परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४३२

परमेश्‍वरले मानिसहरूको लागि तय गर्नुभएका मापदण्डहरू त्यति धेरै उच्‍च छैनन्। मानिसहरूले लगनशील र इमानदार भई अभ्यास गरे भने, “उत्तीर्णाङ्क” प्राप्त गर्नेछन्। साँचो कुरा भन्‍ने हो भने, सत्यताको बुझाइ, ज्ञान र बोध प्राप्त गर्नु सत्यता अभ्यास गर्नुभन्दा धेरै जटिल छ। पहिला, तैँले आफूले जति बुझ्छस् त्यति अभ्यास गर् अनि तैंले जे बोध गरेको छस् त्यो अभ्यास गर्। यस तरिकाले, तैँले सत्यताको साँचो ज्ञान र बोध क्रमिक रूपमा हासिल गर्दै जानेछस्। पवित्र आत्माले यिनै चरण र माध्यममार्फत काम गर्नुहुन्छ। यदि यस तरिकाले आज्ञाकारिताको अभ्यास गरिनस् भने, तैँले केही पनि हासिल गर्नैछैनस्। यदि तँ सधैँ आफ्नै इच्छाअनुसार काम गर्छस् र आज्ञाकारिता अभ्यास गर्दैनस् भने, के पवित्र आत्माले तँभित्र काम गर्नुहुनेछ? के पवित्र आत्माले तैँले चाहेअनुसार काम गर्नुहुन्छ? कि उहाँले तँसित जे कमी छ त्योअनुसार र परमेश्‍वरका वचनहरूको अधारमा काम गर्नुहुन्छ? यदि तँलाई यो कुरा स्पष्ट छैन भने, तँ सत्यताको वास्तविकतामा प्रवेश गर्न सक्‍नेछैनस्। किन धेरैजसो मानिसहरू परमेश्‍वरका वचनहरू पढ्नमा लागिपर्छन्, तर तिनीहरूले केवल ज्ञान मात्र प्राप्त गर्छन् र त्यसपछि वास्तविक मार्गको बारेमा केही पनि भन्‍न सक्दैनन्? के तँलाई ज्ञान धारण गर्नु नै सत्य धारण गर्नु हो भन्‍ने लाग्छ? के त्यो एक भ्रमित दृष्टिकोण होइन र? तैँले समुद्र किनारमा जत्ति धेरै बालुवाका कण छन्, त्यति नै धेरै ज्ञानका टुक्राहरूको कुरा बोल्न सक्छस् होला, तर तीमध्ये कुनैमा पनि वास्तविक मार्ग हुँदैन। के तैँले यसो गरेर मानिसहरूलाई मूर्ख बनाउने कोसिस गरिरहेको छैनस् र? के तैँले समर्थन गर्ने कुनै सार नभएको खोक्रो तमासा प्रदर्शन गरिरहेको छैनस् र? यस्ता सबै व्यवहार मानिसहरूका लागि हानिकारक हुन्छन्! सिद्धान्त जति उच्‍च हुन्छ र त्यो जति धेरै वास्तविकतारहित हुन्छ, त्यति नै धेरै यो मानिसहरूलाई वास्तविकताभित्र लैजान असक्षम हुन्छ। सिद्धान्त जति उच्‍च हुन्छ, त्यति नै बढी त्यसले तँलाई परमेश्‍वरलाई चुनौती दिने र विरोध गर्ने बनाउँछ। आध्यात्मिक सिद्धान्तलाई शीरमा नचढाओ—यसको केही फाइदा छैन! कतिपय मानिसले दशकौँदेखि आध्यात्मिक सिद्धान्तबारे कुरा गरिरहेका छन्, र तिनीहरू अध्यात्मवादका दिग्गज भएका छन्, तर आखिरमा तिनीहरू पनि सत्यताको वास्तविकतामा प्रवेश गर्न असफल हुन्छन्। किनभने तिनीहरूले परमेश्‍वरका वचनहरू अभ्यास वा अनुभव गरेका छैनन्, तिनीहरूसित अभ्यासका सिद्धान्त वा मार्ग छैनन्। यस्ता मानिसहरूसित सत्यताको वास्तविकता हुँदैन, अनि कसरी तिनीहरूले अरूलाई परमेश्‍वरप्रतिको विश्‍वासको सही मार्गमा ल्याउन सक्छन्? तिनीहरूले मानिसहरूलाई बहकाउन मात्र सक्छन्। के यो अरूलाई र आफैलाई हानि गर्नु होइन र? कम्तीमा पनि, तँ आफ्नो ठीक अगाडि भएका वास्तविक समस्या समाधन गर्न सक्षम हुनैपर्छ। भन्‍नुको अर्थ, तँ परमेश्‍वरका वचनहरू अभ्यास र अनुभव गर्न अनि सत्यतालाई व्यवहारमा उतार्न सक्षम हुनैपर्छ। यो मात्र परमेश्‍वरप्रतिको आज्ञाकारिता हो। तँ जीवनमा प्रवेश गरेको छस् भने मात्र, परमेश्‍वरको लागि काम गर्न योग्य हुन्छस् र तँ इमानदारीसाथ परमेश्‍वरमा समर्पित हुँदा मात्र, तैँले परमेश्‍वरबाट अनुमोदन पाउन सक्छस्। सधैँभरि भव्य अभिव्यक्तिहरू नदे र ठूलो सिद्धान्तको कुरा नगर्; यो वास्तविक होइन। तैँले मानिसहरूलाई तेरो प्रशंसा गर्न लगाउनका लागि आध्यात्मिक सिद्धान्तबारे आडम्बरी कुरा गर्नु भनेको परमेश्‍वरको गवाही दिनु होइन, त्यो त आफ्नै प्रदर्शन गर्नु मात्र हो। यसले मानिसहरूलाई फिटिक्‍कै फाइदा पुर्‍याउँदैन र तिनीहरूमा कुनै सुधार ल्याउँदैन, अनि यसले तिनीहरूलाई सजिलैसित आध्यात्मिक सिद्धान्तको आराधना गर्ने र सत्यता अभ्यास गर्नमा ध्यान नदिने बनाउँछ—अनि के यो मानिसहरूलाई बहकाइरहेको कुरा होइन र? यसो गरिरहँदा, अनेकौँ खोक्रो सिद्धान्त र नियमहरू जन्मनेछन्, जसले मानिसहरूलाई विवश र फन्दामा पार्नेछन्; यो साँच्‍चै नै लज्‍जास्पद कुरा हो। त्यसैले, जे वास्तविक छ त्यो धेरै बोल्, साँच्‍चै अस्तित्वमा रहेका समस्याहरूबारे धेरै कुरा गर् र वास्तविक समस्याहरू समाधान गर्नलाई सत्यता खोज्न धेरै समय बिता; सबैभन्दा महत्त्वपूर्ण कुरा यही हो। सत्यता अभ्यास गर्न सिक्‍नका लागि ढिलो नगर्: वास्तविकतामा प्रवेश गर्ने मार्ग यही हो। अरूको अनुभव र ज्ञानलाई आफ्नो निजी सम्पत्ति नठान् र अरूको प्रशंसा पाउन तिनलाई उचालेर नदेखा। तैँले तेरो आफ्नै जीवन प्रवेश प्राप्त गर्नुपर्छ। तैँले सत्यता अभ्यास गरेर र परमेश्‍वरको आज्ञापालन गरेर मात्र जीवन प्रवेश प्राप्त गर्नेछस्। यो नै हरेक व्यक्तिले अभ्यास र ध्यान केन्द्रित गर्नुपर्ने कुरा हुनुपर्छ।

तैंले जे सङ्गति गर्छस् त्यसले यदि मानिसहरूलाई हिँड्ने मार्ग दिन सक्छ भने, त्यो तँसित वास्तविकता भएको जस्तै अवस्था हो। जुनसुकै कुरा गरे पनि तैंले मानिसहरूलाई अभ्यासमा ल्याउनुपर्छ र उनीहरूले पछ्याउन सक्‍ने मार्ग दिनुपर्छ। उनीहरूलाई ज्ञान मात्र लिन नदे; त्योभन्दा महत्त्वपूर्ण कुरा भनेको हिँड्ने मार्ग प्राप्त गर्नु हो। परमेश्‍वरमा विश्‍वास गर्नको लागि, मानिसहरूले परमेश्‍वरको काममा उहाँले डोऱ्याउनुभएको मार्गमा हिँड्नुपर्छ। भन्‍नुको अर्थ, परमेश्‍वरमा विश्‍वास गर्ने प्रक्रिया भनेको पवित्र आत्माले डोऱ्याउनुहुने मार्गमा हिँड्ने प्रक्रिया हो। त्यसरी नै, चाहे जे भए पनि तँसँग आफूले हिँड्न सक्‍ने एउटा मार्ग हुनुपर्छ, र तैंले परमेश्‍वरद्वारा सिद्ध पारिइने मार्गमा पाइला टेक्‍नुपर्छ। धेरै पछाडि नपर्, र आफैलाई धेरै कुराहरूको चिन्तामा नपार्। परमेश्‍वरले डोऱ्याउनुभएको बाटोमा बाधा-व्यवधान खडा नगरी हिँडिस् भने मात्र तैँले पवित्र आत्माको काम प्राप्त गर्न सक्‍नेछस् र प्रवेश गर्ने मार्ग पाउनेछस्। यसलाई मात्र परमेश्‍वरका अभिप्रायहरूको अनुरूप बनेको र मानवजातिको कर्तव्य पूरा गरेको मानिन्छ। यस प्रवाहमा रहेको एक व्यक्तिको रूपमा, प्रत्येक व्यक्तिले आफ्नो कर्तव्य राम्रोसँग पूरा गर्नुपर्छ, मानिसहरूले जे गर्नुपर्ने हो त्यो काम अझै धेरै गर्नुपर्छ, र स्वेच्छाचारी व्यवहार गर्नु हुँदैन। काम गरिरहेका मानिसहरूले आफ्ना वचनहरू स्पष्ट पार्नैपर्छ, पछ्याउने मानिसहरूले कठिनाइ सहन र आज्ञापालन गर्नमा धेरै ध्यान केन्द्रित गर्नुपर्छ, र सबै जना आफ्नो स्थानमै रहिरहनुपर्छ, कोही पनि पङ्‌क्तिबाट बाहिर निस्कनु हुँदैन। अभ्यास कसरी गर्नुपर्छ र आफूले कुन कार्य पूरा गर्नुपर्छ भन्‍ने विषयमा प्रत्येक व्यक्ति हृदयदेखि नै स्पष्ट हुनुपर्छ। पवित्र आत्माले डोऱ्याउनुभएको बाटोमा हिँड्; गलत बाटोमा नजा वा नभड्की। तैंले आजको कामलाई स्पष्ट रूपमा देख्‍नुपर्छ। आजको कामका साधनहरूमा प्रवेश गर्नु नै तिमीहरूले अभ्यास गर्नुपर्ने कुरा हो। तँ प्रवेश गर्नुपर्ने पहिलो कुरा यही नै हो। अन्य कुराहरूमा थप वचनहरू खेर नफाल्। परमेश्‍वरको घरको आजको काम गर्नु नै तिमीहरूको जिम्मेवारी हो, आजको कामको तौरतरिकामा प्रवेश गर्नु नै तिमीहरूको कर्तव्य हो, र आजको सत्यता अभ्यास गर्नु नै तिमीहरूले वहन गर्नुपर्ने बोझ हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। वास्तविकतामा अझ बढी ध्यान देऊ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ५४९

तिमीहरूले अहिले के खोज्छौ? परमेश्‍वरद्वारा सिद्ध हुनु, परमेश्‍वरलाई चिन्नु, परमेश्‍वरलाई प्राप्त गर्नु—वा सायद तँ ९० को दशकको पत्रुसको...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १३७

परमेश्‍वरलाई आफ्नो अद्वितीय मालिकको रूपमा स्वीकार गर्नु नै मुक्ति पाउने पहिलो कदम हो परमेश्‍वरको अख्तियार सम्‍बन्धी सत्यताहरू हरेक...

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ३९४

परमेश्‍वरमा आफ्नो विश्‍वासको सम्बन्धमा मानिसहरूको सबै भन्दा ठूलो गल्ती उनीहरूले मुखले मात्र विश्‍वास गर्नु, र परमेश्‍वरलाई आफ्नो दैनिक...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्