तैँले सम्पूर्ण मानवजाति वर्तमान दिनसम्म कसरी विकसित भयो भन्ने जान्‍नुपर्छ (भाग एक)

छ हजार वर्षभन्दा लामो अवधिमा गरिएको कामको सम्पूर्णता फरक-फरक युग आउने र जाने क्रममा परिवर्तन भएको छ। यो कार्यको परिवर्तन संसारको समग्र स्थिति र मानवजातिको समग्र विकाससम्‍बन्धी प्रवाहहरूमा आधारित छ; व्यवस्थापन कार्य पनि सोहीअनुरूप बिस्तारै मात्रै परिवर्तन भएको छ। यी सबै सृष्टिको सुरुवातदेखि योजना गरिएको थिएन। संसारको सृष्टि हुनुभन्दा पहिले, वा त्यसपछि चाँडै, यहोवाले कार्यको पहिलो चरण अर्थात् व्यवस्थाको कार्य; कार्यको दोस्रो चरण अर्थात् अनुग्रहको कार्य; वा कार्यको तेस्रो चरण अर्थात् विजयको कार्य—जुन उहाँले सुरुमा मोआबका केही सन्तानबाट सुरु गर्नुहुनेथियो, र यसद्वारा सम्पूर्ण ब्रह्माण्ड विजय गर्नुहुनेथियो—त्यसको योजना बनाउनुभएको थिएन। संसारलाई सृष्टि गरिसकेपछि, उहाँले यी वचन कहिल्यै बोल्‍नुभएन, न त मोआबपछि नै ती उहाँले कहिल्यै बोल्‍नुभयो; वास्तवमा, लोतभन्दा पहिले, ती उहाँले कहिल्यै उच्‍चारण गर्नुभएन। परमेश्‍वरका सबै काम तत्‍कालीन रूपमा गरिन्छ। उहाँको व्यवस्थापनको सम्पूर्ण छ हजार वर्षे कार्यको विकास पनि ठीक यसरी नै भएको छ; उहाँले संसारको सृष्टि हुनुभन्दा पहिले कुनै पनि हालतमा “मानवजातिको विकासको सारांश चार्ट” जस्तो योजना लेख्‍नुभएन। परमेश्‍वरको कार्यमा, उहाँ जे हो त्यो प्रत्यक्ष रूपमा व्यक्त गर्नुहुन्छ; योजना बनाउन उहाँले आफ्‍नो दिमाग खियाउनुहुन्‍न। अवश्‍य नै, केही अगमवक्ताले निकै धेरै अगमवाणी बोलेका छन्, तर परमेश्‍वरको कार्य सधैँ नै सटीक योजनाअन्तर्गत नै रह्यो भन्‍न सकिँदैन; ती अगमवाणी परमेश्‍वरको त्यस समयको कार्यअनुसार गरिएका थिए। उहाँले गर्नुहुने सबै कार्य सबभन्दा वास्तविक कार्य हुन्छन्। उहाँले हरेक युगको विकासअनुसार यो गर्नुहुन्छ, र कामकुराहरू कसरी परिवर्तन हुन्छन् त्यसैको आधारमा गर्नुहुन्छ। उहाँको लागि, आफ्‍नो काम अघि बढाउनु भनेको रोगमा औषधी उपयुक्त हुनुजस्तै हो; उहाँले आफ्नो काम गर्ने क्रममा अवलोकन गर्नुहुन्छ, र त्यस अवलोकनअनुसार आफ्‍नो कार्य जारी राख्‍नुहुन्छ। आफ्‍नो कार्यको हरेक चरणमा, परमेश्‍वर आफ्‍नो प्रचुर बुद्धि र क्षमता व्यक्त गर्न सक्षम हुनुहुन्छ; उहाँले आफ्नो प्रशस्त बुद्धि र अख्तियार कुनै निश्‍चित युगको कार्यको आधारमा प्रकट गर्नुहुन्छ, र उहाँले त्यस युगमा फर्काएर ल्याउनुभएका सबैलाई उहाँको सम्पूर्ण स्वभाव देख्‍ने तुल्याउनुहुन्छ। आफूले जे काम गर्नुपर्ने हो, त्यो उहाँले हरेक युगमा गर्न आवश्यक रहेको कामअनुसार नै मानिसको खाँचो पूरा गर्नुहुन्छ। शैतानले जुन हदसम्‍म मानिसलाई भ्रष्ट तुल्याएको छ त्यहीअनुसार उहाँले तिनीहरूको खाँचो पूरा गरिदिनुहुन्छ। जसरी पृथ्वीमा परमेश्‍वरलाई प्रकट गर्न सकून् र तिनीहरूले सृष्टिको माझमा परमेश्‍वरको गवाही दिन सकून् भनेर यहोवाले प्रारम्भमा आदम र हव्‍वालाई सृष्टि गर्नुभयो, यो पनि त्यस्तै हो। तैपनि, सर्पको प्रलोभनमा परेपछि हव्‍वाले पाप गरिन्, र आदमले पनि त्यसै गरे; बगैँचामा, तिनीहरू दुवैले असल र खराबको ज्ञान दिने रूखको फल खाए। तसर्थ, यहोवाले तिनीहरूमा थप काम गर्नुपर्‍यो। तिनीहरूको नग्‍नता देखेपछि, उहाँले पशुका छालाबाट बनाइएको वस्‍त्रद्वारा तिनीहरूको शरीर ढाकिदिनुभयो। त्यसपछि उहाँले आदमलाई भन्‍नुभयो, “तैँले तेरी श्रीमतीको कुरा सुनेको छस्, र मैले तँलाई यसबाट नखानू भनेर आज्ञा दिएको रुखबाट खाएको छस् त्यसकारण: तँ भूमिमा नफर्कुञ्‍जेलसम्म … तेरो खातिर भूमि श्रापित भएको छ; किनभने तँ यसबाटै निकालिएको थिइस्: तँ धूलो होस् र तँ धूलोमै फर्कनेछस्।” त्यो स्‍त्रीलाई उहाँले भन्‍नुभयो, “म तेरा कष्ट र तेरो सुत्केरी-वेदनालाई ज्यादै बढाइदिनेछु; तैँले कष्टमा नै बच्चाहरू जन्माउनेछेस्; र तेरो इच्छा तेरो पतितिर हुनेछ, र त्यसले तँमाथि शासन गर्नेछ।” त्यसपछि, उहाँले तिनीहरूलाई अदनको बगैँचाबाट निकाल्‍नुभयो र अहिले जसरी आधुनिक मानिस पृथ्वीमा जिउँछन्, त्यसरी नै तिनीहरूलाई त्यसको बाहिरपट्टि जिउने तुल्याउनुभयो। प्रारम्‍भमा परमेश्‍वरले मानिसलाई सृष्टि गर्नुहुँदा सृष्टि भएपछि मानिसलाई सर्पद्वारा प्रलोभनमा पर्न दिने र त्यसपछि मानिस र सर्पलाई सराप्‍ने उहाँको योजना थिएन। उहाँसँग वास्तवमै त्यस्तो योजना थिएन; घटनाक्रम नै त्यसरी विकसित भयो जसले उहाँलाई उहाँको सृष्टिको बीचमा नयाँ काम गर्ने अवसर दियो। पृथ्वीमा आदम र हव्‍वाबीच यहोवाले आफ्‍नो काम गरिसक्‍नुभएपछि, मानवजाति हजारौं वर्षसम्‍म विकास तबसम्‍म भइरह्यो, जबसम्‍म “पृथ्वीमा मानिसको दुष्टता ठूलो थियो र उसको हृदयको विचारहरूको हरेक कल्पना निरन्तर रूपमा दुष्ट मात्र थियो भन्‍ने यहोवाले देख्‍नुभयो। अनि यहोवाले पृथ्वीमा मानिस बनाउनुभएकोमा अफसोस मान्नुभयो र आफ्‍नो हृदयमा उहाँ दुःखित हुनुभयो। … तर नोआले यहोवाको नजरमा अनुग्रह पाए।” यस पटक यहोवासँग गर्नुपर्ने धेरै नयाँ काम थियो, किनभने उहाँले सृष्टि गर्नुभएको मानवजाति सर्पको प्रलोभनमा परेपछि अत्यन्तै पापी बनेको थियो। यी परिस्‍थितिलाई ध्यानमा राख्दै, यहोवाले सारा मानवजातिको बीचबाट बचाउन नोआको परिवारलाई चुन्‍नुभयो, र त्यसपछि उहाँले जल-प्रलयद्वारा संसारलाई नष्ट गर्ने आफ्‍नो काम अघि बढाउनुभयो। आजका दिनसम्‍म पनि मानवजाति यही शैलीमा झन्-झन् भ्रष्ट हुँदै विकसित हुने काम जारी छ, अनि जब मानव यस्तो विकासको चरमबिन्दुमा पुग्छ, तब यसले मानवजातिको अन्त्य ल्याउनेछ। प्रारम्‍भदेखि संसारको अन्त्यसम्‍मै, उहाँको कार्यको आन्तरिक सत्यता सधैँ यस्तै रह्यो र सधैँ यस्तै रहनेछ। यो मानिसलाई कसरी तिनीहरूका प्रकारअनुसार वर्गीकरण गरिनेछ भन्ने जस्तै छ; यो, हरेक व्यक्ति सुरुमा नै निश्‍चित वर्गमा पर्नेछ भनी पूर्वनिर्धारण गरिएको भन्ने मामिलाभन्दा निकै परको कुरा हो; बरु, विकासको प्रक्रिया भएर गएपछि मात्रै हरेकलाई क्रमिक रूपमा वर्गीकरण गरिन्छ। अन्त्यमा, पूर्ण मुक्तिमा ल्याउन नसकिने हरेकलाई तिनीहरूका “पितापुर्खा”-कहाँ नै फर्काइन्छ। मानवजातिबीच परमेश्‍वरले गर्ने कुनै पनि कार्यको तयारी संसारको सृष्टि हुँदा नै गरिएको थिएन; बरु, परिस्थितिको विकासले नै परमेश्‍वरलाई मानवजातिको बीचमा चरणबद्ध अनि अझै वास्तविक र व्यावहारिक रूपमा आफ्‍नो काम गर्ने तुल्याएको छ। उदाहरणको लागि, यहोवा परमेश्‍वरले स्‍त्रीलाई प्रलोभन गर्न सर्पको सृष्टि गर्नुभएन; त्यो उहाँको निश्‍चित योजना थिएन, न त त्यो उहाँले जानी-जानी पहिले नै निर्धारित गर्नुभएको कुरा नै थियो। त्यो अनपेक्षित घटना थियो भनेर भन्‍न सकिन्छ। तसर्थ, यही कारणले यहोवाले आदम र हव्‍वालाई अदनको बगैँचाबाट निकाल्नुभयो र फेरि कहिल्यै मानिस सिर्जना नगर्ने शपथ खानुभयो। तैपनि, यही जगमा मात्रै मानिसले परमेश्‍वरको बुद्धि पत्ता लगाउँछन्। यो मैले यसभन्दा पहिले भनेको जस्तै हो: “म शैतानका षड्यन्त्रहरूअनुसार मेरो बुद्धि प्रयोग गर्छु।” मानवजाति जति भ्रष्ट भए पनि वा सर्पले तिनीहरूलाई जसरी प्रलोभन गरे पनि, यहोवासँग उहाँको बुद्धि छँदैछ; तसर्थ, संसारको सृष्टि गरेदेखि नै उहाँ नयाँ काममा संलग्‍न हुनुहुन्छ, र यो कार्यको कुनै पनि चरण कहिल्यै दोहोरिएको छैन। शैतानले निरन्तर रूपमा षड्यन्त्रहरू लागू गरेको छ, मानवजाति निरन्तर रूपमा शैतानद्वारा भ्रष्ट तुल्याइएका छन्, र यहोवा परमेश्‍वरले अटुट रूपमा आफ्‍नो बुद्धिमानी कार्य अघि बढाउनुभएको छ। संसारको सृष्टि गरेपछि उहाँ कहिल्यै असफल हुनुभएको छैन, न त उहाँले कहिल्यै काम गर्न नै छोड्नुभएको छ। मानिसहरू शैतानद्वारा भ्रष्ट तुल्याइएपछि, उहाँले भ्रष्टताको स्रोत अर्थात् त्यस शत्रुलाई विजय गर्न तिनीहरूका बीचमा काम गरिरहनुभएको छ। प्रारम्‍भदेखि नै यो युद्ध सुरु भएको छ, र संसारको अन्त्य भइञ्‍जेल जारी रहनेछ। यी सबै कार्य गर्ने क्रममा, यहोवा परमेश्‍वरले शैतानद्वारा भ्रष्ट तुल्याइएका मानिसलाई समेत उहाँको महान् मुक्ति प्राप्त गर्ने मात्र तुल्याउनुभएको छैन, तर तिनीहरूलाई उहाँको बुद्धि, सर्वशक्तिमान्‌ता र अख्तियार देख्‍ने पनि तुल्याउनुभएको छ। यसका साथै, अन्तिममा उहाँले दुष्टलाई दण्ड दिँदै र असललाई इनाम दिँदै, तिनीहरूलाई उहाँको न्यायपरायण स्वभाव देखाउनुहुनेछ। उहाँले शैतानसँग आजको दिनसम्‍मै युद्ध गर्नुभएको छ र उहाँ कहिल्यै हार्नुभएको छैन। किनभने उहाँ बुद्धिमानी परमेश्‍वर हुनुहुन्छ, र उहाँले शैतानका षड्यन्त्रहरूका आधारमा आफ्‍नो बुद्धि प्रयोग गर्नुहुन्छ। त्यसकारण, परमेश्‍वरले स्वर्गमा भएका सबै कुरालाई उहाँको अख्‍तियारमा समर्पित हुने मात्रै तुल्याउनुहुन्‍न, तर उहाँले पृथ्वीका सबै कुरालाई उहाँको पाउदानमुनि राख्‍नुभएको छ र, निश्‍चित रूपमा मानवजातिलाई आक्रमण गर्ने र सताउने दुष्टलाई उहाँको सजायमा पर्ने तुल्याउनुहुन्छ। उहाँकै बुद्धिका कारण यी सबै कामका परिणाम आउँछन्। मानवजातिको अस्तित्वभन्दा पहिले उहाँले आफ्‍नो बुद्धिलाई कहिल्यै पनि प्रकट गर्नुभएको थिएन, किनभने स्वर्ग, पृथ्वी, वा ब्रह्माण्डमा कतै पनि उहाँको शत्रु थिएन, र प्रकृतिमा आक्रमण गर्ने कुनै पनि अन्धकारका शक्ति थिएन। प्रधान स्‍वर्गदूतले उहाँलाई धोका दिएपछि उहाँले पृथ्वीमा मानवजातिको सृष्टि गर्नुभयो, र मानवजातिकै कारण उहाँले प्रधान स्‍वर्गदूत अर्थात् शैतानसँगको सहस्राब्दीयौं लामो युद्ध—हरेक अर्को चरणसँगै अझै उग्र हुँदै जाने युद्ध—सुरु गर्नुभयो। यी हरेक चरणमा उहाँको सर्वशक्तिमान्‌ता र बुद्धि उपस्थित छन्। त्यसपछि मात्रै स्वर्ग र पृथ्वीका सबै चीजले परमेश्‍वरको बुद्धि, सर्वशक्तिमान्‌ता र खास गरी परमेश्‍वरको वास्तविकताको साक्षी देखेका छन्। उहाँले आजको दिनसम्‍म पनि यस्तै वास्तविक रूपमा आफ्‍नो काम गर्नुहुन्छ; साथै, उहाँले आफ्‍नो काम गर्ने क्रममा आफ्‍नो बुद्धि र सर्वशक्तिमान्‌तालाई पनि प्रकट गर्नुहुन्छ। उहाँले तिमीहरूलाई कार्यको हरेक चरणको भित्री सत्यता देख्‍ने, परमेश्‍वरको सर्वशक्तिमान्‌तालाई ठ्याक्कै व्याख्या गर्ने, साथै, परमेश्‍वरको वास्तविकताको अन्तिम व्याख्यालाई हेर्ने तुल्याउनुहुन्छ।

येशूलाई यहूदाले दिएको धोकाबारे कतिपय मानिसले सोच्‍ने गर्छन्: के यो संसारको सृष्टिभन्दा पहिले निर्धारित गरिएको थिएन र? वास्तवमा, समयको वास्तविकताको आधारमा नै पवित्र आत्माले यसको प्रबन्ध गर्नुभयो। संयोगवस यहूदा नाम भएको कुनै व्यक्तिले सधैँ कोष हिनामिना गर्थ्यो, त्यसकारण यस व्यक्तिलाई यही भूमिका निर्वाह गर्न र यसरी सेवा गर्नका लागि चुनियो। यो, स्थानीय स्रोत-साधनलाई प्रयोगमा ल्याउने साँचो उदाहरण थियो। सुरुमा येशू यसबारे अनभिज्ञ हुनुहुन्थ्यो; पछि, यहूदाको बारेमा पर्दाफास गरिएपछि मात्रै येशूले यसबारे थाहा पाउनुभयो। यो भूमिका निर्वाह गर्न सक्‍ने अरू कुनै व्यक्ति भएको भए, यहूदाको सट्टा त्यही व्यक्तिले यसो गर्नेथियो। वास्तवमा पूर्वनिर्धारित कुरा पवित्र आत्‍माले त्यही क्षणमा गर्नुभएको काम थियो। पवित्र आत्माको काम सधैँ तत्कालीन रूपमा गरिन्छ; उहाँले कुनै पनि समयमा आफ्‍नो योजना बनाउन सक्‍नुहुन्छ, र यसलाई कुनै पनि समय अघि बढाउन सक्‍नुहुन्छ। पवित्र आत्‍माको कार्य वास्तविक छ, र यो सधैँ नयाँ हुन्छ, कहिल्यै पुरानो हुँदैन, र यो सधैँ उच्‍च हदसम्मै ताजा हुन्छ भनेर म सधैँ किन भन्छु? संसारको सृष्टि हुँदा पहिले नै उहाँको कामको योजना गरिएको थिएन; त्यो पटक्कै भएको होइन! कामको हरेक चरणले यसको सम्‍बन्धित समयमा उचित प्रभाव प्राप्त गर्छ, र ती चरणहरूले एकअर्कालाई हस्तक्षेप गर्दैनन्। धेरै पटक, पवित्र आत्माको हालैको कामसँग तेरो मनमा भएका योजनाहरू तुलनायोग्य हुँदैनन्। उहाँको काम मानिसले यो यस्तो हुनुपर्छ भनेर तर्क गरेजस्तो सरल छैन, न त यो, मानिसले कल्‍पना गरेजस्तो जटिल नै छ—यसमा मानिसलाई तिनीहरूको त्यतिबेलाको आवश्यकताअनुसार कुनै पनि समय र कुनै पनि स्थानमा आपूर्ति गर्ने कार्य समावेश हुन्छ। मानिसको सारबारे उहाँ जत्ति स्पष्ट अरू कोही छैन, र त्यही कारणले मानिसको यथार्थ खाँचोका निम्ति उहाँले गर्ने काम जत्तिको उपयुक्त अरू केही हुँदैन। त्यसकारण, मानव परिप्रेक्ष्यबाट विचार गर्दा, उहाँको काम कैयौं सहस्राब्दीपहिले नै योजना गरिएको जस्तो देखिन सक्छ। अहिले उहाँले तिमीहरूबीच काम गर्नुहुँदा, तिमीहरू जुन स्थितिमा छौ त्यसलाई हेर्दै काम गर्ने र बोल्‍ने गर्नुहुन्छ, त्यस क्रममा उहाँले मानिसहरूलाई जे खाँचो छ त्यहीअनुसारको वचन बोल्दै, आइपर्ने हरेक स्थितिमा सही वचनहरू बोल्‍नुहुन्छ। उहाँको कामको पहिलो चरणलाई लिऔं: सजायको समय। त्यसपछि, परमेश्‍वरले उहाँको कामलाई मानिसहरूले प्रदर्शन गरेको कुरा, तिनीहरूको विद्रोहीपन, तिनीहरूबाट निस्कने सकारात्मक अवस्थाहरू र नकारात्मक अवस्थाहरू, साथै तिनीहरू नकारात्मकताको निश्चित बिन्दुमा आइपुग्दा खस्किने सबैभन्दा तल्‍लो सीमाको आधारमा सञ्चालन गर्नुभयो; अनि उहाँले आफ्‍नो कामबाट अझै राम्रो परिणाम हासिल गर्न ती कुरालाई पकडमा राख्नुभयो। अर्थात्, कुनै निश्‍चित समयमा तिनीहरूको तत्कालीन अवस्था कस्तो छ त्यहीअनुसार उहाँले मानिसहरूबीच दिगो काम गर्नुहुन्छ; मानिसहरूका वास्तविक अवस्थाहरूअनुसार उहाँले आफ्‍नो कामको हरेक चरणलाई अघि बढाउनुहुन्छ। सम्पूर्ण सृष्टि उहाँकै हातमा छ; उहाँले कसरी तिनीहरूलाई नचिन्‍न सक्‍नुहुन्छ? परमेश्‍वरले गर्नुपर्ने कामको अर्को चरण कुनै पनि समयमा र कुनै पनि स्थानमा मानिसहरूका अवस्थाहरूअनुसार गर्नुहुन्छ। कुनै पनि हालतमा यो काम हजारौं वर्षपहिले योजना गरिएको थिएन; त्यो त मानव धारणा हो! उहाँले आफ्‍नो कामका प्रभावहरूको अवलोकन गर्दै काम गर्नुहुन्छ, र उहाँको काम निरन्तर रूपमा गहन र विकसित हुँदै जान्छ; हरेक पटक, आफ्नो कामका परिणामहरू अवलोकन गरिसकेपछि, उहाँले आफ्‍नो कामको अर्को चरण कार्यान्वयन गर्नुहुन्छ। क्रमिक रूपमा परिवर्तन गर्न र समय बित्दै जाँदा मानिसहरूलाई उहाँको नयाँ काम देखाउन उहाँले धेरै कुराहरूको प्रयोग गर्नुहुन्छ। कार्य गर्ने यो शैलीले मानिसहरूको खाँचो पूरा गर्न सक्छ, किनभने परमेश्‍वर मानिसहरूलाई एकदमै राम्ररी चिन्‍नुहुन्छ। उहाँले स्वर्गबाट आफ्‍नो काम यसरी नै गर्नुहुन्छ। त्यसै गरी, यसरी नै देहधारी परमेश्‍वरले वास्तविक परिस्‍थितिहरूअनुसार बन्दोबस्त गर्दै र मानिसहरूबीच काम गर्दै आफ्‍नो काम गर्नुहुन्छ। उहाँको कुनै पनि काम संसारको सृष्टि गरिनुभन्दा पहिले नै बन्दोबस्त गरिएको थिएन, न त यसबारे पहिले नै सतर्कताको साथ योजना नै गरिएको थियो। संसारको सृष्टि गरिएको दुई हजार वर्षपछि, यहोवाले मानवजाति यति धेरै भ्रष्ट भएको देख्‍नुभयो कि व्यवस्थाको युग समाप्त भएपछि, यहोवाले अनुग्रहको युगमा मानवजातिलाई छुटकारा दिने आफ्‍नो काम गर्नुहुनेछ भनेर भविष्यवाणी गर्न उहाँले अगमवक्ता यशैयाको मुख प्रयोग गर्नुभयो। अवश्य नै, यो यहोवाको योजना थियो, तर यो योजना पनि त्यो समय उहाँले अवलोकन गरिरहनुभएका परिस्‍थितिहरूअनुसार नै बनाइएको थियो; अवश्य नै, उहाँले आदमको सृष्टि गरेलगत्तै यसबारे विचार गर्नुभएको थिएन। यशैयाले अगमवाणी मात्रै गरिदिए, तर यहोवाले व्यवस्थाको युगको अवधिमा यस कामको लागि अग्रिम तयारीहरू गर्नुभएको थिएन; बरु, उहाँले अनुग्रहको युगको प्रारम्‍भमा यो कामलाई गति दिनुभयो। यो त्यही बेला थियो, जुन बेला परमेश्‍वर देह बन्‍नुहुनेछ भन्‍ने सन्देशबारे योसेफलाई उजागर गर्न सन्देशवाहक उसको सपनामा देखा परे, अनि त्यसपछि मात्रै उहाँको देहधारणको काम सुरु भयो। मानिसहरूले कल्‍पना गरेजस्तो, परमेश्‍वरले देहधारणको आफ्‍नो कार्यको योजना संसारको सृष्टि गरेपछि तुरुन्तै गर्नुभएको थिएन; मानवजातिको विकासको हद र शैतानसँगको उहाँको युद्धको अवस्थाको आधारमा मात्रै यससम्बन्धी निर्णय गरिएको थियो।

जब परमेश्‍वर देह बन्‍नुहुन्छ, उहाँको आत्मा मानिसमा ओर्लिनुहुन्छ; अर्को शब्‍दमा भन्दा, परमेश्‍वरका आत्माले भौतिक शरीर धारण गर्नुहुन्छ। उहाँ केही सीमित चरणहरू नल्याइकन पृथ्वीमा आफ्‍नो काम गर्न आउनुहुन्छ; उहाँको काम पूर्णतया असीमित छ। देहमा पवित्र आत्‍माले गर्नुहुने कामलाई अझै उहाँको कामका परिणामहरूद्वारा नै निर्धारित गरिन्छ, र देहमा हुँदा उहाँले गर्नुहुने कामको समय अवधि निर्धारित गर्न उहाँले यस्तै कुराहरूको प्रयोग गर्नुहुन्छ। उहाँ अघि बढ्ने क्रममा उहाँको कामको जाँच गर्दै, पवित्र आत्माले उहाँको कामको हरेक चरण प्रत्यक्ष रूपमा प्रकट गर्नुहुन्छ; यो काम मानिसको कल्‍पनालाई तन्‍काउने जत्तिको अलौकिक पनि छैन। यो, स्वर्गहरू र पृथ्वी अनि यावत् थोक सृष्टि गर्ने क्रममा यहोवाले गर्नुभएको काम जस्तै छ; उहाँले योजना बनाउनुभयो र एकैसाथ काम गर्नुभयो। उहाँले अन्धकारबाट ज्योतिलाई अलग गर्नुभयो, अनि बिहान र साँझ अस्तित्वमा आयो—यसको लागि एक दिन लाग्यो। दोस्रो दिन, उहाँले आकाश सृष्टि गर्नुभयो, र त्यसको लागि पनि एक दिन लाग्यो; त्यसपछि उहाँले पृथ्वी, समुद्रहरू, र तिनलाई वृद्धि गर्दै लाने सबै प्राणीहरू सृष्टि गर्नुभयो, जसको लागि अर्को दिन लाग्यो। यो छैटौं दिनसम्‍म जारी रह्यो, जुन बेला उहाँले मानिस सृष्टि गर्नुभयो अनि तिनलाई पृथ्वीमा भएका सबै थोकको व्यवस्थापन गर्न दिनुभयो। त्यसपछि, सबै थोक सृष्टि गरिसिध्याएपछि सातौं दिनमा, उहाँले विश्राम लिनुभयो। परमेश्‍वरले सातौं दिनलाई आशिष्‌ दिनुभयो र यसलाई पवित्र दिन भन्‍नुभयो। उहाँले सबै थोक सृष्टि गरिसक्‍नुभएपछि मात्रै यो पवित्र दिनको स्थापना गर्ने निर्णय गर्नुभयो, तिनीहरूलाई सृष्टि गर्नुभन्दा पहिले होइन। यो काम पनि तत्कालीन रूपमा नै गरियो; सबै थोक सृष्टि गर्नुभन्दा पहिले, उहाँले छ दिनमा संसारको सृष्टि गर्ने अनि सातौं दिनमा विश्राम गर्ने निर्णय गर्नुभएको थिएन; त्यस्ता कुराहरू सत्य होइनन्। उहाँले त्यस्तो केही भन्‍नुभएन, न त यसबारे योजना नै बनाउनुभएको थियो। यावत् थोकको सृष्टि छैटौं दिनमा समाप्त हुनेछ र सातौं दिनमा उहाँले विश्राम गर्नुहुनेछ भनेर उहाँले कुनै पनि हालतमा भन्‍नुभएको थिएन; बरु, त्यो समय उहाँलाई जे असल लाग्यो त्यहीअनुसार नै सृष्टि गर्नुभयो। उहाँले सबै कुरा सृष्टि गरिसक्‍नुभएपछि, पहिले नै छैटौं दिन भइसकेको थियो। उहाँले सबै कुरा सृष्टि गरी सकिञ्‍जेलसम्‍म पाँचौं दिन भइसकेको थियो भने, उहाँले छैटौं दिनलाई पवित्र दिन भनी भन्‍नुहुनेथियो। तैपनि, उहाँले वास्तवमा छैटौं दिनमा सबै थोक सृष्टि गरिसक्‍नुभयो, अनि सातौं दिन पवित्र बन्यो, जसलाई आजको दिनसम्‍म पनि हस्तान्तरण गरिँदै आएको छ। त्यसकारण, उहाँको हालको कार्य पनि यसरी नै गरिन्छ। तिमीहरूका परिस्थितिहरूअनुसार तिमीहरूका खाँचोको निम्ति उहाँले बोल्‍नुहुन्छ र जुटाउनुहुन्छ। अर्थात्, मानिसहरूका परिस्‍थितिअनुसार आत्माले बोल्‍नुहुन्छ र काम गर्नुहुन्छ; उहाँले सबैमाथि नजर राख्‍नुहुन्छ र कुनै पनि समयमा र कुनै पनि स्थानमा काम गर्नुहुन्छ। म जे गर्छु, त्यही भन्छु, तिमीहरूलाई दिन्छु, र तिमीहरूलाई प्रदान गर्छु, त्यो तिमीहरूलाई चाहिने त्यो नै हो भन्‍नेमा कुनै शङ्का छैन। तसर्थ, मेरो कुनै पनि काम वास्तविकताबाट अलग छैन; यो सबै वास्तविक छ, किनभने “परमेश्‍वरका आत्माले सबैमाथि नजर राख्‍नुहुन्छ” भन्‍ने तिमीहरू सबैलाई थाहा छ। यदि यी सबै कुराको निर्णय पहिले नै गरिएको थियो भने, के यो अति स्पष्ट हुनेथिएन र? यो परमेश्‍वरले सम्पूर्ण छ सहस्राब्दीको लागि योजना बनाएर मानवजातिलाई विद्रोही, विरोधी, बेइमान र धोकेबाज बन्‍ने, र देहको भ्रष्टता, शैतानिक स्वभाव, आँखाको अभिलाषा, र व्यक्तिगत लुप्तता बोक्‍ने तुल्याउनुभयो भनेर तँ विचार गर्छस्। तीमध्ये कुनैलाई पनि परमेश्‍वरले पहिलेबाटै नियुक्त गर्नुभएको थिएन, तर यी सबै शैतानको भ्रष्टताको परिणामस्वरूप भए। कसैले यसो भन्‍न सक्छ, “के शैतान पनि परमेश्‍वरकै पकडमा थिएन र? शैतानले मानिसलाई यसरी भ्रष्ट तुल्याउनेछ, र त्यसपछि परमेश्‍वरले मानिसको बीचमा आफ्‍नो काम गर्नुहुनेछ भनेर परमेश्‍वरले पहिलेबाटै निर्धारित गर्नुभएको थियो।” के शैतानले मानवजातिलाई भ्रष्ट तुल्याओस् भनेर परमेश्‍वरले वास्तवमा पहिले नै निर्धारण गर्नुहुनेथियो र? परमेश्‍वरले मानवजातिलाई सामान्य रूपमा जिउन दिने मात्रै उत्कट इच्‍छा गर्नुहुन्छ, त्यसकारण के उहाँले तिनीहरूको जीवनमा वास्तवमा नै हस्तक्षेप गर्नुहुनेथियो र? यदि त्यसो हो भने, शैतानलाई हराउने र मानवजातिलाई मुक्त गर्ने कार्य बेकामको प्रयास हुनेथिएन र? मानवजातिको विद्रोहीपनलाई कसरी पहिलेबाटै निर्धारित गर्न सकिने थियो र? यो, शैतानको हस्तक्षेपद्वारा घटेको घटना हो, त्यसकारण के यसलाई परमेश्‍वरले पहिलेबाट नै निर्धारित गर्नुभएको हुन सक्थ्यो र? शैतान परमेश्‍वरको पकडमा छ भनेर तिमीहरू जे विचार गर्छौ, त्यो कुरा शैतान परमेश्‍वरको पकडमा छ भनेर मैले विचार गर्नेभन्दा अत्यन्तै फरक छ। “परमेश्‍वर सर्वशक्तिमान् हुनुहुन्छ, अनि शैतान उहाँको हातमा छ” भन्‍ने तिमीहरूको अभिव्यक्तिअनुसार त शैतानले उहाँलाई कहिल्यै धोका नै दिन सक्दैनथियो। के तैँले परमेश्‍वर सर्वशक्तिमान् हुनुहुन्छ भनेर भनिनस् र? तिमीहरूको ज्ञान अत्यन्तै अमूर्त छ, र वास्तविकताभन्दा बाहिर छ; मानिसले परमेश्‍वरका सोचाइहरूलाई कहिल्यै बुझ्‍न सक्दैन, न त उहाँको बुद्धिलाई नै कहिल्यै बुझ्‍न सक्छ! परमेश्‍वर सर्वशक्तिमान् हुनुहुन्छ; यो झूट हुँदै-होइन। प्रधान स्‍वर्गदूतले परमेश्‍वरलाई धोका दियो किनभने परमेश्‍वरले सुरुमा त्यसलाई केही अख्तियार दिनुभएको थियो। अवश्य नै, जसरी हव्‍वा सर्पको परीक्षाको सिकार बनिन् त्यसरी नै यो पनि एउटा अनपेक्षित घटना थियो। तैपनि, शैतानले त्यसको धोकालाई जसरी अघि बढाए पनि, त्यो अझै पनि परमेश्‍वर जत्तिको शक्तिशाली हुँदैन। तिमीहरूले भनेझैँ, शैतान बलवान् मात्रै छ; त्यसले जेसुकै गरे तापनि, त्यसलाई परमेश्‍वरको अख्तियारले सधैँ जित्‍नेछ। “परमेश्‍वर सर्वशक्तिमान् हुनुहुन्छ, अनि शैतान उहाँको हातमा छ” भन्‍ने भनाइको पछाडि रहेको साँचो अर्थ यही नै हो। त्यसकारण, शैतानसँगको युद्धलाई एक-एक चरण गरी अघि बढाइनुपर्छ। यसको साथै, शैतानका चालहरूको प्रतिक्रिया स्वरूप, परमेश्‍वरले आफ्‍नो कामको योजना गर्नुहुन्छ—अर्थात्, उहाँले मानवजातिकहाँ मुक्ति ल्याउनुहुन्छ अनि युगलाई उपयुक्त हुने गरी आफ्नो सर्वशक्तिमान्‌ता र बुद्धि प्रकट गर्नुहुन्छ। त्यसरी नै, अनुग्रहको युगभन्दा पहिले, प्रारम्‍भतिर नै आखिरी दिनहरूको कामलाई पूर्वनिर्धारण गरिएन; यसरी पूर्वनिर्धारणको काम सुव्यवस्थित रूपमा गरिँदैन: पहिलो, मानिसको बाहिरी स्वभाव परिवर्तन गर्नु; दोस्रो, मानिसलाई उहाँको सजाय दिनु र परीक्षाहरू गर्नु; तेस्रो, मानिसलाई मृत्युको परीक्षा पार गर्न लगाउनु; चौथो, मानिसलाई प्रेमिलो परमेश्‍वरको समय अनुभव गर्न र सृष्टि गरिएको प्राणीको सङ्कल्प व्यक्त गर्न दिनु; पाँचौं, मानिसलाई परमेश्‍वरको इच्‍छा देख्‍ने र उहाँलाई पूर्ण रूपमा चिन्‍ने तुल्याउनु, अनि अन्तिममा मानिसलाई पूर्ण तुल्याउनु। उहाँले यी सबै कुराको योजना अनुग्रहको युगको अवधिमा गर्नुभएन; बरु, उहाँले वर्तमान युगमा नै तिनको योजना बनाउन थाल्‍नुभयो। जसरी परमेश्‍वर काममा हुनुहुन्छ, त्यसरी नै शैतान पनि काममा नै छ। शैतानले त्यसको भ्रष्ट स्वभाव व्यक्त गर्छ, तर परमेश्‍वरले सीधा रूपमा बोल्‍नुहुन्छ अनि अत्यावश्यक कुराहरू प्रकट गर्नुहुन्छ। आज गरिने काम यही नै हो, र संसारको सृष्टिपछि, धेरै पहिले प्रयोग गरिएको काम गर्ने सिद्धान्त यही नै हो।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्