कर्तव्य निर्वाह गर्नेसम्बन्धी वचनहरू (अंश ४१)

परमेश्‍वरको घरमा सत्यता पछ्याउने मानिसहरू परमेश्‍वरसामु एकतामा हुन्छन्, विभाजित हुँदैनन्, र उनीहरूको एउटै साझा लक्ष्य हुन्छ, र त्यो हो: आफ्नो कर्तव्य पूरा गर्नु, आफूमा आइपरेको काम गर्नु, सत्यता सिद्धान्तहरूअनुसार काम गर्नु, परमेश्‍वरले तोक्‍नुभएअनुसार काम गर्नु, र परमेश्‍वरका अभिप्रायहरू पूरा गर्नु। यदि तेरा उद्देश्यहरू यसतर्फ लक्षित छैनन् तर तेरो आफ्नै लागि, तेरा आफ्नै स्वार्थी अभिलाषाहरू पूरा गर्नका लागि लक्षित छन् भने, यो भ्रष्ट शैतानी स्वभावको प्रकटीकरण हो। परमेश्‍वरको घरमा, व्यक्तिको कर्तव्य सत्यता सिद्धान्तअनुसार गरिन्छ। गैरविश्‍वासीहरूका कार्यहरू उनीहरूका शैतानी स्वभावहरूद्वारा नियन्त्रित हुन्छन्। यी दुई अति फरक मार्गहरू हुन्। गैरविश्‍वासीहरूले आफ्नै षड्यन्त्र पालेका हुन्छन्, प्रत्येकसँग आफ्नै उद्देश्य र योजनाहरू हुन्छन्, अनि प्रत्येक व्यक्ति आफ्नै स्वार्थका लागि जिउँछ। यसरी उनीहरू आफ्नै फाइदाको लागि सङ्घर्ष गर्छन्, र आफूले पाएको एक इन्च छोड्न पनि इच्छुक हुँदैनन्। उनीहरू विभाजित, र तितरबितर अवस्थामा हुन्छन्, किनकि उनीहरूको साझा लक्ष्य हुँदैन। उनीहरूले जे गर्छन् त्यसपछाडि रहेको अभिप्राय र प्रकृति एउटै हुन्छ—उनीहरू सबै आफ्नै लागि कार्य गर्छन्। यसमा, सत्यले शासन गर्दैन, शैतानको भ्रष्ट स्वभावसँग पूर्ण शक्ति र प्रभुत्व हुन्छ। उनीहरू आफ्नो भ्रष्ट शैतानी स्वभावद्वारा नियन्त्रित हुन्छन्, र यसमा उनीहरूको केही जोर चल्दैन र यसकारण उनीहरू पापमा झन्झन् गहिरो गरी डुब्छन्। परमेश्‍वरको घरमा, यदि तिमीहरूका कार्यहरूको सिद्धान्त, तरिका, प्रेरणा, र सुरुवाती बिन्दु गैरविश्‍वासीहरूका भन्दा फरक हुँदैनन् भने, यदि तिमीहरूलाई भ्रष्ट शैतानी स्वभावले खेलाउँछ, नियन्त्रण गर्छ र गोटीझैँ चलाउँछ भने र यदि तिमीहरूका कार्यहरूका सुरुवाती बिन्दु तिमीहरूका आफ्नै स्वार्थहरू, प्रतिष्ठा, घमन्ड र हैसियत हुन्छन् भने, तिमीहरूले गरेका कर्तव्य गैरविश्‍वासीहरूका कार्यहरूभन्दा फरक हुँदैनन्। यदि तिमीहरू सत्यता पछ्याउँछौ भने, तिमीहरूले काम गर्ने तौरतरिका बदल्नुपर्छ। तिमीहरूले आफ्नो हित, व्यक्तिगत अभिप्राय र इच्छाहरू त्याग्नुपर्छ। तिमीहरूले काम गर्दा सर्वप्रथम सबैले मिलेर सत्यता सङ्गति गर्नुपर्छ, अनि आफूहरूमाझ कामको बाँडफाँट गर्नुभन्दा पहिले परमेश्‍वरका अभिप्राय र मापदण्ड बुझ्नुपर्छ, र यसो गर्दा को कुन कुरामा राम्रो छ र कुन कुरामा कमजोर छ भनेर विचार पुर्‍याउनुपर्छ। तिमीहरूले आफूले गर्न सक्ने काम लिनुपर्छ र आफ्नो कर्तव्यमा दृढतापूर्वक लाग्नुपर्छ। कुनै कुराको लागि पनि झगडा वा खोसाखोस गर्ने गर्नु हुँदैन। तिमीहरूले मिलजुल र सहनशील हुन सिक्नुपर्छ। यदि कसैले भर्खरै कर्तव्य निर्वाह गर्न थालेको छ वा कुनै क्षेत्रको लागि चाहिने सीपहरू भर्खरै सिकेको छ, तर कति कामहरू गर्न सक्दैन भने, तैँले उसलाई दबाब दिनु हुँदैन। तैँले उसलाई अलिक सजिलो हुने काम दिनुपर्छ। यसले उसलाई आफ्नो कर्तव्य निर्वाह गर्दा नतिजाहरू हासिल गर्न सजिलो बनाउँछ। सहनशील, धैर्यवान्‌ र सिद्धान्तनिष्ठ हुनु भनेको यही हो। यो सामान्य मानवतामा हुनुपर्ने एउटा पक्ष हो; यो मानिसहरूका लागि परमेश्‍वरले आवश्यक गर्नुभएको, अनि मानिसहरूले अभ्यास गर्नैपर्ने कुरा हो। यदि तँ निश्‍चित प्रकारको व्यावसायिक काममा निकै दक्ष छस्, र तैँले यो काम अरूले भन्दा अलि लामो समयदेखि गर्दै आएको छस् भने, कठिन कामहरू तँलाई दिइनुपर्छ। तैँले यस कुरालाई परमेश्‍वरबाट आएको हो भनेर स्वीकार गर्नुपर्छ र समर्पित हुनुपर्छ। छानेर लिने र गनगन गर्ने नगर, र यसो नभन्, “किन मानिसहरूले सधैँ मेरो लागि अवस्था कठिन बनाइदिन्छन्? तिनीहरूले अरूलाई सजिलो काम, र मलाईचाहिँ गाह्रो काम दिन्छन्। के तिनीहरूले मेरो जीवन कठिन बनाउन खोज्दै छैनन् र?” “तेरो जीवन कठिन बनाउन खोज्नु” को अर्थ के हो? कार्य बन्दोबस्त हर व्यक्तिको अवस्थासित मिल्ने गरी तय गरिन्छ—सक्‍नेहरूले धेरै काम गर्नुपर्छ। तैँले धेरै कुरा सिकेको छस् र परमेश्‍वरले तँलाई धेरै कुरा दिनुभएको छ, त्यसकारण तँलाई गह्रौँ बोझ दिनु सही हुन्छ। यो तँलाई दुःख दिनका लागि गरिएको हुँदैन, तँलाई दिइएको बोझ तेरो लागि एकदमै सही हुन्छ। यो तेरो कर्तव्य हो, त्यसकारण रोज्‍ने र छान्‍ने, वा इन्कार गर्ने, वा यसबाट पन्छिने प्रयास नगर्। किन तँलाई यो कठिन लाग्छ? वास्तवमा, तैँले यसमा हृदय लगाइस् भने, यसलाई पूरा गर्न सकिहाल्छस्। तँलाई यो कठिन लाग्‍नु, र आफूलाई अनुचित व्यवहार गरिएको, र जानीजानी दुःख दिइएको जस्तो लाग्‍नु भनेको भ्रष्ट स्वभावको प्रकटीकरण हो, यो आफ्‍नो कर्तव्यलाई इन्कार गर्नु, र यसलाई परमेश्‍वरबाट आएको भनी स्वीकार नगर्नु हो; यो सत्यता अभ्यास गर्नु होइन। जब तँ आफ्‍नो कर्तव्यमा रोज्‍ने र छान्‍ने काम गर्छस्, अनि घिउजस्तो र सजिलो, र आफूलाई राम्रो देखाउने काम गर्छस् भने, यो शैतानको भ्रष्ट स्वभाव हो। यदि तँ आफ्‍नो कर्तव्यलाई स्वीकार गर्न, र समर्पित हुन सक्दैनस् भने, यसले तँ अझै पनि परमेश्‍वरप्रति विद्रोहपूर्ण छस्, र तैँले उहाँलाई विरोध गरिरहेको, इन्कारिरहेको र पन्छाइरहेको छस् भन्‍ने प्रमाणित गर्छ—यो एउटा भ्रष्ट स्वभाव हो। त्यसो भए, यो भ्रष्ट स्वभाव हो भन्‍ने तँलाई थाहा भएपछि तैँले के गर्नुपर्छ? जब कसैलाई दिइएको काम पूरा गर्न सजिलो छ, तर तँलाई दिइएको कामले तँलाई लामो समयसम्‍म व्यस्त राख्छ, अनि अनुसन्धान गर्न धेरै समय लाग्छ भन्‍ने तँलाई लाग्छ भने, यसले तँलाई बेखुसी बनाउँछ। के तँलाई बेखुसी महसुस हुनु सही कुरा हो? अवश्य होइन। त्यसो भए, यो कुरा गलत हो भन्‍ने तँलाई बोध भएपछि तैँले के गर्नुपर्छ? यदि तँ प्रतिरोध गर्दै यसो भन्छस् भने, “हरेक पटक तिनीहरूले कामको बाँडफाँट गर्दा मलाई गाह्रो, फोहोरी र परिश्रम गर्नुपर्ने काम दिन्छन्, र अरूलाई हलुका, सरल र उच्‍च प्रतिष्ठावाला काम दिन्छन्। के तिनीहरूले मलाई जे पनि गराउँदा हुने व्यक्ति सम्झेको हो? यो काम बाँडफाँट गर्ने निष्पक्ष तरिका होइन!”—यदि तेरो सोच यस्तो हो भने, त्यो गलत छ। तर कामको बाँडफाँटमा तलमाथि जेसुकै भए पनि, वा त्यो बाँडफाँट मनासिब र बेमनासिब जुनसुकै रूपले गरिए पनि, परमेश्‍वरले सूक्ष्म जाँच गर्नुहुने कुराचाहिँ के हो? उहाँले छानबिन गर्नुहुने कुरा व्यक्तिको हृदय हो। उहाँले व्यक्ति हृदयदेखि नै समर्पणकारी छ कि छैन, परमेश्‍वरको लागि उसले केही बोझ बोक्न सक्छ कि सक्दैन र ऊ परमेश्‍वरलाई प्रेम गर्ने व्यक्ति हो कि होइन भनी हेर्नुहुन्छ। परमेश्‍वरको मापदण्डबाट मापन गर्दा, तैँले गरेका बहानाहरू अमान्य छन्, कर्तव्यमा तेरो कार्यसम्पादन मापदण्डअनुरूप छैन र तँसँग सत्यता वास्तविकता छैन। तँसँग समर्पणता बिलकुलै छैन र केही परिश्रमपूर्ण वा सिकसिकलाग्दो काम गर्नुपर्दा तँ गुनासो गर्छस्। यहाँ यो कस्तो समस्या हो? सर्वप्रथम त, तेरो मानसिकता गलत छ। यसको अर्थ के हो? यसको अर्थ कर्तव्यप्रतिको तेरो मनोवृत्ति गलत छ। यदि तँ आफ्नै गर्व र हितबारे सोचिरहन्छस्, परमेश्‍वरका अभिप्रायप्रति विचारशील हुँदैनस्, र कुनै समर्पणता देखाउँदैनस् भने, त्यो तैँले कर्तव्यप्रति राख्नुपर्ने सही मनोवृत्ति होइन। यदि तँ इमानदार भएर परमेश्‍वरको लागि आफूलाई खर्चेको हुन्थिस् र तँसँग परमेश्‍वरलाई प्रेम गर्ने हृदय हुन्थ्यो भने, सिकसिकलाग्दो, परिश्रमपूर्ण र गाह्रो काम तँ कसरी सम्हाल्नेथिस्? तेरो मानसिकता फरक हुनेथ्यो: तैँले कठिन हुने जुनसुकै काम रोज्नेथिस् र काँधमा भारी बोझ उठाउन खोज्नेथिस्। अरू मानिसहरूले गर्न नमानेका काम तैँले लिनेथिस्, अनि तैँले यो काम केवल परमेश्‍वरको प्रेमका खातिर र उहाँलाई सन्तुष्ट बनाउनको लागि गर्नेथिस्। यसो गर्दा तँलाई आनन्द आउनेथ्यो, र तैँले कुनै गुनासो गर्नेथिनस्। सिकसिकलाग्दो, परिश्रमपूर्ण र गाह्रो कामले मानिसहरूलाई उनीहरू को हुन् भनेर देखाउँछ। हलुका र उच्‍च प्रतिष्ठावाला काम मात्र लिने मानिसहरूभन्दा तँ कसरी फरक छस् र? तँ तिनीहरूभन्दा उत्तम छैनस्। के यो कुरा त्यस्तै होइन र? तैँले कामकुराहरू यसरी नै हेर्नुपर्छ। त्यसैले, मानिसहरूलाई उनीहरू को हुन् भनेर सबभन्दा धेरै प्रकाश गर्ने कुरा भनेकै कर्तव्यका दौरान उनीहरूले गर्ने कार्यसम्पादन हो। कतिपय मानिसहरूले अधिकांश समय ठूलाठूला कुरा गर्छन्, र परमेश्‍वरलाई प्रेम गर्न र उहाँप्रति समर्पित हुन इच्छुक रहेको दाबी गर्छन्, तर जब तिनीहरूले कर्तव्य निर्वाह गर्ने क्रममा कुनै कठिनाइ सामना गर्छन्, तब तिनीहरूको मुखबाट हरप्रकारका गुनासा र नकारात्मक शब्दहरू निस्कन्छन्। यसले उनीहरू पाखण्डी हुन् भनेर स्पष्टै देखाउँछ। यदि कसैले सत्यतालाई प्रेम गर्छ भने, उसले कर्तव्य निर्वाह गर्दा कठिनाइ आइपरे पनि, र उसलाई त्यो कर्तव्य उचित रूपमा दिइएको नभए पनि, उसले आफ्नो कर्तव्यलाई गम्भीरतासाथ लिँदै परमेश्‍वरलाई प्रार्थना गर्नेछ र सत्यता खोज्नेछ। भारी, सिकसिकलाग्दो वा कठिन काम गर्नुपरे पनि उसले गुनासो गर्नेछैन र उसले परमेश्‍वरप्रति समर्पित हृदयले आफ्नो कार्य राम्ररी गर्न अनि राम्रोसँग कर्तव्य निर्वाह गर्न सक्नेछ। यसो गर्दा उसलाई धेरै आनन्द मिल्नेछ र परमेश्‍वरलाई पनि यो देखेर सान्त्वना मिल्नेछ। यस्तो व्यक्तिले नै परमेश्‍वरको अनुमोदन प्राप्त गर्छ। यदि कसैले सिकसिकलाग्दो, कठिन र परिश्रमपूर्ण काम पाउनेबित्तिकै रिसाउने र झर्को मान्ने गर्छ, र कसैलाई आफ्नो आलोचना गर्न दिँदैन भने, यस्तो व्यक्ति परमेश्‍वरको लागि आफूलाई इमानदारीसाथ खर्चिने व्यक्ति होइन। यस्तो व्यक्तिलाई केवल प्रकाश गर्न र हटाउन मात्र सकिन्छ। सामान्य अवस्थामा, तिमीहरूसँग यी स्थितिहरू हुँदा, के तिमीहरू समस्याको गम्भीरता बुझ्न सक्छौ? (केही केही बुझ्न सक्छौँ।) यदि केही केही बुझ्न सक्छौ भने, के तिमीहरूले यसलाई आफ्नो शक्ति, आफ्नो विश्‍वास र आफ्नो कदको भरमा बदल्न सक्छौ त? तैँले यो मनोवृत्ति बदल्न जरुरी छ। सुरुमा तैँले सोच्नुपर्छ, “यो मनोवृत्ति गलत छ। के यो कर्तव्य निर्वाह गर्दा राम्रो फल मात्र टिप्नु होइन र? यो समर्पणता होइन। कर्तव्य निर्वाह गर्नु खुसीको कुरा हुनुपर्छ, जुन स्वेच्छाले र प्रसन्न हुँदै गरिनुपर्छ। म किन खुसी छैनँ र म किन दुःखी छु? मेरो कर्तव्य के हो भन्‍ने मलाई राम्रोसँग थाहा छ र मैले यही गर्नुपर्छ—म किन यसै समर्पित हुन सक्दिनँ? मैले परमेश्‍वरसामु आएर प्रार्थना गर्नैपर्छ, र मेरो हृदयको गहिराइमा यी भ्रष्ट स्वभावहरू प्रकट भइरहेका छन् भनेर जान्नैपर्छ।” त्यसो गर्ने क्रममा, तैँले प्रार्थना गर्नुपर्छ: “हे परमेश्‍वर, मलाई स्वेच्छाचारी हुने बानी परिसक्यो—म कसैको कुरा सुन्दिनँ। मेरो मनोवृत्ति गलत छ र ममा कुनै समर्पणता छैन। कृपया मलाई अनुशासित गर्नुहोस् र समर्पणकारी बनाउनुहोस्। म दुःखी हुन चाहन्‍नँ। म तपाईँविरुद्ध अब कुनै विद्रोह गर्न चाहन्नँ। कृपया मलाई स्पर्शित गर्नुहोस् र यो कर्तव्य राम्ररी गर्न सक्ने बनाउनुहोस्। म शैतानको लागि जिउन चाहन्‍नँ; म सत्यताको लागि जिउन र सत्यता अभ्यास गर्न चाहन्छु।” जब तैँले यसरी प्रार्थना गर्छस्, तब तँभित्रको स्थिति सुधार हुनेछ र त्यो स्थिति सुधार भएपछि, तँ समर्पित हुन सक्षम हुनेछस्। तैँले सोच्नेछस्, “यो साँच्चै नै धेरै होइन रहेछ। अरूले थोरै गर्दा मैले धेरै गरेको रहेछु, तिनीहरूले रमाइलो गर्दा मैले नगरेको रहेछु, र उनीहरूले रमाइलो गर्दा मैले बेकारको कुरा गर्दो रहेछु। परमेश्‍वरले मलाई थप भार, निकै ठूलो भार दिनुभएको छ; त्यो मप्रति उहाँको सम्मान हो, मप्रतिको कृपा हो र यसले म त्यो भारी बोझ थाम्न सक्छु भन्‍ने प्रमाणित गर्छ। परमेश्‍वर मप्रति निकै असल हुनुहुन्छ र म समर्पणकारी हुनैपर्छ।” अनि त्यसपछि तैँले थाहै नपाई तेरो मनोवृत्ति परिवर्तन भइसकेको हुनेछ। सुरुमा कर्तव्य स्विकार्दा, तँसँग खराब मनोवृत्ति थियो। तँ समर्पित हुन सक्षम थिइनस्, तर तैँले यसलाई तुरुन्तै बदल्न सकेको छस्, अनि तुरुन्तै परमेश्‍वरको सूक्ष्म जाँच र अनुशासन स्विकार्न सकेको छस्। अनि, परमेश्‍वरबाट पूर्ण रूपमा कर्तव्य स्वीकार गरी पूर्ण हृदयले यसलाई पूरा गर्न सक्षम नहुन्जेलसम्‍मै, तँ आज्ञाकारी, सत्यता स्विकार्ने र अभ्यास गर्ने मनोवृत्ति लिएर परमेश्‍वरसामु तुरुन्तै आउन सक्षम भएको छस्। यसमा संघर्षको एउटा प्रक्रिया छ। संघर्षको त्यो प्रक्रिया भनेको तेरो परिवर्तनको प्रक्रिया हो, र तैँले सत्यता स्विकार्ने प्रक्रिया हो। मानिसहरूका लागि त स्वेच्छाले र खुसीसाथ आफ्नो मार्गमा आएका जुनसुकै कुराप्रति कुनै हिचकिचाहटबिना समर्पित हुनु असम्भव हुन्छ। यदि मानिसहरूले यस्तो गर्न सक्थे भने यसको अर्थ तिनीहरूसँग भ्रष्ट स्वभाव थिएन भन्‍ने हुन्थ्यो र तिनीहरूलाई मुक्ति दिन परमेश्‍वरले सत्यता व्यक्त गर्नुपर्ने आवश्यकता नै हुँदैनथ्यो। मानिसहरूमा विचारहरू उत्पन्न हुन्छन्; तिनीहरूमा गलत मनोवृत्तिहरू हुन्छन्; र तिनीहरू गलत र नकारात्मक स्थितिमा हुन्छन्। यी सबै वास्तविक समस्या हुन्—यी कुराहरू अस्तित्वमा छन्। तर जब यी नकारात्मक र प्रतिकूल स्थिति, नकारात्मक संवेग र भ्रष्ट स्वभावहरूले तेरो व्यवहार, तेरो सोच, र तेरो मनोवृत्तिमाथि हाबी भएर नियन्त्रण जमाउँछन्, तब तैँले गर्ने कामकुराहरू, अभ्यास गर्ने तेरो तरिका र तँ कुन बाटो हिँड्छस् भन्‍ने कुरा सत्यताप्रतिको तेरो मनोवृत्तिमा निर्भर रहनेछ। तँमा संवेगहरू हुन सक्ला वा तँ नकारात्मक वा विद्रोही स्थितिमा हुन सक्छस्, तर यी कुराहरू तेरो कर्तव्य निर्वाहको क्रममा देखा पर्दा चाँडै नै सुधार हुनेछन्, किनभने तँ परमेश्‍वरको सामु आउँछस्, सत्यता बुझ्छस्, परमेश्‍वरलाई खोजी गर्छस् र तेरो मनोवृत्ति पनि समर्पणता र सत्यता स्विकार्ने हुन्छ। त्यसपछि तँ समस्यामुक्त भएर आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न सक्छस् र तैँले भ्रष्ट शैतानी स्वाभावको बन्धन र नियन्त्रणमाथि विजय प्राप्त गर्न सक्नेछस्। अन्त्यमा तँ आफ्नो कर्तव्य पूरा गर्न सफल हुनेछस्, र तैँले परमेश्‍वरको आज्ञा पूरा गर्नेछस्, अनि सुरक्षितसाथ सत्यता र जीवन प्राप्त गर्नेछस्। मानिसहरूले आफ्नो कर्तव्य निर्वाह गर्ने र सत्यता प्राप्त गर्ने प्रक्रिया आफ्नो स्वभाव परिवर्तन गर्ने प्रक्रिया पनि हो। मानिसहरूले पवित्र आत्माको अन्तर्दृष्टि र ज्योति पाउने, सत्यता बुझ्ने र वास्तविकतामा प्रवेश गर्ने सबै कुरा तिनीहरूको कर्तव्य निर्वाहको क्रममै हुन्छ। अनि, तिनीहरूले कर्तव्य सामान्य रूपमा निभाउन सकूँ भनेर, कठिनाइ हल गर्न अक्सर परमेश्‍वरसामु प्रार्थना गर्न आउने, अनि खोजी गर्न र उहाँका अभिप्राय बोध गर्न आउने सबै कुरा पनि तिनीहरूको कर्तव्य निर्वाहमा कठिनाइहरू आइपर्दा नै हुन्छ। त्यसै गरी, मानिसहरूलाई परमेश्‍वरद्वारा अनुशासित गरिने, तिनीहरूले सत्यता सिद्धान्तहरूअनुसार काम गर्न क्रमैसँग सिक्दै पवित्र आत्मको निर्देशनमा जिउने, अनि आफ्नो कर्तव्य सन्तुष्टजनक रूपमा निर्वाह गर्दै जाने यी सबै कुरा पनि तिनीहरूले कर्तव्य निर्वाह गर्ने क्रममै हुन्छ। यो सत्यताले तेरो हृदय नियन्त्रणमा लिएर त्यसमाथि शासन गरेको अवस्था हो।

केही मानिसहरूको सवालमा, तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा जेसुकै समस्याको सामना गर्नु परे तापनि तिनीहरूले सत्यताको खोजी गर्दैनन् र तिनीहरूले सधैँ आफ्नै विचारहरू, धारणाहरू, कल्पनाहरू र चाहनाहरूअनुसार काम गर्छन्। तिनीहरूले बारम्बार आफ्नै स्वार्थी चाहनाहरू पूरा गरिरहेका हुन्छन् र तिनीहरूका भ्रष्ट स्वभावहरूले तिनीहरूका कामहरूलाई सधैँ नियन्त्रण गरिरहेका हुन्छन्। तिनीहरूले सधैँ आफ्‍नो कर्तव्य पूरा गरेको जस्तो देखिन्छ, तर तिनीहरूले सत्यता कहिल्यै स्वीकार नगरेका हुनाले, र तिनीहरू सत्यता सिद्धान्तहरूअनुसार काम गर्न असक्षम रहेका हुनाले, तिनीहरू अन्तिममा सत्यता र जीवन प्राप्त गर्न असफल हुनेछन्, र श्रमिक बन्‍नेछन्, श्रमिक नामकै लायक हुनेछन्। त्यसो भए, आफ्ना कर्तव्यहरू निर्वाह गर्दा त्यस्ता मानिसहरू केमा भर परिरहेका हुन्छन् त? तिनीहरू न त सत्यतामा भर परिरहेका हुन्छन् न त परमेश्‍वरमा नै। तिनीहरूले बुझेको थोरै सत्यताले तिनीहरूको हृदयमा सार्वभौमिकता हासिल गरेको हुँदैन; यी कर्तव्यहरू निर्वाह गर्नको निम्ति तिनीहरू आफ्नै वरदान र प्रतिभाहरू, तिनीहरूले आर्जन गरेका ज्ञानका साथै तिनीहरूका आफ्नै इच्छाशक्ति वा असल अभिप्रायहरूमा भर परिरहेका हुन्छन्। अनि यस्तो अवस्थामा, के तिनीहरूले स्वीकार्य मापदण्डअनुसार आफ्‍नो कर्तव्य निर्वाह गर्न सक्‍छन्? जब मानिसहरूले आफ्‍नो कर्तव्य पूरा गर्न आफ्‍नो प्राकृतिकता, धारणा, कल्‍पना, विशेषज्ञता, र सिकाइमा भरोसा गर्छन्, तब तिनीहरूले आफ्‍नो कर्तव्य निभाइरहेका छन्, दुष्कर्म गरिरहेका छैनन् जस्तो देखिए पनि, तिनीहरूले सत्यता अभ्यास गरिरहेका हुँदैनन्, र तिनीहरूले परमेश्‍वरलाई सन्तुष्ट पार्ने गरी केही काम गरेका हुँदैनन्। त्यसमा बेवास्ता गर्न नमिल्‍ने अर्को समस्या पनि छ: तैँले तेरो कर्तव्य निर्वाह गर्ने क्रममा, यदि तेरा धारणाहरू, कल्पनाहरू र व्यक्तिगत चाहनाहरू कहिले पनि परिवर्तन हुँदैनन् र सत्यताद्वारा प्रतिस्थापन हुँदैनन् भने, र तेरा काम-कारवाहीहरू र कर्महरू कहिले पनि सत्यता सिद्धान्तअनुसार हुँदैनन् भने, अन्तिम परिणाम के हुनेछ त? तँसित कुनै जीवन प्रवेश हुनेछैन, तँ श्रमिक बन्‍नेछस्, र यसरी प्रभु येशूका यी वचनहरू पूरा हुनेछन्: “त्‍यस दिन मलाई धेरैले यसो भन्‍नेछन्, प्रभु, प्रभु, के हामीले तपाईंको नाउँमा अगमवाणी बोलेका छैनौँ र? अनि तपाईंको नाउँमा दियाबलसहरू धपाएनौँ र? र तपाईंको नाउँमा धेरै अचम्मका कामहरू गरेनौँ र? अनि म तिनीहरूका निम्ति घोषणा गर्नेछु, मैले तिमीहरूलाई कहिल्‍यै चिनिनँ। दुष्ट काम गर्ने तिमीहरू मबाट दूर होओ” (मत्ती ७:२२-२३)। परमेश्‍वरले किन यी प्रयत्न गर्नेहरू र श्रम गर्ने व्यक्तिहरूलाई दुष्कर्मी भन्‍नुहुन्छ त? एउटा बुँदामा हामी निश्‍चित हुन सक्छौँ, र त्यो के हो भने, यी मानिसहरूले जे कर्तव्यहरू वा कामहरू गरे तापनि, तिनीहरूका प्रेरणाहरू, प्रोत्साहनहरू, अभिप्रायहरू र सोचहरू सम्पूर्ण रूपमा तिनीहरूका स्वार्थी चाहनाहरूबाट नै उत्पन्‍न हुन्छन्, अनि ती तिनीहरूका आफ्‍नै हितहरू र सम्‍भाव्यता रक्षा गर्नका लागि, र तिनीहरूका आफ्‍नै घमण्ड, अभिमान, र हैसियत सन्तुष्ट पार्नका लागि हुन्छन्। यो सब यिनै विचार र हिसाबकिताबहरूमा केन्द्रित हुन्छ, तिनीहरूको हृदयमा कुनै सत्यता हुँदैन, तिनीहरूसँग परमेश्‍वरको डर मान्‍ने र उहाँमा समर्पित हुने हृदय हुँदैन—समस्याको जड यही हो। आज तिमीहरूले पछ्याउनुपर्ने महत्त्वपूर्ण कुरा के हो? सबै कुरामा, तिमीहरूले सत्यता खोजी गर्नुपर्छ, र तिमीहरूले परमेश्‍वरका अभिप्राय र परमेश्‍वरको आज्ञाअनुसार आफ्‍नो कर्तव्य उचित रूपमा निर्वाह गर्नुपर्छ। तिमीहरूले त्यसो गर्‍यौ भने, परमेश्‍वरको अनुमोदन प्राप्त गर्नेछौ। त्यसो भए, परमेश्‍वरको आज्ञाअनुसार आफ्‍नो कर्तव्य निर्वाह गर्नका लागि विशेष रूपमा के काम गर्नुपर्छ? तिमीहरूले गर्ने हरेक कुरामा, तिमीहरूले परमेश्‍वरलाई प्रार्थना गर्न, तँमा के-कस्ता मनसायहरू छन्, के-कस्ता विचारहरू छन्, अनि यी मनसाय र विचारहरू सत्यताअनुरूप छन्, छैनन् भनेर मनन गर्नुपर्छ; यदि ती सत्यताअनुरूप छैनन् भने, तिनलाई पन्छाउनुपर्छ, त्यसपछि तिमीहरूले सत्यता सिद्धान्तहरूअनुसार काम गर्नुपर्छ र परमेश्‍वरको छानबिन स्विकार्नुपर्छ। यसले तैँले सत्यता अभ्यास गर्ने कुरा सुनिश्‍चित गर्नेछ। यदि तँसँग तेरा आफ्‍नै मनसाय र उद्देश्यहरू छन्, र तँलाई तिनले सत्यता उल्‍लङ्घन गर्छन् र ती परमेश्‍वरका अभिप्रायविपरीत छन् भन्‍ने राम्ररी थाहा छ, र पनि तैँले परमेश्‍वरलाई प्रार्थना गर्दैनस्, र समाधानका लागि सत्यता खोजी गर्दैनस् भने, यो खतरनाक कुरा हो, तैँले सहजै दुष्कर्म र परमेश्‍वरविरोधी काम गर्न सक्छस्। यदि तैँले एक-दुई पटक दुष्कर्म गरेर पश्‍चात्ताप गरिस् भने, तँसँग अझै पनि मुक्तिको आशा हुन्छ। यदि तैँले दुष्कर्म गरिरहिस्—तैँले हरकिसिमका दुष्कर्महरू गरिस्—तैपनि तैँले अझै पश्‍चात्ताप गरिनस् भने, तँ समस्यामा हुन्छस्: परमेश्‍वरले तँलाई एकातिर हुत्याइदिनुहुनेछ वा त्याग्‍नुहुनेछ, यसको मतलब तँ हटाइने खतरामा हुन्छस्; हरकिसिमका दुष्ट कामहरू गर्ने मानिसहरूलाई अवश्य दण्ड दिइनेछ र हटाइनेछ।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्