परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ८१

पुनरुत्थानपछि येशूले रोटी खानुहुन्छ र धर्मशास्‍त्रको व्याख्या गर्नुहुन्छ

लूका २४:३०-३२ अनि यस्तो भयो, उहाँ तिनीहरूसँग खान बस्‍नुहुँदा, उहाँले रोटी लिनुभयो र त्यसलाई आशिष्‌ दिनुभयो र त्यो भाँच्‍नुभयो र तिनीहरूलाई दिनुभयो। अनि तिनीहरूका आँखा खुले र तिनीहरूले उहाँलाई चिने; अनि उहाँ तिनीहरूका नजरबाट अलप हुनुभयो। अनि तिनीहरूले एक अर्कालाई भने, उहाँले हामीसँग कुरा गर्नुहुँदा र उहाँले हामीलाई धर्मशास्त्रको अर्थ खोलिदिनुहुँदा हाम्रो हृदय हामीभित्र जलेको थिएन र?

चेलाहरूले येशूलाई पोलेको माछा खान दिन्छन्

लूका २४:३६-४३ अनि जब तिनीहरू कुरा गरिरहेका थिए तब येशू स्वयम् तिनीहरूको माझमा खडा हुनुभयो र तिनीहरूलाई भन्‍नुभयो, तिमीहरूलाई शान्ति होस्। तर तिनीहरू भयभीत भएर डराए अनि आफूले प्रेत देख्यौँ भन्‍ने ठाने। अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो, तिमीहरू किन व्याकुल हुन्छौ? र तिमीहरूका मनमा किन विचारहरू उत्पन्‍न हुन्छन्? मेरा हात र मेरा खुट्टाहरू हेर, म स्वयम् नै हुँ: मलाई छोओ र हेर; किनकि प्रेतको देह र हाड हुँदैन, तिमीहरूले देख्छौ कि मेरा त छन्। अनि उहाँले बोल्‍नुभएपछि उहाँले तिनीहरूलाई आफ्ना हात र खुट्टा देखाउनुभयो। तिनीहरूले आनन्दको कारण विश्‍वास गर्न नसकेर छक्क पर्दा उहाँले तिनीहरूलाई भन्‍नुभयो, तिमीहरूसँग केही मासु छ? अनि तिनीहरूले उहाँलाई पोलेको माछाको एक टुक्रा र महको चाका दिए। अनि उहाँले त्यो लिनुभयो र तिनीहरूका अगाडि खानुभयो।

यसपछि, हामी धर्मशास्‍त्रबाट लिइएका माथिका खण्डहरूलाई हेर्नेछौं। पहिलो खण्ड आफ्नो पुनरुत्थानपछि प्रभु येशूले रोटी खानुभएको र धर्मशास्‍त्र व्याख्या गर्नुभएको बारेमा रहेको वृत्तान्त हो, र दोस्रो खण्ड प्रभु येशूले पोलेको माछा खानुभएको बारेमा रहेको वृत्तान्त हो। यी दुई खण्डहरूले तिमीहरूलाई कसरी परमेश्‍वरको स्वभाव जान्‍न सहयोग गर्छन्? प्रभु येशूले रोटी र त्यसपछि पोलेको माछा खानुभएको वृत्तान्तहरूबाट तिमीहरूको दिमागमा कस्तो प्रकारको चित्रको ख्याल आउँछ, के तिमीहरू कल्पना गर्न सक्छौ? यदि प्रभु येशू तिमीहरूको सामु रोटी खाँदै उभिरहनुभएको थियो भने, तिमीहरूले कस्तो महसुस गर्थ्यौ, के तिमीहरू कल्पना गर्न सक्छौ? वा, यदि उहाँ तिमीहरूसित एउटै टेबुलमा खाँदै हुनुहुन्थ्यो, मानिसहरूसित माछा र रोटी खाँदै हुनुहुन्थ्यो भने, त्यस क्षणमा तँलाई कस्तो अनुभूति हुनेथ्यो? यदि तँ प्रभुको धेरै नजिक भएको, अनि उहाँ तँसित अति घनिष्ठ रहनुभएको महसुस गर्छस् भने, यो अनुभूति ठीक हुन्छ। आफ्नो पुनरुत्थानपछि भेला भएका मानिसहरूको अघि रोटी र माछा खाएर प्रभु येशूले ठीक यही परिणाम ल्याउन चाहनुहुन्थ्यो। यदि प्रभु येशूले आफ्नो पुनरुत्थानपछि मानिसहरूसित बोल्नु मात्र भएको भए, यदि तिनीहरूले उहाँको देह र हाडहरूलाई महसुस गर्न नसकी उहाँलाई पहुँच प्राप्त गर्न नसकिने आत्माको रूपमा महसुस गरेका भए, तिनीहरूले कस्तो महसुस गर्नेथे? के तिनीहरू हतोत्साहित हुनेथेनन् र? हतोत्साहित अनुभव गरेर के मानिसहरूले त्यागिएको अनुभव गर्नेथिएनन् र? के तिनीहरूले आफू र प्रभु येशू ख्रीष्टको बीचमा दूरी अनुभव गर्नेथेनन् र? यस दूरीले परमेश्‍वरसँगको मानिसहरूको सम्बन्धमा कस्तो नकारात्मक प्रभाव सृजना गर्नेथ्यो? मानिसहरू निश्‍चय नै डराउनेथे, त्यसकारण तिनीहरू उहाँको नजिक जाने साहस गर्दैनथे, र यसरी तिनीहरूसँग उहाँलाई एउटा सम्‍मानजनक दूरीमा राख्‍ने मनोवृत्ति हुनेथ्यो। त्यस बेलादेखि तिनीहरूले प्रभु येशू ख्रीष्टसँगको घनिष्ठ सम्बन्धलाई तोड्नेथे र अनुग्रहको युगभन्दा पहिलेजस्तै मानवजाति र स्वर्गका परमेश्‍वरबीचको सम्बन्धमा फर्कनेथे। मानिसहरूले छुन वा महसुस गर्न नसक्‍ने आत्मिक शरीरले परमेश्‍वरसँगको तिनीहरूको घनिष्ठतालाई मेटाइदिनेथ्यो, र यसले प्रभु येशू ख्रीष्ट देहमा हुनुहुँदाको समयमा स्थापित उहाँ र मानिसहरूबीचको कुनै दूरी नभएको घनिष्ठ सम्बन्धलाई अस्तित्वविहीन बनाइदिनेथ्यो। आत्मिक शरीरद्वारा मानिसहरूमा उत्पन्‍न हुने कुराहरू त केवल डर, बेवास्ता र निःशब्द टोलाइ मात्र थिए। तिनीहरूले उहाँसित घनिष्ठ हुने वा उहाँसित कुराकानीमा तल्लीन हुने साहस पनि गर्न सक्दैनथे, उहाँलाई पछ्याउने, भरोसा गर्ने वा उहाँतर्फ दृष्टि लगाउने त परको कुरा हो। परमेश्‍वरले उहाँप्रति मानिसहरूसित यस प्रकारको भावना भएको देख्‍न चाहनुभएन। मानिसहरू उहाँबाट तर्किहिँडेको वा तिनीहरूले आफैलाई उहाँदेखि अलग गरेको उहाँले हेर्न चाहनुभएन; मानिसहरूले उहाँलाई बुझेको, र तिनीहरू उहाँको नजिक आएको र उहाँको परिवार बनेको मात्र उहाँ चाहनुहुन्थ्यो। यदि तेरो आफ्नै परिवारले, तेरा बालबच्‍चाले तँलाई देखे तर तँलाई चिनेनन् र तेरो नजिक आउने साहस गरेनन् बरु सधैँ तँबाट पन्छिन खोजे भने, यदि तैँले तिनीहरूका निम्ति गरेको सबै कुराको बारेमा तिनीहरूको बुझाइ प्राप्त गर्न सकिनस् भने, त्यसले तँलाई कस्तो महसुस गराउनेथ्यो? के त्यो पीडादायक हुनेथेन र? के तेरो हृदय तोडिनेथेन र? मानिसहरू उहाँबाट टाढा बस्दा परमेश्‍वरले ठीक यही अनुभूति गर्नुहुन्छ। त्यसैले, उहाँको पुनरुत्थानपछि, प्रभु येशू अझै पनि उहाँको देह र रगतको स्वरूपमा मानिसहरूकहाँ देखा पर्नुभयो, र फेरि पनि तिनीहरूसित खानपान गर्नुभयो। परमेश्‍वरले मानिसहरूलाई परिवारको रूपमा हेर्नुहुन्छ, र मानवजातिले पनि उहाँलाई तिनीहरूको सबैभन्दा प्रिय एकको रूपमा हेरेको परमेश्‍वर चाहनुहुन्छ; केवल यसरी मात्रै परमेश्‍वरले साँचो रीतिले मानिसहरूलाई प्राप्त गर्नुहुन्छ, र यसरी मात्रै मानिसहरूले परमेश्‍वरलाई साँचो रीतिले प्रेम र आराधना गर्न सक्छन्। अब, प्रभु येशूले आफ्‍नो पुनरुत्थानपछि रोटी खानुभएको र धर्मशास्‍त्र व्याख्या गर्नुभएको, र चेलाहरूले उहाँलाई पोलेको माछा खान दिएको वृत्तान्त सुनाउने धर्मशास्‍त्रका यी दुई खण्डहरूलाई उद्धृत गर्नुपछाडिको मेरो अभिप्रायलाई के तिमीहरू बुझ्‍न सक्छौ?

यो भन्‍न सकिन्छ कि आफ्नो पुनरुत्थानपछि प्रभु येशूले श्रृंखलाबद्ध रूपमा भन्‍नुभएका र गर्नुभएका कुराहरूको निम्ति गम्भीर विचार गरिएको थियो। यी कुराहरू परमेश्‍वरले मानवजातिप्रति गर्नुभएको दया र स्‍नेहले भरिएका थिए, अनि आफू देहमा हुँदाको समयमा उहाँले मानवजातिसँग स्थापित गर्नुभएको घनिष्ठ सम्‍बन्धप्रतिको उहाँको स्‍नेहपूर्ण कदर र सूक्ष्म वास्ताले पनि भरिएका थिए। यति मात्र होइन, यी कुराहरू देहमा हुँदा उहाँले आफ्‍ना अनुयायीहरूसँग खानपान गरेको र जिएको जीवनको याद र तिर्सनाले भरिएका थिए। त्यसैले, मानिसहरूले परमेश्‍वर र मानिसबीचमा दूरी अनुभव गरेको परमेश्‍वरले चाहनुभएन, न त मानवजातिले आफैलाई परमेश्‍वरदेखि दूरी बनाएको नै उहाँले चाहनुभयो। त्यसभन्दा पनि बढी, पहिले मानिसहरूसित अत्यन्तै घनिष्ठ रहनुभएका प्रभु येशू उहाँको पुनरुत्थानपछि त्यही प्रभु हुनुहुन्‍न, उहाँ अबउप्रान्त मानवजातिको साथमा हुनुहुन्‍न किनकि उहाँ आत्मिक संसारमा फर्किसक्‍नुभएको छ, पिताकहाँ फर्किसक्‍नुभएको छ जसलाई देख्‍न वा जोकहाँ पुग्‍न मानिसहरू कहिल्यै सक्दैनन् भन्‍ने अनुभूति मानवजातिले गरेको परमेश्‍वरले चाहनुभएन। उहाँ र मानवजातिबीचमा हैसियतको कुनै भिन्‍नता पैदा भएको अनुभूति मानिसहरूले गरेको उहाँले चाहनुभएन। जब परमेश्‍वरले उहाँलाई पछ्याउन चाहने तर उहाँलाई सम्‍मानजनक दूरीमा राख्‍ने मानिसहरूलाई देख्‍नुहुन्छ, तब उहाँको हृदय पीडामा हुन्छ किनकि त्यसको अर्थ तिनीहरूको हृदय उहाँबाट अत्यन्तै टाढा रहेको छ र उहाँलाई तिनीहरूको हृदय प्राप्त गर्न एकदमै कठिन हुनेछ। त्यसैले, यदि उहाँ मानिसहरूकहाँ तिनीहरूले देख्‍न वा छुन नसक्‍ने आत्मिक शरीरमा प्रकट हुनुभएको भए, यसले मानिसलाई फेरि एकपल्ट परमेश्‍वरबाट टाढा राख्थ्यो, र यसले मानवजातिलाई ख्रीष्ट उहाँको पुनरुत्थानपछि उच्‍च हुनुभएको छ, मानवजातिभन्दा भिन्‍न प्रकारको बन्‍नुभएको छ, र मानिससित अबउप्रान्त एउटै टेबलमा बसेर खान नसक्‍ने व्यक्ति बन्‍नुभएको छ, किनकि मानिसहरू पापी, फोहोरी हुन्छन् र परमेश्‍वरको नजिक कहिल्यै जान सक्दैनन् भनी गलत प्रकारले हेर्ने तुल्याउँथ्यो। बाइबलमा लेखिएअनुसार, मानवजातिका यी गलत बुझाइहरूलाई हटाउन, प्रभु येशूले देहमा हुँदा गर्नुभएकै केही कुराहरू गर्नुभयो: “उहाँले रोटी लिनुभयो र त्यसलाई आशिष्‌ दिनुभयो र त्यो भाँच्‍नुभयो र तिनीहरूलाई दिनुभयो।” उहाँले तिनीहरूलाई विगतमा जस्तै धर्मशास्‍त्र पनि व्याख्या गरिदिनुभयो। प्रभु येशूले गर्नुभएको यो सबै कुराले उहाँलाई देख्‍ने हरेक व्यक्तिलाई प्रभु येशू परिवर्तन हुनुभएको छैन, उहाँ त्यही प्रभु येशू नै हुनुहुन्छ भन्‍ने महसुस गरायो। उहाँलाई क्रूसमा टाँगिएको र उहाँले मृत्यु अनुभव गर्नुभएको भए तापनि, उहाँ पुनरुत्थान हुनुभएको थियो, र उहाँले मानवजातिलाई त्याग्‍नुभएको थिएन। उहाँ मानिसहरूको बीचमा रहनलाई फर्कनुभएको थियो, र उहाँको कुनै कुरा पनि परिवर्तन भएको थिएन। मानिसहरूको माझमा उभिरहनुभएका मानिसका पुत्र उही प्रभु येशू हुनुहुन्थ्यो। उहाँको चालढाल तथा मानिसहरूसित कुराकानी गर्ने उहाँको तौरतरिका अति चिरपरिचित लाग्थ्यो। उहाँ अझै दया, अनुग्रह र सहिष्णुताले अत्यन्तै भरिपूर्ण हुनुहुन्थ्यो—उहाँ अझै त्यही प्रभु येशू हुनुहुन्थ्यो जसले अरूलाई आफैलाई जस्तै प्रेम गर्नुहुन्थ्यो, जसले मानवजातिलाई सत्तरी गुणा सातपल्ट क्षमा गर्न सक्‍नुहुन्थ्यो। उहाँले पहिलेझैँ मानिसहरूसित खानपान गर्नुभयो, धर्मशास्‍त्रको छलफल गर्नुभयो, र त्यसभन्दा पनि महत्त्वपूर्ण कुरा, पहिलेजस्तै उहाँ देह र रगतले बनेको हुनुहुन्थ्यो र उहाँलाई छुन र देख्‍न सकिन्थ्यो। उहाँ मानिसको पुत्र नै हुनुहुन्थ्यो, र उहाँले मानिसहरूलाई घनिष्ठता, चैन र हराइसकेको कुनै कुरा भेट्दाको आनन्द अनुभूति गराउनुभयो। ठूलो चैनको साथमा, तिनीहरूले बहादुरीपूर्वक र निर्धक्‍कसाथ यस मानिसको पुत्रमाथि भर पर्न र उहाँतर्फ दृष्टि लगाउन थाले जो मानवजातिलाई आफ्ना पापहरूबाट क्षमा गर्न सक्‍नुहुन्थ्यो। तिनीहरूले विनाहिचकिचाहट प्रभु येशूको नाउँमा प्रार्थना गर्न थाले, उहाँको अनुग्रह, उहाँको आशिष प्राप्त गर्न, र उहाँबाट शान्ति र आनन्द प्राप्त गर्न, उहाँबाट वास्ता र सुरक्षा प्राप्त गर्न प्रार्थना गर्न थाले, र तिनीहरूले प्रभु येशूको नाउँमा रोगीलाई निको पार्न र भूतहरू धपाउन थाले।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् ३

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश १८७

त्यो बेला जब येशूले यहूदियामा काम गर्नुभयो, उहाँले खुल्लमखुल्ला काम गर्नुभयो, तर अहिले म तिमीहरूको माझमा गुप्त रूपमा काम गर्छु र बोल्छु।...

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४९८

मानिसहरूको आन्तरिक अवस्थाको के कुरामा जाँचहरू लक्षित हुन्छन्? परमेश्‍वरलाई सन्तुष्ट गर्न नसक्ने मानिसहरूमा भएको विरोधी स्वभावप्रति नै...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वर देखा पर्नु र उहाँको काम | अंश ५८

मेरा रहस्यहरू प्रकट भएका छन् र खुला रूपमा प्रदर्शित भएका छन्, र अब लुकेका छैनन्, यो सबै पूर्ण रूपमा मेरो अनुग्रह र कृपाको कारणले भएको हो।...

परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३५५

मानवजातिले सामाजिक विज्ञानहरूलाई स्थापित गरेदेखि मानवको मनचाहिँ विज्ञान र ज्ञानद्वारा भरिएको छ। मानवजातिलाई शासन गर्नका लागि विज्ञान र...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्