परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ४९

अय्यूबको दैनिक जीवनमा हामी तिनको सिद्धता, इमानदारिता, परमेश्‍वरप्रतिको भय, र दुष्टताबाट अलग बस्‍ने आचरण देख्छौँ

यदि अय्यूबको बारेमा कुरा गर्ने हो भने, हामीले यो कुरा परमेश्‍वरले उहाँको आफ्नै मुखद्वारा गर्नुभएको अय्यूबको मूल्याङ्कनबाट सुरु गर्नुपर्छ: “त्योजस्तो सिद्ध र सोझो, परमेश्‍वरको भय मान्‍ने र दुष्टताबाट अलग बस्‍ने पृथ्वीमा कोही पनि छैन।”

पहिले हामी अय्यूबको सिद्धता र सोझोपनको बारेमा जानौँ।

“सिद्ध” र “सोझो” भन्‍ने शब्दहरूसम्‍बन्धी तिमीहरूको बुझाइ के छ? के तिमीहरू अय्यूब दोष लाउन नसकिने, आदरणीय थिए भन्‍ने विश्‍वास गर्छौ? यो अवश्य नै “सिद्ध” र “सोझो” शब्दहरूको ठेट अर्थ र बुझाइ हुनेछ। अय्यूबलाई वास्तविक रूपले बुझ्नका निम्ति शब्द, पुस्तक, र सिद्धान्तहरूले मात्रै कुनै उत्तर प्रदान गर्दैनन्, यसको लागि त वास्तविक जीवनको सन्दर्भ अभिन्‍न हुन्छ। हामी अय्यूबको पारिवारिक जीवनलाई, र जीवनमा तिनको सामान्य आचरण कस्तो थियो भन्‍ने कुरालाई हेर्दै सुरु गर्नेछौँ। यसले हामीलाई तिनका जीवनका सिद्धान्तहरू र उद्देश्यहरूको बारेमा, साथसाथै उनको व्यक्तित्व र खोजीको बारेमा बताउँछ। अब हामी अय्यूब १:३ का अन्तिम वचनहरू पढौँ: “त्यस मानिस पूर्वका सबै मानिसहरूभन्दा महान् थिए।” यी वचनहरूले के भनिरहेका छन् भने, अय्यूबको स्थान र स्थिति एकदम उच्‍च थियो, तर तिनी पूर्वका सबै मानिसहरूमध्ये सबैभन्दा ठूलो हुनुको कारण तिनको प्रशस्त सम्पत्ति भएकोले हो कि तिनी सिद्ध र सोझो थिए र दुष्टताबाट टाढा बस्‍ने र परमेश्‍वरको डर मान्‍ने मानिस भएकोले हो सो कुरा हामीलाई नबताइएको भए पनि, समग्रमा, हामी सबैलाई थाहा छ कि अय्यूबको स्थान र स्थिति धेरै नै मूल्यवान् थियो। बाइबलमा लेखिएअनुसार, अय्यूबको बारेमा मानिसहरूमा आउने पहिलो विचार भनेकै अय्यूब सिद्ध छन्, तिनी परमेश्‍वरसँग डराउँछन् र दुष्टताबाट अलग बस्छन्, र तिनीसँग धेरै धन र सम्मानजनक हैसियत छ भन्‍ने थियो। त्यस्तो वातावरणमा र त्यस्ता परिस्थितिहरूमा जिइरहेको सामान्य व्यक्तिका लागि, अय्यूबको आहार, जीवनको गुणस्तर, र तिनको व्यक्तिगत जीवनका विभिन्‍न पक्षहरू नै अधिकांश व्यक्तिको ध्यानको केन्द्रबिन्दु हुनेथ्यो; यसर्थ, हामीले धर्मशास्‍त्र पढ्न जारी राख्‍नुपर्छ: “अनि तिनका छोराहरू जान्थे र आफ्नो पालोमा आ-आफ्ना घरमा भोज गर्थे; र तिनीहरूसँग खान र पिउनको निम्ति तिनीहरूले आफ्ना बहिनीहरू ल्याउँथे। अनि भोजका दिन सकिएपछि अय्यूबले तिनीहरूलाई शुद्ध पार्थे, अनि बिहान सबेरै उठ्थे र ती सबैका सङ्ख्याबमोजिम होमबलि चढाउँथे: किनकि अय्यूबले भन्थे, मेरा छोराहरूले पाप गरे होलान् र आफ्नो हृदयमा परमेश्‍वरलाई सरापे होलान्। अय्यूबले निरन्तर यसो गर्थे” (अय्यूब १:४-५)। यो खण्डले हामीलाई दुईवटा कुरा बताउँछ: पहिलो के हो भने, अय्यूबका छोराछोरीहरूले नियमित भोज गर्थे, र धेरै खाने र पिउने गर्थे; दोस्रो कुरा के हो भने, अय्यूबले निरन्तर होमबलि चढाउँथे, किनभने तिनका छोराछोरीहरूले पाप गरे होलान् र आफ्नो हृदयमा परमेश्‍वरलाई त्यागे होलान् भनी तिनले चिन्ता गर्थे। यसमा दुई फरक प्रकारका मानिसहरूको जीवनको बारेमा वर्णन गरिएको छ। पहिलो, अय्यूबका छोराछोरीहरू उनीहरूको सम्पन्‍नताको कारण प्राय: भोज गर्थे, खर्चिलो जीवन बिताउँथे, उनीहरूले आफ्नो हृदयले चाहेअनुसार पिउँथे र खान्थे, र भौतिक सम्पत्तिले ल्याएको उच्‍च गुणस्तरको जीवनको आनन्द उठाउँथे। त्यस्तो जीवन बिताएपछि, उनीहरूले प्रायजसो पाप गर्नु र परमेश्‍वरलाई अपमान गर्नु अपरिहार्य नै थियो—तैपनि तिनीहरूले आफैलाई पवित्र बनाउँदैनथे वा होमबलि चढाउँदैनथे। यसरी तैंले देख्छस् कि उनीहरूको हृदयमा परमेश्‍वरको निम्ति कुनै स्थान थिएन, उनीहरूले परमेश्‍वरको अनुग्रहको बारेमा कुनै विचार गर्दैनथे, न त परमेश्‍वरलाई चिढ्याउनेबारेमा नै तिनीहरू डराउँथे, उनीहरू आफ्नो हृदयमा परमेश्‍वरलाई त्याग्‍नेबारेमा डराउनु त परै जाओस्। अवश्य पनि, हाम्रो ध्यान अय्यूबका छोराछोरीहरूमा नभई अय्यूबले त्यस्ता कुराहरूको सामना गर्दा के गर्थे भन्‍नेमा छ; यस खण्डमा वर्णन गरिएको अर्को कुरा यही हो, जसमा अय्यूबको दैनिक जीवन र तिनको मानवताको सार समावेश छ। जहाँ बाइबलले अय्यूबका छोराछोरीहरूको भोजको वर्णन गर्छ, त्यहाँ अय्यूबको उल्लेख गरिएको छैन; भनिन्छ कि तिनका छोराछोरीहरूले मात्रै प्रायजसो सँगै खानपान गर्थे। अर्को शब्दमा भन्दा, तिनले भोजहरू आयोजना गर्दैनथे, न त उच्छृङ्खलताको साथ खानपान गर्न तिनी आफ्ना छोराछोरीहरूसँग सहभागी नै हुन्थे। धनी र धेरै सम्पत्ति र नोकरचाकरको मालिक भए पनि अय्यूबको जीवन एक विलासी जीवन थिएन। तिनी आफ्नो सर्वोत्कृष्ट जिउने वातावरणको धोकामा परेका थिएनन्, र तिनी आफ्नो सम्पत्तिको कारण देहको आनन्दमा मग्‍न हुँदैनथे वा होमबलि चढाउन बिर्सँदैनथे, ती कुराले तिनलाई आफ्नो हृदयभित्रबाट बिस्तारै परमेश्‍वरलाई त्याग्‍दै जाने बनाउने त कुरै नगरौँ। त्यसैले स्पष्ट छ, अय्यूब आफ्नो जीवनशैलीमा अनुशासित थिए, परमेश्‍वरले तिनलाई दिनुभएको आशिष्‌को कारण तिनी लोभी वा सुखवादी बनेका थिएनन् र तिनी जीवनको गुणस्तरमा लिप्त थिएनन्। बरु, तिनी नम्र र विनयी थिए, तिनी आडम्बरी थिएनन्, र तिनी परमेश्‍वरको सामु सतर्क र सावधान थिए। तिनले प्रायजसो परमेश्‍वरका अनुग्रह र आशिष्‌हरूमा ध्यान दिन्थे, र परमेश्‍वरको निरन्तर डर मान्थे। आफ्नो दैनिक जीवनमा, अय्यूब प्रायजसो चाँडै उठेर आफ्ना छोराछोरीहरूका लागि होमबलि चढाउँथे। अर्को शब्दमा भन्‍नुपर्दा, अय्यूब आफू मात्रै परमेश्‍वरसँग डराउँदैनथे, तिनी त आफ्ना छोराछोरीहरू पनि परमेश्‍वरसँग डराऊन् र परमेश्‍वरविरुद्ध पाप नगरून् भन्‍ने आशा गर्थे। अय्यूबको भौतिक सम्पत्तिहरूले तिनको हृदयमा कुनै स्थान लिएनन्, न त ती कुराले परमेश्‍वरले लिनुभएको स्थान नै लिए; चाहे तिनको आफ्नै लागि होस् वा तिनका छोराछोरीहरूका लागि होस्, अय्यूबका दैनिक कार्यहरू सबै परमेश्‍वरसँग डराउने र दुष्टताबाट टाढा रहने कुरासित सम्बन्धित थिए। यहोवा परमेश्‍वरप्रतिको तिनको डर तिनको मुखमा मात्र सीमित थिएन, बरु त्यो डर त तिनले आफ्नो दैनिक जीवनको हरेक भागमा लागू गर्ने र प्रतिबिम्‍बित गर्ने कुरा थियो। अय्यूबको यो वास्तविक आचरणले हामीलाई तिनी इमानदार थिए, र तिनीसँग न्याय र सकारात्मक कुराहरू मन पराउने सार थियो भन्‍ने देखाउँछ। अय्यूबले प्रायजसो आफ्ना छोराछोरीहरूलाई पठाउँथे र पवित्र पार्थे भन्‍नुको अर्थ तिनले आफ्ना छोराछोरीहरूको व्यवहारलाई प्रतिबन्ध गर्थे वा अनुमोदन गर्दैनथे; बरु, आफ्नो हृदयमा तिनी उनीहरूको व्यवहारबाट दिक्‍क थिए, र उनीहरूलाई निन्दा गर्थे। तिनी आफ्ना छोराछोरीहरूको व्यवहार यहोवा परमेश्‍वरलाई मन पर्दैन भन्‍ने निष्कर्षमा पुगेका थिए र यसैले तिनले उनीहरूलाई प्रायजसो यहोवा परमेश्‍वरको सामु जान र आफ्ना पापहरू स्वीकार गर्न आग्रह गर्थे। अय्यूबको कार्यले हामीलाई तिनको मानवताको अर्को पक्षलाई देखाउँछ, जसमा तिनी प्रायजसो पाप गर्ने र परमेश्‍वरलाई क्रोधित बनाउने मानिसहरूका साथ कहिल्यै हिँडेनन्, बरु तिनीहरूलाई त्यागे र तिनीहरूबाट टाढिए। यी मानिसहरू तिनका छोराछोरीहरू भए पनि, तिनले तिनीहरू आफ्‍ना प्रियजन हुन् भन्दैमा आफ्नो आचरणका सिद्धान्तहरू त्यागेनन्, न त तिनी आफ्नै भावनाका कारण तिनीहरूका पापहरूलाई नै सहेर त्यसमा लागे। बरु, तिनले उनीहरूलाई पश्‍चात्ताप गर्न र यहोवा परमेश्‍वरको सहनशीलता प्राप्त गर्न आग्रह गरे, र आफ्नै लोभी आनन्दको खातिर परमेश्‍वरलाई नत्याग्‍न चेतावनी दिए। अय्यूबले अरूसँग जसरी व्यवहार गर्थे त्यसका सिद्धान्तहरू परमेश्‍वरप्रतिको तिनको भय र दुष्टताबाट अलग बस्‍ने सिद्धान्तहरूबाट अलग गर्न नसकिने थिए। परमेश्‍वरले स्वीकार गर्नुभएको कुरालाई उनले प्रेम गर्थे, र परमेश्‍वरले घिनाउनुभएका कुरालाई तिनी घृणा गर्थे; तिनी हृदयबाट परमेश्‍वरको भय मान्‍नेहरूलाई मन पराउँथे, र परमेश्‍वरको विरुद्ध दुष्कर्म र पाप गर्नेहरूलाई घृणा गर्थे। त्यस्तो प्रेम र घृणा तिनको दैनिक जीवनमा प्रदर्शित हुन्थे, र यही नै परमेश्‍वरका आँखाले देखेको अय्यूबको सोझोपन थियो। स्वाभाविक रूपमा, अय्यूबले आफ्नो दैनिक जीवनमा अरूसँगको सम्‍बन्धमा प्रकट गर्ने गरेको साँचो मानवताको प्रकटीकरण र जियाइ यही थियो, र यसको बारेमा हामीले सिक्‍नैपर्छ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् २

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश २१२

आखिरी दिनहरूमा, परमेश्‍वर आफूले गर्नुपर्ने काम गर्न र उहाँको वचनको सेवकाइ गर्नका लागि देह बन्नुभयो। उहाँको हृदयअनुसारका मानिसहरूलाई सिद्ध...

परमेश्‍वरका दैनिक वचनहरू: कार्यका तीन चरणहरू | अंश ४

परमेश्‍वरको सम्पूर्ण व्यवस्थापन योजनाको काम उहाँ आफैले व्यक्तिगत रूपमा गर्नुहुन्छ। पहिलो चरण—संसारको सृष्टि—परमेश्‍वर स्वयम्‌ले व्यक्तिगत...

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४२५

अभ्यासमा, आज्ञा पालन गर्ने र सत्यतालाई अभ्यासमा उतार्ने कार्य एक-आपसमा जोडिनुपर्छ। आज्ञा पालन गर्दा, सत्यताको अभ्यास गर्नुपर्छ। सत्यताको...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्