परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ९१

मानिससँग करार स्थापित गर्न परमेश्‍वरले आफ्‍नो वचनको प्रयोग गर्नुहुन्छ

उत्पत्ति ९:११-१३ अनि म तिमीहरूसँग मेरो करार स्थापित गर्नेछु, न त जलप्रलयको पानीले अब उप्रान्त सबै मानिसहरूलाई नष्ट गर्नेछ, न त पृथ्वीलाई नष्ट गर्नको निम्ति कुनै जलप्रलय नै हुनेछ। अनि परमेश्‍वरले भन्‍नुभयो, यो म र तिमीहरू र तिमीहरूसँग भएका हरेक जीवित प्राणीका बीच अनन्त पुस्तासम्मको निम्ति मैले बनाएको करारको चिनो हो: म बादलमा इन्द्रेनी राख्‍नेछु र त्यो म र पृथ्वीको बीचमा भएको करारको चिनो हुनेछ।

उहाँले सबै थोक बनाइसक्‍नुभएपछि, सृष्टिकर्ताको अख्‍तियारलाई फेरि एक पटक इन्द्रेनीको करारमा पुष्टि र प्रदर्शन गरिन्छ

सृष्टिकर्ताको अख्‍तियार सबै प्राणीहरूका बीचमा सधैँ प्रदर्शन र प्रयोग गरिन्छ, र उहाँले सबै थोकको नियतिमाथि शासन मात्रै गर्नुहुन्‍न, बरु उहाँले त आफ्‍नै हातले सृष्टि गर्नुभएको विशेष प्राणी र फरक जीवन संरचना भएको र फरक जीवन शैलीमा अस्तित्वमा रहने मानवजातिलाई पनि शासन गर्नुहुन्छ। सबै थोक बनाइसकेपछि, सृष्टिकर्ताले आफ्‍नो अख्‍तियार र शक्ति व्यक्त गर्ने कार्यलाई थाती राख्‍नुभएन; उहाँको लागि, उहाँको हातबाट मानवजाति साँचो रूपमा जन्‍मिसकेपछि मात्रै सबै थोक र सम्पूर्ण मानवजातिको नियतिमाथि सार्वभौमिकता राख्‍ने उहाँको अख्तियार औपचारिक रूपमा सुरु भयो। उहाँले मानवजातिलाई व्यवस्थापन गर्ने, र मानवजातिलाई शासन गर्ने अभिप्राय राख्‍नुभयो; उहाँले मानवजातिलाई मुक्ति दिने र मानवजातिलाई साँचो रूपमा प्राप्त गर्ने, सबै थोकलाई शासन गर्न सक्‍ने मानवजातिलाई प्राप्त गर्ने अभिप्राय राख्‍नुभयो; उहाँले त्यस्तो मानवजातिलाई उहाँको अख्‍तियारको अधीनमा जिउने र उहाँको अख्‍तियारलाई जान्‍न र पालना गर्न लगाउने अभिप्राय राख्‍नुभयो। तसर्थ, परमेश्‍वरले आफ्‍नो वचन प्रयोग गरेर मानिसको बीचमा आधिकारिक रूपमा आफ्‍नो अख्‍तियार व्यक्त गर्न सुरु गर्नुभयो, र आफ्‍नो वचनलाई प्रकट गर्न आफ्‍नो अख्‍तियारको प्रयोग गर्न थाल्‍नुभयो। अवश्‍य नै, यो प्रक्रियामा परमेश्‍वरको अख्तियारलाई सबै स्थानमा प्रदर्शन गरियो; मैले केही निश्‍चित, चिरपरिचित उदाहरणहरूलाई मात्रै छनौट गरेको छु, जसमार्फत तिमीहरूले परमेश्‍वरको अद्वितीयपन र उहाँको अद्वितीय अख्‍तियारलाई बुझ्‍न र जान्‍न सक्छौ।

उत्पत्ति ९:११-१३ को अनुच्‍छेद र परमेश्‍वरले गर्नुभएको संसारको सृष्टिको विवरण सम्‍बन्धी माथिका अनुच्‍छेदहरूमा समानता छ, तैपनि तिनमा भिन्‍नता पनि छ। समानता के हो? आफ्‍नो अभिप्रायअनुसार गर्नको लागि परमेश्‍वरले वचनको प्रयोग गर्नुभयो भन्‍ने अर्थमा समानता छ, र यहाँ उद्धृत गरिएका अनुच्‍छेदहरूले परमेश्‍वरले मानिससँग गर्नुभएको वार्तालापलाई जनाउँछ भन्‍ने अर्थमा भिन्‍नता छ, जसमा उहाँले मानिससँग करार स्थापना गर्नुभयो र करारमा के समावेश छ भन्‍ने कुरा मानिसलाई बताउनुभयो। मानिससँगको उहाँको वार्तालापको अवधिमा परमेश्‍वरको अख्तियारको यो प्रयोग हासिल गरियो, भन्‍नुको अर्थ, मानवजातिको सृष्टि हुनुभन्दा पहिले, परमेश्‍वरका वचनहरू उहाँले सृष्टि गर्न चाहनुभएका प्राणीहरूमा जारी गरिएका निर्देशन र आदेशहरू थिए। तर अब परमेश्‍वरको वचन सुन्‍नको लागि कुनै व्यक्ति थियो, त्यसकारण उहाँको वचन मानिससँगको वार्तालाप र मानिसलाई दिइएको अर्ती र सल्‍लाह पनि थियो। यसको साथै, परमेश्‍वरका वचनहरू उहाँको अख्तियार बोक्‍ने आज्ञाहरू थिए, जसलाई सबै थोकको सामुन्ने जारी गरिएको थियो।

यो अनुच्‍छेदमा परमेश्‍वरको कुन कार्यको विवरण दिइएको छ? जलप्रलयद्वारा उहाँले संसारलाई नष्ट गरिसक्‍नुभएपछि परमेश्‍वरले मानिससँग स्थापना गर्नुभएको करारलाई यो अनुच्‍छेदमा अभिलेख गरिएको छ; यसले मानिसलाई के बताउँछ भने परमेश्‍वरले संसारमा यस्तो विनाश फेरि ल्याउनुहुनेछैन, यसको लागि परमेश्‍वरले एउटा चिन्‍हको सृष्टि गर्नुभयो। यो चिन्‍ह के थियो? धर्मशास्‍त्रमा “म बादलमा इन्द्रेनी राख्‍नेछु र त्यो म र पृथ्वीको बीचमा भएको करारको चिनो हुनेछ” भनेर भनिएको छ। यी सृष्टिकर्ताले मानवजातिसँग बोल्‍नुभएका मूल वचनहरू हुन्। उहाँले यी वचनहरू भन्‍नुभएपछि, मानिसको अघि एउटा इन्द्रेनी देखा पर्‍यो, र आजको दिनसम्‍म नै यो यस्तै रहिआएको छ। सबैले त्यस्तो इन्द्रेनी देखेको हुन्छ, र जब तँ यसलाई देख्छस्, यो कसरी देखा पर्छ के तँलाई थाहा छ? यसलाई प्रमाणित गर्न, वा यसको स्रोत पत्ता लगाउन, वा यो कहाँबाट आउँछ भन्‍ने पहिचान गर्न विज्ञानले सकेको छैन। किनभने इन्द्रेनी सृष्टिकर्ता र मानिसको बीचमा स्थापित गरिएको करारको चिन्‍ह हो; यसको लागि कुनै वैज्ञानिक आधार चाहिँदैन, यो मानिसले बनाएको होइन, न त मानिसले यसलाई परिवर्तन गर्न नै सक्छ। उहाँले आफ्‍ना वचनहरू बोल्‍नुभएपछिको यो सृष्टिकर्ताको अख्‍तियारको निरन्तरता हो। सृष्टिकर्ताले मानिससँगको आफ्‍नो करार र आफ्‍नो प्रतिज्ञालाई पालन गर्न आफ्‍नै निश्‍चित विधिको प्रयोग गर्नुभयो, त्यसकारण उहाँले स्थापना गर्नुभएको करारको चिन्‍हको रूपमा उहाँले इन्द्रेनीको प्रयोग गर्नुभएको कुरा स्वर्गीय अध्यादेश र नियम नै थियो जुन सदासर्वदा नै अपरिवर्तित रहनेछ, चाहे त्यो सृष्टिकर्ताको हकमा होस् वा सृष्टि गरिएको मानवजातिको हकमा। यो अपरिवर्तनीय नियम उहाँले सबै थोक सृष्टि गरिसक्‍नुभएपछिको सृष्टिकर्ताको अख्‍तियारको अर्को साँचो प्रकटीकरण हो भनेर भन्‍नुपर्छ, र सृष्टिकर्ताको अख्‍तियार र शक्ति असीमित छ भनेर भन्‍नैपर्छ; उहाँले इन्द्रेनीलाई चिन्‍हको रूपमा गर्नुभएको प्रयोग सृष्टिकर्ताको अख्‍तियारको निरन्तरता र विस्तार हो। यो परमेश्‍वरले आफ्‍नो वचनको प्रयोग गरेर गर्नुभएको अर्को काम थियो, र वचन प्रयोग गरेर परमेश्‍वरले मानिससँग स्थापना गर्नुभएको करारको चिन्‍ह थियो। उहाँले जे ल्याउने अठोट गर्नुभएको थियो, र यो जसरी पूरा गरिने र हासिल गरिनेथियो त्यसको बारेमा उहाँले मानिसलाई बताउनुभयो। यसरी उक्त कुरा परमेश्‍वरको मुखको वचन अनुसार पूरा भयो। त्यस्तो शक्ति परमेश्‍वरसँग मात्रै छ, र उहाँले यी वचनहरू बोल्‍नुभएपछिको हजारौँ वर्षपछि आज समेत, परमेश्‍वरको मुखले बोलेर आएको इन्द्रेनीलाई मानिसले हेर्न सक्छ। परमेश्‍वरले बोल्‍नुभएका यी वचनहरूका कारण, यो कुरा आजको दिनसम्‍मै तलमाथि नभई अपरिवर्तित रहेको छ। कसैले पनि यो इन्द्रेनीलाई हटाउन सक्दैन, कसैले पनि यसको नियम परिवर्तन गर्न सक्दैन, र यो केवल परमेश्‍वरको वचनको लागि मात्रै अस्तित्वमा रहन्छ। परमेश्‍वरको अख्‍तियार वास्तवमा यही नै हो। “परमेश्‍वरको वचन जत्ति असल छ उहाँ त्यति नै असल हुनुहुन्छ, र उहाँको वचन पूरा हुनेछ, अनि उहाँले जे हासिल गर्नुहुन्छ ती सदासर्वदा रहिरहन्छन्।” यस्ता वचनहरू यहाँ स्पष्ट रूपमा प्रकट हुन्छन्, र यो परमेश्‍वरको अख्‍तियार र शक्तिको स्पष्ट चिन्‍ह र विशेषता हो। त्यस्तो चिन्‍ह वा विशेषता सृष्टि गरिएको कुनै पनि प्राणीसँग छैन वा तिनमा देखिँदैन, न त सृष्टि नगरिएको कुनै प्राणीमा नै यो देखिन्छ। यो अद्वितीय परमेश्‍वरको स्वामित्वमा मात्रै छ, र यसले सृष्टिकर्तामा निहित पहिचान र सारलाई प्राणीहरूको पहिचान र सारबाट अलग गर्छ। यसको साथै, यो त्यस्तो चिन्‍ह र विशेषता हो जसलाई परमेश्‍वर स्वयम्‌ बाहेक सृष्टि गरिएको वा सृष्टि नगरिएको कुनै पनि प्राणीले कहिल्यै नाघ्‍न सक्दैन।

मानिससँग परमेश्‍वरले आफ्‍नो करार स्थापना गर्नुभएको कार्य निकै महत्त्वपूर्ण थियो, जसलाई मानिससँग आफ्‍नो तथ्य व्यक्त गर्न र उहाँको इच्‍छा मानिसलाई बताउनको लागि प्रयोग गर्ने अभिप्राय उहाँको थियो। यसको लागि उहाँले मानिससँग करार स्थापना गर्नको लागि विशेष चिन्‍हको प्रयोग गर्दै अद्वितीय विधिको प्रयोग गर्नुभयो, जुन चिन्‍ह उहाँले मानिससँग स्थापित गर्नुभएको करारको प्रतिज्ञा थियो। त्यसोभए, के यो करारको स्थापना महान् घटना थियो? यो कति महान् थियो? करार यति विशेष हुनुको कारण ठ्याक्‍कै यही नै हो: यो मानिस-मानिसले एक-अर्काको बीचमा स्थापना गरेको करार थिएन, न त एउटा समूहले अर्को समूहसँग, वा एउटा देशले अर्को देशसँग स्थापना गरेको करार नै थियो, तर यो सृष्टिकर्ता र सम्पूर्ण मानवजातिको बीचमा स्थापना गरिएको करार थियो, र सृष्टिकर्ताले सबै थोक रद्द गर्नुहुने दिनसम्‍म यो मान्य रहनेछ। यो करार लागू गर्ने सृष्टिकर्ता नै हुनुहुन्छ, र यसलाई कायम राख्‍ने पनि सृष्टिकर्ता नै हुनुहुन्छ। छोटकरीमा भन्दा, मानवजातिसँग स्थापना गरिएको इन्द्रेनीको करारको सम्पूर्णता सृष्टिकर्ता र मानवजातिको बीचमा भएको कुराकानी अनुसार पूरा भयो र हासिल गरियो, र यो आजको दिनसम्‍मै त्यही अवस्थामा रहिआएको छ। प्राणीहरूले सृष्टिकर्ताको अख्‍तियारमा समर्पित हुने, त्यसको पालना गर्ने, त्यसमा विश्‍वास गर्ने, त्यसको कदर गर्ने, त्यसको साक्षी दिने, र त्यसलाई सम्‍मान गर्ने बाहेक के गर्न सक्छन्? किनभने त्यस्तो करार स्थापना गर्ने शक्ति अद्वितीय परमेश्‍वरमा बाहेक कसैसँग छैन। बारम्‍बार इन्द्रेनी देखा पर्नु भनेको सृष्टिकर्ता र मानवजातिको बीचमा गरिएको करारको बारेमा मानवजातिलाई गरिने घोषणा हो र त्यसप्रति ध्यानाकर्षण गर्न उसलाई गरिने बोलावट हो। सृष्टिकर्ता र मानवजातिको बीचमा गरिएको करार निरन्तर देखा पर्ने क्रममा, मानवजातिलाई इन्द्रेनी वा करार स्वयम्‌लाई होइन, तर सृष्टिकर्ताको अपरिवर्तनीय अख्‍तियारलाई देखाइन्छ। बारम्‍बार इन्द्रेनी देखा पर्नुले गुप्त ठाउँहरूमा सृष्टिकर्ताले गर्नुहुने अथाह र आश्‍चर्यजनक कार्यहरूलाई प्रदर्शन गर्छ, यसको साथै, यो कहिल्यै ओइलिएर नजाने, कहिल्यै परिवर्तन नहुने सृष्टिकर्ताको अख्‍तियारको महत्त्वपूर्ण प्रतिबिम्ब हो। के यो सृष्टिकर्ताको अद्वितीय अख्‍तियारको अर्को पक्षको प्रदर्शन होइन र?

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय १

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १०

परमेश्‍वरको डर नमान्नु र दुष्टताबाट अलग नबस्नु भनेको परमेश्‍वरको विरोध गर्नु हो आजभोलि तिमीहरू परमेश्‍वरको आमने-सामने छौ र परमेश्‍वरका...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको स्वभाव र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ | अंश २६३

मानवजातिले सामाजिक विज्ञानहरूलाई स्थापित गरेदेखि मानवको मनचाहिँ विज्ञान र ज्ञानद्वारा भरिएको छ। मानवजातिलाई शासन गर्नका लागि विज्ञान र...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्