परमेश्‍वर स्वयम् अद्वितीय ७

सबै थोकका लागि जीवनको स्रोत परमेश्‍वर नै हुनुहुन्छ (१) - भाग एक

परमेश्‍वरको अख्तियार, परमेश्‍वरको धर्मी स्वभाव, र परमेश्‍वरको पवित्रताको संक्षिप्त विवरण

जब तिमीहरूले आफ्ना प्रार्थना सकेका हुन्छौ, तब के तिमीहरूले आफ्नो हृदय परमेश्‍वरको उपस्थितिमा शान्त भएको महसुस गर्छौ? (गर्छौं।) यदि व्यक्तिको हृदयलाई शान्त पार्न सकिन्छ भने तिनीहरूले परमेश्‍वरको वचन सुन्न र बुझ्न सक्छन् र तिनीहरूले सत्यता सुन्न र बुझ्न सक्छन्। यति तेरो हृदयलाई शान्त पार्न सकिँदैन भने, यदि तेरो हृदय सधैँ लक्ष्यहीन रूपमा यताउता गरिरहेको छ वा सधैँ अरू कुरा नै सोचिरहेको छ भने, यसले तँलाई तँ परमेश्‍वरको वचन सुन्ने भेलामा सहभागी भएको बेलामा असर गर्नेछ। हामीले छलफल गरिरहेको विषयको मूल कुरा के हो त? हामी सबैले मुख्य बुँदाहरूलाई थोरै सोचिहेरौं। परमेश्‍वर स्वयम् अद्वितीयको बारेमा जान्ने सम्बन्धमा पहिलो भागमा हामीले परमेश्‍वरको अख्तियारको बारेमा छलफल गर्‍यौं। दोस्रो भागमा, हामीले परमेश्‍वरको धर्मी स्वभावको बारेमा छलफल गर्‍यौं, र तेस्रो भागमा, हामीले परमेश्‍वरको पवित्रताको बारेमा छलफल गर्‍यौं। के हामीले हरेक पल्ट छलफल गरेको विशिष्ट विषयवस्तुले तिमीहरूमा कुनै छाप छोडेको छ? पहिलो भाग, “परमेश्‍वरको अख्तियार” मा, के कुराले तिमीहरूमा सबैभन्दा गहिरो छाप छोड्यो? कुनचाहिँ भागले तिमीहरूमा सबैभन्दा दह्रिलो प्रभाव पार्‍यो? (परमेश्‍वरले पहिले परमेश्‍वरको वचनको अख्तियार र सामर्थ्यको बारेमा कुराकानी गर्नुभयो; परमेश्‍वर उहाँको वचनजतिकै असल हुनुहुन्छ र उहाँको वचन पूरा हुनेछ। परमेश्‍वरको अन्तर्निहित सार यही हो।) (परमेश्‍वरले शैतानलाई दिनुभएको आज्ञा अय्यूबलाई परीक्षा लिन सक्छस् तर ज्यान नै चाहिँ नलिनू भन्ने थियो। यसबाट हामीले परमेश्‍वरको वचनको अख्तियार देख्छौं।) के यसमा थप्नुपर्ने अरू केही छ? (परमेश्‍वरले आकाश र पृथ्वी अनि तिनमा भएका यावत् थोक सृष्टि गर्न वचनहरू प्रयोग गर्नुभयो, र उहाँले मानिससँग करार गर्न र तिनीहरूलाई आशिष् दिन वचनहरू बोल्नुभयो। यी सबै परमेश्‍वरको वचनको अख्तियारका उदाहरणहरू हुन्। त्यसपछि, हामीले प्रभु येशूले कसरी लाजरसलाई चिहानबाट बाहिर निस्कन आज्ञा गर्नुभयो भन्‍ने बारेमा हेर्‍यौं—यसले के देखाउँछ भने, जीवन र मृत्यु परमेश्‍वरको नियन्त्रणमा छ, शैतानसँग जीवन र मृत्युलाई नियन्त्रण गर्ने शक्ति छैन, र परमेश्‍वरको काम चाहे देहमा गरिएको होस वा आत्मामा गरिएको होस्, उहाँको अख्तियार अद्वितीय छ।) सङ्गति सुनेपछि तिमीहरूले हासिल गरेको बुझाइ यही हो, होइन त? परमेश्‍वरको अख्तियारको कुरा गर्दा, “अख्तियार” शब्दको बारेमा तिमीहरूको बुझाइ के छ त? परमेश्‍वरको अख्तियारको दायराभित्र, परमेश्‍वरले जे गर्नुहुन्छ र जे प्रकट गर्नुहुन्छ सोबारेमा मानिसहरूले के देख्छन्? (हामी परमेश्‍वरको सर्वशक्तिमान्‌ता र बुद्धि देख्छौं।) (हामी देख्छौं, कि परमेश्‍वरको अख्तियार सदासर्वदा विद्यमान हुन्छ र यो साँच्चिकै अस्तित्वमा छ। हामी यावत् थोकमाथि उहाँको प्रभुत्वमा बृहत् मात्रामा परमेश्‍वरको अख्तियार देख्छौं, र उहाँले हरेक व्यक्तिगत मानव जीवनको नियन्त्रण गर्नुहुने कार्यमा सानो मात्रामा परमेश्‍वरको अख्तियारलाई देख्छौं। परमेश्‍वरले वास्तवमा मानव जीवनको छ महत्त्वपूर्ण मोडहरूको योजना र नियन्त्रण गर्नुहुन्छ। यस अलाबा, हामी के पनि देख्छौं भने परमेश्‍वरको अख्तियारले परमेश्‍वर स्वयम् अद्वितीयलाई प्रतिनिधित्व गर्छ, र यस्तो अख्तियार सृष्टि गरिएको वा नगरिएको कुनै पनि प्राणीमा हुन सक्दैन। परमेश्‍वरको अख्तियार उहाँको हैसियतको प्रतीक हो।) “परमेश्‍वरको हैसियत र परमेश्‍वरको स्थान” सम्बन्धी तिमीहरूको बुझाइ अलि धर्म-सैद्धान्तिक जस्तो देखिन्छ। के तिमीहरूसित परमेश्‍वरको अख्तियारको बारेमा कुनै सारभूत बुझाइ छ? (परमेश्‍वरले हामीलाई हामी सानै छँदादेखि हाम्रो रखवाली र सुरक्षा गर्नुभयो, र त्यसमा हामी परमेश्‍वरको अख्तियारलाई देख्छौं। हामीमाथि मडारिरहेको संकटहरूको बारेमा हामी अनभिज्ञ थियौं, तर परमेश्‍वरले पर्दा पछाडिबाट सधैँ हामीलाई सुरक्षा दिइरहनुभएको थियो। यो पनि परमेश्‍वरको अख्तियार हो।) एकदमै राम्रो। सानदार जबाफ।

जब हामी परमेश्‍वरको अख्तियारको बारेमा कुरा गर्छौं, तब हामी केमा ध्यान केन्द्रित गर्छौं, हाम्रो मुख्य बुँदा के हुन्छ? हामीले किन कुरा यो छलफल गर्नुपर्छ? यो कुरा छलफल गर्नुको मुख्य पहिलो उद्देश्य भनेको मानिसहरूको हृदयमा सृष्टिकर्ताको रूपमा परमेश्‍वरको हैसियत र यावत् थोकमाझ उहाँको स्थान स्थापित गर्नु हो। मानिसहरूलाई सर्वप्रथम जान्न, देख्न र अनुभूति गर्न लगाउन सकिने कुरा यही हो। तैँले जे देख्छस् र जे अनुभूति गर्छस् त्यो परमेश्‍वरका कार्यहरू, परमेश्‍वरका वचनहरू र यावत् थोकमाथिको परमेश्‍वरको नियन्त्रणबाट आउँछ। त्यसो भए, परमेश्‍वरको अख्तियारबाट मानिसहरूले जे देख्छन्, सिक्छन् र जान्दछन् ती सबैबाट तिनीहरूले के-कस्तो साँचो बुझाइ प्राप्त गर्छन् त? हामीले पहिलो उद्देश्यको बारेमा यसअघि नै छलफल गरिसक्यौं। दोस्रो उद्देश्य परमेश्‍वरले उहाँको अख्तियारद्वारा जे गर्नुभएको र बोल्नुभएको र नियन्त्रित गर्नुभएको छ ती सबैमार्फत मानिसहरूलाई परमेश्‍वरको शक्ति र बुद्धि देख्ने तुल्याउनु हो। यो तँलाई यावत् थोकमाथिको उहाँको नियन्त्रणमा परमेश्‍वर कति शक्तिशाली र बुद्धिमान हुनुहुन्छ भन्ने कुरा देख्ने तुल्याउनु हो। परमेश्‍वरको अद्वितीय अख्तियारबारेको हाम्रो अघिल्लो छलफलमा के हामीले ध्यान केन्द्रित गरेको कुरो र हाम्रो मुख्य बुँदा यही थिएन र? उक्त छलफलपछि त्यति धेरै समय बितेको छैन तैपनि तिमीहरूमध्ये केहीले त यसलाई बिर्सिसक्यौ, जसले परमेश्‍वरको अख्तियारको बारेमा तिमीहरूले गहन बुझाइ हासिल गरेका छैनौं भन्ने प्रमाणित गर्छ। मानिसले परमेश्‍वरको अख्तियारलाई देखेको छैन भनेर भन्न पनि सकिन्छ। के तिमीहरूले अहिले केही बुझाइ प्राप्त गर्‍यौ? जब तैँले परमेश्‍वरले उहाँको अख्तियार अभ्यास गर्नुभएको देख्छस्, तैँले साँचो रूपमा कस्तो अनुभूति गर्छस्? के तैँले परमेश्‍वरको शक्तिलाई साँच्चिकै अनुभूति गरेको छस्? जब तैँले उहाँले कसरी यावत् थोकको सृष्टि गर्नुभयो भन्ने सम्बन्धी उहाँका वचनहरू पढ्छस्, तब तैँले उहाँको शक्ति अनुभूति गर्छस् र तैँले उहाँको सर्वव्यापकता अनुभूति गर्छस्। जब तैँले मानिसहरूको नियतिमाथि परमेश्‍वरको प्रभुत्व देख्छस्, तैँले के-कस्तो अनुभूति गर्छस्? के तैँले उहाँको शक्ति र उहाँको बुद्धि अनुभूति गर्छस्? यदि परमेश्‍वरसँग यो शक्ति नभएको भए, यदि उहाँसँग यो बुद्धि नभएको भए, के उहाँ यावत् थोकहरूमाथि र मानव नियतिमाथि प्रभुत्व कायम राख्न योग्य हुनुहुनेथियो? परमेश्‍वरसँग शक्ति र बुद्धि छ, यसैले उहाँसँग अख्तियार छ। यो अद्वितीय छ। सारा सृष्टिमाझ, के तैँले कहिल्यै परमेश्‍वरको जस्तो शक्ति भएको कुनै व्यक्ति वा प्राणी देखेको छस्? के तैँले कहिल्यै आकाश र पृथ्वी र यावत् थोकको सृष्टि गर्ने, तिनीहरूलाई नियन्त्रण गर्ने र तिनीहरूमाथि प्रभुत्व कायम राख्ने कुनै व्यक्ति वा कुनै थोकलाई देखेको छस्? के सम्पूर्ण मानवजातिमाथि शासन गर्ने र तिनीहरूलाई डोर्‍याउने अनि सदासर्वदा सर्वत्र विद्यमान हुने कुनै व्यक्ति वा कुनै कुरा छ? (अहँ, छैन।) के तिमीहरूले अब परमेश्‍वरको अद्वितीय अख्तियारको साँचो अर्थ बुझ्यौ? के तिमीहरूसँग अब यसबारेमा केही बुझाइ छ? योसँगै परमेश्‍वरको अद्वितीय अख्तियारको विषयबारेमा फर्केर सोचिहेर्ने कार्य समाप्त हुन्छ।

दोस्रो भागमा, हामीले परमेश्‍वरको धर्मी स्वभावको बारेमा कुरा गर्‍यौं। हामीले यो विषयमा त्यति धेरै छलफल गरेनौं, किनभने यस चरणमा परमेश्‍वरको काम आधारभूत रूपमा न्याय र सजायको काम हो। राज्यको युगमा, परमेश्‍वरको धर्मी स्वभाव स्पष्ट र एकदमै विस्तृत रूपमा प्रकट हुन्छ। उहाँले सृष्टिको समयदेखि कहिल्यै पनि नबोल्नुभएका वचनहरू बोल्नुभएको छ; अनि उहाँका वचनहरूमा सबै मानिसहरूले, उहाँको वचन पढ्ने र अनुभव गर्ने सबैले उहाँको धर्मी स्वभाव प्रकट भएको देखेका छन्। त्यसो भए, परमेश्‍वरको धर्मी स्वभावबारेको हाम्रो छलफलको मुख्य बुँदा के हो त? के तिमीहरूले यसलाई गहन रूपमा बोध गर्छौ? के तिमीहरूले यसलाई अनुभवबाट बुझ्छौ? (परमेश्‍वरले सदोमलाई जलाउनुभयो किनभने त्यस बेलाका मानिसहरू गहन रूपले भ्रष्ट थिए र तिनीहरूले परमेश्‍वरको क्रोध भड्काए। यसबाट हामीले परमेश्‍वरको धर्मी स्वभावलाई देख्छौं।) पहिले, हामी हेरौं न: यदि परमेश्‍वरले सदोमलाई नष्ट नगर्नुभएको भए, के तैँले उहाँको धर्मी स्वभावको बारेमा जान्न सक्थिस्? अझै पनि तैँले जान्न सक्थिस्, होइन र? तैँले यसलाई राज्यको युगमा परमेश्‍वरले व्यक्त गर्नुभएका वचनहरू र उहाँले मानिसप्रति लक्षित गर्नुभएको न्याय, सजाय र श्रापहरूमा देख्न सक्छस्। के तैँले उहाँले निनवेलाई बचाउनुभएको कार्यमा उहाँको धर्मी स्वभावलाई देख्छस्? (देख्छु।) वर्तमान युगमा, मानिसहरूले परमेश्‍वरका केही कृपा, प्रेम र सहिष्णुता देख्न सक्छन् र तिनीहरूले मानिसको पश्चात्तापपछि परिवर्तन भएको परमेश्‍वरको हृदयमा पनि यसलाई देख्‍न सक्छन्। परमेश्‍वरको धर्मी स्वभावबारेको हाम्रो छलफलको परिचय दिनलाई यी दुई वटा उदाहरणहरू उल्‍लेख गरिसकेपछि, उहाँको धर्मी स्वभाव प्रकट गरिसकिएको छ भन्ने कुरा एकदमै स्पष्टसित देख्न सकिन्छ, तैपनि वास्तविकतामा परमेश्‍वरको धर्मी स्वभावको सार यी दुई बाइबलीय कथाहरूमा प्रकट गरिएको कुरामा मात्र सीमित रहेको छैन। परमेश्‍वरको वचन र उहाँको काममा तिमीहरूले जे सिकेका र देखेका र अनुभव गरेका छौ, तिनका आधारमा तिमीहरूले देखेको परमेश्‍वरको धर्मी स्वभाव के हो त? तिमीहरूको आफ्नै अनुभवको आधारमा भन। (परमेश्‍वरले मानिसहरूको लागि बनाउनुभएको वातावरणहरूमा, जब मानिसहरूले सत्यताको खोजी गर्न र परमेश्‍वरको इच्छाअनुरूप कार्य गर्न सक्छन्, तब परमेश्‍वरले तिनीहरूलाई डोर्‍याउनुहुन्छ, तिनीहरूलाई अन्तर्दृष्टि दिनुहुन्छ र तिनीहरूलाई हृदयमा खुसी अनुभूति गराउनुहुन्छ। जब मानिसहरू परमेश्‍वर विरुद्ध जान्छन्, उहाँको प्रतिरोध गर्छन् र उहाँको इच्छाअनुरूप कार्य गर्दैनन्, तब तिनीहरूभित्र विशाल अन्धकार हुन्छ, मानौं तिनीहरूलाई परमेश्‍वरले परित्याग गरिसक्नुभएको छ। तिनीहरूले प्रार्थना गर्दा पनि, तिनीहरूले उहाँलाई के भन्ने हो सो समेत जान्दैनन्। तर जब तिनीहरूले आफ्ना धारणा र कल्पनाहरूलाई पन्छाउँछन् र परमेश्‍वरसँग सहकार्य गर्न र आफूलाई सुधार्न प्रयत्न गर्न इच्छुक बन्छन्, तब तिनीहरूले क्रमिक रूपमा परमेश्‍वरको मुस्कुराइरहेको मुहार देख्न सक्छन्। यसबाट हामीले परमेश्‍वरको धर्मी स्वभावको पवित्रता अनुभव गर्छौं। परमेश्‍वर पवित्र राज्यमा देखा पर्नुहुन्छ, तर उहाँले आफूलाई अपवित्र स्थानहरूमा लुकाउनुहुन्छ।) (म उहाँले मानिसहरूलाई व्यवहार गर्ने तरिकामा परमेश्‍वरको धर्मी स्वभाव देख्छु। हाम्रा दाजुभाइ र दिदीबहिनीहरू कद र क्षमतामा, र हामी प्रत्येकबाट परमेश्‍वरलाई के आवश्यक पर्छ भन्ने सन्दर्भमा भिन्न छन्। हामी सबैले परमेश्‍वरबाट फरक-फरक मात्रमा अन्तर्दृष्टि प्राप्त गर्न सक्छौं, र यसमा म परमेश्‍वरको धर्मी स्वभाव देख्छु किनभने हामी मानिसहरूले यसरी मानिसलाई व्यवहार गर्न सक्दैनौं, तर परमेश्‍वरले सक्‍नुहुन्छ।) अबचाहिँ, तिमीहरू सबैसँग तिमीहरूले व्यक्त गर्न सक्‍ने केही व्यावहारिक ज्ञान छ।

कुन ज्ञानचाहिँ परमेश्‍वरको धर्मी स्वभावलाई बुझ्ने चाबी हो, के तिमीहरूलाई थाहा छ? यस विषयको अनुभवबाट भन्न सकिने कुराहरू धेरै छन्, तर त्योभन्दा पहिले मैले तिमीहरूलाई भन्नुपर्ने केही मुख्य बुँदाहरू छन्। परमेश्‍वरको धर्मी स्वभाव बुझ्‍नको निम्ति सर्वप्रथम परमेश्‍वरको भावनाहरू बुझ्‍नुपर्छ: उहाँले केलाई घृणा गर्नुहुन्छ, उहाँले केलाई घिनाउनुहुन्छ, उहाँले केलाई प्रेम गर्नुहुन्छ, कोप्रति उहाँ सहनशील र कृपालु हुनुहुन्छ र उहाँले कस्तो व्यक्तिलाई त्यो कृपा प्रदान गर्नुहुन्छ। यो एउटा मुख्य बुँदा हो। व्यक्तिले यो पनि बुझ्‍नुपर्छ कि परमेश्‍वर जति नै प्रेमिलो हुनुभए तापनि, मानिसहरूका निम्ति उहाँसँग जति नै कृपा र प्रेम भए तापनि, परमेश्‍वरले उहाँको हैसियत र पदको उल्लङ्‍घन गर्ने कसैलाई पनि सहन गर्नुहुन्‍न, न त उहाँको गरिमाको उल्लङ्‍घन गर्ने कसैलाई सहनुहुन्छ। परमेश्‍वरले मानिसहरूलाई प्रेम गर्नुहुने भए तापनि, उहाँले तिनीहरूलाई पुलपुल्याउनुहुन्न। उहाँले मानिसहरूलाई उहाँको प्रेम, उहाँको कृपा र उहाँको सहनशीलता दिनुहुन्छ, तर उहाँले तिनीहरूलाई कहिले पनि काखी च्याप्ने गर्नुभएन; परमेश्‍वरसँग उहाँका सिद्धान्तहरू र उहाँका सीमाहरू छन्। तैँले परमेश्‍वरको जतिसुकै प्रेम महसुस गरेको भए तापनि, त्यो प्रेम जतिसुकै गहिरो भए तापनि तैँले परमेश्‍वरलाई कहिले पनि अर्को व्यक्तिलाई जस्तो व्यवहार गर्नु हुँदैन। परमेश्‍वरले मानिसहरूलाई अत्यन्तै घनिष्ठताका साथ व्यवहार गर्नुहुन्छ भन्‍ने कुरा साँचो भए तापनि, यदि कुनै व्यक्तिले परमेश्‍वरलाई अर्को व्यक्तिको रूपमा मात्र, उहाँ सृष्टि गरिएको कुनै अर्को प्राणी हुनुभए जसरी, एक जना मित्र वा पूजा गरिने वस्तुको रूपमा मात्र हेर्छ भने, परमेश्‍वरले तिनीहरूबाट आफ्नो मुहार लुकाउनुहुनेछ र तिनीहरूलाई त्याग्‍नुहुनेछ। यो उहाँको स्वभाव हो र मानिसहरूले यस विषयलाई लापरवाही भएर लिनु हुँदैन। यसैले, हामीले प्रायजसो आफ्नो स्वभावको बारेमा परमेश्‍वरले बोल्‍नुभएका यस्ता वचनहरू देख्छौं: तैँले कति ओटा मार्गहरू यात्रा गरेको छस्, तैँले कति काम गरेको छस् वा तैँले कति कष्ट भोगेको छस् भन्‍ने कुराले फरक पार्दैन, तैँले परमेश्‍वरको स्वभावलाई चिढ्याइस् भने उहाँले तिमीहरू हरेकलाई तिमीहरूले गरेको कामको आधारमा बदला लिनुहुनेछ। यसको अर्थ यही हो कि परमेश्‍वरले मानिसहरूलाई अत्यन्तै घनिष्ठताका साथ व्यवहार गर्नुहुन्छ, तथापि मानिसहरूले परमेश्‍वरलाई एक मित्र वा आफन्तको रूपमा व्यवहार गर्नु हुँदैन। परमेश्‍वरलाई तेरो “दोस्त” नभन्। उहाँबाट तैँले जतिसुकै प्रेम प्राप्त गरेको भए तापनि, उहाँले तँलाई जतिसुकै सहन गर्नुभए तापनि तैँले परमेश्‍वरलाई कहिले पनि मित्रको रूपमा व्यवहार गर्नु हुँदैन। यो परमेश्‍वरको धर्मी स्वभाव हो। के तिमीहरूले बुझ्दै छौ? के मैले यसबारेमा अझै केही बताउनुपर्छ? के यो विषयमा तिमीहरूसित कुनै पूर्व-बुझाइ रहेको छ? सामान्य रूपमा भन्दा, यो मानिसहरूले सजिलै गर्ने गल्ती हो, चाहे तिनीहरूले धर्मसिद्धान्तहरू बुझून् कि नबुझून् वा तिनीहरूले यो विषयको बारेमा पहिले कहिल्यै चिन्तन गरेका हुन् कि नहुन्। जब मानिसहरूले परमेश्‍वरलाई ठेस पुर्‍याउँछन्, कुनै एउटा घटना वा तिनीहरूले बोलेको कुनै एउटा कुराले त्यस्तो भएको नहुन सक्छ, बरु तिनीहरूको आचरण वा तिनीहरू जुन स्थितिमा छन् त्यो स्थितिको कारण त्यस्तो भएको हुन सक्छ। यो एकदमै डरलाग्दो कुरा हो। केही मानिसहरू तिनीहरूसँग परमेश्‍वरको बुझाइ छ, तिनीहरूसँग उहाँको बारेमा केही ज्ञान छ, र तिनीहरूले परमेश्‍वरलाई सन्तुष्ट पार्ने केही काम-कुराहरू समेत गर्न सक्छन् भनी विश्‍वास गर्छन्। तिनीहरूले आफू परमेश्‍वरको बराबरी भएको र तिनीहरूले चलाखी पूर्वक आफूलाई परमेश्‍वरसँगको मित्रतासम्म पुर्‍याएको अनुभूति गर्न थाल्छन्। यस प्रकारका अनुभूतिहरू भयानक रूपमा गलत छन्। यदि तँसँग यसबारेमा गहन बुझाइ छैन भने—यदि तैँले यसलाई स्पष्टसँग बुझ्दैनस् भने—तैँले सजिलैसँग परमेश्‍वरलाई र उहाँको धर्मी स्वभावलाई ठेस पुर्‍याउन सक्छस्। तैँले अब यो कुरा बुझ्छस्, होइन त? के परमेश्‍वरको धर्मी स्वभाव अद्वितीय छैन त? के यो कहिल्यै कुनै मानिसको चरित्र वा नैतिक कद समान हुन सक्छ र? यो कहिल्यै पनि त्यस्तो हुन सक्दैन। त्यसकारण, चाहे परमेश्‍वरले मानिसहरूलाई जे-जसरी व्यवहार गर्नुभएको नै किन नहोस् वा उहाँले मानिसहरूको बारेमा जे-जस्तो सोच्नुभएको नै किन नहोस्, परमेश्‍वरको स्थान, अख्तियार, र स्थिति परिवर्तन कहिल्यै हुँदैन भन्‍ने कुरालाई तैँले कहिल्यै बिर्सनु हुँदैन। मानवजातिको लागि, परमेश्‍वर सधैँ नै यावत् थोकका प्रभु र सृष्टिकर्ता हुनुहुन्छ।

परमेश्‍वरको पवित्रताको बारेमा तिमीहरूले के सिकेका छौ? “परमेश्‍वरको पवित्रता” बारेको त्यो भागमा, शैतानको दुष्टतालाई प्रतिभारको रूपमा प्रयोग गरिएको तथ्यको अलाबा, परमेश्‍वरको पवित्रताबारेको हाम्रो छलफलको मुख्य विषयवस्तु के थियो? के यो परमेश्‍वरसँग जे छ र उहाँ जे हुनहुन्छ भन्ने होइन र? के परमेश्‍वरसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यो परमेश्‍वरसँग मात्र भएको अद्वितीय कुरा हो? (हो।) यो त्यो कुरा हो जुन सृष्टि गरिएका प्राणीहरूमा छैन। त्यसकारण हामी परमेश्‍वरको पवित्रता अद्वितीय छ भनेर भन्छौं। यो तिमीहरूले बुझ्नुपर्ने कुरा हो। हामीले परमेश्‍वरको पवित्रताको विषयमा तीन वटा भेलाहरू आयोजना गर्‍यौं। तिमीहरूले परमेश्‍वरको पवित्रतालाई के हो भनी विश्‍वास गर्छौ, के तिमीहरूले आफ्नै शब्दहरूमा, तिमीहरूको आफ्नै बुझाइद्वारा व्याख्या गर्न सक्छौ? (पछिल्लो समय परमेश्‍वरले हामीसँग कुराकानी गर्नुहुँदा हामी उहाँसामु निहुरेका थियौं। परमेश्‍वरले हामीलाई उहाँको आराधना गर्नको लागि लम्पसार पर्नु र निहुरिने कार्यको बारेमा सत्यता सङ्गति गर्नुभएको थियो। हामीले देख्यौं कि उहाँले तोक्नुभएका आवश्यक मापदण्डहरू पूरा नगरीकन उहाँको आराधना गर्न निहुरनु उहाँको इच्छाअनुसारको कार्य होइन, र यसबाट हामीले परमेश्‍वरको पवित्रता देख्यौं।) एकदमै साँचो। अरू केही पनि छन् कि? (मानवजातिको लागि परमेश्‍वरले बोल्नुभएका वचनहरूमा, हामी उहाँले सरल र स्पष्ट रूपमा बोल्नुभएको देख्छौं। उहाँले सीधा र प्रासङ्गिक कुरा गर्नुहुन्छ। शैतानले घुमाउरो पारमा कुरा गर्छ, र त्यसका कुराहरू झूटै झूटले भरिएका हुन्छन्। गत समय हामी परमेश्‍वरसमक्ष लम्पसार पर्दा जे भयो त्यसबाट हामीले उहाँका वचन र उहाँका कार्यहरू सधैँ नै सिद्धान्तबद्ध हुन्छन् भन्ने देख्यौं। हामीले कसरी व्यवहार गर्नुपर्छ, हामीले कसरी अवलोकन गर्नुपर्छ र हामीले कसरी अभ्यास गर्नुपर्छ भन्नेबारेमा उहाँले हामीलाई बताउनुहुँदा उहाँले सधैँ स्पष्ट र संक्षिप्त रूपले बताउनुहुन्छ। तर मानिसहरू त्यस तरिकाका हुँदैनन्। शैतानद्वारा मानवजातिलाई भ्रष्ट तुल्याइएदेखि, तिनीहरूले तिनीहरूका आफ्नै व्यक्तिगत आशय र उद्देश्यहरू र मन-मस्तिष्कमा भएका तिनीहरूका आफ्नै अभिलाषाहरू अनुसार व्यवहार गर्दै र बोल्दै आएका छन्। परमेश्‍वरले मानवजातिलाई हेरविचार, वास्ता र सुरक्षा गर्नुहुने शैलीबाट, हामी के देख्‍छौं भने, परमेश्‍वरले गर्नुहुने सबै सकरात्मक र स्पष्ट छ। यही तरिकामा हामी परमेश्‍वरको पवित्रताको सार प्रकट भएको देख्छौं।) राम्रो भनाइ! कोही अरूलाई केही थप्नु छ कि? (परमेश्‍वरबाट शैतानको दुष्ट सार खुलासा भएको तथ्यमार्फत हामी परमेश्‍वरको पवित्रता देख्छौं, हामी शैतानको दुष्टताको बारेमा अझै बढी ज्ञान हासिल गर्छौं, र हामी मानवजातिका दुःखकष्टका स्रोतहरू देख्छौं। विगतमा, हामी शैतानको अधिकारक्षेत्र अन्तर्गत मानिसको दुःखकष्टको बारेमा अनभिज्ञ थियौं। परमेश्‍वरले यो कुरा खुलासा गर्नुभएपछि मात्र हामीले ख्याति र सम्पत्तिको खोजीबाट आउने सबै दुःखकष्ट शैतानको काम हो भन्‍ने देख्यौं। त्यसपछि मात्र हामीले परमेश्‍वरको पवित्रता नै मानवजातिको साँचो मुक्ति हो भन्‍ने अनुभूति गर्‍यौं।) यसमा थप्नुपर्ने अरू कुनै कुरा छ? (भ्रष्ट मानवजातिमा परमेश्‍वर सम्‍बन्धी साँचो ज्ञान र उहाँप्रतिको साँचो प्रेमको कमी छ। हामीले परमेश्‍वरको पवित्रताको सार नबुझ्ने हुनाले, र हामी उहाँको आराधना गर्न लम्पसार पर्दा र निहुरिँदा हामीले अपवित्र विचारहरू र गुप्त आशयहरूको साथ त्यसो गर्ने हुनाले, परमेश्‍वर बेखुसी हुनुहुन्छ। हामी देख्न सक्छौं कि परमेश्‍वर शैतानभन्दा फरक हुनुहुन्छ; शैतानले मानिसहरूले त्यसको आदर र प्रशंसा गरून्, त्यसलाई आराधना गर्न लम्पसार परून् र निहुरिऊन् भन्ने चाहन्छ। शैतानसँग कुनै पनि सिद्धान्तहरू छैनन्। यसबाट पनि मलाई परमेश्‍वरको पवित्रताको बारेमा थाहा भएको छ।) एकदमै राम्रो! अहिले हामीले परमेश्‍वरको पवित्रताको बारेमा सङ्गति गरिसकेको हुनाले, के तिमीहरूले परमेश्‍वरको सिद्धता देख्न सक्छौ? के तिमीहरू परमेश्‍वर कसरी सबै सकारात्मक कुराहरूको स्रोत हुनहुन्छ भन्ने देख्छौ? के तिमीहरूले परमेश्‍वर कसरी सत्यता र न्यायको प्रतिरूप हुनुहुन्छ भन्ने कुरा देख्न सक्छौ? के तिमीहरू परमेश्‍वर कसरी प्रेमको स्रोत हुनहुन्छ भन्ने देख्छौ? के तिमीहरू परमेश्‍वरले गर्नुहुने सबै कुरा, उहाँले व्यक्त गर्नुहुने सबै कुरा, र उहाँले प्रकट गर्नुहुने सबै कुरा त्रुटिरहित छन् भन्ने देख्छौ? (हामी देख्छौं।) मैले परमेश्‍वरको पवित्रताको बारेमा भनेको कुराका मुख्य बुँदाहरू यिनै हुन्। आज यी वचनहरू तिमीहरूलाई धर्मसिद्धान्तजस्तै लाग्न सक्छन्, तर एक दिन तैँले जब उहाँका वचन र उहाँका कामबाट साँचो परमेश्‍वर स्‍वयम्‌लाई अनुभव गर्छस् र प्रत्यक्ष देख्छस्, तब तैँले तेरो हृदयको अन्तस्करणबाट परमेश्‍वर पवित्र हुनुहुन्छ, परमेश्‍वर मानवजातिभन्दा फरक हुनुहुन्छ, र उहाँको हृदय, स्वभाव र सार सबै पवित्र छन् भनी भन्नेछस्। यो पवित्रताले मानिसलाई परमेश्‍वरको सिद्धता देख्ने तुल्याउँछ र परमेश्‍वरको पवित्रताको सार निष्कलङ्क छ भनी देख्ने तुल्याउँछ। परमेश्‍वरको पवित्रताको सारले उहाँ परमेश्‍वर स्वयम् अद्वितीय हुनुहुन्छ भन्ने निर्धारण गर्छ र यसले मानिसहरूलाई उहाँ परमेश्‍वर स्वयम् अद्वितीय हुनुहुन्छ भन्‍ने देखाउँछ र प्रमाणित पनि गर्छ। के मुख्य बुँदा यही होइन र? (हो, यही हो।)

आज हामीले अघिल्ला सङ्गतिहरूबाट लिइएका विभिन्न विषयहरूलाई संक्षिप्त रूपमा हेरेका छौ। यससँगै आजको पुनरावलोकन यही समाप्त हुन्छ। मलाई आशा छ, तिमीहरू सबैले हरेक बुँदा र विषयका मुख्य कुराहरूलाई गम्भीर रूपमा लिनेछौ। तिनीहरूलाई केवल धर्मसिद्धान्तको रूपमा नलेओ; जब तिमीहरूसँग केही फुर्सदको समय हुन्छ, तब तिमीहरू तिनलाई ध्यान दिएर पढ र मनन गर। तिनलाई तिमीहरूको हृदयमा कण्ठस्थ पारी राख र तिनलाई वास्तविकतामा उतार—त्यसपछि तैँले परमेश्‍वरले उहाँको स्वभाव प्रकट गर्नुभएको र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यो प्रकट गर्नुभएको वास्तविकताको बारेमा मैले बताएका सबै कुराहरूलाई साँच्चै नै अनुभव गर्नेछस्। तैपनि, यदि तैँले तिनीहरूलाई आफ्नो स्मरण-पुस्तिकामा लेखेर मात्रै राख्छस् तर तिनीहरूलाई पढ्दैनस् वा मनन गर्दैनस् भने, तैँले तिनीहरूलाई कहिल्यै पनि आफ्नो लागि प्राप्त गर्नेछैनस्। तिमीहरूले अहिले बुझ्यौ, होइन? यी तीन विषयमा कुराकानी गरिसकेपछि, मानिसहरूले परमेश्‍वरको हैसियत, सार, र स्वभावको बारेमा सामान्य—वा विशिष्टसमेत—बुझाइ प्राप्त गरिसकेपछि, के परमेश्‍वर सम्‍बन्धी तिनीहरूको बुझाइ पूर्ण हुन्छ? (हुँदैन।) अहिले, परमेश्‍वर सम्‍बन्धी तिमीहरूको आफ्नो बुझाइमा, तिमीहरूलाई गहन बुझाइको आवश्यकता भन्‍ने तिमीहरूलाई लाग्‍ने अन्य कुनै क्षेत्रहरू छन्? भन्नुको अर्थ, अहिले तैँले परमेश्‍वरको अख्तियार, उहाँको धर्मी स्वभाव, र उहाँको पवित्रताको बारेमा बुझाइ हासिल गरिसकेको हुनाले, सायद तेरो मनमस्तिष्कमा उहाँको अद्वितीय हैसियत र स्थान स्थापित भयो होला; तैपनि उहाँका कार्यहरू, उहाँको शक्ति, र उहाँको सारलाई तैँले तेरो आफ्नै अनुभवद्वारा हेर्ने, बुझ्ने र तीबारे ज्ञान लिने कामचाहिँ बाँकी नै छ। अहिले तिमीहरूले यी सङ्गतिहरू सुनिसकेको हुनाले, तिमीहरूको हृदयमा परमेश्‍वर साँच्चै अस्तित्वमा हुनुहुन्छ र उहाँले यावत् थोकमाथि शासन चलाउनुहुन्छ भन्ने दृढ विश्‍वास करिबकरिब स्थापित भएको छ। कसैले पनि उहाँको धर्मी स्वभावको उल्लङ्घन गर्न सक्दैन; उहाँको पवित्रता यस्तो निश्चितता हो जसलाई कसैले पनि सवाल गर्न सक्दैन। यिनीहरू तथ्य हुन्। यी सङ्गतिहरूले परमेश्‍वरको हैसियत र स्थानलाई मानिसको हृदयमा जग बसाउन दिन्छन्। यस्तो जग स्थापित भइसकेपछि, मानिसहरूले अझै बढी बुझ्ने प्रयास गर्नुपर्छ।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्