परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ४४

शैतानले फेरि एकपटक अय्यूबलाई परीक्षा गर्छ (अय्यूबको शरीरभरि खटिरा निस्कन्छन्)

क. परमेश्‍वरले बोल्नुभएका वचनहरू

अय्यूब २:३ अनि यहोवाले शैतानलाई भन्‍नुभयो, के तैँले मेरो सेवक अय्यूबलाई विचार गरेको छस्? त्योजस्तो सिद्ध र सोझो, परमेश्‍वरको भय मान्‍ने र दुष्टताबाट अलग बस्‍ने पृथ्वीमा कोही पनि छैन। अनि, त्यो अझै आफ्नो निष्ठामा दृढ छ, यद्यपि कुनै कारणविना नै त्यसलाई नष्ट पार्न तैँले मलाई त्यसको विरुद्धमा उक्साइस्।

अय्यूब २:६ अनि यहोवाले शैतानलाई भन्नुभयो, हेर्, त्यो तेरै हातमा छ; तर त्यसको जीवन बचा।

ख. शैतानले बोलेका वचनहरू

अय्यूब २:४-५ अनि शैतानले यहोवालाई जवाफ दियो र भन्यो, छालाको निम्ति छाला, हो, मानिसले आफ्नो जीवनको निम्ति आफूसँग भएको सब थोक दिनेछ। तर अहिले तपाईंको हात पसार्नुहोस् र त्यसको हाड र छालामा छोइदिनुहोस्, अनि त्यसले तपाईंलाई सोझै सराप्‍नेछ।

चरम पीडामाझ, अय्यूबले साँचो रूपमा मानवजातिप्रतिको परमेश्‍वरको वास्ता महसुस गर्छन्

यहोवा परमेश्‍वरले शैतानलाई गर्नुभएको प्रश्‍नपछि शैतान गोप्य रूपमा खुसी थियो। किनकि परमेश्‍वरको नजरमा सिद्ध रहेको मानिसमाथि हमला गर्ने अनुमति फेरि एकपटक दिइनेछ भन्‍ने कुरा शैतानलाई थाहा भयो—शैतानको लागि, यो एउटा दुर्लभ अवसर थियो। शैतानले यस अवसरलाई अय्यूबको विश्‍वासको जग पुरै भत्काइदिन, तिनलाई परमेश्‍वरमाथिको विश्‍वास गुमाउन लगाउनका निम्ति प्रयोग गर्न चाहेको थियो र अबउप्रान्त तिनलाई परमेश्‍वरको भय नमान्‍ने वा यहोवाको नाउँलाई धन्यको नभन्‍ने बनाउन चाहन्थ्यो। यसले शैतानलाई एउटा मौका दिनेथ्यो: जुनसुकै ठाउँ वा समय जे भए पनि यसले अय्यूबलाई त्यसको आज्ञा मान्‍ने खेलौना बनाउनेथ्यो। शैतानले आफ्ना दुष्ट अभिप्रायहरूलाई एक कण पनि नदेखिने गरी लुकायो, तर त्यसले आफ्नो दुष्ट प्रकृतिलाई भने नियन्त्रणमा राख्‍न सकेन। यो मामिलाको वास्तविकताको छनक, धर्मशास्‍त्रमा लेखिएअनुसार, यहोवा परमेश्‍वरका वचनहरूप्रति त्यसले दिइएको उत्तरमा पाइन्छ: “अनि शैतानले यहोवालाई जवाफ दियो र भन्यो, छालाको निम्ति छाला, हो, मानिसले आफ्नो जीवनको निम्ति आफूसँग भएको सब थोक दिनेछ। तर अहिले तपाईंको हात पसार्नुहोस् र त्यसको हाड र छालामा छोइदिनुहोस्, अनि त्यसले तपाईंलाई सोझै सराप्‍नेछ” (अय्यूब २:४-५)। परमेश्‍वर र शैतानबीचको यस कुराकानीबाट शैतानको द्वेषको आवश्यक ज्ञान र अनुभूति प्राप्त नहुने त कुरै आउँदैन। शैतानका यी भ्रमहरूलाई सुनेपछि, सत्यलाई प्रेम गर्ने र दुष्टतालाई घृणा गर्ने सबैले अवश्य नै शैतानको तुच्छता र निर्लज्‍जतालाई अझ बढी घृणा गर्नेछन्, शैतानका भ्रमहरू देखेर भयभीत र विचलित हुन्छन्, र यसैबीच तिनीहरूले अय्यूबको निम्ति गहिरो प्रार्थना गर्छन् र हार्दिक शुभकामना दिन्छन्, र यी सोझा मानिसले सिद्धता प्राप्त गर्न सकून् भनेर प्रार्थना गर्छन्, परमेश्‍वरको भय मान्‍ने र दुष्टताबाट अलग बस्‍ने यी व्यक्तिले शैतानको परीक्षामाथि सदा विजय प्राप्त गर्न सकून् र परमेश्‍वरको अगुवाइ र आशिष्‌हरूमाझ ज्योतिमा बाँचिरहन सकून् भनेर कामना गर्छन्; त्यसैगरी, त्यस्ता मानिसहरूले अय्यूबका धर्मी कार्यहरू सधैँ अघि बढिरहून् र परमेश्‍वरसँग डराउने र दुष्टताबाट अलग रहने मार्गमा हिँड्नेहरू सबैलाई प्रोत्साहन दिइरहून् भनी कामना गर्नेछन्। शैतानको द्वेषपूर्ण अभिप्राय यो घोषणामा देख्‍न सकिने भए पनि, परमेश्‍वर शैतानको “बिन्ती” मा निस्फिक्रीसाथ सहमत हुनुभयो—तर उहाँले एउटा सर्त पनि राख्‍नुभयो: “त्यो तेरै हातमा छ; तर त्यसको जीवन बचा” (अय्यूब २:६)। यसपटक शैतानले अय्यूबको हाड र मासुभित्रै हानि पुर्‍याउन आफ्नो हात फैलाउन पाऊँ भनी अनुरोध गरेको हुनाले परमेश्‍वरले भन्‍नुभयो, “तर त्यसको जीवन बचा।” यी वचनहरूको अर्थ के हो भने, उहाँले अय्यूबको देह शैतानलाई दिनुभएको थियो, तर अय्यूबको जीवनचाहिँ परमेश्‍वरकै हातमा थियो। शैतानले अय्यूबको जीवन लिन सक्दैनथ्यो, तर यसबाहेक शैतानले अय्यूबको विरुद्ध कुनै पनि माध्यम वा विधि प्रयोग गर्न सक्थ्यो।

परमेश्‍वरको अनुमति प्राप्त गरिसकेपछि, शैतान दगुरेर अय्यूबको अघि गयो, र तिनको छालामा कष्ट दिनका लागि आफ्नो हात बढायो र यसले गर्दा तिनको शरीरभरि खटिरा निस्क्यो, अनि अय्यूबले आफ्‍नो छालामा पीडा अनुभूति गरे। अय्यूबले यहोवा परमेश्‍वरको अद्‌भुतता र पवित्रताको प्रशंसा गरे, जसले शैतानको धृष्टतामा झनै उद्दण्डता ल्यायो। मानिसलाई चोट पुर्‍याउँदा शैतानलाई आनन्द महसुस भयो, यसैले यसले आफ्नो हात तन्कायो र अय्यूबको शरीरलाई प्रहार गर्‍यो, जसले गर्दा तिनको शरीरका खटिरा पाके। अय्यूबले तुरुन्तै आफ्नो शरीरमा अतुलनीय दुखाइ र पीडा महसुस गरे, र आफ्‍नो हातले शिरदेखि पाउसम्म सुमसुम्याउन बाध्य भए, मानौँ देहको पीडाद्वारा तिनको आत्मामा पुगेको चोटलाई यसले नै कम गर्छ। तिनलाई लाग्यो कि परमेश्‍वर तिनको छेवैमा रही तिनलाई हेर्दै हुनुहुन्छ, अनि तिनले आफैलाई सक्दो बलियो बनाउने कोसिस गरे। तिनले फेरि भुइँमा घुँडा टेके, र भने: “तपाईंले मानिसको हृदयभित्र हेर्नुहुन्छ, तपाईं उसको दुःख देख्‍नुहुन्छ; किन उसको कमजोरीले तपाईंलाई चिन्तित बनाउँछ? यहोवा परमेश्‍वरको नाउँको प्रशंसा होस्।” शैतानले अय्यूबको असह्य पीडा त देख्यो, तर अय्यूबले यहोवा परमेश्‍वरको नाउँलाई त्यागेको देखेन। यसैले तिनका अङ्गहरू टुक्राटुक्रा पार्ने उत्कट इच्‍छा गर्दै त्यसले अय्यूबका हाडहरूमा कष्ट पुर्‍याउनका लागि झट्टै आफ्नो हात फैलायो। तुरुन्तै, अय्यूबले अभूतपूर्व यातना महसुस गरे; मानौँ तिनका हाडहरूबाट मासु च्यातेर निकालिएको छ, मानौँ तिनका हाडहरू टुक्राटुक्रा पारी काटिएका छन्। यो कष्टदायी यातनाले गर्दा तिनले मर्नु नै राम्रो हुन्छ भनी सोचे…। पीडा सहने तिनको क्षमता सीमामा पुगिसकेको थियो…। तिनी चिच्याउन चाहन्थे, तिनी पीडा कम गर्ने प्रयासमा आफ्नो शरीरको छाला च्यात्‍न चाहन्थे—तैपनि तिनले आफ्‍नो चिच्याहट रोके, अनि आफ्नो शरीरको छाला च्यातेनन्, किनकि शैतानले तिनको कमजोरी देखोस् भन्‍ने तिनले चाहेनन्। त्यसैले अय्यूबले फेरि एकपटक घुँडा टेके, तर यसपटक तिनले यहोवा परमेश्‍वरको उपस्थिति महसुस गरेनन्। तिनलाई थाहा थियो, यहोवा परमेश्‍वर सधैँ तिनको अघि, तिनको पछाडि र तिनको दुवैपट्टि रहनुहुन्थ्यो। तर तिनको पीडाको घडीमा, परमेश्‍वरले एकपटक पनि हेर्नुभएन; उहाँले आफ्नो अनुहार छोप्‍नुभयो र लुक्‍नुभयो, किनकि उहाँले मानिसको सृष्टि गर्नुको अर्थ मानिसमाथि दुःख ल्याउनु थिएन। यस समयमा, अय्यूब रुँदैथिए र यो शारीरिक पीडा सहने सक्दो प्रयास गर्दैथिए, तैपनि तिनले अझै पनि परमेश्‍वरलाई धन्यवाद दिनबाट आफूलाई रोक्‍न सकेनन्: “मानिस पहिलो प्रहारमा ढल्छ, ऊ कमजोर र शक्तिहीन छ, ऊ जवान र अज्ञानी छ—तपाईं किन उसको त्यति धेरै वास्ता गर्नु र कोमल हुन चाहनुहुन्छ? तपाईंले मलाई प्रहार गर्नुभयो, तैपनि त्यसो गर्दा तपाईंलाई दुःख लाग्छ। मानिसको मोल कति छ र तपाईं त्यसको वास्ता र फिक्री गर्नुहुन्छ?” अय्यूबका प्रार्थनाहरू परमेश्‍वरको कानमा पुगे, तर परमेश्‍वर मौन रहनुभयो, कुनै आवाजविना हेरी मात्र बस्‍नुभयो…। भएभरका सबै प्रयास गर्दा पनि केही सीप नलागेपछि शैतान चुपचाप बिदा भयो, तर शैतान गए पनि पनि अय्यूबमाथि परमेश्‍वरको जाँचको अन्त्य भएन। अय्यूबमा प्रकट भएको परमेश्‍वरको शक्तिलाई सार्वजनिक गरिएको थिएन, त्यसकारण शैतान त्यहाँबाट गएपछि पनि अय्यूबको कथा अन्त्य भएन। अन्य पात्रहरूको प्रवेश भएपछि अचम्‍मका थप दृश्यहरू देखिन बाँकी नै थियो।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् २

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: कार्यका तीन चरणहरू | अंश ३८

त्यो बेला येशूको काम सारा मानवजातिलाई छुटकारा दिनु थियो। उहाँमा विश्‍वास गर्नेहरू सबैका पापहरू क्षमा गरिए। जबसम्म तैँले उहाँमा विश्‍वास...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ६९

प्रभु येशूले अनुग्रहको युगमा पूरा गर्नुभएको यस कामको क्षेत्रभित्र, तैँले परमेश्‍वरसित जे छ र उहाँ जे हुनुहुन्छ त्यसको अर्को पक्षलाई देख्न...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्