परमेश्‍वर स्वयम् अद्वितीय ६

परमेश्‍वरको पवित्रता (३) - भाग तीन

अब हामी मानिसलाई भ्रष्ट तुल्याउनको लागि शैतानले के-कस्ता माध्यमहरूको प्रयोग गर्छ सोबारे फेरि कुरा गरौँ। हामीले भर्खरै परमेश्‍वरले मानिसमा काम गर्नुहुने विभिन्न तरिकाहरू जसलाई तिमीहरू आफैले अनुभव गर्न सक्छौ ती तरिकाहरूका बारेमा कुरा गर्‍यौँ, त्यसकारण म त्यति धेरै विस्तृत रूपमा बोल्‍नेछैन। तर मानिसलाई भ्रष्ट तुल्याउन शैतानले के-कस्ता चलाखी र रणनीतिहरूको प्रयोग गर्छ त्यो कुरा तिमीहरूको हृदयमा सायद स्पष्ट छैन, वा कम्तीमा पनि तिमीहरूमा तिनको बारेमा निश्‍चित बुझाइ छैन। के मैले यसको बारेमा फेरि कुरा गर्नु लाभदायक हुनेछैन र? के तिमीहरू यसबारेमा सिक्‍न चाहन्छौ? सायद तिमीहरूमध्ये कतिले सोध्‍नेछौ: “किन फेरि शैतानको बारेमा कुरा गर्ने? शैतानको बारेमा उल्‍लेख गर्नेबित्तिकै, हामीलाई रिस उठ्छ, र जब हामी त्यसको नाम सुन्छौँ हामीलाई पूरै झन्झट लाग्छ।” यसले तिमीहरूलाई जति नै असहज तुल्याए पनि, तिमीहरूले सत्यको सामना गर्नैपर्छ। मानिसको बुझाइको लाभको लागि यी कुराहरूलाई सरल रूपमा बताउनैपर्छ र स्पष्ट पारिनैपर्छ; अन्यथा मानिस शैतानको प्रभावबाट वास्तवमै मुक्त हुन सक्दैन।

शैतानले मानिसलाई भ्रष्ट तुल्याउने पाँच तरिकाहरूका बारेमा हामीले यसभन्दा पहिले छलफल गरेका छौँ, जसमा शैतानका चलाखीहरू पर्छन्। शैतानले मानिसलाई भ्रष्ट तुल्याउने तरिकाहरू सतही तह मात्रै हुन्; शैतानले आफ्‍ना लक्ष्यहरू हासिल गर्न प्रयोग गर्ने यो सतहभित्र अझै धूर्त चलाखीहरू लुकिरहेका हुन्छन्। यी चलाखीहरू के-के हुन्? तिनलाई सारांशित गर। (यसले धोका दिन्छ, प्रलोभनमा पार्छ र दबाब दिन्छ।) तिमीहरूले यी चलाखीहरूलाई जति धेरै सूचीकृत गर्छौ, तिमीहरू त्यति नै नजिक पुग्छौ। तिमीहरूलाई शैतानले निकै गहन रूपमा हानि गरेको र तिमीहरूमा यस विषयमा निकै प्रखर भावनाहरू छन् जस्तो देखिन्छ। (यसले देखावटी अलङ्कारको पनि प्रयोग गर्छ। यसले मानिसहरूलाई प्रभावित गर्छ र जबरजस्ती पकडमा पार्छ।) जबरजस्ती पकडमा पार्नु—यसले विशेष गरी गहन छाप छोड्छ। मानिसहरू जबरजस्ती पकडमा पार्ने शैतानको कार्यदेखि डराउँछन्, होइन र? अरू कुनै चलाखीहरू छन्? (यसले मानिसहरूलाई हिंसात्मक रूपमा हानि गर्छ, धम्की दिन्छ र लोभ लाग्दो प्रस्ताव गर्छ, अनि यसले झूट बोल्छ।) यसले गर्ने कार्यहरू मध्येको एक झूट बोल्नु हो। तँलाई धोका दिन सकूँ भनेर शैतानले झूट बोल्छ। झूटको प्रकृति कस्तो हुन्छ? के झूट बोल्‍नु भनेको धोका दिनुजस्तै होइन र? झूट बोल्‍नुको उद्देश्य भनेको वास्तवमा तँलाई धोका दिनु नै हो। अरू कुनै चलाखीहरू छन्? तिमीहरूलाई थाहा भएको शैतानका सबै चलाखीहरूका बारेमा मलाई बताओ। (यसले परीक्षा लिन्छ, हानि गर्छ, अन्धो तुल्याउँछ र छल गर्छ।) तिमीहरूमध्ये धेरैले यो छलको बारेमा उस्तै अनुभव गर्छौ, होइन र? (यसले मानिसलाई नियन्त्रण गर्छ, मानिसलाई पकडमा राख्छ, मानिसलाई आतङ्कित तुल्याउँछ र मानिसलाई परमेश्‍वरमा विश्‍वास गर्नबाट रोक्छ।) तिमीहरूले मलाई जे बताइरहेका छौ ती कुराहरूको समग्र अर्थ मलाई थाहा छ, र यो असल कुरा हो। यसको बारेमा तिमीहरू सबैलाई केही थाहा छ, त्यसकारण म यी चलाखीहरूको एउटा सारांश बनाउँछु।

मानिसलाई भ्रष्ट तुल्याउनको लागि शैतानले प्रयोग गर्ने प्रमुख छ वटा चलाखीहरू छन्।

पहिलो भनेको नियन्त्रण र दबाब हो। अर्थात्, तेरो हृदयलाई नियन्त्रण गर्नको लागि शैतानले सम्‍भव भएको जेसुकै गर्नेछ। “दबाब” भनेको के हो? यसको अर्थ तैँले त्यसको आज्ञापालन गरिनस् भने आउने परिणामहरूको बारेमा तँलाई सोच्‍ने तुल्याउँदै तँलाई त्यसको आज्ञापालन गर्ने तुल्याउनको लागि धम्कीपूर्ण र जबरजस्ती रणनीतिको प्रयोग गर्नु भन्‍ने हो। तँ त्यसको अवज्ञा गर्न डराउँछस् र आँट गर्दैनस्, त्यसकारण तँ त्यसमा समर्पित हुन्छस्।

दोस्रो भनेको धोका र छल हो। “धोका र छल” ले के कुरालाई संलग्न गर्दछ? शैतानले तँलाई ती विश्‍वास गर्ने तुल्याउन केही कथा र झूटहरू बनाउँदछ। मानिसलाई परमेश्‍वरले नै सृष्टि गर्नुभएको हो भनेर त्यसले तँलाई कहिल्यै भन्दैन, न त त्यसले सीधै तँलाई तँ परमेश्‍वरद्वारा सृष्टि गरिएको होइनस् भनेर नै भन्छ। यसले “परमेश्‍वर” भन्‍ने शब्‍दको प्रयोग गर्दै-गर्दैन, बरु यसको सट्टामा अर्को कुनै कुराको प्रयोग गर्छ, यसरी परमेश्‍वरको अस्तित्वको बारेमा तँलाई आधारभूतरूपमा केही थाहा नै नहोस् भनेर तँलाई धोका दिनको लागि यो कुराको प्रयोग गर्छ। अवश्य नै, यो “चलाकी” मा यो मात्रै होइन, धेरै पक्षहरू समावेश हुन्छन्।

तेस्रो भनेको जबरजस्ती सैद्धान्तिकरण गर्नु हो। मानिसहरूलाई केद्वारा जबरजस्ती सैद्धान्तिकरण गरिन्छ? के जबरजस्ती सैद्धान्तिकरण मानिसको आफ्‍नै निर्णयद्वारा गरिन्छ? के यो मानिसको सहमतिमा गरिन्छ? त्यसरी अवश्य नै गरिँदैन। तैँले सहमति जनाइनस् भने पनि, तैँले यसको बारेमा गर्न सक्‍ने केही छैन। तेरो अनभिज्ञतामा, शैतानले त्यसका विचारहरू, जीवन सम्‍बन्धी त्यसका नियमहरू र त्यसको सार तँमा हालिदिँदै, त्यसले तँलाई सैद्धान्तिकरण गर्छ।

चौथो भनेको डरधम्की र छलछाम हो। अर्थात्, तँलाई शैतानले त्यसलाई स्वीकार गर्न, त्यसलाई पछ्याउन, र त्यसको सेवामा काम गर्न लगाउनको लागि विभिन्‍न चलाकीहरूको प्रयोग गर्छ। त्यसका लक्ष्यहरू हासिल गर्नको लागि त्यसले जेसुकै गर्नेछ। यसले कहिलेकाहीँ तँलाई सानो निगाह प्रदान गर्छ, यस क्रममा तँलाई लोभ्याएर पाप गर्न लगाउँछ। यदि तैँले त्यसलाई पछ्याएनस् भने, त्यसले तँलाई कष्ट दिन्छ र दण्ड दिन्छ, अनि तँलाई आक्रमण गर्न र तँविरुद्ध षड्यन्त्र गर्नको लागि विभिन्‍न तरिकाहरूको प्रयोग गर्छ।

पाँचौँ धोका र पक्षाघात हो। “धोका र पक्षाघात” भनेको जब शैतानले मानिसहरूको देहगत अवस्था, तिनीहरूको जीवन र भविष्यको बारेमा त्यो चिन्तित छ भन्‍नेजस्तो तुल्याउनको लागि मानिसहरूका धारणासँग मिल्‍ने र विश्‍वासलाग्दो सुनिने मीठा शब्‍द र विचारहरू मानिसहरूमा घुसाउँछ, जब वास्तविकतामा त्यसको एकमात्र लक्ष्य भनेको तँलाई मूर्ख तुल्याउनु भन्‍ने हुन्छ। त्यसपछि तँलाई सही के हो र गलत के हो भन्‍ने थाहा नहोस् भनेर, तँलाई अनजानमा छल गर्न सकियोस् र तँ त्यसको नियन्त्रणमा आउन सक् भनेर, त्यसले तँलाई पक्षाघात तुल्याउँछ।

छैटौं भनेको शरीर र मनको विनाश हो। शैतानले मानिसको कुन भागलाई नष्ट गर्छ? तँलाई विरोध गर्न नसक्‍ने तुल्याउनको लागि शैतानले तेरो मन नष्ट गर्छ, अर्थात् तेरो इच्‍छा विपरीत अलि-अलि गर्दै तेरो हृदय शैतानतर्फ फर्कन्छ। आखिरमा तैँले उप्रान्त असल व्यक्ति बन्‍ने इच्‍छा नगरोस्, उप्रान्त तैँले “धार्मिकता” भनी भन्‍ने गरेको कुराको लागि खडा हुने इच्‍छा नगरोस् भनेर, तेरो इच्‍छालाई अलि-अलि गर्दै कमजोर तुल्याउँदै, तँलाई प्रभाव पार्न र तयारी गर्नको लागि प्रत्येक दिन यी विचार र संस्कृतिहरूको प्रयोग गर्दै, त्यसले तँमा यी कुराहरू हरेक दिन हालिदिन्छ। अनजानमै, तँसँग उप्रान्त प्रवाहको विरुद्ध पौडने इच्‍छा शक्ति हुँदैन, बरु तँ यसैसँग बग्छस्। “विनाश” भनेको मानिसहरू उप्रान्त मानव होइन बरु तिनीहरूको आफ्‍नै छाया बनून् भनेर शैतानले तिनीहरूलाई अत्यन्तै कष्ट दिनु भन्‍ने हो। शैतानले तिनीहरूलाई प्रहार गरेर कब्‍जा गर्ने र निल्‍ने बेला यही हो।

मानिसलाई भ्रष्ट तुल्याउनको लागि शैतानले प्रयोग गर्ने यी हरेक चलाकीहरूले मानिसलाई विरोध गर्नै नसक्‍ने तुल्याउँछ; मानिसको लागि तीमध्ये कुनै पनि घातक हुनसक्छ। अर्को शब्‍दमा भन्दा, शैतानले जे गर्छ र त्यसले जुन चलाकी प्रयोग गर्छ, त्यसले तँलाई पतित तुल्याउन सक्छ, तँलाई शैतानको नियन्त्रणमा ल्याउन सक्छ र तँलाई दुष्टता र पापको दलदलमा फसाउन सक्छ। मानिसलाई भ्रष्ट तुल्याउनको लागि शैतानले प्रयोग गर्ने चलाकीहरू यिनै हुन्।

शैतान दुष्ट छ भनेर हामी भन्‍न सक्छौँ, तर यसलाई पक्‍का गर्नको लागि, शैतानले मानिसलाई भ्रष्ट तुल्याउनुका परिणामहरू के-के हुन् र त्यसले मानिसलाई के-कस्ता स्वभाव र सारहरू दिन्छ हामीले त्यसलाई हेर्नुपर्छ। तिमीहरू सबैलाई यसको बारेमा केही न केही थाहा छ, त्यसैले बोल। शैतानले मानिसहरूलाई भ्रष्ट तुल्याउनुका परिणामहरू के-के हुन्? तिनीहरूले कुन-कुन भ्रष्ट स्वभावलाई व्यक्त र प्रकट गर्छन्? (अहङ्कार र अभिमान, स्वार्थीपन र तुच्छता, कुटिलपन र धोका, धूर्तता र बदख्‍वाइँ र मानवताको पूर्ण अभाव।) समग्रमा, तिनीहरूमा कुनै मानवता हुँदैन भनेर हामी भन्‍न सक्छौँ। अब, अरू भाइबहिनीहरू बोलून्। (मानिसलाई शैतानले भ्रष्ट तुल्याएपछि, तिनीहरू प्रायजसो अहङ्कारी र आत्म-धर्मी, अहमतापूर्ण र आत्म-अभिमानी, लोभी र स्वार्थी हुन्छन्। मलाई लाग्छ सबैभन्दा गम्‍भीर समस्याहरू यिनै हुन्।) (मानिसहरूलाई शैतानले भ्रष्ट तुल्याइसकेपछि, तिनीहरू भौतिक कुराहरू र सम्पत्ति प्राप्त गर्नको लागि कतै रोकिँदैनन्। अनि तिनीहरू परमेश्‍वरप्रति शत्रुवत् बन्छन्, परमेश्‍वरको विरोध गर्छन्, परमेश्‍वरको अवज्ञा गर्छन्, र तिनीहरूले मानिसमा हुनुपर्ने विवेक र तर्क गुमाउँछन्।) तिमीहरूले जे-जे भन्यौ ती आधारभूत रूपमा उही हुन्, केही भिन्‍नता मात्र छन्; तिमीहरूमध्ये कतिले थप विस्तृत विवरणहरू मात्र समावेश गरेका छौ। सारांशमा भन्दा, भ्रष्ट मानवजातिमा मुख्य रूपमा देखिने कुराहरू अहङ्कार, छल, बदख्‍वाइँ, र स्वार्थ हुन्। तैपनि, तिमीहरू सबैले एउटै कुरालाई छुटायौ। मानिसहरूमा कुनै विवेक छैन, तिनीहरूले आफ्नो तर्क गुमाएका छन् र तिनीहरूमा कुनै मानवता छैन—तर तिमीहरूले उल्‍लेख नगरेको एउटा अर्को अत्यन्तै महत्त्वपूर्ण कुरा छ, जुन “धोका” हो। शैतानले भ्रष्ट तुल्याएपछि कुनै पनि मानिसमा हुने यी स्वभावहरूको अन्तिम परिणाम भनेको परमेश्‍वरलाई तिनीहरूले दिने धोका हो। परमेश्‍वरले मानिसहरूलाई जे भन्‍नुभए पनि वा उहाँले तिनीहरूमा जे काम गर्नुभए पनि, तिनीहरूले सत्य हो भनी जानेका कुराहरूलाई तिनीहरू सुन्दैनन्। अर्थात्, तिनीहरूले फेरि कहिल्यै परमेश्‍वरलाई स्वीकार गर्दैनन् र तिनीहरूले उहाँलाई धोका दिन्छन्; यो शैतानले मानिसलाई भ्रष्ट तुल्याउनुको परिणाम हो। मानिसको सबै भ्रष्ट स्वभावमा यही कुरा लागू हुन्छ। मानिसलाई भ्रष्ट तुल्याउनको लागि शैतानले प्रयोग गर्ने तरिकाहरूमध्ये—मानिसहरूले सिक्‍ने ज्ञान, तिनीहरूले जान्‍ने विज्ञान, अन्धविश्‍वास र परम्‍परागत संस्कृति, साथै सामाजिक प्रचलनहरू सम्‍बन्धी तिनीहरूको बुझाइमध्ये—धर्मी के हो र अधर्मी के हो सो बताउनको लागि मानिसले प्रयोग गर्ने कुनै तरिका छ? पवित्र के हो र दुष्ट के हो त्यो जान्‍नको लागि मानिसलाई सहयोग गर्नसक्‍ने कुनै कुरा छ? के यी कुराहरूलाई मापन गर्नको लागि कुनै मापदण्डहरू छन्? (छैनन्।) मानिसलाई सहयोग गर्न सक्‍ने कुनै मापदण्ड र कुनै आधार छैन। मानिसहरूले “पवित्र” भन्‍ने शब्‍दलाई जान्‍न सके पनि, पवित्र के हो भनेर साँचो रूपमा जान्‍ने कोही पनि छैन। त्यसकारण, शैतानले मानिसमा ल्याउने यी कुराहरूले के तिनीहरूलाई सत्य जान्‍न सहयोग गर्छन्? के तिनले मानिसलाई अझै बढी मानवताको साथमा जिउन सहयोग गर्न सक्छन्? के तिनले मानिसलाई त्यस्तो तरिकाले जिउन सहयोग गर्छन् जसमा तिनीहरूले परमेश्‍वरलाई अझै बढी आराधना गर्न सक्छन्? (सक्दैनन्।) स्पष्टै छ, तिनले मानिसलाई परमेश्‍वरको आराधना गर्न वा सत्यतालाई बुझ्‍न सहयोग गर्न सक्दैनन्, न त तिनले मानिसलाई पवित्रता के हो र दुष्टता के हो सो जान्‍न नै सहयोग गर्न सक्छन्। यसको विपरीत, परमेश्‍वरबाट झन्-झन् टाढा बरालिँदै मानिसहरू झन्-झन् नीच बन्छन्। यही कारणले गर्दा शैतान दुष्ट छ भनी हामी भन्छौं। शैतानका यति धेरै दुष्ट गुणहरू विश्‍लेषण गरिसकेपछि, चाहे यो त्यसको गुणमा होस् वा त्यसको सार सम्‍बन्धी तिमीहरूको बुझाइमा होस्, के तिमीहरूले शैतानमा पवित्रताको कुनै सार देखेका छौ? (देखेका छैनौँ।) यति कुरा निश्‍चित छ। त्यसो भए, शैतानको सारको कुनै पक्ष परमेश्‍वरको जस्तो रहेको तिमीहरूले देखेका छौ? (देखेका छैनौं।) शैतानको कुनै अभिव्यक्ति परमेश्‍वरको जस्तो रहेको तिमीहरूले देखेका छौ? (देखेका छैनौँ।) त्यसो भए, म तिमीहरूलाई सोध्‍न चाहन्छु: तिमीहरूका आफ्‍नै शब्‍दहरू प्रयोग गरेर भन्दा, परमेश्‍वरको पवित्रता वास्तवमा के हो त? सर्वप्रथम, के अर्थमा “परमेश्‍वरको पवित्रता” भन्‍ने शब्‍दहरूलाई बोलिन्छ? के ती परमेश्‍वरको सारको सम्‍बन्धमा बोलिन्छ? वा के तिनलाई उहाँको स्वभावको कुनै पक्षको सम्‍बन्धमा बोलिन्छ? (तिनलाई परमेश्‍वरको सारको सम्‍बन्धमा बोलिन्छ।) हामीले इच्‍छा गरेको विषयमा पहुँच प्राप्त गर्ने आधारलाई हामीले स्पष्ट रूपमा पहिचान गर्नैपर्छ। यी शब्‍दहरूलाई परमेश्‍वरको सारको सम्‍बन्धमा बोलिन्छ। सर्वप्रथम, हामीले शैतानको दुष्टतालाई परमेश्‍वरको सारको प्रतिभारको रूपमा प्रयोग गरेका छौँ, त्यसकारण के तिमीहरूले परमेश्‍वरमा शैतानको कुनै सार देखेका छौ? मानवजातिको कुनै सारलाई देखेका छौ? (छैन, हामीले देखेका छैनौँ। परमेश्‍वर अहङ्कारी, स्वार्थी हुनुहुन्‍न र उहाँले धोका दिनुहुन्‍न, र यसबाट हामी परमेश्‍वरको पवित्र सार प्रकट भएको देख्छौँ।) के यसमा थप्‍नुपर्ने केही छ? (परमेश्‍वरमा शैतानको भ्रष्ट स्वभावको कुनै छाप छैन। शैतानसँग जे छ त्यो पूर्ण रूपमा नकारात्मक हो, तर परमेश्‍वरसँग जे छ त्यो सकारात्मकबाहेक केही पनि होइन। हामी देख्न सक्छौँ कि हामी सानो हुँदाको समयदेखि हाम्रो जीवनभरि र आजको दिनसम्‍मै विशेष गरी हामी अन्योलमा परेर आफ्‍नो बाटो बिराएको बेलामा हामीमाथि नजर लगाउँदै र हामीलाई सुरक्षा दिँदै, परमेश्‍वर सधैँ हाम्रो साथमा हुनुभएको छ। परमेश्‍वरमा कुनै छल, कुनै धोका छैन। उहाँले स्पष्ट रूपमा र सरल रूपमा बोल्‍नुहुन्छ, र यो पनि परमेश्‍वरको साँचो सार नै हो।) एकदम राम्रो! (हामी शैतानको कुनै पनि भ्रष्ट स्वभाव परमेश्‍वरमा देख्‍न सक्दैनौँ, उहाँमा कुनै छल-कपट, कुनै घमण्ड छैन, उहाँले कुनै रित्तो प्रतिज्ञाहरू गर्नुहुन्‍न, र उहाँमा कुनै धोका छैन। मानिसले विश्‍वास गर्न सक्‍ने परमेश्‍वर मात्रै हुनुहुन्छ। परमेश्‍वर विश्‍वासयोग्य र इमानदार हुनुहुन्छ। परमेश्‍वरको कार्यबाट हामी के देख्छौँ भने, परमेश्‍वरले मानिसहरूलाई इमानदार बन्‍न भन्‍नुहुन्छ, तिनीहरूलाई बुद्धि दिनुहुन्छ, तिनीहरूलाई दुष्टताबाट असललाई छुट्याउन सक्षम तुल्याउनुहुन्छ र विभिन्‍न मानिसहरू, घटना, र काम-कुराहरूलाई छुट्याउने क्षमता दिनुहुन्छ। यसमा हामी परमेश्‍वरको पवित्रतालाई देख्‍न सक्छौँ।) के तिमीहरूले सबै कुरा समाप्त गर्‍यौ? के तिमीहरूले जे भनेका छौ त्यसप्रति तिमीहरू सन्तुष्ट छौ? वास्तवमा परमेश्‍वरको कति धेरै बुझाइ तिमीहरूको हृदयमा छ? र परमेश्‍वरको पवित्रतालाई तिमीहरू कति हदसम्‍म बुझ्छौ? मलाई थाहा छ, तिमीहरू प्रत्येकको हृदयमा कुनै न कुनै स्तरको अनुभवात्मक बुझाइ छ, किनभने हरेक व्यक्तिले परमेश्‍वरले तिनीहरूमा गर्नुहुने कामलाई महसुस गर्न सक्छन् र, फरक-फरक हदमा, तिनीहरूले परमेश्‍वरबाट धेरै कुराहरू प्राप्त गर्छन्: अनुग्रह र आशिष्, अन्तर्दृष्टि र ज्योति र परमेश्‍वरको न्याय र सजाय, र यी कुराहरूको कारणले गर्दा, मानिसले परमेश्‍वरको सारको केही सरल बुझाइ प्राप्त गर्छ।

आज हामीले छलफल गरिरहेको परमेश्‍वरको पवित्रता धेरैजसो मानिसहरूका लागि अनौठो देखिन सक्छ, यसको बाबजुद पनि, अहिले हामीले यो विषयलाई सुरु गरेका छौँ, र तिमीहरू अगाडिको बाटो हिँड्ने क्रममा तिमीहरूले यसबारे गहन बुझाइ प्राप्त गर्नेछौ। यसको लागि तिमीहरूले आफ्‍नै अनुभवमा क्रमिक रूपमा अनुभूति गर्न र बुझ्‍न आवश्यक हुन्छ। अहिलेको लागि, परमेश्‍वरको सार सम्‍बन्धी बुझाइमा केन्द्रित-तिमीहरूको दृष्टिकोणको लागि सिक्‍न, निश्‍चित गर्न, महसुस गर्न र अनुभव गर्नको लागि धेरै समय अवधि लाग्छ, अनि यो कुरा एक दिन तिमीहरूले तिमीहरूको हृदयको अन्तस्करणबाट “परमेश्‍वरको पवित्रता” भनेको परमेश्‍वरको सार त्रुटिहीन छ, परमेश्‍वरको प्रेम निस्स्वार्थ छ, परमेश्‍वरले मानिसलाई प्रदान गर्नुहुने सबै निस्स्वार्थ छ भन्‍ने नजानुञ्जेल हुनेछ, र परमेश्‍वरको पवित्रता निष्खोट र दोषरहित छ भन्‍ने तिमीहरूले जान्‍न पुग्‍नेछौ। परमेश्‍वरको सारका यी पक्षहरू आफ्‍नो प्रतिष्ठालाई प्रदर्शन गर्नको लागि उहाँले प्रयोग गर्नुहुने शब्‍दहरू मात्रै होइनन्, बरु हरेक व्यक्तिलाई व्यवहार गर्नको लागि परमेश्‍वरले आफ्‍नो सारको इमानदारीपूर्वक प्रयोग गर्नुहुन्छ। अर्को शब्‍दमा भन्दा, परमेश्‍वरको सार रित्तो छैन, न त यो सूत्रात्मक वा सैद्धान्तिक नै छ, र यो ज्ञानको प्रकार पनि अवश्य नै होइन। यो मानिसको लागि शिक्षाको प्रकार होइन; बरु यो परमेश्‍वरका आफ्नै कार्यहरूको साँचो प्रकाश र परमेश्‍वरसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यसको प्रकटित सार हो। मानिसले यो सारलाई जान्‍नु र बुझ्‍नुपर्छ, किनभने परमेश्‍वरले गर्नुहुने सबै कुरा र उहाँले भन्‍नुहुने हरेक वचन हरेक व्यक्तिको लागि अत्यन्तै मूल्यवान् र महत्त्वपूर्ण छ। जब तैँले परमेश्‍वरको पवित्रतालाई बुझ्‍न पुग्छस्, तब तैँले परमेश्‍वरमा वास्तवमा नै विश्‍वास गर्न सक्छस्; जब तैँले परमेश्‍वरको पवित्रतालाई बुझ्‍न पुग्छस्, तब “परमेश्‍वर स्वयम् अद्वितीय” भन्‍ने शब्‍दहरूको साँचो अर्थलाई तैँले वास्तवमा नै महसुस गर्न सक्छस्। यस बाहेक तैँले हिँड्न छनौट गर्न सक्‍ने अरू मार्गहरू पनि छन् भनेर सोच्दै, तैँले उप्रान्त कल्‍पना गर्नेछैनस्, र उप्रान्त तँ तेरो लागि परमेश्‍वरले बन्दोबस्त गर्नुभएको सबै कुरालाई धोका दिन इच्‍छुक हुनेछैनस्। किनभने परमेश्‍वरको सार पवित्र छ, जसको अर्थ परमेश्‍वरद्वारा मात्रै तँ जीवनमा ज्योतिको धार्मिकताको मार्गमा हिँड्न सक्‍छस्; परमेश्‍वरद्वारा मात्रै तैँले जीवनको अर्थलाई जान्‍न सक्छस्; परमेश्‍वरद्वारा मात्रै तँ साँचो मानवतामा जिउन र सत्यतालाई प्राप्त गर्ने र जान्‍ने दुवै गर्न सक्छस्। परमेश्‍वरद्वारा मात्रै तैँले सत्यताबाट जीवन प्राप्त गर्न सक्छस्। परमेश्‍वर स्वयम्ले मात्रै तँलाई दुष्टताबाट अलग बस्‍न र आफैलाई शैतानको हानि र नियन्त्रणबाट छुटकारा दिन सहायता गर्न सक्‍नुहुन्छ। तैँले उप्रान्त कष्ट भोग नगरोस् भनेर कष्टको समुद्रबाट तँलाई परमेश्‍वर बाहेक कसैले पनि र कुनै पनि कुराले मुक्ति दिन सक्दैन। यसलाई परमेश्‍वरको सारले नै निर्धारित गरेको हुन्छ। परमेश्‍वर स्वयम्‌ले मात्रै त्यति निस्स्वार्थ रूपमा तँलाई मुक्ति दिनुहुन्छ; तेरो भविष्यको लागि, तेरो गन्तव्यको लागि र तेरो जीवनको लागि परमेश्‍वर मात्रै आखिरमा जिम्‍मेवार हुनुहुन्छ, र उहाँले सबै कुरा तेरो लागि मिलाउनुहुन्छ। यो सृष्टि गरिएको वा सृष्टि नगरिएको कुनै पनि कुराले हासिल गर्न नसक्‍ने कुरा हो। सृष्टि गरिएको वा सृष्टि नगरिएको कुनै पनि कुरामा परमेश्‍वरको सारजस्तो सार नहुने हुँदा, तँलाई मुक्ति दिने वा तँलाई अगुवाइ गर्ने क्षमता कुनै पनि व्यक्ति वा थोकमा हुँदैन। मानिसको लागि परमेश्‍वरको सारको महत्त्व यही नै हो। सायद मैले भनेका यी वचनहरूले सिद्धान्तको हिसाबले अलि-अलि सहयोग गर्न सक्छ भन्‍ने तिमीहरूलाई लाग्‍न सक्छ। तर यदि तँ सत्यताको खोजी गर्छस् भने, यदि तँ सत्यतालाई प्रेम गर्छस् भने, तैँले अनुभव गर्नेछस् कि यी वचनहरूले तेरो गन्तव्य परिवर्तन गर्ने मात्रै होइन बरु त्यसभन्दा पनि बढी तिनले तँकहाँ मानव जीवनको सही मार्ग ल्याइदिनेछन्। तैँले यो कुरा बुझ्छस् नि, होइन र? त्यसो भए, के परमेश्‍वरको सारलाई जान्‍नको लागि तिमीहरूमा अहिले केही रुचि छ? (छ।) तिमीहरूलाई रुचि छ भन्‍ने जान्‍न पाउँदा खुशी लाग्यो। आजको लागि, परमेश्‍वरको पवित्रतालाई जान्‍ने सम्‍बन्धी विषयको हाम्रो सङ्गतिलाई हामी यहीँ समाप्त गर्नेछौँ।

आजको हाम्रो भेलाको सुरुमा तिमीहरूले गरेको कुनै कुराको बारेमा म कुरा गर्न चाहन्छु, जसले मलाई आश्‍चर्यमा पार्‍यो। तिमीहरूमध्ये कतिले सायद कृतज्ञताको अनुभूतिलाई जगेर्ना गरिरहेका थियौ, सायद तिमीहरूले कृतज्ञताको अनुभव गरिरहेका थियौ, त्यसकारण तिमीहरूको भावनाले सम्‍बन्धित कार्य पैदा गर्‍यो। तिमीहरूले जे गर्‍यौ, त्यो भर्त्सनाको आवश्यकता पर्ने कुरा थिएन; यो सही पनि होइन गलत पनि होइन। तर म तिमीहरूले केही कुरा बुझेको हेर्न चाहन्छु। तिमीहरूले के बुझेको म चाहन्छु त? पहिलो, तिमीहरूले भर्खरै के गर्‍यौ त्यसको बारेमा म तिमीहरूलाई सोध्‍न चाहन्छु। के यो लम्पसार पर्नु वा आराधनाको लागि घुँडा टेक्‍नु थियो? कसैले मलाई बताउन सक्छ? (यो लम्पसार पर्नु नै थियो भन्‍ने हामीलाई विश्‍वास छ।) यो लम्पसार पर्नु नै थियो भन्‍ने तिमीहरू विश्‍वास गर्छौ, त्यसो भए लम्पसार पर्नुको अर्थ के हो? (आराधना गर्नु।) त्यसो भए, आराधना गर्नको लागि घुँडा टेक्‍नु भनेको के हो? मैले यसभन्दा पहिले यसको बारेमा तिमीहरूसँग सङ्गति गरेको छैन, तर आज यसो गर्नु आवश्यक छ भन्‍ने मलाई लाग्छ। के तिमीहरूको सामान्य भेलामा तिमीहरू लम्पसार पर्छौ? (पर्दैनौँ।) जब तिमीहरू प्रार्थना गर्छौ के तिमीहरू लम्पसार पर्छौ? (पर्छौं।) के तिमीहरू हरेक पटक प्रार्थना गर्दा अवस्थाले दिएअनुसार लम्पसार पर्छौ? (पर्छौं।) त्यो राम्रो हो। तर आज म तिमीहरूले के बुझ भन्‍ने चाहन्छु भने परमेश्‍वरले दुई प्रकारका मानिसहरूको घुँडा टेकाइलाई मात्रै स्वीकार गर्नुहुन्छ। हामीले बाइबल वा कुनै पनि आत्मिक व्यक्तित्वको कार्य र आचरणको सहारा लिनु पर्दैन। बरु, यहाँ र अहिले, म तिमीहरूलाई साँचो कुरा बताउनेछु। पहिलो, लम्पसार पर्नु र आराधना गर्नको लागि घुँडा टेक्‍नु एउटै कुरा होइन। लम्पसार पर्नेहरूको घुँडा टेकाइलाई परमेश्‍वरले किन स्वीकार गर्नुहुन्छ? किनभने परमेश्‍वरले कसैलाई उहाँकहाँ बोलाउनुहुन्छ र त्यस व्यक्तिलाई परमेश्‍वरको कार्यभार स्वीकार गर्न लगाउनुहुन्छ, त्यसकारण परमेश्‍वरले उसलाई उहाँको सामुन्ने लम्पसार हुन दिनुहुनेछ। यो पहिलो प्रकारको व्यक्ति हो। दोस्रो प्रकार भनेको आराधना गर्नलाई परमेश्‍वरको डर मान्‍ने र दुष्टताबाट अलग बस्‍ने कुनै व्यक्तिको घुँडा टेकाइ हो। यी दुई प्रकारका मानिसहरू मात्रै छन्। त्यसकारण तिमीहरू कुन प्रकारमा पर्छौ? के तिमीहरू भन्‍न सक्छौ? सत्यता यही हो, यद्यपि यसले तिमीहरूको भावनामा अलि चोट पुर्‍याउन सक्छ। प्रार्थनाको बेला मानिसहरूको घुँडा टेकाइको बारेमा केही भन्‍नु छैन—यो उचित छ र हुनु नै पर्छ, किनभने जब मानिसहरूले प्रार्थना गर्छन्, यो मुख्यतया कुनै कुराको लागि प्रार्थना गर्ने, तिनीहरूको हृदय परमेश्‍वरको सामुन्ने खोल्‍ने र उहाँको आमने-सामने हुने कार्य हो। यो परमेश्‍वरसँगको हृदयदेखि हृदयसँगको कुराकानी र बातचित हो। तिमीहरूले घुँडा टेकेर आराधना गर्नु भनेको केवल औपचारिकता मात्रै हुनुहुन्न। तिमीहरूले आज जे गरेका छौ त्यसको लागि तिमीहरूलाई मैले धिक्‍कार भन्‍न खोजेको होइन। म तिमीहरूलाई यसको बारेमा स्पष्ट पार्न मात्रै चाहन्छु ताकि तिमीहरूले यो सिद्धान्त बुझ्‍न सक—तिमीहरूलाई यो थाहा छ, होइन र? (हो, हामीलाई थाहा छ।) यो फेरि कहिल्यै नहोस् भनेर म तिमीहरूलाई यो बताइरहेको छु। त्यसो भए, के परमेश्‍वरको अघि लम्पसार पर्ने र घुँडा टेक्‍ने कुनै अवसर मानिसहरूले पाउँछन्? यो अवसर कहिल्यै हुनेछैन भन्‍ने होइन। ढिलो-चाँडो त्यो दिन आउनेछ, तर त्यो समय अहिले होइन। के तिमीहरू देख्छौ? के यसले तिमीहरूलाई रिस उठाउँछ? (उठाउँदैन।) त्यो राम्रो हो। सायद यी शब्‍दहरूले तिमीहरूलाई उत्प्रेरित वा उत्साहित गर्नेछ, ताकि तिमीहरूले तिमीहरूको हृदयमा परमेश्‍वर र मानिसबीचको हालको अवस्था र परमेश्‍वर र मानिसबीचमा कस्तो प्रकारको सम्‍बन्ध छ त्यसलाई जान्‍न सक। हामीले हालै यसको बारेमा कुरा गरेर थप छलफल गरेको भए तापनि, परमेश्‍वरसम्‍बन्धी मानिसको बुझाइ पर्याप्ततामा पुग्‍न निकै बाँकी छ। परमेश्‍वरलाई बुझ्‍न खोज्‍ने यो मार्गमा मानिसले अझै धेरै हिँड्न बाँकी नै छ। तिमीहरूलाई आतुरीको रूपमा यसो गर्न लगाउनु, वा यस प्रकारका आकांक्षा वा भावनाहरूलाई हतारमा व्यक्त गर्नु मेरो अभिप्राय होइन। तिमीहरूले आज जे गर्‍यौ त्यसले तिमीहरूको साँचो भावनाहरूलाई प्रकट र व्यक्त गर्न सक्छ, र म त्यसको अनुभूति गर्छु। त्यसकारण जब तिमीहरू यसो गरिरहेका थियौ, म उठेर तिमीहरूलाई शुभकामना दिन चाहन्थेँ, किनभने तिमीहरू सबै ठीक होओ भन्‍ने म चाहन्छु। त्यसकारण, मेरा हरेक वचन र हरेक कार्यमा, म तिमीहरूलाई सहयोग गर्न, तिमीहरूलाई मार्गनिर्देशित गर्न मैले सक्‍नेजति गर्छु, ताकि तिमीहरूले सबै कुराको बारेमा सही बुझाइ र सही दृष्टिकोण प्राप्त गर्न सक। तिमीहरू यसलाई बुझ्‍न सक्छौ, सक्दैनौ त? (सक्छौँ।) त्यो राम्रो हो। मानिसहरूमा परमेश्‍वरका विभिन्‍न स्वभावहरू, परमेश्‍वरसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यो र परमेश्‍वरले गर्नुहुने कामका पक्षहरूको बारेमा केही बुझाइ भए तापनि, यस्तो धेरैजसो बुझाइ पृष्ठमा भएका शब्‍दहरूलाई पढ्ने वा तिनलाई सिद्धान्तमा बुझ्‍ने वा तिनको बारेमा विचार गर्नेभन्दा अगाडि जाँदैन। मानिसहरूमा वास्तविक अनुभवबाट आउने यथार्थ बुझाइ र दृष्टिकोणको कमी छ। मानिसहरूको हृदयलाई बिउँझाउनको लागि परमेश्‍वरले विभिन्‍न तरिकाहरूको प्रयोग गर्नुहुने भए तापनि, यसलाई पूरा गर्न सक्‍नुभन्दा पहिले हिँड्नुपर्ने अझै निकै लामो बाटो छ। म कसैले पनि परमेश्‍वरले तिनीहरूलाई चीसोमा छोडेर जानुभएको, परमेश्‍वरले तिनीहरूलाई त्याग्‍नुभएको वा तिनीहरूलाई आफ्‍नो पिठ्यूँ फर्काइदिनुभएको जस्तो अनुभव गरेको हेर्न चाहन्न। म के मात्र हेर्न चाहन्छु भने सबै जना सत्यताको खोजी गर्ने र परमेश्‍वरलाई बुझ्‍न खोज्‍ने मार्गमा कुनै पनि सन्देह वा भारविना नै अटल संकल्पको साथ साहसिक रूपमा अघि बढेका हुन्। तैँले जस्तोसुकै गल्तीहरू गरेको भए तापनि, तँ बरालिएर जति टाढा गएको भए पनि वा तैँले जति गम्भीर अपराध गरेको भए पनि, परमेश्‍वरलाई बुझ्‍ने तेरो खोजीमा तिनलाई तैँले बोक्‍ने भारी वा भारीमाथि सुपारी बन्‍न नदे। निरन्तर अघि बढिराख्। सधैँ नै, परमेश्‍वरले मानिसको मुक्ति आफ्‍नो हृदयमा राख्‍नुहुन्छ; यो कहिल्यै परिवर्तन हुँदैन। परमेश्‍वरको सारको सबैभन्दा बहुमूल्‍य भाग यही हो। के अहिले तिमीहरू अलि राम्रो महसुस गर्छौ? (गर्छौं।) मलाई आशा छ, सबै कुराहरूमा र मैले बोलेका वचनहरूमा तिमीहरूले सही तरिका अपनाउन सक्नेछौ। त्यसो भए, यो सङ्गतिलाई यहीँ टुङ्ग्याऊँ। बिदा!

जनवरी ११, २०१४

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्