विषयवस्तु दस: तिनीहरू सत्यतालाई तिरस्कार गर्छन्, निर्लज्जपूर्वक सिद्धान्तहरू उल्लङ्घन गर्छन्, र परमेश्वरको घरका प्रबन्धहरूलाई बेवास्ता गर्छन् (भाग एक) खण्ड चार
ग. परमेश्वरको पवित्रता र अद्वितीयतालाई तिरस्कार गर्नु
ख्रीष्टविरोधीहरू परमेश्वरको स्वभाव सारमा धार्मिकता र सर्वशक्तिमान्ता हुने कुरालाई अलिकति पनि मान्ने वा विश्वास गर्ने गर्दैनन्, न त तीबारेमा कुनै ज्ञान नै राख्छन्। अनि तिनीहरूलाई परमेश्वरको पवित्रता र अद्वितीयतामा विश्वास गर्न, तिनलाई मान्न र तिनका बारेमा जान्न अवश्य नै झन् कठिन हुन्छ। त्यसैले, जब परमेश्वरले मानिसहरूलाई इमानदार हुन र आफ्नो स्थानमा रहन सक्ने व्यावहारिक सृजित प्राणीहरू हुन लगाउँछु भनेर भन्नुहुन्छ, तब ख्रीष्टविरोधीहरूमा विचारहरू उत्पन्न हुन्छन्, र तिनीहरूमा एउटा मनोवृत्ति र भावना पलाउँछ। अनि, उसले भन्छ: “के परमेश्वर उच्च हुनुहुन्न र? के उहाँ सर्वोच्च हुनुहुन्न र? यदि हुनुहुन्छ भने, उहाँले मानिसहरूलाई दिनुहुने मापदण्डहरू भव्य र उच्च हुनुपर्छ। मैले त परमेश्वर अत्यन्तै रहस्यमयी हुनुहुन्छ भन्ने सोच्थेँ; परमेश्वरले मानिसहरूलाई यस्ता तुच्छ मापदण्डहरू दिनुहुन्छ भनेर त मैले सोच्दा पनि सोच्दिनथेँ। के तिनलाई सत्यताको रूपमा लिन सकिन्छ र? ती अत्यन्तै सामान्य छन्! परमेश्वरका मापदण्डहरू उच्च हुनु सही हुनेथ्यो: व्यक्ति भनेको त महामानव, महान् व्यक्ति, सक्षम व्यक्ति हुनुपर्छ—परमेश्वरले मानिसहरूलाई दिनुपर्ने मापदण्ड नै त्यही हो। उहाँ मान्छेलाई इमानदार व्यक्ति होस् भन्ने चाहनुहुन्छ—के त्यो साँच्चिकै परमेश्वरको काम हो र? के त्यो नक्कली होइन र?” ख्रीष्टविरोधीहरूले हृदयको गहिराइमा सत्यतालाई प्रतिरोध मात्र गर्दैनन्—त्यस क्रममा ईशनिन्दा पनि उत्पन्न हुन्छ। के त्यो तिनीहरूले सत्यता तिरस्कार गरेको होइन र? तिनीहरू परमेश्वरका मापदण्डहरूप्रति अवहेलना र उपेक्षाले भरिएका हुन्छन्; तिनीहरू तिनलाई खिसी, बेवास्ता, कटाक्ष, र गिल्लाको मनोवृत्तिले परिभाषित गर्ने र हेर्ने गर्छन्। प्रस्टै छ, ख्रीष्टविरोधीहरू स्वभाव सारमा घिनलाग्दा हुन्छन्; तिनीहरू साँचो, सुन्दर, र व्यावहारिक कुरा वा वचनहरू स्विकार्न सक्दैनन्। परमेश्वरको सार साँचो र व्यावहारिक हुन्छ, र मानिसहरूप्रतिका उहाँका मापदण्डहरू मानिसहरूका आवश्यकताबमोजिम हुन्छन्। जब ख्रीष्टविरोधीहरूले “भव्य र उच्च” भन्ने कुरा उठाउँछन्—त्यो के हो त? त्यो झूटो, देखावटी रूपमा भव्य र खोक्रो कुरा हो; त्यसले मानिसहरूलाई भ्रष्ट तुल्याउँछ र भ्रममा पार्छ; त्यसले उनीहरूलाई पतन गराउँछ, र परमेश्वरदेखि टाढा लैजान्छ। अर्कोतिर, परमेश्वरले व्यक्त गर्नुहुने सत्यता र उहाँको जीवन विश्वासयोग्य, प्रेमिलो, र व्यावहारिक हुन्छन्। व्यक्तिले केही समय परमेश्वरका वचनहरू अनुभव गरिसकेपछि, उसले थाहा पाउनेछ कि परमेश्वरको जीवन मात्र सबैभन्दा प्रेमिलो छ, उहाँका वचनहरू मात्र मानिसहरूलाई बदल्न र उनीहरूका जीवन बन्न सक्षम छन्, र मानिसहरूलाई आवश्यक पर्ने कुरा पनि तिनै हुन्—जबकि शैतान र ख्रीष्टविरोधीहरूले अघि सारेका ती भव्य र उच्च राय र भनाइहरू मानिसहरूप्रति परमेश्वरका मागहरूको साँचोपन र व्यावहारिकताभन्दा पूर्ण उल्टो छन्। त्यसकारण, ख्रीष्टविरोधीहरूको यस्तो सारको आधारमा, तिनीहरू परमेश्वरको पवित्रता र अद्वितीयता स्विकार्न पूर्णतया असक्षम हुन्छन्। तिनीहरूले ती कुराहरू कदापि मान्नेछैनन्। अनि, परमेश्वरले खुलासा गर्नुभएका मानिसहरूको भ्रष्ट स्वभाव र भ्रष्ट सारका विभिन्न आयामहरूको कुरा गर्नुपर्दा—उनीहरूको हठीपन र अहङ्कार, उनीहरूका छली र दुष्ट स्वभावहरू, र सत्यताप्रतिको वितृष्णा, र क्रूर स्वभावहरूको कुरा गर्नुपर्दा—ख्रीष्टविरोधीहरूले तिनलाई बिलकुलै स्विकार्दैनन्। अनि, परमेश्वरले मानिसहरूमाथि गर्नुहुने न्याय र कठोर हप्काइका सम्बन्धमा, ख्रीष्टविरोधीहरू तीभित्र परमेश्वरको पवित्रता र प्रेमिलोपन चिन्न नसक्ने मात्र होइन—बरु त्यसको उल्टो, तिनीहरू हृदयमा परमेश्वरका वचनहरूप्रति वितृष्णा गर्ने बन्छन्, र तिनलाई प्रतिरोध गर्छन्। हरेकपटक तिनीहरूले मान्छेको भ्रष्ट स्वभावलाई सजाय, न्याय र खुलासा गर्ने परमेश्वरका वचनहरू पढ्दा, तिनीहरू तिनलाई घृणा गर्छन् र सराप्छन्। यदि कसैले तिनीहरू अहङ्कारी, हठी, र दुष्ट व्यक्ति हुन् जसले सत्यताप्रति वितृष्णा गर्छ भनेर भनेमा, तिनीहरूले त्यो व्यक्तिसँग विवाद गर्नेछन् र उसका पुर्खाहरूलाई सराप्नेछन्; र यदि कसैले तिनीहरूको भ्रष्ट सार खुलासा गरेर तिनीहरूलाई निन्दा गरेमा, त्यो व्यक्तिले तिनीहरूलाई मार्नै खोजेको हो जसरी तिनीहरूले त्यसलाई कदापि स्विकार्नेछैनन्। ख्रीष्टविरोधीहरूमा यस्तो सार हुने र तिनीहरूले यस्ता कुराहरू प्रकट गर्ने भएकाले तिनीहरूलाई थाहै नभई तिनीहरूको पहिचान गरिन्छ, अनि तिनीहरूले थाहै नपाई तिनीहरूलाई परमेश्वरको घर र मण्डलीमा एक्ल्याइन्छ र प्रकाश गरिन्छ। तिनीहरूको महत्त्वाकाङ्क्षा र चाहना प्रायः पूरा हुँदैन, त्यसैले परमेश्वरका वचन, उहाँको अस्तित्व, र “सत्यताले परमेश्वरको घरमा शासन गर्छ” भन्ने वाक्यांशप्रति तिनीहरूको घृणा बढेर जान्छ। यदि तैँले तिनीहरूसित त्यो वाक्यांश बोलिस् भने, तिनीहरूले तँसित हदैसम्म लड्न, र तँलाई सास्ती दिएर मार्न चाहनेछन्। के यसले नै ख्रीष्टविरोधीहरू परमेश्वरप्रति शत्रुवत् छन् भन्ने देखाउँदैन र? वास्तवमै देखाउँछ! यदि कसैले “परमेश्वर अद्वितीय हुनुहुन्छ; मान्छेले उहाँबाहेक अरू कुनै व्यक्तिलाई, वा कुनै मूर्तिलाई आराधना गर्न मिल्दैन” भनेर भन्यो भने, के कुनै ख्रीष्टविरोधी त्यो कुरा सुन्न इच्छुक हुन्थ्यो होला त? (हुँदैनथ्यो।) किन हुँदैनथ्यो? यी वचनहरूले तिनीहरूको निन्दा गर्छन्, होइन र? के यी वचनहरूले उसलाई परमेश्वर हुने अधिकारबाट वञ्चित गर्दैनन् र? के ऊ परमेश्वर हुने अधिकार नभएको र त्यस्तो आशा नभएको अवस्थामा खुसी हुनेथ्यो र? (हुँदैनथ्यो।) त्यसकारण, यदि तैँले उसलाई खुलासा गर्ने, उसको हैसियत र छवि नष्ट पार्ने, उसलाई कसैले पनि आराधना नगर्ने तुल्याउने, उसलाई मानिसहरूलाई आफ्नो पक्षमा ल्याउन असक्षम तुल्याउने, र उसलाई हैसियतरहित पार्ने हो भने, उसले आफ्नो दुर्भावनापूर्ण र पैशाचिक पञ्जा प्रयोग गरेर तँलाई खोजीखोजी सास्ती दिनेछ। जब मण्डलीमा केही आइपर्छ, र त्यसबारे कसैले माथि रिपोर्ट गर्न चाहन्छ, तब यदि मण्डलीको अगुवा ख्रीष्टविरोधी हो भने, के उसले त्यो रिपोर्ट गर्न दिनेछ त? त्यो रिपोर्ट अघि बढ्नै सक्नेछैन। उसले भन्नेछ, “यदि तिमीले त्यो रिपोर्ट गर्यौ भने, त्यसका परिणामहरू तिम्रै थाप्लोमा आउनेछन्! यदि माथिबाट हामीलाई काटछाँट गरियो र हाम्रो मण्डलीका मानिसहरूलाई निकालियो भने, म तिमीलाई पछुतो गराइछाड्नेछु—म तिमीलाई सबैद्वारा त्यागिने तुल्याउनेछु। त्यसपछि तिमीले निकालिनुको स्वाद चाख्नेछौ!” के त्यो रिपोर्ट गर्न खोज्ने व्यक्तिलाई यस्तो कुराबाट डर र त्रास हुँदैन र? अनि, त्यो ख्रीष्टविरोधीले भन्छ, “परमेश्वर अद्वितीय हुनुहुन्छ, होइन र? ठिक छ; म पनि अद्वितीय हुनेछु। हाम्रो मण्डलीमा म जे भन्छु, त्यही चल्छ। तिमीले जे गर्न चाहे पनि, मलाई सोध्नैपर्छ—र तिमीले मलाई पार गर्न सक्नेछैनौ। के तिमी मलाई पार गर्न चाहन्छौ? म त्यो कुनै पनि हालतमा हुन दिनेछैन! हाम्रो मण्डलीमा मेरो शासन चल्छ; यहाँ मैले जे भन्छु त्यही चल्छ; म नै सत्यता हुँ—म नै अद्वितीय व्यक्ति हुँ!” के यो दियाबलस प्रकट भएको होइन र? हो—यो त्यसको दुष्ट मुहार खुलासा भएको, त्यसका दुष्ट शब्दहरू बोलिएको हो।
परमेश्वरको सारप्रति ख्रीष्टविरोधीहरूको व्यवहार सुरुमा अविश्वास र शङ्काबाट राम्रो अवसरको प्रतीक्षा र जाँच हुँदै अन्त्यमा आलोचना र ईशनिन्दामा पुग्छ। यसले तिनीहरूलाई चरणबद्ध रूपमा दलदलमा, अर्थात् अथाह खाडलमा पुर्याउँछ, साथै यसले तिनीहरूलाई परमेश्वरको प्रतिरोध गर्ने र उहाँको शत्रु हुने, उहाँसित पूर्ण रूपमा विपरीत रहने, र अन्त्यसम्मै उहाँविरुद्ध कोलाहल मच्चाउने मार्गमा पुर्याउँछ, जहाँबाट पछाडि फर्कन सम्भवै हुँदैन। तिनीहरूले परमेश्वरको सारलाई मान्न नसक्ने मात्र नभई, तिनीहरूमा परमेश्वरको सारको हरेक पक्षबारे अनेकथरी धारणा र कल्पनाहरू पैदा हुन्छन्, जसमार्फत तिनीहरूले आफू वरपरका र आफूले भेटेका मानिसहरूलाई भ्रममा पार्छन्। तिनीहरूको लक्ष्य भनेको धेरै मानिसहरूलाई आफूजस्तै परमेश्वरको अस्तित्व र उहाँको सारको अस्तित्वबारे शङ्का गर्ने बनाउनु हो। मर्नेबेलामा पनि तिनीहरूले अरूलाई सँगै तानेर लान चाहन्छन्। तिनीहरूलाई आफैले मात्र खराब काम गरेर पुग्दैन—तिनीहरू त अरूले आफूलाई साथ दिऊन्, आफूसँगै खराब काम गरून्, आफूसँगै परमेश्वरको प्रतिरोध गरून् र उहाँको घरको काममा बाधा दिऊन्, र आफूसँगै परमेश्वरलाई शङ्का र इन्कार गरून् भन्ने चाहन्छन्। ख्रीष्टविरोधीहरू परमेश्वरको सारका हरेक पक्षबारे धारणा र कल्पनाहरूले भरिएका हुन्छन्। तिनीहरूले परमेश्वरले गर्नुहुने सबथोकबाट उहाँको सार थाहा पाउन नसक्ने मात्र होइन—बरु उल्टै परमेश्वरको सारलाई कडाइपूर्वक विश्लेषण, अध्ययन, जाँच र आलोचना पनि गर्नेछन्, र गोप्य रूपमा परमेश्वरसित जोरीसमेत खोज्नेछन्, र यसो भन्नेछन्: “के तपाईँ अद्वितीय हुनुहुन्न र? के तपाईँ मानवजातिको भाग्यमाथि सार्वभौमिकता राख्ने परमेश्वर हुनुहुन्न र? तपाईँमा विश्वास गर्ने मानिसहरूलाई तपाईँ कसरी यस्ता कुराहरू आइपर्न दिन सक्नुहुन्छ? यदि तपाईँ अद्वितीय परमेश्वर नै हुनुहुन्छ भने, तपाईँले आफ्नो कार्यस्थलमा कुनै पनि शत्रु शक्तिलाई अनधिकृत प्रवेश गर्न दिनु हुँदैन।” त्यो कस्तो खालको कुरा हो? मण्डलीमा केही आइपर्दा, त्यहाँ उभिएर कमजोर पार्ने कुराहरू, र नकारात्मक र आलोचनात्मक शब्दहरू बोल्नेमा ख्रीष्टविरोधीहरू नै पहिलो हुनेछन्। त्यहाँ उभिएर परमेश्वरसित विवाद गर्ने, उहाँसित आमनेसामने हुने, उहाँले यो र त्यो काम गर्नुपर्ने भनी माग गर्ने पहिलो व्यक्ति ऊ नै हुनेछ। विशेषगरी परमेश्वरको घरलाई कठिनाइ वा मुस्किल समस्याहरू आइपरेको बेला नै ख्रीष्टविरोधीहरू अत्यन्तै धेरै खुसी हुन्छन्। त्यस्तै समयमा ऊ सबैभन्दा खुसी र हर्षित हुन्छ, र खुसीले गदगद हुँदै उफ्रन्छ। यस्ताहरूले परमेश्वरको घरका हितहरू कायम राख्न नसक्ने मात्र होइन—तिनीहरू त दर्शकसमेत बन्छन्, हेरेर हाँस्छन्, र परमेश्वरको घरमा विद्रोह उत्पन्न होस्, उहाँका चुनिएका मानिसहरू सबै गिरफ्तार भएर तितरबितर होऊन्, र उहाँको घरको काम अघि बढ्न नसकून् भन्ने व्यग्र प्रतीक्षामा हुन्छन्। त्यसपछि तिनीहरू नयाँ वर्षको अघिल्लो रातमा जतिकै खुसी हुनेछन्। अनि हरेकपटक जब परमेश्वरको घरको कुनै परिस्थितिको सम्बोधन र समाधान हुन्छ र जब दाजुभाइ-दिदीबहिनीहरूले त्यसबाट पाठ सिक्छन्, त्यो बेला ख्रीष्टविरोधीहरूको “सजाय” हुनेछ। त्यो समयमा नै ख्रीष्टविरोधीहरू सबैभन्दा हताश, दुःखी र निराश हुन्छन्। उसले दाजुभाइ-दिदीबहिनीहरूलाई राम्रो भएको, वा परमेश्वरका अनुयायीहरूले आस्था राखेको, र उहाँलाई पछ्याउँदा आत्मविश्वासले भरिएको देख्दा सहनै सक्दैन; उसले दाजुभाइ-दिदीबहिनीहरूले परमेश्वरका वचनहरूको मार्गदर्शन पाएर उनीहरूको स्वभाव परिवर्तन भएको, उनीहरूले बफादारीपूर्वक आफ्ना कर्तव्य निर्वाह गरेको, र काम झन्झन् राम्रो हुँदै गएको सहनै सक्दैन। उसले मण्डली फस्टाएको, वा परमेश्वरको व्यवस्थापन योजना बिस्तारै राम्रो दिशातर्फ विकास भएको देखीसहँदैन—मानिसहरूले सधैँ परमेश्वरका वचनहरू प्रचार गरेको, उहाँको निम्ति गवाही दिइरहेको, र उहाँको प्रेमिलोपन र धर्मी स्वभावको प्रशंसा गरेको कुरालाई त उसले झनै घृणा गर्छ। अनि त्योभन्दा पनि बढी, उसले मानिसहरूले परमेश्वरलाई खोजेको, उहाँलाई प्रार्थना गरेको, र आफूलाई जे हुँदा पनि उहाँका वचनहरू खोजी गरेको, उहाँप्रति समर्पित भएको र उहाँका योजनाबद्ध कार्य पालना गरेको त झनै घृणा गर्छ। ख्रीष्टविरोधीहरूले परमेश्वरको घरको खाना खाने, परमेश्वरका वचनहरू उपभोग गर्ने, र उहाँको घरका सारा लाभहरू उपभोग गर्ने बेलामा पनि, ऊ प्रायः परमेश्वरको घरलाई हाँसोमा उडाउने मौका खोजिरहेको हुन्छ। ऊ परमेश्वरका सारा विश्वासीहरू तितरबितर होऊन्, र परमेश्वरको काम अघि बढ्न नसकोस् भन्ने व्यग्र प्रतीक्षामा हुन्छ। त्यसकारण, परमेश्वरको घरलाई केही आइपर्दा, त्यसको रक्षा गर्ने, वा त्यो समस्या समाधान गर्ने उपायहरू सोच्ने, वा आफ्नो सारा शक्तिले दाजुभाइ-दिदीबहिनीहरूको रक्षा गर्ने, वा उनीहरूसँग मिलेर उक्त समस्या सँगै समाधान गर्ने, एकताबद्ध भएर परमेश्वरसामु आउने र उहाँको सार्वभौमिकताप्रति समर्पित हुने काम गर्नुको साटो, ख्रीष्टविरोधीहरू दर्शक बन्नेछन्, हाँसेर बस्नेछन्, तिनीहरूले हानिकारक सल्लाह दिनेछन्, अनि विनाश र बाधा पुर्याउनेछन्। महत्त्वपूर्ण क्षणमा, उसले परमेश्वरको घरलाई हानि पुग्नेगरी बाह्य मानिसहरूलाई सहयोगसमेत गर्नेछ, र यसरी उसले शैतानका नोकरका रूपमा काम गर्नेछ, जानाजानी बाधा पुर्याउनेछ र चिजहरू भत्काउनेछ। के त्यस्तो व्यक्ति परमेश्वरको शत्रु होइन र? कुनै क्षण जति धेरै महत्त्वपूर्ण हुन्छ, त्यति नै प्रस्ट रूपमा उसको दुष्ट स्वरूप खुलासा हुन्छ; कुनै क्षण जति धेरै महत्त्वपूर्ण र जति धेरै घटनापूर्ण हुन्छ, त्यति नै धेरै उसको दुष्ट स्वरूप विस्तृत र पूर्ण मात्रामा खुलासा हुन्छ; कुनै क्षण जति महत्त्वपूर्ण हुन्छ, त्यति नै धेरै उसले परमेश्वरको घरलाई हानि पुग्नेगरी बाह्य मानिसहरूलाई सहयोग गर्नेछ। ऊ कस्तो चिज हो त? के यस्ता मानिसहरू दाजुभाइ-दिदीबहिनीहरू हुन् त? तिनीहरू विनाशकारी, घृणित काम गर्ने मानिसहरू हुन्; तिनीहरू परमेश्वरका शत्रुहरू हुन्; तिनीहरू दियाबलसहरू हुन्, तिनीहरू शैतानहरू हुन्; तिनीहरू दुष्ट मानिसहरू हुन्, ख्रीष्टविरोधीहरू हुन्। तिनीहरू दाजुभाइ-दिदीबहिनीहरू होइनन्, र तिनीहरू मुक्तिका दावेदारहरू होइनन्। यदि तिनीहरू साँच्चिकै दाजुभाइ-दिदीबहिनीहरू, परमेश्वरको घरका मानिसहरू हुन्थे भने, परमेश्वरको घरमा आइपर्ने जुनसुकै समस्यामा पनि तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूसित मनमस्तिष्कले एकजुट भएर त्यसलाई सामना गर्ने र सम्हाल्नेथिए। तिनीहरू दर्शक बनेर बस्नेथिएनन्, हेरेर हाँस्ने त कुरै छाडौँ। यस्ता ख्रीष्टविरोधी मानिसहरू मात्र दर्शक बनेर हाँस्छन्, र परमेश्वरको घरलाई नराम्रा कुराहरू होऊन् भनी व्यग्र प्रतीक्षा गर्छन्।
ख्रीष्टविरोधीहरूको सार जुनसुकै मामलामा खुलासा हुन सक्छ। यसलाई लुकाउन असम्भव छ। उसले जे गरिरहेको भए पनि, समस्या जे भए पनि, उसले प्रकट गर्ने सबै दृष्टिकोण र स्वभावहरू मान्छे र परमेश्वरको लागि घिनलाग्दा हुन्छन्। आइपर्ने हरखाले परिस्थितिहरूमा उसले विनाश, अवरोध, र बाधा निम्त्याउने, र दर्शक बनेर हाँस्ने मात्र होइन—उसले त प्रायः परमेश्वरसित पनि आमनेसामने भएर उहाँको जाँचसमेत गर्छ। अनि, परमेश्वरलाई जाँच्नुको अर्थ के हो? (हृदयमा, उसले परमेश्वरमा विश्वास गर्दैन, अनि उसले केही कुराहरू भनेर वा केही छल गरेर उहाँका विचारहरूको जाँच गर्छ र त्यो के हो भनी पत्ता लगाउने कोसिस गर्छ।) त्यस्तो त तैँले धेरै नै देख्छस्। अय्यूबको मामलामा, शैतानले परमेश्वरलाई कसरी जाँच्थ्यो? (शैतानले पहिलोपटक बोल्दा, त्यसले भन्यो कि यदि परमेश्वरले अय्यूबको परिवार र सम्पत्ति लानुभयो भने, उसले उप्रान्त परमेश्वरलाई आराधना गर्नेछैन; दोस्रोपटक, त्यसले भन्यो कि यदि परमेश्वरले अय्यूबको हाड र मासुमा प्रहार गर्नुभयो भने, उसले उहाँलाई नकार्नेछ। शैतानले अय्यूबलाई विपत्तिहरू ल्याएर परमेश्वरको जाँच गर्न चाहन्थ्यो।) के त्यो जाँच हो? के त्यो उक्त शब्दको सटीक परिभाषा हो त? (होइन।) ठ्याक्कैसित भन्नुपर्दा, ती खण्डहरूले एउटा अभियोग जनाउँछन्। शैतानले ती कुराहरूमार्फत के भन्न खोजेको थियो भने, “तपाईँले नै अय्यूब एक सिद्ध व्यक्ति हो भनेर भन्नुभएको होइन र? तपाईँले सारा असल कुराहरू दिँदा उसले तपाईँलाई किन आराधना गर्न सक्दैनथ्यो र? यदि तपाईँले ऊबाट ती असल कुराहरू खोस्नुभयो भने, के उसले अझै पनि तपाईँलाई आराधना गर्नेछ जस्तो लाग्छ?” त्यो एउटा अभियोग हो। त्यसोभए जाँचचाहिँ कस्तो कुरा हो त? शैतानले लुटेराहरूलाई अय्यूबका सम्पत्तिहरू लुट्न र खोस्न लगाएको थियो। अय्यूबको लागि त्यो एउटा जाँच थियो। अनि, त्यो कसरी जाँच हो? यसरी: “के तिमी परमेश्वरमा विश्वास गर्दैनौ र? मैले तिमीबाट यी कुराहरू खोसेपछि तिमीले उहाँलाई अझै विश्वास गर्छौ गर्दैनौ हेरूँला!” तर अय्यूबले त्यसलाई कसरी बुझ्यो? त्यो परमेश्वरले लिनुभएको परीक्षा भएको विश्वास गरेर, उसले सङ्घर्ष वा लडाइँ गरेन, न त उसले केही नै भन्यो—ऊ समर्पित भयो र उसले त्यो परमेश्वरबाट आएको हो भनी स्विकार्यो। प्रभु येशूलाई आइपरेका कुराहरू: शैतानले उहाँलाई ढुङ्गालाई खानामा परिणत गर्न लगायो, र उसले प्रभु येशूलाई संसारका सम्पूर्ण महिमा र सम्पत्ति देखायो, र उहाँलाई झुकेर त्यसको आराधना गर्न लगायो। ती कुराहरू परीक्षा थिए। अहिले, परमेश्वरको जाँचस्वरूप ख्रीष्टविरोधीहरूले के-के गर्छन्? (ख्रीष्टविरोधीहरूसँग परमेश्वरको डर मान्ने हृदय हुँदैन। तिनीहरू त्यो दुष्टता हो भन्ने थाहा हुँदाहुँदै पनि त्यही गर्छन्; तिनीहरू परमेश्वरको दण्ड आफूमाथि आइपर्छ कि भनी हेर्न परमेश्वरलाई जाँच्न चाहन्छन्। तिनीहरू परमेश्वरको धर्मी स्वभावमा विश्वास नगर्ने हुनाले, तिनीहरूले दुष्टता गर्दा तिनीहरूमा विवेकको सचेतना हुँदैन।) त्यो एउटा जाँच हो। तिनीहरू गरिहेरौँ भन्ने मानसिकताले त्यसमा लाग्छन्; तिनीहरू परमेश्वरले ठ्याक्कै के गर्नुहुनेछ भनेर हेर्न चाहन्छन्: “के परमेश्वर प्रतापी र क्रोधी हुनुहुन्न र? तर म मण्डलीमा अत्याचार गरिरहेको छु, र मैले परमेश्वरको र मान्छेको पिठ्यूँपछाडि धेरै खराब कामहरू गरेको छु—के परमेश्वरलाई त्यसबारे थाहा छ, कि छैन? यदि मभित्र कुनै उदासी छैन र मैले कुनै दैहिक दण्ड भोग्दिनँ भने, त्यसको मतलब परमेश्वरलाई थाहा छैन।” तिनीहरू ससाना क्रियाकलाप गरेर परमेश्वर सर्वशक्तिमान् हुनुहुन्छ कि हुनुहुन्न भनी जाँच्छन्, र उहाँले मानिसहरूका भित्री हृदयहरू नियाल्नुहुन्छ कि हुन्न भनी जाँच्छन्। जाँच भनेका तिनै हुन्। तिनीहरू मामलाहरूको सत्यता पुष्टि गर्न चाहन्छन्, परमेश्वरले साँच्चै कदम चाल्नुहुनेछ कि छैन र उहाँ साँच्चै हुनुहुन्छ कि हुनुहुन्न भनी जाँच्न चाहन्छन्। जाँच भनेका तिनै हुन्।
एकपटक मूलभूमि चीनमा एउटा ख्रीष्टविरोधी थियो जसले एक समूहका मानिसहरूलाई भ्रममा पारेको थियो। विदेशमा उसले परमेश्वरको घरले गायनमण्डलहरू सञ्चालन गरेको र भजनहरू गाएको देख्यो, र सोच्यो, “यदि तिमीहरूले विदेशमा गायनमण्डलहरू सञ्चालन गर्न सक्छौ भने, हामीले यहाँ पनि गर्न सक्छौँ।” त्यसैले, उसले विभिन्न ठाउँका मानिसहरूलाई एकै ठाउँमा भेला पार्यो र गायनमण्डलमा गाउन लगायो। उसले उनीहरूको निम्ति ठूलो संख्यामा दर्शक पनि भेला पार्यो; अनि, त्यो कार्यक्रम भव्य भयो। उसले किन यसो गर्यो त? एकातिर, उसले एउटा स्वतन्त्र राज्य स्थापना गरिरहेको थियो, जसलाई थप व्याख्या गर्नै पर्दैन। अर्कोतिर, उसको उद्देश्य यस्तो थियो, “हामीले विश्वास गर्ने परमेश्वर नै साँचो परमेश्वर हो, र हामीले पवित्र आत्माको काम पाएका छौँ। हामी ठूलो रातो अजिङ्गरले हामीलाई सताइरहेको र कडा निगरानीमा राखिरहेको एउटा शत्रुवत् परिवेशमा छौँ, तर अब हामी परमेश्वरले हामीलाई सुरक्षा दिइरहनुभएको छ छैन भनेर मानिसहरूलाई देखाऔँ। हेरौँ, हामीलाई केही हुनसक्छ कि; हेरौँ, हामी गिरफ्तारमा पर्न सक्छौँ कि।” त्यो कस्तो मानसिकता हो? (जाँच गर्ने मानसिकता।) यो जाँच गर्नु हो—यो परमेश्वर सर्वशक्तिमान् र सर्वव्यापी हुनुहुन्छ भनी विश्वास गर्छु भन्नेजस्ता ब्यानर र सुत्रवाक्यहरू बोक्दै र प्रयोग गर्दै परमेश्वरले वास्तवमा के गर्नुहुनेछ भनी जाँच्नु, र उहाँसित बाजी राख्नु र प्रतिस्पर्धा गर्नु हो। त्यसलाई “जाँच्नु” भनिन्छ। कतिपय मानिसहरूलाई अरूले “तिमीले यो खान मिल्दैन; यसले तिम्रो पेट गडबड हुनेछ” भनेर भनेमा, उनीहरूले भन्छन्, “मलाई तिम्रो विश्वास लाग्दैन, म यो खानेछु! परमेश्वरले मेरो पेट गडबड गराउनुहुन्छ हुँदैन हेरौँ।” त्यसकारण, उनीहरूले त्यो चिज खान्छन्, र वास्तवमै उनीहरूको पेट गडबड हुन्छ। उनीहरूले मनमनै सोच्छन्, “परमेश्वरले किन मेरो सुरक्षा गर्नुभएन? यसले अरू मानिसहरूको पेट गडबड गराउँछ, तर त्यो त उनीहरूले परमेश्वरमा विश्वास नगरेकोले हो। म त परमेश्वरमा विश्वास गर्छु; मेरो पेट पनि किन अरूको जस्तै गरी गडबड भयो?” यो कस्तो व्यवहार हो? (जाँच्ने व्यवहार।) यो उनीहरूले परमेश्वरलाई नचिन्नुको नतिजा हो। तर ख्रीष्टविरोधीहरूमा चाहिँ अझै अरू कुरा पनि हुन्छ: तिनीहरू परमेश्वरको सारको अस्तित्वलाई बिलकुलै मान्दैनन्, त्यसैले तिनीहरू आफ्नै प्रयास र आफ्नै कल्पनाले काम गर्छन्, तर आस्था बोकेर काम गर्दैनन्। बरु त्यसको साटो, तिनीहरू परमेश्वरलाई जाँचिरहेका हुन्छन्। तिनीहरू आफ्नो व्यवहार र क्षणिक सोच, साथै आवेगहरूद्वारा परमेश्वर हुनुहुन्छ कि हुनुहुन्न, उहाँको सर्वशक्तिमान्ता साँचो हो कि होइन, र उहाँले तिनीहरूलाई साँच्चै रक्षा गर्न सक्नुहुन्छ कि सक्नुहुन्न भनी अनुसन्धान गर्छन्। यदि तिनीहरूको परीक्षण सफल भयो भने, तिनीहरूको आस्था त्यसैको आधारमा जारी रहनेछ; यदि असफल भयो भने, अर्थात् यदि परमेश्वरले तिनीहरूलाई निराश तुल्याउनुभयो भने, तिनीहरूले के गर्नेछन्? तिनीहरूले यसो भन्नेछन्, “म परमेश्वरमा विश्वास गर्न छाड्नेछु। उहाँले मानिसहरूको रेखदेख गर्ने पनि होइन। सबैले परमेश्वर नै मानिसको शरण हो भन्छन्—मैले देखेअनुसार त, कुरा त्यस्तो होइन। यी वचनहरूका सम्बन्धमा भन्नुपर्दा, मानिसहरूले आफ्नो भविष्यको लागि केही अतिरिक्त योजनाहरू बनाउनु आवश्यक छ; तिनीहरू यी कुराहरूबारे त्यति लाटो हुन मिल्दैन। मानिसहरूले आफ्ना मामलाहरू आफैले समाधान गर्नुपर्छ—उनीहरूले हरेक कुराको निम्ति परमेश्वरमा भरोसा गर्न मिल्दैन।” तिनीहरूले जाँचबाट निकालेको नतिजा त्यही हो। तँलाई यो नतिजाबारे के लाग्छ? यदि मानिसहरूले सत्यता पछ्याउँछन् भने, के उनीहरूको नतिजा यही हुनेछ त? (हुनेछैन।) किन हुनेछैन? यदि मानिसहरूले सत्यता पछ्याउँछन् भने, उनीहरूले अन्त्यमा राम्रो र सकारात्मक उपलब्धि र इनाम प्राप्त गर्नेछन्। यसको मतलब, मानिसहरूले जे-जस्ता कामहरू गरे पनि, त्यसको जबाफमा कसरी कार्य गर्ने र ती कुराहरूलाई कुन रूपमा लिने भन्नेसम्बन्धी परमेश्वरका आफ्नै तरिका र सिद्धान्तहरू छन्, अनि मानिसहरूका पनि निभाउनुपर्ने आफ्नै दायित्वहरू र उनीहरूका आफ्नै नैसर्गिक प्रवृत्तिहरू छन्। परमेश्वरले उनीहरूलाई उनीहरूको नैसर्गिक प्रवृत्ति प्रदान गर्नुहुन्छ; उहाँले मानिसहरूलाई सिद्धान्तहरू दिइसक्नुभएको छ, त्यसैले मानिसहरूले परमेश्वरका वचनहरूको मार्गदर्शनमा रहेर ती सिद्धान्तहरूअनुसार कार्य गर्नुपर्छ। कतिपय कुराहरूमा, बाहिरी रूपमा हेर्दा परमेश्वरले मानिसहरूलाई सुरक्षा गर्नुपर्छ जस्तो देखिन्छ, तर के त्यो “पर्छ” भन्ने कुरा मान्छेबाट आउँछ कि परमेश्वरबाट? (मान्छेबाट।) यो मान्छेको दिमागमा कल्पना गरिएको हुन्छ। त्यो “पर्छ” भन्ने कुरा सत्यता होइन; त्यो परमेश्वरको जिम्मेवारी होइन। त्यसोभए, परमेश्वरले ठ्याक्कै के गर्नुहुन्छ? परमेश्वरका कार्य गर्ने तरिकाहरू छन्, र उहाँका आफ्नै सिद्धान्तहरू छन्। कहिलेकाहीँ, तँलाई सुरक्षा नगरेर, उहाँले तेरो खुलासा गरिरहनुभएको हुन्छ, तैँले कुन मार्ग रोज्छस् भनी हेरिरहनुभएको हुन्छ। कहिलेकाहीँ, कुनै प्रतिकूल वातावरणमार्फत, उहाँले कुनै क्षेत्रको तेरो ज्ञानलाई सिद्ध पारिरहनुभएको हुन्छ, तँलाई सत्यताको कुनै पक्ष प्राप्त गरी केही अर्थमा परिवर्तन हुन दिइरहनुभएको हुन्छ। उहाँले तँलाई दह्रिलो पारिरहनुभएको र तेरो वृद्धि गराइरहनुभएको हुन्छ। छोटकरीमा भन्नुपर्दा, परमेश्वरले जे-जसरी काम गर्नु भए पनि, उहाँसित आफ्नै सिद्धान्त र कारणहरू, साथै आफ्नै लक्ष्य र उद्देश्यहरू हुन्छन्। यदि तैँले “परमेश्वरले मेरो सुरक्षा गर्नुपर्छ, र उहाँले यस्तो-यस्तो तरिकाले कार्य गर्नुपर्छ” भन्ने कुरालाई सत्यताको रूपमा लिन्छस्, त्यसलाई त्यही रूपमा पालना गर्छस्, र त्यसमार्फत परमेश्वरलाई मागहरू राख्छस् भने, परमेश्वरले त्यसरी काम नगर्नुहुँदा, तँ र परमेश्वरबीच द्वन्द्व उत्पन्न हुनेछ। जब यस्तो द्वन्द्व उत्पन्न हुन्छ, परमेश्वर दोषी हुनुहुनेछैन। अनि, दोषी को हुनेछ? (मान्छे।) यो मानिसहरूको दृष्टिकोण, र उनीहरूले गलत अडान लिने र गलत स्थान ओगट्ने समस्याबाट सुरु हुन्छ। जब तैँले परमेश्वरलाई कुनै निश्चित तरिकाले कार्य गर्न अनुरोध गर्छस्, तँलाई त्यो निकै जायज लाग्नेछ। तर यदि तैँले एक कदम पछि सरेर समर्पित हुन र स्विकार्न सक्छस् भने, तँलाई त्यो जायज लाग्नेछैन, र त्यो तेरो भ्रष्ट स्वभाव र अनुचित माग हो भन्ने महसुस हुनेछ। यसरी तैँले स्विकार्न सक्दा, परमेश्वरले तँलाई तैँले प्राप्त गर्नुपर्ने मात्रामा सत्यता र ज्ञान प्रदान गर्नुहुनेछ। परमेश्वरको दृष्टिकोणमा, तैँले सबैभन्दा बढी प्राप्त गर्नैपर्ने त्यही सत्यताको तत्व हो, कुनै सानोतिनो अनुग्रह वा आशिष् होइन। तेरो लागि सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भनेर परमेश्वरलाई मात्र थाहा छ, र त्यो कुरा उहाँले तँलाई सही समयमा सही मात्रामा प्रदान गर्नुहुनेछ। अर्कोतिर, ख्रीष्टविरोधीहरूले सत्यता वा पवित्र आत्माको कामलाई मान्यता दिँदैनन्। सत्यताबारे जोसुकैले सङ्गति गरेर परमेश्वरको प्रेम र मुक्तिको गवाही दिए पनि, ख्रीष्टविरोधीले त्यसलाई स्विकार्न नमान्ने मात्र होइन, ऊ त्यसप्रति घिनाउने र प्रतिरोधीसमेत हुनेछ। ख्रीष्टविरोधी र साधारण भ्रष्ट मानिसहरूबीचको भिन्नता यही हो।
हामी परमेश्वरको पहिचान र उहाँको अद्वितीय सार नकार्ने ख्रीष्टविरोधीहरूको विशेषताबारे हाम्रो सङ्गति यहीँ टुङ्ग्याउनेछौँ। के तिमीहरूसँग थप प्रश्नहरू छन्? (परमेश्वर, मसँग एउटा प्रश्न छ। मैले सुसमाचार प्रचार गरिरहेको बेलामा प्रभुका विश्वासीहरू धेरै भेट्छु, र उनीहरू सबैजना पावलको “मेरा लागि जिउनु ख्रीष्ट हो” भन्ने दृष्टिकोण पालना गर्न दृढ हुन्छन्। उनीहरूले सोच्छन् कि यदि उनीहरूले पावलका शब्दहरूको मापदण्ड पूरा गर्न सके भने, उनीहरू परमेश्वर बन्न सक्छन्। के यो ख्रीष्टविरोधीहरूको अर्को प्रकटीकरण, साथै परमेश्वरको अद्वितीय सारको इन्कार पनि होइन र?) धेरथोर रूपमा हो। विशेषगरी ख्रीष्टविरोधीहरू परमेश्वर बन्न चाहने भएकाले तिनीहरूले परमेश्वरको अद्वितीयता अस्वीकार गर्छन्। पावलका यी वचनहरू तिनीहरूलाई विशेष रूपमा प्रिय लाग्छ: “मेरो लागि त जिउनु नै ख्रीष्ट हो, जिउनु नै परमेश्वर हो, परमेश्वरको जीवनको साथमा म नै परमेश्वर हुँ।” तिनीहरूले के विश्वास गर्छन् भने, यदि यो दृष्टिकोण साँचो साबित भयो भने तिनीहरू परमेश्वर बन्ने, राजाले झैँ शासन गर्ने र मानिसहरूमाथि नियन्त्रण कायम गर्ने आशा हुन्छ; यदि यो पूरा भएन भने, राजाले जस्तो शासन गर्ने र परमेश्वर बन्ने तिनीहरूको आशा चकनाचूर हुन्छ। छोटकरीमा भन्नुपर्दा, शैतान सधैँ परमेश्वरको बराबर हुन चाहन्छ—र ख्रीष्टविरोधीहरू पनि त्यही चाहन्छन्: तिनीहरूसँग पनि त्यही सार हुन्छ। उदाहरणको लागि, परमेश्वरलाई पछ्याउनेहरूमाझ, केही मानिसहरू यस्ता हुन्छन् जसले निरन्तर परमेश्वरको बढाइ गर्छन् र उहाँको गवाही दिन्छन्, उहाँको कामको बारेमा अनि उहाँका वचनहरूको न्याय र सजायले मानिसमा पार्ने प्रभावको बारेमा गवाही दिन्छन्। तिनीहरूले मानिसलाई मुक्ति दिने परमेश्वरका सबै कामको प्रशंसा गर्छन्, र तिनीहरूले परमेश्वरले चुकाउनुभएको मूल्यको पनि प्रशंसा गर्छन्। ख्रीष्टविरोधीहरू पनि यी सबै कुराहरूको आनन्द लिन चाहन्छन् कि चाहँदैनन् त? तिनीहरू मानिसहरूबाट समेत समर्थन, चापलुसी, बढाइचढाइ, यहाँसम्म कि तारिफको आनन्द उठाउन चाहन्छन्। अनि तिनीहरूले अरू के-कस्ता लज्जाजनक विचारहरू सृजना गर्छन् त? तिनीहरू सबै कुराहरूमा मानिसहरूले तिनीहरूमा विश्वास गरून्, तिनीहरूमा भर परून् भन्ने चाहन्छन्; मानिसहरू परमेश्वरमाथि भर पर्नु पनि ठीकै कुरा हो—तर परमेश्वरमाथि भर पर्दाको बखत, यदि तिनीहरूको लागि ख्रीष्टविरोधीहरूमाथि भर पर्नु पनि झनै वास्तविक र साँचो हुन्छ भने, यी ख्रीष्टविरोधीहरू औधी खुसी हुनेछन्। यदि तैँले परमेश्वरलाई प्रशंसा गर्दा र परमेश्वरले तँलाई प्रदान गर्नुभएको अनुग्रहहरूको गन्ती गर्दा, तैँले यी ख्रीष्टविरोधीहरूका सराहनीय उपलब्धिहरूलाई पनि जोडजाड गर्छस् र दाजुभाइ-दिदीबहिनीहरूमाझ तिनीहरूको लागि प्रशंसा गान गाउँछस्, तिनीहरूले गर्ने हरेक कामलाई टाढा-टाढासम्म प्रचारप्रसार गर्छस् भने, तिनीहरू आफ्नो हृदयमा अद्भुत रूपमै तृप्त हुनेछन्, र तिनीहरू सन्तुष्ट हुनेछन्। यसरी, ख्रीष्टविरोधीहरूको प्रकृति सारको दृष्टिकोणबाट कुरा गर्दा, जब तैँले परमेश्वरसँग अख्तियार छ, उहाँ धर्मी हुनुहुन्छ र उहाँले मानिसहरूलाई मुक्ति दिन सक्नुहुन्छ भनेर भन्छस्, जब तैँले परमेश्वरसँग मात्र त्यस्तो सार छ, परमेश्वरले मात्र यस प्रकारको काम गर्न सक्नुहुन्छ र यी कामकुराहरू गर्नको लागि कसैले पनि उहाँको स्थान लिन वा उहाँको प्रतिनिधित्व गर्न सक्दैन भनेर भन्छस्: जब तैँले यस्तो कुरा भन्छस्, तब ख्रीष्टविरोधीहरूले आफ्नो हृदयमा ती वचनहरूलाई स्वीकार गर्दैनन्, र त्यसलाई मानिलिन इन्कार गर्छन्। किन तिनीहरूले तिनलाई स्वीकार गर्दैनन् त? किनभने तिनीहरूसँग आकांक्षाहरू हुन्छन्—यो समस्याको एउटा पक्ष यही हो। अर्को पक्षचाहिँ के हो भने, तिनीहरूले देहधारी शरीरलाई परमेश्वर हुनुहुन्छ भनी न त विश्वास न त स्वीकार नै गर्छन्। जब कसैले परमेश्वर अद्वितीय हुनुहुन्छ, परमेश्वर मात्रै धर्मी हुनुहुन्छ भनेर भन्छ, तब तिनीहरूले आफ्नो हृदयभित्र यस कुराप्रति असहमति जनाउँछन् र भित्रभित्रै प्रतिरोध गर्छन्, र भन्छन्, “गलत—म पनि त धर्मी छु!” जब तैँले परमेश्वर मात्रै पवित्र हुनुहुन्छ भनेर भन्छस्, तिनीहरूले भन्नेछन्: “गलत—म पनि त पवित्र छु!” यसको एउटा उदाहरण पावल हुन्: जब मानिसहरूले प्रभु येशूले मानवजातिको लागि उहाँको अमूल्य रगत दिनुभयो, उहाँले पापबलिको रूपमा काम गर्नुभयो, र मानवजातिलाई मुक्ति दिनुभयो, र पापबाट सारा मानवजातिको छुटकारा गराउनुभयो भनी प्रभु येशू ख्रीष्टको वचन प्रसार गरे—यो कुरा सुन्दा पावलले कस्तो अनुभूति गर्थे त? के तिनले यी सबै कुराहरू परमेश्वरको काम हो भनी स्वीकार गर्थे त? के तिनले यी सबै कुराहरू गर्न सक्ने एउटै उहाँ ख्रीष्ट हुनुहुन्छ र यी सबै कुराहरू ख्रीष्टले मात्र गर्न सक्नुहुन्थ्यो भनी स्वीकार गर्थे त? अनि के तिनले यी सबै कुराहरू गर्न सक्ने एउटै उहाँले मात्र परमेश्वरको प्रतिनिधित्व गर्न सक्नुहुन्छ भनी स्वीकार गर्थे त? तिनले स्वीकार गर्दैनथे। तिनले भन्थे: “यदि येशूलाई क्रूसमा टाँग्न सकिन्थ्यो भने, मानिसहरूलाई पनि क्रूसमा टाँग्न सकिन्थ्यो! यदि उहाँले अमूल्य रगत दिन सक्नुहुन्थ्यो भने, मानिसहरूले पनि दिन सक्थे! यसअलावा, मैले पनि प्रचार गर्न सक्छु र म उहाँभन्दा बढी जानकार छु, र म कष्ट सहन गर्न सक्छु! यदि तैँले उहाँलाई ख्रीष्ट भन्छस् भने, के मलाई पनि ख्रीष्ट भन्नुपर्दैन र? यदि तैँले उहाँको पवित्र नाम उद्घोष गर्छस् भने, के तैँले मेरो नाम पनि उद्घोष गर्नु पर्दैन र? यदि उहाँ ख्रीष्ट कहलिन योग्य हुनुहुन्छ भने, यदि उहाँले परमेश्वरलाई प्रतिनिधित्व गर्न सक्नुहुन्छ भने, र यदि उहाँ परमेश्वरको छोरा हुनुहुन्छ भने, के हामी पनि त्यस्तै नै होइनौ र? परमेश्वरको लागि कष्ट सहन सक्ने र मूल्य चुकाउन सक्ने, र मेहनत र काम गर्न सक्ने हामी—के हामीलाई ख्रीष्ट भन्न मिल्दैन र? परमेश्वरद्वारा अनुमोदित हुनु र ख्रीष्ट भनेर बोलाइनु कसरी ख्रीष्टभन्दा फरक छ र?” छोटकरीमा भन्नुपर्दा, ख्रीष्टविरोधीहरू परमेश्वरको सारको पक्ष अर्थात् उहाँको अद्वितीयता बोध गर्न असफल भएका हुन्छन्, र तिनीहरूले वास्तवमा परमेश्वरको अद्वितीयता भनेको के हो भनी बुझ्दैनन्। तिनीहरूले यस्तो विश्वास गर्छन्, “ख्रीष्ट हुनु वा परमेश्वर हुनु भनेको लडाइँमार्फत शक्ति प्राप्त गरेझैँ व्यक्तिले आफ्नो सिप र क्षमताको बलमा प्राप्त गर्ने कुरा हो। परमेश्वरको सार हुनुको कारणले तपाईँ ख्रीष्ट कहलिन पाउनुहुन्न। ख्रीष्ट हुनु भनेको व्यक्तिको आफ्नै सिपको कडा परिश्रमको नतिजा हो; यो ठ्याक्कै बाह्य संसारमा हुने कुराहरूजस्तै हो—जो बढी दक्ष र क्षमतावान् छ, ऊ नै महत्वपूर्ण अधिकारी बन्न सक्छ र उसले नै निर्णय गर्न सक्छ।” यो तिनीहरूको तर्क हो। ख्रीष्टविरोधीहरूले परमेश्वरका वचनहरू सत्यता हुन् भनी स्वीकार गर्दैनन्। परमेश्वरका वचनहरूमा कुरा गरिएका परमेश्वरका सार र स्वभाव तिनीहरूले बुझ्दैनन्; तिनीहरू भुइँमान्छे र बाहिरी मानिस हुन्, र तिनीहरू अनभिज्ञ हुन्छन्, त्यसकारण तिनीहरूको कुराकानीमा पूर्णतया बाहिरी मानिसहरूका शब्दहरू, र आत्मिक बुझाइविनाका वचनहरू हुन्छन्। यदि तिनीहरूले केही वर्षसम्म काम गरेका छन् भने, र यदि तिनीहरूले आफू कष्ट भोग्न र मूल्य चुकाउन सक्षम छु, धर्मसिद्धान्तहरू प्रचार गर्दा ठूलठूला कुरा गर्न सक्छु, ढोंग गर्न सिकेको छु र अरूलाई भ्रममा पार्न सक्छु, साथै केही मानिसहरूको समर्थन प्राप्त गरेको छु भन्ने सोच्छन् भने, स्वाभाविक रूपमा, तिनीहरूले आफू ख्रीष्ट बन्न र परमेश्वर बन्न सक्छु भन्ने विश्वास गर्छन्।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।