परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ९७

सृष्टिकर्ताको अख्‍तियार अपरिवर्तनीय र उल्‍लङ्घन गर्न नसकिने छ

१. परमेश्‍वरले यावत् थोक सृष्टि गर्न वचनहरू प्रयोग गर्नुहुन्छ

उत्पत्ति १:३-५ अनि परमेश्‍वरले भन्‍नुभयो, उज्यालो होस्: अनि उज्यालो भयो। अनि परमेश्‍वरले त्यो असल छ भन्‍ने देख्‍नुभयो: अनि परमेश्‍वरले उज्यालोलाई अन्धकारबाट अलग गर्नुभयो। अनि परमेश्‍वरले उज्यालोलाई दिन र अन्धकारलाई रात भन्‍नुभयो। अनि साँझ र बिहान पहिलो दिन थियो।

उत्पत्ति १:६-७ अनि परमेश्‍वरले भन्‍नुभयो, पानीहरूको बीचमा वायुमण्डल होस् र त्यसले पानीहरूलाई पानीहरूबाट अलग गरोस्। अनि परमेश्‍वरले वायुमण्डल बनाउनुभयो र पानीलाई वायुमण्डलमुनि र वायुमण्डलमाथि विभाजन गर्नुभयो: अनि त्यस्तै भयो।

उत्पत्ति १:९-११ अनि परमेश्‍वरले भन्‍नुभयो, वायुमण्डलमुनिको पानी एक ठाउँमा जम्मा होस् र सुक्खा भूमि देखा परोस्: अनि त्यस्तै भयो। अनि परमेश्‍वरले सुक्खा भूमिलाई पृथ्वी; र एक ठाउँमा जम्मा भएको पानीलाई समुद्रहरू भन्‍नुभयो: अनि परमेश्‍वरले त्यो असल छ भन्‍ने देख्‍नुभयो। अनि परमेश्‍वरले भन्‍नुभयो, भूमिले घाँस उमारोस्, बीउ फलाउने बोट-बिरुवाहरू र आफ्नै प्रजातिका फल फलाउने बीउ भएका फलका रुखहरू पृथ्वीमा उमारोस्: अनि त्यस्तै भयो।

उत्पत्ति १:१४-१५ अनि परमेश्‍वरले भन्‍नुभयो, अन्तरिक्षमा दिनलाई रातबाट छुट्याउने ज्योतिहरू होऊन्; र तिनीहरू ऋतु, दिन र वर्षहरू छुट्याउने चिन्ह होऊन्: र पृथ्वीमा ज्योति दिनलाई आकाशको अन्तरिक्षमा ती ज्योतिहरू होऊन्: अनि त्यस्तै भयो।

उत्पत्ति १:२०-२१ अनि परमेश्‍वरले भन्‍नुभयो, पानीहरूले जीवन भएका प्रशस्त चल्‍ने प्राणीहरू र पृथ्वीमाथि खुला आकाशमा उड्ने पक्षीहरू उत्पन्न गरोस्। अनि परमेश्‍वरले ठूला ह्वेल माछाहरू, जसलाई पानीहरूले तिनीहरूका प्रजातिअनुसार प्रशस्त मात्रामा उत्पन्‍न गरे, र चल्‍ने हरेक जीवित प्राणीहरू र हरेक प्रजातिका पखेटा भएका पक्षीहरू बनाउनुभयो: अनि त्यो असल छ भन्‍ने परमेश्‍वरले देख्‍नुभयो।

उत्पत्ति १:२४-२५ अनि परमेश्‍वरले भन्‍नुभयो, पृथ्वीले तिनीहरूका प्रजातिअनुसारका जीवित प्राणीहरू, चौपायाहरू र घस्रने जन्तुहरू र प्रजातिअनुसारका जनावरहरू उत्पन्‍न गरोस्: अनि त्यस्तै भयो। अनि परमेश्‍वरले प्रजातिअनुसार पृथ्वीको जन्तु, तिनीहरूका प्रजातिअनुसारका चौपायाहरू बनाउनुभयो र पृथ्वीमा घस्रने हरेक जन्तुहरूलाई तिनीहरूकै प्रजातिअनुसार बनाउनुभयो: अनि त्यो असल छ भन्‍ने परमेश्‍वरले देख्‍नुभयो।

२. मानिससँग करार स्थापित गर्न परमेश्‍वरले आफ्‍नो वचनको प्रयोग गर्नुहुन्छ

उत्पत्ति ९:११-१३ अनि म तिमीहरूसँग मेरो करार स्थापित गर्नेछु, न त जलप्रलयको पानीले अब उप्रान्त सबै मानिसहरूलाई नष्ट गर्नेछ, न त पृथ्वीलाई नष्ट गर्नको निम्ति कुनै जलप्रलय नै हुनेछ। अनि परमेश्‍वरले भन्‍नुभयो, यो म र तिमीहरू र तिमीहरूसँग भएका हरेक जीवित प्राणीका बीच अनन्त पुस्तासम्मको निम्ति मैले बनाएको करारको चिनो हो: म बादलमा इन्द्रेनी राख्‍नेछु र त्यो म र पृथ्वीको बीचमा भएको करारको चिनो हुनेछ।

३. परमेश्‍वरका आशिष्‌हरू

उत्पत्ति १७:४-६ मेरो बारेमा भन्दा, हेर्, मेरो करार तँसितै छ र तँ धेरै जातिहरूको पिता बन्‍नेछस्। न त अब तेरो नाम अब्राम नै हुनेछ, तर तेरो नाम अब्राहाम हुनेछ; किनकि मैले तँलाई धेरै जातिहरूका पिता बनाएको छु। र म तँलाई अत्यन्तै फलवन्त बनाउनेछु र तँबाट जातिहरू बनाउनेछु र तँबाट राजाहरू आउनेछन्।

उत्पत्ति १८:१८-१९ अब्राहाम अवश्य नै महान् र शक्तिशाली जाति बन्‍नेछ र पृथ्वीका सबै जातिहरू तिनमा नै आशिषित हुनेछन्। किनकि म उसलाई चिन्छु, कि उसले आफ्ना छोराछोरीहरू र आफ्नो घरानालाई उनलाई पछ्याउने आज्ञा दिनेछ र न्यायिक व्यवहार तथा न्याय गर्नको निम्ति तिनीहरूले यहोवाको मार्ग पालन गर्नेछन्; ताकि यहोवाले अब्राहामलाई भन्‍नुभएका कुरा उहाँले पूरा गर्नुभएको होस्।

उत्पत्ति २२:१६-१८ यहोवाले भन्‍नुभयो, म आफैले शपथ खाएको छु किनभने तैँले यो गरेको छस् र तैँले तेरो छोरा अर्थात् तेरो एक मात्र छोरा मलाई नदिई आफूसँग राखेको छैनस्: आशिष्‌मा म तँलाई आशिष्‌ दिनेछु र वृद्धिमा तेरा सन्तानलाई बढाएर आकाशका ताराहरूसरह, र समुद्र किनारको बालुवासरह वृद्धि गर्नेछु; र तेरा सन्तानले त्यसका शत्रुहरूको प्रवेशद्वार कब्जा गर्नेछन्; र तेरा सन्तानमा पृथ्वीका सबै जातिहरूले आशिष्‌ पाउनेछन्‌; किनभने तैँले मेरो वचन पालन गरेको छस्।

अय्यूब ४२:१२ त्यसैले यहोवाले अय्यूबको उत्तरार्धमा तिनको पूर्वार्धमा भन्दा बढी आशिष्‌ दिनुभयो: किनभने तिनीसित चौध हजार भेडा, छ हजार ऊँट, एक हजार हल गोरु र एक हजार पोथी गधा थिए।

पवित्र-शास्‍त्रका यी तीन भागमा तिमीहरूले के देखेका छौ? के परमेश्‍वरले आफ्‍नो अख्‍तियार प्रयोग गर्ने सिद्धान्त छ भन्‍ने तिमीहरूले देखेका छौ? उदाहरणको लागि, मानिससँग करार स्थापना गर्नको लागि परमेश्‍वरले इन्द्रेनीको प्रयोग गर्नुभयो—संसार नष्ट पार्नलाई उहाँले फेरि कहिल्यै जलप्रलयको प्रयोग गर्नुहुनेछैन भनी मानिसलाई बताउन उहाँले बादलहरूमा इन्द्रेनी राखिदिनुभयो। के आज मानिसहरूले देख्‍ने इन्द्रेनी परमेश्‍वरको मुखबाट बोलिएको त्यही इन्द्रेनी हो? के यसको प्रकृति र अर्थ परिवर्तन भएको छ? यो परिवर्तन भएको छैन भन्‍नेमा कुनै शङ्‍का छैन। परमेश्‍वरले यो कार्य गर्नको लागि आफ्‍नो अख्‍तियार प्रयोग गर्नुभयो, र उहाँले मानिससँग स्थापना गर्नुभएको करार आजको दिनसम्‍मै निरन्तर रहेको छ, र अवश्य नै, यो करारलाई परिवर्तन गर्ने समय परमेश्‍वरकै निर्णय हुनेछ। परमेश्‍वरले “बादलमा इन्द्रेनी राख्‍नेछु,” भनी भन्‍नुभएपछि, परमेश्‍वर आजको दिनसम्‍म सधैँ नै यही करारमा बाँधिएर रहनुभयो। तँ यसमा के देख्छस्? परमेश्‍वरमा अख्‍तियार र शक्ति भए तापनि, उहाँका कार्यहरूमा उहाँ अत्यन्तै दृढ र सिद्धान्त केन्द्रित हुनुहुन्छ, र आफ्‍नो वचनमा प्रतिबद्ध रहनुहुन्छ। उहाँको दृढता, र उहाँका कार्यहरूका सिद्धान्तहरूले सृष्टिकर्ताको उल्‍लङ्घन गर्न नसकिने गुण र सृष्टिकर्ताको अख्‍तियारको विजय गर्न नसकिने क्षमतालाई देखाउँछ। उहाँसँग सर्वोच्‍च अख्‍तियार भए तापनि, र सबै थोक उहाँकै प्रभुत्वमुनि भए तापनि, र उहाँसँग सबै थोकमाथि शासन गर्ने शक्ति भए तापनि, परमेश्‍वरले आफ्‍नै योजनालाई कहिल्यै नष्ट गर्ने वा भङ्ग गर्ने गर्नुभएको छैन, र उहाँले जब-जब आफ्‍नो अख्तियारको प्रयोग गर्नुहुन्छ, यो पूर्ण रूपमा उहाँका आफ्‍नै सिद्धान्तहरू अनुसार हुन्छ, र यसले उहाँको मुखबाट बोलिएको कुरालाई नै पछ्याउँछ, र उहाँको योजनाका चरण र उद्देश्यहरूलाई नै पछ्याउँछ। अवश्य नै, परमेश्‍वरले शासन गर्नुहुने सबै थोकले परमेश्‍वरको अख्तियार प्रयोग गरिने सिद्धान्तहरूलाई नै पालना गर्छन्, र उहाँको अख्‍तियारका प्रबन्धहरूबाट कुनै पनि मानिस वा वस्तुलाई छूट छैन, न त तिनीहरूले उहाँको अख्तियार प्रयोगका सिद्धान्तहरूलाई नै परिवर्तन गर्न सक्छन्। परमेश्‍वरको नजरमा, जसले आशिष्‌ पाएका छन् तिनीहरूले उहाँको अख्तियारले ल्याएको सौभाग्य प्राप्त गर्छन्, र जो श्रापित छन् तिनीहरूले परमेश्‍वरकै अख्‍तियारको कारण आफ्‍ना दण्ड प्राप्त गर्छन्। परमेश्‍वरको अख्तियारको सार्वभौमिकताको अधीनमा, उहाँको अख्‍तियारको प्रयोगबाट कुनै पनि मानिस वा थोकलाई छूट छैन, न त तिनीहरूले उहाँको अख्‍तियार प्रयोग गरिने सिद्धान्तहरूलाई नै परिवर्तन गर्न सक्छन्। सृष्टिकर्ताको अख्‍तियारलाई कुनै पनि कारकतत्वमा आउने परिवर्तनले परिवर्तन गर्न सक्दैन, त्यसरी नै, उहाँको अख्तियारको प्रयोग गरिने सिद्धान्तहरू कुनै पनि कारणले परिवर्तन हुँदैनन्। स्वर्ग र पृथ्वी ठूला-ठूला परिवर्तनहरू भएर जान सक्छन्, तर सृष्टिकर्ताको अख्‍तियार परिवर्तन हुनेछैन; सबै थोक लोप भएर जान सक्छन्, तर सृष्टिकर्ताको अख्‍तियार कहिल्यै हराउनेछैन। सृष्टिकर्ताको अपरिवर्तनीय र उल्‍लङ्घन गर्न नसकिने अख्‍तियारको सार यही हो, र सृष्टिकर्ताको अद्वितीयपन यही नै हो!

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय १

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश २०६

अघिल्लो दुई युगहरूको कार्यको एउटा चरणलाई इस्राएलमा अघि बढाइएको थियो, र एउटालाई यहूदियामा अघि बढाइयो। सामान्य रूपमा भन्दा, न त यो कामको...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वर देखा पर्नु र उहाँको काम | अंश ६५

जुन दिन सबै कुराको पुनरुत्थान भएका थिए, म मानिसको बीचमा आएँ र मैले उसँग सुन्दर दिन र रातहरू बिताएको छु। यस अवस्थामा मात्र मानिसले मेरो...

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ३८९

पत्रुस धेरै वर्षसम्म मप्रति विश्‍वासयोग्य थियो, तापनि उसले कहिल्यै गनगन गरेन न त उसले कुनै गुनासो नै गर्‍यो; अय्यूब पनि उसको बराबरी थिएन, र...

परमेश्‍वरका दैनिक वचनहरू: गन्तव्य र परिणामहरू | अंश ५८०

बिजुलीको एक चमकमा, प्रत्येक पशुलाई त्यसको वास्तविक रूपमा प्रकट गरिन्छ। त्यसरी नै, मेरो ज्योतिद्वारा प्रज्वलित भएर मानिसले फेरि त्यो...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्