विषयवस्तु सात: तिनीहरू दुष्ट, कपटी, र छली हुन्छन् (भाग तीन) खण्ड सात

एक सच्चा मानवले मानवता, विवेक, सामान्य मानव सोचाइ, र वास्तविक जीवन अनुरूप, सामान्य र व्यावहारिक, विकृति वा विचित्रता विनाका, अमूर्त, खोक्रा, र अलौकिक नहुने कुराहरूलाई प्रेम गर्छ र पछ्याउँछ। यी कुराहरूका हकमा भन्दा, सामान्य व्यक्तिले यी कुराहरूलाई सकारात्मक कुराहरूका रूपमा लिई कदर गर्न, सही रूपमा सम्हाल्न, र नियमित रूपमा स्वीकार गर्न सक्नुपर्छ। यसको विपरीत, कतिपय व्यक्तिहरूले, खाना खाने, लुगा लगाउने, बस्‍ने ठाउँ, यातायात, व्यवहार, र व्यक्तिगत चालचलन जस्ता वास्तविक जीवनका विभिन्‍न पक्षहरूसँग निकट रूपमा सम्बन्धित रहेका यी सत्यताहरू सामना गर्दा, तिनलाई अवमूल्यन, बेवास्ता, र अपहेलना गर्छन्। यहाँ समस्या के हो? यो तिनीहरूको रुचि र प्रकृति सारको समस्या हो। कुनै कुरा जति सकारात्मक हुन्छ, त्यो जति परमेश्‍वरले प्रेम गर्नुहुने, चाहनुहुने, र गर्नुहुने कुरा हुन्छ, र परमेश्‍वरका अभिप्रायहरूमा उहाँले मानिसहरूले हासिल गर्न र स्वीकार गर्न सकून् भनेर आशा गर्नुभएको कुरा हुन्छ, यी मानिसहरूले त्यसलाई त्यति नै प्रश्न गर्छन्, अध्ययन गर्छन्, विरोध गर्छन्, र निन्दा गर्छन्—के यो दुष्ट कुरा होइन र? यो अत्यन्तै दुष्ट कुरा हो! गैरविश्‍वासीहरूका बीचमा ख्रीष्ट विरोधीहरू निकै लोकप्रिय हुन्छन्। यदि म गैरविश्‍वासीहरूमाझ भएको भए, गैरविश्‍वासीहरूले ख्रीष्ट विरोधीहरू र देहधारी परमेश्‍वरबीच कसलाई तत्परताका साथ स्वीकार गर्नेथिए? (ख्रीष्ट विरोधीहरूलाई।) किन? गैरविश्‍वासीहरूले सोझा मानिसहरूलाई रुचाउँछन् कि दुष्ट मानिसहरूलाई? (दुष्ट मानिसहरूलाई।) तिनीहरूले चापलुसी गर्ने र चिप्लो घस्नेहरूलाई मन पराउँछन् कि इमानदारहरूलाई? (चापलुसी गर्ने र चिप्‍लो घस्नेहरूलाई।) एकदम सही, तिनीहरूले त्यस्ता व्यक्तिहरूलाई मन पराउँछन्। यदि तँलाई समूहका विभिन्‍न अन्तरवैयक्तिक सम्बन्धहरूलाई व्यवस्थापन गर्न दाउपेच कसरी प्रयोग गर्ने भन्‍ने थाहा छैन, र रणनीतिहरूद्वारा विभिन्‍न मानिसहरूलाई कसरी चालबाजी गर्ने वा नियन्त्रण गर्ने भन्‍ने तँलाई थाहा छैन भने, के त्यो समूहले तँलाई राख्‍न सक्छ? यदि तँ अत्यन्तै सोझो छस्, सधैँ सत्य बोल्छस्, धेरै समस्याहरूको सारलाई छर्लङ्ग देख्‍न सक्छस्, त्यसपछि आफूले छर्लङ्ग देखेका र बुझेका सत्यताहरूका बारेमा कुरा गर्छस् भने, के कसैले यसलाई स्वीकार गर्न सक्छ? अहँ, यस संसारको कसैले पनि यसलाई स्वीकार गर्न सक्दैन। यस संसारमा, सत्यता बोल्ने अपेक्षा नगर्—त्यसो गर्दा यसले समस्या ल्याउनेछ वा विपत्तिमा डोऱ्याउनेछ। इमानदार व्यक्ति बन्‍ने अपेक्षा नगर्; इमानदार बन्दा कुनै भविष्य हुँदैन। ख्रीष्ट विरोधीहरू कस्ता हुन्छन्? तिनीहरू झूट बोल्‍नमा उत्कृष्ट हुन्छन्, आफूलाई कुशलतापूर्वक ढाकछोप गर्छन् र असल झैँ प्रदर्शन गर्छन्, आफूलाई भव्य, गरिमामय, र सद्गुणीका रुपमा प्रदर्शन गर्छन्, र मानिसहरूलाई तिनीहरूको आराधना गर्ने तुल्याउँछन्। तिनीहरू यी कुराहरूमा उत्कृष्ट हुन्छन्, र तिनीहरूले जे कुरामा आनन्द मान्छन् त्यो पनि त्यस्तै हुन्छ—तिनीहरूलाई खोक्रा ज्ञान र सिकाइका बारेमा छलफल गर्न, साथै वरदान र रणनीतिहरूको तुलना गर्न मन पर्छ। उदाहरणका लागि, कुनै कम्पनी वा मानिसहरूको समूहमा, सबैभन्दा उच्च ज्ञान र सिकाइ हुनु प्राथमिक कुरा होइन, न त यो कम्पनीमा कुनै व्यक्तिको पद निर्धारण गर्ने मुख्य कारक नै हो। मुख्य कारक के हो? (रणनीति र प्रतिभा।) वास्तवमै हो, यो रणनीति र प्रतिभा हो। यीविना, व्यापक सिकाइ हुनुको कुनै काम हुँदैन। उदाहरणका लागि, मानौँ तँ विदेशबाट फर्केको छस्, र तँ घरका मानिसहरूको यो समूहको खेलका नियमहरूबारे पूर्ण रूपमा अनभिज्ञ छस्। यदि तैँले विदेशी कम्पनीहरूमा देखाउने आत्म-आचरणका नियम, प्रावधान, र सिद्धान्तहरू लागु गरिस् भने, तँ अड्किनेछस्। के यस्तै हुँदैन र? (हो।) यस्तै नै हुन्छ। तँसँग रणनीतिहरू हुनुपर्छ, र तँ माथिल्लो पदमा पुग्‍नका लागि खराब र दुष्ट हुनुपर्छ। यो त निश्‍चित महिलाहरू जस्तै हो: तिनीहरूलाई भरणपोषण गर्ने श्रीमान भए पनि, तिनीहरू सन्तुष्ट हुँदैनन्। अरूभन्दा उत्कृष्ट देखिन र ख्याति, प्राप्ति, र हैसियत प्राप्त गर्नका लागि, तिनीहरूले आवश्यक पर्ने कुनै पनि माध्यमहरूको सहारा लिन्छन्। तिनीहरू चापलुसीमा समेत संलग्न हुन्छन् र आवश्यक परे, सहयात्री सेवाहरू प्रदान गर्छन्, र यो सब श्रीमान वा परिवारप्रति कुनै लाज वा ग्लानि वा ऋणी भएको अनुभूति नगरी गर्छन्। के तैँले त्यसो गर्न सक्थिस्? तँलाई यो घिनलाग्दो लाग्छ, र तैँले त्यसो गर्न सक्दैनस्। त्यसोभए, तँ तिनीहरूका बीचमा कसरी उच्च पदमा उक्‍लन सक्छस्? कुनै उपाय नै छैन। त्यो सबै आफ्नो प्राण बेचेर र विभिन्‍न दुष्ट विधिहरू प्रयोग गरेर हासिल गरिन्छ। के तँलाई काम गर्ने त्यो तरिका मनपर्छ? (मन पर्दैन।) तँ अहिले त्यो मन पर्दैन भनेर भन्छस्, तर कुनै दिन तँलाई निश्‍चित हदसम्म धकेलेपछि, तँलाई यो मन पर्न थाल्नेछ। यदि मानिसहरूले तँलाई दिनभरि हेप्छन् र यातना दिन्छन्, तेरा लागि कामकुराहरू कठिन बनाउँछन्, तेरो गल्ती निकाल्छन्, र तँलाई निकाल्न चाहन्छन् भने, तैँले आफ्नो जागिरलाई कायम राख्‍नका लागि आफ्नो शरीर बेच्नुपर्ने हुन सक्छ। तैँले तिनीहरूले जुन दुष्ट चलाकीहरू प्रयोग गर्छन् त्यो कुरा सिक्‍नुपर्ने हुन्छ, र अन्त्यमा, तँ पनि तिनीहरू जस्तै बन्‍नेछस्। अहिले, तैँले कडाइका साथ घोषणा गर्छस्, “मलाई त्यो रणनीति मन पर्दैन। म त्यस्तो व्यक्ति बन्‍न चाहन्नँ। म त्यति दुष्ट छैनँ। म आफ्नो शरीर बेच्न चाहन्नँ। मलाई पैसा मन पर्दैन; खान र लगाउन पुगे पर्याप्त हुन्छ।” तँ कस्तो व्यक्ति होस्? तँ केही पनि होइनस्। शैतानले तँलाई भ्रष्ट तुल्याएर जे बनाएको छ तँ त्यही होस्। के तँलाई आफ्‍नो मालिक आफै हुन सक्छु भन्‍ने लाग्छ? वातावरण अनुसार मानिसहरू परिवर्तन हुन्छन्, तिनीहरूमा भ्रष्ट स्वभाव हुन्छ, र तैँले ख्याति, प्राप्ति, हैसियत, पैसा, र सबै किसिमका परीक्षाहरूलाई जित्न सक्दै-सक्दैनस्। यदि तँ त्यो वातावरणमा भएको भए, तँ पनि आफूलाई नियन्त्रण गर्न त्यत्तिकै असक्षम हुनेथिइस्। गैरविश्‍वासीहरूका लागि अहिलेको मञ्च मासु पिस्ने मिल जस्तै भएको छ। व्यक्ति त्यसमा पिसिएपछि, बाँच्ने कुनै उपाय हुँदैन। अहिले, परमेश्‍वरको घरमा आफ्नो कर्तव्य पूरा गरेर, परमेश्‍वरको सुरक्षामा रहेर, र कसैले तँलाई नहेपेको अवस्थामा, तँ परमेश्‍वरको उपस्थितिमा शान्तिपूर्वक बस्‍न सक्छस्। तँ अत्यन्तै आशिषित् छस्, त्यसैले चुपचाप त्यसको आनन्द लिइ! यदि तैँले आफ्नो कर्तव्य राम्ररी पूरा गरिनस् र थोरै काटछाँटको सामना गरिस् भने, तँलाई अन्यायमा परेको छु भन्‍ने महसुस हुनु हुँदैन। तैँले महान् आशिष्‌हरू प्राप्त गरेको छस्; के तँलाई त्यो कुरा थाहा छैन र? (थाहा छ।) मलाई भन्, गैरविश्‍वासीहरूलाई “मासु पिस्ने मिल” मा हुँदा कस्तो अनुभूति हुन्छ? तिनीहरू मरेकै राम्रो हुन्छ। परमेश्‍वरको घरमा तैँले सहने थोरै कष्ट मानिसहरूले सहनुपर्ने कुरा हो; यो त्यति पीडादायी कुरा होइन। तैपनि, मानिसहरू सन्तुष्ट हुँदैनन्, र तिनीहरूलाई जसरी काटछाँट गरिए पनि तिनीहरू पश्‍चात्ताप गर्न अनिच्छुक हुन्छन्। तर जब तिनीहरूलाई घर पठाइन्छ, तब तिनीहरू गैरविश्‍वासीहरूकहाँ फर्कन इच्छुक हुँदैनन् किनभने तिनीहरूलाई गैरविश्‍वासीहरू अत्यन्तै दुष्ट र खराब छन् भन्‍ने लाग्छ। वास्तवमै मृत्युको सामना गर्नुपर्दा, मानिसहरू मर्न चाहँदैनन्; सबैले जीवनलाई कदर गर्छन् र “खराब जीवन असल मृत्युभन्दा राम्रो हो” भन्‍ने सिद्धान्तलाई पछ्याउँछन्। तिनीहरूले आफ्नो चिहान देख्नेबित्तिकै, आँसु झार्छन्। गैरविश्‍वासीहरूका बीचमा बाँच्नु सजिलो छैन भन्‍ने कुरा मानिसहरूलाई अहिले थाहा भएको छ। यदि तँ आफ्नो क्षमताका आधारमा गरिमाका साथ जिउन र जीविकोपार्जन गर्न चाहन्छस् भने, त्यसो गर्ने कुनै उपाय छैन। क्षमताहरू भएर मात्र पर्याप्त हुँदैन; सफल हुनका लागि तँ दुष्ट, खराब, र अपकारी पनि हुनुपर्छ। तँसँग के छ? कतिपय मानिसहरूले भन्छन्, “अहिले ममा अलिकति दुष्टता छ, तर पर्याप्त नृशंसता छैन।” त्यो सजिलो छ। आफूलाई “मासु पिस्ने मिलमा” राखिस् भने एक महिनाभन्दा पनि कम समयमा, तँ दुष्ट बन्‍नेछस्। यदि तँ असल व्यक्ति होस् भने, तिनीहरूले तँलाई मार्न चाहनेछन्; तैँले तिनीहरूलाई छोड्छस्, तर तिनीहरूले तँलाई छोड्नेछैनन्, त्यसकारण बाँच्नका लागि तैँले प्रतिकार गर्नुपर्छ। तँ एकपटक दुष्ट बनेपछि फर्कन सक्दैनस्, र तँ दियाबलस पनि बन्छस्। दुष्टता यसरी नै निर्माण हुन्छ। गैरविश्‍वासीहरूको संसार अत्यन्तै अँध्यारो र दुष्ट छ। मानिसहरू कसरी अन्धकार र दुष्टताको शैतानी प्रभावबाट उम्कन सक्छन्? तिनीहरूले मुक्ति पाउन सत्यता बुझ्नुपर्छ। अहिले तैँले परमेश्‍वरमा विश्‍वास गर्ने भएको हुनाले, यदि तँ मुक्ति पाउन र शैतानको प्रभावबाट स्वतन्त्र हुन चाहन्छस् भने, त्यो मामला सरल छैन। तैँले परमेश्‍वरमा समर्पित हुन सिक्‍नुपर्छ, तँमा परमेश्‍वरको डर मान्ने हृदय हुनुपर्छ, तैँले धेरै कुराहरू छर्लङ्ग देख्‍नुपर्छ, यसको साथै, तेरो आनीबानीका सिद्धान्तहरू एक हिसाबमा बुद्धिमानी हुनुपर्छ र अर्को हिसाबमा परमेश्‍वरलाई चिढ्याउने हुनु हुँदैन। यसको साथै, सधैँ ख्याति र प्राप्तिका लागि लागिपर्ने, वा हैसियतका फाइदाहरूका आनन्द निरन्तर उठाउन खोज्ने नगर्। पुग्दो खानेकुरा हुनु र भोकै नमर्नु नै पर्याप्त हुन्छ। तैँले परमेश्‍वरलाई प्रार्थना गर्नुपर्छ, यसरी अनुग्रह प्रदान गरियोस् भनेर अनुरोध गर्नुपर्छ, ताकि तैँले सुरक्षा पाउन सक्। यदि तैँले सधैँ अनर्गल चाहनाहरू पाल्छस् भने, त्यो उचित हुँदैन, र परमेश्‍वरले तेरा प्रार्थनाहरू सुन्नुहुनेछैन।

ख्रीष्टविरोधीहरूको दुष्ट प्रकृतिका बारेमा भन्दा, आज हामी मुख्य रूपमा तेस्रो प्रकटीकरणका बारेमा सङ्गति गरिरहेका छौँ, जुन ख्रीष्टविरोधीहरूले आराधना गर्ने कुरा हो। ख्रीष्टविरोधीहरू केको आराधना गर्छन्? (ज्ञान र सिकाइको।) ज्ञान र सिकाइ, र अर्को एउटा कुरा पनि छ—वरदानहरू। ज्ञान र सिकाइमा के-के समावेश हुन्छ? तिनमा संसारमा अध्ययन गरिने ती पुस्तकहरूमा पाइने कुराहरू समावेश हुन्छन्, ज्ञानसँग सम्बन्धित उद्योगहरूमा संलग्‍न भएर प्राप्त गरिएको अनुभव, साथै नैतिकता, मानवता, व्यवहार, र इत्यादिका सन्दर्भमा समाजमा प्रचार गरिने विभिन्‍न प्रतिबन्ध, नियम र प्रावधानहरू समावेश हुन्छन्। यसको साथै, तिनमा विज्ञानका विभिन्‍न क्षेत्रका ज्ञानहरू समावेश हुन्छन्। उदाहरणका लागि, कतिपय मानिसहरू परमेश्‍वरका वचनहरूमा उल्लेख गरिएको पुनर्जन्ममा विश्‍वास गर्दैनन्। तर यदि कुनै दिन वैज्ञानिक अनुसन्धानले मानिसमा आत्मा हुन्छ किनभने, मृत्युपछि, कुनै कुराले शरीर छोड्छ, र व्यक्तिको तौल निश्‍चित मात्रामा घट्छ, जुन सायद आत्माको तौल हुन सक्छ भनेर पत्ता लगायो भने, तिनीहरूले त्यसलाई विश्‍वास गर्न सक्छन्। परमेश्‍वरले चाहे जसरी बोल्नुभए पनि, तिनीहरूले विश्‍वास गर्दैनन्, तर वैज्ञानिकहरूले तौलका आधारमा कुनै कुराको मापन गर्नेबित्तिकै, तिनीहरूले विश्‍वास गर्छन्। तिनीहरूले विज्ञानमा मात्रै भरोसा गर्छन्। कतिपय मानिसहरू राष्ट्र, सरकार, र सान्दर्भिक जानकारी, सिद्धान्तहरू, र प्रसिद्ध व्यक्तिहरूले गरेका व्याख्यामा मात्रै विश्‍वास गर्छन्। तिनीहरू यी कुराहरूमा मात्रै भरोसा गर्छन्। तिनीहरू परमेश्‍वरका वचनहरू, शिक्षा, मार्गदर्शन, वा वाणीहरूलाई गम्भीरतापूर्वक लिँदैनन्। तर तिनीहरूले कोही प्रख्यात व्यक्तित्वले बोलेको सुन्नेबित्तिकै, तुरुन्तै उसलाई स्वीकार गर्छन् र आराधना समेत गर्छन् र उसको कुरा फैलाउँछन्। उदाहरणका लागि, परमेश्‍वरले मानिसहरूका लागि हरेक दिन झार्नुहुने मन्‍न भण्डारण गर्न सकिँदैन र भोलिपल्ट खानु हुँदैन किनभने त्यो ताजा हुँदैन भनेर भन्‍नुभएको थियो, तर तिनीहरूले परमेश्‍वरका वचनहरूमा विश्‍वास गरेनन्। तिनीहरूले यसो सोचे, “परमेश्‍वरले मन्‍न पठाउनुभएन, अनि हामी भोकै बस्‍नुपर्‍यो भने के गर्ने?” त्यसकारण, तिनीहरूले यसलाई सङ्कलन गर्ने र भण्डारण गर्ने उपाय फेला पारे। परमेश्‍वरले दोस्रो दिन मन्‍न पठाउनुभयो, र तिनीहरूले यसलाई सङ्कलन गरिरहे। तेस्रो दिनमा परमेश्‍वरले मन्‍न पठाउनुभयो, र तिनीहरूले सङ्कलन गरिरहे। परमेश्‍वरले हरेक दिन एउटै वचन बोल्नुहुन्थ्यो, र तिनीहरूले निरन्तर परमेश्‍वरले तिनीहरूलाई दिनुभएको निर्देशन विरुद्ध काम गर्थे। तिनीहरूले कहिल्यै पनि परमेश्‍वरका वचनहरूमा विश्‍वास गरेनन् वा ती सुनेनन्। एक दिन, एउटा वैज्ञानिकले अनुसन्धान गऱ्यो र भन्यो, “यदि मन्‍न उही दिन खाइएन र भोलिको दिनका लागि राखियो भने, बाहिरबाट ताजा देखिए पनि, त्यसमा ब्याक्टेरियाहरू हुन्छन् जसलाई खाइयो भने पेटको रोग लाग्न सक्छ।” त्यस दिनदेखि, तिनीहरूले सङ्कलन गर्न छोडे। तिनीहरूका लागि, एक जना वैज्ञानिकको एउटा वाक्य परमेश्‍वरका दश वटा वाक्यहरूभन्दा बढी हुन्छ। के यो दुष्ट कुरा होइन र? (हजुर, हो।) तिनीहरूले परमेश्‍वरका वचनहरू सत्यता हुन् भनेर मौखिक रूपमा स्वीकार गरे, र परमेश्‍वरलाई स्वीकार गरे, परमेश्‍वरलाई पछ्याए, र परमेश्‍वरबाट आशिष्‌हरू प्राप्त गर्न चाहे। सँग-सँगै, तिनीहरूले परमेश्‍वरले दिनुभएको अनुग्रह र आशिष्‌हरूको आनन्द उठाउँथे, परमेश्‍वरको हेरचाह र सुरक्षामा रमाउँथे, तर त्यस बाहेक, तिनीहरूले परमेश्‍वरले भन्‍नुभएको कुराको एउटा वाक्य पनि सुन्दैनथिए, उहाँले तिनीहरूलाई जे गर्ने निर्देशन दिनुहुन्थ्यो, आज्ञा दिनुहुन्थ्यो, वा अह्राउनुहुन्थ्यो त्यसको एउटा वाक्य पनि सुन्दैनथिए। यदि अख्तियार र पद भएको ज्ञानी र शिक्षित व्यक्तिले कुनै कुरा भन्यो वा गलत तर्क बतायो भने, त्यो सही भए पनि वा गलत भए पनि, तिनीहरूले त्यसलाई तुरुन्तै स्वीकार गर्थे। के भइरहेको छ? यो दुष्ट, अत्यन्तै दुष्ट कुरा हो! उदाहरणका लागि, मैले कतिपय मानिसहरूलाई अण्डासँग सुठुनी नखानू, किनभने यसले शरीरमा खाद्यविष पैदा गर्न सक्छ भनेर भनेको थिएँ। मेरो अभिव्यक्ति केमा आधारित छ? मैले यी कुराहरू बनाएर भनिरहेको छैनँ; मानिसहरूले एकै पटकमा यी दुवै खानेकुरा खाएका कारण शरीरमा खाद्यविष पैदा भएका घटनाहरू घटेका छन्। यो सुनेपछि, सामान्य व्यक्तिले कस्तो प्रतिक्रिया दिनेथियो? उसले सोच्नेथियो, “भविष्यमा, सुठुनी हुँदाहुँदै म अण्डा खानेछैनँ, कम्तीमा पनि अबको दुई-तीन घण्टाभित्र अण्डा खानेछैनँ।” उसले यसलाई गम्भीरतापूर्वक लिनेथियो र आफ्नो खाने बानीलाई परिवर्तन गर्नेथियो। तैपनि, कतिपय मानिसहरूले यो कुरालाई विश्‍वास गर्नेथिएनन्। तिनीहरूले यसो भन्नेथिए, “अण्डा र सुठुनी सँगै खाँदा खाद्यविष हुन्छ रे? त्यो असम्भव कुरा हो। म ती सँगै खानेछु, र मलाई खाद्यविष हुन्छ कि हुँदैन देख्‍नुहुनेछ!” यो कस्तो व्यक्ति हो? (दुष्ट।) मलाई यो व्यक्ति अलिक खराब लाग्यो! म यो कुरा भन्छु, र ऊ ती सँगै खान्छु भनेर जिद्दी गर्छ; के यो खराब कुरा होइन र? उसले विशेष गरी ठीक, सही, र सकारात्मक कुराको विरोध गर्छ, त्यसविरुद्ध प्रतिस्पर्धा गर्छ, र सङ्घर्ष गर्छ—यो दुष्टता हो। भ्रष्ट मानवताले दुष्टता र शक्तिलाई कदर गर्छ। दियाबलसहरू र शैतानहरूले चाहे जुनसुकै गलत तर्क अघि सारे पनि, मानिसहरूले यसलाई विनाप्रश्‍न स्वीकार गर्न सक्छन्, जबकि परमेश्‍वरले धेरै सत्यताहरू व्यक्त गर्नुहुन्छ, तर मानिसहरू ती स्वीकार गर्न अनिच्छुक हुन्छन् र धेरै धारणाहरू समेत निर्माण गर्छन्। अर्को उदाहरण हेरौँ। संयुक्त राज्य अमेरिकाका धेरै ग्रामीण क्षेत्रमा, आदिम वनहरू छन् जहाँ प्रायजसो जङ्गली जनावरहरू घुमफिर गर्छन्। बाहिर जाँदा साथी लिएर जानु उचित हुन्छ, र आवश्यक नभएसम्म राती बाहिर नजानु नै राम्रो हुन्छ। यदि बाहिर जानुपर्‍यो भने, तैँले सावधानी अपनाउनुपर्छ, कसैसँग जानुपर्छ, वा आत्म-रक्षाका हतियार बोक्‍नुपर्छ—पछि पछुताउनुभन्दा सुरक्षाको उपाय अपनाउनु नै राम्रो हुन्छ। कतिपय मानिसहरू भन्छन्, “केही हुँदैन; परमेश्‍वरले मलाई रक्षा गर्नुहुनेछ।” के यो परमेश्‍वरलाई जाँच्नु होइन र? मानिसहरूले यी सावधानीहरू अपनाउनुपर्छ। तँसँग दिमाग, हृदय, र आत्मा छ, र पनि किन तँ परमेश्‍वरले दिनुहुने सुरक्षामा जोड दिन्छस्? परमेश्‍वरलाई नजाँच्। आफूले गर्नुपर्ने कुरा गर्। यदि संयोगवस तैँले चार-पाँच जनाको समूहले पनि सम्हाल्न नसक्‍ने आक्रामक जङ्गली जनावरको सामना गरिस् भने पनि तँ बाँच्न सक्छस्—त्यो परमेश्‍वरको सुरक्षा हो। कतिपय मानिसहरूले साँच्‍चै ब्वाँसा देखेका छन् र ब्वाँसा र भालु कराएको सुनेका छन्, जसले यी जङ्गली जनावरहरूको अस्तित्वलाई पुष्टि गर्छ। त्यसकारण, जब म राती बाहिर नजानू किनभने जङ्गली जनावरहरूसँग सजिलै जम्काभेट हुन सक्छ भनेर भन्छु, तब के मैले कुरा बनाएर यसो भनिरहेको हुन्छु? (होइन।) मैले मानिसहरूलाई तर्साउने प्रयास गरिरहेको हुँदिनँ। यो सुनेपछि कतिपय मानिसहरूले यसो भन्छन्, “म अझै सावधान हुनुपर्छ। कतै जङ्गली जनावरसँग जम्काभेट पो भइहाल्छ कि भनेर म बाहिर जाँदा साथी लानेछु, वा आत्म-रक्षाको हतियार बोक्नेछ।” कतिपय मानिसहरूले यो सुनेपछि, यसलाई गम्भीरतापूर्वक लिन्छन्, विश्‍वास गर्छन् र स्वीकार गर्छन्, त्यसपछि मैले भनेको कुरा अभ्यास गर्नतिर लाग्छन्। यो सरल स्वीकार हो; यो कार्य योभन्दा सजिलो हुन सक्दैन। तर, सुन्न नमान्ने निश्‍चित प्रकारको व्यक्ति पनि हुन्छ। उसले भन्छ, “मैले किन कहिल्यै पनि जङ्गली जनावर देखेको छैनँ? तिनीहरू कहाँ छन्? कुनै एउटा बाहिर आओस् त; म त्यसको सामना गर्नेछु र को बढी आक्रामक रहेछ हेर्नेछु। जङ्गली जनावरका बारेमा यति डरलाग्दो कुरा के छ? तिमीहरू सबै कम आस्था भएका डरपोकहरू हौ। मेरो आस्था हेर; मलाई भालुहरूसँग डर लाग्दैन!” ऊ जानी-जानी एकलै बाहिर जान्छ, र कुनै कारणविना हिँड्न जान्छ। खाना खाएपछि, उसलाई बाहिर हिँड्न जानुपर्छ र ऊ एकलै जाने जिद्दी गर्छ। अरूले आफूसँग साथी लिएर जानू भनेर सुझाव दिँदा, उसले जवाफ दिन्छ, “पर्दैन, मलाई किन साथी चाहियो? साथी छ भने म नालायक देखिनेछु! म आफै बाहिर जानेछु!” तिनीहरूले यो कुरा जाँचेर हेर्नुपर्छ। यो कस्तो व्यक्ति हो? तिनीहरूले जङ्गली जनावरहरूको सामना गर्छन् कि गर्दैनन् भन्‍ने बारेमा कुरा समेत नगरौँ; के त्यस्ता मामलाहरूप्रति तिनीहरूको मनोवृत्ति समस्याग्रस्त छैन र? (हजुर, छ।) समस्या के हो? (त्यस्तो व्यक्तिको स्वभाव दुष्ट हुन्छ।) तँ तिनीहरूलाई गम्भीर कुराहरूका बारेमा बताउने प्रयास गर्छस्, र तिनीहरू त्यसलाई एउटा ठट्टाका रूपमा लिन्छन्। के त्यस्ता मानिसहरूसँग कुरा गर्नुको कुनै अर्थ हुन्छ? यस्ता मानिसहरू पशुहरूभन्दा खराब हुन्छन्; तिनीहरूसँग झमेला लिनु आवश्यक छैन।

भर्खरै, हामीले ख्रीष्टविरोधीहरूको दुष्ट स्वभाव भएका मानिसहरू ज्ञान, सिकाइ, वरदान, र निश्‍चित प्रकारका विशेष प्रतिभाप्रति विशेष रूपमा संवेदनशील हुन्छन्; तिनीहरूले विशेष प्रतिभा भएका मानिसहरूलाई विशेष रूपमा कदर र सम्‍मान गर्छन्; र त्यस्ता मानिसहरूले भनेको कुराप्रति तिनीहरूले पूर्ण रूपमा कदर देखाउँछन् र आज्ञाकारी हुन्छन् भन्‍ने तथ्यका बारेमा कुरा गर्‍यौँ। सामान्य ज्ञान, अन्तर्ज्ञान, र साँचो सिकाइ, जुन मानिसहरूका लागि फाइदाजनक हुन्छ र जुन सामान्य मानवता भएका मानिसहरूसँग हुनुपर्छ, तीप्रति वा सामान्य मानव सोचाइबाट बुझिने व्यावहारिक र सकारात्मक कुराहरूप्रति तिनीहरूको मनोवृत्ति कस्तो हुन्छ? तिनीहरूले ती कुरालाई तिरस्कार गर्छन्, र कुनै ध्यान दिँदैनन्। हरेक पटक भेलाहरूमा यी वचन र सत्यताहरूका बारेमा सङ्गति गरिँदा, तिनीहरू के गरिरहेका हुन्छन्? तिनीहरू टाउको कन्याउँछन्, कतिले आँखा आधा बन्द गर्छन्, बोधो र मूर्ख देखिन्छन्, र कति जना सोचमा हराएझैँ देखिन्छन्। परमेश्‍वरको घरले अत्यन्तै गम्भीर कुराहरूका बारेमा जति धेरै छलफल गर्छ, तिनीहरूलाई त्यति कम रुचि हुन्छ। यसले सत्यताका बारेमा जति सङ्गति गर्छ, तिनीहरू त्यति नै उम्छन् र तिनीहरूलाई त्यति नै निद्रा लाग्छ। यी मानिसहरूलाई सत्यताप्रति पटक्‍कै रुचि हुँदैन भन्‍ने कुरा स्पष्ट छ। के यी अविश्‍वासीहरू छुटकारा दिन नसकिने मानिसहरू होइनन् र? धर्ममा छँदा कतिपय मानिसहरूलाई अरूले अन्य भाषामा बोलेको सुन्दा वा अनौठा कुराहरू देख्दा मात्र आनन्द लाग्थ्यो, र अचम्‍मका कुराहरू देख्दा तिनीहरू उत्साहित हुन्थे। कतिपय मानिसहरूले मलाई देख्दा, यसो भन्‍न मन पराउँछन्, “मसँग स्नातक डिग्री छ र मेरो मुख्य विषय दर्शनशास्त्रमा थियो। तपाईँले के अध्ययन गर्नुभयो?” म भन्छु, “मैले कुनै निश्‍चित विषय अध्ययन गरिनँ; म केही अक्षरहरू बुझ्न र पुस्तकहरू पढ्न मात्रै सक्छु।” तिनीहरू भन्छन्, “त्यसोभए, तपाईँ मापदण्डको स्तरमा हुनुहुन्‍न।” म भन्छु, “त्यसोभए, यसको तुलना गर्नु व्यर्थ छ, तर हामी अलिकति सङ्गति गरौँ—के तँसँग कुनै वर्तमान कठिनाइहरू छन्?” तिनीहरूले कस्तो प्रतिक्रिया दिन्छन्? “हँ, मसँग के कठिनाइहरू छन् र? मलाई कुनै पनि कठिनाइ छैन। म आफ्नो कर्तव्य निकै राम्ररी पूरा गरिरहेको छु!” तिनीहरूसँग सत्यताबारे सङ्गति गर्दा, तिनीहरूले रुचि गुमाउँछन्, भूत लागेको जस्तै हाइ काड्छन् र आँसु बगाउँछन्। यदि मैले तिनीहरूको भ्रष्ट स्वभाव खुलासा गरेँ भने, तिनीहरू त्यस उप्रान्त सुन्न चाहँदैनन्, र खुरुक्क आफ्नो कप बोकेर हिँड्छन्। मैले तिनीहरूसँग जति मिल्ने र समान स्तरमा रहेर कुराकानी गर्ने प्रयास गर्छु, तिनीहरूले मलाई त्यति नै हेयको दृष्टिले हेर्छन्। के यो सद्भावलाई बुझ्न नसक्नु होइन र? सवारी चलाउन सक्‍ने एक जना व्यक्ति थियो। मैले सोधेँ, “तैँले कति वर्षदेखि सवारी चलाइरहेको छस्?” उसले भन्यो, “मैले कलेजबाट स्नातक गरेपछि दुई वर्ष काम गरेँ, त्यसपछि एउटा कार किनेँ।” मैले भनेँ, “त्यसोभए, तैँले धेरै वर्षदेखि सवारी चलाइरहेको छस्। मलाई अझै पनि सवारी चलाउन आउँदैन।” के यसो भन्‍नु पनि एक-अर्कासँग समान रूपमा मिल्नु होइन र? के यो सामान्य मानवता भएका मानिसहरूको कुराकानी होइन र? (हजुर, हो।) यो सुनेपछि, उसले भन्यो, “हो र? तपाईँलाई अझै पनि सवारी चलाउन आउँदैन? त्यसोभए तपाईँ के गर्न सक्नुहुन्छ?” मैले भनेँ, “म त्यति धेरै गर्न सक्दिनँ। मलाई कारमा बस्न मात्र आउँछ।” मैले उसलाई सोधेँ, “तैँले अहिले कुन कर्तव्य पूरा गरिरहेको छस्?” उसले भन्यो, “म वित्त र लेखा क्षेत्रमा काम गर्छु। मेरो दिमाग अङ्कहरूले भरिएको छ। कलेजमा, म गणितमा उत्कृष्ट थिएँ र विज्ञानमा सबैभन्दा अगाडि थिएँ। मैले त सिनहुवा वा बेइजिङ विश्‍वविद्यालयमा अध्ययन गर्न पाउने सम्भावना थियो।” मैले भनेँ, “म गणितमा निकै कमजोर छु। अङ्कहरू देख्दा मलाई टाउको दुख्छ। म शब्दहरू अध्ययन गर्न, शब्दावली सिक्‍न, र त्यस्तै कुराहरू रुचाउँछु।” उसले भन्यो, “त्यो सिक्‍नु त व्यर्थ हुन्छ। मानविकी र सामाजिक विज्ञान अध्ययन गर्ने मानिसहरूको सामान्यतया कुनै भविष्य हुँदैन।” उसले के भन्यो, हेर त। के त्यसमा कुनै सामान्य मानव समझ छ? (अहँ, छैन।) जब मैले ऊसँग यस्तो शान्त र मैत्रीपूर्ण शैलीमा कुरा गरेँ र अन्तरक्रिया गरेँ, तब उसले उक्त मामलालाई सही रूपमा लिन सकेन। बरु, उसले मलाई हेला गरेर होच्यायो। यदि उसले हैसियत वा ज्ञान भएको व्यक्ति भेटेको भए, अवस्था फरक हुन सक्थ्यो। सँगै केही समय बिताएपछि, उसले यस्तो महसुस गर्न थाल्नेथियो, “मैले परमेश्‍वरलाई चिनेको छु, उहाँसँग कुराकानी गरेको छु, र उहाँसँग व्यवहार गरेको छु।” उसले अब केही पूँजी पाएको छु भन्‍ने सोच्नेथियो। परिणाम स्वरूप, उसको बोल्ने शैली परिवर्तन हुनेथियो। एक पटक, मैले उसलाई सोधेँ, “मैले त कसैले उप्रान्त आफ्नो कर्तव्य पूरा गर्न नचाहेको र घर जान चाहेको कुरा सुनेको थिएँ। के त्यो व्यक्ति घर गयो?” उसले भन्यो, “ए, त्यो व्यक्ति? उसले कहिल्यै घर जाने अभिप्राय राखेको नै थिएन!” यो कस्तो बोल्ने शैली हो? के त्यो परिवर्तन भयो? मैले उसलाई पहिलो पटक भेट्दा, उसलाई म कस्तो छु बुझ्न सक्दिनँ भन्‍ने लागेको थियो: उसले सम्मानजनक व्यवहार गर्थ्यो र आफूलाई लुकाएर असल व्यवहार गर्थ्यो। अहिले ऊ अलिक परिचित भएको हुनाले, उसको दुस्साहस बढेको छ। यो कस्तो शैली हो? उसले मसँग बोल्दा आफूमा अलिक अनाज्ञाकारीता, जिद्दीपन, बेवास्ता, र हेला गर्ने अनि निन्दापूर्ण मनोवृत्ति अपनाउँछ। यो कस्तो स्वभाव हो? यो दुष्टता हो। के यो सामान्य मानवता भएको व्यक्ति हो? (अहँ, होइन।) साधारण र सामान्य व्यक्तिले सामान्य रूपमा नै तँसँग कुराकानी गर्न र बोल्‍न सक्छ—यो सबैभन्दा सामान्य कुरा हो। यदि उसले तँलाई हेप्छ, दमन गर्छ, वा हेला गर्छ भने, तँलाई कस्तो महसुस हुन्छ? के तँलाई यसरी व्यवहार गर्दा तिनीहरूले कुनै सामान्य मानवता देखाउँछन्? मलाई भन्, यदि यस्तो व्यक्तिले संसारको प्रसिद्ध व्यक्ति, हैसियत र प्रतिष्ठा भएको व्यक्ति, वा उसको मालिक वा वरिष्ठलाई भेट्यो भने, के उसले तिनीहरूसँग यसरी कुरा गर्ने आँट गर्नेथियो? आँट गर्नेथिएन। ऊ तत्परताका साथ लम्पसार पर्नेथियो, र आफूलाई जनाउन र यी मानिसहरूसँग कुरा गर्नका लागि अप्रधान, अनुचर, सेवक, विनम्र व्यक्ति, साधारण व्यक्ति, वा निम्नवर्गीय जस्ता पदवी नामहरू लिनेथियो। गैरविश्‍वासीहरूका बीचमा, शीर्ष अधिकारीहरूले आफूभन्दा तल्लो स्तरका मानिसहरूलाई कुल्चीमिल्ची गर्छन्, र तँ जस्तो व्यर्थको व्यक्तिसँग शान्त र मैत्रीपूर्ण शैलीमा कसले कुराकानी गर्नेथियो र? तिनीहरू खुशी हुँदा कहिलेकहीँ तँसँग कुरा गरे पनि, तिनीहरूले तेरो कुनै ख्याल गर्दैनन्; तिनीहरूले तँलाई कुनै कारणविना लात हान्दै तँसँग मानवभन्दा तल्‍लो स्तरको प्राणीका रूपमा व्यवहार गर्छन्। जब म त्यस व्यक्तिसँग शान्त र मैत्रीपूर्ण शैलीमा बोल्छु र कुराकानी गर्छु, तब मैले सकारात्मक प्रतिक्रिया प्राप्त गर्न नसक्‍ने मात्र होइन, तर मैले तिरस्कार, हेला, गिल्ला, र उपहास पनि सामना गर्छु। त्यो व्यक्तिसँग अन्तरक्रिया गर्ने मेरो शैलीमा केही खराबी भएकोले यस्तो भएको हो कि उसको स्वभावमा समस्या भएकोले हो? (त्यो व्यक्तिको स्वभाव अत्यन्तै अहङ्कारी भएकोले हो।) ठीक भन्यौ, मैले पनि त्यस्तै सोचिरहेको छु। म सबैसँग एउटै तरिकाले व्यवहार गर्छु, त्यसोभए किन कतिपयले सही प्रतिक्रिया दिन्छन्, जबकि अरूले दिँदैनन्? मानिसहरूलाई सामान्यतया दुई वर्गमा विभाजन गर्न सकिन्छ: कसरी अरूलाई सम्मान गर्ने, परमेश्‍वरसँगको तिनीहरूको सम्बन्धलाई बुझ्ने, र तिनीहरू को हुन् भन्‍ने कुरा जान्ने मानवता भएका मानिसहरू, र आत्मज्ञान नभएका दुष्ट र अहङ्कारी मानिसहरू। मलाई भन्, मानव छाला ओढेको तर आफू को हुँ भनेर समेत नचिन्‍ने कुरालाई के भनिन्छ? त्यो एउटा चेतना नभएको पशु हो। अर्को पटक, मैले उसलाई सोधेँ, “मैले केही दिन पहिले तँलाई सम्हाल्न निर्देशन दिएको मामला कस्तो भयो? के तैँले ती कुराहरू सम्हालिस्?” उसले भन्यो, “तपाईँ के कुरा गरिरहनुभएको छ?” मैले भनेँ, “ती एक-दुई वटा कुरा, के तिमीहरूले त्यसलाई सम्हाल्यौ? के ती कुरा समाधान भए?” मैले उसलाई दुई पटक सम्झाएँ, र उसले बल्ल सम्झ्यो, “ए, तपाईँले ती कुराहरूका बारेमा पो भन्‍नुभएको हो? ती त धेरै पहिले नै समाधान भइसके” पहिलो शब्द, “ए” ले कस्तो शैली व्यक्त गर्छ? यो फेरि पनि तिरस्कारको शैली हो, उसको दियाबलस प्रकृति फेरि देखा पर्‍यो। उसको प्रकृति अपरिवर्तित नै रह्यो; ऊ यस्तै प्रकारको दुष्ट व्यक्ति हो। मैले उसलाई उसले कसरी यसलाई सम्हाल्यो भनेर सोधिरहेँ, र उसले थप विवरणहरू नदिई, “केही मानिसहरूले यसलाई हेरेर त्यसरी नै सम्हाले” भनेर प्रतिक्रिया दियो। यदि मैले थप विवरणहरू सोध्‍ने प्रयास गरेको भए, ती कुराहरू तोकेर सोधे पनि, मैले केही पत्ता लगाउनेथिइनँ। मैले उसलाई एउटा कार्य सम्हाल्ने निर्देशन दिएको थिएँ; के मलाई जानकारी लिने अधिकार छैन र? (छ।) त्यसोभए, उसको जिम्मेवारी के थियो? काम मबाट आएको भनी स्विकारेपछि, के उसले यसलाई कसरी सम्हाल्यो भनेर रिपोर्ट गर्नु पर्दैनथियो र? (पर्थ्यो।) तर उसले रिपोर्ट गरेन, र मैले त्यस अवधिमा कुनै पनि जानकारी प्राप्त गर्न सकिनँ। मैले यो मामला कसरी सम्हालियो भनेर सोधपुछ गर्न कसैलाई पठाउन मात्रै सकेँ, तर पनि, कुनै प्रतिक्रिया आएन। मैले मनमनै सोचेँ, “ठीक छ, म तँलाई सम्झनेछु। तँ भरपर्दो छैनस्। म तँलाई कुनै कुरा सुम्पन सक्दिनँ। तँमा विश्‍वासयोग्यताको धेरै कमी छ!” यो कस्तो दियाबलस हो? त्यस्तो व्यक्तिको स्वभाव कस्तो हुन्छ? दुष्टता। जब तैँले ऊसँग समान रूपमा व्यवहार गर्छस्, शिष्टताको साथ छलफल गर्छस्, र मित्रवत् व्यवहार गर्ने प्रयास गर्छस्, तब उसले यसलाई कसरी लिन्छ? उसले यसलाई तेरो अयोग्यता र कमजोरीका रूपमा हेर्छ, तँलाई झट्टै दबिने व्यक्तिका रूपमा हेर्छ। के यो दुष्टता होइन र? (हजुर, हो।) यो पूर्ण दुष्टता हो। यस्ता दुष्ट व्यक्ति व्यापक नभए पनि, तिनीहरू हरेक मण्डलीमा हुन्छन्। तिनीहरूको हृदय कठोर, अहङ्कारी, सत्यताप्रति वितृष्ण हुन्छ, र तिनीहरूको स्वभाव क्रूर हुन्छ। यी स्वभाव र व्यवहारहरूले नै यस्ता मानिसहरू दुष्ट हुन् भन्‍ने पुष्टि गर्छन्। तिनीहरूलाई दया, सहनशीलता, धैर्यता, र प्रेम जस्ता सामान्य मानवताका सकारात्मक पक्षहरू मन नपर्ने मात्र होइन, तर यसको विपरीत तिनीहरूले हृदयमा भेदभाव र अवहेलना पालेर बस्छन्। त्यस्ता मानिसहरूको हृदयको गहिराइमा के हुन्छ? दुष्टता। तिनीहरू अत्यन्तै दुष्ट हुन्छन्! यो ख्रीष्टविरोधीहरूको दुष्टताको अर्को प्रकटीकरण हो।

आज, ख्रीष्टविरोधीहरूका दुष्ट प्रकटीकरणहरूका बारेमा रहेको हाम्रो सङ्गतिको विषयवस्तु अघिल्ला दुई वटा सङ्गतिको भन्दा अलिक फरक छ, र हरेकले एउटा पक्षलाई जोड दिन्छ। मलाई भन्, ख्रीष्टविरोधीहरूको हृदयको गहिराइमा, तिनीहरू ज्ञान, सिकाइ, वरदान, र विशेष प्रतिभाहरूलाई कदर गर्छन्—तिनीहरू यी कुराहरूप्रति गहिरो सम्मान महसुस गर्छन्—त्यसोभए, के तिनीहरूमा परमेश्‍वरप्रति साँचो आस्था हुन्छ? (अहँ, हुँदैन।) कतिपयले समय बित्दै जाँदा तिनीहरू परिवर्तन हुन सक्छन् भनेर भन्‍न सक्छन्। के तिनीहरू परिवर्तन हुनेछन्? अहँ, हुनेछैनन्, सक्दैनन्। परमेश्‍वरको नम्रता र गुप्तता, उहाँको साँचो प्रेम, उहाँको विश्‍वसनीयता, र मानवजातिप्रति उहाँको कृपा र हेरचाहलाई तिरस्कार गर्ने स्वभाव तिनीहरूको प्रकृतिमा हुन्छ। अरू के छ? तिनीहरू मानिसहरूका बीचमा जिउनुहुने परमेश्‍वरको सामान्यता र व्यावहारिकतालाई तिरस्कार गर्छन्, र अझै बढी, ज्ञान, सिकाइ, विज्ञान, र वरदानहरूसँग कुनै प्रसङ्ग नजोडिएका सबै सत्यताहरूलाई हेला गर्छन्। के त्यस्ता मानिसहरूलाई मुक्ति दिन सकिन्छ? (अहँ, सकिँदैन।) तिनीहरूले किन मुक्ति पाउन सक्दैनन्? किनभने यो कुनै भ्रष्ट स्वभावको क्षणिक प्रकटीकरण होइन; यो तिनीहरूको प्रकृति सारको प्रकटीकरण हो। अरूले तिनीहरूलाई जसरी सल्लाह दिए पनि वा तिनीहरूलाई जति धेरै सत्यता सङ्गति गरे पनि, यीमध्ये कुनै पनि कुराले तिनीहरूलाई परिवर्तन गर्न सक्दैन। यो कुनै अस्थायी सौख होइन, तर यी कुराहरूका लागि तिनीहरूमा गहन रूपमा जरा गाडेर बसेको आवश्यकता हो। तिनीहरूलाई ज्ञान, सिकाइ, वरदान, र विशेष प्रतिभा चाहिने हुनाले नै, यसले तिनीहरूलाई यी कुराहरूलाई कदर गर्ने तुल्याउँछ। सम्मान भनेको के हो? यसको अर्थ यी कुराहरूलाई जुनसुकै मूल्य तिरेर पनि पछ्याउन र प्राप्त गर्न इच्छुक हुनु हो, कदर भनेको यही हो। यी कुराहरू प्राप्त गर्नका खातिर, तिनीहरू कष्ट सहन र कुनै पनि मूल्य चुकाउन इच्छुक हुन्छन्, किनभने यी तिनीहरूले सम्मान गर्ने कुराहरू हुन्। कतिपयले यसो समेत भन्छन्, “परमेश्‍वरले मलाई जेसुकै गर्न लगाउनु भए पनि ठीकै हुन्छ। परमेश्‍वरले मबाट सत्यता खोजी गर्ने माग नगर्नुभएसम्म, म परमेश्‍वरलाई सन्तुष्ट पार्न सक्छु।” तिनीहरू यसको आशा गर्छन्। यी मानिसहरूले कहिल्यै पनि परमेश्‍वरका वचनहरूलाई सत्यताका रूपमा स्वीकार गर्नेछैनन्; तिनीहरूले शान्त भएर प्रवचनहरू सुन्दै र परमेश्‍वरका वचनहरू पढ्दै बसे पनि, तिनीहरूले यी कुराहरूबाट प्राप्त गर्ने कुरा सत्यता हुँदैन। किनभने तिनीहरू सधैँ मानव धारणा र कल्पनाहरूसँग परमेश्‍वरका वचनहरूलाई मापन गर्छन्, ईश्‍वरशास्त्रीय ज्ञानको प्रयोग गरेर परमेश्‍वरका वचनहरू अध्ययन गर्छन्, जसले गर्दा तिनीहरूले सत्यता प्राप्त गर्नु असम्भव हुन्छ। तिनीहरूले परमेश्‍वरका वचनहरूबाट ज्ञान, सिकाइ, र कुनै प्रकारको जानकारी वा रहस्य प्राप्त गर्ने—तिनीहरूले तृष्णा गर्ने र खोजी गर्ने कुनै प्रकारको सिकाइ प्राप्त गर्ने आशा गर्छन्, जुन कुरा आम मानिसहरूलाई थाहा हुँदैन। मानिसहरूका निम्ति अज्ञात रहेको यो सिकाइ प्राप्त गरेपछि, तिनीहरू यसलाई प्रदर्शन गरेर हिँड्छन्, यो शिक्षा र ज्ञानले आफूलाई सुसज्जित तुल्याउने र देखावटी रूप निर्माण गर्ने आशा गर्छन् ताकि तिनीहरूले अझ सम्मानित र अझ भरिपूर्ण जीवन जिउन सकून्, मानिसहरूमाझ तिनीहरूको अझ बढी प्रतिष्ठा र हैसियत होस्, र तिनीहरूले मानिसहरूलाई तिनीहरूको झन्झन् बढी विश्‍वास गर्ने र आराधना गर्ने तुल्याउन सकून्। त्यसकारण, तिनीहरूले आफूले गरेका निश्‍चित महत्त्वपूर्ण कुराहरूका बारेमा, तिनीहरूले महिमामय ठानेका कुराहरूका बारेमा, साथै प्रभावशाली ठानेका कुराहरूका बारेमा अथक रूपमा धाक लगाउँछन्, र जसबारे तिनीहरू फाइँफुट्टी लाउन सक्छन् र जुन प्रयोग गरेर आफ्नो क्षमता र अद्वित्तियपन देखाउन सक्छन्। तिनीहरूले जहाँ गए पनि एउटै सिद्धान्त सङ्ग्रहको प्रचार गर्छन्। यी मानिसहरूले परमेश्‍वरका वचनहरू चाहे जसरी पढे पनि वा भेलाहरूमा जसरी सहभागिता जनाए पनि र प्रवचन सुने पनि, सत्यता बुझ्न सक्दैनन्। तिनीहरूले अलिकति सत्यता बोध गरे पनि, यसलाई पटक्‍कै अभ्यास गर्नेछैनन्। त्यस्ता मानिसहरूको सार यही हो, र यो कसैले पनि परिवर्तन गर्न नसक्ने कुरा हो। किनभने तिनीहरू अन्तर्निहित रूपमा नै त्यस्ता कुराले भरिएका हुन्छन् जुन अरूसँग हुँदैन, र तिनीहरूले प्रेम गर्ने कुरा तिनीहरूको दुष्ट सारसँग सम्बन्धित हुन्छ—यो तिनीहरूको घातक कमजोरी हो। तिनीहरूले सत्यतालाई स्वीकार नगर्ने, पावलको मार्ग पछ्याउने, र अन्त्यसम्म सत्यता र परमेश्‍वरको विरोध गर्ने नियति पाएका हुन्छन्। किन? किनभने तिनीहरू सत्यतालाई प्रेम गर्दैनन्; तिनीहरूले यसलाई कहिल्यै स्वीकार गर्नेछैनन्।

के तिमीहरूले ख्रीष्टविरोधीहरूको दुष्टता अनुभव गरेका छौ? के तिमीहरूका वरिपरि यस्ता मानिसहरू छन्? के तिमीहरू त्यस्ता मानिसहरूको सम्पर्कमा आएका छौ? हामीले किन धेरै भेलाहरूमा यस विषयमा छलफल गर्दै समय बिताएका छौँ? सामान्यतया, जब मानिसहरूले आफूलाई चिन्‍ने बारेमा कुरा गर्छन्, तब तिनीहरूले अहङ्कार, आत्म-धर्मीपन, र छलीपनका स्वभाव उल्लेख गरेको प्रायजसो सुन्छु। तैपनि, मानिसहरूले दुष्टताका बारेमा कुरा गरेको बिरलै सुनिन्छ। अहिले, हामीले दुष्ट स्वभावका बारेमा सङ्गति गर्ने क्रममा, म प्रायजसो मानिसहरूले कसैको स्वभाव दुष्ट छ भनेर भनेको सुन्छु। तिमीहरूले केही बुझाइ प्राप्त गरेका छौ जस्तो देखिन्छ। विगतमा, जब मानिसहरूले आफूलाई चिन्‍नेबारे कुरा गर्थे, तब तिनीहरूले सधैँ अहङ्कारको कुरा उठाउँथे। अहिले यसलाई हेर्दा, कुन स्वभावचाहिँ बढी गम्भीर छ, अहङ्कार कि दुष्टता? (दुष्टता।) ठीक भन्यौ। विगतमा, मानिसहरूले दुष्टताको समस्याको गम्भीरतालाई पहिचान गर्दैनथिए। वास्तवमा, दुष्टताको स्वभाव र सार अहङ्कारभन्दा पनि गम्भीर हुन्छ। यदि व्यक्तिको स्वभाव र प्रकृति सार अत्यन्तै दुष्ट छ भने, म तँलाई भन्छु, तँ तिनीहरूसँगको सम्पर्कबाट जोगिनुपर्छ—टाढा बस्। त्यस्ता मानिसहरू सही मार्गमा हिँड्नेछैनन्। दुष्ट मानिसहरूसँग सङ्गत गरेर र सम्पर्क कायम राखेर तैँले के-कस्ता फाइदाहरू प्राप्त गर्न सक्छस्? यदि कुनै फाइदाहरू छैनन्, तर तिनीहरूको दुष्टतालाई प्रतिरोध गर्न तँसँग “प्रतिवस्तु” छ भने, तैँले तिनीहरूसँग अन्तरक्रिया गर्न सक्छस्। के तँसँग यो सुनिश्‍चितता छ? (छैन।) यदि तँसँग यो सुनिश्‍चितता छैन भने तँ किन त्यस्ता मानिसहरूसँग अन्तरक्रिया गर्नबाट जोगिनुपर्छ? किनभने दुष्टताको पछाडि, अरू दुई वटा कुराहरू हुन्छन्—कपटीपन र छलीपन। सत्यताबारे बुझाइ नभएका र अनुभव र अन्तर्ज्ञान नभएका धेरैजसो मानिसहरू सहजै बहकाउमा पर्छन्। तँ तिनीहरूद्वारा वशमा मात्रै पारिन सक्छस्, र अन्त्यमा, तँ तिनीहरूको कैदी बन्छस्। तिनीहरूको कैदी दुई तरिकाले बन्‍ने सम्‍भावना हुन्छ: या त तैँले तिनीहरूलाई पराजित गर्न सक्दैनस्, र तँ हृदयमा विश्‍वस्त हुँदैनस्, तर बाध्यताले गर्दा, तँ तिनीहरूप्रति मौखिक रूपमा समर्पित हुनुपर्छ; वा, अर्को तरिका छ जसमा तँलाई तिनीहरूले पूर्ण रूपमा वशमा पार्छन्। किनभने ख्रीष्टविरोधीहरूको दुष्ट प्रकृतिमा मानिसहरूलाई अज्ञात रहेको केही कुरा हुन्छ: तिनीहरूले तँलाई तिनीहरूको कुरा सुन्न, ती ठीक, सही, र सकारात्मक छन् भनेर विश्‍वस्त तुल्याउनका लागि विभिन्‍न माध्यम, भाषण, विधि, रणनीति, तरिका, र गलत तर्कहरू प्रयोग गर्न सक्छन्, र तिनीहरूले दुष्कर्म गरे पनि, सत्यता सिद्धान्तहरू उल्लङ्घन गरे पनि, र भ्रष्ट स्वभावहरू प्रकट गरे पनि, अन्तमा, तिनीहरूले परिस्थितिलाई उल्ट्याइदिनेछन् र मानिसहरूलाई तिनीहरू सही छन् भन्‍ने सोच्न लगाउनेछन्। तिनीहरूमा यो क्षमता हुन्छ। यो क्षमता के हो? यो अत्यन्तै बहकाउने व्यक्ति बन्‍नु हो। यो तिनीहरूको दुष्टता हो, तिनीहरू अत्यन्तै बहकाउने व्यक्ति हुन्। तिनीहरूको हृदयमा, तिनीहरूले मन पराउने, नपराउने, वितृष्णा मान्‍ने, कदर र आराधना गर्ने कुराहरू निश्‍चित विकृत दृष्टिकोणहरूद्वारा निर्मित हुन्छन्। यी दृष्टिकोणहरूमा धेरै सिद्धान्तहरू हुन्छन्, जुन सबै सही जस्ता सुनिने गलत तर्कहरू हुन्छन् जसलाई साधारण मानिसहरूले खण्डन गर्न गाह्रो हुन्छ किनभने तिनीहरूले सत्यतालाई पटक्‍कै स्वीकार गर्दैनन् र आफ्ना गल्तीहरूका लागि परिष्कृत तर्कहरू समेत प्रस्तुत गर्न सक्छन्। सत्यता वास्तविकताविना, तैँले तिनीहरूलाई सत्यता सङ्गति गरेर विश्‍वस्त पार्न सक्दैनस्। अन्तिम परिणाम के हुन्छ भने तिनीहरूले खोक्रा सिद्धान्तहरू प्रयोग गरेर तेरो खण्डन गर्छन्, तँलाई निःशब्द बनाउँछन्, र बिस्तारै तँ तिनीहरूको अधीनमा पर्छस्। त्यस्ता मानिसहरूको दुष्टता तिनीहरू अत्यन्तै बहकाउने किसिमका छन् भन्‍ने तथ्यमा निहित हुन्छ। स्पष्ट रूपमा नै, तिनीहरू केही पनि होइनन् र आफूले पूरा गर्ने हरेक कर्तव्यमा तिनीहरूले गडबड गर्छन्; तैपनि, अन्तमा, तिनीहरूले अझै पनि कतिपय मानिसहरूलाई बहकाएर तिनीहरूको आराधना गर्ने तुल्याउन, तिनीहरूको पाउमा “घुँडा” टेकाउन, र तिनीहरूप्रति आज्ञाकारी बनाउन सक्छन्। यस्तो व्यक्तिले गलतलाई सही, कालोलाई सेतोमा रूपान्तरित गर्न सक्छ। उसले सत्य र झूटलाई उल्ट्याउन, आफूले गरेका गलत कुराहरूको दोष अरूको काँधमा हालिदिन, र अरूका असल कार्यहरूका श्रेय लिन सक्छ, मानौँ त्यो श्रेय उसको आफ्‍नै हो। समय बित्दै जाँदा, तँ अन्योलमा पर्छस्, र ऊ साँचो रूपमा को हो भन्‍ने तँलाई थाहा हुँदैन। उसको बोलीवचन, व्यवहार, र रूपलाई मूल्याङ्कन गर्दा, तैँले यस्तो सोच्न सक्छस्, “यो व्यक्ति असाधारण छ; ऊसँग हाम्रो तुलना हुन सक्दैन!” के यो बहकाउमा पर्नु होइन र? तँ जुन दिन बहकाउमा पर्छस् त्यही दिन खतरामा पर्छस्। के अरूलाई बहकाउने यस्तो व्यक्ति अत्यन्तै दुष्ट हुँदैन र? उसको कुरा सुन्‍ने जोकोही व्यक्ति बहकाउ र बाधामा पर्न सक्छ, र उसलाई सामान्य हुन केही समयसम्म गाह्रो हुन्छ। कतिपय दाजुभाइ-दिदीबहिनीहरूले उसलाई चिन्‍न सक्छन् र ऊ बहकाउने व्यक्ति हो भन्‍ने देख्‍न सक्छन्, उसलाई खुलासा र इन्कार गर्न सक्छन्, तर बहकाउमा परेका अरूले यसो भन्दै उसको प्रतिरक्षा समेत गर्न सक्छन्, “होइन, परमेश्‍वरको घरले उसलाई अनुचित व्यवहार गरिरहेको छ; म उसको पक्षमा खडा हुनुपर्छ।” यहाँ समस्या के हो? स्पष्ट रूपमा नै, तिनीहरू बहकाउमा परेका हुन्छन्, तैपनि तिनीहरूले आफूलाई बहकाउने व्यक्तिको प्रतिरक्षा गर्छन् र उसलाई सही साबित गर्छन्। के यिनीहरू परमेश्‍वरमा विश्‍वास गर्ने तर एउटा मानवलाई पछ्याउने मानिस होइनन् र? तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्छु भनेर दाबी त गर्छन्, तर किन तिनीहरूले यस व्यक्तिको यसरी आराधना गर्छन् र विशेष रूपमा प्रतिरक्षा गर्छन्? यदि तिनीहरूले यस्तो स्पष्ट कुरा पत्ता लगाउन सक्दैनन् भने, के तिनीहरू निश्‍चित हदसम्म बहकाउमा परेका हुँदैनन् र? ख्रीष्टविरोधीले मानिसहरूलाई यो हदसम्म बहकाएको हुन्छ कि तिनीहरू उप्रान्त मानव जस्तो देखिँदैनन् वा तिनीहरूलाई परमेश्‍वरलाई पछ्याउने मन हुँदैन; बरु, तिनीहरूले ख्रीष्टविरोधीको आराधना गर्छन् र उसलाई पछ्याउँछन्। के यी मानिसहरूले परमेश्‍वरलाई धोका दिइरहेका हुँदैनन् र? यदि तँ परमेश्‍वरमा विश्‍वास गर्छस्, तर उहाँले तँलाई प्राप्त गर्नुभएको छैन, र ख्रीष्टविरोधीले तेरो हृदय प्राप्त गरेको छ, र तँ उसलाई पूरै हृदयले पछ्याउँछस् भने, यसले प्रमाणित गर्छ कि उसले तँलाई परमेश्‍वरको घरबाट टाढा लगेको छ। तँ परमेश्‍वरको हेरचाह र सुरक्षाबाट, परमेश्‍वरको घरबाट टाढा गएपछि, ख्रीष्टविरोधीले तँसँग आफूले चाहे अनुसार चालबाजी गर्न र खेलबाड गर्न सक्छ। उसले तँलाई खेलाइसकेपछि, तँलाई उप्रान्त चाहनेछैन, र ऊ अरूलाई बहकाउने कार्यमा अघि बढ्नेछ। यदि तैँले उसको कुरा सुनिरहिस् र तँमा उसले फाइदा उठाउन सक्‍ने मूल्य छ भने, उसले तँलाई अझै केही समयका लागि पछ्याउन दिन सक्छ। तैपनि, यदि उसले उप्रान्त तँमा शोषण गर्न सकिने मूल्य छ भन्‍ने देख्‍न छोड्यो भने, यदि उसले उप्रान्त तेरो ख्याल गर्न छोड्यो भने, उसले तँलाई त्याग्‍नेछ। के तँ अझै पनि परमेश्‍वरमा विश्‍वास गर्न फर्केर आउन सक्छस्? (सक्दिनँ।) तैँले किन उप्रान्त फेरि विश्‍वास गर्न सक्दैनस्? किनभने तेरो प्रारम्भिक आस्था हराएको हुन्छ; यो बिलाएको हुन्छ। ख्रीष्टविरोधीहरूले यसरी नै मानिसहरूलाई बहकाउँछन् र हानि गर्छन्। जसरी शैतानले आदम र हव्वालाई बहकाएको थियो, त्यसरी नै तिनीहरू मानिसहरूले आराधना गर्ने ज्ञान र सिकाइ प्रयोग गरेर, साथै आफ्ना वरदानहरू प्रयोग गरेर मानिसहरूलाई बहकाउँछन् र नियन्त्रण गर्छन्। ख्रीष्टविरोधीको प्रकृति सार जस्तोसुकै भए पनि, उसले आफ्नो प्रकृति सारमा जे कुरालाई मन पराए पनि, घृणा गरे पनि, र कदर गरे पनि, एउटा कुरा निश्‍चित छ: उसले मन पराउने कुरा र मानिसहरूलाई बहकाउन प्रयोग गर्ने कुरा सत्यताको विरुद्धमा जान्छ, सत्यतासँग यसको कुनै सम्बन्ध हुँदैन, र यो परमेश्‍वरप्रति शत्रुवत् हुन्छ—यो कुरा निश्‍चित छ। यो कुरा याद गर: ख्रीष्टविरोधीहरू कहिल्यै पनि परमेश्‍वरसँग मिल्ने हुन सक्दैनन्।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्