आफूलाई चिन्नेसम्बन्धी वचनहरू (अंश ४२)
प्रकृतिमा परिवर्तन हासिल गर्ने मुख्य कुञ्जी भनेको आफ्नै प्रकृतिलाई जान्नु हो, र यो परमेश्वरबाट आउने खुलासाहरू अनुरूप हुनुपर्दछ। परमेश्वरको वचनमा मात्र व्यक्तिले उसको आफ्नो घिनलाग्दो प्रकृतिलाई जान्न सक्छ, आफ्नै प्रकृतिमा रहेको शैतानका विभिन्न विषहरू पहिचान गर्न सक्छ, आफू मूर्ख र अज्ञानी छ भनी थाहा पाउन सक्छ, र आफ्नो प्रकृतिमा रहेका कमजोर र नकारात्मक तत्त्वहरूलाई चिन्न सक्छ। यी सबै कुरा पूर्ण रूपमा जानेपछि, र तैँले साँचो रूपमा आफूलाई घृणा गर्न र देहविरुद्ध विद्रोह गर्न, परमेश्वरको वचन निरन्तर अभ्यास गर्न, आफ्नो कर्तव्य निभाउने क्रममा निरन्तर सत्यता पछ्याउन, आफ्नो स्वभाव परिवर्तन गर्न, र परमेश्वरलाई साँचो रूपमा प्रेम गर्ने व्यक्ति बन्न सक्षम भएपछि, तँ पत्रुसको मार्गमा हिँड्न थालेको हुनेछस्। परमेश्वरको अनुग्रहविना र पवित्र आत्माको अन्तर्दृष्टि र मार्ग निर्देशनविना यस मार्गमा हिँड्न गाह्रो हुन्छ, किनकि मानिसहरूसँग सत्यता छैन र तिनीहरूले आफैविरुद्ध विद्रोह गर्न सक्दैनन्। पत्रुसको सिद्धताको मार्गमा हिँड्नु मुख्यतः सङ्कल्प लिने, विश्वास राख्ने र परमेश्वरमा भर पर्ने कुरामा निर्भर हुन्छ। त्यसबाहेक, व्यक्ति पवित्र आत्माको कामप्रति समर्पित हुनैपर्छ; सबै कुरामा, व्यक्तिले परमेश्वरको वचनविना हर कुरा गर्न सक्दैन। मुख्य पक्षहरू यिनै हुन्, जसमध्ये कुनै पनि कुरालाई उल्लङ्घन गर्न सकिँदैन। अनुभवमाझ आफैलाई चिन्नु धेरै कठिन छ; पवित्र आत्माको कामविना, नतिजा आउँदैन। पत्रुसको मार्गमा हिँड्नको लागि, व्यक्तिले आफूलाई चिन्न र आफ्नो स्वभाव परिवर्तन गर्ने कुरामा ध्यान केन्द्रित गर्नुपर्छ। पावलको मार्ग जीवनको खोजी गर्ने वा आत्म-ज्ञानमा केन्द्रित गर्ने मार्ग थिएन; तिनले विशेष गरी काम गर्न र यसको प्रभाव र गतिमा ध्यान दिए। तिनको प्रेरणा भनेको तिनको काम र कष्टको बदलीमा परमेश्वरको आशिष् प्राप्त गर्नु, र परमेश्वरबाट इनाम प्राप्त गर्नुथियो। यो प्रेरणा गलत थियो। पावलले जीवनमा ध्यान केन्द्रित गरेनन्, न त तिनले स्वभाव परिवर्तन गर्नुमा नै कुनै महत्त्व दिए; तिनले केवल इनाममा ध्यान दिए। तिनका लक्ष्यहरू गलत भएकाले तिनले हिँडेको बाटो पनि अवश्य नै गलत थियो। यो तिनको अभिमान र घमण्डी प्रकृतिले ल्याएको थियो। स्पष्टै छ, पावलसँग कुनै सत्यता थिएन, न त तिनीसँग कुनै विवेक वा समझ नै थियो। मानिसहरूलाई बचाउने र परिवर्तन गर्ने क्रममा परमेश्वर मुख्यतः तिनीहरूका स्वभाव परिवर्तन गर्नुहुन्छ। उहाँको वचनको उद्देश्य भनेको परिवर्तन भएको स्वभाव प्राप्त गरेपछि प्राप्त हुने परिणाम र परमेश्वरलाई चिन्ने, उहाँमा समर्पित हुने, र सामान्य तरिकामा उहाँको आराधना गर्ने क्षमताको नतिजा मानिसहरूमा हासिल गर्नु हो। परमेश्वरका वचनहरू र उहाँको कार्यको उद्देश्य यही हो। पावलको खोजी गर्ने तरिका प्रत्यक्ष रूपमै परमेश्वरका अभिप्रायको उल्लङ्घनमा र विरोधमा थियो; त्यो पूर्ण रूपमा तिनको विपरीत थियो। तापनि, पत्रुसको खोजी गर्ने तरिका पूर्ण रूपमा परमेश्वरका अभिप्रायअनुरूप थियो: तिनी जीवन, र स्वभाव परिवर्तनमा ध्यान दिन्थे, जुन ठ्याक्कै परमेश्वरले आफ्नो कामद्वारा मानवजातिमा हासिल गर्न चाहेकै परिणाम हो। त्यसैले पत्रुसको मार्ग आशिषित छ र यसले परमेश्वरको अनुमोदन प्राप्त गर्दछ। पावलको मार्ग परमेश्वरका अभिप्रायविपरित जाने हुनाले, परमेश्वरले त्यसलाई घृणा गर्नुहुन्छ र सराप दिनुहुन्छ। पत्रुसको बाटोमा हिँड्नका निम्ति व्यक्तिले परमेश्वरका अभिप्रायलाई जान्नुपर्छ। यदि कुनै व्यक्तिले उहाँको वचनमार्फत उहाँका अभिप्रायलाई पूर्ण रूपले साँच्चिकै बुझ्न सक्छ भने—जसको अर्थ परमेश्वर मानिसलाई के बनाउन चाहनुहुन्छ र अन्ततः उहाँ कस्तो नतिजा प्राप्त गर्न चाहनुहुन्छ भन्ने कुरा बुझ्नु हो—अनि मात्र आफूले कुन बाटो पछ्याउनुपर्छ भनेर उसले सही रूपले बुझ्न सक्छ। यदि तँ पत्रुसको मार्गलाई पूर्ण रूपमा बुझ्दैनस्, र केवल यसलाई पछ्याउन मात्र चाहन्छस् भने, तँ त्यसमा हिँड्न सक्नेछैनस्। अर्को शब्दमा भन्दा, तैँले धेरै धर्मसिद्धान्त जानेको हुन सक्छस्, तर अन्त्यमा तँ वास्तविकतामा प्रवेश गर्न सक्नेछैनस्। तैँले सतही प्रवेश गरे तापनि तैँले कुनै पनि वास्तविक परिणाम प्राप्त गर्न सक्नेछैनस्।
आजभोलि, धेरैजसो मानिसहरूमा आफ्नो बारेमा अत्यन्तै सतही ज्ञान छ। तिनीहरूले आफ्नो प्रकृतिका कुराहरूलाई स्पष्ट रूपमा पटक्कै बुझ्न सकेका छैनन्। तिनीहरूसँग आफूले प्रकट गर्ने केही भ्रष्ट स्थिति, तिनीहरूले सम्भवतः गर्ने कार्यहरू, वा तिनीहरूका केही कमजोरीबारे मात्र ज्ञान छ, र यसले तिनीहरूलाई आफूलाई चिन्न विश्वास गर्ने बनाउँछ। त्यसबाहेक, यदि तिनीहरू केही प्रावधान पालना गर्छन्, निश्चित क्षेत्रहरूमा गल्ती गर्दैनन् भन्ने कुरालाई निश्चित गर्छन्, र केही अपराधहरू गर्नबाट जोगिन्छन् भने, तिनीहरूले परमेश्वरमाथिको आफ्नो विश्वासमा तिनीहरूसँग वास्तविकता छ भन्ने सोच्छन् र तिनीहरूले मुक्ति पाउनेछन् भनी विश्वास गर्छन्। यो पूर्णतया मानवीय कल्पना हो। यदि तँ यी कुराहरूमा रहन्छस् भने के तँ साँच्चै कुनै अपराधहरू गर्नुबाट जोगिन सक्छस्? के तैँले स्वभावको वास्तविक परिवर्तन प्राप्त गरेको हुन्छस्? के तँ साँच्चै मानव स्वरूपमा जिइरहेको हुन्छस्? के तैँले त्यसरी परमेश्वरलाई सच्चा रूपमा सन्तुष्ट पार्न सक्छस्? कदापि सक्दैनस्, यो निश्चित कुरा हो। व्यक्तिमा उच्च मापदण्डहरू छन् र उसले सत्यता प्राप्त गरेको छ अनि उसको आफ्नै जीवन स्वभावमा केही परिवर्तन पाएको छ भने मात्रै परमेश्वरमाथिको विश्वासले काम गर्छ। यसको लागि पहिले आफूलाई चिन्ने कार्यमा समर्पित हुनुपर्छ। यदि आफूबारे मानिसहरूको ज्ञान अत्यन्तै सतही छ भने, तिनीहरूलाई समस्याहरू समाधान गर्न असम्भव हुनेछ, र तिनीहरूको जीवन स्वभाव निश्चय नै परिवर्तन हुनेछैन। आफैलाई एक गहन स्तरमा जान्नु जरुरी हुन्छ, जसको अर्थ आफ्नै प्रकृति जान्नु हो: त्यो प्रकृतिमा कुन-कुन तत्त्वहरू समावेश हुन्छन्, ती कुराहरू कसरी उत्पन्न भए, र ती कहाँबाट आए। यसबाहेक, के तँ साँच्चै ती कुराहरूलाई घृणा गर्न सक्छस्? के तैँले आफ्नै कुरूप प्राण र तेरो दुष्ट प्रकृतिलाई देखेको छस्? यदि तैँले आफ्ना बारेको सत्यतालाई साँच्चै देख्न सक्छस् भने, आफूलाई घृणा गर्नेछस्। जब तँ आफूलाई घृणा गर्छस् र परमेश्वरको वचन अभ्यास गर्छस्, तब तैँले गाह्रो हुन्छ भन्ने विश्वास नगरी देहविरुद्ध विद्रोह गर्न सक्छस् र सत्यता अभ्यास गर्ने सामर्थ्य पाउनेछस्। किन धेरै मानिसहरू आफ्ना देहगत रुचिहरूका पछि लाग्छन्? किनकि तिनीहरूले आफैलाई अति असल ठान्छन्, तिनीहरूका कार्यहरू सही र उचित छन्, तिनीहरूमा कुनै दोष छैन र तिनीहरू पूर्ण रूपमा सही समेत छन् भन्ने महसुस गर्छन्, त्यसैले तिनीहरूले न्याय तिनीहरूकै पक्षमा छ भन्ने मान्यतासहित काम गर्न सक्छन्। जब व्यक्तिले आफ्नो वास्तविक प्रकृति के हो—कति कुरूप, कति घृणास्पद र कति दयनीय छ भनी बुझ्दछ—तब ऊ आफैप्रति धेरै घमण्ड गर्दैन, अति अहङ्कारी हुँदैन, र पहिलेको जस्तै आफूसँग त्यति प्रसन्न हुँदैन। यस्तो व्यक्तिले यस्तो महसुस गर्छ, “परमेश्वरका केही वचनहरू अभ्यास गर्नमा म गम्भीर र व्यावहारिक हुनुपर्छ। यदि होइन भने, म मानिस बन्नुको मापदण्डको स्तरसम्म पुग्दिन, र परमेश्वरको उपस्थितिमा जिउन लज्जित हुनेछु।” तब मात्र व्यक्तिले साँच्चै आफैलाई तुच्छ, साँच्चै महत्त्वहीन देख्दछ। यसबेला, सत्यता अभ्यास गर्न व्यक्तिलाई सजिलो हुन्छ, र मानिस जस्तो हुनुपर्छ ऊ त्यस्तै देखिन थाल्नेछ। मानिसहरूले आफैलाई साँच्चै घृणा गरे भने मात्र तिनीहरूले देहविरुद्ध विद्रोह गर्न सक्छन्। यदि तिनीहरूले आफैलाई घृणा गर्दैनन् भने, तिनीहरूले देहविरुद्ध विद्रोह गर्न सक्नेछैनन्। आफैलाई साँचो रूपमा घृणा गर्नु सानोतिनो कुरा होइन। तिनमा भेट्टाइनुपर्ने कुराहरू धेरै हुन्छन्: पहिलो, आफ्नै प्रकृतिलाई जान्नु; र दोस्रो, आफूलाई अभावग्रस्त र दयनीय अवस्थाको देख्नु, आफैलाई अत्यन्तै सानो र नगण्य रूपमा देख्नु, र आफ्नै दयनीय र फोहोर प्राणलाई देख्नु। जब व्यक्तिले वास्तवमा ऊ के हो भनेर पूर्ण रूपमा बुझ्दछ, र यो नतिजा हासिल हुन्छ, तब उसले आफ्नै बारेमा साँचो ज्ञान प्राप्त गर्दछ, र व्यक्तिले आफैलाई पूर्ण रूपमा चिनेको छ भनी भन्न सकिन्छ। तब मात्र व्यक्तिले आफैलाई घृणा गर्न सक्दछ यहाँसम्म कि उसले आफैलाई सराप्छ, र शैतानले उसलाई गम्भीर रूपमा भ्रष्ट पारेकोले ऊ मानिस जस्तो समेत देखिँदैन भन्ने उसले महसुस गर्छ। अनि एक दिन, जब मृत्युको खतरा देखा पर्दछ, त्यस्तो व्यक्तिले सोच्नेछ, “यो परमेश्वरको धर्मी दण्ड हो। परमेश्वर साँच्चै धर्मी हुनुहुन्छ; म साँच्चै मर्नुपर्छ!” यस्तो अवस्थामा उसले कुनै गुनासो गर्नेछैन, परमेश्वरलाई दोष लगाउने त परै जाओस्, अनि उसले आफू अभावग्रस्त र दयनीय, अति फोहोर र भ्रष्ट भएकाले परमेश्वरद्वारा ऊ हटाइनुपर्छ र नाश पारिनुपर्छ, र उसको जस्तो प्राण पृथ्वीमा जिउन योग्यको छैन भन्ने मात्र महसुस गर्छ। त्यसकारण, यस व्यक्तिले परमेश्वरको बारेमा गुनासो वा विरोध गर्नेछैन, उहाँको विश्वासघात गर्ने कुरा त परै जाओस्। यदि व्यक्तिले आफैलाई चिन्दैन र पनि अझै आफूलाई धेरै असल नै ठान्दछ भने, जब मृत्यु ढोका ढकढक्याउँदै आउँछ, तब यस व्यक्तिले सोच्नेछ, “मैले आफ्नो विश्वासमा धेरै राम्रो गरेको छु। मैले कति धेरै कठिनतासाथ खोजेको छु! मैले धेरै कुरा दिएको छु, मैले धेरै दुःख भोगेको छु, तापनि अन्त्यमा, अब परमेश्वरले मलाई मर्नु भनिरहनुभएको छ। परमेश्वरको धार्मिकता कहाँ छ मलाई थाहा छैन। उहाँले मलाई किन मर्नु भनिरहनुभएको छ? यदि मैले मर्नुपर्छ भने कसले चाहिँ मुक्ति पाउनसक्नेछ? के मानवजाति समाप्त हुनेछैन र?” सबैभन्दा पहिले, यस व्यक्तिमा परमेश्वरको विषयमा धारणाहरू हुन्छ। दोस्रो, यो व्यक्तिले गुनासो गरिरहेको छ, र कुनै पनि किसिमको समर्पणता देखाइरहेको छैन। यो पावललाई भएको जस्तै हो: जब तिनी मर्न लागेका थिए, तिनले आफैलाई चिनेका थिएनन् र परमेश्वरको दण्ड नजिक आइसकेपछि, यो सब धेरै ढिला भइसकेको थियो।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।