परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १६७

कथा १: एउटा बीउ, पृथ्वी, एउटा रुख, सूर्यको प्रकाश, चराहरू र मान्छे

एउटा सानो बीउ पृथ्वीमा खस्यो। ठूलो पानी पर्‍यो, र बीउबाट एउटा कोमल टुसा पलायो अनि यसका जरा बिस्तारै तलको माटोभित्र छिर्‍यो। समयसँगै, निर्दयी हावा र कठोर वर्षा झेल्दै, जूनको उज्यालो र अँध्यारो भाग बिस्तारै घट्ने, बढ्ने क्रमसँगै परिवर्तन भएका ऋतुहरूलाई हेर्दै टुसा हुर्कियो। ग्रीष्म याममा, टुसाले यस ऋतुको प्रखर रापलाई झेल्न सकोस् भनेर पृथ्वीले पानीको उपहार ल्याइदियो। र पृथ्वीकै कारण, टुसा गर्मीले आत्तिएन, र यसरी ग्रीष्म यामको कहाली लाग्दो गर्मी टर्‍यो। जब हिउँद आयो, पृथ्वीले टुसालाई आफ्नो न्यानो अङ्गालोमा बाँध्यो, र पृथ्वी र टुसाले एक-अर्कालाई बलियो गरेर पक्रिए। पृथ्वीले टुसालाई न्यानो बनाई राख्यो, त्यसैले हिउँदको कठोर जाडोमा पनि टुसा बाँच्न सफल भयो; टुसालाई हिउँदको चिसो बतास र हिम-आँधीले कुनै क्षति पुर्‍याएन। पृथ्वीमा आश्रित टुसा हुर्किएर साहसी र खुशी भयो; पृथ्वीको निःस्वार्थ पोषणले गर्दा हुर्केर स्वस्थ र बलियो भयो। खुशीसाथ यो हुर्कियो, वर्षामा गाउँदै, बतासमा झुल्दै र नाच्दै। टुसा र पृथ्वी एक-अर्कामा निर्भर हुन्छन् …

वर्षहरू बिते, र टुसा हुर्किएर एउटा अग्लो रुख बन्यो। यो असङ्ख्य पातहरू भएका बलिया हाँगासहित पृथ्वीमाथि बलियो भएर उभियो। रुखका जराहरू पहिलेको जस्तै अझै पनि पृथ्वीको मुनि नै गाडिएका थिए, र अहिले यी जराहरू माटोको निकै तलसम्म पुगे। कुनै ताका सानो टुसा जोगाएको पृथ्वी अहिले महान रुखको आधार भएको थियो।

सूर्यको एउटा किरण रुखमा परेर टल्कियो। रुखले आफ्नो शरीर हल्लायो र परसम्म फैलिने गरी आफ्ना हात फैलायो र सूर्यको प्रकाशले उज्यालो बनाएको हावामा गहिरो सास फेर्‍यो। सोही समयमा रुखभन्दा तलको भुइँले पनि सास फेर्‍यो र पृथ्वीले ताजा भएको अनुभव गर्‍यो। त्यही बेला, हाँगाबाट हुँदै एउटा बतास बग्यो, र रुख ऊर्जाको लहर पैदा गर्दै आनन्द भावमा हल्लियो। रुख र सूर्यको प्रकाश एक-आपसमा निर्भर हुन्छन् …

मान्छेहरू रुखको शीतल छहारीमा बसे र फुर्तिलो, सुगन्धमय हावाको आनन्द उठाए। हावाले उनीहरूको मुटु र फोक्सोलाई सफा बनायो, र उनीहरूभित्र रहेको रगतलाई सफा बनायो, र उनीहरूको शरीर अब सुस्त वा अवरुद्ध रहेन। मान्छे र रुख एक-आपसमा निर्भर हुन्छन् …

चिरबिर गर्ने स-साना चराहरूको एउटा झुण्ड रुखको हाँगाहरूमा आएर बसे। शायद, उनीहरू त्यहाँ कुनै परभक्षीबाट जोगिन वा उनीहरूको बच्चा जन्माउन र हुर्काउन आएका थिए, वा शायद उनीहरू त्यहाँ केही समयका लागि विश्राम लिन मात्रै आएका थिए। चरा र रुख एक-आपसमा निर्भर हुन्छन् …

रुखका जराहरू, बाङ्गिदै र बटारिँदै, पृथ्वीको तलसम्म गाडिए। यसको मूल काण्डद्वारा यसले पृथ्वीलाई हावा र वर्षाबाट आश्रय दियो, र यसको फैलिएका जराहरूले रुखको फेदमुनि रहेको पृथ्वीको रक्षा गरे। पृथ्वी रुखको आमा भएकाले रुखले यसो गरेको हो। उनीहरूले एक-अर्कालाई सुदृढ बनाए र एक-आपसमा निर्भर रहे, र उनीहरू कहिल्यै छुट्टिने छैनन् …

मैले भर्खरै गरेका सबै कुराहरू तिमीहरूले पहिले नै देखेका कुराहरू हुन्। उदाहरणका लागि, बीउहरू हुर्केर रुख बन्छन्, र यो प्रक्रियाको प्रत्येक विवरण तैँले देख्न नसके पनि, यही हुन्छ भनेर तँलाई थाहा हुन्छ, होइन त? तँलाई पृथ्वी र सूर्यको प्रकाशका बारेमा पनि थाहा छ। कुनै पनि रुखमा बसेका चराहरूको दृश्य सबैले देखेको छ, होइन र? र रुखको छहारीमा मानिसहरू बसेर शीतल तापेको दृश्य—तिमीहरू सबैले देखेको दृश्य हो, होइन? (हो।) तसर्थ, यी सबै कुराहरू एउटै चित्रको रूपमा प्रस्तुत हुँदा, उक्त चित्रले कस्तो भावनाको सिर्जना गर्दछ? (सहिष्णुताको भावना।) यस्तो कुनै चित्रमा भएका प्रत्येक कुराहरू के परमेश्‍वरबाट नै आएका हुन्? (हुन्।) यी चिजहरू परमेश्‍वरबाट आएका हुनाले, यी विभिन्न कुराहरूको सांसारिक अस्तित्वको मूल्य र महत्त्व परमेश्‍वरलाई थाहा छ। जब परमेश्‍वरले यी सबै कुराहरूको सिर्जना गर्नुभयो, जब प्रत्येक कुराको योजना र सिर्जना गर्नुभयो, उहाँले उद्देश्यका साथ गर्नुभयो; र जब उहाँले यी कुराहरूको सिर्जना गर्नुभयो, प्रत्येकमा जीवन भरिएको थियो। मानवजातिको अस्तित्वका लागि उहाँले सिर्जना गर्नुभएको वातावरणमा, हाम्रो कथामा व्याख्या गरिएजस्तै, एउटा बीउ र पृथ्वी एक-अर्कामा निर्भर हुन्छन्, जहाँ पृथ्वीले बीउलाई पोषण प्रदान गर्दछ र बीउहरू पृथ्वीसँग जोडिएका हुन्छन्। यो सम्बन्ध परमेश्‍वरले गर्नुभएको सृष्टिको सुरुवातमा उहाँबाट आज्ञा भएको हो। रुख, सूर्यको प्रकाश, चराहरू र मान्छेहरू मानवजातिका लागि परमेश्‍वरले सिर्जना गर्नुभएको जीवन्त वातावरणको एक चित्रण हो। पहिलो कुरा, रुखले पृथ्वी छोड्न सक्दैन न सूर्यको प्रकाशविना यो बाँच्न नै सक्छ। त्यसो भए, रुखको सिर्जना गर्नुको प्रभुको उद्देश्य के थियो त? के यो पृथ्वीको लागि मात्रै थियो भनेर हामी भन्न सक्छौं? के यो चराहरूको लागि मात्रै थियो भनेर हामी भन्न सक्छौं? के यो मान्छेहरूका लागि मात्रै थियो भनेर हामी भन्न सक्छौं? (सक्दैनौं।) यिनीहरू बीचको सम्बन्ध के हो? उनीहरू बीचको सम्बन्ध परस्पर सुदृढ बनाउने, अन्तरनिर्भरता तथा अविभाज्यता हो। यसको अर्थ, पृथ्वी, रुख, सूर्यको किरण, चराहरू तथा मान्छेहरू अस्तित्व तथा पालन पोषणका लागि एक-अर्कामा निर्भर रहेका हुन्छन्। रुखले पृथ्वीको रक्षा गर्दछ, र पृथ्वीले रुखको पालन पोषण गर्दछ; सूर्यको किरणले रुखलाई पोषण प्रदान गर्दछ भने रुखले सूर्यको किरणबाट ताजा हावा लिन्छ र सूर्यबाट पृथ्वीमा पर्ने प्रचण्ड गर्मीलाई कम गर्दछ। यसबाट अन्त्यमा कसले लाभ लिन्छ? मानवजातिले, होइन त? यो मानवजाति जिउने, अर्थात् परमेश्‍वरले सिर्जना गर्नुभएको वातावरणसँग अन्तर्निहित रहेका सिद्धान्तहरू मध्येको एक हो; प्रारम्भदेखि प्रभुले राख्नुभएको अभिप्राय पनि यही नै हो। यो चित्र सामान्य देखिए तापनि, हामीले यसभित्र परमेश्‍वरको बुद्धि तथा अभिप्रायलाई देख्न सक्छौं। मानवजाति पृथ्वी वा रूखहरूविना बाँच्न सक्दैन, र चराहरू र सूर्यको प्रकाशविना बाँच्‍न त एकदमै गाह्रो पर्दछ। होइन त? यो एउटा कथा मात्रै भए तापनि, स्वर्ग र पृथ्वी र सबै थोक र मानवजाति बाँच्न सक्ने वातावरणको रूपमा रहेको उहाँको उपहारको सूक्ष्म रूपलाई यसले चित्रण गर्दछ।

परमेश्‍वरले मानवजातिका लागि स्वर्ग र पृथ्वी र यावत् थोकका साथै बसोबास गर्ने वातावरण सृष्टि गर्नुभयो। सुरुमा, हाम्रो कथाको मुख्य बुँदाले परस्पर सुदृढीकरण, अन्तर्निर्भरता र सबै कुराहरूको सहअस्तित्वको बारेमा सम्बोधन गर्‍यो। यो सिद्धान्तअन्तर्गत, मानवजातिको अस्तित्व रहेको वातावरणको रक्षा हुन्छ; यो अस्तित्वमा रहन र दिगो हुन सक्छ। यसैको कारण, मानवजातिले प्रगति तथा प्रजनन गर्न सक्छ। हामीले देखेको चित्र रूख, पृथ्वी, सूर्यको प्रकाश, चराचुरुङ्गी र मान्छे सँगसँगै भएको चित्र हो। के यो चित्रमा परमेश्‍वर हुनुहुन्छ? त्यहाँ कसैले पनि परमेश्‍वरलाई देखेन, होइन त? तर, उसले दृश्यमा भएका चीजहरूबीचको परस्पर सुदृढीकरण र अन्तर्निर्भरताको नियम देख्यो; यो नियममा परमेश्‍वरको अस्तित्व र सार्वभौमिकता देख्‍न सकिन्छ। परमेश्‍वरले सबै कुराहरूको जीवन र अस्तित्व जोगाउनका लागि यस्तो सिद्धान्त र यस्तो नियम प्रयोग गर्नुहुन्छ। यसरी, उहाँले यावत् थोक र मानवजातिको लागि आवश्यक कुराहरू प्रदान गर्नुहुन्छ। के यो कथा हाम्रो मुख्य विषयसँग सम्बन्धित छ? सतही रूपमा, यो सम्बन्धित नभएजस्तो देखिन्छ, तर वास्तवमा, जुन नियमअनुसार परमेश्‍वरले यावत् थोकको सृष्टि गर्नुभयो ती नियमहरू र सबै थोकमाथिको उहाँको प्रभुत्व सबै थोकको लागि जीवनको स्रोत उहाँ नै हुनुहुन्छ भन्‍ने कुरासँग घनिष्ठ रूपमा जोडिएका छन्। यी तथ्यहरू अभिन्‍न छन्। अब, तिमीहरूले केही कुरा सिक्‍न सुरु गर्दै छौ!

परमेश्‍वरले यावत् थोक सञ्‍चालन गर्ने नियमहरूमाथि हुकुम चलाउनुहुन्छ; उहाँले यावत् थोकको अस्तित्वमाथि शासन गर्ने नियमहरूमाथि हुकुम चलाउनुहुन्छ; उहाँले सबै कुराहरू नियन्त्रण गर्नुहुन्छ, र ती कुराहरूलाई परस्पर मजबुतीकरण र निर्भरता हुने गरी मिलाउनुहुन्छ, ताकि तिनीहरू नष्ट वा लोप नहोऊन्। यसरी मात्रै मानवजाति बाँचिरहन सक्छ; यसरी मात्रै तिनीहरू परमेश्‍वरको मार्गनिर्देशनमा रही यस्तो वातावरणमा बाँचिरहन सक्छन्। परमेश्‍वर यी सबै कुराहरू सञ्‍चालन गर्ने नियमहरूको मालिक हुनुहुन्छ, र कसैले पनि यी नियमहरूमा हस्तक्षेप गर्न सक्दैन, न त यी नियमहरूलाई परिवर्तन नै गर्न सक्छ। यी नियमहरू परमेश्‍वरलाई मात्रै थाहा छ, र परमेश्‍वरले मात्रै यी नियमहरूको व्यवस्थापन गर्नुहुन्छ। रूखहरू कहिले उम्रन्छन्; वर्षा कहिले हुन्छ; पृथ्वीले बोटबिरुवालाई कति पानी र कति पोषक तत्त्वहरू दिन्छ; कुन ऋतुमा पातहरू झर्छन्; रूखहरूले कुन ऋतुमा फल दिन्छन्; सूर्यको किरणले रूखहरूलाई कति पोषण दिन्छ; सूर्यको किरण पाइसकेपछि रूखहरूले सासको रूपमा के छोड्छन्—यी सबै कुराहरू परमेश्‍वरले यावत् थोकको सृष्टि गर्नुहुँदा नै कसैले पनि तोड्न नसक्‍ने नियमहरूको रूपमा पूर्वनिर्धारित गर्नुभएको हो। परमेश्‍वरले सृष्टि गर्नुभएका ती सबै कुराहरू जीवित भए पनि, वा मानिसको नजरमा, निर्जीव भए पनि, उहाँकै हातमा छन्, उहाँले नै तिनीहरूलाई नियन्त्रण गर्नुहुन्छ र उहाँले नै तिनीहरूमाथि शासन गर्नुहुन्छ। कसैले पनि यी नियमहरू परिवर्तन गर्न वा तोड्न सक्दैन। यसो भन्‍नुको अर्थ, जब परमेश्‍वरले सबै कुरा सृष्टि गर्नुभयो, तब उहाँले पृथ्वीविना रूखले जरा हाल्न, उम्रन र बढ्न सक्दैन; यदि पृथ्वीमा कुनै रूखहरू छैनन् भने पृथ्वी सुक्खा हुन्छ; रूख चराहरूका लागि घर र तिनीहरूले हावाहुरीबाट बच्न आश्रय लिन सक्‍ने ठाउँ हुनुपर्छ भन्‍ने कुरा पूर्वनिर्धारित गर्नुभयो। के पृथ्वीबिना रूख बाँच्न सक्छ? अवश्य सक्दैन। के यो घाम र पानीबिना बाँच्न सक्छ? यीबिना पनि बाँच्न सक्दैन। यी सबै चिजहरू मानवजातिका लागि हुन्, मानवजातिको अस्तित्वका लागि हुन्। रूखबाट मानिसले ताजा हावा प्राप्त गर्छ, र पृथ्वीमा मानिस बस्छ, अनि पृथ्वीलाई रूखले रक्षा गर्छ। मानिस सूर्यको किरण वा विभिन्‍न जीवित प्राणीहरूविना बाँच्न सक्दैन। यी सम्बन्धहरू जटिल भए तापनि, तैँले के याद राख्‍नुपर्छ भने सबै चीजहरूले एकअर्कालाई मजबुत पार्न सकून्, एकआपसमा निर्भर रहन सकून् र सहअस्तित्व कायम गर्न सकून् भनेर यावत् थोकमाथि शासन गर्ने नियमहरू परमेश्‍वरले नै बनाउनुभएको हो। अर्को शब्दमा भन्‍नुपर्दा, उहाँले सृष्टि गर्नुभएका प्रत्येक चीजको आ-आफ्नै मूल्य र महत्त्व छ। यदि परमेश्‍वरले कुनै महत्त्वहीन चीजको सृष्टि गर्नुभएको भए, उहाँले उक्त चीजलाई लुप्त बनाइदिनुहुनेथ्यो। परमेश्‍वरले सबै चीजहरूका लागि प्रबन्ध गर्ने तरिकाहरू मध्येको एक यही हो। यो कथामा “प्रबन्ध गर्नु” ले केलाई बुझाउँछ? के परमेश्‍वरले रूखलाई प्रत्येक दिन पानी हाल्नुहुन्छ? के रूखलाई सास फेर्न परमेश्‍वरको सहयोगको आवश्यकता पर्छ? (पर्दैन।) यहाँ “प्रबन्ध गर्नु” ले सृष्टिपछि परमेश्‍वरले गर्नुभएका सबै चीजहरूको व्यवस्थापनलाई बुझाउँछ; सबै चीजहरूमाथि शासन गर्ने नियमहरू स्थापित गरिसकेपछि परमेश्‍वरले ती चीजहरूको व्यवस्थापन गर्नु मात्रै पनि पर्याप्त हुन्छ। पृथ्वीमा बीउ रोपेपछि, रूख आफैँ बढ्छ। यसको वृद्धिका सर्तहरू सबै परमेश्‍वरले नै तर्जुमा गर्नुभएको हो। परमेश्‍वरले घाम, पानी, माटो, हावा र वरिपरिको वातावरण बनाउनुभयो; परमेश्‍वरले हावा, शीत, हिउँ र वर्षा र चार ऋतुहरू बनाउनुभयो। यी सबै कुराहरू रूख हुर्कनको लागि आवश्यक सर्तहरू हुन्, र यी चीजहरूलाई परमेश्‍वरले नै तयार पार्नुभएको हो। त्यसैले, के परमेश्‍वर यस जीवित वातावरणको स्रोत हुनुहुन्छ? (हो, हुनुहुन्छ।) के परमेश्‍वरले दिनहुँ रूखहरूको हरेक पात गन्‍नुपर्छ? पर्दैन! न त परमेश्‍वरले रूखलाई सास फेर्न सहयोग गर्नुपर्छ न त “अब रूखहरूमा चम्किने समय भयो” भन्दै दिनहुँ सूर्यको किरणलाई जगाउनु नै आवश्यक हुन्छ। उहाँले त्यसो गरिराख्‍नु पर्दैन। उक्त नियमअनुसार, चम्किने समय भएपछि सूर्य आफै चम्कन्छ; यो देखा पर्छ र रूखमा चम्कन्छ र रूखले आवश्यक पर्दा सूर्यको प्रकाश ग्रहण गर्छ, र आवश्यक नपर्दा पनि रूख उक्त नियमभित्रै रहेर बाँचिरहेको हुन्छ। तिमीहरू यस प्रक्रियालाई स्पष्ट रूपमा व्याख्या गर्न सक्षम नहुन पनि सक्छौ, तथापि यो एउटा तथ्य हो, जसलाई सबैले देख्‍न र स्वीकार गर्न सक्छन्। तैँले गर्नुपर्ने कार्य भनेको सबै चीजहरूको अस्तित्वमाथि शासन गर्ने नियमहरू परमेश्‍वरबाट आउँछन् भन्‍ने कुरालाई पहिचान गर्नु, र सबै कुराको वृद्धि र अस्तित्वमाथि परमेश्‍वरको प्रभुत्व रहन्छ भन्‍ने कुरा थाहा पाउनु हो।

अब, के यो कथामा मानिसहरूले भन्‍ने गरेको “अलङ्कार” समेटिएको छ? के यो व्यक्तित्वकरण हो? (होइन।) मैले एउटा सत्य कथा सुनाएँ। हरप्रकारका जीवित प्राणीहरू, जीवन भएका हरेक कुरामाथि परमेश्‍वरले शासन गर्नुहुन्छ; प्रत्येक जीवित प्राणीको सृष्टि गर्नुहुँदा, परमेश्‍वरले तिनमा जीवन भरिदिनुभएको थियो; प्रत्येक जीवित प्राणीको जीवन परमेश्‍वरबाट आउँछ र यसले यसलाई निर्देशित गर्ने बाटो र नियम पछ्याउँछ। यसलाई मानिसले परिवर्तन गरिरहनु पर्दैन, न त यसलाई मानिसको मद्दतको नै आवश्यकता पर्छ; यो परमेश्‍वरको सबै चीजहरूका लागि प्रबन्ध गर्ने एउटा तरिका हो। तिमीहरूले बुझ्यौ, होइन त? के मानिसले यो कुरा पहिचान गर्नु आवश्यक छ भन्‍ने तिमीहरूलाई लाग्छ? (लाग्छ।) त्यसो भए, के जीवविज्ञानसँग यो कथाको कुनै सम्बन्ध छ? के यो ज्ञानको क्षेत्र वा सिकाइको शाखासँग कुनै हिसाबले सम्बन्धित छ? हामीले जीवविज्ञानको बारेमा छलफल गरिरहेका छैनौं, र अवश्य नै हामीले कुनै पनि जैविक शोध-अध्ययन गरिरहेका छैनौं। हाम्रो कुराकानीको मुख्य विषय के हो? (सबै थोकका लागि जीवनको स्रोत परमेश्‍वर नै हुनुहुन्छ।) तिमीहरूले यस सृष्टिमा के देखेका छौ? के तिमीहरूले रूखहरू देखेका छौ? के तिमीहरूले पृथ्वी देखेका छौ? (छौँ।) तिमीहरूले सूर्यको किरण देखेका छौ, होइन त? के तिमीहरूले रूखमा चराहरू बसेको देखेका छौ? (हामीले देखेका छौँ।) के यस्तो वातावरणमा बाँच्न पाउँदा मानवजाति खुशी छ? (छ।) यसो भन्‍नुको अर्थ, मानवजातिको घर, उनीहरूको जीवनको वातावरण बनाउन र सुरक्षा गर्नको लागि परमेश्‍वरले—आफूले सृष्टि गर्नुभएका—सबै चीज प्रयोग गर्नुहुन्छ। यस प्रकारले, परमेश्‍वरले मानवजाति र सबै कुराको लागि प्रबन्ध गर्नुहुन्छ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ७

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ११५

योना ३ अनि यहोवाको यसो भन्‍ने वचन दोस्रो पटक योनाकहाँ आयो, उठ्, त्यो ठूलो सहर निनवेमा जा र मैले तँलाई आज्ञा गरेको कुरा त्यसलाई प्रचार गर्।...

परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३६४

मेरो अगाडि सेवा गर्ने मेरा सबै मानिसहरूले विगतको विषयमा फेरि सोच्नुपर्छ: के मप्रतिको तिमीहरूको प्रेम अशुद्धताले कलङ्कित थियो? के मप्रति...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्