परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् २ (भाग एक)

हाम्रो पछिल्लो भेलामा हामीले एउटा अत्यन्तै महत्त्वपूर्ण विषयको बारेमा सङ्गति गर्‍यौँ। त्यो के थियो के तिमीहरूलाई सम्झना छ? म त्यो कुरा दोहोर्‍याउन चाहन्छु। हाम्रो पछिल्लो सङ्गतिको विषय थियो: परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम्। के यो तिमीहरूका लागि महत्त्वपूर्ण विषय हो? यसको कुन भाग तिमीहरूलाई सबैभन्दा महत्त्वपूर्ण छ? परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव, वा परमेश्‍वर स्वयम्? तिमीहरूका निम्ति कुनचाहिँ सबैभन्दा धेरै चाखलाग्दो छ? तिमीहरू कुन विषयमा सबैभन्दा धेरै सुन्‍न चाहन्छौ? मलाई थाहा छ त्यो प्रश्‍नको उत्तर दिन तिमीहरूलाई गाह्रो हुन्छ, किनकि परमेश्‍वरको स्वभाव उहाँको कामको हरेक पक्षमा देख्‍न सकिन्छ, र उहाँको स्वभाव सधैँ उहाँको काम र सबै ठाउँमा प्रकट हुन्छ, र त्यसले वास्तवमा, परमेश्‍वर स्वयम्‌लाई प्रतिनिधित्व गर्छ; परमेश्‍वरको समग्र व्यवस्थापन योजनामा, परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् सबैलाई एकअर्काबाट अलग गर्न सकिँदैन।

परमेश्‍वरको कामको बारेमा हामीले गरेको पछिल्लो सङ्गतिको विषयवस्तु बाइबलमा अभिलिखित धेरै पहिले घटेका घटनाहरू थिए। ती सबै नै मानिस र परमेश्‍वरसम्‍बन्धी कथाहरू थिए, र ती मानिसमाथि घटेका घटनाहरूका बारेमा थिए, साथै तिनमा परमेश्‍वरको सहभागिता र अभिव्यक्ति पनि सामेल थिए, त्यसकारण यी कथाहरूले परमेश्‍वरलाई चिन्‍नका लागि विशेष मूल्य र महत्त्व राख्छन्। उहाँले मानवजातिलाई सृष्टि गर्नुभएलगत्तै, परमेश्‍वर मानिससँग संलग्‍न हुन र मानिससँग कुराकानी गर्न थाल्नुभयो, र उहाँको स्वभाव मानिससमक्ष प्रकट हुन थाल्यो। अर्को शब्दमा भन्दा, जब परमेश्‍वर मानवजातिसँग पहिलोपटक संलग्‍न हुनुभयो, त्यस समयदेखि नै उहाँले विनारोकावट मानिससामु उहाँको सार र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यो सार्वजनिक गर्न थाल्नुभयो। पहिलेका मानिसहरू वा आजका मानिसहरूले यसलाई देख्‍न वा बुझ्न सके पनि नसके पनि, परमेश्‍वर मानिससँग बोल्नुहुन्छ र मानिसहरूको माझमा काम गर्नुहुन्छ, र यस क्रममा आफ्नो स्वभाव प्रकट गर्नुहुन्छ र आफ्नो सार व्यक्त गर्नुहुन्छ—यो एउटा तथ्य हो र यसलाई कुनै पनि व्यक्तिले अस्वीकार गर्न सक्दैन। यसको अर्थ यो पनि हो कि परमेश्‍वरको स्वभाव, परमेश्‍वरको सार, र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यो उहाँ काम गर्नुहुँदा र मानिससित संलग्‍न हुनुहुँदा निरन्तर बाहिर निस्किरहन्छन् र प्रकट भइरहन्छन्। उहाँले कुनै कुरा कहिल्यै लुकाउनुभएको वा गुप्त राख्‍नुभएको छैन, उहाँ त सबै सार्वजनिक गर्नुहुन्छ र कुनै पनि कुरा नलुकाईकन आफ्नो स्वभाव प्रकट गर्नुहुन्छ। यसरी, मानिसले परमेश्‍वरलाई चिन्‍न र उहाँको स्वभाव र सार बुझ्न सक्छ भनी उहाँ आशा गर्नुहुन्छ। मानिसले उहाँको स्वभाव र सारलाई अनन्त रहस्यको रूपमा व्यवहार गरेको उहाँ चाहनुहुन्‍न, न त उहाँ मानवजातिले परमेश्‍वरलाई कहिल्यै समाधान गर्न नसकिने पहेली ठानेको नै चाहनुहुन्छ। जब मानवजातिले परमेश्‍वरलाई चिन्छ तब मात्र मानिसले अघि बढ्ने बाटो चिन्छ र परमेश्‍वरको मार्गनिर्देशन स्वीकार्न सक्छ, र केवल यस्तै मानिस मात्र परमेश्‍वरको अधीनमा बस्‍न र परमेश्‍वरका आशिष्‌हरूमाझ ज्योतिमा जिउन सक्छ।

परमेश्‍वरद्वारा दिइएका र प्रकट गरिएका वचनहरू र स्वभावले उहाँको इच्छालाई प्रतिनिधित्व गर्छन् र तिनले उहाँको सारलाई पनि प्रतिनिधित्व गर्छन्। जब परमेश्‍वर मानिससँग संलग्‍न हुनुहुन्छ, उहाँले जे भन्‍नुभए पनि वा गर्नुभए पनि वा जस्तै स्वभाव प्रकट गर्नुभए पनि, र मानिसले परमेश्‍वरको सारलाई र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यसलाई जस्तो देखे पनि ती सबैले मानिसका निम्ति परमेश्‍वरको इच्छालाई प्रतिनिधित्व गर्छन्। मानिस थाहा पाउन, सम्झन वा बुझ्न जति नै सक्षम भए पनि, त्यो सबैले परमेश्‍वरको इच्छालाई—मानिसको निम्ति परमेश्‍वरको इच्छालाई प्रतिनिधित्व गर्छ। यसमा कुनै शङ्का छैन! मानवजातिका लागि परमेश्‍वरको इच्छा भनेको उहाँ मानिसहरू कस्तो भएको चाहनुहुन्छ, उहाँ तिनीहरूले के गरेको चाहनुहुन्छ, उहाँ तिनीहरू कसरी बाँचेको चाहनुहुन्छ, र उहाँ तिनीहरू कसरी परमेश्‍वरको इच्छा पूरा गर्न सक्षम बनेको चाहनुहुन्छ भन्‍ने हो। के यी परमेश्‍वरको सारबाट अलग हुन नसक्‍ने कुराहरू हुन्? अर्को शब्‍दमा भन्दा, परमेश्‍वरले उहाँको स्वभाव र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ ती सबै प्रकट गर्नुहुन्छ, त्यसको साथै उहाँले मानिसलाई मापदण्डहरू दिनुहुन्छ। त्यसमा कुनै झूट हुँदैन, कुनै ढोँग हुँदैन, लुकाउने कुनै कुरा हुँदैन, र कुनै अलङ्कार हुँदैन। तैपनि मानिस किन जान्‍न असमर्थ छ, र किन मानिसले कहिल्यै पनि परमेश्‍वरको स्वभावलाई राम्ररी बुझ्न सकेको छैन? किन मानिसले कहिल्यै परमेश्‍वरको इच्छालाई बुझ्न सकेको छैन? जुन कुरा परमेश्‍वर आफैले प्रकट गर्नुहुन्छ र बाहिर निकाल्नुहुन्छ त्यो उहाँ स्वयम्‌सँग जे छ र उहाँ स्वयम्‌ जे हुनुहुन्छ त्यही हो; यो उहाँको वास्तविक स्वभावको प्रत्येक भाग र पक्ष हो—त्यसो भए, मानिसले चाहिँ किन देख्‍न सक्दैन त? किन मानिसले पूर्ण ज्ञान प्राप्त गर्न सक्दैन? यसको एउटा महत्त्वपूर्ण कारण छ। त्यसो भए, यो कारण के हो त? सृष्टिको समयदेखि यता मानिसले परमेश्‍वरसित कहिल्यै पनि परमेश्‍वरको रूपमा व्यवहार गरेको छैन। सुरुसुरुको समयमा, परमेश्‍वरले मानिसको सम्बन्धमा जे गर्नुभए पनि—भर्खरै सृष्टि गरिएको मानिसले परमेश्‍वरसँग एक मित्रसँग जस्तो, भर पर्न सकिने कुनै व्यक्तिसँग जस्तो मात्र व्यवहार गर्थ्यो, र मानिसलाई परमेश्‍वरको बारेमा कुनै ज्ञान वा बुझाइ नै थिएन। भन्‍नुको अर्थ, मानिसले उक्त अस्तित्वबाट के निस्केर आएको छ भनी जान्दैनथ्यो—त्यो अस्तित्व जसमाथि ऊ भर पर्थ्यो, जसलाई उसले आफ्नो मित्रको रूपमा हेर्थ्यो—त्यस्तो अस्तित्वबाट अर्थात् उहाँबाट निस्केर आएको कुरा परमेश्‍वरको सार थियो, र उक्त अस्तित्व सबै थोकमाथि शासन गर्नुहुने एउटै उहाँ हुनुहुन्छ भन्‍ने पनि उसलाई थाहा थिएन। सरल रूपमा भन्‍नुपर्दा, त्यस समयका मानिसहरूले परमेश्‍वरलाई चिन्दै चिन्दैनथे। तिनीहरू स्वर्ग र पृथ्वी अनि सबै थोक उहाँद्वारा बनाइएका हुन् भनी जान्दैनथे, र उहाँ कहाँबाट आउनुभएको हो भनेर तिनीहरूलाई थाहा थिएन र त्यसबाहेक, उहाँ के हुनुहुन्थ्यो भनेर पनि तिनीहरूलाई थाहा थिएन। अवश्य नै, त्यतिखेर परमेश्‍वर मानिसले उहाँलाई चिनोस् वा बुझोस्, वा उहाँले गर्नुभएका सबै कुरा बुझोस्, वा उहाँको इच्छाको बारेमा उसँग ज्ञान होस् भनी चाहनुभएको थिएन, किनकि त्यो समय मानवजातिलाई सृष्टि गरिएको सुरुसुरुको समय थियो। जब परमेश्‍वरले व्यवस्थाको युगको कामको तयारी गर्न थाल्नुभयो, परमेश्‍वरले मानिसका निम्ति केही गर्न र मानिसलाई केही मापदण्डहरू पनि दिन थाल्नुभयो, र त्यस क्रममा उहाँले मानिसलाई भेटीहरू कसरी चढाउनुपर्छ र परमेश्‍वरको आराधना कसरी गर्नुपर्छ भनेर बताउनुभयो। तब मात्र मानिसले परमेश्‍वरको बारेमा केही सामान्य विचारहरू प्राप्त गर्‍यो, र त्यसपछि मात्र उसले मानिस र परमेश्‍वरबीचको भिन्‍नताका साथै परमेश्‍वरले नै मानवजातिलाई सृष्टि गर्नुभएको हो भनी थाहा पायो। जब मानिसले परमेश्‍वर, परमेश्‍वर नै हुनुहुन्छ र मानिस, मानिस नै हो भनी थाहा पायो, तब परमेश्‍वर र मानिसको बीचमा निश्‍चित दूरी आयो, तर पनि परमेश्‍वरले मानिसमा उहाँको बारेमा ठूलो ज्ञान वा गहन बुझाइ हुनुपर्छ भनेर भन्‍नुभएन। यसरी, परमेश्‍वरले उहाँको कामका चरण र परिस्थितिहरूअनुसार मानिसबाट विभिन्‍न मापदण्डहरू अपेक्षा गर्नुहुन्छ। यसमा तँ के देख्छस्? तैँले परमेश्‍वरको स्वभावको कुन पक्षलाई बुझ्छस्? के परमेश्‍वर वास्तविक हुनुहुन्छ? के मानिसप्रति परमेश्‍वरका मापदण्डहरू उचित छन्? परमेश्‍वरले मानवजातिलाई सृष्टि गर्नुभएपछिको सुरुसुरुको समयमा, जब परमेश्‍वरले विजय गर्ने र मानिसलाई सिद्ध पार्ने काम गर्नु बाँकी नै थियो, र ऊसँग त्यति धेरै वचनहरू बोल्नुभएको थिएन, त्यस बेला उहाँले मानिसबाट थोरै कुरा मात्र अपेक्षा गर्नुभयो। मानिसले जे गरे पनि र जस्तै व्यवहार गरे पनि—उसले परमेश्‍वरलाई चिढ्याउने केही काम गरे पनि—परमेश्‍वरले क्षमा गर्नुभयो र ती सबलाई बेवास्ता गर्नुभयो। किनभने उहाँले मानिसलाई के दिनुभएको छ र मानिसभित्र के छ भनी परमेश्‍वर जान्‍नुहुन्थ्यो, र त्यसैले उहाँले मानिसलाई दिनुपर्ने मापदण्डहरूको स्तर जान्‍नुहुन्थ्यो। त्यस समयमा उहाँका मापदण्डहरूको स्तर एकदम कम भएको भए पनि, यसको अर्थ उहाँको स्वभाव महान्‌ थिएन, वा उहाँको बुद्धि र सर्वशक्तिमान्‌ता खोक्रा वचनहरू मात्र थिए भन्‍ने होइन। मानिसका लागि परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम्‌लाई जान्‍ने एउटै मात्र उपाय छ: परमेश्‍वरको व्यवस्थापनको काम र मानवजातिको मुक्तिको कार्यका चरणहरू पछ्याउँदै परमेश्‍वरले मानवजातिसित बोल्नुहुने वचनहरू स्वीकार गर्ने। मानिसले परमेश्‍वरसित के छ र उहाँ के हुनुहुन्छ भनी जानेपछि र उसले परमेश्‍वरको स्वभावलाई जानेपछि, के उसले अझै पनि परमेश्‍वरलाई उहाँको वास्तविक व्यक्तित्व देखाउन बिन्ती गर्छ? गर्दैन, मानिसले बिन्ती गर्दैन, र सोध्‍ने हिम्मत पनि गर्दैन, किनकि परमेश्‍वरको स्वभाव र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ सो बुझिसकेपछि, मानिसले पहिले नै साँचो परमेश्‍वर स्वयम्‌लाई र उहाँको वास्तविक व्यक्तित्वलाई देखिसकेको हुन्छ। यो अपरिहार्य परिणाम हो।

परमेश्‍वरको कार्य र योजना निरन्तर अघि बढ्दै गएपछि, र उहाँले फेरि कहिल्यै जलप्रलयद्वारा यस संसारलाई नाश गर्नुहुनेछैन भन्‍ने एउटा चिह्नस्वरूप मानिससँग इन्द्रेनीको करार स्थापित गर्नुभएपछि, परमेश्‍वरले उहाँसित एकै मनका हुनसक्‍ने व्यक्तिहरूलाई प्राप्त गर्ने तीव्र इच्छा गर्नुभयो। पृथ्वीमा उहाँका इच्छा पूरा गर्न सक्‍ने मानिसहरूलाई प्राप्त गर्ने, अझ भन्‍ने हो भने अन्धकारको शक्तिबाट स्वतन्त्र हुन सक्‍ने र शैतानको वशमा नपर्ने मानिसहरूको समूह अर्थात् पृथ्वीमा उहाँको साक्षी दिन सक्‍ने मानिसहरूको समूह प्राप्त गर्ने तीव्र इच्छा पनि उहाँमा थियो। यस्ता मानिसहरूको समूहलाई प्राप्त गर्नु परमेश्‍वरको लामो समयदेखिको चाहना थियो, उहाँले सृष्टिको समयदेखि नै प्रतीक्षा गर्नुभएको कुरा त्यही थियो। यसैले, परमेश्‍वरले संसारलाई नष्ट पार्न प्रयोग गर्नुभएको जलप्रलय वा मानिससितको उहाँको करार जे-जस्तो भए पनि, परमेश्‍वरको इच्छा, मानसिकता, योजना, र आशाहरू सबै उही थियो। उहाँले जे गर्न चाहनुहुन्थ्यो अर्थात् उहाँले सृष्टिको समयभन्दा पहिलेदेखि नै चाहनुभएको कुरा भनेको मानवजातिको माझमा उहाँले प्राप्त गर्न चाहनुभएका मानिसहरूलाई प्राप्त गर्नु थियो—त्यस्ता मानिसहरूको झुन्ड प्राप्त गर्नु थियो जसले उहाँको स्वभावलाई जान्‍न र उहाँको इच्छालाई बुझ्न सक्छ, एउटा यस्तो झुन्ड जसले उहाँको आराधना गर्न सक्छ। त्यस्ता मानिसहरूको झुन्डले साँच्‍चै उहाँको गवाही दिन सक्थे, र यो भन्‍न सकिन्छ कि तिनीहरू उहाँकै विश्‍वासपात्रहरू हुन्थे।

आज, हामी परमेश्‍वरका पाइलाहरू पहिल्याउने र उहाँको कार्यका चरणहरूलाई पछ्याउने कार्यलाई जारी राखौँ, ताकि हामीले परमेश्‍वरका विचार र योजनाहरू, र परमेश्‍वरसँग सम्बन्धित विभिन्‍न विवरणहरू सबै पत्ता लगाउन सकौँ, जुन सबैलाई लामो समयदेखि “मोहोर लगाएर बन्द” गरिएको छ। यी कुराहरूद्वारा हामी परमेश्‍वरको स्वभावको बारेमा जान्‍न सक्‍नेछौँ, परमेश्‍वरको सार बुझ्नेछौँ, हामी परमेश्‍वरलाई हाम्रो हृदयमा आउन दिनेछौँ, र हामी सबै बिस्तारै परमेश्‍वरको नजिक पुग्‍नेछौँ, र यसरी परमेश्‍वर र हामीबीचको दूरी कम गर्नेछौँ।

पछिल्लो समय हामीले चर्चा गरेको कुराको एक पक्ष भनेको परमेश्‍वरले मानिससित किन करार बाँध्‍नुभयो भन्‍ने विषयसँग सम्बन्धित छ। यसपटक, हामी तलका बाइबलका खण्डहरूको बारेमा सङ्गति गर्नेछौँ। हामी धर्मशास्‍त्रबाट पढ्दै यस कार्यलाई सुरु गरौँ।

अ. अब्राहाम

१. परमेश्‍वरले अब्राहामलाई एउटा छोरा दिने प्रतिज्ञा गर्नुभयो

उत्पत्ति १७:१५-१७ अनि परमेश्‍वरले अब्राहामलाई भन्‍नुभयो, तेरी श्रीमती साराईलाई तैँले साराई नामले नबोलाउनू, तर त्यसको नाम सारा हुनेछ। अनि म त्यसलाई आशिष् दिनेछु र त्यसबाट तँलाई एउटा छोरा पनि दिनेछु: हो, म त्यसलाई आशिष् दिनेछु र त्यो जातिहरूकी आमा हुनेछे; त्यसबाट मानिसहरूका राजाहरू आउनेछन्। तब अब्राहाम घोप्टो परेर हाँसे अनि आफ्नो हृदयमा भने, के सय वर्ष पुगेको व्यक्तिबाट बच्‍चा जन्मेला र? अनि के नब्बे वर्ष पुगेकी साराले बच्‍चा जन्माउलिन् र?

उत्पत्ति १७:२१-२२ तर म इसहाकसँग मेरो करार स्थापित गर्नेछु, जसलाई अर्को वर्ष तोकेको यस समयमा साराले तेरो निम्ति इसहाकलाई जन्माउनेछे। अनि उहाँ तिनीसँग बोल्‍न छोड्नुभयो र परमेश्‍वर अब्राहामदेखि माथि जानुभयो।

२. अब्राहामले इसहाकलाई बलि चढाउँछन्

उत्पत्ति २२:२-३ अनि उहाँले भन्‍नुभयो, अब आफ्नो छोरो, तैँले माया गर्ने तेरो एकमात्र छोरो इसहाकलाई साथमा लिएर मोरीयाहको देशमा जा; अनि मैले तँलाई पर्वतहरूमध्ये जुन पर्वतमा जा भन्‍नेछु त्यसलाई त्यहाँ होमबलि चढा। अनि अब्राहाम बिहान सबेरै उठे र आफ्नो गधामा काठी कसे र आफूसँग आफ्ना जवान मानिसहरूमध्ये दुई जना र आफ्नो छोरो इसहाकलाई लिए, अनि होमबलिको निम्ति दाउरा चिरे, र उठे, अनि परमेश्‍वरले तिनलाई भन्‍नुभएको ठाउँमा गए।

उत्पत्ति २२:९-१० अनि तिनीहरू परमेश्‍वरले तिनलाई भन्‍नुभएको ठाउँमा आए; अनि अब्राहामले त्यहाँ एउटा वेदी बनाए अनि दाउरा मिलाएर राखे र आफ्नो छोरो इसहाकलाई बाँधे अनि उसलाई वेदीमा दाउरामाथि राखे। अनि अब्राहामले आफ्नो हात तन्काए अनि आफ्नो छोरोलाई मार्न छुरी लिए।

परमेश्‍वरले जुन काम गर्ने सङ्कल्प गर्नुहुन्छ त्यसमा कसैले बाधा दिन सक्दैन

तिमीहरू सबैले भर्खरै अब्राहामको कथा सुन्यौ। जलप्रलयले संसारलाई नाश पारेपछि परमेश्‍वरले तिनलाई चुन्‍नुभएको थियो, तिनको नाउँ अब्राहाम थियो, र जब तिनी सय वर्षका भए र उनकी पत्‍नी सारा नब्बे वर्षकी भइन्, तब परमेश्‍वरको प्रतिज्ञा तिनीकहाँ आयो। परमेश्‍वरले तिनीसँग कस्तो प्रतिज्ञा गर्नुभयो? परमेश्‍वरले त्यो कुराको प्रतिज्ञा गर्नुभयो जुन कुरालाई धर्मशास्‍त्रमा उल्लेख गरिएको छ: “अनि म त्यसलाई आशिष् दिनेछु र त्यसबाट तँलाई एउटा छोरा पनि दिनेछु।” परमेश्‍वरले तिनलाई छोरा दिने प्रतिज्ञाको पछि के-कस्तो पृष्ठभूमि थियो? धर्मशास्‍त्रले निम्‍न विवरण दिएको छ: “तब अब्राहाम घोप्टो परेर हाँसे अनि आफ्नो हृदयमा भने, के सय वर्ष पुगेको व्यक्तिबाट बच्‍चा जन्मेला र? अनि के नब्बे वर्ष पुगेकी साराले बच्‍चा जन्माउलिन् र?” अर्को शब्‍दमा भन्दा, यस वृद्ध दम्पती सन्तान जन्माउनको लागि अति नै वृद्ध भइसकेका थिए। परमेश्‍वरले तिनीसित प्रतिज्ञा गर्नुभएपछि अब्राहामले के गरे? तिनी हाँस्दै घोप्टो परे, अनि आफैलाई भने, “के सय वर्ष पुगेको व्यक्तिबाट बच्‍चा जन्मेला र?” अब्राहामले त्यो असम्भव छ भन्‍ने विश्‍वास गरे—जसको अर्थ के हो भने, परमेश्‍वरले तिनीसँग गर्नुभएको प्रतिज्ञा एउटा ठट्टाभन्दा बढी केही पनि होइन भनी तिनले विश्‍वास गरे। मानिसको दृष्टिकोणबाट, यो मानिसद्वारा हासिल नहुने कुरा हो, र त्यस्तै यो परमेश्‍वरका निम्ति पनि हासिल गर्न नसकिने र असम्भव कुरा हो। सायद, अब्राहामका लागि यो हाँसोको कुरा थियो: परमेश्‍वरले मानिसको सृष्टि त गर्नुभयो, तर त्यस्तो वृद्ध व्यक्तिले सन्तान जन्माउन सक्दैन भन्‍ने उहाँलाई थाहा छैन जस्तो छ; उहाँले मलाई छोरा जन्‍माउन लगाउन सक्‍नुहुन्छ भन्‍ने परमेश्‍वरलाई लाग्छ, उहाँ मलाई एउटा छोरा दिने कुरा गर्नुहुन्छ—यो निश्‍चय नै असम्भव छ! यसैले, अब्राहाम मनमनै यो कुरा सोच्दै घोप्टो परे, अनि हाँसे: असम्भव—परमेश्‍वरले मसँग ठट्टा गर्दै हुनुहुन्छ, यो सत्य हुन सक्दैन! तिनले परमेश्‍वरका वचनहरूलाई गम्भीरताका साथ लिएनन्। यसैले परमेश्‍वरको नजरमा, अब्राहाम कस्तो किसिमका मानिस थिए? (धर्मी।) तिनी धर्मी मानिस भनेर कहाँ उल्‍लेख गरिएको थियो? तिमीहरूलाई लाग्छ कि परमेश्‍वर जसलाई बोलाउनुहुन्छ तिनीहरू सबै नै धर्मी र सिद्ध हुन्, तिनीहरू सबै नै परमेश्‍वरसँग हिँड्ने मानिसहरू हुन्। तिमीहरू धर्मसिद्धान्त पालन गर्छौ! तिमीहरूले स्पष्ट रूपमा बुझ्नुपर्छ कि जब परमेश्‍वरले कसैलाई परिभाषित गर्नुहुन्छ, उहाँले मनमानी रूपमा त्यसो गर्नुहुन्‍न। यहाँ, परमेश्‍वरले अब्राहाम धर्मी थिए भन्‍नुभएन। उहाँको हृदयमा, परमेश्‍वरसँग प्रत्येक व्यक्तिलाई नाप्‍ने मापदण्डहरू हुन्छन्। परमेश्‍वरले अब्राहाम कस्तो किसिमका व्यक्ति थिए भनी नबताउनुभएको भए पनि, तिनको आचरणको हिसाबले, परमेश्‍वरमाथि अब्राहामको विश्‍वास कस्तो किसिमको थियो? के यो अलिअलि अमूर्त थियो? वा के तिनी ठूलो विश्‍वास भएको व्यक्ति थिए? होइन, तिनी त्यस्तो थिएनन्। तिनको हाँसो र विचारले तिनी वास्तवमा को हुन् भनेर देखाए, त्यसैले तिनी धर्मी थिए भन्‍ने तिमीहरूको विचार तिमीहरूको कल्पनाको कुरा मात्र हो, यो धर्मसिद्धान्तको अन्धाधुन्ध प्रयोग हो, र यो एक गैरजिम्मेवार मूल्याङ्कन हो। के परमेश्‍वरले अब्राहामको हाँसो र उनका थोरै अभिव्यक्तिहरू देख्‍नुभयो? के उहाँलाई ती कुराहरू थाहा थियो? परमेश्‍वरलाई थाहा थियो। तर के परमेश्‍वरले आफूले गर्न खोज्नुभएको कुरा बदल्नुभयो? बदल्नुभएन! जब परमेश्‍वरले योजना बनाउनुभयो र यो मानिसलाई चुन्‍ने सङ्कल्प गर्नुभयो, तब त्यो पूरा भयो। न त कुनै मानिसका विचारहरूले, न उसको आचरणले परमेश्‍वरलाई अलिकति पनि प्रभाव पार्न वा उहाँलाई हस्तक्षेप नै गर्न सक्छ; परमेश्‍वरले मनमानी ढङ्गले आफ्नो योजना परिवर्तन गर्नुहुन्‍न, न त उहाँले मानिसको आचरण, वा उसले अनजानमा गरेको व्यवहारको कारण आवेगमा आएर आफ्नो योजनालाई बदल्नुहुन्छ। अनि, उत्पत्ति १७:२१-२२ मा के लेखिएको छ? “तर म इसहाकसँग मेरो करार स्थापित गर्नेछु, जसलाई अर्को वर्ष तोकेको यस समयमा साराले तेरो निम्ति इसहाकलाई जन्माउनेछे। अनि उहाँ तिनीसँग बोल्‍न छोड्नुभयो र परमेश्‍वर अब्राहामदेखि माथि जानुभयो।” परमेश्‍वरले अब्राहामले सोचेका वा भनेका कुरामा अलिकति पनि ध्यान दिनुभएन। उहाँले बेवास्ता गर्नुको कारण के थियो? किनभने त्यतिखेर, परमेश्‍वरले ती मानिसमा ठूलो विश्‍वास भएको, वा तिनी परमेश्‍वरको ठूलो ज्ञान प्राप्त गर्न सक्‍ने, वा अझ भन्‍ने हो भने, तिनी परमेश्‍वरले गर्नुभएको वा भन्‍नुभएको कुरा बुझ्ने क्षमता भएको हुनुपर्छ भनी मापदण्ड निर्धारण गर्नुभएन। त्यसकारण, उहाँले सङ्कल्प गर्नुभएको काम, उहाँले चुन्‍ने सङ्कल्प गर्नुभएका मानिसहरू वा उहाँका कार्यका सिद्धान्तहरू मानिसले राम्ररी बुझ्नुपर्छ भनी उहाँले भन्‍नुभएन, किनकि मानिसको कद अपर्याप्त थियो। त्यस बेला, अब्राहामले जे गरे पनि र तिनले जसरी व्यवहार गरे पनि त्यसलाई परमेश्‍वरले सामान्य मान्‍नुभयो। उहाँले निन्दा वा गाली गर्नुभएन, तर केवल यति भन्‍नुभयो: “अर्को वर्ष तोकेको यस समयमा साराले तेरो निम्ति इसहाकलाई जन्माउनेछे।” परमेश्‍वरले यी वचनहरू घोषणा गर्नुभएपछि, यो कुरा एक-एक चरण गर्दै पूरा भयो; परमेश्‍वरको दृष्टिमा, उहाँको योजनाले जुन कुरा हासिल गर्नुपर्ने थियो त्यो पहिले नै हासिल भइसकेको थियो। यसका लागि बन्दोबस्तहरू पूरा गरिसकेपछि, परमेश्‍वर जानुभयो। मानिसले जे गर्छ वा सोच्छ, मानिसले जे बुझ्छ, अनि मानिसका योजनाहरू—यी कुनैको पनि परमेश्‍वरसित कुनै सम्बन्ध हुँदैन। सबै कुरा परमेश्‍वरको योजनाअनुसार, उहाँले तोक्‍नुभएको समय र चरणहरूलाई कायम गर्दै अगाडि बढ्छन्। परमेश्‍वरको कामको सिद्धान्त यस्तै हुन्छ। मानिसले सोच्ने वा जान्‍ने कुनै पनि कुरामा परमेश्‍वरले हस्तक्षेप गर्नुहुन्‍न, तैपनि मानिसले विश्‍वास गरेन वा बुझेन भन्दैमा उहाँले आफ्नो योजनालाई वा आफ्नो कामलाई त्याग्‍नुहुन्‍न। तसर्थ, तथ्यहरू परमेश्‍वरको योजना र विचारअनुसार पूरा हुन्छन्। हामी बाइबलमा ठ्याक्‍कै त्यस्तै देख्छौँ: परमेश्‍वरले इसहाकको जन्म उहाँले तय गर्नुभएको समयमै हुने बनाउनुभयो। के तथ्यहरूले मानिसको व्यवहार र आचरणले परमेश्‍वरको काममा बाधा पुर्‍यायो भनी प्रमाणित गर्छन्? तिनीहरूले परमेश्‍वरको काममा बाधा पुर्‍याएनन्! के परमेश्‍वरमाथिको मानिसको थोरै विश्‍वास, र परमेश्‍वरको बारेमा तिनीहरूको धारणा र कल्पनाले परमेश्‍वरको कामलाई असर गरे? अहँ, तिनीहरूले गरेनन्! थोरै पनि गरेनन्! परमेश्‍वरको व्यवस्थापन योजना कुनै मानिस, पदार्थ, वा वातावरणद्वारा प्रभावित हुँदैन। उहाँले गर्छु भनी अठोट गर्नुभएका सबै कुरा ठीक समयमा र उहाँको योजनाअनुसार पूरा हुन्छन्, र उहाँको काममा कुनै पनि मानिसले हस्तक्षेप गर्न सक्दैन। परमेश्‍वरले मानिसको मूर्खता र अज्ञानताका केही पक्षहरूलाई बेवास्ता गर्नुहुन्छ, र उहाँप्रतिको मानिसको प्रतिरोध र धारणाहरूका केही पक्षहरूलाई पनि बेवास्ता गर्नुहुन्छ, र चाहे जेसुकै भए पनि आफूले गर्नुपर्ने काम उहाँले गरिछाड्नुहुन्छ। यो परमेश्‍वरको स्वभाव हो, र यो उहाँको सर्वव्यापकताको प्रतिबिम्ब हो।

परमेश्‍वरको व्यवस्थापन कार्य र मानिसको मुक्ति अब्राहामले इसहाकलाई बलि चढाएको घटनाबाट सुरु हुन्छ

अब्राहामलाई एउटा छोरो दिनुभएपछि, परमेश्‍वरले अब्राहामलाई भन्‍नुभएको वचन पूरा भयो। यसको अर्थ परमेश्‍वरको योजना यहीँ रोकियो भन्‍ने होइन; यसको विपरीत, मानवजातिको व्यवस्थापन र मुक्तिको लागि परमेश्‍वरको भव्य योजना भर्खरै मात्र सुरु भएको थियो र उहाँले अब्राहामलाई एउटा छोरा दिनुभएको आशिष् त उहाँको समग्र व्यवस्थापन योजनाका लागि एक प्रारब्ध मात्र थियो। अब्राहामले इसहाकलाई बलि चढाउनेबित्तिकै शैतानसित परमेश्‍वरको लडाइँ चुपचाप सुरु भइसकेको थियो भनेर कसलाई थाहा थियो र?

मानिस मूर्ख छ कि छैन सो परमेश्‍वरले वास्ता गर्नुहुन्‍न—उहाँले केवल मानिस साँचो होस् भनेर मात्र भन्‍नुहुन्छ

यसपछि, हामी परमेश्‍वरले अब्राहामलाई के गर्नुभयो सो हेरौँ। उत्पत्ति २२:२ मा, परमेश्‍वरले अब्राहामलाई निम्‍न आज्ञा दिनुभयो: “अब आफ्नो छोरो, तैँले माया गर्ने तेरो एकमात्र छोरो इसहाकलाई साथमा लिएर मोरीयाहको देशमा जा; अनि मैले तँलाई पर्वतहरूमध्ये जुन पर्वतमा जा भन्‍नेछु त्यसलाई त्यहाँ होमबलि चढा।” परमेश्‍वरले भन्‍नुभएको वचनको अर्थ स्पष्ट थियो: उहाँले अब्राहामलाई तिनले प्रेम गर्ने तिनको एक मात्र छोरो इसहाकलाई होमबलि दिनू भनेर भन्‍नुभएको थियो। आज यसलाई हेर्दा, के परमेश्‍वरको आज्ञा अझै पनि मानव धारणासँग नमिल्दो छ? छ! त्यति बेला परमेश्‍वरले गर्नुभएका सबै कुरा मानिसको धारणाको विरुद्ध छ। यो मानिसका निम्ति बुझ्न नसकिने कुरा हो। तिनीहरूको धारणामा, मानिसहरू निम्‍न कुरामा विश्‍वास गर्छन्: जब मानिसले विश्‍वास नै गरेन, र यसलाई असम्भव ठान्यो, तब परमेश्‍वरले उसलाई एउटा छोरो दिनुभयो, र उसले एउटा छोरा पाएपछि, परमेश्‍वरले उसलाई आफ्नो छोराको बलि चढाउनू भन्‍नुभयो। के यो पूर्ण रूपमा अविश्‍वसनीय छैन र! परमेश्‍वरले वास्तवमा के गर्न चाहनुहुन्थ्यो? परमेश्‍वरको वास्तविक अभिप्राय के थियो? उहाँले विनासर्त अब्राहामलाई एउटा छोरा दिनुभयो, तर उहाँले अब्राहामलाई विनासर्त बलि चढाउनू पनि भन्‍नुभयो। के यो अति धेरै थियो? तेस्रो पक्षको दृष्टिकोणबाट हेर्दा, यो केवल अति धेरै मात्र होइन, केही हदसम्म “विनाकारण समस्या उत्पन्‍न गर्ने” मामला पनि थियो। तर परमेश्‍वरले अति धेरै कुरा माग्दै हुनुहुन्छ भन्‍ने अब्राहाम आफैले विश्‍वास गरेनन्। यसबारे तिनको आफ्नै केही थोरै धारणाहरू भएको भए पनि र तिनले परमेश्‍वरलाई केही शङ्का गरेको भए पनि, तिनी अझै पनि बलि चढाउन तयार भए। यस स्थितिमा, अब्राहाम आफ्नो छोराको बलि चढाउन तयार थिए भनी प्रमाणित गर्ने के कुरालाई देख्छस्? यी वाक्यहरूमा के भनिएको छ? मूल पाठले निम्‍न विवरणहरू दिन्छ: “अनि अब्राहाम बिहान सबेरै उठे र आफ्नो गधामा काठी कसे र आफूसँग आफ्ना जवान मानिसहरूमध्ये दुई जना र आफ्नो छोरो इसहाकलाई लिए, अनि होमबलिको निम्ति दाउरा चिरे, र उठे, अनि परमेश्‍वरले तिनलाई भन्‍नुभएको ठाउँमा गए” (उत्पत्ति २२:३)। “अनि तिनीहरू परमेश्‍वरले तिनलाई भन्‍नुभएको ठाउँमा आए; अनि अब्राहामले त्यहाँ एउटा वेदी बनाए अनि दाउरा मिलाएर राखे र आफ्नो छोरो इसहाकलाई बाँधे अनि उसलाई वेदीमा दाउरामाथि राखे। अनि अब्राहामले आफ्नो हात तन्काए अनि आफ्नो छोरोलाई मार्न छुरी लिए” (उत्पत्ति २२:९-१०)। जब अब्राहामले आफ्नो छोरोलाई मार्न हात बढाएर हतियार उठाए, के परमेश्‍वरले तिनका कार्यहरू देख्‍नुभयो? उहाँले देख्‍नुभयो। परमेश्‍वरले अब्राहामलाई तिनको छोराको बलि चढाउनू भन्‍नुभएदेखि अब्राहामले इसहाकलाई बलि चढाउन हतियार उठाएको सम्पूर्ण प्रक्रियाले सुरुदेखि नै परमेश्‍वरलाई अब्राहामको हृदय कस्तो छ भन्‍ने देखायो, र तिनको पहिलेको मूर्खता, अज्ञानता र परमेश्‍वरको बारेमा गलत बुझाइको बाबजुद पनि, त्यसबेला अब्राहामको हृदय परमेश्‍वरप्रति साँचो र इमानदार थियो, र तिनले परमेश्‍वरबाट पाएको आफ्नो छोरा इसहाकलाई फेरि साँच्‍चै नै परमेश्‍वरलाई नै फिर्ता दिन लागेका थिए। परमेश्‍वरले तिनमा आज्ञापालन देख्‍नुभयो, त्यस्तो आज्ञापालन जुन उहाँ चाहनुहुन्थ्यो।

मानिसका निम्ति परमेश्‍वरले गर्नुहुने धेरै कुरा बुझ्नै नसकिने र अविश्‍वसनीय पनि हुन्छ। जब परमेश्‍वरले कसैलाई योजनाबद्ध रूपमा चलाउन चाहनुहुन्छ, यो योजनाबद्ध कार्य प्रायः मानिसको धारणासँग मिल्दैन र उसले बुझ्न नसक्‍ने हुन्छ, तर यही बेमेल र बुझ्न नसक्‍ने कुरा नै मानिसको निम्ति परमेश्‍वरको परीक्षा र जाँच हो। यसबीच, अब्राहाम आफूभित्रै परमेश्‍वरप्रति आज्ञाकारिता प्रकट गर्न सक्षम थिए, जुन तिनी परमेश्‍वरको मापदण्ड पूरा गर्न सक्षम हुनुको सबैभन्दा आधारभूत सर्त थियो। जब अब्राहामले परमेश्‍वरको मापदण्ड पूरा गर्न सक्षम भएर इसहाकलाई बलि चढाए, तब मात्र परमेश्‍वर साँच्‍चै मानव जातिप्रति, अर्थात् उहाँले चुन्‍नुभएको अब्राहामप्रति आश्‍वस्तता र स्वीकृति महसुस गर्नुभयो। तब मात्र परमेश्‍वर उहाँले चुन्‍नुभएको यो व्यक्ति अति आवश्यक अगुवा हो, जसले उहाँको प्रतिज्ञा र त्यसपछिको व्यवस्थापन योजना पूरा गर्न सक्छ भनी निश्‍चित हुनुभयो। यो एउटा परीक्षा र जाँच मात्र रहेको भए पनि, परमेश्‍वरले सन्तुष्ट महसुस गर्नुभयो, उहाँले उहाँप्रतिको मानिसको प्रेम महसुस गर्नुभयो, र उहाँले यसअघि मानिसबाट कहिल्यै नपाएको सान्त्वना पाएको महसुस गर्नुभयो। जुन क्षण अब्राहामले इसहाकलाई मार्न छुरी उठाए, के परमेश्‍वरले तिनलाई रोक्‍नुभयो? परमेश्‍वरले अब्राहामलाई इसहाकको बलि चढाउन दिनुभएन, किनकि इसहाकको ज्यान लिने अभिप्राय परमेश्‍वरको थिएन। यसैले, परमेश्‍वरले ठीक समयमा अब्राहामलाई रोक्‍नुभयो। परमेश्‍वरका लागि, अब्राहामको आज्ञाकारिता यसअघि नै परीक्षामा सफल भइसकेको थियो, तिनले जे गरे त्यो पर्याप्त थियो, र परमेश्‍वरले आफूले गर्न चाहनुभएको कामको नतिजा देखिसक्‍नुभएको थियो। के यो नतिजा परमेश्‍वरको निम्ति सन्तोषजनक थियो? यो भन्‍न सकिन्छ कि यो नतिजा परमेश्‍वरको निम्ति सन्तोषजनक थियो, यही कुरा परमेश्‍वरले चाहनुभएको थियो, र यही कुरा हेर्ने परमेश्‍वरको तृष्णा थियो। के यो सत्य हो? विभिन्‍न सन्दर्भहरूमा, परमेश्‍वरले प्रत्येक व्यक्तिलाई जाँच्ने विभिन्‍न तरिकाहरू प्रयोग गर्नुहुने भए पनि, अब्राहाममा उहाँले जे चाहनुहुन्थ्यो त्यो देख्‍नुभयो, अब्राहामको हृदय साँचो छ, र तिनको आज्ञाकारिता सर्तरहित छ भन्‍ने देख्‍नुभयो। वास्तवमा परमेश्‍वरले चाहनुभएको पनि त्यस्तै “सर्तरहित” कुरा थियो। मानिसहरू प्रायः भन्छन्, “मैले यो पहिले नै चढाइसकेँ, मैले पहिले नै त्यो त्यागिसकेको छु—परमेश्‍वर अझै पनि किन मसँग सन्तुष्ट हुनुहुन्‍न? उहाँले किन मलाई परीक्षाहरू गरिरहनुहुन्छ? उहाँले किन मलाई जाँच गरिरहनुहुन्छ?” यसले एउटा तथ्यलाई प्रकट गर्छ: परमेश्‍वरले तेरो हृदय देख्‍नुभएको छैन, र तेरो हृदय प्राप्त गर्नुभएको छैन। भन्‍नुको तात्पर्य, जसरी अब्राहामले आफ्नै छोरालाई बलि चढाउनका निम्ति आफ्नै हातले हतियार उठाए, तिनले जुन इमानदारिता देखाए, त्यस्तो इमानदारिता उहाँले तँमा देख्‍नुभएको छैन। उहाँले तेरो सर्तरहित आज्ञाकारिता देख्‍नुभएको छैन, र तँबाट सान्त्वना पाउनुभएको छैन। यसैले, परमेश्‍वरले तँलाई जाँचिरहनु स्वाभाविक कुरा हो। के यो सत्य होइन र? जहाँसम्म यो विषयको कुरा छ, हामी यसलाई यहीँ छोड्नेछौँ। यसपछि, हामी “अब्राहामलाई परमेश्‍वरको प्रतिज्ञा” पढ्नेछौँ।

३. अब्राहामलाई परमेश्‍वरको प्रतिज्ञा

उत्पत्ति २२:१६-१८ यहोवाले भन्‍नुभयो, म आफैले शपथ खाएको छु किनभने तैँले यो गरेको छस् र तैँले तेरो छोरा अर्थात् तेरो एक मात्र छोरा मलाई नदिई आफूसँग राखेको छैनस्: आशिष्‌मा म तँलाई आशिष्‌ दिनेछु र वृद्धिमा तेरा सन्तानलाई बढाएर आकाशका ताराहरूसरह, र समुद्र किनारको बालुवासरह वृद्धि गर्नेछु; र तेरा सन्तानले त्यसका शत्रुहरूको प्रवेशद्वार कब्जा गर्नेछन्; र तेरा सन्तानमा पृथ्वीका सबै जातिहरूले आशिष्‌ पाउनेछन्‌; किनभने तैँले मेरो वचन पालन गरेको छस्।

यो परमेश्‍वरले अब्राहामलाई दिनुभएको आशिष्‌को सम्पूर्ण विवरण हो। संक्षिप्त भए पनि, यसको विषयवस्तु समृद्ध छ: यसमा परमेश्‍वरले अब्राहामलाई वरदान दिनुको कारण, र पृष्ठभूमि, र उहाँले अब्राहामलाई दिनुभएको कुरा के थियो सो कुरा समावेश छन्। यसमा परमेश्‍वर आनन्द र उत्साहले ओतप्रोत भएर यी वचनहरू बोल्नुभएको, साथै उहाँको वचन सुन्‍न सक्‍नेहरूलाई प्राप्त गर्ने उहाँको चाहनाको तीव्रता पनि छ। यसमा, हामी परमेश्‍वरका वचनहरू पालन गर्ने र उहाँका आज्ञाहरू मान्‍नेहरूप्रति उहाँको स्‍नेह र प्रेम देख्छौँ। यसरी हामी परमेश्‍वरले मानिसहरूलाई प्राप्त गर्न चुकाउनुहुने मूल्य, र मानिसहरूलाई प्राप्त गर्नको लागि उहाँले समर्पण गर्नुहुने वास्ता र विचारलाई देख्छौँ। यसबाहेक, “म आफैले शपथ खाएको छु,” भन्‍ने वचनहरू भएको यो खण्डले हामीलाई परमेश्‍वरले उहाँको व्यवस्थापन योजनाको यो कामको दृश्यपछाडि सहनुभएको तीतोपना र पीडाको कडा आभास दिलाउँछ। यो विचारोत्तेजक खण्ड हो, र यो घटनापछि आउनेहरूका लागि यसको विशेष महत्त्व थियो, र उनीहरूमा यसको दूरगामी प्रभाव पारेको थियो।

मानिसले उसको इमानदारिता र आज्ञापालनको कारण परमेश्‍वरका आशिष्‌हरू प्राप्त गर्छ

के हामीले यहाँ पढेको परमेश्‍वरले अब्राहामलाई दिनुभएको आशिष्‌ महान् थियो? यो कतिसम्म महान् थियो? यहाँ एउटा मुख्य वाक्य छ: “र तेरा सन्तानमा पृथ्वीका सबै जातिहरूले आशिष्‌ पाउनेछन्‌।” यो वाक्यले के देखाउँछ भने, अब्राहामले त्यस्ता आशिष्‌हरू पाए जुन तिनीभन्दा अघि वा पछि आएका कसैलाई पनि दिइएन। परमेश्‍वरले भन्‍नुहुँदा अब्राहामले तिनको एक मात्र प्रिय छोरा परमेश्‍वरलाई फर्काइदिए (नोट: यहाँ हामीले “बलि चढाउनु” भन्‍न सक्दैनौं; तिनले आफ्नो छोरा परमेश्‍वरलाई फर्काइदिए भनेर हामीले भन्‍नुपर्छ), परमेश्‍वरले अब्राहामलाई इसहाकको बलि चढाउनबाट मात्र रोक्‍नुभएन, उहाँले त तिनलाई आशिष्‌ पनि दिनुभयो। उहाँले अब्राहामलाई कुन प्रतिज्ञाको आशिष्‌ दिनुभयो? उहाँले तिनका सन्तानलाई वृद्धि गर्ने प्रतिज्ञा दिनुभयो। अनि तिनीहरू कतिसम्म वृद्धि हुनेवाला थिए? धर्मशास्‍त्रले निम्‍न विवरण दिन्छ: “आकाशका ताराहरूसरह, र समुद्र किनारको बालुवासरह वृद्धि गर्नेछु; र तेरा सन्तानले त्यसका शत्रुहरूको प्रवेशद्वार कब्जा गर्नेछन्; र तेरा सन्तानमा पृथ्वीका सबै जातिहरूले आशिष्‌ पाउनेछन्‌।” परमेश्‍वरले कुन सन्दर्भमा यी वचनहरू बोल्‍नुभयो? भन्‍नुको अर्थ, अब्राहामले कसरी परमेश्‍वरको आशिष्‌ पाए? तिनले धर्मशास्‍त्रमा परमेश्‍वरले भन्‍नुभएजस्तै गरी ती प्राप्त गरे: “किनभने तैँले मेरो वचन पालन गरेको छस्।” अर्थात्, अब्राहामले परमेश्‍वरको आज्ञापालन गरेका थिए, तिनले परमेश्‍वरले भन्‍नुभएका, माग्‍नुभएका र आज्ञा गर्नुभएका सबै काम एउटै पनि गुनासो नगरी पूरा गरे, यसैले परमेश्‍वरले तिनीसित त्यस्तो प्रतिज्ञा गर्नुभयो। यस प्रतिज्ञामा एउटा महत्त्वपूर्ण वाक्य छ, जुन त्यस समयका परमेश्‍वरका विचारहरूसँग सम्बन्धित छ। के तिमीहरूले यो देखेका छौ? हुन सक्छ, तिमीहरूले “म आफैले शपथ खाएको छु” भन्‍ने परमेश्‍वरका वचनहरूमा त्यति ध्यान दिएका छैनौ होला। ती वचनहरूको अर्थ के हो भने, जब परमेश्‍वरले यी वचनहरू बोल्नुभयो, उहाँ आफैले शपथ खानुभयो। शपथ खाँदा मानिसहरू के कसम खाने गर्छन्? तिनीहरू स्वर्गको कसम खान्छन्, भन्‍नुको अर्थ, तिनीहरूले परमेश्‍वरसित शपथ खान्छन् र परमेश्‍वरको नाउँमा कसम खान्छन्। परमेश्‍वरले कुन घटनाको कारण आफ्‍नै नाममा कसम खानुभयो भन्‍नेबारेमा मानिसहरूलाई त्यत्ति ज्ञान नहुन सक्छ, तर मैले तिमीहरूलाई सही प्रकारले बताएपछि तिमीहरूले बुझ्न सक्‍नेछौ। परमेश्‍वरले उहाँको वचन मात्र सुन्‍ने तर उहाँको हृदयलाई नबुझ्ने एक जना मानिसको सामना गर्नुभएपछि एकचोटि फेरि उहाँले एकलो र अन्योल महसुस गर्नुभयो। निराशामा—र यो पनि भन्‍न सकिन्छ कि अवचेतन रूपमा—परमेश्‍वरले एउटा अत्यन्त स्वाभाविक काम गर्नुभयो: परमेश्‍वरले आफ्नो हात आफ्नो हृदयमा राख्‍नुभयो र अब्राहामलाई यो प्रतिज्ञा दिनुहुँदा आफैलाई सम्बोधन गर्नुभयो, र यस क्रममा परमेश्‍वरले “म आफैले शपथ खाएको छु” भन्‍नुभएको मानिसले सुन्यो। परमेश्‍वरका कार्यहरूद्वारा तँ आफ्‍नै बारेमा सोच्न सक्छस्। जब तँ आफ्नो हात आफ्नो हृदयमा राख्छस् र आफैसँग बोल्छस्, तब के तैँले आफूले भनेको कुरा स्पष्ट बुझ्छस्? के तेरो मनोवृत्ति इमानदार छ? के तँ आफ्नो हृदयसित खुलस्त कुरा गर्न सक्छस्? यसैले, हामी यहाँ देख्छौँ कि परमेश्‍वर अब्राहामसँग बोल्नुहुँदा उहाँ गम्भीर र इमानदार हुनुहुन्थ्यो। अब्राहामसँग बोल्नुहुँदा र तिनलाई आशिष्‌ दिनुहुँदा, परमेश्‍वर आफैसित पनि बोलिरहनुभएको थियो। उहाँले आफैलाई भन्दै हुनुहुन्थ्यो: म अब्राहामलाई आशिष् दिनेछु, र त्यसका सन्तान आकाशका ताराहरूजत्तिकै असङ्ख्य र समुद्रको किनारको बालुवासरह प्रशस्त बनाउनेछु, किनकि त्यसले मेरो वचन पालन गर्‍यो र म त्यसैलाई चुन्छु। जब परमेश्‍वरले “म आफैले शपथ खाएको छु” भन्‍नुभयो, तब अब्राहाममा उहाँले इस्राएलको चुनिएका मानिसहरू जन्माउनुहुनेछ भनी सङ्कल्प गर्नुभयो र त्यसपछि उहाँले ती मानिसहरूलाई उहाँको कामको गतिअनुसार अगाडि बढाउनुहुनेथ्यो। अर्थात्, परमेश्‍वरले अब्राहामका सन्तानलाई परमेश्‍वरको व्यवस्थापनको काम वहन गर्न लगाउनुहुनेथ्यो, र परमेश्‍वरको काम र परमेश्‍वरद्वारा व्यक्त गरिएको कुरा अब्राहामबाट सुरु हुनेथ्यो र अब्राहामका सन्तानमा जारी रहनेथ्यो, र यस प्रकारले मानिसलाई मुक्ति दिने परमेश्‍वरको इच्छा साकार हुनेथ्यो। तिमीहरू के भन्छौ, के यो एक आशिषित कुरा होइन र? मानिसका लागि योभन्दा ठूलो आशिष्‌ अर्को कुनै छैन; यो भन्‍न सकिन्छ कि यो नै सबैभन्दा धेरै रूपमा आशिषित कुरा हो। अब्राहामले प्राप्त गरेको आशिष्‌ तिनको सन्तान धेरै वृद्धि हुनु थिएन, बरु परमेश्‍वरद्वारा अब्राहामको सन्तानमा उहाँको व्यवस्थापन, उहाँको आज्ञा र उहाँको काम हासिल गर्नु थियो। यसको अर्थ के हो भने, अब्राहामले पाएका आशिष्‌हरू अस्थायी थिएनन्, ती आशिष्‌ त परमेश्‍वरको व्यवस्थापन योजना अगाडि बढ्दै जाँदा निरन्तर रहिरहे। जब परमेश्‍वर बोल्नुभयो, जब परमेश्‍वरले आफ्नै नाउँमा शपथ खानुभयो, उहाँले पहिले नै सङ्कल्प गरिसक्‍नुभएको थियो। के त्यो सङ्कल्पको प्रक्रिया सत्य थियो? के त्यो वास्तविक थियो? त्यस समयदेखि यता, उहाँका प्रयासहरू, उहाँले तिर्नुभएको मूल्य, उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ, उहाँका सबै थोक, र उहाँको जीवनसमेत अब्राहाम र अब्राहामका सन्तानहरूलाई दिइनेछ भनी परमेश्‍वरले सङ्कल्‍प गर्नुभयो। यसरी परमेश्‍वरले यो पनि सङ्कल्प गर्नुभयो कि मानिसहरूको त्यो झुन्डबाट सुरु गरेर, उहाँले आफ्ना कार्यहरू प्रकट गर्नुहुनेछ, र मानिसलाई उहाँको बुद्धि, अख्तियार र शक्ति देखाउनुहुनेछ।

परमेश्‍वरलाई चिन्‍नेहरू र उहाँको गवाही दिन सक्‍नेहरूलाई प्राप्त गर्नु परमेश्‍वरको अपरिवर्तनीय इच्छा हो

परमेश्‍वरले आफैसँग बोल्‍ने क्रममा उहाँ अब्राहामसँग पनि बोल्नुभयो, तर परमेश्‍वरले तिनलाई दिनुभएको आशिष्‌ सुन्‍नुबाहेक, के अब्राहामले त्यस बेला परमेश्‍वरका सबै वचनहरूमा उहाँको वास्तविक इच्छा बुझ्न सके? तिनले सकेनन्! यसैले, जब परमेश्‍वरले आफ्नै नाउँमा शपथ खानुभयो, त्यस बेला उहाँको हृदय एकलो र दुःखी थियो। उहाँले चाहनुभएको र योजना बनाउनुभएको कुरा बुझ्ने एक जना व्यक्ति पनि थिएन। त्यस बेला, अब्राहामलगायत कोही पनि उहाँसँग हिम्मतसाथ बोल्न सक्दैनथ्यो, उहाँले गर्नुपर्ने काममा उहाँसँग सहकार्य गर्न सक्‍ने कोही हुनु त झन् परै जाओस्। बाहिरबाट हेर्दा, परमेश्‍वरले अब्राहामलाई प्राप्त गर्नुभएको थियो, जसले उहाँको वचन पालन गर्न सक्थ्यो। तर वास्तवमा, यस व्यक्तिको परमेश्‍वरसम्बन्धी ज्ञान अति नै थोरै थियो। परमेश्‍वरले अब्राहामलाई आशिष्‌ दिइसक्‍नुभएको थियो, तापनि परमेश्‍वरको हृदय अझै सन्तुष्ट थिएन। परमेश्‍वर सन्तुष्ट हुनुहुन्‍नथ्यो भन्‍नुको अर्थ के हो? यसको अर्थ उहाँको व्यवस्थापन भर्खरै मात्र सुरु भएको थियो, र उहाँले प्राप्त गर्न चाहनुभएका मानिसहरू, उहाँले हेर्न चाहनुभएका मानिसहरू, उहाँले प्रेम गर्नुभएका मानिसहरू अझै पनि उहाँबाट धेरै टाढा थिए; उहाँलाई समय चाहिएको थियो, उहाँले पर्खनु आवश्यक थियो, उहाँ धैर्यवान् हुनु आवश्यक थियो। किनकि त्यस समय उहाँलाई के चाहिएको थियो, वा उहाँले के प्राप्त गर्न चाहनुभएको थियो वा उहाँले के चाहनुहुन्थ्यो भनेर जान्‍ने परमेश्‍वर स्वयम्‌बाहेक अरू कोही थिएन। यसैले, परमेश्‍वर अत्यन्तै उत्साहित हुनुभएको त्यो बेला, उहाँले आफ्‍नो हृदय भारी भएको पनि महसुस गर्नुभयो। तैपनि उहाँले आफ्ना पाइलाहरू रोक्‍नुभएन, र उहाँले आफूले गर्नुपर्ने कामको अर्को चरणको योजना बनाउँदै जानुभयो।

परमेश्‍वरले अब्राहामलाई दिनुभएको प्रतिज्ञामा तिमीहरू के देख्छौ? परमेश्‍वरले अब्राहामलाई महान् आशिष्‌ दिनुभयो, किनकि तिनले परमेश्‍वरको वचन पालन गरे। बाहिरबाट हेर्दा यो कुरा सामान्य देखिए पनि, र अवश्य नै यसमा हामी परमेश्‍वरको हृदय देख्छौँ: परमेश्‍वर विशेष गरी उहाँप्रतिको मानिसको आज्ञाकारितालाई मूल्यवान् ठान्‍नुहुन्छ अनि उहाँको बारेमा मानिसको बुझाइ र उहाँप्रतिको इमानदारितालाई कदर गर्नुहुन्छ। परमेश्‍वरले यस्तो इमानदारितालाई कति हदसम्म कदर गर्नुहुन्छ? उहाँले त्यसलाई कति हदसम्म कदर गर्नुहुन्छ भनी तिमीहरू बुझ्न सक्दैनौ होला, अनि यसलाई महसुस गर्ने त झन् कोही पनि नहुन सक्छ। परमेश्‍वरले अब्राहामलाई एउटा छोरा दिनुभयो र त्यो छोरो ठूलो भएपछि परमेश्‍वरले अब्राहामलाई आफ्नो छोराको बलि चढाउनू भनी भन्‍नुभयो। अब्राहामले परमेश्‍वरको हरेक आज्ञा पालन गरे, तिनले परमेश्‍वरको वचन पालन गरे, र तिनको इमानदारिताले परमेश्‍वरको हृदय छोयो र परमेश्‍वरले यसलाई मूल्यवान् ठान्‍नुभयो। परमेश्‍वरले यसलाई कति मूल्यवान् ठान्‍नुभयो? अनि, परमेश्‍वरले यसलाई किन मूल्यवान् ठान्‍नुभयो? कसैले पनि परमेश्‍वरको वचन नबुझेको वा उहाँको हृदयलाई नबुझेको समयमा अब्राहामले यस्तो काम गरे जसले स्वर्ग हल्लायो र पृथ्वी थर्कायो, र त्यसले परमेश्‍वरलाई अभूतपूर्व सन्तुष्टि प्रदान गर्‍यो, र उहाँका वचनहरू पालन गर्न सक्‍ने कुनै व्यक्तिलाई प्राप्त गर्नुको आनन्द परमेश्‍वरलाई दियो। यो सन्तुष्टि र आनन्द परमेश्‍वरको आफ्नै हातले बनाएको प्राणीबाट आयो, र त्यो मानिसले परमेश्‍वरलाई चढाएको पहिलो “बलिदान” थियो र मानिसलाई सृष्टि गरिएको समयदेखि यता परमेश्‍वरले सबैभन्दा बढी त्यसलाई नै मूल्यवान् ठान्‍नुभएको थियो। यो बलिको प्रतीक्षा गर्न परमेश्‍वरलाई निकै कठिन भएको थियो, र उहाँले त्यसलाई उहाँले सृष्टि गर्नुभएको मानिसबाट पाउनुभएको पहिलो सबैभन्दा महत्त्वपूर्ण उपहारको रूपमा लिनुभयो। यसले परमेश्‍वरलाई उहाँको प्रयास र उहाँले तिर्नुभएको मूल्यको पहिलो फल देखायो, र यसले गर्दा उहाँले मानवजातिमा आशा देख्‍नुभयो। त्यसपछि, उहाँलाई साथ दिन, उहाँसित इमानदार व्यवहार गर्न, र इमानदारीसाथ उहाँको वास्ता गर्नका निम्ति परमेश्‍वरले त्यस्ता मानिसहरूको झुन्डको अझ ठूलो चाहना गर्नुभयो। परमेश्‍वरले अब्राहाम जीवित रहिरहून् भन्‍नेसमेत आशा गर्नुभयो, किनकि उहाँले आफ्नो व्यवस्थापनलाई अगाडि बढाउँदै जाने क्रममा अब्राहामको जस्तो हृदयले उहाँलाई साथ देओस् र त्यस्तो हृदय उहाँको साथमा रहोस् भनी इच्छा गर्नुभयो। परमेश्‍वरले जे चाहनुभएको भए पनि त्यो एउटा इच्छा, एउटा विचार मात्र थियो—किनकि अब्राहाम त उहाँको आज्ञापालन गर्न सक्‍ने एक मानिस मात्र थिए, र तिनमा रत्तीभर पनि परमेश्‍वरको बारेमा बुझाइ वा ज्ञान थिएन। अब्राहाम त्यस्तो मानिस थिए जो मानिसबाट परमेश्‍वरले अपेक्षा गर्नुभएका मापदण्डहरूको स्तरभन्दा धेरै तल थिए, र ती मापदण्डहरू यी थिए: परमेश्‍वरलाई चिन्‍नु, परमेश्‍वरको गवाही दिन सक्‍नु, र परमेश्‍वरसँग एक मनको हुनु। यसैले अब्राहाम परमेश्‍वरसँग हिँड्न सकेनन्। अब्राहामले इसहाकलाई बलि चढाउने घटनामा परमेश्‍वरले अब्राहामको इमानदारिता र आज्ञाकारिता देख्‍नुभयो, र तिनले परमेश्‍वरको जाँचको सामना गर्न सकेको देख्‍नुभयो। परमेश्‍वरले तिनको इमानदारिता र आज्ञाकारितालाई स्वीकार गर्नुभएको भए पनि, तिनी परमेश्‍वरको विश्‍वासपात्र बन्‍न, परमेश्‍वरलाई चिन्‍ने र बुझ्ने व्यक्ति बन्‍न, र परमेश्‍वरको स्वभावको बारेमा ज्ञान भएको व्यक्ति बन्‍न अझै योग्य भइसकेका थिएनन्; तिनी परमेश्‍वरसँग एकै मनको हुने र परमेश्‍वरको इच्छा पूरा गर्न सक्‍ने क्षमताबाट अझै धेरै टाढा थिए। त्यसकारण, हृदयमा परमेश्‍वर अझै एकलो र चिन्तित हुनुहुन्थ्यो। परमेश्‍वर जतिजति एकलो र चिन्तित हुनुभयो, त्यतित्यति नै उहाँले आफ्नो व्यवस्थापनलाई जतिसक्दो चाँडो निरन्तरता दिनु, र उहाँको व्यवस्थापन योजना पूरा गर्न र उहाँको इच्छा हासिल गर्न जतिसक्दो चाँडो मानिसहरूको एउटा झुन्ड चुन्‍नु र प्राप्त गर्नु आवश्यक भयो। यो परमेश्‍वरको उत्सुक इच्छा थियो, र यो सुरुदेखि आजसम्म अपरिवर्तित छ। आदिमा उहाँले मानिसलाई सृष्टि गर्नुभएदेखि यता, परमेश्‍वरले विजेताहरूको एउटा झुन्डको चाहना गर्नुभएको छ, यस्तो झुन्ड जुन उहाँको साथमा हिँड्नेछ र उहाँको स्वभावलाई जान्‍न र बुझ्‍न सक्षम छ। परमेश्‍वरको यो इच्छा कहिल्यै परिवर्तन भएको छैन। उहाँले अझै जति लामो समयसम्म पर्खनु परे पनि, अगाडिको बाटो जति नै कठिन भए पनि, र उहाँले चाहनुभएका उद्देश्यहरू जति नै टाढा भए पनि, परमेश्‍वरले मानिसबाट राख्‍नुभएका अपेक्षाहरू कहिल्यै पनि बदल्नुभएको वा त्याग्‍नुभएको छैन। अब मैले यो भनिसकेपछि, के तिमीहरूले परमेश्‍वरको इच्छाको बारेमा केही महसुस गर्‍यौ? सायद, तिमीहरूले जे महसुस गरेका छौ त्यो गहन नहोला—तर यो बिस्तारै आउनेछ!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्