परमेश्वरमा विश्वास गर्ने क्रममा, सत्यता प्राप्त गर्नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो (भाग दुई)
तँलाई जे आइपरे पनि, परिस्थितिहरूलाई तैँले परमेश्वरका वचनहरूअनुसार नै हेर्नुपर्छ र तिनलाई सत्यताको दृष्टिकोणबाट सम्हाल्नुपर्छ। यस तरिकाले समस्याहरू देख्न सजिलो हुन्छ, र परिस्थितिहरूलाई परमेश्वरका वचनहरूअनुसार हेरेर, तैँले सजिलै ती कुराहरूको सार छर्लङ्गै देख्न सक्नेछस्। कतिपय मानिसहरूले सधैँ सिकाइकै आधारमा परिस्थितिहरू हेर्ने गर्छन्। तिनीहरूले विविध कुराहरूलाई सधैँ दिमागले अध्ययन र विश्लेषण गरिरहेका वा दैहिक नजरले हेरिरहेका र विचार गरिरहेका हुन्छन्। त्यसकारण, तिनीहरूले समस्याहरूको सार छर्लङ्गै देख्न सक्दैनन् र सधैँ बाटो बिराउँछन्। यस्तो कुरा दशकौँसम्म चलिरहन सक्छ—र वस्तुस्थिति प्रस्ट रूपमा नबुझी नै तिनीहरू मृत्युमा पुग्न सक्छन्। उदाहरणको लागि, कहिलेकाहीँ तैँले कुनै बिमार सामना गर्छस्, अनि तैँले सोच्छस् कि त्यो वस्तुगत कारणहरू भएको सामान्य बिमार मात्र हो, र त्यो परमेश्वरको अनुशासन पनि होइन र समस्या पनि होइन, जबकि खासमा, त्यसमा एउटा ठूलो समस्या हुन्छ। यदि यस मामिलामा तेरो सोच सूक्ष्म तरिकाको छ र तँ परमेश्वरलाई प्रार्थना गर्न र सत्यता खोज्न सक्छस् भने, कहिलेकाहीँ, जब पवित्र आत्माले तँलाई कुनै अर्थ भन्नुहुन्छ, तब तैँले आफूमा केही कमीकमजोरीहरू वा आफ्नो स्वभावमा केही समस्याहरू भएको चिन्न सक्नेछस्। परमेश्वरले तँलाई खार्नको लागि, कष्ट भोगाउनको लागि, र गहिरो आत्मिक जाँच र मननमा फर्काउनको लागि तँलाई रोग दिनुहुन्छ, र त्यो रोगको ठ्याक्कै उद्देश्य के हो त्यो तँलाई बुझाउनुहुन्छ। जब तँ गहिरो आत्मिक जाँचमा फर्किन्छस्, तैँले समस्याको जड भेट्टाउन र आफ्नो भ्रष्टताबारे केही ज्ञान प्राप्त गर्न सक्छस्। अलिअलि कष्टबिना, तैँले सधैँ आफू महान् छु भनेर सोच्नेथिइस्, र तँ यो भ्रष्टता पत्ता लगाउन असफल हुन्थिस्। त्यसपछि तैँले आफूलाई आवश्यक पर्ने सत्यता बुझ्न सक्नेथिनस्। के तिमीहरूले यस्तो अनुभव गरेका छौ? पवित्र आत्माले सबथोक एकदमै समयमै गर्नुहुन्छ, र सबथोक मानिसहरूको आवश्यकता र तिनीहरूको वर्तमान कद र स्थितिअनुसार नै गर्नुहुन्छ। पहिला भनिएको थियो कि परमेश्वरको काम समयनिष्ठ र यथार्थपरक, र अत्यन्तै समसामयिक हुन्छ, र त्यसमा कुनै ढिलाइ हुँदैन। यो कुरा तैँले आफ्नो वास्तविक अनुभवमै देखेको छस्। हरेकपटक तैँले कुनै कुरा सामना गर्नुपर्दा, पवित्र आत्माले तँलाई तुरुन्तै उत्प्रेरणा र अन्तर्दृष्टि दिनुहुन्छ, तर तैँले राम्ररी सहकार्य गर्दैनस्। तँ अति बोधो छस्। कहिलेकाहीँ के भइरहेको छ भनेर तैँले समझ त पाउँछस् तर त्यसलाई अझ गहन रूपमा बुझ्ने कोसिस नगरी त्यतिकै छोडिदिन्छस्। तँ सतही बुझाइमै सन्तुष्ट हुन्छस्, र त्यससँगै तैँले सबै बुझ्छु भन्ठान्छस्, तर वास्तवमा तँ साँचो बुझाइमा पुगेको हुँदैनस्। तेरो सतही बुझाइलाई तर्कसङ्गत बुझाइको उचाइमा पुर्याइएपछि मात्र, तैँले अघि बढ्ने मार्ग प्राप्त गर्न सक्छस्। यदि पवित्र आत्माले तँलाई फेरि पनि उत्प्रेरित गर्नुहुन्छ तर तैँले यसलाई अझै बेवास्ता गर्छस् र टिपोट गर्न चाहँदैनस् भने, तैँले यो कुरा चाँडै बिर्सनेछस्। तब तैँले यो ज्योति, यो व्यावहारिक कुरा प्राप्त गरेको हुनेछैनस्, र त्यो ठूलो सरमको कुरो हुनेछ। लगनशील मानिसहरूले कामकुराहरू टिपोट गर्छन् र पछि फेरि ती टिपोटहरू हेर्दा तिनीहरूलाई गज्जबको अनुभूति हुन्छ। तिनीहरूले यो जगमाथि केही ज्योति प्राप्त गर्न सक्छन्। जो व्यक्ति लापरवाह छ र जोसँग कुनै आत्मिक बुझाइ छैन, उसले यो ज्योतिको अनुभूति गर्न सक्दैन—उसलाई त ज्योति के हो भन्नेसमेत थाहा हुँदैन। यो ज्योति तिनीहरूभित्रै चम्किन्छ र हराइहाल्छ, र यदि तिनीहरू सधैँ यस्तै रहिरहन्छन् भने, पवित्र आत्माले तिनीहरूमा काम गर्नुहुनेछैन। सत्यता पछ्याउनको लागि, तँ संवेदनशील र मिहीन रूपमा सोच्न सक्ने हुनुपर्छ; तँ अल्छी हुनु हुँदैन। तैँले तत्कालै सहकार्य पनि गर्नुपर्छ। जब तैँले सतही बुझाइ प्राप्त गर्छस्, तैँले त्यसलाई समातिहाल्नुपर्छ, यसबारे चाँडो मनन गर्नुपर्छ, र परमेश्वरलाई प्रार्थना गर्नुपर्छ। अनि, तैँले कसरी प्रार्थना गर्नुपर्छ? तेरो प्रार्थनालाई तैँले प्राप्त गरेको अन्तर्दृष्टिमा केन्द्रित गर्। कहिलेकाहीँ त्यो तेरो आफ्नै सोचेजस्तो लाग्न सक्छ, र त्यो ठिकै नै हो। तँलाई आनन्द र प्रस्टता अनुभूति हुन्छ भने, तैँले प्रार्थना र खोजी गर्नुपर्छ। यो नयाँ ज्योति पत्ता लगाउनु र यसलाई सही तरिकाले गर्नु सबैभन्दा महत्त्वपूर्ण कुरा हो। यदि तैँले प्रार्थना गर्दा शब्दहरू विशेष रूपले राम्ररी प्रवाहित हुन्छन् भने, र तँलाई सहज महसुस हुन्छ, तैँले फेरि अन्तर्दृष्टि प्राप्त गर्छस्, र तेरो मस्तिष्कले ज्योति प्राप्त गर्छ भने, तैँले यो नयाँ ज्योतिको टिपोट गर्नुपर्छ। किनभने तँ राम्रो स्थितिमा हुँदा तैँले त्यो सम्झन सक्छस्, तर नराम्रो स्थितिमा हुँदा तैँले त्यो बिर्सन्छस्। कुनै लेख लेख्दा मानिसहरूले धेरै पन्ना लेख्न सक्छन्, तर जब अनुभवात्मक गवाही वा परमेश्वरबारे तिनीहरूको ज्ञान लेख्ने कुरा आउँछ, तिनीहरूले एक शब्द पनि लेख्न सक्दैनन्। तिनीहरूमा अझै पनि वास्तविकता हुँदैन। जो सत्यतालाई प्रेम गर्छन् तिनीहरू पवित्र आत्माको अन्तर्दृष्टि र ज्योतिप्रति केन्द्रित हुन्छन्। जो सत्यतालाई प्रेम गर्दैनन् तिनीहरूले पवित्र आत्माको अन्तर्दृष्टिलाई बहुमूल्य ठान्दैनन्, र यसले तिनीहरूलाई के महत्त्वपूर्ण हो, के गौण हो, के निर्णायक कुरा हो, वा तिनीहरूले के हासिल गर्नुपर्छ, त्यो थाहै छैन भन्ने देखाउँछ। यसले गर्दा, तिनीहरूले पवित्र आत्माको अन्तर्दृष्टि गुमाउँछन्। त्यसैले आफूसँगै सानो टिपोट पुस्तिका बोक्नु उत्तम हुन्छ, अनि जबजब पवित्र आत्माले तँलाई अन्तर्दृष्टि दिनुहुन्छ र तैँले नयाँ ज्योति प्राप्त गर्छस्, तैँले त्यसलाई तुरुन्तै टिप्न र लेख्न सक्छस्। पवित्र आत्माले जुनसुकै समय र स्थानमा काम गर्नुहुन्छ। कुनै व्यक्ति जस्तोसुकै परिस्थितिमा भए पनि, जबसम्म उसले परमेश्वरका वचनहरू मनन गर्छ र यदि ऊ सत्यता खोज्न सक्छ भने, पवित्र आत्माले उसलाई अन्तर्दृष्टि दिनुहुन्छ। तँ काममा व्यस्त भएर तँलाई निकै थकित महसुस हुँदा पनि, यदि तैँले खोजी र प्रार्थना गर्छस् भने, पवित्र आत्माले तँलाई अन्तर्दृष्टि दिनुहुन्छ। तैँले परमेश्वरका वचनहरू पढ्दा वा सत्यता सङ्गति गर्दा पवित्र आत्माले तँलाई अन्तर्दृष्टि दिनुहुन्छ। जब तैँले परमेश्वरका वचनहरू मनन गर्छस् र आफ्नो बारेमा चिन्तन गर्छस्, उहाँले तँलाई अन्तर्दृष्टि दिनुहुन्छ। जब पवित्र आत्माले तँलाई अन्तर्दृष्टि दिनुहुन्छ, त्यसलाई लेखेर राख् र मनन गर्, अनि त्यसले तेरो हृदय स्पष्ट पार्नेछ। जब तैँले साँच्चिकै सत्यता बुझ्छस्, तँलाई पूर्ण मुक्ति मिल्नेछ। जब तैँले यस तरिकाले परमेश्वरको काम अनुभव गर्छस्, तैँले भित्र्याउने प्रतिफल बढेको बढ्यै हुनेछ। तथ्य के हो भने पवित्र आत्माको बढीजसो अन्तर्दृष्टि तिमीहरू आफैले बरबाद पार्छौ। अपव्ययीहरू जस्तै छौ, र पवित्र आत्माले तिमीहरूमाथि गर्नुहुने सबै कामलाई बेवास्ता गर्छौ, र परमेश्वरद्वारा सिद्ध पारिने कैयौँ मौकाहरू गुमाउँछौ! पवित्र आत्माले प्रचुर मात्रामा काम गर्नुभएको छ, तैपनि तैँले त्यो बोध गर्न सक्दैनस्। के तैँले वास्तवमै परमेश्वर तँप्रति दयालु हुनुहुन्न भनेर भन्न सक्छस्? तथ्य यो होइन कि परमेश्वरले तँलाई पर्याप्त दया देखाउनुभएन—तथ्य त यो हो कि तैँले नै त्यो हासिल गरेको छैनस्।
पवित्र आत्माको कामको एउटा ढाँचा छ, र त्यसबारे निष्कर्षहरू निकालिनु आवश्यक छ। यदि व्यक्तिले आफूलाई निष्कर्ष निकाल्नमै लागी पराउँछ भने, उसले धेरै कुराहरूको निष्कर्ष निकाल्न सक्छ। यसबाट केही न केही पक्कै हासिल हुनेछ। उदाहरणको लागि, प्रार्थनाकै कुरा गरौँ। कति समयहरूमा प्रार्थनाबाट तैँले धेरै अन्तर्दृष्टि प्राप्त गर्न सक्छस्, तर यदि तैँले बेवास्ता गरिस् भने, तैँले थाहै पाउनेछैनस्। अन्तर्दृष्टिका केही वचनहरू तेरै मुखबाट आउन सक्छन्, तर यदि तैँले ध्यान दिइनस् भने, तैँले त्यो चालै पाउनेछैनस्। तँलाई यति मात्र थाहा हुनेछ कि तैँले राम्रो प्रार्थना गरिस्, जबकि खासमा पवित्र आत्माले अन्तर्दृष्टि र ज्योति दिनुभएका वचनहरू त तेरो प्रार्थनाभित्रै रहेका थिए। ती सबै नयाँ ज्योति थिए, तर तैँले तिनलाई फुत्किन दिइस्। पवित्र आत्माको कामले मानिसहरूलाई सबैभन्दा बढी मदत गर्ने तरिका भनेको तिनीहरूलाई अन्तर्दृष्टि र ज्योति प्रदान गरेर, तिनीहरूलाई सत्यता अनि परमेश्वरको अभिप्राय बुझ्न दिएर, अनि तिनीहरूलाई परमेश्वरको मापदण्डअनुरूप काम गर्न र सही मार्गबाट नबहकिन सक्षम तुल्याएर हो। पवित्र आत्माको कामले मानिसहरूलाई अन्तर्दृष्टि दिनुको लक्ष्य के हो? कहिलेकाहीँ, यसको काम बाटो देखाउने हुन्छ; कहिलेकाहीँ यसले तँमा केही समझ आओस् भनेर तँलाई सम्झाउने काम गर्छ; र कहिलेकाहीँ यसले तँलाई ज्योति प्रदान गरेर सत्यता बुझ्न मदत गर्छ र तँलाई अभ्यास गर्ने बाटो प्रदान गर्छ। जब तँ बहकिएर आफ्नै बाटोमा लागेको हुन्छस्, उहाँले तँलाई सही मार्गतर्फ डोर्याउँदै र निर्देशित गर्दै बैसाखीले झैँ साथ र सहयोग दिनुहुन्छ। पवित्र आत्माले जुनसुकै ज्योति र ज्ञानद्वारा मानिसहरूलाई अन्तर्दृष्टि दिनुभए पनि, र त्यो मानिसहरूको व्यक्तिगत पृष्ठभूमिको कारण फरक भए पनि, त्यो सत्यतासँग विरोधाभास हुने वा बाझिने कदापि गर्दैन। यदि हरेक व्यक्तिले साँचो रूपमा खोजी र प्रार्थना गर्दै, र साँचो रूपमा समर्पित हुँदै अनुभव गर्थ्यो भने, र पवित्र आत्माले पनि त्यसरी नै निरन्तर काम गर्दै तिनीहरूलाई अन्तर्दृष्टि र अगुवाइ प्रदान गर्नुहुन्थ्यो भने, र यदि तिनीहरू तीक्ष्ण र मिहीन सोच भएका हुन्थे र तिनीहरू पवित्र आत्माले अन्तर्दृष्टि दिनुहुने कुराहरू अभ्यास गर्न र तिनमा प्रवेश गर्न सक्षम हुन्थे भने, तिनीहरूको कद चाँडै वृद्धि हुनेथ्यो। तिनीहरूले त्यसपछि अवसरको फाइदा उठाएका हुन्थे। पवित्र आत्माको कार्यको एउटा विशेषता के हो भने यो अत्यन्तै शीघ्र हुन्छ। यो एकै पलकमा समाप्त हुन्छ, र यो दुष्ट आत्माहरूको कामजस्तो हुँदैन, जहाँ मानिसहरूलाई सधैँ विभिन्न काम गर्न यसरी उक्साइन्छ र बाध्य पारिन्छ कि तिनीहरूले अर्को कुनै तरिकाले काम गर्नै सक्दैनन्। कहिलेकाहीँ, पवित्र आत्माले मानिसहरू खतराको सङ्घारमा पुगेको बेला, तिनीहरूलाई भित्री रूपमा अत्यन्तै असहज र व्याकुल महसुस गराउने अनुभूति दिलाउँदै काम गर्नुहुन्छ। विशेष परिस्थितिहरूमा यस्तो हुन्छ। प्रायजसो, जब मानिसहरू परमेश्वरनजिक जान्छन्, र सत्यता खोज्छन्, वा जब तिनीहरूले परमेश्वरका वचनहरू पढ्छन्, तब पवित्र आत्माले तिनीहरूलाई एउटा भावना, वा सूक्ष्म सोच वा विचार दिनुहुन्छ। अथवा, उहाँले तँलाई कुनै अभिव्यक्ति वा सन्देश प्रदान गर्नुहुन्छ। त्यसमा कुनै आवाज भएझैँ हुन्छ, र त्यो आवाजविहीन भएझैँ पनि हुन्छ; त्यो एउटा स्मरण गराउने कुरा जस्तै हो, र तैँले त्यसको अर्थ के हो, त्यो बुझ्न सक्छस्। त्यसपछि, यदि तैँले आफूले बुझेको अर्थलाई उपयुक्त शब्दहरूमार्फत व्यक्त गर्छस् भने, तैँले केही न केही हासिल गर्नेछस्, र त्यसले अरूलाई पनि सुधार्नेछ। यदि मानिसहरू सधैँ यस तरिकाले अनुभव गर्छन् भने, तिनीहरूले बिस्तारै धेरै सत्यताहरू बुझ्नेछन्। यदि मानिसहरूसँग सधैँ आफ्नो छेउमा पवित्र आत्माको काम छ भने, र तिनीहरूलाई डोर्याउनको लागि सधैँ नयाँ ज्योति हुन्छ भने, तिनीहरू साँचो मार्गबाट कहिल्यै नबहकिने निश्चित छ। यदि तँसित कसैले कहिल्यै सङ्गति गर्दैन, र तँलाई कसैले मार्गदर्शन गर्दैन, अनि तँसित कामको बन्दोबस्तसमेत छैन भने पनि, यदि तँ पवित्र आत्माले मार्गदर्शन गर्नुभएको दिशामा हिँड्छस् भने, तँ निश्चय नै बहकिनेछैनस्। पत्रुसले प्रभु येशूलाई उहाँ बौरी उठ्नुभएर स्वर्गमा आरोहण भएपछि देख्यो, तर थोरैपटक मात्र देख्यो। उसले प्रभु येशूलाई मानिसहरूले कल्पेजस्तो बारम्बार, वा आफूले चाहेको बेला देख्न सक्दैनथ्यो, र उसले आफूले नबुझेको कुराबारे प्रार्थना गर्दा पनि उहाँलाई देख्थेन। त्यो कल्पेजस्तो हुँदैनथ्यो। के परमेश्वरलाई देख्नु त्यति सजिलो छ र? परमेश्वर मानिसहरूसामु सजिलै देखा पर्नुहुन्न। बढीजसो, परमेश्वरले पत्रुसलाई पवित्र आत्माको काममार्फत कामकुराहरू बुझ्न लगाउनुहुन्थ्यो। पत्रुसले हासिल गर्न सकेको कुरा हासिल गर्न तिमीहरू किन सक्दैनौ? अन्त्यमा यसले के प्रमाणित गर्छ? यसले तेरो क्षमता अपर्याप्त छ, तँसित बुझ्ने शक्ति छैन, र मननमार्फत तैँले कामकुराहरूको भित्री यथार्थ पत्ता लगाउन सक्दैनस् भन्ने प्रमाणित गर्छ। तैँले जुनसुकै कुराहरू सामना गरे पनि, तैँले तिनलाई सधैँ परमेश्वरका वचनहरूमा उल्लेखित सत्यताअनुसार हेर्नुपर्छ। यदि मानिसहरूलाई केही आइपर्दा तिनीहरू सधैँ आफ्नै सोच र मानसपटलमा रहन्छन्, र तिनीहरूले ती कुराहरूलाई मानव विधिद्वारा नै सम्हाल्छन् भने, तिनीहरूले केही पनि हासिल गर्नेछैनन्। पत्रुसलाई केही आइपर्दा उसले के सोच्थ्यो? उसले प्रभु येशूका वचनहरूअनुसार त्यसबारे सोचविचार र मनन गर्थ्यो, र ऊ यसरी नै परमेश्वरको अभिप्राय पत्ता लगाउन सक्षम भयो। अनि पछि, प्रभु येशू स्वर्गमा आरोहण गरिसक्नुभएपछि पनि, पत्रुस कसरी परमेश्वरको अभिप्राय पत्ता लगाउन सक्षम भयो? ऊ पवित्र आत्माको अन्तर्दृष्टिमार्फत त्यसो गर्न सफल भयो। यदि उसले पवित्र आत्माको अन्तर्दृष्टिबारे चाल पाउन सक्दैनथ्यो भने, र प्रभु येशू बौरी उठेर स्वर्ग आरोहण गर्नुभएपछि ऊसामु देखा नपर्नुभएको भए, ऊ कसरी परमेश्वरको अभिप्राय बुझ्न सक्षम हुन्थ्यो होला र? देहधारी परमेश्वरले मानिसहरूले कल्पेजस्तो गरी मानिसहरूलाई हरदिन व्यक्तिगत रूपमा र निरन्तर मार्गदर्शन गर्दै तिनीहरूलाई सिद्ध पार्ने तरिकाले काम गर्नुहुन्न। त्यो त्यस्तो हुँदैन। पवित्र आत्माको काम साझेदारीमा हुन्छ। आत्माको त्यो साझेदारीको कामले नै बढीजसो काम गर्छ। अगुवाइ गर्ने कामचाहिँ देहले गर्छ, र जब त्यो काम सकिन्छ, बाँकी रहेका ससाना मामिलाहरूबारे पवित्र आत्माले मानिसहरूलाई अन्तर्दृष्टि दिएर बुझाउनुहुन्छ। यदि मानिसहरू यसलाई टिप्न सक्दैनन् र यसको एउटा अंश मात्र प्राप्त गर्न सक्षम हुन्छन् भने, तिनीहरूले बाँकी विवरणहरू प्राप्त गर्न सक्नेछैनन्—अनि यदि तिनीहरूले ती कुराहरू प्राप्त गर्न सक्दैनन् भने, तिनीहरू परिवर्तन हुनेछैनन्, र तिनीहरूले केही प्रगति गर्नेछैनन्।
जो मानिसहरूले पवित्र आत्माको काम वा अन्तर्दृष्टि अनुभव गरेका छैनन्, तिनीहरूलाई ती कुराहरू बुझ्न सजिलो छैन। तथ्य के हो भने, पवित्र आत्माको काम र अन्तर्दृष्टिको एउटा ढाँचा हुन्छ। जबजब पवित्र आत्माको काम र अन्तर्दृष्टिको कुरा हुन्छ, मानिसहरू पवित्र आत्माको काम प्राप्त गर्न धेरै कष्ट भोग्नुपर्ने र ठूलो मूल्य चुकाउनुपर्ने भनी सधैँ गलत अर्थ लगाउँछन्। के यो मानव धारणा होइन र? मानिसहरू अल्छी भएकाले र तिनीहरूको हृदय कठोर हुनाले, तिनीहरूले साधारणतया आफ्ना आत्माभित्रका भावनाहरूमा कहिल्यै ध्यान दिँदैनन्, अनि जब त्यसमा अलिअलि ज्योति र अन्तर्दृष्टि हुन्छ, त्यसलाई तिनीहरू केही होइन भनी बेवास्ता गर्छन्। यदि तँ पूरै दिन आफ्नो मामिलामा भुल्छस्, वचन र धर्मसिद्धान्तहरू र नियमहरूमा अडिग रहन्छस्, र देह र स्वच्छन्द प्रेमको जीवन जिउँछस् भने, पवित्र आत्माले तँलाई अन्तर्दृष्टि र मार्गदर्शन दिन सक्नुहुन्न। उहाँले यो काम कसैगरी गर्न सक्नुहुन्न। तैँले अझ बढी प्रार्थना गर्नुपर्छ, र पवित्र आत्माको काम खोज्नुपर्छ, र पवित्र आत्माको काम कसरी स्विकार्ने र कसरी त्यसलाई नफुत्काउने भन्ने उपाय खोज्नुपर्छ। परमेश्वरलाई प्रार्थना गर्: “हे परमेश्वर! कृपया ममाथि काम गर्नुहोस्, मलाई सिद्ध पार्नुहोस् र परिवर्तन गर्नुहोस्, मलाई हरेक कुरामा तपाईंको अभिप्राय बुझ्न र तपाईंका चाहनाहरूप्रति समर्पित हुन दिनुहोस्। तपाईंको महान प्रेम र तपाईंको अभिप्राय तपाईंले मलाई दिनुहुने मुक्तिमै छ। मानिसहरू विद्रोही छन् र तिनीहरूले तपाईंको प्रतिरोध गर्छन्, र तिनीहरू धोकेबाज प्रकृतिका छन्, तर म अहिले मानिसहरूलाई मुक्ति दिनुमा रहेको तपाईंको अभिप्राय बुझ्छु, र म तपाईंसँग सहकार्य गर्न चाहन्छु। तपाईंले मलाई अझ बढी परिस्थिति, परीक्षा, र कठिनाइहरू दिनुहोस्, मलाई यी कठिनाइहरूमा तपाईंको हात देख्ने र तपाईंका कामहरू देख्ने तुल्याउनुहोस्, ताकि म तपाईंको अभिप्राय बुझ्ने र तीप्रति समर्पित हुने व्यक्ति बन्न सकूँ। मलाई मनमौजी हुन नदिनुहोस्, बरु वास्तविकतामा जिउने व्यक्ति हुन दिनुहोस्।” यसरी प्रार्थना गर्, र यस्तो प्रार्थना बारम्बार गर्; पवित्र आत्मालाई सधैँ तँमाथि काम गर्न र तँलाई डोर्याउन अनुरोध गर्। जब पवित्र आत्माले तँलाई सही मार्गमा हिँडिरहेको र गर्नुपर्ने काम गरिरहेको देख्नुहुन्छ, पहिला उहाँले तँलाई केही परिस्थितिहरू दिएर तेरो परीक्षण गर्नुहुन्छ र त्यसपछि तँलाई बोझिलो परीक्षा दिएर तैँले त्यसबाट पार पाउन सक्छस् कि सक्दैनस् भनी हेर्नुहुन्छ। कतिले त त्यो सहनै सक्दैनन्। तिनीहरूले यसो भन्नेछन्: “हे परमेश्वर, यो परिस्थिति अति भयो—म यो सहनै सक्दिनँ!” त्यसपछि तिनीहरू यस मामिलामा असफल भएका हुनेछन्। यदि तँलाई तँ जुन परिस्थितिमा छस् त्यो तेरो लागि अति धेरै हो जस्तो साँच्चिकै लाग्छ भने, परमेश्वरलाई यसरी प्रार्थना गर्: “हे परमेश्वर, तपाईंले दिनुभएको परिस्थिति मलाई अति भयो। म त्यो सहनै सक्दिनँ, तर म कोसिस गर्न चाहन्छु। कृपया मलाई मेरो कदअनुसार भरणपोषण गर्नुहोस् र तपाईंको अभिप्राय बुझ्न दिनुहोस्, चाहे म गम्भीर कष्ट भोगूँ वा हलुका कष्ट भोगूँ, मैले तपाईंलाई घात वा गुनासो गर्नेछैनँ। मलाई पूर्ण रूपले समर्पित हुन यसरी सक्षम तुल्याउनुस् कि त्यसबाट तपाईंलाई पूर्ण सन्तुष्टि मिलोस्। चाहे म गम्भीर कष्ट भोगूँ वा हलुका कष्ट भोगूँ, यदि त्यो तपाईंकै चाहना हो भने, म कुनै गुनासोबिना तीप्रति समर्पित हुन चाहन्छु। म तपाईंका चाहनाहरूविपरीत जान चाहँदिनँ, र कष्ट जतिसुकै गम्भीर बने पनि, जबसम्म म सहन सक्छु, बिन्ती छ तबसम्म तपाईं मलाई कष्ट दिइरहनुहोस्।” तैँले निर्धक्क भएर अनि साहसपूर्वक प्रार्थना गर्नुपर्छ। भाग्ने वा डराउने नगर्। जब पवित्र आत्माले तँ सही मार्गमा हिँडिरहेको, तैँले जे गर्नुपर्ने हो त्यही गरिरहेको, तैँले परमेश्वरलाई हृदयमा साँच्चिकै चाहेको, र तैँले सत्यता पछ्याएको देख्नुहुन्छ, उहाँले तँलाई बोझिलो परिस्थिति अनि त्यसलाई पार लाउन सक्ने ठूलो शक्ति प्रदान गर्न सक्नुहुन्छ—र त्यसपछि तैँले जितेको हुनेछस्। तैँले विशेष कष्टपूर्ण परिस्थिति पार गर्न सक्नु भनेको केही वचन र धर्मसिद्धान्तहरू बुझ्नुभन्दा धेरै ठूलो कुरा हो। यो साक्षी दिने कुरा हो।
दैनिक जीवनमा, मानिसहरू हरप्रकारका मानिस, घटना र वस्तुहरूको सम्पर्कमा आउँछन्, र यदि तिनीहरूमा सत्यता छैन र तिनीहरूले प्रार्थना गरेर सत्यता खोज्दैनन् भने, प्रलोभन फाल्न तिनीहरूलाई कठिन लाग्नेछ। उदाहरणको लागि, पुरुष र महिलाबीचको सम्बन्धहरूकै कुरा गरौँ। कतिपय मानिसहरू यस्ता प्रलोभनहरूको प्रतिरोध गर्न सक्दैनन्, र यस्तो परिस्थिति सामना गर्नेबित्तिकै तिनीहरू फस्छन्। के यसले कदको हिसाबले तिनीहरू अति साना छन् भन्ने देखाउँदैन र? सत्यता नभएका मानिसहरू यस्तै दयनीय हुन्छन् र तिनीहरूले कदापि साक्षी दिँदैनन्। कतिपय मानिसहरू पैसासम्बन्धी परिस्थिति सामना गर्नुपर्दा प्रलोभनमा फस्छन्। जब तिनीहरूले पैसा भएको अरू कोही व्यक्ति देख्छन्, तिनीहरू गुनासो गर्छन्, “तिनीहरूसँग किन यति धेरै पैसा छ र मचाहिँ किन यति गरिब छु? यो न्यायसङ्गत भएन।” आफूलाई यस्तो हुँदा तिनीहरू गुनासो गरिहाल्छन्, र तिनीहरू यो परमेश्वरबाट आएको भनेर स्विकार्न वा उहाँका योजनाबद्ध कार्य र बन्दोबस्तहरूप्रति समर्पित हुन सक्दैनन्। कतिपय यस्ता मानिसहरू पनि छन् जो सधैँ हैसियतमाथि केन्द्रित हुन्छन्, र यस्तो परीक्षा सामना गर्नुपर्दा, तिनीहरूले त्यसबाट पार पाउन सक्दैनन्। उदाहरणको लागि, एउटा गैरविश्वासीले तिनीहरूलाई कुनै आधिकारिक पदमा राख्न चाहन्छ, जसबाट तिनीहरूलाई थुप्रै फाइदाहरू हुन सक्छ, अनि तिनीहरू अडिग रहन सक्दैनन्। तिनीहरू सोच्छन्, “के म यो काम गरूँ?” अनि, तिनीहरू प्रार्थना र मनन गर्छन्, र भन्छन्: “हो—मैले गर्नुपर्छ!” तिनीहरूले मन बनाइसकेका छन्, र अबउप्रान्त तिनीहरूले खोजी गर्नुको अर्थ छैन। तिनीहरूले त्यो आधिकारिक पद सम्हाल्ने र त्यसका लाभहरू प्राप्त गर्ने प्रस्ट निर्णय गरिसकेका छन्, तर तिनीहरू परमेश्वरमा विश्वास गर्दा प्राप्त हुने आशिष्हरू गुमाउने डरले गर्दा, फर्केर आउन र परमेश्वरमै विश्वास गर्न पनि चाहन्छन्। त्यसैले तिनीहरू उहाँलाई प्रार्थना गर्छन्: “कृपया मेरो परीक्षा लिनुहोस्, परमेश्वर।” तेरो के नै परीक्षा लिन बाँकी छ र? तैँले तेरो आधिकारिक पद सम्हाल्ने मन बनाइसकेको छस्। तँ यो मामिलामा अडिग रहिनस्, र तँ पहिल्यै फसिसकेको छस्। के तँलाई अझै परीक्षा गरिनु आवश्यक छ र? तँ परमेश्वरको परीक्षाको लायक नै छैनस्। के तैँले तेरो दयालाग्दो सानो कद लिएर उहाँको परीक्षा भोग्न सक्नेछस् र? कतिपय त्यस्ता घृणित मानिसहरू पनि हुन्छन् जो आफूले देख्ने जुनसुकै लाभको लागि प्रतिस्पर्धा गर्छन्। पवित्र आत्मा तिनीहरूकै छेउमै रहेर, तिनीहरूले कस्तो विचार व्यक्त गर्छन् र तिनीहरूको मनोवृति के छ भनी हेर्दै हुनुहुन्छ, र तिनीहरूको परीक्षा लिन थाल्दै हुनुहुन्छ। कतिपय मानिसहरू मनमनै सोच्छन्, “म यो चाहँदिनँ, चाहे त्यो मप्रतिको परमेश्वरको दया नै किन नहोस्। मसँग पहिल्यै त्यो पर्याप्त छ, र परमेश्वरले मलाई अति बढी दया देखाउनुहुन्छ। म राम्रो खानु र लाउनुको मतलब गर्दिनँ, म त सत्यता पछ्याउने र परमेश्वरलाई पाउन सक्षम हुनेबारे मात्र मतलब गर्छु। मैले जुन सत्यता प्राप्त गरेको छु त्यो मैले केही नगरीकनै परमेश्वरले मलाई दिनुभएको हो। म यी कुराहरूको लायक छुइनँ।” पवित्र आत्माले तिनीहरूको हृदय सूक्ष्म जाँच गर्नुहुन्छ र तिनीहरूलाई झन् बढी अन्तर्दृष्टि प्रदान गर्नुहुन्छ, तिनीहरूलाई झन् बढी बुझ्ने र झन् बढी ऊर्जावान् तुल्याउनुहुन्छ, र तिनीहरूको लागि सत्यता झन् बढी छर्लङ्गै बनाउनुहुन्छ। तर ती घृणित मानिसहरूले भने यसमा कुनै लाभ दिइँदै गरेको देख्छन् र यस्तो सोच्छन्, “म अरू कोहीभन्दा अघि त्यसको लागि लड्नेछु। यदि तिनीहरूले त्यो मलाई नदिएर अरू कसैलाई दिन्छन् भने, म तिनीहरूलाई दह्रो गाली दिनेछु र तिनीहरूलाई कठिनाइमा पार्नेछु। म तिनीहरूलाई म के चीज हुँ भनेर देखाउनेछु, अनि तिनीहरूले अर्कोपटक त्यो कसलाई दिँदा रैछन्, हेरौँला!” पवित्र आत्माले तिनीहरू यस्तै हुन् भनेर बुझ्नुहुन्छ र तिनीहरूको खुलासा गरिदिनुहुन्छ। तिनीहरूको कुरूपता पर्दाफास हुन्छ, र यस्तो व्यक्तिलाई दण्डित गरिनुपर्छ। तिनीहरूले जति धेरै वर्ष विश्वास गरे पनि, त्यसबाट तिनीहरूलाई केही हुनेवाला छैन। तिनीहरूले केही हासिल गर्न सक्नेछैनन्! धेरैजस्तो, पवित्र आत्माले मानिसहरूलाई जब दया देखाउनुहुन्छ, तिनीहरूले त्यो नसोचेको बेला प्राप्त गर्छन्। यदि परमेश्वरले तँलाई दया देखाउनुहुन्न भने, तेरो दण्ड पनि तैँले नसोचेकै समयमा हुनेछ। सत्यता नपछ्याउनेहरूको लागि परिस्थितिहरू यति खतरनाक हुन्छन्।
जब मानिसहरूलाई आफूमाथि आइपरेका परिस्थितिहरूबारे अन्तर्दृष्टि हुँदैन, र गर्नुपर्ने उचित काम के हो भन्ने पनि थाहा हुँदैन, तब तिनीहरूले गर्नुपर्ने पहिलो कुरा के हो? तिनीहरूले सर्वप्रथम प्रार्थना गर्नुपर्छ; सुरुमा प्रार्थना नै आउँछ। प्रार्थनाले के कुरा देखाउँछ? यसले तँ भक्त छस्, तँसँग अलिअलि परमेश्वरको डर मान्ने हृदय छ, र तँलाई तैँले परमेश्वरको खोजी कसरी गर्नुपर्छ भन्ने थाहा छ भन्ने देखाउँछ, र यसले तैँले परमेश्वरलाई नै पहिलो स्थानमा राख्छस् भन्ने प्रमाणित गर्छ। जब तेरो हृदयमा परमेश्वर हुनुहुन्छ र जब त्यहाँ परमेश्वरको निम्ति स्थान हुन्छ, र जब तँ परमेश्वरमा समर्पित हुन सक्छस्, तब तँ एक भक्त इसाई हुन्छस्। कैयौँ पाका विश्वासीहरू यस्ता हुन्छन् जो हरेक दिन उही समय र स्थानमा घुँडा टेकेर प्रार्थना गर्छन्। तिनीहरू हरेकपटक एकदुई घण्टा घुँडा टेकेर बस्छन्, तर जति धेरै वर्षदेखि यसरी घुँडा टेके पनि, यसले तिनीहरूको पापका कैयौँ समस्याहरू समाधान गरेकै हुँदैन। अब हामी एकैछिन त्यस्तो धार्मिक प्रार्थना उपयोगी हुन्छ हुँदैन भन्ने कुरालाई पन्छाऔँ। कम्तीमा पनि, यी पाका दाजुभाइ-दिदीबहिनीहरू अलिअलि त भक्त नै छन्। यस हिसाबमा, तिनीहरू जवानहरूभन्दा त धेरै नै असल छन्। यदि तँ परमेश्वरको अघि जिउन र परमेश्वरको काम अनुभव गर्न चाहन्छस् भने, तँमाथि कुनै कुरा आइपर्दा तैँले गर्नुपर्ने पहिलो कुरा प्रार्थना हो। प्रार्थना गर्नु भनेको घोकेका वाक्यांशहरू बिनासोच भट्याउने, तर त्यसबाहेक अरू केही नगर्ने भन्ने होइन; यसरी त तँ कहीँ पनि पुग्नेवाला छैनस्। तैँले हृदयदेखि प्रार्थना गर्नमा प्रशिक्षित हुनुपर्छ। तैँले आठ-दशपटक यसरी प्रार्थना गरिसकेपछि पनि खासै केही प्रभाव नदेख्न सक्छस्, तर तँ निरूत्साहित नबन्; तैँले तेरो प्रशिक्षण जारी राख्नुपर्छ। जब कुनै कुरा आइपर्छ, पहिले प्रार्थना गर्। पहिले परमेश्वरलाई भन्, र उहाँलाई नै परिस्थिति नियन्त्रण गर्न दे। परमेश्वरलाई तँलाई मदत गर्न दे, उहाँलाई तँलाई डोर्याउन र बाटो देखाउन दे। यसले तँमा परमेश्वरको डर मान्ने हृदय छ, र तँ परमेश्वरलाई पहिलो स्थानमा राख्छस् भन्ने प्रमाणित गर्छ। जब तँमाथि कुनै कुरा आइपर्छ वा तैँले केही कठिनाइ सामना गर्छस् र तँ नकारात्मक बन्छस्, अनि रिसाउँछस्, तब यो तेरो हृदयमा परमेश्वर हुनुहुन्न, र तँमा परमेश्वरको डर छैन भन्ने कुराको प्रकटीकरण हो। वास्तविक जीवनमा, तैँले जे-जस्ता कठिनाइहरू सामना गरे पनि, तैँले परमेश्वरको अघि आउनैपर्छ। तैँले गर्नुपर्ने पहिलो कुरा भनेको प्रार्थनामा परमेश्वरसामु घुँडा टेक्नु हो। सबभन्दा महत्त्वपूर्ण कुरा नै यही हो। प्रार्थनाले तेरो हृदयमा परमेश्वरको निम्ति ठाउँ छ भन्ने देखाउँछ। जब तँलाई कुनै समस्या हुन्छ, तब तैँले परमेश्वरतर्फ हेर्नु र उहाँलाई प्रार्थना गर्नु, र उहाँमार्फत खोजी गर्नुले तँमा अलिअलि परमेश्वरको डर मान्ने हृदय छ भन्ने देखाउँछ; यदि परमेश्वर तेरो हृदयमा नहुनुभएको भए तैँले यसो गर्ने थिइनस्। कतिपय मानिसहरू भन्छन्, “मैले प्रार्थना त गरेँ तर अझै पनि परमेश्वरले मलाई अन्तर्दृष्टि दिनुभएन!” त्यसरी भन्ने होइन। तैँले सुरुमा तेरो प्रार्थनापछाडिको मनसाय सही छ कि छैन भनेर हेर्नुपर्छ। यदि तैँले साँच्चै नै सत्यता खोजिरहेको छस् र तँ परमेश्वरसँग बारम्बार प्रार्थना गर्छस् भने, परमेश्वरले निश्चित मामलामा तँलाई अन्तर्दृष्टि र बुझाइ प्रदान गर्नुहुनेछ। जुनसुकै मामलामा पनि, परमेश्वरले तँलाई कुरा बुझाउनुहुनेछ। यदि परमेश्वरले तँलाई अन्तर्दृष्टि दिनुभएन भने, तैँले आफै यो कुरा बुझ्नेछैनस्। तँसँग बुझ्ने शक्ति भए पनि नभए पनि, वा तेरो क्षमता जति धेरै भए पनि, कतिपय कुराहरू मानव सोचद्वारा हासिल गर्न नसकिने हुन्छन्। जब तैँले कुनै कुरा बुझ्छस्, के त्यो तेरो आफ्नै सोचबाट आएको हुन्छ र? परमेश्वरका अभिप्रायहरू र पवित्र आत्माको कामका अभिप्रायहरूको कुरामा, यदि तँलाई पवित्र आत्माले अन्तर्दृष्टि दिनुभएन भने, तैँले त्यसबारे जान्ने कोही भेट्टाउनेछैनस्। परमेश्वर स्वयम्ले उहाँको अभिप्राय के हो भनेर बताउनुभएपछि मात्रै तँलाई थाहा हुनेछ। त्यसैले, तँमाथि कुनै कुरा आइपर्दा तैँले गर्नुपर्ने पहिलो कुरा भनेकै प्रार्थना हो। जब तैँले प्रार्थना गर्छस्, तब तैँले आफ्नो विचार, दृष्टिकोण र मनोवृत्ति परमेश्वरको अघि व्यक्त गर्नुपर्छ, र समर्पणको मानसिकतासाथ उहाँसित सत्यता खोजी गर्नुपर्छ; मानिसहरूले अभ्यास गर्नुपर्ने कुरा यही हो। यदि तँ झारा टार्ने काम मात्रै गर्छस् भने, तैँले कुनै पनि नतिजा हासिल गर्नेछैनस्, र त्यसपछि तैँले पवित्र आत्माले तँलाई अन्तर्दृष्टि दिनुभएन भनेर गुनासो गर्न मिल्नेछैन। मैले देखेको छु, परमेश्वरमाथिको विश्वासमा कतिपय मानिसहरूले धार्मिक संस्कार मात्र पालना गर्ने र धार्मिक क्रियाकलाप मात्र गर्ने गर्छन्; तिनीहरूको हृदयमा परमेश्वरको निम्ति कहीँकतै कुनै स्थान हुँदैन; तिनीहरूले पवित्र आत्माको कामलाई समेत इन्कार्छन्। तिनीहरूले प्रार्थना गर्ने वा परमेश्वरका वचनहरू पढ्ने गर्दैनन्। तिनीहरू केवल सेवामा गइरहन्छन्, र त्योभन्दा बढी केही गर्दैनन्। के यो परमेश्वरमाथिको विश्वास हो र? तिनीहरूले विश्वास गर्न त जारी नै राख्छन्, तर तिनीहरूको विश्वासमा परमेश्वरको अस्तित्व नै हुँदैन। तिनीहरूको हृदयमा परमेश्वर रहनुहुन्न, तिनीहरू अबउप्रान्त परमेश्वरलाई प्रार्थना गर्न चाहन्नन् र तिनीहरूले परमेश्वरका वचनहरू पढ्ने इच्छा गर्न छोडेका हुन्छन्। तब, के तिनीहरू गैरविश्वासी बनेका हुँदैनन् र? कतिपय अगुवा र सेवकहरू छन् जो विशेष गरी प्राय साधारण कामकाज सम्हाल्छन्। तिनीहरूले कहिल्यै जीवन प्रवेशमा ध्यान दिँदैनन्, बरु यी साधारण कामकाजलाई आफ्नो मुख्य काम मान्छन्। तिनीहरू कार्य प्रबन्धकभन्दा बढी अरू केही बनेका हुँदैनन्, र तिनीहरूले अगुवा र सेवकहरूको जरुरी काम एउटै पनि गर्दैनन्। फलस्वरूप, परमेश्वरलाई विश्वास गरेको बीसतीस वर्षपछि पनि, तिनीहरूसँग सुनाउनको लागि जीवन अनुभवको एक शब्द पनि हुँदैन, र तिनीहरूसँग परमेश्वरको बारेमा कुनै साँचो ज्ञान हुँदैन। तिनीहरूले केही वचन र धर्मसिद्धान्तहरू मात्र बोल्न सक्छन्। के यसरी तिनीहरू झूटा अगुवा बनेका हुँदैनन् र? यस्तो किन हुन्छ भने, परमेश्वरमाथिको विश्वासमा तिनीहरूले आफ्नो उचित कर्तव्य पूरा गर्ने वा सत्यता पछ्याउने गर्दैनन्। केही वचन र धर्मसिद्धान्तहरूप्रतिको आफ्नो बुझाइमा मात्रै भर परेर कुनै कुरा पनि हल हुँदैन। जाँच, विपद् वा रोगबिमारमा पर्नेबित्तिकै, तिनीहरूले परमेश्वरविरुद्ध गुनासो गर्छन्। तिनीहरूमा आफ्नो बारेमा कुनै साँचो ज्ञान हुँदैन, र तिनीहरूसित अलिकति पनि अनुभवात्मक गवाही हुँदैन। यसले देखाउँछ कि परमेश्वरमा विश्वास गरेको यतिका वर्षमा तिनीहरूले सत्यता पछ्याएकै छैनन्, तिनीहरू सतही कुराहरूमा मात्रै व्यस्त भएका छन्, र फलस्वरूप तिनीहरूले आफैलाई बरबाद पारेका छन्। मानिसहरूले परमेश्वरलाई विश्वास गरेको जति वर्ष भए पनि, तिनीहरू पतन नहुने, दुष्कर्म नगर्ने, वा निष्कासित नहुने सुनिश्चित गर्न चाहन्छन् भने, तिनीहरूले कम्तीमा पनि केही सत्यताको बुझाइ हासिल गरेको हुनुपर्छ। तिनीहरू कम्तीमा पनि यी कुराहरूद्वारा सुसज्जित हुनुपर्छ। कतिपय मानिसहरू प्रवचन सुन्दा आधामनका हुन्छन्, र परमेश्वरका वचनहरू मनन गर्दैनन्। तिनीहरू आफूमाथि जे आइपरे पनि सत्यता खोजी गर्दैनन्। आफूले सत्यता प्राप्त गरिसकेको छु भन्ठान्दै, तिनीहरू वचन र धर्मसिद्धान्तहरू बुझ्दा नै सन्तुष्ट हुन्छन्। अनि, जब परीक्षा आउँछ, तिनीहरूमा कुनै ज्ञान हुँदैन, र तिनीहरूको हृदय असन्तुष्टि र गुनासोले भरिएको हुन्छ, र त्यो तिनीहरूलाई पोख्न त मन लाग्छ तर बोल्न आँटै आउँदैन। के यस्ता मानिसहरू अत्यन्तै दयनीय हुँदैनन् र? कतिपय मानिसहरू कर्तव्यपालनमा सधैँ झाराटारुवा बन्छन्। तिनीहरू आफूलाई काटछाँट गरिँदा आफ्नो बारेमा मनन गर्ने वा आफूलाई चिन्ने प्रयास गर्दैनन्। तिनीहरूले सधैँ औचित्य साबित गर्न खोजिरहेका हुन्छन्, र त्यसैले तिनीहरूको कुरूपता विभिन्न तरिकाले बाहिर आउँछ, अनि अन्त्यसम्मै आफूलाई चिन्न नसकी, तिनीहरू खुलासा हुन्छन् र हटाइन्छन्। तब, तिनीहरूले ती धर्मसिद्धान्तहरू बुझेको के अर्थ हुन्छ र? त्यसको कुनै अर्थ हुँदैन। परमेश्वरमा जति नै वर्ष विश्वास गरे पनि, मानिसहरूले धर्मसिद्धान्तहरू बुझ्न र बोल्न मात्र सक्नु व्यर्थ हुन्छ। तिनीहरूले सत्यता प्राप्त गरेका हुँदैनन् बरु बाटो बिराएका हुन्छन्। त्यसकारण, जब तँमाथि कुनै कुरा आइपर्छ र तैँले परमेश्वरका अभिप्रायहरू खोजी गर्दै परमेश्वरलाई प्रार्थना गर्छस्, तब यदि समस्या समाधान गर्नु छ भने, मुख्य कुरा भनेको सत्यताको बुझाइ हासिल गर्न सक्नु हो। सही मार्ग यही हो, र तैँले निरन्तर यस्तो अभ्यासमा लागिपरिरहनुपर्छ।
१९९७
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।