कर्तव्य निर्वाह गर्नेसम्बन्धी वचनहरू (अंश ३४)
कतिपय मानिसहरू आफ्नो कर्तव्यमा कष्ट भोग्ने पटक्कै इच्छा गर्दैनन्, समस्यामा पर्नेबित्तिकै गुनासो गर्छन् र मूल्य चुकाउन मान्दैनन्। यो कस्तो प्रकारको मनोवृत्ति हो? यो झाराटारुवा मनोवृत्ति हो। यदि तँ झारा टार्ने तरिकाले आफ्नो कर्तव्य निर्वाह गर्छस्, र त्यसलाई अपमानजनक मनोवृत्तिले हेर्छस् भने, त्यसको नतिजा के हुनेछ? तैँले आफ्नो कर्तव्य राम्ररी पूरा गर्न सक्ने भए पनि, कर्तव्य निर्वाह गर्दा तेरो कार्यप्रदर्शन नराम्रो हुनेछ—तेरो कार्यप्रदर्शन मापदण्डको स्तरमा पुग्नेछैन, र तेरो कर्तव्यप्रतिको तेरो मनोवृत्तिसँग परमेश्वर निकै असन्तुष्ट हुनुहुनेछ। यदि तैँले परमेश्वरलाई प्रार्थना गर्न, सत्यता खोज्न, र यसमा आफ्नो सारा हृदय र मन लगाउन सकेको भए, यदि तैँले यसरी सहकार्य गर्न सकेको भए, परमेश्वरले पहिले नै तेरो लागि सबै कुरा तयार गरिदिनुभएको हुन्थ्यो, ताकि तैँले मामिलाहरू सम्हाल्दै गर्दा ती सबै उचित ठाउँमा पर्नेथ्यो, र राम्रो नतिजा प्राप्त हुनेथ्यो। तैँले त्यति भयङ्कर ऊर्जा लगाउनु पर्दैन; जब तैँले सहकार्य गर्न आफूले सक्दो प्रयास गर्थिस्, परमेश्वरले पहिले नै सबै कुराको बन्दोबस्त गरिसक्नुभएको हुनेथ्यो। यदि तँ धूर्त छस् र सुस्ताउँछस् भने, यदि तँ आफ्नो कर्तव्य राम्ररी पूरा गर्दैनस् र सधैँ गलत मार्गमा जान्छस् भने, परमेश्वरले तँमाथि कार्य गर्नुहुनेछैन; तैँले यो अवसर गुमाउनेछस्, र परमेश्वरले यसो भन्नुहुनेछ, “तेरो कामै छैन; म तँलाई प्रयोग गर्न सक्दिनँ। जा, पाखा लाग्। तँलाई चलाक हुन र सुस्ताउन मन पर्छ, होइन त? तँलाई अल्छे हुन र आरामसाथ व्यवहार गर्न मन पर्छ, होइन त? ठिकै छ, सधैँभरी आरामसाथ व्यवहार गर्!” परमेश्वरले यो अनुग्रह र अवसर अर्को कुनै व्यक्तिलाई दिनुहुनेछ। तिमीहरू के भन्छौ: यो हानि हो कि लाभ हो? (हार।) यो ठूलो हानि हो!
परमेश्वरलाई साँच्चिकै प्रेम गर्नेहरू र सत्यता पछ्याउनेहरू सबैलाई उहाँले विभिन्न र फरक फरक परिवेशहरूमा सिद्ध पार्नुहुन्छ। उहाँले मानिसहरूलाई फरक फरक परिवेश वा परीक्षाहरूमार्फत उहाँका वचनहरू अनुभव गर्ने, अनि सत्यता बुझ्ने र उहाँबारे साँचो ज्ञान प्राप्त गर्ने, र अन्ततः सत्यता प्राप्त गर्ने तुल्याउनुहुन्छ। यदि तैँले परमेश्वरको काम यस तरिकाले अनुभव गर्छस् भने, तेरो जीवन स्वभाव परिवर्तन हुनेछ, र तैँले सत्यता र जीवन प्राप्त गर्न सक्नेछस्। तिमीहरूले यी वर्षहरूको अनुभवमार्फत के-कति कुरा हासिल गरेका छौ? (एकदमै धेरै।) त्यसोभए, के आफ्नो कर्तव्य निर्वाह गर्दा अलिअलि कष्ट सहनु र अलिअलि मूल्य चुकाउनु सार्थक हुँदैन र? त्यसको बदलामा तैँले के प्राप्त गरेको छस्? तैँले कति धेरै सत्यता बुझेको छस्! यो एक अमूल्य खजाना हो! मानिसहरू परमेश्वरमा विश्वास गरेर के प्राप्त गर्न चाहन्छन्? के त्यो सत्यता र जीवन प्राप्त गर्नु होइन र? के तँलाई यी परिवेशहरू अनुभव नगरीकन सत्यता प्राप्त गर्न सक्छु जस्तो लाग्छ? तैँले कदापि सक्दैनस्। तँलाई केही विशेष कठिनाइहरू आइपर्दा वा तैँले केही विशेष परिवेशहरू सामना गर्दा, यदि तेरो मनोवृत्ति सधैँ ती कुराहरू पन्छाउने वा ती कुराहरूबाट भाग्ने, र हताशपूर्वक ती कुराहरू नकार्ने र मिल्काउने कोसिस गर्ने हुन्छ भने—यदि तँ आफूलाई परमेश्वरका योजनाबद्ध कार्यहरूको कृपामा छोड्न चाहँदैनस्, उहाँका योजनाबद्ध कार्य र बन्दोबस्तहरूप्रति समर्पित हुन अनिच्छुक छस्, र सत्यतालाई आफूमाथि हाबी हुन दिन चाहँदैनस् भने—यदि तँ सधैँ हुकुम जमाउन र तेरो शैतानी स्वभावअनुसार आफ्नो हरेक कुरालाई नियन्त्रण गर्न चाहन्छस् भने, त्यसको परिणामस्वरूप, परमेश्वरले तँलाई पन्छाउनुहुनेछ वा शैतानको जिम्मा लगाउनुहुनेछ, अनि यो अवश्य नै हुनेछ। यदि मानिसहरूले यो मामिला बुझ्छन् भने, तिनीहरूले तुरुन्तै पछाडि फर्केर परमेश्वरले माग गरेको सही मार्गअनुसार आफ्नो जीवनको बाटो पछ्याउनैपर्छ—यो नै सही बाटो हो, र जब बाटो सही हुन्छ, त्यसको मतलब दिशा पनि सही हुन्छ। बाटोमा खाल्डाखुल्डीहरू हुन सक्छन् र यस अवधिमा कठिनाइहरू आउन सक्छन्, तिनीहरूलाई ठेस लाग्न वा कहिलेकाहीँ अलि असन्तुष्टि हुन सक्छ र तिनीहरू कैयौँ दिनसम्म नकारात्मक बन्न पनि सक्छन्। तिनीहरूले कर्तव्य निभाउनमा लागिपर्न सक्छन् र कामकुरा ढिलाइ गराउँदैनन् भने, यी सबै समस्याहरू मामुली नै हुनेछन्, तर तिनीहरूले तुरुन्तै आफ्नै बारेमा मनन गर्नुपर्छ, यी समस्याहरू समाधान गर्न सत्यता खोज्नुपर्छ, अनि तिनीहरूले विलम्ब गर्ने, आफ्नो काम छोड्ने वा आफ्नो कर्तव्य त्याग्ने कदापि गर्नु हुँदैन। यो सबैभन्दा महत्त्वपूर्ण छ। यदि तँ “नकारात्मक र कमजोर हुनु ठूलो कुरा होइन; त्यो भित्री कुरा हो। परमेश्वरलाई त्यसबारे थाहा हुँदैन। अनि मैले विगतमा भोगेको कष्ट र चुकाएको मूल्यबारे विचार गर्दा, उहाँ मप्रति अवश्यै उदार हुनुहुनेछ” भनी मनमनै सोच्छस् भने, र यदि यो कमजोरीपन र नकारात्मकता जारी रहन्छ, र परमेश्वरले तेरो लागि बन्दोबस्त गरेको परिवेशमा तैँले सत्यता खोज्ने वा पाठ सिक्ने गर्दैनस् भने, तैँले बारम्बार तेरा मौकाहरू गुमाउनेछस्, र फलस्वरूप, परमेश्वरले तँलाई जेजस्ता अवसरहरूमार्फत सिद्ध पार्न खोज्नुभएको हो ती सबै अवसरहरू तैँले गुमाउने, बिगार्ने र नष्ट पार्नेछस्। अनि यसको परिणाम के हुनेछ? तेरो हृदयमा झन्झन् अन्धकार छाउनेछ, तैँले आफ्नो प्रार्थनामा परमेश्वरको अनुभूति गर्नै छोड्नेछस्, अनि तँ यतिसम्म नकारात्मक बन्नेछस् कि तेरा सोचहरू दुष्टता र घातले भरिएका हुनेछन्। त्यसपछि तँ चरम दुखमा फस्नेछस्, पूरै सामर्थ्यहीन र गहिरो उदासी महसुस गर्नेछस्। तँलाई आफूसँग कुनै मार्ग वा दिशा नभएको, र आफू कुनै ज्योति देख्न वा कुनै आशा भेट्टाउन नसक्ने भएको अनुभूति हुनेछ। के यस तरिकाले जिउनु थकानयुक्त हुन्न र? (हो, यो थकानयुक्त हुन्छ।) जो सत्यता पछ्याउने उज्यालो मार्गमा हिँड्दैनन् तिनीहरू सदाको लागि शैतानको सत्ता, अनन्त पाप र अन्धकारमा, अनि कुनै आशाबिना जिउनेछन्। के तिमीहरू यी वचनहरूको अर्थ बुझ्न सक्छौ? (मैले सत्यता पछ्याएर मेरो सारा हृदय र दिमागले आफ्नो कर्तव्य निभाउनुपर्छ।) जब तँलाई कुनै कर्तव्य आइपर्छ, र त्यो तँलाई जिम्मा दिइएको हुन्छ, तब कठिनाइहरूको सामना गर्नबाट कसरी बच्ने भनेर नसोच्; त्यसलाई सम्हाल्न गाह्रो भयो भन्दैमा पन्साउने र बेवास्ता गर्ने नगर्। तैँले त्यस कुरालाई सिधै सामना गर्नुपर्छ। तैँले सधैँ के याद राख्नैपर्छ भने परमेश्वर मानिसहरूको साथमा हुनुहुन्छ, र तिनीहरूलाई कुनै कठिनाइहरू भएमा तिनीहरूले केवल प्रार्थना गरेर उहाँबाट खोजी गर्नुपर्छ, अनि परमेश्वरका लागि केही पनि गाह्रो हुँदैन। तँमा यो विश्वास हुनैपर्छ। तैँले परमेश्वर नै सबै थोकका सार्वभौम हुनुहुन्छ भन्ने विश्वास गर्ने भए पनि, किन आफूलाई केही आइपर्दा तँ अझै डर मान्छस् र आफूसँग भरोसायोग्य केही छैन भन्ने सोच्छस्? यसले प्रमाणित गर्छ कि तँ परमेश्वरमा भरोसा गर्दैनस्। यदि तैँले उहाँलाई तेरो आडभरोसा र तेरो परमेश्वरको रूपमा लिँदैनस् भने, उहाँ तेरो परमेश्वर हुनुहुन्न। वास्तविक जीवनमा, तैँले जस्तोसुकै परिस्थितिहरू सामना गरे पनि, तैँले बारम्बार परमेश्वरसामु आएर प्रार्थना गर्नु र सत्यता खोज्नुपर्छ। तैँले हरदिन एउटा मात्रै मामिलासम्बन्धी सत्यता बुझिस् र केही हासिल गरिस् भने पनि, त्यो दिन खेर गएको हुनेछैन! अहिले तिमीहरू एक दिनमा कति समय परमेश्वरसामु आउन सक्छौ? तिमीहरू एक दिनमा परमेश्वरसामु कति पटक आउँछौ? के तिमीहरूले कुनै परिणाम प्राप्त गरेका छौ? यदि कुनै व्यक्ति विरलै परमेश्वरसामु आउँछ भने, उसको आत्मा सुकेको र अत्यन्तै अँध्यारो भएको हुनेछ। जब सबै कुरा ठिकै हुन्छ, मानिसहरू परमेश्वरबाट टाढा गएर उहाँलाई बेवास्ता गर्छन्, र कठिनाइहरू आइपर्दा मात्र उहाँको खोजी गर्छन्। के यो परमेश्वरमा विश्वास गर्नु हो त? के यो परमेश्वरको काम अनुभव गर्नु हो त? यी कुरा त अविश्वासीका प्रकटीकरणहरू हुन्। परमेश्वरमाथिको यस्तो खालको विश्वासले सत्यता र जीवन प्राप्त गर्न असम्भव छ।
जब मानिसहरूले सत्यता बुझ्दैनन् वा अभ्यास गर्दैनन्, तिनीहरू बारम्बार शैतानको भ्रष्ट स्वभावहरूमा जिउँछन्। तिनीहरू विविध शैतानी पासोभित्र जिउँछन्, आफ्नो भविष्य, गौरव, हैसियत, र अन्य रुचिहरूबारे सोच्छन्, र यी कुराहरूबारे सोचमग्न हुन्छन्। तर यदि तैँले यो मनोवृत्तिलाई आफ्नो कर्तव्यमा, र सत्यता खोज्न र पछ्याउनमा लागू गरिस् भने, तैँले सत्यता प्राप्त गर्न सक्छस्। उदाहरणको लागि, तँ झिनोमसिनो व्यक्तिगत लाभको लागि सोचमग्न हुन्छस्, तँ त्यसबारे ध्यानपूर्वक र गहन रूपले सोच्छस्, हरेक कुरा सिद्ध पार्ने योजना गर्छस्, र त्यसमा ठूलो सोच र ऊर्जा लगाउँछस्। यदि तैँले त्यही ऊर्जा आफ्नो कर्तव्य निर्वाह गर्नमा र समस्याहरू समाधान गर्नको लागि सत्यता खोज्नमा लगाउने हो भने, परमेश्वरमा तँप्रति छुट्टै मनोवृत्ति छ भनेर तैँले देख्नेछस्। मानिसहरू निरन्तर परमेश्वरबारे गुनासो गर्छन्: “उहाँ किन अरूलाई राम्रो गर्नुहुन्छ तर मलाई गर्नुहुन्न? उहाँले मलाई किन कहिल्यै अन्तर्दृष्टि दिनुहुन्न? म किन सधैँ कमजोर हुन्छु? म किन तिनीहरूजतिकै राम्रो छैनँ?” यस्तो किन हुन्छ? परमेश्वरले कृपावाद देखाउनुहुन्न। यदि तँ परमेश्वरसामु आउँदैनस् र तँलाई आइपर्ने कुराहरू सधैँ आफै समाधान गर्न चाहन्छस् भने, उहाँले तँलाई अन्तर्दृष्टि दिनुहुन्न। तँ उहाँलाई प्रार्थना र बिन्ती गर्न आउञ्जेल उहाँले प्रतीक्षा गर्नुहुनेछ, त्यसपछि मात्र उहाँले तँलाई अन्तर्दृष्टि प्रदान गर्नुहुनेछ। परमेश्वरले कस्ता मानिसहरूलाई रुचाउनुहुन्छ? परमेश्वर मानिसहरूले उहाँबाट के मागून् भनेर प्रतीक्षा गरिरहनुभएको छ? के उहाँ तिनीहरूले ती लाज पचेका मानिसहरूले जस्तै पैसा, आराम, ख्याति, लाभ, र आनन्द मागून् भन्ने चाहनुहुन्छ? परमेश्वरलाई मानिसहरूले त्यस्ता कुराहरू मागेको मन पर्दैन। परमेश्वरबाट यी कुराहरू पाउन खोज्नेहरू लाज नभएका मानिसहरू हुन्, तिनीहरू सबैभन्दा निम्न स्तरका मानिसहरू हुन्, र परमेश्वरले तिनीहरूलाई चाहनुहुन्न। उहाँ त ती मानिसहरूलाई चाहनुहुन्छ, जो पापबाट जाग्न र उहाँमार्फत सत्यता खोज्न र सत्यता स्विकार्न सक्छन्—उहाँलाई यसप्रकारका मानिसहरू स्वीकारयोग्य लाग्छन्। तैँले यसरी प्रार्थना गर्नुपर्छ: “हे परमेश्वर, म गहिरो रूपमा शैतानद्वारा भ्रष्ट तुल्याइएको छु, र म बारम्बार मेरा भ्रष्ट स्वभावहरूमा जिउँछु। म ख्याति र हैसियतका विविध प्रलोभनहरू पार गर्न सक्दिनँ, र म ती कुराहरू सम्हाल्न जान्दिनँ। ममा सत्यताका सिद्धान्तहरूको बुझाइ छैन। बिन्ती छ, मलाई अन्तर्दृष्टि र मार्गदर्शन दिनुहोस्,” र “म आफ्नो कर्तव्य निर्वाह गर्न इच्छुक छु, तर मलाई आफू अपर्याप्त छु भन्ने लाग्छ—एउटा हिसाबमा, मेरो कद अत्यन्तै सानो छ, र अर्को हिसाबमा, ममा यो क्षेत्रको बुझाइ छैन। मलाई कामकुराहरू राम्ररी गर्न सक्दिनँ कि भन्ने चिन्ता लाग्छ। बिन्ती छ, मलाई मार्गदर्शन र मदत दिनुहोस्।” तँ आइज र सत्यता खोज् भनी परमेश्वरले प्रतीक्षा गरिरहनुभएको छ। जब तँ इमानदार हृदयले खोजी गर्दै परमेश्वरसामु आउँछस्, उहाँले तँलाई अन्तर्दृष्टि र ज्योति दिनुहुनेछ, र त्यसपछि तँसित एउटा मार्ग हुनेछ र तैँले आफ्नो कर्तव्य निर्वाह गर्न जान्नेछस्। यदि तँ सधैँ सत्यता सम्बन्धमा प्रयत्न लगाउँछस्, र प्रार्थनामा तेरो साँचो स्थिति परमेश्वरसामु ल्याउँछस्, अनि परमेश्वरको मार्गदर्शन र अनुग्रह माग्छस् भने, यस तरिकाले तैँले बिस्तारै सत्यता बुझ्दै र अभ्यास गर्दै जानेछस्, र तँ जे-जसरी जिउँछस् त्यसमा मानव स्वरूप, सामान्य मानवता र सत्यता वास्तविकता हुनेछन्। यदि तँ परमेश्वरका अभिप्रायबारे ख्याल गर्दैनस्, र सत्यता पछ्याउँदैनस्, र बारम्बार तेरा विविध रुचिहरूको लागि योजना बनाउँछस्, मनन गर्छस्, र तेरो सोच र मेहनत लगाउँछस्, अनि त्यसमा तेरो जीवनसमेत सुम्पन्छस्, र त्यसको लागि आवश्यक परे जे पनि गर्छस् भने, तैँले मानिसहरूको सम्मानका साथै गौरवका विभिन्न लाभ र स्वरूपहरू त प्राप्त गर्न सक्छस् होला—तर कुन बढी महत्त्वपूर्ण छ, यी कुराहरू कि सत्यता? (सत्यता।) मानिसहरू यस्तो धर्मसिद्धान्त बुझ्छन्, तर तिनीहरू सत्यता पछ्याउँदैनन्, तिनीहरू आफ्नै स्वार्थ र हैसियतलाई महत्त्व दिन्छन्। त्यसकारण, के तिनीहरूले यो कुरा साँच्चिकै बुझ्छन्, कि यो झूटो बुझाइ हो? (यो झूटो बुझाइ हो।) वास्तवमा, तिनीहरू मूर्ख हुन्। तिनीहरूले यो कुरा प्रस्ट रूपमा देख्दैनन्। जब तिनीहरूले यसलाई प्रस्ट रूपमा देख्न सक्छन्, तिनीहरूले थोरै कद प्राप्त गरेका हुनेछन्। यसको लागि तिनीहरूले सत्यता पछ्याउनुपर्छ, र परमेश्वरको वचनमाथि प्रयत्न लगाउनुपर्छ; तिनीहरूले अन्योल वा लापर्बाह हुन मिल्दैन। यदि तँ सत्यता पछ्याउँदैनस् र एउटा यस्तो दिन आउँछ जब परमेश्वरले तँलाई “परमेश्वरले उहाँका वचनहरू बोलिसक्नुभएको छ, उहाँ यो मानवजातिलाई थप केही पनि भन्न चाहनुहुन्न, र थप केही गर्न चाहनुहुन्न, र अब मान्छेको काम निरीक्षण गर्ने समय आएको छ” भनेर भन्नुहुन्छ भने, तँलाई हटाइने तेरो नियति निश्चित भएको छ। तेरा समर्थकहरू जति नै बलियो भए पनि, तँसित जति नै धेरै वरदान र प्रतिभाहरू भए पनि, तँ जतिसुकै शिक्षित भए पनि, वा तँसित जति नै प्रतिष्ठा भए पनि, वा यो संसारमा तेरो जतिसुकै नामी पद भए पनि, यीमध्ये कुनै पनि कुरा उपयोगी हुनेछैन। त्यस समयमा, तैँले सत्यताको बहुमूल्यता र महत्त्व थाहा पाउनेछस्, र तैँले सत्यता प्राप्त गरेको छैनस् भने परमेश्वरसित तेरो केही सरोकार छैन भनेर तैँले बुझ्नेछस्, र तैँले सत्यता प्राप्त नगरीकन परमेश्वरमा विश्वास गर्नु कति दयनीय र दुखद हुन्छ भन्ने कुरा पनि जान्नेछस्। आजभोलि, कैयौँ मानिसहरूको हृदयमा पहिले नै यो कुराको मलिन आभास त आएको छ, तर यो भावनाले तिनीहरूमा अझै पनि सत्यता पछ्याउने दृढता जगाएको छैन। तिनीहरूले आफ्नो हृदयको गहिराइभित्र सत्यताको मूल्य र महत्त्व अनुभूत गरेका छैनन्। थोरै चेतना भएर मात्र पुग्दैन; व्यक्तिले यो मामिलाको सार प्रस्ट रूपमा साँच्चिकै देख्नु जरुरी छ। जब तैँले त्यसो गर्छस्, यो समस्या समाधान गर्न सत्यताको कुन पक्ष प्रयोग गर्ने भनेर तँलाई थाहा हुनेछ। सत्यताले मात्र मानिसहरूले सामना गर्ने विविध कठिनाइहरू समाधान गर्न सक्छ, र तिनीहरूका विविध विकृत सोच, सङ्कीर्ण विचार, चरित्रहीन स्वभावहरू, साथै भ्रष्टतासँग सम्बन्धित विविध समस्याहरू समाधान गर्न सक्छ। बस सत्यता पछ्यायौ अनि समस्याहरू समाधान गर्न निरन्तर रूपमा सत्यता प्रयोग गर्यौ भने, तिमीहरूले आफ्ना भ्रष्ट स्वभावहरू फाल्न र परमेश्वरप्रति समर्पण हासिल गर्न सक्छौ। यदि तँ आफूलाई आइपर्ने जस्तोसुकै समस्याहरू समाधान गर्न पनि मानव विधि र मानव संयमतामा मात्र भर पर्छस् भने, तैँले कहिल्यै पनि यी कठिनाइ र भ्रष्ट स्वभावहरू समाधान गर्न सक्नेछैनस्। कतिपय मानिसहरू यसो भन्छन्, “यदि मैले परमेश्वरका वचनहरू अझ बढी पढेँ र हरदिन ती वचन पढ्दै घन्टौँ बिताएँ भने, के मैले निश्चित रूपमा स्वभाव परिवर्तन हासिल गर्न सक्नेछु?” त्यो तैँले परमेश्वरका वचनहरू कसरी पढ्छस् र तँ सत्यता बुझ्न र व्यवहारमा लागू गर्न सक्छस् कि सक्दैनस् भन्नेमा भर पर्छ। यदि उहाँका वचनहरू पढ्दा तैँले झारा टार्ने काम मात्र गर्छस् तर सत्यता पछ्याउँदैनस् भने, तैँले सत्यता प्राप्त गर्नेछैनस्, अनि यदि तैँले सत्यता प्राप्त गर्दैनस् भने, तेरो जीवन स्वभाव कदापि परिवर्तन हुनेछैन। सारांशमा भन्दा, व्यक्तिले सत्यता नपछ्याइ हुँदै हुँदैन, र स्वभाव परिवर्तन हासिल गर्न व्यक्तिले सत्यता पछ्याउनु र अभ्यास गर्नु जरुरी छ। सत्यता अभ्यास नगरी परमेश्वरका वचनहरू मात्र पढेर कहिल्यै पर्याप्त हुनेछैन। अरूलाई परमेश्वरका वचनहरूको प्रवचन दिनमा र ती वचन कसरी व्यवहारमा लागू गर्ने भनी सुनाउनमा दक्खल भएका, तर आफूले चाहिँ त्यसो नगर्ने फरिसीहरूजस्तो हुनु गलत मार्ग हो। परमेश्वरको माग भनेको मानिसहरूले उहाँका वचन धेरै पढून् ताकि तिनीहरूले सत्यता बुझ्न, सत्यता अभ्यास गर्न, र सत्यता वास्तविकतामा जिउन सकून् भन्ने हो। परमेश्वरले मानिसहरूलाई सत्यता वास्तविकताभित्र प्रवेश गर्न, उहाँको मार्ग पछ्याउन, र सत्यता पछ्याउने जीवनको सही मार्गमा हिँड्न लगाउनु भनेको सीधा रूपमा मानिसहरूले आफ्नो कर्तव्य निर्वाह गर्दा आफ्नो सारा हृदय र शक्ति लगाउने अभ्यास गरून् भन्ने उहाँको मागसँग सम्बन्धित छ। परमेश्वरलाई पछ्याउँदा, मुक्ति प्राप्त गर्न सक्षम र सिद्ध हुनको लागि, मानिसहरूले आफ्नो कर्तव्य गराइमार्फत उहाँको काम अनुभव गर्नु जरुरी छ।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।