आफूलाई चिन्‍नेसम्बन्धी वचनहरू (अंश ४३)

भेलाहरूमा अक्सर सत्यताबारे सङ्गति, मानिसहरूको भ्रष्ट स्वभावबारे चिरफार, आफैलाई चिन्‍नेबारे कुराकानी र मानिसहरूका विभिन्‍न स्थिति एवं व्यवहारहरूबारे छलफल गरिने भए पनि, अहिले पनि अझै कयौँ मानिसहरू छन् जसले आफ्नै भ्रष्ट स्वभाव चिनेका छैनन्। कतिपय मानिसहरू आफूमा भ्रष्ट स्वभाव छ भनेर स्वीकार मात्र गर्छन्, तर यस्तो भ्रष्ट स्वभाव प्रकटीकरण हुँदा तिनीहरूलाई थाहै हुँदैन। कतिपय मानिसहरूमा बोध क्षमता हुन्छ र परमेश्‍वरका वचनहरू पढ्दा, तिनीहरूले परमेश्‍वरका वचनहरू सत्यता हुन् र उहाँले भन्‍नुभएका कुराहरू व्यावहारिक छन् भनेर स्विकार्छन्। तर तिनीहरूमाथि परिस्थितिहरू आइपर्दा, तिनीहरूको बुझाइ सतही हुन्छ। तिनीहरू आफूले अझै पनि ठीकै काम गरिरहेको छु, र आफू अझै पनि असल व्यक्ति नै हुँ भन्‍ने ठान्छन् र तिनीहरूले आफूमा थोरै भ्रष्ट स्वभाव छ भनेर माने पनि आफूलाई अझै पनि असल मानिसहरूकै समूहमा राखेका हुन्छन्। तिनीहरूलाई आफ्नो भ्रष्ट स्वभावको प्रकृति के हो र यसको परिणाम के हुनेछ भन्‍ने थाहै हुँदैन। के यो साँच्चै नै आफूलाई चिन्‍नु हो र? मानिसहरूले केही वर्षसम्म परमेश्‍वरमा विश्‍वास गरिसकेपछि उहाँका वचनहरू पढेर, प्रवचन र सङ्गतिहरू सुनेर, अनि काटछाँट भोगेर धेरैजसोले अन्ततः तिनीहरूको मानवता असल छैन, तिनीहरूभित्र साँच्चै नै भ्रष्ट स्वभाव छ, अनि तिनीहरूले सत्यता उल्लङ्घन गर्ने र परमेश्‍वरको विरोध गर्ने कामहरू गर्न सक्छन् भनेर स्पष्टै देखेका हुन्छन्। तर धेरै मानिसहरूले यसलाई साँचो रूपमा पहिचान गर्दैनन्; तिनीहरूले आफू दियाबलस हुँ, शैतान हुँ र आफू श्रापित हुनुपर्ने व्यक्ति हुँ भनेर मौखिक रूपमा मात्र स्विकार्छन्। के यसप्रकारको बुझाइ व्यावहारिक हो कि होइन? के यो हृदयबाटै आउने कुरा हो? के यो आफैप्रति साँचो घृणा गर्दै भनिएको कुरा हो? उदाहरणका लागि, एउटा अगुवा वा सेवक थियो, जसलाई वास्तविक काम नगरेको भनेर बर्खास्त गरियो, अनि आफूले “पछुतो महसुस गरेको” भनेर सबैलाई देखाउन उसले एउटा यस्तो पश्‍चात्ताप पत्र लेख्यो, “मैले परमेश्‍वरलाई निराश बनाएको छु र म उहाँको ऋणी छु। म उहाँको मुक्तिको योग्य छैन, न त उहाँको सावधानीपूर्ण रेखदेख र प्रयत्‍नको योग्य नै छु। म राक्षस हुँ, म शैतान हुँ, मेरो मानवता खराब छ। म श्रापित हुनुपर्छ, र म नरक जानुपर्छ र नष्ट हुनुपर्छ!” यो पश्‍चात्ताप पत्रमा प्रयोग गरिएको प्रत्येक वाक्यमा उसले आफैलाई इन्कार र निन्दा गरेको छ, अनि यस्ता शब्दहरू बोलेको छ जुन एउटा गैरविश्‍वासीले कहिल्यै बोल्दैन। उसले आफू राक्षस र शैतान हुँ भनेर स्विकारेको छ, तर के यीमध्ये कुनै शब्दहरू सच्‍चा छन् त? (छैनन्, उसले के-कस्तो भ्रष्टता प्रकट गरेको छ, के-कस्तो खराब कामहरू गरेको छ वा मण्डलीको काममा के-कस्तो हानि-नोक्सानी पुर्‍याएको छ भनेर यी शब्दहरूले केही बोल्दैनन्।) त्यहाँ त्यस्तो एउटा पनि वाक्य छैन जसले वास्तविक अवस्था के हो वा उसको हृदयमा के छ भनेर खुलाएको होस्; ती सबै खोक्रा शब्दहरू हुन्। के यो साँचो बुझाइ हो त? (होइन।) यदि यो साँचो बुझाइ होइन भने, के त्यसोभए उसले आफू भ्रष्ट हुँ भनेर स्वीकार गर्छ त? (अहँ, गर्दैन।) अब यो कुरालाई उसका लागि परिभाषित गरौँ है त: यो व्यक्तिले आफ्नै भ्रष्टता स्वीकार गर्दैन। उसले पश्‍चात्ताप पत्र लेख्यो, र सतही रूपमा उसले आफूलाई चिनेको र आफ्नो भ्रष्टता स्वीकार गरेको देखिन्छ। त्यसपछिबाट, तैँले ऊ दैनिक जीवनमा कस्तो व्यवहार गर्छ र उसको पर्दापछाडिको वास्तविक व्यवहार बदलिएको छ कि छैन भनेर हेर्नुपर्छ; तब मात्र तैँले सही निष्कर्ष निकाल्न सक्छस्। अनि, हामीले कुन-कुन व्यवहारहरूबाट उसले साँचो रूपमा आफ्नो भ्रष्टता स्वीकारेको र आफूलाई साँच्चै नै चिनेको छ भनेर देख्न सक्छौँ? (व्यक्तिसँग आफूबारे साँचो बुझाइ भएपछि मात्र वास्तविक बदलावहरू देखिनेछ।) यो सही कुरा हो। परमेश्‍वरले कुनै व्यक्तिमा वास्तविक बदलाव आएको छ कि छैन भनेर हेर्नुहुन्छ। यदि कसैले पश्‍चात्ताप पत्र लेख्छ, अनि उसले लेखेका शब्दहरू इमानदार देखिन्छन्, र उसमा वास्तविक बुझाइ रहेको झल्किन्छ भने, के यसको अर्थ उसले साँचो रूपमा पश्‍चात्ताप गरेको छ भन्‍ने हो? के यसबाट उसले साँच्चै नै पश्‍चात्ताप गरेको छ भन्‍ने प्रमाणित हुन्छ? अहँ, हुँदैन। हामीले उसमा साँचो बदलाव आएको छ कि छैन भनी अवश्यै हेर्नुपर्छ—यो एकदमै महत्त्वपूर्ण पक्ष हो। तर बर्खास्त गरिएपछि, उसले अक्सर दाजुभाइ-दिदीबहिनीसामु आफूलाई सही ठहर्‍याउने र आफ्नो बचाउ गर्ने प्रयास गर्छ, जुन अझै पनि आफ्नो भ्रष्टता नस्विकार्नु र आफूबारे साँचो बुझाइ नहुनुसमान हो। पर्दापछाडि उसले गर्ने प्रतिरोध, आफ्नो बचाउ र आफूलाई सही ठहर्‍याउने प्रयासले यो कुरा पुष्टि गरेको छ। यसअतिरिक्त, जब माथिबाट उसका कार्यको विश्‍लेषण हुन्छ र ऊ ख्रीष्टविरोधी, झुटो अगुवा र वास्तविक काम नगर्ने व्यक्ति हो भनेर भनिन्छ, तब माथिबाट खुलासा हुँदा उसको प्रतिक्रिया कस्तो हुन्छ? उसले तर्क गर्छ, र आफूलाई बचाउ गर्ने र सही ठहर्‍याउने प्रयास गर्छ, जहाँ पनि यी कुराहरूको स्पष्टीकरण दिन्छ, तर आफू वास्तविक काम गर्दिनँ, आफूमा क्षमताको कमी छ, आफूले सत्यता बुझेको छैनँ, र आफू झुटो अगुवा हुँ भनेर उसले स्विकार्दैन। यसरी स्वीकार नगर्नु र आफ्नो बचाउ गर्नुपछाडि कस्तो स्वभाव हुन्छ? यो एकप्रकारको हठी र अहङ्कारी स्वभाव हो, एउटा यस्तो स्वभाव जुन सत्यताप्रति वितृष्ण हुन्छ। जब उसले पश्‍चात्ताप पत्र लेखेको थियो, त्यो बेला उसले आफू दियाबलस र शैतान हुँ भनेको थियो, आफू परमेश्‍वरका लागि अयोग्य छु र उहाँप्रति ऋणी छु भनेको थियो, अनि उसले आफ्नो मानवता असल छैन पनि भनेको थियो, तर यसलाई स्विकारेलगत्तै ऊ फेरि आफ्नै पुरानै तरिकामा फर्किहाल्यो। यहाँ यो के भइरहेको छ? (उसको स्वीकारोक्ति साँचो होइन।) उसको साँचो पक्ष के हो त? अनि उसको साँचो कद के हो? (आफ्नो बचाउ गर्नु र आफूलाई सही ठहर्‍याउन खोज्नु।) पर्दापछाडि आफ्नो बचाउ गर्नु र आफूलाई सही ठहर्‍याउन खोज्नु, सबैतिर आफ्नो स्पष्टीकरण दिँदै हिँड्नु—यो नै उसको साँचो पक्ष हो। के यसले ऊ आफू वास्तविक काम गर्न नसक्ने र आफूमा सत्यता वास्तविकता नभएको कुरा स्वीकार नगर्ने व्यक्ति हो भन्‍ने प्रमाणित गर्दैन र? उसले यो कुरा बिलकुलै स्वीकार गर्दैन। यदि उसले यसलाई समेत स्वीकार नै गर्दैन भने, के उसले आफूलाई साँचो रूपमा चिनेको हुन्छ त? यदि उसले आफूलाई चिन्दैन भने, उसले आफूलाई दियाबलस र शैतान भनी चित्रण गर्नु मानिसहरूलाई बहकाउनु होइन र? त्यसो हुँदा, आफूलाई चिन्‍नेबारे उसले भन्‍ने सबै कुरा झुटो हो, यो सबै कपटी कुरा हो। उसले आफू काम गर्न सक्दिनँ, र आफ्नो मानवता असल छैन भनेर स्विकार्दैन, अनि ऊ अझै पनि आफैलाई निन्दा गर्ने शब्दहरू किन बोल्छ? यो कुरा बुझ्न नसकिने छ। यदि उसले आफूलाई नै चिन्दैन भने, किन अझै पनि ऊ आफूलाई चिनेको बहना गर्छ? यो मानिसहरूलाई ठग्‍नका लागि हो। हामीसामु भएका तथ्यहरूले ऊ पाखण्डी हो भनेर पहिल्यै प्रमाणित गरिसकेको छ। त्यसो भए, के उसले आफूमा भ्रष्ट स्वभाव भएको स्विकार्छ त? (उसले यो स्विकार्दैन।) उसले यो स्विकार्न मान्दैन, र आफूले गरेका यी कुराहरू गलत होइनन् भन्‍ने प्रमाणित गर्न विभिन्‍न बहाना र तर्कहरू खोज्ने हरसम्भव कोसिससमेत गर्छ। ऊ आफूले जे गरे पनि त्यो सही छ, र माथिबाट यसलाई निन्दा वा विश्‍लेषण गरिनु हुँदैन भन्‍ने ठान्छ। उसले आफूलाई बर्खास्त गरिने कुरा स्विकार्न सक्छ, तर यी कुराहरूकै कारण आफूलाई अन्यायपूर्ण व्यवहार गरिएको स्विकार्न सक्दैन। उसको बर्खास्तीको कारण जुनसुकै होस्, ऊ यसप्रति समर्पित हुन र यसलाई स्विकार्न सक्छ, तर यी कुराहरूकै कारणले उसलाई बर्खास्त गरिएको हो भनेर मान्‍न वा समर्पित हुन सक्दैन। के यही नै उसले आफूलाई बचाउ गर्नु र सही ठहर्‍याउन खोज्‍नुको मूल जड होइन र? यसप्रकारको व्यक्तिले आफू शैतान वा दियाबलस हुँ भन्‍नेबारे कुरा गर्छ, आफूलाई श्राप दिएर नरक पठाइनुपर्छ पनि भन्छ, र बारम्बार यही कुराहरूको रट लगाउँछ, र अर्कोतिर निरन्तर तर्क गर्ने र आफूलाई सही ठहर्‍याउने प्रयास गरिरहन्छ—के उसले आफूलाई साँचो रूपमा चिन्छ त? (चिन्दैन।) ऊ बारम्बार आफू दियाबलस र शैतान भएको रट लगाउँछ, तैपनि आफूले गरेका कुनै पनि गल्ती स्विकार्दैन। अनि, उसले आफूमा भ्रष्ट स्वभाव छन् भनेर स्विकार्छ त? (स्विकार्दैन।) त्यस्ता व्यक्तिहरूले यो कुरा स्विकार्दैनन् भनेर किन भनिएको हो? तिनीहरू सबैले आफू दियाबलस र शैतान भएको स्विकार्छन्, तर आफूमा भ्रष्ट स्वभावहरू छन् भनेर चाहिँ किन स्विकार्दैनन्? कुन परिणाम चाहिँ बढी गम्भीर हुन्छ—आफूमा भ्रष्ट स्वभाव छ भनेर स्विकार्नु, कि आफू दियाबलस एवं शैतान हुँ भनेर स्विकार्नु? वास्तवमा, तिनीहरूले हृदयबाटै के बुझेका छन् भने, आफू दियाबलस वा शैतान हुँ भनेर स्विकार्दा अरूलाई बहकाउन सकिन्छ र राम्रो नतिजा हासिल गर्न सकिन्छ, र मानिसहरूले तिनीहरूलाई केही पनि गर्ने छैनन्। तर यदि तिनीहरूले आफूले गल्ती गरेको वा आफूमा मानवता नभएको भनी स्विकारे भने, मानिसहरू तिनीहरूबाट पर बस्नेछन् र तिनीहरूलाई घृणा गर्नेछन्। तसर्थ, तिनीहरूले सबैलाई बहकाउन र स्पष्टीकरण दिन चल्तीको नारा रोज्छन्। किन तिनीहरू यस्ता सूत्रवाक्य र नाराहरू फलाक्छन्? यसको प्रयोजन के हो? (यो कुरा तिनीहरूले आफूलाई कति चिनेको छु भनेर मानिसहरूलाई देखाउनका लागि हो।) एक प्रकारले, तिनीहरूले आत्मिकताको देखावटी गरिरहेका हुन्छन्। अर्को प्रकारले, तिनीहरूले यस्तो सोच्छन्: “सबैले आफूलाई दियाबलस र शैतान भन्छन्। यदि मैले आफू दियाबलस र शैतान हुँ भनेर भनेमा, मैले कुनै पनि परिणामहरू भोग्नुपर्ने छैन र सबैको अनुमोदन पनि प्राप्त गर्न सक्नेछु। यसो किन नगर्ने त?” के त्यो विचार यही होइन र? के आफूलाई यसरी चिन्‍नु निकै धूर्त कुरा होइन र? (हो, यो बहकाउमा पार्न कुरा हो।) यो प्रकृतिले नै बहकाउमा पार्ने र ठगी गर्ने खाले कुरा हो, र यसमा धार्मिक चालबाजका गुणहरू छन्। धार्मिक चालबाजहरू के भन्छन्? “हामीहरू सबै पापी हौँ, हामी सबैले पाप गरेका छौँ!” तिनीहरूले आफू कति खराब छौँ, वा आफूले कति खराब कार्यहरू गरेका छौँ भनेर भन्दैनन्। तिनीहरूले यसो पनि भन्छन्: “हामीहरू सबै पापी हौँ, र हामीले पश्‍चात्ताप गर्नुपर्छ। हेर त प्रभु येशूले हाम्रो लागि कति धेरै बहुमूल्य रगत बगाउनुभयो!” यी शब्दहरू प्रयोग गरेर तिनीहरू कुन लक्ष्य हासिल गर्न चाहन्छन्? यो तिनीहरू आफैलाई आत्मिक देखाउनका लागि हो। तिनीहरूले आफ्नै प्रदर्शन गरिरहेका हुन्छन् र अरूलाई आफ्नो बारेमा उच्च सोच्ने बनाइरहेका हुन्छन्, ताकि तिनीहरूले अरूको हृदय र मन जित्ने आफ्नो लक्ष्य हासिल गर्न सकून्। के आफू दियाबलस र शैतान हुँ भनी स्विकारेको दाबी गर्ने मानिसहरू पनि यो नतिजा हासिल गर्न चाहन्छन्? यो पनि तिनीहरूको उद्देश्य होइन र? पहिलो नजरमा, तिनीहरूले आफूलाई चिन्छन् जस्तो लाग्छ र आफूलाई दियाबलस र शैतान, नरकको सन्तान र मृत्युको भागीदार घोषणा गरेर तिनीहरू साँचो पश्‍चात्ताप गर्ने मानिसहरू हुन् जस्ता लाग्छन्। कति गम्भीर हुन्छन् तिनीहरूका शब्दहरू! तर त्यसरी अत्यन्तै गम्भीरतासाथ बोल्दै गर्दा, के तिनीहरू आफूले वास्तवमा पर्दापछाडि गर्ने कुराहरूबारे पनि त्यति नै गम्भीर हुन्छन् त? अहँ, बिलकुलै हुँदैनन्। तिनीहरूले दोहोरो शैली अपनाउँछन्: एकातिर, आफू दियाबलस र शैतान हुँ सार्वजनिक रूपमा स्विकार्छन्, र अर्कोतिर, आफ्नो बचाउ गर्न र आफूलाई सही ठहर्‍याउन खोज्छन्, र आफूले कुनै गल्ती नगरेको स्पष्टीकरण दिन्छन्। तिनीहरू भन्छन्, माथिबाट तिनीहरूलाई अन्यायपूर्ण व्यवहार भयो, माथिलाई वास्तविक अवस्था थाहै छैन र यी कार्यहरू गर्दा तिनीहरूले निकै कठिनाइ र अन्याय सहेका छन्, र ठूलो मूल्य चुकाएका छन् र तिनीहरूलाई यसरी व्यवहार गरिनु हुँदैन। तिनीहरू अधिक सहानुभूति प्राप्त गर्न र तिनीहरू आफू दियाबलस एवं शैतान हुँ भनेर स्विकार्छन् र आफूलाई साँच्चै नै चिन्छन्, तर माथिबाट तिनीहरूलाई अन्याय भएको छ, र मामुली कुरामा तिनीहरूलाई बर्खास्त गरिएको छ भनेर धेरै मानिसहरूमा गलतबुझाइ पैदा गर्न यस्ता कुराहरू भन्छन्। तिनीहरू आफूले आफूलाई चिनेको र आफू अगुवा बन्‍न योग्य रहेको देखाउन खोज्छन्। तिनीहरूले वास्तवमा आफूलाई जोडतोडले बचाउ गरिरहेका र सही ठहर्‍याउन खोजिरहेका हुन्छन्। छद्मभेष धारण गर्न, आफूलाई सही ठहर्‍याउन र आत्मिक नाराहरू फलाक्न सिपालु यस्ता मानिसहरूले के साँच्चै नै आफूलाई चिन्‍न सक्छन् त? (तिनीहरूले सक्दैनन्।) तिनीहरूको तथाकथित आत्मज्ञान त देखावटी गर्न, अरूलाई झुक्याउन र बहाना बनाउँदै अरूमा राम्रो छाप छोड्नका लागि मात्र हो। तिनीहरू पश्‍चात्ताप गर्न र अपराध स्विकार्न साँचो रूपमा परमेश्‍वरसामु आउँदैनन्, र तिनीहरू परमेश्‍वरबाट हुने काटछाँट, तिनीहरूको खुलासा र अनुशासन कार्बाही वा बर्खास्तीसमेत स्विकार्दैनन्। तिनीहरूमा यस्तो मनोवृत्ति नै हुँदैन।

आजकल, अधिकांश मानिसहरूको अनुभव अत्यन्तै सतही र आत्मज्ञान एकदमै सीमित हुन्छ। धेरै मानिसहरूले आफ्नो तौरतरिकामा रहेका त्रुटिहरू र आफूले गरेका गल्तीहरू मात्र स्विकार्छन्, तर थोरैले मात्र आफूमा कमजोर क्षमता, विकृत बोध, आत्मिक बुझाइको कमी, र मानवताको कमी रहेको स्विकार्छन्। अनि, अझै थोरैले मात्र परमेश्‍वरका खुलासाका वचनहरू पूर्ण तथ्य हुन्, र यी वचनहरूले तिनीहरूको भ्रष्टताको सत्यता खुलासा गर्छन् वा उहाँका वचनहरू पूर्ण रूपमा सही र त्रुटिरहित छन् भनी स्विकार्छन्। यो मानिसहरूले आफूलाई अझै पनि साँचो रूपमा चिन्दैनन् भन्‍ने कुराको प्रमाण हो। तिनीहरू शैतानी स्वभाव र शैतानी प्रकृतिअनुसार जिउँछन् भन्‍ने कुरा नस्विकार्नु भनेको तिनीहरूले आफूलाई वास्तवमा चिन्दैनन् भन्‍ने हो। चाहे तिनीहरूले जुनसुकै भ्रष्ट स्वभाव प्रकट गरून्, तिनीहरूले त्यो स्विकार्दैनन्। तिनीहरूले त्यसलाई ढाक्छन् र लुकाउँछन्, र आफ्नो भ्रष्टता अरूलाई देख्‍न दिँदैनन्। यस्ता मानिसहरू भेष बदल्न धेरै सिपालु हुन्छन् र तिनीहरू पाखण्डी हुन्। आजकल, अधिकांश मानिसहरू सत्यतातर्फ झुकाव राख्छन्, र तिनीहरूको स्थिति केही हदसम्म सुधार भएको छ, तर तिनीहरूले अझै पनि आफूलाई साँचो रूपमा चिन्दैनन्। आफूले गल्ती गर्दा धेरै मानिसहरूले सधैँ दिने प्रतिक्रिया भनेको त्यो मामिलामा आफू गलत रहेको भनेर स्विकार्नु मात्र हो। यदि तैँले तिनीहरूलाई “यस मामिलामा तपाईँबाट वास्तवमा कहाँ गल्ती भयो? तपाईँले कुन सत्यता सिद्धान्त उल्लङ्घन गर्नुभयो? तपाईँले कुन भ्रष्ट स्वभाव प्रकट गर्नुभयो?” भनेर सोधिस् भने तिनीहरूले यस्तो जवाफ दिन्छन्, “यसको भ्रष्ट स्वभावसँग कुनै लिनुदिनु छैन। यो केवल क्षणिक चुक मात्र थियो, मैले यसबारे राम्रोसँग सोचिनँ र आवेगमा आएर काम गरेँ। तर यो मेरो अभिप्राय थिएन।” तिनीहरूका अनपेक्षित कार्य र त्रुटिहरू तिनीहरूले प्रकट गरेका भ्रष्ट स्वभावहरूका ढाल र बहाना बनेका हुन्छन्। के यो तिनीहरूको आफ्नै भ्रष्टताको साँचो स्वीकारोक्ति हो त? यो साँचो स्वीकारोक्ति होइन। यदि तँ बारम्बार बहाना बनाउने वा आफूले प्रकट गरेका भ्रष्ट स्वभावका लागि तर्कहरू खोज्ने गर्छस् भने, तैँले साँचो रूपमा आफ्नै भ्रष्ट स्वभावहरू सामना गर्न सक्दैनस्, न त तैँले तिनलाई स्विकार्न वा बुझ्न नै सक्छस्। उदाहरणको लागि, कुनै व्यक्तिले केही समयका लागि आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गर्छ; उसको स्थिति स्थिर रहन्छ, उसले गरेको जुनसुकै कार्य सहज ढङ्गले र बिना रोकावट अघि बढ्छ, अनि उसले केही सकारात्मक नतिजाहरू निकाल्छ र अरूबाट प्रशंसा प्राप्त गर्छ। अनि, उसलाई आफूले ठूलो योगदान गरेको र परमेश्‍वरले इनाम दिनुपर्छ भन्‍ने लाग्छ। परिणामस्वरूप, उसले अहङ्कारी र आत्मधर्मी भ्रष्ट स्वभाव प्रकट गर्छ—उसले आफूलाई अरूभन्दा राम्रो मान्छ, कसैको कुरा सुन्‍न मान्दैन र कसैसँग पनि सौहार्दपूर्ण सहकार्य गर्न सक्दैन। चाँडै नै, उसले कर्तव्य निर्वाह गर्ने क्रममा गल्तीहरू गर्छ र दाजुभाइ-दिदीबहिनीले ऊ अति नै अहङ्कारी भएको भन्दै उसको काट छाँट र खुलासा गर्छन्। उसलाई यो तथ्य स्विकार्न कठिन हुन्छ र यस विषयमा लगातार यसरी विचार गरिरहन्छ: “म अहङ्कारी छु र? मलाई त यस्तो लाग्दैन। मैले कुनै पनि कुरामा घमण्ड गरेको छैन, अनि म कसरी अहङ्कारी हुन पुगेँ?” ऊ “अहङ्कारी” भन्‍ने शब्दमा अड्किन्छ र यसबाट अघि बढ्न सक्दैन। यो शब्द स्विकार्न नसक्नुले उसमा समझ छैन, ऊ आफूलाई बिलकुलै चिन्दैन र उसले आफ्नो भ्रष्ट स्वभाव स्विकार्दैन भन्‍ने देखाउँछ। जब तँमाथि कुनै परिस्थिति आइपर्छ, र जब तैँले भ्रष्ट स्वभाव प्रकट गर्छस्, अनि यदि कसैले तेरो आलोचना गर्छ वा तँलाई काटछाँट गर्छ, र तैँले गरेका कुराले सत्यता सिद्धान्तहरू उल्लङ्घन गर्छ भनेर भन्छ, तैपनि तँ उक्त विशेष मामिलामा आफ्नो गल्ती भएको मात्र स्विकार्छस्, तर यो भ्रष्ट स्वभाव प्रकटीकरणको परिणाम हो भनेर स्विकार्न तयार हुँदैनस् र आफूले भ्रष्ट स्वभाव प्रकट गरेको तथ्य कहिल्यै नस्विकारी उक्त गल्ती मात्र सुधार्न तयार हुन्छस् भने, तैँले आफूलाई साँच्चै चिनेको छैनस्। के गल्ती स्विकार्नुले आफैमा आत्मज्ञानको प्रतिनिधित्व गर्न सक्छ र? आत्मज्ञानको अर्थ आफ्नो गल्तीको मूल कारण पहिचान गर्नु र आफ्नो भ्रष्ट स्वभाव चिन्‍नु भन्‍ने हो। यदि तैँले आफूले कुनै गल्ती गरेको स्विकार्छस् र पछि तेरो व्यवहार बदलिन्छ, जसबाट तैँले अबउप्रान्त सोही गल्ती गर्दैनस् भन्‍ने देखिन्छ, तर तैँले आफ्नो भ्रष्ट स्वभाव फालेको छैनस् र गल्तीको मूल जड समाधान भएको छैन भने, त्यसपछि के परिणाम आउनेछ? तैँले अझै पनि भ्रष्ट स्वभाव प्रकट गरेरै छाड्नेछस्, अनि परमेश्‍वरविरुद्ध विद्रोह र विरोध गर्नेछस्। यो नठान् कि व्यवहारमा आउने केही बदलाव तेरो स्वभावमा आएको बदलाव हो। आफूलाई चिन्‍नु एउटा अन्तहीन विषय हो; यदि व्यक्तिले आफ्नो भ्रष्ट स्वभावको मूल जड चिन्‍न सक्दैन वा परमेश्‍वरप्रति उसको विद्रोह र विरोधको जड कहाँ छ भन्‍ने उसलाई थाहा हुँदैन भने, उसले आफ्नो स्वभावमा बदलाव ल्याउन सक्दैन। व्यक्तिले आफ्नो स्वभाव बदल्ने कुरामा आउने कठिनाइ नै यही हो। अनि, किन परमेश्‍वरमा विश्‍वास गर्ने धेरै मानिसहरूले आफ्नो व्यवहार मात्रै बदल्छन्, तर जीवन स्वभाव बदल्दैनन्? ठ्याक्‍कै यहीँनेर समस्या छ। यदि तँ स्विकार्छस् कि तैँले प्रकट गरेको कुरा भ्रष्ट स्वभाव हो जसको कारण तँ मनोमानी ढङ्गले काम गर्छस्, स्वेच्छाचारी निर्णय गर्छस्, अरूसँग सौहार्दपूर्ण सहकार्य गर्दैनस् र आफूलाई अरूभन्दा माथि राख्छस्, अनि यी कुराहरू स्वीकार गरिसकेपछि यो अहङ्कारी स्वभावको कारणले भएको हो भनेर फेरि स्विकार्छस् भने, यसले तँलाई के लाभ दिनेछ? यसपछि मात्र तैँले वास्तविक रूपमा यी कुराहरूबारे चिन्तन गर्नेछस्, र भ्रष्ट स्वभाव नै परमेश्‍वरको विरोध गर्नुको मूल कारण हो र शैतानले मानवजातिलाई भ्रष्ट बनाएको तथ्यको बलियो प्रमाण हो भनी पहिचान गर्नेछस्। अनि, तैँले के पनि पहिचान गर्नेछस् भने, यदि व्यक्तिले यो भ्रष्ट स्वभाव त्याग्दैन भने, ऊ मानव कहलाउन योग्य छैन र परमेश्‍वरसामु जिउनका लागि ऊ अयोग्य छ। तर यदि तैँले आफूले केही गल्ती गरेको छु भनेर मात्र स्विकार्छस् भने, यसको परिणाम के हुनेछ? तैँले केवल आफूले काम गर्ने तरिकामा मात्र ध्यान केन्द्रित गर्नेछस्, त्यसैमा मात्र प्रयास लगाउनेछस् र त्यसलाई मात्र ठीक गर्न खोज्नेछस्, र तँ सतही रूपमा उचित देखिने गरी कामकुराहरू कसरी गर्ने र आफ्नो अहङ्कारी स्वभावको प्रकटीकरण कसरी लुकाउने भन्‍नेमा मात्र तल्लीन हुनेछस्। तँ झन् झन् छली हुनेछस् र अरूलाई छल गर्न तैँले अपनाउने तरिकाहरू झन् झन् जटिल बन्दै जानेछन्। अनि, तैँले यस्तो सोच्नेछस्: “यसपटक मैले गल्ती गरेँ, र म आफै सावधान नभएकोले सबैले यो देखे। अर्कोपटक म यस्तो हुने छैन।” यसको नतिजा यो हुन्छ कि, तेरो काम गर्ने तरिका सतही स्तरमा त बदलिएको छ, र अरूले पनि कुनै समस्या देख्दैनन्, तर तैँले आफ्नो भ्रष्ट स्वभाव लुकाएको हुन्छस्। अनि, तँ के बनेको हुन्छस्? तँ अझै बढी छली र अझै बढी पाखण्डी बनेको हुन्छस्। यदि कुनै व्यक्ति आफूलाई बाहिरबाट हेर्दा अरूहरूले कुनै समस्या नदेखून्, वा कुनै गल्ती नभेटून्, र आफ्ना कार्यहरू त्रुटिरहित देखिऊन् भनेर आफूले बोल्ने र काम गर्ने तरिकामा मात्र केन्द्रित हुन्छ र ती कुराहरू मात्र सुधार्ने प्रयास गर्छ, तर आफ्नो भ्रष्ट स्वभाव बदल्दैन भने, के ऊ फरिसी बनिरहेको हुँदैन र? पाखण्डी तरिकाले काम गर्दा मानिसहरूलाई त छल गर्न सकिएला, तर के यसले परमेश्‍वरलाई छल गर्न सक्छ र? सत्यता पछ्याउनुको वास्तविक अर्थ के हो? मुख्य रूपमा, यसको अर्थ व्यक्तिले आफ्नो स्वभावमा परिवर्तन ल्याउने खोजी गर्नु हो। यदि व्यक्तिले आफ्नै भ्रष्ट स्वभाव कहिल्यै चिन्दैन भने, उसको स्वभावमा परिवर्तन आउनु असम्भव हुन्छ। उसले आफूमा भ्रष्ट स्वभाव रहेको छ भन्‍ने कुरा स्वीकार्नुको सँगसँगै सत्यता पनि स्विकार्नुपर्छ, अनि आफूबाट वास्तवमा कहाँ गल्ती भयो र आफू कहाँ असफल भइयो भन्‍नेबारे चिन्तन गर्नुपर्छ, र त्यसपछि आफ्ना समस्याहरू हल गर्न सत्यता खोजी गर्नुपर्छ। यसरी मात्रै व्यक्तिले क्रमिक रूपमा आफ्नो भ्रष्ट स्वभाव त्याग्न सक्छ, कर्तव्य निर्वाहको क्रममा सत्यता अभ्यास गर्न सक्छ र सिद्धान्तअनुसार काम गर्न सक्छ। यसो गरेर ऊ सत्यता वास्तविकतामा प्रवेश गर्नेछ। सत्यता खोजी गरी यसलाई अभ्यास गर्न सक्ने व्यक्तिहरू मात्रै सत्यता पछ्याउन सक्ने व्यक्तिहरू हुन्। तिनीहरू मात्र ती व्यक्तिहरू हुन्, जसले सत्यता अभ्यास गर्नमा र सिद्धान्तअनुसार काम गर्नमा निरन्तर प्रयास लगाउन सक्छन्, र जसले आफ्ना अनुभवहरू सारांशित गरेर पाठहरू सिक्‍न सक्छन्। जब तिनीहरूले सत्यता अभ्यास गरी वास्तविकतामा प्रवेश गर्छन्, जब तिनीहरूले गर्ने काममा सिद्धान्तहरू हुन्छन् र जब तिनीहरूले थोरै गल्तीहरू गर्छन्, तब तिनीहरू क्रमिक रूपमा परमेश्‍वरद्वारा उपयोग गरिनको लागि उपयुक्त बन्‍नेछन्। यदि कुनै व्यक्ति सत्यता पछ्याउने व्यक्ति होइन भने, उसले आफूलाई चिन्‍नेबारे जति नै खोक्रा कुराहरू गरे पनि वा आफूलाई दियाबलस र शैतानको रूपमा जति नै चित्रण गरे पनि, अन्ततः उसले अझै पनि व्यवहारमा सत्यता लागू गर्ने छैन। अनि, यी दुईबीच के भिन्‍नता छ? एउटाले आफ्नो भ्रष्ट स्वभाव स्विकार्छ, सत्यता सिद्धान्तहरू खोज्छ र सत्यताअनुसार अभ्यास गर्छ—यो सत्यता पछ्याउने मार्ग हो। अर्कोले आफूमा भ्रष्ट स्वभाव छ भन्‍ने कुरा मान्दैन र आफ्नो भ्रष्ट स्वभावको तथ्य स्विकार्दैन, बरु यसको साटो आफूले काम गर्ने तौरतरिकामा प्रयास लगाइरहन्छ। तर यसले उसको बाहिरी व्यवहार मात्र बदल्छ र उसको जीवन स्वभावमा कुनै बदलाव आउँदैन, र यसले उसको व्यवहार झन् बढी छली बनाउँछ। यस्ता प्रकारका मानिसले जे अभ्यास गर्छन्, के त्यो सत्यता सिद्धान्तहरूअनुरूप हुन्छ त? त्यो त्यस स्तरमा कहीँकतै पुगेको हुँदैन र त्यसले बाहिरी सतहसमेत छुन सकेको हुँदैन। तिनीहरूले गर्ने भनेकै भेष बदल्नु, बहाना गर्नु र छल गर्नु हो, अनि तिनीहरूको लक्ष्य भनेकै परमेश्‍वरका चुनिएका मानिसहरूलाई छल्नु हो। तिनीहरू सत्यता अभ्यास गर्दैनन्, तैपनि सबैले आफ्नो प्रशंसा गरून्, अनुमोदन गरून् र समर्थन गरून् भन्‍ने चाहन्छन् ताकि मण्डलीमा तिनीहरूलाई हैसियत प्राप्त हुन सकोस्। के यो छद्मभेष र छलको प्रकटीकरण होइन र? तिनीहरूले छद्मभेष धारण गर्छन् र आफूलाई ढाकछोप गर्छन्, अनि अरूको समर्थन कसरी पाउने भन्‍नेमा केन्द्रित रहन्छन्। यस्तो खालको काम गर्ने तरिकामा कुनै सत्यता सिद्धान्त हुन्छ र? बिलकुल हुँदैन—यो पूर्ण रूपमा मानव दिमागका कल्पनाहरू, मानव विधिहरू, र संसारसँग व्यवहार गर्ने मानव दर्शनहरूमा आधारित छ, र यो अझै पनि शैतानी स्वभावअनुसार नै जिउनु हो। यस्तो पाखण्डी अभ्यास नक्कली आत्मिकताको कुरा हो; यसले मानिसहरूलाई छल गरिरहेको हुन्छ र यसमा अलिकति पनि सत्यता वास्तविकता हुँदैन।

आफ्नो कर्तव्य अरूले जसरी नै निर्वाह गरिरहेको देखिने कतिपय मानिसहरूले किन अचानक कहीँकतैबाट आइपुगेर अन्त्यमा ठूलो दुष्कर्म गर्दै मानिसहरूलाई स्तब्ध पार्छन्? के यसप्रकारको घटना एक वा दुई दिनमै विकसित भएको हुन्छ त? पक्कै पनि हुँदैन। एकै दिनमा तीन फिट बरफ जम्न सक्दैन। बाहिरबाट हेर्दा, तिनीहरू राम्रो व्यवहार गर्ने र सरल व्यक्तिजस्ता देखिन्छन्, र कसैले पनि तिनीहरूमा दोष भेट्टाउन सक्दैन, तर अन्त्यमा तिनीहरूले गर्ने खराब काम अरूले गर्ने कामभन्दा अधिक चरम र चकित तुल्याउने खालका हुन्छन्। यस्ता कामहरू तथाकथित “शिष्ट” मानिसहरूबाटै गरिएका हुन्छन्। के तिमीहरूलाई थाहा छ, यस्ता मानिसहरूमा कस्ता साझा विशेषता हुन्छन्? (तिनीहरू राम्रो व्यवहार गर्ने खालका, र सामान्यतया निकै राम्रो आचरण भएका देखिन्छन्।) तिनीहरू जे-जस्तो कुरामा जिउँछन् त्यसमा र तिनीहरूको प्रकृति सारमा दुई फरक विशेषता देखिन्छन्—के तिमीहरूले यी मुख्य बुँदाहरू बुझ्न सक्छौ? (तिनीहरू सत्यतालाई प्रेम गर्ने वा आफ्नो भ्रष्ट स्वभाव स्विकार्ने गर्दैनन्। तिनीहरूले आफूलाई चिन्‍नेबारे कुरा गर्दा तिनीहरूले छद्मभेष धारण गर्दै पाखण्डी व्यवहार गरिरहेका हुन्छन्।) पाखण्डी व्यवहार गर्नु यसको एउटा पक्ष हो, त्यसकारण तैँले कसरी यी मानिसहरू पाखण्डी छन् भनी पत्ता लगाउन र पुष्टि गर्न सक्छस्? अनि, तैँले तिनीहरू जिइरहेको यो असल व्यवहार देखावटी मात्रै हो भनेर कसरी पुष्टि गर्न सक्छस्? (सतही रूपमा, तिनीहरू निकै राम्रोसँग कुरा गर्छन्, तर आफूले गर्ने वास्तविक कार्यमा भने परमेश्‍वरको घरका हितहरूबारे विचारै नगरी आफ्नै हितहरू रक्षा गर्ने गर्छन्।) यो पाखण्डी व्यवहारको ठोस प्रकटीकरण हो। यी पाखण्डी मानिसहरूले राम्रोसँग कुरा गरे पनि, तिनीहरूले वास्तवमा मानिसहरूसँग छल गरिरहेका र बहकाइरहेका हुन्छन्। यसअतिरिक्त, तिनीहरूले आफ्नो स्वार्थीपन र नीचता पनि देखाउँछन्, र आफ्नै हितहरू मात्र रक्षा गर्छन् र परमेश्‍वरको घरका हितहरूबारे विचारै गर्दैनन्—तिनीहरू नगरबधूजस्तै जिउन चाहँदै, आफ्नो स्वच्छताको स्मारक स्थापित गरिने अपेक्षा गर्छन्। यी सबैले तिनीहरूको प्रकृति सार प्रतिनिधित्व गर्छ, जसमा कुनै मानवता नै हुँदैन। मैले भर्खरै तिनीहरूको प्रकृति सारमा दुई भिन्‍न विशेषताहरू हुन्छन् भनेर भनेको थिएँ। पहिलो विशेषता के हो भने, यसप्रकारका मानिसहरू अक्सर नाराहरू फलाक्‍ने र धर्मसिद्धान्तहरूबारे बोल्ने गर्छन्, र तिनीहरू निकै आत्मिक छन् झैँ गर्छन्, तर वास्तवमा तिनीहरू सत्यतालाई अलिकति पनि प्रेम गर्दैनन्, र सत्यतालाई प्रेम नगरी तिनीहरूले सत्यता अभ्यास गर्नु असम्भव हुन्छ। यस बुँदाको आधारमा, तिमीहरूले तिनीहरूबारे पहिले भनेजस्तै तिनीहरूले आफ्नै हितबारे मात्र विचार गर्नु, के त्यो यसै मध्येको एउटा प्रकटीकरण होइन र? तिनीहरू किन आफ्नै हितबारे विचार गर्छन्? के तिनीहरू सत्यतालाई प्रेम गर्छन्? (तिनीहरू सत्यतालाई प्रेम गर्दैनन्, तिनीहरू आफ्नै हित मात्र मन पराउँछन्।) तिनीहरू आफ्नै हित मात्र रक्षा गर्छन् र परमेश्‍वरको घर वा दाजुभाइ-दिदीबहिनीका हितबारे विचारै गर्दैनन्। के यो सत्यतालाई अतिकति पनि प्रेम नगर्ने व्यवहार होइन र? कतिपय मानिसहरू भन्छन्, “यदि तिनीहरूले सत्यतालाई प्रेम गर्दैनन् भने, किन तिनीहरू सधैँ सत्यतासँग सम्बन्धित कुराहरूबारे सङ्गति गर्छन् त?” तिमीहरू यसलाई कसरी व्याख्या गर्नेछौ? (तिनीहरू अरूलाई प्रभावित पार्न, आफूलाई ढाकछोप गर्न र भेष बदल्न यस्तो गर्छन्।) यो यसको एउटा पक्ष हो, तर यसबाहेक, के तिनीहरूले वास्तवमै सत्यता सङ्गति गरिरहेका हुन्छन् त? त्यो बिलकुलै सत्यताको सङ्गति होइन; त्यो त शब्द र धर्मसिद्धान्तहरूको सङ्गति मात्र हो। यदि त्यो स्पष्ट रूपमै शब्द र धर्मसिद्धान्तहरू मात्र हो भने, त्यसलाई कसरी सत्यता भन्‍न सकिन्छ? मूर्खले मात्रै शब्द र धर्मसिद्धान्तहरूलाई सत्यताबराबर मान्‍नेछ। दियाबलसहरू मानिसहरूलाई बहकाउनका लागि शब्द र धर्मसिद्धान्तहरू बोल्न निकै खप्पिस हुन्छन्, र तिनीहरू अरू मानिसहरू र परमेश्‍वरलाई छल्नहेतु आफू सत्यतावाला व्यक्ति भएको बहाना पनि गर्न चाहन्छन्। मानिसहरूले बोलेका शब्द वा धर्मसिद्धान्तहरू जतिसुकै उच्च भए पनि, ती सत्यता होइनन्; परमेश्‍वरबाट बोलिएका वचनहरू मात्र सत्यता हुन्। मानिसहरूले बोलेका शब्द र धर्मसिद्धान्तहरूलाई सत्यतासँगसँगै भनेर कसरी भन्‍न सकिन्छ? ती दुई भिन्‍न कुराहरू हुन्। यो पहिलो पक्ष हो, यी मानिसहरूमा सत्यताप्रति बिलकुलै कुनै प्रेम छैन। के यो पक्ष तिनीहरूको प्रकृति सार हो? (हो।) हामी किन यो तिनीहरूको प्रकृति सार हो भन्छौँ र किन यो अस्थायी प्रकटीकरण वा व्यवहार हो भनेर भन्दैनौँ? किनभने तिनीहरूको सबै प्रकटीकरण र व्यवहारलाई हेर्दा, हामीले के निष्कर्ष निकाल्न सक्छौँ भने, तिनीहरूको मानवता सार भनेकै तिनीहरूले सत्यतालाई बिलकुलै प्रेम नगर्नु हो। यी विभिन्‍न व्यवहारहरूको कारण तिनीहरू सत्यतालाई प्रेम गर्ने मानिसहरू होइनन् भनेर निर्धारण गर्न सकिन्छ। यो पहिलो विशेषता हो। अब, दोस्रो विशेषता के हो त? दोस्रो विशेषता के हो भने, यी मानिसहरूले आफूमा भ्रष्ट स्वभाव छ भनेर बिलकुलै स्वीकार गर्दैनन्। तिनीहरूले आफूमा भ्रष्ट स्वभाव छ भनेर बिलकुलै स्वीकार गर्दैनन् भन्‍नुको तात्पर्य के हो? यदि तिनीहरूले आफूमा भ्रष्ट स्वभाव छ भनेर स्वीकार गर्दैनन् भनेर भनिन्छ भने, किन तिनीहरूले सधैँ आफूलाई चिन्‍नेबारेमा कुरा गर्छन् त? तिनीहरूले आफूलाई चिन्‍नेबारे कुरा गर्ने मात्रै होइन, लाजैबिना अरू मानिसहरूलाई आफू स्वयम्‌लाई चिन्‍न मद्दतसमेत गर्छन्। तिनीहरू अक्सर आफूले पर्याप्त काम गरिरहेको छैन, आफू परमेश्‍वरप्रति ऋणी छु र आफू दियाबलस एवं शैतान हुँ, र श्रापित हुन लायक छु भनेर भनिरहन्छन्। यसलाई कसरी व्याख्या गर्न सकिन्छ? (जब तिनीहरू आफूलाई चिन्‍नेबारे कुरा गर्छन्, तब त्यहाँ कुनै साँचो विषयवस्तु वा विवरण हुँदैन। उदाहरणका लागि, तिनीहरूले कुन भ्रष्टताहरू प्रकट गरे, तिनीहरूले कस्तो गलत अभिप्राय पाले, कस्तो भ्रष्ट स्वभावहरूको वशमा तिनीहरू परे, तिनीहरूको खास प्रकटीकरण के हो, तिनीहरूको प्रकृति सार के हो, आदि इत्यादिबारे कुनै पनि व्यावहारिक विषयवस्तु हुँदैन। तिनीहरूले वास्तविक भावना र बुझाइ व्यक्त नगरी अस्पष्ट रूपमा आफू दियाबलस एवं शैतान हुँ भनेर मात्र बताउँछन्।) (आफूलाई साँचो रूपमा चिन्‍नुको एउटा नतिजा भनेको आफूलाई साँचो रूपमा घृणा गर्न सक्षम हुनु हो। यस्ता मानिसहरूले मौखिक रूपमा आफ्नो भ्रष्टता स्विकार्छन्, तर हृदयमा आफूलाई बिलकुलै घृणा गर्दैनन्, अनि तिनीहरूले आफ्नो बचाउ गर्न र आफूलाई सही ठहर्‍याउन हरप्रकारका तर्कहरू पनि फेला पार्छन्। कहिलेकाहीँ, तिनीहरूले आफूलाई बाहिरी रूपमा व्याख्या गर्दैनन्, र भित्री रूपमा आफ्नो भ्रष्टतालाई स्वीकार र पहिचान गर्दैनन्। तिनीहरू सत्यता स्विकार्न पूर्ण असमर्थ हुन्छन् र तिनीहरू बिलकुलै बदलिँदैनन्।) तिनीहरू आफूमा भ्रष्टता छ भनेर स्वीकार गर्दैनन्—यसलाई कसरी व्याख्या गर्न सकिन्छ? (जब तिनीहरूमाथि कुनै कुरा आइपर्छ र जब तिनीहरू प्रकाश हुन्छन्, तब तिनीहरूलाई के लाग्छ भने, तिनीहरू यस्तो कुरा गर्न असमर्थ छन्, र त्यसैले आफूमा यसप्रकारको भ्रष्ट स्वभाव छ भनेर स्वीकार गर्दैनन्।) यसप्रकारका मानिसहरू सधैँ आफूलाई चिन्‍नेबारे कुरा गर्छन्, तर वास्तवमा तिनीहरूले के चिन्छन्? के तिनीहरू आफ्नो व्यवहार र प्रकटीकरण चिन्छन्, वा के तिनीहरू आफ्नो भ्रष्ट स्वभाव चिन्छन्? कि तिनीहरूले आफूले के कुराहरू गलत गरेँ भनेर मात्र थाहा पाउँछन्? यसप्रकारका ज्ञानहरूबीच निकै ठूलो अन्तर हुन्छ। केही खाले ज्ञान साँचो ज्ञान हुन्छन् भने, केही ज्ञानहरू सतही र साररहित हुन्छन्। कतिपय मानिसहरूको ज्ञान त अझै धेरै सतही हुन्छ, र तिनीहरूलाई आफूले कुन कुरा गलत गरेँ भन्‍ने मात्र थाहा हुन्छ र तिनीहरूले आफूले गरेका कार्य नैतिकता वा व्यवस्थाविरुद्ध गयो भनेर मात्र स्विकार्छन्। यो त धार्मिक मानिसहरूले प्रभुसामु आफ्नो अपराध स्विकारेको कुराभन्दा कुनै फरक छैन; यसबाट वास्तविक पश्‍चात्ताप हुँदैन। कतिपय यस्ता मानिसहरू पनि छन् जसले आफूलाई चिन्‍नेबारे कुरा गर्दा केवल केही धर्मसिद्धान्तहरू बोल्छन् वा आत्मज्ञानबारे अरूले भन्‍ने गरेका कुराहरू नक्कल गर्छन्। यो छद्मभेष र छलको अझ ठूलो रूप हो। किन यस्ता व्यक्तिहरूले साँचो रूपमा आफूलाई चिन्दैनन्? सबभन्दा महत्त्वपूर्ण कारण भनेको तिनीहरूले कहिल्यै सत्यता नस्विकार्नु हो, त्यसैले तिनीहरूका सबै कार्य र व्यवहार पूर्ण रूपमा तिनीहरूको आफ्नै प्राथमिकता, तिनीहरूको आफ्नै शैतानी दर्शन र तिनीहरूको आफ्नै हित, महत्त्वाकाङ्क्षा र चाहनाहरूमा आधारित हुन्छन्। तिनीहरूले हृदयको गहिराइमा आफ्ना महत्त्वाकाङ्क्षा र चाहनाहरूलाई भ्रष्ट देख्दैनन्; तिनीहरूलाई चाहिएका कुनै पनि कुरा भ्रष्ट हुँदैन, त्यसैले तिनीहरूले जे चाहन्छन्, जे मन पराउँछन्, त्यही गर्छन्। यसलाई तिनीहरूको कार्यको सुरुवाती बिन्दुबाट मूल्याङ्कन गर्दा, के तिनीहरूले आफ्ना भ्रष्टताहरू स्विकार्छन् त? (तिनीहरूले आफ्ना भ्रष्टताहरू स्विकार्दैनन्।) आफ्नो भ्रष्टता स्विकार्ने मानिसहरूले कसरी कार्य गर्छन्? के तिनीहरूले सत्यता सिद्धान्तहरू खोजी गर्दै काम गर्छन्, कि केवल प्रार्थना, चिन्तन र आफ्नो दिमागले सोचेअनुसार काम गर्छन्? तिनीहरूले यीमध्ये कुन कुरा पछ्याउँछन्? (तिनीहरूले सत्यता सिद्धान्तहरू खोजी गर्छन्।) यसरी, उपरोक्त प्रकारका मानिसहरूको कार्यलाई हेर्दा के स्पष्ट हुन्छ भने, तिनीहरू सधैँ त्यही गर्छन् जुन तिनीहरू चाहन्छन्। तिनीहरू परमेश्‍वरका वचनहरू अरूका लागि हुन् भन्‍ने ठान्छन् र तिनीहरूले आफूले बुझेका धर्मसिद्धान्तहरू मात्रै अरूलाई बताउँछन्, यसको मतलब तिनीहरूले अरूलाई परमेश्‍वरका वचनहरूअनुसार काम गर्न लगाउँछन्, जसको अर्थ के हो भने, “तपाईँहरू सबैले भ्रष्टता प्रकट गर्नुहुन्छ, तर म आफूले गर्ने सबै कुरामा सत्यता खोजी गर्छु र बिरलै मात्र भ्रष्टता प्रकट गर्छु।” के यस्ता मानिसहरू आफूलाई साँच्‍चिकै चिन्‍ने मानिसहरू हुन् त? तिनीहरूले आफ्नो भ्रष्टता स्विकार्ने आँट गर्दैनन्; यही नै सत्य-तथ्य हो। तिनीहरूको सोचाइमा मूल्य चुकाउनु, साथै केही धेरै बोल्नु, केही धेरै कष्ट सहनु वा आफ्ना महत्त्वाकाङ्क्षा र चाहनाहरू पूरा गर्न सबथोक त्यागेर आफूलाई समर्पित गर्नु सबै सत्यताअनुरूप र सही कुरा हुन्। यदि तिमीहरूले तिनीहरूलाई “सबै मानिसहरूमा भ्रष्टता हुने भएकोले, के तपाईँले त्यसरी सोच्दा आफू गलत हुने डर लाग्दैन?” भनेर सोध्यौ भने, तिनीहरूले भन्‍नेछन्: “होइन, यो ठीक छ। मलाई डर लाग्दैन। म आफ्नो अभिप्रायमा सही छु।” हेर, तिनीहरूले कसरी आफ्ना महत्त्वाकाङ्क्षा, चाहना र अभिप्रायहरूलाई सकारात्मक कुराझैँ लिन्छन्। के यसप्रकारका मानिसहरूले आफ्नो भ्रष्टता स्विकार्छन् त? (अहँ, स्विकार्दैनन्।) वस्तुनिष्ठ दृष्टिकोणबाट हेर्दा, तिनीहरूले आफ्नो भ्रष्टता स्विकार्दै स्विकार्दैनन्। अनि, आफ्नो भ्रष्टता नै नस्विकार्ने मान्छेले साँचो पश्‍चात्ताप गर्छ त? (अहँ, गर्दैन।) तिनीहरूले बिलकुलै पश्‍चात्ताप गर्नेछैनन्; तिनीहरूले कहिल्यै गर्नेछैनन्। के तिनीहरूमा साँचो समर्पण हुन्छ त? (हुँदैन।) त्यो त झनै कम हुन्छ। तिनीहरू सत्यता के हो भन्‍ने पनि जान्दैनन्, अनि कसरी समर्पित हुन सक्छन् र? तिनीहरू जेमा समर्पित हुन्छन्, त्यो भनेकै तिनीहरूका महत्त्वाकाङ्क्षा र चाहनाहरू हुन्। तिनीहरू पूर्ण रूपमा आफ्नै चाहनाअनुसार सबै काम गर्दै जीवन जिउँछन्, र कहिल्यै सत्यता नखोजी आफ्नै इच्छामा मात्र आधारित रहेर बोल्ने, काम गर्ने र मार्ग रोज्‍ने गर्छन्। कतिपय मानिसहरू भन्छन्, “तिनीहरूले कहिल्यै सत्यता खोज्दैनन्, तर किन प्रवचन चाहिँ सुन्छन् नि?” प्रवचन सुन्दैमा, तिनीहरूले सत्यता खोज्न सक्छन् भन्‍ने होइन; यो त परमेश्‍वरमा विश्‍वास गर्ने एउटा पक्ष मात्र हो। के प्रवचन नसुनेको भए वा भेलामा नगएको भए, तिनीहरू प्रकाश हुन्थेनन् र? त्यसैले, तिनीहरू यो प्रक्रिया भएर जानु जरुरी छ, तर प्रवचन सुन्‍नुको अर्थ तिनीहरू सत्यता स्विकार्ने वा आफ्नो भ्रष्टता स्विकार्ने मानिसहरू हुन् भन्‍ने हुँदैन; कसैले नि यस्तो अनुमान लगाउनु हुँदैन। आफूमा भ्रष्टता छ भनेर स्विकार्नु सजिलो कुरा होइन, र सत्यतालाई प्रेम नगर्नेहरूको लागि यसो गर्नु गाह्रो छ।

हामीले भर्खरै के भन्यौँ भने, आफूलाई नचिन्‍ने मानिसहरूमा दुई भिन्‍न विशेषताहरू हुन्छन्: एउटा, तिनीहरू मूलभूत रूपमा सत्यतालाई प्रेम गर्दैनन्, र दोस्रो, तिनीहरू आफूभित्र भ्रष्ट स्वभाव छ भनेर कहिल्यै स्विकार्दैनन्। अनि, तिमीहरू चाहिँ आफूलाई चिन्‍ने मामिलाबाट कति पर छौ त? (अहिले त, हामीले अझै पनि आफूलाई चिनेका छैनौँ, र आफैलाई घृणा गर्ने बिन्दुसम्म पुगिसकेका छैनौँ।) तिमीहरू धेरै पर छौ। आफूलाई चिन्‍नु भनेको मुख्य गरी आफ्नो भ्रष्ट स्वभाव, आफ्नो प्राथमिकता र आफ्नो गलत विचार एवं व्यवहार चिन्‍नु हो। यो नै मुख्य कुरा हो, र आत्मज्ञानका अन्य पक्षहरू गौण हुन्। तैँले तब मात्र साँचो रूपमा सत्यता स्विकार्न र साँचो पश्‍चात्ताप गर्न सक्छस्, जब तैँले आफूमा भ्रष्ट स्वभाव छ र आफूभित्र परमेश्‍वरले मानिसहरूलाई देखाउनुभएका हरप्रकारका प्रकृति सार र भ्रष्टताका प्रकटीकरणहरू छन् भनेर स्विकार्छस्, र जब तैँले ती कुराहरूको निर्दिष्ट सूची बनाउन र ती निर्दिष्ट तथ्य, व्यवहार र प्रकटीकरणहरू कुनै पनि सत्यताअनुरूप छैनन्, सबै परमेश्‍वरविरुद्ध छन् र ती सबैलाई उहाँ घृणा गर्नुहुन्छ भनेर स्विकार्न सक्छस्। आजकल, जब मानिसहरूले सत्यता स्विकारेको दाबी गर्छन्, त्यो बेला तिनीहरूले यसलाई धर्मसिद्धान्तको हिसाबमा मात्र स्विकारिरहेका हुन्छन् र केही हदसम्म आफ्नो व्यवहार परिवर्तन गरिरहेका हुन्छन्। तर त्यसपछि पनि तिनीहरू अझै शैतानी भ्रष्ट स्वभावमै र शैतानको दर्शनअनुसार नै जिइरहेका हुन्छन्; तिनीहरू बिलकुलै बदलिएका हुँदैनन्। व्यवहार बदल्दैमा स्वभाव बदलिएको भन्‍ने हुँदैन। आफ्नो स्वभाव बदल्न व्यक्तिले आफ्नो प्रकृति सार अनि आफ्नो भ्रष्ट स्वभाव चिन्‍नुपर्छ—यो सुरुवाती कदम हो। आफ्ना कार्यहरू समस्याग्रस्त छन्, आफू असल व्यक्ति होइन वा आफू दियाबलस एवं शैतान हुँ भन्‍ने कुरा मात्रै चिन्‍नेहरू अझै पनि आफ्नो प्रकृति सार चिन्‍न र आफ्नो स्वभाव बदल्नबाट धेरै पर हुन्छन्।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्