परमेश्‍वरका दैनिक वचनहरू: गन्तव्य र परिणामहरू | अंश ५९०

जितको काम पूरा भएपछि, मानिसलाई एउटा सुन्दर देशमा ल्याइनेछ। यो जीवन अवश्य अझै यही पृथ्वीमा नै हुनेछ तर आजको मानिसको जीवनभन्दा पूरै विपरीत हुनेछ। यो जीवन सम्पूर्ण मानवजातिलाई जितिएपछि मानवजातिले पाउने जीवन हुनेछ, यो यस पृथ्वीमा मानिसको निम्ति एउटा नयाँ सुरुवात हुनेछ अनि मानिसको निम्ति यस्तो जीवन पाउनु मानवजाति एउटा नयाँ र सुन्दर राज्यभित्र प्रवेश गरेको छ भन्‍ने कुराको प्रमाण हुनेछ। यो पृथ्वीमा मानिस अनि परमेश्‍वरको जीवनको सुरुवात हुनेछ। यस्तो सुन्दर जीवनको आधार पक्कै पनि मानिस शुद्ध गरिएपछि र जितिएपछि, उसले आफूलाई सृष्टिकर्ताको सामु समर्पित गर्छ भन्‍ने हुनुपर्छ। यसैले जितको काम भनेको मानवजाति सुन्दर गन्तव्यमा प्रवेश गर्नुअघिको परमेश्‍वरको कामको अन्तिम चरण हो। त्यस्तो जीवन नै भविष्यमा मानिसले पाउने पृथ्वीको जीवन हो, अत्यन्तै सुन्दर जीवन, मानिसले तृष्णा गर्ने जीवन, संसारको इतिहासमा यसभन्दा पहिले मानिसले कहिल्यै हासिल नगरेको जीवन। ६,००० वर्षे व्यवस्थापन कार्यको अन्तिम परिणाम यही नै हो। मानिसले सबैभन्दा बढी तृष्णा गर्ने कुरा यही हो अनि मानिसको निम्ति परमेश्‍वरको प्रतिज्ञा पनि यही नै हो। तर, यस्तो प्रतिज्ञा तुरुन्तै पूरा हुन सक्दैन: मानिस तब भावी गन्तव्यभित्र प्रवेश गर्नेछ जब आखिरी दिनहरूको काम पूरा भएको हुन्छ र उसलाई पूर्णरूपमा जितिएको हुन्छ अर्थात् शैतान पनि पूर्ण रूपले पराजित भएको हुन्छ। मानिस शोधन गरिसकिएपछि ऊ पापपूर्ण स्वभावरहित हुन्छ किनकि परमेश्‍वरले शैतानलाई पराजित गरिसक्नुभएको हुनेछ, यसको अर्थ त्यहाँ कुनै विरोधी शक्तिहरूको अतिक्रमण हुनेछैन अनि मानिसको देहलाई आक्रमण गर्ने कुनै विरोधी शक्तिहरू हुनेछैन। यसैले मानिस स्वतन्त्र र पवित्र हुनेछ—उसले अनन्ततामा प्रवेश गरिसकेको हुनेछ। अन्धकारका विरोधी शक्तिहरूलाई बन्धनमा राखिसकिएपछि मात्रै मानिस जतासुकै गए तापनि स्वतन्त्र हुन्छ अनि ऊ विद्रोहीपन वा विरोधरहित हुनेछ। शैतानलाई बन्धनभित्र राखिनुपर्छ र मानिसका सबै कुरा ठीक-ठाक हुनेछ; शैतानले अझै पृथ्वीमा सबै ठाउँमा समस्या उत्पन्न गर्ने भएकोले र परमेश्‍वरको व्यवस्थापन यसको लक्ष्यमा पुग्न बाँकी रहेकोले हालको स्थिति अस्तित्वमा रहेको हो। शैतानलाई पराजित गरिएपछि मानिस पूर्ण रूपले स्वतन्त्र हुनेछ; जब मानिसले परमेश्‍वरलाई प्राप्त गर्छ र शैतानको अधिकार-क्षेत्रबाट बाहिर आउँछ, उसले धार्मिकताको सूर्यलाई हेर्नेछ। सामान्य मानिसले पाउनुपर्ने जीवन पुनर्स्थापित हुनेछ; सामान्य मानिसले अधिकार गर्नुपर्ने सबै कुराहरू—जस्तै असल र खराब छुट्याउन सक्ने क्षमता, आफूले कसरी खानुपर्छ र पहिरिनुपर्छ भन्‍ने समझ र सामान्य प्रकारले जिउने क्षमता—यी सबै कुरालाई पुनर्प्राप्ति गरिनेछ। यदि हव्वा सर्पद्वारा परीक्षित नभएको भए सुरुमा मानिस सृष्टि गरिएपछि ऊसित यस प्रकारको जीवन हुनेथियो। उसले खानेथियो, पहिरिनेथियो र पृथ्वीमै सामान्य जीवन जिउनेथियो। मानिस भ्रष्ट भइसकेपछि यो जीवन एउटा अप्राप्य भ्रम भयो र आज पनि मानिसले त्यस्ता कुराहरूको कल्पना गर्ने साहस गर्न सक्दैन। वास्तवमा, मानिसले तृष्णा गरेको यो सुन्दर जीवन एउटा आवश्यकता हो। यदि मानिस त्यस्तो गन्तव्यरहित भएको भए, पृथ्वीमा उसको भ्रष्ट जीवन कहिल्यै टुङ्गिदैन थियो अनि यदि यस्तो सुन्दर जीवन नभएको भए, शैतानको भाग्य वा यस युग जसमा शैतानको पृथ्वीमाथि शक्ति छ, त्यसको अन्त्य हुँदैनथियो। मानिस अन्धकारका शक्तिहरू पुग्न नसक्ने राज्यभित्र आउनुपर्छ र जब मानिस त्यहाँ आइपुग्छ, शैतान पराजित भइसकेको छ भन्‍ने कुरा यसले प्रमाणित गर्नेछ। यस प्रकारले जब शैतानको कुनै बाधा हुँदैन तब परमेश्‍वर स्वयमले मानवजातिलाई नियन्त्रण गर्नुहुनेछ र उहाँले मानिसको सम्पूर्ण जीवनमाथि हुकुम चलाउनुहुनेछ र नियन्त्रण गर्नुहुनेछ; तब मात्र शैतान साँचो रूपमा हारेको हुनेछ। मानिसको जीवन आज मुख्यतया एउटा अशुद्धताको जीवन हो; यो अझै पनि कष्ट र पीडाको जीवन हो। यसलाई शैतानको पराजय भन्न सकिँदैन; मानिस अझै पनि कष्टको सागरदेखि उम्‍कन बाँकी नै छ, मानिसको जीवनभरिको कठिनाइदेखि वा शैतानको प्रभावदेखि उम्कन बाँकी नै छ र ऊसित अझै परमेश्‍वरको अति सूक्ष्म ज्ञान मात्रै छ। मानिसको सबै कठिनाइ शैतानद्वारा सृष्टि गरिएको थियो; मानिसको जीवनभरि पीडा ल्याउने शैतान नै थियो र शैतानलाई बन्धनमा राखिएपछि मात्रै मानिस कष्टको सागरदेखि पूर्ण रूपले उम्कनेछ। तापनि, शैतानको बन्धन मानिसलाई र उसको हृदयलाई जितिसकेपछि अनि मानिसलाई शैतानसितको युद्धमा लुटको माल बनाइसकेपछि मात्रै हासिल गरिन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। मानिसको सामान्य जीवन पुनर्स्थापना गर्नु र उसलाई सुन्दर गन्तव्यमा लिएर जानु

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३०५

तिमीहरूले सधैँ ख्रीष्टलाई हेर्ने इच्छा गर्छौ, तर म तिमीहरूलाई आग्रह गर्छु कि तिमीहरूले आफैलाई त्यति उच्च स्थानमा नराख; जो-कोहीले पनि...

परमेश्‍वरका दैनिक वचनहरू: गन्तव्य र परिणामहरू | अंश ५९५

यी सबै थोकहरूको अन्तको निकटताले परमेश्‍वरको कामको पूर्णताको साथै मानवजातिको विकासको अन्तको सङ्केत गर्छ। यसको अर्थ शैतानद्वारा भ्रष्ट...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १५७

शैतानले मानिसलाई भ्रष्ट तुल्याउने तेस्रो तरिका परम्‍परागत संस्कृति हो। परम्‍परागत संस्कृति र अन्धविश्‍वासको बीचमा विभिन्‍न समानताहरू छन्,...

परमेश्‍वरका दैनिक वचनहरू: धार्मिक धारणाहरू खुलासा गर्नु | अंश २८३

परमेश्‍वरको कार्यमा सधैँ नयाँ प्रगतिहरू भइरहने हुनाले, नयाँ कार्यहरू पैदा हुने क्रममा अप्रचलित र पुरानो हुँदै जाने कार्य पनि छन्। यी...