विषयवस्तु दस: तिनीहरू सत्यतालाई तिरस्कार गर्छन्, निर्लज्जपूर्वक सिद्धान्तहरू उल्लङ्घन गर्छन्, र परमेश्वरको घरका प्रबन्धहरूलाई बेवास्ता गर्छन् (भाग एक) खण्ड एक
आजको भेला सुरु गर्नुअघि, हामी एउटा वार्तालाप सुन्नेछौँ। दुईजना मानिसहरू कुराकानी गरिरहेका छन्। पहिलोले भन्छ: “यदि मलाई काटछाँट गरिएको भए, दाजुभाइ-दिदीबहिनीहरूले त्यसउप्रान्त आफ्नो कर्तव्य गर्न चाहनेथिएनन्।” दोस्रोले भन्छ, “उनीहरूले आफ्नो कर्तव्य गर्न चाहनेथिएनन्? के फरक पर्छ र? मलाई बर्खास्त गरिएमा त, दाजुभाइ-दिदीबहिनीहरू नकारात्मक र कमजोर नै बन्नेथिए।” आफू हार्न खोजेको देखेर पहिलोले भन्छ: “यदि मैले विश्वास गर्न छोडेँ भने, त्यहाँका दाजुभाइ-दिदीबहिनीहरू सबैले मलाई पछ्याउनेथिए।” यो सुनेर, दोस्रोले भन्छ, “त्यसोभए, मभन्दा तिमी प्रभावशाली रहेछौ। तैपनि, यदि मलाई निकालिएमा, हाम्रो मण्डलीका धेरै मानिसहरूले विश्वास गर्न छोड्नेथिए। त्यसबारे तिमीलाई के लाग्छ? म तिमीभन्दा प्रभावशाली छु, छैनँ र?” तिनीहरूले यो कुराकानीमा के भनिरहेका छन्, बुझिस्? ती दुईजना केको लागि प्रतिस्पर्धा गरिरहेका छन्? (तिनीहरू मानिसहरूलाई आफ्नो पक्षमा पार्न को बढी सक्षम छ, स्वतन्त्र राज्य स्थापना गर्न को बढी सक्षम छ भन्ने कुरामा प्रतिस्पर्धा गरिरहेका छन्; तिनीहरू कोचाहिँ अर्कोभन्दा बढी चतुर छ भनेर हेरिरहेका छन्।) तिनीहरू को बढी चतुर छ, को बढी सक्षम छ, कोसँग ठूलो क्षमता छ, र कुनचाहिँले बढी मानिसहरूलाई आफ्नो पक्षमा पारेको छ भन्ने कुरामा प्रतिस्पर्धा गरिरहेका छन्। के तिनीहरू कुनचाहिँमा बढी सत्यता वास्तविकता छ, कुनचाहिँमा बढी मानवता छ, कुनचाहिँले बढी सत्यता बुझ्छ भनेर प्रतिस्पर्धा गरिरहेका छन्? (छैनन्। तिनीहरू आफूलाई बर्खास्त गरिएमा वा निकालिएमा कसको रक्षामा धेरै मानिसहरू आउनेथिए भन्ने कुरामा प्रतिस्पर्धा गरिरहेका छन्।) त्यो कस्तो प्रकारको क्षमता हो, जसको लागि तिनीहरू प्रतिस्पर्धा गरिरहेका छन्? तिनीहरू मानिसहरूलाई नियन्त्रण, जाल, र भ्रममा पार्न कोसँग बढी क्षमता छ भनेर प्रतिस्पर्धा गरिरहेका छन्। अनुमान गर् त: ती दुईजना कस्ता मानिसहरू हुन्? (ती दुवै ख्रीष्टविरोधीहरू हुन्।) तिनीहरू के हुन्? के ती दुवै एक जोडा दुष्ट मानिसहरू र तानाशाहहरू होइनन् र? (हुन्।) तिनीहरू एक जोडा दुष्ट मानिसहरू हुन् भन्ने कुरा प्रस्ट छ—तिनीहरू आफूहरूमध्ये कोसँग दुष्टता गर्ने ठूलो क्षमता छ, मानिसहरूलाई भ्रम र नियन्त्रणमा पार्न को बढी सक्षम छ, मानिसहरूको मन जित्न को बढी सक्षम छ, उहाँका चुनिएका मानिसहरूको निम्ति परमेश्वरसँग प्रतिस्पर्धा गर्न को बढी सक्षम छ भन्ने कुरामा निर्लज्ज रूपमा प्रतिस्पर्धा गरिरहेका छन्। अनि, जसले धेरै मानिसहरूलाई नियन्त्रण गर्न सक्छ, उसैको ठूलो क्षमता हुन्छ। तिनीहरू त्यसैको निम्ति प्रतिस्पर्धा गरिरहेका छन्। ल भन् त, के यस्तो प्रतिस्पर्धा गर्ने ख्रीष्टविरोधीहरू छन्? (छन्।) के तिनीहरू सार्वजनिक रूपमा प्रतिस्पर्धा गर्छन्, कि गोप्य रूपमा? (गोप्य रूपमा।) त्यसोभए, के यो कथाका दुईजनाबीचको कुराकानी साँच्चिकै हुन्छ? के यो वास्तविक हो? (हुन्छ, र यो वास्तविक हो।) तिनीहरू गोप्य रूपमा एकअर्कासित प्रतिस्पर्धा गर्ने भएकाले, के तिनीहरूले निर्लज्ज रूपमा यी कुराहरू भन्नेथिए त? अधिकांश ख्रीष्टविरोधीहरू धूर्त र दुष्ट हुन्छन्; तिनीहरूले मानिसहरूलाई तिनीहरूको विरोध गर्ने कारणहरू नदिनको निम्ति सार्वजनिक रूपमा वा सिधै त्यसो भन्दैनन्। तर तिनीहरूले गोप्य रूपमा त्यसरी नै सोच्छन्, र वास्तवमा, तिनीहरूले गर्ने त्यही हो। तिनीहरूले कुराहरू ढाकछोप गर्न र लुकाउन, साथै आफ्नो भेष बदल्न जतिसुकै प्रयास गरे पनि, तिनीहरूको ख्रीष्टविरोधी प्रकृति र दुर्भावनापूर्ण प्रकृति ढाकछोप गर्न सकिँदैन। त्यो सब निश्चय नै खुलासा हुन्छ। तिनीहरूले खुलस्त रूपमा केही पनि नभन्लान्, र अरूहरूको लागि प्रस्टसित सुनिने कुरा केही पनि नहोला, तर तिनीहरूले अलिकति पनि नलुकाई वा अनेकार्थी कुरा नगरी, नछिपाई वा गोप्य नराखी व्यवहार गर्छन्। तिनीहरूले मानिसहरूको पिठ्युँपछाडि केही पनि गर्दैनन्, झन् सम्झौता त गर्दै गर्दैनन्। मानिसहरूलाई जालमा पार्न, भ्रममा पार्न, नियन्त्रण गर्न, र स्वतन्त्र राज्य स्थापना गर्न तिनीहरूका व्यवहार र कार्यहरूमा कुनै अनेकार्थ वा लापरवाही हुँदैन। तिनीहरूले खुल्लमखुल्ला परमेश्वरको विरोध गर्छन्, र खुल्लमखुल्ला मानिसहरूलाई पासो र भ्रममा पार्छन्। तिनीहरू आफूलाई काटछाँट गरिए धेरै दाजुभाइ-दिदीबहिनीहरू तिनीहरूको रक्षामा आउनेछन्, उनीहरूले परमेश्वर र उहाँको घरको विरोध गर्नेछन्, उनीहरू नकारात्मक बनेर सुस्ताउनेछन्, र उनीहरूले कर्तव्य निर्वाह गर्नेछैनन् भनेर आशावादी हुन्छन्। त्यसो भयो भने तिनीहरू खुसी हुनेथिए र तिनीहरूका चाहना पूरा हुनेथिए। यदि तिनीहरू बर्खास्त भए भने, तिनीहरू धेरै मानिसहरू नकारात्मक बनुन्, र उनीहरू तिनीहरूका पक्षमा बोलून्, तिनीहरूको रक्षामा आऊन्, र पर्दापछाडि तिनीहरूका पक्षमा स्पष्टीकरण र तर्कहरू दिऊन् भन्ने उत्कट चाहना राख्छन्। तिनीहरू मानिसहरूले तिनीहरूका असल गुणहरूको सूची बनाऊन्, तिनीहरू सही छन् भनी बचाउ गरून्, साथै परमेश्वरको घरका बन्दोबस्तहरूलाई आलोचना र निन्दा गरून्, हृदयमा गोप्य रूपले परमेश्वरविरुद्ध जाऊन्, उहाँको धार्मिकता नकारून्, र उहाँको सबै भनाइ र गराइ सत्यता हुन्, ती सबै सकारात्मक कुराहरू हुन् भन्ने कुरा नकारून् भनेर उत्कट रूपमा चाहन्छन्। अनि तिनीहरू आफूले विश्वास गर्न छाडेमा, सबैजनाले विश्वास छोडेर तिनीहरूलाई पछ्याऊन्, र सबैजना तिनीहरूसँगै निस्किऊन्, तिनीहरूका अनुयायी बनून् भनेर उत्कट रूपमा चाहन्छन्; तिनीहरू परमेश्वर सत्यता हुनुहुन्छ भन्ने कुरा सबैले नकारून्, र तिनीहरूचाहिँ सत्यतासित छन्, र तिनीहरूले गर्ने सबै काम सही हुन्, र तिनीहरूले मानिसहरूलाई बदल्न र मुक्ति दिन सक्छन् भनी सबैले विश्वास गरून् भन्ने उत्कट चाहना राख्छन्। यदि दुष्टता गरेकोले तिनीहरूलाई मण्डलीले निकाला वा निष्कासन गरेमा, तिनीहरू धेरै मानिसहरू परमेश्वरको अस्तित्व नकारेर संसारमा फर्कून्, र त्यहाँ उनीहरू विश्वास नगर्ने मानिसहरू बनून् भन्ने उत्कट चाहना राख्छन्। त्यस्तो भएमा, त्यो कुराले तिनीहरूलाई अत्यन्तै खुसी बनाउनेथ्यो। त्यसले तिनीहरूको हृदयमा पुनः सन्तुलन ल्याउनेथ्यो, र त्यो तिनीहरूको लागि छुटकारा हुनेथ्यो। शैतानी स्वभावका यी प्रकटीकरणहरू, यी व्यवहारहरू, यी सारहरू, र यी जटिल, विस्तृत विचार र सोचहरू—तिनले कसलाई प्रतिनिधित्व गर्छन्? के यी मानिसहरू साँचो दाजुभाइ-दिदीबहिनी हुन् त? के तिनीहरूले परमेश्वरमाथि साँचो आस्था राख्छन् त? के तिनीहरू परमेश्वरप्रति साँच्चै समर्पित हुन्छन् त? के तिनीहरूमा अलिकति पनि परमेश्वरको डर हुन्छ त? (हुँदैन।) यसबाट देख्न सकिन्छ कि ख्रीष्टविरोधीहरू सारमै परमेश्वरविरोधी हुन्छन् र तिनीहरू परमेश्वरका शत्रुहरू हुन्। के यो अभिव्यक्ति सही छ? के यो सत्यता हो? (यो सही छ, र यो सत्यता हो।) वास्तविकता शतप्रतिशत यही हो। यो अभिव्यक्ति सत्यता हो, यसमा अलिकति पनि कमी छैन, किनकि यो एउटा तथ्य हो, कहिल्यै परिवर्तन नहुने तथ्य हो। ख्रीष्टविरोधीहरूले सोच्ने यसरी नै हो, र तिनीहरूले गर्ने यही हो। तिनीहरूका सारा व्यवहार र कार्यहरू व्यक्तिगत महत्त्वाकाङ्क्षा र चाहनाहरूद्वारा सञ्चालित हुन्छन्, र ती ख्रीष्टविरोधी प्रकृतिद्वारा सञ्चालित र उत्प्रेरित हुन्छन्। त्यसोभए, के ख्रीष्टविरोधीहरूजस्ता मानिसहरूले मुक्ति पाउन सक्छन् त? (सक्दैनन्।) तिनीहरू हरेक मोडमा परमेश्वरविरोधी र सत्यताविरोधी हुन्छन्। तिनीहरूको नजरमा, जसले तिनीहरूका स्वार्थहरूमा हानि पुर्याउँछ, जसले तिनीहरूको ख्यातिमा क्षति पुर्याउँछ, जसले तिनीहरूलाई तिनीहरूका चाहना र महत्त्वाकाङ्क्षाहरूबाट र आशिषित् हुने आशाबाट बञ्चित गराउँछ, तिनीहरू उसको प्रतिरोधमा उत्रिनेछन् र उसका शत्रु बन्नेछन्—चाहे उसले गरेको काम सही होस् वा गलत। ख्रीष्टविरोधीहरूको प्रकृति नै त्यस्तै हुन्छ। यसकारण यस्ता ख्रीष्टविरोधी मानिसहरूले जे-जस्ता गलत र दुष्ट काम गरेका भए पनि, वा तिनीहरूले परमेश्वरको घरका सिद्धान्त र कार्य बन्दोबस्तहरूविरुद्ध जे-जस्ता काम गरेका भए पनि, तिनीहरूले अरूलाई आफ्नो काटछाँट गर्न, वा आफूलाई खुलासा गर्न र तह लगाउन दिनेछैनन्। तिनीहरूलाई यी कुराहरू आइपर्नेबित्तिकै तिनीहरूले तीप्रति समर्पित हुन र तिनलाई स्विकार्न नसक्ने, वा तिनीहरूले गरेको काम दुष्ट कार्य थियो भनी मान्न नसक्ने मात्र होइन—बरु, तिनीहरूले झूटा प्रत्यारोपहरू लगाउनेछन्, र जुनसुकै उपाय लगाएर भए पनि आफ्नो छवि पुनर्स्थापित गर्ने प्रयास गर्नेछन्। आफूसँग उपलब्ध जुनसुकै उपायहरूद्वारा तिनीहरूले आफ्ना पाप र गल्तीहरू अरू कसैको टाउकोमा थोपर्ने र आफूले कुनै पनि जिम्मेवारी नलिने कोसिस गर्नेछन्। त्यसबाहेक: तिनीहरूको सबैभन्दा ठूलो चाह भनेको मानिसहरू फसून् र भ्रममा परून्, र तिनीहरूका दुष्ट कार्यहरूको पक्षमा बहानाहरू बनाऊन् र तिनीहरूको बचाउ गरून्, साथै अझ धेरै मानिसहरूले तिनीहरूको पक्षमा उभिएर बोलून् भन्ने हो। तिनीहरूले सबैभन्दा हेर्न चाहने कुरा नै यही हो।
हामी हाम्रो कथालाई यहीँ अन्त्य गर्नेछौँ। तिमीहरूले सही अनुमान गर्यौ: ती दुईजना वास्तवमै ख्रीष्टविरोधीहरू हुन्। ख्रीष्टविरोधीहरूले मात्र यस्तो कुराकानी गर्न, यस्ता कुराहरू व्यक्त गर्न, र यस्ता कुराहरूको चाह गर्न सक्छन्। सामान्य भ्रष्ट मानिसहरूमा बेलाबेलामा यस्ता विचारहरू आउलान्, तर जब तिनीहरूलाई साँच्चिकै केही आइपर्छ, तिनीहरू खोजी र प्रार्थना गर्न परमेश्वरसामु आउनेछन्। अलिअलि गर्दै तिनीहरू समर्पित हुनेछन्। सबै साँचो विश्वासीहरू, विवेक र समझ भएका सबै मानिसहरू काटछाँट वा बर्खास्त हुँदा, उनीहरूमा परमेश्वरको केही न केही डर मान्ने हृदय हुन्छ। उनीहरूमा केही न केही समर्पणको मनोवृत्ति र समर्पित हुने तत्परता हुन्छ। उनीहरू परमेश्वरको विरोधी हुने, उहाँप्रति शत्रुवत् हुने चाह राख्दैनन्। भ्रष्ट स्वभाव भएको सामान्य व्यक्तिले गर्नुपर्ने व्यवहार यस्तै हो। तर ख्रीष्टविरोधीमा यस्तो कुनै पनि कुरा हुँदैन। उसले जति धेरै प्रवचनहरू सुने पनि, उसले आफ्ना चाहनाहरू त्याग्नेछैन, र उसले मानिसहरूलाई नियन्त्रण गर्ने, उनीहरूलाई आफ्नो पक्षमा पार्ने, र उनीहरूलाई भ्रममा पार्नेजस्ता उसका महत्त्वाकाङ्क्षाहरू त्याग्नेछैन। यसबाहेक, ती कुराहरू बिलकुलै घट्ने पनि छैनन्; समय बित्ने र परिस्थितिहरू बदलिने क्रममा, उसका महत्त्वाकाङ्क्षा र चाहनाहरू झन्झन् बढ्नेछन्, र झन्झन् ठूला हुनेछन्। ख्रीष्टविरोधीहरूको प्रकृति सार र सामान्य भ्रष्ट मानिसहरूको प्रकृति सारबीचको मौलिक भिन्नता यही हो।
अब हामीले ख्रीष्टविरोधीहरूका विभिन्न प्रकटीकरणहरूको विषयवस्तु नौमाथिको सङ्गति सकाएका छौँ। यसपटक, हामी विषयवस्तु दसमाथि सङ्गति गर्नेछौँ: तिनीहरू सत्यतालाई तिरस्कार गर्छन्, निर्लज्जपूर्वक सिद्धान्तहरू उल्लङ्घन गर्छन्, र परमेश्वरको घरका प्रबन्धहरूलाई बेवास्ता गर्छन्। सत्यतालाई तिरस्कार गर्नु, निर्लज्जपूर्वक सिद्धान्तहरू उल्लङ्घन गर्नु, परमेश्वरको घरका प्रबन्धहरूलाई बेवास्ता गर्नु—यीमध्ये हरेक कुरा आफैमा गम्भीर हुन्छ, र यी कुनै पनि सामान्य भ्रष्ट स्वभावको प्रकटीकरण होइन। अनि यी हरेकलाई हेर्दा, ख्रीष्टविरोधीहरूको सारमा क्रूरता र दुष्टता हुन्छ भन्ने कुरा देख्न सकिन्छ। यी दुई प्रस्ट र गम्भीर पक्षहरू हुन्। यो उदाहरणमा, के ख्रीष्टविरोधीहरूको सारलाई अहङ्कार, हठीपन, र छलीपन भनेर व्याख्या गर्न सकिन्छ? (सकिँदैन।) ती शब्दहरूमार्फत ख्रीष्टविरोधीको सारका विशेषताहरूको मर्म बुझ्न गाह्रो हुन्छ। क्रूरता र दुष्टता भन्ने दुई स्वभावहरू प्रयोग गरेर मात्र ख्रीष्टविरोधीहरूको सार व्यक्त गर्न सकिन्छ।
हामी यिनलाई पालैपालो छलफल गर्नेछौँ। तिनीहरू सत्यतालाई तिरस्कार गर्छन्—“तिरस्कार गर्नु” भनेको के हो? (केही कुरालाई हेयको दृष्टिले हेर्नु।) (केही कुरालाई होच्याउनु, उपेक्षा गर्नु, र तुच्छ बनाउनु।) (कुनै कुरा अवहेलनाको लायक पनि नभएको ठान्नु।) तिमीहरूले प्रयोग गरिरहेका सबै शब्दहरूले प्रायः एउटै अर्थ दिन्छन्। कुनै कुरालाई “तिरस्कार गर्नु” भनेको त्यसलाई बेवास्ता गर्नु, हेयको दृष्टिले हेर्नु, तुच्छ बनाउनु, होच्याउनु, र उपेक्षा गर्नु हो। सामान्य अर्थमा भन्नुपर्दा, त्यसको अर्थ कुनै कुराको प्रतिरोध गर्नु, त्यसलाई घिनाउनु, र त्यसलाई हृदयको गहिराइदेखि नै घृणा गर्नु, त्यसलाई नस्विकार्नु, साथै त्यसलाई शत्रुवत् रूपमा निन्दा, आलोचना, र बदनामीसमेत गर्नु हो। यो तिमीहरूको कुराको तुलनामा कुन गहिराइमा छ? (यो बढी विस्तृत र विशिष्ट छ।) यो तिमीहरूले भनेको भन्दा विशिष्ट र व्यावहारिक छ। तिमीहरूले दिएका अधिकांश परिभाषाहरू “तिरस्कार गर्नु” का पर्यायवाची शब्दहरू थिए। मैले भनेको कुराचाहिँ “तिरस्कार गर्ने” कार्य र व्यवहारको सार थप परिष्कृत गरिएको हो; यो सत्यतालाई तिरस्कार गर्ने व्यवहार र सारको ठोस र विस्तृत व्याख्या हो। यसको अर्थ, जब कसैले सत्यतालाई तिरस्कार गर्छ, तब उसले गर्ने काममा, उसले दैनिक जीवनमा सत्यतालाई गर्ने व्यवहारमा, र सत्यता र सकारात्मक कुराहरू संलग्न मामलाहरूप्रति उसले हृदयमा अपनाउने मनोवृत्तिमा, मानिसहरूले सत्यताप्रति उसको मनोवृत्ति अस्वीकार गर्ने, प्रतिरोध गर्ने, र वितृष्णा गर्ने—र आलोचना, निन्दा, र बदनामसमेत गर्ने रहेको देख्न सक्छन्। यी सबै “सत्यतालाई तिरस्कार गर्ने” कार्यव्यवहार प्रकट र प्रकाश हुने विशिष्ट तरिकाहरू हुन्—यी सत्यताप्रति यस व्यक्तिका मनोवृत्ति र शैलीहरूको हरेक पक्ष समेट्ने विशिष्ट तरिकाहरू हुन्: ऊ सत्यता, परमेश्वरका वचनहरू र सकारात्मक कुराहरूप्रति घिनाउँछ। उसले तिनलाई हृदयको गहिराइदेखि नै प्रतिरोध गर्छ र स्विकार्दैन। यदि तैँले उसलाई कुनै कुरा परमेश्वरको वचन हो, त्यो सत्यता हो भनिस् भने, उसको मनोवृत्ति कस्तो हुनेछ? “परमेश्वरका वचनहरू, सत्यता—के मतलब! तिमी सबै कुरालाई परमेश्वरका वचनहरू र सत्यताले प्रतिस्थापन गर्छौ। के हामी मानिसहरूले जिउने जीवनमा परमेश्वरका वचनहरूबाहेक अरू कुरा छैन? हामीले यति धेरै पुस्तकहरू पढेका छौँ, हामीले यति धेरै शिक्षा हासिल गरेका छौँ—के त्यो सबै व्यर्थै थियो र? मानिसहरूसँग मस्तिष्क र दिमाग हुन्छ; उनीहरूसँग समस्याहरूबारे स्वतन्त्र रूपमा सोच्ने क्षमता हुन्छ। सबथोकलाई परमेश्वरका वचनहरू र सत्यतामा आधारित बनाउनु—के त्यो अति नै कट्टरपन्थी भएन र?” अनि, जब उसलाई केही आइपर्छ, र तैँले उसलाई परमेश्वरलाई प्रार्थना गर्नुपर्छ, उहाँलाई खोज्नुपर्छ, र उहाँका वचनहरू पढ्नुपर्छ भन्छस्, तब उसको मनोवृत्ति कस्तो हुनेछ? “‘परमेश्वरका वचनहरू पढ्ने’? हामीलाई केही भयो भने, त्यो हाम्रो समस्या हो। परमेश्वरसँग मान्छेका समस्याहरूको के सम्बन्ध छ? सत्यतासँग ती कुराको के सम्बन्ध छ? के तिमीलाई साँच्चिकै परमेश्वरका वचनहरूमा सबथोक हुन्छ, ती विश्वकोश हुन् जस्तो लाग्छ? परमेश्वरका वचनहरूमा सबथोक उल्लेखित हुन्छन् भन्ने छैन। मानिसहरूका समस्याहरू मानिसहरूले नै सम्हाल्ने हो, साथै विशेष समस्याहरूलाई विशेष समाधानहरू नै चाहिन्छन्। कुनै कुरा सम्हाल्न सकिएन भने, त्यसबारे इन्टरनेटमा हेर्ने, वा कुनै विज्ञलाई सोध्ने हो। हाम्रो मण्डलीमै कलेजका प्रोफेसरहरू छन्, र धेरै दाजुभाइ-दिदीबहिनीहरू कलेजका विद्यार्थीहरू हुन्। के हामी सबै मिलेर उभिँदा सत्यता बराबर हुन सक्दैनौँ र?” तैँले परमेश्वरलाई खोज्ने र सत्यताबारे खोजी गर्नेबारे कुरा गर्नेबित्तिकै, र तैँले उसलाई परमेश्वरका वचनहरू पढ्न जरुरी छ भन्नेबित्तिकै, उसले दिमागमा तँलाई हेयको दृष्टिले हेर्ने प्रवृत्ति राखिहाल्छ। ऊ त्यस्तो अभ्यास गर्न अनिच्छुक हुन्छ; उसलाई त्यो अति बदनामपूर्ण र अपमानजनक लाग्छ, साथै उसले सोच्छ कि त्यो कुराले उसलाई अयोग्य देखाउँछ। के यो कुनै कुरालाई तिरस्कार गर्दा त्यसले लिने रूप होइन र? यो सत्यतालाई तिरस्कार गर्ने एउटा वास्तविक प्रकटीकरण र वास्तविक व्यवहार हो। यस्ता मानिसहरू अल्पसङ्ख्यामा पर्दैनन्। तिनीहरूले प्रवचनहरू बारम्बार सुन्न सक्छन्, परमेश्वरका वचनका पुस्तकहरू बोकेर हिँड्न सक्छन्, र परमेश्वरको घरमा कर्तव्यहरू निभाउन सक्छन्, तर यदि तिनीहरूलाई केही आइपर्यो र तिनीहरूलाई सत्यता खोजी गर्न र परमेश्वरका वचनहरू पढ्न लगाइयो भने, तिनीहरूलाई त्यो कुरा हास्यास्पद लाग्छ, साथै तिनीहरू त्यसप्रति वितृष्णा गर्ने बन्छन्। तिनीहरू त्यसलाई स्विकार्नै सक्दैनन्; तिनीहरूले त्यसप्रति घिनसमेत मान्छन्। त्यसकारण आफूलाई केही आइपर्दा, तिनीहरूले त्यसलाई समाधान गर्न मानव विधिहरू प्रयोग गर्छन्, र यस्तो दाबी गर्छन्: “विशेष मामलाहरूलाई विशेष समाधानहरू चाहिन्छन्, र मानिसहरूका समस्याहरू मानिसहरूले नै समाधान गर्ने हो। परमेश्वरलाई खोज्न आवश्यक छैन। परमेश्वरले नै सबथोक सम्हाल्नु पर्दैन। यसबाहेक, परमेश्वरको अधिकार क्षेत्रभन्दा बाहिर केही कुराहरू छन्। ती हाम्रा निजी मामलाहरू हुन्, जसको परमेश्वरसँग र सत्यतासँग कुनै सम्बन्ध हुँदैन। परमेश्वरले हाम्रो व्यक्तिगत स्वतन्त्रतामा हस्तक्षेप गर्नु हुँदैन, र उहाँले हाम्रा निजी मामलामा हात हाल्नु हुँदैन। निर्णयाधिकार हामीसँग छ—साथै हामीले कसरी जिउने, आफूलाई कसरी आचरणमा ढाल्ने, र कसरी बोल्ने भन्नेबारे निर्णय गर्ने अधिकार हामीलाई छ। सत्यता र परमेश्वरको वचन भनेको त सबैभन्दा ठूलो आवश्यकताको बेलाको लागि हो, सबैभन्दा महत्त्वपूर्ण समय, सबैभन्दा जरुरी समय, र कसैलाई उसले समाधान गर्नै नसक्ने केही आइपरेको, र त्यसविरुद्ध उसको सहारा नभएको समयको लागि हो—त्यस्तो बेलामा नै उसले परमेश्वरका वचनहरू निकालेर अलिकति पढ्ने हो र त्यसबाट राहत र आत्मिक आराम लिने हो। त्यो नै काफी छ।” यसमा के देख्न सकिन्छ भने, त्यस्ता ख्रीष्टविरोधी मानिसहरूले सत्यताप्रति राख्ने मनोवृत्ति भनेको सत्यता मानिसको जीवन हुन सक्छ, वा परमेश्वरका वचनहरू मानिसहरूलाई वास्तविक जीवनमा आइपर्ने सबथोकसित सम्बन्धित छन् भनी नस्विकार्ने हो। तिनीहरूले मान्छेको सबथोक परमेश्वरको हातमा हुन्छ भन्ने तथ्यलाई त झनै विश्वास गर्दैनन्।
ख्रीष्टविरोधीहरू सत्यतालाई तिरस्कार गर्छन्; यसले धेरै कुरा समेट्छ। अनि, ख्रीष्टविरोधीहरू सत्यतालाई तिरस्कार गर्छन् भन्नुको अर्थ के हो? त्यसको दायरा के हो? हामी त्यसलाई तीन विषयवस्तुमा विभाजन गरेर चिरफार गर्नेछौँ। त्यसो गरियो भने तिमीहरूलाई अझ प्रस्ट हुनेछ। पहिलो, तिनीहरू परमेश्वरको पहिचान र सारलाई तिरस्कार गर्छन्। के परमेश्वरका पहिचान र सारले सत्यता जनाउँदैन र? (जनाउँछ।) त्यसपछि, तिनीहरू परमेश्वरले देहधारी भई धारण गर्नुभएको देहलाई तिरस्कार गर्छन्। के परमेश्वरको देहधारी शरीर र उहाँले गर्नुहुने काम सत्यता होइनन् र? (हुन्।) अनि, बाँकी रहेको कुराचाहिँ के हो भने, तिनीहरूले परमेश्वरका वचनहरूलाई तिरस्कार गर्छन्। पहिलो हो, तिनीहरू परमेश्वरको पहिचान र सारलाई तिरस्कार गर्छन्; दोस्रोलाई छोट्याएर भन्न सकिन्छ, तिनीहरू ख्रीष्टलाई तिरस्कार गर्छन्; र तेस्रो हो, तिनीहरू परमेश्वरका वचनहरूलाई तिरस्कार गर्छन्। हामी यी प्रत्येकलाई छुट्टाछुट्टै रूपमा चिरफार गर्नेछौँ।
अ. परमेश्वरको पहिचान र सारलाई तिरस्कार गर्नु
हामी पहिला परमेश्वरको पहिचान र सारप्रति ख्रीष्टविरोधीहरूले बोक्ने मनोवृत्तिबारे सङ्गति गर्नेछौँ, र यसले देखाउनेछ कि यस सम्बन्धमा तिनीहरू सत्यतालाई तिरस्कार गर्छन्। परमेश्वरको पहिचान र उहाँको सारप्रति ख्रीष्टविरोधीहरूको मनोवृत्ति कस्तो हुन्छ? तिनीहरूले ती कुराहरूबारे के सोच्छन्? तिनलाई तिनीहरूले कसरी परिभाषित गर्छन्? तिनलाई तिनीहरूले कसरी हेर्छन्? परमेश्वरको सारमा के हुन्छ? परमेश्वरको धर्मी स्वभाव, उहाँको सर्वशक्तिमान्ता, उहाँको पवित्रता, र उहाँको अद्वितीयता। के ख्रीष्टविरोधीहरूले परमेश्वरको पहिचान सृष्टिकर्ता हो र उहाँ सम्पूर्ण मानवजातिको नियतिमाथि सार्वभौम हुनुहुन्छ भन्ने तथ्यलाई स्विकार्छन्? (स्विकार्दैनन्।) तिनीहरूले त्यो नस्विकार्ने कुरा विशेषगरी कसरी प्रकट हुन्छ? (ख्रीष्टविरोधीहरूले परमेश्वरबाट हरदिन तिनीहरूको जीवनमा आउने मानिस, घटना र कामकुराहरूलाई स्विकार्नेछैनन्; तिनीहरूले त बस ती कुराहरूलाई बढ्ता विश्लेषण मात्र गर्नेछन्, र तिनलाई मानव धारणा र कल्पनाहरूले सम्बोधन गर्नेछन्।) तिनीहरूले तिनलाई मानव धारणा र कल्पनाहरूले सम्बोधन गर्नेछन्? तैँले भनेको कुराको पहिलो आधा भाग सही थियो: जब कुनै ख्रीष्टविरोधीलाई केही आइपर्छ, तब उसले त्यो कुरालाई बढ्ता विश्लेषण मात्र गर्नेछ। तर दोस्रो भागमा तैँले भनिस् कि तिनीहरूले ती कुरालाई मानव धारणा र कल्पनाहरूले सम्बोधन गर्नेछन्—ती त साधारण भ्रष्ट मानिसहरूले गर्ने व्यवहारहरू हुन्। हामी यहाँ ख्रीष्टविरोधीहरूले सत्यतालाई र मानवजातिको नियतिमाथि परमेश्वरको सार्वभौमिकताको तथ्यलाई तिरस्कार गर्छन् भन्नेबारे सङ्गति र खुलासा गरिरहेका छौँ। त्यसको प्रमाण भेटाउन, तैँले ख्रीष्टविरोधीहरूका सान्दर्भिक विधि र व्यवहारहरू खोज्नुपर्छ। वास्तवमा, ख्रीष्टविरोधीहरू मुखले त “मानिस परमेश्वरद्वारा बनाइएको हो, मानिसको भाग्य परमेश्वरको हातमा हुन्छ, र मानिसहरू परमेश्वरको प्रभुत्वमा समर्पित हुनुपर्छ” भनेर स्विकार्छन्—तर आफूलाई केही आइपर्दा के तिनीहरूले त्यसरी नै स्वीकार गर्छन् त? तिनीहरूले बोल्ने शब्दहरू अत्यन्तै राम्रा र सही हुन्छन्, तर आफूलाई केही आइपर्दा तिनीहरूले त्यसरी अभ्यास गर्दैनन्। तिनीहरूलाई केही आइपर्दा विभिन्न कुराप्रति तिनीहरूले देखाउने शैली र मनोवृत्तिले नै तिनीहरूले बोल्ने शब्दहरू सुत्रवाक्य मात्र हुन्, साँचो ज्ञान होइनन् भन्ने प्रकाश गर्छ। तिनीहरूलाई केही आइपर्दा, तिनीहरूसँग कस्ता दृष्टिकोण, सोचाइ, अभिव्यक्ति, र मनोवृत्तिहरू हुन्छन्, जसले तिनीहरूमा ख्रीष्टविरोधीको सार छ भनेर प्रमाणित गर्छ? जब कुनै ख्रीष्टविरोधीलाई केही आइपर्छ, तब के उसले आफ्नो पहिलो प्रतिक्रियास्वरूप यो तथ्यलाई स्विकार्न सक्छ? शान्त भएर परमेश्वरसामु समर्पित हुनु, अनि राम्रो नराम्रो जे-जस्तो भए पनि, र त्यो आफ्ना लागि फाइदाजनक भए पनि वा नभए पनि, परमेश्वरले खडा गर्नुभएको वातावरण स्विकार्नु—के उसमा त्यस्तो मनोवृत्ति हुन्छ त? उसमा स्पष्टतः त्यस्तो कुनै मनोवृत्ति हुँदैन। केही आइपर्दा उसले सोच्ने पहिलो कुरा भनेको त्यसले कसरी उसको स्वार्थ र पदलाई असर गर्छ भन्ने हो; त्यसपछि, उसले त्यसबाट मुक्त हुने, त्यसबाट निस्कने बाटो खोज्ने, र त्यसबाट पन्छिने उपायहरूबारे योजना बनाउँछ। त्यसको जिम्मेवारी लिन नचाहेर, उसले अप्रत्यक्ष रूपमा तर्कहरू गर्न र बहानाहरू बनाउन खोज्छ; उसले त्यसलाई सुल्झाउन मानव विधिहरू प्रयोग गर्छ, र त्यसलाई विश्लेषण र समाधान गर्न आफ्नो दिमाग प्रयोग गर्छ। उसले त्यो जिम्मेवारी अरूमा समेत सार्छ, यो व्यक्ति गलत छ र त्यो व्यक्तिले अह्राइएको काम गर्दैन भन्दै गुनासो गर्छ, र पहिलो कुरा त आफू नै लापरवाह र असावधान भएको, र सुरुदेखि नै यो र त्यो तरिकाले कार्य गरेको भनी पछुताउँछ। स्पष्ट रूपमै ऊसँग ऊमाथि आइपर्ने परिस्थितिहरू, अर्थात् परमेश्वरले योजनाबद्ध गर्नुहुने परिस्थितिहरूप्रति प्रतिरोधी, पन्छिने, नकार्ने, र अस्वीकार गर्ने मनोवृत्ति हुन्छ। ती परिस्थितिहरूप्रति उसको पहिलो प्रतिक्रिया भनेको तिनको आगमनविरुद्ध लड्नु हो; उसको दोस्रो प्रतिक्रियाचाहिँ मानव विधिहरू प्रयोग गरेर तिनलाई साम्य पार्नु, मानव उपायहरूद्वारा आँधीबेहरी पार गर्नु, र मानव उपायहरू नै प्रयोग गरेर तथ्यहरू ढाकछोप गर्नु, र आफूले मण्डलीको काम र दाजुभाइ-दिदीबहिनीहरूको जीवन प्रवेशमा पुर्याएका क्षतिहरूसमेत ढाकछोप गर्नु हो। उसले आफ्नो सारा मानसिक ऊर्जा मानव उपायहरू प्रयोग गरेर आफ्ना दुष्ट कार्यहरू ढाकछोप गर्न र लुकाउनमै लगाउँछ। उसले आफूले गरेका खराब कामहरूको प्रकृति, वा आफूले कुन-कुन सत्यता सिद्धान्तहरू उल्लङ्घन गरेँ भनेर स्विकार्दैन, बरु आफू वरपरकाहरूलाई यस्तो निर्देशनसमेत दिन्छ: “यो कुरालाई बाहिर जान नदेऊ। हामी कसैले केही पनि नभनौँ; अरू कसैले थाहा पाउन सक्दैन।” ऊ आफू समर्पित नहुने र यी परिस्थिति स्विकार्न नमान्ने मात्र होइन—उसले त छल गर्दै र कुरा लुकाउँदै, वास्तविक तथ्यहरू ढाकछोप गर्ने प्रयास गर्दै, ठूलो कुरालाई सानो बनाउने आशा गर्दै, र त्यसलाई महत्त्वहीन बनाउन खोज्दै झूटा प्रत्यारोपहरूसमेत लगाउनेछ, ताकि त्यसबारे आफूभन्दा उच्च अगुवाहरूलाई वा परमेश्वरलाई थाहा नहोस्। ख्रीष्टविरोधीहरूले आफूलाई आइपर्ने कुराहरू यसरी नै सम्हाल्छन्। अनि, के तिनीहरूको कामकुरा सम्हाल्ने तौरतरिका तिनीहरूले फलाक्ने सुत्रवाक्यहरूसँग मिल्छ त? तिनीहरूले फलाक्ने सुत्रवाक्यहरू र तिनीहरूलाई केही आइपर्दा तिनीहरूले अपनाउने मनोवृत्तिबीच, कुनचाहिँ तिनीहरूको प्रकृति सारको प्रकटीकरण हो त? (तिनीहरूलाई केही आइपर्दा तिनीहरूले अपनाउने मनोवृत्ति।) त्यसोभए, त्यो मनोवृत्ति ठ्याक्कै के हो त? के तिनीहरूमा समर्पणको मनोवृत्ति हुन्छ? के तिनीहरूमा परमेश्वरले तिनीहरूलाई गर्नुहुने अनुशासन र काटछाँट विनम्रतासाथ स्विकार्ने मनोवृत्ति हुन्छ? के तिनीहरूमा परमेश्वरको सार्वभौमिकताप्रति समर्पित हुने इच्छुकता हुन्छ? के तिनीहरूको मनोवृत्ति र साँचो व्यवहार, तिनीहरूलाई जे आइपरे पनि, मान्छेको सबथोकमाथिको सार्वभौमिकता परमेश्वरकै हुन्छ भन्ने साँचो विश्वास हुन्छ? (हुँदैन।) बिलकुलै हुँदैन। त्यसोभए, तिनीहरूको मनोवृत्ति के हुन्छ? यो त प्रस्टै छ: तिनीहरू कुराहरू अस्वीकार गर्न, ढाकछोप गर्न, र छल गर्न चाहन्छन्; तिनीहरू अन्त्यसम्मै विरोध गर्न, र परमेश्वरलाई काम गर्न वा सार्वभौम हुन नदिन चाहन्छन्। तिनीहरू आफूमा सबथोक ठिक पार्ने क्षमता र सामर्थ्य छ भन्ने सोच्छन्। तिनीहरूको कार्यक्षेत्रमा, कसैले पनि तिनीहरूको काममा हस्तक्षेप गर्न वा तिनको व्यवस्थापन गर्न मिल्दैन—तिनीहरू नै सर्वेसर्वा हुनुपर्छ। अनि, के त्यसपछि तिनीहरूले विश्वास गर्ने परमेश्वर त्यो क्षणमा पनि अस्तित्वमा रहनुहुन्छ त? त्यस उप्रान्त रहनुहुन्न—उहाँ खोक्रो आवरण भइसक्नुभएको हुन्छ। त्यसोभए, त्यो क्षणमा तिनीहरूको आस्था के हुन्छ? त्यो अस्पष्ट र खोक्रो हुन्छ, र त्यसमा छल हुन्छ। तिनीहरूमा साँचो आस्था हुँदैन।
यदि कुनै ख्रीष्टविरोधीलाई केही पनि भएको छैन भने, उसले प्रवचनहरू सुनेको, परमेश्वरका वचनहरू पढेको, र भजनहरू सिकेको नाटक गर्नेछ। ऊ मण्डली जीवनमा सहभागी हुन्छ, र मण्डलीका सम्पूर्ण परियोजनाहरूमा सक्रियतासाथ सहभागी हुन्छ, र प्रायः यसो भनिरहन्छ: “हामी परमेश्वरमा विश्वास गर्छौँ, त्यसैले हामीले उहाँको सार्वभौमिकतामा विश्वास गर्नुपर्छ, र उहाँको सार्वभौमिकताप्रति समर्पित हुनुपर्छ। सबथोक परमेश्वरको हातमा हुन्छ, र उहाँले जे गर्नुहुन्छ त्यो सबै राम्रो हुन्छ।” यति मात्र होइन, उसले अरूलाई प्रायजसो यस्तो निर्देशन पनि दिइरहन्छ: “मानिसहरूले आफ्नै तरिकाले कदम चाल्न जिद् कस्नु हुँदैन। केही भयो भने, उनीहरूले परमेश्वरलाई प्रार्थना गर्नुपर्छ, किनकि सबथोक परमेश्वरकै हातमा हुन्छ।” उसले यी सुत्रवाक्यहरू ठूलै स्वरमा फलाक्छ, र उसको मनोवृत्ति निकै दृढ र पूर्ण देखिन्छ—तर उसले अपेक्षाहरू पूरा गर्न सक्दैन किनकि उसलाई केही आइपर्दा, तथ्यहरूको सत्यता र उसले साँचो रूपमा प्रकट गर्ने कुराले उसको साँचो कद र उसको सारलाई पूर्ण रूपमा खुलासा गरिदिन्छ। त्यसले उसले सृष्टिकर्ताको पहिचान र सारको तथ्यमा विश्वास गर्दैन, र उहाँ सबैमाथि सार्वभौम हुनुहुन्छ भन्ने तथ्यमा विश्वास गर्दैन भन्ने कुरा खुलासा गरिदिन्छ। ऊ यी तथ्यहरू स्विकार्न अनिच्छुक हुन्छ, उसले यी कुरालाई मान्य मान्ने त कुरै नगरौँ। अझ भन्नुपर्दा, उसले यी कुरालाई मान्न वा स्विकार्न नसक्ने मात्र नभई, ऊ जिद्दी गरेर अन्त्यसम्मै विरोधी पनि रहिरहन्छ। उसलाई केही आइपर्दा, उसले एउटा नभए अर्को कुराबारे गुनासो गर्छ। उसले शिष्ट र समर्पित तरिकाले परमेश्वरसामु आएर उहाँका चाहना र अभिप्रायहरू खोज्दैन; ऊ समर्पित तरिकाले परमेश्वरसामु आउँदैन, र उहाँका सार्वभौमिकता र प्रबन्धहरूप्रति समर्पित हुँदैन, र उसले उहाँका योजनाबद्ध कार्य र सार्वभौमिकता स्विकार्दैन; साथै उसले समर्पित तरिकाले उहाँको ताडना स्विकार्दैन। बरु, उसले मानव विधि र योजनाहरूद्वारा, र मानव उपायहरूद्वारा कामकुराहरू सहज बनाउने—कुरा दबाउने, र अरू र परमेश्वरको आँखामा छारो हाल्ने चाहना राख्छ। उसले मामलालाई सहज तरिकाले सम्हालेमा उक्त मामला पूर्ण रूपमा साम्य हुने विश्वास गर्छ। उसले त्यसलाई सहज तरिकाले सम्हालेमा, आफ्ना त्रुटि र भ्रष्ट स्वभावहरू ढाकछोप गरेमा, यी कुराबारे कसैलाई थाहा नभएमा, र कसैले पनि उसमा कुनै कमी पत्ता लगाउन, वा त्यस मामलालाई थप पछ्याउन सकेन भने, उसले कुनै ठूलो कुरा हासिल गरेको हुने विश्वास गर्छ। त्यसपछि, उसलाई स्थिरता महसुस हुनेछ। ख्रीष्टविरोधीलाई केही आइपर्दा, उसका शब्द र व्यवहारहरू, साथै उसका कार्य र कदमहरूलाई हेर्दा, अनि उसको व्यवहार र कार्यप्रदर्शनको सारलाई हेर्दा, ऊ परमेश्वरको सार्वभौमिकताप्रति ढिठ रूपमा प्रतिरोधी हुन्छ। उसले हठपूर्वक अन्त्यसम्मै लड्नेछ। आफूले जे गल्ती गरेको भए पनि, उसले परमेश्वरलाई उसलाई काटछाँट गर्न, वा उसलाई अनुशासित गराउने वातावरण खडा गर्न दिनेछैन, उहाँलाई उसको प्रकाश र खुलासा गर्न दिने त झन् कुरै नगरौँ। उसको खुलासा हुनेबित्तिकै, र रहस्य खुल्नेबित्तिकै, ऊ आत्तिन्छ, हडबडिन्छ र चिढिन्छ; उसले परिस्थितिलाई उल्टाउने र पूर्वतयारीका रूपमा दोषारोपण गर्ने समेत गर्छ र परमेश्वरले उसलाई सुरक्षा दिन सक्नुभएन, उहाँले उसलाई आशिष् दिनुभएन, उहाँ पक्षपाती हुनुहुन्छ भनेर आरोपसमेत लगाउँछ—नत्र उसलाई र अरू कसैलाई एउटै कुरा आइपर्दा परमेश्वरले किन अर्को व्यक्तिलाई प्रकाश नगरेर उसलाई मात्र प्रकाश गर्नुभएको? नत्र उसलाई र अर्को व्यक्तिलाई एउटै कुरा आइपर्दा परमेश्वरले किन अर्को व्यक्तिलाई अनुशासनमा नराखी उसलाई मात्र राख्नुभएको? उसले यस्तो समेत भन्नेछ, “परमेश्वर धर्मी हुनुहुन्न भन्ने देखिसकेपछि, मैले मानव विधिहरूद्वारा, अर्थात् मेरा आफ्नै विधिद्वारा आफ्नो सुरक्षा गर्नुपर्नेछ।” उसलाई लाग्छ कि उसले केही गल्ती गरेको हुँदा पनि परमेश्वरले उसलाई अनुशासनमा राख्न र खुलासा गर्न मिल्दैन, बरु उसको ढाकछोप गर्नुपर्छ, हरेक मोडमा उसलाई अघि बढ्ने अनुमति दिनुपर्छ, उसलाई सहज बाटो बनाइदिनुपर्छ, र उसका गल्तीहरूलाई बेवास्ता गरिदिनुपर्छ। उसलाई परमेश्वरले त्यसै गर्नुहुनेछ भन्ने लाग्छ। यदि परमेश्वरले उसलाई प्रकाश गर्नुभयो, र उसलाई केही आइपर्दा विशेष निगाह देखाउनुभएन, र उसलाई विशेष दर्शन वा अगुवाइ दिनुभएन भने, उसलाई यस्तो परमेश्वर प्रेमिलो हुनुहुन्न, र उहाँ उसको भाग्यमाथि सार्वभौमिकता राख्न योग्य हुनुहुन्न भन्ने महसुस हुन्छ। त्यसैले, आफूलाई केही आइपर्दा, उसले सृजित प्राणीका रूपमा परमेश्वरप्रति समर्पित हुन र उहाँबाट आउने सबै कुरा स्विकार्न चाहँदैन; यसको साटो, ऊ परमेश्वरले उसलाई सेवा दिनुहोओस्, उसलाई यावत् थोकमा सुविधा दिनुहोओस्, र उसले गरेका कुनै पनि अपराध, वा उसले देखाउने कुनै पनि भ्रष्टता, विद्रोहीपन, वा प्रतिरोधका कारण उसलाई गाली गर्ने वा अनुशासनमा राख्ने नगर्नुहोओस् भन्ने चाहन्छ। ख्रीष्टविरोधीको हरेक व्यवहार र प्रकटीकरणमा उसमा परमेश्वरप्रति कुनै साँचो आस्था हुँदैन भन्ने देख्न सकिन्छ। उसको तथाकथित साँचो आस्थाको उद्देश्य त फाइदा उठाउन र लाभहरू प्राप्त गर्न प्रयत्न गर्नु मात्र हो। ऊ परमेश्वरको योजनाबद्ध कार्यप्रति समर्पित हुँदैन, बरु उहाँलाई नै योजनाबद्ध गरेर उसका निम्ति उहाँलाई सबथोक गराउने र उसका लागि ढोकाहरू खोलाउने चाहना राख्छ। उसले भ्रष्ट सृजित प्राणीका रूपमा परमेश्वरको सार्वभौमिकता र प्रबन्धहरू, वा उहाँको मुक्ति स्विकार्दैन। बरु यसको साटो, उसले त आफूले परमेश्वरमा विश्वास गरेर उहाँलाई ठूलो निगाह प्रदान गरेको, र परमेश्वरले त्यो कुरा सम्झनुपर्ने, र उसको सुरक्षा गर्नुपर्ने, उसलाई निसर्त आशिष् दिनुपर्ने, साथै माफ गर्नुपर्ने, र उसले जेजस्तो खराब काम गरेको भए पनि उसलाई विशेष माफी दिनुपर्ने महसुस गर्छ। त्यस्ता ख्रीष्टविरोधी मानिसहरू साँच्चिकै दुष्ट हुन्छन्। तिनीहरूमा कुनै लाज हुँदैन। तिनीहरूलाई तिनीहरू कस्ता चिज हुन् वा को हुन् भन्ने समेत थाहा हुँदैन, त्यसैले आफूलाई केही आइपर्दा तिनीहरू निर्लज्ज रूपमा स्पष्टीकरण दिन्छन् र बहाना बनाउँछन्, आफ्नो दलिल पेश गर्छन् र वकालत गर्छन्, अरूमाथि दोष थोपर्छन्, र तथ्यहरू लुकाउँछन्। यदि तिनीहरूको प्रकाश भयो र मानिसहरूले तिनीहरूलाई भित्रैदेखि चिनेमा, त्यसउप्रान्त तिनीहरूसँग हैसियत वा प्रतिष्ठा हुनेछैन भन्ने डरले तिनीहरूले अन्त्यसम्मै परमेश्वरको विरोध गर्छन्। परमेश्वरमाथिको तिनीहरूको आस्था बोलीमै सीमित हुन्छ; तिनीहरू केही पनि अर्पण गर्दैनन्, र साँचो रूपमा समर्पित हुँदैनन्, झन् तिनीहरू स्वीकार्यताको नजिक पुग्ने त कुरै नगरौँ। त्यसकारण, परमेश्वरको पहिचानका सम्बन्धमा, ख्रीष्टविरोधीको सारमा ऊ हृदयको गहिराइदेखि नै प्रतिरोधी छ भन्ने देख्न सकिन्छ—ऊ परमेश्वरलाई उसको नियतिमाथि सार्वभौमिकता राख्न र उसका सबै कुराहरू योजनाबद्ध गर्न दिन अनिच्छुक हुन्छ। ऊ परमेश्वरलाई सार्वभौम हुन दिन चाहँदैन—अनि, ऊ कोचाहिँ सार्वभौम होस् भन्ने चाहन्छ त? ऊ आफैले अन्तिम निर्णय गर्न चाहन्छ, र यसको अन्तर्निहित अर्थ शैतानलाई सबै कुरा चालबाजी गर्न दिनु, र भ्रष्ट स्वभाव र शैतानको भ्रष्ट सारलाई उसको जीवन बन्न दिनु, अनि हृदयमा राजाका रूपमा शासन गर्नु हो। कुरा त्यही हो। जहाँसम्म परमेश्वरको सारको कुरा छ—ख्रीष्टविरोधीले त्यसलाई कुन रूपमा लिन्छ? ख्रीष्टविरोधीले परमेश्वरको सारमा हुने तत्त्वहरूबारे शङ्का पाल्छ। उसले विश्वास गर्दैन; उसले शङ्का गर्छ; उसले ती सबै तत्वहरूबारे निन्दाका साथै धारणाहरू पनि बोक्छ। कहिलेकाहीँ, उसले आफ्ना कल्पना, ज्ञान, र दिमाग प्रयोग गरेर ती तत्त्वहरूलाई विश्लेषण गर्ने र अर्थ लगाउने समेत गर्छ। कतिपय मूर्ख मानिसहरू त तिनीहरूका अर्थ्याइँ निकै राम्रा, आत्मिक, मान्य, र व्यावहारिक छन् भनेर समेत विश्वास गर्छन्। यो त अझ घिनलाग्दो कुरा हो।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।