विषयवस्तु दस: तिनीहरू सत्यतालाई तिरस्कार गर्छन्, निर्लज्जपूर्वक सिद्धान्तहरू उल्लङ्घन गर्छन्, र परमेश्‍वरको घरका प्रबन्धहरूलाई बेवास्ता गर्छन् (भाग चार) खण्ड चार

कतिपय मानिसहरूले निरन्तर परमेश्‍वरमाथिको आफ्नो आस्था उद्घोष गरिरहन्छन्, तर जब तिनीहरूलाई घटनाहरू आइपर्छन्, तब तिनीहरूले हरेक दाजुभाइ-दिदीबहिनीको राय खोज्छन्, तर ख्रीष्टको राय कहिल्यै खोज्दैनन्। तिनीहरू ख्रीष्टले के भन्नुहुन्छ, उहाँको निष्कर्ष के हो, उहाँले किन यसो गर्न चाहनुहुन्छ, वा मानिसहरू कसरी समर्पित हुनुपर्छ भन्‍नेबारे सोधपुछ गर्दैनन्। तिनीहरूले प्रत्येक दाजुभाइ-दिदीबहिनीको राय खोजेका छन् र तिनीहरू उनीहरू सबैका राय र विचारहरूलाई सम्मान गर्न सक्छन्, तर तिनीहरू ख्रीष्टले बोल्नुभएको एउटा पनि वाक्य स्विकार्दैनन्, र समर्पित हुने कुनै अभिप्राय देखाउँदैनन्। यसको प्रकृति कस्तो हो? के तिनीहरू ख्रीष्टविरोधी होइनन् र? (हुन्।) यो परिस्थितिमा के भइरहेको हुन्छ? तिनीहरू यस मामलालाई किन कार्यान्वयन गर्दैनन्? कार्यान्वयन गर्न तिनीहरूलाई किन यति गाह्रो हुन्छ? यसको एउटा कारण छ। तिनीहरू सोच्छन्, “ख्रीष्टसँग सत्यता र परमेश्‍वरको सार छ, तर त्यो सबै औपचारिक कुरा मात्र हो, धर्मसिद्धान्त र नाराहरू मात्र हो। वास्तविक मामलाहरूमा, तिमीले कसैलाई पनि बिलकुलै छर्लङ्ग देख्न सक्दैनौ। हामीले सुन्‍नलाई मात्र तिम्रा वचनहरू बोलिएका हुन्, पुस्तकहरूमा छापिएका हुन्, तिम्रा वास्तविक क्षमताहरूसँग तिनको बिलकुलै सम्बन्ध छैन। त्यसकारण, यदि तिमीले कसैलाई दुष्ट व्यक्ति वा ख्रीष्टविरोधी भनेर चित्रण गर्छौ भने, त्यो सही नहुन पनि सक्छ। ऊ दुष्ट वा ख्रीष्टविरोधी हो भन्‍ने कुरा मैले किन देखिनँ? म किन यो मामला बुझ्दिनँ?” के तिनीहरूले यस्तै सोच्दैनन् र? तिनीहरू यस्तो विश्‍वास गर्छन्, “तिमीले यस व्यक्तिलाई केवल दुईपटक भेटेका छौ, उसले थोरै शब्दहरू बोलेको र एउटा काम गरेको देखेका छौ, अनि तिमी उसलाई दुष्ट भनेर भन्छौ। दाजुभाइ-दिदीबहिनीहरू त त्यस्तो सोच्दैनन्; तिमीले कसरी त्यस्तो सोच्न सक्छौ? तिम्रा वचनहरू किन यति वजनदार हुनुपर्छ? मैले यस व्यक्तिबाट कुनै पनि दुष्ट कार्यहरू भएको देखेको छैन, न त मलाई उसले कस्ता खराब काम गरेको छ भन्‍ने नै थाहा छ, त्यसकारण म तिम्रो कुरामा ‘आमेन’ भन्‍न सक्दिनँ। तिमीले जे गरिरहेका छौ, त्यसबारे ममा धारणा र संशयहरू छन्। तर धारणाहरू हुँदाहुँदै पनि, मैले तिनलाई सिधै व्यक्त गर्न मिल्दैन, त्यसैले मैले अप्रत्यक्ष विधिहरू प्रयोग गर्नुपर्छ: म दाजुभाइ-दिदीबहिनीहरूलाई मतदानद्वारा यो मामलाको छिनोफानो गर्न दिनेछु। दाजुभाइ-दिदीबहिनीहरू असहमत भए भने, त्यसमा केही गर्न मिल्दैन—के तिमीले उनीहरू सबैलाई काटछाँट गर्न मिल्छ र? यसबाहेक, तिमीले यस व्यक्तिसँग एकदुईपटक मात्र कुरा गरेका छौ, तर त्यसपछि तिमी उसलाई दुष्ट भनेर चित्रण गर्छौ। तिमी उसलाई थोरै मौका किन दिँदैनौ? दाजुभाइ-दिदीबहिनीहरू कति सहनशील र प्रेमिला छन्, हेर त। म खराब व्यक्ति बन्‍न मिल्दैन; मैले पनि प्रेमिलो बन्नुपर्छ र मानिसहरूलाई मौकाहरू दिनुपर्छ—तुरुन्तै अरूबारे फैसला सुनाइहाल्ने तिमीजस्तो हुनु हुँदैन। कसैलाई निकाल्नु सजिलो कुरा होइन—त्यो व्यक्ति पछिबाट कमजोर बन्यो भने के गर्ने? समस्याहरू सामना गर्दा, ख्रीष्टले दाजुभाइ-दिदीबहिनीहरूको रक्षा गर्नुपर्छ। उनले दाजुभाइ-दिदीबहिनीहरूको जस्तोसुकै मूर्खता, विद्रोह, वा अज्ञानता सहनुपर्छ र उनी अति निर्णायक र प्रेमरहित बन्नु हुँदैन। के परमेश्‍वरमा प्रचुर कृपा हुनुपर्ने होइन र? त्यो कृपा कहाँ गयो? आफूलाई मन नपर्ने जोकोहीलाई दुष्ट भनेर चित्रण गर्नु र उसलाई खेदाउन चाहनु, त्यो बिलकुलै नियमसङ्गत होइन!” यी धारणाहरू हुन्, होइनन् र? (हुन्।) जब ख्रीष्टले केही गर्नुहुन्छ वा कुनै निर्णय गर्नुहुन्छ, यदि तिनीहरू त्यसमा सहमत भएनन् भने, त्यसलाई कार्यान्वयन गर्न गाह्रो हुन्छ। तिनीहरू ढिलाइ गर्छन्, विभिन्‍न बहाना र विधिहरू प्रयोग गरेर विरोध गर्छन्; तिनीहरू त्यसलाई कार्यान्वयन गर्न वा आज्ञापालन गर्न सरासर इन्कार गर्छन्। तिनीहरूको अभिप्राय यस्तो हुन्छ: “यदि मैले यसलाई लागु गरिनँ भने, तिम्रो काम पूरा हुनेछैन!” सुन्, यदि तैँले त्यसलाई कार्यान्वयन गर्दैनस् भने, म त्यसलाई कार्यान्वयन गर्न सक्ने व्यक्ति खोजेर उसलाई अगुवा बनाउनेछु, अनि तँ जताबाट आएको थिइस्, त्यतै फर्केर जान सक्छस्! के यो मामलालाई यस तरिकाले सम्हाल्नु पर्दैन र? (पर्छ।) मैले उसलाई त्यसरी नै सिधै र कुशलतापूर्वक धपाएँ—कसैलाई सोधिरहनु परेन।

कति मानिसहरूले सत्यता कहिल्यै बुझ्दैनन् र परमेश्‍वरका वचनहरूबारे सधैँ शङ्का गर्छन्। तिनीहरू भन्छन्, “के सत्यतासँग शक्ति हुनु र ख्रीष्टले शक्ति हातमा लिनु एउटै कुरा हो? ख्रीष्टका वचनहरू सधैँ सही हुन्छन् भन्‍ने छैन, किनकि उनीसँग एउटा मानव पक्ष छ।” तिनीहरू ख्रीष्टले शक्ति हातमा लिएको स्विकार्न सक्दैनन्। यदि परमेश्‍वरको आत्माले शक्ति हातमा लिनुहुन्थ्यो भने, तिनीहरूमा कुनै पनि धारणाहरू हुँदैनथे। यसमा समस्याचाहिँ के हो त? यस्ता मानिसहरूमा स्वर्गको परमेश्‍वरबारे अलिकति पनि शङ्का हुँदैन तर देहधारी परमेश्‍वरबारे सधैँ शङ्का हुन्छ। ख्रीष्टले अति धेरै सत्यता व्यक्त गर्नुभएको छ, तैपनि तिनीहरू उहाँलाई देहधारी परमेश्‍वरको रूपमा चिन्दैनन्। त्यसोभए के तिनीहरूले ख्रीष्ट नै सत्यता, मार्ग र जीवन हुनुहुन्छ भनेर मान्‍न सक्छन् त? त्यो भन्‍न गाह्रो छ। यस्ता मानिसहरूले ख्रीष्टलाई पछ्याए पनि, के तिनीहरूले उहाँको गवाही दिन सक्छन् त? के तिनीहरू ख्रीष्टसँग मिल्छन् त? यी प्रश्‍नहरूको कुनै निश्‍चित जवाफ छैन। यस्ता मानिसहरूले मार्गको अन्त्यसम्मै पछ्याउन सक्छन् सक्दैनन् भन्‍ने कुरा पनि अनिश्‍चित नै छ। कति मानिसहरूचाहिँ परमेश्‍वरको घरमा सत्यतासँग शक्ति हुन्छ भनेर हृदयमा पूर्ण रूपमा स्विकार्छन्। तर सत्यतासँग शक्ति हुनुलाई तिनीहरूले कसरी बुझ्छन्? तिनीहरू जुनसुकै काम गरिए पनि, यदि त्यो परमेश्‍वरको घरसँग सम्बन्धित छ भने, सबैजनाले छलफल गरेर सँगै निर्णय गर्नुपर्छ भन्‍ने सोच्छन्। सर्वसम्मतिमा पुगियो भने, परिणाम जे-जस्तो भए पनि, त्यसलाई कार्यान्वयन गरिनुपर्छ भन्ठान्छन्। तिनीहरू त्यो नै सत्यतासँग शक्ति हुनु हो भन्‍ने विश्‍वास गर्छन्। के यो विचार सही हो त? यो अत्यन्तै गम्भीर गलतबुझाइ हो; यो सबैभन्दा हास्यास्पद र समझहीन भनाइ हो। सत्यता कहाँबाट आउँछ? यो ख्रीष्टले व्यक्त गर्नुहुन्छ। ख्रीष्ट मात्र सत्यता हुनुहुन्छ, तर भ्रष्ट मानवजातिमा सत्यता बिलकुलै हुँदैन, त्यसोभए मानिसहरूले विचारविमर्शमार्फत कसरी सत्यता निर्माण गर्न सक्छन्? यदि मानिसहरूले विचारविमर्शमार्फत सत्यता निर्माण गर्न सक्ने भए, त्यसले भ्रष्ट मानवजातिमा सत्यता हुन्छ भन्‍ने अर्थ दिनेथ्यो। के त्यो सबैभन्दा हास्यास्पद कुरा होइन र? त्यसकारण, सत्यतासँग शक्ति हुनुको अर्थ ख्रीष्टले शक्ति हातमा लिनु हो, यसको अर्थ परमेश्‍वरका वचनहरूसँग शक्ति हुनु हो, सबैजनासँग शक्ति हुनु वा सबैले निर्णय गर्न पाउनु होइन। सँगै भेला भएर सत्यता र परमेश्‍वरका वचनहरूबारे सङ्गति गर्नु ठिक हो; यो मण्डली जीवन हो। तर यसरी अभ्यास गर्नुको प्रभाव के हुन्छ? यसले सबैलाई सत्यता बुझ्न र परमेश्‍वरका वचनहरू थाहा पाउन मदत गर्छ, सबैलाई परमेश्‍वरका वचनहरूप्रति समर्पित हुन र तीअनुसार काम गर्न सक्षम तुल्याउँछ। मानिसहरूले सत्यता नबुझ्ने भएर नै तिनीहरू त्यसबारे सङ्गति गर्न भेला हुन्छन्। यदि तिनीहरूले सत्यता बुझ्ने भए, तिनीहरू सिधै ख्रीष्ट र परमेश्‍वरका वचनहरूप्रति समर्पित हुन सक्थे; त्यो साँचो समर्पण हुनेथ्यो। यदि कुनै दिन परमेश्‍वरका चुनिएका सबै मानिसहरूले सत्यता बुझेछन् भने, र सबैले सिधै ख्रीष्टप्रति समर्पित हुन, उहाँलाई उच्च पार्न र उहाँको गवाही दिन सकेछन् भने, त्यसले परमेश्‍वरका चुनिएका मानिसहरू पूर्ण तुल्याइएका छन् भन्‍ने सङ्केत गर्नेछ। अझ बढी त, यसले परमेश्‍वरको घर सत्यताद्वारा, अर्थात् ख्रीष्टद्वारा शासित छ भन्‍ने गवाही दिनेछ। यस्ता तथ्य र गवाहीहरूद्वारा मात्र परमेश्‍वरले राजाको रूपमा धर्तीमा शासन गर्नुभएको छ र ख्रीष्टको राज्य देखा परेको छ भन्‍ने कुरा प्रमाणित हुन्छ। तर कतिपय ख्रीष्टविरोधीहरू र झूटा अगुवाहरूले सत्यतासँग शक्ति हुनुलाई कसरी बुझ्छन्? तिनीहरूको कार्यान्वयनमा, सत्यतासँग शक्ति हुनुको अर्थ दाजुभाइ-दिदीबहिनीहरूको हातमा शक्ति हुनु हो। तिनीहरूले जे काम गरे पनि, यदि तिनीहरूले त्यसलाई राम्रोसँग बुझ्न सक्छन् भने, तिनीहरूले त्यसलाई आफ्नै इच्छाअनुसार गर्छन्; यदि बुझ्न सक्दैनन् भने, तिनीहरूले केही मानिसहरूसँग सङ्गति गर्छन् र त्यस समूहलाई निर्णय गर्न दिन्छन्। के यसले सत्यता अभ्यास भइरहेको छ भन्‍ने प्रमाणित गर्न सक्छ? के उक्त समूहको निर्णय परमेश्‍वरका अभिप्रायहरूसँग मिल्छ नै भन्‍ने हुन्छ? के यस्तो अभ्यासले सत्यतासँग शक्ति हुने अवस्था ल्याउन सक्छ? के यसले परमेश्‍वरको घरमा ख्रीष्टको हातमा शक्ति हुन्छ भन्‍ने गवाही दिन सक्छ? तिनीहरू दाजुभाइ-दिदीबहिनीहरूलाई आफ्ना रायहरू व्यक्त गर्न, आफ्ना दृष्टिकोणहरू छलफल गर्न, र अन्त्यमा सर्वसम्मतिमा पुगेर निर्णयहरू गर्न दिनुलाई सत्यतासँग शक्ति भएको रूपमा लिन्छन्, र यसको आशय दाजुभाइ-दिदीबहिनीहरू सत्यताका प्रवक्ता हुन्, तिनीहरू सत्यताका पर्यायवाची हुन् भन्‍ने हुन्छ। के यसलाई यसरी बुझ्नु सही हो? प्रस्टै छ, यो सही होइन, तर कतिपय ख्रीष्टविरोधी र झूटा अगुवाहरू वास्तवमा यही तरिकाले कार्य गर्छन् र यसलाई यसरी नै कार्यान्वयन गर्छन्। तिनीहरू यसो गरेर तिनीहरूले लोकतन्त्र अभ्यास गरिरहेका छन्, लोकतान्त्रिक निर्णय गरिरहेका छन् र सत्यताअनुरूप भए पनि नभए पनि यो यसरी नै गर्नुपर्छ भन्ठान्छन्। यस तरिकाले कार्य गर्नुको सार के हो? के लोकतान्त्रिक तरिकाले निर्णय गरिएका मामलाहरू स्वतः सत्यताअनुरूप हुन्छन्? के तिनले स्वतः परमेश्‍वरलाई प्रतिनिधित्‍व गर्छन्? यदि लोकतन्त्र नै सत्यता भए, परमेश्‍वरले सत्यता व्यक्त गर्नुपर्ने आवश्यकता नै हुँदैनथ्यो; के लोकतन्त्रलाई शासन गर्न मात्र दिए पनि पुग्दैनथ्यो र? भ्रष्ट मानवजातिले जतिसुकै लोकतन्त्र अभ्यास गरे पनि, यसले लोकतन्त्रको अभ्यासमार्फत सत्यता सिर्जना गर्न सक्दैन। सत्यता परमेश्‍वरबाट आउँछ, ख्रीष्टका अभिव्यक्तिहरूबाट आउँछ। कुनै मानव विधि मानव विचार वा रुचिहरूसँग जतिसुकै मिले पनि, यसले सत्यता प्रतिनिधित्व गर्न सक्दैन। यो तथ्य हो। झूटा अगुवा र ख्रीष्टविरोधीहरूका शैलीहरूको सार भनेको, सत्यतासँग शक्ति हुने नाउँमा, ख्रीष्टलाई पूर्ण रूपमा पाखा लगाउनु, ख्रीष्टलाई लोकतन्त्रद्वारा प्रतिस्थापित गराउनु, र ख्रीष्टको शासनलाई साम्प्रदायिक सङ्गति र लोकतान्त्रिक शासनको विधिद्वारा प्रतिस्थापित गराउनु हो। के यसका प्रकृति र परिणामहरू सजिलै खुट्ट्याउन सकिने खालका छैनन् र? बोधशील मानिसहरूले तिनलाई बुझ्न सक्नुपर्छ। झूटा अगुवा र ख्रीष्टविरोधीहरू ख्रीष्टप्रति समर्पित हुँदैनन्, बरु उहाँलाई इन्कार र अवज्ञा गर्छन्। ख्रीष्टले मण्डलीमा जे सङ्गति गर्नुभए पनि, मानिसहरूले त्यो सुनेर बुझे पनि, त्यसलाई कानको छेउबाट बहेको हावाको रूपमा मात्र लिन्छन् र त्यसलाई कार्यान्वयन गर्न अनिच्छुक हुन्छन्। त्यसको साटो, तिनीहरू झूटा अगुवा र ख्रीष्टविरोधीहरूको कुराप्रति ध्यान दिन्छन्; अन्त्यमा, तिनीहरूका शब्दहरू नै तिनीहरूको लागि मान्य हुन्छन्। मानिसहरूले ख्रीष्टका वचनहरूअनुसार अभ्यास गर्न सक्नु नसक्नु यी झूटा अगुवा र ख्रीष्टविरोधीहरूका निर्णयहरूमा भर पर्छ, र धेरैजसो मानिसहरूमा तिनीहरूको अनुसरण गर्ने प्रवृत्ति हुन्छ। ख्रीष्टविरोधीहरू मण्डलीको काममाथि कडा निगरानी राख्छन्, आफैले मात्र निर्णयहरू गर्छन् र परमेश्‍वरलाई निर्णय गर्न वा शक्ति हातमा लिन दिँदैनन्। तिनीहरू सोच्छन्, “ख्रीष्ट यहाँ कामको निरीक्षण गर्नलाई मात्र हो। तिमीले आफ्नो कुरा राखेर कामको प्रबन्ध गर्न सक्छौ, तर त्यसलाई कसरी कार्यान्वयन गर्ने भन्ने कुरा हामीमा भर पर्छ। हाम्रो काममा हस्तक्षेप नगर।” के ख्रीष्टविरोधीहरू यस्तै गर्दैनन् र? ख्रीष्टविरोधीहरू सधैँ यसो भनिरहेका हुन्छन्, “सारा दाजुभाइ-दिदीबहिनीहरूले सङ्गति गरेका छन” अथवा “सारा दाजुभाइ-दिदीबहिनीहरू सर्वसम्मतिमा पुगेका छन्”—के यसो भन्‍नेहरूले खासमा सत्यता बुझ्छन् त? दाजुभाइ-दिदीबहिनीहरू को हुन्? के तिनीहरू शैतानद्वारा गहन रूपमा भ्रष्ट तुल्याइएका एक हुल मानिसहरू मात्र होइनन् र? तिनीहरूले सत्यतालाई कति बुझेका छन्, तिनीहरूमा सत्यता वास्तविकता कति छ? के तिनीहरूले ख्रीष्टको प्रतिनिधित्व गर्न सक्छन्? के तिनीहरू सत्यताका मूर्तरूप हुन्? के तिनीहरू सत्यताका प्रवक्ता बन्‍न सक्छन्? के सत्यतासँग तिनीहरूको कुनै सम्बन्ध छ? (छैन।) सम्बन्ध नै नभए पनि, यस्ता कुराहरू भन्‍नेहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई किन सधैँ सर्वोच्च ठान्छन्? तिनीहरू किन परमेश्‍वरलाई उच्च पार्ने र उहाँको गवाही दिने गर्दैनन्? तिनीहरू किन सत्यताअनुसार बोल्ने र कार्य गर्ने गर्दैनन्? के यस तरिकाले बोल्नेहरू निरर्थक मानिस होइनन् र? वर्षौँ परमेश्‍वरका वचनहरू पढेर अनि प्रवचनहरू सुनेर पनि, तिनीहरूले कुनै पनि सत्यता बुझ्दैनन् र साँचो दाजुभाइ-दिदीबहिनीहरू के हुन् भनेर देख्न सक्दैनन्। के तिनीहरू अन्धा होइनन् र? अब, सबै जना तिनीहरूका प्रकारअनुसार वर्गीकृत गरिएका छन्; धेरैले आफ्नो साँचो चरित्र खुलाएका छन्, तिनीहरू सबैजना शैतानकै वर्गका हुन्—तिनीहरू विशुद्ध रूपमा पशु हुन्। के तिमीहरूले यो कुरा प्रस्टसित देख्न सक्दैनौ? तिमीहरूमा सत्यता बिलकुलै छैन! कति मानिसहरू त मैले ख्रीष्टविरोधीहरूको चिरफार गरेको सुन्‍न इच्छुक नै हुँदैनन्। तिनीहरू भन्छन्, “ओहो, जहिले पनि ख्रीष्टविरोधीहरूजस्ता मामुली चिजबारे कुरा नगर्नूस्; यो लाजमर्दो कुरा हो। तपाईँ किन सधैँ ख्रीष्टविरोधीहरूको चिरफार गरिरहनुहुन्छ?” के तिनीहरूको चिरफार नगर्दा हुन्छ त? मानिसहरूलाई खुट्ट्याउन सिकाउनको लागि तिनीहरूलाई यसरी चिरफार गर्नैपर्छ। नत्र, ख्रीष्टविरोधीहरू देखा परेपछि, तिनीहरूले धेरै झूटो शिक्षा र भ्रमहरू बाहिर ल्याउँछन्, तिनीहरूले धेरै मानिसहरूलाई भ्रममा पार्नेछन्, र मण्डलीलाई समेत नियन्त्रणमा लिएर तिनीहरूको आफ्नै स्वतन्त्र राज्य स्थापना गर्नेछन्। के तिमीहरू यस मामलाका परिणामहरू कति गम्भीर छन् भनेर प्रस्टसित देख्छौ? भर्खरै, हामीले सत्यताले शक्ति सम्हाल्नेबारे सङ्गति गर्‍यौँ। उक्त सङ्गतिमार्फत, मानिसहरूले ख्रीष्टविरोधीहरूका हास्यास्पद विधिहरू र समझहीन विचारहरू देखेका छन्। ख्रीष्टविरोधीहरू सधैँ शक्तिलाई आफ्नै हातमा लिन चाहन्छन् र ख्रीष्टले शक्ति हातमा लिनुहोस् भन्‍ने चाहँदैनन्, त्यसैले तिनीहरूले सत्यताको नियमलाई एउटा लोकतान्त्रिक स्वरूपमा ढाल्छन्, र मामलाहरूबारे सबैले सँगै बसेर छलफल गर्नु नै सत्यताले शक्ति सम्हाल्नु हो भनेर वकालत गर्छन्। के यसमा शैतानको छल छैन र? के विचारविमर्शमार्फत सबै जना सत्यतामा पुग्न सक्छन्? सत्यता परमेश्‍वरले व्यक्त गर्नुहुन्छ र यसको उत्पत्ति परमेश्‍वरबाटै हुन्छ। तिमीहरू किन परमेश्‍वरका वचनहरूलाई सिधै अभ्यास गर्न, सिधै परमेश्‍वरमा समर्पित हुन, र सिधै परमेश्‍वरका बन्दोबस्तहरूमा समर्पित हुन सक्दैनौ? किन ख्रीष्टका आदेशहरूलाई सबैको विचारविमर्शबाटै निर्क्योल गरिनुपर्ने हो? के यो शैतानको षड्यन्त्र होइन र? ख्रीष्टविरोधीहरू प्रायः मानिसहरूलाई भ्रममा पार्न एक सेट सिद्धान्तहरू छर्छन्, र तिनीहरूले जुन काम कार्यान्वयन गरे पनि, तिनीहरूले नै अन्तिम निर्णय गर्छन्, र सत्यता सिद्धान्तहरू पूर्ण रूपमा उल्लङ्घन गर्छन्। यसलाई ख्रीष्टविरोधीका प्रकटीकरणहरूमार्फत हेर्दा, तिनीहरूको स्वभाव ठ्याक्कै कस्तो छ? के तिनीहरू सकारात्मक कुराहरू र सत्यतालाई प्रेम गर्ने मानिसहरू हुन्? के तिनीहरूमा परमेश्‍वरप्रति साँचो समर्पण छ? (छैन।) तिनीहरूको सार भनेकै सत्यताप्रति वितृष्ण हुनु र सत्यतालाई घृणा गर्नु हो। यसअलावा, तिनीहरू यति अहङ्कारी हुन्छन् कि तिनीहरूले सबै चेतना गुमाउँछन्, र तिनीहरूमा मानिसहरूमा हुनुपर्ने आधारभूत विवेक र समझसमेत हुँदैन। यस्ता मानिसहरू मानव कहलिन योग्य हुँदैनन्। तिनीहरू शैतानको वर्गमा पर्छन् भन्‍न मात्र मिल्छ; तिनीहरू दियाबलस हुन्। जो अलिकति पनि सत्यता स्विकार्दैन, ऊ दियाबलस हो—यसमा कुनै शङ्का छैन।

कतिपय मानिसहरू यस्ता पनि छन्, जो ख्रीष्टका वचनहरूप्रति न त नम्र न त अहङ्कारी मनोवृत्ति अपनाउँछन्। तिनीहरूले न त पूर्ण स्वीकार अभिव्यक्त गर्छन् न त विरोध नै गर्छन्। जब ख्रीष्टले बोल्ने, सत्यता सङ्गति गर्ने, कुनै व्यक्तिलाई खुट्ट्याउने, वा कुनै काम अह्राउने गर्नुहुन्छ, बाहिरबाट हेर्दा, तिनीहरू सुन्दै, टिपोट लिँदै र गम्भीरता देखाउँदै सहकार्य गरिरहेका देखिन्छन्। तिनीहरू विभिन्‍न चिन्हहरू प्रयोग गर्दै सबथोकबारे मिहिन टिपोटहरू लेख्छन्, सत्यतामा निकै रुचि भएजस्ता र ख्रीष्टले भन्‍नुभएका कुरालाई उच्च महत्त्व दिइरहेजस्ता देखिन्छन्, यस्तो लाग्छ मानौँ तिनीहरू सत्यतालाई अत्यधिक प्रेम गर्छन् र ख्रीष्टप्रति अविचलित रूपमा आस्थावान् छन्। तर के यस्ता मानिसहरूको सत्यताप्रतिको मनोवृत्ति, तिनीहरूको स्वभाव र सारलाई यस्तो देखावटी चिजबाट देख्न सकिन्छ? सकिँदैन। यस्ता मानिसहरू बाहिरी रूपमा टिपोट लिइरहेका र सुनिरहेका जस्ता देखिन्छन्, तर तिनीहरूले हृदयमा साँच्चिकै के सोचिरहेका हुन्छन्? जब तिनीहरूले आफ्नो टिपोट हेर्छन्, तिनीहरू यस्तो सोच्छन्, “यो सबै के हो? काम लाग्ने हरफ त एउटै छैन, उच्च देखिने वा सत्यतासँग मिल्दो केही पनि छैन, न त मलाई तार्किक लाग्ने कुरा नै छ। मैले यसलाई च्यातिदिनु नै बेस हुन्छ!” के यो एक प्रकारको मनोवृत्ति होइन र? मैले धेरै मानिसहरू देखेको छु जो प्रवचनहरू सुन्‍ने बेलामा टाउको हल्लाउँछन् र मुहारमा विभिन्‍न भावहरू देखाउँछन्, र त्यो सँगसँगै टिपोटहरू पनि लिन्छन्, तर पछिबाट, त्यसलाई गम्भीरतापूर्वक बिलकुलै लिँदैनन्। तिनीहरू आफूले के कार्यान्वयन गर्नुपर्ने हो त्यो कुरै सम्झिँदैनन्, न त त्यसलाई आफ्नो हृदयमा राख्ने वा व्यवहारमा उतार्ने नै गर्छन्। तिनीहरूले अभ्यास गर्नुपर्ने कुरा अभ्यास गर्ने सम्भावना त झनै कम हुन्छ। तिनीहरूले कार्यान्वयन गर्नुपर्ने कुरा परमेश्‍वरको घरको काम र तिनीहरूको कर्तव्यसँग सम्बन्धित हुन्छ, र तिनीहरू जे कुरामा प्रवेश गर्नुपर्ने हो त्यो कुरा तिनीहरूको व्यक्तिगत प्रवेशसित सम्बन्धित हुन्छ। तिनीहरू आफूले कार्यान्वयन गर्नुपर्ने कुरा कार्यान्वयन गर्दैनन्, र तिनीहरूले आफ्नो व्यक्तिगत प्रवेशलाई गम्भीरतापूर्वक लिने काम त झनै गर्दैनन्। तिनीहरू यसो भन्छन्, “भन्‍नलाई त भन्छन्, ख्रीष्टले बोलेको र व्यक्त गरेको हरेक वाक्य नै सत्यता हो, मानिसहरू त्यसैमा प्रवेश गर्नुपर्छ, सत्यता, मार्ग, र जीवन भन्नु नै त्यही हो—तर मैले हरेकपटक लिएको टिपोटमा म कुनै सत्यता वा मार्ग देख्दिनँ, न त मलाई त्यो जीवन हो भन्‍ने अनुभूति नै हुन्छ। त्यसकारण ख्रीष्टसँग परमेश्‍वरको सार छ भन्‍ने भनाइ कसरी पूरा हुन्छ? यसलाई कसरी वास्तविकता बनाउन सकिन्छ? त्यो कसरी मैले देखेको कुरासँग मिल्न सक्छ? त्यो सजिलै त मिल्दैन।” कति मानिसहरू भन्छन्, “यदि तिनीहरूले सुनेपछि तिनीहरूको मनोवृत्ति यस्तो हुन्छ भने, तिनीहरूले किन टिपोट लिए त? तिनीहरूमा उचित, गम्भीर र जिम्मेवार मनोवृत्ति भएझैँ देखिन्थ्यो त; यहाँ के भइरहेको छ?” यसको एउटै मात्र कारण छ। यदि ख्रीष्टले बोल्नुहुँदा सत्यतालाई प्रेम नगर्ने र सत्यताप्रति अत्यन्तै प्रतिकूल रहने व्यक्ति अत्यन्तै गम्भीर र सचेत देखिन सक्छ भने, उसको एउटै मात्र अभिप्राय भनेको जोशजाँगर नचलाई झारा मात्र टार्ने हो, साँचो स्वीकार होइन। प्रत्येकपटक तिनीहरूले परमेश्‍वरका वचनहरू पढ्दा वा ख्रीष्टको सम्पर्कमा आएर उहाँसँग कुरा गर्दा, तिनीहरूले उहाँको तथाकथित उच्चता, बुझ्न नसकिने अवस्था वा अद्भुतपन नभई उहाँको व्यावहारिकता, सामान्यता, र महत्त्वहीनता थाहा पाउँछन्। त्यसकारण, तिनीहरूको आफ्नै दृष्टिकोण र अडानबाट तिनीहरूलाई यस साधारण व्यक्तिका वचनहरू सत्यता, मार्ग, वा जीवनसित जोड्न असम्भव हुन्छ। तिनीहरूले यस व्यक्तिलाई जसरी हेरे पनि एउटा मानव मात्र देख्छन्; तिनीहरू उहाँलाई परमेश्‍वर वा ख्रीष्टको रूपमा लिन सक्दैनन्। त्यसकारण, तिनीहरू यी अत्यन्तै साधारण वचनहरूलाई पालन गर्नुपर्ने, अभ्यास गर्नुपर्ने, र जिउनका लागि मार्गदर्शन, अस्तित्वको लक्ष्य आदिका रूपमा प्रयोग गर्नुपर्ने सत्यता ठान्दैनन्—तिनीहरूलाई यो निराशाजनक लाग्छ। तिनीहरू भन्छन्, “मैले यी साधारण वचनहरूमा किन कुनै सत्यता देख्न नसकेको? तिमीहरू सबैले चाहिँ कसरी देख्न सकेको? के यी साधारण वचन मात्र होइनन् र? ती त मानव भाषा, मानव लेखन, मानव व्याकरण हुन्, जसमा केही मानव वाक्यांश र शब्दावली समेत प्रयोग गरिन्छन्, र केही मानव उखान र संस्कृतिका पक्षहरू चिरफार गरिन्छन्। यी वचनहरूमा कसरी सत्यता हुन सक्छ? म त्यसलाई किन देख्न सक्दिनँ? तिमीहरू सबैले यो नै सत्यता हो भनेका छौ, त्यसैले म पनि त्यसै गर्नेछु र अरू सबैले जे भन्छन् त्यही भन्‍नेछु; म टिपोटहरू लिनेछु किनकि अरू सबैले त्यही गरिरहेका छन्, तर तिमीहरू सबैले उनलाई सत्यता ठाने पनि म अवश्यै ठान्दिनँ। ‘सत्यता’ भनेको यस्तो पवित्र शब्द हो, यो अत्यन्तै उच्च नै हुनुपर्छ! सत्यताको कुरा गर्दा, त्यसमा परमेश्‍वर संलग्न हुन्छ, र त्यसमा परमेश्‍वर संलग्न हुँदा, त्यो यति साधारण, यति मामुली, यति सामान्य हुन सक्दैन। त्यसकारण, मैले जतिसुकै छानबिन र विश्‍लेषण गरे पनि, म उनमा परमेश्‍वरको कुनै सङ्केत भेट्टाउन सक्दिनँ। यदि उनमा परमेश्‍वरको कुनै सङ्केत छैन भने, उनले हामीलाई कसरी मुक्ति दिन सक्छन्? यो असम्भव छ। यदि उनका वचनहरूले हामीलाई मुक्ति दिन वा लाभ दिन सक्दैनन् भने, हामीले उनलाई किन पछ्याउनु? हामीले उनका वचनहरूलाई किन लागु गर्नु? हामी किन उनका वचनहरूद्वारा जिउनु?” अब तिनीहरूले ख्रीष्टविरोधीको रूपमा आफ्ना साँचो रङ्ग देखाएका छन्, छैनन् र? परमेश्‍वर देहधारी हुनुभएको देहप्रति तिनीहरूमा सुरुदेखि अन्त्यसम्‍मै सूक्ष्मजाँचको मनोवृत्ति हुन्छ। तिनीहरूले परमेश्‍वरका वचनहरूप्रति जे-जसरी व्यवहार गर्छन्, त्यसमा न त स्वीकार हुन्छ न त समर्पण नै, झन् तिनीहरूले तिनको अभ्यास गर्ने वा तिनको अनुभव लिने काम गर्लान् भनेर त कुरै नगरौँ। त्यसको साटो, तिनीहरूले परमेश्‍वरका वचनहरूप्रति प्रतिरोध, विरोध र इन्कारको मनोवृत्तिले व्यवहार गर्छन्। तिनीहरू ख्रीष्टले मानिसहरूसँग कुरा गर्नुहुँदा मन नलागीनलागी केही टिपोटहरू लिन्छन्, तर भित्री रूपमा, तिनीहरूले त्यसलाई अलिकति पनि स्विकार्दैनन्। ख्रीष्टसँग अन्तरक्रिया गरेपछि, कति मानिसहरूले यसो भन्छन्, “परमेश्‍वरसित आमनेसामने भएर बोल्नु र सङ्गति गर्नु साँच्चिकै आनन्द हुन्छ।” अनि, ख्रीष्टविरोधीले भन्छ, “म पनि गरिहेर्नेछु। म पनि ख्रीष्टसित आमनेसामने भएर कुरा गर्नेछु र मानिसहरूसँग कुरा गर्दा ख्रीष्टका मुहारका भाव, व्यवहार, र बोली साँच्चिकै कस्ता हुन्छन् भनी हेर्नेछु। म त्यसबाट व्यक्तिले के प्राप्त गर्न वा पत्ता लगाउन सक्छ, मानिसहरूले जग बसाल्नु र उनलाई साँचो परमेश्‍वर ठानेर उनीमाथि अडिग विश्‍वास राख्नु लाभदायक हुन्छ हुँदैन भनेर हेर्नेछु।” ख्रीष्ट र उहाँका वचनहरूप्रति यस्तो मनोवृत्ति बोकेर, के तिनीहरूले कुनै वास्तविक अभ्यास वा कार्यान्वयन गर्न सक्छन्? अहँ, सक्दैनन्। तिनीहरू जोश हेर्न आएका दर्शकभन्दा बढी केही होइनन्, तिनीहरू बिलकुलै सत्यता खोज्न आएका होइनन्। के तिमीहरूलाई यी मानिसहरूले ख्रीष्टलाई व्यवहार गर्ने र उहाँसित कुरा गर्ने मनोवृत्ति कताकता छिमेकका महिलाहरूले आँगनमा बसेर कुनै गम्भीरताबिना गफगाफ गरेको र जे मन लाग्यो त्यही बोलेको जस्तो लाग्दैन? यी मानिसहरूले ख्रीष्टलाई त्यही रूपमा लिन्छन्: “तिमी आफ्ना विचारहरू व्यक्त गर, म आफ्नै विचारमा अडिग रहनेछु। असहमतिलाई स्विकारौँ; तिमीले मलाई मनाउने अपेक्षा नगर्नू, र म निश्‍चय नै तिमीले भनेको कुरा स्विकार्नेछैन।” के यो त्यस्तै मनोवृत्ति होइन र? यो कस्तो मनोवृत्ति हो? (तिरस्कारी र आदरहीन।) यी मानिसहरू अनौठा छन्। तैँले ख्रीष्टलाई परमेश्‍वर देहधारी हुनुभएको देह मान्दैनस्, त्यसैले तँ किन उहाँमा विश्‍वास गर्ने र उहाँलाई पछ्याउने गर्छस्? यदि तैँले विश्‍वास गर्दैनस् भने, किन खुरुक्कै छोडेर जाँदैनस्? तँलाई कसले जबरजस्ती विश्‍वास गर्न लगाइरहेको छ? तँलाई कसैले पनि परमेश्‍वरमा जबरजस्ती विश्‍वास गर्न लगाइरहेको छैन; त्यो तेरो आफ्नै रोजाइ हो।

कति मानिसहरूले कुनै मामलामाथि मेरो सङ्गति सुनेपछि तुरुन्तै विभिन्‍न रायहरू बनाउँछन्: “तिमी यसबारे त्यस्तो सोच्छौ, तर म त यसबारे यस्तो सोच्छु। प्रत्येक मामलाबारे तिम्रा र मेरा आ-आफ्नै विचारहरू छन्; सबैका आ-आफ्ना विचारहरू हुन्छन्।” कस्तो प्राणीले यसो भन्ला? जब परमेश्‍वरले मानिसहरूलाई सत्यता आपूर्ति गर्नुहुन्छ, के यो एकप्रकारको तर्क हो? के परमेश्‍वरका वचनहरू कुनै शैक्षिक सिद्धान्तहरू हुन्? (होइनन्।) त्यसोभए ती के हुन् त? (ती सत्यता हुन्।) अझ प्रस्ट भन् त। (ती मानव आचरणका सिद्धान्त र दिशानिर्देश हुन्, मानिसहरूको जीवनका अत्यावश्यक कुराहरू हुन्।) हामी परमेश्‍वरले मानिसहरूलाई सत्यता आपूर्ति गर्नुहुन्छ भनेर किन भन्छौँ? के उहाँले ज्ञान आपूर्ति गर्नुहुन्छ भनेर कहिल्यै भनिएको छ? (छैन।) हामी किन परमेश्‍वरका वचनहरू मानिसहरूले खान र पिउनलाई हुन् भनेर भन्छौँ? परमेश्‍वरका वचनहरू मानिसहरूका खानाजस्तै हुन्; तिनले तेरो भौतिक शरीरलाई जीवित राख्न र तँलाई जिउन मदत गर्न सक्छन्, र यसअलावा, तिनले तँलाई राम्रोसँग जिउन मदत गर्छन्, तँलाई मानव झल्कोसहित जिउन मदत गर्छन्। व्यक्तिको लागि ती जीवन हुन्! परमेश्‍वरका वचनहरू कुनै ज्ञानको स्वरूप, कुनै तर्क, वा कुनै भनाइ होइनन्। ज्ञान, तर्क, र मानव परम्परागत संस्कृतिले मानिसहरूलाई भ्रष्ट मात्र तुल्याउन सक्छन्। ती कुराहरू भए पनि नभए पनि मानिसहरू जिउन सक्छन्, तर यदि कसैले जिउन र मानदण्ड पूरा गर्ने र मानकअनुरूपको सृजित प्राणी बन्न चाहन्छ भने, सत्यताबिना उसले त्यसो गर्न सक्दैन। त्यसोभए सत्यता भनेको ठ्याक्कै के हो त? (यो आफूले व्यवहार गर्ने, कार्य गर्ने, र परमेश्‍वरलाई आराधना गर्ने मापदण्ड हो।) ठिक भनिस्, अलि प्रस्ट भयो। के ख्रीष्टविरोधीहरूले यसलाई यो तरिकाले हेर्छन्? तिनीहरूले यो तथ्यलाई स्विकार्दैनन्। तिनीहरू यो तथ्यलाई विरोध, प्रतिरोध र निन्दा गर्छन्, त्यसकारण तिनीहरूले सत्यता प्राप्त गर्न सक्दैनन्। तिनीहरूका सोचविचारमा, तिनीहरूलाई यस्तो लाग्छ, “तिमी केवल एक साधारण व्यक्ति हौ। तिमीले एउटा कुरा भन्छौ र अरू मानिसहरू तिम्रा वचनहरूअनुसार अभ्यास गर्न थाल्छन्, त्यसैले मैले पनि कुनै सही कुरा भनेर मानिसहरूलाई त्यही अभ्यास गराउन किन मिल्दैन? किन तिमीले भनेको चाहिँ सधैँ सही हुन्छ र मैले भनेको चाहिँ सधैँ गलत हुन्छ? किन तिम्रा वचनहरू सत्यता मानिन्छन् तर मेरा चाहिँ ज्ञान र धर्मसिद्धान्त मानिन्छन्?” यो कुनै कुरामा आधारित छैन—यो त एउटा तथ्य हो, र यो सारद्वारा निर्धारित हुन्छ। ख्रीष्ट नै परमेश्‍वर देहधारी हुनुभएको देह हो, र उहाँको सार नै परमेश्‍वर हो। यसलाई कसैले पनि नकार्न सक्दैन; ख्रीष्टविरोधीहरूले यसलाई मान्‍न वा स्विकार्न इन्कार गरे पनि, तिनीहरूले यसलाई नकार्न सक्दैनन्। जुन क्षण मान्छेले ख्रीष्टलाई छोडेर हिँड्छ र उहाँलाई अस्वीकार गर्छ, त्यो क्षण नै उसको विनाश हुन्छ। ख्रीष्ट र उहाँका वचनहरूबिना कसैले पनि मुक्ति पाउन सक्दैन। के यो तथ्य होइन र? (हो।) ख्रीष्टविरोधीहरूका ती शब्द र सिद्धान्तहरूले मानिसहरूमा कस्तो सुधार ल्याउन सक्छन्? यदि मानिसहरूले तिनलाई स्विकारेनन् भने, के तिनीहरूलाई कुनै घाटा लाग्नेछ? अहँ, कुनै पनि घाटा लाग्‍नेछैन। ख्रीष्टविरोधीहरूका शब्दहरूले कसैमाथि कुनै सकारात्मक प्रभाव पार्दैनन्, बरु थुप्रै नकारात्मक असरहरू पार्छन्। यदि ख्रीष्टले एउटा पनि वाक्य बोल्‍नुहुन्‍नथ्यो, केवल जतिसुकै वर्ष बस्‍न आउनुहुन्थ्यो र जानुअघि सामान्य जीवन मात्र जिउनुहुन्थ्यो भने, मानवजातिले के प्राप्त गर्थे? क्रूस बोक्नुबाहेक, मानवजातिले अरू के प्राप्त गर्न सक्थे? तिनीहरू अझै पनि पापमै जिउँनेथिए, पाप स्विकारेर पश्‍चात्ताप गर्नेथिए, निस्कनै नसक्नेगरी पापमा फसेका हुनेथिए, झन्झन् चरित्रभ्रष्ट बन्‍नेथिए, र अन्त्यमा, परमेश्‍वरको काम सक्‍किँदा, तिनीहरू सबै नष्ट हुनेथिए। त्यो नै मानवजातिको नियति हुनेथ्यो। तर ख्रीष्ट आउनुभयो, र परमेश्‍वरले मान्छेलाई भन्‍न चाहनुभएका सारा वचनहरू व्यक्त गर्नुभयो, मानिसलाई आवश्यक पर्ने सारा सत्यता आपूर्ति गर्नुभयो, र परमेश्‍वरसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यो सबै मान्छेसित प्रकाश गर्नुभयो। के यसले मान्छेको लागि निर्णायक परिवर्तन ल्याएन र? अर्को शब्दमा भन्नुपर्दा, के ख्रीष्टका वचनहरूले मान्छेको लागि निर्णायक परिवर्तन सिर्जित गरेनन् र? (गरे।) यो निर्णायक परिवर्तन भनेको के हो? मूलतः यो मानवहरूले निन्दा र विनाश सामना गर्नेबाट मुक्ति प्राप्त गर्ने अवसर र आशा पाउनेमा परिणत हुनु हो। के त्यो निर्णायक परिवर्तन होइन र? मानिसहरूको आशा आइपुगेको छ; तिनीहरूले उषाकाल देख्छन् र मुक्ति पाउने र बाँच्ने आशा प्राप्त गर्छन्। जब परमेश्‍वरले मानवजातिलाई नष्ट गर्नुहुन्छ र दण्डित तुल्याउनुहुन्छ, तिनीहरू विनाश र दण्डबाट जोगिन सक्छन्। त्यसकारण, बाँच्न सक्ने यस्तो मानवजातिको लागि, के ख्रीष्ट र उहाँका वचनहरू राम्रो कुरा हुन् कि नराम्रो हुन्? (राम्रो कुरा।) ती राम्रो कुरा हुन्। ख्रीष्टविरोधीहरू यस्तो ख्रीष्ट अर्थात् यस्तो साधारण व्यक्तिप्रति यति शत्रुवत्‌ हुनु र तिनीहरूले उहाँलाई यति धेरै घृणा गर्नु, यो कुरा तिनीहरूको सारद्वारा निर्धारित हुन्छ।

देहधारी परमेश्‍वरप्रति ख्रीष्टविरोधीहरूको व्यवहारको अर्को पनि प्रकटीकरण छ: तिनीहरू यसो भन्छन्, “मैले ख्रीष्ट एक साधारण व्यक्ति भएको देख्नेबित्तिकै, मेरा मनमा धारणाहरू निर्मित भए। ‘वचन देहमा देखा पर्नुहुन्छ’ भन्‍ने पुस्तक परमेश्‍वरको एउटा अभिव्यक्ति हो; यो सत्यता हो, र म यसलाई स्विकार्छु। मसित ‘वचन देहमा देखा पर्नुहुन्छ’ को एउटा प्रति छ, र त्यति भए पुग्छ। मैले ख्रीष्टसँग सम्पर्क गर्नुपर्दैन। यदि ममा धारणाहरू, नकारात्मकता वा कमजोरी छन् भने, म तिनलाई परमेश्‍वरका वचनहरू पढेरै समाधान गर्न सक्छु। देहधारी परमेश्‍वरसँग मेरो सम्पर्क भयो भने, धारणाहरू सजिलै निर्मित हुन्छन्, र यसले म अत्यन्तै गहिरो रूपमा भ्रष्ट तुल्याइएको छु भन्‍ने देखाउनेछ। यदि म परमेश्‍वरबाट दोषी ठहरिएँ भने, मैले मुक्ति पाउने कुनै आशा रहनेछैन। त्यसकारण, म आफैले परमेश्‍वरको वचन पढ्नु नै राम्रो हुन्छ। मानिसहरूलाई मुक्ति दिन सक्ने त स्वर्गको परमेश्‍वर नै हो।” परमेश्‍वरका अहिलेका वचनहरू र सङ्गतिले, विशेषगरी ख्रीष्टविरोधीहरूको स्वभाव र सार खुलासा गर्ने ती वचनहरूले ख्रीष्टविरोधीहरूको हृदयलाई सबैभन्दा बढी घोच्छन् र ती तिनीहरूको लागि सबैभन्दा पीडादायी हुन्छन्। ख्रीष्टविरोधीहरूले सबैभन्दा पढ्न नचाहने वचनहरू यिनै हुन्। त्यसकारण, ख्रीष्टविरोधीहरू हृदयमा परमेश्‍वरले चाँडै धर्ती छोड्नुभए हुन्थ्यो, ताकि आफूले आफ्नै शक्ति प्रयोग गरेर धर्तीमा शासन गर्न सकूँ भन्‍ने कामना गर्छन्। तिनीहरू परमेश्‍वर देहधारी हुनुभएको देह, अर्थात् यस साधारण व्यक्ति, तिनीहरूका लागि अनावश्यक हो भन्‍ने ठान्छन्। तिनीहरू सधैँ मनन गर्छन्, “ख्रीष्टका प्रवचनहरू सुन्नुअघि, मलाई म सबथोक बुझ्छु, र सबै रूपमा ठिकै छु भन्‍ने लाग्थ्यो, तर ख्रीष्टका प्रवचनहरू सुनेपछि, यो कुरा फरक भएको छ। अहिले मलाई मसँग केही पनि नभएजस्तो महसुस हुन्छ, मलाई म अत्यन्तै मामुली र दयनीय छु जस्तो महसुस हुन्छ।” त्यसकारण, तिनीहरू ख्रीष्टका वचनहरूले तिनीहरूको नभई अरूको खुलासा गरिरहेका छन् भन्‍ने निर्क्योल गर्छन्, र ख्रीष्टका प्रवचनहरू सुन्‍न आवश्यक छैन, “वचन देहमा देखा पर्नुहुन्छ” भन्‍ने पुस्तक पढे पुग्छ भन्‍ने सोच्छन्। ख्रीष्टविरोधीहरूको हृदयमा, तिनीहरूको मुख्य अभिप्राय परमेश्‍वर देह बन्‍नुभएको तथ्य नकार्नु र ख्रीष्टले सत्यता व्यक्त गर्नुहुने तथ्य इन्‍कार्नु हो, र तिनीहरू यसरी परमेश्‍वरमाथिको विश्‍वासमार्फत तिनीहरूले मुक्ति पाउने आशा रहन्छ, र तिनीहरूले मण्डलीमा राजाको रूपमा शासन गर्न सक्छन्, साथै यसमार्फत परमेश्‍वरमा विश्‍वास गर्नुको तिनीहरूको सुरुवाती अभिप्राय पूरा हुन्छ भन्ठान्छन्। ख्रीष्टविरोधीहरूमा परमेश्‍वरको प्रतिरोध गर्ने जन्मसिद्ध प्रकृति हुन्छ; देहधारी परमेश्‍वरसँग तिनीहरू आगो र पानीजतिकै अमिल्दा, र अनन्त असहमतिमा हुन्छन्। तिनीहरू ख्रीष्ट अस्तित्वमा रहनुभएको हरदिन तिनीहरूलाई चम्किन कठिन हुनेछ, र तिनीहरू निन्दित हुने, हटाइने, नष्ट पारिने, र दण्डित हुने खतरामा हुनेछन् भन्ठान्छन्। जबसम्म ख्रीष्टले बोल्नुहुन्‍न र काम गर्नुहुन्‍न, जबसम्म परमेश्‍वरका चुनिएका मानिसहरूले ख्रीष्टलाई आदरभावले हेर्दैनन्, तबसम्‍म ख्रीष्टविरोधीहरूको अवसर हुन्छ। तिनीहरूले आफ्ना क्षमताहरू प्रस्तुत गर्ने मौका पाउँछन्। हातले एक इसारा गर्दा नै मानिसहरूको हुल तिनीहरूको पक्षमा आउनेछन्, र ख्रीष्टविरोधीहरूले राजाको रूपमा शासन गर्न सक्‍नेछन्। ख्रीष्टविरोधीहरूको प्रकृति सार सत्यताप्रति वितृष्ण हुने र ख्रीष्टप्रति घृणा गर्ने हुन्छ। तिनीहरू ख्रीष्टसित को बढी प्रतिभाशाली वा को बढी सक्षम छ भन्‍ने कुरामा प्रतिस्पर्धा गर्छन्; ख्रीष्टसित तिनीहरू कसका वचनहरूमा बढी शक्ति छ र कसका क्षमताहरू ठूला छन् भन्‍ने कुरामा प्रतिस्पर्धा गर्छन्। ख्रीष्टले जस्तै काम गरेर, तिनीहरू अरूलाई तिनीहरू र उहाँ दुवै मानव भए पनि ख्रीष्टका क्षमताहरू र विद्वत्ता कुनै साधारण व्यक्तिका भन्दा राम्रा नभएको देखाउन चाहन्छन्। ख्रीष्टविरोधीहरू ख्रीष्टसँग हरतरिकाले प्रतिस्पर्धा गर्छन्, को राम्रो भनेर होडबाजी गर्छन्, र ख्रीष्ट परमेश्‍वर हुनुहुन्छ, उहाँ परमेश्‍वरको आत्माको मूर्तरूप हुनुहुन्छ, र उहाँ सत्यताको मूर्तरूप हुनुहुन्छ भन्‍ने तथ्यलाई हरेक कोणबाट नकार्ने कोसिस गर्छन्। तिनीहरू ख्रीष्टलाई परमेश्‍वरका चुनिएका मानिसहरूमाझ शक्ति धारण गर्नबाट रोक्न, परमेश्‍वरका वचनहरू परमेश्‍वरका चुनिएका मानिसहरूमाझ प्रसारित हुन वा लागु गरिनबाट रोक्न, साथै ख्रीष्टले गर्नुहुने कामहरू र मानिसहरूप्रतिका उहाँका मापदण्ड र आशाहरू परमेश्‍वरका चुनिएका जनहरूमाझ साकार पारिनबाट रोक्नसमेत हरक्षेत्रका विविध उपाय र विधिहरू पनि सोच्छन्। यस्तो लाग्छ मानौँ ख्रीष्ट उपस्थित हुनुहुँदा, तिनीहरूलाई मण्डलीद्वारा बेवास्ता, निन्दा र अस्वीकार गरिन्छ—र तिनीहरू अँध्यारो कुनामा राखिएका एक हुल मानिसहरूमा सीमित हुन्छन्। हामी ख्रीष्टविरोधीहरूका विभिन्‍न प्रकटीकरणहरूमा देख्न सक्छौँ कि स्वभाव र सारको हिसाबले तिनीहरू ख्रीष्टसँग मिल्नै नसक्‍ने हुन्छन्—तिनीहरू उहाँसँग एउटै आकाशमुनि रहन सक्दैनन्! ख्रीष्टविरोधीहरू जन्मेदेखि नै परमेश्‍वरप्रति शत्रुवत्‌ भइआएका छन्; तिनीहरू विशेषगरी ख्रीष्टको प्रतिरोध गर्न आएका हुन्, र तिनीहरू ख्रीष्टलाई पराजित गर्न र पूरै हराउन चाहन्छन्। तिनीहरू ख्रीष्टले गर्नुहुने सबै काम व्यर्थ र अर्थहीन बनून्, ताकि अन्त्यमा ख्रीष्टलाई धेरै मानिसहरू प्राप्त नहोऊन्, र उहाँले जहाँ काम गर्नुभए पनि कुनै पनि नतिजा नआऊन् भन्‍ने चाहन्छन्। तबमात्र ख्रीष्टविरोधीहरू खुसी हुनेछन्। यदि ख्रीष्टले सत्यताहरू व्यक्त गर्नुहुन्छ, र मानिसहरू तिनका प्यासी छन्, तिनलाई खोज्छन्, तिनलाई खुसीसाथ स्विकार्छन्, र आफूलाई ख्रीष्टप्रति समर्पित गर्न, सबथोक त्याग्न र ख्रीष्टको सुसमाचार प्रसारित गर्न इच्छुक छन् भने, ख्रीष्टविरोधीहरू निरुत्साहित हुन्छन् र भोलिको लागि कुनै आशा नभएको, र तिनीहरूले चम्किने मौका कहिल्यै पाउनेछैनन् भन्‍ने महसुस गर्छन्, मानौँ तिनीहरूलाई नरकमा पुर्‍याइएको छ। ख्रीष्टविरोधीहरूका यी प्रकटीकरणहरू हेर्दा, के परमेश्‍वरसित लड्ने र उहाँलाई वैरभावपूर्वक हेर्ने तिनीहरूको यो सार अरू कसैले तिनीहरूमा हालिदिएको हो? कदापि होइन; तिनीहरू त्यसलाई बोकेरै जन्मिन्छन्। त्यसकारण, ख्रीष्टविरोधीहरू त्यस्ता व्यक्ति हुन् जो जन्मैदेखि दियाबलसको पुनर्जन्म हुन्, अर्थात् धर्तीमा आएका दियाबलस हुन्। तिनीहरूले सम्भवतः कहिल्यै पनि सत्यता स्विकार्न सक्दैनन्, र तिनीहरूले ख्रीष्टलाई स्विकार्ने, उच्च पार्ने, वा गवाही दिने काम कहिल्यै गर्नेछैनन्। तैँले बाहिरी रूपमा तिनीहरूले ख्रीष्टलाई सार्वजनिक रूपमै आलोचना र निन्दा गरेको नदेखे पनि, साथै तिनीहरूले अनुपालन गरेर केही मेहनत लगाउन र मूल्य चुकाउन सके पनि, तिनीहरूलाई मौका मिल्नेबित्तिकै, र सही समय आउनेबित्तिकै, ख्रीष्टविरोधीहरूको परमेश्‍वरसँगको बेमेलता आफै प्रकट हुनेछ। ख्रीष्टविरोधीहरू परमेश्‍वरसित लड्छन् र स्वतन्त्र राज्य स्थापना गर्छन् भन्‍ने तथ्य सार्वजनिक हुने नै छ। ख्रीष्टविरोधीहरू भएका ठाउँहरूमा यसअघि यी सबै घटनाहरू घटेका छन्, र परमेश्‍वरले आखिरी दिनहरूमा उहाँको न्यायको काम गर्नुहुँदाका यी वर्षहरूमा यी घटनाहरू अझ बारम्बार घटेका छन्; धेरै मानिसहरूले यी घटनाहरू अनुभव गरेका र देखेका छन्।

जून २७, २०२०

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्