अगुवा र कामदारहरूका जिम्मेवारीहरू (५) खण्ड दुई
परमेश्वरको घरले सबै प्रकारका प्रतिभावान् मानिसहरूको प्रवर्द्धन र संवर्धन गर्नुको उद्देश्य
यसपछि हामी परमेश्वरको घरले किन सबै प्रकारका प्रतिभावान् मानिसहरूको प्रवर्द्धन र संवर्धन गर्छ भन्नेबारे सङ्गति गर्नेछौँ। कतिपय मानिसहरूले यो त्यत्ति बुझ्दैनन्, र यस्तो सोच्छन्, “परमेश्वरको घरले विभिन्न प्रतिभावान् मानिसहरूलाई सिधै प्रवर्द्धन र प्रयोग गरे पर्याप्त हुने थिएन र? त्यसले किन तिनीहरूलाई केही समयसम्म संवर्धन गर्नु र तालिम दिनु पर्यो र?” तिमीहरू यो बुझ्छौ कि बुझ्दैनौ? सुरुमा, हामी त्यस्ता मानिसहरूको कुरा गरौँ, जो अगुवा र कामदार बन्छन्। परमेश्वरको घरले बुझ्ने क्षमता भएका, मण्डलीका लागि बोझ बोक्ने, र काम गर्ने क्षमता भएका मानिसहरूलाई किन प्रवर्द्धन र संवर्धन गर्छ? किनभने तिनीहरू क्षमताका हिसाबले योग्य भएको र तिनीहरूले मापदण्ड पूरा गर्ने भए पनि, तिनीहरूले अझैसम्म वास्तविक अनुभव पाएका हुँदैनन् र सत्यता बुझ्दैनन्, सत्यता कसरी अभ्यास गर्ने र सिद्धान्तहरूअनुसार कसरी कार्य गर्ने भनेर त तिनीहरूलाई झनै थाहा हुँदैन। तिनीहरूलाई केही समयसम्म तालिम दिनैपर्छ र मार्गदर्शन गर्नैपर्छ, र तिनीहरू आफ्नो कर्तव्य पूरा गर्ने सिद्धान्तहरूमा निपुण भएपछि र तिनीहरूसँग वास्तविक अनुभव भएपछि मात्र तिनीहरूलाई औपचारिक रूपमा प्रयोग गर्न मिल्छ। यदि तिनीहरूले मण्डलीका दाजुभाइ-दिदीबहिनीजस्तै परमेश्वरका वचनहरू खाने र पिउने, प्रवचनहरू सुन्ने, मण्डलीको जीवन जिउने, र कर्तव्य निर्वाह गर्नका लागि तालिम लिने गरेका भए, र तिनीहरूको जीवन वृद्धि भइसकेपछि मात्र तिनीहरूलाई प्रवर्द्धन र संवर्धन गरिने भएको भए, तिनीहरूको प्रगति अति सुस्त हुने थियो। त्यस अवस्थामा, तिनीहरू परमेश्वरद्वारा प्रयोग गरिनका लागि उपयुक्त हुन कति वर्ष लाग्ने थियो? के यसले मण्डलीका काममा असर गर्ने थिएन? त्यसकारण, जोसँग सत्यता बुझ्ने क्षमता छ, काम गर्ने सक्षमता छ, र बोझको बोध छ, उसलाई प्रवर्द्धन र संवर्धन गरिनुपर्छ र अगुवा वा कामदारको कर्तव्य निर्वाह गर्नका लागि तालिम लिन लगाउनुपर्छ, साथै उसलाई बोझ दिइनुपर्छ। एक हिसाबमा, त्यसले उसलाई आफ्ना सबल पक्षहरूको अधिकतम प्रयोग गराउँछ। अर्को हिसाबमा, उसले विशेष परिस्थितिहरू सामना गर्दा, उसका कठिनाइहरूलाई हटाउनका लागि ऊसँग सत्यताबारे सङ्गति गर्नु आवश्यक हुन्छ। कहिलेकाहीँ उसलाई काटछाँट पनि गर्नुपर्छ, र आवश्यक परेमा, उसलाई ताडना पनि दिनैपर्छ अनि उसले कैयौँ परीक्षा र शोधन भोग्नुपर्छ, र धेरै कष्ट सहनुपर्छ। त्यस्तो व्यावहारिक तालिम लिएर मात्र उसले वास्तविक प्रगति गर्न सक्छ, र चरणबद्ध रूपमा सत्यता बुझ्न अनि सिद्धान्तहरूमा निपुणता हासिल गर्न सक्छ, र त्यसपछि चाँडोभन्दा चाँडो अगुवा र कामदारको कामको जिम्मेवारी वहन गर्न सक्छ। अगुवा र कामदारहरूलाई यसरी संवर्धन गर्दा र तालिम दिँदा नतिजाहरू झनै राम्रा हुनेछन् र त्यो छिटो पनि हुनेछ, जुन परमेश्वरको घरको कामका लागि फाइदाजनक हुन्छ र परमेश्वरका चुनिएका मानिसहरूको जीवन प्रवेशका लागि अझ बढी फाइदाजनक हुन्छ, किनभने व्यावहारिक अनुभव भएका अगुवा र कामदारहरूले परमेश्वरका चुनिएका मानिसहरूलाई सिधै मलजल र आपूर्ति गर्न सक्छन्। जब परमेश्वरको घरले कसैलाई अगुवा बनाउनका लागि प्रवर्द्धन र संवर्धन गर्छ, तब त्यसले उसलाई तालिम लिन, परमेश्वरमा निर्भर हुन, र सत्यतातर्फ लागिपर्न अझै ठूलो बोझ दिन्छ; त्यसपछि मात्रै उसको कद सक्दो चाँडो बढ्छ। उसलाई जति ठूलो बोझ दिइन्छ, ऊ त्यति नै बढी दबाबमा पर्छ, र ऊ त्यति नै सत्यताको खोजी गर्न र परमेश्वरमा निर्भर हुन बाध्य हुन्छ। अन्त्यमा, उसले आफ्नो काम राम्ररी गर्न र परमेश्वरको इच्छा पछ्याउन सक्छ, र त्यसरी उसले मुक्ति पाउने र सिद्ध पारिने सही मार्गमा पाइला राखेको हुन्छ—परमेश्वरको घरले मानिसहरूलाई प्रवर्द्धन र संवर्धन गर्दा हासिल हुने नतिजा यही हो। यी निश्चित कार्यहरू नगरीकन, तिनीहरूलाई आफूमा के कुराको कमी छ, सिद्धान्तहरूअनुसार कसरी कामकुरा गर्ने, र सत्यता वास्तविकता हुनु भनेको के हो भनेर थाहै हुनेथिएन। त्यसकारण निश्चित काम गर्दा, तिनीहरूलाई आफ्नो कमीकमजोरी पत्ता लगाउन र तिनीहरूका वरदान बाहेक, तिनीहरूसँग सत्यता वास्तविकता छैन भनी देख्न मद्दत गर्छ; यसले तिनीहरूलाई तिनीहरू कति विपन्न र दयनीय छन् भनी बुझ्न मद्दत गर्छ, जसले तिनीहरूलाई तिनीहरू परमेश्वरमा निर्भर भएनन् र तिनीहरूले सत्यताको खोजी गरेनन् भने, तिनीहरूले कुनै पनि काम गर्न सक्नेछैनन् भन्ने महसुस गराउँछ; यसले तिनीहरूलाई साँच्चै आफूलाई चिन्ने अनि यदि तिनीहरूले सत्यता र स्वभाव परिवर्तन पछ्याएनन् भने, परमेश्वरद्वारा प्रयोग गरिन योग्य हुनु तिनीहरूका लागि असम्भव हुनेछ भनी स्पष्ट रूपमा देख्ने तुल्याउँछ। अगुवा र कामदारहरूलाई संवर्धन गरिँदा र तालिम दिइँदा हासिल हुनैपर्ने परिणामहरू यिनै हुन्। यी पक्षहरू बुझेर मात्र मानिसहरूले व्यावहारिक रूपमा सत्यता पछ्याउन, विनम्र रूपमा आफूलाई आचरणमा ढाल्न, आफ्नो काम गर्दा आफूबारे धाक नलगाउने प्रत्याभूति दिन, आफ्नो कर्तव्य पूरा गर्दा लगातार परमेश्वरलाई उच्च पार्न र परमेश्वरको गवाही दिन, र चरणबद्ध रूपमा सत्यता वास्तविकताभित्र प्रवेश गर्न सक्छन्। जब कसैलाई अगुवा बन्नका लागि प्रवर्द्धन र संवर्धन गरिन्छ, तब उसले विभिन्न मानिसहरूको स्थिति खुट्ट्याउने तरिका सिक्ने, विभिन्न मानिसहरूका कठिनाइहरू समाधान गर्नका लागि सत्यता खोजी गर्ने, र विभिन्न प्रकारका मानिसहरूलाई सहयोग र आपूर्ति गर्ने, साथै मानिसहरूलाई सत्यता वास्तविकतामा डोर्याउने तालिम पाउँछ। साथसाथै, उसले कामको दौरान सामना गरिने विभिन्न समस्या र कठिनाइहरू समाधान गर्न, र विभिन्न प्रकारका ख्रीष्टविरोधीहरू, दुष्ट मानिसहरू, र अविश्वासीहरूलाई खुट्ट्याउने र निराकरण गर्ने, अनि मण्डलीलाई पखाल्ने तरिका सिक्न पनि तालिम लिनैपर्छ। यसरी, उसले अरूका तुलनामा धेरै मानिस, घटना र कामकुराहरू, अनि परमेश्वरद्वारा स्थापित अझ बढी वातावरणहरू अनुभव गर्न सक्छ, परमेश्वरका वचनहरू झन्-झन् बढी खान र पिउन सक्छ, र अझ धेरै सत्यता वास्तविकताहरूमा प्रवेश गर्न सक्छ। यो त तिनीहरूले आफैलाई तालिम दिने अवसर हो, होइन र? तालिम लिने अवसरहरू जति धेरै छन्, मानिसहरूका अनुभवहरू त्यति नै प्रशस्त हुन्छन्, तिनीहरूको अन्तर्ज्ञान त्यति नै फराकिलो हुन्छ, र त्यति नै चाँडो तिनीहरूको वृद्धि हुनेछ। तर, यदि मानिसहरूले अगुवाइको काम गर्दैनन् भने, तिनीहरूले व्यक्तिगत अस्तित्व र व्यक्तिगत अनुभवहरू मात्र सामना गर्नेछन् र भोग्नेछन्, साथै व्यक्तिगत भ्रष्ट स्वभावहरू र विभिन्न व्यक्तिगत स्थितिहरू मात्र चिन्नेछन्—जुन सबै तिनीहरू आफैसित मात्रै सम्बन्धित हुन्छन्। तिनीहरू अगुवा बनेपछि, तिनीहरूले अझ धेरै मानिस, घटना र वातावरणहरू सामना गर्छन्, जसले तिनीहरूलाई सत्यता सिद्धान्तहरू खोज्नका लागि बारम्बार परमेश्वरसामु आउन प्रोत्साहित गर्छ। तिनीहरूका लागि, यी मानिस, घटना र कामकुराहरू थाहै नपाई एउटा बोझ बन्छन्, र तिनले प्राकृतिक रूपमै सत्यता वास्तविकतामा तिनीहरूको प्रवेशका लागि अत्यन्तै अनुकूल वातावरण पनि सृजना गर्छन्, जुन राम्रो कुरा हो। त्यसैले, क्षमता भएको, बोझ बोक्ने, र काम गर्ने सक्षमता भएको व्यक्ति साधारण विश्वासीका रूपमा बिस्तारै, र अगुवा वा कामदारका रूपमा झन् छिटो प्रवेश गर्नेछ। मानिसहरूका लागि, सत्यता वास्तविकतामा छिटो प्रवेश गर्नु राम्रो हो कि ढिलो प्रवेश गर्नु? (छिटो प्रवेश गर्नु।) त्यसकारण, क्षमता भएका, बोझ बोक्ने र काम गर्ने सक्षमता भएका मानिसहरूको कुरा आउँदा, परमेश्वरको घरले अपवादका रूपमा त्यस्ता मानिसहरूलाई प्रवर्द्धन गर्छ, तर यदि तिनीहरू सत्यता पछ्याउने र सत्यतातर्फ लागिपर्ने मानिस होइनन् भने, त्यस अवस्थामा, परमेश्वरको घरले तिनीहरूलाई जबरजस्ती गर्नेछैन। व्यक्तिसँग परमेश्वरमाथिको विश्वासको जग भएसम्म, उसले अगुवा वा कामदार बन्ने मापदण्ड पूरा गरेसम्म, र ऊ सत्यता पछ्याउन र परमेश्वरद्वारा प्रयोग गरिन इच्छुक भएसम्म, परमेश्वरको घरले उसलाई प्रवर्द्धन र संवर्धन गर्नेछ, अगुवा वा कामदार बन्न तालिम लिने अवसर दिनेछ, र मण्डलीको काम गर्न सिक्ने, मानिसहरूलाई खुट्टयाउन सिक्ने, मण्डलीमा भएका सबै विविध समस्याहरूलाई निराकरण गर्न सिक्ने, र कामका प्रबन्धहरूअनुसार विभिन्न कार्यहरू गर्न सिक्ने अधिकार दिनेछ। तालिम लिने अवधिमा, यदि मानिसहरूले सत्यता र काटछाँट स्विकार्न सक्छन्, परमेश्वरका योजनाबद्ध कार्यहरू र प्रबन्धहरूप्रति समर्पित हुन सक्छन्, विभिन्न समस्याहरू समाधान गर्नका लागि सत्यता खोज्न सक्छन्, र परमेश्वरका वचनहरूअनुसार सबै प्रकारका मानिसहरूसँग व्यवहार गर्न अनि सबै प्रकारका मानिसहरूलाई छुट्ट्याउन र सम्हाल्न सक्छन् भने, तिनीहरूले सान्दर्भिक सत्यता सिद्धान्तहरू बुझ्न थाल्छन्, साथै तिनीहरू सत्यता बुझ्न र वास्तविकतामा प्रवेश गर्न सक्षम हुन्छन्—यी कुराहरू साधारण विश्वासीहरूले अनुभव वा प्राप्त गर्न सक्दैनन्। त्यसैले, यस दृष्टिकोणबाट हेर्दा, परमेश्वरको घरले कसैलाई प्रवर्द्धन र संवर्धन गर्नु राम्रो हो कि नराम्रो? के यो उसका लागि फाइदाजनक हुन्छ, कि यो ऊमाथि थोपरिएको कठिनाइ हो? यो उसका लागि फाइदाजनक हुन्छ। अवश्य नै, भर्खरै प्रवर्द्धन गरिएको बेला, कतिपय मानिसहरूलाई आफूले कुन कार्यहरू गर्नुपर्छ वा ती कसरी गर्ने भन्ने थाहा हुँदैन, र तिनीहरू अलि अन्योलमा पर्छन्। यो सामान्य हो; को चाहिँ सबथोक गर्न सक्षम भएर जन्मेको थियो र? यदि तैँले सबथोक गर्न सक्थिस् भने, त पक्कै पनि सबैभन्दा अहङ्कारी र अभिमानी मानिस हुने थिइस्, र कोहीसामु झुक्ने थिइनस्—त्यस अवस्थामा, के तैँले अझै पनि सत्यतालाई स्विकार्न सक्ने थिइस् त? यदि तैँले सबथोक गर्न सक्थिस् भने, के तँ अझै पनि परमेश्वरमा निर्भर हुने थिइस् र के तैँले उहाँलाई आदरभावले हेर्ने थिइस्? के तैँले अझै पनि तेरो आफ्नै भ्रष्टताका समस्याहरू समाधान गर्न सत्यता खोज्ने थिइस्? तैँले निश्चय नै खोज्ने थिइनस्। त्यसको विपरीत, तँ अहङ्कारी र अभिमानी हुने थिइस् र ख्रीष्टविरोधीहरूको मार्गमा हिँड्ने थिइस्, तँ शक्ति र हैसियतका लागि लड्नेथिइस् र कसैसामु झुक्ने थिइनस्, साथै तैँले मानिसहरूलाई बहकाउने र फसाउने थिइस्, र मण्डलीका काममा बाधा र अवरोध पुऱ्याउने थिइस्—यस अवस्थामा, के तँ अझै पनि परमेश्वरको घरद्वारा प्रयोग गरिन सक्थिस् र? यदि तँलाई तँमा धेरै कमी-कमजोरीहरू छन् भन्ने थाहा छ भने, तैँले पालन गर्न र समर्पित हुन सिक्नुपर्छ, र परमेश्वरको घरका मागहरूअनुसार विभिन्न कार्यहरू राम्ररी गर्नुपर्छ; यसले तँलाई बिस्तारै, मानकअनुसार आफ्नो कर्तव्य पूरा गर्न सक्ने अवस्थासम्म पुग्न मद्दत गर्नेछ। तर धेरैजसो मानिसहरू पालन गर्ने र समर्पित हुनेजस्तो सरल काम पनि गर्न सक्दैनन्, त्यसैले तिनीहरूलाई प्रवर्द्धन र संवर्धन नगरेकोमा तिनीहरूले परमेश्वरको घरलाई दोष दिनुहुँदैन। तैँले पालन गर्नै नसक्ने भएपछि, पालन गर्नुसमेत तेरो क्षमताभन्दा बाहिरको कुरा भएपछि, के परमेश्वरको घरले तँलाई प्रवर्द्धन र संवर्धन गर्ने आँट गर्छ होला त? (गर्दैन।) अनि किन गर्दैन? तँलाई प्रयोग गर्नु निकै जोखिमपूर्ण, निकै झन्झटिलो, निकै चिन्ताजनक हुने थियो! किनभने यदि परमेश्वरको घरले तँलाई कहिल्यै प्रयोग गऱ्यो भने, तैँले मानिसहरूमाथि नियन्त्रण जमाउन, र तिनीहरूलाई दुष्टताको मार्गमा डोर्याउन सक्छस्—त्यसैले त्यो अत्यन्तै जोखिमपूर्ण हुन्छ। यदि तँलाई प्रयोग गरिएको भए, तैँले जथाभाबी दुष्कर्म गरेर कामलाई पूर्णतः अस्तव्यस्त पार्न सक्थिस् अनि परमेश्वरको घरले तँलाई बर्खास्त गर्नुपर्ने हुन्थ्यो र तैँले बिगारेको काम ठिक पार्नुपर्ने हुन्थ्यो—त्यसैले त्यो अत्यन्तै झन्झटिलो हुन्छ। अनि यदि तँलाई प्रयोग गरिएको भए, तँलाई कुनै पनि काम गर्न आउनेथिएन, र तैँले आफ्नो कामका सन्दर्भमा बिलकुलै प्रभाव पार्ने थिइनस्; तैँले गर्ने सबै काममा, तँलाई माथिले नै प्रोत्साहन, सुपरिवेक्षण, र निगरानी गर्नुपर्ने हुन्थ्यो, जसले सबै मामलामा हस्तक्षेप गर्नुपर्ने हुन्थ्यो—त्यसोभए तँलाई किन प्रयोग गर्नुपऱ्यो त? तँ अति चिन्ताजनक छस्! यस प्रकारको व्यक्तिलाई कदापि प्रयोग गर्न सकिन्न। यदि उसलाई संवर्धन गरियो भने पनि, त्यो व्यर्थ हुने थियो, अनि त्यसले कैयौँ समस्या समेत निम्त्याउनेथियो र अरूको संवर्धनमा समेत असर पार्नेथियो; के त्यसमा लाभभन्दा बढी घाटा हुनेथिएन र? (हुनेथियो।)
परमेश्वरको घरद्वारा कहिल्यै प्रवर्द्धन वा प्रयोग नगरिएका कारण, कतिपय मानिसका दिमागमा विचारहरू फुर्छन् र तिनीहरूले यस्तो भन्छन्, “माथिले किन कहिल्यै मलाई देख्दैनन्? परमेश्वरको घरले मलाई किन कहिल्यै प्रवर्द्धन र संवर्धन गर्दैन? यो त न्यायोचित होइन!” त्यसोभए, सुरुमा, तैँले पालन गर्न सक्छस् कि सक्दैनस्, र तँ परमेश्वरको घरका प्रबन्धहरूमा समर्पित हुन सक्छस् कि सक्दैनस् भनी तैँले लेखाजोखा गर्नुपर्छ। दोस्रो कुरा, तैँले अगुवा र कामदार बन्नका लागि मानिसहरूलाई परमेश्वरको घरले प्रवर्द्धन र संवर्धन गर्दा आवश्यक पर्ने तीन मापदण्डहरू—सत्यता बुझ्न सक्नु, बोझ बोक्नु, अनि काम गर्ने सक्षमता हुनु—लाई तैँले पूरा गर्छस् कि गर्दैनस् भनी लेखाजोखा गर्नुपर्छ। यदि तैँले यी मापदण्डहरू पूरा गर्छस् भने, तैँले ढिलो-चाँडो प्रवर्द्धन, संवर्धन र प्रयोग गरिने अवसर पाउनेछस्। परमेश्वरको घरले तँलाई प्रवर्द्धन गर्नका निम्ति, तँबाट माग गरिने केही कुराहरू हुन्छन्। अनि यी कुराहरू के-के हुन्? तैँले परमेश्वरको घरका सिद्धान्त र मापदण्डहरूअनुसार कार्य गर्नुपर्ने हुन्छ; तैँले आफूलाई आग्रह गरिएको कुरा गर्नैपर्छ, र आग्रह गरिएकै शैलीमा गर्नुपर्छ, यसरी तँलाई सुरुमा सिद्धान्तनिष्ठ रूपमा कार्य गर्न सिक्न, साथै सत्यता खोज्न र सत्यतामा समर्पित हुन सिक्न, अनि सामञ्जस्यका साथ सहकार्य गर्न सिक्न संवर्धन गरिन्छ। तँलाई संवर्धन गर्ने दौरान, परमेश्वरको घरले कहिलेकाहीँ तँलाई काटछाँट गर्नेछ; कहिलेकाहीँ त्यसले तँलाई नराम्रोसँग गाली गर्नेछ; कहिलेकाहीँ त्यसले तेरो कामको प्रगतिका बारेमा सोध्नेछ; कहिलेकाहीँ त्यसले तँलाई काम ठ्याक्कै कसरी अघि बढिरहेको छ भनेर सोध्नेछ, र तेरो काम जाँच्नेछ; र कहिलेकाहीँ, त्यसले कुनै निश्चित कामकुराप्रति तेरो दृष्टिकोण के छ भनेर जाँच्नेछ। यी जाँचहरूको उद्देश्य तँलाई कठिनाइमा पार्नु होइन, बरु तँलाई यी मामलाहरूमा परमेश्वरका अभिप्रायहरू के-के हुन्, र तँसँग के-कस्ता मनोवृत्ति र सिद्धान्तहरू हुनुपर्छ भनी बुझाउनु हो। परमेश्वरको घरले तँलाई तालिम दिन र अभ्यास गराउनका लागि यसो गर्छ। अनि मानिसहरूलाई तालिम दिनुको लक्ष्य र उद्देश्य के हो त? तिनीहरूलाई सत्यता बुझ्न सक्षम तुल्याउनु हो। सत्यता बुझ्नुको उद्देश्य भनेको मानिसहरूले सत्यतामा समर्पित हुन र सिद्धान्तहरूअनुसार कार्य गर्न, आफ्नो स्थानमा दृढ रहन र बफादारीसाथ आफ्नो कर्तव्य पूरा गर्न, अनि, कर्तव्य निर्वाह गर्ने क्रममा, विभिन्न सत्यता वास्तविकताहरूमा प्रवेश गर्न र आफ्नो स्वभावमा परिवर्तन हासिल गर्न सकून् भन्ने हो। परमेश्वरको घरले अगुवा र कामदारहरूलाई यसरी तालिम दिन्छ। यदि अगुवा र कामदारहरूले सत्यता बुझ्छन् भने, तिनीहरूले परमेश्वरका चुनिएका मानिसहरूलाई सत्यता बुझ्नमा अगुवाइ गर्न सक्ने आशा रहन्छ। अगुवा र कामदारहरूले जति धेरै सत्यता बुझ्छन्, तिनीहरूले अगुवाइ गर्ने मानिसहरूले त्यति नै सत्यता बुझ्ने आशा हुन्छ। जब अगुवा र कामदारहरूले आफ्नो कामका सत्यता सिद्धान्तहरू बोध गर्छन्, तिनीहरूले अगुवाइ गर्ने मानिसहरूले पनि ती सिद्धान्तहरू बोध गर्न सक्छन् अनि आफ्नो काममा सत्यता वास्तविकतामा प्रवेश गर्न सक्छन्। त्यसकारण, तालिम लिने अगुवा र कामदारहरूसँग अरू मानिसकोभन्दा राम्रो क्षमता हुनैपर्छ। तिनीहरूलाई नै सबैभन्दा पहिला सत्यता सिद्धान्तहरू बुझ्न र सत्यता वास्तविकतामा प्रवेश गर्न सक्षम तुल्याइन्छ, अनि त्यसपछि तिनीहरूले अझ धेरै मानिसहरूलाई सत्यता वास्तविकतामा प्रवेश गर्न र सत्यता सिद्धान्तहरू बुझ्नमा अगुवाइ गर्छन्। तिमीहरूलाई त्यस्तो तौर-तरिकाबारे के लाग्छ? (त्यो राम्रो हो।) त्यस्ता मानिसहरू निकै शिक्षित वा बोल्नमा सिपालु नहुन सक्छन्, वा तिनीहरूले प्रविधि वा समसामयिक मामला र राजनीतिबारे धेरै नबुझ्न सक्छन्। तिनीहरू कुनै पेसामा त त्यति दक्ष नहुन पनि सक्छन्। तर तिनीहरू सत्यता बुझ्न सक्षम हुन्छन्, र परमेश्वरका वचनहरू सुनेपछि, ती अभ्यास र अनुभव गर्न, र सत्यता सिद्धान्तहरू भेट्टाउन सक्षम हुन्छन्, साथै अझ धेरै मानिसहरूलाई परमेश्वरका वचनहरूको वास्तविकतामा प्रवेश गर्न र सत्यता सिद्धान्तहरू पालना गर्नमा अगुवाइ गर्न सक्षम हुन्छन्। अगुवाका रूपमा सेवा गर्नका लागि प्रवर्द्धन र संवर्धन गरिने प्रतिभावान् मानिसहरूको प्रकारका बारेमा कुरा गरिरहँदा हामीले यिनैका बारेमा कुरा गरिरहेका हुन्छौँ। के यो अमूर्त हो? (अहँ, होइन।) कतिपय मानिसहरूले सोध्न सक्छन्: “तपाईँ प्रतिभावान् मानिसहरूको कुरा गर्नुहुन्छ, त्यसोभए के तिनीहरू समाजका उत्कृष्ट तप्का हुन्? के तिनीहरूले कुनै प्रकारको व्यवसाय चलाएको, वा तिनीहरू समाजमा कुनै प्रकारको प्रमुख कार्यकारी अधिकृत वा व्यवसायी भएको हुनुपर्छ? के तिनीहरू राजनीतिक पृष्ठभूमि भएका राजनेताहरू, वा उद्योगपति, वा कला र साहित्यिक वृत्तका प्रतिभाहरू हुन्? के तिनीहरू अद्भुत वरदान पाएका मानिसहरू हुन्?” परमेश्वरका घरमा उल्लेख गरिने प्रतिभावान् मानिसहरू बाहिरी संसारमा भएका ती प्रतिभावान् मानिसहरूभन्दा फरक हुन्छन्। हामीले भन्ने गरेको यो “प्रतिभावान् मानिसहरू” शब्दको अर्थ के हो? यसको अर्थ सत्यता बुझ्न सक्नु, मानिसहरूलाई सत्यता वास्तविकतामा अगुवाइ गर्न सक्नु, र विभिन्न प्रकारका मानिसहरूलाई खुट्ट्याउने तरिका, अनि मानिसहरूले आफूमाथि आइपर्ने विभिन्न स्थिति र कठिनाइहरूलाई समाधान गर्ने तरिका जान्नु, र समस्याहरू सामना गर्दा सही विचार र मनोवृत्ति राख्नु, र परमेश्वरमा विश्वास गर्ने अनि उहाँलाई पछ्याउने मानिसहरूमा हुनुपर्ने विचार र मनोवृत्ति हुनु हो। यसले कुनै आत्मिक बुझाइ नभएका मानिसहरूलाई, वा पाखण्डी मानिसहरूलाई, वा सुन्दा ठूला लाग्ने शब्दहरू बोल्ने र बयानबाजी गर्ने मानिसहरूलाई जनाउँदैन। बरु, यसले सत्यता वास्तविकता भएका मानिसहरूलाई जनाउँछ। “प्रतिभावान् मानिसहरू” को अर्थ यही हो। के यो खोक्रो हो? (होइन।) के परमेश्वरको घरले अगुवा र कामदारहरू बनाउनका लागि प्रवर्द्धन र संवर्धन गर्ने यस प्रकारका प्रतिभावान् मानिसहरूसँग माग गर्ने यी मापदण्डहरू निकै व्यावहारिक छैनन् र? (छन्।) अत्यन्तै व्यावहारिक छन्! यस्ता उम्मेदवारहरूमा उच्च शैक्षिक योग्यता आवश्यक छैन, तर तिनीहरूमा कम्तीमा पनि सत्यता बुझ्ने क्षमता हुनैपर्छ। कतिपय मानिसहरूले यसो भन्न सक्छन्: “यदि तिनीहरूमा उच्च शैक्षिक योग्यता हुनु पर्दैन भने, के तिनीहरू निरक्षर भए पनि हुन्छ?” थोरै शिक्षा नभई त परमेश्वरका वचनहरू पढ्न सम्भव नै हुने थिएन नि। तिनीहरूले लिखित शब्द बुझ्नु आवश्यक हुन्छ, तर तिनीहरूलाई उच्च शैक्षिक योग्यता चाहिँदैन। परमेश्वरका घरमा प्रवर्द्धन गरिनेहरूमा उच्च शिक्षा हासिल गरेका, विश्वविद्यालय शिक्षा हासिल गरेका र विद्यावारिधि हासिल गरेकाहरू समावेश हुन्छन्, त्यसैले शैक्षिक स्तरका हकमा त्यसमा कुनै सीमा हुँदैन। त्यसका साथै, व्यक्तिको सामाजिक हैसियतका हकमा पनि कुनै सीमा हुँदैन। किसान र बुद्धिजीवीदेखि, व्यापारी र गृहिणीसम्म—सबै प्रकारका मानिसहरूलाई स्वागत गरिन्छ। शैक्षिक स्तर र सामाजिक हैसियतमा कुनै प्रतिबन्ध नहुने बाहेक, आवश्यक मापदण्डहरू भनेका मैले उल्लेख गरेका ती केही कुराहरू नै हुन्। के त्यो व्यावहारिक छ? (छ।) अत्यन्तै व्यावहारिक छ! अब “परमेश्वरको घरले प्रवर्द्धन र संवर्धन गर्ने प्रतिभावान् मानिसहरू” भनेर मैले भन्नुको अर्थ के हो भनेर तिमीहरूले अलिक बढी बुझ्यौ? (बुझ्यौँ।) सत्यता बुझ्न सक्नु, बोझ बोक्नु, र काम गर्ने सक्षमता हुनु जस्ता यी केही मापदण्डहरू पूरा गर्ने मानिसहरू परमेश्वरको घरद्वारा गरिने प्रवर्द्धन र संवर्धनका उम्मेदवारहरू हुन्। यदि तिनीहरूले यी मापदण्डहरू पूरा गर्छन् भने, तिनीहरू योग्य हुन्छन्। शिक्षा, पारिवारिक पृष्ठभूमि, सामाजिक हैसियत, व्यक्तिको रूप, इत्यादि जस्ता कुराहरूका लागि, मापदण्डहरू त्यति उच्च छैनन्। यो मानिसहरूलाई अगुवा र कामदार बनाउनका लागि गरिने प्रवर्द्धन र संवर्धनसँग सम्बन्धित कुरा हो।
हामीले भर्खरै सीप वा पेसा भएका प्रतिभावान् मानिसहरूले प्रवर्द्धन र संवर्धन गरिनका लागि पूरा गर्नुपर्ने केही मापदण्डहरूबारे छलफल गऱ्यौँ, जुन के हुन् भने, तिनीहरूले सकारात्मक कुराहरूलाई प्रेम गर्नुपर्छ र सत्यतालाई स्विकार्न सक्नुपर्छ, तिनीहरू आफ्नो बुझाइमा विकृत हुनु हुँदैन, बफादारीसाथ आफ्नो कर्तव्य पूरा गर्न सक्षम हुनुपर्छ, गुनासो नगरी कठिनाइ भोग्नुपर्छ र मूल्य तिर्नुपर्छ, र कम्तीमा पनि दुष्टता गर्नु हुँदैन—यी मानिसहरूका हकमा यी केही मापदण्डहरू अत्यावश्यक छन्। त्यसोभए यी मानिसहरूलाई प्रवर्द्धन र संवर्धन गर्नुको उद्देश्य के हो? त्यसैगरी, यी मानिसहरूले आफ्नो कर्तव्य निर्वाह गर्ने र निश्चित काम गर्दै गर्दा जब पनि समस्याहरू सामना गर्छन्, तिनीहरूले ती समस्याहरू समाधान गर्नका लागि सत्यता खोज्न सकून्, र सिद्धान्तहरूअनुसार कार्य गरून् भन्ने हो। प्रवेश अभ्यास गर्ने क्रममा, थाहै नभई तिनीहरूको तालिम र नियमन भइरहेको हुन्छ, र तिनीहरूले आफ्ना अभिप्रायहरू त्याग्ने, सांसारिक मानिसहरूबारे आफ्ना गलत र वाहियात दृष्टिकोणहरू सच्याउने, केही बचकाना सोचहरू त्याग्ने, र परमेश्वरमाथिको आस्थाबारे पूर्वाग्रह, धारणा, र कल्पनाहरू त्याग्ने, इत्यादि कुराहरू अभ्यास गर्छन्। अवश्य नै, जे भए पनि, यो अभ्यासको प्रक्रिया मानिसहरूलाई बिस्तारै सत्यता बुझ्न, समर्पित हुन सिक्न, र विभिन्न सत्यता वास्तविकताहरूमा प्रवेश गर्न सिक्न सक्षम बनाउनका लागि हो। सिक्ने क्रममा, तिनीहरूले बिस्तारै सत्यता वास्तविकताहरूमा निपुणता हासिल गर्छन्, परमेश्वरमा विश्वास गर्नु भनेको के हो, सत्यता अभ्यास गर्नु भनेको के हो, र आफ्नो कर्तव्य निर्वाह गर्नु भनेको के हो भनी थाहा पाउँछन्, अनि अन्त्यमा, तिनीहरूले बिस्तारै मानकअनुरूप आफ्नो कर्तव्य निर्वाह गर्न तिनीहरूले के गर्नुपर्छ, विश्वासीले गर्नुपर्ने तरिकाले तिनीहरूले कामकुराहरू कसरी गर्नुपर्छ, इत्यादि कुरा बुझ्छन्—मानिसहरूलाई प्रवर्द्धन र संवर्धन गरिएपछि तिनीहरू बिस्तारै यी सबै कुरामा प्रवेश गर्छन्। मानिसहरूको क्रमिक प्रवेशको प्रक्रिया नै संवर्धनको प्रक्रिया हो, र संवर्धन गरिने प्रक्रिया नै वास्तवमा मानिसहरू सत्यता वास्तविकतामा प्रवेश गर्ने अभ्यासको प्रक्रिया हो। तर यदि तँलाई प्रवर्द्धन र संवर्धन गरिएको छैन, र तैँले भेलाहरूमा सहभागी हुने, परमेश्वरका वचनहरू पढ्ने, सत्यताबारे सङ्गति गर्ने, वा भजनहरू सिक्ने साधारण विश्वासी जस्तै कार्य गर्छस् भने, यसरी परमेश्वरमा विश्वास गरेर तैँले सृजित प्राणीका रूपमा आफ्नो कर्तव्य साँचो रूपमा पूरा गरिरहेको छैनस्, त्यसैले तँ मानकअनुरूप तरिकाले आफ्नो कर्तव्य पूरा गर्नबाट धेरै टाढा छस्। तँ त आफ्नो कर्तव्य पूरा गर्दा आफूले कुन सिद्धान्तहरू बोध गर्नुपर्छ भन्नेबारे समेत स्पष्ट छैनस्, र तैँले केही धर्मसिद्धान्त र नाराहरू मात्र फलाक्न सक्छस्; त्यसकारण, तँ अझैसम्म सत्यता वास्तविकतामा प्रवेश गरेको छैनस्, र तेरो जीवन प्रवेश ढिलो छ। त्यसैगरी, पेसागत कार्यहरूमा संलग्न हुने यी मानिसहरूलाई प्रवर्द्धन र संवर्धन गर्नुको लक्ष्य र उद्देश्य भनेको तिनीहरू सत्यता वास्तविकतामा झन् चाँडो प्रवेश गरून् र तिनीहरूले सत्यता सिद्धान्तहरूबारे अझ राम्रो र सही बोध प्राप्त गरून् भन्ने हो। जो सत्यता सिद्धान्तहरू बोध गर्न र सत्यता वास्तविकतामा प्रवेश गर्न सक्छन्—परमेश्वरको घरद्वारा प्रवर्द्धन र संवर्धन गरिने प्रतिभावान् मानिसहरू यिनै हुन्। यस प्रकारका प्रतिभावान् मानिसहरूले केलाई जनाउँछ? यसले ती मानिसहरूलाई जनाउँछ जसले—सकारात्मक कुराहरूलाई प्रेम गर्ने, कठिनाइ भोग्न र मूल्य चुकाउन सक्ने, र आफ्नो बुझाइमा विकृत नहुने, अनि दुष्ट मानिसहरू नहुने आधारमा—सत्यता सिद्धान्तहरूको बुझाइ हासिल गरेका हुन्छन् र सत्यता वास्तविकतामा प्रवेश गरेका हुन्छन्, तिनीहरू परमेश्वरप्रति अनि परमेश्वरको घरका प्रबन्धहरूप्रति समर्पित हुन सक्षम हुन्छन्, र तिनीहरूसँग धेरथोर परमेश्वरको डर मान्ने हृदय हुन्छ। यो मैले बताइरहेको प्रतिभावान् मानिसहरूको दोस्रो प्रकार हो। तिनीहरूबाट गरिने मागहरू पनि व्यावहारिक, पर्याप्त रूपमा निर्दिष्ट छन्, र अमूर्त छैनन्। त्यसोभए के यस प्रकारका प्रतिभावान् मानिसहरू समाजको उत्कृष्ट तप्का हुनु, र सामाजिक रूपमा अनुभवी, र निश्चित शैक्षिक योग्यता, अनि निश्चित सामाजिक हैसियत भएका हुनु आवश्यक छ? (छैन।) परमेश्वरको घरले मानिसहरूबाट सामाजिक हैसियत, ख्याति, शैक्षिक योग्यता वा उच्च स्तरको ज्ञान माग गर्दैन—यी कुराहरू कहिल्यै आवश्यक हुँदैनन्। मानिसहरूलाई प्रवर्द्धन र संवर्धन गर्दा, परमेश्वरको घरले तिनीहरूको रूप, अर्थात्, तिनीहरू कति कुरूप वा आकर्षक छन् भनेर हेर्दैन। गैरविश्वासीहरूजस्ता देखिने, वा अत्यन्तै कुरूप वा दुष्ट रूप भएका मानिसहरूलाई प्रवर्द्धन र संवर्धन नगर्नु बाहेक, अरू मापदण्डहरू मैले भर्खरै उल्लेख गरेकाहरू नै हुन्—यी सबैभन्दा व्यावहारिक छन्। गैरविश्वासीहरूले कसैलाई प्रवर्द्धन गर्दा, तिनीहरूले सुरुमा त्यस व्यक्तिको रूप हेर्छन्; पुरुषहरू अधिकारीझैँ रूपवान् हुनुपर्छ, र महिलाहरू परीझैँ सुन्दर हुनुपर्छ। त्यसका साथै, तिनीहरूले मानिसहरूको शैक्षिक योग्यता, सामाजिक हैसियत, पारिवारिक पृष्ठभूमि, र युक्तिहरूको पनि तुलना गर्छन्। यदि तँसँग उच्च शैक्षिक योग्यताहरू छन् तर युक्तिहरू छैनन् भने, त्यसले पनि काम गर्नेछैन, तँलाई कहिल्यै प्रवर्द्धन गरिने छैन र तँलाई कसैले पनि उच्च ठान्ने छैन। यदि तँसँग उच्च शैक्षिक योग्यता र वास्तविक प्रतिभा छ, तर तँ त्यति राम्रो देखिँदैनस्, होचो छस्, र तँलाई आफूभन्दा वरिष्ठहरूको चापलुसी गर्न वा तिनीहरूसँग नजिकिन आउँदैन भने, तँ जिउँदो रहुन्जेल तँलाई कहिल्यै प्रवर्द्धन वा संवर्धन गरिनेछैन, र तँलाई कसैले पनि पत्ता लगाउनेछैन। त्यसकारण, गैरविश्वासीहरूमा यस्तो भनाइ छ, “द्रुत घोडाहरू धेरै हुन्छन्, तर थोरैले मात्रै तिनीहरूलाई चिन्न सक्छन्।” के परमेश्वरका घरमा यो लागू हुन्छ? (अहँ, हुँदैन।) त्यसोभए, “साँचो सुन अन्तमा चम्किन्छ” भन्ने भनाइ लागू हुन्छ त? के त्यो मान्य हुन्छ? (हुँदैन।) संशयवादी र कसैको सामु नझुक्ने मानिसहरूले बारम्बार यसो भन्ने गर्छन्। सधैँ चम्कन चाहनु—यो एउटा मानव महत्त्वाकाङ्क्षा हो। परमेश्वरको घरले प्रवर्द्धन र संवर्धन गर्ने विभिन्न प्रकारका प्रतिभावान् मानिसहरू सुन होइनन्, तिनीहरू साधारण मानिस मात्र हुन्। हामीले भन्ने प्रवर्द्धन र संवर्धन त बोल्ने शैली मात्र हो; वास्तवमा, यसले परमेश्वरद्वारा उत्थान गरिनुलाई जनाउँछ। के तँ, एउटा सृजित प्राणी, सृष्टिकर्ताको सामु सुन होस्? तँ त धुलो मात्र होस्, तामा वा फलाम समेत होइनस्। म किन तँ सुन होइनस्, बरु धुलो होस् भन्छु? मानिसहरूबारे प्रशंसनीय कुरा केही पनि हुँदैन। कतिपयले सोध्न सक्छन्: “तपाईँले भन्नुभएको कुरा विरोधाभासी छैन र? के तपाईँले भर्खरै, कसैले सकारात्मक कुराहरूलाई प्रेम गर्ने मापदण्ड पूरा गर्छ भने उसलाई प्रवर्द्धन गर्न सकिन्छ भन्नुभएको होइन?” व्यक्तिका रूपमा, के तैँले सकारात्मक कुराहरूलाई प्रेम गर्नुपर्दैन? यदि तैँले केही सकारात्मक कुराहरूलाई प्रेम गर्छस् भने, के त्यसले तँलाई सुन बनाउँछ? के त्यसले तँलाई चम्किने तुल्याउँछ? यदि तैँले केही सकारात्मक कुराहरूलाई प्रेम गर्छस् भने, के त्यसको मतलब तँसँग सत्यता छ भन्ने हुन्छ? सत्यता भएमा मात्र व्यक्ति चम्किन्छ। यदि तँसँग सत्यता छैन भने, तँ चम्किन्छस् भनेर कसरी भन्न सकिन्छ? तथ्य के हो भने, एउटा सृजित प्राणीले कुनै पनि सत्यता बुझ्दैन। अलिकति मानवता हुनु, र सत्यता बुझ्ने अलिकति सक्षमता र क्षमता हुनुको अर्थ व्यक्तिसँग स्वतः सत्यता हुन्छ भन्ने होइन। मानिसहरूमा सत्यता हुँदैन, र तिनीहरूको मानवता सोझो र दयालु भए पनि, यी कुराहरू सत्यता होइनन्, ती त सामान्य मानवतामा हुनुपर्ने गुणहरू मात्र हुन्। त्यसकारण, चम्किनेबारे कुरा नगर्। त्यसोभए, व्यक्ति कहिले चाहिँ अलिकति चम्किन सक्छ त? जब उसले अय्यूबका यी शब्दहरू बोल्न सक्छ, “यहोवाले दिनुभयो, र यहोवाले नै लानुभएको छ; यहोवाको नाउँको प्रशंसा होस्” (अय्यूब १:२१), तब ऊ अलिकति चम्किन्छ र ज्योतिमा जिउँछ भनेर भन्न सकिन्छ। जब तैँले आफूसँग भएको सत्यता वास्तविकता र तैँले बुझ्ने सत्यता अरूलाई आपूर्ति गर्न, अरूलाई सहयोग गर्न र अगुवाइ गर्नका लागि प्रयोग गर्न सक्छस्, जसमार्फत तिनीहरू परमेश्वरसामु अनि सत्यता वास्तविकतामा ल्याइन, परमेश्वरमा समर्पित हुन र परमेश्वरको आराधना गर्न सक्छन्, तब मात्र तँ अलिकति चम्किन सक्छस्।
परमेश्वरको घरले प्रवर्द्धन र संवर्धन गर्ने विभिन्न प्रकारका प्रतिभावान् मानिसहरूले अलौकिक वरदान पाएका हुँदैनन्, तिनीहरू केवल साधारण, भ्रष्ट मानिस हुन्। यदि तिनीहरूले सत्यता स्विकार्न, पालन गर्न र समर्पित हुन सक्छन्, र तिनीहरूसँग निश्चित क्षमता छ भने, परमेश्वरको घरले अपवादका रूपमा तिनीहरूलाई प्रवर्द्धन र संवर्धन गर्नेछ। जब म मानिसहरूलाई अपवादका रूपमा प्रवर्द्धन र संवर्धन गर्ने कुरा गर्छु, यो परमेश्वरद्वारा उत्थान गरिनु हो, यो तँलाई परमेश्वरसामु आएर परमेश्वरको अगुवाइ स्विकार्न, अनि परमेश्वरले गर्नुहुने संवर्द्धन र दिनुहुने तालिम स्विकार्न मौका दिने कुरा हो, ताकि यस अवधिमा तैँले सक्दो चाँडो सत्यता वास्तविकतामा प्रवेश गर्न र सत्यता सिद्धान्तहरू सही रूपमा बोध गर्न, मानकअनुरूप आफ्नो कर्तव्य पूरा गर्न, र मानव रूपमा जिउन सक्। परमेश्वरका घरमा “प्रतिभावान् मानिसहरू” भन्ने शब्दको अर्थ यही हुन्छ। त्यस्ता मानिसहरू अलिकति पनि ठूला वा प्रभावशाली हुँदैनन्, बस तिनीहरूले सत्यता बुझ्छन् र तिनीहरूसँग सत्यता वास्तविकता हुन्छ, र तिनीहरूले आफ्नो कर्तव्य निष्ठापूर्ण र जिम्मेवार रूपमा पूरा गर्न सक्छन्, र तिनीहरू अलिकति निष्कपट हुन्छन् र तिनीहरूले अलिकति मूल्य चुकाउन सक्छन्, अनि आफ्ना धारणा र कल्पनाहरूका आधारमा जथाभाबी कार्य गर्दैनन्। यी मापदण्डहरू पूरा गर्ने मानिसहरूलाई अपवादका रूपमा प्रवर्द्धन र संवर्धन गर्दा, र तिनीहरूलाई तालिम दिँदा, के परमेश्वरको घरले यसो गर्नु उचित हुन्छ? के यो मानिसहरूका लागि फाइदाजनक हुन्छ? यो मानिसहरूका लागि अत्यन्तै फाइदाजनक हुन्छ! अरू विश्वासीहरूजस्तै, प्रवर्द्धन र संवर्धन गरिएकाहरूले परमेश्वरमा विश्वास गर्छन्, परमेश्वरका वचनहरू पढ्छन्, प्रवचनहरू सुन्छन्, र आफ्नो कर्तव्य पूरा गर्छन्, तर अरू विश्वासीहरूका तुलनामा, तिनीहरूको चाँडो वृद्धि हुनेछ र तिनीहरूले धेरै लाभ प्राप्त गर्नेछन्। के तिमीहरू धेरै लाभ प्राप्त गर्न चाहन्छौ, कि थोरै मात्र? (धेरै।) धेरैजसो मानिसहरूमा यो चाहना हुन्छ, अर्थात् तिनीहरू सकारात्मक कुराहरूलाई प्रेम गर्छन्। कहिलेकाहीँ म केही समूहहरूसँग जीवन प्रवेशबारे सङ्गति गर्छु, र धेरै नै मानिसहरू सँगसँगै सुन्न आउँछन्, जसले के देखाउँछ भने, धेरैजसो मानिसहरूमा सत्यताको उत्कट चाहना छ, तिनीहरू सत्यताबारे अझ धेरै बुझ्न इच्छुक छन्, र सत्यता वास्तविकतामा प्रवेश गर्न पनि इच्छुक छन्। सुरुमा, मैले केही मानिसहरूसँग सङ्गति गरेँ र तिनीहरू निकै भावशून्य थिए। म लामो समयसम्म बोल्थेँ तर तिनीहरूले प्रतिक्रिया दिँदैनथे, वा मुस्कानको थोरै सङ्केतसमेत देखाउँदैनथे। म तिनीहरूसँग एक-दुई वर्षसम्म सम्पर्कमा रहेपछि, तिनीहरूमध्ये धेरैजसोको अनुहारका भावहरू केही स्वाभाविक बने र तिनीहरूले प्रतिक्रिया दिन थाले, र समय बित्दै जाँदा, तिनीहरूको प्रतिक्रिया केही छिटो आउन थाल्यो। अर्थात्, तिनीहरू मृत मानिसबाट जीवित मानिसमा रूपान्तरित भए, र तिनीहरूको आत्मा जागृत भयो। यो कसरी हासिल भयो? यदि मानिसहरूले सत्यता बुझ्दैनन् भने, तिनीहरूले सकारात्मक कुराहरूलाई जतिसुकै प्रेम गरे पनि, वा तिनीहरू जतिसुकै चलाख वा बुद्धिमान् भए पनि, तिनीहरू अझै पनि मृत मानिस नै हुन्। कतिपय मानिसहरू सुरुमा मूर्ख र मन्दबुद्धिका हुन्छन्, बाहिरी संसारमा तिनीहरूबारे कसैले पनि राम्रो सोच्दैनन्, साथै तिनीहरू धेरै शिक्षित हुँदैनन् र तिनीहरूको दायरा त्यति फराकिलो हुँदैन। तर परमेश्वरमा विश्वास गर्न थालेपछि, तिनीहरूले धेरै सत्यताहरू बुझ्न र धेरै कुराहरू स्पष्ट रूपमा देख्न सक्छन्, अनि त्यसपछि मानव रूपमा जिउँछन्, र त्यसरी जीवित मानिस बन्छन्। “जीवित मानिस” भनेको के हो? यो तेरो भौतिक शरीर जीवित छ कि मृत छ, वा तेरो शरीर चल्न वा त्यसले सास लिन सक्छ कि सक्दैन भन्ने कुरा होइन, बरु तेरो आत्मा परमेश्वरका वचनहरू र सत्यताप्रति चेतनशील र संवेदनशील छ कि छैन भन्ने कुरा हो। जीवित मानिसहरूले सत्यता र परमेश्वरका वचनहरूप्रति प्रतिक्रिया जनाउँछन्। परमेश्वरका वचनहरू सुनेपछि, तिनीहरूमा चेतना, मार्ग, योजना, र उद्देश्य हुन्छ। मृत मानिसहरूमा यी प्रकटीकरणहरू हुँदैनन्। त्यसैले, यदि परमेश्वरको घरले कसैलाई प्रवर्द्धन र संवर्धन गर्छ भने, त्यो व्यक्तिले तुलनात्मक रूपमा धेरै प्राप्त गर्नेछ। त्यसोभए यी मापदण्डहरू पूरा नगर्ने र प्रवर्द्धन वा संवर्धन नगरिने मानिसहरूले कसरी पर्याप्त लाभ प्राप्त गर्न सक्छन्? तिनीहरू कसरी चाँडै सत्यता वास्तविकतामा प्रवेश गर्न सक्छन्? तिनीहरूले परमेश्वरका वचनहरू अभ्यास र अनुभव गर्न सिक्नैपर्छ, कैयौँ सत्यताहरूको बुझाइ हासिल गर्नैपर्छ, र मानिसहरूलाई खुट्ट्याउन र समस्याहरू समाधान गर्न सत्यता लागू गर्न पनि सक्नुपर्छ—त्यसपछि तिनीहरू सत्यता वास्तविकतामा प्रवेश गर्न सक्छन्।
कतिपय मानिसहरू भन्छन्: “परमेश्वरको घरले सबै प्रकारका प्रतिभावान् मानिसहरूलाई प्रवर्द्धन र संवर्धन गर्ने र तिनीहरूलाई सत्यता वास्तविकतामा सक्दो चाँडो प्रवेश गर्न दिने कुरालाई ध्यानमा राख्दा, के त्यसको अर्थ प्रतिभा नभएका मानिसहरू सत्यता वास्तविकतामा प्रवेश गर्न सक्दैनन् भन्ने होइन र?” के त्यसो भन्नु सही हो? (अहँ, त्यो गलत हो।) त्यसोभए, यस विषयबारे सङ्गति गरेपछि, के यसले केही मानिसहरूलाई उत्साहित र अरूलाई दिक्दार र निराश बनाएको छ? यसलाई यसरी हेर्नुपर्छ: प्रवर्द्धन र संवर्धन गरिएकाहरूले घमन्ड गर्नु हुँदैन। तैँले धाक लगाउनुपर्ने कुनै कुरा छैन, यो परमेश्वरको अनुग्रह र आशिष् हो। जब परमेश्वरले तँलाई बढी दिनुहुन्छ, तब उहाँले तँलाई पनि आफ्नो तर्फबाट बढी दिन भन्नुहुन्छ। यदि परमेश्वरको घरले तँलाई अपवादका रूपमा प्रवर्द्धन र संवर्धन गर्छ भने, त्यसको अर्थ तैँले अझ उच्च मूल्य चुकाउनुपर्ने हुन्छ। यदि तँ यो कठिनाइ सहन सक्छस् भने, तैँले अवश्य नै बढी लाभ प्राप्त गर्नेछस्। यदि तँ “म यो कठिनाइ सहन इच्छुक छैन,” भन्छस् भने, तैँले सत्यता प्राप्त गर्नेछैनस्, न त परमेश्वरको आशिष् नै प्राप्त गर्नेछस्। कतिपय मानिसहरू भन्छन्, “म ती कुराहरू प्राप्त गर्न चाहन्छु तर मलाई सक्छु जस्तो लाग्दैन, किनभने परमेश्वरको घरले अपवादका रूपमा मलाई प्रवर्द्धन र संवर्धन गर्नेछैन। मैले मापदण्ड नै पूरा गर्दिनँ।” यदि तैँले मापदण्ड पूरा गर्दैनस् भने त्यसले फरक पार्दैन। जबसम्म तँ सत्यता पछ्याउँछस् र त्यसप्रति मेहनतका साथ लागिपर्छस्, परमेश्वरले तँसँग अन्यायपूर्ण व्यवहार गर्नुहुनेछैन। प्रवर्द्धन र संवर्धन गरिने यी मानिसहरू तिनीहरूको क्षमता र विभिन्न अवस्थाका कारण सत्यता वास्तविकतामा चाँडो प्रवेश गर्न मात्र सक्छन्। तर, यो चाँडो प्रवेशको अर्थ तिनीहरू मात्र सत्यता वास्तविकतामा प्रवेश गर्न सक्छन् भन्ने होइन। यसको अर्थ तिनीहरूले अलि चाँडो लाभ प्राप्त गर्न सक्छन्, र तिनीहरू अलि चाँडो सत्यता वास्तविकतामा प्रवेश गर्न सक्छन् भन्ने मात्र हो। प्रवर्द्धन नगरिएकाहरू तिनीहरूभन्दा अलि पछि पर्नेछन्, तर यसको अर्थ तिनीहरू सत्यता वास्तविकतामा प्रवेश गर्न सक्दैनन् भन्ने होइन। कोही सत्यता वास्तविकतामा प्रवेश गर्न सक्छ कि सक्दैन भन्ने कुरा उसको पछ्याइमा भर पर्छ। प्रवर्द्धन र संवर्धन गरिएका यी मानिसहरूले संवर्धनको प्रक्रियाको क्रममा सत्यता सिद्धान्तहरू छिटो बोध गर्न र सत्यता वास्तविकतामा छिटो प्रवेश गर्न सक्छन्, जसले परमेश्वरको घरको कामलाई फाइदा पुऱ्याउँछ। त्यसकारण, राम्रो क्षमता भएका र सत्यतालाई प्रेम गर्ने मानिसहरूलाई प्रवर्द्धन र संवर्धन गर्नु ठीक हो। यदि कसैले यी मानिसहरू भेट्टाउन सक्छ र तिनीहरूको ईर्ष्या नगरी वा तिनीहरूलाई नगिराई, बरु हेरचाहका साथ, तिनीहरूलाई प्रवर्द्धन र संवर्धन गर्न सक्छ भने, उसले परमेश्वरका अभिप्रायहरूको ख्याल गरिरहेको हुन्छ। त्यस विपरीत, यदि केही मानिसहरूले यी मानिसहरू आफूभन्दा राम्रा छन् र तिनीहरूले आफूलाई उछिन्छन् भन्ने ईर्ष्या, चिन्ताले तिनीहरूलाई बहिष्कार गर्छन् र गिराउँछन् भने, यो स्पष्ट रूपमा एउटा दुष्ट कार्य हो र ख्रीष्टविरोधीले प्रायः गरिरहने कुरा हो। दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूले मात्र दाजुभाइ-दिदीबहिनीहरूलाई आक्रमण र बहिष्कार गर्न सक्छन्।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।