परमेश्वर स्वयम् अद्वितीय ५
परमेश्वरको पवित्रता (२) - भाग तीन
मानिसलाई भ्रष्ट तुल्याउनको लागि शैतानले यी विभिन्न विधिहरूको प्रयोग गर्छ। मानिससँग ज्ञान र केही वैज्ञानिक सिद्धान्तहरूको बुझाइ छ, मानिस परम्परागत संस्कृतिको प्रभावमा जिउँछ, अनि प्रत्येक मानिस परम्परागत संस्कृतिको उत्तराधिकारी र हस्तान्तरणकर्ता हो। मानिस शैतानले उसलाई दिएको परम्परागत संस्कृतिलाई जारी राख्न बाध्य छ, र शैतानले मानवजातिलाई प्रदान गरेका सामाजिक प्रचलनहरूलाई पनि मानिसले अनुसरण गर्छ। शैतानले गर्ने सबै कुरा सधैँ अनुसरण गर्ने, त्यसको दुष्टता, धोका, बदख्वाइँ र अहङ्कारलाई स्वीकार गर्ने हुँदा मानिस शैतानबाट अलग गर्न नसकिने छ। शैतानका यी स्वभावहरूको वशमा परिसकेपछि, मानिस यस भ्रष्ट मानवजातिको बीचमा खुशीसाथ कि दुःखद रूपमा जिइरहेको छ? (दुःखद रूपमा।) तिमीहरू किन त्यसो भन्दैछौ? (मानिस यी भ्रष्ट कुराहरूद्वारा बाँधिएको र नियन्त्रित गरिएको हुनाले, ऊ पापमा जिउँछ र कठिन संघर्षले उसलाई पुरेको छ।) कतिपय मानिसहरू अत्यन्तै बुद्धिजीवी देखिन चश्मा लगाउँछन्; तिनीहरू वाक्पटुता र तर्कको साथ अत्यन्तै सम्मानले बोल्न सक्छन्, र तिनीहरू धेरै कुराहरूबाट गुज्रेर आएका हुनाले, तिनीहरू अत्यन्तै अनुभवी र परिष्कृत हुन सक्छन्। तिनीहरूले ठूला-साना कुराहरूका बारेमा विस्तृत रूपमा बोल्न सक्छन्; तिनीहरूले विभिन्न कुराहरूको विशुद्धता र तर्कलाई पनि मूल्याङ्कन गर्न सक्छन्। कतिले यी मानिसहरूको बानीबेहोरा र स्वरूपलाई, साथै तिनीहरूको चरित्र, मानवता, आनीबानी, र आदि इत्यादि कुराहरूलाई हेर्न सक्छन्, र तिनमा कुनै त्रुटि भेट्टाउँदैनन्। त्यस्ता मानिसहरूले विशेष रूपमा हालको सामाजिक प्रचलनहरूलाई अपनाउन सक्छन्। त्यस्ता मानिसहरू वृद्ध भए तापनि, तिनीहरू समयका प्रचलनहरूबाट कहिल्यै पछि पर्दैनन् र ती कुराहरू सिक्नको लागि कहिल्यै पनि अत्यन्तै वृद्ध हुँदैनन्। झट्ट हेर्दा, त्यस्तो व्यक्तिमा कसैले पनि गल्ती भेट्टाउन सक्दैन, तैपनि तिनीहरूलाई तिनीहरूको भित्री सारसम्मै शैतानले अत्यन्तै धेरै र पूर्ण रूपमा भ्रष्ट तुल्याएको हुन्छ। यी मानिसहरूमा कुनै बाहिरी त्रुटि भेट्टाउन नसकिए पनि, सतहमा तिनीहरू भलादमी, उत्कृष्ट भए पनि, र तिनीहरूमा ज्ञान र निश्चित नैतिकता भए पनि, र तिनीहरूसँग निष्ठा भए पनि, र ज्ञानको हिसाबमा तिनीहरू जवान मानिसहरूभन्दा कुनै पनि हालतमा कमजोर नभए पनि, तिनीहरूको प्रकृति र सारको हिसाबमा, यस्ता मानिसहरू शैतानको पूर्ण र जीवित नमुना हुन्छन्; तिनीहरू शैतानको स्वरूपसँग अत्यन्तै मिल्ने हुन्छन्। शैतानले मानिसलाई भ्रष्ट तुल्याएर पाउने “फल” यही नै हो। मैले जे भनेँ त्यसले तिमीहरूलाई चोट पुर्याउन सक्छ, तर यो सबै साँचो हो। मानिसले अध्ययन गर्ने ज्ञान, उसले बुझ्ने विज्ञान, र सामाजिक प्रचलनसँग मिल्नको लागि उसले छनौट गर्ने माध्यमहरू सबै नै मानिसलाई भ्रष्ट तुल्याउने शैतानका औजारहरू हुन्, यसमा कुनै अपवाद छैन। यो पूर्णतया सत्य छ। त्यसकारण, मानिस शैतानले पूर्णतया भ्रष्ट तुल्याएको स्वभावभित्र जिउँछ, र मानिससँग परमेश्वरको पवित्रता के हो वा परमेश्वरको सार के हो सो जान्ने कुनै मार्ग छैन। किनभने सतहमा हेर्दा शैतानले मानिसलाई भ्रष्ट तुल्याउने मार्गहरूमा कुनै गल्ती भेट्टाउन सकिँदैन; कसैको बानीबेहोरालाई हेरेर कुनै कुरा गलत छ भनेर भन्न सकिँदैन। हरेक व्यक्तिले सामान्य रूपमा नै आफ्नो काम गर्छन् र सामान्य जीवन जिउँछन्; तिनीहरूले सामान्य रूपमै पुस्तक-पुस्तिका र अखबार पढ्छन्, तिनीहरूले सामान्य रूपमै अध्ययन गर्छन् र बोल्छन्। कतिपय मानिसहरूले केही नीतिशास्त्र सिकेका हुन्छन् अनि बोल्नमा सिपालु हुन्छन्, समझदार र मित्रवत् हुन्छन्, सहयोगी र परोपकारी हुन्छन्, र सानातिना कुरामा झैझगडा गर्ने वा मानिसहरूबाट फाइदा लिने गर्दैनन्। तैपनि, तिनीहरूको भ्रष्ट शैतानी स्वभावले तिनीहरूभित्र गहन रूपमा जरा गाडेको हुन्छ र बाहिरी प्रयासमा भर परेर यो सारलाई परिवर्तन गर्न सकिँदैन। यो सारको कारणले गर्दा, मानिसले परमेश्वरको पवित्रतालाई जान्न सक्दैन, र परमेश्वरको पवित्रताको सारलाई मानिसको निम्ति खुलासा गरिएको भए पनि मानिसले यसलाई गम्भीर रूपमा लिँदैन। किनभने विभिन्न माध्यमहरूद्वारा शैतानले मानिसको भावना, विचार, दृष्टिकोण र सोचाइहरूलाई नियन्त्रण गरिसकेको छ। यो नियन्त्रण र भ्रष्टता अस्थायी वा कहिलेकहीँ हुने कुरा होइन, बरु यो त जहाँसुकै र जुनसुकै समयमा हुने कुरा हो। तसर्थ, तीन वा चार, वा पाँच वा छ वर्षदेखि परमेश्वरलाई विश्वास गर्दै आएका धेरै मानिसहरूले तिनीहरूमा शैतानले हालिदिएका यी दुष्ट विचार, दृष्टिकोण, तर्क, र सिद्धान्तहरूलाई मूल्यवान् ठान्छन्, र तिनलाई त्याग्न सक्दैनन्। शैतानको प्रकृतिबाट आउने दुष्ट, अहङ्कारी र दुर्भावनापूर्ण कुराहरूलाई मानिसले स्वीकार गरेको हुनाले, मानिसको अन्तर्वैयक्तिक सम्बन्धहरूमा प्रायजसो द्वन्द्व, तर्कवितर्क र बेमेल हुन्छ, जुन शैतानको अहङ्कारी प्रकृतिको परिणामस्वरूप आउँछ। यदि शैतानले मानवजातिलाई सकारात्मक कुराहरू दिएको भए—उदाहरणको लागि, मानिसले स्वीकार गरेको परम्परागत संस्कृतिको कन्फ्युसियसवाद र ताओवाद असल कुराहरू भएका भए—ती कुराहरूलाई स्वीकार गरिसकेपछि उस्तै प्रकारका मानिसहरू एक-अर्कासँग मिलेर बस्नु पर्नेथियो। त्यसो भए, किन उही कुराहरूलाई स्वीकार गर्ने मानिसहरूका बीचमा त्यति ठूलो विभाजन छ त? किन त्यसो भयो त? किनभने यी कुराहरू शैतानबाट आउँछन् अनि शैतानले मानिसहरूका बीचमा विभाजन पैदा गर्छ। शैतानबाट आउने कुराहरू सतहमा हेर्दा जति नै गौरवशाली वा महान् देखिए पनि तिनले मानिसमा र मानिसको जीवनमा अहङ्कार मात्रै ल्याउँछ, र त्यो शैतानको दुष्ट प्रकृतिको धोका बाहेक केही पनि होइन। के यो त्यस्तै हो नि, होइन र? आफैलाई छदमभेषमा लुकाउन सक्ने, प्रचुर ज्ञान भएको वा राम्रो बाल्यकाल बिताएको कुनै पनि व्यक्तिलाई समेत उसको भ्रष्ट शैतानी स्वभावलाई लुकाउन कठिन हुन्छ। भन्नुको अर्थ, यस्तो मानिसले आफैलाई जस्तोसुकै तरिकाले वस्त्र पहिर्याए पनि, तैँले तिनीहरूलाई सन्त ठाने पनि, वा तैँले त्यसलाई सिद्ध छ भन्ने ठाने पनि, वा तैँले तिनीहरू स्वर्गदूत हुन् भन्ने ठाने पनि, तिनीहरू जति शुद्ध छन् भन्ने तैँले ठाने पनि, पर्दापछाडिको तिनीहरूको वास्तविक जीवन कस्तो हुन्छ त? तिनीहरूको स्वभावको प्रकाशमा तैँले कस्तो सार देख्छस्? तैँले शैतानको दुष्ट प्रकृति देख्छस् भन्नेमा कुनै शङ्का छैन। के त्यसो भन्नु स्वीकार्य छ? (छ।) उदाहरणको लागि, मानौँ तिमीहरूले असल व्यक्ति भनी ठानेको तिमीहरूको नजिकको कुनै व्यक्ति होला, सायद तैँले पूजनीय ठान्ने कुनै व्यक्ति होला। तेरो वर्तमान कदद्वारा, तैँले तिनीहरूलाई के ठान्छस्? सबभन्दा पहिले, तैँले यस प्रकारको व्यक्तिमा मानवता छ कि छैन, तिनीहरू इमानदार छन् कि छैनन्, मानिसहरूप्रति तिनीहरूको प्रेम साँचो छ कि छैन, तिनीहरूको बोलीवचन र कार्यले अरूलाई फाइदा र सहयोग पुर्याउँछ कि पुर्याउँदैन भनेर मूल्याङ्कन गर्छस्। (तिनीहरू त्यस्तो छैनन्।) यी मानिसहरूले प्रकट गर्ने तथाकथित दया, प्रेम वा असलपन के हो त? यो सबै झूट, यो सबै देखावटी हो। यो देखावटीपनभित्र एउटा गोप्य दुष्ट उद्देश्य हुन्छ: आफूलाई प्रिय र पूजनीय बनाउनु। के तिमीहरू यसलाई स्पष्ट रूपमा देख्छौ? (देख्छौँ।)
मानिसहरूलाई भ्रष्ट तुल्याउन शैतानले प्रयोग गर्ने विधिहरूले मानवजातिमा के ल्याउँछ? तिनले कुनै सकारात्मक कुरा ल्याउँछ? पहिलो कुरा, के मानिसले असल र खराबको बीचमा भिन्नता छुट्याउन सक्छ? यो संसारमा चाहे कुनै चर्चित वा महान् व्यक्ति होस्, वा कुनै अखबार वा अरू प्रकाशक होस्, के तिनीहरूले कुनै कुरा असल वा खराब, वा सही वा गलत छ भनी मूल्याङ्कन गर्न प्रयोग गर्ने मापदण्डहरू सही छन् भनेर भन्छस्? के घटना र मानिसहरू सम्बन्धी तिनीहरूको लेखाजोखा सही छ? तिनमा सत्यता समावेश छ? के यो संसार, यो मानवजातिले सकारात्मक र नकारात्मक कुराहरूलाई सत्यताको मापदण्डको आधारमा मूल्याङ्कन गर्छ? (गर्दैन।) किन मानिसहरूमा त्यो क्षमता छैन? मानिसहरूले धेरै ज्ञान अध्ययन गरेका छन् र तिनीहरूलाई विज्ञानको बारेमा धेरै थाहा छ, त्यसकारण तिनीहरूमा धेरै क्षमताहरू छन्, छैनन् र? त्यसो भए किन तिनीहरूले सकारात्मक र नकारात्मक कुराहरूको बीचमा भिन्नता छुट्याउन सक्दैनन्? किन यसो हुन्छ? (किनभने मानिसहरूसँग सत्यता छैन; विज्ञान र ज्ञान सत्यता होइनन्।) शैतानले मानवजातिमा ल्याउने सबै कुरा दुष्ट, भ्रष्ट अनि सत्यता, जीवन र मार्गविनाका कुराहरू हुन्। शैतानले मानिसमा ल्याउने दुष्टता र भ्रष्टताको आधारमा, के शैतानसँग प्रेम छ भनेर तैँले भन्न सक्छस्? के मानिसमा प्रेम छ भनेर तैँले भन्न सक्छस्? कतिपय मानिसहरूले यसो भन्न सक्छन्: “तपाईं गलत हुनुहुन्छ; संसारभरि गरिब वा घरबार विहीनलाई सहयोग गर्ने धेरै मानिसहरू छन्। के यिनीहरू असल मानिसहरू होइनन् र? असल कार्य गर्ने परोपकारी संस्थाहरू पनि छन्; के तिनीहरूले गर्ने काम असल होइन र?” त्यसबारेमा तिमीहरू के भन्छौ? मानिसलाई भ्रष्ट तुल्याउनको लागि शैतानले विभिन्न विधि र सिद्धान्तहरूको प्रयोग गर्छ; के मानिसको यो भ्रष्टता एउटा अस्पष्ट अवधारणा हो त? होइन, यो अस्पष्ट छैन। शैतानले पनि केही व्यवहारिक कुराहरू गर्छ, र यसले पनि यो संसार र समाजमा दृष्टिकोण वा सिद्धान्तलाई प्रवर्धन गर्छ। हरेक राजवंश र हरेक कालखण्डमा, त्यसले सिद्धान्तको प्रवर्धन गर्छ र मानिसको मनमस्तिष्कमा विचारहरू घुसाइदिन्छ। यी विचार र सिद्धान्तहरूले बिस्तारै मानिसको हृदयमा जरा गाड्छन्, त्यसपछि तिनीहरू तिनकै आधारमा जिउन थाल्छन्। तिनीहरूले यी कुराहरू अनुरूप जिउन थालेपछि, के तिनीहरू पत्तै नपाई शैतान बन्दैनन् र? के त्यसपछि मानिसहरू शैतानसँग एक बन्दैनन् र? जब मानिसहरू शैतानसँग एक बन्छन्, आखिरमा परमेश्वरप्रति तिनीहरूको आचरण के हुन्छ? के यो परमेश्वरप्रति शैतानको जे आचरण छ त्यही होइन र? यसलाई स्वीकार गर्न कसैले पनि आँट गर्दैन, गर्छ त? कस्तो भयानक कुरो! शैतानको प्रकृति दुष्ट छ भनेर म किन भन्छु त? म विनाआधार यसो भन्दिन; बरु, त्यसले के गरेको छ र त्यसले के प्रकट गरेको छ, ती कुराहरूको आधारमा शैतानको प्रकृतिलाई निर्धारित र विश्लेषण गरिन्छ। यदि मैले शैतान दुष्ट छ भनेर मात्रै भनेको भए, तिमीहरूले के सोच्नेथियौ? तिमीहरूले यो सोच्नेथियौ: “अवश्य नै शैतान दुष्ट छ।” म तँलाई सोध्छु: “शैतानको कुन-कुन पक्षहरू दुष्ट छन् त?” यदि तैँले यसो भनिस् भने: “परमेश्वर विरुद्ध शैतानले गर्ने विरोध दुष्ट छ,” तैँले अझै पनि स्पष्टताको साथ बोलिरहेको हुनेथिइनस्। अब मैले यसरी निश्चित विवरणहरूको बारेमा बताइसकेको हुनाले, के तिमीहरूसँग शैतानको दुष्टताको सारको निश्चित विषयवस्तुको बारेमा बुझाइ छ? (छ।) यदि शैतानको दुष्ट प्रकृतिलाई तिमीहरू स्पष्ट रूपमा देख्न सक्छौ भने, तिमीहरूले तिमीहरूका आफ्नै अवस्थाहरूलाई देख्नेछौ। यी दुई कुराका बीचमा कुनै सम्बन्ध छ? यो तिमीहरूका लागि उपयोगी छ कि छैन? (छ।) जब म परमेश्वरको पवित्रताको सारको बारेमा सङ्गति गर्छु, के मैले शैतानको दुष्ट सारको बारेमा सङ्गति गर्नु आवश्यक हुन्छ त? यसको बारेमा तिमीहरूको विचार के छ? (हो, यो आवश्यक छ।) किन? (शैतानको दुष्टताले परमेश्वरको पवित्रतालाई स्पष्ट देखिने तुल्याउँछ।) के यो त्यस्तै हो त? शैतानको दुष्टताविना मानिसहरूले परमेश्वर पवित्र हुनुहुन्छ भन्ने थाहा पाउनेथिएन भन्ने अर्थमा यो आंशिक रूपमा सही छ; यसो भन्नु सही छ। तैपनि, यदि तैँले परमेश्वरको पवित्रता शैतानको दुष्टताको विपरीत भएको कारण मात्रै अस्तित्वमा छ भनेर भन्छस् भने, के यो सही हुन्छ त? यो विरोधाभासपूर्ण सोचाइ गलत छ। परमेश्वरको पवित्रता परमेश्वरको अन्तर्निहित सार हो; परमेश्वरले यसलाई उहाँका कार्यहरूद्वारा प्रकट गर्नुभए पनि, यो परमेश्वरको सारको प्राकृतिक अभिव्यक्ति हो र यो परमेश्वरको अन्तर्निहित सार नै हो; मानिसले यसलाई देख्न नसके पनि यो सधैँ अस्तित्वमा छ र परमेश्वरमा यो अन्तर्निहित र स्वाभाविक रूपमा छ। यस्तो हुन्छ किनभने मानिस शैतानको भ्रष्ट स्वभावको बीचमा र शैतानको प्रभावमा जिउँछ, अनि तिनीहरूलाई पवित्रताको बारेमा थाहा छैन, परमेश्वरको पवित्रताको निश्चित विषयवस्तुको बारेमा थाहा हुनु त परै जाओस्। त्यसकारण, के हामीले सुरुमा शैतानको दुष्ट सारको बारेमा सङ्गति गर्नु आवश्यक छ त? (हो, छ।) कतिपय मानिसहरूले केही शङ्का व्यक्त गर्न सक्छन्: “तपाईंले परमेश्वर स्वयम्को बारेमा सङ्गति गर्दै हुनुहुन्छ, त्यसकारण तपाईं किन सधैँ शैतानले कसरी मानिसहरूलाई भ्रष्ट तुल्याउँछ र कसरी शैतानको स्वभाव भ्रष्ट छ भनेर कुरा गरिरहनुहुन्छ?” अब तिमीहरूले यी शङ्काहरूलाई रोकिसकेका छौ, छैनौ त? जब मानिसहरूसँग शैतानको दुष्टताको बारेमा बोध हुन्छ र जब तिनीहरूसँग यसको बारेमा सटीक परिभाषा हुन्छ, जब मानिसहरूले दुष्टताको निश्चित विषयवस्तु र प्रकटीकरण, दुष्टताको स्रोत र सारलाई स्पष्ट रूपमा देख्न सक्छन्, तब मात्रै परमेश्वरको पवित्रतासम्बन्धी छलफलमार्फत मानिसहरूले परमेश्वरको पवित्रता के हो, पवित्रता आफै के हो भनेर महसुस गर्न वा पहिचान गर्न सक्छन्। यदि मैले शैतानको दुष्टताको बारेमा छलफल गरिन भने, मानिसहरूले समाजमा र मानिसहरूका बीचमा गर्ने कुराहरूले—वा यो संसारमा अस्तित्वमा रहेका निश्चित कुराहरूले—पवित्रतासँग केही सम्बन्ध राख्छ भनेर कतिपय मानिसहरूले गलत रूपमा विश्वास गर्नेछन्। के यो गलत दृष्टिकोण होइन र? (हो, यो गलत हो।)
अब मैले शैतानको सारको बारेमा यसरी सङ्गति गरेको हुनाले, विगत केही वर्षहरूमा तिमीहरूले प्राप्त गरेको अनुभवहरूद्वारा, परमेश्वरको वचन अध्ययनद्वारा र उहाँको कार्यको अनुभवद्वारा तिमीहरूले परमेश्वरको पवित्रताको बारेमा के-कस्तो बुझाइ प्राप्त गरेका छौ? यसको बारेमा अघि आइज र बोल्। तैँले सुन्दा राम्रो सुनिने शब्दहरूको प्रयोग गर्नु पर्दैन, तर तँ तेरा आफ्नै अनुभवहरूबाट बोल्। के परमेश्वरको पवित्रतामा उहाँको प्रेम मात्रै समावेश हुन्छ? के हामीले पवित्रता भनेर व्याख्या गर्ने परमेश्वरको प्रेम मात्रै हो? त्यो त अत्यन्तै एकतर्फी हुनेथियो, होइन र? के परमेश्वरको प्रेम बाहेक, परमेश्वरको सारका अन्य पक्षहरू छन्? के तिमीहरूले तिनलाई देखेका छौ? (देखेका छौँ। परमेश्वरले उत्सव र चाडपर्वहरू, रीतिरिवाज र अन्धविश्वासहरूलाई तिरस्कार गर्नुहुन्छ; यो पनि परमेश्वरको पवित्रता नै हो।) परमेश्वर पवित्र हुनुहुन्छ, त्यसकारण उहाँले यी कुराहरूलाई तिरस्कार गर्नुहुन्छ, के तिमीहरूले यही भन्न खोजेको होइन? जब यसको बारेमा कुरा आउँछ, तब परमेश्वरको पवित्रता भनेको के हो? के परमेश्वरको पवित्रतामा ठोस विषयवस्तु छैन, केवल घृणा मात्रै छ भन्ने हो? के तिमीहरूले “परमेश्वरले यी दुष्ट कुराहरूलाई घृणा गर्नुहुने हुँदा, परमेश्वर पवित्र हुनुहुन्छ भनी भन्न सकिन्छ” भनेर आफ्नो मनमा सोचिरहेका छौ? के यो अनुमान होइन र? के यो अनुमान र मूल्याङ्कनको एउटा रूप होइन र? जब परमेश्वरको सार सम्बन्धी हाम्रो बुझाइको कुरा आउँछ तब हामी जोगिनैपर्ने सबैभन्दा ठूलो गलत कदम के हो? (यो हामीले वास्तविकतालाई पछाडि छोडेर सिद्धान्तहरूका बारेमा बोल्नुहुँदैन भन्ने हो।) यो अत्यन्तै ठूलो गलत कदम हो। के अरू कुनै कुरा छ? (अनुमान र कल्पना।) यिनीहरू पनि अत्यन्तै गम्भीर गलत कदमहरू हुन्। किन अनुमान र कल्पना उपयोगी हुँदैनन्? तिमीहरूले अनुमान गर्ने र कल्पना गर्ने कुराहरूलाई के तिमीहरूले साँच्चै देख्न सक्छौ? के ती परमेश्वरको साँचो सार हुन्? (होइनन्।) अरू के कुराबाट टाढा बस्नुपर्छ? के परमेश्वरको सारलाई व्याख्या गर्नको लागि केवल मनोहर शब्दहरूको हरफ कण्ठ गर्नु गलत कदम हो? (हो।) के यो देखावटी र निरर्थक होइन र? मनोहर शब्दहरू छनौट गर्नुजस्तै मूल्याङ्कन र अनुमान गर्नु पनि निरर्थक छन्। खोक्रो प्रशंसा पनि निरर्थक छ, होइन र? के मानिसहरूले यस प्रकारको निरर्थक गफ गरेको सुन्न परमेश्वरलाई मन पर्छ? (होइन, उहाँलाई मन पर्दैन।) यस्तो कुरा सुन्दा उहाँलाई असहज महसुस हुन्छ! जब परमेश्वरले मानिसहरूको समूहलाई मार्गनिर्देशित र उद्धार गर्नुहुन्छ, तब यो समूहले उहाँको वचन सुनिसकेपछि पनि उहाँले के भन्न खोज्नुभएको हो भन्ने कहिल्यै बुझ्दैनन्। कसैले सोध्न सक्छ: “के परमेश्वर असल हुनुहुन्छ?” अनि तिनीहरूले जवाफ दिन्छन्, “हो!” “कति असल?” “अत्यन्तै धेरै असल!” “के परमेश्वरले मानिसलाई प्रेम गर्नुहुन्छ?” “गर्नुहुन्छ!” “कति धेरै? के तिमीहरू व्याख्या गर्न सक्छौ?” “अत्यन्तै धेरै! परमेश्वरको प्रेम समुद्रभन्दा गहिरो, आकाशभन्दा उच्च छ!” के यी शब्दहरू निरर्थक छैनन् र? अनि के यो निरर्थकता तिमीहरूले भर्खरै भनेको कुरा अर्थात् “परमेश्वरले शैतानको भ्रष्ट स्वभावलाई घृणा गर्नुहुन्छ, त्यसकारण परमेश्वर पवित्र हुनुहुन्छ” भन्नेजस्तै छैन र? (छ।) के तिमीहरूले भर्खरै भनेको कुरा निरर्थक छैन र? अनि बोलिने अधिकांश निरर्थक कुराहरू कहाँबाट आउँछन्? बोलिने निरर्थक कुराहरू मुख्य रूपमा परमेश्वरप्रति गैर-जिम्मेवार रहने र उहाँको अनादर गर्ने मानिसहरूबाट आउँछन्। के हामी त्यसो भन्न सक्छौँ? तँमा कुनै बुझाइ थिएन, तैपनि तैँले निरर्थक कुरा गरिस्। के त्यो गैर-जिम्मेवारी होइन र? के त्यो परमेश्वरको अनादर होइन र? तैँले केही ज्ञान सिकेको छस्, केही विचार र तर्कलाई बुझेको छस्, तैँले परमेश्वरलाई बुझ्नको लागि यी कुराहरू गरेको छस्, साथै, तिनको प्रयोग गरेको छस्। के तैँले त्यसरी बोलेको सुन्दा परमेश्वरलाई नरमाइलो महसुस हुन्छ भन्ने तँलाई लाग्छ? यी विधिहरूको प्रयोग गरेर तैँले कसरी परमेश्वरलाई जान्ने प्रयास गर्न सक्छस्? जब तँ त्यसरी बोल्छस्, के यो अनौठो सुनिँदैन र? त्यसकारण, जब परमेश्वरको ज्ञानको कुरा आउँछ, व्यक्ति अत्यन्तै सतर्क हुनुपर्छ; तैँले जति हदसम्म परमेश्वरलाई चिनेको छस् त्यति हदसम्म मात्रै बोल्नुपर्छ। इमान्दारीपूर्वक र व्यवहारिक रूपमा बोल् अनि तेरा शब्दहरूलाई बेस्वादका तारिफहरूले नसिँगार्, अनि चापलुसीको प्रयोग नगर्; परमेश्वरलाई यसको खाँचो छैन; यस्तो कुरा शैतानबाट आउँछ। शैतानको स्वभाव अहङ्कारी छ; शैतानलाई चापलुसी गरेको र राम्रा शब्दहरू भनेको सुन्न मन पर्छ। यदि मानिसहरूले आफूले सिकेका सबै मनोहर शब्दहरूलाई कण्ठ गरेर त्यसलाई शैतानको लागि प्रयोग गरे भने शैतान प्रसन्न र खुशी हुनेछ। तर परमेश्वरलाई यसको खाँचो पर्दैन; परमेश्वरलाई प्रशंसा वा चापलुसी चाहिँदैन र मानिसहरूले निरर्थक रूपमा बोल्दै उहाँलाई अन्धाधुन्ध प्रशंसा गरून् भन्ने मापदण्ड तोक्नुभएको छैन। वास्तविकतासँग नमिल्ने प्रशंसाहरू र चापलुसीलाई परमेश्वर घृणा गर्नुहुन्छ र तिनलाई उहाँले सुन्नुहुने समेत छैन। त्यसकारण, जब कतिपय मानिसहरूले परमेश्वरलाई कपटी रूपमा प्रशंसा गर्छन्, र अन्धाधुन्ध उहाँलाई भाकल र प्रार्थना गर्छन्, परमेश्वरले तिनलाई सुन्दै-सुन्नुहुन्न। तैँले जे भन्छस् त्यसको तैँले जिम्मेवारी लिनैपर्छ। यदि तँलाई कुनै कुरा थाहा छैन भने, थाहा छैन भन्; यदि तँलाई कुनै कुरा थाहा छ भने, यसलाई व्यवहारिक रूपमा व्यक्त गर्। त्यसकारण, परमेश्वरको पवित्रताले खास र वास्तविक रूपमा केलाई जनाउँछ भन्ने विषयमा, के तँसँग यसको बारेमा साँचो बुझाइ छ? (जब मैले विद्रोहीपनलाई व्यक्त गरेँ, जब मैले अपराध गरेँ, मैले परमेश्वरको न्याय र सजाय प्राप्त गरेँ, त्यसमा मैले परमेश्वरको पवित्रतालाई देखेँ। अनि जब मैले मेरो अपेक्षाहरू अनुसार नरहेका वातावरणहरूको सामना गरेँ, मैले यी कुराहरूका बारेमा प्रार्थना गरेँ र परमेश्वरको अभिप्रायहरूलाई खोजेँ, र परमेश्वरले मलाई आफ्नो वचनले अन्तर्दृष्टि दिएर मार्गनिर्देशित गर्नुभएपछि, मैले परमेश्वरको पवित्रतालाई देखेँ।) यो तेरो आफ्नै अनुभवबाट आएको हो। (परमेश्वरले यसबारेमा भन्नुभएको कुराबाट मैले शैतानले भ्रष्ट तुल्याएपछि र त्यसले हानि गरेपछि मानिस के बनेको छ सो देखेको छु। तैपनि, हामीलाई मुक्ति दिनको लागि परमेश्वरले हामीलाई सबै कुरा दिनुभएको छ, र यसबाट म परमेश्वरको पवित्रतालाई देख्छु।) यो बोल्ने यथार्थ तरिका हो; यो साँचो ज्ञान हो। के यसलाई बुझ्ने कुनै फरक तरिकाहरू छन्? (हव्वालाई प्रलोभनमा पारी पाप गर्न लगाउन र प्रभु येशूलाई परीक्षा गर्न बोलेका वचनहरूबाट म शैतानको दुष्टतालाई देख्छु। आदम र हव्वालाई तिनीहरूले के खानु हुन्छ र के खानु हुँदैन भन्ने बारेमा परमेश्वरले बोल्नुभएको वचनबाट म परमेश्वर सोझो रूपमा, स्पष्ट रूपमा, र विश्वासयोग्य रूपमा बोल्नुहुन्छ भन्ने देख्छु; यसबाट म परमेश्वरको पवित्रतालाई देख्छु।) माथिका टिप्पणीहरू सुनिसकेपछि, कसको वचनले तिमीहरूलाई सबैभन्दा बढी “आमेन” भन्न उत्प्रेरित गर्यो? कसको सङ्गति आजको हाम्रो सङ्गतिको विषयसँग सबैभन्दा बढी मिलेको थियो? कसका वचनहरू सबैभन्दा वास्तविक थिए? अन्तिम बहिनीको सङ्गति कस्तो थियो? (राम्रो।) उनले जे भनिन् त्यसमा तिमीहरू “आमेन” भन। उनले भनेको के कुरा ठ्याक्कै मिलेको थियो? (भर्खरै बोल्नुभएकी दिदीको वचनहरूबाट मैले परमेश्वरको वचन सीधा र अत्यन्तै स्पष्ट छ, र यो शैतानको घुमाउरो कुराजस्तो छैन भन्ने सुनेँ। यसमा मैले परमेश्वरको पवित्रतालाई देखेँ।) यो त्यसको एउटा भाग हो। के यो सही थियो? (थियो।) एकदम राम्रो। गत दुई सङ्गतिमा तिमीहरूले केही प्राप्त गरेका छौ भन्ने म देख्छु, तर तिमीहरूले कठिन परिश्रमलाई जारी राख्नुपर्छ। तिमीहरूले कठिन परिश्रम गर्नु पर्ने कारण के हो भने परमेश्वरको सारलाई बुझ्नु भनेको अत्यन्तै प्रगाढ पाठ हो; यो व्यक्तिले एकै रातमा बुझ्ने, वा एक-दुई वटा शब्दहरूद्वारा नै व्यक्त गर्न सक्ने कुरा होइन।
मानिसहरूको भ्रष्ट शैतानी स्वभाव, ज्ञान, सिद्धान्त, मानिसहरूका विचार र दृष्टिकोणहरूका हरेक पक्षले, अनि व्यक्तिगत मानिसहरूको निश्चित व्यक्तिगत पक्षहरूले तिनीहरूलाई परमेश्वरको सार जान्नबाट निकै बाधा दिन्छ; त्यसकारण, जब तैँले यी विषयहरूलाई सुन्छस्, तीमध्ये कतिपय विषयहरू तेरो पहुँचभन्दा बाहिर हुन सक्छन्; कतिलाई तैँले नबुझ्न सक्छस्, जबकि कतिलाई तैँले आधारभूत रूपमा वास्तविकतासँग मिलाउन सक्दैनस्। जे भए तापनि, परमेश्वरको पवित्रता सम्बन्धी तिमीहरूको बुझाइलाई मैले सुनेको छु र मलाई थाहा छ, परमेश्वरको पवित्रताको बारेमा मैले जे भनेँ र सङ्गति गरेँ त्यसलाई तिमीहरूले आफ्नो हृदयमा स्वीकार गर्न थालेछौ। मलाई थाहा छ, तिमीहरूको हृदयमा परमेश्वरको पवित्रताको सारलाई बुझ्ने इच्छा उम्रन थालेको छ। तर मलाई के कुराले अझै बढी खुशी तुल्याउँछ भने तिमीहरू पहिले नै परमेश्वरको पवित्रता सम्बन्धी तिमीहरूको ज्ञानलाई व्याख्या गर्न सरल शब्दहरूको प्रयोग गर्न सक्ने भइसकेका रहेछौ। यो भन्नको लागि सरल भए पनि र मैले पहिले नै यसो भनिसकेको भए पनि, तिमीहरूमध्ये अधिकांशको हृदयमा, तिमीहरूले यी वचनहरूलाई स्वीकार गर्न अझै बाँकी छ, र अवश्य नै तिनले तिमीहरूको मनमस्तिष्कमा कुनै प्रभाव पारेको छैन। तैपनि, तिमीहरूमध्ये कतिले यी शब्दहरूलाई याद राखेका छौ। यो एकदम राम्रो कुरा हो र यो निकै आशाजनक सुरुवात हो। मलाई आशा छ, तिमीहरूले आफूलाई गहन ठानेका विषयहरूलाई वा तिमीहरूको पहुँचभन्दा बाहिरका विषयहरूलाई झन्-झन् बढी मनन गर्ने र सङ्गति गर्ने कार्यलाई जारी राख्नेछौ। तिमीहरूको पहुँचभन्दा बाहिरका विषयहरूका लागि तिमीहरूलाई थप मार्गनिर्देशित गर्नको लागि कोही न कोही हुनेछ। अहिले तिमीहरूले आफ्नो पहुँचभित्रका क्षेत्रहरूको सम्बन्धमा अझै बढी सङ्गतिमा सहभागी भयौ भने, पवित्र आत्माले आफ्नो काम गर्नुहुनेछ र तिमीहरूले अझै गहन बुझाइ प्राप्त गर्नेछौ। परमेश्वरको सारलाई बुझ्ने र परमेश्वरको सारलाई जान्ने कुरा मानिसहरूको जीवन प्रवेशको लागि सबैभन्दा महत्त्वपूर्ण छ। मलाई आशा छ, तिमीहरूले यसलाई बेवास्ता गर्ने वा यसलाई खेलको रूपमा लिने गर्दैनौ, किनभने परमेश्वरलाई चिन्नु भनेको मानिसको विश्वासको जग हो र मानिसले सत्यताको खोजी गर्ने र मुक्ति प्राप्त गर्ने चाबी हो। यदि मानिसहरूले परमेश्वरमा विश्वास गर्छन् तैपनि उहाँलाई चिन्दैनन् भने, यदि तिनीहरू शब्द र सिद्धान्तहरूमा मात्रै जिउँछन् भने, तिनीहरूले सत्यताको सतही अर्थअनुसार काम गरे र जिए भने पनि तिनीहरूले मुक्ति प्राप्त गर्न कहिल्यै सम्भव हुनेछैन। भन्नुको अर्थ, यदि तँ परमेश्वरमा विश्वास गर्छस् तर उहाँलाई चिन्दैनस् भने, तेरो विश्वास व्यर्थ हुन्छ र त्यसमा कुनै वास्तविकता हुँदैन। तिमीहरूले बुझ्दैछौ, होइन त? (हो, हामीले बुझ्दैछौँ।) आजको हाम्रो सङ्गति यहीँ समाप्त हुनेछ।
जनवरी ४, २०१४
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।