परमेश्‍वरको काम र मानिसको काम (भाग दुई)

मानिसको काम एक निश्‍चित दायराभित्र रहन्छ र यो सीमित छ। एक व्यक्तिले एक निश्‍चित चरणको काम गर्न सक्छ र सम्पूर्ण युगको काम गर्न सक्दैन—अन्यथा, उसले मानिसहरूलाई नीतिनियमहरूमा डोर्‍याउनेछ। मानिसको काम एक निश्‍चित समय वा चरणमा मात्र लागू हुन्छ। किनकि मानिसको अनुभवको आफ्नो क्षेत्र हुन्छ। कसैले पनि मानिसको कामलाई परमेश्‍वरको कामसँग तुलना गर्न सक्दैन। मानिसको अभ्यास गर्ने तरिकाहरू र सत्यता सम्बन्धी उसको ज्ञान निश्‍चित क्षेत्रमा लागू हुन्छन्। मानिसले पछ्याउने मार्ग पूर्ण रूपमा पवित्र आत्माको इच्छा हो भनी भन्‍न सकिँदैन, किनकि मानिस पवित्र आत्माद्वारा मात्रै प्रकाशित हुन सक्छ, र पवित्र आत्माद्वारा पूर्ण रूपमा भरिन सक्दैन। मानिसले अनुभव गर्न सक्‍ने कुराहरू सबै सामान्य मानवताको क्षेत्रभित्र पर्छन् र यसले सामान्य मानव मनमा भएको सोचविचारको दायरालाई नाघ्‍न सक्दैन। अनुभवको सत्यता वास्तविकतामा जिउन सक्‍नेहरू यही दायराभित्र पर्छन्। जब तिनीहरूले सत्यताको अनुभव गर्छन्, यो सधैँ पवित्र आत्माद्वारा प्रकाशित सामान्य मानव जीवनको अनुभव हो; यस किसिमको अनुभव सामान्य मानव जीवनबाट विचलित हुँदैन। उनीहरूले आफ्नो मानव जीवन जिउने कार्यको आधारमा पवित्र आत्माको प्रकाशको सत्यता अनुभव गर्छन्। साथै, यो सत्यता व्यक्ति पिच्छे फरक हुन्छ, र यसको गहिराइ व्यक्तिको अवस्थामा निर्भर रहन्छ। व्यक्तिले हिँडिरहेको मार्ग सत्यता पछ्याउने कसैको सामान्य मानव जीवन हो भनेर मात्रै भन्‍न सकिन्छ, र यसलाई पवित्र आत्माद्वारा प्रकाशित सामान्य व्यक्तिले हिँड्ने मार्ग हो भनी भन्‍न सकिन्छ। उनीहरूले हिँड्ने मार्ग नै पवित्र आत्माले लिनुहुने मार्ग हो भनी भन्‍न सकिँदैन। सामान्य मानवीय अनुभवमा, मानिसहरूले उही मार्ग पछ्याउँदैनन्, त्यसकारण पवित्र आत्माको काम पनि उही किसिमको हुँदैन। साथै, मानिसहरूले अनुभव गर्ने वातावरण र उनीहरूको अनुभवको दायरा उही नहुने भएकोले, र तिनीहरूको मन र सोचविचारको मिश्रणको कारण, तिनीहरूको अनुभव फरक-फरक हदमा मिश्रित हुन्छन्। प्रत्येक व्यक्तिले आफ्नो फरकपन र व्यक्तिगत अवस्थाहरू बमोजिम सत्यतालाई बुझ्‍छ। सत्यताको वास्तविक अर्थ सम्बन्धी उनीहरूको बुझाइ पूर्ण हुँदैन र यो केवल त्यसको एउटा पक्ष वा केही पक्षहरू मात्र हुन्छन्। मानिसले अनुभव गर्ने सत्यताको क्षेत्र पनि व्यक्तिको अवस्था अनुसार व्यक्ति पिच्छे फरक हुन्छ। यस किसिमले, उही सत्यताको ज्ञान पनि फरक मानिसहरूले व्यक्त गर्दा उही हुँदैन। मानिसको अनुभवमा सधैँ सीमितता हुन्छ र यसले पवित्र आत्माको इच्छालाई पूर्णरूपमा प्रतिनिधित्व गर्न सक्दैन, न त मानिसको कामलाई परमेश्‍वरको कामको रूपमा हेर्न सकिन्छ, चाहे मानिसले व्यक्त गर्ने कुरा परमेश्‍वरको इच्छासँग मिल्दोजुल्दो नै किन नहोस् र चाहे मानिसको अनुभव पवित्र आत्माको सिद्ध तुल्याउने कामसँग मिल्दोजुल्दो नै किन नहोस्। परमेश्‍वरले उसको जिम्मामा सुम्पिदिनुभएको काम गर्दै मानिस परमेश्‍वरको सेवक मात्र बन्‍न सक्छ। पवित्र आत्माले दिनुभएको ज्ञानलाई र उसले आफ्नो व्यक्तिगत अनुभवहरूबाट प्राप्त गरेका सत्यताहरूलाई मात्रै मानिसले व्यक्त गर्न सक्छ। मानिस अयोग्य छ र उसले पवित्र आत्माको माध्यम बन्‍नको लागि आवश्यक सर्तहरू पूरा गर्दैन। उसको काम परमेश्‍वरको काम हो भन्‍ने अधिकार उसलाई दिइएको छैन। मानिससँग मानिसको काम गर्ने सिद्धान्तहरू छन्, र सबै मानिसहरूसँग फरक-फरक अनुभवहरू हुन्छन् र फरक-फरक सर्तहरू हुन्छन्। मानिसको काममा पवित्र आत्माद्वारा प्रकाश दिइएको उसका सबै अनुभवहरू पनि समावेश हुन्छन्। यी अनुभवहरूले मानिसको अस्तित्वलाई मात्रै प्रतिनिधित्व गर्छन् र यसले परमेश्‍वरको अस्तित्व वा पवित्र आत्माको इच्छालाई प्रतिनिधित्व गर्दैन। त्यसैले, मानिसले हिँड्ने मार्गलाई पवित्र आत्माले हिँड्नुहुने मार्ग भनेर भन्‍न सकिँदैन, किनकि मानिसको कामले परमेश्‍वरको कामलाई प्रतिनिधित्व गर्दैन, र मानिसको काम र मानिसको अनुभव पवित्र आत्माको पूर्ण इच्छा होइनन्। मानिसको काम नीतिनियममा पतन हुन सक्‍ने सम्भावना रहन्छ, र उसको कामको पद्धति सजिलै सीमित क्षेत्रमा बन्धित हुन्छ, र त्यसले मानिसहरूलाई स्वतन्‍त्र मार्गमा अगुवाइ गर्न सक्दैन। अधिकांश अनुयायीहरू सीमित क्षेत्रमा जिउँछन्, र उनीहरूको अनुभवको क्षेत्र पनि सीमित हुन्छ। मानिसको अनुभव सधैँ सीमित रहेको छ; उसको कामको पद्धति पनि थोरै प्रकारमा सीमित रहेको छ र त्यसलाई पवित्र आत्माको काम वा परमेश्‍वर स्‍वयम्‌को कामसँग तुलना गर्न सकिँदैन। किनकि आखिरमा मानिसको अनुभव सीमित हुन्छ। तैपनि परमेश्‍वरले आफ्नो काम गर्नुहुन्छ, यो नीतिनियमबाट बाँधिएको हुँदैन; जसरी गरिए पनि यो कुनै एउटा पद्धतिमा सीमित हुँदैन। परमेश्‍वरको काममा कुनै पनि नीतिनियम हुँदैन—उहाँका सबै काम मुक्त छन् र स्वतन्‍त्र छन्। मानिसले उहाँलाई पछ्याउन जति नै धेरै समय खर्च गरे तापनि उसले परमेश्‍वरको काम गर्ने तरिकालाई शासन गर्ने नियमहरू बुझ्‍न सक्दैन। उहाँको काम सैद्धान्तिक हुने भए तापनि, यो सधैँ नयाँ तरिकाबाट गरिन्छ र त्यसमा नयाँ विकासहरू हुन्छन्, र यो मानिसको पहुँचभन्दा बाहिर हुन्छ। एउटै समयावधिमा परमेश्‍वरले फरक-फरक किसिमका थुप्रै काम गर्न सक्‍नुहुन्छ र मानिसहरूलाई अगुवाइ गर्ने फरक तरिकाहरू अपनाउन सक्‍नुहुन्छ, ताकि मानिसहरूले सधैँ नयाँ प्रवेश पाऊन् र परिवर्तित होऊन्। तैँले उहाँको कामको नियम पत्ता लगाउन सक्दैनस् किनकि उहाँले सधैँ नयाँ तरिकाले काम गरिरहनुहुन्छ, र यसरी मात्रै परमेश्‍वरका अनुयायीहरू नीतिनियमबाट बाँधिएका हुँदैनन्। परमेश्‍वर स्‍वयम्‌को कामले सधैँ मानिसहरूको धारणालाई इन्कार गर्छ र त्यसको विपरीत काम गर्छ। उहाँलाई साँचो हृदयले पछ्याउने र अनुसरण गर्ने मानिसहरूले मात्र आफ्नो स्वभाव रूपान्तरण भएको पाउन सक्छन् र स्वतन्‍त्र भएर जिउन सक्छन्, यसैले उनीहरू कुनै नियमद्वारा बाँधिएका हुँदैनन् वा धार्मिक धारणाहरूद्वारा बाँधिएका हुँदैनन्। मानिसको आफ्नो अनुभव र आफूले हासिल गर्न सक्‍ने कुराको आधारमा उसको कामले मानिसहरूबाट मागहरू गरेको हुन्छ। यी आवश्यकताहरूको मापदण्ड एक निश्‍चित क्षेत्रभित्र सीमित भएको हुन्छ, र अभ्यासका पद्धतिहरू पनि अत्यन्तै सीमित हुन्छन्। यसरी अनुयायीहरू अजानमा यो सीमित क्षेत्रभित्रै जिउँछन्; समय बित्दै जाने क्रममा, यी कुराहरू नीतिनियम र धर्मविधिहरू बन्छन्। परमेश्‍वरको सिद्ध तुल्याउने प्रक्रिया भएर नगएको र उहाँको न्याय प्राप्‍त नगरेको कुनै पनि व्यक्तिले कामको एक समयावधिमा अगुवाइ गरेको छ भने, उसका अनुयायीहरू सबै धार्मिक विधिमा जिउने र परमेश्‍वरको विरोध गर्ने विज्ञहरू बन्‍नेछन्। त्यसैले, यदि कुनै व्यक्ति योग्य अगुवा हो भने त्यो व्यक्ति न्यायको प्रक्रिया भएर गएको हुनुपर्छ र सिद्ध तुल्याउने कार्यलाई स्वीकार गरेको हुनुपर्छ। न्याय भएर नगएका व्यक्तिहरूसँग पवित्र आत्माको काम हुन सक्‍ने भए तापनि उनीहरूले अस्पष्ट र अवास्तविक कुराहरू मात्रै व्यक्त गर्छन्। समयसँगै, उनीहरूले मानिसहरूलाई अस्पष्ट र अलौकिक नीतिनियमहरूमा डोर्‍याउनेछन्। परमेश्‍वरले गर्नुहुने काम मानिसको देहसँग मिल्दैन। यो मानिसको सोचविचारसँग मिल्दैन, तर मानिसको धारणा विपरीत हुन्छ; यो व्यर्थका धार्मिक रङ्‍गहरूद्वारा कलङ्कित तुल्याइएको हुँदैन। परमेश्‍वरको कामको प्रतिफलहरू उहाँद्वारा सिद्ध नतुल्याइएको व्यक्तिले हासिल गर्न सक्दैन; यो मानिसको सोचाइबाट बाहिरको कुरा हो।

मानिसको विचारमा काम भनेको मानिसले अत्यन्तै सहजै हासिल गर्ने कुरा हो। उदाहरणको लागि, धार्मिक संसारका पाष्टर र अगुवाहरू आफ्‍नो काम गर्नका लागि आफ्‍ना वरदान र पदहरूमा भर पर्छन्। तिनीहरूलाई लामो समयसम्‍म पछ्याउने मानिसहरू तिनीहरूका वरदानहरूद्वारा सङ्क्रमित हुनेछन् र तिनीहरूको केही सारत्वद्वारा प्रभावित हुनेछन्। तिनीहरूले मानिसहरूका वरदान, क्षमता र ज्ञानमा ध्यान केन्द्रित गर्छन्, र तिनीहरूले अलौकिक कुराहरू अनि धेरै गहन, अवास्तविक सिद्धान्तहरूमा ध्यान दिन्छन् (अवश्य नै, यी गहन सिद्धान्तहरू अप्राप्य छन्)। तिनीहरूले मानिसहरूका स्वभावमा हुने परिवर्तनमा होइन, तर प्रचार गर्न र काम गर्नको लागि मानिसहरूलाई तालिम दिन, मानिसहरूको ज्ञान र तिनीहरूको प्रशस्‍त धार्मिक सिद्धान्तहरूलाई सुधार गर्नमा ध्यान केन्द्रित गर्छन्। तिनीहरूले मानिसहरूको स्वभाव कति परिवर्तन हुन्छ भन्‍नेमा ध्यान केन्द्रित गर्दैनन्, न त मानिसहरूले कति धेरै सत्यतालाई बुझ्छन् भन्‍नेमा नै ध्यान केन्द्रित गर्छन्। तिनीहरूले मानिसहरूको सारमा चासो दिँदैनन्, तिनीहरूले मानिसहरूको सामान्य र असामान्य स्थितिहरूलाई जान्‍ने प्रयास गर्नु त परै जाओस्। तिनीहरूले मानिसहरूका धारणाहरूलाई खण्डन गर्दैनन्, न त तिनीहरूले आफ्‍ना धारणाहरूलाई प्रकट नै गर्छन्, तिनीहरूले मानिसहरूका त्रुटिहरू वा भ्रष्टताहरूका लागि तिनीहरूलाई काट-छाँट गर्नु त परै जाओस्। तिनीहरूलाई पछ्याउने धेरैजसोले तिनीहरूका वरदानहरूद्वारा सेवा गर्छन्, अनि तिनीहरूले व्यक्त गर्ने भनेका त्यही धार्मिक धारणाहरू र धर्मशास्‍त्रीय सिद्धान्तहरू मात्र हुन्, जुन वास्तविकताको छुवाइभन्दा बाहिर छन् र मानिसहरूलाई जीवन दिन पूर्ण रूपमा असमर्थ छन्। वास्तवमा, तिनीहरूको कामको सार भनेको प्रतिभाको वृद्धि-विकास गर्नु, केही पनि नभएको व्यक्तिलाई प्रतिभावान् तुल्याई सेमिनारी दीक्षान्तसम्म शिक्षा-दीक्षा दिनु हो जसले पछि गएर काम गर्छ र अगुवाइ गर्छ। के परमेश्‍वरको छ हजार वर्षको काममा तैँले कुनै नियमहरू पत्ता लगाउन सक्छस्? मानिसले गर्ने काममा धेरै नियम र बन्देजहरू हुन्छन्, र मानव मष्तिष्क अत्यन्तै कट्टरपन्थी हुन्छ। त्यसकारण, मानिसले व्यक्त गर्ने भनेका उसको अनुभवको क्षेत्र भित्रका ज्ञान र अनुभूतिहरू नै हुन्। मानिसले यसभन्दा बाहेकको कुनै पनि कुरा व्यक्त गर्न सक्दैन। मानिसको अनुभव वा ज्ञान उसका अन्तर्निहित वरदान वा उसको जन्‍मजात क्षमताबाट आउँदैनन्; ती परमेश्‍वरको अगुवाइ र प्रत्यक्ष गोठालोपनको कारण आउँछन्। मानिससँग यस गोठालोपनलाई स्वीकार गर्ने क्षमता मात्रै हुन्छ र ईश्‍वरत्व के हो त्यसलाई प्रत्यक्ष रूपमा व्यक्त गर्न सक्‍ने क्षमता हुँदैन। मानिस स्रोत हुन सक्दैन; ऊ स्रोतबाट आउने पानीलाई स्वीकार गर्ने भाँडो मात्रै बन्‍न सक्छ। मानवको जन्‍मजात क्षमता अर्थात मानवको रूपमा व्यक्तिमा हुनुपर्ने गुण नै यही हो। यदि व्यक्तिले परमेश्‍वरको वचनलाई स्वीकार गर्ने क्षमतालाई गुमाउँछ र मानवको जन्‍मजात क्षमतालाई गुमाउँछ भने, त्यस व्यक्तिले सबैभन्दा बहुमूल्‍य कुरालाई पनि गुमाउँछ, र सृष्टि गरिएको मानिसको कर्तव्यलाई पनि गुमाउँछ। यदि व्यक्तिमा परमेश्‍वरको वचनको वा उहाँको कामको कुनै ज्ञान वा अनुभव छैन भने, त्यस व्यक्तिले सृष्टि गरिएको प्राणीको रूपमा आफूले पूरा गर्नुपर्ने कर्तव्यलाई गुमाउँछ, र उसले सृष्टि गरिएको प्राणीको गरिमालाई पनि गुमाउँछ। ईश्‍वरत्व के हो त्यसलाई व्यक्त गर्नु परमेश्‍वरको अन्तर्निहित गुण हो, चाहे यो देहमा व्यक्त गरियोस् वा पवित्र आत्माले प्रत्यक्ष रूपमा व्यक्त गर्नुभएको होस्; परमेश्‍वरको सेवकाइ यही हो। परमेश्‍वरको काम वा त्यसपछिको अवधिमा मानिसले आफ्‍नै अनुभवहरू वा ज्ञानलाई व्यक्त गर्छ (अर्थात्, उसले ऊ जे हो त्यही व्यक्त गर्छ); मानिसको जन्‍मजात क्षमता र मानिसको कर्तव्य यही हो, र मानिसले हासिल गर्नुपर्ने कुरा यही हो। मानिसको अभिव्यक्ति परमेश्‍वरले जे व्यक्त गर्नुहुन्छ त्यसको मापदण्डबाट निकै नै चुक्‍ने भए तापनि, र मानिसको अभिव्यक्ति विभिन्‍न नियमहरूले बाँधिने भए तापनि, मानिसले आफूले पूरा गर्नुपर्ने कर्तव्यलाई पूरा गर्नैपर्छ र उसले जे गर्नु आवश्यक छ त्यो गर्नैपर्छ। मानिसले आफ्‍नो कर्तव्यलाई पूरा गर्नको लागि मानवीय रूपमा सम्‍भव भएको सबै कुराहरू गर्नुपर्छ, र उसले कुनै कुरा पनि बाँकी राख्‍नु हुँदैन।

वर्षौंसम्‍म काम गरिसकेपछि, मानिसले आफ्‍नो धेरै वर्षको कामको अनुभवलाई र साथसाथै उसले बटुलेका ज्ञान-बुद्धि र नियमहरूलाई सारांशित गर्नेछ। धेरै समयसम्‍म काम गरेको व्यक्तिले पवित्र आत्माको कामको गतिविधिलाई कसरी अनुभूति गर्ने सो जान्दछ; उसले पवित्र आत्माले कहिले काम गरिरहनुभएको हुन्छ र कहिले काम गरिरहनुभएको हुँदैन सो जान्दछ; बोझ बोक्दै कसरी सङ्गति गर्ने सो उसलाई थाहा हुन्छ; अनि पवित्र आत्माको कामको सामान्य स्थिति र मानिसहरूको जीवनमा हुने वृद्धिको सामान्य स्थितिको बारेमा ऊ सचेत हुन्छ। वर्षौंसम्‍म काम गरेको र पवित्र आत्माको कार्यलाई जान्‍ने व्यक्ति यस्तै हुन्छ। लामो समयसम्‍म काम गरेकाहरूले सुनिश्‍चितताको साथ र हतार नगरीकन बोल्छन्; भन्‍नको लागि तिनीहरूसँग केही नहुँदा पनि, तिनीहरू शान्त हुन्छन्। भित्री रूपमा, तिनीहरूले पवित्र आत्‍माको कार्यको खोजी गर्नको लागि निरन्तर रूपमा प्रार्थना गर्न सक्छन्। कार्यमा तिनीहरू अनुभवी हुन्छन्। लामो समयसम्‍म काम गरेको, धेरै अनुभव बटुलेको र धेरै पाठहरू सिकेको व्यक्तिभित्र धेरै कुरा हुन्छ जसले पवित्र आत्माको कार्यमा बाधा पुर्‍याउँछ; उसको दीर्घकालीन कामको खराबी यही हो। भर्खरै काम गर्न सुरु गरेको व्यक्तिमा मानव पाठहरू वा अनुभव मिश्रित भएको हुँदैन र विशेष रूपमा ऊ पवित्र आत्‍माले कसरी काम गर्नुहुन्छ भन्‍नेबारे अन्योलमा हुन्छ। तैपनि, कार्यको सिलसिलामा, उसले पवित्र आत्माले कसरी काम गर्नुहुन्छ भन्‍ने अनुभूति गर्न क्रमिक रूपमा सिक्दै जान्छ, अनि पवित्र आत्माको कार्यलाई प्राप्त गर्न के गर्नुपर्छ, अरूको कमजोरीहरूमा प्रहार गर्नको लागि के गर्नुपर्छ, र काम गर्नेहरूमा हुनुपर्ने त्यस्तै अन्य आम ज्ञानबारे ऊ सचेत हुन्छ। समय बित्दै जाँदा, कार्य सम्‍बन्धी त्यस्तो बुद्धि र सामान्य ज्ञानबारे उसलाई उसको हतकेला जत्तिकै थाहा हुन्छ, र काम गर्ने क्रममा उसले यसलाई सहजै प्रयोग गरेको देखिन्छ। तैपनि, जब पवित्र आत्‍माले आफ्‍नो काम गर्ने तरिकालाई परिवर्तन गर्नुहुन्छ, उसले कामसम्‍बन्धी आफ्‍नो पुरानो ज्ञान र कामसम्‍बन्धी पुराना नियमहरूलाई नै पालना गरिरहन्छ र कामको नयाँ गतिशीलताको बारेमा उसलाई त्यति थाहा हुँदैन। वर्षौंको काम अनि पवित्र आत्‍माको उपस्थिति र अगुवाइको भरिपूर्णताले उसलाई कामसम्‍बन्धी झन्-झन् बढी पाठहरू र झन्-झन् बढी अनुभव दिन्छ। त्यस्ता कुराहरूले उसलाई आत्मविश्‍वासले भर्छ, र त्यो आत्मविश्‍वास घमण्ड होइन। अर्को शब्‍दमा भन्दा, ऊ आफ्‍नो कामप्रति निकै प्रसन्‍न हुन्छ र पवित्र आत्माको कामबारे उसले प्राप्त गरेको सामान्य ज्ञानप्रति सन्तुष्ट हुन्छ। खास गरी, अरूले प्राप्त नगरेका कुराहरू पाएको वा अनुभूति गरेकोमा त्यसले उसलाई आफूप्रति अझै बढी आत्मविश्‍वास प्रदान गर्छ; यस्तो लाग्छ ऊभित्रको पवित्र आत्माको कामलाई कहिल्यै पनि निभाउन सकिँदैन, जबकि अन्य व्यक्तिहरू यस किसिमको विशेष व्यवहार पाउन अयोग्य छन्। ऊजस्तै वर्षौंसम्‍म काम गरेका र जसको प्रयोग निकै बहुमूल्य छ त्यस्ता मानिसहरू मात्र यो प्राप्त गर्न योग्य छन्। यी कुराहरू उसले पवित्र आत्माको नयाँ कार्यलाई स्वीकार गर्ने कार्यमा निकै ठूलो बाधा बन्छन्। उसले नयाँ कार्यलाई स्वीकार गर्न सके तापनि, उसले रातारात त्यसो गर्न सक्दैन। यसलाई स्वीकार गर्नुअघि निश्‍चय पनि ऊ धेरै मोडहरू र घुम्तीहरू भएर जान्छ। उसका पुराना धारणाहरूको निराकरण गरिसकेपछि र उसको पुरानो स्वभावलाई न्याय गरिसकेपछि मात्रै यो अवस्थालाई क्रमिक रूपमा उल्ट्याउन सकिन्छ। यी चरणहरू भएर नगईकन, उसले आफ्‍ना पुराना धारणाहरूलाई त्याग्‍दैन र तीसँग नमिल्‍ने नयाँ शिक्षणहरू र कार्यलाई सहजै स्वीकार गर्दैन। मानिसमा निराकरण गर्नुपर्ने सबैभन्दा कठिन कुरो यही नै हो, र यसलाई परिवर्तन गर्न सजिलो छैन। यदि सेवकको रूपमा, उसले तुरुन्तै पवित्र आत्माको कामलाई बुझ्‍न र यसका गतिशीलतालाई सारांशित गर्न सक्छ, र यदि ऊ कामसम्‍बन्धी आफ्‍ना अनुभवहरूद्वारा सीमित हुँदैन र पुरानो कामको आधारमा नयाँ कार्यलाई स्वीकार गर्न सक्छ भने, ऊ ज्ञानी मानिस र योग्य सेवक हो। मानिसहरू प्रायजसो यस्तै हुन्छन्: तिनीहरू कामसम्‍बन्धी आफ्‍नो अनुभवलाई सारांशित गर्न नसकिकनै धेरै वर्ष काम गर्छन्, वा, कामसम्‍बन्धी तिनीहरूको अनुभव र ज्ञान-बुद्धिलाई सारांशित गरिसकेपछि, नयाँ काम स्वीकार गर्न तिनीहरूलाई बाधा हुन्छ र तिनीहरूले पुरानो र नयाँ कामलाई उचित रूपमा बुझ्‍न वा सही रूपमा लिन सक्दैनन्। मानिसहरूलाई सम्‍हाल्‍न साँच्‍चै निकै कठिन छ! तिमीहरूमध्ये धेरैजसो यस्तै छौ। पवित्र आत्माको वर्षौंको कार्यलाई अनुभव गरेकाहरूले नयाँ कार्यलाई स्वीकार गर्न कठिन मान्छन्, र तिनीहरू पन्छ्याउन नसक्‍ने धारणाहरूले सधैँ भरिपूर्ण हुन्छन्, जबकि भर्खरै काम गर्न सुरु गरेको मानिसमा कामको बारेमा सामान्य ज्ञानको कमी हुन्छ र उसलाई सबैभन्दा सरल विषयहरूलाई कसरी सम्‍हाल्‍ने भन्ने समेत थाहा हुँदैन। तिमीहरू साँच्‍चै कठिन छौ! केही ज्येष्ठहरू यति अभिमानी र घमण्‍डी छन् कि तिनीहरूले आफूहरू कहाँबाट आएको हो भन्ने कुरा नै बिर्सेका छन्। तिनीहरूले जवान मानिसहरूलाई सधैँ नीच रूपमा हेर्छन्, तैपनि तिनीहरूले नयाँ कामलाई स्वीकार गर्न सक्दैनन् र तिनीहरूले वर्षौंदेखि सँगालेर राखेका धारणाहरूलाई छोड्न सक्दैनन्। ती जवान, अनजान मानिसहरूले पवित्र आत्माको नयाँ कार्यलाई केही हदसम्‍म स्वीकार गर्न सक्‍ने भए तापनि र तिनीहरू अलिक उत्साहित हुने भए तापनि, तिनीहरू सधैँ अलमलमा पर्छन् र समस्याहरू आइपर्दा के गर्ने तिनीहरूलाई थाहै हुँदैन। तिनीहरू उत्साहित हुन्छन् तैपनि अनजान हुन्छन्। पवित्र आत्माको कामको बारेमा तिनीहरूसँग थोरै मात्र ज्ञान हुन्छ र तिनीहरूले त्यसलाई आफ्‍नो जीवनमा प्रयोग गर्न सक्दैनन्; यो पूर्ण रूपमा बेकामको सिद्धान्त मात्रै हुन्छ। तिमीहरूजस्ता मानिसहरू धेरै नै छन्; प्रयोगयोग्य त कति जना छन् र? पवित्र आत्माको अन्तर्दृष्टि र प्रकाशलाई पालन गर्न सक्‍ने र परमेश्‍वरको इच्‍छा अनुसार चल्‍न सक्‍ने कति जना छन् र? आजसम्‍म पछ्याउनेहरूको रूपमा रहँदै आएका तिमीहरू अत्यन्तै आज्ञाकारी छौ जस्तो देखिन्छौ, तर वास्तवमा, तिमीहरूले तिमीहरूका धारणाहरूलाई त्यागेका छैनौ, तिमीहरूले अझै पनि बाइबलमा खोजी गरिरहेका छौ, अस्पष्टतामा विश्‍वास गरिरहेका छौ, वा धारणाहरूमा अलमलिरहेका छौ। आजको वास्तविक कार्यलाई होसियारी साथ अनुसन्धान गर्ने वा यसको गहिराइमा जाने कोही पनि छैन। तिमीहरूले आजको मार्गलाई तिमीहरूका पुराना धारणाहरूद्वारा स्वीकार गरिरहेका छौ। त्यस्तो विश्‍वासद्वारा तिमीहरूले के प्राप्त गर्न सक्छौ? के भन्‍न सकिन्छ भने तिमीहरूमा त्यस्ता धेरै धारणाहरू लुकेका छन् जसलाई प्रकट गरिएको छैन, र तिमीहरूले तिनलाई सहजै प्रकट नगरीकन, तिनलाई लुकाउन सबैभन्दा ठूलो प्रयास गरिरहेका छौ। नयाँ कार्यलाई तिमीहरूले इमानदारीताको साथ स्वीकार गर्दैनौ, र तिमीहरूले तिमीहरूका पुराना धारणाहरूलाई त्याग्‍ने सोच बनाउँदैनौ; तिमीहरूमा जीविकोपार्जन सम्‍बन्धी अति धेरै दर्शनहरू छन्, र तिनीहरू अत्यन्तै ठोस् छन्। तिमीहरूले आफ्‍ना पुराना धारणाहरूलाई त्याग्दैनौ र तिमीहरूले मन नलागी-नलागी नयाँ कार्यको सामना गर्छौ। तिमीहरूको हृदय अत्यन्तै कुटिल छ, र तिमीहरूले नयाँ कार्यका चरणहरूलाई हृदयमा राख्दै-राख्दैनौ। के तिमीहरूजस्तो बेकामेहरूले सुसमाचार फैलाउने काम गर्न सक्छौ र? के तिमीहरूले यसलाई सम्पूर्ण ब्रह्माण्डभरि फैलाउने काम लिन सक्छौ र? तिमीहरूका यी परिपाटीहरूले तिमीहरूलाई तिमीहरूको स्वभाव परिवर्तन गर्न र परमेश्‍वरलाई चिन्‍नबाट रोकिरहेको छ। यदि तिमीहरूले यसलाई जारी राख्यौ भने, तिमीहरूलाई हटाइने निश्‍चित छ।

तिमीहरूले परमेश्‍वरको कार्यलाई मानिसको कार्यबाट कसरी अलग गर्ने हो सो कुरा जान्‍नैपर्छ। तैँले मानिसको काममा के देख्‍न सक्छस्? मानिसको काममा मानिसको अनुभवका धेरै तत्वहरू हुन्छन्; मानिसले ऊ जे हो त्यही व्यक्त गर्छ। परमेश्‍वरको आफ्‍नै कामले पनि उहाँ जे हुनुहुन्छ त्यसलाई व्यक्त गर्छ, तर उहाँको सारत्व मानिसको भन्दा फरक छ। मानिसको सारत्वले मानिसको अनुभव र जीवनलाई (मानिसले आफ्‍नो जीवनमा जे अनुभव गर्छ वा जे कुराको सामना गर्छ, वा जिउनको लागि उसँग जे-जस्ता दर्शनहरू छन् त्यसलाई) प्रतिनिधित्व गर्छ, र फरक-फरक वातावरणमा जिउने मानिसहरूले फरक-फरक सारत्वलाई व्यक्त गर्छन्। तँसँग समाजका अनुभवहरू छन् या छैनन् र तेरो परिवारमा वास्तवमा तँ के-कसरी बस्छस् र यसभित्र तैँले के-कस्तो अनुभव गर्छस्, यी सबै कुराहरू तैँले जे व्यक्त गर्छस् त्यसमा देख्‍न सकिन्छ, जबकि देहधारी परमेश्‍वरको काममा तैँले उहाँसँग सामाजिक अनुभवहरू छन् कि छैनन् भनेर देख्‍न सक्दैनस्। मानिसको सारको बारे उहाँलाई राम्ररी थाहा छ र उहाँले सबै प्रकारका मानिसहरूसँग सम्‍बन्धित सबै प्रकारका अभ्यासहरूलाई प्रकट गर्न सक्‍नुहुन्छ। मानिसका भ्रष्ट स्वभावहरू र विद्रोही बानीबेहोरालाई प्रकट गर्नमा उहाँ अझै सिपालु हुनुहुन्छ। उहाँ सांसारिक मानिसहरूका बीचमा जिउनुहुन्‍न, तर मरणशीलहरूको प्रकृति र सांसारिक मानिसहरूको सारा भ्रष्टताबारे उहाँलाई थाहा छ। उहाँको सारत्व यही नै हो। उहाँले संसारसँग व्यवहार गर्नुहुन्‍न, तैपनि संसारसँग व्यवहार गर्ने नियमहरू उहाँलाई थाहा छ, किनभने उहाँले मानव प्रकृतिलाई राम्ररी बुझ्‍नुहुन्छ। आज र विगत दुवैमा, मानिसको आँखाले देख्‍न नसक्‍ने र मानिसको कानले सुन्‍न नसक्‍ने पवित्र आत्माको काम उहाँलाई थाहा छ। यसमा त्यो ज्ञान-बुद्धि पर्छ जुन जीवन जिउने दर्शन अनि मानिसहरूले बुझ्‍न नसक्‍ने आश्‍चर्य होइन। उहाँको सारत्व यही हो, जुन मानिसहरूको निम्ति खुला छ र मानिसहरूबाट लुकाइएको पनि छ। उहाँले जे व्यक्त गर्नुहुन्छ त्यो असाधारण व्यक्तिको सारत्व होइन, तर त्यो आत्माका अन्तर्निहित गुणहरू र सारत्व हो। उहाँले संसारको भ्रमण गर्नुहुन्‍न तर यसको सबै कुरा जान्‍नुहुन्छ। उहाँले “नर-वानरहरू” लाई सम्पर्क गर्नुहुन्छ जोसँग कुनै ज्ञान वा अन्तर्दृष्टि छैन, तर उहाँले ज्ञानभन्दा उच्‍च अनि महान् मानवहरूभन्दा माथिका वचनहरू व्यक्त गर्नुहुन्छ। उहाँ सुस्त र बोधो मानिसहरूका बीचमा बस्‍नुहुन्छ जो मानवता विहीन छन् र जसले मानवताको प्रचलन र जीवनलाई बुझ्दैनन्, तर उहाँले मानवजातिलाई मानवजातिको नीच र तुच्छ मानवतालाई प्रकट गर्दै सामान्य मानवतामा जिउन लगाउन सक्‍नुहुन्छ। यो सबै उहाँको सारत्व हो, र यो सारत्व कुनै पनि मासु र रगतले बनेको व्यक्तिको भन्दा उच्‍च छ। उहाँको लागि, उहाँले गर्नुपर्ने काम गर्नको लागि र भ्रष्ट मानवजातिको सारलाई पूर्णरूपमा प्रकट गर्नको लागि जटिल, कष्टकर, र घिनलाग्दो सामाजिक जीवनको अनुभव गर्नु जरुरी छैन। घिनलाग्दो सामाजिक जीवनले उहाँको देहलाई सुधार गर्दैन। उहाँको काम र वचनले मानिसको स्वभावलाई मात्रै प्रकट गर्छन् तर यिनले मानिसलाई संसारको सामना गर्नको लागि अनुभव र पाठहरू प्रदान गर्दैनन्। जब उहाँले मानिसलाई जीवन दिनुहुन्छ उहाँले समाज वा मानिसको परिवारको अनुसन्धान गर्नु जरुरी छैन। मानिसलाई उदाङ्गो पार्नु र न्याय गर्नु उहाँको देहका अनुभवहरूको अभिव्यक्ति होइन; यो त मानिसको अवज्ञाको बारेमा लामो समयको ज्ञान अनि मानिसको भ्रष्टताप्रतिको घृणापश्चात उहाँले मानिसको अधर्म सम्‍बन्धमा गर्नुभएको प्रकाश हो। उहाँले गर्नुहुने सबै कामको उद्देश्य मानिसलाई उहाँको स्वभाव प्रकट गर्नु र उहाँको सारत्वलाई व्यक्त गर्नु हो। उहाँले मात्रै यो काम गर्न सक्‍नुहुन्छ; यो मासु र रगतले बनेको व्यक्तिले हासिल गर्न सक्‍ने कुरा होइन। उहाँको कामबाट मानिसले उहाँ कुन प्रकारको व्यक्ति हुनुहुन्छ भनेर भन्‍न सक्दैन। उहाँको कामको आधारमा पनि मानिसले उहाँलाई सृष्टि गरिएको प्राणीको रूपमा वर्गीकरण गर्न सक्दैन। उहाँको सारत्वले पनि उहाँलाई सृष्टि गरिएको व्यक्तिको रूपमा वर्गीकरण गर्न नसकिने तुल्याउँछ। मानिसले उहाँलाई गैर-मानव मात्रै ठान्छ, तर उहाँलाई कुन वर्गमा राख्‍ने हो सो कुरा जान्दैन, त्यसकारण मानिस उहाँलाई परमेश्‍वरको वर्गमा राख्‍न बाध्य हुन्छ। मानिसले त्यसो गर्नु अतार्किक छैन, किनभने परमेश्‍वरले मानिसहरूका बीचमा मानिसले गर्न नसक्‍ने धेरै काम गर्नुभएको छ।

परमेश्‍वरले गर्नुहुने कामले उहाँको देहको अनुभवलाई प्रतिनिधित्व गर्दैन; मानिसले गर्ने कामले उसको अनुभवको प्रतिनिधित्व गर्छ। हरेक व्यक्तिले आफ्‍नो व्यक्तिगत अनुभवको बारेमा कुरा गर्छ। परमेश्‍वरले प्रत्यक्ष रूपमै सत्यता व्यक्त गर्न सक्‍नुहुन्छ, जबकि मानिसले उसले अनुभव गरेको सत्यतासम्‍बन्धी अनुभवलाई मात्रै व्यक्त गर्न सक्छ। परमेश्‍वरको कामका कुनै पनि नियमहरू छैनन् र यो समय वा भौगोलिक सीमाहरूमा सीमित छैन। उहाँ जे हुनुहुन्छ सो उहाँले कुनै पनि समय, कुनै पनि स्थानमा व्यक्त गर्न सक्‍नुहुन्छ। उहाँले आफ्‍नो इच्‍छाअनुसार काम गर्नुहुन्छ। मानिसको कामका अवस्था र प्रसंग हुन्छन्; तीविना उसले काम गर्न सक्दैन र परमेश्‍वरसम्‍बन्धी आफ्‍नो ज्ञान वा सत्यतासम्‍बन्धी आफ्नो अनुभवलाई व्यक्त गर्न सक्दैन। कुनै कुरा परमेश्‍वरको आफ्‍नै काम हो कि मानिसको काम हो भनेर बताउनको लागि, तैँले ती दुई बीचको भिन्‍नतालाई तुलना मात्रै गर्नुपर्छ। यदि परमेश्‍वर स्वयम्‌ले गर्नुभएको कुनै काम छैन र मानिसले गरेको काम मात्रै छ भने, तैँले मानिसका शिक्षणहरू अरू कुनै पनि व्यक्तिको क्षमताभन्दा उच्‍च, धेरै परको रहेछ भनी स्पष्ट रूपमै जान्‍नेछस्; तिनीहरूको बोल्‍ने शैली, काम-कुराहरू सम्‍हाल्‍ने सम्‍बन्धी तिनीहरूका सिद्धान्तहरू, र तिनीहरूको अनुभवी र स्थिर किसिमको काम गर्ने शैली अरूको पहुँचभन्दा बाहिर हुन्छन्। तिमीहरूले असल क्षमता र उत्कृष्ट ज्ञान भएका यी मानिसहरूलाई सराहना गर्छौ, तर तैँले परमेश्‍वरको काम र वचनहरूबाट उहाँको मानवता कति उच्‍च छ भन्‍ने कुरा देख्‍न सक्दैनस्। बरु, उहाँ साधारण हुनुहुन्छ, र, काम गर्दा, उहाँ सामान्य र वास्तविक हुनुहुन्छ तैपनि मरणशीलहरूले नाप्‍न नसक्‍ने हुनुहुन्छ, जसले मानिसहरूलाई उहाँप्रति एक प्रकारको श्रद्धाभावको अनुभूति गराउँछ। शायद आफ्‍नो कामप्रतिको व्यक्तिको अनुभव निश्‍चित रूपमा उच्च हुनसक्छ, वा उसको कल्‍पना र तर्क निश्‍चित रूपमा उच्च हुनसक्छ, र उसको मानवता निश्‍चित रूपमा असल हुनसक्छ; त्यस्ता गुणहरूले मानिसहरूको सराहना मात्रै प्राप्त गर्न सक्छ, तर तिनीहरूमा विस्मय र डर जागृत गर्न सक्दैन। जसले राम्ररी काम गर्न सक्छन्, जोसँग निश्‍चित रूपमा गहन अनुभव छ, र जसले सत्यताको अभ्यास गर्न सक्छन् तिनीहरूलाई मानिसहरूले सराहना गर्छन्, तर त्यस्ता मानिसहरूले कहिल्यै पनि विस्मय जागृत गर्न सक्दैनन्, सराहना र ईर्ष्या मात्रै जागृत गर्न सक्छन्। तर परमेश्‍वरको कार्यलाई अनुभव गरेका मानिसहरूले परमेश्‍वरलाई सराहना गर्दैनन्; बरु, तिनीहरूले ठान्छन् कि उहाँको काम मानव पहुँचभन्दा बाहिर छ र मानिसको लागि बुझ्‍न नसकिने छ, अर्थात् यो ताजा अनि आश्चर्यको छ। जब मानिसहरूले परमेश्‍वरको कामलाई अनुभव गर्छन्, तब उहाँ सम्‍बन्धी तिनीहरूको पहिलो ज्ञान भनेको उहाँ बुझ्‍न नसकिने, बुद्धिमानी, र आश्चर्यको हुनुहुन्छ भन्‍ने हुन्छ, र तिनीहरूले अचेत रूपमा उहाँलाई आदर गर्छन् र उहाँले गर्नुहुने कामको रहस्यलाई अनुभव गर्छन्, जुन मानव मनको पहुँचभन्दा बाहिर छ। मानिसहरूले उहाँका मापदण्डहरूलाई पूरा गर्न, उहाँका इच्‍छाहरूलाई सन्तुष्ट तुल्याउन सकौं भन्‍ने मात्रै चाहन्छन्; तिनीहरूले उहाँलाई नाघ्‍न चाहँदैनन्, किनभने उहाँले गर्नुहुने काम मानिसको सोचाइ र कल्‍पनाभन्दा बाहिर जान्छ र त्यसलाई उहाँको सट्टामा मानिसले गर्न सक्दैन। मानिस स्वयम्‌ले समेत उसका अपर्याप्तताहरूलाई जान्दैन, तैपनि परमेश्‍वरले नयाँ मार्ग ल्याउनुभएको छ र मानिसलाई अझै नयाँ र अझै सुन्दर संसारमा ल्याउनको लागि आउनुभएको छ, त्यसकारण मानवजातिले प्रगति गरेको छ र नयाँ सुरुवात गरेको छ। मानिसहरूले परमेश्‍वरको लागि अनुभव गर्ने भनेका सराहना होइन, अथवा, सराहना मात्रै होइन। तिनीहरूको सबैभन्दा गहन अनुभव भनेको विस्मय र प्रेम हो; तिनीहरूले परमेश्‍वर वास्तवमै आश्चर्यको हुनुहुन्छ भन्ने अनुभव गर्छन्। उहाँले मानिसले गर्न नसक्‍ने काम गर्नुहुन्छ र मानिसले भन्‍न नसक्‍ने कुराहरू भन्नुहुन्छ। परमेश्‍वरको कामलाई अनुभव गरेका मानिसहरूसँग सधैँ वर्णन गर्न नसकिने अनुभूतिहरू हुन्छन्। पर्याप्त रूपमा गहन अनुभव पाएका मानिसहरूले परमेश्‍वरको प्रेमलाई बुझ्‍न सक्छन्; तिनीहरूले उहाँको प्रेमिलो स्वभावलाई अनुभव गर्न सक्छन्, उहाँ अत्यन्तै ज्ञानी हुनुहुन्छ, अत्यन्तै आश्चर्यका हुनुहुन्छ भन्ने अनुभव गर्न सक्छन्, र त्यसकारण तिनीहरूका बीचमा असीमित शक्ति पैदा हुन्छ। यो डर वा बेलाबखतको प्रेम र आदर होइन, बरु यो त मानिसप्रतिको परमेश्‍वरको करुणा र ऊप्रतिको सहनशीलताको गहन अनुभूति हो। तैपनि, उहाँको दण्ड र न्यायलाई अनुभव गरिसकेका मानिसहरूले उहाँको प्रतापलाई र उहाँले कुनै पनि अपराधहरूलाई सहनुहुन्‍न भन्‍ने कुरालाई अनुभूति गर्छन्। उहाँको धेरै काम अनुभव गरिसकेका मानिसहरूले समेत उहाँलाई बुझ्‍न सक्दैनन्; उहाँलाई साँचो रूपमा आदर गर्ने सबैले उहाँको काम मानिसहरूको धारणाहरू अनुरूप छैन बरु सधैँ तिनीहरूका धारणाहरू विरुद्ध जान्छ भन्‍ने कुरा जान्दछन्। मानिसहरूले उहाँलाई पूर्ण रूपमा सराहना गर्नु वा उहाँलाई देखावटी समर्पणता दिनु आवश्यकता छैन; बरु, तिनीहरूले साँचो श्रद्धा र साँचो समर्पणता हासिल गर्नुपर्छ। उहाँको धेरैजसो काममा, साँचो अनुभव सहितका जोसुकैले उहाँप्रति साँचो श्रद्धाको अनुभूति गर्छन्, जुन सराहनाभन्दा उच्‍च छ। उहाँको दण्ड र न्याय दिने कार्यको कारण मानिसहरूले उहाँको स्वभावलाई देखेका छन्, त्यसकारण तिनीहरूले आफ्‍नो हृदयमा उहाँलाई आदर गर्छन्। परमेश्‍वरको आदर गरिनुपर्छ र उहाँको आज्ञा पालना गरिनुपर्छ, किनभने उहाँको सारत्व र उहाँको स्वभाव सृष्टि गरिएका प्राणीहरूको जस्तो छैन बरु ती त सृष्टि गरिएका प्राणीहरूको भन्दा उच्‍च छन्। परमेश्‍वर स्वअस्तित्वमा हुनुहुन्छ र अनन्‍त हुनुहुन्छ, उहाँलाई सृष्टि गरिएको होइन, र श्रद्धा र आज्ञापालनको योग्य परमेश्‍वर मात्रै हुनुहुन्छ; यसको लागि मानिस योग्य छैन। त्यसकारण, उहाँको कार्यलाई अनुभव गरिसकेकाहरू र उहाँलाई साँचो रूपमा चिनेकाहरूले उहाँप्रति श्रद्धाको अनुभूति गर्छन्। तैपनि, उहाँसँग सम्‍बन्धित आफ्‍ना धारणाहरूलाई त्याग्‍न नसक्‍नेहरूसँग—उहाँलाई परमेश्‍वरको रूपमा लिँदै-नलिनेहरूसँग—उहाँप्रति कुनै श्रद्धा हुँदैन, र तिनीहरूले उहाँलाई पछ्याए तापनि, तिनीहरू जितिएका हुँदैनन्; तिनीहरूको प्रकृति नै अनाज्ञाकारी हुन्छ। यसरी काम गरेर उहाँले के हासिल गर्न चाहनुहुन्छ भने सृष्टि गरिएका सबै प्राणीहरूमा सृष्टिकर्ताको लागि श्रद्धा गर्ने हृदय होस्, तिनीहरूले उहाँको आराधना गरून्, र निःशर्त रूपमा तिनीहरू उहाँको प्रभुत्वमा समर्पित होऊन्। उहाँको सबै कामले हासिल गर्नुपर्ने अन्तिम परिणाम यही हो। यदि त्यस्तो कार्यलाई अनुभव गरिसकेका मानिसहरूले परमेश्‍वरलाई अलिकति पनि आदर गर्दैनन् भने, र यदि तिनीहरूको विगतको अवज्ञा परिवर्तन नै हुँदैन भने, तिनीहरूलाई निश्‍चय नै हटाइन्छ। यदि परमेश्‍वरप्रति व्यक्तिको मनोवृत्ति भनेको उहाँको सराहना गर्ने वा उहाँलाई टाढैबाट आदर गर्ने, र उहाँलाई अलिकति पनि प्रेम नगर्ने किसिमको छ भने, परमेश्‍वरलाई प्रेम गर्ने हृदय नभएको व्यक्ति आइपुगेको परिणाम-स्थल यही हो, र त्यस व्यक्तिमा सिद्ध पारिनको लागि चाहिने शर्तहरूको कमी हुन्छ। यदि त्यति धेरै कामले व्यक्तिको साँचो प्रेम प्राप्त गर्न सक्दैन भने, त्यस व्यक्तिले परमेश्‍वरलाई प्राप्त गरेको छैन र उसले सच्‍चा रूपमा सत्यतालाई पछ्याउँदैन। परमेश्‍वरलाई प्रेम नगर्ने व्यक्तिले सत्यतालाई प्रेम गर्दैन, तसर्थ उसले परमेश्‍वरलाई प्राप्त गर्न सक्दैन, परमेश्‍वरको स्वीकृती प्राप्त गर्ने कुरा त परै जाओस्। त्यस्ता मानिसहरूले पवित्र आत्‍माको कार्यलाई जसरी अनुभव गरे तापनि, र तिनीहरूले जसरी न्यायको अनुभव गरे तापनि, तिनीहरूले परमेश्‍वरलाई श्रद्धा गर्न सक्दैनन्। यी त्यस्ता मानिसहरू हुन् जसको प्रकृतिलाई परिवर्तन गर्न सकिँदैन र जोसँग अत्यन्तै दुष्ट स्वभाव छ। परमेश्‍वरको आदर नगर्नेहरू सबैलाई हटाइनुपर्छ, तिनीहरूलाई दण्डका पात्रहरू बनाइनुपर्छ, र दुष्ट काम गर्नेहरूलाई जस्तै दण्ड दिइनुपर्छ, अधर्म कुराहरू गर्नेहरूलाई भन्दा बढी कष्ट दिइनुपर्छ।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्