परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १३८

मानिसलाई यहोवा परमेश्‍वरको आज्ञा

उत्पत्ति २:१५-१७ अनि यहोवा परमेश्‍वरले मानिसलाई लिनुभयो र अदनको बगैँचामा त्यसको हेरचाह गर्न र काटछाँट गर्न राख्‍नुभयो। अनि यहोवा परमेश्‍वरले मानिसलाई आज्ञा गर्दै भन्‍नुभयो, तैँले बगैँचाको हरेक रूखबाट स्वतन्त्र रूपमा खान सक्छस्: तर असल र खराबको ज्ञानको रूखबाट तैँले खानु हुँदैन: किनभने तैँले त्यसबाट खाएको दिन तँ निश्‍चय नै मर्नेछस्।

स्‍त्रीलाई सर्पको प्रलोभन

उत्पत्ति ३:१-५ अब सर्प यहोवा परमेश्‍वरले बनाउनुभएको भूमिको कुनै पनि पशुभन्दा धेरै धूर्त थियो। अनि त्यसले स्‍त्रीलाई भन्यो, हो? के परमेश्‍वरले बगैँचाको हरेक रूखबाट तिमीहरूले खानु हुँदैन भनी भन्‍नुभएको छ? अनि स्‍त्रीले सर्पलाई भनी, हामीले बगैँचाका रूखहरूबाट फल खान सक्छौँ: तर बगैँचाको बीचमा भएको रूखबाट तिमीहरूले खानु हुँदैन, न त तिमीहरूले यसलाई छुनु नै हुन्छ, नत्र तिमीहरू मर्छौ भनेर परमेश्‍वरले भन्‍नुभएको छ। अनि सर्पले स्‍त्रीलाई भन्यो, तिमीहरू निश्‍चय नै मर्नेछैनौ: किनभने परमेश्‍वरलाई थाहा छ, तिमीहरूले त्यसबाट खाएको दिन, तिमीहरूको आँखा खुल्नेछ अनि असल र खराबलाई चिनेर तिमीहरू परमेश्‍वरजस्तै हुनेछौ।

यी दुई खण्डहरू बाइबलमा भएको उत्पत्तिको पुस्तकबाट लिइएका हुन्। के तिमीहरू सबै यी दुई खण्डहरूसँग परिचित छौ? यिनीहरू सुरुमा भएको घटनासँग सम्बन्धित छन्, जुन बेला मानिसलाई पहिलोपटक सृष्‍टि गरिएको थियो; यी घटनाहरू वास्तविक थिए। यहोवा परमेश्‍वरले आदम र हव्वालाई कस्तो किसिमको आज्ञा दिनुभएको थियो भनी पहिला हेरौँ; यो आज्ञामा भएको विषयवस्तु आजको हाम्रो विषयको निम्ति अत्यन्त महत्वपूर्ण छ। “अनि यहोवा परमेश्‍वरले मानिसलाई आज्ञा गर्दै भन्‍नुभयो, तैँले बगैँचाको हरेक रूखबाट स्वतन्त्र रूपमा खान सक्छस्: तर असल र खराबको ज्ञानको रूखबाट तैँले खानु हुँदैन: किनभने तैँले त्यसबाट खाएको दिन तँ निश्‍चय नै मर्नेछस्।” यो खण्डमा मानिसलाई दिइएको परमेश्‍वरको आज्ञाको महत्त्व के हो? सर्वप्रथम, मानिसले के खान सक्छ, अर्थात् विभिन्‍न प्रकारका रूखहरूका फलहरू खान सक्छ भनी परमेश्‍वर भन्‍नुहुन्छ। त्यसमा कुनै खतरा वा विष छैन; सबै खान सकिन्छ र मानिसले चाहेजति चिन्ता र शङ्‍का नगरीकन स्वतन्‍त्रतापूर्वक खान सक्छ। परमेश्‍वरको आज्ञाको एउटा भाग यही हो। अर्को भागचाहिँ चेतावनी हो। यो चेतावनीमा, परमेश्‍वरले मानिसलाई असल र खराबको ज्ञान दिने रूखको फलचाहिँ उसले खानु हुँदैन भनी आज्ञा दिनुहुन्छ। यदि उसले यो रूखबाट खायो भने के हुनेछ? परमेश्‍वरले मानिसलाई भन्‍नुभयो: यदि तैँले त्यसबाट खाइस् भने तँ निश्‍चय नै मर्नेछस्। के यी वचनहरू स्पष्‍ट छैनन् र? यदि परमेश्‍वरले तँलाई यो कुरा भन्‍नुभयो तर तैँले किन भनेर बुझिनस् भने, के तैँले उहाँको वचनलाई एउटा नियमको रूपमा लिन्छस् कि पालन गर्नैपर्ने आज्ञाको रूपमा लिन्छस्? यस्ता वचनहरूलाई पालन गर्नैपर्छ, पर्दैन त? तर मानिस आज्ञापालन गर्न सक्षम होस् कि नहोस्, परमेश्‍वरका वचनहरू स्पष्‍ट छन्। परमेश्‍वरले मानिसलाई उसले के खानु हुन्छ र के खानु हुँदैन, र उसले खान नहुने फल खायो भने के हुनेछ भनी स्पष्‍टसँग बताउनुभयो। परमेश्‍वरले बोल्‍नुभएका यी संक्षिप्‍त वचनहरूमा, के तँ परमेश्‍वरको स्वभावको कुनै कुरा देख्‍न सक्छस्? के परमेश्‍वरका यी वचनहरू सत्य छन्? के यिनमा कुनै छल छ? कुनै झूट छ? कुनै धाकधम्की छ? (छैन।) परमेश्‍वरले इमानदारीसाथ, सत्यतापूर्वक र सच्‍चा रूपले मानिसलाई उसले के खानु हुन्छ र के खानु हुँदैन भनी बताउनुभयो। परमेश्‍वरले स्पष्‍ट र सरल रूपमा बोल्‍नुभयो। के यी वचनहरूमा कुनै गुप्‍त अर्थ छन्? के यी वचनहरू सीधा छैनन्? के अनुमान गर्नुपर्ने कुनै आवश्यकता छ? अनुमान गर्नुपर्ने आवश्यकता छैन। तिनीहरूको अर्थ एक झलकमै स्पष्‍ट हुन्छ। ती पढेपछि तिनीहरूको अर्थ पूर्णतया स्पष्‍ट भएको महसुस गर्न सकिन्छ। त्यसैले, परमेश्‍वरले भन्‍न चाहनुभएको र उहाँले व्यक्त गर्न चाहनुभएको कुरा उहाँको हृदयबाट आउँछ। परमेश्‍वरले व्यक्त गर्नुहुने कुराहरू सफा, सीधा र स्पष्‍ट छन्। तिनमा कुनै गुप्‍त मनसायहरू हुँदैनन्, न त कुनै गुप्त अर्थहरू नै हुन्छन्। उहाँ मानिससँग सीधा रूपमा बोल्‍नुहुन्छ, उसले के खानु हुन्छ र के खानु हुँदैन भनी उसलाई बताउनुहुन्छ। भन्‍नुको अर्थ, परमेश्‍वरका यी वचनहरूमार्फत, परमेश्‍वरको हृदय पारदर्शी र सत्य छ भनी मानिसले देख्‍न सक्छ। यहाँ झूटको कुनै पनि निसान छैन; खानयोग्य खानेकुरा तैँले खानु हुँदैन भनी तँलाई बताउन खोजिएको होइन, वा तैँले खान नहुने खानेकुरा “खा अनि के हुन्छ हेर्” भनी तँलाई बताउन खोजिएको होइन। परमेश्‍वरले यस्तो भन्‍न चाहनुभएको होइन। परमेश्‍वरले आफ्नो हृदयमा जे कुरा सोच्‍नुहुन्छ, उहाँले त्यही कुरा बताउनुहुन्छ। यदि परमेश्‍वर पवित्र हुनुहुन्छ किनकि यी वचनहरूमा उहाँले आफैलाई देखाउनुहुन्छ र प्रकट गर्नुहुन्छ भनी म भन्‍छु भने तँलाई मैले एउटा सानो ढिस्कोलाई पहाड बनाएको वा मैले चाहिनेभन्दा बढी कुरा तन्काएको जस्तो लाग्‍न सक्छ। यदि त्यस्तो लाग्छ भने चिन्‍ता नगर्; हामीले कुराकानीलाई अझै सिध्याइसकेका छैनौं।

अब हामी “सर्पले स्‍त्रीलाई देखाएको प्रलोभन” को विषयमा कुरा गरौँ। सर्प को हो? शैतान। यसले परमेश्‍वरको छ हजार वर्षे व्यवस्थापन योजनामा प्रतिभारको भूमिका निभाउँछ, र हामीले परमेश्‍वरको पवित्रताको विषयमा सङ्‍गति गर्दा यो भूमिकाको बारेमा उल्लेख गर्नैपर्छ। म किन यसो भन्छु त? यदि तँलाई शैतानको दुष्‍टता र भ्रष्‍टता थाहा छैन भने, यदि तँलाई शैतानको प्रकृतिको बारेमा थाहा छैन भने, तैँले कुनै पनि हालतमा पवित्रतालाई स्वीकार गर्न सक्‍नेछैनस्, न त वास्तवमा पवित्रता के हो भनी जान्‍न नै सक्‍नेछस्। द्विविधामा, मानिसहरू शैतानले गरेको कार्य सही हो भनी विश्‍वास गर्छन्, किनकि तिनीहरू यस किसिमको भ्रष्‍ट स्वभावभित्र जिउँछन्। प्रतिभार नहुँदो हो त, अनि तुलना गर्ने कुनै कुरा नहुँदो हो त, तैँले पवित्रता के हो भनी थाहा पाउन सक्दैनस्। त्यस कारणले गर्दा, यहाँ शैतानको बारेमा उल्लेख गरिनु नै पर्छ। यस किसिमले उल्लेख गर्नु व्यर्थ बातचित होइन। शैतानको बोली र कामहरूद्वारा हामी शैतानले कसरी काम गर्छ, शैतानले कसरी मानवजातिलाई भ्रष्‍ट तुल्याउँछ, र शैतानको प्रकृति र मुहार कस्तो छ भनी हामी देख्‍नेछौँ। त्यसो भए, स्‍त्रीले सर्पलाई के भनिन् त? यहोवा परमेश्‍वरले आफूलाई भन्‍नुभएको कुरा स्‍त्रीले सर्पलाई पुनः सुनाइन्। जब उनले यी वचनहरू भनिन्, तब के परमेश्‍वरले उनलाई भन्‍नुभएको कुरा सत्य थियो भन्‍नेबारेमा उनी निश्‍चित थिइन्? उनी निश्‍चित हुन सकेकी थिइनन्, थिइन् त? भर्खरै नयाँ सृष्‍टि गरिएको एक व्यक्तिको रूपमा उनीसँग असल र खराबको भेद छुट्याउने क्षमता थिएन, न त उनलाई आफ्नो वरपर भएका कुनै पनि कुराहरूको बारेमा संज्ञानात्मक अनुभूति नै थियो। उनले सर्पलाई भनेका कुराहरूको आधारमा मूल्याङ्कन गर्दा परमेश्‍वरले भन्‍नुभएको वचन सही थियो भनी उनी आफ्नो हृदयमा निश्‍चित थिइनन् भन्‍ने थाहा हुन्छ; उनको मनोवृत्ति नै यस्तो थियो। परमेश्‍वरका वचनहरूप्रति स्‍त्रीको मनोवृत्ति अनिश्‍चित किसिमको छ भनी जब सर्पलाई थाहा भयो, तब त्यसले भन्यो: “तिमीहरू निश्‍चय नै मर्नेछैनौ: किनभने परमेश्‍वरलाई थाहा छ, तिमीहरूले त्यसबाट खाएको दिन, तिमीहरूको आँखा खुल्नेछ अनि असल र खराबलाई चिनेर तिमीहरू परमेश्‍वरजस्तै हुनेछौ।” के यी वचनहरूभित्र कुनै समस्याग्रस्त कुरा छ? जब तिमीहरू यो वाक्य पढ्छौ तब के तिमीहरूले सर्पका अभिप्रायहरूलाई पत्ता लगाउन सक्छौ? ती अभिप्रायहरू के-के हुन्? त्यसले यस स्‍त्रीलाई परीक्षा गर्न चाहन्थ्यो, परमेश्‍वरका वचनहरूमा ध्यान दिनबाट उनलाई रोक्‍न चाहन्थ्यो। तर त्यसले यी कुराहरू सीधा रूपमा भनेन। त्यसैले, त्यो अति धूर्त हो भनी हामी भन्‍न सक्छौँ। त्यसले आफ्नो भाव धूर्त र छली किसिमले व्यक्त गर्छ ताकि त्यो आफूले चाहेको उद्देश्यसम्म पुग्‍न सकोस्। त्यसले त्यो उद्देश्यलाई मानिसबाट गोप्‍य राख्दै आफ्नो मनभित्र गुनेर राख्छ—सर्पको धूर्तता यस्तो किसिमको छ। शैतानको बोल्‍ने र काम गर्ने तरिका सधैँ यस्तै रहिआएको छ। कुनै एक वा अर्को तरिकालाई सुनिश्‍चित नगरीकन त्यसले “मर्नेछैनौ” भनेर भन्छ। तर यो कुरा सुनेर अज्ञानी स्‍त्रीको हृदय विचलित भयो। त्यो सर्पचाहिँ प्रसन्‍न भयो, किनकि त्यसको वचनले त्यसले चाहेजस्तै प्रभाव पारेको थियो—सर्पको धूर्त अभिप्राय यस्तो थियो। साथै मानवजातिले चाहना गर्ने किसिमको प्रतिफल दिने प्रतिज्ञा गरेर त्यसले स्‍त्रीलाई प्रलोभनमा पारेर भन्यो, “तिमीहरूले त्यसबाट खाएको दिन, तिमीहरूको आँखा खुल्नेछ।” त्यसैले उनले विचार गरिन्: “मेरो आँखा खोल्‍नु भनेको राम्रो कुरा हो!” अनि त्यसपछि त्यसले अझ बढी लोभ्याउने कुरा भन्यो, जुन वचन मानिसलाई पहिले कहिल्यै पनि थाहा नभएको र सुन्‍नेहरूमाथि परीक्षाको ठूलो शक्ति चलाउने वचन थियो: “असल र खराबलाई चिनेर तिमीहरू परमेश्‍वरजस्तै हुनेछौ।” के यी शब्दहरू मानिसलाई प्रबल रूपमा लोभ्याउने किसिमका छैनन् र? यो कसैले तँलाई यसो भनेको जस्तो हो: “तपाईंको अनुहारको आकार अद्‌भूत छ, तर तपाईंको नाकको डाँडी अलि छोटो छ। यदि तपाईंले त्यसलाई सच्याउनुभयो भने तपाईं विश्‍व-सुन्दरी बन्‍नुहुनेछ!” के यी शब्दहरूले पहिला कहिल्यै कस्‍मेटिक सर्जरी गर्ने विचार नगरेको व्यक्तिको हृदयलाई विचलित बनाउन सक्छ? के यी शब्दहरू लोभ्याउने किसिमका छैनन् र? के यो प्रलोभन तँलाई परीक्षामा पार्ने किसिमको छैन र? अनि के यो परीक्षा होइन र? (हो।) के परमेश्‍वरले यस्तो कुरा भन्‍नुहुन्छ? हामीले अहिले भर्खरै हेरेका परमेश्‍वरका वचनहरूमा यस किसिमको कुनै सङ्‍केत पाइन्छ? के परमेश्‍वरले आफ्नो हृदयमा विचार गर्नुभएको कुरा भन्‍नुहुन्छ? के मानिसले उहाँका वचनहरूमार्फत परमेश्‍वरको हृदयलाई हेर्न सक्छ? (सक्छ।) तर जब सर्पले यी वचनहरू स्‍त्रीसँग बोल्यो, तब के तैँले त्यसको हृदयलाई देख्‍न सकिस्? सकिनस्। मानिस आफ्नो अज्ञानताको कारण सर्पका वचनहरूद्वारा सजिलैसँग प्रलोभनमा परेको थियो, र उसले सजिलैसँग धोखा खाएको थियो। त्यसो भए, के तँ शैतानका अभिप्रायहरूलाई देख्‍न सक्षम थिइस् त? के तँ शैतानले भनेका कुरापछाडिको उद्देश्यलाई देख्‍न सक्षम थिइस् त? के तँ शैतानको धूर्त योजना र छललाई देख्‍न सक्षम थिइस् त? (थिइनँ।) शैतानको कुरा गर्ने तरिकाले कस्तो किसिमको स्वभावलाई प्रतिनिधित्व गरेको छ? यी शब्दहरूमार्फत तैँले शैतानको कस्तो सारलाई देखेको छस्? के यो कपटी छैन र? सायद तेरो अगाडि बाह्य रूपमा त्यो मुस्कुराउँछ होला, वा सायद त्यसले कुनै पनि भाव प्रकट गर्दैन होला। तर त्यसले आफ्नो हृदयमा आफ्नो उद्देश्य कसरी हासिल गर्ने भनी हिसाबकिताब गरिरहेको हुन्छ, र तैँले त्यसको यो उद्देश्यलाई भने देख्‍न सक्दैनस्। त्यसले तँसँग गर्ने सबै प्रतिज्ञाहरू, त्यसले वर्णन गर्ने सबै फाइदाहरू त्यसको प्रलोभनका बाह्य आवरणहरू हुन्। तँ ती कुराहरूलाई असल देख्छस्, त्यसैले तँ परमेश्‍वरले भन्‍नुभएको भन्दा त्यसले भनेको कुरा अझ बढी उपयोगी, अझ बढी महत्वपूर्ण भएको महसुस गर्छस्। जब यस्तो हुन्छ, तब के मानिस समर्पित कैदी बन्दैन र? के शैतानले प्रयोग गरेको यो रणनीति अत्यन्तै दुष्ट प्रकृतिको छैन र? तैँले आफैलाई पतनमा डुब्‍न दिन्छस्। शैतानले एउटा औँला पनि नहल्लाईकन, केवल यी दुई वाक्यहरू बोलेपछि, तँ खुसीसाथ शैतानको पछि लाग्छस्, शैतानको आज्ञापालन गर्न तयार हुन्छस्। यसरी शैतानको उद्देश्य पूरा भएको हुन्छ। के यो अभिप्राय दुष्‍ट छैन र? के यो शैतानको सबैभन्दा प्राचीन रूप होइन र? शैतानका वचनहरूबाट मानिसले त्यसका दुष्‍ट मनसायहरूलाई देख्‍न सक्छ, त्यसको घृणित रूप र त्यसको सार देख्‍न सक्छ। के यस्तै हुँदैन र? कुनै विश्‍लेषण नै नगरीकन यी वाक्यहरूलाई तुलना गर्दा, सायद तँलाई यहोवा परमेश्‍वरका वचनहरू निरस, साधारण र अल्छीलाग्‍दो लाग्छन् होला, यहाँ ती वचनहरूले परमेश्‍वरको इमानदारिताको प्रशंसामा लयबद्ध कविता प्रवाह गर्नैपर्ने औचित्य प्रदान गर्दैनन् होला। तैपनि, जब हामी शैतानका वचनहरू र शैतानको दुष्‍ट रूपलाई एक प्रतिभारको रूपमा लिन्छौँ, तब के परमेश्‍वरका यी वचनहरूले आजका मानिसहरूका निम्ति महत्वपूर्ण अर्थ बोक्दैनन् र? (बोक्छन्।) यो तुलनाद्वारा मानिसले परमेश्‍वरको विशुद्ध त्रुटिरहितता महसुस गर्न सक्छ। शैतानले भन्‍ने हरेक वचन, साथै शैतानका मनसायहरू, त्यसको उद्देश्य र त्यसले बोल्‍ने तरिका—ती सबै अशुद्ध छन्। शैतानको बोल्ने तरिकाको मुख्य विशेषता के हो? शैतानले तँलाई लोभ्याउनको निम्ति शब्‍द-छलको प्रयोग गर्छ, त्यसले त्यसको कपटीपन तँलाई देखाउँदैन, न त त्यसले तँलाई त्यसको उद्देश्यको भेद थाहा पाउने अवसर नै दिन्छ; शैतानले तँलाई बल्छीमा अल्झाउँछ, तर तैँले भने त्यसको श्रेष्ठताको प्रशंसा र गुणगान गाउनुपर्छ। के यो चाल शैतानको रोजाइको अभ्यस्त तरिका होइन र? (हो।)

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ४

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४२७

सत्यताको अभ्यास यस्तो मार्ग हो जसमा मानिसको जीवन वृद्धि हुन सक्छ। यदि तिमीहरूले सत्यताको अभ्यास गरेनौं भने, तिमीहरूसँग सिद्धान्तभन्दा बढी...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ५४

अय्यूबले कानद्वारा परमेश्‍वरको बारेमा सुन्छन् अय्यूब ९:११ हेर्नुहोस्, उहाँ मेरो छेउबाट हिँड्नुहुन्छ, र म उहाँलाई देख्दिनँ: उहाँ जानु...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १३

परमेश्‍वरको मनोवृत्तिलाई बुझ र परमेश्‍वर सम्‍बन्धी सबै गलत अवधारणाहरूलाई पन्छाओ तिमीहरूले हाल विश्‍वास गरेको यो परमेश्‍वर कस्तो प्रकारको...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ४९

अय्यूबको दैनिक जीवनमा हामी तिनको सिद्धता, इमानदारिता, परमेश्‍वरप्रतिको भय, र दुष्टताबाट अलग बस्‍ने आचरण देख्छौँ यदि अय्यूबको बारेमा कुरा...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्