भ्रष्ट स्वभावहरू कसरी हटाउने भन्‍नेसम्बन्धी वचनहरू (अंश ५५)

व्यक्तिले कर्तव्य निभाइरहेको भए पनि वा पेशागत ज्ञान सिकिरहेको भए पनि, ऊ लगनशील हुनुपर्छ, र उसले कामकुराहरू सिद्धान्तअनुसार सम्हाल्नुपर्छ। यी कुराहरूलाई लापरवाहीसाथ लिने वा झारा टार्ने काम नगर्। पेशागत ज्ञान अध्ययन गर्नु भनेको व्यक्तिले आफ्नो कर्तव्य राम्रोसित निभाउनको लागि हो, र व्यक्तिले यसमा प्रयास लगाउनैपर्छ—यो यस्तो कुरा हो, जसमा मानिसहरूले सहकार्य गर्नुपर्छ। यदि व्यक्ति आफ्नो कर्तव्य राम्ररी निभाउन अनिच्छुक बन्छ र पेशागत ज्ञान अध्ययन नगर्न सधैँ बहाना बनाउँछ भने, यसले देखाउँछ कि उसले आफूलाई निष्कपटतासाथ परमेश्‍वरप्रति समर्पित गरेको छैन, र ऊ उहाँको प्रेमको ऋण तिर्न आफ्नो कर्तव्य राम्ररी निभाउन चाहँदैन। के यो विवेक र समझ नभएको व्यक्ति होइन र? के यस्तो चरित्र भएको व्यक्ति समस्याजनक हुँदैन र? के उसलाई व्यवस्थापन गर्न अत्यन्तै गाह्रो हुँदैन र? व्यक्तिले जुनै पेशा अध्ययन गरिरहेको भए पनि, उसले सत्यता खोज्ने र सत्यता सिद्धान्तहरूअनुरूप काम गर्ने पनि गर्नुपर्छ। ऊ यो दायराबाहिर जानु हुँदैन, र गैरविश्‍वासीहरूझैँ अलमल्ल पर्नु हुँदैन। यी गैरविश्‍वासीहरूको कामप्रति कस्तो मनोवृत्ति हुन्छ? तिनीहरूमध्ये धेरैजसो, दिनभरि बरालिँदै हिँड्ने र समय बरबाद गर्ने, हरेक दिन न्यूनतम ज्यालाको निम्ति अल्याङटल्याङ गर्दै हिँड्ने, र सकेसम्म लापरवाही तरिकामा काम गर्ने गर्छन्। तिनीहरू कार्यकुशलता, वा विवेकको आधारमा गर्नुपर्ने कार्य-व्यवहारप्रति वास्ता गर्दैनन्, र तिनीहरूमा गम्भीर र जिम्मेवार मनोवृत्ति हुँदैन। तिनीहरू “यो मलाई सुम्पिइएको छ, त्यसैले यो नसक्किएसम्म मैले यसको जिम्मा लिनुपर्छ, यो मामला राम्ररी सम्हाल्नुपर्छ, र यो जिम्मेवारी काँधमा लिनुपर्छ” भनेर भन्दैनन्। तिनीहरूमा यस्तो विवेक हुँदैन। यसबाहेक गैरविश्‍वासीहरूसँग निश्‍चित किसिमको भ्रष्ट स्वभाव हुन्छ। जब तिनीहरूले अन्य मानिसहरूलाई पेशागत ज्ञान वा सिप सिकाउँछन्, तिनीहरू यस्तो विचार गर्छन्, “गुरुको सबै भेद चेलाले थाहा पाएपछि, गुरुले आफ्‍नो रोजीरोटी गुमाउँछ। यदि मैले जानेका सबै कुरा अरूलाई सिकाएँ भने, कसैले पनि मलाई फेरि उच्‍च नजरले हेर्ने वा प्रशंसा गर्नेछैनन् र मैले शिक्षकको रूपमा आफ्नो सबै हैसियत गुमाउनेछु। यसरी हुँदैन। मलाई थाहा भएको सबै कुरा मैले तिनीहरूलाई सिकाउनु हुँदैन, मैले केही कुरा त लुकाउनुपर्छ। मैले तिनीहरूलाई आफूले जानेको असी प्रतिशत मात्र सिकाउनुपर्छ र बाँकी कुरालाई आफूसँगै गोप्य राख्‍नुपर्छ; मेरा सीपहरू अरूको भन्दा उत्तम छन् भनेर देखाउने यो एकमात्र तरिका हो।” यो कस्तो किसिमको स्वभाव हो? यो छलीपन हो। अरूलाई शिक्षा दिँदा, सहयोग गर्दा, वा आफूले सिकेको कुरा बताउँदा, तँमा कस्तो मनोवृत्ति हुनुपर्छ? (मैले कुनै कसर छोड्नु हुँदैन, र कुनै कुरा लुकाउनु हुँदैन।) कुरा नलुकाउन व्यक्तिले के गर्नुपर्छ? यदि तँ “आफूले सिकेका कुराहरूको मामलामा म केही लुकाउँदिनँ, र तिमीहरू सबैलाई तीबारे भन्‍न मलाई केही समस्या छैन। यसै पनि, म तिमीहरूभन्दा राम्रो क्षमताको छु, र म योभन्दा उच्च कुराहरू बोध गर्न सक्छु” भनेर भन्छस् भने, त्यो अझै पनि कुरा लुकाउनु र गणनात्मक हुनु नै हो। अथवा, यदि तँ “म तिमीहरूलाई मैले सिकेका सबै आधारभूत कुराहरू सिकाउँछु, त्यो ठूलो कुरै हैन। मसँग अझै पनि उच्च ज्ञान छ, र तिमीहरूले यो सबै सिक्यौ भने पनि, तिमीहरू मजत्तिको सिपालु हुनेछैनौ” भनेर भन्छस् भने—यो अझै पनि केही कुरा लुकाउनु नै हो। यदि कुनै व्यक्ति अति स्वार्थी छ भने, ऊ परमेश्‍वरको आशिष्‌रहित हुनेछ। मानिसहरूले परमेश्‍वरका अभिप्रायको ख्याल राख्न जान्‍नुपर्छ। तैँले आफूले बोध गरेको सबैभन्दा महत्त्वपूर्ण र आवश्यक कुरा परमेश्‍वरको घरलाई योगदान दिनुपर्छ, ताकि परमेश्‍वरका चुनिएकाहरू ती कुराहरू सिकेर तिनमा निपुण हुन सकून्—परमेश्‍वरको आशिष् प्राप्त गर्ने यो एकमात्र तरिका हो, अनि उहाँले तँमाथि अझ धेरै कुराहरू बर्साउनुहुनेछ। भनिन्छ नि, “पाउनुभन्दा दिनु बढी आशिषित् हुनु हो।” आफ्ना सबै प्रतिभा र वरदानहरू परमेश्‍वरमा समर्पित गर्, तिनलाई आफ्नो कर्तव्य निभाउँदा प्रदर्शन गर् ताकि सबैले लाभ उठाउन सकून्, र आफ्नो कर्तव्यमा परिणामहरू हासिल गर्न सकून्। यदि तैँले सम्‍पूर्ण रूपमा आफ्ना वरदान र प्रतिभाहरू योगदान गर्छस् भने, त्यो कर्तव्य पूरा गर्ने सबैलाई र मण्डलीको कामलाई ती लाभदायक हुनेछन्। हरेकलाई केही सामान्य कुराहरू मात्र भनेर आफूले खुब राम्रो गरेको छु वा केही लुकाएको छैन भनेर नसोच्—यसो गरेर काम चल्दैन। तैँले मानिसहरूले अक्षरशः बुझ्न सक्‍ने केही सिद्धान्त वा कुराहरू मात्र सिकाउन सक्छस्, तर ती सार वा महत्त्वपूर्ण बुँदाहरू सिकारुहरूले बोध गर्न नसक्‍ने हुन्छन्। तैँले विस्तारमा नबताई वा विस्तृत विवरण नदिई अझ पनि सारांश मात्र दिन्छस् र यस क्रममा तैँले मनमनै सोच्छस् “जे भए पनि मैले तिमीलाई बताएको छु र केही कुरा पनि जानीजानी लुकाएको छैनँ। यदि तिमीले बुझेनौ भने तिम्रो क्षमता अत्यन्तै कमजोर भएर हो, यसैले मलाई दोष नदेऊ। परमेश्‍वरले तिमीलाई कसरी अगुवाइ गर्नुहुन्छ भन्‍ने कुरा मात्र हामीले हेर्नुपर्छ।” यस्तो सोचविचारमा कपट समावेश हुन्छ, होइन र? के यो स्वार्थी र घृणित होइन र? तेरो हृदयमा भएको र तैँले बुझ्‍ने सबै कुराहरू किन मानिसहरूलाई सिकाउन सक्दैनस्? यसको साटो, तैँले ज्ञानलाई किन लुकाउँछस्? यो तेरा अभिप्रायहरू र तेरो स्वभावमा भएको समस्या हो। जब धेरै मानिसहरूलाई पेसागत ज्ञानको कुनै विशेष पक्षको परिचय पहिलो पटक दिइन्छ, तिनीहरूले त्यसको शाब्दिक अर्थ मात्र बोध गर्छन्; मुख्य बुँदा र सार बोध गर्नका निम्ति केही समयको अभ्यास चाहिन्छ। यदि तैँले यी सूक्ष्म बुँदाहरूलाई पहिले नै राम्ररी बोध गरेको छस् भने, तैँले अरूलाई ती सिधै बताउनुपर्छ; तिनीहरूलाई घुमाउरो बाटो हिँड्ने र छामछाम छुमछुम गर्दै धेरै समय बिताउने नबना। यो तेरो जिम्मेवारी हो; तैँले गर्नुपर्ने कुरा यही हो। यदि तैँले आफूलाई लागेका मुख्य बुँदाहरू र सार भनिस् भने मात्र तैँले केही नलुकाइरहेको वा तँ स्वार्थी नभइरहेको हुनेछस्। तिमीहरूले अरूलाई सीपहरू सिकाउँदा, आफ्नो पेशाबारे बताउँदा, वा जीवन प्रवेशबारे सङ्गति गर्दा, यदि तिमीहरू आफ्ना भ्रष्ट स्वभावहरूका स्वार्थी र घृणित पक्षहरू समाधान गर्न सक्दैनौ भने, तिमीहरूले आफ्ना कर्तव्यहरू राम्ररी निभाउन सक्नेछैनौ, र त्यस्तो अवस्थामा, तिमीहरू मानवता वा विवेक र समझ भएका, वा सत्यता अभ्यास गर्ने मानिसहरू होइनौ। तैँले आफ्ना भ्रष्ट स्वभावहरू समाधान गर्न सत्यता खोज्नैपर्छ, र स्वार्थी अभिप्रायरहित बिन्दुमा पुगेर परमेश्‍वरका अभिप्रायलाई मात्र ख्याल गर्नुपर्छ। यो तरिकामार्फत, तँसँग सत्यता वास्तविकता हुनेछ। यदि मानिसहरूले सत्यता पछ्याएनन् र गैरविश्‍वासीहरूले झैँ शैतानी स्वभावहरूसाथ जिए भने, त्यो अति थकाइलाग्दो हुनेछ। गैरविश्‍वासीहरूमाझ प्रतिस्पर्धा व्याप्त हुन्छ। कुनै पनि सीप वा व्यवसायको सारज्ञानमा पोख्त हुनु चानचुने कुरा होइन, र अरू कसैले यो कुरा पत्ता लगाएर यसमा पोख्त भयो भने, तेरो रोजीरोटी खतरामा पर्नेछ। रोजीरोटी रक्षा गर्नको लागि, मानिसहरू यस्तो व्यवहार गर्न उत्प्रेरित हुन्छन्। तिनीहरू सधैँ सतर्क रहनुपर्छ—तिनीहरू जेमा पोख्त छन् त्यो तिनीहरूको सबभन्दा मूल्यवान् कुरा हो, त्यो तिनीहरूको रोजीरोटी, पूँजी, जीवन धान्‍ने आधार हो, र तिनीहरूले यो कसैको हातमा पर्न दिनु हुँदैन। तर तँ परमेश्‍वरमा विश्‍वास गर्छस्—यदि तैँले परमेश्‍वरको घरमा यसरी सोच्छस् र व्यवहार गर्छस् भने, तँ गैरविश्‍वासीभन्दा केही फरक छैनस्। यदि तैँले सत्यता पटक्कै स्विकार्दैनस् भने, र शैतानी दर्शनसाथ जिउन जारी राख्छस् भने, तँ साँच्‍चिकै परमेश्‍वरमा विश्‍वास गर्ने व्यक्ति होइनस्। कर्तव्य निभाउँदा, यदि तँसँग सधैँ स्वार्थी अभिप्रायहरू हुन्छन् र तँ छुद्र मानसिकताको बन्छस् भने, तैँले परमेश्‍वरको आशिष् पाउनेछैनस्।

परमेश्‍वरमा विश्‍वास गर्न थालेपछि, तैँले परमेश्‍वरका वचनहरू खाएको र पिएको छस्, र परमेश्‍वरका वचनहरूको न्याय र सजाय स्विकारेको छस्, तर के तैँले आफ्ना भ्रष्ट स्वभावहरूबारे चिन्तन गरेर तिनलाई चिनेको छस् त? के तेरा बोली र कार्यका सिद्धान्तहरू, विभिन्‍न कुराहरूप्रतिका तेरा दृष्टिकोणहरू र तेरो आचरणका सिद्धान्त र उद्देश्यहरू परिवर्तित भएका छन्? यदि तँ अझै पनि गैरविश्‍वासीभन्दा फरक छैनस् भने, परमेश्‍वरले तेरो उहाँमाथिको विश्‍वासलाई चिन्‍नुहुनेछैन। उहाँले तँ अझै पनि गैरविश्‍वासी होस्, र तँ अझै पनि गैरविश्‍वासीको मार्गमा हिँडिरहेको छस् भन्‍नुहुनेछ। त्यसैले, चाहे तेरो आचरणमा होस् वा चाहे तेरो कर्तव्यपालनमा होस्, तैँले परमेश्‍वरका वचनहरूमा आधारित भएर, र सत्यता सिद्धान्तहरूअनुसार अभ्यास गर्नुपर्छ, अनि सत्यता प्रयोग गरेर समस्याहरू समाधान गर्नुपर्छ, आफूले प्रकट गर्ने भ्रष्ट स्वभावहरू समाधान गर्नुपर्छ, र आफ्ना त्रुटिपूर्ण विचार, दृष्टिकोण र अभ्यासहरू समाधान गर्नुपर्छ। एक हिसाबले, तैँले आत्मचिन्तन र आत्मपरीक्षण गरेर समस्याहरू पत्ता लगाउनुपर्छ। अर्को हिसाबले, तैँले समस्याहरू समाधान गर्न सत्यता पनि खोज्नुपर्छ, र भ्रष्ट स्वभावहरू भेट्टाउँदा, तैँले तिनलाई तुरुन्तै समाधान गर्नुपर्छ, र तैँले आफ्नो देहविरुद्ध विद्रोह गर्नुपर्छ र आफ्नो इच्छा त्याग्नुपर्छ। एकपटक आफ्ना भ्रष्ट स्वभावहरू समाधान गरिसकेपछि, तैँले तिनमा आधारित भएर कार्य गर्नेछैनस्, र तँ आफ्ना अभिप्राय र रुचिहरू छोड्न, अनि सत्यता सिद्धान्तहरूअनुसार अभ्यास गर्न सक्षम हुनेछस्। परमेश्‍वरको साँचो अनुयायीमा हुनुपर्ने सत्यता वास्तविकता यही हो। यदि तँ आत्मचिन्तन गर्न, आफूलाई चिन्‍न, र यसरी समस्या समाधान गर्न सत्यता खोज्न सक्छस् भने, तँ सत्यता पछ्याउने व्यक्ति होस्। परमेश्‍वरमा विश्‍वास गर्न यस्तो सहकार्य चाहिन्छ, र यसरी अभ्यास गर्न सक्दा परमेश्‍वरबाट सबैभन्दा धेरै आशिषित भइन्छ। म किन यस्तो भन्दै छु? किनभने, तँ मण्डलीको कामको खातिर, परमेश्‍वरको घर र ब्रदर-सिस्टरहरूको हितको खातिर कार्य गरिरहेको छस्, र साथसाथै, तँ सत्यता अभ्यास पनि गरिरहेको छस्। परमेश्‍वरले अनुमोदन गर्नुहुने कुरा नै ठ्याक्कै यही हो; यी असल कार्यहरू हुन्, र यसरी सत्यता अभ्यास गरेर, तैँले परमेश्‍वरको गवाही दिइरहेको हुन्छस्। यद्यपि, यदि तैँले यसो गर्दैनस् भने, र तँ गैरविश्‍वासीहरूभन्दा फरक छैनस् भने, र यदि कामकुराहरू सम्हाल्न तैँले गैरविश्‍वासीहरूका सिद्धान्त, विधि र आचरणहरूअनुसार कार्य गरिरहेको छस् भने, के यो गवाही दिनु हो त? (होइन।) यसले के-कस्ता परिणामहरू ल्याउँछ? (यसले परमेश्‍वरलाई अपमानित तुल्याउँछ।) यसले परमेश्‍वरलाई अपमानित तुल्याउँछ! तँ यसले परमेश्‍वरलाई अपमानित तुल्याउँछ भनेर किन भन्छस्? (किनकि परमेश्‍वरले हामीलाई चुन्‍नुभएको छ, कति धेरै सत्यताहरू व्यक्त गर्नुभएको छ, हामीलाई व्यक्तिगत रूपमा मार्गदर्शन, भरणपोषण र मलजल गर्नुभएको छ, तैपनि हामी सत्यता स्विकार्ने वा अभ्यास गर्ने गर्दैनौँ, र हामी अझै पनि शैतानी कुराहरूमै आधारित भएर जिउँछौँ, र शैतानसामु गवाही दिँदैनौँ। यसले परमेश्‍वरलाई अपमानित तुल्याउँछ।) (यदि परमेश्‍वरको कुनै विश्‍वासीले उहाँले कैयौँ सत्यता र अभ्यासका मार्गहरूबारे सङ्गति गर्नुभएको सुनेको छ, तैपनि कार्य गर्दा, ऊ गैरविश्‍वासीहरूकै जीवनसँग व्यवहार गर्ने दर्शनअनुसार जिउँछ, र खास गरी ऊ छली र आफू स्वयम्‌को सेवा गर्ने खालको छ भने, ऊ गैरविश्‍वासीहरूभन्दा पनि अझै खराब र अझै दुष्ट हुन्छ।) सायद तिमीहरू सबैले यो कुराबारे अलिअलि बुझ्छौ होला। मानिसहरूले परमेश्‍वरका वचनहरू खाने र पिउने गर्छन्, परमेश्‍वरका सबै भरणपोषणको आनन्द लिन्छन्, तैपनि तिनीहरू अझै पनि शैतानलाई नै पछ्याउँछन्। तिनीहरूमाथि जस्तोसुकै कुराहरू वा कठिन परिस्थिति आइपरे पनि, तिनीहरू अझै परमेश्‍वरका वचनहरू सुन्‍न वा उहाँमा समर्पित हुन सक्दैनन्, तिनीहरू सत्यता खोज्दैनन्, र आफ्नो गवाहीमा दृढ भई खडा हुँदैनन्। के यो परमेश्‍वरलाई धोका दिनु होइन र? यो वास्तवमै परमेश्‍वरलाई धोका दिनु हो। जब परमेश्‍वरलाई तेरो खाँचो पर्छ, तँ उहाँको पुकार वा वचन सुन्दैनस्, बरु शैतानको कुरा सुन्दै, शैतानलाई पछ्याउँदै, शैतानकै तर्क र त्यसकै सिद्धान्त र जीवन विधिहरू अभ्यास गर्दै गैरविश्‍वासीहरूका प्रचलनहरू पछ्याउँछस्। यो परमेश्‍वरलाई धोका दिनु हो। के परमेश्‍वरलाई धोका दिनु भनेको ईश्‍वरनिन्दा गर्नु र उहाँलाई अपमानित तुल्याउनु होइन र? अदनको बगैँचामा रहेका आदम र हव्वाबारे सोच्—परमेश्‍वरले भन्‍नुभयो, “असल र खराबको ज्ञानको रूखबाट तैँले खानु हुँदैन: किनभने तैँले त्यसबाट खाएको दिन तँ निश्‍चय नै मर्नेछस्” (उत्पत्ति २:१७)। यी कसका वचन हुन्? (परमेश्‍वरका वचनहरू हुन्।) के यी साधारण वचनहरू हुन्? (होइनन्।) ती के हुन् त? ती सत्यता हुन्, ती मानिसहरूले पालन गर्नुपर्ने कुरा र अभ्यास गर्नुपर्ने मार्ग हुन्। परमेश्‍वरले असल र खराबको ज्ञानको रूखप्रति कसरी व्यवहार गर्ने भनेर मानिसहरूलाई भन्‍नुभयो। अभ्यासको सिद्धान्त त्यसबाट नखानु भन्‍ने थियो, र त्यसपछि उहाँले मानिसहरूलाई त्यसको परिणाम, अर्थात् तिनीहरू त्यसबाट खाएको दिन पक्कै मर्नेछन् भनेर बताउनुभयो। मानिसहरूलाई अभ्यासको सिद्धान्त के हो र के जोखिम छ भनेर भनिएको थियो। यो सुनेपछि, तिनीहरूले ती वचन बुझे त? कि बुझेनन्? (तिनीहरूले ती वचन बुझे।) तिनीहरूले वास्तवमै परमेश्‍वरका वचनहरू बुझे, तर पछि तिनीहरूले सर्पले यसो भनेको सुने, “त्यो रूखबाट खाएको दिन तिमीहरू पक्कै मर्नेछौ भनेर परमेश्‍वरले भन्‍नुभयो, तर तिमीहरू पक्कै मर्नेछैनौ। खाएर हेर,” अनि शैतान बोलिसकेपछि, तिनीहरूले त्यसको कुरा माने, र असल र खराबको ज्ञानको रूखको फल खाए। यो परमेश्‍वरलाई धोका दिनु थियो। तिनीहरूले परमेश्‍वरको वचन सुनेर ती वचनहरूअनुसार अभ्यास गर्ने छनौट गरेनन्। तिनीहरूले परमेश्‍वरले आज्ञा गर्नुभएअनुसार गरेनन्, बरु त्यसको सट्टा शैतानका कुराहरू पत्यार र स्वीकार गरेर त्यसकै कुराहरूअनुसार कार्य गरे। अनि, यसको परिणाम के भयो? तिनीहरूको व्यवहारको प्रकृति र कार्यशैलीले परमेश्‍वरलाई धोका दियो र अपमानित तुल्यायो, र परिणामस्वरूप तिनीहरू शैतानद्वारा भ्रष्ट तुल्याइए र पतित भए। आदम र हव्वा त्यतिबेला जस्ता थिए अहिलेका मानिसहरू पनि त्यस्तै छन्। तिनीहरूले परमेश्‍वरका वचनहरू सुन्छन् तर अभ्यास गर्दैनन्, तिनीहरूले सत्यता बुझ्छन् तर पनि अभ्यास गर्दैनन्। यसको प्रकृति आदम र हव्वाले परमेश्‍वरका वचनहरू वा आज्ञा नसुनेको जस्तै नै छ—यो परमेश्‍वरलाई धोका दिनु र अपमानित तुल्याउनु हो। जब मानिसहरूले परमेश्‍वरलाई धोका दिन्छन् र उहाँलाई अपमानित तुल्याउँछन्, तब परिणामस्वरूप तिनीहरू शैतानद्वारा भ्रष्ट र नियन्त्रित पारिन्छन्, तिनीहरू आफ्नै शैतानी स्वभावहरूद्वारा नियन्त्रित भइरहन्छन्। त्यसैले, तिनीहरू शैतानको प्रभावबाट मुक्त हुन वा त्यसको ललाइफकाइ, प्रलोभन, आक्रमण, षड्यन्त्र र भक्षणबाट कहिल्यै उम्कन सक्दैनन्। यदि तँ यी कुराहरूबाट कहिल्यै मुक्त हुन सक्दैनस् भने, तेरो जीवन निकै पीडादायी र समस्याग्रस्त हुनेछ, त्यसमा कुनै शान्ति र खुशी हुनेछैन। तैँले सबै कुरा खोक्रो भएको महसुस गर्नेछस् र यो सब अन्त्य गर्न तैँले मृत्युसमेत रोज्न सक्छस्। यही नै शैतानको शक्तिअन्तर्गत जिउनेहरूको दयनीय अवस्था हो।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्