परमेश्वरले आदम र हव्वाको निम्ति छालाका लुगा बनाउनुहुन्छ
उत्पत्ति ३:२०-२१ अनि आदमले आफ्नी पत्नीको नाउँ हव्वा राखे; किनभने तिनी सारा जीवितहरूकी आमा थिइन्। यहोवा परमेश्वरले आदम र तिनकी पत्नीका निम्ति छालाका वस्त्रहरू बनाइदिनुभयो र तिनीहरूलाई लगाइदिनुभयो।
यस तेस्रो खण्डलाई हेरौँ, जसले के उल्लेख गर्छ भने, आदमले हव्वालाई नाम दिनुको पछाडि वास्तवमा अर्थ छ। सृष्टि गरिएपछि, आदमसँग उसका आफ्नै विचारहरू थिए र उसले धेरै कुरा बुझ्थ्यो भन्ने यसले देखाउँछ। तर अहिलेको निम्ति, उसले के बुझ्यो र उसले कति बुझ्यो भन्ने कुराको हामी अध्ययन वा खोजी गर्न गइरहेका छैनौँ, किनकि तेस्रो खण्ड छलफल गर्नुको मेरो उद्देश्य त्यो होइन। त्यसो भए, मैले जोड दिन खोजेको मूल बुँदा के हो त? यस पङ्क्तिलाई हेरौँ, “यहोवा परमेश्वरले आदम र तिनकी पत्नीका निम्ति छालाका वस्त्रहरू बनाइदिनुभयो र तिनीहरूलाई लगाइदिनुभयो।” आजको हाम्रो सङ्गतिमा हामीले धर्मशास्त्रको यस पङ्क्तिको बारेमा छलफल गरेनौँ भने, यी वचनहरूका गहिरा आशयहरूलाई तिमीहरूले कहिल्यै पनि स्पष्ट रूपमा बुझ्न सक्दैनौ। सुरुमा, म केही सङ्केतहरू दिन्छु। तिमीहरू इच्छा गर्छौ भने, आदम र हव्वा बसोबास गरिरहेका अदनको बगैँचाको कल्पना गर। परमेश्वर तिनीहरूलाई भेट गर्न जानुहुन्छ, तर तिनीहरू नाङ्गै भएका कारण तिनीहरू लुक्छन्। परमेश्वरले तिनीहरूलाई देख्न सक्नुहुन्न र उहाँले तिनीहरूलाई बोलाउनुभएपछि, तिनीहरू भन्छन्, “हाम्रा शरीरहरू नाङ्गै भएका कारण हामीले तपाईंलाई भेट्ने हिम्मत गरेनौँ।” तिनीहरू नाङ्गै भएका कारण तिनीहरूले परमेश्वरलाई भेट्ने हिम्मत गर्दैनन्। त्यसो भए, यहोवा परमेश्वरले तिनीहरूको निम्ति के गर्नुहुन्छ? मूल पाठले भन्छ: “यहोवा परमेश्वरले आदम र तिनकी पत्नीका निम्ति छालाका वस्त्रहरू बनाइदिनुभयो र तिनीहरूलाई लगाइदिनुभयो।” यसबाट, परमेश्वरले तिनीहरूको लुगा बनाउनको निम्ति के प्रयोग गर्नुभयो भनेर के तिमीहरू बुझ्छौ? परमेश्वरले तिनीहरूको लुगा बनाउनको निम्ति जनावरको छाला प्रयोग गर्नुभयो। यसको अर्थ, मानिसले वस्त्रको रूपमा लगाऊन् भनेर परमेश्वरले जनावरको रौँको लुगा बनाउनुभयो। परमेश्वरले मानिसको निम्ति बनाउनुभएको पहिलो पहिरन यिनै थिए। आजको मापदण्डअनुसार जनावरको रौँको लुगा विलासी वस्तु हो र सबैले यसलाई किनेर लगाउन सक्दैनन्। यदि कसैले तँलाई सोध्छ: “हाम्रा पुर्खाहरूले लगाएको पहिलो पहिरन के थियो?” तैँले जवाफ दिन सक्छस्: “जनावरको रौँको कपडा।” “त्यो रौँको लुगा कसले बनायो?” तैँले यस्तो जवाफ दिन सक्छस्: “यसलाई परमेश्वरले बनाउनुभयो!” यो नै यहाँको मुख्य बुँदा हो: यो लुगा परमेश्वरले बनाउनुभएको थियो। के यो छलफल गर्न योग्य कुरा होइन? मेरो वर्णन सुनेपछि, के तिमीहरूको मनमा एउटा तस्विर आयो? कम्तीमा पनि मोटामोटी ढाँचा तिमीहरूमा हुनुपर्ने हो। मानिसको पहिलो पहिरन के थियो भन्ने कुरा तिमीहरूलाई थाहा होस् भनेर मैले यसो भनेको होइन। त्यसो भए कुरा के हो त? विषयचाहिँ जनावरको रौँको लुगा होइन, तर उहाँले यहाँ गर्नुभएका कुरामा परमेश्वरले प्रकट गर्नुभए अनुसार उहाँको स्वभाव, उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यसलाई मानिसहरूले कसरी बुझ्छन् भन्ने कुराको हो।
“यहोवा परमेश्वरले आदम र तिनकी पत्नीका निम्ति छालाका वस्त्रहरू बनाइदिनुभयो र तिनीहरूलाई लगाइदिनुभयो।” यस दृश्यमा, परमेश्वरले आदम र हव्वासँग हुँदा कस्तो भूमिका लिनुभयो भन्ने हामी देख्छौँ? केवल दुई जना मानवप्राणी मात्र रहेको यस संसारमा परमेश्वरले आफैलाई कसरी प्रकट गर्नुहुन्छ? के उहाँले आफैलाई परमेश्वरको भूमिकामा प्रकट गर्नुहुन्छ? हङकङका दाजुभाइ र दिदीबहिनीहरू, जवाफ देऊ। (बाबुआमाको भूमिकामा।) दक्षिण कोरियाका भाइ-बहिनीहरू, परमेश्वर कस्तो भूमिकामा देखा पर्नुहुन्छ भनी तिमीहरू सोच्छौ? (परिवारको शिर।) ताइवानका भाइ-बहिनीहरू, तिमीहरू के सोच्छौ? (आदम र हव्वाको परिवारको सदस्यको भूमिका।) परमेश्वर आदम र हव्वाको परिवारको सदस्यको रूपमा देखा पर्नुहुन्छ भनेर तिमीहरूमध्ये केहीले सोच्छौ भने, केहीले परमेश्वर परिवारको शिरको रूपमा देखा पर्नुहुन्छ भनी भन्छन् र अन्यले उहाँ बाबुआमाको रूपमा देखा पर्नुहुन्छ भनी भन्छन्। यी सबै धेरै नै उचित छन्। तर म के भन्न खोज्दैछु भन्ने के तिमीहरू देख्छौ? परमेश्वरले यी दुई मानिसको सृष्टि गर्नुभयो र तिनीहरूलाई आफ्नै सङ्गीहरूको रूपमा व्यवहार गर्नुभयो। तिनीहरूको एक मात्र परिवारको रूपमा परमेश्वरले तिनीहरूको जीवनको हेरचाह गर्नुभयो र तिनीहरूको गाँस, बास र कपासका आवश्यकताहरू पूरा गर्नुभयो। यहाँ, परमेश्वर आदम र हव्वाको बाबुआमाको रूपमा देखापर्नुहुन्छ। जब परमेश्वरले यसो गर्नुहुन्छ, मानिसले परमेश्वर कति उच्च हुनुहुन्छ भन्ने देख्दैन; उसले परमेश्वरको सर्व-श्रेष्ठता, उहाँको रहस्य र विशेष गरी उहाँको क्रोध वा प्रतापलाई देख्दैन। उसले मानिसप्रतिको परमेश्वरको विनम्रता, उहाँको स्नेह, उहाँको चासो र उसको निम्ति उहाँको जिम्मेवारी र वास्ता मात्र देख्छ। आदम र हव्वासँग परमेश्वरले गर्नुभएको व्यवहारको मनोवृत्ति र तरिका आमाबुबाले आफ्ना छोराछोरीहरूलाई गर्ने व्यवहारसँग मेल खान्छन्। आमाबाबुले आफ्ना छोरा-छोरीहरूलाई कसरी प्रेम, हेरचाह र वास्ता गर्छन् यो त्यस्तै पनि छ—वास्तविक, देख्न सकिने र मूर्त। आफैलाई उच्च र शक्तिशाली स्थानमा उठाउनुको साटो, परमेश्वरले व्यक्तिगत रूपमा मानिसको लागि पहिरन बनाउन छालाको प्रयोग गर्नुभयो। यो जनावरको रौँको लुगा तिनीहरूको लाज ढाक्नको लागि थियो कि तिनीहरूलाई जाडोबाट बचाउनका लागि थियो त्यो महत्त्वपूर्ण छैन। मानिसको शरीर ढाक्ने यो पहिरन परमेश्वरले व्यक्तिगत रूपमा आफ्नै हातले बनाउनुभएको थियो भन्ने कुरा चाहिँ महत्त्वपूर्ण छ। परमेश्वरले गर्नुहुन्छ भनी मानिसहरूले कल्पना गरे जस्तो पहिरनलाई अस्तित्वमा ल्याउन वा अन्य आश्चर्यजनक माध्यमको प्रयोग गर्ने बारेमा सोच्नु भन्दा पनि परमेश्वरले गर्नुहुन्न होला वा उहाँले यसो गर्नु हुँदैन भनेर मानिसले सोच्ने किसिमको काम नै परमेश्वरले वैधानिक रूपमा गर्नुभयो। यो सानो कुरा जस्तो देखिन्छ—यो कुरा उल्लेखनीय छ भन्ने समेत कतिपय मानिसहरूलाई लाग्दैन—तर यसले उहाँको बारेमा अस्पष्ट धारणाहरू बोकेर परमेश्वरलाई पछ्याउने कुनै पनि व्यक्तिलाई उहाँको सच्चाइ र सुन्दरताको बारेमा अन्तर्दृष्टि प्राप्त गर्ने र उहाँको विश्वासयोग्यता र विनम्रता देख्ने तुल्याउँछ। यसले आफैलाई उच्च र शक्तिशाली ठान्ने अत्यन्तै अहङ्कारी मानिसहरूलाई परमेश्वरको सच्चाइ र विनम्रताको सामुन्ने आफ्ना घमण्डी शिरहरू लाजले झुकाउने बनाउँछ। यहाँ परमेश्वरको सच्चाइ र विनम्रताले मानिसहरूलाई परमेश्वर कति स्नेही हुनुहुन्छ भन्ने कुरा देख्न थप सक्षम बनाउँछ। यसको विपरीत, मानिसहरूले आफ्ना हृदयमा राखेका “अपार” परमेश्वर, “स्नेही” परमेश्वर र “सर्वशक्तिमान्” परमेश्वर तुच्छ र कुरूप बनेको छ र सानो छुवाइले पनि चकनाचूर हुन्छ। जब तैँले यो पद देख्छस् र यो कथा सुन्छस्, परमेश्वरले यस्तो कुरा गर्नुभएको कारण के तैँले परमेश्वरलाई तिरस्कार गर्छस्? केही मानिसहरूले त्यसो गर्लान्, तर अरूले उल्टो प्रतिक्रिया दिनेछन्। तिनीहरूले परमेश्वर सच्चा र प्रेमयोग्य हुनुहुन्छ र परमेश्वरको सच्चाइ र सुन्दरताले नै तिनीहरूलाई द्रवीभूत पार्छ। तिनीहरूले परमेश्वरको वास्तविक पक्ष जति धेरै देख्छन्, तिनीहरूले त्यति नै धेरै परमेश्वरको प्रेमको साँचो अस्तित्व, आफ्ना हृदयमा परमेश्वरको महत्त्व, र उहाँ हरेक क्षण कसरी तिनीहरूको छेउमा खडा हुनुहुन्छ भन्ने कुराको सराहना गर्न सक्छन्।
अब, हाम्रो छलफललाई वर्तमानसँग जोडौँ। यदि परमेश्वरले आफूले सुरुमा सृष्टि गर्नुभएका मानिसहरूको निम्ति मानिसहरूले सोच्न वा अपेक्षा गर्न पनि हिम्मत गर्न नसक्ने यी विभिन्न साना कुराहरू गर्न सक्नुहुन्छ भने, के परमेश्वरले आजका मानिसहरूको निम्ति पनि यस्ता कुराहरू गर्न सक्नुहुन्छ? केहीले भन्छन्, “सक्नुहुन्छ!” किन सक्नुहुन्छ त? किनकि परमेश्वरको सार बहाना होइन र उहाँको सुन्दरता बहाना होइन। परमेश्वरको सार वास्तवमा नै अस्तित्वमा छ र यो अरूले थप्ने कुरा होइन, र फरक समय, ठाउँ र युगहरू अनुसार बदलिने कुरा होइन। मानिसहरूले सामान्य र नगण्य सोचेका कुराहरू गरेर मात्र परमेश्वरको सच्चाइ र सुन्दरतालाई साँचो रूपमा बाहिर ल्याउन सकिन्छ—यो यति सामान्य हुन्छ कि उहाँले यो कुरा गर्न सक्नुहुन्छ भन्ने कुरा मानिसहरूले सोच्न पनि सक्दैनन्। परमेश्वर कपटी हुनुहुन्न। उहाँको स्वभाव र सारमा कुनै पनि अतिशयोक्ति, भेष बदल्ने कुरा, घमण्ड वा अहङ्कार छैन। उहाँले कहिले पनि सेखी गर्नुहुन्न, तर उहाँले सृष्टि गर्नुभएको मानवजातिलाई विश्वासयोग्यता र निष्कपटताका साथ प्रेम गर्नुहुन्छ, वास्ता गर्नुहुन्छ, हेरचाह गर्नुहुन्छ, अगुवाइ गर्नुहुन्छ। परमेश्वरले गर्नुहुने कामलाई मानिसहरूले जति थोरै सराहना, अनुभव गरे पनि वा देखे पनि, उहाँले यो कार्य निश्चय नै गर्दै हुनुहुन्छ। परमेश्वरसँग यस्तो सार छ भन्ने कुरा जानेर के यसले परमेश्वरप्रति भएको मानिसहरूको प्रेमलाई प्रभाव पार्छ? के यसले परमेश्वरप्रति भएको तिनीहरूको भयलाई प्रभाव पार्छ? मलाई आशा छ तैँले परमेश्वरको वास्तविक पक्ष बुझेपछि, तँ अझ उहाँको नजिक जानेछस् र मानवजातिप्रतिको उहाँको प्रेम र वास्तालाई साँचो रूपले सराहना गर्न सक्नेछस्, साथै तेरो हृदय परमेश्वरलाई दिन सक्नेछस् र उहाँ बारेका सन्देह र शङ्काहरूदेखि छुटकारा पाउनेछस्। परमेश्वरले मानिसको निम्ति सबै कुरा चुपचाप गर्दैहुनुहुन्छ, सबै कुरा उहाँको निष्कपटता, विश्वासयोग्यता र प्रेमका साथ शान्तिपूर्वक तरिकाले गर्दैहुनुहुन्छ। तर उहाँले गर्नुहुने कुराहरूप्रति उहाँमा कुनै आशङ्का वा पछुतोहरू छैनन्, न त कसैले कुनै पनि तरिकाले उहाँले गर्नुभएका कुराको मूल्य चुकाउन नै आवश्यक छ वा मानवजातिबाट केही प्राप्त गर्ने अभिप्राय नै उहाँसँग छ। मानवजातिको साँचो विश्वास र प्रेम प्राप्त गर्नु नै उहाँले गर्नुभएका सबै कुराको एक मात्र उद्देश्य हो। र यसैको साथ, पहिलो विषयलाई म यहीँ अन्त गर्नेछु।
के यी छलफलहरूले तिमीहरूलाई सहायता गर्यो? ती कति सहयोगी भएका छन्? (हामीसँग परमेश्वरको प्रेमको बारेमा अझै धेरै बुझाइ र ज्ञान छ।) (सङ्गतिको यस विधिले हामीलाई भविष्यमा परमेश्वरको वचनको सराहना गर्न, उहाँका भावनाहरू र उहाँले ती कुराहरू भन्नुहुँदा उहाँले भन्नुभएका कुराहरू पछाडिका अर्थ बुझ्न र उहाँले त्यस समय कस्तो महसुस गर्नुभयो भन्ने कुरा बुझ्न मदत गर्न सक्छ।) के तिमीहरूमध्ये कोही यी वचनहरू पढेपछि परमेश्वरको वास्तविक अस्तित्वको बारेमा अझ उत्कट तवरले सजग छौ? के परमेश्वरको अस्तित्व खोक्रो र अस्पष्ट छैन रहेछ भन्ने अनुभव गर्छौ? तिमीहरूले यसको अनुभव गरेपछि, के तिमीहरूले परमेश्वर तिमीहरूको छेवैमा हुनुहुन्छ भन्ने महसुस गर्न सक्छौ? सायद अहिले त्यो अनुभूति त्यति स्पष्ट छैन वा तिमीहरूले अझै त्यसको महसुस गर्न सकेका छैनौ होला। तर एक दिन, जब तिमीहरूका हृदयमा साँचो रूपमा गहिरो बुझाइ र परमेश्वरको स्वभाव र सारको वास्तविक ज्ञान हुन्छ, तब तैँले परमेश्वर तेरो छेवैमा हुनुहुन्छ भन्ने अनुभूति गर्न सक्नेछस्—तैँले आफ्नो हृदयमा परमेश्वरलाई कहिल्यै पनि साँचो रूपमा स्वीकार गरेको थिइनस्। र सत्य यही हो!
सङ्गतिको यस तरिकाको बारेमा तिमीहरूलाई के लाग्छ? के तिमीहरूले यसलाई बुझ्न सक्छौ? के तिमीहरूलाई परमेश्वरको काम र परमेश्वरको स्वभाव सम्बन्धी विषय ज्यादै भारी लाग्छ? तिमीहरूलाई कस्तो लाग्छ? (धेरै राम्रो, उत्साहित।) के कुराले तिमीहरूलाई राम्रो महसुस गरायो? तिमीहरू किन उत्साहित भयौ? (यो अदनको बगैँचामा अर्थात् परमेश्वरको छेउमा फर्केर गए जस्तै थियो।) “परमेश्वरको स्वभाव” मानिसहरूको निम्ति वास्तवमा अपरिचित विषय हो, किनकि तिमीहरूले प्रायजसो कल्पना गर्ने र पुस्तकहरूमा पढ्ने र सङ्गतिहरूमा सुन्ने कुराहरूले तिमीहरूलाई हात्ती छुने दृष्टिविहीन व्यक्तिहरू जस्तै महसुस गराएको छ—तिमीहरूले आफ्ना हातहरूले छामिरहेका मात्र छौ, तर वास्तवमा तिमीहरूले कल्पनामा वास्तविक चित्र उतार्न सक्दैनौ। अन्धाधुन्ध यताउता छामछुम गरेर यसले तँलाई परमेश्वरको बारेमा अपूर्ण बुझाइ पनि दिँदैन, उहाँ सम्बन्धी स्पष्ट अवधारणाको त कुरै नगरौँ; यसले परमेश्वरको स्वभाव र सारको उचित परिभाषा दिनबाट तँलाई रोकेर तेरो कल्पनालाई भड्काउने काम मात्र गर्छ र तेरो कल्पनाबाट उत्पन्न अनिश्चितताहरूले तेरो हृदयमा अपरिहार्य रूपमै शङ्काहरू भर्नेछ। जब तँ केही कुराको बारेमा निश्चित हुँदैनस् तर पनि बुझ्ने कोसिस गर्छस्, तब तेरो हृदयमा सधैँ विरोधाभासहरू तथा द्वन्द्व हुनेछन् र तँमा अशान्तिको भाव पनि हुनेछ, जसले तँलाई भ्रमित र अन्योलमा पार्नेछन्। परमेश्वरको खोजी गर्न, परमेश्वरलाई जान्न र उहाँलाई स्पष्ट देख्न खोज्ने चाहना गर्नु तर कहिले पनि जवाफ पत्ता लगाउन नसक्ने जस्तो देखिनु पीडादायी कुरा होइन र? अवश्य नै, यी वचनहरू परमेश्वरको डर मान्न र उहाँलाई सन्तुष्ट तुल्याउन खोज्नेहरूको निम्ति लक्षित छन्। यस्ता कुराहरूमा ध्यान नदिने मानिसहरूको निम्ति यसले केही अर्थ राख्दैन, किनकि परमेश्वरको वास्तविकता र अस्तित्व केवल किंवदन्ती वा कल्पना हुन् भन्ने कुरा तिनीहरूले सबैभन्दा बढी आशा गरेको कुरा हो, ताकि तिनीहरूले आफूलाई जे मन लाग्छ त्यही गर्न सकून्, ताकि तिनीहरू सबैभन्दा ठूलो र सबैभन्दा महत्त्वपूर्ण हुन सकून्, ताकि तिनीहरूले परिणामहरूको कुनै मतलब नै नराखी दुष्ट कामहरू गर्न सकून्, यसैले तिनीहरूले दण्डको सामना गर्न वा कुनै जिम्मेवारी बहन गर्न नपरोस्, ताकि परमेश्वरले दुष्ट काम गर्नेहरूका निम्ति भन्नुभएका कुराहरू तिनीहरूमा लागू नहोस्। यी मानिसहरू परमेश्वरको स्वभाव बुझ्नको निम्ति इच्छुक छैनन्। परमेश्वर र उहाँको बारेमा सबै कुरा जान्ने कोसिस गर्दागर्दै तिनीहरू बिरामी परेका छन् र थाकेका छन्। परमेश्वर अस्तित्वमा नभएको भए हुनेथियो भन्ने तिनीहरू रुचाउँछन्। यी मानिसहरूले परमेश्वरको विरोध गर्छन्, र तिनीहरू बहिष्कृत हुनेहरूमध्येमा पर्छन्।
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वरको काम, परमेश्वरको स्वभाव र परमेश्वर स्वयम् १
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।