परमेश्‍वरको स्वभाव अनि उहाँको कामले हासिल गर्ने नतिजाहरूलाई कसरी चिन्ने (भाग एक)

पहिले, हामी एउटा भजन गाऔँ: राज्यको स्तुतिगान (१) राज्य संसारमा ओर्लिन्छ।

स्वर-सङ्गम: भीडहरूले मेरो जयजयकार गर्छन्, भीडहरूले मेरो प्रशंसा गर्छन्; सबै मुखले एउटै साँचो परमेश्‍वरको नाउँ लिन्छन्, परमेश्‍वरको राज्य मानिसहरूको संसारमा ओर्लिन्छ।

१ भीडहरूले मेरो जयजयकार गर्छन्, भीडहरूले मेरो प्रशंसा गर्छन्; सबै मुखले एउटै साँचो परमेश्‍वरको नाउँ लिन्छन्, सबै मानिसहरूले मेरा कामहरू हेर्न आ-आफ्नो आँखा माथि उठाउँछन्। परमेश्‍वरको राज्य मानिसहरूको संसारमा ओर्लिन्छ, मेरो व्यक्ति धनी र प्रशस्त छ। यसमा को आनन्दित हुँदैन र? आनन्दले को नाच्दैन? ए, सियोन! ममा हर्षोल्‍लास गर्न तेरो विजयको झन्डा उठा! मेरो पवित्र नाउँलाई फैलाउन तेरो विजयको गीत गा!

२ पृथ्वीको अन्त्यसम्‍मका सबै सृष्टि! आफैलाई शुद्ध पार्न हतार गर, यसैले कि तिमीहरू मेरो निम्ति बलि बन्न सक। माथि स्वर्गका तारा मण्डलहरू! आकाशमा मेरो पराक्रमी शक्ति प्रकट गर्न आफ्‍नो स्थानमा तुरुन्तै फर्किहाल। म पृथ्वीका मानिसहरूका आवाज सुन्न मेरो कान थाप्छु, जसले गीतमा मेरो निम्ति आफ्नो असिम प्रेम र सम्मान खन्याउँछन्। यस दिन, जब सबै सृष्टिहरू जीवनमा फर्कन्छन्, म मानिसहरूको संसारमा ओर्लिन्छु। यो क्षणमा, यस बेला, सबै फूलहरू उन्मत्त बनेर फक्रिन्छन्, सबै पक्षीहरू एकै सोरमा गाउँछन्, सबै थोक आनन्दले धड्कन्छन्। परमेश्‍वरको राज्यको सलामीको आवाजमा, शैतानको राज्य ढल्छ, राज्यको स्तुतिगानको गर्जनमा कहिल्यै नउठ्ने गरी नाश हुन्छ।

३ पृथ्वीमा कसले खडा हुने र विरोध गर्ने हिम्मत गर्छ? जब म पृथ्वीमा ओर्लिन्छु, म आगो ल्याउँछु, क्रोध ल्याउँछु, र हर किसिमका प्राकृतिक विपत्तिहरू ल्याउँछु। अहिले सांसारिक राज्यहरू मेरो राज्य हुन्! माथि आकाशमा, बादलहरू छताछुल्ल र तरङ्गित हुन्छन्; आकाशमुनि, ताल र नदीहरू उर्लेर बढ्छन् र खुसीको साथ एक उत्तेजक धुन निकाल्छन्। विश्राम गरिरहेका जनावरहरू उनीहरूका ओडारहरूबाट निस्किन्छन्, र सबै मानिसहरू मद्वारा उनीहरूको निद्राबाट जगाइन्छन्। असङ्ख्य मानिसहरूले पर्खेका दिन आखिरमा आइपुगेको छ! तिनीहरूले आफ्ना सबैभन्दा सुन्दर गीतहरू मलाई चढाउँछन्।

हरेक पटक यो गीत गाउँदा तिमीहरूले के सोच्छौ? (हामी एकदमै उत्साहित र रोमाञ्चित महसुस गर्छौं र हामीले राज्यको सौन्दर्य कति तेजस्वी रहेछ, मानवजाति र परमेश्‍वर कसरी सधैँको लागि सँगै हुनेछन् होला भन्ने सोच्छौं।) परमेश्‍वरसँग सँगै हुनको लागि मानिसहरूले कस्तो स्वरूप धारण गर्नुपर्छ भन्‍ने बारेमा के कसैले कहिल्यै सोचेको छ? तिमीहरूका कल्पनामा, परमेश्‍वरसँग जोडिन र त्यसपछि राज्यमा हुने तेजस्वी जीवनको आनन्द लिन मानिसहरू कस्तो हुनुपर्छ? (तिनीहरूको स्वभाव परिवर्तन हुनुपर्छ।) तिनीहरूको स्वभाव परिवर्तन हुनुपर्छ, तर कुन हदसम्म? तिनीहरूको स्वभाव परिवर्तन भएपछि तिनीहरू कस्ता हुनेछन्? (तिनीहरू पवित्र बन्‍नेछन्।) पवित्रताको मापदण्ड के हो त? (व्यक्तिका सबै सोच-विचारहरू र चिन्तनहरू ख्रीष्ट अनुरूप हुनुपर्छ।) त्यस्तो अनुरूपता कसरी प्रकट हुन्छ त? (व्यक्तिले परमेश्‍वरलाई प्रतिरोध गर्दैन वा धोका दिँदैन, व्यक्ति पूर्ण रूपमा उहाँमा समर्पित हुन सक्छ र व्यक्तिको हृदयमा उहाँप्रति डरसहितको आदर हुन्छ।) तिमीहरूका केही जबाफहरू सही पथमा छन्। तिमीहरू सबैले आफ्ना हृदय खुला गर, अनि जे भन्न चाहन्छौ सो व्यक्त गर। (राज्यमा परमेश्‍वरसँग बस्ने मानिसहरूले बफादारिताका साथ सत्यताको खोजी गरेर अनि कुनै पनि व्यक्ति, घटना वा वस्तुद्वारा अवरुद्ध नभईकन आफ्ना कर्तव्यहरू पालन गर्न सक्‍नुपर्छ। त्यसपछि तिनीहरूलाई अन्धकारको प्रभावबाट मुक्त हुन, तिनीहरूको हृदयलाई परमेश्‍वरको अनुरूप गराउन अनि परमेश्‍वरको डर मान्न र दुष्टताबाट अलग बस्न सम्भव हुन्छ।) (विविध कुराहरूप्रतिको हाम्रो दृष्टिकोण परमेश्‍वरको अनुरूप बन्न सक्छ र हामी अन्धकारको प्रभावबाट मुक्त हुन सक्छौं। कम्तीमा पनि हामी त्यो ठाउँसम्म पुग्न सक्छौँ जहाँ अब उप्रान्त कहिल्यै शैतानले हामीलाई शोषण गर्न सक्दैन, र जहाँ हामीले हाम्रा कुनै पनि भ्रष्ट स्वभावहरूलाई फाल्न सक्छौँ र हामी परमेश्‍वरप्रति समर्पित हुन सक्छौं। मानिसहरू अन्धकारको प्रभावबाट मुक्त हुन अत्यावश्यक छ भन्ने हामी विश्‍वास गर्छौं। अन्धकारको प्रभावबाट टाढा जान नसक्ने र शैतानको बन्धनबाट उम्कन नसक्ने मानिसहरूले परमेश्‍वरबाट मुक्ति प्राप्त गरेका हुँदैनन्।) (परमेश्‍वरद्वारा सिद्ध पारिनको लागि चाहिने मापदण्डहरू पूरा गर्न मानिसहरूले उहाँसँग तन र मनले एक हुनुपर्छ र अब उप्रान्त उहाँलाई कहिल्यै पनि प्रतिरोध गर्नु हुँदैन। तिनीहरूले आफूले आफैलाई चिन्न सक्नुपर्छ, सत्यताको अभ्यास गर्नुपर्छ, परमेश्‍वरको बुझाइ हासिल गर्नुपर्छ, परमेश्‍वरलाई प्रेम गर्नुपर्छ, र परमेश्‍वरको अनुरूप बन्नुपर्छ। यसको लागि चाहिने कुरा यही हो।)

मानिसहरूका परिणामहरूले तिनीहरूको हृदयमा कति गहन प्रभाव पार्छन्

कुन मार्ग पालना गर्ने भन्ने सम्बन्धमा तिमीहरूसँग केही विचार भएको जस्तो र तिमीहरूले यसको बारेमा केही बुझाइ र सराहना विकास गरेका छौ जस्तो देखिन्छ। तथापि, तिमीहरूले बोल्ने सबै शब्दहरू खोक्रा हुन्छन् कि वास्तविक हुन्छन् भन्ने कुरा तिमीहरूको दैनिक अभ्यासप्रतिको लगावमा निर्भर रहन्छ। वर्षहरू बित्दै जाँदा, धर्म सिद्धान्त र सत्यताको वास्तविक विषयवस्तु दुवैको रूपमा, तिमीहरू सबैले सत्यताको हरेक पक्षबाट केही निश्चित फलहरू प्राप्त गरेका छौ। यसले के प्रमाणित गर्छ भने, मानिसहरूले आजभोलि सत्यता हासिल गर्ने कुरामा अत्यन्तै धेरै जोड दिन्छन् र फलस्वरूप, सत्यताको हरेक पक्ष र अंशले अवश्य पनि केही मानिसहरूको हृदयमा जरा गाडिसकेको छ। तथापि, मैले सबैभन्दा डर मान्ने कुरा चाहिँ के हो त? त्यो के हो भने यी सत्यताका विषयहरू र यी सिद्धान्तहरूले तिमीहरूको हृदयमा जरा गाडिसकेको भए तापनि तिनको वास्तविक विषयवस्तुमा सारतत्त्व चाहिँ अलिकति मात्र रहेको छ। जब तिमीहरूले समस्याहरू भोग्छौ, परीक्षा र विकल्पहरूको सामना गर्छौ, तिमीहरूका लागि यी सत्यताहरूको वास्तविकता कति व्यावहारिक प्रयोजनको हुन्छ त? के यसले तिमीहरूलाई परमेश्‍वरको इच्छा परिपूर्ति गर्दै आफ्ना समस्याहरूबाट पार पाउन र परीक्षाहरूबाट बाहिर निस्कन मद्दत गर्छ त? के तिमीहरू परीक्षाहरूमाझ खरो उत्रन सक्छौ र परमेश्‍वरको जोडदार साक्षी दिन सक्छौ? के तिमीहरूले कहिल्यै आफूले आफैलाई यी मामलाहरूसँग सम्बन्धित गरेका छौ? म तिमीहरूलाई सोध्छु: तिमीहरूको हृदयमा र तिमीहरूको सबै दैनिक सोचविचार र चिन्तनहरूमा, तिमीहरूको लागि सबैभन्दा महत्त्वपूर्ण कुरा के हो? के तिमीहरू कहिल्यै यसबारेमा कुनै निष्कर्षमा पुगेका छौ? तिमीहरूलाई आफ्नो लागि सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भन्‍ने लाग्छ? केही मानिसहरूले “अवश्‍य पनि, सत्यताको अभ्यास गर्नु हो” भनेर भन्छन् भने अरूले “अवश्य पनि, हरेक दिन परमेश्‍वरका वचनहरू पढ्नु हो” भनेर भन्छन्। केही मानिसहरूले “अवश्य पनि, हरेक दिन परमेश्‍वरको सामु आउनु र उहाँलाई प्रार्थना गर्नु हो” भनेर भन्छन्, अनि त्यस्ता व्यक्तिहरू छन् जो “अवश्य पनि, हरेक दिन आफ्नो कर्तव्य उचित रूपमा निभाउनु हो” भनेर भन्छन्। केही त्यस्ता व्यक्तिहरू समेत छन् जो आफूले परमेश्‍वरलाई कसरी सन्तुष्ट पार्ने, कसरी हरेक कुरामा उहाँको आज्ञापालन गर्ने, र कसरी उहाँको इच्छा अनुरूप हुने गरी कार्य गर्ने सो बारेमा मात्रै सोच्छौँ भनेर भन्छन्। के त्यो सही होइन र? के कुरा यति नै हो त? उदाहरणको लागि, कोही भन्छन्, “म केवल परमेश्‍वरप्रति समर्पित हुन चाहन्छु, तर जब-जब म समस्याको सामना गर्छु, तब-तब म समर्पित हुनै सक्दिनँ।” अरू भन्छन्, “म केवल परमेश्‍वरलाई सन्तुष्ट पार्न चाहन्छु, र मैले एक पटक मात्रै भए पनि उहाँलाई सन्तुष्ट पार्न पाए हुन्थ्यो—तर म कहिल्यै उहाँलाई सन्तुष्ट पार्न सक्दिनँ।” कोही भन्छन्, “म केवल परमेश्‍वरप्रति समर्पित हुन चाहन्छु। परीक्षाको समयहरूमा, कुनै गुनासो र अनुरोध नगरिकन, म केवल उहाँका योजनाहरूमा, उहाँका सार्वभौमिकता र बन्दोबस्तहरूमा समर्पित हुन चाहन्छु। तैपनि म लगभग हरेक पटक नै समर्पित हुन असफल हुन्छु।” अझै अरू भन्छन्, “जब मैले निर्णयहरू गर्नुपर्ने हुन्छ, म कहिल्यै पनि सत्यताको अभ्यास गर्ने विकल्प चुन्न सक्दिनँ। म सधैँ देहलाई सन्तुष्ट पार्न चाहन्छु र मेरा आफ्नै व्यक्तिगत, स्वार्थी चाहनाहरू पूरा गर्न चाहन्छु।” यसको कारण के हो त? परमेश्‍वरको परीक्षा आउनुअघि, के तिमीहरूले बारम्बार आफैले आफ्नो परीक्षा र जाँच गरेर आफूलाई पहिले नै चुनौती दिइसकेको हुनेछौ? तिमीहरू साँचो रूपमा परमेश्‍वरप्रति समर्पित हुन र उहाँलाई साँच्चिकै सन्तुष्ट पार्न सक्छौ कि सक्दैनौ, अनि तिमीहरूले उहाँलाई धोका नदिने कुराको प्रत्याभूति गर्न सक्छौ कि सक्दैनौ सो हेर; तिमीहरूले आफूलाई सन्तुष्ट पार्न र आफ्ना स्वार्थी चाहनाहरू पूरा गर्नबाट आफूलाई रोक्न अनि यसको सट्टा कुनै पनि व्यक्तिगत रोजाइहरू नगरीकन केवल परमेश्‍वरलाई सन्तुष्ट पार्न सक्छौ कि सक्दैनौ हेर। के कसैले यसो गर्छ त? वास्तवमा, तिमीहरूको आँखाअगाडि एउटै मात्र तथ्य राखिएको छ र यसैमा तिमीहरू हरेकको सबैभन्दा बढी रुचि छ र यसैलाई जान्ने सबैभन्दा बढी इच्छा छ—र यो हो, हरेक व्यक्तिको परिणाम र गन्तव्यको कुरा। तिमीहरूले यसलाई महसुस नगर्न पनि सक्छौ तर यो कुरा कसैले पनि इन्कार गर्न सक्दैन। जब मानिसहरूका परिणामहरूको सत्यता, मानवजातिलाई परमेश्‍वरको प्रतिज्ञा र मानिसहरूलाई परमेश्‍वरले कस्तो प्रकारको गन्तव्यमा ल्याउन चाहनुहुन्छ भन्ने कुरा आउँछ, यी विषयहरू सम्बन्धी परमेश्‍वरका वचनहरूलाई पहिले नै धेरै पटक पढेका केही व्यक्तिहरू छन् भन्‍ने मलाई थाहा छ। अनि आफ्नो मस्तिष्कमा जबाफ खोजी गर्ने र यी कुराहरूको बारेमा बारम्बार चिन्तन गर्ने तैपनि हात लाग्यो शून्य हुने वा सायद कुनै अस्पष्ट निष्कर्षमा पुग्ने केही व्यक्तिहरू छन्। अन्त्यमा, तिनीहरू आफ्नो लागि कस्तो प्रकारको परिणाम आउँदैछ भन्ने बारेमा अनिश्चित रहन्छन्। धेरैजसो मानिसहरू आफ्ना कर्तव्यहरू निभाउँदा निम्न प्रश्नहरूको निश्चयात्मक जबाफहरू पाउन चाहन्छन्: “मेरो परिणाम के हुनेछ? के म यो बाटोमा अन्त्यसम्मै हिँड्न सक्छु? मानवजातिप्रति परमेश्‍वरको आचरण कस्तो छ?” केही त यसरी पनि चिन्तित हुन्छन्: “विगतमा, मैले केही कामहरू गरेको छु, र मैले केही कुराहरू भनेको छु; म परमेश्‍वरप्रति अनाज्ञाकारी रहेको छु, मैले परमेश्‍वरलाई धोका दिने कार्यहरू गरेको छु, र केही निश्चित परिस्थितिहरूमा मैले परमेश्‍वरलाई सन्तुष्ट पार्न असफल भएको छु, मैले उहाँको चित्त दुखाएको छु र मैले उहाँलाई निराश पारेको छु र मलाई घृणा र द्वेष गर्ने बनाएको छु। त्यसैले होला सायद मेरो परिणाम अज्ञात छ।” धेरैजसो मानिसहरू आफ्नो परिणामको बारेमा असहज महसुस गर्छन् भन्नु न्यायसंगत हुन्छ। कसैले पनि यस्तो भन्ने आँट गर्दैन, “म संघर्ष गरेर पनि बाँच्‍ने व्यक्ति बन्नेछु भन्‍नेमा म शतप्रतिशत निश्चितताको महसुस गर्छु; म शतप्रतिशत निश्चित छु कि म परमेश्‍वरलाई सन्तुष्ट पार्न सक्छु। म परमेश्‍वरको हृदय अनुरूपको व्यक्ति हुँ; म त्यस्तो व्यक्ति हो जसलाई परमेश्‍वरले प्रशंसा गर्नुहुन्छ।” कतिपय मानिसहरूले परमेश्‍वरको मार्ग पछ्याउनु विशेष रूपले कठिन हुन्छ र सत्यतालाई अभ्यास गर्नु सबैभन्दा गाह्रो कुरा हो भन्ने ठान्छन्। फलस्वरूप, त्यस्ता मानिसहरू आफूलाई सहयोग गरिए पनि केही हुन नसक्‍ने अवस्थामा पुगेका छौं भन्‍ने विश्‍वास गर्छन्, र राम्रो परिणाम प्राप्त गर्ने आशा बढाउने आँट गर्दैनन्; वा सायद, तिनीहरू आफूले परमेश्‍वरको इच्छालाई सन्तुष्ट पार्न नसक्ने भएको हुँदा संघर्ष गरेर पनि बाँच्‍ने व्यक्ति बन्न नसक्ने विश्‍वास गर्छन्। यसकारण, तिनीहरूले आफूसँग कुनै परिणाम छैन र राम्रो गन्तव्य प्राप्त गर्दैनन् भन्‍ने दाबी गर्छन्। मानिसहरूले ठ्याक्कै जे-जसरी सोच्ने भए तापनि, तिनीहरू सबैले धेरै पल्ट आफ्नो परिणाम के-कस्तो होला भनेर सोचेका हुन्छन्। तिनीहरूको भविष्यसम्बन्धी प्रश्नहरू र परमेश्‍वरले उहाँको काम सक्नुभएपछि आफूले के पाइएला भन्ने प्रश्नहरूको बारेमा तिनीहरूले निरन्तर रूपमा आकलन र योजना गरिरहेका हुन्छन्। केहीले दुई गुणा बढी मूल्य चुकाउँछन्; केहीले आफ्‍ना परिवारहरू र जागिरहरू छाड्छन्; केहीले आफ्नो विवाह त्याग्छन्; केहीले परमेश्‍वरको लागि जीवन अर्पण गर्न पद त्याग गर्छन्; केहीले आफ्‍नो कर्तव्य वहन गर्न घर छाड्छन्; केहीले कठिनाइ रोज्छन् र सबैभन्दा नरमाइला र थकाउने कामहरू गर्न सुरु गर्छन्; केहीले आफ्नो सम्पत्ति र आफ्ना सबै कुरा समर्पित गर्ने विकल्प रोज्छन्; अनि अझै अरू कतिले चाहिँ सत्यताको खोजी गर्ने र परमेश्‍वरलाई चिन्ने प्रयत्न गर्ने विकल्प रोज्छन्। तिमीहरूले जे-जसरी सत्यताको अभ्यास गर्ने विकल्प रोजे पनि, जुन शैलीमा तिमीहरूले अभ्यास गर्छौ त्यो महत्त्वपूर्ण छ कि छैन त? (अहँ, महत्त्वपूर्ण छैन।) त्यसोभए, हामीले “महत्त्वहीन” लाई कसरी व्याख्या गर्छौं? यदि अभ्यासको विधि महत्त्वपूर्ण छैन भने, के चाहिँ महत्त्वपूर्ण छ त? (बाह्य असल व्यवहारले सत्यताको अभ्यास गर्ने कार्यको प्रतिनिधित्व गर्दैन।) (हरेक व्यक्तिको सोच-विचारहरू महत्त्वपूर्ण हुँदैनन्; मुख्य कुरा भनेको हामीले सत्यतालाई अभ्यास गर्छौं कि गर्दैनौं अनि हामीले परमेश्‍वरलाई प्रेम गर्छौं कि गर्दैनौं भन्ने हो।) (ख्रीष्टविरोधीहरू र झूटा अगुवाहरूको पतनले हामीलाई बाह्य व्यवहार नै सबैभन्दा महत्त्वपूर्ण कुरा होइन भनी बुझ्न मद्दत गर्छ। सतही रूपमा, तिनीहरूले धेरै कुरा परित्याग गरेका र तिनीहरू मूल्य चुकाउन इच्छुक रहेका जस्ता देखिन्छन्, तर नजिकबाट नियाल्दा, तिनीहरूले परमेश्‍वरलाई आदर नै नगर्ने, बरु हरेक सन्दर्भमा तिनीहरूले उहाँको विरोध गर्ने गरेको देख्छौं। महत्त्वपूर्ण क्षणहरूमा, तिनीहरूले सधैँ शैतानको पक्ष लिन्छन् र परमेश्‍वरको काममा हस्तक्षेप गर्छन्। यसरी, यहाँ विचार गर्नुपर्ने मुख्य कुरा भनेको समय आउँदा हामी कुन पक्षमा उभिन्छौँ र विविध कुराहरूको बारेमा हाम्रो दृष्टिकोण कस्तो हुन्छ भन्ने हो।) तिमीहरू सबै राम्रोसँग बोल्छौ, अनि सत्यताको अभ्यास गर्ने, परमेश्‍वरका अभिप्रायहरू र मानवजातिको लागि परमेश्‍वरका आवश्यक सर्तहरूजस्ता कुराहरू आउँदा तिमीहरूसँग यसअघि नै तीबारेमा आधारभूत बुझाइ र अपेक्षाकृत मापदण्डहरू भएको जस्तो देखिन्छ। तिमीहरू यसरी कुरा गर्न सक्षम हुनु भनेको एकदमै मर्मस्पर्शी कुरा हो। तिमीहरूले भनेका मध्ये केही कुराहरू एकदमै सही नभए तापनि, तिमीहरू पहिले नै सत्यताको उचित व्याख्या गर्ने कार्यको नजिक आइपुगिसकेका छौ—र यसले के प्रमाणित गर्छ भने, तिमीहरूले आफू वरिपरिका मानिसहरू, घटनाहरू, र वस्तुहरूको बारेमा, परमेश्‍वरले तिमीहरूको लागि बन्दोबस्त गर्नुभएका सबै परिवेशहरूको बारेमा, र तिमीहरूले देख्ने सबै कुराहरूको बारेमा तिमीहरूको आफ्नो वास्तविक बुझाइलाई विकसित गरिसकेका छौ। यो यस्तो बुझाइ हो जुन सत्यताको नजिक छ। तिमीहरूले भनेका कुराहरू सम्पूर्ण रूपमा विस्तृत नभए तापनि, र तिमीहरूका शब्दहरूमध्ये केही एकदमै उपयुक्त नभए तापनि, तिमीहरूको बुझाइ यसअघि नै सत्यताको वास्तविकता नजिक पुग्दैछ। तिमीहरूले यसरी कुरा गरेको सुन्दा मलाई एकदमै धेरै खुशी लाग्छ।

मानिसहरूका विश्‍वासले सत्यताको ठाउँ लिन सक्दैन

केही मानिसहरूले कठिनाइ सहन सक्छन्, मूल्य चुकाउन सक्छन्, तिनीहरू बाह्य रूपमा एकदमै राम्रो व्यवहारका हुन्छन्, तिनीहरूलाई निकै राम्रो सम्मान गरिन्छ, र तिनीहरूले अन्य व्यक्तिहरूबाट प्राप्त हुने प्रशंसाको आनन्द उठाउँछन्। के तिमीहरू यस प्रकारको बाह्य व्यवहारलाई सत्यताको अभ्यास गरेको मान्न सकिन्छ भनेर भन्छौ? के त्यस्ता मानिसहरूले परमेश्‍वरको इच्छालाई पूरा गरेको छ भनेर कसैले निर्क्योल गर्न सक्छ? किन होला बारम्बार मानिसहरूले त्यस्ता व्यक्तिहरूलाई हेर्छन् र तिनीहरूले परमेश्‍वरको इच्छा पूरा गरिरहेका छन्, तिनीहरू सत्यताको अभ्यास गर्ने मार्गमा हिँडिरहेका छन् अनि तिनीहरू परमेश्‍वरको मार्गमा निरन्तर रहिरहेका छन् भनी सोच्छन्? किन केही मानिसहरूले यसरी सोच्ने गर्छन्? यसको एउटै मात्र स्पष्टीकरण छ। त्यो स्पष्टीकरण के हो त? त्यो हो—धेरै मानिसहरूका लागि केही निश्चित प्रश्नहरू जस्तै सत्यताको अभ्यास गर्नु भनेको के हो, परमेश्‍वरलाई सन्तुष्ट पार्नु भनेको के हो र साँच्चै नै सत्यताको वास्तविकता धारण गर्नु भनेको के हो भन्ने कुराहरू स्पष्ट छैनन्। यसरी, केही मानिसहरूले बाह्य रूपमा आत्मिक, सज्जन, उच्च र महान देखिने व्यक्तिहरूबाट धोका खान्छन्। जहाँसम्म अक्षरहरू र सिद्धान्तहरू धाराप्रवाह रूपमा बोल्न सक्ने अनि बोली र कार्य प्रशंसनीय भएका मानिसहरूको सवाल छ, तिनीहरूबाट धोका खानेहरूले तिनीहरूको कार्यको सार, तिनीहरूको कार्यपछाडिको सिद्धान्त वा तिनीहरूको उद्देश्यलाई कहिल्यै पनि हेरेका हुँदैनन्। अझ भन्ने हो भने, तिनीहरूले यी मानिसहरू परमेश्‍वरप्रति साँच्चै नै समर्पित छन् कि छैनन् भन्ने कुरा कहिल्यै हेरेका हुँदैनन्, न त कहिल्यै तिनीहरूले यी मानिसहरूले साँच्चै नै परमेश्‍वरको डर मान्छन् कि मान्दैनन् अनि यिनीहरू दुष्टताबाट अलग रहन्छन् कि रहँदैनन् भन्ने कुरा नै निर्क्योल गरेका हुन्छन्। तिनीहरूले कहिल्यै पनि यी मानिसहरूको मानवताको सारलाई देखेका हुँदैनन्। बरु, यिनीहरूसँग चिनजान हुने पहिलो कदमदेखि नै, तिनीहरूले अलिअलि गर्दै यिनीहरूलाई सराहना र आदर गर्न थालेका हुन्छन् र अन्त्यमा यी मानिसहरू तिनीहरूको मूर्ति बन्छन्। यस बाहेक, केही व्यक्तिहरूको विचारमा, तिनीहरूले आराधना गर्ने मूर्तिहरू—अनि तिनीहरूले आफ्ना परिवारहरू, जागिरहरू त्याग गर्न सक्ने भनी विश्‍वास गरेका व्यक्तिहरू र सतही रूपमा मूल्य चुकाउन सक्षम देखिने व्यक्तिहरू नै ती व्यक्तिहरू हुन् जसले सच्चा रूपमा परमेश्‍वरलाई सन्तुष्ट पारिरहेका छन् र जसले वास्तविक रूपमा असल प्रतिफलहरू र असल गन्तव्यहरू हासिल गर्न सक्छन्। उनीहरूको मनमा, यी आदर्श पात्रहरू नै ती व्यक्तिहरू हुन् जसलाई परमेश्‍वरले स्याबासी दिनुहुन्छ। तिनीहरूलाई के कुराले यस्तो विश्‍वास गर्न लगाउँछ? यो समस्याको सार के हो? यसले निम्त्याउने परिणामहरू के-के हुन्? सर्वप्रथम, यसको सारको विषयमा छलफल गरौं।

तात्त्विक रूपमा, मानिसहरूका दृष्टिकोणहरू, तिनीहरूका अभ्यासका तौरतरिकाहरू, तिनीहरूले अँगाल्न चयन गरेको अभ्यासका सिद्धान्तहरू, अनि तिनीहरू प्रत्येकले प्रायः ध्यान केन्द्रित गर्ने कुराहरू सम्बन्धी यी सवालहरू र मानवजातिले पूरा गर्नुपर्ने परमेश्‍वरका मागहरूको बीचमा कुनै सम्बन्ध छैन। मानिसहरूले हल्का कुराहरू वा गहन विषयहरू, वा अक्षरहरू र सिद्धान्तहरू वा वास्तविकता जेसुकैमा ध्यान केन्द्रित गरून्, तिनीहरूले सबैभन्दा बढी पालना गर्नुपर्ने कुरा चाहिँ पालना गर्दैनन्, न त तिनीहरूले आफूले सबैभन्दा बढी जान्नुपर्ने कुरा नै जान्दछन्। यसको कारण भनेको मानिसहरूले सत्यतालाई बिलकुलै मन नपराउनु हो; र यसरी तिनीहरू परमेश्‍वरका वाणीहरूमा पाइने अभ्यासका सिद्धान्तहरूको खोजी गर्न एवम् तिनको अभ्यास गर्नमा समय र प्रयत्न खर्च गर्न इच्छुक हुँदैनन्। बरु, तिनीहरूले असल अभ्यास र असल व्यवहार के हो भन्ने बारेमा जे बुझेका र जानेका छन् त्यसैलाई सारांशित गर्दै छोटो बाटो प्रयोग गर्न रुचाउँछन्; त्यसपछि त्यो सारांश नै तिनीहरूको आफ्नो पछ्याउने लक्ष्य बन्छ जसलाई तिनीहरूले अभ्यास गर्नुपर्ने सत्यताको रूपमा लिन्छन्। यसको प्रत्यक्ष परिणाम यस्तो हुन्छ कि मानिसहरूले मानवीय असल व्यवहारलाई सत्यताको अभ्यास गर्ने कार्यको प्रतिस्थापनको रूपमा प्रयोग गर्छन् र यसले परमेश्‍वरको चाकरी गर्ने तिनीहरूको इच्छा पनि पूरा हुन्छ। यसले तिनीहरूलाई सत्यता विरुद्ध लड्न पुँजी प्रदान गर्छ जसलाई तिनीहरूले परमेश्‍वरसँग तर्कवितर्क गर्न र प्रतिस्पर्धा गर्न पनि प्रयोग गर्छन्। यसको साथै, मानिसहरूले अनैतिक ढङ्गले परमेश्‍वरलाई एकातिर पन्छाउँछन् र तिनीहरूले उहाँको सट्टामा आफूहरूले प्रशंसा गर्ने मूर्तिहरूलाई राख्छन्। मानिसहरूलाई यस्ता अज्ञानी कार्यहरू र दृष्टिकोणहरू अँगाल्ने वा एकपक्षीय विचारहरू र अभ्यासहरू अपनाउने तुल्याउने मूल कारण एउटा मात्र छ—र आज म तिमीहरूलाई यसको बारेमा बताउनेछु: त्यो कारण भनेको मानिसहरूले परमेश्‍वरलाई पछ्याए पनि, हरेक दिन उहाँ समक्ष प्रार्थना गरे पनि, र हरेक दिन उहाँका वाणीहरूलाई पढे पनि, तिनीहरूले वास्तविक रूपमा उहाँको इच्छा नबुझ्नु नै हो। समस्याको जरा यसैमा हुन्छ। यदि कुनै व्यक्तिले परमेश्‍वरको हृदयलाई बुझ्थ्यो वा उहाँले के मन पराउनुहुन्छ, उहाँले कुन कुरालाई घृणा गर्नुहुन्छ, उहाँले के चाहनुहुन्छ, उहाँले कुन कुरालाई अस्वीकार गर्नुहुन्छ, उहाँले कस्तो प्रकारको मानिसलाई मन पराउनुहुन्छ, उहाँले कस्तो प्रकारको मानिसलाई घृणा गर्नुहुन्छ, मानिसहरूले पूरा गर्नैपर्छ भनी माग गर्दा उहाँले कस्तो प्रकारको मापदण्ड प्रयोग गर्नुहुन्छ अनि तिनीहरूलाई सिद्ध तुल्याउनको लागि उहाँले कस्तो पद्धति प्रयोग गर्नुहुन्छ भन्ने कुरा जान्दथ्यो भने, के त्यस्तो व्यक्तिसँग अझै पनि आफ्नै व्यक्तिगत विचारहरू हुन्थ्यो होला त? के त्यस्तो व्यक्तिले त्यसै गएर अरू कसैको आराधना गर्थ्यो त? के आम मानव तिनको मूर्ति हुन सक्थ्यो त? परमेश्‍वरको इच्छालाई बुझ्ने व्यक्तिमा त्योभन्दा बढी विवेकपूर्ण दृष्टिकोण हुन्छ। तिनीहरूले मनोमानी ढङ्गले कुनै भ्रष्ट व्यक्तिलाई मूर्ति बनाउनेछैनन्, न त तिनीहरूले सत्यताको अभ्यास गर्ने क्रममा केही सामान्य नियमहरू र सिद्धान्तहरूलाई अन्धाधुन्ध रूपमा पालना गर्दैमा त्यो सत्यताको अभ्यास गर्नु बराबर हुन्छ भनेर नै विश्‍वास गर्नेछन्।

परमेश्‍वरले मानिसहरूका परिणामहरू निर्धारण गर्न जुन मापदण्डहरूको प्रयोग गर्नुहुन्छ तिनका बारेमा धेरै विचारहरू छन्

यो शीर्षकमा पुन फर्कौं र परिणाम विषयको छलफललाई जारी राखौं।

हरेक व्यक्तिले आफ्नै परिणामको बारेमा सरोकार राख्ने भएकोले, त्यो परिणाम परमेश्‍वरले कसरी निर्धारण गर्नुहुन्छ के सो तिमीहरूलाई थाहा छ? कस्तो शैलीमा परमेश्‍वरले उक्त परिणाम निर्धारण गर्नुहुन्छ त? अझ भन्ने हो भने, यसलाई निर्धारण गर्नको लागि उहाँले के-कस्ता मापदण्डहरूको प्रयोग गर्नुहुन्छ त? जब कुनै व्यक्तिको परिणाम निर्धारण हुन अझै बाँकी हुन्छ, तब यस्तो कुरा प्रकट गर्न परमेश्‍वरले के गर्नुहुन्छ? कसैलाई थाहा छ? केही क्षणअघि मैले भनेझैँ, मानिसहरूको परिणामहरूको बारेमा, ती परिणामहरूलाई के-कस्ता वर्गहरूमा विभाजित गरिन्छ भन्ने बारेमा, र विभिन्न प्रकारका मानिसहरूले पाउने विभिन्न परिणामहरूको बारेमा सुराक पत्ता लगाउने प्रयासमा धेरै समयदेखि परमेश्‍वरका वचनहरूको खोज-अनुसन्धान गर्दै वर्षौं बिताएका केही व्यक्तिहरू छन्। तिनीहरूले परमेश्‍वरको वचनले मानिसहरूका परिणामहरूलाई के-कसरी नियन्त्रण गर्छ, उहाँले के-कस्ता मापदण्डहरू प्रयोग गर्नुहुन्छ, र वास्तवमा उहाँले कसरी कुनै व्यक्तिको परिणाम निर्धारण गर्नुहुन्छ भन्ने कुरा पत्ता लगाउने पनि आशा गर्छन्। तैपनि अन्त्यमा, यी मानिसहरूले कहिल्यै पनि कुनै जबाफ पत्ता लगाउन सक्दैनन्। वास्तविक तथ्यमा, परमेश्‍वरका वाणीहरूमा यी मामलाहरूको बारेमा अति नै कम मात्र बोलिएको छ। किन यस्तो भएको हो त? जबसम्म मानिसहरूका परिणामहरूलाई प्रकट गर्न अझै बाँकी हुन्छ, तबसम्म परमेश्‍वरले अन्त्यमा के हुँदैछ भनेर कसैलाई पनि भन्न चाहनुहुन्न, न त उहाँले कसैलाई समयभन्दा पहिले उनीहरूको गन्तव्यको बारेमा नै सूचित गर्न चाहनुहुन्छ—किनभने त्यसो गर्नु मानवताको लागि फाइदाजनक हुँदैन। यहाँ अहिले नै म तिमीहरूलाई परमेश्‍वरले कुन शैलीमा मानिसहरूका परिणामहरूलाई निर्धारण गर्नुहुन्छ भन्ने बारेमा, यी परिणामहरू निर्धारण र प्रकट गर्ने उहाँको कामको लागि उहाँले प्रयोग गर्ने सिद्धान्तहरूको बारेमा, र कुनै व्यक्ति जीवित रहन सक्छ कि सक्दैन भन्ने कुरा निर्धारण गर्न उहाँले प्रयोग गर्नुहुने मापदण्डको बारेमा मात्र बताउन चाहन्छु। के तिमीहरूलाई सबैभन्दा बढी चासो लाग्‍ने प्रश्नहरू यिनै होइनन् र? त्यसो भए, मानिसहरूले कसरी परमेश्‍वरले मानिसहरूका परिणामहरू निर्धारण गर्नुहुन्छ भनी विश्‍वास गर्छन् त? तिमीहरूले यसको केही अंश भर्खरै बतायौ: तिमीहरूमध्ये केहीले भन्यौ, यो व्यक्तिले आफ्ना कर्तव्यहरू बफादारी पूर्वक निभाउनु र परमेश्‍वरको लागि आफूलाई समर्पित गर्नुसँग सम्‍बन्धित रहेको छ; केहीले भन्यौ, यो परमेश्‍वरप्रति समर्पित हुने र उहाँलाई सन्तुष्ट पार्ने बारेमा छ; केहीले भन्यौ, यसको एउटा तत्त्वचाहिँ आफूलाई परमेश्‍वरको हातमा राख्‍नु हो; अनि केहीले भन्यौ, मुख्य कुरा भनेको आफ्‍नो बारेमा निम्न चर्चा-परिचर्चा कायम राख्नु हो…। जब तिमीहरूले यी सत्यताहरूको अभ्यास गर्छौ र जब तिमीहरूले आफूलाई सही लागेको सिद्धान्त अनुरूप अभ्यास गर्छौ, तब परमेश्‍वरले के सोच्नुहुन्छ भन्ने तिमीहरूलाई थाहा छ? यसप्रकारले कार्य गर्न जारी राख्नु वा नराख्नु भनेको परमेश्‍वरको इच्छालाई सन्तुष्ट पार्नु हो भनेर के तिमीहरूले कहिल्यै सोचेका छौ? के यसले उहाँको मापदण्ड पूरा गर्छ? के यसले उहाँका आवश्यक सर्तहरू परिपूर्ति गर्छ? मलाई विश्‍वास छ, धेरैजसो मानिसहरूले यी प्रश्नहरूको बारेमा वास्तवमा सोच्दै सोच्दैनन्। तिनीहरूले केवल यान्त्रिक रूपमा परमेश्‍वरको वचनको एउटा अंश, वा उपदेशहरूको एउटा अंश, वा तिनीहरूले मूर्ति बनाएका कुनै निश्चित आत्मिक व्यक्तित्वका मापदण्डहरू प्रयोग गर्छन् र आफूले आफैलाई यो वा त्यो कुरा गर्न बाध्य तुल्याउँछन्। तिनीहरूले यो नै सही मार्ग हो भन्ने विश्‍वास गर्छन् र त्यसैले यही कार्यमा अडिग रहन्छन् र यही कार्य गरिरहन्छन्, चाहे अन्त्यमा जेसुकै होस्। केही मानिसहरूले सोच्छन्, “मैले धेरै वर्षदेखि विश्‍वास गर्दै आइरहेको छु; मैले सधैँ यही तरिकाले अभ्यास गरेको छु। मलाई लाग्छ मैले परमेश्‍वरलाई साँच्चिकै सन्तुष्ट पारेको छु र मैले यसबाट धेरै कुरा पाएको पनि महसुस गर्छु। यस्तो महसुस हुन्छ किनभने यो समय अवधिमा मैले धेरै सत्यताहरू बुझेको छु, साथै मैले पहिले नबुझेका धेरै कुराहरू पनि बुझेको छु। निश्‍चित रूपमा, मेरा धेरै विचारहरू र दृष्टिकोणहरू परिवर्तन भएका छन्, मेरा जीवनसम्बन्धी मान्यताहरू अत्याधिक रूपमा परिवर्तन भएका छन्, र ममा अहिले यो संसार सम्‍बन्धी एकदमै राम्रो बुझाइ रहेको छ।” त्यस्ता मानिसहरूले यो फसल कटनी हो र मानवताको लागि परमेश्‍वरको कामको अन्तिम नतिजा हो भन्ने विश्‍वास गर्छन्। तिमीहरूको विचारमा, यी मापदण्डहरू र तिमीहरूका सबै अभ्यासहरूलाई समग्रमा लिँदा, के तिमीहरूले परमेश्‍वरको इच्छालाई सन्तुष्ट पारिरहेका छौ त? तिमीहरूमध्ये केहीले पूर्ण निश्चितताका साथ भन्नेछौ, “अवश्य! हामीले परमेश्‍वरको वचन अनुरूप अभ्यास गरिरहेका छौँ; हामीले माथिबाट जे प्रवचन दिइएको र बताइएको छ सोही अनुरूप अभ्यास गरिरहेका छौं। हामीले सधैँ हाम्रा कर्तव्यहरू निर्वाह गरिरहेका छौँ र निरन्तर परमेश्‍वरलाई पछ्याइरहेका छौँ, र हामीले उहाँलाई कहिल्यै पनि छाडेका छैनौं। त्यसैले हामी पूर्ण आत्मविश्‍वासका साथ भन्न सक्छौ कि हामीले परमेश्‍वरलाई सन्तुष्ट पारिरहेका छौं। उहाँका अभिप्रायहरूको बारेमा हामीले जति नै बुझे पनि र उहाँका वचनहरूलाई हामीले जति नै बोध गरे पनि, हामी सधैँ नै परमेश्‍वरको अनुरूप हुन खोजी गर्ने मार्गमा रहेका छौं। जबसम्म हामीले सही रूपमा कार्य गर्छौ र सही रूपमा अभ्यास गर्छौं, तबसम्म हामीले सही नतिजा ल्याउने कुरा निश्चित हुन्छ।” यो दृष्टिकोणको बारेमा तिमीहरू के सोच्छौ त? के यो सही छ त? केही त यस्ता पनि होलान् जो भन्छन्, “मैले यी कुराहरूको बारेमा पहिले कहिल्यै सोचेको थिइनँ। मलाई लाग्छ, जबसम्म मैले मेरो कर्तव्य पूरा गर्न र परमेश्‍वरका वाणीहरूका आवश्यक सर्तहरू अनुसार कार्य गर्न जारी राख्छु, तबसम्म म बाँच्न सक्छु। मैले परमेश्‍वरको हृदयलाई सन्तुष्ट पार्न सक्छु कि सक्दिन भन्ने प्रश्नको बारेमा कहिले पनि विचार गरेको छैन, न त मैले कहिल्यै उहाँले तय गर्नुभएको मापदण्डलाई पूरा गरिरहेको छु कि छैन भन्ने कुराको बारेमा नै सोचेको छु। परमेश्‍वरले मलाई कहिल्यै पनि बताउनुभएको छैन वा कुनै पनि स्पष्ट निर्देशनहरू दिनुभएको छैन, त्यसैले म विश्‍वास गर्छु कि जबसम्म मैले काम गर्न जारी राख्छु र रोकिन्न, तबसम्म परमेश्‍वर सन्तुष्ट हुनुहुनेछ र उहाँले ममाथि कुनै थप आवश्यक सर्तहरू लाद्‍नुहुनेछैन।” के यी विश्‍वासहरू सही छन् त? जहाँसम्म मेरो सवाल छ, यो शैलीको अभ्यास, यो शैलीको सोच, र यी दृष्टिकोणहरू सबैमा कल्पनाका साथसाथै अलिअलि अन्धोपन समावेश छ। सायद मैले यो कुरा भन्दा तिमीहरूमध्ये केहीले अलि निरुत्साहित महसुस गर्छौ होला, र सोच्छौ होला, “अन्धोपन? यदि यो अन्धोपन हो भने, मुक्ति पाउने र जीवित रहने हाम्रो आशा झीनो र अनिश्चित छ, होइन र? यस प्रकारले कुरा गरेर, के तपाईंले हामीमाथि चिसो पानी खन्याउनुभएको छैन र?” तिमीहरूले जे-जस्तो विश्‍वास गरे तापनि, मैले भन्ने र गर्ने कुराहरूको आशय तिमीहरूलाई चिसो पानीले खन्याए जस्तो अनुभव गराउनु होइन। बरु, तिनको आशय त परमेश्‍वरका अभिप्रायहरूको बारेमा तिमीहरूको बुझाइ सुदृढ गराउनु र उहाँले के सोचिरहनुभएको छ, उहाँले के उपलब्धि हासिल गर्न चाहनुहुन्छ, कस्ता प्रकारका मानिसहरूलाई उहाँले मन पराउनुहुन्छ र उहाँले केलाई घृणा गर्नुहुन्छ, उहाँले केलाई तुच्छ ठान्‍नुहुन्छ, उहाँ कस्ता प्रकारका मानिसहरूलाई प्राप्त गर्न चाहनुहुन्छ र उहाँले कस्ता प्रकारका मानिसहरूलाई तिरस्कार गर्नुहुन्छ भन्ने सम्बन्धमा तिमीहरूको बोध अभिवृद्धि गर्नु हो। तिनको आशय तिमीहरूको मस्तिष्कलाई स्पष्टता प्रदान गर्नु हो र तिमीहरूलाई तिमीहरू प्रत्येकका कार्य र सोचहरू परमेश्‍वरका आवश्यक मापदण्डहरूबाट कति टाढा गएका छन् भन्ने कुराको बारेमा स्पष्ट बुझाइ प्रदान गर्नु हो। के यी विषयहरूलाई छलफल गर्न अति आवश्यक छ त? किनभने मलाई थाहा छ, तिमीहरूले लामो समयदेखि विश्‍वास गर्दै आएका छौ र यति धेरै प्रवचनहरू सुनेका छौ, तर ठ्याक्कै भन्ने हो भने तिमीहरूमा सबैभन्दा नभएका कुराहरू यिनै हुन्। तिमीहरूले आफ्ना स्मरण पुस्तिकाहरूमा हरेक सत्यतालाई अभिलेख गरी राखेका भए तापनि र तिमीहरूले व्यक्तिगत रूपमा महत्त्वपूर्ण हुन् भनी विश्‍वास गरेका केही कुराहरूलाई कण्ठस्थ गरेका र आफ्नो हृदयमा कुँदेर राखेका भए तापनि, र तिमीहरूले यी कुराहरूलाई अभ्यासको दौरान परमेश्‍वरलाई खुशी पार्नको लागि प्रयोग गर्न चाहे पनि, तिमीहरूले आफूले आफैलाई अभावग्रस्त अवस्थामा पाएको बेलामा तिनलाई प्रयोग गर्न चाहे पनि, भविष्यमा आउने कठिनाइपूर्ण समयहरूबाट पार पाउन प्रयोग गर्न चाहे पनि, वा तिमीहरूले जीवन जिउँदा यी कुराहरूको साथ होस् भनी साथै राख्न चाहे पनि, जहाँसम्म मेरो सवाल छ, तिमीहरूले जसरी नै यसो गरे तापनि, यदि तिमीहरूले यो कार्य गरिरहेका मात्र छौ भने यो त्यति महत्त्वपूर्ण हुँदैन। त्यसो भए, महत्त्वपूर्ण कुरा के हो त? महत्त्वपूर्ण कुरा के हो भने तैँले अभ्यास गर्दा, तैँले गरिरहेको हरेक काम—हरेक कर्म—परमेश्‍वरले जे चाहनुहुन्छ सोसँग मेल खाने छ कि छैन र तेरा सबै कार्यहरू, तेरा सबै सोचहरू, र तैँले हासिल गर्न चाहेका नतिजाहरू र लक्ष्यले वास्तवमा परमेश्‍वरको इच्छालाई सन्तुष्ट पार्छन् कि पार्दैनन् र उहाँका आवश्यक सर्तहरू परिपूर्ति गर्छन् कि गर्दैनन्, साथै तिनलाई उहाँले स्वीकृति दिनुहुन्छ कि हुँदैन भनी तेरो भित्री अन्तस्करणमा तैँले पूर्ण निश्चितताका साथ थाहा पाउनुपर्छ। धेरै महत्त्वपूर्ण कुराहरू भनेका यिनै हुन्।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्