परमेश्‍वरले प्रयोग गर्नुभएका व्यक्तिहरूको काम र धार्मिक अगुवाहरूको कामको बीचमा हुने भिन्नताहरू

14 अगस्ट 2021

परमेश्‍वरका प्रासंगिक वचनहरू:

पवित्र आत्माले विशेष मार्गनिर्देशन र अगुवाइ प्रदान गर्नुभएका व्यक्तिहरूबाहेक अरू कोही पनि स्वतन्त्र रूपमा जिउन सक्दैन, किनकि तिनीहरूलाई ती व्यक्तिहरूका सेवकाइ र गोठालोपनको आवश्यकता पर्छ, जसलाई परमेश्‍वरले प्रयोग गर्नुभएको हुन्छ। यसैले परमेश्‍वरले प्रत्येक युगमा विभिन्न मानिसहरूलाई खडा गर्नुहुन्छ जो उहाँको कामको खातिर मण्डलीहरूको गोठालो गर्दै व्यस्तताका साथ दौडधूप गर्छन्। यो भनेको के हो भने, परमेश्‍वरको काम ती मानिसहरूद्वारा गरिनुपर्छ जसलाई उहाँले कृपासाथ हेर्नुहुन्छ र स्वीकृति दिनुहुन्छ; पवित्र आत्माले उहाँको काम गर्नका निम्ति प्रयोग गर्न सक्नुहुने तिनीहरू भित्रको भाग प्रयोग गर्नुपर्दछ, अनि तिनीहरू पवित्र आत्माद्वारा सिद्ध तुल्याइएर परमेश्‍वरका प्रयोगका निम्ति योग्य बनाइन्छन्; मानिसको बुझ्ने क्षमता धेरै कम भएकोले तिनीहरू परमेश्‍वरद्वारा प्रयोग गरिएका व्यक्तिहरूद्वारा गोठालो गरिनुपर्छ; परमेश्‍वरले मोशालाई पनि त्यसरी नै प्रयोग गर्नुभएको थियो, जसमा उहाँले त्यो बेला प्रयोग गर्न सकिने धेरै कुरा पाउनुभयो, जुन कुराहरू तिनले त्यस चरणको परमेश्‍वरको काम गर्न प्रयोग गरे। यस चरणमा, परमेश्‍वरले एक व्यक्तिलाई प्रयोग गर्नुहुन्छ, साथै पवित्र आत्माले काममा प्रयोग गर्न सक्नुहुने त्यस व्यक्तिको भागको फाइदा उठाउनुहुन्छ, र पवित्र आत्माले उसलाई मार्गनिर्देशन गर्ने, त्यसको साथै प्रयोग हुन नसक्ने उसको बाँकी भागलाई सिद्ध पार्ने दुवै काम गर्नुहुन्छ।

परमेश्‍वरद्वारा प्रयोग गरिएको व्यक्तिले गर्ने काम ख्रीष्ट वा पवित्र आत्माको काममा सहकार्य गर्नको लागि हुन्छ। यो मानिसलाई परमेश्‍वरले मानिसको माझमा खडा गर्नुभएको हुन्छ, ऊ परमेश्‍वरका सबै चुनिएकालाई अगुवाइ गर्न त्यहाँ हुन्छ, र मानव सहकार्य गर्नका निम्ति पनि उसलाई परमेश्‍वरले खडा गर्नुभएको हुन्छ। मानव सहकार्यको काम गर्न सक्ने यस्तो व्यक्तिको साथमा मानिसहरूबाट परमेश्‍वरले गर्नुभएका मागहरू र मानिसहरूका बीचमा पवित्र आत्माले गर्नुपर्ने काम उसैको माध्यमद्वारा हासिल गर्न सकिन्छ। यसलाई अर्को प्रकारले यसरी भन्न सकिन्छ: परमेश्‍वरले यस मानिसलाई प्रयोग गर्नुको लक्ष्य परमेश्‍वरको पछि लाग्ने सबैले परमेश्‍वरको इच्छा अझै राम्ररी बुझ्‍न सकून् र परमेश्‍वरका मागहरू अझै धेरै पूरा गर्न सकून् भन्ने हो। मानिसहरूले सोझै परमेश्‍वरका वचनहरू वा परमेश्‍वरको इच्छा बुझ्‍न नसक्‍ने भएकाले परमेश्‍वरले कसैलाई खडा गर्नुभएको हुन्छ, जसलाई त्यस्ता कामहरू गर्नका निम्ति प्रयोग गरिन्छ। परमेश्‍वरद्वारा प्रयोग गरिएको यस व्यक्तिलाई एक माध्यमको रूपमा वर्णन गर्न सकिन्छ, जसद्वारा परमेश्‍वरले मानिसहरूलाई डोऱ्याउनुहुन्छ, एक “अनुवादक” को रूपमा वर्णन गर्न सकिन्छ, जसले परमेश्‍वर र मानिस माझ कुराकानी गरिदिन्छ। यसैले, त्यस्ता व्यक्तिहरू परमेश्‍वरको घरमा काम गर्नेहरू वा उहाँका प्रेरितहरूजस्ता हुँदैनन्। तिनीहरूजस्तै, उसलाई पनि परमेश्‍वरको सेवा गर्ने व्यक्ति भन्न सकिन्छ, तर उसको कामको सार र परमेश्‍वरद्वारा प्रयोग गरिएको उसको पृष्ठभूमिको आधारमा ऊ अरू कामदारहरू र प्रेरितहरूभन्दा धेरै फरक हुन्छ। उसको कामको सार र उसको प्रयोगको पृष्ठभूमिको हिसाबमा परमेश्‍वरद्वारा प्रयोग गरिएको मानिसलाई उहाँले नै खडा गर्नुहुन्छ, उसलाई परमेश्‍वरको कामका लागि परमेश्‍वरले नै तयार गर्नुहुन्छ, र उसले स्वयम् परमेश्‍वरको काममा सहकार्य गर्दछ। कुनै पनि व्यक्तिले कहिल्यै पनि उसको सट्टामा आफ्नो काम गर्न सक्दैन—ईश्‍वरीय कार्यको साथमा हुनुपर्ने अपरिहार्य मानवीय सहकार्य हो। यस बीचमा अन्य कामदारहरू वा प्रेरितहरूले गरेका कामहरू, प्रत्येक युगको अवधिमा मण्डलीहरूका लागि गरिएको बन्दोबस्तका विभिन्न पक्षहरूको साधन र कार्यान्वयन मात्र हो, वा मण्डलीको जीवनलाई कायम राख्ने जीवनका केही सामान्य प्रबन्धको काम मात्र हो। यी कामदारहरू र प्रेरितहरू परमेश्‍वरद्वारा नियुक्त गरिएका होइनन्, तिनीहरूलाई पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसहरू भनेर भन्‍न सकिने त कुरै नगरौं। तिनीहरू मण्डलीहरूको बीचबाट चुनिन्छन् र तिनीहरूलाई केही समयसम्म तालिम दिएर विकास गरिसकेपछि योग्य ठहरिएकाहरूलाई राखिन्छ, अनि अयोग्य ठहरिएकाहरूलाई तिनीहरू जहाँबाट आएका थिए त्यहीँ फर्काइन्छ। यी व्यक्तिहरूलाई मण्डलीहरूको बीचबाट चुनिने हुनाले अगुवा बनेपछि कसै-कसैले आफ्नो वास्तविक रङ्ग देखाउँछन्, अनि कसैले त धेरै खराब कामहरू गर्छन् र पदबाट हटाइन्छन्। अर्कोतिर, परमेश्‍वरद्वारा प्रयोग गरिएको मानिस त्यस्तो व्यक्ति हो जसलाई परमेश्‍वर आफैले तयार पार्नुभएको हुन्छ, र जसको कुनै निश्चित क्षमता हुन्छ, र जोसँग मानवता हुन्छ। ऊ अघिबाटै पवित्र आत्माद्वारा तयार पारिएको र सिद्ध बनाइएको हुन्छ, र ऊ पूर्ण रूपमा पवित्र आत्माद्वारा डोऱ्याइन्छ, अनि, विशेष गरी जब उसको कामको कुरा आउँछ, उसले पवित्र आत्माद्वारा निर्देशन र आज्ञा पाएको हुन्छ—यसको फलस्वरूप परमेश्‍वरले चुन्नुभएका मानिसहरूलाई डोऱ्याउनका लागि बाटोमा कुनै बाधा हुँदैन, किनकि परमेश्‍वरले निश्चय आफ्नै कामको जिम्मेवारी लिनुहुन्छ, र परमेश्‍वरले हरसमय उहाँको आफ्नो काम गर्नुहुन्छ।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरले मानिसलाई प्रयोग गर्नुहुने सम्बन्धमा बाट

मानिसको विचारमा काम भनेको मानिसले अत्यन्तै सहजै हासिल गर्ने कुरा हो। उदाहरणको लागि, धार्मिक संसारका पाष्टर र अगुवाहरू आफ्‍नो काम गर्नका लागि आफ्‍ना वरदान र पदहरूमा भर पर्छन्। तिनीहरूलाई लामो समयसम्‍म पछ्याउने मानिसहरू तिनीहरूका वरदानहरूद्वारा सङ्क्रमित हुनेछन् र तिनीहरूको केही सारत्वद्वारा प्रभावित हुनेछन्। तिनीहरूले मानिसहरूका वरदान, क्षमता र ज्ञानमा ध्यान केन्द्रित गर्छन्, र तिनीहरूले अलौकिक कुराहरू अनि धेरै गहन, अवास्तविक सिद्धान्तहरूमा ध्यान दिन्छन् (अवश्य नै, यी गहन सिद्धान्तहरू अप्राप्य छन्)। तिनीहरूले मानिसहरूका स्वभावमा हुने परिवर्तनमा होइन, तर प्रचार गर्न र काम गर्नको लागि मानिसहरूलाई तालिम दिन, मानिसहरूको ज्ञान र तिनीहरूको प्रशस्‍त धार्मिक सिद्धान्तहरूलाई सुधार गर्नमा ध्यान केन्द्रित गर्छन्। तिनीहरूले मानिसहरूको स्वभाव कति परिवर्तन हुन्छ भन्‍नेमा ध्यान केन्द्रित गर्दैनन्, न त मानिसहरूले कति धेरै सत्यतालाई बुझ्छन् भन्‍नेमा नै ध्यान केन्द्रित गर्छन्। तिनीहरूले मानिसहरूको सारमा चासो दिँदैनन्, तिनीहरूले मानिसहरूको सामान्य र असामान्य स्थितिहरूलाई जान्‍ने प्रयास गर्नु त परै जाओस्। तिनीहरूले मानिसहरूका धारणाहरूलाई खण्डन गर्दैनन्, न त तिनीहरूले आफ्‍ना धारणाहरूलाई प्रकट नै गर्छन्, तिनीहरूले मानिसहरूका त्रुटिहरू वा भ्रष्टताहरूका लागि तिनीहरूलाई काट-छाँट गर्नु त परै जाओस्। तिनीहरूलाई पछ्याउने धेरैजसोले तिनीहरूका वरदानहरूद्वारा सेवा गर्छन्, अनि तिनीहरूले व्यक्त गर्ने भनेका त्यही धार्मिक धारणाहरू र धर्मशास्‍त्रीय सिद्धान्तहरू मात्र हुन्, जुन वास्तविकताको छुवाइभन्दा बाहिर छन् र मानिसहरूलाई जीवन दिन पूर्ण रूपमा असमर्थ छन्। वास्तवमा, तिनीहरूको कामको सार भनेको प्रतिभाको वृद्धि-विकास गर्नु, केही पनि नभएको व्यक्तिलाई प्रतिभावान् तुल्याई सेमिनारी दीक्षान्तसम्म शिक्षा-दीक्षा दिनु हो जसले पछि गएर काम गर्छ र अगुवाइ गर्छ।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको काम र मानिसको काम

हरेक सम्प्रदायका अगुवाहरूलाई हेर—ती सबै अहङ्कारी र स्वधर्मी छन् र तिनीहरूले गर्ने बाइबलको व्याख्याहरूमा सन्दर्भको अभाव हुन्छ र ती तिनीहरूका आफ्नै कल्पनाहरूद्वारा निर्देशित हुन्छन्। तिनीहरू सबै आफ्ना काम गर्नको निम्ति वरदानहरू र विद्वत्तममा भर पर्छन्। यदि तिनीहरूले प्रचार गर्न नसक्‍ने हो भने, के मानिसहरूले तिनीहरूलाई पछ्याउलान्? जे भए पनि, तिनीहरूसँग केही ज्ञान छ र तिनीहरूले केही धर्मसिद्धान्तहरूको प्रचार गर्न सक्छन् वा अरूलाई कसरी जित्ने र केही जुक्तिहरूको प्रयोग कसरी गर्ने भन्‍ने तिनीहरूलाई थाहा छ। तिनीहरूले मानिसहरूलाई आफ्नो अगाडि ल्याउन र उनीहरूलाई छल्नको निम्ति यी कुराहरूको प्रयोग गर्छन्। यी मानिसहरूले परमेश्‍वरमा नाममात्रको विश्‍वास गर्छन्, तर वास्तवमा तिनीहरूले आफ्ना अगुवाहरूलाई पछ्याउँछन्। जब साँचो बाटोको प्रचार गर्दै गरेको कोहीसँग तिनीहरूको जम्काभेट हुन्छ, तिनीहरूमध्ये कसैले भन्छन्, “हाम्रो विश्‍वासको बारेमा हामीले हाम्रो अगुवासँग परामर्श लिनुपर्छ।” परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वासको माध्यम एउटा मानव हो; के यो समस्या होइन र? त्यसो भए ती अगुवाहरू के बनेका छन् त? के तिनीहरू फरिसीहरू, झूटा गोठालाहरू, ख्रीष्ट विरोधीहरू र मानिसहरूले साँचो बाटो स्वीकार गर्ने कुरामा ठेस लाग्‍ने बाधाहरू बनेका छैनन् र?

आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “सत्यताको खोजी गर्नु मात्रै साँचो रूपमा परमेश्‍वरमा विश्‍वास गर्नु हो”

यदि तैँले वर्षौंदेखि परमेश्‍वरमाथि विश्‍वास गरेको छस् तर पनि तैँले कहिल्यै पनि उहाँको आज्ञापालन गरेको छैनस् भने र उहाँका वचनहरूको सम्पूर्णतालाई स्वीकार गर्दैनस्, बरु परमेश्‍वरलाई तँमा समर्पित हुन र तेरा आफ्नै धारणाहरू अनुसार कार्य गर्न लगाउँछस् भने, तँ सबैभन्दा उग्र विद्रोही होस्, तँ अविश्‍वासी होस्। यस्ता मानिसहरूले कसरी मानिसका धारणाहरूसँग मेल खाँदै-नखाने परमेश्‍वरका काम र वचनहरूको आज्ञापालन गर्न सक्छन् र? सबैभन्दा उग्र विद्रोहीहरू ती व्यक्तिहरू हुन् जसले जानी-जानी परमेश्‍वरको अवज्ञा र प्रतिरोध गर्छन्। तिनीहरू परमेश्‍वरका शत्रुहरू, ख्रीष्टविरोधीहरू हुन्। तिनीहरूमा सधैँ परमेश्‍वरको नयाँ कामको विरुद्ध शत्रुवत आचरण हुन्छ; तिनीहरूमा समर्पित हुनेबारे त अलिकति पनि मनस्थिति हुँदैन, न त तिनीहरूले कहिल्यै खुशीसाथ आफूलाई समर्पित गरेका वा नम्र तुल्याएका नै हुन्छन्। तिनीहरूले अरूको अगाडि आफूलाई उचाल्छन् र कसैको अगाडि आफूलाई समर्पित गर्दैनन्। परमेश्‍वरको अगाडि, तिनीहरूले आफूलाई वचनहरू प्रचार गर्ने काममा सर्वश्रेष्ठ अनि अन्य व्यक्तिहरूमाथि काम गर्नको लागि सबैभन्दा सिपालु ठान्छन्। तिनीहरूले आफ्नो स्वामित्वमा रहेका “सम्पत्तिहरू” लाई कहिल्यै पनि त्याग्दैनन्, बरु तिनलाई तिनीहरूले आराधना गर्ने, अन्य व्यक्तिहरूलाई उपदेश दिने पुर्ख्यौली सम्पत्ति हो भन्ने ठान्छन् र तिनीहरूलाई आदर्श ठान्ने मूर्खहरूलाई प्रवचन दिन तिनीहरूले तिनको प्रयोग गर्छन्। वास्तवमा मण्डलीभित्र केही निश्चित संख्यामा यस प्रकारका मानिसहरू हुन्छन्। यस्तो भन्न सकिन्छ कि तिनीहरू “अदम्य नायकहरू” हुन्, जो पुस्तौँ पुस्तादेखि परमेश्‍वरको घरमा बसेका छन्। तिनीहरूले वचन (धर्मसिद्धान्त) प्रचार गर्नुलाई नै तिनीहरूको सबैभन्दा ठूलो कर्तव्यको रूपमा लिन्छन्। वर्षौंवर्ष, पुस्तौंपुस्ता तिनीहरू आफ्नो “पवित्र र अनुल्लंघनीय” कर्तव्यलाई जोशका साथ लागू गरिरहन्छन्। तिनीहरूलाई कसैले पनि छुने आँट गर्दैन; एक जनाले पनि खुला रूपमा तिनीहरूको भर्त्सना गर्ने आँट गर्दैन। तिनीहरू परमेश्‍वरको घरमा “राजाहरू” बन्छन् र युगौँ युगदेखि अरूहरूलाई निरङ्कुशताका साथ व्यवहार गर्दै तिनीहरू नियन्त्रण बाहिर जान्छन्। दुष्टहरूको यो झुण्डले आपसमा हात मिलाएर मेरो कामलाई ध्वस्त पार्न चाहन्छन्; मैले कसरी यी दियाबलसहरूलाई मेरो आँखाअगाडि अस्तित्वमा रहन दिन सक्छु र?

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सच्चा हृदयका साथ परमेश्‍वरको आज्ञापालन गर्नेहरूलाई अवश्य पनि परमेश्‍वरले प्राप्त गर्नुहुनेछ

के मानिसहरूले परमेश्‍वरको विविध र विभिन्न काम नजानेकाले, तिनीहरूले पवित्र आत्माको कार्यलाई ज्ञान र सिद्धान्तको अत्यन्त सानो कणले मापन गर्ने हुँदा परमेश्‍वरको विरोध गरेका र पवित्र आत्माको कामलाई अवरोध गरेका होइनन् र? यस्ता मानिसहरूको अनुभव सतही भए पनि, तिनीहरू अहङ्कारी र भोगी प्रकृतिका हुन्छन् र तिनीहरूले पवित्र आत्माको कार्यलाई घृणा गर्छन्, पवित्र आत्माको अनुशासनलाई बेवास्ता गर्छन्, यसको अलाबा पवित्र आत्माको कामलाई “पुष्टि गर्न” तिनीहरूको नगण्य पुरानो तर्कलाई प्रयोग गर्छन्। तिनीहरूले एउटा कार्यलाई धारण गर्छन् र तिनीहरूको आफ्नै शिक्षा र बुद्धिमा विश्‍वस्त हुन्छन् अनि तिनीहरू सारा संसारभरि यात्रा गर्न सक्षम छन् भनी विश्‍वस्त हुन्छन्। के यस्ता मानिसहरू पवित्र आत्माद्वारा घृणा गरिएका र तिरस्कार गरिएका मानिसहरू होइनन् र के तिनीहरूलाई नयाँ युगद्वारा हटाइने छैनन् र? के परमेश्‍वरको सामु आएर खुल्‍लमखुल्‍ला उहाँको विरोध गर्नेहरू अज्ञानी र अबुझ मानिसहरू होइनन् र, जसले तिनीहरू कति प्रखर छन् भनी देखाउने प्रयास गरिरहेका हुन्छन्? बाइबलको नगण्य ज्ञानमा तिनीहरूले संसारको “शैक्षिक समुदाय” लाई गाभ्ने प्रयास गर्छन्, मानिसहरूलाई सिकाउने सतही सिद्धान्तद्वारा तिनीहरूले पवित्र आत्माको कार्यलाई उल्टाउन खोज्छन् र यसलाई तिनीहरूको आफ्नै वैचारिक प्रक्रियाको सेरोफेरोमा घुमाउने प्रयास गर्छन्। तिनीहरू अदूरदर्शी भए पनि, परमेश्‍वरको छ हजार वर्षको कामलाई एकै झलकमा हेर्ने प्रयास गर्छन्। यी मानिसहरूमा उल्लेख गर्न लायक कुनै अनुभूति हुँदैन। वास्तवमा, मानिसहरूमा जति धेरै परमेश्‍वर सम्‍बन्धी ज्ञान हुन्छ उत्ति नै तिनीहरू उहाँको न्याय गर्नमा सुस्त हुन्छन्। यसको अलाबा, तिनीहरू परमेश्‍वरको आजको काम सम्‍बन्धी तिनीहरूको नगण्य ज्ञानको मात्र कुरा गर्छन्, तर तिनीहरू तिनीहरूका न्यायहरूमा हतार गर्दैनन्। मानिसहरूले परमेश्‍वरलाई जति थोरै चिन्छन् तिनीहरू उत्ति नै अहङ्कारी र अति दृढ हुन्छन् र अझ धेरै ढिठ भएर परमेश्‍वरको अस्तित्वको घोषणा गर्छन्—तैपनि तिनीहरूले सिद्धान्तको मात्र कुरा गर्छन् र कुनै वास्तविक प्रमाण पेश गर्दैनन्। यस्ता मानिसहरू कुनै मूल्यका हुँदैनन्! पवित्र आत्माको कामलाई खेलको रूपमा हेर्नेहरू खेलबाड गर्नेहरू हुन्! पवित्र आत्माको नयाँ कामलाई अनुभव गर्दा होसियारी नहुनेहरू, बढी बोल्‍नेहरू न्याय गर्नुमा छिटो हुन्छन्, आफ्नो जन्मजात स्वभावलाई अनियन्त्रित छोड्नेहरूले पवित्र आत्माको कामको धार्मिकतालाई इन्कार गर्छन्, जसले यसको अपमान गर्छन् र ईश्‍वर-निन्दा पनि गर्छन्—के यस्ता अनादरणीय मानिसहरू पवित्र आत्माको कामप्रति अनजान हुँदैनन् र? यसको अलाबा के तिनीहरू महाघमण्डका मानिसहरू होइनन्, जो अन्तर्निहित रूपमा घमण्डी र अनियन्त्रित हुन्छन्? यस्ता मानिसहरूले पवित्र आत्माको काम स्वीकार गर्ने कुनै दिन नै आए पनि, परमेश्‍वरले यस्ता मानिसलाई अझै सहनुहुनेछैन। तिनीहरूले परमेश्‍वरको निम्ति काम गर्नेहरूलाई नीच रूपमा हेर्ने मात्र होइन, तर तिनीहरू परमेश्‍वर स्वयम्‌को ईश्‍वर-निन्दा पनि गर्छन्। यस्ता दुस्साहसी मानिसहरूलाई यो युगमा वा आउने युगमा क्षमा गरिनेछैन, र तिनीहरू नरकमा सदाको निम्ति नष्ट हुनेछन्! यस्ता अनादरणीय र भोगी मानिसहरूले परमेश्‍वरमा विश्‍वास गरेको नाटक गरिरहन्छन्, र मानिसहरू जति धेरै यस्ता हुन्छन् उत्ति नै तिनीहरू परमेश्‍वरको प्रशासनिक आदेशहरू उल्लङ्घन गर्ने हुन्छन्। सबै अहङ्कारीहरू जन्‍मजातै अनियन्त्रित हुने, र कहिल्यै कसैको आज्ञापालन नगर्ने, के तिनीहरू सबै यही मार्गमा हिँड्दैनन् र? सँधै नयाँ र कहिल्यै पुरानो नहुने परमेश्‍वरलाई तिनीहरूले दिनदिनै विरोध गर्दैनन् र?

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कामका तीन चरणहरूलाई जान्नु नै परमेश्‍वरलाई चिन्ने मार्ग हो

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरको काम र मानिसको कामबीचका आधारभूत भिन्नताहरू

परमेश्‍वरका प्रासंगिक वचनहरू: परमेश्‍वर स्‍वयम्‌को काममा सबै मानिसहरूको काम समावेश हुन्छ, र यसले सम्पूर्ण युगको कामको पनि प्रतिनिधित्व...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्