मानिसहरूले परमेश्वरसँग अत्यन्तै धेरै मागहरू गर्छन् (भाग एक)
परमेश्वर मानिसहरूले उहाँलाई परमेश्वरको रूपमा व्यवहार गरून् भन्ने माग गर्नुहुन्छ, किनभने मानवजाति अत्यन्तै गहन रूपमा भ्रष्ट भएका छन् र मानिसहरू उहाँलाई परमेश्वरको रूपमा नभई व्यक्तिको रूपमा व्यवहार गर्छन्। मानिसहरूले परमेश्वरसँग सधैँ माग गर्नु कस्तो समस्या हो? अनि तिनीहरूले परमेश्वरबारे सधैँ धारणा राख्नु कस्तो समस्या हो? मानिसको प्रकृतिमा के छ? मैले के पत्ता लगाएको छु भने, चाहे मानिसहरूलाई जे नै होस्, वा तिनीहरूले जे सम्हालिरहेका हुन्, तिनीहरू सधैँ आफ्नो हितको रक्षा गर्छन् र आफ्नै देहको चिन्ता गर्छन्, अनि सधैँ आफूलाई फाइदा हुने कारण वा बहानाहरू खोज्छन्। तिनीहरू अलिकति पनि सत्यता खोज्दैनन् वा सत्यता स्वीकार गर्दैनन्, र सबै कुरा आफ्नै देहको रक्षा गर्न र आफ्नै सम्भावनाको खातिर योजना बुन्ने गर्छन्। तिनीहरू सबै परमेश्वरबाट अनुग्रह माग्छन्, आफूले पाउन सक्ने जति फाइदाहरू पाउन चाहन्छन्। किन मानिसहरू परमेश्वरसँग यति धेरै माग गर्छन्? यसले मानिसहरू प्राकृतिक तवरमै लोभी हुन्छन्, र परमेश्वरसामु तिनीहरूमा कुनै समझ हुँदैन भन्ने प्रमाणित गर्छ। मानिसहरूले गर्ने हरेक कुरामा—तिनीहरूले चाहे प्रार्थना गरिरहेका हुन् वा सङ्गति दिइरहेका वा सुसमाचार सुनाइरहेका हुन्—तिनीहरूको पछ्याइ, सोच र आकाङ्क्षाहरू, यी सबै कुरा परमेश्वरसँग माग गर्ने र उहाँबाट चीजहरू माग्ने प्रयास हुन्, मानिसहरू ती सबै कुरा परमेश्वरबाट केही पाउने आशामा गर्छन्। कतिपय मानिस भन्छन्, “यो मानव प्रकृति हो,” जुन सही कुरा हो! यसबाहेक, मानिसहरूले परमेश्वरसँग अत्यन्त धेरै माग गर्नु र अत्यधिक धेरै इच्छाहरू राख्नुले तिनीहरूमा साँच्ची नै विवेक र समझको कमी छ भन्ने प्रमाणित गर्छ। तिनीहरू सबै आफ्नै लागि चीजहरूको माग र अनुरोध गर्छन्, वा तर्क गर्ने र बहानाहरू खोज्ने प्रयास गर्छन्—तिनीहरू यो सबै आफ्नै लागि गर्छन्। धेरै कुरामा के देख्न सकिन्छ भने मानिसहरूले गर्ने कुरा पूर्णतया समझहीन हुन्छ, जुन “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ” भन्ने शैतानी तर्क मानिसको प्रकृति बनिसकेको छ भन्ने कुराको पूर्ण प्रमाण हो। मानिसहरूले परमेश्वरसँग अति धेरै माग गर्नुले कुन समस्यालाई चित्रण गर्दछ? यसले के चित्रण गर्दछ भने, शैतानले मानिसहरूलाई एक निश्चित हदसम्म भ्रष्ट बनाएको छ, र तिनीहरूले परमेश्वरमा विश्वास गर्दा उहाँलाई परमेश्वरको रूपमा बिलकुलै व्यवहार गर्दैनन्। केही मानिस भन्छन्: “यदि हामीले परमेश्वरलाई परमेश्वरजस्तो व्यवहार गरेका थिएनौँ भने, हामी किन उहाँमा अझै विश्वास गर्ने थियौँ र? यदि हामीले उहाँलाई परमेश्वरको रूपमा व्यवहार नगरेको भए, के उहाँलाई अहिलेसम्म पछ्याइरहन सक्थ्यौँ र? के हामीले यो सारा कष्ट सहन सक्थ्यौँ?” यसो हेर्दा, तँ परमेश्वरमा विश्वास गर्छस् र उहाँलाई पछ्याउन सक्षम छस्, तैपनि उहाँप्रतिको तेरो मनोवृत्तिमा, र धेरै कुरालाई हेर्ने तेरो दृष्टिकोणमा, तैँले परमेश्वरलाई अलिकति पनि सृष्टिकर्ताको रूपमा व्यवहार गर्दैनस्। यदि तँ परमेश्वरलाई परमेश्वरजस्तो व्यवहार गर्छस्, उहाँलाई सृष्टिकर्ताको रूपमा व्यवहार गर्छस् भने, तँ सृष्टि गरिएको प्राणीको रूपमा आफ्नो स्थानमा उभिनुपर्छ, र तैँले परमेश्वरसँग कुनै मागहरू गर्नु वा कुनै अत्यधिक इच्छाहरू राख्नु असम्भव हुनेछ। बरु तँ हृदयबाटै साँचो समर्पण गर्न सक्षम हुनेछस्, अनि परमेश्वरको मापदण्डअनुसार उहाँमा विश्वास गर्न र उहाँका सबै काममा समर्पित हुन पूर्ण सक्षम हुनेछस्।
देहधारणको गवाही दिन थाल्दा, मानिसहरू सबैले गुनासो गरे: “हे परमेश्वर, तपाईंले आफू देह बन्नुअघि हामीलाई मानसिक रूपमा तयार हुन सकौँ भनी अन्तर्दृष्टि दिनुभएन। यदि हामी मानसिक रूपमा तयार भएको भए, हामीले विद्रोह र प्रतिरोध गर्नुको सट्टा तपाईंलाई स्वीकार गर्नेथियौँ। के तपाईं सर्वशक्तिमान् हुनुहुन्न र? हामी शैतानद्वारा भ्रष्ट पारिएकाले तपाईंविरुद्ध विद्रोह र प्रतिरोध गर्छौँ र यसो नगरी सक्दै सक्दैनौँ। के तपाईं हामीलाई प्रतिरोधी हुन नदिन केही गर्न र सहजै पार लगाउन सक्नुहुन्न?” मानिसले सोचेको कुरा यही होइन र? धेरै मानिस यसो भन्दै सर्तहरू पनि राख्छन्: “हामी आफ्नो विद्रोह र प्रतिरोधबारे केही गर्न सक्दैनौँ। परमेश्वरको देहधारण हाम्रो धारणासँग ठ्याक्कै मिल्दैन। यदि परमेश्वरको देहधारण अलि उच्च, वा हेर्नमा विशिष्ट, वा प्रचुर ज्ञानयुक्त र बोल्नमा सिपालु, वा चाहेअनुसार भौतिक शरीर धारण गर्न सक्ने अनि चिन्ह र चमत्कारहरू गर्न सक्ने भएको भए, वा यदि परमेश्वरले देखा परी मानिसहरूको कल्पनाअनुसार देहधारणमा काम गर्नुभएको भए, हामी उहाँको प्रतिरोध गर्नेथिएनौँ।” त्यो बेला धेरै मानिसहरूले यी मागहरू गरे, तर परमेश्वरले मानिसको कल्पना वा धारणाअनुसार काम गर्नुभएन। यसको विपरीत, उहाँले प्रतिप्रहार गर्दै पूर्णतया मानव धारणा विपरीत काम गर्नुभयो। यसले के प्रमाणित गर्यो? यसले के प्रमाणित गर्यो भने, मानव धारणा र मागहरू अनुचित रूपमा दुःखदायी कुरा हुन्। केही मानिसहरू मण्डली अगुवा बने तर कुनै वास्तविक काम गरेनन्, र आफूलाई केही बाहिरी मामिलाहरूमा मात्र व्यस्त राखे। जब मैले यी मानिसहरूलाई काटछाँट गरेँ, अलिअलि हप्काएँ, तब तिनीहरू भित्रभित्रै दुःखी भए, नराम्रोसँग रोए र नकारात्मक बने। तिनीहरूले मनमनै यसो भने: “के परमेश्वर कृपालु र मायालु हुनुहुन्न र? मैले निकै कष्ट भोगिरहेको छु, किन उहाँ मेरा लागि सान्त्वनाका केही मिठा बोली बोल्नुहुन्न? किन उहाँ मलाई आशीर्वादको एक शब्द पनि दिनुहुन्न?” मानिसहरूले यसरी परमेश्वरसँग माग गरे, र तिनीहरू आफ्नै तर्कहरूले भरिएका थिए। कतिपय मानिसहरू आफूले अरू धेरै मानिसलाई सफलतापूर्वक सुसमाचार सुनाएकाले आफूसँग पूँजी भएको ठान्थे, त्यसैले केही गलत गरेकोमा काटछाँटमा परेपछि तिनीहरूले यस्तो तर्क गरे: “मैले कुनै इनामबिना नै धेरै मानिसलाई सफलतापूर्वक सुसमाचार सुनाएँ, र अहिले मलाई यसरी काटछाँट गरिएको छ। मैले धेरै कष्ट झेलेको छु, र पनि अन्त्यमा मलाई काटछाँट गरियो। किन परमेश्वर मेरो भावनाको वास्ता गर्नुहुन्न?” के यस्तो सोच्ने मानिसहरूको हृदयमा सत्यता हुन्छ? के यी मागहरू उचित छन्? यदि मैले कसैलाई काटछाँट गरेपछि सान्त्वना दिएको भए तिनीहरूले यस्तो सोच्नेथिए, “परमेश्वर एकदमै असल हुनुहुन्छ, उहाँले मलाई सान्त्वना दिनुहुन्छ भन्ने कहिल्यै सोचेको थिइनँ।” तर त्यसपछि, यदि मैले अरू कसैलाई काटछाँट गरेँ, र त्यो व्यक्ति निकै दुःखी भयो, अनि मैले उसलाई सान्त्वना नदिएको भए, त्यो व्यक्तिले यस्तो सोच्नेथियो, “किन परमेश्वर अरूलाई काटछाँट गरेपछि सान्त्वना दिनुहुन्छ, तर मलाई सान्त्वना दिनुहुन्न? परमेश्वर मप्रति निष्पक्ष भइरहनुभएको छैन,” अनि तिनीहरूको हृदयमा धारणाहरू उब्जनेछन्। मानिसहरू आफ्ना हृदयमा धेरै अनुचित माग, कल्पना र इच्छाहरू राख्छन्, जुन निश्चित समय र निश्चित सही वातावरणमा विस्फोट हुनेछ। मानिसले प्रकट गर्ने कुनै पनि सोच, विचार, वा मागहरू परमेश्वरसँग मेल खाँदैनन्, र मानिसको प्रकृति शैतानी कुराहरूले भरिएको हुन्छ: उसले सबै कुरा आफ्नै लागि गर्छ, ऊ स्वार्थी र लोभी हुन्छ, ऊसँग अत्यधिक धेरै इच्छा हुन्छन्, र ऊ निकै फोहोरी र अति नै गहन रूपमा भ्रष्ट हुन्छ।
परिस्थिति जस्तोसुकै होस्, मानिसहरू सधैँ परमेश्वरसँग माग गर्छन्। यसमा समस्या के हो? कतिपय मानिसले आफूलाई ऐसआराम भइरहेको बेला परमेश्वरसँग यसो भन्दै प्रार्थना गर्नेछन्, “हे परमेश्वर, मलाई रक्षा गर्नुहोस्, मलाई सधैँ यस अवस्थामा जिउन दिनुहोस्।” मानिसहरू बेखुस वा निराश हुँदा पनि माग गर्छन्: “हे परमेश्वर, तपाईं किन मलाई दया देखाउनुहुन्न? तपाईं किन मलाई अन्तर्दृष्टि दिनुहुन्न? किन परिस्थितिहरू अरू मानिसका लागि यति राम्रा, तर मेरा लागि चाहिँ यति खराब छन्?” विपत्तिको सामना गर्दा मानिसहरू परमेश्वरलाई आफ्नो वातावरण परिवर्तन गरिदिन जोडतोडले माग गर्छन्। जब परिस्थिति ठिकठाक चलिरहेको हुन्छ, तब मानिसका मागहरू झनै अत्यधिक हुन्छन्। जब मानिसहरू केही पाउँछन्, तब झन् धेरै लालसा गर्छन्, र जब केही पाउँदैनन्, तब त्यो पाउन हदै चाहना गर्छन्। मानिसहरू के पाउन चाहन्छन्? तिनीहरू आफूलाई मनपर्ने कुरा र तिनीहरूको देहगत रुचिका कुरा पाउन चाहन्छन्। तसर्थ, मानिसको कुनै पनि माग उचित वा योग्य हुँदैन। जब मैले केही गरिब परिवारलाई केही कपडा वा सरसामान दिएँ, तब केही मानिसहरू यो देखेर बेखुस भए। तिनीहरूले सोचे, “किन परमेश्वर सधैँ तिनीहरूको ख्याल गर्नुहुन्छ तर मेरो ख्याल गर्नुहुन्न? परमेश्वर निष्पक्ष हुनुहुन्न!” अरूलाई त्यस बेला यो कुरा मनमा लागेन, र सोचे, “परमेश्वरको अनुग्रहले गर्दा नै म उहाँमा विश्वास गर्ने मार्गमा हिँड्न र अहिलेसम्म सुरक्षित रूपमा यसलाई पछ्याउन सकेको छु। म ती भौतिक कुराहरूको पछि लाग्नु हुँदैन।” तर पछि यसबारे सोचविचार गरेपछि तिनीहरू दुःखी भए। जब तिनीहरूलाई त्यो भावनालाई जित्न नसक्ने महसुस भयो, तब तिनीहरूले प्रार्थना गरे र केही समय सोच्न छोडिदिए, तर ती कुरा अझै पनि तिनीहरूको हृदयमा थिए—तिनीहरूले ती कुरालाई जसरी मूल्याङ्कन गरे पनि, तिनीहरू मनमा अझै बेखुस थिए अनि तिनीहरूले मनमनै सोचे: “परमेश्वरको धार्मिकता कहाँ छ? किन म त्यो देख्न सक्दिनँ? परमेश्वर यी कुनै पनि बाहिरी मामिलालाई निष्पक्ष वा उचित रूपमा सम्हाल्नुहुन्न, त्यसैले उहाँको धार्मिकता कहाँ प्रकट हुन्छ?” त्यसपछि तिनीहरूले आफ्नो मन परिवर्तन गरे र सोचे, “धार्मिकता र निष्पक्षता वा उचितपन उस्तै होइनन्, र तिनलाई मिसाउनु हुँदैन,” तर तिनीहरू अझै पनि दुःखी थिए र यो कुरालाई छोड्न सकेनन्। मानिसहरू थोरै भौतिक कुराबारे धेरै चिन्तित हुन्छन्, यदि तिनीहरू सत्यताबारे यसरी नै चिन्तित हुन सकेका भए धेरै राम्रो हुन्थ्यो। जे भए पनि, व्यक्तिले हृदयमा सधैँ परमेश्वरसँग माग गर्नु उसको प्रकृतिकै भाग हो, र सत्यतालाई प्रेम नगर्ने मानिसहरू सबै भौतिक लाभलाई प्रेम गर्छन्। सङ्क्षेपमा भन्नुपर्दा, मानिसका सबै माग र गुप्त योजनाहरू—परमेश्वरबाट यो र त्यो माग गर्नु, यहाँ र त्यहाँ गुप्त योजना बनाउनु—सत्यतासँग मेल खाँदैनन्, र परमेश्वरका माग र अभिप्रायसँग बाझिन्छन्। परमेश्वर ती कुनै कुरालाई पनि प्रेम गर्नुहुन्न, ती सबैलाई तिरस्कार र घृणा गर्नुहुन्छ। मानिसहरूले परमेश्वरसँग गर्ने माग, पछ्याउने सबै कुरा र तिनीहरू हिँड्ने मार्ग यी सबै कुराको सत्यतासँग कुनै सम्बन्ध छैन। केही मानिस सोच्छन्, “म मण्डलीका लागि धेरै वर्षदेखि काम गरिरहेको छु—यदि म बिरामी भएँ भने परमेश्वरले मलाई निको पार्नुपर्छ र आशिष् दिनुपर्छ।” विशेष गरी, लामो समयदेखि परमेश्वरमा विश्वास गर्नेहरू उहाँबाट अझ धेरै माग गर्छन्; विश्वास गरेको केही समय मात्र भएकाहरू आफूलाई माग गर्न अयोग्य ठान्छन्, तर केही समयपछि आफूलाई यसको हकदार ठान्न थाल्नेछन्। मानिसहरू यस्तै हुन्छन्; यो मानिसको प्रकृति हो र यसको अपवाद कोही छैन। कतिपय मानिस भन्छन्, “मैले परमेश्वरसँग कहिल्यै अत्यधिक माग गरेको छैन किनभने म सृष्टि गरिएको प्राणी हुँ, र उहाँसँग कुनै पनि कुरा माग्न म योग्य छैनँ।” त्यसो भन्न हतार नगर्, समयले सबै कुरा खुलाउनेछ। मानिसको प्रकृति र मनसाय अन्ततः एक दिन खुलासा हुनेछन् र विस्फोट भएर निस्कनेछन्। मानिसहरू परमेश्वरसँग माग गर्दैनन् किनभने तिनीहरूलाई यो आवश्यक छ वा सही समय हो भन्ने लाग्दैन, वा तिनीहरूले पहिले नै परमेश्वरसँग धेरै मागहरू गरिसकेका छन्, तैपनि तिनीहरूलाई यो माग हो भन्ने लाग्दैन। छोटकरीमा भन्नुपर्दा, मानिसहरूमा यस्तै खाले प्रकृति हुन्छ, त्यसैले तिनीहरूले यो प्रकट नगर्नु असम्भव हुन्छ। सही परिस्थिति वा अवसर आउनसाथ यो स्वतः प्रकट हुनेछ। आज यसबारे किन सङ्गति गर्ने? मानिसहरूलाई आफ्नो प्रकृतिमा के छ भनेर बुझाउनका लागि। तिमीहरूले परमेश्वरमा केही वर्षदेखि विश्वास गर्नु वा मण्डलीका लागि केही दिन काम गर्नुको अर्थ उहाँका लागि आफूलाई खर्चेका, समर्पण गरेका वा धेरै कष्ट भोगेका छौ अनि तिमीहरूले भौतिक वस्तु, शारीरिक भरणपोषणजस्ता केही कुरा पाउनुपर्छ, वा अरूबाट अझ धेरै सम्मान र कदर पाउनुपर्छ, वा परमेश्वरले तिमीहरूसँग नरम बोल्नुपर्छ, वा तिमीहरूको अझ धेरै ख्याल गर्नुपर्छ र तिमीहरूले राम्रोसँग खाइरहेका र लाइरहेका छौ कि छैनौ, तिमीहरूको शारीरिक स्वास्थ्य कस्तो छ भनी सोध्नुपर्छ भन्ने आदि कुरा होइन। मानिसहरूले परमेश्वरका लागि लामो समयदेखि आफूलाई खर्चेका बेला तिनीहरूमा यी कुराहरू थाहै नपाई उत्पन्न हुन्छन्, अनि उहाँबाट जुनसुकै कुरा माग्न आफूलाई योग्य ठान्छन्। तिनीहरूले थोरै समय मात्र परमेश्वरका लागि आफूलाई खर्चिरहेको बेला परमेश्वरसँग माग गर्ने आफ्नो अधिकार छैन भन्ने सोच्छन् र माग गर्ने साहस गर्दैनन्। तर समय बित्दै जाँदा, तिनीहरूले आफूसँग पूँजी छ भन्ने सोच्नेछन् अनि तिनीहरूका मागहरू बाहिर निस्कन थाल्नेछन्, र तिनीहरूको प्रकृतिका यी पक्षहरू खुलासा हुनेछन्। के मानिसहरू यस्तै हुँदैनन् र? किन मानिसहरू परमेश्वरसँग यस्ता मागहरू गर्नु उचित हो कि होइन भनेर विचार गर्दैनन्? के तँ यी कुराहरूको योग्य छस्? के परमेश्वरले तँलाई यी कुराहरूको प्रतिज्ञा गर्नुभएको थियो? यदि कुनै चीज तेरो होइन, तैपनि तँ हठपूर्वक यसको माग गर्छस् भने, यो सत्यतासँग बाझिन्छ, र यो पूर्ण रूपमा तेरो शैतानी प्रकृतिबाट जन्मिएको हो। प्रधानदूतले सुरुमा कस्तो व्यवहार गरेको थियो? यसलाई अति धेरै उच्च स्थान दिइएको थियो, अत्यन्त धेरै कुरा दिइएको थियो, त्यसैले यसले आफूले जे चाह्यो र जे पायो त्यसको आफू योग्य छु भन्ने सोच्यो, र अन्तिममा त्यो यसो भन्ने हदमा पुग्यो, “म परमेश्वरको बराबरी हुन चाहन्छु!” त्यसैले मानिसहरू अति धेरै मागहरू गर्दै, अति ठूला इच्छाहरू राख्दै परमेश्वरमा विश्वास गर्छन्। यदि तिनीहरूले आफूलाई जाँचेनन् र समस्याको गम्भीरता बोध गर्न सकेनन् भने एक दिन यसो भन्नेछन्, “हे परमेश्वर, अवकाश लिनुहोस्। म आफै लगभग परमेश्वर बन्न सक्छु,” वा, “हे परमेश्वर, तपाईं जे लगाउनुहुन्छ, म त्यही लगाउनेछु, तपाईं जे खानुहुन्छ, म त्यही खानेछु।” यस तहमा पुगेका मानिसहरूले पहिले नै परमेश्वरलाई मानवको रूपमा व्यवहार गरिरहेका छन्। मानिसहरूले देहधारी परमेश्वर नै परमेश्वर स्वयम् हुनुहुन्छ भनेर मुखले स्विकारे पनि, यी सबै देखावटी बोली मात्र हुन्। यथार्थमा, तिनीहरूको हृदयमा परमेश्वरप्रति अलिकति पनि समर्पण वा डर हुँदैन। कतिपय मानिस त परमेश्वरसमेत बन्न चाहन्छन्, अनि यदि तिनीहरूको महत्त्वाकाङ्क्षा र इच्छाहरू यस हदसम्म बढ्यो भने समस्या हुनेछ। तिनीहरूमाथि विपत्ति खनिन सक्नेछ, र तिनीहरूलाई मण्डलीबाट निष्कासित गरिए पनि तिनीहरूले परमेश्वरबाट अझै दण्ड पाउनेछन्।
परमेश्वरमा विश्वास गर्नेहरूले उहाँलाई परमेश्वरको रूपमा व्यवहार गर्नुपर्छ, र त्यसो गरेर मात्र तिनीहरूले साँचो अर्थमा परमेश्वरमा विश्वास गरिरहेका हुन्छन्। तिनीहरूले परमेश्वरको हैसियतलाई मात्र स्वीकार गर्नु हुँदैन, तिनीहरूसँग परमेश्वरको सार र स्वभावको साँचो बुझाइ र डर हुनुपर्छ, र तिनीहरू पूर्ण रूपमा समर्पणकारी हुनुपर्छ। यसलाई अभ्यास गर्ने यहाँ केही तरिका छन्: पहिलो, परमेश्वरसँग अन्तरक्रिया गर्दा कुनै पनि धारणा वा कल्पना नबोकी आफूभित्र भक्तिभाव र इमानदार मनोवृत्ति कायम राख्नुपर्छ, अनि तिनीहरूमा समर्पणकारी हृदय हुनुपर्छ। दोस्रो, आफूले भन्ने हरेक कुरा, सोध्ने हरेक प्रश्न र परमेश्वरसामु आफूले गर्ने सबै कुरालाई जाँच्ने र प्रार्थना गर्ने मनसाय राख्नुपर्छ। सत्यता सिद्धान्तअनुसार र परमेश्वरको वचनको आधारमा कसरी अभ्यास गर्ने भनेर थाहा पाएर मात्र तँ सत्यता वास्तविकतामा प्रवेश गर्न सक्नेछस्। यदि तँ सत्यता खोजी गर्दैनस् भने, सत्यता वास्तविकतामा प्रवेश गर्न असमर्थ हुने मात्र होइन, तर तैँले झन्-झन् धेरै धारण बटुल्नेछस्, र यसले समस्या निम्त्याउनेछ। जब तँ परमेश्वरलाई व्यक्ति ठान्छस्, तब तैँले विश्वास गर्ने परमेश्वर स्वर्गका अस्पष्ट परमेश्वर हुनुहुन्छ; तैँले देहधारणलाई पूर्ण रूपमा अस्वीकार गरेको हुनेछस्, र तैँले उप्रान्त आफ्नो हृदयमा व्यावहारिक परमेश्वरलाई स्वीकार गर्नेछैनस्। यस बेला, तँ ख्रीष्टविरोधी बन्नेछस् र अन्धकारमा खस्नेछस्। तँ आफूलाई जति धेरै सही ठान्छस्, तैँले परमेश्वरबाट त्यति नै धेरै मागहरू गर्नेछस्, र तँमा उहाँबारे त्यति नै धेरै धारणा हुनेछन्, जसले तँलाई झन् झन् खतरामा पार्नेछ। तँ परमेश्वरबाट जति धेरै माग गर्छस्, त्यति नै धेरै यसले तँ परमेश्वरलाई केवल परमेश्वरको रूपमा व्यवहार गर्दैनस् भन्ने प्रमाणित गर्छ। यदि तँ आफ्नो हृदयमा सधैँ परमेश्वरसँग मागहरू राख्छस् भने, समयसँगै तैँले आफूलाई परमेश्वर ठान्ने सम्भावना हुनेछ, र मण्डलीमा काम गर्दा आफ्नै गवाही दिनेछस्, यसोसमेत भन्नेछस्, “के परमेश्वर आफ्नो गवाही दिनुहुन्न र? म किन दिन सक्दिनँ र?” तैँले परमेश्वरको काम नबुझ्ने भएकाले, उहाँबारे धारणा राख्नेछस्, र तँसँग परमेश्वरको डर मान्ने हृदय हुनेछैन। तेरो बोल्ने लबज परिवर्तन हुनेछ, तेरो स्वभाव अहङ्कारी हुनेछ, र अन्त्यमा तँ बिस्तारै आफूलाई उचाल्न र आफ्नो गवाही दिन थाल्नेछस्। यो मानिसको पतन हुने प्रक्रिया हो, र यो पूर्णतया उसले सत्यता नपछ्याएकोले गर्दा हुन्छ। ख्रीष्टविरोधीको मार्गमा हिँड्ने सबैले आफूलाई उचाल्छन् र आफ्नै गवाही दिन्छन्, आफूलाई बढावा दिन्छन्, हरेक मोडमा आफूलाई प्रदर्शन गर्छन् र परमेश्वरलाई बिलकुलै वास्ता गर्दैनन्। के तिमीहरूले मैले भनिरहेका यी कुरा अनुभव गरेका छौ? धेरै मानिस निरन्तर आफ्नो गवाही दिँदै, आफूले यो र त्यो कष्ट कसरी भोग्छु, कसरी काम गर्छु, परमेश्वरले आफूलाई कसरी मूल्यवान् ठान्नुहुन्छ, यस्ता केही काम सुम्पनुहुन्छ र आफू कस्तो छु भन्दै कुरा गर्छन्, बोल्दा जानाजानी खास लबजहरू प्रयोग गर्छन्, र अन्त्यमा तिनीहरूलाई केही मानिसले परमेश्वर ठान्न नथालेसम्म केही निश्चित आनीबानीमा प्रभाव पार्छन्। यो हदमा पुग्नेहरूलाई पवित्र आत्माले धेरै पहिले नै त्यागिसक्नुभएको छ, अनि तिनीहरूलाई हटाउने र निष्कासन गर्ने नगरिए पनि, बरु सेवा गर्न दिइए पनि, तिनीहरूको भाग्य सुनिश्चित गरिएको हुन्छ, र तिनीहरूले आफ्नो दण्ड कुरिरहेका हुन्छन्। केही ठाउँमा यस्तो भइसकेको छ। एक जना नयाँ विश्वासीले कुनै सिस्टरलाई बोलेको र हेर्दा निकै मर्यादित देखे, अनि उनलाई नै परमेश्वर ठाने। जब ती सिस्टर जाने बेलामा ती नयाँ विश्वासी उनको खुट्टा समातेर रोए, “हे परमेश्वर! नजानुहोस्! हे परमेश्वर! म तपाईंलाई भुल्नेछैनँ!” ती सिस्टरलाई आफू परमेश्वर होइन भन्ने स्पष्ट थाहा थियो, तर उनले यो गलत कुरालाई इन्कार गरिनन्, न त सच्याइन्। के यस्तो व्यक्तिमा कुनै समझ हुन्छ? (हुँदैन।) उनीसँग समझ बिलकुलै हुँदैन, र उनी पक्कै पनि असल होइनन्! कतिपय मानिस अन्योलमा र अनभिज्ञ हुन्छन्, र कसैलाई त्यसरी परमेश्वर ठान्छन्—यो साँच्चै भयानक कुरा हो! र उनको खुट्टा समातेर रुनु एकदमै सुधार गर्न नसकिने अनभिज्ञता हो! यदि तँ शैतानबाटको भ्रष्ट मानिसलाई परमेश्वरको रूपमा लिन सक्छस् भने, तैँले कुन तरिकाले परमेश्वरमा विश्वास गरिरहेको हुन्छस्? के यो शैतानमा विश्वास गर्नु होइन र? कुनै व्यक्तिलाई परमेश्वरजस्तो व्यवहार गर्न कुनै व्यक्ति कत्तिचाहिँ अन्योलमा परेको रहेछ त? यदि तँ परमेश्वरमा विश्वास गर्छस्, तर सत्यता स्विकार्न वा पछ्याउन सक्दैनस् भने, तँलाई अरूले बहकाउन सक्छन् र तँ मूर्ख कामहरू गर्न र पथभ्रष्ट हुन सक्नेछस्। मूर्ख र अनभिज्ञ मानिसहरू साँच्चै जोखिममा हुन्छन्, तिनीहरूले सबै प्रकारका मूर्ख कामहरू गर्न सक्छन्।
मानिसहरू सधैँ परमेश्वरसँग मागहरू राख्छन्, आफ्नै धारणाअनुसार उहाँलाई यो वा त्यो गरिदिन अनुरोध गर्छन्। तँ परमेश्वरसँग आफूलाई बचाउन, दया गर्न, माया गर्न, अनुग्रह देखाउन अनुरोध गर्छस्—यी सबै आफ्नै विचारहरूअनुसार गर्छस्। यसो गर्दा, तैँले परमेश्वरसँग माग गर्न र उहाँलाई तेरो कुरा मान्न लगाउन आफ्नै विचार र तौरतरिका प्रयोग गरिरहेको हुन्छस्। यसमा के समस्या छ? के यो परमेश्वरमा विश्वास गर्नु हो? तैँले त केवल आफैमा विश्वास गरेको हुन्छस्। परमेश्वर तेरो हृदयमा हुनुहुन्न, न त तँसँग बताउने कुनै सत्यता नै हुन्छ। कसैले मेरा लागि दया देखाउँदै एक जोडी जुत्ता किनिदियो, तर त्यो ठिक भएन, त्यसैले म फिर्ता गर्न चाहन्थेँ। तर त्यसपछि मैले सोचेँ, यदि मैले त्यो जुत्ता फिर्ता गरेँ भने उसले गलत ठान्ला, त्यसैले मैले त्यो जुत्ता अर्को मान्छेलाई लगाउन दिएँ। उसले यो कुरा थाहा पाएपछि सो पचाउन सकेन र भन्यो: “के तपाईंलाई थाहा छ त्यो जुत्ता किन्न मैले कति मेहनत गरेँ र पैसा खर्च गरेँ, अनि कति टाढासम्म गएँ? तपाईंले त्यो यति सजिलै अरूलाई दिनुभयो, के तपाईंलाई मैले त्यो पैसा त्यति सजिलै कमाएको जस्तो लाग्छ? यदि तपाईं त्यो लगाउन चाहनुहुन्न भने फिर्ता दिनुहोस्—तपाईंले त्यो कसरी अरूलाई दिन सक्नुभयो?” मैले भनेँ: “मैले तिमीलाई मेरा लागि जुत्ता किन्नू भनेको थिइनँ। तिमीले नै किनेर मलाई दियौ, तर मलाई ठिक भएन र मैले अरूलाई लगाउन दिएँ। के त्यो समस्या हो र? यदि मैले त्यो तिमीलाई फिर्ता दिएको भए, के तिमी नकारात्मक र कमजोर बनी मलाई गलत ठान्नेथिएनौ र? के म उचित बन्दोबस्त मिलाउन सक्दिनँ र?” के मानिसहरूले मलाई यसरी व्यवहार गर्नु उचित हो? यस्तो लाग्छ, मानिसहरू परमेश्वरलाई केही चढाउँदासमेत मनसाय र मागहरू राख्छन्। के यो सत्यता बुझ्ने व्यक्ति हो? जब तँ परमेश्वरलाई केही चढाउँछस्, तब त्यो तेरो हुँदैन, त्यो परमेश्वरको हुन्छ। परमेश्वर यसलाई जे गर्न चाहनुहुन्छ, त्यो गर्न सक्नुहुन्छ, र यसलाई कसरी सम्हाल्ने त्यो उहाँको काम हो। मानिसहरूमा अलि समझ हुनुपर्छ, समर्पित हुन सिक्नुपर्छ र परमेश्वरको मामिलामा सधैँ हस्तक्षेप गर्नु हुँदैन। के परमेश्वरसँग निरन्तर बहस गर्नु कुनै समझपूर्ण कुरा हो? मानिसहरू मेरा लागि चिजबिजहरू किन्दा परमेश्वरप्रति ठूलो दया र प्रेमले भरिएका देखिन्छन्, तर पछि मैले ती कुरा मन पराउनैपर्छ भनेर माग गर्छन्, र मैले मन पराइनँ भने गुनासो गर्छन्। त्यसबाहेक, यदि मैले ती कुरा प्रयोग गरिनँ भने त्यो ठिक मानिँदैन, मैले ती कुरा कसलाई दिन पाउँछु भनेर मानिसहरू सीमा बाँध्छन्, र मलाई यो वा त्यो गर्न दिँदैनन्। मानिसहरू यसरी दिनभरि नै परमेश्वरलाई जाँच्छन् र तौलन्छन्, अनि सोच्छन् “किन परमेश्वर मानिसको इच्छा पूरा गर्न सक्नुहुन्न?” मानिसहरूमा पूर्णतया समझको कमी छ, तिनीहरू साह्रै असमझदार छन्! मानिसहरू सबैले यसो भन्ने गरेको मैले पाएको छु, “मैले परमेश्वरलाई राम्रोसँग प्रेम गर्नैपर्छ, र उहाँको प्रेमको साटो तिर्नैपर्छ,” तर परमेश्वरलाई प्रेम गर्नु भनेको के हो भनेर तिनीहरूले हृदयमा अलिकति पनि बुझ्दैनन्। मानिसहरूको हृदय तिनीहरूको भ्रष्ट स्वभावले भरिएको हुन्छ, अनि त्यहाँ प्रेम कसरी हुन सक्छ? यदि सामान्य मानिसको समझसमेत नहुने गरी मानिसहरू यति भ्रष्ट हुन्छन् भने परमेश्वरलाई माया गर्ने र उहाँमा समर्पित हुने कुरा खोक्रा शब्दहरू मात्र होइनन् र? मानिसहरूभित्र हुने कुरा भनेकै धारणा र कल्पना, क्रोध, अत्यधिक इच्छा, र तिनीहरूका अनुचित माग मात्र हुन्। तिनीहरूभित्र प्रेम वा समर्पणता बिलकुलै छैन। मानिसहरूका लागि प्रेम भनेको पछ्याउने लक्ष्य मात्र हो, परमेश्वरको मापदण्ड मात्र हो। तिनीहरूमध्ये कतिले यो हासिल गर्छन्? कति जनासँग वास्तविक अनुभवात्मक गवाही छ?
अब तिमीहरू सबै सत्यताको पछि लाग्ने र आफ्नो स्वभाव परिवर्तन गर्ने प्रयास गर्न इच्छुक भएको बेला, तैँले परमेश्वरसँग माग गर्दा आफूलाई कसरी आत्मसमीक्षा गर्नुपर्छ? के तेरा मागहरू सत्यताअनुरूप छन्? परमेश्वरप्रति तेरो मनोवृत्ति कस्तो हुनुपर्छ? के तैँले यी प्रश्नहरूबारे कहिल्यै विचार गरेको छस्? कतिपय मानिस केही मण्डलीको नेतृत्व गरेपछि अहङ्कारी बन्छन्, परमेश्वरको घर तिनीहरूबिना नचल्ने र आफूलाई विशेष व्यवहार गरिनुपर्छ भन्ने सोच्छन्। मानिसहरूमा शैतानी प्रकृति हुन्छ र कुनै व्यक्तिको स्थान जति उच्च हुन्छ, परमेश्वरप्रति उसका मागहरू त्यति नै धेरै हुन्छन्; कुनै व्यक्तिले जति धेरै धर्मसिद्धान्तहरू बुझ्छ, उसका मागहरू त्यति नै धेरै लुकेका र विश्वासघाती हुन्छन्। तिनीहरूले ती कुरा मुखले नभन्लान्, तर ती तिनीहरूको हृदयमा लुकेका हुन्छन्। ती कुरा अरू मानिसहरूले सजिलै पत्ता लगाउँदैनन्, तर व्यक्तिभित्र रहेको गुनासो र प्रतिरोध कति बेला विस्फोट हुन सक्छ, त्यो कसलाई थाहा हुन्छ र? यसले झन् धेरै समस्या ल्याउनेछ र यसले परमेश्वरको स्वभावलाई चिढ्याउन सक्नेछ। धार्मिक संसारमा कुनै व्यक्ति जति बढी अगुवा वा सेलेब्रिटी भयो, ऊ त्यति नै खतरामा परेको ख्रीष्टविरोधी हुने सम्भावना किन हुन्छ? व्यक्तिको स्थान जति उच्च हुन्छ, उसको महत्त्वाकाङ्क्षा त्यति नै ठूलो हुन्छ; व्यक्तिले धर्मसिद्धान्त जति धेरै बुझ्छ, उसको स्वभाव त्यति नै धेरै अहङ्कारी हुन्छ। त्यसकारण, परमेश्वरमा विश्वास गर्नु तर सत्यतालाई छोडेर हैसियतको पछि लाग्नु खतरनाक कुरा हो। परमेश्वरले धेरै सत्यता व्यक्त गर्नुभएको छ र सत्यतालाई प्रेम नगर्ने सबैलाई प्रकाश गर्नुभएको र उहाँको घरबाट हटाउनुभएको छ, झन् धार्मिक वृत्तमा भएकाहरूलाई नहटाउने त कुरै भएन। के तिमीहरूलाई परमेश्वरले मानिसहरूलाई न्याय गर्नु र सजाय दिनु आवश्यक छ जस्तो लाग्छ? जब मानिसहरूले वास्तवमै सत्यता बुझ्छन् र जीवन प्रवेश प्राप्त गर्छन्, तब तिनीहरूले आफ्नै भ्रष्टताको वास्तविकता देख्नेछन् र सत्यताको पछि नलाग्नु तिनीहरूका लागि खतरनाक हुनेछ भन्ने महसुस गर्नेछन्। अहिले, मानिसहरू आफ्नै प्रकृतिलाई पटक्कै बुझ्दैनन्; तिनीहरूसँग थोरै सतही बुझाइ छ भने पनि, यो धर्मसिद्धान्तहरूको बुझाइ मात्र हो, र तिनीहरूले सत्यता प्राप्त गरेका हुँदैनन्। त्यसकारण, तिनीहरू आफू खतरामा रहेको ठान्दैनन्, न त तिनीहरू डराउन वा आफ्नो बारेमा चिन्ता गर्न जान्दछन्। केही नयाँ विश्वासीहरू कुनै पनि कुरा भन्ने र गर्ने हिम्मत गर्छन्, तर न्याय र सजाय भोगेकाहरू फरक हुन्छन्। तिनीहरूसँग परमेश्वरको केही डर मान्ने हृदय हुन्छ, र आफूभित्र केही धारणा पालेर राखे पनि, त्यसलाई बताउने हिम्मत गर्दैनन्, तर तिनीहरू तुरुन्तै यसरी प्रार्थना गर्न जान्दछन्: “हे परमेश्वर, मैले तपाईँलाई चिढ्याएको छु…।” केही नयाँ विश्वासीहरू सोचविचार नगरीकनै ईशनिन्दाका शब्दहरू ओकल्ने हिम्मत गर्दै भन्छन्, “परमेश्वरले कष्ट भोग्नुहुन्छ र? कस्तो कष्ट भोग्नुहुन्छ? मिठो खानु र राम्रो लगाउनु, चारैतिर मानिसहरूबाट सत्कार पाउनु—त्यो त कष्ट होइन! तर म ती कुराहरूको वास्ता गर्दिनँ। म परमेश्वरको आत्मामा विश्वास गर्छु, व्यक्तिलाई होइन।” तिनीहरू देहधारणलाई अस्वीकार गर्ने हिम्मत गर्छन्। यी मानिसहरूमा यस्तो धृष्टता हुन्छ। तिनीहरूसँग परमेश्वरको डर मान्ने हृदय फिटिक्कै हुँदैन, तिनीहरू कुनै कुरासँग डराउँदैनन्, तिनीहरू जे पनि भन्ने हिम्मत गर्छन्, र तिनीहरू सबैमा पैशाचिक र पाशविक प्रकृति हुन्छ। यदि माथिलाई कसैबारे अलि राम्रो छाप पर्छ वा राम्रो विचार आउँछ भने, कतिपय मानिसहरू भन्छन्, “यिनी मण्डलीमा लोकप्रिय र मनपर्दा व्यक्ति हुन्, जसलाई परमेश्वरको घरमा राम्रोसँग स्वागत गरिन्छ।” के यस्तो व्यक्तिले सत्यता बुझ्छ? अलिकति पनि बुझ्दैन। तिनीहरूको परिस्थितिलाई हेर्ने तरिकाले तिनीहरूको हृदयका सबै कुरा अझै पनि सांसारिक छन् भन्ने कुरालाई पूर्ण रूपमा खुलासा गरेको छ। यो पूर्णतया सांसारिक दृष्टिकोण र चाला हो। के परमेश्वरमा विश्वास गर्नु र उहाँका वचनहरू पढ्नुले यी मानिसहरूमा कुनै प्रभाव पार्न सक्छ? तिनीहरू सत्यता बिलकुलै स्वीकार गर्दैनन्, र परिस्थितिहरूलाई हेर्ने तिनीहरूको तरिका गैरविश्वासीहरूको जस्तै छ। तिनीहरू वास्तवमा अविश्वासी हुन्।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।