परमेश्‍वरले इन्द्रेणीलाई मानिससँगको आफ्नो करारको प्रतीकको रूपमा प्रयोग गर्नुहुन्छ

13 अगस्ट 2021

उत्पत्ति ९:११-१३ अनि म तिमीहरूसँग मेरो करार स्थापित गर्नेछु, न त जलप्रलयको पानीले अब उप्रान्त सबै मानिसहरूलाई नष्ट गर्नेछ, न त पृथ्वीलाई नष्ट गर्नको निम्ति कुनै जलप्रलय नै हुनेछ। अनि परमेश्‍वरले भन्‍नुभयो, यो म र तिमीहरू र तिमीहरूसँग भएका हरेक जीवित प्राणीका बीच अनन्त पुस्तासम्मको निम्ति मैले बनाएको करारको चिनो हो: म बादलमा इन्द्रेनी राख्‍नेछु र त्यो म र पृथ्वीको बीचमा भएको करारको चिनो हुने छ।

अब, परमेश्‍वरले इन्द्रेणीलाई मानिससँगको आफ्नो करारको प्रतीकको रूपमा कसरी प्रयोग गर्नुभयो भन्‍ने बारेमा धर्मशास्त्रको यस खण्डलाई हेरौँ।

धेरैजसो मानिसहरूलाई इन्द्रेणी के हो भन्‍ने थाहा छ र इन्द्रेणीहरूसँग सम्बन्धित कथाहरू सुनेका छन्। जहाँसम्म बाइबलमा भएको इन्द्रेणीको कथाको कुरा छ, केही मानिसहरूले यसलाई विश्‍वास गर्छन् र केहीले यसलाई किंवदन्तीको रूपमा लिन्छन् भने, अन्यले यसलाई विश्‍वास नै गर्दैनन्। जेसुकै भए तापनि इन्द्रेणीसँग सम्बन्धित सारा घटनाहरू परमेश्‍वरका काम थिए र परमेश्‍वरले मानिसको व्यवस्थापन गर्ने प्रक्रियाको क्रममा ती घटनाहरू घटेका थिए। यी घटनाहरूलाई बाइबलमा ठीक तरिकाले अभिलिखित गरिएका छन्। यी अभिलेखहरूले त्यस समयमा परमेश्‍वरको मनस्थिति कस्तो थियो वा परमेश्‍वरले बोल्‍नुभएका वचनहरूपछाडिका इरादाहरू के थिए भन्‍नेबारेमा बताउँदैनन्। यसअतिरिक्त, परमेश्‍वरले यी कुराहरू बोल्नुहुँदा कस्तो महसुस गरिरहनुभएको थियो भन्‍ने कुराको सराहना कसैले पनि गर्न सक्दैन। तथापि, यस सम्पूर्ण घटनाको विषयमा परमेश्‍वरको मनको अवस्था पाठका हरफहरूबाट प्रकटित हुन्छ। परमेश्‍वरका त्यस समयका सोचहरू उहाँको वचनका हरेक शब्द र वाक्यांशमार्फत तत्कालै स्पष्ट भए जस्तो लाग्छ।

मानिसहरूले चासो राख्‍नुपर्ने र तिनीहरूले सबैभन्दा बढी जान्‍न खोज्‍नुपर्ने कुरा भनेकै परमेश्‍वरका सोचहरू हुन्। किनकि परमेश्‍वरका सोचहरू परमेश्‍वरबारेको मानिसको बुझाइसँग जटिल तवरले सम्बन्धित छन् र परमेश्‍वरबारेको मानिसको बुझाइ मानिसको जीवनमा हुने प्रवेशसँग छुटाउन नसकिने गरी जोडिएको छ। यसैले, यी घटनाहरू घट्दाको समयमा परमेश्‍वरले के सोचिरहनुभएको थियो?

मूल रूपमा, परमेश्‍वरले आफ्नो नजरमा धेरै असल र उहाँसँग नजिक रहेको मानवजातिको सृष्टि गर्नुभयो तर उहाँविरुद्ध विद्रोहमा गएपछि तिनीहरूलाई जलप्रलयद्वारा नष्ट पारियो। यस्तो मानवजाति तत्कालै यसरी गायब हुँदा के परमेश्‍वरलाई दुःख लाग्‍यो? अवश्य नै उहाँलाई दुःख लाग्यो! त्यसो भए, त्यस पीडाप्रति उहाँको अभिव्यक्ति के थियो? त्यसलाई बाइबलमा कसरी अभिलिखित गरिएको थियो? “अनि म तिमीहरूसँग मेरो करार स्थापित गर्नेछु, न त जलप्रलयको पानीले अब उप्रान्त सबै मानिसहरूलाई नष्ट गर्नेछ, न त पृथ्वीलाई नष्ट गर्नको निम्ति कुनै जलप्रलय नै हुनेछ।” यस सरल वाक्यले परमेश्‍वरका सोचहरू प्रकट गर्छ। संसारको विनाशले परमेश्‍वरलाई धेरै पीडा दियो। मानिसका शब्दमा भन्नुपर्दा, उहाँ धेरै दुःखी हुनुभयो। हामी कल्पना गर्न सक्छौँ: एकताका जीवनले भरिएको पृथ्वी जलप्रलयद्वारा नष्ट पारिएपछि कस्तो भयो? एकताका मानवजातिले भरिएको पृथ्वी त्यस समय कस्तो देखियो? मानव बसोबासरहित, जीवित प्राणीरहित र जताततै पानी र पानीको सतहमा पूर्ण विनाश। संसारको सृष्टि गर्दा, के यस्तो दृष्य परमेश्‍वरको मौलिक इरादा थियो? अवश्य नै थिएन! परमेश्‍वरको मौलिक इरादा भनेको सारा भूमि जीवनले भरिएको देख्नु, उहाँले सृष्टि गर्नुभएको मानवजातिले उहाँको आराधना गरेको देख्नु थियो, उहाँको आराधना गर्ने एकलो व्यक्ति वा उसलाई सुम्पिएको काम पूरा गर्ने उहाँको बोलावटको जवाफ दिने एकलो नोआलाई मात्र पाउनु होइन। मानवजाति गायब हुँदा, परमेश्‍वरले मौलिक रूपमा इरादा राख्‍नुभएको कुरालाई होइन बरु त्यसको ठीक विपरित कुरालाई देख्‍नुभयो। उहाँको हृदय कसरी पीडामा नहुन सक्थ्यो र? यसैले उहाँले आफ्नो स्वभाव प्रकट गरिरहनुहुँदा र आफ्ना संवेगहरू अभिव्यक्त गरिरहनुहुँदा परमेश्‍वरले एउटा निर्णय लिनुभयो। उहाँले कस्तो किसिमको निर्णय लिनुभयो त? परमेश्‍वरले मानवजातिलाई जलप्रलयद्वारा फेरि नष्ट गर्नुहुनेछैन भन्‍ने प्रतिज्ञास्वरूप, मानिससँगको करारको रूपमा बादलमा इन्द्रेणी (अर्थात्, हामीले देख्‍ने इन्द्रेणी) बनाउने निर्णय। साथै, यो परमेश्‍वरले संसारलाई जलप्रलयद्वारा नष्ट गर्नुभयो भनेर मानिसहरूलाई बताउनलाई पनि थियो, ताकि परमेश्‍वरले किन यस्तो काम गर्नुहुन्छ भनेर मानवजातिले सदैव सम्झिरहोस्।

के त्यस बेलाको संसारको विनाश परमेश्‍वरको चाहना थियो? यो पक्कै पनि परमेश्‍वरले चाहनुभएको कुरा थिएन। हामीले विनाशपछिको पृथ्वीको एउटा सानो खण्डको दयनीय अवस्थाको बारेमा कल्पना गर्न सक्छौँ, तर हामीले परमेश्‍वरको दृष्टिमा त्यस बेलाको उक्त दृष्य कस्तो थियो भन्‍ने कुराको अलिकति पनि कल्पना गर्न सक्दैनौँ। उक्त दृष्य, अर्थात् जलप्रलयद्वारा पृथ्वीको विनाशपछिको तस्बिर देख्‍नुभएपछि परमेश्‍वरले कस्तो अनुभव गरिरहनुभएको थियो भनेर अहिलेका वा त्यस बेलाका कुनै पनि मानिसहरूले कल्पना गर्न वा त्यसको सराहना गर्न सक्दैनन् भनेर हामी भन्‍न सक्छौँ। मानिसको अवज्ञाको कारण परमेश्‍वरलाई यसो गर्न कर लाग्यो, तर जलप्रलयद्वारा संसारको यो विनाशबाट परमेश्‍वरको हृदयले भोगेको पीडा एउटा यस्तो सत्य हो जसलाई कसैले पनि मापन गर्न वा सराहना गर्न सक्दैन। यसैले परमेश्‍वरले मानवजातिसँग एउटा करार बाँध्नुभयो, जसमार्फत उहाँले मानिसहरूलाई परमेश्‍वरले एकताका यस्तो पनि गर्नुभएको थियो भन्‍ने कुरा सम्झना गराउने र परमेश्‍वरले फेरि संसारलाई यसरी विनाश गर्नुहुनेछैन भनेर तिनीहरूसामु शपथ लिने लक्ष्य लिनुभयो। यस करारमा हामीले परमेश्‍वरको हृदयलाई देख्‍छौँ—परमेश्‍वरले यस मानवजातिको विनाश गर्नुहुँदा उहाँको हृदय पीडामा थियो भन्‍ने हामी देख्छौँ। मानिसको भाषामा भन्दा, परमेश्‍वरले मानवजातिको विनाश गर्नुहुँदा र मानवजाति लोप हुँदै गर्दा उहाँको हृदय रोइरहेको र पीडाले भरिएको थियो। यसलाई वर्णन गर्ने सबैभन्दा उत्तम तरिका यही होइन र? मानवहरूले मानवीय भावनाहरूलाई चित्रित गर्न यी शब्दहरूको प्रयोग गर्छन्, तर मानिसको भाषामा धेरै नै कमी भएको कारण परमेश्‍वरका भावना र संवेगहरूको वर्णन गर्नको निम्ति तिनीहरूको प्रयोग गर्नु मेरो लागि त्यति खराब कुरा होइन, र तिनीहरू त्यति अतिरञ्जक पनि होइनन्। तिनीहरूले तिमीहरूलाई कम्तिमा पनि त्यति बेला परमेश्‍वरको मनस्थिति कस्तो थियो भन्‍नेबारेमा धेरै स्पष्ट र धेरै उचित बुझाइ प्रदान गर्छन्। अब तिमीहरूले इन्द्रेणी फेरि देख्दा के सोच्‍नेछौ? कम्तिमा पनि जलप्रलयद्वारा संसारको विनाश गर्नुभएपछि परमेश्‍वर कसरी शोकमा हुनुहुन्थ्यो भन्‍ने कुरा तिमीहरूले सम्झनेछौ। परमेश्‍वरले यस संसारलाई घृणा गर्नुभए तापनि र यस मानवजातिलाई घृणा गर्नुभए तापनि, उहाँले आफ्नै हातले बनाउनुभएको मानवजातिको विनाश गर्नुहुँदा, उहाँको हृदय पीडामा थियो, यसलाई भुल्नको निम्ति संघर्षरत, यसलाई सहन गर्न अनिच्छुक र कठिन अवस्थामा थियो। उहाँको एउटै सान्त्वना नोआको आठ जनाको परिवारमा थियो। नोआको सहकार्यले गर्दा नै सबै कुराको सृष्टि गर्दाको उहाँका कठिन प्रयासहरू खेर गएनन्। परमेश्‍वरले कष्ट भोग्दै गर्नुभएको समयमा, उहाँको पीडामा मलम लगाउने कुरा यही मात्र थियो। त्यस बेलादेखि परमेश्‍वरले मानवजातिप्रतिका उहाँका सबै अपेक्षाहरू नोआको परिवारमाथि राख्‍नुभयो, यस आशामा कि तिनीहरू उहाँको श्रापमा होइन, उहाँका आशिष्‌मा जिउन सकून्, यस आशामा कि तिनीहरूले फेरि कहिल्यै पनि परमेश्‍वरले संसारलाई जलप्रलयद्वारा नष्ट गर्नुभएको नदेखून् र यस आशामा कि तिनीहरू नष्ट नगरिऊन्।

परमेश्‍वरले इन्द्रेणीलाई मानिससँगको आफ्नो करारको प्रतीकको रूपमा प्रयोग गर्नुहुन्छ

यसबाट हामीले परमेश्‍वरको स्वभावको कुन भागको बारेमा सिक्‍नुपर्छ? मानिस उहाँको विरोधी भएको हुनाले परमेश्‍वरले मानिसलाई घृणा गर्नभएको थियो, तर उहाँको हृदयमा मानवजातिप्रतिको उहाँको वास्ता, चासो र दया बलदिएनन्। उहाँले मानवजातिको विनाश गर्दा पनि उहाँको हृदय अपरिवर्तित नै रह्‍यो। जब मानवजाति परमेश्‍वरप्रति गम्भीर हदसम्म भ्रष्टता र अनाज्ञाकारिताले भरिपूर्ण भयो, तब परमेश्‍वरले उहाँको स्वभाव र सारको कारण र उहाँका सिद्धान्तहरूबमोजिम यस मानवजातिलाई नष्ट गर्नुपर्ने भयो। तर परमेश्‍वरको सारको कारण उहाँले अझै पनि मानवजातिमाथि दया गर्नुभयो र तिनीहरू बाँचिरहून् भनेर मानवजातिलाई उद्धार गर्न विभिन्‍न तरिकाहरू प्रयोग गर्न चाहनुभयो। तर मानिसले परमेश्‍वरको विरोध गर्‍यो, परमेश्‍वरको अवज्ञा गर्न जारी राख्यो र परमेश्‍वरको मुक्तिलाई स्वीकार गर्न इन्कार गर्‍यो; भन्नुको अर्थ उसले उहाँका असल अभिप्रायहरू स्वीकार गर्न इन्कार गर्‍यो। परमेश्‍वरले तिनीहरूलाई जसरी बोलाउनुभएको भए तापनि, तिनीहरूलाई जसरी सम्झाउनुभएको भए तापनि, तिनीहरूको निम्ति जसरी आपूर्ति गरिदिनुभएको भए तापनि, तिनीहरूलाई जसरी सहायता गर्नुभएको भए तापनि वा तिनीहरूलाई जसरी सहन गर्नुभएको भए तापनि, मानिसले त्यसलाई बुझेन वा सराहना गरेन, न त तिनीहरूले कुनै ध्यान नै दिए। परमेश्‍वरले आफ्नो पीडामा, मानिसले आफ्नो दिशा बदल्छ कि भनेर पर्खँदै तिनीहरूलाई अझै पनि हदैसम्मको सहनशीलता प्रदान गर्न भुल्नुभएन। उहाँको हद पार भएपछि बिनासङ्‍कोच उहाँले आफूले गर्नुपर्ने काम गर्नुभयो। अर्को शब्दमा भन्नुपर्दा, परमेश्‍वरले मानवजातिको विनाश गर्ने योजना बनाउनुभएको समयदेखि मानवजातिको विनाश गर्ने कार्य सुरु गर्नुभएको समयसम्म निश्‍चित समयावधि र प्रक्रिया थियो। यो प्रक्रिया मानिसलाई मार्ग परिवर्तन गर्न सक्षम तुल्याउनको निम्ति अस्तित्वमा थियो र यही नै परमेश्‍वरले मानिसलाई दिनुभएको अन्तिम मौका थियो। मानवजातिको विनाश गर्नुअघिको यस अवधिमा परमेश्‍वरले के गर्नुभयो? परमेश्‍वरले भारी मात्रामा सम्झाउने र प्रोत्सान गर्ने काम गर्नुभयो। परमेश्‍वरको हृदय जतिसुकै पीडा र शोकमा भएको भए तापनि उहाँले मानवजातिमा आफ्नो वास्ता, चासो र प्रचुर कृपा निरन्तर प्रदान गर्नुभयो। यसबाट हामी के देख्छौँ? नि:सन्देह, हामी देख्छौँ कि मानवजातिप्रति परमेश्‍वरको प्रेम वास्तविक छ, केवल ओठेभक्ति जस्तो मात्र छैन। यो वास्तविक, मूर्त र सराहनीय छ, नक्कली, मिलावट भएको, छली वा कपटी छैन। परमेश्‍वरले कहिले पनि छलको प्रयोग गर्नुहुन्‍न वा उहाँ प्रेमयोग्य हुनुहुन्‍छ भन्‍ने देखाउन नक्कली छवि प्रयोग गर्नुहुन्‍न। उहाँले आफ्नो प्रेमिलोपन मानिसहरूलाई देखाउनको निम्ति वा आफ्नो प्रेमिलोपन र पवित्रताको देखावटी प्रदर्शन गर्न कहिले पनि झुटो साक्षीको प्रयोग गर्नुहुन्‍न। के परमेश्‍वरको स्वभावका यी पक्षहरू मानिसको प्रेमको योग्य छैनन्? के तिनीहरू आराधनाका योग्य छैनन्? के तिनीहरू स्‍नेहपूर्वक याद गरिन योग्य छैनन्? यस बिन्दुमा म तिमीहरूलाइ सोध्‍न चाहन्छुः यी वचनहरू सुनेपछि के तिमीहरू परमेश्‍वरको महानता खाली कागजमा लेखिएका खोक्रा शब्दहरू मात्र हुन् भन्‍ने सोच्छौ? के परमेश्‍वरको प्रेमिलोपन खोक्रा शब्दहरू मात्र हुन्? होइनन्! अवश्य होइनन्! उहाँले आफ्नो काम गर्नुहुँदाको हरेक समय व्यवहारिक अभिव्यक्ति प्राप्त गर्ने परमेश्‍वरको सर्वोच्चता, महानता, पवित्रता, सहनशीलता, प्रेम आदि जस्ता परमेश्‍वरको स्वभाव र सारका विवध पक्षहरूको हरेक विवरण मानिसप्रति भएको उहाँको इच्छामा समाविष्ट छन् र हरेक व्यक्तिमा ती पूरा गरिन्छन् र प्रतिबिम्बित हुन्छन्। तैँले यसको अनुभव पहिले गरेको वा नगरेको भए पनि परमेश्‍वर हरप्रकारले हरेक व्यक्तिको हेरचाह गर्ने स्वभावको हुनुहुन्छ र उहाँले हरेक व्यक्तिको हृदयलाई चेतावनी दिन र हरेक व्यक्तिको आत्मालाई ब्युँझाउनको निम्ति उहाँको निष्कपट हृदय, बुद्धि, र विभिन्‍न विधिहरूको प्रयोग गर्नुहुन्छ। यो निर्विवाद तथ्य हो। यहाँ जति जना मानिस बसिरहेका भए तापनि परमेश्‍वरको सहनशीलता, धैर्य, र सुन्दरताप्रति हरेक व्यक्तिको आफ्नै अनुभव र अनुभूतिहरू छन्। परमेश्‍वरबारेका यी अनुभवहरू र उहाँप्रतिका यी अनुबभूति र बुझाइहरू छोटकरीमा भन्दा यी सबै सकारात्मक कुराहरू परमेश्‍वरबाट आएका हुन्। यसैले हरेक व्यक्तिका परमेश्‍वरबारेका अनुभवहरू र ज्ञानलाई एकीकृत गरेर र तिनीहरूलाई आज हामीले पढेका बाइबलका खण्डहरूसँग मिलाउँदा, के तिमीहरूसँग अब परमेश्‍वरको बारेमा अझ वास्तविक र उचित बुझाइ हुन्छ?

…………

के तिमीहरूले आज हामीले सङ्‍गति गरेका सबै कथाहरूलगायत सबै बाइबल पदहरूबाट केही कुरा थाहा पायौ? आफ्ना सोचहरू अभिव्यक्त गर्न वा मानवजातिप्रति आफ्नो प्रेम र वास्ताको वर्णन गर्न के परमेश्‍वरले आफ्नै भाषाको प्रयोग गर्नुभएको छ? उहाँले मानवजातिप्रति कति चासो राख्‍नुहुन्छ वा प्रेम गर्नुहुन्छ भन्‍ने कुरा व्यक्त गर्नको निम्ति उहाँले सरल भाषा प्रयोग गर्नुभएको अभिलेख छ? छैन! के यो सही होइन र? तिमीहरूका बिचमा धेरै जना यस्ता छन् जसले बाइबल वा बाइबलबाहेकका अन्य पुस्तकहरू पढेका छन्। के तिमीहरूमध्ये कसैले त्यस्ता वचनहरू देखेका छौ? यसको जवाफ पक्कै पनि “छैन” हुन्छ! अर्थात्, परमेश्‍वरका वचन र उहाँका कामको अभिलेखनलगायत बाइबलको अभिलेखमा परमेश्‍वरले कुनै पनि युग वा अवधिमा मानवजातिप्रति उहाँको प्रेम र वास्ता व्यक्त गर्न वा आफ्ना अनुभूतिहरूको वर्णन गर्न कहिल्यै आफ्नै विधिको प्रयोग गर्नुभएन, न त उहाँले आफ्ना भावनाहरू व्यक्त गर्न बोली वा कार्यहरूको नै कहिल्यै प्रयोग गर्नुभयो—के यो तथ्य होइन र? म किन यसो भन्दैछु त? मैले किन यो कुरा उल्लेख गर्नुपर्छ? किनकि यसमा पनि परमेश्‍वरको सुन्दरता र उहाँको स्वभाव सामेल छ।

परमेश्‍वरले मानवजातिको सृष्टि गर्नुभयो; चाहे तिनीहरू भ्रष्ट भएका होऊन् वा चाहे तिनीहरूले उहाँलाई पच्छाऊन् वा नपछ्याऊन्, परमेश्‍वरले मानवजातिलाई उहाँका खेलौनाहरूको रूपमा होइन, उहाँको सबैभन्दा बढी स्‍नेहपूर्वक प्रेम गरिने प्राणीहरूको रूपमा व्यवहार गर्नुहुन्छ—वा मानवजातिहरूले भन्ने शब्दमा, उहाँका अत्यन्तै प्यारा मानिसहरूको रूपमा व्यवहार गर्नुहुन्छ। परमेश्‍वरले उहाँ सृष्टिकर्ता हुनुहुन्छ र मानिस उहाँको सृष्टि हो भनेर भन्‍नुभए पनि, यसले दर्जामा केही भिन्नता देखाए पनि, परमेश्‍वरले मानवजातिको निम्ति गर्नुभएका सबै कुराहरू वास्तवमा यस प्रकारको सम्बन्धभन्दा धेरै माथि छन्। परमेश्‍वरले मानवजातिलाई प्रेम गर्नुहुन्छ र मानवजातिको हेरचाह गर्नुहुन्छ, र मानवजातिको निम्ति चासो देखाउनुहुन्छ, साथै उहाँले निरन्तर र अटुट रूपमा मानवजातिको भरणपोषण गर्नहुन्छ। उहाँले आफ्नो हृदयमा यसलाई थप काम वा धेरै श्रेय लिनुपर्ने कुरा हो भन्‍ने महसुस गर्नुहुन्‍न। न त उहाँले मानवजातिलाई बचाउने, तिनीहरूको निम्ति आपूर्ति गर्ने र तिनीहरूलाई सबै कुरा प्रदान गर्ने कुराले मानवजातिको निम्ति ठुलो योगदान गरिरहेको छ भन्‍ने नै ठान्‍नुहुन्छ। उहाँले चुपचाप शान्तिसाथ उहाँको आफ्नै तरिकाले र उहाँको आफ्नै सार र उहाँसँग जे छ र उहाँ जो हुनुहुन्छ सोमार्फत मानवजातिको भरणपोषण गर्नुहुन्छ। मानवजातिले उहाँबाट जति भरणपोषण र जति सहायता पाए पनि परमेश्‍वरले कहिल्यै पनि त्यसको श्रेय लिनेबारेमा सोच्‍नुहुन्‍न वा श्रेय लिने कोसिस गर्नुहुन्‍न। यसको निर्धारण परमेश्‍वरको सारले गर्छ र ठ्याक्कै यही नै परमेश्‍वरको स्वभावको साँचो अभिव्यक्ति हो। यसैले, बाइबल वा अरू कुनै पुस्तकहरूमा नै किन नहोस्, परमेश्‍वरले आफ्ना सोचहरू अभिव्यक्त गर्नुभएको हामी कहिल्यै देख्दैनौँ र मानवजाति उहाँप्रति आभारी होओस् वा मानवजातिले उहाँको प्रशंसा गरोस् भन्‍ने लक्ष्य राखेर परमेश्‍वरले मानवहरूसमक्ष उहाँले यी कुराहरू किन गर्नुहुन्छ, वा उहाँले मानवजातिको निम्ति किन यति वास्ता राख्‍नुहुन्छ भन्नेबारेमा व्याख्या वा घोषणा गर्नुभएको हामी कहिल्यै देख्दैनौँ। उहाँलाई चोट लाग्दा, उहाँको हृदय अत्यन्तै पीडामा हुँदा पनि उहाँले मानवजातिप्रति आफ्नो दायित्वलाई वा मानवजातिप्रतिको उहाँको चासोलाई कहिल्यै बिर्सनुहुन्‍न; उहाँले यी सबै चोटहरूलाई एकलै र मौनतामा सहनुहुन्छ। यसको ठीक विपरीत, उहाँले सधैँ गर्नुभएजस्तै परमेश्‍वरले मानवजातिको निम्ति निरन्तर भरणपोषण उपलब्ध गराउनुहुन्छ। मानवजातिले प्रायः परमेश्‍वरको प्रशंसा र उहाँको साक्षी दिए तापनि यी कुनै पनि व्यवहारहरू परमेश्‍वरद्वारा आवश्यक गरिएका कुरा होइनन्। किनकि परमेश्‍वरले मानवजातिको निम्ति गर्नुभएका कुनै पनि असल कुराहरूको बदलामा उहाँले कृतज्ञता वा परिपूर्तिको आशा गर्नुहुन्‍न। अर्कोतर्फ, परमेश्‍वरको भय मान्‍ने र दुष्टताबाट अलग बस्‍नेहरू, परमेश्‍वरलाई साँच्‍चै पछ्याउनेहरू, उहाँलाई सुन्‍ने र उहाँप्रति निष्ठावान हुनेहरू र उहाँको आज्ञापालन गर्न सक्‍ने मानिसहरूले प्रायः उहाँका आशिष्‌हरू प्राप्त गर्नेछन्, र परमेश्‍वरले कुनै पनि सन्देहविना नै यस्ता आशिष्‌हरू प्रदान गर्नुहुनेछ। यसअतिरिक्त, मानिसहरूले परमेश्‍वरबाट प्राप्त गर्ने आशिष्‌हरू प्रायः गरेर तिनीहरूका कल्पना बाहिरका हुन्छन्, र मानवजातिले गरेका काम वा तिनीहरूले तिरेको मूल्यबाट औचित्य सिद्ध गर्न नसक्‍ने किसिमका पनि हुन्छन्। मानवजातिले परमेश्‍वरका आशिष्‌हरूमा आनन्‍द मनाउँदै गर्दा, परमेश्‍वर के गर्दै हुनुहुन्छ भन्‍ने कुराको मतलब के कसैले गर्छ? परमेश्‍वरले कस्तो अनुभूति गर्दै हुनुहुन्छ भन्‍ने कुराको चासो के कसैले देखाउँछ? के कसैले परमेश्‍वरको पीडालाई सराहना गर्ने कोसिस गर्छ? यसको जवाफ जोडदार रूपमा “गर्दैन” भन्ने हुन्छ! के नोआलगायतका मानवजातिले त्यस समय परमेश्‍वरले महसुस गर्नुभएको पीडाको सराहना गर्न सक्छ? परमेश्‍वरले किन यस्तो करार बाँध्‍नुभयो भनेर कसैले बुझ्‍न सक्छ? तिनीहरूले सक्दैनन्! मानवजातिले परमेश्‍वरको पीडा नबुझेको र मानिस तथा परमेश्‍वरबीचको दुरी वा तिनीहरूको हैसियतमा भएको फरकको कारणले परमेश्‍वरको पीडाको सराहना नगरेका होइनन्; बरु परमेश्‍वरका कुनै पनि अनुभूतिहरूप्रति मानवजातिलाई कुनै पनि वास्ता नभएको कारणले यस्तो भएको हो। मानवजातिले सोच्छ कि परमेश्‍वर स्वतन्त्र हुनुहुन्छ—यसैले उहाँको वास्ता गर्न, उहाँलाई बुझ्‍न वा उहाँप्रति ध्यान दिनको निम्ति परमेश्‍वरलाई मानिसहरूको आवश्यकता पर्दैन। परमेश्‍वर परमेश्‍वर नै हुनुहुन्छ, यसैले उहाँसँग पीडा छैन, भावनाहरू छैनन्; उहाँ दुःखी हुनुहुन्‍न, उहाँलाई शोकको अनुभूति हुँदैन, उहाँ रुनु पनि हुन्‍न। परमेश्‍वर परमेश्‍वर नै हुनुहुन्छ, यसैले उहाँलाई कुनै पनि भावनात्मक अभिव्यक्तिहरूको जरुरत पर्दैन र उहाँलाई कुनै पनि भावनात्मक ढाडसको जरुरत पर्दैन। केही परिस्थितिहरूमा उहाँलाई यी कुराहरूको आवश्यकता पर्‍यो भने उहाँले एक्लै सहन गर्न सक्‍नुहुन्छ र उहाँलाई मानवजातिको कुनै पनि सहयोग चाहिन्‍न। यसको विपरीत, “कमजोर, अपरिपक्‍व” मानवहरूलाई पो हरसमय र हरठाउँ उहाँको सान्त्वना, प्रबन्ध, उत्साह र तिनीहरूका भावनाहरूमा उहाँको सान्त्वनाको जरुरत पर्छ। मानवजातिको हृदयको गहिराइमा यस्ता कुराहरू लुकेर रहेका हुन्छन्ः मानिस कमोजोर छ, तिनीहरूलाई हरप्रकारले परमेश्‍वरको हेरचाहको खाँचो छ, परमेश्‍वरबाट प्राप्त गर्नुपर्ने हरेक वास्ता प्राप्त गर्न तिनीहरू योग्य छन् र तिनीहरूलाई जे कुरा तिनीहरूको हुनुपर्छ भन्‍ने लाग्छ त्यो कुरा तिनीहरूले परमेश्‍वरबाट माग्‍नुपर्छ। परमेश्‍वर बलियो हुनुहुन्छ; उहाँसँग सबै कुरा छ र उहाँ मानवजातिको संरक्षक र आशिष् दिने व्यक्ति बन्‍नुपर्छ। उहाँ पहिले नै परमेश्‍वर हुनुभएको हुनाले उहाँ सर्वशक्तिमान् हुनुहुन्छ र उहाँलाई मानवजातिबाट कहिल्यै पनि केही कुराको आवश्यकता पर्दैन।

मानिसले परमेश्‍वरका कुनै पनि प्रकाशहरूमा ध्यान नदिने हुनाले, उसले कहिल्यै पनि परमेश्‍वरको शोक, पीडा वा आनन्दको महसुस गरेको छैन। तर यसको विपरीत मानिसका सबै अभिव्यक्तिहरूलाई परमेश्‍वरले उहाँका हत्केलाझैँ जान्‍नुहुन्छ। हरेक व्यक्तिका परिवर्तनशील विचारहरूको अवलोकन गर्दै र तिनीहरूलाई सान्त्वाना र अर्ती दिँदै तथा मार्गनिर्देश गर्दै र प्रबोधित गर्दै परमेश्‍वरले हरसमय र हरठाउँमा हरेकको आवश्यकता परिपूर्ति गर्नुहुन्छ। मानवजातिप्रति परमेश्‍वरले गर्नुभएका सबै कुराहरू र तिनीहरूका निम्ति उहाँले तिर्नुभएका मूल्यहरूको सन्दर्भमा, के मानिसहरूले बाइबलका खण्डहरू वा परमेश्‍वरले आजसम्म भन्नुभएका अन्य कुराहरूमा परमेश्‍वरले मानिसबाट केही कुराको माग गर्नुहुनेछ भन्‍ने कुरा भेट्टाएका छन्? छैन! यसको विपरीत, मानिसहरूले परमेश्‍वरका विचारहरूलाई जतिसुकै वेवास्ता गरे तापनि, उहाँले तिनीहरूको निम्ति तयार गर्नुभएको सुन्दर गन्तव्यमा तिनीहरू पुग्‍न सकून् भनेर तिनीहरूलाई परमेश्‍वरको साँचो मार्ग पच्छ्याउन सक्षम बनाउन उहाँले निरन्तर रूपमा मानवजातिको निम्ति प्रबन्ध गर्नुहुन्छ र तिनीहरूलाई सहयोग गर्नुहुन्छ। परमेश्‍वरको बारेमा कुरा गर्दा उहाँसँग जे छ र उहाँ जो हुनुहुन्छ, उहाँको अनुग्रह, उहाँको कृपा र उहाँका सबै इनामहरू बिना कुनै सन्देह उहाँलाई प्रेम गर्ने र उहाँलाई पछ्याउनेहरूलाई दिइनेछन्। तर उहाँले भोग्‍नुभएका पीडा वा उहाँको मनस्थिति कसैसँग पनि प्रकट गर्नुहुन्‍न, र उहाँको बारेमा विचार गरेन वा उहाँको इच्छा बुझेन भनेर उहाँले कसैको बारेमा पनि गुनासो गर्नुहुन्‍न। मानवजातिले बुझ्‍ने दिनको प्रतिक्षा गर्दै उहाँले यी सबै कुराहरू मौनतामा सहनुहुन्छ।

मैले यी कुराहरू यहाँ किन भनेको हुँ? मैले भनेका कुराहरूबाट तिमीहरू के देख्छौ? परमेश्‍वरको सार र स्वभावमा यस्तो केही कुरा छ जसलाई बेवास्ता गर्न सजिलो छ, यस्तो कुरा जुन परमेश्‍वरमा मात्र छ र अन्य कुनै मानिसमा छैन, अन्य व्यक्तिहरूले महान् ठानेका मानिसहरू, असल मानिसहरू वा तिनीहरूका कल्पनाका परमेश्‍वरमा पनि छैन। यो कुरा के हो त? यो परमेश्‍वरको निःस्वार्थीपन हो। निःस्वार्थीपनको कुरा गर्दा तैँले आफूलाई पनि एकदमै निःस्वार्थ ठान्‍न सक्छस्, किनकि जब तेरा छोराछोरीको कुरा हुन्छ, तब तँले तिनीहरूसँग कहिले पनि मोलतोल र सौदा गर्दैनस्, वा जब तेरा अभिभावकहरूको कुरा आउँछ तब पनि तैँले आफूलाई तिनीहरूप्रति निःस्वार्थ रहेको ठान्न सक्छस्। तैँले जेसुकै सोचे तापनि तँमा कम्तिमा पनि निःस्वार्थ शब्दको अवधारणा छ र तैँले यो सकारात्मक शब्द हो र निःस्वार्थ व्यक्ति हुनु भनेको भद्रता हो भन्‍ने सोच्छस्। जब तँ निःस्वार्थ हुन्छस्, तैँले आफैलाई ठुलो मान दिन्छस्। तर सबै कुराहरूमा, मानिसहरू, घटनाहरू, वस्तुहरूमाझ र उहाँको काममा परमेश्‍वरको निःस्वार्थीपन देख्‍ने कोही पनि छैन। अवस्था किन यस्तो छ त? किनकि मानिस धेरै स्वार्थी छ! म किन त्यसो भन्छु त? मानवजाति भौतिक संसारमा जिउँछ। तैँले परमेश्‍वरलाई पच्छ्याउन सक्छस्, तर तैँले कहिले पनि परमेश्‍वरले कसरी तेरो भरणपोषण गर्नुहुन्छ, कसरी तँलाई प्रेम गर्नुहुन्छ र कसरी तेरो निम्ति चासो देखाउनुहुन्छ भन्‍ने कुरा देख्दैनस् वा सराहना गर्दैनस्। त्यसो भए तैँले; के देख्छस् त? तैँले तँलाई प्रेम वा स्‍नेह गर्ने तेरो रगतको साइनो भएका आफन्तजनहरू देख्छस्। तैँले तेरो देहको निम्ति फाइदा हुने कुराहरू देख्छस्, तैँले आफूले प्रेम गर्ने मानिस र वस्तुहरूको वास्ता गर्छस्। मानिसको तथाकथित निःस्वार्थीपन भनेको नै यही हो। यद्यपि, त्यस्ता “नि:स्वार्थ” मानिसहरूले तिनीहरूलाई जीवन दिनुहुने परमेश्‍वरको बारेमा कहिले पनि चासो देखाउँदैनन्। परमेश्‍वरको निःस्वार्थीपनको तुलनामा मानिसको निःस्वार्थीपन स्वार्थी र घृणित हुन्छ। मानिसले विश्‍वास गर्ने निःस्वार्थीपन खोक्रो र अवास्तविक, मिलावट भएको, परमेश्‍वरसँग नमिल्ने र परमेश्‍वरसँग सम्बन्ध नभएको हुन्छ। मानिसको निःस्वार्थीपन उसकै निम्ति हुन्छ भने परमेश्‍वरको निःस्वार्थीपन उहाँको सारको साँचो प्रकटीकरण हो। यथार्थमा परमेश्‍वरको निःस्वार्थीपनकै कारण परमेश्‍वरद्वारा निरन्तर मानिसको भरणपोषण हुन्छ। मैले आज कुरा गर्दै गरेको विषयले तिमीहरूलाई गहिरो प्रभाव नपारेको हुन सक्छ र तिमीहरूले केवल सहमतिमा टाउको हल्लाएको मात्र हुनसक्छ, तर जब तैँले तेरो हृदयमा परमेश्‍वरको हृदयको सराहना गर्ने कोशिश गर्छस्, तैँले नचाहँदा नचाहँदै यो पत्ता लगाउनेछस्ः तैँले यो संसारमा महसुस गर्ने सबै मानिसहरू, पदार्थहरू र वस्तुहरूमाझ परमेश्‍वरको निःस्वार्थीपन मात्र वास्तविक र मूर्त छ किनकि तेरो लागि परमेश्‍वरको प्रेम मात्र शर्तरहित र निष्कलङ्‍क छ। परमेश्‍वरबाहेक अरू जोकोहीको निःस्वार्थीपन बनावटी, सतही, अनधिकृत हन्छ; यसमा उद्देश्य हुन्छ, निश्‍चित अभिप्रायहरू हुन्छन्, यसमा केही पाउँदा केही गुमाउने हुन्छ र यो परिक्षामा खरो उत्रन सक्दैन। तिमीहरूले यसलाई घृणित र निन्दनीय समेत भन्‍न सक्दैनौ। के तिमीहरू यी वचनहरूप्रति सहमत छौ?

तिमीहरू यी विषयहरूप्रति अपरिचित छौ र तिमीहरूले यसलाई साँचो तवरले बुझ्‍नुअगाडि त्यसमा डुब्‍नको निम्ति तिमीहरूलाई केही समयको जरुरत छ भन्‍ने मलाई थाहा छ। तिमीहरू यी मामिला र विषयहरूप्रति जति अपरिचित हुन्छौ, त्यति नै यी विषयहरू तिमीहरूका हृदयमा छैनन् भन्‍ने यसले प्रमाणित गर्छ। यदि मैले यी विषयहरू उल्लेख नगरेको भए, तिमीहरूमध्ये कसैले तिनीहरूको बारेमा जान्‍ने थियो त? मलाई विश्‍वास छ, तिमीहरूले तिनीहरूलाई जान्‍ने थिएनौ। यो निश्‍चय नै हो। तिमीहरूले जति नै बोध गर्न वा बुझ्‍न सके तापनि छोटकरीमा भन्‍नुपर्दा मैले बोल्ने विषयहरू मानिसहरूमा सबैभन्दा धेरै कमी भएको र तिनीहरूले सबैभन्दा धेरै जान्‍नुपर्ने विषयहरू हुन्। यी विषयहरू सबैका लागि धेरै महत्त्वपूर्ण छन्—तिनीहरू मूल्यवान छन् र तिनीहरू जीवन हुन् र अगाडिको यात्राको निम्ति तिमीहरूमा यी कुराहरू हुनैपर्छ। मार्गनिर्देश गर्ने यी वचनहरूविना तथा परमेश्‍वरको स्वभाव र सारको बुझाइविना तैँले परमेश्‍वरको बारेमा सधैँ प्रश्‍नचिन्ह बोकेर हिँड्नेछस्। यदि तैँले परमेश्‍वरलाई नै बुझ्दैनस् भने तैँले कसरी परमेश्‍वरमाथि उचित तवरले विश्‍वास गर्न सक्छस्? परमेश्‍वरका भावनाहरू, उहाँको इच्छा, उहाँको मनको अवस्था, उहाँले के सोच्दै हुनुहुन्छ, केले उहाँलाई दुःखी तुल्याउँछ र केले उहाँलाई खुसी तुल्याउँछ भन्‍ने बारेमा तँलाई केही थाहा छैन, यसैले तँ कसरी परमेश्‍वरको हृदयप्रति विचारशील हुन सक्छस्?

परमेश्‍वर दुःखी हुनुहुँदा उहाँलाई पटक्कै ध्यान नदिने मानिसजातिको उहाँले सामना गर्नुहुन्छ, एउटा यस्तो मानवजाति जसले उहाँलाई पछ्याउँछ र उहाँलाई प्रेम गर्छु भन्‍ने दावी गर्छ तर उहाँका अनुभूतिहरूलाई उपेक्षा गर्छ। उहाँको हृदय कसरी पीडामा हुँदैन र? परमेश्‍वरको व्यवस्थापनको काममा उहाँले आफ्नो कामलाई इमान्दारिताका साथ आफ्नो कार्य जारी राख्‍नुहुन्छ र हरेक व्यक्तिसँग बोल्‍नुहुन्छ र कुनै सन्देह वा गोप्यताविना नै तिनीहरूको सामना गर्नुहुन्छ; तर यसको विपरीत उहाँलाई पच्छ्याउने हरेक व्यक्तिले उहाँको नजिक जाने मार्ग बन्द गरेर बस्छ र कोही पनि सक्रिय तरिकाले उहाँको नजिक जान, उहाँको हृदयलाई बझ्‍न वा उहाँका अनुभूतिहरूप्रति ध्यान दिन इच्छुक छैन। परमेश्‍वरको नजिक हुन चाहनेहरू पनि उहाँको नजिक हुन, उहाँको हृदयप्रति विचारशील हुन वा उहाँलाई बुझ्‍न कोसिस गर्न चाहदैनन्। परमेश्‍वर आनन्द र खुसी हुनुहुँदा उहाँको खुसी बाँड्ने कोही पनि छैन। मानिसहरूले परमेश्‍वरलाई गलत रूपमा बुझ्दा उहाँको घाइते हृदयलाई सान्त्वना दिने एक जना पनि छैन। जब उहाँको हृदय पीडामा हुन्छ, तब उहाँको व्यथा सुन्न इच्छुक एक जना पनि छैन। परमेश्‍वरको व्यवस्थापनको कामका यी हजारौँ वर्षहरूमा परमेश्‍वरको छेउमा खडा भएर उहाँका आनन्द र शोकहरू बाँडचुँड गर्ने त परै जाओस् परमेश्‍वरको भावनाहरू बुझ्‍ने पनि कोही छैन, उहाँलाई बुझ्‍ने वा उहाँको सराहना गर्ने कोही पनि छैन। परमेश्‍वर एकलो हुनुहुन्छ। उहाँ एकलो हुनुहुन्छ! भ्रष्ट मानवजातिले उहाँको विरोध गरेको कारण उहाँ एकलो हुनुभएको होइन, बरु आत्मिक हुन चाहनेहरू, परमेश्‍वरलाई चिन्‍न र बुझ्‍न चाहनेहरू र आफ्नो जीवन उहाँको निम्ति अर्पण गर्न इच्छुक भएकाहरूले पनि उहाँका विचारहरू नजान्ने वा उहाँको स्वभाव र उहाँका भावनाहरू नबुझ्ने कारणले गर्दा हो।

नोआको कथाको अन्त्यमा परमेश्‍वरले आफ्नो अनुभूतिलाई व्यक्त गर्न अनौठो विधिको प्रयोग गर्नुभएको हामी देख्छौँ। यो धेरै विशेष विधि थियोः यो संसारलाई जलप्रलयद्वारा नष्ट गर्ने परमेश्‍वरको कार्यलाई अन्त गर्ने करार स्थापित गर्ने कार्य थियो। सतहमा करार स्थापित गर्नु सामान्य कुरा जस्तै लाग्छ। यो दुई पक्षका हितहरूको रक्षा गर्नको निम्ति दुबै पक्षलाई एकसाथ जोड्ने र सहमति तोड्नदेखि रोक्‍न वचनहरूको प्रयोग गर्नुभन्दा धेरै होइन। बनावटलाई हेर्दा, यो धेरै सामान्य कुरा हो, तर यसो गर्नुपछाडिको परमेश्‍वरको अभिप्रेरणा र इरादालाई हेर्ने हो भने यो परमेश्‍वरको स्वभाव र मनको स्थितिको वास्तविक प्रकटीकरण हो। यदि तैँले यी वचनहरूलाई पन्छाएर तिनीहरूलाई बेवास्ता गरिस् भने, यदि मैले तिमीहरूलाई सत्य कुरा कहिले भनिनँ भने, मानवजातिले परमेश्‍वरको सोचलाई कहिले जान्‍ने छैन। सायद तेरो कल्पनामा यो करार बाँध्दा परमेश्‍वर मुस्कुराइरहनुभएको थियो होला वा सायद उहाँको मुहारको भाव गम्भीर थियो होला, तर परमेश्‍वरको मुहारको भाव कस्तो थियो भनेर मानिसहरूले सामान्य भावहरूजस्तो कल्पना गरे तापनि उहाँको एकलोपनको त कुरै छोडौं कसैले पनि परमेश्‍वरको हृदय वा उहाँका पीडा देख्‍न सक्दैनथियो। कसैले पनि आफूमाथि भरोसा गर्न परमेश्‍वरलाई बाध्य पार्न सक्दैन वा कसैले पनि आफुलाई परमेश्‍वरको भरोसायोग्य बनाउन सक्दैन वा उहाँले आफ्ना विचारहरू अभिव्यक्त गर्नुहुने वा उहाँका पीडाहरू गोप्य रूपमा सुनाउनुहुने व्यक्ति बनाउन सक्दैन। त्यसैले परमेश्‍वरसँग यसो गर्नुबाहेक कुनै विकल्प थिएन। सतही रूपमा, परमेश्‍वरले मानवजातिलाई सजिलै विदाइ गर्ने सजिलो कार्य गर्नुभयो, संसारलाई जलप्रलयद्वारा अन्त गरेर उहाँले पुराना कुराहरूलाई समाधान र उचित अन्त्य गर्नुभयो। तथापि, परमेश्‍वरले यस बेलाको पीडालाई हृदयको गहिराइमा लुकाएर राख्‍नुभयो। परमेश्‍वरले आफ्ना व्यथाहरू सुनाउनको लागि कोही नभएको बेला, उहाँले संसारलाई फेरि जलप्रलयद्वारा नष्ट गर्नुहुनेछैन भनेर परमेश्‍वरले मानवजातिसँग करार स्थापित गर्नुभयो। जब इन्द्रेणी देखा पर्‍यो, यसको उद्देश्य मानिसहरूलाई यस्तो घटना पनि घटेको थियो भन्ने कुराको सम्झना दिलाउनु र तिनीहरू दुष्टताबाट अलग रहनुपर्छ भनी सावधान गराउनु थियो। त्यस्तो पीडादायी अवस्थामा पनि परमेश्‍वरले मानवजातिलाई बिर्सनुभएन र अझ पनि तिनीहरूको निम्ति चासो देखाउनुभयो। के यो परमेश्‍वरको प्रेम र निःस्वार्थीपन होइन र? तर मानिसहरूले कष्ट भोग्दा के सोच्छन् त? के यही बेला तिनीहरूलाई परमेश्‍वरको सबैभन्दा बढी आवश्यकता पर्दैन र? यस्तो समयमा, परमेश्‍वरबाट तिनीहरूलाई सान्त्वना मिलोस् भनेर मानिसहरूले परमेश्‍वरलाई निम्त्याउँछन्। जेसुकै भए पनि, परमेश्‍वरले मानिसहरूलाई कहिले पनि निराश पार्नुहुन्न, र उहाँले सधैं मानिसहरूलाई तिनीहरूका कठिन परिस्थितिहरूबाट बाहिर निस्कन र ज्योतिमा हिँड्न सक्षम तुल्याउनुहुन्छ। परमेश्‍वरले मानवजातिको निम्ति यसरी प्रबन्ध गर्नुहुने भए तापनि मानिसको हृदयमा परमेश्‍वर शान्ति दिने चक्की वा सान्त्वना दिने औषधिभन्दा बढी हुनुहुन्‍न। परमेश्‍वर कष्टमा हुनुभएको बेला, उहाँको हृदय घायल भएको बेला, सृष्टि गरिएको प्राणी वा उहाँलाई साथ दिने वा उहाँलाई सान्त्वना दिने व्यक्ति पाउन चाहनु परमेश्‍वरको असाधरण इच्छा हो। मानिसले कहिले पनि परमेश्‍वरको अनुभूतिहरूप्रति ध्यान दिँदैन, यसैले परमेश्‍वरले उहाँलाई सान्त्वना दिने व्यक्ति न त माग्नुहुन्छ न त आशा गर्नुहुन्छ। उहाँले आफ्नो भाव व्यक्त गर्नको निम्ति आफ्नै विधिहरूको प्रयोग गर्नुहुन्छ। केही कष्टहरू भोग्नु परमेश्‍वरको निम्ति ठुलो कठिनाइको कुरा होइन भनेर मानिसहरूले सोच्छन्, तर जब तैँले साँचो रूपमा परमेश्‍वरलाई बुझ्‍ने कोसिस गर्छस्, जब उहाँले गर्नुभएका हरेक कुराहरूप्रति परमेश्‍वरको इमान्दार इरादाहरूलाई सराहना गर्न सक्छस् तब मात्र तैँले परमेश्‍वरको महानता र उहाँको निःस्वार्थीपनलाई बुझ्‍न सक्छस्। परमेश्‍वरले इन्द्रेणीको प्रयोग गरेर मानवजातिसँग करार स्थापित गर्नुभए तापनि उहाँले किन यसो गर्नुभयो—उहाँले यो करार किन स्थापित गर्नुभयो—भनेर कसैलाई पनि भन्‍नुभएन, अर्थात् उहाँले आफ्ना वास्तविक विचारहरू कहिले पनि कसैलाई भन्‍नुभएन। किनकि परमेश्‍वरले आफ्नै हातहरूले सृष्टि गर्नुभएका मानवजातिप्रति उहाँको प्रेमको गहिराइलाई कसैले पनि बुझ्‍न सक्दैन, र मानवजातिको विनाश गर्दा उहाँको हृदयले भोगेको कष्टलाई पनि कसैले सराहना गर्न सक्दैन। यसैले, उहाँले कस्तो अनुभूति गर्नुभयो भनेर माननिसहरूलाई भन्‍नुहुन्थ्यो भने पनि तिनीहरूले उहाँको भरोसा लिन सक्‍ने थिएनन्। कष्टमा हुँदाहुँदै पनि उहाँले आफ्नो कामको अर्को चरणलाई अझ पनि निरन्तरता दिइरहनुभएको छ। सबै कष्टहरूलाई चुपचाप आफैँ सहनुहँदै परमेश्‍वरले मानवजातिलाई सधैँ आफ्नो सर्वोत्तम पक्ष र सबैभन्दा असल थोकहरू दिनुहुन्छ। परमेश्‍वरले कहिले पनि ती कष्टहरूको खुलासा गर्नुहुन्न। बरु, उहाँले तिनीहरूलाई सहनुहुन्छ र चुपचाप प्रतीक्षा गर्नुहुन्छ। परमेश्‍वरको सहनशीलता उदासीन, सुस्त वा असहाय छैन न त यो कमजोरीको सङ्केत नै हो। बरु उहाँको प्रेम र सार सधैँ निःस्वार्थ रहिआएको छ। यो उहाँको सार र स्वभावको स्वभाविक प्रकटीकरण र साँचो सृष्टिकर्ताको रूपमा परमेश्‍वरको पहिचानको वास्तविक मूर्तरूप हो।

केहीले मैले भन्‍न खोजेको कुराको गलत व्याख्या गर्न सक्छन्। “मानिसहरूलाई परमेश्‍वरप्रति दयाको अनुभव गराउने इरादाले परमेश्‍वरको अनुभूतिहरूलाई यति धेरै भावका साथ यसरी विस्तारमा वर्णन गरिएको हो र?” के त्यही इरादा हो त? (होइन!) मैले तिमीहरूलाई यी कुराहरू बताउनुको उद्देश्य तिमीहरूले परमेश्‍वरलाई अझ राम्ररी चिन्‍ने, उहाँका असङ्ख्य पक्षहरू बुझ्‍ने, उहाँका भावनाहरू बुझ्‍ने तथा परमेश्‍वरको सार र स्वभाव मानिसका खोक्रा शब्दहरू वा तिनीहरूका अक्षर र सिद्धान्तहरू वा तिनीहरूका कल्पनाहरूद्वारा होइन बरु अलिअलि गर्दै उहाँका कामद्वारा ठोस रूपमा प्रकट गरिएका छन् भन्‍ने कुराको सराहना गर्ने बनाउनु हो। यसको अर्थ, परमेश्‍वर र परमेश्‍वरको सार साँच्चिकै अस्तित्वमा छ—तिनीहरू चित्रहरू होइनन्, कल्पनाहरू होइनन्, मानिसद्वारा बनाइएका होइनन् र निश्‍च्य नै मानिसका मनगढन्ते कुरा होइनन्। के अब तिमीहरूले यसलाई पहिचान गर्‍यौ त? यदि तिमीहरूले यसको पहिचान गर्‍यौ भने आजका मेरा वचनहरूले आफ्नो लक्ष्य हासिल गरे।

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् १” बाट उद्धृत गरिएको

तपाईं र तपाईंको परिवार बाँच्ने बारेमा एउटा ठूलो कुरा: के तपाईं ठूला विपत्तिहरूमा कसरी सुरक्षा प्राप्त गर्ने र बच्ने भनेर सोच्नुहुन्छ? तलको बटनमा क्लिक गर्नुहोस् र तपाईंले बाटो पाउनुहुनेछ।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरले संसारलाई जलप्रलयद्वारा नष्ट गर्ने अभिप्राय राख्‍नुहुन्छ र नोआलाई जहाज बनाउने निर्देशन दिनुहुन्छ

उत्पत्ति ६:९-१४ नोआका पुस्ताहरू यी नै हुन्: नोआ तिनका पुस्ताका एक धर्मी र सिद्ध मानिस थिए र नोआ परमेश्‍वरसँग हिँड्थे। र नोआले तीन छोराहरू...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्