परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १२९

छैटौं महत्त्वपूर्ण मोड: मृत्यु

धेरै दौडधूप, धेरै निराशा र विफलताहरूपछि, धेरै आनन्द र शोक अनि उतारचढावपछि, बिर्सनै नसक्‍ने धेरै वर्षहरूपछि, ऋतुहरू आए-गएको हेरेपछि, पत्तै नपाई व्यक्तिले आफ्‍नो जीवनका महत्त्वपूर्ण मोडहरूलाई पार गरिसकेको हुन्छ, अनि एकै क्षणमा उसले आफैलाई जिन्दगीको गोधूलि वर्षहरूमा पुगिसकेको पाउँछ। व्यक्तिको शरीरभरि समयका छापहरू लागेका हुन्छन्: व्यक्ति त्यसउप्रान्त सीधा उभिन सक्दैन, उसको कालो कपाल सेतो भइसकेको हुन्छ, कुनै बेला चम्‍किलो र स्पष्ट देखिने आँखा अँध्यारो र धमिलो बन्छ, अनि नरम, कोमल छाला चाउरी पर्छ र त्यसमा दाग-धब्बा देखिन्छन्। व्यक्तिको श्रवण शक्ति कमजोर बन्छ, उसका दाँतहरू हल्‍लिन्छन् अनि झर्छन्, उसका प्रतिक्रिया सुस्त बन्छन्, उसका हलचल मन्द हुन्छन्…। यस विन्दुमा, व्यक्तिले आफ्‍नो जवानीका जोशिला वर्षहरूलाई बिदा गरेर आफ्‍नो जीवनको गोधूलि अर्थात वृद्ध अवस्थामा प्रवेश गर्नुपर्छ। यसपछि, हामीले मानव जीवनको अन्तिम विन्दु, मृत्युको सामना गर्नेछौं।

१. मानिसलाई जीवन र मृत्यु दिने शक्ति सृष्टिकर्तासँग मात्रै छ

व्यक्तिको जन्‍मलाई उसको अघिल्‍लो जीवनले निर्धारित गरेको हुन्छ भने व्यक्तिको मृत्युले त्यो नियतिलाई टुङ्ग्याउँछ। व्यक्तिको जन्‍म यो जीवनमा उसको मिसनको सुरुवात हो भने उसको मृत्युले त्यो मिसनको अन्त्यलाई जनाउँछ। व्यक्तिको जन्‍मको लागि सृष्टिकर्ताले निश्‍चित परिस्‍थितिहरू निर्धारित गर्नुभएको हुँदा, अवश्य नै उहाँले उसको मृत्युको लागि पनि निश्‍चित परिस्‍थितिहरूको बन्दोबस्त गर्नुभएको हुन्छ। अर्को शब्‍दमा भन्दा, कोही पनि संयोगले जन्‍मँदैन, कसैको मृत्यु पनि अचानक आउँदैन, अनि जन्‍म र मृत्यु दुवै व्यक्तिको अघिल्‍लो जीवन र वर्तमान जीवनसँग अत्यावश्यक रूपमा जोडिएका हुन्छन्। व्यक्तिको जन्‍म र मृत्यु दुवैका परिस्‍थितिहरूलाई सृष्टिकर्ताले पूर्वनिर्धारित गर्नुभएको हुन्छ; व्यक्तिको नियति, व्यक्तिको प्रारब्ध यही हो। व्यक्तिको जन्‍म सम्‍बन्धी विभिन्‍न व्याख्याहरू रहेको हुनाले, यो कुरा पनि सही नै हो कि व्यक्तिको मृत्यु स्वाभाविक रूपमै यसका आफ्‍नै, विशेष परिस्‍थितिहरूमा हुनेछ। मानिसहरूका आयुहरू फरक-फरक हुनु अनि तिनीहरूको मृत्युको तरिका र समयहरू पनि फरक-फरक हुनुको कारण यही नै हो। कतिपय मानिसहरू बलियो र स्वस्थ हुन्छन्, तैपनि तिनीहरू जवानीमै मर्छन्; अरू चाहिँ कमजोर र बिरामी भइरहने हुन्छन्, तैपनि तिनीहरू वृद्ध अवस्थासम्‍म बाँच्‍छन् र शान्तिसाथ मरेर जान्छन्। केही मानिसहरू अस्वाभाविक कारणले मर्छन्, अरूहरू स्वाभाविक रूपमा मर्छन्। कतिपयले घरबाट टाढा हुँदा आफ्‍नो जीवन त्याग्छन्, अरूहरूले आफ्‍ना प्रियजन आफ्‍नै छेउ हुँदा आफ्‍ना आँखाहरू अन्तिम पटक चिम्‍लिन्छन्। कतिपय मानिसहरू मध्याकाशमा मर्छन्, अरूहरू पृथ्वीमुनि मर्छन्। कतिपय मानिसहरू पानीमा डुब्छन्, अरूहरू विपत्तिमा बेपत्ता हुन्छन्। कोही बिहान मर्छन्, अरूहरू राती। … हरेक व्यक्तिले प्रतिष्ठापूर्ण जन्‍म, शानदार जीवन, अनि वैभवपूर्ण मृत्यु चाहन्छ, तर कसैले पनि आफ्‍नो नियति नाघेर जान सक्दैन, कोही पनि सृष्टिकर्ताको सार्वभौमिकताबाट उम्‍कन सक्दैन। मानव नियति यही हो। मानिसले आफ्‍नो भविष्यको लागि अनेक किसिमका योजनाहरू बनाउन सक्छ, तर कसैले पनि आफ्‍नो जन्‍म र संसारबाट आफू बिदा हुने तरिका र समयको योजना बनाउन सक्दैन। मानिसहरूले मृत्युको आगमनबाट बच्‍न र त्यसलाई रोक्‍न सक्दो कोशिश गर्छन्, तैपनि तिनीहरूले थाहै नपाई मृत्यु चुपचाप नजिक आइपुग्छ। कसैले पनि आफू कहिले वा कहाँ बित्ने हो थाहा पाउँदैन, यो कहाँ हुनेछ भन्‍ने कुरा थाहा हुनु त परै जाओस्। स्पष्ट रूपमा जीवन र मृत्युको शक्ति मानवजातिमा छैन, प्राकृतिक संसारको कुनै प्राणीमा छैन, तर सृष्टिकर्तामा छ, जसको अख्‍तियार अद्वितीय छ। मानवजातिको जीवन र मृत्यु प्राकृतिक संसारको कुनै नियमको उपज होइन, यो त सृष्टिकर्ताको अख्‍तियारको सार्वभौमिकताको परिणाम हो।

२. सृष्टिकर्ताको सार्वभौमिकतालाई नचिन्‍ने व्यक्ति मृत्युको भयले त्रसित हुनेछ

जब व्यक्ति पाको उमेरमा प्रवेश गर्छ, उसले सामना गर्ने चुनौती भनेको परिवारको भरणपोषण गर्नु वा जीवनमा आफ्‍नो ठूलो लक्ष्‍यलाई पूरा गर्नु होइन, बरु आफ्‍नो जीवनलाई कसरी बिदा गर्नु, आफ्‍नो जीवनको अन्त्यलाई कसरी सामना गर्नु, आफ्‍नो जीवनको वाक्यमा कसरी पूर्ण विराम थप्‍नु हो। झट्ट हेर्दा, मृत्युलाई मानिसहरूले त्यति ध्यान दिँदैनन् भन्‍ने जस्तो देखिए तापनि, यो विषयलाई अन्वेषण गर्नबाट कोही पनि अछुतो रहँदैन, किनभने मृत्युपारि मानिसहरूले बुझ्‍न वा अनुभव गर्न नसक्‍ने, तिनीहरूलाई केही पनि थाहा नभएको अर्को संसार छ कि छैन भन्‍ने कसैलाई पनि थाहा हुँदैन। यसले मानिसहरूलाई मृत्युको सामना गर्नको लागि, तिनीहरूले जसरी सामना गर्नुपर्ने हो त्यसरी त्यसको सामना गर्नको लागि डराउने तुल्याउँछ; बरु, तिनीहरूले त यो विषयबाट पन्छिन सक्दो प्रयास गर्छन्। तसर्थ, यसले हरेक व्यक्तिलाई मृत्युको भयले भरिदिन्छ, अनि हरेक व्यक्तिको हृदयमा अटुट छाया हालिदिदै जीवनको यो अपरिहार्य तथ्यमा रहस्यको पर्दा थपिदिन्छ।

जब व्यक्तिले आफ्‍नो शरीर ह्रास हुँदै गइरहेको अनुभव गर्छ, जब उसले आफू मृत्युको नजिक आइरहेको अनुभव गर्छ, तब उसलाई शब्‍दले नै व्याख्या गर्न नसकिने डर, अस्पष्ट भयको आभास हुन्छ। मृत्युको डरले व्यक्तिलाई झन् एकलो र झन् विवश भएको अनुभव गराउँछ, र यस विन्दुमा, व्यक्तिले आफैलाई प्रश्‍न गर्छ: मानिस कहाँबाट आयो? मानिस कहाँ जाँदैछ? के मानिस आफ्‍नो जीवन आफ्‍नै अगाडि झलक्‍क बितेर गएको हेर्दै यसरी नै मर्छ? के मानिसको जीवनको समाप्तिलाई सङ्केत गर्ने अवधि यही हो? आखिरमा, जीवनको अर्थ के हो? आखिर, जीवनको मूल्य के नै छ र? के यो ख्याति र धनसँग सम्‍बन्धित छ? के यो परिवार हुर्काउनुसँग सम्‍बन्धित छ? … व्यक्तिले यी निश्‍चित प्रश्‍नहरूको बारेमा विचार गरे पनि नगरे पनि, व्यक्तिले मृत्युको बारेमा जति गहन रूपमा डर माने पनि, हरेक व्यक्तिको हृदयमा सधैँ नै रहस्यहरूलाई जाँच्‍ने इच्‍छा, जीवनको बोध नभएको भावना हुन्छ, र यी कुराहरूको साथमा, संसारको बारेमा भावुकता, बिदा भएर जाने अनिच्‍छा पनि मिसिएको हुन्छ। मानिसले केको डर मान्छ, मानिसले केको खोजी गर्छ, केको बारेमा ऊ भावुक हुन्छ र उसले के कुरालाई छोड्न अनिच्छुक हुन्छ त्यसलाई सायद कसैले पनि स्पष्ट रूपमा बुझ्‍न सक्दैन …

मानिसहरूले मृत्युको डर मान्‍ने हुनाले, तिनीहरूमा धेरै नै चिन्ता हुन्छ; तिनीहरूले मृत्युको डर मान्‍ने हुनाले, मानिसहरूले छोड्न नसक्‍ने कुराहरू धेरै नै हुन्छन्। जब तिनीहरू मर्न लागेका हुन्छन्, कतिपय मानिसहरू यो वा त्यो कुराको बारेमा फिक्री गर्छन्; चिन्ता गरेर तिनीहरू मृत्युले ल्याउने कष्ट र भयलाई मेट्न सक्छन् झैँ गरी, जीवितहरूसँग घनिष्ठता कायम गरेर, तिनीहरू मृत्युको साथमा आउने विवशता र एकलोपनबाट उम्कन सक्छन् झैँ गरी तिनीहरू आफ्‍ना छोराछोरी, आफ्‍ना प्रियजन, आफ्‍नो सम्पत्तिको बारेमा चिन्ता गर्छन्। मानव हृदयको अन्तस्करणमा अस्पष्ट डर, प्रियजनहरूबाट अलग हुने, आफ्‍नो नजरले नीलो आकाशलाई कहिल्यै देख्‍न नपाउने, भौतिक संसारमा फेरि कहिल्यै हेर्न नपाउने कुराको डर हुन्छ। प्रियजनहरूको साथमा रहने बानी परेको एकलो आत्मा आफ्‍नो पकडलाई छोडेर अज्ञात र अपरिचित संसारको लागि एकलै बिदा हुन अनिच्छुक हुन्छ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ३

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: आखिरी दिनहरूको न्याय | अंश ७९

न्यायको काम परमेश्‍वरको आफ्नै काम भएको हुनाले, स्वाभाविक रूपमा नै यसलाई परमेश्‍वर आफैले नै कार्यान्वयन गर्नुपर्ने हुन्छ; उहाँको सट्टामा...

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४९५

आज तिमीहरूले परमेश्‍वरलाई प्रेम गर्ने र जान्ने प्रयास गर्ने क्रममा, एकतर्फ तिमीहरूले कठिनाइ र शोधन सहनुपर्छ भने, अर्कोतर्फ, तिमीहरूले मूल्य...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश १८२

आखिर, परमेश्‍वरको काम मानिसको कामभन्दा फरक छ, र यसअलावा, उहाँका अभिव्यक्तिहरू कसरी तिनीहरूका जस्तै हुन सक्छन्? परमेश्‍वरसँग उहाँको आफ्नै...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ५०

परीक्षाहरूको बेला अय्यूबको मानवताका प्रकटीकरणहरू (परीक्षाहरूको अवधिमा अय्यूबद्वारा प्रदर्शित सिद्धता, इमानदारिता, परमेश्‍वरप्रतिको डर, र...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्