विषयवस्तु बाह्र: तिनीहरू आफूसँग हैसियत वा आशिष्‌ प्राप्त गर्ने आशा नहुँदा पछि हट्न चाहन्छन् (खण्ड तीन)

इ. आफू बरखास्त हुनुप्रति ख्रीष्टविरोधीहरूको व्यवहार

हामीले भर्खरै ख्रीष्टविरोधीहरूका दुइटा प्रकटीकरणबारे सङ्गति गरेका छौँ: एउटा हो, तिनीहरू काटछाँटमा पर्दा, र अर्को चाहिँ तिनीहरूका कर्तव्य अह्रावटहरू समायोजित गरिँदाको हो। हाम्रो सङ्गति ख्रीष्टविरोधीहरूलाई यस्ता कुराहरू आइपर्दा तिनीहरूले कस्तो मनोवृत्ति राख्छन् र कस्ता निर्णयहरू गर्छन् भन्नेमा केन्द्रित रहेको छ। अवश्य नै, ख्रीष्टविरोधीहरूलाई काटछाँट गरिँदा वा तिनीहरूका कर्तव्य अह्रावटहरू समायोजित गरिँदा तिनीहरूको दृष्टिकोण र मनोवृत्ति जे भए पनि, तिनीहरू सधैँ यी कुरालाई आफू आशिषित् हुनु वा नहुनुसँग जोड्छन्। यदि तिनीहरूलाई आफू आशिषित् नहुने, आफूसँग कुनै आशा छैन भन्ने निश्‍चित भयो भने, तिनीहरू स्वाभाविक रूपमा पछि हट्नेछन्। कुनै सामान्य व्यक्तिका लागि, कुनै महत्त्वाकाङ्क्षा वा चाहना नभएका व्यक्तिका लागि आफू काटछाँटमा पर्नु वा आफ्नो कर्तव्य अह्रावट समायोजित गरिनु वास्तवमा ठूलो कुरा हुँदैन। न त त्यसले उसमा कुनै ठूलो प्रभाव नै पार्नेछ। उसको कर्तव्य निर्वाह गर्ने अधिकार खोसिएको हुँदैन, न त मुक्ति पाउने उसको आशा नै खोसिएको हुन्छ, त्यसैले सामान्य व्यक्तिले अनावश्यक प्रतिक्रिया जनाउनु, डराउनु वा चोट महसुस गर्नु वा आकस्मिक योजनाहरू बनाउन थाल्नु आवश्यक हुँदैन। तर, ख्रीष्टविरोधीका हकमा त्यस्तो हुँदैन। उसले यी कुरालाई एकदमै गम्भीर मामिलाका रूपमा हेर्छ, किनभने उसले यी कुरालाई आशिषित् हुनुसँग जोड्छ, र यसले अन्ततः उसमा हरप्रकारका विद्रोही सोच र व्यवहार पैदा गर्छ, जसले त्यसपछि पछि हट्ने र परमेश्‍वरलाई छोड्ने विचार र योजना उत्पन्न गराउँछ। आफूलाई यस्ता अति साधारण कुराहरू आइपर्दासमेत ख्रीष्टविरोधीहरूमा पछि हट्ने विचार पैदा हुन्छ। त्यसैले, परमेश्‍वरका घरमा हैसियत भएको र महत्त्वपूर्ण कामको जिम्मेवार रहेको व्यक्तिले आफू बरखास्त हुनुपर्दा कस्तो मनोवृत्ति देखाउँछ? उसले त्यसलाई कसरी सम्हाल्छ र उसले के निर्णय गर्छ? यस्ता कुराहरू झनै व्याख्यात्मक हुन्छन्। एक ख्रीष्टविरोधीका लागि, हैसियत, शक्ति र प्रतिष्ठा उसको सबैभन्दा महत्त्वपूर्ण फाइदा, र उसले आफ्नो जीवनबराबर मान्ने कुरा हुन्। यसकारण, जब कुनै ख्रीष्टविरोधी बरखास्त हुन्छ, जब उसले “अगुवा” पदवी गुमाउँछ र ऊसँग अब हैसियत हुँदैन, मतलब उसले शक्ति र प्रतिष्ठा गुमाएको हुन्छ, र त्यसउप्रान्त उसले सम्मान, साथ र मान पाइने विशेष व्यवहार पाउनेछैन, तब हैसियत र शक्तिलाई जीवन नै ठान्ने ख्रीष्टविरोधीका लागि त्यो पूर्णतया अस्वीकार्य हुन्छ। जब कुनै ख्रीष्टविरोधीलाई बरखास्त गरिन्छ, उसको पहिलो प्रतिक्रिया उसलाई बिजुलीको झट्का लागेजस्तो हुन्छ, मानौँ आकासै खसेको छ, र उसको संसारै ध्वस्त भएको छ। उसले जुन कुरामा आशा राख्न सकेको थियो त्यो गुमेको छ, हैसियतका सबै लाभसित जिउने उसको मौका गुमेको छ, र खराब काम गर्दै बेलगाम दौडन लगाउने हुटहुटी गुमेको छ। यो कुरा उसलाई सबैभन्दा अस्वीकार्य हुन्छ। उसले सुरुमा यस्तो सोच्छ, “अब मेरो हैसियत गुमेको छ, मानिसहरूले मलाई कसरी हेर्लान्? मेरा गृह-नगरका दाजुभाइ-दिदीबहिनीहरूले मलाई के सोच्लान्? मलाई चिन्ने सबैले मलाई कसरी हेर्लान्? के तिनीहरूले अझै मलाई खुसामद गर्लान् त? के तिनीहरू मसँग यति मिलनसार होलान् त? के तिनीहरूले मलाई हर मोडमा साथ देलान् त? के तिनीहरू अझै पनि मेरो अघिपछि गर्छन् त? के तिनीहरूले मेरा जीवनमा आवश्यक पर्ने सबै कुराको अझै ख्याल गर्लान् त? मैले तिनीहरूसँग कुराकानी गर्दा, के तिनीहरूले अझै पनि शिष्ट भएर मलाई मुस्कानसाथ स्वागत गर्लान् त? मैले हैसियतविना कसरी जीवन धान्ने होला? त्यसपछिको मार्गमा म कसरी हिँड्ने होला? अरू मानिसहरूमाझ मैले कसरी टेको पाउन सक्छु होला? अब त मैले आफ्नो हैसियत गुमाएको छु, के त्यसको अर्थ मसँग आशिषित् हुने आशा कम छ भन्ने होइन र? के मैले ठूला आशिष्‌हरू प्राप्त गर्न सकूँला त? के मैले कुनै ठूलो इनाम वा ठूलो मुकुट पाऊँला त?” जब उसलाई आशिषित् हुने आफ्नो आशा चकनाचूर भएको छ वा गम्भीर रूपले कम भएको छ भन्ने लाग्छ, तब त्यो उसका लागि टाउको फुट्नै लागेजस्तो, मुटुमा घनले हिर्काएजस्तो हुन्छ, र त्यो खुकुरीले काटेजतिकै दुख्छ। जब उसले रातदिन यति धेरै तृष्णा गरेको स्वर्गको राज्य प्रवेश गर्ने आशिष् गुम्‍न लागेको हुन्छ, तब उसलाई त्यो आकाशबाट खसेको भयानक समाचारजस्तो लाग्छ। ख्रीष्टविरोधीका लागि, कुनै हैसियत नहुनु भनेको आशिषित् हुने कुनै आशा नहुनुसमान हुन्छ, र ऊ जिउँदो लाशझैँ बन्छ, उसको शरीर प्राण नभएको रित्तो खोलजस्तै बन्छ, र उसको जीवन मार्गदर्शन गर्ने केही हुँदैन। ऊसँग कुनै आशा हुँदैन र आशा गर्नुपर्ने कुनै कुरा हुँदैन। जब कुनै ख्रीष्टविरोधीले खुलासा र बरखास्त हुनुपर्ने हुन्छ, तब उसका मनमा आउने पहिलो कुरा भनेकै उसले आशिषित् हुने कुनै पनि आशा गुमाएको छ भन्ने हुन्छ। त्यसैले, यस मोडमा के उसले हार मानिहाल्छ? के ऊ समर्पित हुन इच्छुक होला त? के उसले यस मौकालाई आशिष्‌प्रतिको चाहना छोड्न, हैसियत त्याग्न, स्वेच्छाले नियमित अनुयायी बन्न अनि खुसीका साथ परमेश्‍वरका लागि श्रम गर्न र आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न प्रयोग गर्ला त? (गर्दैन।) के यो उसका लागि परिवर्तनकारी क्षण हुन सक्छ? के यस परिवर्तनकारी क्षणले उसलाई राम्रो दिशा र सकारात्मक मार्गमा अघि बढाउला कि अझ खराब दिशा र नकारात्मक मार्गमा अघि बढाउला? ख्रीष्टविरोधीको प्रकृति सारका आधारमा के स्पष्ट हुन्छ भने, ऊ बरखास्त हुनु भनेको उसले आशिष्‌प्रतिको आफ्नो चाहना त्याग्न थाल्नु वा उसले सत्यतालाई प्रेम गर्न र खोज्न थाल्नु हुँदै होइन। बरु, उसले त आशिषित् हुने अवसर र आशाका लागि लड्न अझ कडा परिश्रम गर्नेछ; ऊ आफूलाई आशिष्‌ दिलाउन सक्‍ने, आफूलाई पुनरागमन गर्न मदत गर्न सक्ने र आफ्नो हैसियत पुनः प्राप्त गर्न सक्षम बनाउने कुनै पनि अवसरमा टाँसिइरहनेछ। त्यसकारण, बरखास्त हुँदा ख्रीष्टविरोधी खिन्न, निराश र वैरी हुनुबाहेक, उसले बरखास्त हुनुविरुद्ध दिलोज्यान लगाएर लड्नेछ र परिस्थितिलाई उल्टाउने, त्यसलाई बदल्ने प्रयास गर्नेछ। आशिषित् हुने आफ्नो आशा कायम राख्न, र आफ्नो हैसियत, प्रतिष्ठा र शक्तिलाई उही अवस्थामा राख्न, उसले सारा शक्ति लगाएर सङ्घर्ष गर्छ। उसले कसरी सङ्घर्ष गर्छ? आफूलाई निर्दोष ठहराउने कोसिस गरेर, सफाइ दिएर, बहाना बनाएर, अनि उसले जे गर्‍यो त्यो कसरी गर्‍यो, केले गर्दा उसले गल्ती गर्‍यो, ऊ कसरी अरूलाई मदत गर्न र तिनीहरूसँग सङ्गति गर्न रातभर जागा बस्यो, र केले गर्दा ऊ यस मामिलामा लापरवाह बन्यो भन्नेबारे कुरा गरेर सङ्घर्ष गर्छ। उसले यस मामिलाको हरेक पक्षलाई पूर्ण रूपमा स्पष्ट पार्छ र व्याख्या गर्छ, ताकि परिस्थितिलाई सुधार्न सकियोस् र बरखास्त हुनुपर्ने दुर्भाग्यबाट उम्कन सकियोस्।

कस्ता सन्दर्भ र मामिलामा ख्रीष्टविरोधीहरूले आफ्नो शैतानी प्रकृति उदाङ्गो पार्ने र प्रकट गर्ने सबैभन्दा बढी सम्भावना हुन्छ? त्यो तिनीहरू खुलासा र बरखास्त हुँदा, अर्थात् तिनीहरूले हैसियत गुमाउँदा हुन्छ। ख्रीष्टविरोधीहरूले देखाउने प्रमुख प्रकटीकरण के हो भने तिनीहरू आफूलाई निर्दोष ठहराउन भरमग्दुर कोसिस गर्छन् र कुतर्क गर्छन्। तैँले तिनीहरूसँग जसरी सङ्गति गरे पनि, तिनीहरू प्रतिरोध गर्छन्, र तैँले भनेको कुरा स्विकार्न मान्दैनन्। परमेश्‍वरका चुनिएका मानिसहरूले तिनीहरूको दुष्कर्मका सबै तथ्य खुलासा गर्दा, तिनीहरू यी कुरा पटक्कै स्विकार्दैनन्, किनभने तिनीहरू यी कुरा स्विकारेमा आफूलाई दोषी ठहराइनेछ, अनि हटाइनेछ वा निष्कासित गरिनेछ भनी डराउँछन्। आफूविरुद्ध लागेको दोष नस्विकार्ने क्रममा, तिनीहरूले आफ्ना गल्ती र जिम्मेवारीहरू अरू मानिसका काँधमा सार्ने काम समेत गर्छन्। यस तथ्यले के छर्लङ्गै देखाउँछ भने ख्रीष्टविरोधीहरू कहिल्यै सत्यता स्विकार्दैनन्, आफ्नो गल्ती कहिल्यै मान्दैनन्, वा आफूलाई कहिल्यै साँचो रूपमा चिन्दैनन्, र यसले अझ धेरै केसमेत प्रमाणित गर्छ भने तिनीहरूको प्रकृति अहङ्कारी र आत्मधर्मी हुन्छ, त्यसले सत्यता रुचाउँदैन, सत्यताप्रति वितृष्णा राख्छ र सत्यता पटक्कै स्विकार्दैन, त्यसैले तिनीहरू मुक्तिभन्दा बाहिर हुन्छन्। अलिअलि मानवता र केही समझ हुनेहरूले आफ्ना गल्तीहरू मान्न र स्विकार्न, तथ्यहरू सामना गर्दा शिर झुकाउन, र आफूले गरेका दुष्ट कुराका लागि पछुतो महसुस गर्न सक्छन्; तर ख्रीष्टविरोधीहरूले यी कुराहरू गर्न सक्दैनन्। यसले ख्रीष्टविरोधीहरूसँग कुनै विवेक वा समझ पटक्कै हुँदैन, र तिनीहरू पूर्णतया मानवताहीन हुन्छन् भन्‍ने देखाउँछ। हृदयमा, ख्रीष्टविरोधीहरू सधैँ आफ्नो पद कति ठूलो वा सानो छ भन्‍ने कुरालाई आफूले कति ठूला वा साना आशिष्‌हरू पाउँछु भन्‍ने कुरासित बराबर ठान्छन्। चाहे परमेश्‍वरका घरमा होस् वा अरू कुनै समूहमा, तिनीहरूका लागि मानिसहरूको हैसियत र वर्ग विभाजन गरिएका हुन्छन्, साथै तिनीहरूका अन्तिम परिणामहरू पनि त्यसैगरी हुन्छन्; व्यक्तिको हैसियत जति उच्‍च हुन्छ र उसले यस जीवनमा परमेश्‍वरका घरमा जति धेरै शक्ति पाउँछ त्यो उसले आउँदो संसारमा पाउने आशिष्‌, इनाम, र मुकुटको बराबर हुन्छ—यी कुराहरू जोडिएका छन्। के त्यो दृष्टिकोण मान्य छ? परमेश्‍वरले कहिल्यै यसो भन्‍नुभएको छैन, न त उहाँले कहिल्यै यस्तो कुनै वाचा नै गर्नुभएको छ, तर ख्रीष्टविरोधीका मनमा यस्तै सोचाइ पैदा हुन्छ। अहिलेलाई, हामी ख्रीष्टविरोधीहरूमा किन यस्ता सोचहरू हुन्छन् भन्ने कारणहरू खोतल्नेछैनौँ। तथापि, तिनीहरूको प्रकृति सारका सन्दर्भमा भन्नुपर्दा, तिनीहरू जन्मजातै हैसियतलाई प्रेम गर्छन्, र तिनीहरू जीवनमा प्रख्यात हैसियत र उच्च प्रतिष्ठा पाउने, शक्ति चलाउने आशा पनि साँच्छन् अनि आउँदो संसारमा यी सबै उपभोग गरिरहन चाहन्छन्। त्यसोभए, तिनीहरूले कसरी यो सब प्राप्त गर्नेछन्? ख्रीष्टविरोधीहरूका सोचाइमा, तिनीहरूले यो कुरा आफ्ना जीवनमा हैसियत, शक्ति र प्रतिष्ठा हुँदा आफूले गर्न सक्ने केही कुरा गरेर अनि आफूले गर्न चाहने र मन पराउने कुराहरू गरेर, अनि त्यसपछि यी कुराहरू भावी आशिष्, मुकुट र इनामसँग साटेर हासिल गर्नेछन्। ख्रीष्टविरोधीहरूको सांसारिक व्यवहारको दर्शन यही हो, अनि तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्ने तरिका र परमेश्‍वरप्रतिका विश्‍वासमा राख्ने दृष्टिकोण यही हो। तिनीहरूका सोच, दृष्टिकोण र परमेश्‍वरमा विश्‍वास गर्ने तरिकासँग परमेश्‍वरका वचन र प्रतिज्ञाहरूको कुनै सम्बन्ध छैन—ती पूरै असम्बन्धित छन्। ल भन् त, के यी ख्रीष्टविरोधीहरू अलि मगज बिग्रेका हुँदैनन् र? के तिनीहरूमा चरम दुष्टता छैन र? तिनीहरू परमेश्‍वरका वचनहरूले भन्ने कुनै पनि कुरा बेवास्ता गर्छन् र स्विकार्न मान्दैनन्, तिनीहरू आफूले सोच्ने र परमेश्‍वरमा विश्‍वास गर्ने तरिका सही भएको भन्ठान्छन्, अनि रमाउँदै र आफ्नै प्रशंसा गर्दै यसैमा आनन्द लिन्छन्। तिनीहरूले सत्यता खोज्दैनन्, न त तिनीहरूले परमेश्‍वरका वचनहरूले यस्ता कुराहरू भन्छन् कि भन्दैनन् वा परमेश्‍वरले यस्ता प्रतिज्ञाहरू गर्नुभएको छ कि छैन भनेर अनुसन्धान नै गर्छन्। ख्रीष्टविरोधीहरू आफू जन्मजातै अरू मानिसभन्दा चलाक, जन्मजातै बुद्धिमान्, प्रतिभावान् र एकदमै प्रतिभाशाली छु भन्ने कुरालाई स्वाभाविक ठान्छन्; तिनीहरूलाई आफू अरू मानिसहरूमाझ सबैभन्दा प्रभावशाली व्यक्ति बन्नुपर्छ, आफू हाकिम हुनुपर्छ, आफूलाई अरूले आदर र सम्मान गर्नुपर्छ, आफूले शक्ति चलाउनुपर्छ, र आफूले अरूलाई शासन गर्नुपर्छ भन्ने लाग्छ, मानौँ परमेश्‍वरका सबै विश्‍वासी उसकै नियन्त्रणमा हुनुपर्छ, र सबै जना त्यहाँ उसले अगुवाइ गर्नकै लागि हुनुपर्छ। तिनीहरूले जीवनमा प्राप्त गर्न चाहने सबै कुरा यिनै हुन्। तिनीहरू अरू मानिसहरूले आउँदो संसारमा प्राप्त गर्न नसक्ने आशिष्‌हरू पनि हासिल गर्न चाहन्छन्, र तिनीहरू यसलाई स्वाभाविक ठान्छन्। ख्रीष्टविरोधीहरूले यस्तो सोच र दृष्टिकोण राख्नुले तिनीहरू एकदमै लाजहीन भएको देखाउँदैन र? के तिनीहरू केही हदसम्म तर्क नसुन्‍ने हुँदैनन् र? कुन आधारमा तँ यस्तो सोच्छस्? कुन आधारमा तँ अरूबाट उच्च सम्मान पाउन चाहन्छस्? कुन आधारमा तँ अरूलाई नियन्त्रण गर्न चाहन्छस्? कुन आधारमा तँ मानिसहरूमाझ शक्ति पाउन र उच्च पदमा रहन चाहन्छस्? के परमेश्‍वरले यी कुराहरू पूर्वनियोजित गर्नुभएको छ वा के तँमा सत्यता र मानवता छ? के तँ आफूमा केही शिक्षा र ज्ञान छ भन्दैमा, र तँ अलि अग्लो र सुन्दर छस् भन्दैमा, आफ्नो हैसियतको दाबी गर्न र अरूलाई अगुवाइ गर्न योग्य हुन्छस्? के त्यसले तँलाई आदेशहरू जारी गर्न योग्य बनाउँछ? के त्यसले तँलाई अरू मानिसहरूलाई नियन्त्रण गर्न योग्य बनाउँछ? परमेश्‍वरले आफ्ना वचनमा कहाँनेर, “तँ आकर्षक छस्, तँमा सामर्थ्य र प्रतिभा छ, त्यसैले तैँले अरू मानिसहरूलाई अगुवाइ गर्नुपर्छ र तँमा स्थायी हैसियत हुनुपर्छ” भनेर भन्नुहुन्छ? के परमेश्‍वरले तँलाई यो शक्ति दिनुभएको छ? के परमेश्‍वरले यो पूर्वनियोजित गर्नुभएको छ? छैन। दाजुभाइ-दिदीबहिनीहरूले तँलाई अगुवा वा कामदार चयन गर्दा, के उनीहरूले तँलाई हैसियत दिइरहेका हुन्छन्? के त्यो तैँले यस जीवनमा पाउनुपर्ने आशिष् हो? कतिपय मानिसहरू यी कुरा पाउनुलाई यस जीवनमा सयगुणा प्राप्त गर्नु हो भनेर अर्थ्याउँछन्, र तिनीहरूमा हैसियत र शक्ति छ र तिनीहरूले आदेश जारी गर्न र धेरै मानिसलाई नियन्त्रण गर्न सक्छन् भने, आफूवरपर अनुयायीहरूको झुन्ड हुनैपर्छ र आफू जहाँ गए पनि सेवा गर्ने र वरपर झुम्ने मानिसहरू सधैँ हुनैपर्छ भन्ने सोच्छन्। कुन आधारमा तँ यी कुराहरू उपभोग गर्न चाहन्छस? दाजुभाइ-दिदीबहिनीहरूले तैँले यो कर्तव्य निर्वाह गर्न सकेस् भनेर तँलाई अगुवा चयन गर्छन्; त्यो तैँले मानिसहरूलाई बहकाउन, उच्च सम्मान पाउन सकेस् र दाजुभाइ-दिदीबहिनीहरूले आदर र सम्मान गरून् भनेर होइन, झन् तैँले शक्ति चलाउन र हैसियतका लाभहरू उठाउन सकेस् भनेर त हुँदै होइन, बरु त्यो त तैँले कार्य बन्दोबस्त र सत्यता सिद्धान्तहरूबमोजिम कर्तव्य निर्वाह गर्न सकेस् भनेर हो। त्यसबाहेक, दाजुभाइ-दिदीबहिनीहरूले अगुवा चयन गरेको व्यक्तिलाई बर्खास्त गर्न मिल्दैन भनेर परमेश्‍वरले नियोजित गर्नुभएको छैन। के तँ आफूलाई पवित्र आत्माले प्रयोग गरिरहेको व्यक्ति ठान्छस्? के तँ आफूलाई कसैले बरखास्त गर्न सक्दैन भन्ने सोच्छस्? त्यसोभए, तँलाई बरखास्त गर्नुमा के गलत छ? यदि तँ निष्कासित भइनस् भने, त्यसको कारण के हो भने, तँलाई दया गरिएको छ र तँलाई पश्‍चात्ताप गर्ने मौका दिइँदै छ, तर तँ अझै पनि सन्तुष्ट हुँदैनस्। तँ केका बारेमा तर्क गर्दै छस्? यदि तँ आशिषित् हुने तेरो आशा चकनाचूर भएकाले अबदेखि पछि हट्न र परमेश्‍वरमा विश्‍वास नगर्न चाहन्छस् भने, पछि हटिहाल्! तँलाई के लाग्छ, के तँविना परमेश्‍वरको घर चल्न सक्दैन? के तँविना संसार घुम्न छोड्नेछ? के तँविना परमेश्‍वरको घरको काम पूरा हुन सक्दैन? सुन्, तैँले गलत सोचिस्! कुनै एक व्यक्ति नहुँदैमा संसार चल्न वा सूर्य उदाउन छोड्नेछैन—परमेश्‍वर मात्र अपरिहार्य हुनुहुन्छ, कुनै मानव होइन—मण्डलीको काम सदाझैँ चलिरहनेछ। यदि कसैले आफूविना मण्डली चल्न सक्दैन र आफूविना परमेश्‍वरको घर चल्न सक्दैन भन्ने सोच्छ भने, के ऊ ख्रीष्टविरोधी होइन र? तँलाई हैसियतका लाभहरू उठाउने बानी परेको छ, होइन र? तँलाई अरूले मान दिएको, उच्च आदर गरेको र जिहजुरी गरेको कुरामा आनन्द लिने बानी परेको छ, होइन र? तँ कसरी अरूले मान दिन योग्य भइस्? तँ कसरी अरूले मुस्कुराउँदै अभिवादन गर्न योग्य भइस्? के तँ मानिसहरूले तँलाई घुँडा टेकेर आराधना गरून् भन्ने पनि चाहन्छस्? यदि त्यसो हो भने, के त्यसको अर्थ तँमा पटक्कै लाज छैन भन्‍ने होइन र? कति मानिसहरू आफ्नो कर्तव्यबाट बरखास्त हुँदा परिवारको कुनै सदस्य बितेभन्दा बढी व्याकुल र दुःखी हुन्छन्। तिनीहरू हरेक कुरा खोतल्छन् र परमेश्‍वरको घरसँग तर्क गर्छन्, मानौँ सायद अरू कसैले मण्डलीको अगुवाइ गर्नै सक्दैन, मानौँ अहिलेसम्म मण्डलीका काममा साथ दिने तिनीहरू मात्र हुन्—यो ठूलो गल्ती हो। परमेश्‍वरका चुनिएका मानिसहरूले परमेश्‍वरलाई नछोड्नु परमेश्‍वरको वचनको प्रभाव हो, अनि तिनीहरू भेलामा उपस्थित हुन्छन् र मण्डली जीवन जिउँछन् किनभने तिनीहरू परमेश्‍वरमा विश्‍वास गर्छन् र परमेश्‍वरमा साँचो आस्था राख्छन्। ती मानिसहरूले सत्यता बुझेकाले र राम्ररी मलजल गरेकाले परमेश्‍वरका चुनिएका मानिसहरू दृढ रहेका र सामान्य रूपमा भेलामा उपस्थित हुने गरेका होइनन्। मण्डली अगुवाहरू प्रतिस्थापित हुन्छन्, घरिघरि धेरै झूटा अगुवा र झूटा कामदारहरू बरखास्त हुन्छन्, अनि परमेश्‍वरका चुनिएका मानिसहरू सदाझैँ भेलाहरूमा उपस्थित हुन्छन् र परमेश्‍वरका वचनहरू खान्छन् र पिउँछन्—यो कुरासँग यी झूटा अगुवा र झूटा कामदारहरूको कुनै सम्बन्ध हुँदैन। त्यस्ता तर्कहरू गरेर के अर्थ हुन्छ? के तैँले हास्यास्पद र भ्रमित तर्कहरू मात्र गरिरहेको छैनस् र? यदि तँमा साँच्चै सत्यता वास्तविकता छ र तैँले परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेशका धेरै समस्याहरू समाधान गरेको छस् भने, परमेश्‍वरका चुनिएका मानिसहरूलाई हृदयमा यो कुरा थाहा हुनेछ; यदि तँमा सत्यता वास्तविकता छैन र तैँले समस्याहरू समाधान गर्नका लागि सत्यतामा सङ्गति गर्न सक्दैनस् भने, मण्डलीको कामको सामान्य विकाससँग तेरो कुनै सम्बन्ध हुँदैन। त्यस्ता झूटा अगुवा र झूटा कामदारहरू धेरै छन्, जो बरखास्त भएपछि बहाना बनाइरहन्छन्, मानौँ तिनीहरूले मण्डलीमा एकदमै धेरै योगदान दिएका छन्, जबकि वास्तवमा तिनीहरूले कुनै वास्तविक काम गरेकै हुँदैनन्, र मण्डली जीवनको सामान्य सुव्यवस्थालाई तिनीहरूले मर्मतसम्भार गरेर जोगाएका हुँदैनन्; तिनीहरूविना पनि परमेश्‍वरका चुनिएका मानिसहरू सदाझैँ भेलाहरूमा सामान्य रूपले निरन्तर उपस्थित हुन्छन् र आफ्नो कर्तव्य निर्वाह गर्छन। यदि तँसँग सत्यता वास्तविकता छैन र तँ कुनै वास्तविक काम गर्न सक्दैनस् भने, मण्डलीको काम र परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेशमा असर र ढिलाइ गरिरहनबाट रोक्न तँलाई बरखास्त गरिनुपर्छ। परमेश्‍वरको घरले तँ जस्तो झूटो अगुवा वा झूटो कामदारलाई प्रयोग गर्नेछैन—के तैँले परमेश्‍वरको घरसँग तँलाई बरखास्त गर्ने शक्ति छैन भन्ने सोचेको छस्? तैँले आफ्नो काम यस्तो भद्रगोल पारेको छस्, तैँले मण्डलीका काममा यस्तो समस्या खडा गरेको छस् र यस्तो ठूलो क्षति पुऱ्याएको छस्, तैँले माथिलाई एकदमै धेरै चिन्तित बनाएको छस, तँलाई प्रयोग गर्नु अत्यन्तै कष्टकर छ, र यसले मानिसहरूलाई यस्तो घृणा, वितृष्णा र तिरस्कार महसुस गराउँछ। तँ साह्रै मूर्ख, अज्ञानी र हठी छस्, अनि काटछाँट गरिन लायकसमेत छैनस्, त्यसैले परमेश्‍वरको घर तँलाई गलहत्याउन, तुरुन्तै हटाउन, र यस मामिलालाई यहीँ समाप्त गर्न चाहन्छ। तैपनि, तँ अझै माथिले तँलाई अगुवा भइरहने अर्को मौका दिएको चाहन्छस्? यसलाई बिर्सिदे! विवेक र समझ नभएका, अनि दुष्टता गर्ने र बाधा पुऱ्याउने झूटा अगुवा र ख्रीष्टविरोधीहरूका सन्दर्भमा भन्‍नुपर्दा, तिनीहरूलाई एकपटक हटाइसकेपछि, तिनीहरू सदाका लागि हटाइन्छन्। यदि तँ वास्तविक काम गर्न सक्छस् भने, तँलाई प्रयोग गरिनेछ; यदि तँ वास्तविक काम गर्न सक्दैनस् अनि दुष्टता गर्छस् र बाधा पनि पुऱ्याउँछस् भने, तँलाई तुरुन्तै हटाइनेछ—परमेश्‍वरको घरले मानिसहरूलाई प्रयोग गर्ने सिद्धान्त यही हो। कतिपय ख्रीष्टविरोधीहरू झुक्दैनन्, र यसो भन्छन्, “तपाईं मलाई वास्तविक काम नगरेकामा बरखास्त गर्दै हुनुहुन्छ—तपाईं मलाई पश्‍चात्ताप गर्ने मौका किन दिनुहुन्न?” के यो बाङ्गो तर्क होइन र? तँलाई बरखास्त गरिँदै छ किनभने तैँले धेरै ठूलो दुष्टता गरेको छस्, र यति धेरैपटक काटछाँट गरिएपछि पनि तँ अझै पश्‍चात्ताप गर्न बिलकुलै मानिरहेको छैनस्, त्यसैले तैँले अरू कस्ता तर्कहरू गर्न सक्छस्? तैँले ख्याति, प्राप्ति र हैसियत पछ्याइस् अनि वास्तविक काम गरिनस्, तैँले मण्डलीको काम ठप्प पारिस्, अनि त्यहाँ यति धेरै समस्याहरू थुप्रिएका थिए तर तैँले ती समाधान गरिनस्—माथिले तेरो कारण कति धेरै चिन्ता गर्नुपऱ्यो? माथिले तँलाई तेरा काममा साथ दिइरहनुभएको र मदत गरिरहनुभएको बेला पनि, तैँले भित्री चलखेल गरिरहेको थिइस्, तैँले सिद्धान्तहरू उल्लङ्घन हुने धेरै कुरा, र हेर्न उचित नहुने धेरै कुरा गरिरहेको थिइस्, माथिको पिठ्यूँपछाडि तैँले किन्नै नपर्ने धेरै कुरा किन्न परमेश्‍वरका भेटीहरू मनपरी खर्च गरिरहेको थिइस्, र परमेश्‍वरको घरका हितमा धेरै हानि पुऱ्याइरहेको थिइस् र मण्डलीका काममा यस्तो ठूलो विपत्ति ल्याइरहेको थिइस्! तँ किन यी दुष्ट कार्यहरूबारे कहिल्यै बोल्दैनस्? जब परमेश्‍वरको घरले तँलाई बरखास्त गर्न चाहन्छ, तब तँ पूरै लाज पचाएर भन्छस्, “के तपाईं मलाई अर्को मौका दिन सक्नुहुन्छ?” के परमेश्‍वरको घरले तँलाई तैँले बेलगाम खराब कुराहरू गरिरहन सकेस् भनेर अर्को मौका दिनुपर्छ? तैँले परमेश्‍वरको घरलाई अर्को मौका माग्नु तँमा कुनै लज्जाबोध नहुनु होइन र? तँ आफ्नै प्रकृति त पटक्कै चिन्दैनस्, झन् तेरो हृदयमा कुनै पछुतो त छँदै छैन भने, तँलाई अर्को मौका दिन मिल्छ त? यस्ता मानिसहरूमा कुनै लाज हुँदैन, तिनीहरू निर्लज्ज हुन्छन्, र तिनीहरू दुष्ट मानिस र ख्रीष्टविरोधी हुन्!

कतिपय अगुवा र कामदारहरू कुनै पनि वास्तविक काम फिटिक्कै गर्न सक्दैनन्, र तिनीहरूले माथिबाट केही समय मार्गदर्शन र मदत पाएपछि पनि अझै कुनै वास्तविक काम गर्न सक्दैनन्। तिनीहरू सामान्य मामिलाको कामसमेत राम्ररी सम्हाल्न सक्दैनन्, र यसले तिनीहरूमा क्षमताको एकदमै अभाव रहेको देखाउँछ। माथिले कामका सबै पक्षबारे नियमित सोधपुछ र निरीक्षण गर्नुपर्ने अनि दाजुभाइ-दिदीबहिनीहरूलाई कुनै पनि समस्याहरूको रिपोर्ट पनि तुरुन्तै गर्न अनुरोध गर्नुपर्ने हुन्छ; माथिले कामका सबै पक्षसम्बन्धी सिद्धान्तहरूका सम्बन्धमा पनि जाँचपडताल गर्न, मार्गदर्शन दिन र सङ्गति गर्न आवश्यक हुन्छ। माथिले सिद्धान्तहरूबारे सङ्गति दिइसकेपछि पनि, कति मानिसहरूले अझै कसरी काम गर्ने भनी जान्दैनन्, र तिनीहरू ती काम खराब तरिकाले गर्छन्, र यहाँसम्म कि कति त खराब काम गर्दै छाडा दौडिन्छन्; तिनीहरूले जुनै काम गरिरहेका भए पनि, माथिसँग कहिल्यै खोजी गर्दैनन्, माथिलाई कुनै समस्याबारे कहिल्यै रिपोर्ट गर्दैनन्, बरु भित्री चलखेल गर्छन्—यो कस्तो समस्या हो? यी मानिसहरूको प्रकृति कस्तो हो? के तिनीहरू सत्यतालाई प्रेम गर्छन्? के तिनीहरू संवर्धन गर्नलायक छन्? के तिनीहरू अझै अगुवा र कामदार हुन योग्य छन्? पहिलो कुरा, तिनीहरू केही कुरा गर्नअघि खोजी गर्दैनन्; दोस्रो कुरा, तिनीहरू त्यो काम गर्दा कुनै रिपोर्ट पेश गर्दैनन्; अनि तेस्रो कुरा, तिनीहरू त्यो काम गरिसकेपछि कुनै प्रतिक्रिया दिँदैनन्। तिनीहरू अत्यन्तै अपमानजनक रूपमा कार्य गर्छन्, र पनि अझै बरखास्त हुन चाहँदैनन्, अनि बरखास्त भएपछि झुक्दैनन्—के यिनीहरू मदत गर्न नसकिने मानिस होइनन् र? ल भन् त, के मदत गर्न नसकिने धेरैजसो मानिस पूर्णतया निर्लज्ज र तर्क नसुन्ने हुँदैनन् र? तिनीहरूले केही पनि राम्रोसँग गर्दैनन्, तिनीहरू अल्छे हुन्छन् र आराममा लिप्त हुन्छन्; तिनीहरू जुनसुकै काम गर्दा, आदेश जारी गर्न मुख मात्र चलाउँछन्, र मुख चलाइसकेपछि अरू केही पनि गर्दैनन्। तिनीहरू कहिल्यै कामको सुपरिवेक्षण, निरीक्षण र अनुगमन गर्दैनन्, साथै यसो गर्ने जोकोहीप्रति वैरभाव र रिस पाल्छन्, अनि त्यो व्यक्तिलाई कष्ट दिन चाहन्छन्—के यिनीहरू खाँटी ख्रीष्टविरोधी होइनन् र? यो त ख्रीष्टविरोधीहरूको अपमानजनक स्थिति हो; तिनीहरू आफू के हुँ भनेर चिन्दैनन्, तिनीहरू एकदमै अपमानजनक तरिकाले काम गर्छन् र अझै पनि आशिषित् हुन चाहन्छन्, तिनीहरू अझै पनि श्रेष्ठताका लागि परमेश्‍वरको घर र माथिसँग होड गर्न चाहन्छन्, र अझै पनि तर्क गर्न चाहन्छन्—के तिनीहरूले यसो गरेर काल खोजिरहेका हुँदैनन् र? आफू बरखास्त हुँदा, यी र यस्ता कवाडहरू एकदमै रुष्ट र अटेरी बन्छन्। तिनीहरू साँच्चै निर्लज्ज हुन्छन् र तिनीहरूमा झिनो समझसमेत हुँदैन! तिनीहरू कर्तव्य निर्वाह गर्दा बेलगाम खराब कामकुरा गर्छन्, अनि मण्डलीका काममा अवरोध र बाधा पुर्‍याउँछन्, अनि बरखास्त हुँदा, तिनीहरूले आफ्नो गल्ती नस्विकार्ने मात्र होइन, अरूका काँधमा जिम्मेवारी थोपर्ने पनि गर्छन् र आफ्नो गल्तीको जिम्मा लिइदिने अर्को व्यक्ति खोज्छन्, र भन्छन्, “यो कुरा तिनीहरूले गरेका हुन् र त्यो अर्को कुरा गर्नमा चाहिँ म मात्र जिम्मेवार छैनँ। सबैले त्यो मामिला सँगै छलफल गरेको हो र अगुवाइ लिने व्यक्ति म थिइनँ।” तिनीहरू फिटिक्कै जिम्मेवारी लिँदैनन्, मानौँ जिम्मेवारी लिएमा तिनीहरू निन्दित हुनेछन् र हटाइनेछन्, र आशिष् पाउने तिनीहरूको सबै आशा पूरै गुम्नेछ। त्यसकारण, तिनीहरू मरेकाटे आफ्नो गल्ती स्विकार्दैनन् र आफू सिधै जिम्मेवार छु भन्ने कुरा मान्दै मान्दैनन्, बरु अरूका काँधमा जिम्मेवारी थोपर्ने जिद गरिरहन्छन्। तिनीहरूको मानसिकता हेर्दा, तिनीहरूले अन्त्यसम्मै परमेश्‍वरसँग लडाइँ गर्नेछन्! के यिनीहरू सत्यता स्विकार्ने मानिस हुन्? के यिनीहरू परमेश्‍वरको न्याय र सजाय स्विकार्ने मानिस हुन्? यसरी परमेश्‍वरको घरसँग लडाइँ गर्न सक्नुले तिनीहरूका स्वभावमा कुनै गम्भीर समस्या छ भन्ने देखाउँछ। तिनीहरू आफ्ना गल्तीहरूलाई कसरी लिन्छन् भन्ने सन्दर्भमा भन्नुपर्दा, सर्वप्रथम त तिनीहरू सत्यता खोज्दैनन्, र दोस्रो कुरा, तिनीहरू आत्मचिन्तन गर्दैनन्; तिनीहरू अरूका थाप्लोमा दोष खन्याउँछन्, अनि परमेश्‍वरको घरले तिनीहरूलाई निश्‍चित तरिकामा चित्रण गरेर कर्तव्यबाट बरखास्त गर्दा, तिनीहरू परमेश्‍वरको घरसँग लडाइँ गर्छन्, अनि तिनीहरू जहाँ जान्छन् त्यहाँ गुनासा र नकारात्मकताहरू फैलाउँछन्, र यसरी परमेश्‍वरका चुनिएका मानिसहरूको सहानुभूति पाउन खोज्छन्। तिनीहरूले परमेश्‍वरमा विश्‍वास गरे पनि उहाँको विरोध गर्ने आँट गर्छन्—के तिनीहरूले काल खोजिरहेका होइनन् र? यी मानिसहरूमा समझको कुरा छिर्दै छिर्दैन! तिनीहरू कर्तव्यबाट बरखास्त भएर तिनीहरूको हैसियत गुम्यो भने के भयो र? तिनीहरू निष्कासित भएका हुँदैनन्, र तिनीहरूको जिउने अधिकार खोसिएको हुँदैन; तिनीहरूले पश्‍चात्ताप गर्न सक्छन्, र जहाँ विफल भए पनि र ढले पनि, नयाँ सुरुवात गर्न, र फेरि उठ्न सक्छन्। ख्रीष्टविरोधीहरू यस्तो सरल कुरासमेत स्विकार्न सक्दैनन्—यी मानिसहरूलाई सुधार गर्न साँच्चै असम्भव छ! अवश्य नै, कतिपय ख्रीष्टविरोधीहरू बरखास्त हुँदा, तिनीहरू बाहिरी रूपमा मन नलागी-नलागी आज्ञापालन गर्छन्, र त्यति दिक्दारपूर्ण व्यवहार गर्ने वा कुनै वैरभाव देखाउने गर्दैनन्, तर के यसको अर्थ तिनीहरू सत्यता स्विकारिरहेका र परमेश्‍वरप्रति समर्पित भइरहेका छन् भन्ने हो त? अहँ, होइन। ख्रीष्टविरोधीसँग ख्रीष्टविरोधीको स्वभाव र सार हुन्छ, र तिनीहरूलाई सामान्य व्यक्तिबाट अलग बनाउने यसैले हो। बरखास्त भएपछि तिनीहरूले बाहिर केही नभने पनि हृदयमा भने प्रतिरोध गरिरहन्छन्। तिनीहरू आफ्ना गल्तीहरू स्विकार्दैनन्, र जति समय बिते पनि तिनीहरू कहिल्यै आफूलाई साँचो रूपमा चिन्न सक्षम हुनेछैनन्। यो कुरा धेरै पहिले नै प्रमाणित भएको हो। ख्रीष्टविरोधीबारे कहिल्यै नबद्लिने अर्को कुरा पनि छ: तिनीहरूले जहाँसुकै कामकुरा गरिरहेका भए पनि तिनीहरू फरक हुन, आदरभावले हेरिइन र अरूबाट सम्मान पाउन चाहन्छन्; मण्डली अगुवा वा टोली अगुवाका रूपमा तिनीहरूसित वैध पद र नाम-पदवी नभए पनि, तिनीहरू अझै पनि प्रतिष्ठा र मूल्यमा अरूभन्दा निकै माथि हुन चाहन्छन्। तिनीहरूले काम गर्न सके पनि वा नसके पनि, तिनीहरूसँग जे-जस्तो प्रकारको मानवता वा जीवन अनुभव भए पनि, तिनीहरू मानिसहरूको सम्मान पाउनका लागि सान देखाउने, मानिसहरूको निगाह सुनिश्‍चित गर्ने, मानिसहरूको मन जित्ने साथै मानिसहरूलाई लोभ्याउने र भ्रममा पार्ने मौकाहरू खोज्न जुनसुकै उपायहरू अपनाउँछन् र जुनसुकै हदसम्म जान्छन्। ख्रीष्टविरोधीहरू मानिसहरूले तिनीहरूबारे के कुराको प्रशंसा गरून् भन्ने चाहन्छन्? तिनीहरू बर्खास्त भएका भए पनि “सिंहासनबाट गिरेको राजा पनि राजा नै हुन्छ” र त्यो कुखुराको माथि उड्ने चील नै रहन्छ भन्ने सोच्छन्। के यो ख्रीष्टविरोधीहरूको अहङ्कार र आत्म-धार्मिकता साथै तिनीहरूको भिन्‍नता होइन र? तिनीहरू हैसियतविना रहन सक्दैनन्, एक सामान्य विश्‍वासी, केवल एक मामुली व्यक्ति हुन, भुइँमा खुट्टा टेकेर आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न र आफ्ना स्थानमा रहन, वा आफ्नै काम मात्र राम्ररी गर्न, बफादारी देखाउन, र आफूलाई आइपरेका काममा सक्दो राम्रो गर्न सक्दैनन्। यी कुराहरूले तिनीहरूलाई अलिकति पनि सन्तुष्ट पार्दैनन्। तिनीहरू त्यस्तो व्यक्ति हुन वा त्यस्ता कुराहरू गर्न इच्छुक हुँदैनन्। तिनीहरूको “ठूलो आकाङ्क्षा” के हो? सम्मानित हुनु र आदरभावले हेरिनु, अनि शक्ति हातमा लिनु हो। यसैले, तिनीहरूका नाममा कुनै विशेष पदवी नभए पनि, ख्रीष्टविरोधीले आफ्ना निम्ति प्रयत्न गर्नेछन्, आफ्ना निम्ति बोल्नेछन् र आफूलाई सही साबित गर्नेछन्, आफ्नो प्रदर्शन गर्नका लागि आफूले सक्ने सबथोक गर्छन्, किनकि तिनीहरूमा आफूलाई मानिसहरूले नदेख्लान् वा कसैले पनि ध्यान नदेलान् भन्‍ने डर हुन्छ। तिनीहरू अझ राम्ररी चिनिन, आफ्नो प्रतिष्ठा बढाउन, अझ धेरै मानिसलाई आफ्ना प्रतिभा र सामर्थ्य देखाउन हरेक मौकामा हाम फाल्नेछन्, र तिनीहरूले आफू अरूभन्दा श्रेष्ठ रहेको देखाउनेछन्। यी कामकुराहरू गर्दा, ख्रीष्टविरोधीहरू आफ्नो प्रदर्शन र सराहना गर्न, तिनीहरू अगुवा नभए पनि र तिनीहरूको हैसियत नभए पनि सबैलाई तिनीहरू अझै पनि साधारण मानिसहरूभन्दा श्रेष्ठ छन् भनी सोच्ने बनाउन जुनसुकै मूल्य चुकाउन पनि तयार हुन्छन्। त्यसपछि एक ख्रीष्टविरोधीले आफ्नो लक्ष्य हासिल गरेको हुनेछ। ऊ मामुली र साधारण व्यक्ति बन्‍न इच्छुक हुँदैन; ऊ शक्ति र प्रतिष्ठा चाहन्छ, र अरूभन्दा निकै माथि हुन चाहन्छ। कतिपय मानिसहरू भन्छन्, “यो अविश्‍वसनीय कुरा हो। हैसियत, प्रतिष्ठा र शक्ति भएर के काम?” समझ भएको व्यक्तिका लागि, शक्ति र हैसियत बेकारका कुरा हुन्, ती उसले पछ्याउनुपर्ने कुरा होइनन्। तर अति महत्त्वाकाङ्क्षी ख्रीष्टविरोधीहरूका लागि हैसियत, शक्ति र प्रतिष्ठा अत्यन्तै महत्त्वपूर्ण कुरा हुन्; कसैले पनि तिनीहरूको दृष्टिकोण परिवर्तन गर्न सक्दैन, र कसैले पनि तिनीहरूको जिउने तरिका र अस्तित्वप्रतिको तिनीहरूको उद्देश्य परिवर्तन गर्न सक्दैन—यो ख्रीष्टविरोधीहरूको प्रकृति सार हो। त्यसकारण, यदि तैँले सक्रियतासाथ आफ्नो कर्तव्य निर्वाह गर्ने र हैसियत हुँदा हैसियत जोगाउने अनि हैसियत नहुँदा आफ्नो ख्याति जोगाउन अझै पनि आफूले सकेजति सबै गर्न चाहने व्यक्ति देखिस् भने—यस्तो व्यक्ति सुधार्न नसकिने हो, र ऊ पूर्ण रूपमा ख्रीष्टविरोधी हो।

कुनै ख्रीष्टविरोधी बरखास्त हुनुअघि र भएपछि, जब उसले एकपछि अर्को प्रयास गर्दा पनि अझै हैसियत, साथै शक्ति र प्रतिष्ठा प्राप्त गर्न सक्दैन, तब उसले आफ्नो हैसियत र आशिष् पाउने चाहना त्याग्नेछैन। उसले सत्यता पछ्याउन यी कुराहरू पन्छाउने र आफूलाई बदल्नेछैन, वा उसले आफ्नो कर्तव्य व्यावहारिक र आज्ञाकारितापूर्वक राम्ररी निर्वाह गर्नेछैन। उसले आफूले गरेका कुनै पनि गल्तीका लागि कहिल्यै साँचो रूपमा पश्‍चात्ताप गर्नेछैन, बरु बारम्बार यस्तो मूल्याङ्कन गर्नेछ, “के मैले भविष्यमा हैसियत पाउने कुनै आशा छ? हैसियतविना, के मसँग आशिष् पाउने कुनै आशा रहन्छ? के आशिष् प्राप्त गर्ने मेरो चाहना सन्तुष्ट हुनेछ? परमेश्‍वरको घर, मण्डलीमा म कुन दर्जामा छु? वरीयताक्रममा म कहाँ पर्छु?” जब ऊ मण्डलीमा आफ्नो ठूलो प्रतिष्ठा नभएको, अधिकांश मानिसले आफूलाई राम्रा रूपमा नहेर्ने र धेरैले आफूलाई शिक्षणको नकारात्मक उदाहरणका रूपमा समेत प्रयोग गर्ने गरेको निष्कर्षमा पुग्छ, तब उसलाई मण्डलीभित्र आफ्नो प्रतिष्ठा पूर्ण रूपमा बरबाद भएको छ, आफूलाई धेरैजसो मानिसको साथ छैन र धेरैजसो मानिसले अब फेरि अनुमोदन गर्नै सक्दैनन् र आशिष् प्राप्त गर्ने आफ्नो आशा लगभग शून्य छ भन्ने लाग्छ। उसले यो सब देखेपछि, र ऊ आफूले मूल्याङ्कन गर्दा यी निष्कर्षहरूमा पुगेपछि, उसको सोच र मनोवृत्ति अझै पनि आफ्नो अभिप्राय र चाहना त्यागेर साँचो रूपमा परमेश्‍वरसामु पश्‍चात्ताप गर्ने वा परमेश्‍वरका निम्ति पूर्ण रूपमा समर्पित भएर श्रम गर्ने र बफादारीका साथ आफ्नो कर्तव्य निभाउने हुँदैन। उसका मनमा यो कुरा हुँदैन—त्यसोभए के हुन्छ? “मैले आफ्नो आकाङ्क्षा हासिल नगर्ने अनि परमेश्‍वरको घर अर्थात् मण्डलीमा मेरो कुनै हैसियत नहुने भएपछि, मैले किन यो निकासहीन मार्ग पछ्याइरहने? ठाउँ परिवर्तन गर्दा मानिसहरूलाई फाइदा हुन सक्छ। यदि म अन्य कुनै ठाउँमा गएँ भने मेरो परिस्थिति साँच्चिकै राम्रो हुन सक्छ। म मेरो चित्त दुखाउने यस ठाउँबाट किन निस्केर नजाने? मैले आफ्ना आकाङ्क्षाहरू पूरा गर्न नसक्ने, आफ्ना आकाङ्क्षाहरू हासिल गर्न गाह्रो हुने यो ठाउँ किन नछोड्ने?” जब कुनै ख्रीष्टविरोधीले यी कुराहरूबारे सोच्छ, तब के त्यसको अर्थ उसले मण्डली छोड्न लागेको होइन र? तिमीहरू त्यस्तो व्यक्तिले छोडेर जाओस् कि बसोस् भन्‍ने चाहन्छौ? के उसलाई बस्नका लागि फकाउनुपर्छ? (उसलाई फकाउनुपर्दैन, र मानिसहरूले उसलाई फकाउने कोसिस गरे पनि ऊ बस्नेछैन।) कसैले पनि उसलाई बस्न लगाउन सक्दैन—यो साँचो हो। यसको कारण के हो? आखिरमा ख्रीष्टविरोधीहरू सत्यतालाई प्रेम गर्दैनन्, त्यसैले परमेश्‍वरका घरमा बस्दा तिनीहरूलाई पीडा मात्र हुनेछ। यो त कुनै चरित्रहीन वेश्या आइमाईलाई उसको पतिलाई सहयोग गर्न र आफ्ना बच्चाहरूलाई शिक्षा दिन, साथै ऊ आफैँ सद्‌गुणी स्‍त्री, असल पत्नी र दयालु आमा बन्न लगाउने प्रयास गर्नुझैँ हुनेछ। के उसले ती कुराहरू गर्न सक्छे र? (सक्दिन।) त्यो त व्यक्तिको प्रकृतिको कुरा हो। त्यसैले, यदि तैँले कुनै ख्रीष्टविरोधीले पछि हट्न चाहेको देखिस् भने, तैँले जे गरे पनि, उसले “म ख्रीष्टविरोधी भए पनि परमेश्‍वरको घरका लागि श्रम गर्न चाहन्छु। म आफूलाई कुनै दुष्टता नगर्न बाध्य पार्नेछु र म शैतानविरुद्ध विद्रोह गर्नेछु” भनेर भन्ने निश्‍चित अवस्था नआएसम्म उसलाई विश्‍वस्त तुल्याउने प्रयास नगर्। यस्ता अवस्थामा, के उसलाई झिँगालाई जस्तै कुचोले हिर्काएर धपाउनुपर्छ र? (पर्दैन।) यस्ता अवस्थामा, हामीले परिस्थितिलाई स्वाभाविक रूपमा छोडिदिँदा हुन्छ, तर एउटा प्रक्रिया चाहिँ लागू गर्नुपर्छ: अझ धेरै मानिसले त्यो ख्रीष्टविरोधीलाई सुपरिवेक्षण र निगरानी गर्नुपर्छ, उसले दुष्टता गर्न चाहेको जस्तो समस्याको पहिलो सङ्केत देख्नेबित्तिकै उसलाई शीघ्र रूपमा पखाल्‍नुपर्छ। यदि उसले अरूद्वारा सुपरिवेक्षण र निगरानी गरिएको सहन सक्दैन, र आफूलाई दुर्व्यवहार गरिएको महसुस गर्छ र श्रम गर्न चाहँदैन भने, यस्तो व्यक्तिलाई कस्तो व्यवहार गर्नुपर्छ? तैँले उसलाई निस्केर जान मदत गर्नुपर्छ र यसो भन्नुपर्छ, “तिमी प्रतिभावान् छौ, र तिमीले गैरविश्‍वासी संसारमा गएर आफ्ना भव्य योजनाहरू पूरा गर्नुपर्छ। तिमी यस पोखरीमा नअटाउने ठूलो माछा हौ, मण्डली तिम्रा लागि उपयुक्त ठाउँ होइन। यहाँ तिमीले आफ्नो पखेटा फिँजाउन सक्दैनौ; यो काम तिम्रो प्रतिभाको लायक छैन। यदि तिमी बाहिर संसारमा फर्क्यौ भने, सायद तिमीले बढुवा पाउनेछौ, धेरै पैसा कमाउनेछौ, र तिमी धनी हुनेछौ। सायद तिमी सेलेब्रेटी नै हुनेछौ!” उसलाई निस्केर जान शीघ्र रूपमा प्रोत्साहन दे। यदि ऊ धन र हैसियत पछ्याउँछ, अनि हैसियतबाट आउने लाभहरूको लालसा गर्छ भने, उसलाई बाहिरी संसारमा फर्केर काम गर्न, पैसा कमाउन, र त्यसपछि अधिकारी बन्न र दैहिक जीवनमा रमाउन दे। उसलाई यस्तो व्यवहार गर्नु प्रेमिलो हृदयले व्यवहार नगर्नु हो कि भनेर कतिपयले सोध्‍न सक्छन्। वास्तवमा, तैँले ख्रीष्टविरोधीहरूलाई यस्ता कुरा नभने पनि, तिनीहरूले हृदयमा यस्तो सोच्छन्, “हुँ, आजै बढुवा, भोली नै बरखास्त। मलाई हैसियत दिइने, तैपनि निगरानी, सुपरिवेक्षण, र काटछाँट गरिने—यो कस्तो पीडा हो! मेरा लागि यस्तो हैसियत पाउनु कठिन छैन, अनि यदि मैले परमेश्‍वरमा विश्‍वास नगरेको भए, अहिलेसम्म संसारमा म धनी भइसक्थेँ र मैले सामाजिक उचाइ प्राप्त गरिसक्थेँ, कम्तीमा पनि म नगरस्तरीय कार्यकर्ता त भइसक्थेँ। म अधिकारी बन्न जन्मेको हुँ। मैले बाहिर संसारमा जे गरे पनि म उत्कृष्ट हुन्छु, म सबै कुरा राम्ररी गर्छु, म कुनै पनि उद्योगमा आफ्नो नाम कमाउन सक्छु, र म उद्यमशील छु।” तैँले तिनीहरूलाई यस्ता कुरा नभने पनि, तिनीहरूले यस्ता कुराहरू भन्नेछन्, त्यसकारण तैँले तुरुन्तै तिनीहरूले सुन्न चाहने मिठा शब्दहरू भन्नुपर्छ र तिनीहरूलाई शीघ्र रूपमा मण्डली छोड्न प्रोत्साहित गर्नुपर्छ—यसो गर्दा सबैलाई फाइदा हुनेछ। ख्रीष्टविरोधीहरू हैसियत, शक्ति र प्रतिष्ठा पछ्याउँछन्; तिनीहरू साधारण मानिस हुन चाहँदैनन्, बरु सधैँ अरूभन्दा माथि हुन चाहन्छन्, र अन्ततः तिनीहरू आफैले आफ्नो ख्याति र हैसियत बरबाद पार्छन् र परमेश्‍वरद्वारा श्रापित हुन्छन्। त्यसोभए, के तिमीहरू साधारण मानिस हुन इच्छुक छौ? (छौँ।) साधारण मानिस हुनु वास्तवमा अर्थपूर्ण छ। ख्याति र प्राप्ति नपछ्याउनु, बरु वास्तविक जीवनमा सन्तोष गर्नु, शान्ति र आनन्दसँग जिउनु, हृदयमा स्थिर हुनु—जीवनको सही मार्ग यही हो। यदि कोही सधैँ अरूभन्दा श्रेष्ठ र निकै राम्रो हुन चाहन्छ भने, त्यो उसले आफैँलाई आगोमा पोल्नु र मासु पिस्ने मेसिनमा हाल्नुसरह हो—उसले आफैमाथि समस्या निम्त्याउन खोजिरहेको छ। उसमा किन यस्ता भावनाहरू हुन्छन्? के अरूभन्दा निकै माथि हुनु राम्रो कुरा हो? (अहँ, होइन।) यो राम्रो कुरा होइन। तैपनि ख्रीष्टविरोधीहरू यो मार्ग रोज्न जिद् कस्छन्। तिमीहरू जेसुकै गर, तर यो मार्ग नपछ्याओ।

जब कुनै साधारण भ्रष्ट व्यक्तिसँग अझै परमेश्‍वरप्रतिका विश्‍वासमा जग हुँदैन, जब उसले परमेश्‍वरमा साँचो विश्‍वास विकास गरेको हुँदैन, त्यतिखेर ऊसँग थोरै मात्र विश्‍वास वा कद हुन्छ। यस्तो व्यक्तिलाई रोकावट आइलाग्दा, ऊ आफूलाई कमजोर ठान्छ, अनि परमेश्‍वरले उसलाई प्रेम गर्नुहुन्न, र घृणा गर्नुहुन्छ भनेर सोच्छ। आफूले हरमोडमा ठक्कर खाएको र असफलता भोगेको, साथै परमेश्‍वरलाई सन्तुष्ट पार्न नसकेको देख्दा, ऊ निरुत्साहित हुनेछ; उसलाई केही कमजोरी र नकारात्मकता पनि अनुभव हुनेछ, अनि कहिलेकाहीँ मण्डली छोड्ने सोच पनि आउनेछ। तर यो अवज्ञाकारी हुनुजस्तो होइन। यो त कुनै व्यक्ति दिक्दार र उदास हुँदा आउने सोच हो, र यो ख्रीष्टविरोधीहरू पछि हट्ने कुराभन्दा एकदमै फरक कुरा हो। जब कुनै ख्रीष्टविरोधी पछि हट्न चाहन्छ, तब उसले मरेकाटे पश्‍चात्ताप गर्नेछैन, तर जब कुनै साधारण भ्रष्ट व्यक्तिले निरुत्साहित भएर मण्डली छोड्ने विचार गर्छ, तब अरूको मदत र सङ्गति, साथै उसको आफ्नै सक्रिय सहकार्य, अनि प्रार्थना र खोजीमार्फत, र परमेश्‍वरका वचनहरू पढेर, परमेश्‍वरका वचनले उसलाई क्रमिक रूपमा प्रभाव पार्न र परिवर्तन गर्न सक्छ, र ऊ बस्छ कि जान्छ भन्ने कुरा, साथै उसको निर्णय र मन परिवर्तन गर्न सक्छ। त्यसका साथै, परमेश्‍वरका वचनले उसलाई क्रमिक रूपमा पश्‍चात्ताप विकास गर्न, सकारात्मक मनोवृत्ति विकास गर्न र लागिपर्ने सङ्कल्प विकास गर्न पनि मदत गर्न सक्छ, जसले गर्दा ऊ क्रमिक रूपमा दह्रिलो बन्छ। यो एक सामान्य व्यक्तिको जीवन प्रवेश गर्ने प्रक्रियाको प्रकटीकरण हो। अर्कोतिर, ख्रीष्टविरोधीले चाहिँ अन्त्यसम्मै लडाइँ गर्नेछ। उसले कहिल्यै पश्‍चात्ताप गर्नेछैन, आफू गलत हो भनेर स्विकार्नुभन्दा मर्न रुचाउँछ, आफूलाई चिन्नुभन्दा मर्न रुचाउँछ, र आशिष् पाउने चाहना त्याग्नुभन्दा त मर्न रुचाउँछ। ऊसँग अलिकति पनि जीवन प्रवेश हुँदैन। त्यसैले, श्रम गर्न मन नलाग्ने वा राम्रोसँग श्रम नगर्ने यस्तो व्यक्तिलाई मण्डली छोड्ने सुझाव मात्र दे। यो बुद्धिमानी निर्णय हो, र यस्तो मामिला सम्हाल्ने सबैभन्दा बुद्धिमानी तरिका हो। तैँले उसलाई त्यस्तो सुझाव नदिए पनि, के तैँले उसलाई बसाउन सक्नेछस् र? के तैँले उसको पछ्याउने विधि वा दृष्टिकोण परिवर्तन गर्न सक्छस् र? तैँले कहिल्यै पनि यी कुराहरू बदल्न सक्नेछैनस्। कतिपय मानिसलाई परमेश्‍वरको घरले बस्न आग्रह गर्छ, मदत गर्छ र साथ दिन्छ, किनभने तिनीहरूले प्रकट गरेका नकारात्मकता, कमजोरी र भ्रष्ट स्वभावहरू सबै साधारण भ्रष्ट मानिसहरूका आम कुरा हुन्, र ती कुरा सामान्यताको दायराभित्र पर्छन्। परमेश्‍वरका वचनहरूबारे सङ्गति गरेर, अनि अरूको मदत र साथ पाएर, तिनीहरू क्रमिक रूपमा दह्रिलो हुन सक्छन्, तिनीहरूले कद प्राप्त गर्न सक्छन्, विश्‍वासमा विकास गर्न सक्छन्, र तिनीहरू आफ्नो कर्तव्य निर्वाहमा निष्ठावान् हुन सक्छन्। हामीले यस्तै व्यक्तिलाई बस्न सहयोग र आग्रह गर्नुपर्छ। तर श्रम गर्न नचाहने वा राम्ररी श्रम नगर्ने ख्रीष्टविरोधीहरूलाई चाहिँ छोडेर जान प्रोत्साहित गर्, किनभने तैँले तिनीहरूलाई छोडेर जान सुझाव दिनुभन्दा पहिले नै उसले जाने इच्छा गरिसकेको हुन्छ, वा ऊ कुनै पनि क्षण छोडेर जान आँटेको हुन्छ। ख्रीष्टविरोधीहरूले बरखास्तको सामना गर्दा र पछि हट्ने इच्छा गर्दा तिनीहरूमा हुने विभिन्न प्रकटीकरण र सोचहरू यिनै हुन्।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्