परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् ३ (भाग दुई)

हामीले भर्खरै परमेश्‍वरले गर्नुभएका सबै कामहरूको बारेमा, उहाँले गर्नुभएका अभूतपूर्व कामहरूका श्रृंखलाहरूको बारेमा कुरा गर्‍यौं। यी प्रत्येक कुराहरू परमेश्‍वरको व्यवस्थापन योजना र परमेश्‍वरको इच्छासँग सम्बन्धित छन्। ती परमेश्‍वरको स्वभाव र उहाँको सारसित पनि सम्बन्धित छन्। यदि हामी परमेश्‍वरसित जे छ र उहाँ जे हुनुहुन्छ, त्यसको बारेमा धेरै बुझ्न चाहन्छौँ भने, हामी पुरानो नियममा वा व्यवस्थाको युगमा रोकिन सक्दैनौं—परमेश्‍वरले आफ्नो काममा लिनुभएका कदमहरूलाई पछ्याएर हामी निरन्तर अघि बढ्नुपर्छ। त्यसकारण, परमेश्‍वरले व्यवस्थाको युग सिध्याएर अनुग्रहको युग सुरु गर्नुभएकोले, हाम्रा आफ्नै कदमहरूले पनि अनुग्रहको युगतर्फ पछ्याएको होस्—अनुग्रह तथा उद्धारले भरिपूर्ण युगभित्र। यस युगमा, परमेश्‍वरले फेरि पहिले कहिल्यै नगरिएको कुनै महत्त्वपूर्ण काम गर्नुभयो। यस नयाँ युगमा गरिएको काम परमेश्‍वर तथा मानवजातिको निम्ति एउटा नयाँ सुरुवाती बिन्दु थियो—एउटा यस्तो सुरुवाती बिन्दु जसमा परमेश्‍वरले पहिले कहिल्यै नगरिएको काम गर्नुभएको कुरा समावेश थियो। यो नयाँ काम अभूतपूर्व थियो, यस्तो कुरा जुन मानव तथा सारा सृष्टिको कल्पनाको शक्तिभन्दा परको कुरा थियो। यो यस्तो कुरा थियो जुन अहिले सबै मानिसहरूलाई ज्ञात भइसकेको छ—पहिलो पल्ट, परमेश्‍वर मानिस हुनुभयो, अनि पहिलो पल्ट उहाँले मानिसको रूप लिएर मानिसको नयाँ पहिचानमा रही नयाँ काम सुरु गर्नुभयो। परमेश्‍वरले व्यवस्थाको युगमा आफ्नो काम गरिसक्नुभएको थियो अनि अब उपरान्त उहाँले व्यवस्थाको अधीनमा केही पनि गर्नुहुने वा भन्नुहुने थिएन भन्ने कुरालाई यस नयाँ कामले इङ्गित गरेको थियो। न त उहाँले व्यवस्थाको रूपमा अर्थात् व्यवस्थाका सिद्धान्तहरू वा नियमहरू अनुसार केही कुरा भन्नु वा गर्नुहुने नै थियो। यसको अर्थ, उहाँको व्यवस्थामा आधारित सबै काम सदाको निम्ति रोकिएको थियो र यो जारी रहनेथिएन किनभने परमेश्‍वरले नयाँ काम सुरु गर्न र नयाँ कुराहरू गर्न चाहनुभएको थियो। फेरि एक पल्ट उहाँको योजनाको एउटा नयाँ सुरुवाती बिन्दु भयो, अनि त्यसैले परमेश्‍वरले मानवजातिलाई अर्को चरणमा डोर्‍याउनुपर्‍यो।

मानिसहरूको लागि यो समाचार आनन्ददायक थियो कि अनिष्ट सूचक भन्ने कुरा हरेक व्यक्तिको सारमा निर्भर हुन्थ्यो। कसै-कसैको लागि यो आनन्ददायक समाचार नभई अनिष्ट सूचक थियो भन्न सकिन्छ किनभने जब परमेश्‍वरले आफ्नो नयाँ काम सुरु गर्नुभयो, तब जुन मानिसहरूले केवल व्यवस्था तथा नियमहरूलाई मात्र पछ्याउँथे, जसले परमेश्‍वरको भय नमानेर केवल सिद्धान्तहरूलाई मात्र पछ्याउँथे, तिनीहरूले आफ्नो पुरानो कामलाई प्रयोग गरेर उहाँको नयाँ कामलाई दोष्याउने प्रवृत्ति थियो। ती मानिसहरूको निम्ति यो अनिष्ट सूचक समाचार थियो; तर जो निर्दोष तथा खुला थिए, जो परमेश्‍वरप्रति सच्चा थिए र उहाँको उद्धारलाई ग्रहण गर्न इच्छुक थिए, तिनीहरू सबैका निम्ति परमेश्‍वरको पहिलो देहधारण अत्यन्तै आनन्ददायक समाचार थियो। किनभने, पहिलो पटक मानिसहरूलाई अस्तित्वमा ल्याइएको दिनदेखि यता परमेश्‍वर आत्मामा नभई शरीरमा मानिसहरूकहाँ देखापर्नुभएको र तिनीहरूको माझमा वास गर्नुभएको यो पहिलो पटक थियो; यस पल्ट, उहाँ मानिसको रूपमा जन्मिनुभयो अनि मानिसको पुत्रको रूपमा मानिसहरूको माझमा वास गर्नुभयो, अनि तिनीहरूको बीचमा काम गर्नुभयो। यसले “पहिले” मानिसहरूको धारणाहरूलाई तोड्यो; यो सबै कल्पनाभन्दा परको कुरा थियो। यसबाहेक, परमेश्‍वरका सबै अनुयायीहरूले एउटा ठोस फाइदा हासिल गरे। परमेश्‍वरले पुरानो युगलाई मात्रै अन्त्य गर्नुभएन तर उहाँले काम गर्ने पुराना तरिकाहरू तथा काम गर्ने शैलीलाई पनि अन्त्य गर्नुभयो। उहाँले आफ्ना सन्देशवाहकहरूलाई उपरान्त आफ्नो इच्छा जाहेर गर्न लगाउनुभएन, उहाँ उपरान्त बादलहरूमा लुक्‍नुभएको थिएन, अनि उपरान्त मानिसहरूलाई गर्जनद्वारा हुकुम दिँदै देखापर्नुभएन वा बोल्नुभएन। अघिको कुनै पनि कुराभन्दा पृथक्, मानिसहरूको निम्ति बुझ्‍न वा स्वीकार गर्न कठिन र तिनीहरूको निम्ति एउटा अकल्पनीय विधिद्वारा—देह बनेर—उहाँ त्यस युगको काम सुरु गर्नको निम्ति मानिसको पुत्र हुनुभयो। परमेश्‍वरको यस कार्यले मानवजातिलाई पूर्ण रूपले बेतैयार भएको अवस्थामा भेट्टायो; यसले तिनीहरूलाई अप्ठ्यारोमा पार्‍यो, किनकि परमेश्‍वरले एक पल्ट फेरि नयाँ काम सुरु गर्नुभएको थियो जुन उहाँले पहिले कहिल्यै गर्नुभएको थिएन। आज, हामी यस नयाँ युगमा परमेश्‍वरले कुन नयाँ काम सम्पन्न गर्नुभयो सो बारेमा हेर्नेछौं, अनि यस नयाँ कामबाट उहाँको स्वभाव तथा उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ, त्यसको सम्बन्धमा हामीले सिक्‍नुपर्ने के छ सो बारेमा विचार गर्नेछौँ।

बाइबलको नयाँ नियममा निम्नलिखित वचनहरू लेखिएका छन्:

१. मत्ती १२:१ त्यस बेला येशू शबाथको दिन गहुँ बारी भएर जानुभयो; अनि उहाँका चेलाहरू भोकाए र गहुँका बालाहरू टिपेर खान थाले।

२. मत्ती १२:६-८ तर म तिमीहरूलाई भन्छु, यस ठाउँमा मन्दिरभन्दा महान् एक जना हुनुहुन्छ। तर यदि तिमीहरूले यसको अर्थ के हो भन्‍ने थाहा पाएका भए, मैले कृपा प्राप्त गर्नेछु बलिदान होइन, तिमीहरूले निर्दोषलाई दोष लगाउने थिएनौ। किनकि मानिसको पुत्र शबाथको दिनको समेत प्रभु हुनुहुन्छ।

पहिले यस खण्डलाई हेरौँ: “त्यस बेला येशू शबाथको दिन गहुँ बारी भएर जानुभयो; अनि उहाँका चेलाहरू भोकाए र गहुँका बालाहरू टिपेर खान थाले।”

मैले किन यस खण्डलाई छानेँ? परमेश्‍वरको स्वभावसँग यसको के सम्बन्ध छ? यस पाठमा, हामीले जान्‍ने पहिलो कुरा भनेको त्यो शबाथको दिन थियो तर येशू बाहिर जानुभयो र आफ्ना चेलाहरूलाई गहुँ बारी भएर लानुभयो भन्‍ने हो। अझ बढी “छली” कुरा त तिनीहरूले “गहुँका बालाहरू टिपेर खान” समेत थाले। व्यवस्थाको युगमा, यहोवा परमेश्‍वरको व्यवस्थाले मानिसहरूले शबाथको दिनमा अनौपचारिक रूपमा बाहिर जान वा क्रियाकलापहरूमा भाग लिन सक्दैनन् भन्‍ने कुरा निर्धारित गरेको थियो—शबाथको दिनमा गर्न नसकिने धेरै कुराहरू थिए। प्रभु येशूले गर्नुभएको यो कार्य व्यवस्थाको अधीनमा धेरै लामो समयसम्म जिउँदै आएकाहरूको निम्ति बुझ्‍न कठिन कुरा थियो र त्यसले आलोचना निम्त्यायो। तिनीहरूको अन्योल र येशूले जे गर्नुभएको थियो त्यसको बारेमा तिनीहरूले कसरी कुरा गरे भन्‍ने कुरालाई अहिलेको निम्ति पन्छाऔँ र पहिले प्रभु येशूले सबै दिनहरूमध्ये शबाथको दिनमा नै किन यसो गर्नुभयो र व्यवस्थाको अधीनमा जिइरहेका मानिसहरूलाई यस कार्यबाट के कुरा बताउन चाहनुहुन्थ्यो भन्‍ने बारेमा छलफल गरौँ। यस खण्ड र मैले कुरा गर्न चाहेको परमेश्‍वरको स्वभाव बीचको सम्बन्ध यही हो।

जब प्रभु येशू आउनुभयो, तब उहाँले मानिसहरूलाई परमेश्‍वरले व्यवस्थाको युगलाई बिदा गर्नुभएको छ र नयाँ काम सुरु गर्नुभएको छ र यस नयाँ कामले शबाथ दिन पालन गर्न आवश्यक छैन भनी बताउन आफ्नो व्यवहारिक क्रियाहरूको प्रयोग गर्नुभयो। परमेश्‍वर शबाथ दिनको सीमाहरूबाट बाहिर निस्केर आउनु उहाँको नयाँ कामको एउटा पूर्वाभास मात्र थियो; वास्तविक र महान् काम आउन अझै बाँकी नै थियो। जब प्रभु येशूले आफ्नो काम सुरु गर्नुभयो, तब उहाँले व्यवस्थाको युगका “साङ्लोहरू” लाई पछाडि छोडी सक्नुभएको थियो, अनि त्यस युगका विधिविधान तथा सिद्धान्तहरूलाई तोडेर बाहिर निस्कनुभएको थियो। उहाँमा, व्यवस्थासँग सम्बन्धित कुनै छाप थिएन; उहाँले त्यसलाई पूर्ण रूपले हटाइसक्नुभएको थियो र उपरान्त त्यसलाई पालना गर्नुभएन, र त्यस उपरान्त मानवजातिलाई उहाँले पालना गर्न लगाउनुभएन। त्यसैले, यहाँ तँ देख्न सक्छस् कि प्रभु येशू शबाथ दिनमा गहुँका खेतहरूबाट भएर जानुभयो, र प्रभु येशूले विश्राम लिनुभएन; उहाँले बाहिर काम गरिरहनुभएको थियो, विश्राम लिइरहनुभएको थिएन। उहाँको यो कार्य मानिसहरूका धारणाहरूको लागि एउटा झड्को थियो र उहाँ त्यस उपरान्त व्यवस्थाको अधीनमा जिउनुहुन्‍न, उहाँले शबाथ दिनका बन्धनहरूलाई छोड्नुभएको छ र नयाँ काम गर्ने शैलीको साथमा नयाँ स्वरूपमा उहाँ मानवजातिको माझमा देखापर्नुभएको छ भन्‍ने बारे यसले तिनीहरूलाई बतायो। उहाँले आफूसित नयाँ काम ल्याउनुभएको छ, यस्तो काम जुन व्यवस्थाको अधीनमा रहेको अवस्थाबाट उत्पन्न भएर शबाथ दिनबाट बिदा हुँदै सुरु भयो भन्‍ने कुरा उहाँको यस कार्यले मानिसहरूलाई बतायो। जब परमेश्‍वरले आफ्नो नयाँ कामलाई अघि बढाउनुभयो, तब उहाँ उपरान्त विगतमा टाँसिनुभएन, अनि उहाँ व्यवस्थाको युगका विधिविधानहरूको बारेमा उपरान्त चिन्तित हुनुभएन। न त उहाँ पहिलेको युगको आफ्नो कामद्वारा नै प्रभावित हुनुभयो, तर अरू दिनमा झैं शबाथ दिनमा पनि उहाँले आफ्नो काम गर्नुभयो, अनि जब उहाँका चेलाहरू शबाथ दिनमा भोकाउँथे, तब तिनीहरूले खानका निम्ति गहुँका पातहरू टिप्न सके। यो सबै परमेश्‍वरको दृष्टिमा साह्रै सामान्य थियो। परमेश्‍वरको निम्ति, उहाँले गर्न चाहनुभएको नयाँ काममध्ये धेरैजसोको र उहाँले भन्न चाहनुभएको नयाँ वचनहरूमध्ये धेरैजसोको नयाँ सुरुवात हुनु उचित नै हुन्छ। जब उहाँले कुनै नयाँ काम सुरु गर्नुहुन्छ, न त उहाँले विगतको कामलाई उल्लेख गर्नुहुन्छ, न त त्यसलाई जारी नै राख्‍नुहुन्छ। परमेश्‍वरसित उहाँको कामसम्‍बन्धी सिद्धान्तहरू हुने भएकाले, जब उहाँले मानवजातिलाई आफ्नो कामको नयाँ चरणमा ल्याउन चाहनुहुन्छ, अनि जब उहाँको काम उच्च स्तरमा प्रवेश गर्छ तब उहाँले नयाँ काम सुरु गर्न चाहनुहुन्छ। यदि मानिसहरूले पुराना भनाइहरू र विधिविधानहरू अनुसार नै निरन्तर काम गरिरहन्छन् वा तिनीहरूलाई निरन्तर पक्री राख्छन् भने, उहाँले त्यसलाई सम्झने वा अनुमोदन गर्ने गर्नुहुन्न। किनभने उहाँले पहिले नै नयाँ काम ल्याइसक्नुभएको छ, अनि उहाँको कामको नयाँ चरणमा प्रवेश गरिसक्‍नुभएको छ। जब उहाँले नयाँ काम सुरु गर्नुहुन्छ, उहाँ पूर्ण रूपले एउटा नयाँ प्रतिरूपमा, पूर्ण रूपले नयाँ कोणबाट अनि पूर्ण रूपले नयाँ तरिकाले मानवजातिकहाँ देखा पर्नुहुन्छ ताकि मानिसहरूले उहाँको स्वभावका विभिन्न पक्षहरू तथा उहाँसित जे छ र उहाँ जे हुनुहुन्छ सो देख्न सकून्। यो उहाँको नयाँ कामका लक्ष्यहरूमध्ये एउटा हो। परमेश्‍वर पुराना कुराहरूमा टाँसिनुहुन्न वा मानिसहरू हिँडिसकेको बाटो हिँड्नुहुन्न; जब उहाँले काम गर्नुहुन्छ र बोल्नुहुन्छ, उहाँ मानिसहरूले कल्पना गरे जतिकै निषेधक हुनुहुन्न। परमेश्‍वरमा सबै स्वतन्त्र र मुक्त छन्, अनि त्यहाँ कुनै निषेध, कुनै बन्देज छैन—उहाँले मानवजातिकहाँ ल्याउनुहुने कुरा भनेका स्वतन्त्रता तथा छुटकारा हो। उहाँ एक जीवित परमेश्‍वर हुनुहुन्छ, एक परमेश्‍वर जो सच्चा र साँचो रूपले अस्तित्वमा हुनुहुन्छ। उहाँ कठपुतली वा माटोको मूर्ति हुनुहुन्न, अनि उहाँ मानिसहरूले प्रतिस्थापन गर्ने र आराधना गर्ने मूर्तिहरूभन्दा पूर्ण रूपमा अलग हुनुहुन्छ। उहाँ जीवित र सक्रिय हुनुहुन्छ, अनि उहाँका वचनहरू तथा कामले मानवजातिलाई दिने भनेका सबै जीवन र ज्योति, सबै स्वतन्त्रता तथा छुटकारा हुन् किनकि उहाँमा सत्यता, जीवन र बाटो छ—उहाँको कुनै पनि काममा उहाँ कुनै कुराद्वारा करमा पर्नुहुन्न। मानिसहरूले उहाँको नयाँ कामको बारेमा जे भने पनि र तिनीहरूले त्यसलाई जसरी हेरे तापनि वा मूल्याङ्कन गरे तापनि, उहाँले मनको कुनै सन्तापविना नै आफ्नो कामलाई अघि बढाउनुहुन्छ। उहाँको काम वा वचनको सम्बन्धमा कसैका धारणाहरू वा औंला ठड्याउने कुरा वा उहाँको नयाँ कामको सम्बन्धमा तिनीहरूको कडा विरोध वा प्रतिरोधप्रति उहाँ चिन्तित हुनुहुनेछैन। सारा सृष्टिमध्ये कसैले पनि मानव तर्क वा मानव कल्पना, ज्ञान वा नैतिकता प्रयोग गरेर परमेश्‍वरले जे गर्नुहुन्छ, त्यसलाई मापन वा व्याख्या गरेर उहाँको कामलाई बदनाम गर्ने, भङ्ग गर्ने वा नोक्सानी पुर्‍याउने गर्न सक्दैन। उहाँको काममा र उहाँले जे गर्नुहुन्छ त्यसमा कुनै प्रतिबन्ध छैन; कुनै मानिस, घटना वा वस्तुद्वारा यसलाई बन्धनमा पारिनेछैन, न त कुनै प्रतिरोधी शक्तिहरूद्वारा यो भङ्ग गरिनेछ। जहाँसम्म उहाँको नयाँ कामको कुरा छ, उहाँ सदा विजयी राजा हुनुहुन्छ, अनि कुनै पनि प्रतिरोधी शक्तिहरू र मानवजातिका सबै विश्‍वास-विरोधी तथा झूटा तर्कहरूलाई उहाँको पाउदानमुनि कुल्चिइन्छ। उहाँले आफ्‍नो कामको जुनसुकै नयाँ चरण अघि बढाइरहनुभएको भए पनि, यो निश्चय नै मानवजातिको माझमा विकास र विस्तार हुनेछ, अनि यो निश्चय नै उहाँको महान् काम पूर्ण नभएसम्म सारा ब्रह्माण्डभरि विना अवरोध अघि बढ्नेछ। परमेश्‍वरको सर्वशक्तिमान्‌ता र बुद्धि, उहाँको अख्तियार र शक्ति यही हो। यसैले, प्रभु येशूले शबाथ दिनमा खुला रूपमा बाहिर गएर काम गर्न सक्‍नुभयो किनकि उहाँको हृदयमा मानवजातिबाट उत्पन्‍न भएका कुनै नियमहरू, ज्ञान वा सिद्धान्त थिएनन्। उहाँसँग परमेश्‍वरको नयाँ काम र परमेश्‍वरको बाटो थियो। उहाँको काम मानवजातिलाई स्वतन्त्र गर्ने, मानिसहरूलाई मुक्त गर्ने, तिनीहरूलाई ज्योतिमा अस्तित्वमा रहन र बाँच्‍न दिने बाटो थियो। यसै बीच, मूर्ति वा झूटा ईश्‍वरहरूको आराधना गर्नेहरू हरेक दिन सबै किसिमका नियम र निषेधहरूबाट नियन्त्रित भई शैतानको बन्धनमा बाँच्छन्—आज एउटा कुरो निषेध गरिन्छ र भोलि अर्को कुरो—तिनीहरूको जीवनमा कुनै स्वतन्त्रता छैन। तिनीहरू आनन्दविनाको जीवन जिइरहेका, हतकडी लगाइएका कैदी जस्ता छन्। “निषेध” ले केको प्रतिनिधित्व गर्छ? यसले वाधाहरू, बन्धनहरू र दुष्टको प्रतिनिधित्व गर्छ। कुनै व्यक्तिले मूर्ति पूजा गर्ने बित्तिकै तिनीहरूले एक झूटो ईश्‍वर, एक दुष्ट आत्माको पूजा गरिरहेका हुन्छन्। यस्ता क्रियाकलापहरूमा संलग्‍न भएसँगै निषेध आउँछ। तैँले यो वा त्यो खानुहुँदैन, आज तँ बाहिर जान सक्दैनस्, भोलि तैँले पकाउनु हुँदैन, अर्को दिन तँ नयाँ घरमा सर्न सक्दैनस्, विवाहहरू र मृत्यु-संस्कारहरूका साथै बच्चा जन्माउनका लागि समेत निश्चित दिनहरू छनौट गर्नुपर्छ। यसलाई के भनिन्छ? यसलाई निषेध भनिन्छ; यो मानवजातिको बन्धन हो र यो मानिसहरूलाई नियन्त्रण गर्ने र तिनीहरूको हृदय र शरीरहरूलाई नियन्त्रण गर्ने शैतान र दुष्ट आत्माहरूको हतकडी हो। के यी निषेधहरू परमेश्‍वरसँग मौजुद छन्? परमेश्‍वरको पवित्रताको बारेमा कुरा गर्दा, तैँले पहिले यो सोच्‍नुपर्छ: परमेश्‍वरसँग कुनै निषेधहरू छैनन्। आफ्ना वचनहरू र काममा परमेश्‍वरसँग सिद्धान्तहरू छन्, तर निषेधहरू छैनन् किनकि परमेश्‍वर स्वयम् सत्य, बाटो र जीवन हुनुहुन्छ।

अब, हामी धर्मशास्‍त्रको निम्नलिखित खण्डलाई हेर्नेछौं: “तर म तिमीहरूलाई भन्छु, यस ठाउँमा मन्दिरभन्दा महान् एक जना हुनुहुन्छ। तर यदि तिमीहरूले यसको अर्थ के हो भन्‍ने थाहा पाएका भए, म कृपा लिनेछु, बलिदान होइन, तिमीहरूले निर्दोषलाई दोष लगाउने थिएनौ। किनकि मानिसको पुत्र शबाथको दिनको समेत प्रभु हुनुहुन्छ” (मत्ती १२:६-८)। यहाँ “मन्दिर” शब्दले केलाई जनाउँछ? यसलाई सरल भाषामा भन्नुपर्दा, यसले एउटा भव्य, अग्लो भवनलाई सङ्केत गर्दछ, अनि व्यवस्थाको युगमा, मन्दिर पूजाहारीहरूले परमेश्‍वरलाई आराधना गर्ने एउटा ठाउँ थियो। जब प्रभु येशूले, “यस ठाउँमा मन्दिरभन्दा महान् एक जना हुनुहुन्छ” भन्नुभयो, तब “एक जना” ले कसलाई सङ्केत गर्‍यो? स्पष्ट रूपले, “एक जना” देहधारी प्रभु येशू हुनुहुन्थ्यो, किनकि केवल उहाँ मात्र मन्दिरभन्दा महान् हुनुहुन्थ्यो। ती वचनहरूले मानिसहरूलाई के बतायो? त्यसले मानिसहरूलाई मन्दिरबाट बाहिर निस्कन निर्देशन दियो—किनकि परमेश्‍वरले मन्दिरलाई छोडी सक्नुभएको थियो अनि उपरान्त त्यसमा काम गरिरहनुभएको थिएन, त्यसैले मानिसहरूले मन्दिरभन्दा बाहिर परमेश्‍वरका पाइलाहरू खोज्नुपर्छ अनि उहाँको नयाँ काममा उहाँका कदमहरूलाई पछ्याउनुपर्छ। जब प्रभु येशूले यो भन्नुभयो, उहाँका वचनहरू पछाडि एउटा आधार थियो, जुन के थियो भने, व्यवस्थाको अधीनमा, मानिसहरूले मन्दिरलाई स्‍वयम्‌ परमेश्‍वरभन्दा महान् छ भनी हेर्न थालेका थिए। यसको अर्थ, मानिसहरूले परमेश्‍वरको सट्टामा मन्दिरलाई आराधना गर्थे, त्यसैले प्रभु येशूले तिनीहरूलाई मूर्तिहरू पूजा नगर्नू, बरु परमेश्‍वरलाई आराधना गर्नू भनी चेतावनी दिनुभयो किनकि उहाँ सर्वोच्च हुनुहुन्छ। यसरी, उहाँले भन्नुभयो: “मैले बलिदान होइन कृपा प्राप्त गर्नेछु।” यो स्पष्ट छ कि प्रभु येशूको दृष्टिमा, व्यवस्थाको अधीनमा जिइरहेका अधिकांश मानिसहरूले यहोवाको आराधना गरिरहेका थिएनन्, तर विना कुनै रुचि बलिदानहरू मात्रै चढाइरहेका थिए, अनि यो मूर्तिपूजा सरह भएको प्रभु येशूले ठहर गर्नुभयो। यी मूर्तिपूजकहरूले मन्दिरलाई परमेश्‍वरभन्दा महान् र उच्च देखे। तिनीहरूको हृदयमा परमेश्‍वर नभई केवल मन्दिर मात्र थियो अनि यदि तिनीहरूले मन्दिर गुमाएका भए, तिनीहरूले आफ्नो वासस्थानलाई नै गुमाउने थिए। मन्दिरविना आराधना गर्नको निम्ति तिनीहरूसित कुनै ठाउँ थिएन अनि तिनीहरूले बलिदानहरूको काम गर्न सक्दैनथे। तिनीहरूको कथित “वासस्थान” यस्तो ठाउँ थियो जसलाई तिनीहरूले मन्दिरमा रहन र आफ्नै कामकाजहरू सम्पन्न गर्न यहोवा परमेश्‍वरलाई आराधना गर्ने झूटा बहानाको रूपमा प्रयोग गर्थे। तिनीहरूको कथित “बलिदान” मन्दिरमा सेवा गर्ने नाममा आफ्नै व्यक्तिगत लाजमर्दो कारोबारहरू सम्पन्न गर्ने कार्य मात्रै थियो। यही कारणले मानिसहरूले त्यो बेला परमेश्‍वरभन्दा मन्दिरलाई महान् देखे। प्रभु येशूले मानिसहरूको निम्ति चेतावनीको रूपमा यी वचनहरू बोल्नुभयो किनभने मानिसहरूलाई र परमेश्‍वरलाई धोका दिनको निम्ति तिनीहरूले मन्दिरलाई एउटा आवरणको रूपमा, अनि बलिदानहरूलाई एउटा लुक्ने ठाउँको रूपमा प्रयोग गरिरहेका थिए। यदि यी वचनहरूलाई तैँले वर्तमानमा प्रयोग गरिस् भने, ती अझै पनि उत्तिकै जायज र उत्तिकै सान्दर्भिक हुन्छन्। आजका मानिसहरूले व्यवस्थाको युगका मानिसहरूले भन्दा परमेश्‍वरको बेग्लै कामको अनुभव गरे तापनि, तिनीहरूको प्रकृति र सार उही नै छ। आजको कामको सन्दर्भमा, मानिसहरूले अझै पनि त्यही प्रकारका कुराहरू गर्नेछन् जसलाई यी शब्दहरूले प्रतिनिधित्व गर्छन्, “परमेश्‍वरभन्दा महान् मन्दिर छ।” उदाहरणको निम्ति, मानिसहरूले आफ्नो कर्तव्य पूरा गर्ने कुरालाई कामको रूपमा हेर्छन्; तिनीहरूले परमेश्‍वरको निम्ति गवाही हुने तथा ठूलो रातो अजिङ्गरसित लडाईं गर्ने कुरालाई मानव अधिकारको रक्षार्थ, प्रजातन्त्र तथा स्वतन्त्रताको निम्ति गरिने राजनीतिक क्रियाकलापहरूको रूपमा हेर्छन्; तिनीहरूले कर्तव्यलाई आफ्नो जीवनचर्यामा सीप उपयोग गर्ने कुराको रूपमा लिन्छन्, तर परमेश्‍वरको भय मान्ने र खराबीलाई घृणा गर्ने कुरालाई तिनीहरूले पालना गर्नुपर्ने धार्मिक सिद्धान्तको एउटा भागको रूपमा लिन्छन्; अनि यस्तै इत्यादि। के यी सबै व्यवहारहरू वास्तवमा “परमेश्‍वरभन्दा मन्दिर महान् छ” भन्‍ने सरह नै छैन र? फरक यो छ कि, दुई हजार वर्षअघि, मानिसहरूले भौतिक मन्दिरमा व्यक्तिगत व्यापार गर्दैथिए, तर आज मानिसहरूले अमूर्त मन्दिरहरूमा आफ्नो व्यक्तिगत व्यापार गर्छन्। ती मानिसहरू जसले नियमहरूलाई महत्त्व दिन्छन्, तिनीहरूले नियमहरूलाई परमेश्‍वरलाई भन्दा महान् ठान्छन्, ती मानिसहरू जसले हैसियतलाई प्रेम गर्छन्, तिनीहरूले हैसियतलाई परमेश्‍वरभन्दा महान् ठान्छन्, ती जसले जीवनचर्यालाई प्रेम गर्छन्, तिनीहरूले जीवनचर्यालाई परमेश्‍वरभन्दा महान् ठान्छन्, आदि इत्यादि—तिनीहरूका सबै अभिव्यक्तिहरूले मलाई यसो भन्न बाध्य गर्छ: “मानिसहरूले आफ्‍ना शब्‍दहरूद्वारा परमेश्‍वरलाई सबैभन्दा महान् हुनुहुन्छ भनी प्रशंसा त गर्छन् तर तिनीहरूको दृष्टिमा सबै कुरा परमेश्‍वरभन्दा महान् छन्।” किनभने मानिसहरूले परमेश्‍वरलाई पछ्याउने आफ्नो मार्गमा आफ्नो प्रतिभा देखाउने वा आफ्नो व्यवसाय वा आफ्नो जीवनचर्या गर्ने अवसर पाउनेबित्तिकै तिनीहरूले परमेश्‍वरदेखि आफैलाई टाढा बनाउँछन् अनि आफ्नो प्रिय जीवनचर्यामा हाम फाल्छन्। परमेश्‍वरले तिनीहरूलाई जे सुम्पनुभएको छ, अनि उहाँको इच्छा के छ भन्‍ने सम्बन्धमा चाहिँ, ती कुराहरूलाई लामो समयदेखि नै परित्याग गरिएका छन्। यी मानिसहरू र दुई हजार वर्ष अघि मन्दिरमा आफ्नै व्यवसाय गर्ने ती मानिसहरूका बीचमा के फरक छ?

यसपछि, हामी यस अध्यायको अन्तिम वाक्यलाई हेरौं: “किनकि मानिसको पुत्र शबाथको दिनको समेत प्रभु हुनुहुन्छ।” के यस वाक्यको व्यवहारिक पक्ष छ? के तिमीहरूले व्यवहारिक पक्ष देख्न सक्छौ? परमेश्‍वरले भन्नुभएको हरेक कुरा उहाँको हृदयबाट आउँछ, त्यसोभए उहाँले किन यसो भन्नुभयो त? यसलाई तिमीहरू कसरी बुझ्छौ? तिमीहरूले अहिले यसको अर्थ बुझेका छौ होला तर यो बोलिएको समयमा धेरै मानिसहरूले यसलाई बुझेनन् किनकि मानवजाति भर्खरै व्यवस्थाको युगबाट बाहिर आएका थिए। तिनीहरूका निम्ति शबाथ दिनबाट अलग हुनु धेरै नै कठिन कुरा थियो, साँचो शबाथ के हो भनी बुझ्ने कुरा त झन् परको कुरा थियो।

“मानिसको पुत्र शबाथको दिनको समेत प्रभु हुनुहुन्छ” भन्‍ने वाक्यले परमेश्‍वरको हरेक कुरा भौतिक प्रकृतिको छैन, अनि परमेश्‍वरले तेरा सबै भौतिक खाँचोहरू पूरा गर्न सक्नुभए तापनि तेरा सबै भौतिक खाँचोहरू पूरा भइसकेपछि, के यी कुराहरूबाट आउने सन्तुष्टिले तैँले गर्ने सत्यताको खोजीको स्थान लिन सक्छ र? यो स्पष्ट रूपमै सम्भव छैन! परमेश्‍वरको स्वभाव अनि उहाँसित जे छ र उहाँ जे हुनुहुन्छ, ती दुवै सत्यता नै हुन् जसको बारेमा हामीले सङ्गति गरेका छौँ। यसको मूल्यलाई भौतिक वस्तुहरूसित तुलना गर्न सकिँदैन चाहे ती जतिसुकै मूल्यवान् नै किन नहोऊन्, न त यसको मूल्यलाई पैसा वा सम्पत्ति जस्ता कुराहरूमा आकलन गर्न सकिन्छ किनकि यो भौतिक वस्तु होइन, अनि यसले हरेक व्यक्तिको हृदयका खाँचोहरू पूर्ति गर्दछ। हरेक व्यक्तिको निम्ति, यस्ता अमूर्त सत्यताको मूल्य तैँले मूल्यवान् ठान्ने कुनै पनि भौतिक वस्तुहरूको मूल्यभन्दा ठूलो हुनुपर्छ, होइन र? यस अभिव्यक्तिमाथि तिमीहरू धेरै अल्मलिरहनु पर्दैन। मैले भनेको कुराको मुख्य बुँदा के हो भने, परमेश्‍वरसित जे छ र उहाँ जे हुनुहुन्छ, अनि परमेश्‍वर सम्‍बन्धी हरेक कुरा प्रत्येक व्यक्तिको निम्ति सबैभन्दा महत्त्वपूर्ण कुराहरू हुन् र कुनै भौतिक थोकले त्यसको स्थान लिन सक्दैन। म तँलाई एउटा उदाहरण दिन्छु: जब तँ भोकाउँछस्, तँलाई भोजन चाहिन्छ। यो खाना धेरथोर मीठो वा धेरथोर असन्तोषजनक हुन सक्छ, तर पेट भरिएपछि, भोक लागेको त्यो नमीठो अनुभूति हुनेछैन—यो जानेछ। तँ शान्तिमा बस्न सक्नेछस्, अनि तेरो शरीर विश्राममा हुनेछ। मानिसहरूको भोक भोजनले मेट्छ, तर जब तँ परमेश्‍वरलाई पछ्याइरहेको हुन्छस् र तँसँग उहाँको बुझाइ छैन भन्‍ने महसुस गर्छस्, तब तैँले तेरो हृदयको खालीपनलाई कसरी समाधान गर्न सक्छस्? के यसलाई भोजनद्वारा समाधान गर्न सकिन्छ? अथवा, जब तैँले परमेश्‍वरलाई पछ्याइरहेको हुन्छस् अनि उहाँको इच्छालाई बुझ्दैनस्, तब तेरो हृदयको भोकलाई मेटाउनको लागि तैँले के प्रयोग गर्न सक्छस्? परमेश्‍वरद्वारा प्राप्त हुने तेरो मुक्तिको अनुभवको प्रक्रियामा, तेरो स्वभावमा परिवर्तन गर्न खोजिरहँदा, यदि तैँले उहाँको इच्छा बुझ्दैनस् वा उहाँको सत्यता के हो भनी जान्दैनस् भने, यदि तैँले परमेश्‍वरको स्वभावलाई बुझ्दैनस् भने, के तैँले असहज महसुस गर्दैनस् र? के तैँले तेरो हृदयमा ठूलो भोक र तिर्खाको महसुस गर्नेछैनस् र? के यी अनुभूतिहरूले तँलाई तेरो हृदयमा विश्रामको अनुभव गर्नबाट रोक्नेछैन र? त्यसोभए, तैँले तेरो हृदयको त्यो भोकलाई कसरी मेटाउन सक्छस्—के त्यसलाई समाधान गर्ने कुनै उपाय छ? कोही मानिसहरू किनमेल गर्न जान्छन्, कतिपय आफ्‍नो मनको कुरा गर्न साथीहरूकहाँ जान्छन्, कोही लामो सुताइमा लिप्त हुन्छन्, कोही परमेश्‍वरका वचनहरू धेरै पढ्छन्, वा आफ्ना कर्तव्यहरू पूरा गर्न अझै बढी कडा परिश्रम गर्छन् अनि धेरै प्रयास गर्छन्। के यी कुराहरूले तेरा वास्तविक कठिनाइहरूलाई समाधान गर्न सक्छन् र? तिमीहरू सबैले यस प्रकारका अभ्यासहरूलाई पूर्ण रूपले बुझ्दछौ। जब तँ शक्तिहीन महसुस गर्छस्, जब तैँले सत्यताको वास्तविकता र उहाँको इच्छा जान्नको लागि अन्तर्दृष्टि प्राप्त गर्ने ठूलो इच्‍छाको महसुस गर्छस्, तब तँलाई चाहिने सबैभन्दा ठूलो कुरो के हो? तँलाई चाहिने कुरा भनेको पूरा भोजन होइन, अनि केही दयाका वचनहरू पनि होइन, देहको क्षणिक आराम र सन्तुष्टिको कुरा त परै छाडौं—तैँले के गर्नुपर्छ र कसरी गर्नुपर्छ भन्ने कुरा परमेश्‍वरले तँलाई प्रत्यक्ष रूपमा र स्पष्ट रूपमा बताउनुभएको, सत्यता के हो सो स्पष्ट रूपमा बताउनुभएको चाहिँ तँलाई चाहिने कुरा हो। यसलाई बुझिसकेपछि यदि तैँले थोरै बुझाइ मात्र पनि प्राप्त गरिस् भने के तँ तेरो हृदयमा तैँले मीठो भोजन खाएको भन्दा बढी सन्तुष्ट हुँदैनस् र? जब तेरो हृदय सन्तुष्ट हुन्छ, के तेरो हृदय र तेरो पूरा व्यक्तित्वले साँचो विश्राम प्राप्त गर्दैन र? यस उपमा तथा विश्लेषणद्वारा, मैले किन तिमीहरूसित “मानिसको पुत्र शबाथको दिनको समेत प्रभु हुनुहुन्छ” भन्‍ने यो वाक्य बाँड्न चाहेँ भन्ने कुरा के तैँले अहिले बुझ्छस्? यसको अर्थ के हो भने, परमेश्‍वरबाट जे आउँछ, उहाँसित जे छ र उहाँ जे हुनुहुन्छ, अनि उहाँको बारेमा रहेका हरेक कुरा अरू कुनै पनि कुराभन्दा ठूलो हुन्छ, जसभित्र तैँले बहुमूल्य भनी विश्‍वास गरेको थोक वा व्यक्ति पनि पर्दछन्। भनाइको अर्थ, यदि कुनै व्यक्तिले परमेश्‍वरको मुखबाट आएका वचनहरू हासिल गर्न सक्दैनन् वा तिनीहरूले परमेश्‍वरको इच्छालाई बुझ्दैनन् भने तिनीहरूले विश्राम प्राप्त गर्न सक्दैनन्। आज तिमीहरूले यो खण्ड हेरेको म किन चाहन्छु भन्‍ने कुरा तिमीहरूको भविष्यका अनुभवहरूमा तिमीहरूले बुझ्नेछौ—यो धेरै महत्त्वपूर्ण छ। परमेश्‍वरले गर्नुहुने सबै कुरा सत्यता र जीवन हो। सत्यता यस्तो कुरा हो जसको कमी मानिसहरूको जीवनमा हुनुहुँदैन, र यो यस्तो कुरा हो जुनविना मानिसहरूले केही पनि गर्न सक्दैनन्; यो नै सबैभन्दा ठूलो कुरा हो भनेर पनि तैँले भन्‍न सक्छस्। तैँले यसलाई देख्‍न वा छुन नसके तापनि, तेरो निम्ति यसको महत्त्वलाई बेवास्ता गर्न सकिँदैन; तेरो हृदयमा विश्राम ल्याउन सक्‍ने एउटै मात्र कुरा यही हो।

के सत्यता सम्‍बन्धी तिमीहरूको बुझाइ तिमीहरूको आफ्नै अवस्थाहरूसित जोडिएको छ? वास्तविक जीवनमा, तैँले सामना गरेका मानिसहरू, घटनाहरू र वस्तुहरूसित कुन-कुन सत्यताहरू सम्बन्धित छन् भनेर तैँले सुरुमा विचार गर्नुपर्छ; यिनै सत्यताहरूको माझमा तैँले परमेश्‍वरको इच्छा पत्ता लगाउन सक्छस् र उहाँको इच्छामा तैँले जे भेटेको छस्, त्यससित जोडिन सक्छस्। यदि तैँले सामना गरेका कुराहरूसित सत्यताका कुन-कुन पक्षहरूले सम्बन्ध राख्छन् भन्‍ने तँलाई थाहा छैन तर प्रत्यक्ष रूपमा परमेश्‍वरको इच्छा खोजी गर्न जान्छस् भने, यो एउटा अन्धो तरिका हो जसले परिणामहरू हासिल गर्न सक्दैन। यदि तँ सत्यताको खोजी गर्न र परमेश्‍वरको इच्छा बुझ्न चाहन्छस् भने, पहिले तैँले कस्ता कुराहरू तँमा घटेका छन्, सत्यताको कुन पक्षहरूसित ती सम्बन्धित छन् सो हेरेर, परमेश्‍वरको वचनमा निश्चित सत्यताको खोजी गर्नु आवश्यक हुन्छ, जुन तैँले अनुभव गरेको कुरासित सम्बन्धित छन्। त्यसपछि तैँले त्यस सत्यतामा तेरो लागि सहि रहेको अभ्यासको मार्गलाई खोजी गर्नुपर्छ; यसरी, तैँले परमेश्‍वरको इच्छाको अप्रत्यक्ष बुझाइ हासिल गर्न सक्छस्। सत्यताको खोजी गर्नु र अभ्यास गर्नु यान्त्रिक रूपले सिद्धान्त प्रयोग गर्नु वा सूत्रलाई पालन गर्नु होइन। सत्यता सूत्रबद्ध हुँदैन, न त यो नियम नै हो। यो मरेको छैन, यो आफैमा जीवन हो, यो सजीव कुरा हो, र यो सृष्टि गरिएको थोकले जीवनमा पछ्याउनुपर्ने नियम र मानिससित जीवनमा हुनुपर्ने नियम हो। यो तैँले अनुभवद्वारा जतिसक्दो धेरै बुझ्‍नुपर्ने कुरा हो। तेरो अनुभवमा तँ जुन अवस्थामा आइपुगे तापनि, तँलाई परमेश्‍वरको वचन वा सत्यतादेखि अलग गर्न सकिँदैन, र परमेश्‍वरको स्वभावको बारेमा तँ जे बुझ्छस्, र परमेश्‍वरसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यसबारे तँलाई जे थाहा छ, ती सबैलाई परमेश्‍वरका वचनहरूमा व्यक्त गरिएका छन्; ती सत्यतासित फुकाउनै नमिल्ने गरी गाँसिएका छन्। परमेश्‍वरको स्वभाव अनि उहाँसित जे छ र उहाँ जे हुनुहुन्छ, ती आफैमा सत्यता हुन्; सत्यता परमेश्‍वरको स्वभाव तथा उहाँसित जे छ र उहाँ जे हुनुहुन्छ त्यसको विशुद्ध प्रस्फुटन हो। यसले उहाँसित जे छ, र उहाँ जे हुनुहुन्छ, त्यसलाई ठोस बनाउँछ र यसले उहाँसित जे छ र उहाँ जे हुनुहुन्छ, त्यसको प्रष्ट अभिव्यक्ति दिन्छ; परमेश्‍वरले के मन पराउनुहुन्छ अनि के मन पराउनुहुन्न, तैँले के गरेको उहाँ चाहनुहुन्छ, अनि उहाँले तँलाई के गर्न अनुमति दिनुहुन्‍न, कुन मानिसहरूलाई उहाँले तुच्छ ठान्नुहुन्छ, कुन मानिसहरूमा उहाँले आनन्द लिनुहुन्छ त्यसबारे यसले तँलाई अझ प्रत्यक्ष रूपमा बताउँछ। परमेश्‍वरले व्यक्त गर्नुहुने सत्यताहरूको पछाडि, मानिसहरूले उहाँको आनन्द, रिस, शोक र खुशीको साथै उहाँको सारलाई देख्न सक्छन्—यो उहाँको स्वभावको प्रकटीकरण हो। परमेश्‍वरसित जे छ र उहाँ जे हुनुहुन्छ भनी जान्नु, अनि उहाँको वचनबाट उहाँको स्वभाव बुझ्नु बाहेक, सबैभन्दा महत्त्वपूर्ण खाँचो भनेको व्यक्तिगत अनुभवद्वारा यो बुझाइसम्म पुग्नु हो। यदि परमेश्‍वरलाई चिन्नको लागि व्यक्तिले आफूलाई वास्तविक जीवनबाट हटाउँछ भने, तिनीहरूले त्यसलाई हासिल गर्न सक्षम हुनेछैनन्। परमेश्‍वरको वचनबाट केही बुझाइ हासिल गर्न सक्‍ने मानिसहरू छन्, तापनि तिनीहरूको बुझाइ सिद्धान्तहरू तथा शब्‍दहरूमा सीमित हुन्छ, अनि परमेश्‍वर स्वयम्‌ वास्तवमा कस्तो हुनुहुन्छ भन्ने कुराबारे भेद उत्पन्न हुन्छ।

अहिले हामीले कुराकानी गरिरहेको विषय बाइबलमा नै लेखिएका कथाहरूको क्षेत्रभित्र छ। यी कथाहरूद्वारा, अनि घटेका यी घटनाहरूलाई विश्लेषण गर्दा, मानिसहरूले उहाँले प्रकट गर्नुभएको उहाँको स्वभाव अनि उहाँसित जे छ र उहाँ जे हुनुहुन्छ सो कुरा बुझ्‍न सक्छन्, अनि यसले गर्दा परमेश्‍वरको हरेक पक्षलाई तिनीहरूले अझ वृहत् रूपमा, अझ गहिरो प्रकारले अनि विस्तार पूर्वक जान्न सक्छन्। त्यसोभए, परमेश्‍वरको हरेक पक्षलाई जान्‍ने एउटै मात्र तरिका यी कथाहरूद्वारा मात्रै हो? होइन, एउटै मात्र तरिका यो होइन! किनकि राज्यको युगमा परमेश्‍वरले जे भन्नुहुन्छ र उहाँले जुन काम गर्नुहुन्छ, त्यसले मानिसहरूलाई उहाँको स्वभावबारे अझ राम्रोसित जान्न र त्यसबारे पूर्ण रूपले जान्न सहायता गर्नसक्छ। तथापि, मलाई के लाग्छ भने, बाइबलमा लेखिएका, मानिसहरूका निम्ति परिचित केही उदाहरण तथा कथाहरूद्वारा नै हामीलाई परमेश्‍वरको स्वभाव जान्न तथा उहाँसित जे छ र उहाँ जे हुनुहुन्छ त्यसलाई बुझ्न अलिक सजिलो हुनेछ। यदि यस प्रकारले उहाँलाई चिन्नको निम्ति तँलाई सक्षम तुल्याउन मैले न्याय र सजायका वचनहरू तथा परमेश्‍वरले आज व्यक्त गर्नुहुने सत्यताहरूलाई एक-एक शब्द गरी लिएँ भने, तैँले यो अति सुस्त र वाक्क लाग्दो छ भन्‍ने महसुस गर्नेछस्, अनि कोही मानिसहरूले त परमेश्‍वरका वचनहरू सूत्र बद्ध छन् भन्‍ने समेत महसुस गर्नेछन्। तर यदि मैले मानिसहरूलाई परमेश्‍वरको स्वभाव जान्न सहायता गर्नको निम्ति बाइबलका यी कथाहरूलाई लिएँ भने तिनीहरूले यसलाई दिक्क लाग्दो ठान्‍नेछैनन्। तैँले भन्न सक्छस्, कि यी उदाहरणहरू व्याख्या गर्ने क्रममा, त्यस समय परमेश्‍वरको हृदयमा के थियो त्यसका विवरणहरू—उहाँको मनस्थिति तथा मनोभाव, उहाँका सोचाइ तथा विचारहरू—मानिसहरूलाई मानव भाषामा नै बताइएको थियो, अनि यो सबैको लक्ष्य परमेश्‍वरसित जे छ र उहाँ जे हुनुहुन्छ, त्यो सूत्र बद्ध होइन भनी तिनीहरूलाई बुझाउन, महसुस गर्न दिनु हो। यो दन्त्यकथा वा मानिसहरूले देख्न नसक्ने वा छुन नसक्ने कुनै कुरा होइन। यो साँच्चिकै अस्तित्वमा रहेको कुनै कुरा हो, जसलाई मानिसहरूले महसुस तथा सराहना गर्न सक्छन्। अन्तिम लक्ष्य यही हो। तैँले भन्न सक्छस् कि यस युगमा बाँचिरहेका मानिसहरू धन्यका हुन्। तिनीहरूले परमेश्‍वरको पहिलेका कार्यको बारेमा वृहत् बुझाइ प्राप्त गर्न बाइबलका कथाहरू प्रयोग गर्न सक्छन्; तिनीहरूले उहाँले गर्नुभएको कामद्वारा उहाँको स्वभावलाई देख्न सक्छन्; परमेश्‍वरले व्यक्त गर्नुभएका यी स्वभावहरूद्वारा तिनीहरूले मानवजातिको निम्ति उहाँको इच्छालाई बुझ्न सक्छन्, अनि उहाँको पवित्रताका ठोस प्रकटीकरणहरू तथा मानवको निम्ति उहाँको वास्तालाई बुझ्न सक्छन्, अनि यसरी तिनीहरूले परमेश्‍वरको स्वभावको बारेमा अझ विस्तृत र अझ गहिरो ज्ञान प्राप्त गर्न सक्छन्। मलाई विश्‍वास छ, कि तिमीहरू सबैले अहिले यो महसुस गर्न सक्छौ!

प्रभु येशूले अनुग्रहको युगमा पूरा गर्नुभएको यस कामको क्षेत्रभित्र, तैँले परमेश्‍वरसित जे छ र उहाँ जे हुनुहुन्छ त्यसको अर्को पक्षलाई देख्न सक्छस्। यो पक्षलाई उहाँको देहद्वारा प्रकट गरिएको थियो, अनि मानिसहरूले उहाँको मानवताको कारण यसलाई देख्न र बुझ्‍न सके। परमेश्‍वरले कसरी देहमा आफ्नो मानवता जिउनुभयो सो कुरा मानिसहरूले मानिसको पुत्रमा देखे, अनि परमेश्‍वरको ईश्‍वरत्व देहद्वारा प्रकट भएको तिनीहरूले देखे। यी दुई प्रकारका प्रकटीकरणहरूले मानिसहरूलाई एउटा वास्तविक परमेश्‍वरलाई देख्ने तुल्यायो, अनि त्यसले मानिसहरूलाई परमेश्‍वरको एउटा फरक अवधारणा निर्माण गर्न लगायो। तथापि, संसारको सृष्टि र व्यवस्थाको युगको अन्त्य बीचको समयावधिमा अर्थात् अनुग्रहको युगभन्दा पहिले मानिसहरूले देखेका, सुनेका र अनुभव गरेका परमेश्‍वरका पक्षहरू भनेका परमेश्‍वरको ईश्‍वरत्व, परमेश्‍वरले अभौतिक क्षेत्रभित्र गर्नुभएका र भन्नुभएका, अनि उहाँले उहाँको देख्‍न वा छुन नसकिने वास्तविक व्यक्तित्वबाट प्रकट गर्नुभएका कुराहरू मात्रै पर्छन्। प्रायजसो, यी कुराहरूले मानिसहरूलाई परमेश्‍वर आफ्नो महानतामा यति उच्च हुनुहुन्छ कि मानिसहरू उहाँको नजिक जान सक्दैनन् भन्‍ने महसुस गरायो। परमेश्‍वरले मानिसहरूलाई प्रायजसो दिनुभएको भाव के थियो भने उहाँलाई बुझ्‍ने तिनीहरूको क्षमताबाट उहाँ घरी देखिनुहुन्थ्यो र घरी हराउनुहुन्थ्यो, अनि मानिसहरूले यो पनि महसुस गरे कि उहाँको हरेक विचार तथा धारणा यति रहस्यमय छ र यति भ्रमपूर्ण छ कि तिनलाई पहुँच गर्ने कुनै बाटो छैन, उहाँलाई बुझ्ने र सराहना गर्ने प्रयासको कुरा त परै छोडौं। मानिसहरूको निम्ति, परमेश्‍वरको हरेक कुरा धेरै टाढाको थियो, यति टाढाको कि मानिसहरूले त्यसलाई देख्न सक्दैनथे, त्यसलाई छुन सक्दैनथे। उहाँ उच्‍चमा आकाशमाथि हुनुहुन्छ भन्‍ने प्रतीत हुन्थ्यो, अनि उहाँ बिलकुल अस्तित्वमा हुनुहुन्न जस्तै प्रतीत हुन्थ्यो। यसैकारण मानिसहरूको निम्ति, परमेश्‍वरको हृदय र मन वा उहाँको कुनै पनि सोचलाई बुझ्‍नु अप्राप्य थियो, अनि तिनीहरूको पहुँचभन्दा पनि परको कुरा थियो। परमेश्‍वरले व्यवस्थाको युगमा केही ठोस काम गर्नुभएको भए तापनि, अनि मानिसहरूलाई उहाँको सराहना गर्न तथा उहाँको बारेमा केही वास्तविक ज्ञान प्राप्त गर्न लगाउनको निम्ति उहाँले केही विशेष वचनहरू जारी गर्नुभएको तथा केही विशेष स्वभावहरू प्रकट गर्नुभएको भए तापनि, अन्त्यमा, परमेश्‍वरसित जे छ र उहाँ जे हुनुहुन्छ, त्यसका प्रकटीकरणहरू एउटा अभौतिक क्षेत्रबाट आएको थियो, अनि मानिसहरूले जे बुझे, तिनीहरूले जे जाने, त्यो अझै पनि उहाँसित जे छ र उहाँ जे हुनुहुन्छ त्यसको ईश्‍वरीय पक्षसँग सम्‍बन्धित थियो। उहाँसित जे छ र उहाँ जे हुनुहुन्छ त्यसको यस अभिव्यक्तिद्वारा मानवजातिले उहाँको ठोस अवधारणा प्राप्त गर्न सकेन, अनि परमेश्‍वरबारे तिनीहरूको विचार अझै पनि “पहुँच गर्न नसकिने, अनुभूतिबाट बाहिर-भित्र गरिरहने आत्मिक शरीर” कै क्षेत्रभित्र अड्की बस्यो। परमेश्‍वरले मानिसहरूको सामु देखा पर्न भौतिक क्षेत्रको कुनै विशेष वस्तु वा स्वरूपको प्रयोग नगर्नुभएको कारण, मानव भाषा प्रयोग गरेर बयान गर्न तिनीहरू असमर्थ रहे। परमेश्‍वरको निम्ति स्तर स्थापित गर्न, उहाँलाई ठोस बनाउन र मानवीकरण गर्न, जस्तै उहाँ कति अल्गो हुनुहुन्छ, उहाँ कति ठूलो हुनुहुन्छ, उहाँलाई वास्तवमा के मन पर्छ अनि उहाँको व्यक्तित्व के हो, त्यसको लागि मानिसहरूले आफ्नो हृदय र मनहरूमा सधैँ आफ्नो भाषा प्रयोग गर्न चाहन्थे। वास्तवमा, मानिसहरूले यस प्रकारले सोचिरहेका छन् भन्‍ने कुरा परमेश्‍वरले आफ्‍नो हृदयमा जान्नुहुन्थ्यो। मानिसहरूका खाँचोहरूको बारेमा परमेश्‍वरलाई अत्यन्तै स्पष्ट रूपमा थाहा थियो, अनि अवश्य नै, उहाँले के गर्नुपर्छ भन्‍ने पनि उहाँलाई थाहा थियो, त्यसैले उहाँले अनुग्रहको युगमा बेग्लै तरिकाले आफ्नो काम गर्नुभयो। यो नयाँ तरिका ईश्‍वरीय र मानवीय दुवै थियो। प्रभु येशूले काम गरिरहनुभएको समयावधिमा, परमेश्‍वरसित धेरै मानव अभिव्यक्तिहरू छन् भनी मानिसहरूले देख्न सक्थे। उदाहरणको निम्ति, उहाँले नाच्न सक्नुहुन्थ्यो, उहाँ विवाहहरूमा सहभागी हुन सक्नुहुन्थ्यो, उहाँले मानिसहरूसित कुराकानी गर्न सक्नुहुन्थ्यो, तिनीहरूसित छलफल गर्न सक्नुहुन्थ्यो। त्यसको अतिरिक्त, प्रभु येशूले उहाँको ईश्‍वरत्वलाई प्रतिनिधित्व गर्ने धेरै काम पनि पूरा गर्नुभयो, अनि वास्तवमा उहाँको यो सबै काम परमेश्‍वरको स्वभावको अभिव्यक्ति र प्रकाश थियो। यस अवधिमा, जब परमेश्‍वरको ईश्‍वरत्व मानिसहरूले देख्न र छुन सकिने प्रकारले देहमा प्रकट भयो, तब उहाँ तिनीहरूको बुझाइबाट भित्र-बाहिर गरिरहनुहुन्छ वा तिनीहरू उहाँको नजिक जान सक्दैनन् भन्‍ने कुरालाई मानिसहरूले उपरान्त महसुस गर्न छोडे। यसको विपरीत, तिनीहरूले उहाँको हरेक चालद्वारा, वचनहरूद्वारा, अनि मानिसको पुत्रको कामद्वारा परमेश्‍वरको इच्छालाई जान्‍न वा बुझ्‍न प्रयास गर्न सके। मानिसको देहधारी पुत्रले परमेश्‍वरको ईश्‍वरत्वलाई आफ्नो मानवताद्वारा प्रकट गर्नुभयो अनि मानवजातिलाई परमेश्‍वरको इच्छा प्रकट गर्नुभयो। अनि परमेश्‍वरको इच्छा तथा स्वभावलाई प्रकट गरेर, उहाँले आत्मिक संसारमा बास गर्नुहुने परमेश्‍वरलाई मानिसहरूकहाँ प्रकट पनि गरिदिनुभयो, जसलाई देख्न वा छुन सकिँदैन। मानिसहरूले जे देखे, त्यो भौतिक स्वरूपमा देह र रगतले बनेको परमेश्‍वर स्वयम्‌ हुनुहुन्थ्यो। त्यसैले, मानिसको देहधारी पुत्रले परमेश्‍वर स्‍वयम्‌को पहिचान, परमेश्‍वरको हैसियत, प्रतिरूप, स्वभाव अनि उहाँसित जे छ र उहाँ जे हुनुहुन्छ त्यसलाई ठोस र मानवीय बनाउनुभयो। परमेश्‍वरको प्रतिरूपको सम्बन्धमा मानिसको पुत्रको बाह्य रूपमा केही सीमितताहरू भएको भए तापनि, उहाँको सार अनि उहाँसित जे छ र उहाँ जे हुनुहुन्छ, त्यसले परमेश्‍वर स्वयम्‌को पहिचान तथा हैसियतलाई पूर्ण रूपमा प्रतिनिधित्व गर्न सक्थ्यो—व्यक्त गर्ने शैलीमा मात्र केही भिन्नताहरू थिए। मानिसको पुत्रले उहाँको मानवतामा र उहाँको ईश्‍वरीयता दुवैमा परमेश्‍वर स्‍वयम्‌को पहिचान तथा हैसियतलाई प्रतिनिधित्व गरेको थियो भन्ने कुरालाई हामी इन्कार गर्न सक्दैनौँ। तथापि, यस समयावधिमा परमेश्‍वरले देहद्वारा काम गर्नुभयो, देहको दृष्टिकोणबाट बोल्नुभयो, अनि मानिसको पुत्रको पहिचान र हैसियतमा मानवजातिको सामु उभिनुभयो र यसले मानिसहरूलाई परमेश्‍वरले मानवजातिको सामु दिनुभएका साँचो वचनहरू तथा कामलाई देख्‍ने र अनुभव गर्ने अवसर दियो। यसले मानिसहरूलाई नम्रताको बीचमा उहाँको ईश्‍वरत्व तथा उहाँको महानता देख्ने अन्तर्दृष्टि दिनुको साथै परमेश्‍वरको विशुद्धता तथा वास्तविकताको प्रारम्भिक बुझाइ तथा परिभाषा प्राप्त गर्न पनि दियो। प्रभु येशू ले पूरा गर्नुभएको काम, उहाँले काम गर्ने तरिकाहरू र उहाँले बोल्‍ने दृष्टिकोण, आत्मिक क्षेत्रमा रहेको परमेश्‍वरको वास्तविक व्यक्तित्वभन्दा फरक थियो, तैपनि उहाँको हरेक कुराले परमेश्‍वर स्वयम्‌लाई साँचो रूपमा प्रतिनिधित्व गर्‍यो, जसलाई मानवजातिले कहिल्यै देखेका छैनन्—यसलाई इन्कार गर्न सकिँदैन। भन्‍नुको अर्थ, परमेश्‍वर जुनसुकै रूपमा प्रकट हुनुभए तापनि, उहाँले जुनसुकै दृष्टिकोणबाट बोल्नुभए तापनि, अथवा उहाँले जुनसुकै प्रतिरूपमा मानवजातिको सामना गर्नुभए तापनि, परमेश्‍वरले अरू केहीलाई होइन, तर आफैलाई प्रतिनिधित्व गर्नुहुन्छ। उहाँले अरू कुनै मानवलाई प्रतिनिधित्व गर्न सक्‍नुहुन्‍न, न त भ्रष्ट मानवजातिमध्ये कसैलाई प्रतिनिधित्व गर्नुहुन्छ। परमेश्‍वर, परमेश्‍वर स्वयम्‌ नै हुनुहुन्छ र यसलाई इन्कार गर्न सकिँदैन।

यसपछि हामी प्रभु येशूले अनुग्रहको युगमा बताउनुभएको दृष्टान्तलाई हेर्नेछौं।

३. हराएको भेडाको दृष्टान्त

मत्ती १८:१२-१४ तिमीहरू कसरी सोच्छौ? यदि कुनै मानिससँग एक सय भेडा छन् र तीमध्ये एउटा बरालिन्छ भने के उसले उनान्‍सयलाई छाडेर पर्वतहरूतिर गई बरालिएको भेडालाई खोज्दैन र? अनि यदि उसले भेट्टायो भने, म तिमीहरूलाई साँच्चै भन्दछु, ऊ नबरालिएका अन्य उनान्‍सय भेडाहरूको भन्दा त्यस भेडाको निम्ति धेरै आनन्द मनाउँछ। त्यसरी नै स्वर्गमा हुनुहुने तिमीहरूका पिताको इच्छा यो छैन, कि यी सानाहरूमध्ये एक जना पनि नष्ट होस्।

यो अध्याय एउटा दृष्टान्त हो—यसले मानिसहरूलाई कस्तो प्रकारको अनुभूति दिन्छ? यहाँ प्रयोग गरिएको अभिव्यक्तिको तरिका—दृष्टान्त—मानव भाषाको एउटा अलङ्कार हो, अनि त्यस अर्थमा यो मानव ज्ञानको क्षेत्रभित्र पर्दछ। यदि परमेश्‍वरले व्यवस्थाको युगमा त्यस्तै प्रकारको कुनै कुरा भन्नुभएको भए मानिसहरूले परमेश्‍वर जो हुनुहुन्छ, त्यससित ती वचनहरू साँचो रीतिले अनुरूप छैनन् भन्‍ने महसुस गर्थे तर जब मानिसको पुत्रले अनुग्रहको युगमा यी वचनहरू बोल्नुभयो, यसले मानिसहरूलाई सान्त्वना, न्यानोपन अनि घनिष्ठताको आभास गरायो। जब परमेश्‍वर देह हुनुभयो, जब उहाँ मानिसको रूपमा देखा पर्नुभयो, तब उहाँको हृदयको आवाज व्यक्त गर्न उहाँले आफ्नै मानवताबाट आएको एउटा उचित दृष्टान्त प्रयोग गर्नुभयो। यो आवाजले परमेश्‍वरको आफ्नै आवाज अनि उहाँले त्यस युगमा गर्न चाहनुभएको कामलाई प्रतिनिधित्व गर्‍यो। यसले अनुग्रहको युगमा मानिसहरूप्रतिको परमेश्‍वरको आचरणलाई पनि प्रतिनिधित्व गर्‍यो। मानिसहरूप्रति परमेश्‍वरको आचरणको दृष्टिकोणबाट हेर्दा, उहाँले हरेक व्यक्तिलाई एउटा भेडासित तुलना गर्नुभयो। यदि एउटा भेडा हरायो भने, त्यसलाई भेट्टाउन उहाँले जे पनि गर्नुहुन्थ्यो। जब उहाँ देहमा हुनुहुन्थ्यो, तब मानवजातिको माझमा परमेश्‍वरले गर्नुभएको कामको सिद्धान्तलाई यसले प्रतिनिधित्व गर्‍यो। परमेश्‍वरले त्यस काममा उहाँको अठोट र आचरण कस्तो थियो त्यसलाई बयान गर्न यस दृष्टान्तलाई प्रयोग गर्नुभयो। परमेश्‍वर देह बन्‍नुको फाइदा यही नै थियो: उहाँले मानवजातिको ज्ञानको फाइदा लिन सक्नुहुन्थ्यो अनि मानिसहरूसित बोल्न र आफ्नो इच्छा व्यक्त गर्न मानव भाषाको प्रयोग गर्न सक्नुहुन्थ्यो। उहाँले मानिसलाई मानवीय तरिकामा आफ्नो गहन, ईश्‍वरीय भाषा व्याख्या गर्नुभयो अथवा “अनुवाद गर्नुभयो” जसलाई मानव भाषामा बुझ्न मानिसहरूलाई कठिन हुन्थ्यो। यसले उहाँको इच्छा बुझ्न र उहाँले के गर्न चाहनुहुन्छ भन्‍ने कुरा जान्न मानिसहरूलाई सहायता गर्‍यो। उहाँले मानव भाषा प्रयोग गरेर, अनि तिनीहरूले बुझ्ने किसिमले बताएर पनि मानिसहरूसित मानव दृष्टिकोणमा बातचित गर्न सक्नुहुन्थ्यो। उहाँले मानव भाषा प्रयोग गरेर बोल्न र काम गर्न पनि सक्नुहुन्थ्यो ताकि मानिसहरूले परमेश्‍वरको दया तथा घनिष्ठतालाई महसुस गर्न सकून्, ताकि तिनीहरूले उहाँको हृदयलाई देख्न सकून्। यसमा तिमीहरूले के देख्छौ? के परमेश्‍वरका वचन तथा कामहरूमा कुनै प्रतिबन्ध छ त? मानिसहरूको दृष्टिकोणमा त, परमेश्‍वर स्‍वयम्‌ले के भन्न चाहनुभयो, जुन काम उहाँले गर्न चाहनुभयो त्यसको बारेमा कुरा गर्न वा उहाँको इच्छा व्यक्त गर्न परमेश्‍वरले कुनै पनि प्रकारले मानव ज्ञान, भाषा वा बोल्ने तरिकाहरू प्रयोग गर्न सक्नुहुन्न। तर यो गलत सोचाइ हो। परमेश्‍वरले यस प्रकारको दृष्टान्त प्रयोग गर्नुभयो ताकि मानिसहरूले परमेश्‍वरको वास्तविकता र सच्चाइ महसुस गर्न सकून् अनि त्यस अवधिमा मानिसहरूप्रतिको उहाँको आचरण देख्न सकून्। यस दृष्टान्तले लामो समयदेखि व्यवस्थामुनि जिउँदै आइरहेका मानिसहरूलाई सपनाबाट ब्यूँझायो, अनि यसले एकपछि अर्को पुस्ताका मानिसहरूलाई प्रेरित गर्‍यो जो अनुग्रहको युगमा बाँचेका थिए। यस दृष्टान्तको अध्यायलाई पढेर, मानवजातिलाई मुक्ति दिने कार्यमा परमेश्‍वरको इमानदारीतालाई जान्न र परमेश्‍वरको हृदयमा मानवजातिलाई प्रदान गरिएको वजन तथा महत्त्वलाई मानिसहरूले बुझ्दछन्।

यस अध्यायको अन्तिम वाक्यलाई हामी हेरौं: “त्यसरी नै स्वर्गमा हुनुहुने तिमीहरूका पिताको इच्छा यो छैन, कि यी सानाहरूमध्ये एक जना पनि नष्ट होस्।” यो प्रभु येशूका आफ्नै वचनहरू हुन्, कि स्वर्गमा हुनुहुने पिताका वचनहरू हुन्? बाहिरबाट हेर्दा, यो प्रभु येशूले बोलिरहनुभएको जस्तो देखिन्छ तर उहाँको इच्छाले परमेश्‍वरको इच्छालाई प्रतिनिधित्व गर्दछ, त्यसैले उहाँले यसो भन्नुभएको हो: “त्यसरी नै स्वर्गमा हुनुहुने तिमीहरूका पिताको इच्छा यो छैन, कि यी सानाहरूमध्ये एक जना पनि नष्ट होस्।” त्यस समयमा मानिसहरूले स्वर्गमा बस्नुहुने पितालाई मात्रै परमेश्‍वरको रूपमा मान्थे अनि तिनीहरूले आफ्‍नो सामु जुन व्यक्तिलाई देखे, तिनी केवल उहाँले पठाउनुभएका व्यक्ति मात्र हुन् अनि तिनले स्वर्गमा बस्नुहुने पितालाई प्रतिनिधित्व गर्न सक्दैनन् भनी तिनीहरूले विश्‍वास गर्थे। त्यसैकारण, प्रभु येशूले यस दृष्टान्तको अन्त्यमा यो वाक्य थप्नु परेको थियो, ताकि मानिसहरूले साँचो रीतिले मानवजातिको निम्ति परमेश्‍वरको इच्छालाई महसुस गर्न सकून् अनि उहाँले जे भन्नुभयो, त्यसको वास्तविकता र विशुद्धतालाई महसुस गर्न सकून्। यो वाक्य भन्नको निम्ति सरल भए पनि यसलाई वास्ता र प्रेमसहित बोलिएको थियो अनि यसले प्रभु येशूको नम्रता र गुप्तपनलाई प्रकट गरेको थियो। परमेश्‍वर देह हुनुभए तापनि वा उहाँले आत्मिक क्षेत्रमा काम गर्नुभए तापनि, उहाँले मानव हृदयलाई सर्वोत्तम रीतिले जान्नुहुन्थ्यो, अनि मानिसहरूलाई के खाँचो छ सो सर्वोत्तम रीतिले बुझ्नुहुन्थ्यो, मानिसहरूले केको बारेमा चिन्ता गर्छन् सो जान्नुहुन्थ्यो, अनि तिनीहरूलाई कुन कुराले अन्योलमा पार्छ सो उहाँले जान्नुहुन्थ्यो, त्यसैले उहाँले यो वाक्य थप्नुभयो। यस वाक्यले मानवजातिमा लुकेर रहेको एउटा समस्यालाई प्रकाशमा ल्यायो: मानिसको पुत्रले जे भन्‍नुहुन्थ्यो सो बारेमा मानिसहरू शङ्कालु हुन्थे, भनाइको अर्थ, जब प्रभु येशूले बोलिरहनुभएको हुन्थ्यो, तब उहाँले यो कुरा थप्नु पर्थ्यो: “त्यसरी नै स्वर्गमा हुनुहुने तिमीहरूका पिताको इच्छा यो छैन, कि यी सानाहरूमध्ये एक जना पनि नष्ट होस्,” अनि यही आधारमा मात्रै मानिसहरूलाई त्यसको विशुद्धतामा विश्‍वास गर्ने तुल्याउन र त्यसको विश्‍वसनीयता सुधार गर्नको लागि उहाँका वचनहरूले फल फलाउन सक्थ्यो। यसले के देखाउँछ भने, जब परमेश्‍वर मानिसको सामान्य पुत्र हुनुभयो, तब परमेश्‍वर र मानवजातिबीचको सम्‍बन्ध अत्यन्तै अप्ठ्यारो भयो, अनि मानिसको पुत्रको अवस्था निकै लाजमर्दो थियो। यसले त्यस समयमा मानिसहरूको माझमा प्रभु येशूको हैसियत कति महत्त्वहीन थियो सो कुरालाई पनि देखाउँछ। जब उहाँले यो कुरा भन्नुभयो, तब यो वास्तवमा मानिसहरूलाई यो कुरा बताउनको निम्ति थियो: तिमीहरू सुनिश्चित हुन सक्छौ—यी वचनहरूले मेरो हृदयमा के छ भन्ने कुरालाई प्रतिनिधित्व गर्दैन, तर ती परमेश्‍वरको इच्छा हुन् जो तिमीहरूको हृदयमा हुनुहुन्छ। मानिसको निम्ति के यो व्यंग्यात्मक कुरा होइन र? देहमा काम गरिरहनुभएको परमेश्‍वरसँग उहाँको व्यक्तित्वमा नभएका धेरै फाइदाहरू रहेको भए तापनि, उहाँले तिनीहरूका शङ्का तथा तिरस्कारहरूको साथै तिनीहरूको संवेदना शून्यता तथा सुस्तपनालाई सामना गर्नुपरेको थियो। यसो भन्न सकिन्छ कि मानिसको पुत्रको कामको प्रक्रिया भनेको मानवजातिको तिरस्कार अनुभव गर्नु तथा उहाँको विरुद्धमा तिनीहरूले गर्ने होडबाजीको प्रक्रियालाई अनुभव गर्नु थियो। त्यसभन्दा बढी, यो निरन्तर रूपमा मानवजातिको भरोसा जित्न अनि उहाँसित जे छ र उहाँ जे हुनुहुन्छ, त्यसद्वारा अनि उहाँको आफ्नै सारद्वारा मानवजातिलाई जित्नको निम्ति काम गर्ने प्रक्रिया थियो। यो देहधारी परमेश्‍वरले शैतानको विरुद्धमा भूमिमा लडाइँ लडिरहनुभएको छ भन्‍ने कुरासँग त्यति सम्‍बन्धित थिएन; यो त परमेश्‍वर एउटा साधारण मानिस हुनुभयो र उहाँलाई पछ्याउनेहरूसित उहाँले संघर्ष गर्नुभयो, अनि यस संघर्षमा मानिसको पुत्रले आफ्नो नम्रताद्वारा, उहाँसित जे छ र उहाँ जे हुनुहुन्छ त्यसद्वारा, अनि उहाँको प्रेम र बुद्धिद्वारा आफ्नो काम सिध्याउनुभएको कुरासँग सम्‍बन्धित थियो। उहाँले चाहना गर्नुभएका मानिसहरूलाई उहाँले प्राप्त गर्नुभयो, उहाँले पाउन योग्य पहिचान र हैसियतलाई उहाँले जित्नुभयो अनि उहाँ आफ्‍नो सिंहासनमा “फर्किनुभयो”।

यसपछि हामी धर्मशास्त्रका निम्‍न दुई खण्डहरूलाई हेरौं:

४. सत्तरी गुणा सात पल्ट क्षमा देऊ

मत्ती १८:२१-२२ तब पत्रुस उहाँकहाँ आए र भने, प्रभु, मेरो भाइले मेरो विरुद्ध कति पटक पाप गर्दा मैले क्षमा गर्ने? सात पटकसम्‍म? येशूले तिनलाई भन्‍नुभयो, म तिमीलाई सात पटकसम्म भन्दिन: तर, सत्तरी गुणा सात पल्टसम्‍म।

५. प्रभुको प्रेम

मत्ती २२:३७-३९ येशूले तिनलाई भन्‍नुभयो, तैँले परमप्रभु आफ्ना परमेश्‍वरलाई आफ्नो सम्पूर्ण हृदयले, आफ्नो सम्पूर्ण प्राणले, आफ्नो सम्पूर्ण मानले प्रेम गर्नू। यो पहिलो र महान्‌ आज्ञा हो। र दोस्रोचाहिँ यस्तै छ, तैँले आफ्नो छिमेकीलाई आफैलाई झैँ प्रेम गर्नुपर्छ।

यी दुई अध्यायहरूमध्ये, एउटाले क्षमाको बारेमा बताउँदछ भने अर्कोले प्रेमको बारेमा। यी दुई विषयहरूले प्रभु येशूले यस अनुग्रहको युगमा गर्न चाहनुभएको कामलाई वास्तविक रूपमा प्रकाशमा ल्याउँछन्।

जब परमेश्‍वर देह बन्‍नुभयो, तब उहाँले आफ्‍नो साथमा आफ्नो कामको एउटा चरण ल्याउनुभयो जुन उहाँले यो युगमा व्यक्त गर्न चाहनुभएको निश्चित काम कार्यहरू र स्वभाव थियो। त्यस अवधिमा, मानिसको पुत्रले गर्नुभएको हरेक कुरा यस युगमा परमेश्‍वरले गर्न चाहनुभएको कामसँग सम्‍बन्धित थियो। उहाँले योभन्दा बढी पनि गर्नुहुन्‍नथियो कम पनि गर्नुहुन्‍नथियो। उहाँले भन्नुभएको हरेक कुरा र उहाँले गर्नुभएको हरेक प्रकारको काम सबै यस युगसित सम्बन्धित थियो। चाहे उहाँले त्यसलाई मानव भाषामा मानव तरिकाले व्यक्त गर्नुभए पनि वा ईश्‍वरीय भाषामा व्यक्त गर्नुभए पनि, अनि चाहे उहाँले जुनसुकै तरिकाले वा जुनसुकै दृष्टिकोणबाट त्यसो गर्नुभए पनि, उहाँको लक्ष्य भनेको उहाँले के गर्न चाहनुहुन्थ्यो, उहाँको इच्छा के हो, अनि मानिसहरूप्रति उहाँका मापदण्डहरू के हुन् सो बुझ्न मानिसहरूलाई सहायता गर्नु थियो। उहाँको इच्छा बुझ्न र जान्न, अनि मानवजातिलाई मुक्ति दिने उहाँको काम बुझ्नको निम्ति मानिसहरूलाई सहायता गर्न उहाँले विभिन्न माध्यम तथा भिन्नाभिन्नै दृष्टिकोणहरू प्रयोग गर्न सक्नुहुन्छ। त्यसैकारण, अनुग्रहको युगमा, प्रभु येशूले मानवजातिलाई आफूले बताउन चाहेको कुरा व्यक्त गर्न उहाँले प्रायजसो मानव भाषाकै प्रयोग गर्नुभएको हामी देख्छौँ। अझ बढी, हामी उहाँलाई एउटा साधारण मार्गदर्शकको दृष्टिकोणबाट उहाँले मानिसहरूसित बोलिरहनुभएको, तिनीहरूका खाँचोहरू पूरा गरिरहनुभएको, तिनीहरूले अनुरोध गरेका कुरामा तिनीहरूलाई सहायता गरिरहनुभएको देख्छौँ। यस प्रकारको काम व्यवस्थाको युगमा देखिएको थिएन जुन अनुग्रहको युगभन्दा पहिले आएको थियो। उहाँ मानवजातिसित अझै बढी घनिष्ठ र दयालु हुनुभयो साथै रूप तथा व्यवहार दुवैमा उहाँले अझै बढी व्यवहारिक परिणामहरू हासिल गर्न सक्नुभयो। मानिसहरूलाई सत्तरी गुणा सात पल्ट क्षमा गर्नुपर्छ भन्‍ने उपमाले साँच्चिकै यस बुँदालाई स्पष्ट पार्दछ। यस उपमामा सङ्ख्याले हासिल गरेको उद्देश्य भनेको प्रभु येशूले त्यस समयमा उहाँको अभिप्रायको बारेमा मानिसहरूलाई बुझ्न लगाउनको लागि यो कुरा बताउनुभएको हो। उहाँको अभिप्राय मानिसहरूले अरूलाई क्षमा गरुन् भन्ने थियो—एक पल्ट वा दुई पल्ट होइन, अनि सात पल्ट पनि होइन, तर सत्तरी गुणा सात पल्ट। “सत्तरी गुणा सात” को धारणाभित्र कस्तो प्रकारको विचार सामेल छ त? यो मानिसहरूलाई तिनीहरूको जिम्मेवारीको रूपमा, तिनीहरूले सिक्‍नैपर्ने कुराको रूपमा, अनि तिनीहरूले पछ्याउनै पर्ने “मार्ग” को रूपमा स्वीकार गर्न लगाउनु थियो। यो एउटा उपमा मात्रै भए तापनि, यसले एउटा निर्णायक बुँदालाई प्रकाशमा ल्याउन सहायता गर्दछ। यसले मानिसहरूलाई उहाँको भनाइको अर्थ के हो त्यसलाई गहिरो प्रकारले बुझ्‍न अनि अभ्यासका उचित तरिकाहरू र सिद्धान्तहरू तथा अभ्यासका मापदण्डहरू पत्ता लगाउन सहायता गर्‍यो। यस उपमाले मानिसहरूले क्षमाको बारेमा सिक्‍नुपर्छ र विना सर्त अनगिन्ती पटक क्षमा गर्नुपर्छ तर सहनशीलता र अरूलाई बुझ्‍ने आचरण सहित यसो गर्नुपर्छ भनेर स्पष्ट रूपमा बुझ्‍न तिनीहरूलाई सहायता गर्‍यो र तिनीहरूलाई उचित अवधारणा दियो। जब प्रभु येशूले यो भन्नुभयो, तब उहाँको हृदयमा के थियो? के उहाँले साँच्चिकै “सत्तरी गुणा सात” सङ्ख्याको बारेमा सोचिरहनुभएको थियो त? होइन, उहाँले त्यसो गरिरहनुभएको थिएन। परमेश्‍वरले मानिसलाई क्षमा गर्ने कुनै सङ्ख्या छ र? यहाँ उल्लेख गरिएको “सङ्ख्याको गुणा” मा धेरै मानिसहरूले निकै चासो लिन्छन्, जसले साँच्चिकै यस सङ्ख्याको उत्पत्ति र अर्थलाई बुझ्न चाहन्छन्। तिनीहरू प्रभु येशूको मुखबाट यो सङ्ख्या किन निस्कियो सो बुझ्न चाहन्छन्; यस सङ्ख्यामा गहिरो आशय छ भन्‍ने विश्‍वास तिनीहरू गर्दछन्। तर वास्तवमा, यो परमेश्‍वरले प्रयोग गर्नुभएको एउटा मानव अलङ्कार मात्र थियो। कुनै पनि आशय वा अर्थलाई मानवजातिको निम्ति प्रभु येशूका मागहरू अनुसार लिइनुपर्छ। जब परमेश्‍वर अझै देहधारी भइसक्नुभएको थिएन, त्यो बेला उहाँले भन्नुभएको अधिकांश कुरा मानिसहरूले बुझेनन्, किनकि उहाँका वचनहरू पूर्ण ईश्‍वरत्वबाट आएका थिए। उहाँले भन्नुभएको कुराको दृष्टिकोण र सन्दर्भ मानवजातिको लागि अदृश्य र अगम्य थियो यो आत्मिक क्षेत्रबाट व्यक्त गरिएको थियो जसलाई मानिसहरूले देख्न सक्दैनथे। देहमा जिउने मानिसहरू आत्मिक क्षेत्रबाट भएर जान सक्दैनथिए। तर परमेश्‍वर देह बनिसक्‍नुभएपछि उहाँले मानवजातिको दृष्टिकोणबाट बोल्नुभयो, अनि उहाँ आत्मिक क्षेत्रको सीमादेखि बाहिर आउनुभयो र त्यसलाई नाघ्नुभयो। मानवजातिले परमेश्‍वरलाई बुझ्न र चिन्न सकून्, उहाँको अभिप्राय तथा उहाँको अपेक्षित स्तरहरूलाई तिनीहरूको क्षमताको सीमाभित्र तथा तिनीहरूले सक्ने स्तरसम्म आत्मसात् गर्न सकून् भनेर आफ्नो ईश्‍वरीय स्वभाव, इच्छा तथा धारणालाई मानवले कल्पना गर्न सक्ने कुराहरू, तिनीहरूले आफ्‍नो जीवनमा देखेका तथा सामना गरेका कुराहरूद्वारा अनि मानिसहरूले स्वीकार गर्न सक्ने विधिहरू प्रयोग गरेर तिनीहरूले बुझ्न सक्ने ज्ञानद्वारा व्यक्त गर्न सक्नुभयो। मानवजातिमा उहाँको कामको विधि तथा सिद्धान्त यही नै थियो। देहमा काम गर्ने परमेश्‍वरका धेरैजसो तरिका तथा उहाँका सिद्धान्तहरू मानवताको माध्यमले वा मानवताद्वारा हासिल गरिएको भए तापनि, यसले प्रत्यक्ष रूपमा ईश्‍वरत्वद्वारा काम गरेर हासिल गर्न नसकिने परिणामहरू हासिल गर्न सक्यो। मानवजातिमा परमेश्‍वरको काम अझै बढी ठोस, विशुद्ध तथा लक्षित थियो, विधिहरू अझ धेरै लचकदार थिए, अनि यो व्यवस्थाको युगमा सम्पन्न गरिएको कामलाई नाघ्‍ने किसिमको थियो।

यसपछि, हामी प्रभुलाई र तेरो छिमेकीलाई आफैलाई जस्तै प्रेम गर्ने विषयमा कुरा गरौँ। के यो ईश्‍वरत्वमा प्रत्यक्ष रूपले व्यक्त गरिएको कुरा हो? होइन, स्पष्ट रूपले नै होइन! यी सबै कुराहरू मानिसको पुत्रले मानवतामा बोल्‍नुभएका कुराहरू हुन्; केवल मानवले मात्रै “छिमेकीलाई आफैलाई जस्तै प्रेम गर। तिमीहरूले आफ्नै जीवनलाई हेरचाह गरे जस्तै अरूलाई प्रेम गर” भन्‍ने जस्ता कुरा भन्छन्। यस्तो प्रकारले बोल्‍ने शैली नितान्त रूपले मानवीय शैली हो। परमेश्‍वरले कहिल्यै पनि यस प्रकारले बोल्नुभएको छैन। कम्तीमा, परमेश्‍वरको ईश्‍वरत्वमा उहाँसित यस्तो प्रकारको भाषा छैन किनकि मानवजातिलाई नियमबद्ध गर्न उहाँलाई “छिमेकीलाई आफैलाई जस्तै प्रेम गर” भन्‍ने जस्ता सिद्धान्तको आवश्यकता पर्दैन, किनकि मानवजातिको निम्ति परमेश्‍वरको प्रेम उहाँसित जे छ र उहाँ जे हुनुहुन्छ त्यसको स्वभाविक प्रकटीकरण हो। के तिमीहरूले कहिल्यै परमेश्‍वरले यस्तो भन्नुभएको सुनेका छौ: “म मानवजातिलाई आफैलाई जस्तै प्रेम गर्छु?” तिमीहरूले यस्तो कुरा सुनेका छैनौ, किनकि प्रेम परमेश्‍वरको सारमा अनि उहाँसित जे छ र उहाँ जे हुनुहुन्छ त्यसैमा छ। मानवजातिको निम्ति परमेश्‍वरको प्रेम, र उहाँको आचरण, अनि उहाँले मानिसहरूलाई व्यवहार गर्ने तरिका, उहाँको स्वभावको स्वभाविक अभिव्यक्ति तथा प्रकटीकरण हुन्। छिमेकीलाई आफैलाई जस्तै प्रेम गर्ने कुरालाई हासिल गर्न उहाँले सतर्क भएर एउटा निश्चित प्रकारले यसो गर्न, वा सतर्क भएर कुनै निश्चित विधि वा नैतिक नियमलाई पछ्याउनु पर्दैन—उहाँसँग पहिले नै यस प्रकारको सार हुन्छ। यसमा तँ के देख्छस्? जब परमेश्‍वरले मानवजातिकहाँ काम गर्नुभयो, उहाँका धेरै विधिहरू, वचनहरू, अनि सत्यताहरू मानवीय तरिकामा व्यक्त भएका थिए। तर, त्यसको साथसाथै, परमेश्‍वरको स्वभाव, उहाँसित जे छ र उहाँ जे हुनुहुन्छ, अनि उहाँको इच्छालाई, मानिसहरूले जान्न र बुझ्नको निम्ति नै व्यक्त गरिएका थिए। तिनीहरूले जे जाने र बुझे, त्यो वास्तवमै उहाँको सार तथा उहाँसित जे छ र उहाँ जे हुनुहुन्छ त्यही थियो, जसले परमेश्‍वर स्वयम्‌को अन्तर्निहित पहिचान तथा हैसियतलाई प्रतिनिधित्व गर्दछ। भनाइको अर्थ, देहमा मानिसको पुत्रले जुन हदसम्म सम्भव हुन्छ, र जति ठीक किसिमले सम्भव हुन्छ, त्यति नै मात्रामा परमेश्‍वरको अन्तर्निहित स्वभाव तथा सारलाई प्रकट गर्नुभयो। मानिसको पुत्रको मानवता स्वर्गमा हुनुहुने परमेश्‍वरसितको मानिसको कुराकानी र अन्तरक्रियाको निम्ति बाधा नभएको मात्र होइन, तर यो सृष्टिका प्रभुसित मानवजातिलाई जोड्ने एउटै मात्र माध्यम तथा एउटै मात्र पुल थियो। अब, यस क्षणमा, के अनुग्रहको युगमा प्रभु येशूले गर्नुभएको कामको प्रकृति तथा विधिहरू र कामको हालको चरणबीच धेरै समानताहरू छन् भन्‍ने तिमीहरूलाई लाग्दैन? कामको हालको चरणले पनि परमेश्‍वरको स्वभावलाई प्रकट गर्न धेरै मानव भाषा प्रयोग गर्छ, अनि परमेश्‍वर स्वयम्‌को इच्छालाई प्रकट गर्न मानवजातिको दैनिक जीवन तथा मानव ज्ञानका धेरै भाषा तथा विधिहरूको प्रयोग गर्दछ। परमेश्‍वर देह बनिसक्‍नुभएपछि, उहाँले मानव दृष्टिकोणबाट बोलिरहनुभएको भए तापनि वा ईश्‍वरीय दृष्टिकोणबाट बोलिरहनुभएको भए तापनि, उहाँका धेरैजसो भाषा तथा अभिव्यक्तिका विधिहरू मानव भाषाको माध्यम तथा विधिको माध्यमद्वारा आउँदछ। अर्थात् जब परमेश्‍वर देह बन्नुहुन्छ, तब तेरो निम्ति यो परमेश्‍वरको सर्वशक्ति तथा उहाँको बुद्धि, अनि परमेश्‍वरको हरेक वास्तविक पक्ष जान्‍ने सर्वोत्तम अवसर हो। जब परमेश्‍वर देह हुनुभयो, उहाँ हुर्कँदै जाने क्रममा, उहाँले मानवजातिको ज्ञान, सामान्य बोध, भाषा, अनि मानवताको प्रकटीकरणका विधिहरू बुझ्नुभयो, जान्नुभयो र बोध गर्नुभयो। देहधारी परमेश्‍वरसित यी कुराहरू निहित थिए जुन कुराहरू, उहाँले सृष्टि गर्नुभएको मानिसहरूबाट आएका थिए। ती उहाँको स्वभाव तथा उहाँको ईश्‍वरत्वलाई प्रकट गर्नको निम्ति देहमा हुनुभएका परमेश्‍वरका औजारहरू भए, अनि जब उहाँ मानव दृष्टिकोणबाट अनि मानव भाषा प्रयोग गरेर मानवजातिको माझमा काम गरिरहनुभएको थियो, यसले उहाँको कामलाई अझ सान्दर्भिक, अझ विशुद्ध, अझ सही बनायो। यसले उहाँको कामलाई मानिसहरूको निम्ति अझ सुलभ अनि अझ सजिलै बुझ्न सकिने बनायो, यस प्रकारले परमेश्‍वरले चाहनुभएका परिणामहरू हासिल भए। के यस प्रकारले देहमा काम गर्नु परमेश्‍वरको निम्ति अझ व्यवहारिक कुरा होइन र? के यो परमेश्‍वरको बुद्धि होइन र? जब परमेश्‍वर देह बन्‍नुभयो, जब परमेश्‍वरको देहले आफूले गर्न चाहेको काम गर्न सक्‍यो, त्यसबेला नै उहाँले आफ्नो स्वभाव तथा उहाँको काम व्यवहारिक रूपले प्रकट गर्नुहुन्थ्यो, अनि त्यो यस्तो समय पनि थियो जब उहाँले मानिसका पुत्रको रूपमा आधिकारिक रूपले आफ्नो सेवकाई सुरु गर्न सक्नुहुन्थ्यो। यसको अर्थ के थियो भने, परमेश्‍वर र मानिसको बीचमा उपरान्त कुनै “पुस्ताको अन्तराल” थिएन, परमेश्‍वरले सन्देशवाहकहरूद्वारा सञ्चार गर्ने आफ्नो काम रोक्नु हुनेथियो, अनि परमेश्‍वरले चाहनुभए अनुसार उहाँ आफैले व्यक्तिगत रूपले देहमा सबै वचनहरू तथा काम प्रकट गर्न सक्नुहुन्थ्यो। यसको अर्थ यो पनि थियो कि परमेश्‍वरले मुक्ति दिनुभएका मानिसहरू उहाँसित नजिक थिए, उहाँको व्यवस्थापनको काम नयाँ क्षेत्रभित्र प्रवेश गरिसकेको थियो, अनि सबै मानवजातिले एउटा नयाँ युगको सामना गर्न लागेका थिए।

प्रभु येशू जन्मनुभएको बेला धेरै घटनाहरू घटे भन्‍ने कुरा बाइबल पढेका हरेकले जान्दछन्। ती घटनाहरूमध्ये सबैभन्दा ठूलो उहाँलाई दियाबलसहरूका राजाले खेदेको घटना थियो, जुन यति चरम थियो कि त्यसबेला सहरका दुई वर्षका र त्यसभन्दा मुनिका सबै बच्चाहरू संहार गरिएका थिए। यो स्पष्ट छ कि मानिसहरूको माझमा देह भएर परमेश्‍वरले ठूलो जोखिम उठाउनुभयो; मानवजातिलाई उद्धार गर्ने व्यवस्थापन पूरा गर्नको निम्ति उहाँले चुकाउनुभएको मूल्य ठूलो थियो भन्ने कुरा पनि स्पष्ट छ। परमेश्‍वरले मानवजातिको निम्ति देहमा आफ्नो कामको निम्ति सँगाल्नुभएको महान् आशाहरू पनि प्रष्टै छन्। जब परमेश्‍वरको देहले मानवजातिको माझमा काम सम्हाल्न सक्षम भयो, तब उहाँले कस्तो महसुस गर्नुभयो? मानिसहरूले केही हदसम्म त्यसलाई बुझ्न सक्षम हुनुपर्छ, होइन र? कम्तीमा, परमेश्‍वर खुशी हुनुहुन्थ्यो किनकि उहाँले मानवजातिको माझमा आफ्नो नयाँ काम गर्न सुरु गर्न सक्नुभयो। जब प्रभु येशूले बप्तिस्मा लिनुभयो र उहाँले आफ्नो सेवकाई पूरा गर्ने आफ्नो काम आधिकारिक रूपमा सुरु गर्नुभयो, तब परमेश्‍वरको हृदय आनन्दले भाव-विभोर भएको थियो किनकि धेरै वर्षहरूको प्रतीक्षा र तयारीपछि, अन्ततः उहाँले एउटा सामान्य मानिसको देह धारण गर्नुभई मासु र रगतको रूपमा आफ्नो नयाँ काम सुरु गर्न सक्नुभयो जसलाई मानिसहरूले हेर्न र छुन सक्थे। अन्ततः मानिसको पहिचानमा उहाँले मानिसहरूसित आमने-सामने घनिष्ठ भएर बोल्न सक्नुभयो। अन्ततः परमेश्‍वर मानवीय तरिकाहरू तथा मानव भाषाद्वारा मानवजातिसित आमने-सामने आउन सक्नुभयो; उहाँले मानव भाषा प्रयोग गरेर मानवजातिको निम्ति जुटाउन सक्नुभयो, तिनीहरूलाई अन्तर्दृष्टि दिन सक्नुभयो, अनि तिनीहरूलाई सहायता गर्न सक्नुभयो; उहाँले तिनीहरूसित एउटै टेबुलमा खान सक्नुभयो अनि त्यही ठाउँमा बस्न सक्नुभयो। उहाँले मानिसहरूलाई, थोकहरूलाई अनि हरेक कुरालाई मानिसहरूले जुन प्रकारले त्यसलाई देख्थे, त्यही प्रकारले तिनीहरूका आँखाहरूद्वारा देखेजस्तै गरी देख्न सक्नुभयो। परमेश्‍वरको निम्ति, यो पहिले नै देहमा उहाँको कामको पहिलो विजय थियो। यसो पनि भन्न सकिन्छ कि यो एउटा ठूलो कामको परिपूर्णता थियो—यो वास्तवमै यस्तो कुरा थियो जसमा परमेश्‍वर अत्यन्त खुशी हुनुहुन्थ्यो। त्यसबेला देखि सुरु गरेर, पहिलो पल्ट मानवजातिको माझमा आफ्नो काममा परमेश्‍वरले एक प्रकारको चैन महसुस गर्नुभयो। हुन आएका सबै घटनाहरू अति व्यवहारिक तथा अति स्वभाविक थिए, अनि परमेश्‍वरले महसुस गर्नुभएको चैन अत्यन्त साँचो थियो। मानवजातिको निम्ति, जब हरेक पटक परमेश्‍वरको कामको नयाँ चरण पूरा हुन्छ, अनि जब हरेक पल्ट परमेश्‍वरले सन्तुष्ट महसुस गर्नुहुन्छ, त्यसबेला मानवजाति परमेश्‍वर र मुक्तिको नजिक आउन सक्छ। परमेश्‍वरको निम्ति, यो उहाँको नयाँ कामको सुरुवात, उहाँको व्यवस्थापन योजनालाई अघि बढाउनु हो, अनि त्यसबाहेक यी उहाँका अभिप्रायहरू पूरा हुने समय पनि हुन्। मानवजातिको निम्ति, त्यस्तो अवसरको आगमन सौभाग्यपूर्ण, र अत्यन्तै असल कुरा हो; परमेश्‍वरको मुक्तिको प्रतीक्षा गर्ने सबैको लागि, यो अति महत्त्वपूर्ण र आनन्ददायी समाचार हो। जब परमेश्‍वरले कामको एउटा नयाँ चरण अघि बढाउनुहुन्छ, तब उहाँसित एउटा नयाँ सुरुवात हुन्छ, अनि जब यस नयाँ काम र नयाँ सुरुवातलाई मानवजातिको माझमा सुरुवात तथा परिचित गराइन्छ, त्यसबेला कामको यो नयाँ सुरुवातलाई पहिल्यै निर्धारित र पूरा गरिएको हुन्छ अनि अन्तिम असर तथा फललाई परमेश्‍वरले पहिल्यै देखिसक्‍नुभएको हुन्छ। यो यस्तो बेला पनि हो जब यी असरहरूले परमेश्‍वरलाई सन्तुष्ट महसुस गराउँछन्, अनि वास्तवमै, यो उहाँको हृदय खुशी हुने समय पनि हो। परमेश्‍वरले आश्‍वस्त महसुस गर्नुहुन्छ किनकि उहाँको दृष्टिमा, उहाँले खोजी गरिरहनुभएका मानिसहरूलाई उहाँले पहिल्यै देखिसक्नुभएको र निर्धारण गरिसक्नुभएको हुन्छ, अनि यस समूहका मानिसहरूलाई पहिल्यै हासिल गरिसक्नुभएको हुन्छ, जुन समूहले उहाँको कामलाई सफल तुल्याउन र उहाँलाई सन्तुष्टि दिन सक्छन्। यस प्रकारले, उहाँले आफ्ना फिक्रीहरूलाई पन्छ्याउनुहुन्छ, अनि उहाँले खुशी महसुस गर्नुहुन्छ। अर्को शब्दमा, जब परमेश्‍वरको देहले मानिसको माझमा नयाँ कामको सुरुवात गर्न सक्छ, अनि उहाँले जुन काम गर्नैपर्छ, त्यसलाई विना अवरोध सुरु गर्नुहुन्छ, अनि जब उहाँले सबै पूरा भइसकेका छन् भनी महसुस गर्नुहुन्छ, तब उहाँको निम्ति अन्त्य पहिले नै देख्‍न सकिने कुरा भइसकेको हुन्छ। यसको कारणले उहाँ सन्तुष्ट हुनुहुन्छ, अनि उहाँको हृदय खुशी हुन्छ। परमेश्‍वरको खुशी कसरी प्रकट हुन्छ? यसको उत्तर के हुनसक्छ भनेर के तिमीहरूले कल्पना गर्न सक्छौ? के परमेश्‍वर रुनुहुन्छ होला? के परमेश्‍वर रुन सक्नुहुन्छ? के परमेश्‍वरले ताली बजाउन सक्नुहुन्छ? के परमेश्‍वर नाच्न सक्नुहुन्छ? के परमेश्‍वर गाउन सक्नुहुन्छ? यदि सक्नुहुन्छ भने उहाँले के गाउनुहुन्छ? अवश्य, परमेश्‍वरले एउटा सुन्दर, हृदयस्पर्शी गीत गाउन सक्नुहुन्छ, जुन गीतले उहाँको हृदयको आनन्द र खुशीलाई प्रकट गर्न सक्छ। उहाँले मानवजातिको निम्ति, आफ्नो निम्ति, अनि सबै कुराहरूको निम्ति गाउन सक्नुहुन्छ। परमेश्‍वरको खुशीलाई कुनै पनि तरिकाले प्रकट गर्न सकिन्छ—यो सबै सामान्य नै छ किनकि परमेश्‍वरसित आनन्द र पीडाहरू छन्, अनि उहाँका विभिन्न भावनाहरूलाई विभिन्न प्रकारले प्रकट गर्न सकिन्छ। यो उहाँको अधिकार हो, अनि यो भन्दा कुनै पनि कुरा बढी सामान्य तथा उचित हुन सक्दैन। मानिसहरूले यसको बारेमा अन्यथा सोच्नु हुँदैन। तिमीहरूले परमेश्‍वरलाई उहाँले यस्तो वा उस्तो प्रकारले काम गर्नु हुँदैन भनी “पट्टी मन्त्र”[क] प्रयोग गर्ने कोसिस गर्नु हुँदैन, अनि यस प्रकारले उहाँसित भएको उहाँको खुशी वा कुनै भावनालाई सीमित गर्नु हुँदैन। मानिसहरूको हृदयमा परमेश्‍वर खुशी हुन सक्नुहुन्न, आँसु बगाउन सक्नुहुन्न, बिलौना गर्न सक्‍नुहुन्‍न—उहाँले कुनै भावनालाई प्रकट गर्न सक्नुहुन्न। यी दुई सङ्गतिको अवधिमा हामीले गरेको कुराकानीद्वारा, म विश्‍वास गर्छु कि तिमीहरूले उपरान्त परमेश्‍वरलाई यस प्रकारले हेर्नेछैनौ, तर परमेश्‍वरलाई केही स्वतन्त्रता र छुटकारामा जिउन दिनेछौ। यो अति राम्रो कुरा हो। भविष्यमा, तिमीहरूले परमेश्‍वर दुःखी हुनुभएको सुन्दा यदि तिमीहरूले साँच्चि नै परमेश्‍वरको दुःख अनुभव गर्न सक्छौ अनि तिमीहरूले उहाँ खुशी हुनुभएको सुन्दा तिमीहरूले साँच्चि नै परमेश्‍वरको खुशी अनुभव गर्न सक्छौ भने कम्तीमा तिमीहरूले परमेश्‍वरलाई कुन कुराले खुशी बनाउँछ र कुन कुराले दुःखी बनाउँछ भन्‍ने कुरालाई स्पष्ट प्रकारले जान्न र बुझ्न सक्छौ। परमेश्‍वर दुःखी भएको कारण जब तैँले दुःख महसुस गर्न सक्छस्, अनि परमेश्‍वर खुशी हुनुभएको कारण जब तैँले खुशी महसुस गर्न सक्छस्, तब उहाँले तेरो हृदयलाई पूर्ण रूपले हासिल गरिसक्नुभएको हुन्छ अनि तेरो र उहाँको बीचमा उपरान्त कुनै बाधा हुनेछैन। तैँले मानव कल्पना, धारणा र ज्ञानले उपरान्त उहाँलाई करमा पार्ने प्रयास गर्नेछैनस्। त्यस समयमा, तेरो हृदयमा परमेश्‍वर जीवित हुनुहुनेछ र जीवन्त हुनुहुनेछ। उहाँ तेरो जीवनको परमेश्‍वर र तेरो सबै कुराको मालिक हुनुहुनेछ। के तिमीहरूसित यस प्रकारका आकांक्षाहरू छन्? के तिमीहरूले यसलाई हासिल गर्न सक्छौ भन्‍नेमा तिमीहरू विश्‍वस्त छौ?

फूटनोट:

क. “पट्टी मन्त्र” एउटा मन्त्र हो जुन भिक्षु ताङ सन्जाङले ‘पश्‍चिमतर्फको यात्रा’ नामक चिनियाँ उपन्यासमा प्रयोग गरेका छन्। उनले सन वुकोङलाई नियन्त्रण गर्न यो मन्त्रको प्रयोग गर्छन्। यसको लागि उनले तिनको टाउकोवरिपरि एउटा धातुको पट्टी बाँधिदिन्छन्, तिनलाई त्यो पट्टीले गम्‍भीर रूपमा टाउको दुखाउँछ, अनि मन्त्र प्रयोग गरी तिनलाई नियन्त्रणमा ल्याउँछन्। यो कुनै व्यक्तिलाई बाँध्‍ने वस्तुको व्याख्या गर्ने एउटा उपमा बनेको छ।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्