विषयवस्तु चौध: तिनीहरू परमेश्वरको घरलाई आफ्नै व्यक्तिगत अधिकारक्षेत्रका रूपमा लिन्छन् (खण्ड दुई)
ख्रीष्टविरोधीले आफ्नै अधिकारक्षेत्र स्थापित गरेपछि के गर्छ? के ऊ मण्डलीको सुसमाचारको काम कस्तो भइरहेको छ भन्नेबारे अत्यन्तै चिन्तित हुन्छ? के ऊ त्यसबारे चासो लिन्छ, वा उसले त्यसबारे सोधपुछ गर्छ? उसले केवल निरीक्षण भ्रमण गर्ने, झारा टार्ने, लापर्बाही तरिकाले थोरै शब्दहरूले काम चलाउनेभन्दा बढी केही गर्दैन। उसले निरीक्षण भ्रमण गर्नुको उद्देश्य के हो? कुन उद्देश्यले ऊ दाजुभाइ-दिदीबहिनीहरूको हालखबर के छ भनी हेर्न यी भ्रमणहरू गर्छ? के यो तिनीहरूको जीवन प्रवेश कस्तो भइरहेको छ भन्नेबारे उसलाई वास्ता भएर हो? होइन। उसले आफ्नो प्रभाव क्षेत्रभित्रको कसैले उसको प्रतिरोध गर्ने अभिप्राय राखेको छ कि छैन, उसलाई तुच्छ नजरले हेर्ने, वा उसलाई “नाइँ” भन्न आँट गर्ने, वा ऊसामु नझुक्न र उसले भनेअनुसार नगर्न आँट गर्ने कोही छ कि छैन भनी हेर्न खोजिरहेको हुन्छ; उसले आफ्नै आँखाले हेर्नुपर्छ, ऊ स्वयम् उक्त परिस्थितिसित परिचित हुनुपर्छ। त्यो एउटा पक्ष हो। अझ के भने, ख्रीष्टविरोधीले आफ्नो अधिकारक्षेत्र स्थापित गरेपछि, आफूलाई वैध राजा बनाउँछ—र यदि तैँले ऊ तानासाह, सहरको हुल्याहा, लुटेराहरूको अगुवा हो भनिस् भने, उसले आफूसित हैसियत र शक्ति हुन्जेल वास्तै गर्दैन। उसको प्रभाव क्षेत्रभित्र, उसको अधिकारक्षेत्रभित्र, सारा शक्ति उसैका हातमा हुन्छ, उसकै हैकम चल्छ। त्यो सँगसँगै, ऊ आफ्नो गुटका मानिसहरूले गर्ने आराधना, आदर, र सम्मान, साथै तिनीहरूको चिप्लो घसाइ, चापलुसी, र श्रेष्ठताको भावना र उसलाई दिने विशेष व्यवहारहरूको समेत आनन्द उठाउँछ। के तँलाई ख्रीष्टविरोधीले उच्च स्थानबाट बोल्नका लागि मात्र शक्तिमा एकाधिकार जमाउँछ भन्ने लाग्छ? के यो त्यस्तो कामना पूरा गर्नका लागि मात्र हो? होइन। ऊ योभन्दा अझ ठोस् कुरा चाहन्छ: उसले आफ्नो अधिकारक्षेत्रमा हैसियत र शक्तिको आनन्द उठाउँदा साथमा आउने सबै व्यवहार। ख्रीष्टविरोधीले आफ्नो अधिकारक्षेत्र स्थापित गरेपछि, उसले आफ्ना कट्टर अनुयायीहरू पाएपछि, उसले आफ्ना दिनहरू प्राचीन सम्राटहरूले भन्दा आराममा बिताउँछ। उसले केही पनि गर्नु पर्दैन: एकै शब्दमा उसको चाहना पूरा गरिन्छ; उसलाई चाहिने कुराहरू एकै शब्दमा अगाडी ल्याइन्छन्। उदाहरणका लागि, ख्रीष्टविरोधीले भन्छ, “आज मौसम राम्रो छ; मलाई किन कुखुराको मासु यति धेरै खाऊँखाऊँ लागेको?” मध्याह्नअघि नै, कसैले कुखुराको झोल पकाइसकेको हुन्छ। मध्याह्नको खाना खाने बेलामा, त्यो ख्रीष्टविरोधीले यसो भन्छ, “हामी परमेश्वरका विश्वासीहरूले रक्सी त पिउन मिल्दैन, तर हल्का पेयपदार्थ लिँदा कसो होला?” आफ्ना अगुवाका कुरा सुनेर, ख्रीष्टविरोधीका अनुयायीहरूले पेयपदार्थ किन्न कसैलाई तुरुन्तै पठाउँछन्। के उसले आफूले चाहेको जे पनि पाउँदैन र? उसले हात लम्काउनु, मुख खोल्नु मात्र पर्छ, र उसकहाँ सामानहरू ल्याइनेछ र उसका सबै चाहना पूरा हुनेछन्। उसका दिनहरू एकदमै आरामसित बित्छन्। त्यसपछि ख्रीष्टविरोधीले भन्छ, “आज जाडो छ। पोहोरको स्वेटर किराले प्वाल पारेको थियो, मैले त्यो लगाउनु उचित हुँदैन—राम्रो देखिँदैन। खोइ कुन्नि, यो सालको स्वेटर कहाँ छ।” कसैले उसलाई कैयौँ स्वेटर किनिदिने प्रस्ताव गर्दा, उसले त्यो यतिकै किनेर हुँदैन, उसले सन्तहरूको मर्यादा पालन गर्नैपर्छ, र पैसा सिद्धान्तअनुसार खर्च गरिनुपर्छ भन्छ। यसो भनेलगत्तै, कसैले उसलाई कैयौँ स्वेटर किनिदिन्छ। ती आइपुगेपछि, ख्रीष्टविरोधीलाई के लाग्छ भने यदि उसले केही पनि भनेन भने, यो सब जानाजानी गरेको देखिनेछ, त्यसैले उसले भन्छ: “यी कसले किनेको? के यो सिद्धान्तहरूको उल्लङ्घन होइन? के यसले मलाई गलत देखाउँदैन? ती कसले किनेको? म उसलाई पैसा दिन्छु।” उसले आफ्नी पत्नीलाई सुरुमा मण्डलीको भेटीबाट केही पैसा निकाल्न अह्राउँछ, र आफूसँग पैसा भएपछि त्यो पैसा तिर्नेछु भन्छ। वास्तवमा, उसले यतिकै यसो भन्छ; त्यो फिर्ता गर्ने उसको कुनै योजना हुँदै हुँदैन। ख्रीष्टविरोधीले साँच्चै आफूले चाहेको जे पनि पाउँछ, सबथोक तयारी अवस्थामा भोग गर्छ। यी कुराहरूको आनन्द उठाएपछि के उसलाई हृदयमा कुनै आत्मग्लानि महसुस हुन्छ? के उसलाई आफ्नो विवेकले दोष दिएको महसुस हुन्छ? (हुँदैन।) उसले कसरी दोषी महसुस गर्न सकोस् त? उसले पछ्याएको नै ठ्याक्कै यही हो, ऊ दिनरात यसैका लागि तड्पेको हो—उसले यसलाई कसरी अस्वीकार गर्न सकोस् त? यो फाइदालाई खेर फाल्न मिल्दैन, यदि उसले त्यसको फाइदा लिएन भने त्यो खेर जानेछ र त्यो व्यर्थ हुनेछ; त्यसको फाइदा लिइसकेपछि पनि, उसले केही कर्णप्रिय कुरा भन्नेछ, ताकि पैसा खर्च गर्ने व्यक्तिले स्वेच्छाले सो गरोस्, र त्यसबारे केही पनि सोच्ने आँट नगरोस्।
ख्रीष्टविरोधीहरू आफ्नो अधिकारक्षेत्रमा, आफ्ना अधीनस्थहरूले प्रदान गर्ने विभिन्न विशेष व्यवहार र सेवाहरू प्राप्त गर्ने मात्र नभई आफू अधिकारक्षेत्रमा भएका मानिसहरूलाई तिनीहरूलाई पूर्ण रूपमा पालन गर्न प्रशिक्षण पनि दिन्छन्। उदाहरणका लागि, यदि कुनै ख्रीष्टविरोधीले सबैलाई ५ बजे उठ्नू भनेमा, सबै जना ५ बजेअघि उठ्नैपर्छ। ढिलो उठ्नेहरू काटछाँटमा पर्नेछन्—तिनीहरूले ख्रीष्टविरोधीको हाउभाउ हेर्नुपर्छ। खाना खाने बेला, ऊ नबसेसम्म कोही पनि टेबलमा बस्ने आँट गर्दैन, र उसले चम्चा चलाउन सुरु गर्नुभन्दा पहिले कसैले चलाउने आँट गर्दैन। उसले जे गर्ने निर्णय गर्छ, त्यो गरिनैपर्छ; उसले कुनै काम जसरी गर्ने निर्णय गर्छ, अरूले पालना गर्नैपर्छ, र अवज्ञा सह्य हुँदैन। उसको अधिकारक्षेत्रमा, ऊ नै अगुवा, राजा हुन्छ, साथै उसको निर्णय नै अन्तिम हुन्छ—जसले पालना गर्दैन उसलाई सास्ती दिइनेछ। उसका अधीनस्थहरूलाई उसका आदेशहरू विनाप्रश्न पालना गर्न, उसको विरुद्धमा अलिकति पनि नजान, अनि उसले जे आज्ञा गर्छ त्यो न्यायसङ्गत र सार्थक छ—यो तिनीहरूको कर्तव्य र दायित्व हो—भनी विश्वास गर्न प्रशिक्षित गरिन्छ। परमेश्वरमा विश्वास गर्ने र आफ्ना कर्तव्यहरू पूरा गर्ने नाममा, ख्रीष्टविरोधीको अधीनमा रहेकाहरूले विनाप्रश्न उसको आज्ञा मान्छन्, उसलाई आफ्नो हत्केलामा राख्छन् अनि आफ्नो राजा र मालिकका रूपमा व्यवहार गर्छन्। यदि कसैले ख्रीष्टविरोधीबारे कुनै विचार वा राय बोक्छ, यदि उसको दृष्टिकोण ख्रीष्टविरोधीको भन्दा फरक छ भने, ख्रीष्टविरोधीले उसलाई खण्डन गर्न, होच्याउन, चिरफार गर्न, आलोचना गर्न, निन्दा गर्न, र दबाउन कुनै कसर बाँकी छोड्नेछैन, उक्त व्यक्तिले पूर्ण रूपमा उसको पालन गरेपछि मात्र उसले विश्राम लिन्छ। ख्रीष्टविरोधी आफ्नो अधिकारक्षेत्रमा मौलाउँछ, जहाँ उसलाई अद्भुत रूपमा आराम हुन्छ। दाजुभाइ-दिदीबहिनीहरूले चढाएको सबै पैसा ख्रीष्टविरोधीकहाँ जान्छ, साथै ऊसँग नभएको कुनै पनि कुरा तिनीहरूले जुटाइदिनैपर्छ। दाजुभाइ-दिदीबहिनीहरूले ख्रीष्टविरोधीलाई सन्तुष्ट र खुसी पार्न उसका खाँचोहरू तत्काल पूरा गर्नैपर्छ। ख्रीष्टविरोधीले यी मानिसहरूलाई लगभग दास नै बन्न प्रशिक्षित गरेको हुन्छ। उसले सबैभन्दा बारम्बार गर्ने प्रचार उसले कति कष्ट भोग्यो र ऊ कति बफादार थियो भन्ने विषय वरिपरि घुम्छ, त्यसमा ऊ परमेश्वरलाई खुसी बनाउन र सत्यता सिद्धान्तअनुरूप हुन मानिसहरूले उसलाई कसरी बुझ्नुपर्छ र उसलाई पालन गर्नुपर्छ भनेर जोड दिन्छ। ख्रीष्टविरोधीले उच्च सुनिने प्रवचनहरू प्रचार गर्छ, नाराहरू भट्ट्याउँछ, अनि मानव धारणा र कल्पनासित पूर्ण रूपले मिल्ने धर्मसिद्धान्तहरू प्रस्तुत गर्छ, अरूको आराधना र प्रशंसा कमाउँछ। त्यो सँगसँगै, उसले आफूविरुद्ध कुनै पनि सन्देह, शङ्का, वा सुझबुझ उत्पन्न हुनबाट प्रभावकारी रूपमा रोक्छ, साथै उसलाई खुलासा गर्ने वा खुट्ट्याउने सोच र विश्वासघात गर्ने सोच पैदा गर्नबाट मानिसहरूलाई रोक्छ। यसो गर्दा उसको शक्ति सदाका लागि रहने, त्यो मण्डलीमा कुनै परिवर्तनविना अटल रहने सुनिश्चित हुन्छ। के ख्रीष्टविरोधीले निकै अगाडिसम्म सोचिरहेको हुँदैन र? त्यसो हो भने, यी सबै कार्यको उद्देश्य के हो? एउटै शब्द—शक्ति। चाहे त्यो उसको अधिकारक्षेत्र भित्रकाहरू होऊन् वा बाहिरका, चाहे त्यो उसका कट्टर अनुयायीहरू होऊन् वा उसलाई खुट्ट्याउने दाजुभाइ-दिदीबहिनीहरू, ख्रीष्टविरोधीलाई सबैभन्दा बढी केको डर र चिन्ता हुन्छ? उनीहरूलाई सबैभन्दा बढी यही कुराको डर हुन्छ: यी व्यक्तिहरूले सत्यता बुझ्नेछन्, परमेश्वरसामु आउनेछन्, उसलाई खुट्ट्याउनेछन् र इन्कार गर्नेछन्। सबैले उसलाई इन्कार गरेपछि, ऊ सेनाविनाको कमाण्डर बन्छ, उसले आफ्नो हैसियत र प्रतिष्ठा गुमाउँछ, र उसको शक्ति खोसिन्छ। त्यसकारण, उसले के विश्वास गर्छ भने आफ्नो अधिकारक्षेत्रलाई सुरक्षित गरेर, आफ्ना कट्टर अनुयायीहरूलाई वशमा राखेर, उसलाई पछ्याउनेहरूलाई पूर्ण रूपमा भ्रममा पारेर र नियन्त्रण गरेर, तिनीहरूलाई दृढ रूपमा आफ्नो पकडमा राखेर मात्र आफ्नो शक्तिलाई अटल बनाउन सकिन्छ। यसरी, ऊ आफूले प्राप्त गर्न चाहेको विशेष व्यवहारलाई, आफ्नो शक्तिले आफूलाई दिने विशेष व्यवहारलाई बलियोसित पक्रेर राख्छ। कतिपय ख्रीष्टविरोधी आचरण र व्यवहारमा चतुर हुन्छन्, र मानिसहरूको मन जित्न माहिर हुन्छन्। तिनीहरूले सम्हाल्ने अधिकारक्षेत्रभित्र तिनीहरूका लागि काम गरिदिने, तिनीहरूका भौतिक आवश्यकताहरू पूर्ति गर्ने, र तिनीहरूका लागि सूचना सङ्कलन गर्ने वा परिस्थितिहरू मिलाइदिने विभिन्न प्रकारका व्यक्तिहरू हुन्छन्। ख्रीष्टविरोधीको प्रभावको क्षेत्रभित्र, यदि असल क्षमता भएको, सत्यता पछ्याउने, र सत्यता सिद्धान्तहरू कायम राख्ने कोही पनि छैन भने, उक्त ख्रीष्टविरोधीले मण्डलीमा लामो समयसम्म नियन्त्रण गरिराख्न सक्छ, अनि यस मण्डलीका मानिसहरू पूर्ण रूपले क्षय हुनेछन् र सपार्नै नसक्ने गरी बहकिनेछन्। कामको अनुसन्धान गर्न माथिले कसैलाई पठाए पनि, त्यो व्यर्थ हुनेछ। ख्रीष्टविरोधीको नियन्त्रणमा मण्डली अभेद्य र छिर्न नसकिने बलियो गढ बनेको हुन्छ। ख्रीष्टविरोधीलाई चाहे जसले खुलासा र चिरफार गरे पनि, वा चाहे जसले सत्यता सिद्धान्तबारे सङ्गति गरे पनि, बहकाउमा परेकाहरूले उनीहरूका कुरा सुन्नेछैनन्। बरु, तिनीहरू सत्यताको विरोध गर्नेछन्, र ख्रीष्टविरोधीको खुलासा र चिरफारलाई भर्त्सना गर्नेछन्, अनि ख्रीष्टविरोधीकै पक्षमा उभिनेछन्।
ख्रीष्टविरोधी, उसका कट्टर अनुयायीहरू, र उसको अधिकारक्षेत्रका सदस्यहरू सधैँ परमेश्वरको घरका मामलाहरूबारे छलफल र जाँचबुझ गरिरहेका हुन्छन्: कसलाई कहाँ सारिएको छ? कसलाई बर्खास्त गरिएको छ? फलानो-फलानो कुरा खुलासा गर्नेबारे माथिले अर्को सङ्गति र प्रवचन जारी गरेका छन्—के हामीले त्यो सार्वजनिक गर्नुपर्छ? हामीले त्यसलाई कसरी सार्वजनिक गर्ने? त्यो पहिला कसलाई बताउने, र त्यसपछि कसलाई बताउने? के हामीले हस्तक्षेप गरेर केही संशोधन वा सम्पादन गर्नुपर्छ? हालै बाह्य मानिसहरूसँग को सम्पर्कमा रहेको छ? के कसैलाई माथिले तल पठाएका छन्? के ती मानिसहरूमध्ये कसैको हाम्रा तल्लो तहका मानिसहरूसँग सम्पर्क रहेको छ? तिनीहरू बारम्बार यस्ता कुराहरूबारे सँगै छलफल गर्छन्; तिनीहरू माथिका सबै कार्य प्रबन्धहरूको जबाफ दिन प्रायजसो मिलेमतो र षड्यन्त्र गर्छन्, जबाफी उपाय, युक्ति, र माध्यमहरूबारे छलफल गर्छन्; अनि तिनीहरू आफूभन्दा मुनिका दाजुभाइ-दिदीबहिनीहरूका परिस्थितिबारे बारम्बार छलफल र जाँच गर्छन्। ख्रीष्टविरोधी र उसको अधिकारक्षेत्रका सदस्यहरू सारा दिन नङ-मासु भएर षड्यन्त्र गर्दै बिताउँछन्। सँगै हुँदा, तिनीहरूले सत्यता, वा परमेश्वरका अभिप्रायहरू सङ्गति गर्दैनन्, झन् मण्डलीको काम, वा आफ्नो कर्तव्य कसरी पूरा गर्ने, मण्डलीको कामलाई कसरी अघि बढाउने, वा परमेश्वरका वचनको वास्तविकतामा दाजुभाइ-दिदीबहिनीहरूको प्रवेशलाई मार्गदर्शन कसरी गर्ने, वा बाह्य परिस्थितिहरू कसरी सम्हाल्ने भन्नेबारे सङ्गति गर्नु त परै जाओस्। तिनीहरू यी उचित कामकुराबारे कहिल्यै सङ्गति गर्दैनन्, बरु कोचाहिँ कोसँग नजिकिँदै छ, सँगै हुँदा यी मानिसहरू कसका बारेमा कुरा गर्छन्, कतै तिनीहरू पिठ्यूँपछाडि आफ्ना अगुवाहरूबारे कुरा काटिरहेका त छैनन् भनेर जाँच्छन्; अनि तिनीहरू कसको परिवार धनी छ, र तिनीहरूले कुनै भेटी चढाएका छन् कि छैनन् भन्नेतिर ध्यान दिन्छन्। तिनीहरू गोप्य रूपमा यिनै कुराहरूबारे छलफल गरिरहन्छन्, तिनीहरू सधैँ दाजुभाइ-दिदीबहिनीहरू र माथिका कार्य प्रबन्धहरूबारे आलोचना गरिरहेका हुन्छन्—तिनीहरू सधैँ दाजुभाइ-दिदीबहिनीहरू र माथिलाई युक्तिपूर्वक व्यवहार गर्न आफूले सक्ने सबथोक गरिरहेका हुन्छन्। तिनीहरूले गोप्य रूपमा गर्ने कुरा लज्जास्पद हुन्छ: यदि त्यो मण्डलीका लागि हानिकारक नभएमा, दाजुभाइ-दिदीबहिनीहरूका लागि हानिकारक हुन्छ; तिनीहरू सधैँ षडयन्त्र गरिरहेका वा असल क्षमता भएका र सत्यता पछ्याउने दाजुभाइ-दिदीबहिनीहरूलाई नाटीकुटी गरिरहेका हुन्छन्, तिनीहरू सधैँ असल मानिसहरूलाई ढाल्न वा तिनीहरूलाई बदनाम गर्न खोजिरहेका हुन्छन्। ख्रीष्टविरोधीहरूले जब पनि कुनै कुरा गर्छन्, तिनीहरू जहिले पनि त्यसबारे आफ्नो झुन्डका मानिसहरूसँग छलफल गर्छन्—यसमा षड्यन्त्र र युक्तिहरू पर्छन्। ख्रीष्टविरोधीको गिरोहले भनेको कुनै कुराले विश्लेषण थेग्न सक्दैन; ध्यानपूर्वक विश्लेषण गरिएमा, त्यो सबै कुरामा समस्याहरू भेटिन्छन्। अधिकारक्षेत्र बाहिरका मानिसहरूसित तिनीहरू कुरा लुकाउँछन् र सावधान रहन्छन्; ख्रीष्टविरोधीको अधिकारक्षेत्रमा, तिनीहरूका लागि केही पनि भन्न बन्देज छैन: तिनीहरू दाजुभाइ-दिदीबहिनीहरू, परमेश्वरको घरको काम, माथिल्लो तहका अगुवाहरू—परमेश्वरको समेत आलोचना गर्छन्। जे पनि बोल्न छुट हुन्छ। तर अधिकारक्षेत्र बाहिरको कोही उपस्थित हुँदा, तिनीहरू आफ्ना कुरा लुकाउँछन्, अड्किँदै बोल्छन्, आधा कुरा लुकाउँछन्, बाहिरका मानिसहरूले बुझ्न नसक्ने गोप्य भाषामा समेत बोल्छन्। तिनीहरूको निश्चित अर्थ भएको नजर हुन्छ, कुटिल मुस्कानको कुनै अर्थ हुन्छ, र घुर्नु र खोक्नुको समेत केही अर्थ हुन्छ—यी सबै तिनीहरूका गोप्य सङ्केतहरू हुन्। तिनीहरू कहिलेकाहीँ टाउको कन्याउँछन्, कहिलेकाहीँ आफ्ना कान तान्छन्, कहिलेकाहीँ खुट्टा बजार्छन्, कहिलेकाहीँ दुवै हात रगड्छन्; ती सबैको केही अर्थ हुन्छ। यी नै ख्रीष्टविरोधीको गिरोहका आम प्रकटीकरणहरू, तिनीहरूले मण्डलीमा शक्तिमा एकाधिकार जमाइसकेपछि प्रकट गर्ने विभिन्न व्यवहार हुन्। तिनीहरूका विभिन्न व्यवहार र प्रकटीकरणलाई मूल्याङ्कन गर्दा, र तिनीहरूलाई तिनीहरूको मानवताको दृष्टिकोणबाट चिरफार गर्दा, यी मानिसहरू के हुन्? के तिनीहरू छलीपन र दुष्टताका अनुयायी होइनन् र? (हुन्।) अनि के यी मानिसहरूमा कुनै इन्साफको बोध हुन्छ? के तिनीहरूमा कुनै विवेक वा नैतिकता हुन्छ? के तिनीहरू इमानदार हुन्छन्? हुँदैनन्। यी मानिसहरूलाई लाज हुँदैन। तिनीहरू दाजुभाइ-दिदीबहिनीहरूले चढाएको कुरा पचाउँछन्, र त्यो आफूले पाउनुपर्ने हो ठान्छन्; त्यो सँगसँगै, तिनीहरू मनपरी गर्छन् र परमेश्वरको घरमा उद्दण्ड मच्चाउँछन्, दाजुभाइ-दिदीबहिनीहरूलाई हानि पुऱ्याउँछन्—अनि तिनीहरू अस्थायी रूपमा मात्र मण्डलीको भरमा बाँच्ने नभई हरदिन, पुस्तौँपुस्ता त्यसै गर्छन्। के यिनीहरू मान्छेको मासु खाने र रगत पिउने दियाबलस होइनन् र? तिनीहरूमा लाज नै छैन! सँगै हुँदा, ख्रीष्टविरोधी र त्यसको गिरोह सधैँ “राष्ट्रिय मामलाहरू” छलफल गरिरहेका हुन्छन्। तर के गोप्य रूपमा हुने तिनीहरूको छलफल लज्जास्पद हुँदैन र? (हुन्छ।) तिनीहरू केका बारेमा कुरा गर्छन्? के तिनीहरू मण्डलीको कामबारे सङ्गति गर्छन्? के तिनीहरूलाई मण्डलीको कामको बोझ महसुस हुन्छ? कतिपय ठाउँमा, मण्डली सुपरिवेक्षणमा हुन्छ अनि दाजुभाइ-दिदीबहिनीहरूलाई ठूलो रातो अजिङ्गरले, सरकारले पिछा गरिरहेको र निगरानी गरिरहेको हुन्छ, यहाँसम्म कि धेरैजसो दाजुभाइ-दिदीबहिनी त सरकारको नियन्त्रणमा पर्छन् अनि गिरफ्तारी र कैदको खतरा सामना गर्छन्। के तिनीहरू वास्ता गर्छन्? के तिनीहरू दाजुभाइ-दिदीबहिनीहरूको रक्षा गर्ने, उनीहरूलाई जेलको सतावट र कष्ट भोगाइबाट जोगिन मद्दत गर्न कुनै उपाय निकाल्ने प्रयास गर्छन्? गोप्य रूपमा, के तिनीहरू मण्डलीलाई क्षति हुन नदिन मण्डलीका पुस्तक, सरसम्पत्ति आदि कसरी संरक्षण गर्ने भनेर छलफल गर्छन्? यदि मण्डलीमा कुनै यहूदा देखा परेमा, के तिनीहरूले तुरुन्तै प्रतिक्रिया जनाउने, प्रभावित दाजुभाइ-दिदीबहिनीहरूलाई सुरक्षा दिन उनीहरूका लागि सुरक्षित स्थानको प्रबन्ध गर्ने गर्छन्? के तिनीहरूले यस्ता कामकुरा गर्नेथिए त? (गर्नेथिएनन्।) मानिसहरूसित शक्ति हुँदा, तिनीहरू असल कामकुराहरू गर्न सक्छन् र खराब कामकुराहरू पनि गर्न सक्छन्। त्यसोभए, आफूसँग शक्ति हुँदा ख्रीष्टविरोधीले के गर्छ? (खराब कामकुरा गर्छ।) उसले के-के खराब कामकुरा गर्छ? (उसले आफ्नो कुरा नसुन्ने जोकोहीलाई सास्ती दिने उपायहरू खोज्छ। जब परमेश्वरको घरले कामबारे सोधखोज गर्न केही अगुवा र कामदारहरू पठाउँछ, तब उसले उनीहरूबाट पन्छिने उपाय, वा उनीहरूविरुद्ध कमजोरी समात्ने र उनीहरूलाई आलोचना गर्ने, उनीहरूको निन्दा गर्ने उपाय खोज्नेछ, साथै उनीहरूलाई खेदाउने, कामबारे सोध्न र त्यसका समस्याहरू पत्ता लगाउन नदिने कारणहरू खोज्नेछ।) कतिपय ख्रीष्टविरोधीहरू त्यसको ठ्याक्कै उल्टो गर्छन्: तिनीहरू दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूका समस्याबारे रिपोर्ट गर्नेछन् भन्ने डरले, माथिले पठाएको अगुवामाथि निगरानी राख्छन्, उनीहरूलाई राम्रो खान र पिउन दिन्छन्, अनि तल्लो तहका दाजुभाइ-दिदीबहिनीहरूको सम्पर्कमा आउनबाट रोक्छन्। अगुवाहरूले दाजुभाइ-दिदीबहिनीहरूबारे सोध्दा, तिनीहरू यस्तो जवाफ दिन्छन्, “उनीहरू सबै ठिकै छन्। यतिबेला हाम्रो सुसमाचारको काम राम्ररी अगाडि बढिरहेको छ। हामीले प्रतिकूल वातावरणबाट उत्पन्न भएका सबै समस्या समाधान गरेका छौँ, र हामीलाई विश्वासघात गर्ने यहूदाहरूलाई निष्कासन गरेका छौँ; हामीले मण्डलीको काममा बाधा पुऱ्याउन खोज्नेहरूलाई तह लगाएका छौँ, र तिनीहरू सबैलाई निकालेका छौँ, अनि परमेश्वरका वचनका पुस्तकहरू सामान्य रूपमा वितरण गरिएका छन्। कुनै पनि समस्या छँदै छैन।” यसो भनेर, तिनीहरू अरू मानिसबारे केही कुराको रिपोर्ट पनि गर्छन्। माथिले कसैलाई तिनीहरूबारे अनुसन्धान गर्न पठाउँदा, यदि तिनीहरूलाई कसैले तिनीहरूबारे रिपोर्ट गरेको छ भन्ने लागेमा—तिनीहरूले माथिल्लो तहका अगुवाहरूलाई भ्रममा पार्न र ख्रीष्टविरोधीबारे रिपोर्ट गर्ने व्यक्तिमा समस्या छ भनेर सोच्ने तुल्याउन, अगुवाहरूलाई मण्डलीको काममा वास्तवमा के भइरहेको छ भनेर खुट्ट्याउन नदिन, र त्यो ख्रीष्टविरोधीका समस्याहरू पत्ता लगाउन नदिन, जानाजान त्यस व्यक्तिका समस्याहरू रिपोर्ट गर्छन्, ताकि अन्त्यमा तिनीहरू बर्खास्त नहोऊन्, र त्यसउप्रान्त खतरामा नपरून्। ख्रीष्टविरोधीले आफ्नो अधिकारक्षेत्रको रक्षा गर्नुको उद्देश्य आफ्नो शक्ति सुदृढ गर्नु र त्यसलाई प्रभावकारी बनाउनु हो, र त्यसैले तिनीहरू धेरै अनुचर, अनुगामी, कट्टर अनुयायी, र आसेपासेहरूको जगेर्ना गर्छन्। तिनीहरूले यस्ता मानिसहरूको जगेर्ना गर्नुको उद्देश्य पूर्ण रूपमा शक्तिमा एकाधिकार जमाउनु, त्यसलाई कमजोर हुन वा आफूबाट खोसिन नदिनु हो।
ख्रीष्टविरोधीहरू परमेश्वरको घरलाई आफ्नै व्यक्तिगत अधिकारक्षेत्रका रूपमा लिन्छन्, र तिनीहरूले नेतृत्व सम्हालेपछि पहिलो कामस्वरूप शक्तिमा एकाधिकार जमाउँछन्। के तिमीहरूले ख्रीष्टविरोधीहरूले शक्तिमा एकाधिकार जमाएको कुनै उदाहरण सम्झेका छौ? (यसअघि, एक मण्डली अगुवा थियो जो ख्रीष्टविरोधी थियो। जब पनि कसैले उसका समस्याहरू औँल्याउँथ्यो वा उसको खुलासा गर्थ्यो, तब उसले त्यस व्यक्तिलाई दबाउँथ्यो र उसका परमेश्वरका वचनका पुस्तकहरू जफत गर्थ्यो। परिस्थितिबारे थप पत्ता लगाउन म उसको मण्डलीका केही भेला समूहहरूमा गएँ। आफ्ना दुष्ट कार्यहरू पर्दाफास होला भन्ने डरले, त्यस ख्रीष्टविरोधीले मलाई धपाउने कोसिस गऱ्यो र मलाई उसको अनुमतिविना गोप्य रूपले भेलाहरूमा सहभागी भएको आरोप लगाउने मौका छोप्यो। पछि, माथिल्लो तहका अगुवाहरूले अनुसन्धान गर्न कसैलाई पठाए, अनि उक्त ख्रीष्टविरोधीले मेरो झूटो निन्दा गऱ्यो, मेरो खोइरो खन्यो, र मलाई नजरबन्दमा समेत राख्यो, दाजुभाइ-दिदीबहिनीहरूलाई मेरो सम्पर्कमा नआउन निर्देशन दियो। त्यो बेला, यस ख्रीष्टविरोधीले, एक अगुवा र एक कामदारसँगको सहकार्यमा आठवटा मण्डलीहरू नियन्त्रण गर्थ्यो। अन्त्यमा, धेरै महिनाको सङ्गति र सुझबुझपछि, अन्ततः दाजुभाइ-दिदीबहिनीहरूले ख्रीष्टविरोधीहरूको यो समूहलाई निकालिदिए।) ख्रीष्टविरोधीहरू यसरी परिचालन हुन्छन्। तिनीहरूले मण्डलीमा जे गरे पनि, त्यसको उद्देश्य शक्तिमा आफ्नो पकड जमाउने र मानिसहरूलाई नियन्त्रण गर्ने नै हुन्छ। तिनीहरू तिनीहरूको हैसियत र शक्तिलाई खतरामा पार्ने जोकोहीप्रति विशेष रूपमा संवेदनशील हुन्छन्। तिनीहरू यस्ता मामलाहरूको गन्ध थाहा पाइहाल्छन्, र तिनीहरू यी मामलाहरू तिनीहरूको प्रतिकूल छन् र त्यसले तिनीहरूको पदलाई खतरामा पार्छ भनेर तुरुन्तै थाहा पाउँछन्। के यो दुष्ट होइन र? किन ख्रीष्टविरोधीहरू यस्ता मामलाहरूप्रति यति संवेदनशील हुन्छन्? अरूले त्यो कुरा किन थाहा पाउँदैनन्? यो तिनीहरूको प्रकृतिसँग सम्बन्धित हुन्छ; ख्रीष्टविरोधीहरू मात्र यी कुराहरूबारे सचेत हुन सक्छन्। यसले एउटा कुरा पुष्टि गर्छ: ख्रीष्टविरोधीहरूको सार यस्तो प्रकारको हुन्छ। तिनीहरूको शक्तिको कामना असाधारण हुन्छ, र तिनीहरूसँग पृथक् लालसा हुन्छ। तिनीहरू प्रभारी रहेको मण्डलीमा जब कोही आउँछ, तब तिनीहरूले उसलाई अध्ययन गर्नेछन्, र सोच्नेछन्, “के यो व्यक्तिबाट मेरो हैसियत र प्रतिष्ठामा खतरा हुन्छ? ऊ यहाँ मेरो प्रवर्धन गर्न आएको हो कि मलाई बर्खास्त गर्न? ऊ यहाँ मेरा समस्याहरू अनुसन्धान गर्न आएको हो कि कामबारे सामान्य रूपमा सङ्गति गर्न?” तिनीहरू पहिला यी कुराहरू पत्ता लगाउने कोसिस गर्छन्। तिनीहरू यस्ता मामलाहरूबारे विशेष रूपमा संवेदनशील हुन्छन् किनभने तिनीहरूमा हैसियत र शक्तिप्रति विशेष लगाव र कामना हुन्छ; तिनीहरू शक्ति र हैसियतका लागि जिउँछन्। तिनीहरू के सोच्छन् भने यदि तिनीहरूले शक्ति गुमाए, तिनीहरूका अनुचरहरू कम भए, र तिनीहरू सेनाविनाका कमाण्डर बने भने, जीवनको अर्थ गुमेको हुनेछ। त्यसकारण, ख्रीष्टविरोधीहरू आफूले प्राप्त गरेको हैसियत र शक्तिका सम्बन्धमा, आफू चाहे तीनवटा, पाँचवटा, वा दशवटा मण्डलीका प्रभारी भए पनि, जति बढी त्यति राम्रो भन्ने विश्वास गर्छन्। तिनीहरूले आफ्नो शक्ति अरू मानिसहरूलाई किमार्थ दिनेछैनन्। तिनीहरू त्यो आफ्नो अधिकार, आफूले लडेर पाएको कुरा, आफूले क्रान्ति र रणनीतिमार्फत प्राप्त गरेको कुरा हो भन्ठान्छन्। यदि अरूले त्यो पाउन चाहन्छन् भने, उनीहरू त्यसको बदलामा आफ्नो जीवन दिन तयार हुनैपर्छ। यो ठूलो रातो अजिङ्गरजस्तै हो—यदि कसैले त्यसको तानासाही शासन अन्त्य गर्न लोकतान्त्रिक परिवर्तनको सुझाव दियो, कम्युनिष्ट पार्टीलाई निष्पक्ष निर्वाचन गराउन आग्रह गऱ्यो भने, ठूलो रातो अजिङ्गरले के भन्नेथियो? “लोकतन्त्र? तैँले त्यसको बदलामा दुई करोड मानिसको टाउको दिनुपर्छ! कम्युनिष्ट पार्टीले अनगिन्ती व्यक्तिहरूको रगत बगाएर शक्ति प्राप्त गरेको हो। यदि तँ शक्ति हत्याउन चाहन्छस् भने, तैँले त्यसको बदलामा त्यति नै मानिसहरूको रगत र जीवन दिनुपर्नेछ!” ख्रीष्टविरोधीहरू पनि उस्तै हुन्। यदि तँ तिनीहरूले शक्ति त्यागून् भन्ने चाहन्छस् भने, तिनीहरूलाई मनाउन सत्यताबारे सङ्गति गर्नु मात्र पर्याप्त हुँदैन; तिनीहरूले तँसित प्रतिस्पर्धा गर्नेछन् र लड्नेछन्। तिनीहरूका विधि वा माध्यमहरू जतिसुकै घृणित भए पनि, तिनीहरूले आफ्नो शक्तिको संरक्षण गर्नैपर्छ। परमेश्वरका चुनिएका मानिसहरू सबै ब्युँझिएर एक भई तिनीहरूलाई खुलासा गरी नहटाइञ्जेल, तिनीहरू हट्नेछैनन्। के ख्रीष्टविरोधीहरू अति नै दुष्ट हुँदैनन् र? यो ख्रीष्टविरोधीहरूको दुष्ट र क्रूर स्वभावको पूर्ण पुष्टि र उदाहरण हो। नियन्त्रित पात्रहरू इच्छुक होऊन् वा नहोऊन्, तिनीहरू सच्चा रूपले झुकून् वा नझुकून्, तिनीहरू पालन गर्न र पछ्याउन इच्छुक होऊन् वा नहोऊन्, ख्रीष्टविरोधीहरूले यसबारे वास्ता गर्दैनन्। तिनीहरू मानिसहरूलाई दबाउन र नियन्त्रणमा राख्न बलपूर्वक आफ्नो शक्ति प्रयोग गर्छन्। कसैले पनि अवज्ञा गर्न पाउँदैन: जो झुक्दैन ऊ दण्डित हुनेछ। यिनीहरू ख्रीष्टविरोधी हुन्।
भर्खरै, हामीले ख्रीष्टविरोधीहरू कसरी शक्तिमा एकाधिकार जमाउँछन् भन्नेबारे केही निर्दिष्ट अभ्यास र प्रकटीकरणहरूबारे सङ्गति गऱ्यौँ। के हामी यी अभ्यास र प्रकटीकरणहरूबाट, ख्रीष्टविरोधीहरूमा क्रूर र दुष्ट स्वभाव अनि सार हुन्छ भन्ने कुरा देख्न सक्दैनौँ र? के कसैले तिनलाई बदल्न सक्छ? चाहे तिनीहरूसित तर्क गरेर, तिनीहरूलाई भावनात्मक रूपमा मनाएर, परमेश्वरका वचनहरूमा भएको सत्यता प्रस्तुत गरेर, तिनीहरूलाई काटछाँट गरेर, वा साँचो भावनाले तिनीहरूलाई बदल्न खोजेर होस्—के यीमध्ये कुनै विधिले तिनीहरूलाई शक्तिमा एकाधिकार जमाउने अभ्यास त्याग्ने तुल्याउन सक्छ? (सक्दैन।) कतिपय मानिस भन्छन्, “ख्रीष्टविरोधीहरू त भ्रष्ट स्वभाव भएका मानिस मात्र हुन्। मानिसहरूमा मानव भावनाहरू हुन्छन्। यदि तिमीले तिनीहरूलाई भावनात्मक रूपमा मनायौ, कामकुरालाई तर्कसङ्गत रूपमा व्याख्या गऱ्यौ, र फाइदा-बेफाइदाहरू प्रस्ट पाऱ्यौ भने, तिनीहरूले तर्क बुझेपछि त्यसरी कार्य नगर्लान्। तिनीहरूले आफ्ना गल्ती स्विकार्लान्, पश्चात्ताप गर्लान्, र ख्रीष्टविरोधीहरूको मार्गमा हिँड्न छाड्लान्। तिनीहरूले परमेश्वरको घरभित्र आफ्नो अधिकारक्षेत्र स्थापित गर्ने, परमेश्वरको घरभित्र शक्तिमा एकाधिकार जमाउन आफ्ना कट्टर अनुयायीहरूलाई आकर्षित गर्ने, अनि मानवता र नैतिकता अनुरूप नहुने यी कार्यहरूमा संलग्न हुने काम नगर्लान्।” के ख्रीष्टविरोधीहरू यसरी प्रभावित हुन सक्छन्? (सक्दैनन्।) के कसैले कहिल्यै कुनै ख्रीष्टविरोधीलाई परिवर्तन गरेको छ? कतिपयले यसो भन्छन्, “सायद तिनीहरूले सानैदेखि आफ्ना आमाबाट राम्रो शिक्षा पाएनन्, तिनीहरू बिग्रिए। अहिले, यदि तिनीहरूका आमाले तिनीहरूसित कुरा गरेमा वा परिवारको सबैभन्दा प्रतिष्ठित व्यक्तिले, वा सबैभन्दा लामो समयदेखि विश्वासी रहेको व्यक्तिले तिनीहरूसित तर्क गरेमा, तिनीहरूले ख्रीष्टविरोधीहरूले गर्ने कामकुरा गर्न छोड्लान्।” के यो साँचो हो? (होइन।) किन होइन? (तिनीहरूसित तर्क गरेर काम छैन; तपाईं जति धेरै कुरा गर्नुहुन्छ, त्यति नै तिनीहरू नराम्रो मान्छन्। यदि तपाईंले त्यसपछि तिनीहरूलाई खुलासा र काटछाँट गर्नुभयो भने, तिनीहरूले तपाईंलाई घृणा गर्नेछन्।) ठिक भनिस्। के तिनीहरूले परमेश्वरका वचनहरू र सत्यता धेरै सुनेका छैनन् र? कतिपय ख्रीष्टविरोधीले परिवर्तित नै नभई दसबीस वर्षदेखि परमेश्वरमा विश्वास गरेका हुन्छन्। तिनीहरूले परमेश्वरका वचनहरू अति धेरै पढेका हुन्छन्, किन कुनै पनि परिवर्तन आएको हुँदैन? किनभने तिनीहरूको हृदय दुष्टताले भरिएको हुन्छ—परमेश्वरलेसमेत तिनीहरूलाई बचाउनुहुन्न भने, के मानिसहरूले आफूसँग भएको थोरै ज्ञान र धर्मसिद्धान्तद्वारा तिनीहरूलाई परिवर्तन गर्न सक्छन्? मानव समाजमा, देशहरूमा शिक्षा हुन्छ, र समाजमा कानुन हुन्छन्, र ती सबैले मानिसहरूलाई असल बन्न सिक्न र अपराध गर्नबाट जोगिन हौसला दिन्छन्। तर त्यसले मानिसहरूलाई किन परिवर्तन गर्न सक्दैन? के राष्ट्रिय शिक्षा र प्रणालीले समाजमा कुनै सकारात्मक प्रभाव पारेका छन्? के राष्ट्रले प्रवर्धन गर्ने ती कुराहरूमा मानवताका लागि कुनै शैक्षिक महत्त्व वा मूल्य हुन्छ? के ती प्रभावकारी भएका छन्? (छैनन्।) के मानिसहरूलाई अनुशासनमा राख्ने सबैभन्दा उच्च र कडिकडाउ स्थान, जस्तै बाल सुधार गृह र जेलजस्ता हरेक देशका कानुनी विभागहरूले समेत मानिसहरूको सार परिवर्तन गरेका छन् त? केही बलात्कारी, चोर, र ठगहरूको कुरा गरौँ—तिनीहरू यति धेरै जेल जाने र जेलबाट छुट्ने गर्छन् कि तिनीहरू बानी परेका अपराधी नै बन्छन्—के तिनीहरू अन्त्यमा परिवर्तन हुन्छन् त? अहँ, तिनीहरूलाई कसैले परिवर्तन गर्न सक्दैन। व्यक्तिको सार परिवर्तन गर्न सकिँदैन। त्यसै गरी, ख्रीष्टविरोधीहरूको सार पनि परिवर्तन गर्न सकिँदैन। शक्तिमा एकाधिकार जमाउने अभ्यासले ख्रीष्टविरोधीहरूको सारलाई जनाउँछ, र यो सार परिवर्तन गर्न सकिँदैन। यस्तो अपरिवर्तनीय व्यक्तिप्रति परमेश्वरको मनोवृत्ति के हुन्छ? के त्यो उहाँले तिनीहरूलाई परिवर्तन गर्न र बचाउन सक्दो गर्नु हो, र त्यसपछि तिनीहरूको प्रकृतिमा रूपान्तरण हासिल गर्नु हो? के परमेश्वर यो काम गर्नुहुन्छ? (गर्नुहुन्न।) अब तिमीहरूले परमेश्वर यस्तो काम गर्नुहुन्न भनेर बुझिसकेपछि, ख्रीष्टविरोधीहरूसित कसरी व्यवहार गर्नुपर्छ त? (तिनीहरूलाई इन्कार गर्नुपर्छ।) सुरुमा, खुट्ट्याउने र चिरफार गर्ने गर्; तिनीहरूलाई छर्लङ्गै देखेपछि, इन्कार गर्। कुनै व्यक्तिलाई ऊ अहङ्कारी र आत्मधर्मी अनि ख्रीष्टविरोधीजस्तै छ भन्ने सोचेर, आफ्नै धारणा र कल्पनाहरूका आधारमा इन्कार नगर्। यसो गरेर हुँदैन; तँ अन्धो बन्न मिल्दैन। सम्पर्क गरेर, अनुसन्धान गरेर र खुट्ट्याएर, बिस्तारै कुनै व्यक्ति ख्रीष्टविरोधी भएको प्रमाणित र पुष्टि गर्। सुरुमा, सबैसित ऊबारे सङ्गति र चिरफार गर्, उसलाई खुट्ट्या, अनि त्यसपछि सत्यता पछ्याउने र इन्साफको बोध भएका मण्डलीका मानिसहरूसित एक भई उसलाई इन्कार गर्। सुरुमा उसलाई खुट्ट्याउने र चिरफार गर्ने गर्, र त्यसपछि इन्कार गर्—ख्रीष्टविरोधीहरूसँग व्यवहार गर्ने यो नै सर्वोत्तम शैली हो। पाखण्ड गर्नमा माहिर र अत्यन्तै धूर्त कतिपय ख्रीष्टविरोधीहरूका हकमा भन्नुपर्दा, यदि तैँले तिनीहरूसँग सम्पर्क गरी तिनीहरूलाई अनुसन्धान गरेर र खुट्ट्याएर, तिनीहरू ख्रीष्टविरोधी भएको पुष्टि गरेको छस्, तर दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूलाई राम्ररी चिन्दैनन्, तिनीहरूमा अझै पनि वास्तविक सुझबुझ छैन, र तैँले दाजुभाइ-दिदीबहिनीहरूसित तिनीहरूबारे सङ्गति र चिरफार गर्दा, उनीहरूले तिनीहरू ख्रीष्टविरोधी हुन् भनेर विश्वास नगर्ने र नमान्ने मात्र नभई, “तँ तिनीहरूविरुद्ध पूर्वग्राही हुनुहुन्छ; यो तेरो व्यक्तिगत राय हो” समेत भन्छन् भने—तैँले के गर्नुपर्छ? यदि तैँले “जेहोस्, मैले तिनीहरूलाई खुट्ट्याएकै छु, म तिनीहरूद्वारा भ्रममा पर्ने वा नियन्त्रित हुनेछैनँ, म तिनीहरूको कुरा सुन्नेछैनँ, र म निश्चय नै तिनीहरूलाई पालन गर्नेछैनँ। तिमीहरूले तिनीहरूलाई खुट्ट्याउनु वा नखुट्ट्याउनु मेरो चासोको विषय होइन। मैले तिमीहरूलाई तिनीहरूका प्रकटीकरण र तिनीहरूले गर्ने कामकुराबारे बताएको छु, अनि तिमीहरूले विश्वास गरे पनि वा नगरे पनि, सुने पनि वा नसुने पनि, जुनै पनि तरिकाले मेरो जिम्मेवारी पूरा भएको छ। यदि तिमीहरू तिनीहरूको बहकाउ र नियन्त्रणमा पऱ्यौ भने, यदि तिमीहरूले तिनीहरूको कुरा सुन्छौ र तिनीहरूलाई पछ्याउँछौ भने, तिमीहरू परिणामहरू भोग्न लायक छौ र तिमीहरू अभागी हुनु जायज हो!” भनिस् भने—के यो शैली स्वीकार्य हुन्छ? के यो तैँले आफ्नो कर्तव्य पूरा गर्नु मानिन्छ? के यो परमेश्वरप्रति बफादार हुनु मानिन्छ? (मानिँदैन।) त्यसोभए तैँले के गर्नुपर्छ? यस्ता कुराहरू अपरिहार्य हुन्छन्; यस्ता मामलाहरू पक्कै उत्पन्न हुनेछन्। कतिपय मानिसहरूले जतिसुकै प्रवचन सुने पनि सत्यता बुझ्न सक्दैनन्, र तिनीहरूले ख्रीष्टविरोधीहरूका प्रकटीकरणलाई आफूले सुनेका प्रवचनहरूसँग जोड्न वा तिनीहरूलाई खुट्ट्याउन सक्दैनन्। कोही ख्रीष्टविरोधी हो भन्ने कुरा घामजस्तै छर्लङ्ग हुँदा पनि, उनीहरू उसलाई छर्लङ्ग देख्न सक्दैनन् र अझै पनि भ्रममा पर्छन्। ख्रीष्टविरोधीहरूले उनीहरूलाई व्यक्तिगत रूपमा हानि नगरूञ्जेल, नदबाउञ्जेल, गाली, काटछाँट नगरूञ्जेल, वा उनीहरूकै अगाडि दुष्कर्म नगरूञ्जेल, उनीहरूले तिनीहरू ख्रीष्टविरोधी हुन् भनेर मान्नेछैनन्। अरूले तथ्य बताए पनि वा प्रमाण पेस गरे पनि, उनीहरूले त्यो पत्याउनेछैनन्। ख्रीष्टविरोधीहरूले गर्ने कार्य आफ्नै आँखाले देखेपछि र ख्रीष्टविरोधीहरूले गर्ने दुर्व्यवहार आफैले अनुभव गरेपछि मात्र उनीहरू त्यो कुरा मान्न सक्छन्। यो परिस्थितिमा के गर्नुपर्छ? (उनीहरूलाई ख्रीष्टविरोधीहरू पछ्याउन र दुर्व्यवहार अनुभव गर्न दिनुपर्छ; दुर्व्यवहारमा परेपछि मात्र उनीहरूको होस खुल्नेछ।) के यो अलि कठोर भएन र? (यो उनीहरूप्रति कठोर हुनु होइन। यस्ता मानिसहरू सङ्गतिमार्फत सत्यता बुझ्न सक्दैनन्, र आफैले दुर्व्यवहार भोगेपछि मात्र उनीहरूको चेत र होस खुल्न सक्छ। त्यसकारण, यस्ता मानिसहरूलाई सम्हाल्ने तरिका यही मात्र हो।) यो एउटा सिद्धान्त हो। तैँले सकारात्मक रूपमा कुरा गर्दा कतिपय मानिसले बुझ्दैनन्; तिनीहरूमा त्यो बुझ्ने क्षमता हुँदैन। उदाहरणका लागि, यदि तैँले तिनीहरूलाई “यो क्षेत्र खतरनाक छ; तिमी राती एक्लै हिँड्यौ भने, तिमीले लुटेराहरू भेट्न सक्छौ। कैयौँ मानिसलाई यस्तो भएको छ। राती हिँड्न नजाऊ; चाँडै फर्केर आऊ!” भनिस् भने तिनीहरू त्यो कुरा विश्वास गर्दैनन् र साथीविना नै राति एक्लै हिँड्न जिद् कस्छन्। त्यो अवस्थामा, तँ तिनीहरूलाई एक्लै हिँड्न दिन्छस् तर गोप्य रूपमा तिनीहरूको रक्षा गर्छस्, तिनीहरू साँच्चै समस्यामा नपर्ने सुनिश्चित गर्छस्। यो आफ्नो जिम्मेवारी पूरा गर्नु हो। जब वास्तविक समस्या देखा पर्छ, तब तैँले तिनीहरूको सुरक्षा गर्न, तिनीहरूमा कुनै समस्या आइपर्न नदिन, अनि पाठ सिक्न र त्यो कुरा दिमागमा राख्न मद्दत गर्न सक्छस्। अन्त्यमा, तिनीहरूले तैँले भनेको कुरा सही रहेछ भनेर विश्वास गर्नेछन्। त्यसकारण, ख्रीष्टविरोधीहरूद्वारा बहकाइएका र सत्यताबारे चाहे जसरी सङ्गति गरिए पनि तिनीहरूलाई खुट्ट्याउन नसक्नेहरूका हकमा, उनीहरूले सुझबुझ विकास गर्नका निम्ति गम्भीर हानि भोग्नुपर्छ, पाठ सिक्नुपर्छ, र त्यसलाई दिमागमा राख्नुपर्छ। अन्योलमा हुने र सल्लाहलाई बेवास्ता गर्नेहरूले ख्रीष्टविरोधीहरूको दुष्टता र क्रूरता छर्लङ्गै देख्न सक्दैनन्, साथै ख्रीष्टविरोधीहरूलाई दाजुभाइ-दिदीबहिनीका रूपमा समेत लिन्छन्, तिनीहरूसित त्यसरी नै अन्तरक्रिया गर्छन्, तिनीहरूलाई प्रेमपूर्वक मद्दत गर्ने र निष्कपट रूपमा व्यवहार गर्ने, र तिनीहरूसित हृदयबाट नै कुरा गर्नेसमेत गर्छन्। फलस्वरूप, उनीहरू ख्रीष्टविरोधीहरूको सिकार बन्छन्। कतिपय मानिसले एकपटक मात्र नभई, कैयौँपटक हानि बेहोरेपछि मात्र सुझबुझ विकास गर्छन्। त्यसपछि जब तैँले उनीहरूसित सङ्गति गर्छस् र उनीहरूलाई सहयोग गर्छस्, तब तिनीहरू तँलाई विश्वास गर्छन्। यो प्रभावकारी विधि हो, र कतिपय मानिसहरूले यस्ता कुराहरूमा कष्ट भोग्नुपर्छ। यसअघि, अन्योलमा परेको एउटा व्यक्ति थियो जसमा सुझबुझ थिएन र परमेश्वरको घरले एक ख्रीष्टविरोधीलाई बर्खास्त गर्दा उसले त्यो कुरालाई निको मानेन। ख्रीष्टविरोधीका दुष्ट कार्यहरू प्रस्ट थिए र उसलाई ख्रीष्टविरोधीका रूपमा चित्रण समेत गरिएको थियो। त्यसलाई ऊबाहेक सबैले माने, र ऊसित कसैले पनि सङ्गति गर्न सकेन। अन्ततः, ऊ ख्रीष्टविरोधीलाई पछ्याएर निस्कियो। केही समयपछि, गम्भीर हानि भोगेर, ऊ रुँदै फर्क्यो, र उसले ख्रीष्टविरोधी साँच्चै भयानक रहेछ भनेर मान्यो। वास्तवमा, ख्रीष्टविरोधी सधैँ नै त्यतिकै खराब थियो, तर उसमा ख्रीष्टविरोधीको राम्रो छाप परेकाले र उसले चापलुसी गर्न चाहेकाले, उसले ख्रीष्टविरोधीले गरेको सबथोक सह्यो र स्विकाऱ्यो। जब ख्रीष्टविरोधीले हैसियत गुमायो, तब उसले ख्रीष्टविरोधीसँग समान स्तरमा रहेर कुराकानी गऱ्यो, अनि ख्रीष्टविरोधीले गरेका कतिपय कामकुराबारे रायहरू राख्न थाल्यो। उसको दृष्टिकोण बदलियो, र उसले समस्याहरू देख्न थाल्यो। अन्त्यमा, ख्रीष्टविरोधीलाई फेरि पनि पछ्याउन आग्रह गरिए पनि, उसले सिधै अस्वीकार गऱ्यो—ऊ ख्रीष्टविरोधीलाई पछ्याउनुभन्दा बरु मर्न इच्छुक थियो, किनभने उसले ठूलो हानि भोगेको र ख्रीष्टविरोधीलाई छर्लङ्गै देखेको थियो। वास्तवमा, उसले जे छर्लङ्ग देख्यो त्यो कुरा पहिल्यै उसलाई बताइएको थियो, तर उसले त्यो कुरामा सहमत भएको र त्यसलाई मानेको थिएन। त्यसमा केही गर्न सकिँदैनथ्यो। यस्ता मानिसहरूका हकमा, तिनीहरूले घुमाउरो बाटो लिनुपर्छ र अझ धेरै कष्ट सहनुपर्छ—तिनीहरूको कष्ट जायज हो। म किन त्यो जायज हो भन्छु? मेरो भन्नुको मतलब, यदि तँसँग आशिष् छन् तर तँ तिनको आनन्द उठाउन मान्दैनस्, र कष्ट भोग्न नै जिद् कस्छस् भने—त्यसमा केही गर्न सकिन्न—तैँले पहिला कष्ट सहनुपर्छ र भोग्नुपर्छ। यो जायज कष्ट हो।
ख्रीष्टविरोधीहरूले शक्तिमा एकाधिकार जमाउँदा, मुख्य गरी प्रश्न नगरी आफूलाई पालन गर्नेहरूलाई महत्त्वपूर्ण कार्यहरू सुम्पन्छन्। त्यसपछि तिनीहरू अझै ढलपल भइरहेका, सजिलै प्रभावित हुने मन भएकाहरूलाई तालिम दिन्छन्, र आफ्नो पक्षमा पार्छन्। यी व्यक्तिहरू पर्याप्त तालिम पाएर ख्रीष्टविरोधीको अधिकारक्षेत्रको सदस्य बनेपछि, ख्रीष्टविरोधी ढुक्क हुन सक्छ। ख्रीष्टविरोधीले प्रयोग गर्न नसक्नेहरूलाई ऊ पूर्ण रूपमा त्याग्छ, तिनीहरूलाई आफ्नो अधिकारक्षेत्रबाट निकाल्छ। प्रश्न नगरी उसको आज्ञापालन गर्न सक्नेहरू सबै उसका कट्टर अनुयायी, उसको अधिकारक्षेत्रका बफादार सदस्य मानिन्छन्। उसले यी व्यक्तिहरूलाई आफ्ना अनुयायी, अनुचर, र विश्वासपात्र मान्छ। यो समूहभित्र उसको शक्ति हाबी हुन्छ; अर्थात्, तिनीहरूमार्फत शक्तिको प्रभावकारी अभ्यास गरिन्छ। त्यसकारण, के भन्न सकिन्छ भने ख्रीष्टविरोधीहरूले शक्तिमा एकाधिकार जमाउँदा परमेश्वरको घरलाई आफ्नै अधिकारक्षेत्रमा रूपान्तरण गर्दा, ठूलो मेहनत लगानी गर्छन्। तिनीहरूले विभिन्न कार्य गर्छन् र यसका लागि ठूलो मूल्य चुकाउँछन्, तर यस मूल्यको नतिजा परमेश्वर, सत्यता, र सत्यता पछ्याउने सबै दाजुभाइ-दिदीबहिनीहरूसितको शत्रुता हुन्छ। यो शक्तिको मूल्य र महत्त्व के हो? त्यो ख्रीष्टविरोधीहरूले परमेश्वर र उहाँको घरविरुद्ध होड गर्न, आफ्नै गढ स्थापित गर्न, स्वतन्त्र राज्यहरू निर्माण गर्न, र स्वतन्त्र रूपले ठूलो शक्ति प्रयोग गर्न पुँजी प्राप्त गर्छन् भन्ने तथ्यमा हुन्छ।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।