विषयवस्तु दस: तिनीहरू सत्यतालाई तिरस्कार गर्छन्, निर्लज्जपूर्वक सिद्धान्तहरू उल्लङ्घन गर्छन्, र परमेश्‍वरको घरका प्रबन्धहरूलाई बेवास्ता गर्छन् (भाग सात) खण्ड तीन

२. व्यक्तिगत लाभका लागि परमेश्‍वरको वचनका पुस्तकहरू बेच्नु

अब, हामी दोस्रो पक्षबारे सङ्गति गर्नेछौँ, जुन परमेश्‍वरका वचनहरूलाई उपभोग्य वस्तुका रूपमा लिने ख्रीष्टविरोधीहरूको वास्तविक व्यवहार र शैली हो। यो शैली भनेको यसप्रकारका ख्रीष्टविरोधीहरूले परमेश्‍वरका वचनहरूका विभिन्‍न प्रकारका पुस्तकहरूलाई उपभोग्य वस्तुका रूपमा लिनु हो। जब तिनीहरूले परमेश्‍वरका वचनहरूका यी पुस्तकहरू पाउँछन्, तब तिनीहरू आफूले पैसा कमाउने पुँजी प्राप्त गरेको, पैसा कमाउनलाई चाहिने सम्पत्तिहरू हात पारेको विश्‍वास गर्छन्। परमेश्‍वरका वचनहरू छापिएका यी पुस्तकहरू, तिनीहरूका सम्पत्ति, तिनीहरूले बेच्ने अभिप्राय राखेका उपभोग्य वस्तु, र तिनीहरूले अत्यधिक लाभ कमाउन प्रयोग गर्ने वस्तु बन्छन्। ख्रीष्टविरोधीहरूले यी पुस्तकहरू आफैसँग राख्छन्, तिनलाई परमेश्‍वरको घरले माग गर्ने सिद्धान्तअनुसार वितरण गर्दैनन् बरु तिनीहरूका आफ्नै अभिप्रायहरूका आधारमा अनुचित तरिकाले लाभ प्राप्त गर्न खोज्छन्। परमेश्‍वरको घरमा पुस्तकहरू वितरण गर्ने सिद्धान्त के हो? यो त परमेश्‍वरका वचनहरू पढ्न रुचाउने र सत्यताको तृष्णा गर्ने सबैलाई यी पुस्तकहरू निःशुल्क वितरण गर्नु हो। जतिसुकै मानिसहरूले यी पुस्तक प्राप्त गरे पनि वा जतिसुकै पुस्तकहरू वितरण गरिए पनि, यो सधैँ निःशुल्क नै हुन्छ। इसाई जगतमा परमेश्‍वरमाथि विश्‍वास गर्दा, बाइबल निःशुल्क पाइँदैन; त्यो किन्नैपर्छ। तर अहिले, परमेश्‍वरका यी वचनहरू र यी पुस्तकहरू परमेश्‍वरको घरद्वारा निःशुल्क वितरण गरिन्छन्, जुन एउटा महत्त्वपूर्ण कुरा हो। तर समस्या तब उत्पन्‍न हुन्छ, जब ख्रीष्टविरोधीहरूका हातमा यी पुस्तकहरू पर्छन् र तिनीहरू यी पुस्तक सिद्धान्तअनुसार निःशुल्क वितरण गर्न असफल हुन्छन्। सामान्य परिस्थितिहरूमा, अलिकति परमेश्‍वरको डर मान्‍ने हृदय भएकाहरूले पैसा नलिईकन वा अनुचित तरिकाले अत्यधिक लाभ प्राप्त गर्न नखोजीकन, सिद्धान्तअनुसार यी पुस्तकहरू निःशुल्क वितरण गर्नेथिए। तर, यी पुस्तकहरू प्राप्त गरेपछि, ख्रीष्टविरोधीहरूले मात्र, व्यापारको अवसर आएको छ भन्ने सोच्छन्। तिनीहरूका महत्त्वाकाङ्क्षा र लोभ यसरी उत्पन्‍न हुन्छ: “यस्ता मोटा, राम्रा पुस्तकहरू निःशुल्क दिने—के त्यसले घाटा हुँदैन? के यीबाट केही पैसा नकमाउनु मूर्खता होइन र? त्यसमाथि, यी पुस्तकहरू अन्यत्र किन्‍न सकिँदैन, र मूल्य जतिसुकै भए पनि, परमेश्‍वरमा विश्‍वास गर्ने धेरैजसो मानिसहरूले यी पुस्तक पढ्न चाहनेछन्।” मानिसहरूमा यस्तो मानसिकता हुन्छ भनेर बुझेपछि, ख्रीष्टविरोधीहरूले निश्‍चित सोचहरू विकास गर्न थाल्छन्: “मैले पैसा कमाउने यो अवसर गुमाउन मिल्दैन; यस्ता अवसरहरू विरलै आउँछन्। ती पुस्तकहरू वितरण गर्दा, मैले मानिसहरूलाई वर्ग-वर्गमा विभाजन गर्नुपर्छ, धनीहरूबाट बढी पैसा लिनुपर्छ, औसत वर्गलाई मध्यम मूल्य, गरिबहरूलाई कम मूल्य तोक्नुपर्छ वा तिनीहरूलाई बिलकुलै वितरण गर्नु हुँदैन, मेरो चापलुसी गर्नेहरूलाई छूट दिनुपर्छ, र मसित नमिल्नेहरूबाट बढी पैसा लिनुपर्छ।” के यो पुस्तक वितरण गर्ने परमेश्‍वरको घरका प्रावधानहरूअनुरूप छ? (छैन।) यो त व्यापार गर्नु हो। ख्रीष्टविरोधीहरूले यस्ता विचारहरू विकास गर्छन्: तिनीहरूले परमेश्‍वरको घरका प्रावधान र सिद्धान्तहरूअनुसार पुस्तकहरू वितरण गर्छन् कि गर्दैनन् भन्‍ने कुरालाई थाती राखेर, सुरुमा तिनीहरू परमेश्‍वरका वचनहरूप्रति कस्तो व्यवहार गर्छन् भन्‍नेबारे कुरा गरौँ। परमेश्‍वरका वचनका पुस्तकहरू तिनीहरूको हातमा परेपछि, के तिनीहरूले तिनलाई कदर गर्छन्? (गर्दैनन्।) तिनीहरू परमेश्‍वरका वचनहरूमा चर्चा गरिएको जीवनको मार्ग वा सत्यतामा रुचि राख्दैनन्; तिनीहरू तिनलाई मूल्यवान् ठान्दैनन् र तीबारे अलिकति पनि जिज्ञासु हुँदैनन्। तिनीहरूले सतही रूपमा मात्र चाँ-चाँडो पुस्तक पढ्छन्, यतिकै पानाहरू पल्टाउँदै हेर्छन्: “यसले त परमेश्‍वरले कसरी मानिसहरूलाई न्याय गर्ने काम गर्छन्, उनले कसरी मानिसहरूको एउटा समूहमाथि विजय हासिल गरे, र उनले कसरी मानिसहरूलाई असल गन्तव्य दिन्छन् भन्‍नेबारे मात्र कुरा गर्छ। मानवजातिको भविष्यबारे यसमा विस्तृत विवरणहरू छैनन्, त्यसकारण यो पुस्तक खासै चाखलाग्दो छैन। तर यो पुस्तक खासै चाखलाग्दो नभए पनि, धेरै मानिसहरू यसलाई पढ्न इच्छुक छन्। यो राम्रो कुरा हो; मैले यसबाट लाभ कमाउन सक्छु।” जब परमेश्‍वरका वचनका पुस्तकहरू तिनीहरूका हातमा पर्छन्, तब ती पुस्तकहरू उपभोग्य वस्तु बन्छन्, जसको अर्थ धेरै मानिसहरूले, कम्तीमा एक भाग मानिसहरूले, यी पुस्तकहरू किन्‍न पैसा खर्च गर्नुपर्नेछ। ख्रीष्टविरोधीहरूले, परमेश्‍वरमा विश्‍वास गरिरहेको, अनि परमेश्‍वरको घरको काम गरिरहेको र परमेश्‍वरका वचनका पुस्तकहरू वितरण गर्ने प्रभारी रहेको ढोँग गर्दै, दखल दिन्छन् र परमेश्‍वरको घरले गर्ने यी पुस्तकहरूको निःशुल्क वितरणलाई कारोबारमा, किनबेचमा परिणत गर्छन्। परमेश्‍वरले उहाँका वचनहरू ध्यानपूर्वक सुन्‍नेहरू सबैलाई आफूले बोलेका वचनहरू निःशुल्क आपूर्ति गर्नुहुन्छ; ती निःशुल्क हुन्छन्, त्यसमा कुनै लेनदेन आवश्यक हुँदैन। मानिसहरूबाट गरिने माग त स्विकार्नु, अभ्यास र अनुभव गर्नु, परमेश्‍वरका वचनहरूप्रति समर्पण हासिल गर्नु, र परमेश्‍वरको डर मान्‍ने र दुष्टताबाट अलग बस्ने व्यक्ति हुनु मात्र हो। त्यसपछि परमेश्‍वर सन्तुष्ट बन्‍नुहुन्छ, उहाँको लक्ष्य हासिल हुन्छ, र उहाँले वचनहरू व्यर्थमा बोल्नुभएको हुँदैन। उहाँले यसबाट ढाडस पाउनुहुन्छ। यो परमेश्‍वरको चाहना हो र यो उहाँले मानिसमाथि गर्नुभएको छ हजार वर्षे व्यवस्थापनको कार्यको उद्देश्य पनि हो, जुन सृजित प्राणीहरूप्रतिको सृष्टिकर्ताको सबैभन्दा सुन्दर कामना हो। परमेश्‍वरले उहाँका वचनहरू, उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यो, र उहाँका अभिप्रायहरू उहाँलाई पछ्याउनेहरूलाई निःशुल्क र निरन्तर आपूर्ति गर्नुहुन्छ। यो यति स्वच्छ र पवित्र कार्य हो, यो यति वैभवशाली कार्य हो; यसमा कुनै कारोबार संलग्न हुँदैन। परमेश्‍वरका वचनहरूलाई ध्यानपूर्वक सुन्‍ने र तिनको तृष्णा गर्ने हरेक व्यक्तिका लागि, परमेश्‍वरले बोल्नुहुने हरवाक्य अमूल्य हुन्छ। मानिसहरूले परमेश्‍वरबाट सत्यता र उहाँका वचनहरू निःशुल्क पाउँछन्, र तिनीहरूका हृदयका गहिराइमा, तिनीहरू परमेश्‍वरलाई फिर्ता दिन, उहाँका अभिप्रायहरू पूरा गर्न, र उहाँलाई सान्त्वना महसुस गराउन चाहन्छन् ताकि उहाँको महान् काम चाँडो पूरा गर्न सकियोस्। सृष्टिकर्ता र सृजित मानवजातिबीच हुनुपर्ने मौन समझदारी यही हो। तर, ख्रीष्टविरोधीहरूले यो कुरालाई कारोबारमा परिणत गर्छन्। तिनीहरूले परमेश्‍वरको बोलाइ र काम गराइ, साथै मानिसहरूमाथि परमेश्‍वरका वचनहरूको आपूर्तिको खाँचोलाई व्यक्तिगत लाभ उठाउने अवसरको रूपमा दुरुपयोग गर्छन्, र तिनीहरूले प्राप्त गर्न नहुने पैसा र फाइदाहरू प्राप्त गर्छन्। के यस्तो व्यवहारले व्यक्तिलाई श्रापलायक बनाउँदैन र? परमेश्‍वरले पारितोषिकका लागि मानवजातिसँग बोल्नुहुन्छ भनेर तैँले परमेश्‍वरका कुन अभिव्यक्तिहरूबाट देखेको वा सुनेको छस्? एउटा वाक्यको कति, एउटा अनुच्छेदको कति, एउटा प्रवचनको कति, एउटा पुस्तकको कति, वा एकपटक काटछाँट, वा न्याय र सजाय, वा शोधन, वा जीवन आपूर्ति गरेको कति लिनुहुन्छ? के परमेश्‍वरले कहिल्यै यस्ता वचनहरू बोल्नुभएको छ? (छैन।) परमेश्‍वरले यस्ता कुराहरू कहिल्यै बोल्नुभएको छैन। परमेश्‍वरद्वारा जारी गरिएको हरेक वाक्य, अनुच्छेद, र अंश, मानिसहरू परमेश्‍वरद्वारा काटछाँट, सजाय र न्याय, परीक्षा र शोधन गरिने हरघटना, साथै परमेश्‍वरका वचनहरूको आपूर्ति र पोषण, आदि इत्यादि—यी सबैमा, यीमध्ये कुनचाहिँ पैसाले मापन गर्न सकिन्छ? यीमध्ये कुनचाहिँ मानिसहरूले पैसा, वा भौतिक चिजहरू दिएर, वा देहगत मूल्य तिरेर प्राप्त गर्न सक्छन्? कुनै पनि सक्दैनन्। परमेश्‍वरले गर्नुहुने सबथोक, परमेश्‍वरले व्यक्त गर्नुहुने सबै सत्यताहरू अमूल्य छन्। ती अमूल्य भएकै कारण, कुनै पनि व्यक्तिले पैसा वा कुनै भौतिक वस्तुसँग परमेश्‍वरसँग जे छ र परमेश्‍वर जे हुनुहुन्छ ती साट्न नसक्ने भएकै कारण, परमेश्‍वरले मानिसहरूलाई बिनाशुल्क उहाँका वचनहरू आपूर्ति गर्नुहुन्छ भनेर भन्‍नुहुन्छ। तैपनि, ख्रीष्टविरोधीहरूले उहाँले व्यक्त गर्नुहुने सत्यताहरू र परमेश्‍वरसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यसको मूल्यवान् र अमूल्य प्रकृति देख्न सक्दैनन्; त्यसको साटो, तिनीहरू तीबाट अनुचित रूपमा अत्यधिक लाभ प्राप्त गर्न खोज्छन्, जुन पूर्णतया लाजमर्दो कुरा हो!

कतिपय ख्रीष्टविरोधीहरू मानिसहरूलाई सास्ती दिन, आफ्नै ख्याति र प्रतिष्ठा स्थापित गर्न, र अरूलाई तिनीहरूको आतङ्क र शक्ति महसुस गराउन, परमेश्‍वरका वचनहरू आफैसँग थामेर राख्छन्, र आफूमुनिका दाजुभाइ-दिदीबहिनीहरूलाई ती वितरण गर्दैनन्। तसर्थ, यस्ता दुष्ट मानिस र ख्रीष्टविरोधीहरूले शक्ति राख्ने केही मण्डलीहरूमा, दाजुभाइ-दिदीबहिनीहरूले पढ्नका लागि परमेश्‍वरका वचनहरू वा सुन्‍नका लागि परमेश्‍वरका प्रवचनरहित हुन्छन्। के यस्ता मानिसहरू श्रापित हुन योग्य छैनन् र? तिनीहरूले परमेश्‍वरका वचनहरूलाई केका रूपमा लिएका छन्? तिनीहरूको निजी सम्पत्तिका रूपमा। परमेश्‍वरका वचनहरू निष्कपट रूपमा परमेश्‍वरमा विश्‍वास गर्ने र उहाँलाई पछ्याउनेहरूलाई परमेश्‍वरद्वारा प्रदान गरिएका हुन्; ती कुनै व्यक्ति विशेषलाई प्रदान गरिएका होइनन्, र निश्‍चय नै ती कसैको निजी सम्पत्ति पनि होइनन्। परमेश्‍वरका वचनहरू सारा मानवजातिका लागि बोलिएको हो, र परमेश्‍वरको बोलीलाई कसैले पनि कुनै कारण वा बहाना बनाएर रोकेर राख्‍न मिल्दैन। तैपनि, ख्रीष्टविरोधीहरूले ठ्याक्कै त्यस्तै भूमिका खेल्छन्, यसो गर्नलाई परिपाटी तोड्छन्। कतिपय ख्रीष्टविरोधीहरू, सबैभन्दा पछिल्ला प्रवचनका रेकर्डिङ प्राप्त गरेपछि, पहिला आफू सुन्छन्, र त्यसमा केही नयाँ ज्योति र आफूले थाहा नपाएको केही विषयवस्तु रहेको पत्तो पाएपछि, आफ्नो मातहतमा रहेकाहरूलाई उक्त प्रवचन शृङ्खला वितरण नगर्ने निधो गर्छन्। तिनीहरूले अरू कसैलाई थाहा नदिई, प्रवचनका रेकर्डिङहरू आफैसँग रोकेर राख्छन्। आफैसँग रोकेर राख्नुको उद्देश्य के हो? यसको उद्देश्य भेलाहरूमा देखावट गर्नु हो, जुन बेचबिखनमा संलग्न हुनुसरह हो। यो देखावटको कार्यमार्फत, जब तिनीहरूमातहतका मानिसहरूले पहिले कहिल्यै नसुनेका विषयवस्तुहरू सुन्छन्, जब तिनीहरूले सुन्‍ने कुराहरू सबै नयाँ हुन्छन्, तब तिनीहरूले त्यो ख्रीष्टविरोधीहरूलाई उच्च ठान्छन्, र यसरी ख्रीष्टविरोधीहरूको लक्ष्य हासिल हुन्छ। अकाट्य तथ्य के हो भने, सबैतिरका मण्डलीहरूमा, कतिपय यस्ता मानिसहरू पक्कै हुन्छन्, जो सङ्गतिका प्रवचनहरू वा रेकर्डिङहरू समयमा वा पूर्ण रूपमा वितरण गर्दैनन्; यस्ता व्यक्तिहरू बिलकुलै हुन्छन्। यसका साथै, कतिपय ख्रीष्टविरोधीहरूले त तिनीहरूप्रति मानिसहरूको मनोवृत्ति के छ भन्‍ने आधारमा परमेश्‍वरका वचनका पुस्तकहरू वितरण गर्छन्, तिनीहरूसित नजिकिने वा तिनीहरूलाई चिप्लो घस्नेहरूलाई नै ती पुस्तकहरू दिन्छन्। ती पुस्तकहरू निःशुल्क भए पनि, सबैले सजिलै पाउन सक्दैनन्; ख्रीष्टविरोधीहरूका हातमा निःशुल्क र सामयिक वितरणको सिद्धान्त कमजोर पारिन्छ, त्यसमा विभिन्‍न सर्तहरू राखिन्छ। तिनीहरूले ती पुस्तकहरू तिनीहरूको पक्षमा भएकाहरू वा तिनीहरूको कुरा सुन्‍नेहरूलाई आनाकानीपूर्वक देलान्, तर समयमै दिन्छन् भन्‍नेचाहिँ छैन; तिनीहरूका विचारसँग असहमत हुने वा तिनीहरूलाई विरोधसमेत गर्नेहरूका हकमा, ख्रीष्टविरोधीहरूले मान्छे छानेर मात्र पुस्तकहरू दिन सक्छन् वा बिलकुलै नदिन पनि सक्छन्। ख्रीष्टविरोधीहरूले परमेश्‍वरका वचनका पुस्तकहरूको वितरणबाट अनुचित तरिकाले अत्यधिक लाभहरू लिन खोज्ने मात्र नभई, त्यसलाई मानिसहरू आकर्षित गर्ने, मानिसहरूको मन जित्ने, साथै अरूलाई दबाउने र सास्ती दिने माध्यमका रूपमा समेत प्रयोग गर्छन्—तिनीहरूले हरप्रकारका कुकर्म गर्न सक्षम हुन्छन्। यदि कसैले तिनीहरूबारे नराम्रो बोलेमा, तिनीहरूलाई चयन नगरेमा, वा तिनीहरूविरुद्ध मतदान गरेमा, तिनीहरूले त्यो व्यक्तिलाई सताउने उपायका रूपमा परमेश्‍वरका वचनहरू तिनीहरूसँगै रोकेर राख्न सक्छन् भन्दै मानिसहरूलाई धम्क्याउन पनि सक्छन्। त्यसकारण, कतिपय मानिसहरू त समयमै परमेश्‍वरका वचनका पुस्तकहरू वा प्रवचनका रेकर्डिङहरू प्राप्त गर्न नसकिएला भन्‍ने डरले, यी ख्रीष्टविरोधीहरूदेखि भयभीत हुन्छन्। ती मानिसहरू ख्रीष्टविरोधीहरूले दुष्टता गरे पनि र तिनीहरू आफैले अनुचित व्यवहार भोगे पनि, ख्रीष्टविरोधीहरूको दमन र सास्तीमा परिने, माथिसँगको सम्पर्क टुट्ने, र माथिले दिने मलजल र आपूर्ति गुम्ने डरले, ख्रीष्टविरोधीहरूबारे रिपोर्ट गर्ने आँट गर्दैनन्। के त्यस्ता मानिसहरू हुन्छन्? बिलकुलै, शतप्रतिशत हुन्छन्। ख्रीष्टविरोधीहरू हरप्रकारका खराब कार्यहरूमा संलग्न हुन्छन्; तिनीहरू शक्ति र लाभका लागि लड्ने, गुटहरू निर्माण गर्ने, र आफ्नै स्वतन्त्र राज्य सृजना गर्ने मात्र गर्दैनन्, परमेश्‍वरका वचनहरू वितरण गर्ने कुरा आउँदा, त्यसलाई समेत बाँकी राख्दैनन्। तिनीहरूले आफूलाई अनुचित तरिकाले लाभहरू प्राप्त गर्न, र आफ्नो हैसियत र शक्ति प्राप्त गर्न सक्षम तुल्याउने जुनसुकै कुरा पनि शोषण गरिछाड्छन्; तिनीहरूले परमेश्‍वरका वचनहरूलगायत, कुनै कुरालाई पनि बाँकी राख्दैनन्। के यी घटनाहरू तिमीहरूका मण्डलीमा वा तिमीहरूको वरिपरि घटेका छन्? कतिपय ख्रीष्टविरोधीहरू त आफूभन्दा मुनिकाहरूलाई यसो भन्दै धम्क्याउँछन्, “यदि तिमीले मलाई चयन गरेनौ भने, मबारे माथि रिपोर्ट गर्‍यौ भने, मलाई मन पराएनौ भने, यदि तिमीले मेरो बारेमा कुरा लगायौ र मैले पत्ता लगाएँ भने, त्यसउप्रान्त तिमीले प्रवचनका रेकर्डिङहरू पाउनेछैनौ। म तिम्रो आपूर्ति काटिदिनेछु, तिमीलाई पोषणरहित राख्‍नेछु, तिर्खाएर मर्ने तुल्याउनेछु, भोकै पार्नेछु!” के ख्रीष्टविरोधीहरूको स्वभाव क्रूर हुँदैन र? अत्यन्तै क्रूर हुन्छ! तिनीहरूले हरप्रकारका खराब काम गर्न सक्छन्।

यदि तिमीहरूले यस्ता ख्रीष्टविरोधीहरू सामना गऱ्यौ भने, तिमीहरू तिनीहरूलाई कसरी सम्हाल्नेथियौ? के तिमीहरू तिनीहरूबारे माथि रिपोर्ट गर्ने आँट गर्छौ? के तिमीहरू एकजुट भई तिनीहरूलाई नकार्ने आँट गर्छौ? (गर्छौँ।) अहिले त गर्छु भन्छस्, तर साँच्चै तिनीहरूको सामना गर्दा तँलाई आँट नआउन सक्छ; तँ यस्तो सोचेर पछि हट्नेछस्, “म सानो कदको छु, म युवा नै छु, म कमजोर र एक्लो छु। यदि साँच्चिकै ख्रीष्टविरोधीहरू गुट बनाएर मलाई सताएमा, के म सक्किनेछैनँ र? परमेश्‍वर कहाँ हुनुहुन्छ? मेरा गुनासाहरू कसले सुन्‍नेछन्? कसले मेरा गुनासाहरू निवारण गर्नेछ र मलाई न्याय दिनेछ? मेरा निम्ति को उभिनेछ?” तेरो आस्था किन यति सानो भएको? ख्रीष्टविरोधीलाई सामना गर्नुपर्दा तँ कायर बन्छस्, तर शैतानले भेटेरै तँलाई धम्क्यायो भने तैँले के गर्थिस्—के त्यसपछि तैँले परमेश्‍वरमा विश्‍वास गर्न छोड्थिस्? यदि ख्रीष्टविरोधीले तँलाई परमेश्‍वरका वचनहरू वितरण गरेन भने, तैँले के गर्थिस्? उसले तँलाई परमेश्‍वरका वचनका पुस्तकहरूको पैसा तिरायो भने, तँ के गर्थिस्? ख्रीष्टविरोधीले तँलाई परमेश्‍वरका वचनका पुस्तकहरू वितरण गर्दैपिच्छे, तेरा लागि प्रक्रिया कठिन बनायो र रुखो बोल्यो भने, तैँले के गर्नेथिइस्? के यो परिस्थिति सम्हाल्न सजिलो छ? म तँलाई एउटा चलाख रणनीति भन्छु: जब परमेश्‍वरका वचनका पुस्तकहरू वितरण गर्ने समय आउनै लागेको हुन्छ, तब तैँले ख्रीष्टविरोधीको छेउमै उभिएर जोसजाँगरपूर्वक मिठा शब्दहरू बोल्, र उसको विश्‍वास जित्न उसको जोरदार प्रशंसा र तारिफ गर्। अनि, उसले तँलाई परमेश्‍वरका वचनका पुस्तकहरू र प्रवचनका रेकर्डिङहरू वितरण गरेपछि, उसको बारेमा माथि रिपोर्ट गर्ने अवसर खोज्। यदि उसको बारेमा माथि रिपोर्ट गर्ने कुनै उपाय भेटिएन भने, मौका खोजेर सुझबुझ भएका दाजुभाइ-दिदीबहिनीहरूसँग एकजुट भई उक्त ख्रीष्टविरोधीलाई बाँध् र सीमित पार्। यसले साँच्चिकै मण्डलीको हानि हटाउँछ र यो परमेश्‍वरका अभिप्रायहरूसँग सबैभन्दा धेरै मिल्छ। कतिपयले सोध्लान्, यदि ख्रीष्टविरोधीले यो योजना पत्ता लगायो भने, के गर्ने? यदि तँ योचोटि विश्‍वस्त छैनस् भने, अर्को मौका पर्खी। जब तँसित साहस हुन्छ र अवस्थाहरू ठिक हुन्छन्, त्यहीबेला तैँले कदम चाल्। छोटकरीमा भन्‍नुपर्दा, यदि तँलाई ख्रीष्टविरोधीले तेरो पोषण बन्द गर्ला भन्‍ने डर छ भने, सुरुमा धेरै धाक नदेखा। आफ्नो खुलासा नगर् वा ख्रीष्टविरोधीलाई तँलाई छर्लङ्गै देख्न नदे। जब तैँले पर्याप्त कद पाएको हुन्छस्, जब तँसित ख्रीष्टविरोधीका विरोधमा खडा हुन सक्‍ने, ख्रीष्टविरोधीलाई खुट्ट्याउन र नकार्न सक्‍ने उचित, सच्चा र अझै धेरै मानिसहरू हुन्छन्, त्यहीबेला तैँले ख्रीष्टविरोधीसँग सम्बन्ध तोड्न सक्छस्। यो रणनीति कस्तो सुनिन्छ? (राम्रो।) कतिपयले भन्लान्, “के यो अरूलाई छल गर्नु होइन र? के परमेश्‍वरले हामी इमानदार मानिस भएको चाहनुहुन्‍न र? यो त इमानदार देखिँदैन।” के यो अरूलाई छल गर्नु हो? (होइन।) यो त दियाबलससँग खेलबाड हो। कुनै ख्रीष्टविरोधी, जो दियाबलस हो, त्यससँग व्यवहार गर्न जुनसुकै विधि पनि स्वीकार्य हुन्छ।

के तिमीहरूलाई ख्रीष्टविरोधीहरूसँग डर लाग्छ? मानौँ तेरो वरपर, तेरो आफ्नै मण्डलीमा, साँच्चिकै कुनै ख्रीष्टविरोधी छ। तैँले उसलाई याद गरेको छस्; ऊसित शक्ति र हैसियत छ, र उसलाई धेरै मानिसहरूले समर्थन गर्छन्। उसको गुट छ, र केही कट्टर अनुयायीहरू छन्। यस्तोमा के तँ ऊदेखि डराउनेथिइस्? कतिपयले डराउनेथिएँ भनेर भन्छन्। के डर मान्‍नु ठिक हो? यो डरको कम्तीमा एउटाचाहिँ राम्रो र सही पक्ष छ। म किन त्यसो भन्दै छु? यदि तँ ऊदेखि डराउँछस् भने, यसले देखाउँछ कि कम्तीमा तँ हृदयमा ऊ दुष्ट हो, उसले तँलाई सास्ती दिन र हानि गर्न सक्छ, ऊ असल व्यक्ति वा सत्यता पछ्याउने व्यक्ति होइन भनी विश्‍वास गर्छस्—तँसित हृदयमा कम्तीमा उसको बारेमा यो बुझाइ र सुझबुझ त छ। तैँले उसलाई ख्रीष्टविरोधीको रूपमा चित्रण गर्न वा ऊ ख्रीष्टविरोधी हो भनेर खुट्ट्याउन नसक्लास्, तर कम्तीमा तँलाई थाहा हुन्छ कि, ऊ असल, सत्यता पछ्याउने, सोझो वा दयालु, वा इमानदार व्यक्ति होइन, र त्यसैले तैँले उसको डर मान्छस्। सामान्य र साधारण वा निष्कपट मानिसहरूले पिशाचहरूबाहेक प्राय: कस्ता प्रकारका मानिसहरूको डर मान्छन्? (दुष्ट मानिसहरूको।) दुष्ट मानिसहरूसँग सबै डराउँछन्। कम्तीमा, तँलाई हृदयमा यो व्यक्ति दुष्ट हो भन्‍ने थाहा हुन्छ। यसका आधारमा, परमेश्‍वरका वचन र सत्यता सिद्धान्तहरूप्रति उसको मनोवृत्ति के छ, अवलोकन गर्; उसले सत्यता अभ्यास गर्छ कि गर्दैन, त्यो हेर्, उसका विभिन्‍न व्यवहारहरू खुट्ट्याउने, र उसका व्यवहारहरूमार्फत उसको सार बुझ्ने र खुट्ट्याउने गर्। अन्ततः, यदि तैँले ऊ ख्रीष्टविरोधी हो भनेर निर्धारण गर्न सकिस् भने, तेरो डरमा अर्को तत्त्व पनि समावेश हुनेछ—र त्यो हो, ऊप्रतिको सुझबुझ। तैँले हृदयमा उसको डर माने पनि, तँ उसको पक्षमा हुनेछैनस्, र तैँले हृदयमा उसलाई इन्कार गर्नेछस्—के यो राम्रो कुरा हो कि नराम्रो हो? (राम्रो कुरा हो।) यदि उसले तँलाई ऊसित मिलेर दुष्टता गर्न भनेमा, के तँ सहमत हुनेछस्? के तेरो हृदयमा यो कुराप्रति सुझबुझ हुनेछ? यदि उसले तँलाई ऊसित मिलेर परमेश्‍वरलाई गाली गर्न वा उहाँको आलोचना गर्न भनेमा, के तँ सहमत हुनेछस्? यदि उसले तँलाई अरूलाई सास्ती दिनका निम्ति ऊसित सहकार्य गर्न भनेमा, र निश्‍चित व्यक्तिहरूलाई परमेश्‍वरका वचनका पुस्तकहरू वितरण नगर्न भनेमा, के तँ सहमत हुनेछस्? तँ यी कुराहरू गर्न सहमत हुँदैनस् भनेर शतप्रतिशत निश्‍चित नभए पनि, कम्तीमा तैँले तेरो हृदयमा उसका कार्यहरू खुट्ट्याएको हुनेछस्। तैँले आनाकानीपूर्वक र करकापमा परेर, ऊसँग केही काम गर्न सक्छस्, तर त्यो तँलाई त्यसो गर्न बाध्य पारिएकोले मात्र हुनेछ, र त्यो स्वेच्छाले गरिएको हुनेछैन; कम्तीमा तँ मुख्य अपराधी हुनेछैनस्, बढीमा, तँ उसका अपराधहरूको सहयोगी मात्र हुनेछस्। तैँले उसलाई सिधै खुलासा गर्ने वा उक्साउने काम नगरे पनि, तैँले उसको अनुयायी वा मतियार बन्‍ने काम पनि गर्नेछैनस्। यो केही हदसम्म, ख्रीष्टविरोधीलाई अस्वीकार गर्नु हो। धेरैजसो मानिसहरूले दुष्ट मानिस र ख्रीष्टविरोधीहरूको डरका कारण, आफ्नो रक्षा गर्नहेतु छुट अपनाउन मात्र सक्छन्, त्यसैले तैँले अस्थायी समाधानका रूपमा यति गर्न सक्नु पनि राम्रै हो। तर के यो स्तरमा पुग्नुलाई आफ्नो गवाहीमा दृढ रहेको मानिन्छ? के यसलाई सत्यता सिद्धान्तहरू कायम राखेको मानिन्छ? के यसलाई शैतानलाई पराजित गरेको मानिन्छ? परमेश्‍वरका नजरमा त मानिँदैन। त्यसोभए तँ कसरी आफ्नो गवाहीमा दृढ रहन सक्छस्? तिमीहरू सबैमा मार्गको कमी छ, र तिमीहरू बस आफ्नो सुरक्षाका लागि यसरी छुट अपनाउँछौ: “तिनीहरूले दुष्टता गर्छन्, तर दुष्टता गर्नलाई तिनीहरूसँग मिल्‍ने ममा आँट छैन; मलाई दण्डित हुन्छु भन्‍ने डर छ। तिनीहरू दुष्ट मानिसहरू हुन्; तिनीहरूले मानिसहरूलाई सास्ती दिनका लागि खराब कामकुरा गर्छन्। तर जे भए पनि, मैले आफैले कसैलाई सास्ती नदिएसम्म, त्यो ठीकै हुन्छ। त्यो दुष्टताको दोष मलाई लाग्नेछैन।” यदि बढीमा, तिमीहरूले यतिसम्‍म गर्न सक्छौ भने, राम्रै भइसक्यो; तिमीहरू केवल मान्छे खुसी पारिहिँड्ने मानिसहरू हौ र मध्यमार्गी शैली अपनाइरहेका छौ, र तिमीहरू गवाही दिन सक्षम छैनौ। त्यसोभए, गवाही दिन के गर्नुपर्छ? धर्मसिद्धान्तको हिसाबले भन्‍नुपर्दा, तिमीहरूले दुष्ट मानिसहरूलाई अस्वीकार गर्नुपर्छ र ख्रीष्टविरोधीहरूलाई अस्वीकार अनि तिनीहरूको खुलासा गर्नुपर्छ, अनि ख्रीष्टविरोधीहरूलाई परमेश्‍वरको घरमा खराब कामकुरा गर्दै भाँडभैलो मच्चाउन र परमेश्‍वरको घरलाई क्षति पुर्‍याउनबाट रोक्नुपर्छ। तर यो काम ठ्याक्कै कसरी गर्ने भनेर के तिमीहरूलाई थाहा छ? (माथिलाई रिपोर्ट गर्ने र त्यसबारे बताउने।) के तिमीहरूले पूरा गर्न सक्ने जिम्मेवारी र दायित्वहरू त्यति नै हुन्? के तिमीहरू दृढ रहन सक्ने गवाही र तिमीहरूसँग भएको कद त्यति नै हो? कुनै ख्रीष्टविरोधीको रिपोर्ट गर्नुबाहेक, तिमीहरूले अरू के गर्न सक्छौ? (हामीले पहिला ख्रीष्टविरोधीहरूका नियमित व्यवहार र दुष्कर्मका तथ्यहरू जम्मा गर्न, र त्यसपछि यिनै तथ्यहरूका आधारमा दाजुभाइ-दिदीबहिनीहरूसित ख्रीष्टविरोधीलाई खुट्ट्याउनेबारे सङ्गति गर्न सक्छौँ। दाजुभाइ-दिदीबहिनीहरू ख्रीष्टविरोधीहरूलाई खुट्ट्याउन सक्ने भइसकेपछि, उनीहरू सबैले ख्रीष्टविरोधीहरूको खुलासा गर्न कदम चाल्न सक्छन्, अनि त्यसपछि, हामीले तिनीहरूलाई मण्डलीबाट निष्कासन गर्न सक्छौँ।) चरण र प्रक्रियाहरू त सही छन्, तर केही विशिष्ट अवस्थाहरू आइपरेमा, के गर्ने? तँ एक अगुवाको हैसियतले बोलिरहेको छस्, तर कुनै साधारण विश्‍वासीले ख्रीष्टविरोधी सामना गरेमा के गर्ने? के त्यो एउटा अण्डाले ढुङ्गा फोड्न खोज्नुजस्तै हुँदैन र? यस्ता परिस्थितिहरूमा तिमीहरूले के गर्नेथ्यौ? म तिमीहरूलाई आयव्ययको दर्ता र रिपोर्ट गर्ने कार्यसँग सम्बन्धित एउटा कथा भन्‍छु। एउटा लेखा हेर्ने प्रभारी व्यक्ति थियो, उसले एउटा बाह्य प्रयोजन र एउटा आन्तरिक प्रयोजनको लेखा हेर्थ्यो। एकदिन, आन्तरिक लेखामा दुई सय डलरको अन्तर देखियो। पछि, लेखा जाँच गर्न सुपरिवेक्षक आयो र उसले त्यो अन्तर देख्यो; उसले भन्यो, “आन्तरिक लेखालाई च्यातिदेऊ। बाह्य लेखा मात्र राख, ताकि कुनै प्रमाण नरहोस्।” त्यहाँको एक व्यक्तिले असहमति जनायो र भन्यो, “यो त भेटी हो। रकम जतिसुकै भए पनि, यो परमेश्‍वरको पैसा हो; तिमीले यसो गर्न मिल्दैन।” त्यो सुपरिवेक्षकले केही पनि भनेन, तर अर्को व्यक्तिले टिप्पणी गर्‍यो: “दुई सय डलर के हो र? ख्रीष्टविरोधीहरूले त एकैपटक दसौँ हजार हिनामिना गर्छन्।” अनि ती मानिसहरूले त्यस मामलालाई त्यसरी नै सल्टाए। तर पछि, एउटा व्यक्तिलाई यो तरिका गलत लाग्यो र उसले यसबारे माथिल्लो तहको निर्णयकर्ताको समूहलाई रिपोर्ट गर्‍यो। त्यो टोलीले दुई सय डलर ठूलो रकम नभएको, र अत्यन्तै व्यस्त भएको कारण, तिनीहरूले त्यसलाई सम्हाल्न नसक्ने भने। जब त्यसबारे मण्डली अगुवाहरूलाई रिपोर्ट गरियो, तिनीहरूले पनि त्यसलाई सम्बोधन गरेनन् र तिनीहरू सबैले त्यो मामलालाई बेवास्ता गरे। त्यो समस्या रिपोर्ट गर्ने व्यक्ति निराश बन्यो, र उसले भन्यो, “यी सबै मानिसहरू कसरी यस्तो हुन मिल्छ? तिनीहरू कसरी परमेश्‍वरका भेटीहरूप्रति यति गैरजिम्मेवार हुन मिल्छ? तिनीहरू खुलेआम छलमा संलग्न हुनेसमेत आँट गर्छन्!” ऊ यसबारे निराश थियो। एकदिन, जब म ती मानिसहरूलाई भेट्न गएँ, त्यस व्यक्तिले लेखापाल लापरवाह छ, उसले लेखामा गडबड गरेको छ, र अन्त्यमा केही अन्तर आएको छ भन्दै मलाई त्यो समस्या रिपोर्ट गर्‍यो। त्यो समस्या ज्यादै ठूलो नभए पनि, त्यसमा संलग्न हरव्यक्तिका मनोवृत्तिहरू अलग-अलग थिए। यी तथाकथित सुपरिवेक्षक र अगुवाहरूले त्यो समस्या सम्बोधन गरेनन्। तिनीहरूले लेखा राख्ने व्यक्तिलाई निकालेर नपठाएको मात्र नभई, उसको रक्षा गर्ने बहानासमेत भेटाए। त्यो समस्या रिपोर्ट गर्ने व्यक्तिले त्यसको रिपोर्ट गरिरह्यो; तर, उसलाई धेरै मानिसहरूद्वारा बहिष्कृत गरियो। ल भन् त, यो व्यक्तिले त्यो समस्या रिपोर्ट गर्दा उसमा कस्तो मानसिकता थियो? यदि उसमा पनि “दुई सय डलर मात्र त हो, तिमी किन यसबारे यति किचकिच गरिरहेका छौ? ख्रीष्टविरोधीहरूले त एकैपटक दसौँ हजार हिनामिना गर्छन्” भन्‍ने व्यक्तिकै जस्तो मनोवृत्ति भएको भए, के उसले अझै पनि त्यसको रिपोर्ट गर्नेथियो र? उसले त्यो रिपोर्ट गर्नेथिएन। यदि उसले “त्यो मेरो पैसा नै होइन; जसले त्यसलाई हिनामिना गर्न चाहन्छ, गरोस्—तिनीहरू नै त्यसको जिम्मेवार हुनेछन्। जे भए पनि, मैले केही पनि हिनामिना गरेको छैनँ, त्यसकारण मैले यो जिम्मेवारी वहन गर्नुपर्दैन”; वा “मैले निर्णयकर्ताको समूह र मण्डली अगुवाहरूलाई रिपोर्ट गरिसकेको छु, र उनीहरू सबैले मलाई बेवास्ता गरे, त्यसकारण मैले त आफ्नो तर्फबाट गर्नुपर्ने काम गरेको छु र थप चिन्ता लिनु आवश्यक छैन” भनेर भनेको भए—यदि उसमा यो मनोवृत्ति भएको भए, के ऊ अझै निरन्तर त्यसको रिपोर्ट गरिरहन अडिग रहन सक्थ्यो र? पक्कै सक्दैनथ्यो; धेरैजसो मानिसहरूले, बढीमा, निर्णयकर्ताको समूहलाई रिपोर्ट गरेपछि केही पनि गर्नेथिएनन्। तर जतिबेला यो व्यक्तिले निर्णयकर्ताको समूहलाई रिपोर्ट गर्‍यो, त्यति नै बेला उसले नोआ र अब्राहामका कथाहरूबारे मेरो सङ्गति सुन्यो। त्यो सुनेपछि, ऊ उत्प्रेरित भयो र उसले यसो सोच्यो, “परमेश्‍वरका वचनहरू सुनेपछि, नोआले पछि नहटी धेरै वर्षसम्म तिनको पालना गरे। तर मैले यो सानो कठिनाइ सामना गर्दा पनि, म अडिग रहन सक्दिनँ—मान्छेले यसो गर्नु हुँदैन!” त्यसकारण, ऊ रिपोर्ट गर्नमा अडिग रह्यो र अन्त्यमा त्यो कुरा माथिकहाँ पुग्यो, अनि माथिबाट उक्त समस्या सम्बोधन भयो। के तिमीहरूलाई तिमीहरूमाझ यस्ता धेरै मानिसहरू छन् जस्तो लाग्छ? यदि तिमीहरूले यस्तो परिस्थिति सामना गऱ्यौ भने, तिमीहरूमध्ये कति जना यो व्यक्तिझैँ अडिग रहनेथियौ? के तिमीहरूले पनि दुई सय डलर धेरै होइन, त्यो कुनै ठूलो कुरा होइन भन्‍ने विश्‍वास गर्नेथ्यौ, र फलस्वरूप सिद्धान्तहरूलाई यति दृढ रूपमा पालना गर्न वा यति गम्भीर हुन आवश्यक छैन, र कुनै ठूलो अन्तर नहुन्जेल रिपोर्ट नगरे हुन्छ भन्ठान्‍नेथ्यौ? के तिमीहरूले “आखिर जे होस्, मैले आफ्नो जिम्मेवारी पूरा गरेको छु। त्यसलाई सम्बोधन गर्नु वा नगर्नु अगुवाहरूको सरोकारको कुरा हो। म त एक साधारण विश्‍वासी मात्र हुँ, मसँग यति मात्र शक्ति छ, म यति मात्र गर्न सक्छु। मैले रिपोर्ट गरेको छु, मैले आफ्नो दायित्व पूरा गरेको छु; बाँकी मेरो सरोकारको कुरा होइन” भनेर सोच्नेथ्यौ? के तिमीहरूले यस्तै सोच्नेथिएनौ र? अनि यदि कसैले तँलाई दमन गर्थ्यो भने, तैँले त्यसको रिपोर्ट गर्ने आँट गर्दैनथिस्, होइन र? यो व्यक्तिले त्यो समस्या रिपोर्ट गर्ने क्रममा दमन भोग्यो, कतिपय मानिसहरूले उसलाई औँला ठड्याए र निन्दा गरे, साथै उसलाई सधैँ सास्ती दिन खोजे। यी मानिसहरू कति दुर्भावपूर्ण होलान्! मलाई यी केही व्यक्तिहरूको सम्झना छ—म किन तिनीहरूलाई सम्झिन्छु? तिनीहरूले परमेश्‍वरको घरको खाना खाए र परमेश्‍वरद्वारा आपूर्ति गरिएका सारा सत्यताहरूको आनन्द उठाए, तैपनि परमेश्‍वरका भेटीहरूप्रति तिनीहरूमा त्यस्तो मनोवृत्ति थियो। के तिनीहरूलाई परमेश्‍वरको घरका मानिसहरू मान्‍न सकिन्छ? तिनीहरू त्यसलायक छैनन्! तिनीहरूलाई आफ्नो गवाहीमा दृढ रहन माग गरिएन, किनकि तिनीहरूसँग यो चरित्र नै थिएन। तर तिनीहरूले जे गर्नुपर्थ्यो त्यो नै नगरेकाले, के तिनीहरू अझै पनि परमेश्‍वरको घरमा रहन लायक थिए त? के यस्ता मानिसहरूलाई सम्झिइनुपर्छ? के तिमीहरूलाई यस्ता मानिसहरू मन पर्छ? (पर्दैन।) त्यसोभए तिमीहरूलाई कस्ता खाले मानिसहरू मन पर्छ? (ती मानिसहरू जसले सिद्धान्तहरू पालन गर्छन्, जो अन्त्यसम्म परमेश्‍वरको घरका हितहरू रक्षा गर्नमा अडिग रहन्छन्।) मलाई शक्तिशाली मानिसहरू देख्दा तर्सिने तर निष्कपट मानिसहरूको अगाडि साहस देखाउने केही न कामका मानिसहरूसँग घिन लाग्छ। मलाई जुन थालमा खायो त्यही थालमा चुठ्ने, सत्यतामा कुनै चासो नराख्ने, र विशेषगरी धेरै वर्ष प्रवचनहरू सुनेर पनि सत्यता बिलकुलै नबुझेका, वा अलिकति पनि परिवर्तन नभएका, र अझै पनि हृदयको गहिराइमा परमेश्‍वरको प्रतिरोध गर्ने र उहाँदेखि सावधान रहनेहरूप्रति पनि घिन लाग्छ। यदि यस्ता मानिसहरूले दुष्टता गरेका प्रस्ट घटनाहरू छैनन् भने, तिनीहरू ख्रीष्टविरोधीका रूपमा चित्रण नहोलान्, तर मलाई तिनीहरूप्रति घिन लाग्छ। कति घिन लाग्छ? ख्रीष्टविरोधीहरूप्रति जति नै घिन लाग्छ। किन? ख्रीष्टविरोधीहरूले परमेश्‍वरका वचनहरूलाई बिक्री, व्यापार र लेनदेन गर्ने उपभोग्य वस्तुका रूपमा लिन्छन्, र त्यसबाट नाफा प्राप्त गर्छन्। जबकि यसप्रकारको व्यक्तिले परमेश्‍वरका वचनहरूबाट नाफाचाहिँ नलिन सक्छ, तर उसले परमेश्‍वरका वचनहरूलाई जुन मनोवृत्तिले हेर्छ त्यसबाट हामीले निर्क्योल गर्न सक्छौँ कि ऊ ठ्याक्कै ख्रीष्टविरोधीहरूजस्तै छ, उसले परमेश्‍वरको मार्ग पछ्याउँदैन, वा उसमा परमेश्‍वरका भेटीहरूप्रति हुनुपर्ने सरल र सबैभन्दा आधारभूत मनोवृत्तिसमेत छैन, र ऊ जुन थालमा खायो त्यही थालमा चुठ्छ। तिनीहरू कस्ता चिजहरू हुन्? तिनीहरू यहूदाहरू हुन्, जो प्रभु र आफ्ना साथीहरूलाई घात गर्छन्। यो कथा सुनेपछि, तिमीहरूमा कस्ता सोचहरू आए? के तिमीहरू यस्ता परिस्थितिहरूमा सिद्धान्तहरू पालना गर्न र आफ्नो अडानमा अडिग रहन सक्छौ? यदि तँ केही न कामको छस्, र सधैँ पछि हट्छस्, सधैँ ख्रीष्टविरोधीहरूको शक्तिको डर मान्छस्, र तिनीहरूद्वारा सास्ती दिइने कुराले डराउँछस्, तिनीहरूको शक्तिले तँलाई हानि गर्ला भनेर डराउँछस्, र तँ सधैँ हृदयमा डराएको हुन्छस्, र तँसँग यसबारे प्रतिक्रिया जनाउने बुद्धि छैन, र तैँले सधैँ ख्रीष्टविरोधीहरूलाई छुट दिन्छस्, तिनीहरूको रिपोर्ट वा खुलासा गर्न वा तिनीहरूलाई नकार्न हातेमालो गर्ने अरू व्यक्तिहरू खोज्ने आँट गर्दैनस् भने, तँ परमेश्‍वरप्रतिको गवाहीमा दृढ रहन सक्ने व्यक्ति होइनस्—तँ केही न कामको व्यक्ति होस्, जुन थालमा खायो त्यही थालमा चुठ्ने चिज होस्। जब ख्रीष्टविरोधीहरूले परमेश्‍वरका वचनहरूलाई उपभोग्य वस्तुका रूपमा लिन्छन्, आफ्ना लागि अनुचित तरिकाले अत्यधिक लाभ प्राप्त गर्न, तँलाई धम्क्याउन, र तेरो पोषण बन्द गर्न तिनलाई प्रयोग गर्छन्, तब यदि तैँले त्यस्ता परिस्थितिहरूमा पनि तिनीहरूलाई अस्वीकार गर्न सक्दैनस् भने, के तँ विजेता होस् त? के तँ ख्रीष्टको अनुयायी हुन लायक छस् त? यदि तँसित परमेश्‍वरले तँलाई निःशुल्क रूपमा दिनुहुने वचनहरू र आत्मिक पोषण लिने क्षमतासमेत छैन भने, र तैँले ती कुराहरू खान, पिउन, वा तिनको आनन्द उठाउनसमेत सक्दैनस् भने, त्यसले तँलाई कति नालायक बनाउँछ?

मैले भर्खरै सङ्गति गरेका तथ्यहरू ख्रीष्टविरोधीहरूले परमेश्‍वरका वचनहरूलाई उपभोग्य वस्तुका रूपमा लिनुका केही प्रकटीकरणहरू हुन्। ख्रीष्टविरोधीहरू परमेश्‍वरका वचनहरू खाने र पिउने गर्दैनन् र सत्यता स्विकार्दैनन्, तिनीहरू आफूलाई परमेश्‍वरका वचनहरूद्वारा सुसज्जित गर्न तिनलाई चाँ-चाँडो पढ्ने र झलक्क हेर्ने मात्र गर्छन्। तिनीहरू परमेश्‍वरका वचनहरूलाई आफ्नो स्वामित्वको वस्तु र निजी सम्पत्तिका रूपमा लिन्छन्, ताकि तिनीहरूले, कारोबारमा संलग्न भएर आफूले कामना गरेका पैसा र लाभहरू प्राप्त गर्न सकून्, र ताकि परमेश्‍वरका चुनिएका मानिसहरूको परमेश्‍वरका वचनहरू पढ्ने, खाने र पिउने स्वतन्त्रता नियन्त्रण गर्न सकून्। यस्ता ख्रीष्टविरोधीहरू दुष्ट मानिस, दियाबलस, र अविश्‍वासीहरू हुन्; तिनीहरू गैरविश्‍वासी वर्गका हुन्! यस्ताहरू जोकोही परमेश्‍वरको घरमा देखा परे पनि, तिनीहरूलाई निष्कासित गरिनुपर्छ, सदाका लागि निष्कासित गरिनुपर्छ! के यस्ता मानिसहरू सामना गर्दा, तिमीहरू तिनीहरूलाई अस्वीकार गर्ने आँट गर्छौ? के तिमीहरू एकजुट भएर तिनीहरूको खुलासा गर्ने आँट गर्छौ? तिनीहरूको खुलासा गरिनुपर्छ; तिनीहरूलाई अस्वीकार गरिनुपर्छ। परमेश्‍वरको घर सत्यताद्वारा शासित हुन्छ। यदि तँसित यस्तो कद छैन भने, यसले परमेश्‍वरका वचनहरू र सत्यता तँभित्र जीवन बनेका छैनन् भन्‍ने प्रमाणित गर्छ। यदि तँ कायर छस्, शैतानहरूसँग डराउँछस्, दुष्ट मानिसहरूसँग डराउँछस्, र ख्रीष्टविरोधीहरूविरुद्ध लड्नुभन्दा आफैलाई बचाउनका लागि सम्झौता गर्न रोज्छस् भने, र त्यसका लागि तँ परमेश्‍वरका वचनहरू खाने-पिउने वा तिनलाई प्राप्त गर्ने समेत गर्दैनस् भने, तँ भोकले मर्न लायक छस्, र यदि तँ मरिस् नै भने पनि, तँलाई कसैले पनि दया गर्नेछैन। यदि तिमीहरूले यस्ता परिस्थितिहरू सामना गर्‍यौ भने, तिमीहरूले छनौट र अभ्यास कसरी गर्नुपर्छ? तिमीहरूले तत्काल तिनीहरूको खुलासा गर्नुपर्छ। परमेश्‍वरका वचनहरू उपभोग्य वस्तु होइनन्; ती परमेश्‍वरका चुनिएका सबै मानिसहरूलाई प्रदान गरिएका हुन्, ती कुनै व्यक्तिको निजी सम्पत्ति होइनन्। कसैसँग पनि परमेश्‍वरका वचनहरू रोकेर राख्ने वा आफ्नै निम्ति स्वामित्वमा लिने अधिकार हुँदैन। परमेश्‍वरका वचनहरू परमेश्‍वरलाई पछ्याउने सबै चुनिएका मानिसहरूलाई बिना मुआब्जा निःशुल्क वितरण गरिनुपर्छ। जसले तिनलाई रोकेर राख्छ, तीबाट अनुचित तरिकाले अत्यधिक लाभहरू लिन खोज्छ, वा परमेश्‍वरका वचनहरूका सम्बन्धमा व्यक्तिगत योजनाहरू बनाउँछ, ऊ श्रापित हुन योग्य हुन्छ। तिनीहरू परमेश्‍वरका चुनिएका मानिसहरूले खडा भएर खुलासा र अस्वीकार गर्नुपर्ने व्यक्तिहरू हुन्, तिनीहरू निकालिनु र हटाइनुपर्छ।

के आज मैले सङ्गति गरेका दुई विषयवस्तुहरूले ख्रीष्टविरोधीहरूले परमेश्‍वरका वचनहरू कसरी तिरस्कार गर्छन् भन्‍ने कुराको पर्याप्त चित्रण गर्छन्? (गर्छन्।) ख्रीष्टविरोधीहरूले परमेश्‍वरका वचनहरूलाई कहिल्यै सत्यताका रूपमा लिँदैनन्, न त तिनीहरूले तिनलाई कदर गर्ने, बहुमूल्य ठान्‍ने, वा सृष्टिकर्ताका वचनहरूका रूपमा लिने नै गर्छन्। त्यसको साटो, तिनीहरूले हरमोडमा आफ्ना भन्नै नमिल्ने, घृणास्पद, र घिनलाग्दा अभिप्रायहरू देखाउँछन्। तिनीहरू आफ्ना भन्नै नमिल्ने लक्ष्यहरू हासिल गर्न मात्र परमेश्‍वरका वचनहरू प्रयोग गर्न चाहन्छन्, र भौतिक वा अभौतिक जुनै चिजहरूको सम्बन्धमा भए पनि, तिनीहरू अनुचित तरिकाले आफ्नै लागि नाफा प्राप्त गर्न, पैसा र भौतिक वस्तुहरू प्राप्त गर्न, वा मानिसहरूलाई आफ्नो खुसामद गर्न, आफूलाई आदर गर्ने, आफ्नो अन्धोभक्ति गर्न र अनुसरण गर्न लगाउने लक्ष्य हासिल गर्नहेतु परमेश्‍वरका वचनहरू प्रयोग गर्न चाहन्छन्। यी कुराहरू परमेश्‍वरले घिनाउनुहुन्छ र यिनलाई मानिसहरूले अस्वीकार गर्नुपर्छ। जब-जब कसैले यस्ता व्यक्तिहरूबारे वा यस्ता घटनाहरू भइरहेको थाहा पाउँछ, तबतब ऊ यी कुराको खुलासा र अस्वीकार गर्न खडा हुनुपर्छ, र यस्ता मानिसहरूलाई परमेश्‍वरका चुनिएका मानिसहरूमाझ दृढ रहनबाट रोक्नुपर्छ। कतिपयले त यदि तिनीहरूले यस्ता घटनाहरू सामना गरेमा माथि रिपोर्ट गर्छु भनेर भन्छन्, तर त्यो कुरा अत्यन्तै निष्क्रिय र सुस्त हुन्छ। यदि तैँले बस यी कुराहरू माथि रिपोर्ट गर्ने काम मात्र गर्छस् भने, तँ अत्यन्तै बेकार छस्! तैँले परमेश्‍वरका यति धेरै वचनहरू खानु र पिउनुका साथै यति धेरै प्रवचनहरू सुनेको छस्, तैपनि तँलाई रिपोर्ट गर्न मात्र आउँछ—यसको अर्थ तेरो कद अति नै सानो छ! के तँसँग ख्रीष्टविरोधीहरूलाई निराकरण गर्ने अरू विधिहरू पक्कै छैनन् र? माथि रिपोर्ट गर्नु भनेको अन्तिम उपाय हो, जुन बिलकुलै जरुरी पर्दा मात्र चालिने कदम हो। यदि तेरो सङ्ख्या पुगेन, तेरो स्तर मिलेन, र तँमा सुझबुझ छैन, र साथै कुनै व्यक्ति ख्रीष्टविरोधी हो कि होइन भनेर तँ निश्‍चित छैनस् भने, तैँले उसका विभिन्‍न प्रकटीकरण र कार्यहरू खुलासा गर्ने आँट नगर्न सक्छस्। तर यदि ऊ ख्रीष्टविरोधी हो भनेर तँ निश्‍चित छस्, तैपनि अझै उसको विरुद्ध लड्न, उसलाई अस्वीकार गर्न, र परास्त गर्न खडा हुने आँट गर्दैनस् भने, के तँ अति नालायक होइनस् र? तैँले बुझेको अलिकति सत्यता पनि प्रयोग भइरहेको छैन। के तँ आफूले बुझेको र सुनेको कुरा सत्यता हो भनेर त निश्‍चित छस्? यदि त्यो सत्यता हो भने, तँ किन कठोर र न्यायोचित रूपमा खडा भएर ख्रीष्टविरोधीहरूविरुद्ध लड्ने आँट गर्दैनस्? यो ख्रीष्टविरोधीहरू शासन गर्ने अधिकारी भएको अवस्था पनि त होइन—तँ के कारणले तिनीहरूसँग डराउँछस्? तैँले विचारै नगरी तिनीहरूको खुलासा गरेर तिनीहरूले तँलाई अधिकारीहरूका हातमा सुम्पन सक्ने खण्डमा बाहेक—ती परिस्थितिहरूमा, तैँले होसियारी अपनाउनुपर्छ, तिनीहरूलाई उक्साउनु हुँदैन, बरु बुद्धिमान् विधिहरू प्रयोग गरेर सुटुक्क ख्रीष्टविरोधीहरूको आलोचना गर्ने र साख गिराउने काम गर्नुपर्छ, बिस्तारै तिनीहरूलाई हटाउनुपर्छ। के तिनीहरूलाई चुपचाप हटाउनु झन् प्रभावशाली हुँदैन र? (हो।) ल ठिक छ, अब आजको सङ्गति यहीँ टुङ्ग्याऔँ। बिदा चाहन्छु!

सेप्टेम्बर १२, २०२०

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्