हुन्, र तिनीहरू सुसमाचार फैलाउने क्रियाको जग पनि हुन्। यदि तँ आफ्नो जीवनसँग सम्बन्धित साधारण सत्यताहरू बुझ्नमा मात्र ध्यान दिन्छस् र सारा रहस्यहरू र दर्शनहरूभन्दा महान्‌ यो कुराबारे केही जान्दैनस् भने त, के तेरो जीवन हेर्नको लागि बाहेक केही कामको नहुने बिग्रेको सामग्रीजस्तो छैन र?

यदि मानिसले अभ्यासमा मात्र ध्यान दिन्छ, र परमेश्‍वरको काम र मानिसले जान्‍नु पर्ने कुरालाई द्वित्तिय कुराको रूपमा हेर्छ भने, मूल्यहीन कुरालाई बहुमूल्य ठानेर बहुमूल्य कुरालाई मूल्यहीन ठान्‍नु होइन र? तैँले जे कुरा जान्नुपर्छ सो तैँले जान्नु नै पर्छ; जुन कुरालाई तैँले व्यवहारमा लागू गर्नुपर्छ त्यसलाई तैँले व्यवहारमा उतार्नैपर्छ। त्यसपछि मात्र तँ सत्यताको अनुसरण कसरी गर्नुपर्छ भनी जान्ने व्यक्ति बन्‍नेछस्। जब तैँले सुसमाचार फैलाउने समय आउँछ, यदि तँ परमेश्‍वर महान्‌ र धर्मी परमेश्‍वर हुनुहुन्छ, उहाँ कुनै पनि महान्‌ मानिससँग तुलना गर्न नसकिने एक सर्वोच्च परमेश्‍वर हुनुहुन्छ र उहाँ त्यस्तो परमेश्‍वर हुनुहुन्छ जोभन्दा माथि अरू कोही छैन मात्र भन्न सक्छस् भने…, यदि तँ अत्यन्त महत्त्वपूर्ण र मूलभूत कुराहरू भएका वचनहरू भन्नलाई पूर्ण रूपमा असमर्थ छस् तर यी असान्दर्भिक र सतही कुराहरू मात्र भन्न सक्छस् भने; यदि तैँले परमेश्‍वरलाई चिन्‍ने वा परमेश्‍वरको कामबारे केही भन्‍नु छैन, यसको साथै, सत्यताको व्याख्या गर्न, वा मानिसमा केको कमी छ सो प्रदान गर्न सक्दैनस् भने, तँजस्तो व्यक्ति आफ्नो कर्तव्य पूरा गर्न असमर्थ हुन्छ। परमेश्‍वरको गवाही दिने र राज्यको सुसमाचार फैलाउने काम साधारण कुरा होइन। तँ पहिले सत्यता र बुझ्‍नै पर्ने दर्शनहरूले सुसज्जित हुनुपर्छ। जब तँ परमेश्‍वरको कामको विभिन्न पक्षहरूको दर्शनहरू र सत्यताहरूबारे स्पष्ट छस् भने, तैँले आफ्नो हृदयमा परमेश्‍वरको कामबारे थाहा पाउँछस्, र परमेश्‍वरले धार्मिक न्याय वा मानिसको शुद्धीकरणको काम जे गर्नुभए पनि तँसित तेरो जगको रूपमा महान् दर्शन हुन्छ र तँसित अभ्यास गर्नु पर्ने सत्यता हुन्छ, अनि तैँले परमेश्‍वरलाई अन्तसम्म नै पछ्याउन सक्‍नेछस्। उहाँले जे काम गर्नुभए पनि परमेश्‍वरको कामको लक्ष्य बदलिँदैन, उहाँको कामको मर्म बदलिँदैन र मानिसप्रति उहाँको इच्‍छा बदलिँदैन भन्ने तैँले जान्नुपर्छ। उहाँका वचनहरू जति नै कठोर भए पनि, वातावरण जति नै प्रतिकूल भए पनि, उहाँका कामका सिद्धान्तहरू परिवर्तन हुँदैनन् र मानिसलाई उद्धार गर्ने उहाँको अभिप्राय परिवर्तन हुँदैन। यदि यो मानिसको अन्त वा मानिसको गन्तव्यको प्रकाशको कार्य होइन भने, र अन्तिम चरणको काम वा परमेश्‍वरको व्यवस्थापनको समग्र योजनाको कार्यलाई समाप्‍त गर्ने होइन भने, र यदि यो मानिसलाई तयार पार्ने समय हो भने, उहाँको कामको मर्म परिवर्तन हुनेछैन। यो सधैँ मानवजातिको मुक्ति नै हुनेछ। परमेश्‍वरप्रति तिमीहरूको विश्‍वासको आधार यही नै हुनुपर्छ। कार्यको तीन चरणहरूको लक्ष्य सारा मानवजातिको मुक्ति हो—यसको अर्थ शैतानको अधिकार क्षेत्रबाट मानिसको पूर्ण मुक्ति हो। कार्यका हरेक तीन चरणहरूको फरक-फरक उद्देश्य र महत्त्व रहेको भए तापनि, ती प्रत्येक नै मानवजातिको मुक्तिको कार्यको हिस्सा हो र ती प्रत्येक मानवजातिको आवश्यकता अनुसार गरिने मुक्तिका विभिन्न काम हुन्। तँलाई कार्यका यी तीन चरणहरूबारे स्पष्ट भएपछि, ती कार्यका हरेक चरणको सराहना कसरी गर्ने भन्‍ने कुराप्रति तँ सचेत हुनेछस् र कसरी परमेश्‍वरको इच्छा पूरा गर्ने सो कुरालाई पहिचान गर्नेछस्। यदि तँ यस चरणमा पुग्‍न सक्छस् भने, यी सबैभन्दा महान् दर्शनहरू नै परमेश्‍वरप्रतिको तेरो विश्‍वासको जग बन्नेछ। तैँले अभ्यासका सहज तरिका वा गहन सत्यताहरूलाई मात्रै पछ्याउनु हुँदैन, तर अभ्यासलाई दर्शनहरूसँग समायोजन गर्नुपर्छ, ताकि व्यवहारमा उतार्न सकिने सत्यता र दर्शनहरूमा आधारित ज्ञान दुवै हुन्छन्। त्यसपछि मात्र तँ सत्यतालाई वृहत् रूपमा अनुसरण गर्ने व्यक्ति बन्‍नेछस्।

—वचन देहमा देखा पर्नुहुन्छ

तपाईं र तपाईंको परिवार बाँच्ने बारेमा एउटा ठूलो कुरा: के तपाईं ठूला विपत्तिहरूमा कसरी सुरक्षा प्राप्त गर्ने र बच्ने भनेर सोच्नुहुन्छ? तलको बटनमा क्लिक गर्नुहोस् र तपाईंले बाटो पाउनुहुनेछ।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्