विषयवस्तु चार: तिनीहरू आफूलाई उच्च पार्छन् र आफूबारे गवाही दिन्छन् (खण्ड दुई)
के आफूलाई उच्च पार्नु र आफूबारे गवाही दिनुका अन्य केही प्रकटीकरणहरू छन्? यो मामिलामा तिमीहरू सबैले आत्मचिन्तन गर्नुपर्छ। के तिमीहरूले आफूबारे गवाही दिनेजस्तो काम गर्नेथ्यौ? के तिमीहरू आफ्नो विवेक र समझद्वारा बाँधिएर आफूलाई त्यस्तो लज्जाजनक कार्य गर्नबाट रोक्न सक्छौ? यदि तँ आफूलाई संयमित राख्न सक्छस् भने, यसले तँमा चेतना छ, र तँ ख्रीष्टविरोधीहरूभन्दा फरक छस् भन्ने प्रमाणित गर्छ। यदि तँमा यो चेतना छैन, र तँमा यस्ता खालका महत्त्वाकाङ्क्षा र चाहनाहरू छन्, अनि तँ आफूबारे गवाही दिनेजस्तो काम गर्न सक्षम छस् भने, तँ एक ख्रीष्टविरोधीसमान होस्। त्यसोभए, तिमीहरूको अवस्था कस्तो छ? के तिमीहरू संयमसाथ कार्य गर्छौ? यदि तँमा परमेश्वरको डर मान्ने हृदय छ, लज्जाबोध, र चेतना छ भने, तैँले ती कुराहरू गर्न चाहे पनि, तैँले सोच्नेछस् कि तिनले परमेश्वरलाई चिढ्याउनेछन् र परमेश्वरले तिनलाई घृणा गर्नुहुनेछ, अनि त्यसपछि तैँले आफूलाई संयमित राख्न सक्नेछस् र तैँले आफूबारे गवाही दिने आँट गर्नेछैनस्। यदि तैँले आफूलाई एकपटक अनि त्यसपछि फेरि दुईपटक संयमित राखेपछि, यी विचार, यी अभिप्राय र सोचहरू केही समयपछि अलिअलि गर्दै कम हुन थाल्नेछन्। तँमा यी विचारबारे समझ हुनेछ र तँलाई यी घृणास्पद र घिनलाग्दो छन् भनेर महसुस हुनेछ, यस्ता कुराहरू गर्ने तेरा आवेग र चाहनाहरू कम हुनेछन्, र तँ बिस्तारै आफूमाथि लगाम लगाउन र आफूलाई नियन्त्रण गर्न सक्नेछस्, यस हदसम्म कि यी विचारहरू झन्झन् लामो अन्तरालमा मात्र उत्पन्न हुन थाल्नेछन्। यदि तँलाई यी विचारहरूबारे थाहा छ, तर आफूलाई संयमित राख्न सक्दैनस्, र तैँले अत्यन्तै दह्रिला उद्देश्यहरू बोक्छस्, मानिसहरूलाई तेरो आराधना गर्ने तुल्याउन मात्र चाहन्छस्, र तँलाई कसैले पनि आराधना गरेन वा पछ्याएन भने असन्तुष्ट महसुस गर्छस्, र घृणाले भरिन्छस्, र केही गर्न चाहन्छस्, र निर्लज्ज रूपमा आफूबारे गवाही दिन र आफ्नो प्रदर्शन गर्न सक्छस् भने—तँ ख्रीष्टविरोधी होस्। अनि तेरो अवस्थाचाहिँ कस्तो छ त? (जब म यी कुराहरूबारे सचेत हुन्छु, तब म आफूलाई संयमित राख्न सक्छु।) आफूलाई संयमित राख्न तँ केमा निर्भर रहन्छस्? (म परमेश्वरबारे केही ज्ञान राख्न र परमेश्वरको डर मान्ने हृदय हुनमा निर्भर हुन्छु।) यदि व्यक्तिसँग परमेश्वरको डर मान्ने हृदय छ भने, उसले संयम अपनाउन सक्छ। संयम आफूलाई रोकेर वा आफूलाई अवरोध गरेर हासिल हुँदैन, यो त सत्यता बुझेर अनि परमेश्वरको डर मानेर हासिल हुने परिणाम हो। व्यक्तिले चेतना र संज्ञानको माध्यमले आफूलाई संयमित पार्छ, र साथसाथै व्यक्तिमा अलिकति परमेश्वरको डर मान्ने हृदय भएकोले र परमेश्वरलाई चिढ्याउने डर भएकोले, उसले संयम अपनाउँछ। यदि तेरो चेतनाले तँलाई संयमित बनाउन सक्दैन, र तँसित परमेश्वरको डर मान्ने हृदय पनि छैन, र आफूबारे गवाही दिँदा तैँले लाज महसुस गर्दैनस् र त्यसो गरिरहन चाहन्छस्, र आफ्नो उद्देश्य पूरा नभएसम्म हार मान्दैनस् भने, यसको प्रकृति भिन्न हुन्छ—तँ ख्रीष्टविरोधी होस्।
आफूलाई उच्च पार्न र आफूबारे गवाही दिनको लागि ख्रीष्टविरोधीहरूमा हुने तरिका र प्रकटीकरणहरू थुप्रै छन्। कुनैकुनै तरिकामा ख्रीष्टविरोधीहरूले सिधै आफूलाई उच्च पार्नु र आफूबारे गवाही दिनु, र आफ्ना सबै असल गुणहरूबारे कुरा गर्नु संलग्न हुन्छ भने, कुनैकुनै तरिकामा चाहिँ तिनीहरूले मानिसहरूलाई चुपचाप तिनीहरूबारे उच्च विचार राख्ने र तिनीहरूलाई आदरसाथ हेर्ने, आराधना गर्ने, र पछ्याउने तुल्याउने, र मानिसहरूको हृदयमा ठाउँसमेत ओगट्ने उद्देश्य पूरा गर्ने अप्रत्यक्ष वाक्यांश र उपायहरू खोज्नु संलग्न हुन्छ—त्यस्तो व्यवहारको प्रकृति यस्तै हुन्छ। आफूलाई उच्च पार्ने र आफूबारे गवाही दिने ख्रीष्टविरोधीहरूको स्वभाव त्यसको प्रकृति, त्यसले ल्याउने नतिजा, साथै त्यो प्रकट हुने तरिका, अनि त्यसका अन्तर्निहित अभिप्राय र उद्देश्यको हिसाबमा साधारण मानिसहरूको स्वभावभन्दा फरक हुन्छ। अझ भन्ने हो भने, के आफूलाई उच्च पार्ने र आफूबारे गवाही दिने मानिसहरू आफ्ना सबै असल गुणहरूबारे मात्र कुरा गर्छन्? कहिलेकाहीँ तिनीहरू आफ्ना खराब पक्षहरूबारे पनि कुरा गर्छन्, तर त्यसो गर्दा के तिनीहरू साँच्चै आफ्नो बारे चिरफार र जान्ने प्रयास गरिरहेका हुन्छन्? (हुँदैनन्।) त्यसोभए व्यक्तिले आफ्नो आत्मज्ञान साँचो होइन, त्यो दूषित छ र त्यसको पछाडि उद्देश्य छ भनी कसरी पत्ता लगाउँछ? व्यक्तिले कसरी यो मामिला राम्ररी बुझ्न सक्छ? यहाँ मुख्य कुरा के हो भने, तिनीहरूले आफूलाई जान्ने र आफ्ना कमजोरी, खोट, कमी, र भ्रष्ट स्वभावहरू खुलासा गर्ने प्रयास गरिरहँदा आफूलाई दोषमुक्त गर्ने बहाना र कारणहरू पनि खोजिरहेका हुन्छन्। तिनीहरूले मानिसहरूलाई लुकीछिपी यसो भनिरहेका हुन्छन्, “मैले मात्रै होइन, सबैले गल्ती गर्न सक्छन्। तिमीहरू सबैले पनि गल्ती गर्न सक्छौ। मैले गरेको गल्ती क्षमायोग्य छ; यो सानो गल्ती हो। यदि तिमीहरूले यही गल्ती गरेका भए, मामिला मेरो भन्दा गम्भीर हुनेथ्यो, किनकि तिमीहरूले आत्मचिन्तन र आफूलाई चिरफार गर्नेथिएनौ। मैले केही गल्ती गरे पनि, म तिमीहरूभन्दा उत्तम छु र ममा बढी चेतना र निष्ठा छ।” जब सबैले यो कुरा सुन्छन्, तिनीहरूले सोच्छन्, “तपाईँले ठ्याक्कै सही भन्नुभो। तपाईँले सत्यता यति धेरै बुझ्नुभएको छ, र तपाईँसँग साँच्चै कद छ। गल्ती गर्दा तपाईँ आत्मचिन्तन गर्न आफूलाई चिरफार गर्न सक्नुहुन्छ; तपाईँ हामीभन्दा धेरै राम्रो हुनुहुन्छ। हामीले गल्ती गर्यौँ भने हामी आत्मचिन्तन गर्दैनौँ र आफूलाई जान्ने प्रयास गर्दैनौँ, र लाजको डरले हामी आफूलाई चिरफार गर्ने आँट पनि गर्दैनौँ। तपाईँसँग हाम्रोभन्दा ठूलो कद र धेरै साहस छ।” यी मानिसहरूले गल्ती गरेर पनि अरूको सम्मान जिते र आफ्नै प्रशंसाका गीत गाए—यो कुन स्वभाव हो? कतिपय ख्रीष्टविरोधीहरू बहाना गर्न, मानिसहरूलाई ठग्न र नाटक गर्नमा निकै पोख्त हुन्छन्। सत्यता बुझ्ने मानिसहरू भेट्दा तिनीहरू आफ्नो आत्मज्ञानबारे कुरा गर्न थाल्छन्, र आफू दियाबलस र शैतान हुँ, आफ्नो मानवता खराब छ, र आफू श्राप पाउन योग्य छु भनेरसमेत भन्छन्। मानौँ तैँले तिनीहरूलाई यस्तो सोधिस् रे, “तपाईँ आफू दियाबलस र शैतान हुँ भनेर भन्नुहुन्छ, त्यसोभए तपाईँले के-कस्ता दुष्ट कार्य गर्नुभयो त?” तिनीहरूले भन्छन्: “मैले केही पनि गरिनँ, तर म दियाबलस हुँ। अनि म दियाबलस मात्र होइन; म त शैतान पनि हुँ!” तैँले त्यसपछि तिनीहरूलाई सोध्छस्, “तपाईँ आफू दियाबलस र शैतान हुँ भनेर भन्नुहुन्छ, त्यसोभए तपाईँले दियाबलस र शैतानका कुन दुष्ट कार्य गर्नुभयो, अनि तपाईँले कसरी परमेश्वरलाई प्रतिरोध गर्नुभयो? के तपाईँ आफूले गरेका दुष्ट कार्यहरूबारे बताउन सक्नुहुन्छ?” तिनीहरूले भन्नेछन्: “मैले केही पनि दुष्टता गरिनँ!” त्यसपछि तँ झनै जोड गर्छस् र सोध्छस्, “यदि तपाईँले केही पनि दुष्टता गर्नुभएको छैन भने, तपाईँ किन आफू दियाबलस र शैतान हुँ भनेर भन्नुहुन्छ? यसो भनेर तपाईँले के हासिल गर्न खोजिरहनुभएको हो?” जब तँ तिनीहरूसँग यसरी गम्भीर बन्छस्, तब तिनीहरूसँग भन्नको लागि केही पनि हुनेछैन। वास्तवमा तिनीहरूले धेरै खराब कार्यहरू गरेका हुन्छन्, तर तिनीहरूले तँसँग त्यसका तथ्यहरू बिलकुलै बताउनेछैनन्। तिनीहरूले आफ्नो आत्मज्ञानबारे खोक्रो रूपमा बताउन केही ठूल्ठूला कुरा मात्र गर्नेछन् र केही धर्मसिद्धान्तहरू फलाक्नेछन्। विशेषगरी तिनीहरूले मानिसहरूलाई कसरी आफूतिर ताने, कसरी छल गरे, मानिसहरूलाई आफ्नै भावनाका आधारमा कसरी प्रयोग गरे, परमेश्वरको घरका हितहरूलाई कसरी गम्भीर रूपमा लिएनन्, कसरी कार्य प्रबन्धहरूविरुद्ध गए, कसरी माथिलाई छल गरे, ब्रदर-सिस्टरहरूबाट कसरी कुराहरू लुकाए, र परमेश्वरको घरको हितलाई कति क्षति पुर्याए भन्ने तथ्यहरूबारे तिनीहरूले एक शब्द पनि बोल्नेछैनन्। के यो आफूबारेको साँचो ज्ञान हो र? (होइन।) तिनीहरूले आफू दियाबलस र शैतान हुँ भनेर भनिरहँदा, के तिनीहरूले आफूलाई उच्च पार्न र आफूबारे गवाही दिन आत्मज्ञानको नाटक गरिरहेका हुँदैनन् र? के यो तिनीहरूले प्रयोग गर्ने एउटा विधि होइन र? (हो।) एउटा औसत व्यक्तिले यो विधिलाई छर्लङ्ग देख्न सक्दैन। कतिपय अगुवाहरू बर्खास्त गरिएपछि पनि केही समयलगत्तै पुनः चुनिन्छन्, र यसको कारण सोध्दा कतिपय मानिसहरूले यसो भन्छन्: “त्यो अगुवा राम्रो क्षमताको छ। उसलाई ऊ दियाबलस र शैतान हो भनेर थाहा छ। अरू कसमा यो स्तरको ज्ञान छ र? साँच्चै सत्यता पछ्याउने मानिसहरूमा मात्रै यस्तो ज्ञान हुन्छ। हामीमध्ये कसैले पनि आफूबारे यो ज्ञान प्राप्त गर्न सक्दैनौँ; औसत व्यक्तिमा यस्तो कद हुँदैन। यसैकारण सबैले उसैलाई चुने।” यहाँ के भइरहेको छ? यी मानिसहरू बहकिएका छन्। यो अगुवालाई ऊ दियाबलस र शैतान हो भनेर थाहा थियो, तर ऊ सबैद्वारा चुनिएको थियो, त्यसैले उसले ऊ दियाबलस र शैतान हो भनेर भन्नुले मानिसहरूमाथि के-कस्तो प्रभाव र परिणाम निम्त्याउँछ? (यसले मानिसहरूलाई तिनीहरूबारे उच्च विचार राख्ने तुल्याउँछ।) त्यो सही हो, यसले मानिसहरूलाई तिनीहरूबारे अझ बढी उच्च विचार राख्ने तुल्याउँछ। गैरविश्वासीहरूले यो विधिलाई “अघि बढ्नको लागि पछि हट्नु” भन्छन्। यसको मतलब, मानिसहरूलाई तिनीहरूबारे अझ बढी उच्च सोच्ने तुल्याउन तिनीहरूले पहिला आफूबारे खराब कुराहरू बताउँछन्, ताकि अरूले तिनीहरू आफूलाई उदाङ्गो पार्न र आफूलाई चिन्न सक्छन्, र तिनीहरूसँग गहिराइ र अन्तर्दृष्टि, र गहन बुझाइ छ भनेर विश्वास गरून्, र यही कारणले गर्दा सबैले तिनीहरूलाई अझ धेरै आराधना गर्छन्। अनि सबैले तिनीहरूलाई अझ धेरै आराधना गर्नुको परिणाम के हुन्छ? फेरि अगुवाहरू चुन्ने समय आउँदा तिनीहरूलाई अझै पनि त्यो भूमिकाको लागि सर्वश्रेष्ठ मानिन्छ। के यो निकै चलाख विधि होइन र? यदि तिनीहरूले आफ्नो आत्मज्ञानबारे यसरी कुरा नगरेका भए र आफू दियाबलस र शैतान हुँ भनेर नभनेका भए, बरु नकारात्मक मात्र भएका भए, अरूले तिनीहरूलाई देख्दा यसो भन्नेथिए, “तैँले बर्खास्त भएर आफ्नो हैसियत गुमाउनेबित्तिकै तँ नकारात्मक भइस्। तँ हामीलाई नकारात्मक नहुनू भनेर सिकाउने गर्थिस्, तर अहिले तेरो नकारात्मकता हाम्रो भन्दा गम्भीर छ। हामी तँलाई चुन्नेछैनौँ।” यस्तो अगुवालाई कसैले पनि उच्च सोच्नेछैनन्। अरूमा अझै पनि ऊबारे समझ नहुने भए पनि, तिनीहरूले कम्तीमा उसलाई फेरि आफ्नो अगुवा चुन्नेछैनन्, र यो व्यक्तिले अरूलाई आफूबारे उच्च सोच्ने तुल्याउने उद्देश्य पूरा गर्न सक्नेछैन। तर यो अगुवाले अग्रसरता लिँदै यसो भन्छ: “म दियाबलस र शैतान हुँ; परमेश्वरले मलाई श्राप दिऊन् र नरकको अठारौँ तहमा पठाऊन् र सारा अनन्तकालसम्म मलाई पुनर्जन्म लिने अनुमति नदिऊन्!” यो सुनेर केही मानिसहरू उसको लागि दुःखी हुन्छन् र भन्छन्: “हाम्रा अगुवाले धेरै कष्ट भोगेका छन्। ओहो, उनीमाथि कति ठूलो अन्याय भएको छ! यदि परमेश्वरले उनलाई अगुवा बन्ने अनुमति दिनुभएन भने, हामी नै उनलाई चुन्नेछौँ।” सबैले यो अगुवालाई त्यो हदसम्म समर्थन गर्छन्, त्यसैले के तिनीहरू बहकिएका छैनन् र? तिनीहरूका वचनहरूको मूल उद्देश्यको पुष्टि भएको छ, जसले तिनीहरूले साँच्चै मानिसहरूलाई यसरी बहकाइरहेका छन् भनेर प्रमाणित गर्छ। शैतानले कहिलेकाहीँ आफूलाई उच्च पार्ने र आफूबारे गवाही दिने काम गरेर मानिसहरूलाई बहकाउँछ, र अरू कुनै विकल्प नहुँदा त्यसले कहिलेकाहीँ घुमाउरो पाराले आफ्ना गल्तीहरू स्विकार्न सक्छ, तर यो सब ढोँग हो, र त्यसको उद्देश्य मानिसहरूको सहानुभूति र बुझाइ प्राप्त गर्नु मात्र हुन्छ। त्यसले यस्तोसमेत भन्नेछ, “कोही पनि सिद्ध हुँदैन। सबैमा भ्रष्ट स्वभावहरू हुन्छन् र सबैले गल्ती गर्न सक्छन्। जबसम्म व्यक्तिले आफ्ना गल्तीहरू सच्याउन सक्छ, तबसम्म ऊ असल मानिस नै हुन्छ।” मानिसहरूले यो सुनेपछि तिनीहरूलाई यो सही हो भन्ने लाग्छ, र तिनीहरूले शैतानलाई आराधना गर्न र पछ्याउन जारी राख्छन्। शैतानको विधि भनेको सक्रिय रूपमा आफ्ना गल्तीहरू स्विकार्नु, र गोप्य रूपमा आफूलाई उच्च पार्नु र मानिसहरूको हृदयमा आफ्नो स्थानलाई माथि सार्नु हो, ताकि मानिसहरूले त्यसका सबथोक—त्यसका त्रुटिहरूसमेत—स्विकारून् र त्यसपछि ती त्रुटिहरूलाई माफ गरून्, तिनलाई बिस्तारै बिर्सिऊन्, र अन्ततः शैतानलाई पूर्ण रूपमा स्विकारून्, मृत्युसम्मै त्यसप्रति बफादार रहून्, त्यसलाई कहिल्यै नछोडून् वा नत्यागून्, र त्यसलाई अन्त्यसम्मै पछ्याऊन्। के यो शैतानको काम गर्ने तरिका होइन र? शैतानले यसरी नै काम गर्छ, र ख्रीष्टविरोधीहरूले पनि मानिसहरूलाई आफूलाई आराधना गर्ने र पछ्याउने तुल्याउने आफ्नो महत्त्वाकाङ्क्षा र उद्देश्य पूरा गर्न यसप्रकारको विधि प्रयोग गर्छन्। यसका परिणामहरू पनि उस्तै हुन्छन्, र शैतानले मानिसहरूलाई बहकाउने र भ्रष्ट तुल्याउने परिणामभन्दा कति पनि फरक हुँदैनन्।
जब केही मानिसहरूले आफ्नो आत्मज्ञानबारे कुरा गर्छन्, तिनीहरू आफूलाई पूरै अस्तव्यस्त र केही न कामको व्यक्तिको रूपमा चित्रित गर्छन्, र आफू दियाबलस र शैतान हुँ, आफू श्रापित हुन योग्य छु, र आफूलाई परमेश्वरले हटाउनुभयो भने गुनासो गर्नेछैन भनेरसमेत भन्छन्। तर यी मानिसहरूमा आफ्नो प्रकृति सार वा भ्रष्ट स्वभावहरूबारे साँचो बुझाइ हुँदैन, र तिनीहरूले आफ्नो वास्तविक स्थितिबारे कुनै कुरा पनि बताउन सक्दैनन्। त्यसको साटो तिनीहरूले अरूलाई बहकाउन देखावटी ढर्रा प्रयोग गर्ने प्रयास गर्छन्, र मानिसहरूलाई झुक्याउन र छल गर्न सक्रिय रूपमा आफ्ना गल्तीहरू स्विकार्ने र “अघि बढ्न पछि हट्ने” विधि र शैली प्रयोग गर्छन्, र त्यसपछि मानिसहरूलाई आफूबारे राम्रो राय राख्ने तुल्याउँछन्। यही नै ख्रीष्टविरोधीहरूको अभ्यास हो। अर्कोपल्ट कुनै यस्तो व्यक्तिसँग सामना भयो भने तिमीहरूले उसलाई कस्तो व्यवहार गर्नुपर्छ? (विस्तृत विवरणहरू नियाल्नुपर्छ।) ठीक भन्यौ, तिमीहरूले मामिला अनुसन्धान गर्न र विस्तृत विवरणहरू नियाल्न सिक्नुपर्छ। अनि तिमीहरूले कत्तिको गहन रूपमा अनुसन्धान गर्नुपर्छ? यति गहन रूपमा कि, जबसम्म उसले दयाको भीक माग्दै यसो भन्दैन, “म तिमीहरूलाई फेरि कहिल्यै बहकाउनेछैन। तिमीहरूले मलाई आफ्नो अगुवा चुन्यौ भने पनि म त्यो भूमिका वहन गर्नेछैन।” उसलाई यसो भन, “हामी तँबाट फेरि कहिल्यै बहकिनेछैनौँ वा तँलाई अगुवा चुन्नेछैनौँ, त्यसैले सपना देख्न बन्द गर्!” यो कस्तो लाग्यो? ती सबै मानिसहरू, जसले आफ्नो आत्मज्ञानबारे निकै बढाइचढाइ गरेर बोल्छन्, र आफूलाई सराप्नेसमेत गर्छन्, र सुन्दा तीमध्ये केही पनि साँचो लाग्दैनन्, तिनीहरू झूटा आत्मिक व्यक्ति र पाखण्डीहरू हुन्, र तिनीहरूका सबै शब्दहरू बहकाउने खालका हुन्छन्। त्यस्ता मानिसहरूको बोलीमा एउटा विशेषता र केही मसिना विवरणहरू हुन्छन्, जसलाई तैँले खुट्ट्याउन सक्नुपर्छ। उदाहरणका लागि, मलाई भन त, यदि कुनै व्यक्तिलाई भेटीहरू सुरक्षित राख्ने एउटा शपथ लेख्न लगाइयो भने, त्यो शपथको पहिलो वाक्य के हुनुपर्छ? चेतना र मानवता भएको कुनै व्यक्तिले के लेख्ला? आफ्नो उचित स्थानमा उभिन र आफ्नो मनोवृत्ति उदाङ्गो पार्न उसले कस्तो भाव र वाक्यांश प्रयोग गर्ला? साधारण मानिसहरूले बोल्दा त साधारण रूपमै बोलिरहेका छन् भनेर सबैले महसुस गर्न सक्छन्, तर महत्त्वाकाङ्क्षी व्यक्तिहरू जो दुष्ट मानिस वा ख्रीष्टविरोधी हुन्, तिनीहरू बोल्दा, तिनीहरूसित खास भाव हुन्छ, जुन औसत व्यक्तिको भन्दा फरक हुन्छ। उदाहरणका लागि, तिनीहरू यसो भन्छन्: “यदि म, फलानोले परमेश्वरका भेटीहरूको एक पैसा पनि हिनामिना गरेँ भने, मैले दयनीय रूपले मर्नुपरोस्—मैले गाडीले किचिएर मर्नुपरोस्!” यो कस्तो भाव हो? तिनीहरू “म” भन्ने शब्दबाट सुरु गर्छन्, सबैभन्दा उच्च सुनिने भाव अपनाउँछन्—तिनीहरूको भाव र बोल्ने शैलीपछाडिको उत्प्रेरणा तिनीहरूले प्रयोग गर्ने आक्षरिक शब्दहरूमा देख्न सकिन्छ। पहिलो शब्द “म” हुन्छ—तिनीहरूले सबैभन्दा उच्च सुनिने भाव, र निकै तिखो स्वर अपनाउँछन्—के यो निकै उच्च सुनिने शपथ होइन र? यसप्रकारको शपथलाई के भनिन्छ? यसलाई उच्च सुनिने र पाखण्डी शपथ भनिन्छ। यस्तो आक्रामकतासाथ शपथ लेख्नु—यो कस्तो खालको स्वभाव हो? यो एक शपथ हो, त्यसोभए तैँले कोसामु शपथ खाँदै छस्? तैँले परमेश्वरसामु शपथ खाँदै छस्, त्यसकारण यो मामिलामा एक सामान्य व्यक्तिले कसरी बोल्नुपर्छ? उसले नम्र तरिकाले बोल्नुपर्छ, आफ्नो उचित स्थानमा उभिनुपर्छ, परमेश्वरलाई प्रार्थना गर्नुपर्छ, र हृदयदेखि बोल्नुपर्छ। उसले उच्च-सुनिने शब्दहरू प्रयोग गर्नु वा आक्रामक बन्नु हुँदैन। त्यस्ता मानिसहरू शपथ खाइरहँदा पनि त्यति आक्रामक हुन्छन्—तिनीहरूको शैतानी स्वभाव यति गम्भीर हुन्छ! तिनीहरूको शपथ साँचो हुन्छ कि झूटो भनेर भन्न गाह्रो हुन्छ। तिनीहरूको अर्थ यस्तो हुन्छ: “तँलाई ममाथि भरोसा छैन? तँलाई मैले परमेश्वरको घरको फाइदा उठाइरहेको छु, भेटी चोरिरहेको छु भन्ने डर छ? तँ मलाई प्रयोग गर्छस् र ममाथि भरोसा छैन, र तँ मलाई शपथ खान भन्छस्—ठीक छ, म शपथ खानेछु, मैले यो शपथ खाने आँट गर्छु गर्दिनँ, पर्खेर हेर्! मलाई त लाग्दैन कि म त्यस्तो केही गर्न सक्छु।” यो कस्तो मनोवृत्ति हो? यो आक्रामकता र निर्लज्जता हो। तिनीहरू परमेश्वरविरुद्ध रडाको मच्चाउने दुस्साहससमेत गर्छन्, र आफूलाई सही ठहर्याउन र मानिसहरूलाई बहकाउन शपथ प्रयोग गर्छन्। के यो परमेश्वरको डर मान्नु हो त? यसमा त अलिकति पनि धर्मपरायणता छैन। यस्तो खालको व्यक्ति शैतान र ख्रीष्टविरोधी हो; ख्रीष्टविरोधीहरूले यसरी नै बोल्छन्। रडाको मच्चाउने आशयले शपथ खानु—यो कस्तो खालको स्वभाव हो? के यस्तो खालको व्यक्तिलाई अझै पनि मुक्ति दिन सकिन्छ? के तिमीहरूले यस्तो खालको व्यक्ति पहिले भेटेका छौ? तिमीहरू यस्ता प्रकटीकरण, खुलासा वा स्वभावहरू खुट्ट्याउन जान्दैनौ, जान्दछौ र? कति मानिसहरू त यस्तो खालको व्यक्ति समझदार, आत्मिक बुझाइयुक्त, इमानदार, र परमेश्वरप्रति बफादार भएको विश्वास गर्छन्। के यो मूर्खता होइन र? के यो समझको कमी होइन र? यो घोर व्यवहार र स्वभाव तिनीहरूको शपथको आक्षरिक शब्द र वाक्यांशमा देख्न सकिन्छ, तर मानिसहरूले अझै पनि यो ख्रीष्टविरोधी निकै असल छ भन्ने सोच्छन्। के यी मानिसहरूले सत्यता बुझ्छन् त? यस्तो लाग्छ तिमीहरू सबैले धर्मसिद्धान्तहरू मात्र बुझ्छौ, तिमीहरूले धर्मसिद्धान्तबारे कुरा गर्न र खोक्रा शब्दहरू बोल्न मात्र सक्छौ, र खास मामिला र समस्याहरू खुट्ट्याउन सक्दैनौ। भविष्यमा यस्ता मामिलाहरू सामना गर्यौ भने, के तिमीहरू खुट्ट्याउन सक्नेछौ? (हो, सक्नेछौँ।) यस्ता शपथ लेख्नेहरू सबै पशुहरू हुन् र तिनीहरू कसैमा मानवता छैन। के तिमीहरूले पहिले यस्तो खालको शपथ देखेका छौ? के तिमीहरूले पहिले यस्तो खालको शपथ लेखेका छौ? (छौँ।) के त्यसको भाव र सुरुवात पनि यसको जस्तै थियो? (योजत्तिको सिधा थिएन।) त्यसोभए के त्यसको प्रकृति उही थियो? (थियो।) त्यसको प्रकृति उही थियो। शपथ खानु भनेको युद्धमैदानमा प्रवेश गर्नुजस्तो होइन, जसमा वीरतापूर्ण आत्मबलिदान आवश्यक हुन्छ। यसमा त्यस्तो भावना आवश्यक पर्दैन। जब तैँले परमेश्वरको शपथ खान्छस्, तैँले त्यसबारे राम्रोसँग सोच्नुपर्छ, र तैँले यो शपथ लेख्न किन आवश्यक छ, र तैँले कसको लागि शपथ खाँदैछस् र प्रतिज्ञा गर्दैछस् भन्ने कुरा बुझ्नुपर्छ। परमेश्वरले एक खालको भावना होइन, बरु व्यक्तिको मनोवृत्ति चाहनुहुन्छ। तेरो त्यो भावना आक्रामक र रडाको मच्चाउने किसिमको छ; त्यो शैतानको अहङ्कारी स्वभावको प्रकटीकरण हो। त्यो धर्मपरायणता र सृजित प्राणीहरूमा हुनुपर्ने प्रकटीकरण होइन, र त्यो सृजित प्राणीहरूले धारण गर्नुपर्ने हैसियत त झनै होइन। के यस्तो प्रकटीकरण देखाउने मानिसहरू राष्ट्रिय वीरताद्वारा प्रभावित छैनन् र? के यो यससँग सम्बन्धित छ? मानिसहरूलाई गहन रूपमा विष लगाइएको छ—तिनीहरू एउटा शपथ वा प्रतिज्ञा लेख्नेबित्तिकै युगौँयुगदेखिका सबै प्रसिद्ध व्यक्तित्वहरूबारे सोच्छन्, जो आफ्नो देश र जनताप्रति बफादार थिए। ती प्रसिद्ध व्यक्तित्वहरू शैतानको गिरोहका हिस्सा थिए, र तिनीहरूले आफूलाई अलग देखाउन र आफ्नै गवाही दिन, अनि मानिसहरूको हृदयमा स्थान ओगट्न र राम्रो प्रतिष्ठा बनाउनको लागि निर्लज्जपूर्वक काम गरेका थिए, ताकि इतिहासमा अमर रहँदै तिनीहरूले अनन्तसम्म रहिरहने राम्रो नाम कमाउन सकून्। पछिका पुस्ताले यसलाई तिनीहरूले देशप्रति अन्धभक्ति गरेको रूपमा मूल्याङ्कन गरे; के तिमीहरूलाई तिनीहरू साँच्चै अन्धा थिए भन्ने लाग्छ? वास्तवमा यो अन्धोपन के हो? यो सबैभन्दा विश्वासघाती, र दुष्ट अभ्यास हो, र यसभित्र व्यक्तिगत मनसाय हुन्छ। यो अन्धोपन होइन, र निश्चय नै भक्ति पनि होइन—यो त दुष्टता हो।
ख्रीष्टविरोधीहरूको आफूबारे गवाही दिने कार्यबारे हामीले धेरै सङ्गति गरिसकेका छौँ। के यो विषयसँग सान्दर्भिक अरू कुनै कुराहरू छन्, जुन तिमीहरूले अझै पनि राम्रोसँग बुझेका छैनौ? कतिपय मानिसहरूले बोली प्रयोग गरी आफूबारे गवाही दिन्छन्, र आडम्बर देखाउने केही वचनहरू बोल्छन्, जबकि अरू मानिसहरूले व्यवहार प्रयोग गर्छन्। आफूबारे गवाही दिन व्यवहार प्रयोग गर्ने मानिसहरूका प्रकटीकरणहरू के-के हुन्? बाहिरबाट हेर्दा, तिनीहरू मानिसहरूका धारणाहरूसँग मेल खाने, मानिसहरूको ध्यान आकर्षित गर्ने, र मानिसहरूले निकै भद्र र नैतिक मापदण्डहरूअनुरूप भन्ठानेका केही व्यवहारमा संलग्न हुन्छन्। यी व्यवहारले मानिसहरूलाई तिनीहरू सम्मानजनक, निष्ठायुक्त, परमेश्वरलाई साँच्चै प्रेम गर्ने, निकै धर्मपरायण, र साँच्चै परमेश्वरको डर मान्ने हृदय भएका, र सत्यता पछ्याउने मानिसहरू हुन् भन्ने सोच्ने तुल्याउँछ। तिनीहरू मानिसहरूलाई बहकाउन प्रायः केही बाहिरी असल व्यवहार प्रदर्शन गर्छन्—के यसमा पनि आफूलाई उच्च पार्नु र आफूबारे गवाही दिनुको गन्ध आउँदैन र? मानिसहरूले प्रायः अरूलाई तिनीहरूबारे उच्च सोच्ने र तिनीहरूलाई सम्मानको दृष्टिले हेर्ने तुल्याउन शब्दहरूको माध्यमबाट, तिनीहरू कसरी जनमानसभन्दा भिन्न छन् र तिनीहरूसँग कसरी अरूभन्दा बुद्धिमानी विचारहरू छन् भनेर व्यक्त गर्न स्पष्ट बोली प्रयोग गर्दै आफूलाई उच्च पार्छन् र आफूबारे गवाही दिन्छन्। तर प्रत्यक्ष बोली संलग्न नभएका त्यस्ता केही विधिहरू छन्, जसमा मानिसहरूले तिनीहरू अरूभन्दा राम्रा छन् भनेर गवाही दिनुको सट्टा बाहिरी अभ्यासहरू प्रयोग गर्छन्। यसप्रकारका अभ्यासहरू राम्रोसित सोचविचार गरिएका हुन्छन्, तिनमा निश्चित अभिप्राय र मनसाय हुन्छन्, र ती निकै उद्देश्यपूर्ण हुन्छन्। तिनलाई राम्ररी बेरिएको र प्रशोधित गरिएको हुन्छ, त्यसैले मानिसहरूले देख्ने भनेका केही व्यवहार र अभ्यास मात्र हुन्, जुन मानिसहरूका धारणासँग मिल्ने, भद्र, धर्मपरायण, र सन्तको शिष्टतासँग मिल्ने, र परमेश्वरलाई प्रेम गर्ने, परमेश्वरको डर मान्ने, र सत्यतासँग मिल्नेसमेत हुन्छन्। यसले आफूलाई उच्च पार्ने र आफूबारे गवाही दिने र मानिसहरूलाई आफूबारे उच्च सोच्ने र आफूलाई आराधना गर्ने तुल्याउने उही उद्देश्य पूरा गर्छ। के तिमीहरूले कहिल्यै त्यस्तो कुरा सामना गरेका वा देखेका छौ? के तिमीहरूमा यी प्रकटीकरणहरू छन्? के मैले छलफल गरिरहेका यी कुरा र यो विषय वास्तविक जीवनभन्दा अलग छन्? वास्तवमा, ती अलग छैनन्। म तिनीहरूलाई एउटा सामान्य उदाहरण दिन्छु। कतिपय मानिसहरूले आफ्नो कर्तव्य निर्वाह गर्दा बाहिरबाट तिनीहरू अत्यन्तै व्यस्त देखिन्छन्; तिनीहरू जानीजानी अरूले खानपिन गरिरहेको वा सुतिरहेको बेला काम गर्न जारी राख्छन्, र अरूले आफ्नो कर्तव्य निर्वाह गर्न सुरु गर्दा तिनीहरू खानपिन गर्न वा सुत्न जान्छन्। तिनीहरूले यसो गर्नुको उद्देश्य के हो? तिनीहरू ध्यान आकर्षित गर्न र सबैलाई तिनीहरू कर्तव्य निर्वाह गर्नमा अति व्यस्त रहेको र तिनीहरूसँग खानपिन गर्ने वा सुत्ने समयसमेत नभएको देखाउन चाहन्छन्। तिनीहरू सोच्छन्: “तिमीहरू साँच्चै कुनै बोझ उठाउँदैनौ। तिमीहरू कसरी खानपिन गर्ने र सुत्नेबारे यति सक्रिय हुन्छौ? तिमीहरू केही न कामका हौ! मलाई हेर, म काम गरिरहेको छु, जबकि तिमीहरू सबै खानपिन गरिरहेका छौ, र तिमीहरू राती सुतिरहेको बेलासमेत म काम गरिरहेको छु। के तिमीहरूले यसरी कष्ट भोग्न सक्नेथ्यौ? म यो कष्ट सहन सक्छु; मैले त आफ्नो व्यवहारमार्फत एउटा उदाहरण स्थापित गरिरहेको छु।” तिमीहरू यस्तो व्यवहार र प्रकटीकरणबारे के सोच्छौ? के यी मानिसहरूले जानीजानी यस्तो गरिरहेका छैनन् र? केही मानिसहरूले जानीजानी यी कुराहरू गरिरहेका हुन्छन्, र यो कस्तो खालको व्यवहार हो? यी मानिसहरू गैरअनुरूपतावादी बन्न चाहन्छन्; तिनीहरू जनमानसभन्दा अलग हुन र मानिसहरूलाई आफू रातभर कर्तव्य निर्वाह गर्नमा व्यस्त रहेको, र कष्ट सहन विशेष सक्षम रहेको देखाउन चाहन्छन्। यसरी सबैजनाले तिनीहरूको काँधमा यति बोझ रहेको छ कि तिनीहरूलाई काममा भ्याई-नभ्याई भएको र तिनीहरूले खानपिन गर्न वा सुत्नसमेत नपाएको भन्ने सोच्दै तिनीहरूका लागि विशेष रूपमा दुःखी हुनेछन् र तिनीहरूप्रति विशेष सहानुभूति देखाउनेछन्। अनि, यदि तिनीहरूलाई मुक्ति दिन सकिन्न भने, सबैले तिनीहरूको लागि परमेश्वरसँग याचना गर्नेछन्, तिनीहरूको तर्फबाट अनुनय विनय गर्नेछन्, र तिनीहरूको लागि प्रार्थना गर्नेछन्। यसो गर्दा, ती मानिसहरूले अरूलाई छल्न र जालझेलपूर्ण तरिकाले तिनीहरूको सहानुभूति र प्रशंसा पाउन कष्ट सहने र मूल्य चुकाउनेजस्ता मान्छेका धारणाहरूसँग मेल खाने असल व्यवहार र अभ्यासहरू प्रयोग गरिरहेका हुन्छन्। अनि यसको अन्तिम नतिजा के हुन्छ? तिनीहरूको सम्पर्कमा आएका र तिनीहरूले मूल्य चुकाएको देखेका सबैले एकै स्वरमा यसो भन्ने छन्: “हाम्रो अगुवा नै सबैभन्दा योग्य, अनि कष्ट भोग्न र मूल्य चुकाउन सबैभन्दा सक्षम छन्!” त्यसपछि, के तिनीहरूले मानिसहरूलाई बहकाउने आफ्नो उद्देश्य पूरा गरेका हुँदैनन् र? अनि, एकदिन परमेश्वरको घरले यसो भन्छ: “तिमीहरूको अगुवाले वास्तविक काम गर्दैन। उसले बिनाकुनै उद्देश्य आफूलाई व्यस्त राख्छ र काम गर्छ; उसले लापरवाहीपूर्वक कार्य गर्छ र ऊ स्वेच्छाचारी र तानाशाही प्रकृतिको छ। उसले मण्डलीको काम अस्तव्यस्त पारेको छ, आफूले गर्नुपर्ने काम गरेको छैन, सुसमाचारको काम वा चलचित्र निर्माणको काम गरेको छैन, र मण्डली जीवन पनि गञ्जागोल भएको छ। ब्रदर-सिस्टरहरूले सत्यता बुझ्दैनन्, तिनीहरूसँग जीवन प्रवेश छैन, र तिनीहरूले गवाही लेखहरू लेख्न सक्दैनन्। सबैभन्दा दयनीय कुरा त, तिनीहरू झूटा अगुवा र ख्रीष्टविरोधीहरू खुट्ट्याउनसमेत सक्दैनन्। यस्तो खालको अगुवा अत्यन्तै असक्षम हुन्छ; ऊ बर्खास्त गरिनुपर्ने झूटो अगुवा हो!” के यी परिस्थितिहरूमा उसलाई बर्खास्त गर्न सजिलो हुन्छ? यो एकदमै गाह्रो हुन सक्छ। ब्रदर-सिस्टरहरू सबैले उसलाई अनुमोदन र समर्थन गर्ने हुनाले, यदि कसैले त्यो अगुवालाई बर्खास्त गर्न खोज्यो भने, ती ब्रदर-सिस्टरहरूले विरोध दर्ज गर्नेछन् र उसलाई राखिराख्न माथिलाई अनुरोध गर्नेछन्। किन त्यस्तो परिणाम हुन्छ त? किनकि त्यो झूटो अगुवा र ख्रीष्टविरोधीले मानिसहरूलाई प्रभावित गर्न, आफ्नो पक्षमा पार्न, र बहकाउन कष्ट भोग्ने र मूल्य चुकाउने, साथै राम्रो सुनिने शब्दहरूजस्ता बाहिरी असल व्यवहारहरू प्रयोग गर्छ। मानिसहरूलाई बहकाउन उसले यी झूटा रूप प्रयोग गरेपछि सबैले उसको लागि बोल्नेछन् र उसलाई छोड्न असमर्थ हुनेछन्। तिनीहरूलाई त्यो अगुवाले धेरै वास्तविक काम गरेको छैन, र परमेश्वरका चुनिएका जनलाई सत्यता बुझ्न र जीवन प्रवेश प्राप्त गर्न मार्गदर्शन गरेको छैन भन्ने स्पष्ट थाहा हुन्छ, तैपनि ती मानिसहरूले अझै उसलाई समर्थन गर्छन्, अनुमोदन गर्छन्, र पछ्याउँछन्, यसको अर्थ तिनीहरूले सत्यता र जीवन पाउनेछैनन् भन्ने कुरासमेत ख्याल गर्दैनन्। यसअलावा, त्यो अगुवाको बहकाउमा परेर ती मानिसहरू सबैले उसको आराधना गर्छन्, ऊबाहेक अरू कुनै अगुवा स्विकार्दैनन्, र अबउप्रान्त परमेश्वरलाई समेत चाहँदैनन्। के तिनीहरूले त्यो अगुवालाई परमेश्वरको रूपमा व्यवहार गरिरहेका छैनन् र? यदि परमेश्वरको घरले त्यो व्यक्तिले वास्तविक काम गर्दैन र ऊ झूटो अगुवा र ख्रीष्टविरोधी हो भनेर भन्छ भने, उसको मण्डलीका मानिसहरूले विरोध र विद्रोह गर्नेछन्। मलाई भन त, त्यो ख्रीष्टविरोधीले कुन हदसम्म ती मानिसहरूलाई बहकाएको छ? यदि यो पवित्र आत्माको काम हो भने, मानिसहरूको अवस्था केवल सुध्रिरहने छ, अनि तिनीहरूले अझ बढी सत्यता बुझ्नेछन्, परमेश्वरप्रति अझ बढी समर्पित हुनेछन्, हृदयमा परमेश्वरको लागि अझ बढी ठाउँ बनाउनेछन्, र झूटा अगुवा र ख्रीष्टविरोधीहरू खुट्ट्याउन अझ बढी सक्षम हुनेछन्। यो दृष्टिकोणबाट हेर्दा, हामीले भर्खरै छलफल गरेको परिस्थिति बिलकुलै पवित्र आत्माको काम होइन—केही समयसम्म काम गरेपछि केवल ख्रीष्टविरोधी र दुष्टात्माहरूले मानिसहरूलाई यो हदसम्म बहकाउन सक्छन्। यी ख्रीष्टविरोधीहरूले धेरै मानिसहरूलाई बहकाएका र नियन्त्रण गरेका छन्, र तिनीहरूको हृदयमा ख्रीष्टविरोधीहरूको लागि मात्र ठाउँ हुन्छ र परमेश्वरको लागि कुनै ठाउँ हुँदैन। बाहिरी असल व्यवहारमार्फत आफूलाई उच्च पार्ने र आफूबारे गवाही दिने गरेर ख्रीष्टविरोधीहरूले प्राप्त गर्ने अन्तिम परिणाम यही हो। तिनीहरूले आफूलाई उच्च पार्न र आफूबारे गवाही दिन कष्ट भोग्ने र मूल्य चुकाउने बाहिरी व्यवहारहरू प्रयोग गर्छन्, जुन ख्रीष्टविरोधीहरूले मानिसहरूलाई बहकाउन र नियन्त्रण गर्न प्रयोग गर्ने माध्यमहरूमध्येको एक हो। अब तिमीहरूले यो मामिला स्पष्टसँग देख्छौ, होइन र? के ख्रीष्टविरोधीहरूले मानिसहरूलाई बहकाउन कष्ट सहने र मूल्य चुकाउने बाहिरी व्यवहारहरू प्रयोग गर्नु निकै धूर्त र कपटी कुरा होइन र? अनि के तिमीहरूले पनि कहिलेकाहीँ यी कुराहरू गर्दैनौ र? कति मानिसहरूले त अबेरसम्म जागा रहेर कर्तव्य निर्वाह गर्नको लागि ऊर्जा बढाउन कफीसमेत पिउने गर्छन्। ब्रदर-सिस्टरहरू तिनीहरूको स्वास्थ्यबारे चिन्तित भएर तिनीहरूको लागि कुखुराको झोल पकाउँछन्। तिनीहरूले झोल पिइसकेपछि यसो भन्छन्, “परमेश्वरलाई धन्यवाद! मैले परमेश्वरको अनुग्रह प्राप्त गरेको छु। म यसको योग्य छैनँ। मैले यो कुखुराको झोल पिइसकेकोले मैले झनै दक्षतापूर्वक आफ्नो कर्तव्य निर्वाह गर्नुपर्छ!” वास्तवमा, तिनीहरूले आफ्नो कुशलता कत्ति पनि नबढाई सधैँजसरी नै कर्तव्य निर्वाह गर्न जारी राख्छन्। के तिनीहरूले ढोँग गरिरहेका छैनन् र? तिनीहरूले ढोँग गरिरहेका छन्, र यस्तो खालको व्यवहार पनि गोप्य रूपमा आफूलाई उच्च पार्नु र आफूबारे गवाही दिनु हो; यसले हासिल गर्ने परिणाम भनेको मानिसहरूलाई तिनीहरूलाई अनुमोदन गर्ने, तिनीहरूबारे उच्च सोच्ने, र तिनीहरूका कट्टर अनुयायी बन्ने तुल्याउनु हो। यदि मानिसहरूमा यस्तो खालको मानसिकता भयो भने, के तिनीहरूले परमेश्वरलाई बिर्सेका हुँदैनन् र? त्यसउप्रान्त त तिनीहरूको हृदयमा परमेश्वर हुनुहुन्न, तब तिनीहरूले दिनरात कोबारे सोच्छन् त? तिनीहरूले आफ्नो “असल अगुवा,” आफ्नो “प्रिय” बारे सोच्छन्। कति ख्रीष्टविरोधीहरू त सतहमा अधिकांश मानिसहरूप्रति निकै प्रेमिलो हुन्छन्, र तिनीहरूले बोल्दा केही शैलीहरू प्रयोग गर्छन्, ताकि मानिसहरूले तिनीहरू प्रेमिलो छन् भन्ने देखून्, र तिनीहरूको नजिक हुन इच्छुक होऊन्। तिनीहरू आफूनजिक आउने र आफूसँग कुराकानी गर्ने जोकोहीसित मुस्कुराउँछन्, र त्यस्ता मानिसहरूसँग निकै नम्र लबजमा कुरा गर्छन्। तिनीहरूले केही ब्रदर-सिस्टरहरू आफ्ना कार्यमा सिद्धान्तहीन भएको देख्दा, र फलस्वरूप मण्डलीको हितमा हानि पुग्दासमेत तिनीहरूलाई कति पनि काटछाँट गर्दैनन्, तिनीहरूलाई केवल अर्ती-उपदेश र सान्त्वना दिन्छन्, र तिनीहरूले कर्तव्य निर्वाह गरिरहँदा तिनीहरूलाई मनाउँछन्—तिनीहरूले सबैलाई आफूसामु नल्याउन्जेलसम्म मानिसहरूलाई मनाउने र फकाउने गरिरहन्छन्। मानिसहरू बिस्तारै यी ख्रीष्टविरोधीहरूद्वारा प्रभावित हुन्छन्; सबैले तिनीहरूको प्रेमिलो हृदय अनुमोदन गर्छन्, र तिनीहरूलाई परमेश्वरलाई प्रेम गर्ने मानिसहरू भनेर बोलाउँछन्। अन्ततः सबैले तिनीहरूलाई आराधना गर्छन् र हरेक मामिलामा तिनीहरूको सङ्गति खोज्छन्, र तिनीहरूले यी ख्रीष्टविरोधीहरूलाई सम्पूर्ण रूपमा आफ्ना सबैभन्दा भित्री सोच र विचारहरू बताउँछन्, यति हदसम्म कि तिनीहरूले त्यसउप्रान्त परमेश्वरलाई प्रार्थना गर्ने वा परमेश्वरका वचनमा सत्यता खोज्नेसमेत गर्दैनन्। के यी मानिसहरू यी ख्रीष्टविरोधीहरूद्वारा बहकिएका छैनन् र? यो ख्रीष्टविरोधीहरूले मानिसहरू बहकाउन प्रयोग गर्ने अर्को माध्यम हो। जब तिमीहरू यी व्यवहार र अभ्यासहरूमा संलग्न हुन्छौ, वा यी अभिप्रायहरू राख्छौ, के तिमीहरू यसमा समस्या छ भन्नेबारे सचेत हुन्छौ? अनि यसबारे सचेत भएपछि, के तैँले आफ्ना कार्यहरूको दिशा बदल्न सक्छस्? यदि तैँले सचेत भएपछि र आफ्ना व्यवहार, अभ्यास, वा अभिप्रायहरू समस्याजनक छन् भनेर जाँचेपछि, आत्मचिन्तन गर्न र साँचो पछुतो महसुस गर्न सक्छस् भने, यसले तैँले आफ्नो दिशा परिवर्तन गरेको छस् भन्ने प्रमाणित गर्छ। यदि तँ आफ्ना समस्याबारे सचेत छस् तर तिनलाई वास्ता गर्दैनस् र आफ्नै मनसायअनुरूप व्यवहार गर्छस्, र आफूलाई बाहिर निकाल्नै नसक्ने हदसम्म झन्झन् गहिराइमा डुब्दै जान्छस् भने, तैँले दिशा परिवर्तन गरेको हुँदैनस् र तैँले जानीजानी आफूलाई परमेश्वरविरुद्ध खडा गरिरहेको छस्, आफूलाई उच्च पार्दै छस् र आफूबारे गवाही दिइरहेको छस्, र साँचो मार्गबाट टाढा बरालिइरहेको छस्। यो कस्तो स्वभाव हो? यो ख्रीष्टविरोधी स्वभाव हो। के यो गम्भीर छ? (छ।) यो कति गम्भीर छ? व्यक्तिले झनै बढी कपटी र छली माध्यम प्रयोग गर्नु, मानिसहरूलाई बहकाउन कष्ट सहाइ र मूल्य चुकाइ प्रयोग गर्नु, र तिनीहरूलाई आफूलाई आराधना गर्ने र पछ्याउने तुल्याउन खोज्नुको परिणाम व्यक्तिले खुल्लमखुल्ला आफूलाई उच्च पार्नु र आफूबारे गवाही दिनुसरह हुन्छ—ती उही प्रकृतिका हुन्छन्। तैँले आफूलाई उच्च पार्न र आफूबारे गवाही दिन जुनसुकै माध्यम प्रयोग गरे पनि, चाहे त्यो स्पष्ट बोली होस् वा तुलनात्मक रूपमा प्रस्ट असल व्यवहार होस्, त्यो सब उही प्रकृतिकै हुन्छ। त्यसमा ख्रीष्टविरोधीको गुण, र परमेश्वरका चुनिएका जनहरूको लागि उहाँसँग लड्ने गुण हुन्छ। तेरा प्रकटीकरणहरूले जुन रूप लिए पनि वा तैँले जुनसुकै माध्यम प्रयोग गरे पनि, जबसम्म तेरो मनसाय बदलिँदैन र परिणामहरू उही हुन्छन्, तबसम्म त्यो सब उही प्रकृतिको हुन्छ। यसरी के प्रस्ट हुन्छ भने ख्रीष्टविरोधीहरू एकदमै चतुर हुन्छन्। तिनीहरू सत्यतालाई प्रेम गर्ने वा पछ्याउने गर्दैनन्, तर मानिसहरूलाई बहकाउने माध्यमको रूपमा कष्ट सहन र मूल्य चुकाउन सक्षम हुन्छन्—ख्रीष्टविरोधीहरूको दुष्टता नै यही हो।
कतिपय मानिस अन्य व्यक्तिहरूलाई आफू बुद्धिजीवी र ज्ञानी हुँ, र आफ्नो कार्य निकै गहन छन् भनी सोच्ने तुल्याउन, र त्यसरी मानिसहरूलाई आफ्नो आराधना गर्ने तुल्याउने आफ्नो उद्देश्य पूरा गर्न केही बेतुकका सिद्धान्त र अमूर्त तर्कहरूबारे कुरा गर्छन्। अर्थात्, तिनीहरू हरेक मामिलामा सहभागी हुन र आफ्नो राय व्यक्त गर्न चाहन्छन्, र सबैले अन्तिम निर्णय गरिसकेका छन् भने पनि, यदि तिनीहरू त्यसदेखि सहमत छैनन् भने, तिनीहरूले आफ्नो प्रदर्शन गर्न केही उच्च सुनिने विचारहरू फलाक्छन्। के यो आफूलाई उच्च पार्ने र आफूबारे गवाही दिने एउटा माध्यम होइन र? कुनैकुनै मामिलामा सबैले एकअर्कासँग छलफल र विचार-विमर्श गरी सिद्धान्तहरू फेला पारिसकेका र कार्य योजनाहरूबारे निर्णय गरिसकेका हुन्छन्, तर तिनीहरूले त्यो निर्णय स्विकार्दैनन् र अनुचित ढङ्गले कामकुरा अवरोध पार्छन्, र यसो भन्छन्, “त्यसरी हुँदैन। तिमीहरूले यसबारे विस्तारमा सोचविचार गरेका छैनौ। हामीले कुरा गरेका यी पक्षहरूबाहेक, मैले एउटा अर्कोबारे पनि सोचेको छु।” वास्तवमा, तिनीहरूले सोचेको पक्ष कुनै बेतुकको सिद्धान्त मात्र हुन्छ; तिनीहरूले ससानो कुरामा बखेडा झिकिरहेका हुन्छन्। तिनीहरू आफूले ससानो कुरामा बखेडा झिकिरहेको र अरू मानिसहरूको लागि परिस्थिति गाह्रो बनाइरहेको कुराबारे पूर्ण रूपमा सचेत हुन्छन्, तैपनि तिनीहरूले त्यसो गरिछोड्छन्। त्यसो गर्नुमा तिनीहरूको के उद्देश्य हुन्छ? त्यसको उद्देश्य मानिसहरूलाई तिनीहरू फरक छन्, र अरूभन्दा चलाख छन् भनेर देखाउनु हो। तिनीहरूको अर्थ यस्तो हुन्छ, “त्यसोभए तिमीहरू सबै यो स्तरमा पो छौ? मैले आफू माथिल्लो स्तरमा भएको कुरा तिमीहरूलाई देखाउनैपर्ने भो।” तिनीहरू प्रायः अरू कसैले भनेको कुनै पनि कुरा वास्ता गर्दैनन्, तर कुनै महत्त्वपूर्ण कुरा आइपर्नेबित्तिकै कामकुरा बिगार्न थालिहाल्छन्। यस्तो व्यक्तिलाई के भनिन्छ? बोलचालको भाषामा तिनीहरूलाई गनगने र बिग्रेको अण्डा भनिन्छ। यस्तो गनगनेका आम तौरतरिकाहरू के-के हुन्? तिनीहरू उच्च-सुनिने विचारहरू भट्याउन र कुनै नीच र कुटिल अभ्यासमा संलग्न हुन मन पराउँछन्। यदि तैँले तिनीहरूलाई एउटा सही कार्य योजना प्रस्तुत गर्न भनिस् भने, तिनीहरूले एउटा पनि प्रस्तुत गर्न सक्नेछैनन्, र तिनीहरूलाई कुनै गम्भीर कुरा सम्हाल्न लगाइस् भने तिनीहरूले त्यो पनि गर्न सक्नेछैनन्। तिनीहरूले नीच कुराहरू मात्र गर्छन्, र सधैँ मानिसहरूलाई “चकित” पार्न र आफ्नो क्षमताको धाक लगाउन चाहन्छन्। त्यो एउटा भनाइ के हो रे? “बुढी आइमाइले लाली लगाउँछिन्—तिमीलाई देखाउन।” यसको अर्थ तिनीहरू सधैँ आफ्ना क्षमताको धाक लाउँछन्, र तिनीहरूले राम्रोसित त्यसो गर्न सके पनि वा नसके पनि मानिसहरूलाई यस्तो कुरा थाहा दिन चाहन्छन्, “म तिमीहरूभन्दा बढी असाधारण छु। तिमीहरू कोही पनि कुनै कामका छैनौ, तिमीहरू केवल नश्वर, साधारण मानिसहरू हौ। म असाधारण र परलौकिक छु। म तिमीहरूलाई चकित पार्न आफ्ना विचारहरू बाँड्नेछु र त्यसपछि तिमीहरूले म श्रेष्ठतर छु कि छैन भनेर देख्न सक्नेछौ।” के यो कामकुरा बिगार्नु होइन र? तिनीहरूले जानीजानी कामकुरा बिगारिरहेका हुन्छन्। यो कस्तो खालको व्यवहार हो? तिनीहरूले बाधा र अवरोधहरू उत्पन्न गरिरहेका छन्। तिनीहरूको अर्थ यस्तो हुन्छ: मैले यो मामिलामा म कति चलाख छु भनेर देखाएको छैन, त्यसैले चाहे जोसुकैको हितमाथि हानि पुगे पनि र जोसुकैको मेहनत खेर गए पनि, सबैले म श्रेष्ठतर, सक्षम, र सामर्थ्यवान् छु भनेर विश्वास नगरुन्जेल मैले यसलाई ध्वंस गर्नेछु। त्यसपछि मात्र यो मामिलालाई बिनारोकटोक अगाडि बढ्न दिनेछु। के यस्ता खराब मानिसहरू हुन्छन्? के तिमीहरूले पहिले यस्ता काम गरेका छौ? (हुन्छन्। कहिलेकाहीँ अरूले कुनै मामिलाबारे छलफल गरिसकेका र एउटा उपयुक्त योजना पत्ता लगाइसकेका हुन्थे, तर तिनीहरूले निर्णय गर्ने प्रक्रियाको दौरान मलाई जानकारी नदिएकाले मैले जानीजानी त्यसमा केही त्रुटिहरू औँल्याएँ।) जब तैँले यसो गरिस्, के तँलाई आफ्नो हृदयमा यो सही हो कि गलत हो भन्ने थाहा थियो? के तँलाई यो समस्याको प्रकृति गम्भीर छ, यसले बाधा र अवरोधहरू उत्पन्न गरिरहेको छ भन्ने थाहा थियो? (त्यसबेला म यसबारे सचेत थिइनँ, तर ब्रदर-सिस्टहरूको कठोर काटछाँट, र परमेश्वरका न्याय र सजायका वचनहरूको खानपानमार्फत मैले यो समस्या गम्भीर प्रकृतिको छ, यसले मण्डलीको काममा बाधा र अवरोध उत्पन्न गरिरहेको छ, र यो एक खालको शैतानी व्यवहार हो भन्ने देखेँ।) तैँले यो कति गम्भीर छ भनेर देखेकोले, त्यसपछि तँमाथि त्यस्तै कुराहरू आइपर्दा, के तँ अलि बदलिन र आफ्नो तौरतरिकाको सवालमा केही प्रवेश पाउन सक्षम भइस् त? (भएँ। जब मैले यस्ता सोच र विचारहरू प्रकट गरेँ, म यो शैतानी स्वभाव हो, मैले त्यसरी काम गर्न मिल्दैन भनेर सचेत भएँ, र मैले सचेत रूपमै परमेश्वरलाई प्रार्थना गर्न र ती गलत सोच र विचारहरूविरुद्ध विद्रोह गर्न सकेँ।) तँ धेरथोर रूपमा बदलिन सकिस्। तँलाई भ्रष्टताका त्यस्ता समस्याहरू आइपर्दा, तैँले तिनलाई समाधान गर्न सत्यता खोज्नुपर्छ, आफूलाई संयमित राख्नुपर्छ, र परमेश्वरलाई प्रार्थना गर्नुपर्छ। जब तैँले मानिसहरूले तँलाई घृणाको नजरले हेर्छन्, तँबारे उच्च सोच्दैनन् वा तँलाई गम्भीरतापूर्वक लिँदैनन् भनेर सोच्छस्, र फलस्वरूप बाधा पुऱ्याउन चाहन्छस् भने, यस्तो सोच आउँदा तँ यो कुरा सामान्य मानवताबाट नभई शैतानी स्वभावबाट आएको हो, र तँ यसरी नै चलिरहिस् भने यसले समस्या खडा गर्नेछ, र तैँले सम्भवतः परमेश्वरको स्वभाव चिढ्याउनेछ्स् भनेर सचेत हुनुपर्छ। तैँले पहिला आफूलाई संयमित राख्न जान्नुपर्छ, र त्यसपछि परमेश्वरलाई प्रार्थना गर्न उहाँसामु आउनुपर्छ र आफ्नो दिशा परिवर्तन गर्नुपर्छ। जब मानिसहरू आफ्नै विचारहरू, आफ्नै भ्रष्ट स्वभावहरूभित्र जिउँछन्, तब तिनीहरूले गर्ने कुनै पनि कुरा सत्यताअनुरूप हुँदैन र ती कुनैले पनि परमेश्वरलाई सन्तुष्ट पार्न सक्दैनन्; तिनीहरूले गर्ने जुनसुकै कुरा पनि उहाँप्रति शत्रुतापूर्ण हुन्छन्। तिमीहरूले अब यो तथ्य चिन्न सक्छौ, सक्दैनौ र? सधैँ ख्याति र प्राप्तिका निम्ति लड्नु, र प्रतिष्ठा र हैसियत पाउनको लागि मण्डलीको काममा बाधा र अवरोध उत्पन्न गर्न नहिचकिचाउनु ख्रीष्टविरोधीहरूका सबैभन्दा प्रस्ट प्रकटीकरणहरू हुन्। वास्तवमा, सबै मानिसहरूमा यी प्रकटीकरणहरू हुन्छन्, तर यदि तैँले यो कुरा चिन्न र स्विकार्न सक्छस्, र त्यसपछि आफ्नो दिशा परिवर्तन गर्न, परमेश्वरसामु साँचो पश्चात्तापको मनोवृत्ति अपनाउन, र आफ्ना तौरतरिका, व्यवहार, र स्वभावहरू बदल्न सक्छस् भने, तँ सत्यता पछ्याइरहेको व्यक्ति होस्। यदि तँ यी वास्तविक समस्याहरू स्विकार्दैनस् भने, तँसँग निश्चय नै पश्चात्तापको मनोवृत्ति छैन, र तँ सत्यता पछ्याउने व्यक्ति होइनस्। यदि तँ ख्रीष्टविरोधीको मार्ग हिँडिरहन्छस्, र अन्त्यसम्मै यो मार्ग पछ्याउँछस्, तैपनि यो समस्या होइन भन्ने सोच्छस् र पश्चात्ताप गर्न इच्छुक हुँदैनस्, र यसरी नै कार्य गरिरहन्छस् र अगुवा र कामदारहरूसँग ख्याति र प्राप्तिका निम्ति प्रतिस्पर्धा गर्छस्, र अरूभन्दा झनै अब्बल हुन, भीडभन्दा अलग देखिन, र आफू जुन समूहमा भए पनि अरूभन्दा राम्रो हुनमा जोड दिन्छस् भने, तँ समस्यामा छस्! यदि तँ प्रतिष्ठा र हैसियत पछ्याइरहन्छस् र जिद्दी भई पश्चात्ताप गर्न इन्कार गर्छस् भने, तँ ख्रीष्टविरोधी होस् र तँ अन्त्यमा दण्डित हुने निश्चित छ। परमेश्वरका वचनहरू, सत्यता, विवेक र समझले तँमाथि प्रभाव पार्दैनन्, र तैँले ख्रीष्टविरोधीहरूको अन्त्य पाउने निश्चित छ। तँलाई मुक्ति दिन सकिन्न, तँ छुटकारायोग्य छैनस्! मानिसहरूले मुक्ति पाउन र परमेश्वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने बाटो हिँड्न सक्ने वा नसक्ने कुरा तिनीहरूले आफूलाई जानिसकेपछि साँचो पश्चात्तापका प्रकटीकरणहरू प्रदर्शन गर्छन् कि गर्दैनन् भन्ने कुरा, र तिनीहरूले सत्यतालाई लिने तरिका, साथै तिनीहरूले छनोट गर्ने मार्गमा निर्भर हुन्छ। यदि तैँले ख्रीष्टविरोधीको मार्ग छोड्दैनस्, बरु आफ्नै महत्त्वाकाङ्क्षा र चाहनाहरू पूरा गर्ने छनोट गर्छस्, निर्लज्ज रूपमा सत्यताविरुद्ध जान्छस्, र आफूलाई परमेश्वरविरुद्ध खडा गर्छस् भने, तँ छुटकारायोग्य छैनस्। यदि कुनै व्यक्ति आफूले गरेका गल्तीहरूको गम्भीरता जति भए पनि वा आफूले जति वटा दुष्ट कार्यहरू गरे पनि डर मान्न जान्दैन, र उसले दोषी महसुस गर्दैन, र आफ्नो लागि बहानाहरू बनाइरहन्छ, कति पनि पछुतो मान्दैन भने, ऊ खाँटी ख्रीष्टविरोधी र दियाबलस हो। यदि कसैमा ख्रीष्टविरोधीहरूका विभिन्न प्रकटीकरणहरू मात्र छन्, तर उसले आफ्ना गल्तीहरू स्विकार्न, पछाडि फर्कन, र पछुतो मान्ने हृदय राख्न सक्छ भने, यो ख्रीष्टविरोधीहरूभन्दा भिन्न प्रकृतिको कुरा हो र यो पूर्णतया अर्कै मामिला हो। त्यसैले, कसैले मुक्ति पाउन सक्छ कि सक्दैन भन्ने कुरा मुख्यतः उसले आत्मचिन्तन गर्न सक्छ कि सक्दैन, उसमा पश्चात्तापको हृदय छ कि छैन, र ऊ सत्यता पछ्याउने मार्ग हिँड्न सक्छ कि सक्दैन भन्ने कुरामा निर्भर हुन्छ।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।