परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् १ (भाग एक)

आज हामी एउटा महत्त्वपूर्ण विषयको बारेमा सङ्‍गति गर्दैछौँ। परमेश्‍वरको कामको प्रारम्भदेखि नै यस विषयमा छलफल हुँदै आएको छ र यो हरेक व्यक्तिको निम्ति धेरै महत्त्वपूर्ण छ। अर्को शब्दमा, यो परमेश्‍वरमा विश्‍वास गर्ने क्रममा हरेकले सामना गर्नुपर्ने विषय हो; यो सामना गर्नै पर्ने विषय हो। यो महत्त्वपूर्ण, अपरिहार्य विषय हो जसबाट मानवजाति टाढा जानै सक्दैन। महत्त्वको कुरा गर्दा, परमेश्‍वरमा विश्‍वास गर्ने हरेकको निम्ति सबैभन्दा महत्त्वपूर्ण कुरा के हो? केही मानिसहरू परमेश्‍वरको इच्छा बुझ्‍नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो भन्‍ने सोच्छन्; कतिले परमेश्‍वरका वचनहरू अझ बढी खानु र पिउनु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो भन्‍ने विश्‍वास गर्छन्; कतिले आफैलाई चिन्‍नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो भन्‍ने ठान्छन्; अरूले परमेश्‍वरद्वारा प्रदान गरिने मुक्ति कसरी प्राप्त गर्ने, परमेश्‍वरलाई कसरी पछ्याउने र परमेश्‍वरको इच्छा कसरी पूरा गर्ने भन्‍ने कुरा जान्‍नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो भन्‍ने धारणा राख्छन्। आज हामी यी सबै विषयहरूलाई पन्छ्याउनेछौँ। त्यसो भए आज हामी के कुराको बारेमा छलफल गर्दैछौँ त? आजको विषय परमेश्‍वर भन्‍ने विषय हो। के यो सबै मानिसहरूको निम्ति सबैभन्दा महत्त्वपूर्ण विषय हो? यस विषयमा के कुरा समावेश हुन्छ? अवश्य नै, यसलाई परमेश्‍वरको स्वभाव, परमेश्‍वरको सार र परमेश्‍वरको कामबाट अलग गर्न सकिँदैन। यसैले आज “परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम्” को बारेमा छलफल गरौँ।

मानिसले परमेश्‍वरमा विश्‍वास गर्न सुरु गरेको समयदेखि नै, परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् जस्ता विषयहरूका बारेमा तिनीहरूले सामना गरेका छन्। परमेश्‍वरको कामको बारेमा कुरा गर्दा, कतिपय मानिसहरूले यसो भन्‍नेछन्: “परमेश्‍वरको काम हामीमा गरिन्छ; हामीले दैनिक रूपमा यसको अनुभव गर्छौं, त्यसैले हामी यससँग अपरिचित छैनौँ।” परमेश्‍वरको स्वभावको बारेमा कुरा गर्दा, कतिले यसो भन्‍नेछन्: “परमेश्‍वरको स्वभाव हाम्रो सम्पूर्ण जीवनभर हामीले अध्ययन, अन्वेषण र ध्यान दिने विषय हो, यसैले यससँग हामी परिचित हुनैपर्छ।” परमेश्‍वर स्वयम्‌को बारेमा कुरा गर्दा, कतिले भन्‍नेछन्: “हामीले पछ्याउने, हामीले विश्‍वास गर्ने र हामीले खोजी गर्ने परमेश्‍वर स्वयम्‌लाई नै हो; अनि हामी उहाँको बारेमा अनभिज्ञ पनि छैनौँ।” परमेश्‍वरले सृष्टिदेखि आफ्नो काम कहिल्यै रोक्‍नुभएको छैन; आफ्नो कामको दौरान उहाँले आफ्नो स्वभावलाई व्यक्त गर्ने कार्य जारी राख्नुभएको छ र आफ्नो वचनलाई व्यक्त गर्ने विभिन्‍न माध्यमहरू प्रयोग गर्नुभएको छ। त्यही समयमा, उहाँले आफैलाई र आफ्नो सारलाई मानवजातिकहाँ व्यक्त गर्ने कार्य, मानिसप्रतिको उहाँको इच्छा र मानिसबाट उहाँले चाहेको कुरालाई व्यक्त गर्ने कार्यलाई उहाँले कहिले पनि रोक्‍नुभएको छैन। यसैले, शाब्दिक रूपमा भन्‍नुपर्दा, यी विषयहरूमा कोही पनि अपरिचित छैन। तैपनि, आज परमेश्‍वरलाई पछ्याउने मानिसहरूको लागि भने, परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् सबै वास्तवमा धेरै बिराना कुराहरू हुन्। किन यस्तो भयो? मानिसले परमेश्‍वरको कामको अनुभव गर्दा, तिनीहरू परमेश्‍वरको सम्पर्कमा पनि आउँछन्, यसले तिनीहरूलाई तिनीहरूले परमेश्‍वरको स्वभाव बुझेका छन् वा यो कस्तो हुन्छ भन्‍ने कुराको केही बुझाइ प्राप्त गरेका छन् भन्‍ने महसुस गराउँछ। यसै गरी, मानिसले परमेश्‍वरको काम वा परमेश्‍वरको स्वभावसँग आफू अपरिचित छु भन्‍ने सोच्दैन। बरु, मानिसले आफू परमेश्‍वरसँग एकदमै परिचित भएको र परमेश्‍वरको बारेमा आफूलाई धेरै थाहा भएको ठान्छ। तर वर्तमान परिस्थितिमा, अरू कुरा बाहेक, परमेश्‍वर बारेको यो बुझाइ, तिनीहरूले पुस्तकहरूमा पढेको कुरामा, व्यक्तिगत अनुभवमा, कल्पनामा सीमित छ, र तीभन्दा बढी त, तिनीहरूका आफ्नै आँखाले देखेका तथ्यहरूमा सीमित छ—ती सबै साँचो परमेश्‍वर स्वयम्‌देखि टाढा छन्। र यो “टाढा” कति टाढा छ? सायद मानिस आफैलाई निश्‍चित रूपमा थाहा छैन, वा सायद मानिसलाई थोरै अनुभूति, आभास छ—तर जब परमेश्‍वर स्वयम्‌को कुरा आउँछ, उहाँको बारेमा मानिसको बुझाइ साँचो परमेश्‍वर स्वयम्‌को सारबाट धेरै टाढा छ। यसैले, “परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम्” जस्तो विषयको निम्ति हामी व्यवस्थित र ठोस तवरले सङ्‍गतिमा रहनु अपरिहार्य छ।

वास्तवमा, परमेश्‍वरको स्वभाव सबैका निम्ति खुला छ र लुकेको छैन, किनकि परमेश्‍वरले कुनै व्यक्तिलाई कहिले पनि जानी-जानी बेवास्ता गर्नुभएको छैन र मानिसहरूले उहाँलाई नचिनून् वा नबुझून् भनेर जानी-जानी कहिले पनि आफूलाई लुकाउनुभएको छैन। जहिले पनि खुला रहनु र खुला रूपले हरेक व्यक्तिको सामना गर्नु परमेश्‍वरको स्वभाव हो। परमेश्‍वरको व्यवस्थापनमा, हरेकको सामना गरेर परमेश्‍वरले आफ्‍नो काम गर्नुहुन्छ र हरेक व्यक्तिमा उहाँको काम गरिन्छ। उहाँले यो काम गर्ने क्रममा, हरेक व्यक्तिलाई दिशानिर्देशित गर्न र भरणपोषण गराउनको निम्ति उहाँले आफ्नो स्वभावलाई निरन्तर रूपमा प्रकट गरिरहनुभएको छ र उहाँको सार, उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ, ती कुरा को प्रयोग निरन्तर रूपमा गरिरहनुभएको छ। हरेक युग र हरेक चरणमा, परिस्थितिहरू असल र खराब जस्ता भए पनि, परमेश्‍वरको स्वभाव हरेकको निम्ति सधैँ खुला रहन्छ र जसरी उहाँको जीवनले नित्य र अटुट रूपमा मानवजातिको निम्ति भरणपोषण र सहयोग गरिरहेको छ, त्यसरी नै उहाँसँग जे छ त्यो र उहाँको अस्तित्व हरेकको लागि सधैँ खुला छन्। यी सबैको बाबजुद, कतिको निम्ति परमेश्‍वरको स्वभाव गुप्त नै रहन्छ। किन? किनकि यी मानिसहरू परमेश्‍वरको कामभित्र नै जिउने र परमेश्‍वरलाई पछ्याउने भए पनि, तिनीहरूले कहिले पनि परमेश्‍वरलाई बुझ्‍न खोजेका छैनन् न त उहाँलाई चिन्‍न नै चाहेका छन्, तिनीहरू परमेश्‍वरको नजिक जाने त कुरै नगरौँ। ती मानिसहरूको निम्ति, परमेश्‍वरको स्वभाव जान्‍नु तिनीहरूको अन्त्य नजिक छ भन्‍ने कुराको सङ्‍केत हो; यसको अर्थ परमेश्‍वरको स्वभावद्वारा तिनीहरूलाई न्याय गरिन र दोषी ठहर्‍याइन लागेको छ भन्ने हुन्छ। यसर्थ, तिनीहरूले कहिले पनि परमेश्‍वर वा उहाँको स्वभावलाई बुझ्‍ने इच्छा गरेका छैनन्, न त परमेश्‍वरको इच्छाको गहिरो समझ वा ज्ञानको लालच नै गरेका छन्। तिनीहरूले सचेत सहकार्यको माध्यमबाट परमेश्‍वरको इच्छालाई बुझ्‍न खोज्दैनन्—तिनीहरूले जहिले पनि आनन्द मात्रै मनाउँछन् र तिनीहरूले गर्न चाहेको कुरा गर्नबाट कहिले पनि थाक्दैनन्; तिनीहरूले विश्‍वास गर्न चाहेको परमेश्‍वरमा विश्‍वास गर्छन्; तिनीहरूका कल्पनाहरूमा मात्र अस्तित्वमा रहनुभएका परमेश्‍वरमा, तिनीहरूका धारणामा मात्र अस्तित्वमा रहनुभएको परमेश्‍वरलाई विश्‍वास गर्छन्; र तिनीहरूको दैनिक जीवनमा तिनीहरूबाट अलग नहुनुभएका परमेश्‍वरमा विश्‍वास गर्छन्। तर जब साँचो परमेश्‍वर स्वयम्‌को कुरा आउँछ तिनीहरू त्यसलाई पूर्ण रूपमा महत्त्वहीन ठान्छन् र उहाँलाई बुझ्‍ने वा उहाँलाई ध्यान दिने कुनै पनि चाहना तिनीहरूमा हुँदैन, उहाँको नजिकमा जाने इच्छाको त कुरै नगरौँ। तिनीहरूले परमेश्‍वरले व्यक्त गर्नुभएका वचनहरूलाई आफ्नो सजावटको निम्ति, आफैलाई सुन्दर देखाउनको लागि मात्र प्रयोग गर्छन्। तिनीहरूको विचारमा, यसले तिनीहरूलाई पहिले नै सफल विश्‍वासीहरू र आफ्ना हृदयमा परमेश्‍वरप्रति विश्‍वास गर्ने मानिसहरू बनाउँछ। तिनीहरूका हृदयमा तिनीहरूका कल्पना, तिनीहरूका धारणा र परमेश्‍वर सम्बन्धी आफ्नै व्यक्तिगत परिभाषाहरूद्वारा तिनीहरू निर्देशित छन्। अर्कोतिर, साँचो परमेश्‍वर स्वयम्‌प्रति चाहिँ तिनीहरूको कुनै सरोकार हुँदैन। किनकि, साँचो परमेश्‍वर स्वयम्‌लाई तिनीहरूले बुझ्‍ने, परमेश्‍वरको साँचो स्वभावलाई बुझ्‍ने र परमेश्‍वरसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यो कुरा बुझ्ने भएका भए, यसको अर्थ यही हुन्थ्यो कि तिनीहरूका कामहरू, तिनीहरूको विश्‍वास र तिनीहरूका खोजहरू दोषी ठहरिनेथिए। यसैले तिनीहरू परमेश्‍वरको सार बुझ्‍न अनिच्छुक छन् र परमेश्‍वरलाई सक्रिय रूपमा खोज्‍न वा अझ राम्ररी परमेश्‍वरलाई बुझ्‍नको निम्ति प्रार्थना गर्न, परमेश्‍वरको इच्छा अझ राम्ररी जान्‍न र परमेश्‍वरको स्वभाव अझ राम्ररी बुझ्‍न तिनीहरू अनिच्छुक छन्। बरु तिनीहरू बनाइएको, खोक्रो र अस्पष्ट परमेश्‍वर चाहन्छन्। बरु परमेश्‍वर तिनीहरूले कल्पना गरे जस्तो भएको, तिनीहरूले चाहेको बेलामा जे पनि गरिदिन सक्‍ने, अटुट रूपमा पूर्ति गर्न सक्‍ने र सधैँ उपलब्ध हुने जन भएको चाहन्छन्। तिनीहरूले परमेश्‍वरको अनुग्रहको आनन्द लिन चाहँदा, परमेश्‍वर त्यो अनुग्रह बनेको तिनीहरू चाहन्छन्। तिनीहरूलाई परमेश्‍वरको आशिष्‌को आवश्यकता पर्दा परमेश्‍वर त्यो आशिष्‌ बनेको तिनीहरू चाहन्छन्। प्रतिकूल परिस्थितिको सामना गर्नुपर्दा, तिनीहरूको ढाल बनेर तिनीहरूलाई निर्भीक बनाउनुभएको होस् भनेर परमेश्‍वरसँग माग्छन्। यी मानिसहरूको परमेश्‍वर बारेको ज्ञान अनुग्रह र आशिष्‌को परिधिभित्र अड्केको हुन्छ। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् बारेको तिनीहरूको बुझाइ तिनीहरूकै कल्पनाहरू, अक्षरहरू र सिद्धान्तहरूमा मात्र सीमित हुन्छ। तर परमेश्‍वरको स्वभाव जान्‍न उत्सुक, परमेश्‍वर स्वयम्‌लाई साँच्चिकै देख्‍न चाहने, र साँचो रूपमा परमेश्‍वरको स्वभाव र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यसलाई बुझ्‍न खोज्‍ने मानिसहरू पनि छन्। यी मानिसहरू सत्यताको वास्तविकता र परमेश्‍वरबाट प्राप्त मुक्तिको खोजीमा छन् र परमेश्‍वरद्वारा प्राप्त विजय, मुक्ति र सिद्धताको खोजी गर्छन्। तिनीहरू परमेश्‍वरको वचन पढ्नलाई आफ्ना हृदयको प्रयोग गर्छन्, परमेश्‍वरले तिनीहरूको निम्ति प्रबन्ध गर्नुभएको हरेक परिस्थिति र हरेक व्यक्ति, घटना र कुराको कदर गर्नको निम्ति आफ्ना हृदयको प्रयोग गर्छन् र तिनीहरू इमानदारीसाथ प्रार्थना गर्छन् र खोज्छन्। तिनीहरूले सबैभन्दा धेरै जान्‍न चाहने कुरा भनेको परमेश्‍वरको इच्छा नै हो, र तिनीहरूले सबैभन्दा धेरै बुझ्‍न चाहने कुरा भनेको परमेश्‍वरको साँचो स्वभाव र सार हो, ताकि तिनीहरूले परमेश्‍वरलाई अपमानित नगरून् र आफ्ना अनुभवहरूद्वारा अधिक रूपमा परमेश्‍वरको सुन्दरता र उहाँको साँचो पक्ष देख्‍न सकून्। यस्तो पनि हो कि तिनीहरूको हृदयमा साँचो रूपमा वास्तविक परमेश्‍वर रहनुहुनेछ, र परमेश्‍वर तिनीहरूको हृदयहरूमा बास गर्नुहुनेछ, यसरी तिनीहरू कल्पना, धारणाहरू वा अस्पष्टतामा जिउनेछैनन्। यी मानिसहरूमा परमेश्‍वरको स्वभाव र सार जान्‍ने उत्कट इच्छा हुनुको कारण यही हो कि मानवजातिको अनुभवको दौरानमा तिनीहरूलाई हरेक पल परमेश्‍वरको स्वभाव र सारको जरुरत पर्छ; कुनै व्यक्तिको जीवनभर जीवनको पूर्ति गर्ने काम उहाँको स्वभाव र सारले नै गर्छ। तिनीहरूले परमेश्‍वरको सार बुझेपछि, तिनीहरू परमेश्‍वरको अझ आदर गर्न सक्षम हुन्छन्, परमेश्‍वरको काममा अझ सहकार्य गर्छन्, र परमेश्‍वरको इच्छाप्रति अझ ध्यान दिने हुन्छन् र तिनीहरूको क्षमताले भ्याएसम्म आफ्नो कर्तव्य निर्वाह गर्छन्। दुई किसिमका मानिसहरूले परमेश्‍वरको स्वभावप्रति राख्‍ने मनोवृत्तिहरू यस्ता हुन्छन्। पहिलो प्रकारले परमेश्‍वरको स्वभाव बुझ्‍न चाहँदैनन्। तिनीहरूले परमेश्‍वरको स्वभाव जान्‍न चाहन्छन्, परमेश्‍वर स्वयम्‌लाई अर्थात् परमेश्‍वरसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यस कुरालाई जान्‍न चाहन्छन् र साँचो रूपमा परमेश्‍वरको इच्छाको कदर गर्छौं भने पनि, भित्री रूपमा तिनीहरूले परमेश्‍वरको अस्तित्व नहोस् भन्‍ने चाहन्छन्। किनभने यस्ता किसिमका मानिसहरू निरन्तर परमेश्‍वरको अवज्ञा र विरोध गर्छन्; तिनीहरूका आफ्नै हृदयमा ओहोदाको निम्ति परमेश्‍वरसँग लडाइँ गर्छन् र परमेश्‍वरको अस्तित्वमा प्रायः शङ्‍का गर्छन् वा इन्कार गर्छन्। परमेश्‍वरको स्वभाव वा साँचो परमेश्‍वर स्वयम्‌ले तिनीहरूको हृदयमा बास गरेको तिनीहरू चाहँदैनन्। तिनीहरूका केवल आफ्नै इच्छा, कल्पना र महत्वाकांक्षा मात्र पूरा गर्न चाहन्छन्। यसैले, यी मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न सक्छन्, परमेश्‍वरलाई पछ्याउन सक्छन् र उहाँको निम्ति आफ्ना परिवार र जागिरहरू पनि छोड्न सक्छन्, तर तिनीहरूले आफ्ना दुष्ट मार्गहरूलाई छोड्दैनन्। कतिले भेटी चोर्छन् वा फजुल खर्च गर्छन्, वा गुप्तमा परमेश्‍वरलाई सराप्छन् भने, अरूले आफ्नै गवाही दिन, आफ्नै बढाइचढाइ गर्न तथा मानिसहरू र हैसियतको निम्ति परमेश्‍वरसँग प्रतिस्पर्धा गर्नको निम्ति बारम्बार आफ्ना पदहरूलाई प्रयोग गर्न सक्छन्। तिनीहरूलाई मानिसहरूले पुजून् भनेर अनेक विधि र उपायहरूको प्रयोग गर्छन्, मानिसहरूलाई जित्‍न र तिनीहरूलाई नियन्त्रणमा लिन निरन्तर प्रयास गर्छन्। कतिले तिनीहरूलाई परमेश्‍वर ठानेर परमेश्‍वरलाई झैँ व्यवहार गरिनुपर्छ भनेर जानी-जानी मानिसहरूलाई बहकाउँछन् पनि। तिनीहरूले आफू भ्रष्ट छन्—तिनीहरू ज्यादै भ्रष्ट र अहङ्कारी छन्, तिनीहरूलाई पुज्‍नु हुँदैन र तिनीहरूले जति नै असल गरे तापनि त्यो सबै परमेश्‍वरले तिनीहरूलाई उच्च पार्नुभएकोले हो र तिनीहरूले त आफूले गर्नुपर्ने कुरा मात्र गरेका हुन् भनेर कहिले पनि कसैलाई बताउँदैनन्। तिनीहरूले यी कुराहरू किन भन्दैनन्? किनकि मानिसहरूको हृदयबाट आफ्नो स्थान गुम्छ कि भन्‍ने गहिरो डर तिनीहरूमा हुन्छ। यसैले यस्ता मानिसहरूले कहिले पनि परमेश्‍वरलाई उच्च पार्दैनन् र परमेश्‍वरको गवाही कहिले पनि बन्दैनन्, किनकि तिनीहरूले परमेश्‍वरलाई बुझ्‍ने प्रयास कहिले पनि गरेका हुँदैनन्। के तिनीहरूले परमेश्‍वरलाई नबुझीकन उहाँलाई चिन्‍न सक्छन्? असम्भव! यसैले, “परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम्” विषयका शब्दहरू सामान्य हुन सक्छन्, तिनको अर्थ हरेक व्यक्तिका निम्ति फरक हुन्छ। बारम्बार परमेश्‍वरको अवज्ञा गर्ने, परमेश्‍वरको विरोध गर्ने, र परमेश्‍वरप्रति शत्रुतापूर्ण व्यवहार गर्ने व्यक्तिको निम्ति भने, ती वचनहरूले दण्डको सङ्‍केत गर्छन्; जबकि सत्यताको वास्तविकताको खोजी गर्ने र परमेश्‍वरको इच्छा खोज्‍न अक्सर परमेश्‍वरको सामु आउने व्यक्तिले माछाले पानीलाई जसरी लिन्छ त्यसरी नै यस्ता वचनहरूलाई लिन्छ। तर तिमीहरूका बीचमा यस्ता पनि छन्, जसलाई परमेश्‍वरको स्वभाव र परमेश्‍वरको कामको बारेमा सुन्दा टाउको दुख्‍न सुरु हुन्छ, तिनीहरूको हृदय विरोधले पूर्ण हुन्छ, र तिनीहरूले अत्यन्तै असहज महसुस गर्छन्। तर तिमीहरूका बीचमा यस्तो सोच्‍ने अन्य व्यक्तिहरू पनि छन्: यो ठ्याक्कै मलाई चाहिने विषय हो, किनकि यो विषय मेरो लागि धेरै फाइदाजनक छ। यो मेरो जीवनको अनुभवबाट गुमाउन नसक्ने कुरा हो; यो अत्यन्तै महत्त्वपूर्ण कुरा हो, परमेश्‍वरमा गरिने विश्‍वासको जग, र मानवजातिले त्याग्‍न नसक्ने कुरा हो। तिमीहरू सबैको निम्ति यो विषय नजिक पनि टाढा पनि, अपरिचित पनि परिचित पनि दुवै लाग्‍न सक्छ। तर जे भए पनि यो सबैले सुन्‍नै पर्ने, जान्‍नै पर्ने र बुझ्‍नै पर्ने विषय हो। तैँले यसलाई जसरी लिए पनि, जसरी हेरे पनि वा जसरी बुझे पनि, यस विषयको महत्त्वलाई उपेक्षा गर्न सकिन्‍न।

परमेश्‍वरले मानवजातिको सृष्टिदेखि नै आफ्नो काम गर्दै आउनुभएको छ। सुरुमा यो एकदमै सरल काम थियो, तर सरलताको बाबजुद, यसमा परमेश्‍वरको सार र स्वभावको अभिव्यक्ति सामेल थियो। अहिले परमेश्‍वरको कामको उत्थान भएको, र उहाँलाई पछ्याउने हरेक व्यक्तिमा यो काम असाधारण र ठोस बनेको भए पनि, उहाँको वचनको महान् अभिव्यक्तिसँगै, परमेश्‍वरको व्यक्तित्व मानवजातिबाट लुकेको छ। उहाँ दुई पटक देहधारी हुनुभयो, तापनि बाइबलीय वृत्तान्तहरूदेखि लिएर आधुनिक समयसम्म कसले परमेश्‍वरको वास्तविक व्यक्तित्वलाई देखेको छ? तिमीहरूको समझको आधारमा, के कसैले परमेश्‍वरको वास्तविक व्यक्तित्व देखेको छ? छैन। कसैले पनि परमेश्‍वरको वास्तविक व्यक्तित्व देखेको छैन, अर्थात् कसैले पनि परमेश्‍वरको साँचो व्यक्तित्व देखेको छैन। यस कुरामा सबै सहमत छन्। यसको अर्थ यही हो कि परमेश्‍वरको वास्तविक व्यक्तित्व, वा परमेश्‍वरका आत्मा उहाँले सृष्टि गर्नुभएका आदम र हव्वा तथा उहाँले स्वीकार गर्नुभएका धर्मी अय्यूब लगायत सारा मानवजातिदेखि लुकेको छ। तिनीहरूमध्ये कसैले पनि परमेश्‍वरको वास्तविक व्यक्तित्व देखेनन्। तर परमेश्‍वरले आफ्नो वास्तविक व्यक्तित्वलाई किन जानाजान लुकाउनुहुन्छ? कतिपय मानिसहरू भन्छन्: “मानिसहरू तर्सिन्छन् कि भनेर परमेश्‍वर डराउनुहुन्छ।” अरू भन्छन्: “मानिस अति नै सानो र परमेश्‍वर अति नै महान् हुनुभएको कारण परमेश्‍वरले आफ्नो वास्तविक व्यक्तित्व लुकाउनुहुन्छ; मानवले उहाँलाई हेर्न सक्दैनन्, नत्रता तिनीहरू मर्नेछन्।” यसो भन्‍नेहरू पनि छन्: “परमेश्‍वर हरेक दिन आफ्नो कामको व्यवस्थापनमा व्यस्त हुनुहुन्छ, र अरूले देख्‍ने गरी देखा पर्ने उहाँसँग समय नहुन सक्छ।” तिमीहरूले जे विश्‍वास गरे तापनि, मेरो निष्कर्ष यहाँ छ। त्यो निष्कर्ष के हो? त्यो यही हो कि मानिसहरूले उहाँको वास्तविक व्यक्तित्व देखेको परमेश्‍वर चाहनुहुन्‍न। मानवताबाट लुकेर रहने कार्य नै परमेश्‍वरले जानाजान गर्ने कार्य हो। अर्को शब्दमा, उहाँको वास्तविक व्यक्तित्व मानिसहरूले नदेखून् भन्‍ने परमेश्‍वरको अभिप्राय छ। यो कुरा तिमीहरूलाई अहिलेसम्ममा स्पष्ट हुनुपर्ने हो। यदि परमेश्‍वरले आफ्नो व्यक्तित्व कसैलाई कहिल्यै पनि प्रकट गर्नुभएको छैन भने, के परमेश्‍वरको व्यक्तित्व अस्तित्वमा छ भन्‍ने तिमीहरू सोच्छौ? (उहाँ अस्तित्वमा हुनुहुन्छ।) अवश्य उहाँ हुनुहुन्छ। परमेश्‍वरको व्यक्तित्व अस्तित्वमा छ भन्‍नेमा कुनै शङ्का छैन। तर परमेश्‍वरको व्यक्तित्व कति महान् छ वा उहाँ कस्तो देखिनुहुन्छ भन्‍ने सन्दर्भमा, के मानवजातिले यी प्रश्‍नहरूको छानबिन गर्नुपर्छ? पर्दैन। यसको जवाफ नकारात्मक छ। यदि परमेश्‍वरको व्यक्तित्व हाम्रो खोजको विषय होइन भने, के चाहिँ हो त? (परमेश्‍वरको स्वभाव।) (परमेश्‍वरको काम।) तथापि औपचारिक विषयको बारेमा सङ्‍गति गर्नुभन्दा पहिले, केही समय अगाडि हामीले छलफल गरिरहेको कुरामा फर्कौं: परमेश्‍वरले आफ्नो व्यक्तित्व मानवजातिकहाँ किन कहिले पनि प्रकट गर्नुभएको छैन? परमेश्‍वरले किन उहाँको व्यक्तित्व जानाजान मानवजातिदेखि लुकाउनुहुन्छ? यसको एउटै कारण छ र त्यो यो हो: परमेश्‍वरले सृष्टि गर्नुभएको मानिसले हजारौँ वर्षको उहाँको कामको अनुभव गरेको भए तापनि, परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वरको सार बुझ्‍ने एक जना पनि छैन। परमेश्‍वरको नजरमा, त्यस्ता मानिसहरू उहाँको विरुद्धमा हुन्छन् र उहाँको विरुद्ध लाग्‍ने मानिसहरूको अघि उहाँले आफैलाई देखाउनुहुन्‍न। परमेश्‍वरले उहाँको व्यक्तित्व मानवजातिकहाँ प्रकट नगर्नुको र उहाँले आफ्नो व्यक्तित्व जानाजान मानवजातिबाट लुकाउनुको एउटै कारण यही हो। के अब परमेश्‍वरको स्वभाव जान्‍नुको महत्त्व तिमीहरूलाई स्पष्ट भयो?

परमेश्‍वरको व्यवस्थापनको अस्तित्वदेखि नै, उहाँ सधैँ आफ्नो काम सम्पन्न गर्नको निम्ति पूर्ण रूपमा समर्पित हुँदै आउनुभएको छ। उहाँको व्यक्तित्व मानिसदेखि लुके तापनि, मानिसमा उहाँको काम गर्दै, उहाँको स्वभाव व्यक्त गर्दै, सारा मानवजातिलाई आफ्नो सारले मार्गनिर्देशित गर्दै र हरेक व्यक्तिमा उहाँको शक्ति, उहाँको बुद्धि र उहाँको अधिकारद्वारा आफ्नो काम गर्दै उहाँ सधैँ मानिसको साथमा रहँदै आउनुभएको छ, यसरी उहाँले व्यवस्थाको युग, अनुग्रहको युग र आजको राज्यको युगलाई अस्तित्वमा ल्याउनुभयो। परमेश्‍वरले उहाँको व्यक्तित्व मानिसबाट लुकाउनुभए पनि, उहाँको स्वभाव, उहाँको अस्तित्व र सम्पत्तिहरू र मानवजातिप्रति उहाँको इच्छा मानिसले देखून् र अनुभव गरून् भनेर खुला रूपमा मानिसको सामु प्रकट गरिएका छन्। अर्को शब्दमा, मानवजातिले परमेश्‍वरलाई देख्‍न र छुन नसके तापनि, मानवजातिले देख्‍ने परमेश्‍वरको स्वभाव र सार पूर्णतया परमेश्‍वर स्वयम्‌को अभिव्यक्तिहरू हुन्। के त्यो सत्य होइन? परमेश्‍वरले आफ्‍नो कामको निम्ति जुनसुकै मार्ग वा तरिकाको प्रयोग गरे तापनि, उहाँले सधैँ आफ्नो साँचो पहिचानद्वारा मानिसहरूसँग व्यवहार गर्नुहुन्छ, उहाँले अनिवार्य रूपमा गर्नुपर्ने काम गर्नुहुन्छ र उहाँले भन्‍नै पर्ने वचनहरू भन्‍नुहुन्छ। परमेश्‍वरले जुनसुकै ओहोदाबाट बोल्नुभए तापनि—उहाँ तेस्रो स्वर्गमा खडा भइरहनुभएको हुन सक्छ, वा शरीरमा खडा भइरहनुभएको हुन सक्छ, वा सामान्य व्यक्तिको रूपमा—उहाँ सधैँ आफ्नो सारा हृदय र सारा मनले मानिससँग बोल्‍नुहुन्छ, कुनै कपट वा गोप्यताविना। उहाँले आफ्नो काम सम्पन्न गर्नुहुँदा परमेश्‍वरले कुनै पनि किसिमको आरक्षणविना, आफ्नो वचन र आफ्नो स्वभाव व्यक्त गर्नुहुन्छ र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यसलाई व्यक्त गर्नुहुन्छ। उहाँले आफ्नो जीवन, उहाँको अस्तित्व र सम्पत्तिहरूद्वारा मानवजातिलाई मार्गनिर्देशित गर्नुहुन्छ। व्यवस्थाको युगमा—मानवजातिको शिशु युगमा—“अदृष्य र अस्पृश्य” परमेश्‍वरको मार्गनिर्देशनमा मानिसले यसरी नै जियो।

परमेश्‍वर व्यवस्थाको युगपछि पहिलो पटक देह बन्नुभयो—जुन देहधारण साढे तेत्तीस वर्षसम्म रह्यो। मानवजातिको निम्ति, के साढे तेत्तीस वर्ष लामो समय हो? (यो लामो समय होइन।) मानवजातिको आयु तीस वर्षभन्दा धेरै लामो हुने भएकोले, मानिसको लागि यो धेरै लामो समय होइन। तर देहधारी परमेश्‍वरको निम्ति, साढे तेत्तीस वर्ष साँच्चै लामो थियो। उहाँ एक व्यक्ति बन्‍नुभयो—परमेश्‍वरको काम र कार्यभारको जिम्मा लिने एक साधारण व्यक्ति बन्‍नुभयो। यसको अर्थ यो हुन्छ कि उहाँले एक साधारण व्यक्तिले सम्हाल्न नसक्‍ने काम सम्हाल्नुपर्ने थियो, यसको साथै साधारण मानिसहरूले सहन नसक्‍ने कष्ट पनि सहनुपर्ने थियो। उहाँको कामको सुरुदेखि क्रूसमा टाँगिनुभएको समयसम्म, अनुग्रहको युगमा प्रभु येशू ख्रीष्टले भोग्‍नुभएको कष्ट आजका मानिसहरूले व्यक्तिगत रूपमा देख्‍न सक्‍ने कुरा नहुन सक्छ, तर के तिमीहरूले बाइबलका कथाहरू पढेर कम्तीमा पनि यसको बारेमा अन्दाज लगाउन सक्दैनौ? यी अभिलिखित तथ्यहरूमा जतिसुकै विवरणहरू भए पनि समग्रमा यस समयमा परमेश्‍वरको काम पूर्ण रूपमा कठिन र कष्टकर थियो। भ्रष्ट मानवको लागि, साढे तेत्तीस वर्षको अवधि लामो समय होइन; थोरै कष्ट सहनु सानो कुरा हो। तर पवित्र, निष्कलङ्‍क परमेश्‍वर, जसले सारा मानवजातिको पापहरू बोक्‍नुपरेको थियो र पापीहरूसँग खानु, सुत्‍नु र बस्‍नुपरेको थियो, उहाँको लागि यो पीडा अविश्‍वसनीय रूपले ठूलो थियो। उहाँ सृष्टिकर्ता हुनुहुन्छ, सारा कुराहरूका सार्वभौम र हरेक कुराका शासक हुनुहुन्छ, तथापि जब उहाँ संसारमा आउनुभयो, उहाँले भ्रष्ट मानवको थिचोमिचो र क्रूरता सहनुपर्‍यो। उहाँको काम पूरा गर्न र मानवजातिलाई दुःखको सागरबाट उद्धार गर्न, उहाँ मानिसबाट निन्दित हुनुभयो र उहाँले सारा मानवजातिका पापहरू बोक्‍नुपर्‍यो। उहाँले भोग्‍नुभएको कष्टको मात्रा साधारण मानिसहरूले सम्भवतः बुझ्न सक्दैनन् र यसलाई सराहना गर्न सक्दैनन्। यो कष्टले केको प्रतिनिधित्व गर्छ? यसले मानवजातिप्रति भएको परमेश्‍वरको समर्पणताको प्रतिनिधित्व गर्छ। मानिसका पापहरूको छुटकाराको निम्ति र यस चरणको आफ्नो काम सम्पन्‍न गर्नको निम्ति उहाँले भोग्‍नुभएको अपमान र मानिसको मुक्तिको लागि उहाँले तिर्नुभएको मूल्यको प्रतिनिधित्व यसले गर्छ। यसको यो पनि अर्थ हुन्छ कि परमेश्‍वरले मानिसलाई क्रूसद्वारा छुटकारा दिनुहुनेथियो। यो रगतमा, जीवनमा तिरिएको मूल्य हो र यो मूल्य सृष्टि गरिएका कुनै पनि प्राणीले तिर्न सक्दैनन्। किनकि उहाँमा परमेश्‍वरको सार छ र परमेश्‍वरसँग जे छ र उहाँ जे हुनुहुन्छ ती सबै उहाँमा छ, उहाँले यस्ता किसिमका कष्टहरू सहन र यस्ता किसिमका कामहरू गर्न सक्‍नुहुन्छ। उहाँद्वारा सृष्टि गरिएका कुनै पनि प्राणीले उहाँको साटोमा यो कुरा गर्न सक्दैनथियो। यो अनुग्रहको युगमा परमेश्‍वरले गर्नुभएको कार्य र उहाँको स्वभावको प्रकाश हो। के यसले परमेश्‍वरसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यसलाई केही मात्रामा प्रकट गर्छ? के यो मानवजातिले थाहा पाउन लायकको छ? त्यस युगमा, मानिसले परमेश्‍वरको व्यक्तित्व नदेखे तापनि, तिनीहरूले परमेश्‍वरको पाप बलि प्राप्त गरे र तिनीहरूलाई परमेश्‍वरले क्रूसद्वारा छुटकारा दिनुभयो। परमेश्‍वरले अनुग्रहको युगमा गर्नुभएको कामप्रति मानवजाति अपरिचित नहुन सक्छ, तर के यस अवधिमा परमेश्‍वरले व्यक्त गर्नुभएको स्वभाव र इच्छासँग कोही परिचित छ? मानिसले परमेश्‍वरले फरक-फरक युगहरूमा र विभिन्‍न माध्यमहरूद्वारा गर्नुभएका कामको विवरणको बारेमा वा परमेश्‍वरले आफ्नो काम सम्पन्न गरिरहनुभएको समयमा घटित परमेश्‍वरसँग सम्बन्धित कथाको बारेमा विरलै मात्र जान्दछ। यी विवरण र कथाहरू परमेश्‍वर सम्‍बन्धी केही जानकारी वा किंवदन्तीहरूभन्दा बढी होइनन् र परमेश्‍वरका स्वभाव र सारसँग तिनीहरूको केही सम्बन्ध छैन। यसैले मानिसहरूले परमेश्‍वरको बारेमा जति धेरै कथाहरू जाने तापनि, यसको अर्थ तिनीहरूसँग परमेश्‍वरको स्वभाव र उहाँको सारको बारेमा गहिरो बुझाइ र ज्ञान छ भन्‍ने हुँदैन। व्यवस्थाको युगमा जस्तै, अनुग्रहको युगका मानिसहरूले देहमा हुनुभएको परमेश्‍वरसँग तत्कालीन र घनिष्ठ भेट अनुभव गरेका भए तापनि, परमेश्‍वरको स्वभाव र परमेश्‍वरको सार बारेको तिनीहरूको ज्ञान वास्तवमा अस्तित्वमा थिएन।

राज्यको युगमा, पहिले जसरी नै, परमेश्‍वर फेरि एक पटक देह बन्‍नुभएको छ। कामको यस अवधिमा, परमेश्‍वरले अझै खुला रूपमा उहाँका वचन व्यक्त गर्नुहुन्छ, उहाँले गर्नुपर्ने काम गर्नुहुन्छ र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यो व्यक्त गर्नुहुन्छ। यसको साथै, उहाँले मानिसको अनाज्ञाकारिता र अज्ञानतालाई झेल्‍ने र सहने काम निरन्तर गर्नुहुन्छ। के परमेश्‍वरले यस कामको अवधिमा पनि आफ्नो स्वभावलाई प्रकट गर्ने र उहाँको इच्छालाई व्यक्त गर्ने कार्यलाई निरन्तरता दिनुहुन्‍न र? यसैले, मानिसको सृष्टिको सुरुदेखि अहिलेसम्म, परमेश्‍वरको स्वभाव, उहाँको अस्तित्व र सम्पत्तिहरू र उहाँको इच्छा हरेक मानिसको निम्ति सधैँ खुला रहिआएको छ। परमेश्‍वरले कहिले पनि जानाजान उहाँको सार, उहाँको स्वभाव वा उहाँको इच्छालाई लुकाउनुभएको छैन। मानवजातिले परमेश्‍वरले के गर्दै हुनुहुन्छ, उहाँको इच्छा के हो भन्‍ने कुराको वास्ता नराखेको मात्र हो—यसैले मानिससँग परमेश्‍वरको बारेमा यस्तो अपर्याप्त बुझाइ छ। अर्को शब्दमा, परमेश्‍वरले आफ्नो व्यक्तित्वलाई लुकाउँदै गर्दा हरेक पटक उहाँको इच्छा, स्वभाव र सारलाई हरबखत खुला रूपमा प्रस्तुत गर्दै उहाँ मानवजातिको सामु खडा भइरहनुभएको हुन्छ। एक अर्थमा, परमेश्‍वरको व्यक्तित्व मानिसहरूको निम्ति पनि खुला छ, तर मानिसको अन्धोपन र अनाज्ञाकारिताको कारण, तिनीहरूले परमेश्‍वरको देखापराइलाई कहिले पनि देख्‍न सक्दैनन्। यसैले, यदि त्यसो हो भने, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम्‌लाई बुझ्‍ने कार्य सबैको निम्ति सजिलो हुनुपर्ने होइन र? यो एउटा कठिन प्रश्‍न हो, होइन र? तिमीहरू भन्छौ यो सजिलो छ, तर जब कतिपय मानिसहरूले परमेश्‍वरलाई चिन्‍न खोज्छन्, वास्तवमा तिनीहरूले उहाँलाई चिन्‍न वा उहाँको बारेमा स्पष्ट रूपले बुझ्‍न सक्दैनन्—यो सधैँ धमिलो र अस्पष्ट हुन्छ। तर यो सजिलो छैन भनी तिमीहरू भन्छौ भने, त्यो पनि सही होइन। यति लामो समयसम्म परमेश्‍वरको कामको पात्र भएको कारण, आफ्ना अनुभवहरूद्वारा सबैले परमेश्‍वरसँग साँचो अनुभव गरेको हुनुपर्ने हो। तिनीहरूले आफ्ना हृदयमा केही हदसम्म परमेश्‍वरको अनुभूति गरेका वा परमेश्‍वरको आत्मिक छुवाइको महसुस गरेका हुनुपर्ने हो, र तिनीहरूले कम्तीमा पनि परमेश्‍वरको स्वभावको बारेमा केही अवधारणात्मक जागरूकता प्राप्त गरेका वा उहाँको बारेमा केही बुझेका हुनुपर्ने हो। मानिसले परमेश्‍वरलाई पछ्याउन थालेको समयदेखि अहिलेसम्म, मानवजातिले धेरै कुरा प्राप्त गरेको छ, तर मानिसको कमजोर योग्यता, अज्ञानता, विद्रोह र विविध अभिप्रायहरूजस्ता कारणहरूले गर्दा मानवजातिले तीमध्ये धेरै कुरा गुमाएको पनि छ। के परमेश्‍वरले मानवजातिलाई पहिले नै प्रशस्त कुरा दिनुभएको छैन र? परमेश्‍वरले मानवजातिबाट आफ्नो व्यक्तित्व लुकाउनुभए तापनि, उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ ती सबै र उहाँको जीवन मानवको निम्ति उपलब्ध गराउनुहुन्छ; मानवजातिमा परमेश्‍वर बारेको ज्ञान अहिले भएको जस्तो मात्र हुनु नपर्ने हो। यसैले परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम्‌को विषयमा तिमीहरूसँग थप सङ्‍गति गर्नुपर्ने जरुरत छ भन्‍ने मलाई लाग्छ। परमेश्‍वरले मानिसमा लगानी गर्नुभएको हजारौँ वर्षको वास्ता र ख्याल खेर नजाओस् र मानवजातिले तिनीहरूप्रतिको परमेश्‍वरको इच्छालाई साँचो रूपमा बुझ्‍न र सराहना गर्न सकोस् भन्‍ने यसको उद्देश्य हो। ताकि मानिसहरू परमेश्‍वर बारेको तिनीहरूको बुझाइमा अर्को चरणमा प्रवेश गर्न सकून् भन्ने हो। यसले परमेश्‍वरलाई मानिसहरूको हृदयहरूमा उहाँको वास्तविक स्थानमा फर्काउने पनि छ; अर्थात् परमेश्‍वरले पाउनुपर्ने कुरा प्रदान गर्नेछ।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्