अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (३) खण्ड एक

विषयवस्तु तीन: हरेक कर्तव्य उचित तरिकाले निर्वाह गर्नका निम्ति बुझ्‍नुपर्ने सत्यता सिद्धान्तहरूमा सङ्‍गति गर्ने (भाग दुई)

पछिल्लो भेलामा, हामीले अगुवा र कामदारहरूको दोस्रो जिम्मेवारीबारे थप सङ्गति गर्‍यौँ, जीवन प्रवेशमा केकस्ता कठिनाइहरू हुन्छन् भन्‍नेबारे कुरा गर्‍यौँ, र झूटा अगुवाहरूका निश्‍चित अभ्यास र प्रकटीकरणहरू खुलासा गर्‍यौँ। त्यसपछि, हामीले अगुवा र कामदारहरूको तेस्रो जिम्मेवारी, अर्थात् हरेक कर्तव्य उचित तरिकाले निर्वाह गर्नका निम्ति बुझ्नुपर्ने सत्यता सिद्धान्तहरूमा सङ्गति गर्नेसम्बन्धी धेरै मामलाहरूबारे छलफल गर्‍यौँ र यी मामिलाहरूप्रति झूटा अगुवाहरूका मनोवृत्ति, अभ्यास, र प्रकटीकरणहरूमार्फत झूटा अगुवाहरूको “झूटोपन” कहाँ प्रकट हुन्छ भन्ने कुरा, अर्को शब्दमा भन्दा, झूटा अगुवाहरू कसरी अगुवाका रूपमा आफ्नो जिम्मेवारी पूरा गर्न असफल हुन्छन् भन्‍ने कुराका प्रकटीकरणहरूलाई खुलासा र चिरफार गर्‍यौँ। यी मामिलाहरूलाई सूचीबद्ध गर त। (तीमध्ये एउटा परमेश्‍वरका वचनका पुस्तकहरूको मुद्रणसँग सम्बन्धित थियो। त्यो झूटो अगुवाले ठोस काम गरेन, केवल खोक्रो तरिकाले धर्मसिद्धान्तहरू बोल्यो। उसले सत्यता सिद्धान्तहरूबारे पनि निर्दिष्ट रूपमा सङ्गति वा अलिकति पनि वास्तविक काम गरेन।) यस मामलामा, त्यो झूटो अगुवाले वास्तविक काम गरेन, ऊ अगुवा र कामदारका रूपमा आफ्ना जिम्मेवारीहरू पूरा गर्न असफल भयो, र उसले काममा संलग्‍न व्यावसायिक मागहरू, निर्दिष्ट सिद्धान्तहरू, र ध्यान दिनुपर्ने बुँदाहरूमा स्पष्ट रूपमा सङ्गति गरेन। उसले केवल केही नाराहरू फलाक्‍यो र केही खोक्रा शब्दहरू बोल्यो, र त्यसपछि आफूले राम्रो काम गरेको छु भन्‍ने सोच्यो। हामीले अरू के-के कुरा छलफल गर्‍यौँ? (परमेश्‍वरका लागि डाउन कोट किनेको घटना पनि थियो।) यो घटनाले झूटा अगुवाहरूका सम्बन्धमा के समस्या खुलासा गर्‍यो? (यसले झूटा अगुवाहरूले वास्तविक काम गर्दैनन्, र तिनीहरूमा मानवता र समझको पूर्ण कमी हुन्छ भन्‍ने कुरा खुलासा गर्‍यो।) जब कसैले मलाई एउटा लुगा किनेर दिएको थियो, तब ती अगुवाहरूले यसको जाँच गर्न मद्दत गरे—के यो अगुवा र कामदारहरूले गर्नुपर्ने कामको पाटो हो? (अहँ, होइन।) तिनीहरूले गर्नुनपर्ने काम गरे—यसमा के समस्या छ? (तिनीहरूले आफ्नो उचित काममा ध्यान दिइरहेका थिएनन्।) यो झूटा अगुवाहरूको एउटा प्रकटीकरण हो। पहिलो कुरा, यसले झूटा अगुवाहरू आफ्नो उचित काममा ध्यान दिँदैनन् भनेर खुलासा गर्‍यो, र दोस्रो कुरा, यसले तिनीहरूमा समझको कमी हुन्छ र तिनीहरूले समझ र मानवताहीन घृणित काम मात्रै गर्छन् भनेर खुलासा गर्‍यो। तिमीहरूलाई उदाहरणहरू मात्रै याद छ, तर तिमीहरूले यी उदाहरणहरूले चित्रण गर्न खोजेका कुराहरू, वा तिनले चिरफार गर्ने अभिप्राय राखेका यी समस्याहरूको सार छर्लङ्गै देखेका छैनौ। झूटा अगुवाहरूले आफ्नो उचित काममा ध्यान दिँदैनन् भन्‍नेबारे मैले अरू के-कस्ता उदाहरणहरू दिएँ? (एउटा केक बनाउने व्यक्ति थियो जसले परमेश्‍वरका लागि सधैँ केक बनाउँथ्यो। परमेश्‍वरले उसलाई यसो नगर्नू भनेर भन्‍नुभयो, तर अगुवा र कामदारहरू उसलाई त्यसो गर्न दिइरहन्थे, र आफै पनि केक चाख्थे।) यो उदाहरणले झूटा अगुवाहरूका केकस्ता समस्याहरू खुलासा गर्‍यो? (यो कि तिनीहरू आफ्नो उचित काममा ध्यान दिँदैनन्, वा आफूले गर्नुपर्ने काम गर्दैनन्, र आफूले नगर्नुपर्ने काम गर्न जिद्दी गर्छन्।) मुख्य रूपमा, यसले झूटा अगुवाहरू आफ्नो उचित काममा ध्यान दिँदैनन् र आफ्नो कामको केन्द्र र मुख्य बिन्दु बुझ्न सक्दैनन् भन्‍ने कुरा खुलासा गर्‍यो। यसका साथै, झूटा अगुवाहरूमा एउटा गम्भीर समस्या पनि हुन्छ। त्यो के हो? (तिनीहरूले परमेश्‍वरका वचनहरू पालना गर्दैनन् वा परमेश्‍वरका मागहरूअनुसार काम कार्यान्वयन गर्दैनन्।) अरू कसैलाई केही थप्नु छ? (तिनीहरूले आफू आत्मिक भएको र परमेश्‍वरको बोझप्रति ध्यान दिएको ढोँग गर्छन्, तर वास्तवमा तिनीहरू खराब कुराहरू गर्न मात्र उन्मत्त हुन्छन्।) त्यो तिनीहरूको अर्को समस्या हो। अरू केही छ? (काम गर्नुभन्दा पहिले तिनीहरू परमेश्‍वरका मागहरू बुझ्ने प्रयास गर्दैनन्; बरु, तिनीहरू परमेश्‍वरका चाहनाहरूलाई प्रतिस्थापन गर्न आफ्नै कल्पनाहरू प्रयोग गर्छन्।) यो समझको कमी हुनुको वर्गमा पर्छ। अरू केही छ? (परमेश्‍वरका लागि कसैले लुगा किनेको मामलालाई झूटा अगुवाहरूले जेजसरी लिए, त्यसले तिनीहरूमा सामान्य मानवताको कमी हुन्छ भन्‍ने कुरा खुलासा गर्‍यो।) तिनीहरूमा सामान्य मानवताको कुन पक्षको कमी हुन्छ? तिनीहरूले कसरी व्यवहार गर्ने भन्‍ने कुराका नियमहरू बुझ्दैनन् र तिनीहरूसँग सोमत हुँदैन। कुरा त्यही होइन र? (हो।) वास्तवमा, तिमीहरूले उल्लेख गरेका यी कुराहरू गौण हुन्; मुख्य समस्या के हो? अगुवा बनेपछि, यी मानिसहरू आफ्नो हैसियत र विशेष व्यवहारका लाभहरू लिन चाहन्छन्, र सुखसुविधाको तृष्णा गर्छन्। उदाहरणका लागि, तिनीहरू अलिकति केक खान चाहन्छन्, र जब तिनीहरूले कुनै व्यक्ति खाना पकाउन सिपालु छ भन्‍ने देख्छन्, तब तिनीहरूले उसको खाना चाखेर आफ्नो तृष्णा मेटाउने सोच्छन्। तिनीहरूले आफ्नो उचित काममा ध्यान नदिनु वा वास्तविक काम नगर्नु पहिले नै घृणास्पद हुन्छ, त्यसमाथि तिनीहरूलाई सुखसुविधा र धेरै खानुको आनन्दको लोभ हुन्छ। तिनीहरू आफ्ना खन्चुवा चाहनाहरू पूरा गर्न, र आफ्नो हैसियतका लाभहरूमा लिप्त हुनका लागि परमेश्‍वरका लागि स्वाद चाख्‍ने र जाँच गर्ने बहाना प्रयोग गर्छन्। यी सबै झूटा अगुवाहरूका प्रकटीकरणहरू हुन्। ख्रीष्टविरोधीहरूको स्वभाव सारको तुलनामा यी प्रकटीकरणहरूलाई क्रूर वा दुष्ट भन्‍न नमिल्ने भए पनि, मानिसहरूमा घिन पैदा गर्नका लागि झूटा अगुवाहरूको मानवता नै काफी हुन्छ। तिनीहरूको चरित्र हेर्दा, तिनीहरूमा विवेक र समझको कमी हुन्छ; तिनीहरूको मानवता निकै नीच र घिनलाग्दो हुन्छ, र तिनीहरूको निष्ठा कमजोर हुन्छ। यी उदाहरणहरूबाट, झूटा अगुवाहरूले वास्तविक काम गर्न सक्दैनन् भन्‍ने कुरा देख्‍न सकिन्छ। यो तथ्य हो।

झुटा अगुवाहरू कर्तव्य निर्वाह गर्नुका सिद्धान्तहरूमा सङ्गति गर्न सक्दैनन्

आज, हामी अगुवा र कामदारहरूका जिम्मेवारीहरूका आधारमा झूटा अगुवाहरूका विभिन्‍न प्रकटीकरणहरू खुलासा गर्ने कार्य जारी राख्‍नेछौँ। झूटा अगुवाहरू मूलतः मण्डलीको सारभूत र महत्त्वपूर्ण काम गर्न असक्षम हुन्छन्। तिनीहरूले केही सरल र सामान्य मामलाहरू मात्र सम्हाल्छन्; समग्रमा तिनीहरूको कामले मण्डलीको काममा महत्त्वपूर्ण वा निर्णायक भूमिका खेल्दैन, र त्यसले वास्तविक नतिजाहरू दिँदैन। तिनीहरूको सङ्गतिले मूलभूत रूपमा केही बासी र सामान्य विषयवस्तुहरू मात्र समेट्छ, यो बारम्बार दोहोर्‍याइने शब्द र धर्मसिद्धान्तहरूमा मात्र सीमित हुन्छ र यो अत्यन्तै खोक्रो, फराकिलो, र विवरणहीन हुन्छ। तिनीहरूको सङ्गतिमा मानिसहरूले शाब्दिक रूपमा केही कुरा पढेर बुझ्न सक्ने कुराहरू मात्र समावेश हुन्छन्। यी झूटा अगुवाहरूले परमेश्‍वरका चुनिएका मानिसहरूले आफ्नो जीवन प्रवेशमा सामना गर्ने वास्तविक समस्याहरू बिलकुलै समाधान गर्न सक्दैनन्; खास गरी, तिनीहरू मानिसहरूका धारणा, कल्पनाहरू, र भ्रष्ट स्वभावका प्रकाशहरू समाधान गर्न झन् कम सक्षम हुन्छन्। मुख्य कुरा के हो भने, झूटा अगुवाहरू सुसमाचारको काम, चलचित्र निर्माणको काम, वा लेखन-पठनको कामजस्ता परमेश्‍वरको घरले बन्दोबस्त गरेका महत्त्वपूर्ण कामको जिम्मेवारी लिनै सक्दैनन्। विशेष गरी, जब व्यावसायिक ज्ञानसँग सम्बन्धित कामको कुरा आउँछ, तब झूटा अगुवाहरूलाई आफू यी क्षेत्रहरूमा भुइँमान्छे भएको स्पष्ट रूपमा थाहा भए पनि, तिनीहरू त्यसको अध्ययन गर्दैनन्, न त अनुसन्धान नै गर्छन्, र अरूलाई निर्दिष्ट दिशा प्रदान गर्न वा तीसँग सम्बन्धित कुनै समस्या समाधान गर्न त झनै सक्षम हुँदैनन्। तैपनि तिनीहरू अझै निर्लज्ज रूपमा भेलाहरू आयोजना गर्छन्, खोक्रा सिद्धान्तहरूबारे अनन्त रूपमा कुरा गर्छन्, अनि शब्द र धर्मसिद्धान्तहरू बोल्छन्। झूटा अगुवाहरूलाई आफूले यस्तो काम गर्न नसक्ने राम्रोसँग थाहा हुन्छ, तैपनि तिनीहरू विज्ञ भएको नाटक गर्छन्, अभिमानी व्यवहार गर्छन्, र सधैँ भव्य धर्मसिद्धान्तहरू प्रयोग गरेर अरूलाई गाली गर्छन्। तिनीहरू कसैका प्रश्नहरूको जवाफ दिन सक्दैनन्, तैपनि अरूलाई गाली गर्ने निहुँ र बहाना फेला पार्छन्, उनीहरूले किन त्यो पेशा सिक्दैनन्, किन सत्यता खोज्दैनन्, र किन आफ्नै समस्याहरू समाधान गर्न सक्दैनन् भनेर सोध्छन्। यी झूटा अगुवाहरू, जो यी क्षेत्रका भुइँमान्छे हुन् र कुनै पनि समस्याहरू समाधान गर्न सक्दैनन्, अझै पनि माथिबाट अरूलाई भाषण दिन्छन्। बाहिरबाट हेर्दा, तिनीहरू अरूका नजरमा निकै व्यस्त देखिन्छन्, मानौँ तिनीहरूले धेरै काम गर्न सक्छन् र तिनीहरू निकै सक्षम छन्, तर वास्तवमा, तिनीहरू केही पनि होइनन्। झूटा अगुवाहरू प्रस्ट रूपमा वास्तविक काम गर्न असक्षम हुन्छन्, तैपनि तिनीहरू उत्साहका साथ आफूलाई व्यस्त राख्छन्, र भेलाहरूमा जहिले पनि उही सधैँ भनिरहेकै कुरा भन्छन्, बारम्बार एउटै कुरा दोहोर्‍याउँछन्, र एउटा पनि वास्तविक समस्या समाधान गर्न सक्दैनन्। मानिसहरू योदेखि निकै वाक्क हुन्छन्, र तिनीहरूले यसबाट शिक्षाप्रद कुरा लिन बिलकुलै सक्दैनन्। यस्तो काम अत्यन्तै अकुशल हुन्छ, र यसले कुनै नतिजाहरू दिँदैन। झूटा अगुवाहरू यसरी नै काम गर्छन्, र यसका कारण मण्डलीको काममा ढिलाइ हुन्छ। तैपनि झूटा अगुवाहरू आफूले निकै ठूलो काम गरिरहेको र आफू निकै सक्षम भएको महसुस गर्छन्, जबकि तथ्य के हो भने, तिनीहरूले मण्डलीको कामको एउटा पक्ष पनि राम्रोसँग गरेका हुँदैनन्। तिनीहरूलाई आफ्नो जिम्मेवारीको दायराअन्तर्गत पर्ने अगुवा र कामदारहरू मानकअनुरूप छन् कि छैनन् भनेर थाहा हुँदैन, न त विभिन्‍न समूहका अगुवा र सुपरिवेक्षकहरू आफ्ना कामको जिम्मेवारी लिन सक्षम छन् कि छैनन् भनेर थाहा हुन्छ, र तिनीहरू दाजुभाइ-दिदीबहिनीहरूले आफ्ना कर्तव्य निर्वाह गर्दा कुनै समस्याहरू आएका छन् कि भनेर न त चासो राख्ने न सोध्ने नै गर्छन्। छोटकरीमा, झूटा अगुवाहरूले आफ्नो काममा कुनै पनि समस्याहरू समाधान गर्न सक्दैनन्, तैपनि तिनीहरू जोशका साथ व्यस्त रहन्छन्। अरू मानिसहरूको दृष्टिकोणबाट हेर्दा, झूटा अगुवाहरू कठिनाइ भोग्न सक्छन्, मूल्य चुकाउन तयार हुन्छन्, र हरेक दिन दौडधुप गर्दै बिताउँछन्। खाना खाने बेला भएपछि तिनीहरूलाई मेचमा बोलाउनुपर्छ, र तिनीहरू निकै अबेला सुत्छन्। तैपनि तिनीहरूको कामका नतिजाहरू राम्रा हुँदैनन्। यदि तैँले ध्यानपूर्वक हेरिनस् भने, बाहिरबाट सबै कामहरू भइरहेको, र सबै जना आफ्ना कर्तव्य निर्वाह गर्नमा व्यस्त रहेको देखिन्छ, तर यदि तैँले नजिकबाट मिहिन रूपमा नियाल्ने, र गम्भीरतापूर्वक निरीक्षण गर्ने हो भने, साँचो अवस्था प्रकाश हुनेछ। तिनीहरूको जिम्मेवारीको दायरामा पर्ने हरेक काम भद्रगोल हुन्छ, त्यसमा कुनै संरचना वा व्यवस्था हुँदैन। प्रत्येक काममा समस्याहरू—वा छिद्रहरूसमेत—हुन्छन्। यी समस्याहरू देखा पर्नु झूटा अगुवाहरूले सत्यता सिद्धान्तहरू नबुझ्नु, र आफ्ना धारणा, कल्पना र जोशका आधारमा कार्य गर्नुसँग सम्बन्धित हुन्छ। झूटा अगुवाहरूले कहिल्यै सत्यता सिद्धान्तहरूबारे सङ्गति गर्दैनन्, न त कहिल्यै समस्याहरू समाधान गर्न सत्यताको खोजी नै गर्छन्। तिनीहरूमा प्रस्ट रूपमा आत्मिक बुझाइ हुँदैन र तिनीहरू अगुवाइको काम गर्न सक्दैनन्, साथै तिनीहरूले शब्द र धर्मसिद्धान्तहरू ओकल्न मात्र सक्छन् र सत्यता बिलकुलै बुझ्दैनन्, तैपनि तिनीहरू आफूलाई थाहा नभएका कुरा थाहा भएको ढोँग गर्छन् र आफूलाई विज्ञ साबित गर्ने कोसिस गर्छन्। तिनीहरूले झारा टार्ने काम मात्र गर्छन्। कुनै समस्या आउँदा, तिनीहरूले अन्धाधुन्ध त्यसमा प्रावधानहरू लागु गर्छन्। तिनीहरू अन्धाधुन्ध दौडधुप मात्र गर्छन् तर कुनै वास्तविक नतिजाहरू निकाल्दैनन्। यी झूटा अगुवाहरूले सत्यता सिद्धान्तहरू नबुझ्ने, र केवल शब्द र धर्मसिद्धान्तहरू ओकल्ने र अरूलाई प्रावधानहरू पालना गर्न सल्लाह दिने भएकाले, मण्डलीको प्रत्येक कामको प्रगतिमा ढिलाइ हुन्छ र कुनै प्रस्ट नतिजाहरू हासिल हुँदैनन्। कुनै झूटो अगुवा केही समय काममा रहनुको सबैभन्दा प्रस्ट परिणाम के हो भने, धेरैजसो मानिसहरूले सत्यता बुझ्न सक्दैनन्, कसैले भ्रष्टता प्रकाश गर्दा वा धारणाहरू विकास गर्दा कसरी खुट्ट्याउने भनेर जान्दैनन्, र निश्चय नै आफ्ना कर्तव्यहरू निर्वाह गर्दा पालना गर्नुपर्ने सत्यता सिद्धान्तहरू बुझ्दैनन्। आफ्ना कर्तव्यहरू निर्वाह गर्ने र नगर्नेहरू सबै सुस्त, स्वच्छन्द, र अनुशासनहीन, साथै छरिएको बालुवाजस्तै छरपस्ट हुन्छन्। तीमध्ये धेरैजसोले केही शब्द र धर्मसिद्धान्तहरू बोल्न सक्लान्, तर आफ्ना कर्तव्यहरू निर्वाह गर्ने क्रममा, तिनीहरूले प्रावधानहरू मात्र पालना गर्छन्; तिनीहरू समस्याहरू समाधान गर्नका लागि सत्यता खोज्न जान्दैनन्। झूटा अगुवाहरूलाई नै समस्याहरू समाधान गर्नका लागि सत्यता खोज्न नआउने भएपछि, तिनीहरूले त्यो कुरामा अरूलाई कसरी अगुवाइ गर्न सक्छन् त? अरू मानिसहरूलाई जे आइपरे पनि, झूटा अगुवाहरूले तिनीहरूलाई यसो भनेर अर्ती दिन मात्र सक्छन्, “हामीले परमेश्‍वरका अभिप्रायहरूको ख्याल गर्नैपर्छ!” “हामी आफ्नो कर्तव्य निर्वाहमा बफादार हुनैपर्छ!” “आफूलाई केही आइपर्दा, हामीले प्रार्थना गर्न जान्नैपर्छ, र सत्यता सिद्धान्तहरू खोज्नैपर्छ!” झूटा अगुवाहरूले प्रायः यी नारा र धर्मसिद्धान्तहरू फलाक्छन्, र यसले कुनै पनि नतिजाहरू दिँदैन। मानिसहरूले तिनीहरूको कुरा सुनेपछि पनि सत्यता सिद्धान्तहरू के हुन् भनेर बुझ्दैनन्, र तिनीहरूसँग अभ्यासको मार्ग हुँदैन। सतही रूपमा, मानिसहरू आफूलाई केही आइपर्दा प्रार्थना गर्छन्, र आफ्नो कर्तव्य निर्वाहमा इमानदार हुने इच्छा गर्छन्—तर तिनीहरू सबैमा बफादार हुनका निम्ति तिनीहरूले के गर्नुपर्छ, परमेश्‍वरका अभिप्रायहरू बुझ्नका निम्ति तिनीहरूले कसरी प्रार्थना गर्नुपर्छ, र आफूलाई कुनै समस्या आइपर्दा सत्यता सिद्धान्तहरूबारे बुझाइ प्राप्त गर्नका निम्ति कसरी खोजी गर्नुपर्छ भन्‍ने जस्ता मामलाहरूसम्बन्धी बुझाइको कमी हुन्छ। मानिसहरूले झूटा अगुवाहरूलाई सोध्दा, तिनीहरू यसो भन्छन्, “तिमीलाई केही आइपर्दा, परमेश्‍वरका वचनहरू अझ धेरै पढ, अझ धेरै प्रार्थना गर, र सत्यतामा अझ बढी सङ्गति गर।” मानिसहरूले तिनीहरूलाई “यो कामले कस्ता सिद्धान्तहरू समेट्छ?” भनेर सोध्छन् र तिनीहरूले भन्छन्, “परमेश्‍वरका वचनहरूले व्यावसायिक कामका मामलाहरूबारे केही भन्दैनन्, र म पनि कामको त्यो क्षेत्र बुझ्दिनँ। यदि तिमीहरूलाई बुझ्ने इच्छा छ भने आफैले अनुसन्धान गर—मलाई नसोध। म तिमीहरूलाई व्यावसायिक कामका मामलाहरूमा होइन, सत्यता बुझ्नमा अगुवाइ गर्छु।” झूटा अगुवाहरूले प्रश्नहरूबाट बच्नका लागि यस्ता शब्दहरू प्रयोग गर्छन्। अनि फलस्वरूप, धेरैजसो मानिसहरूमा आफ्ना कर्तव्यहरू निर्वाह गर्ने तीव्र जोश भए पनि, तिनीहरू सत्यता सिद्धान्तहरूका आधारमा कार्य गर्न जान्दैनन्, न त आफ्ना कर्तव्यहरू निर्वाह गर्ने क्रममा सिद्धान्तहरू पालना गर्न नै जान्दछन्। झूटा अगुवाहरूको जिम्मेवारीको दायराभित्र पर्ने हरेक कामका नतिजाहरू हेर्दा, धेरैजसो मानिस आफ्नो काम गर्न आफ्नो ज्ञान, सिकाइ र वरदानहरूमा भर परिरहेका छन्, र तिनीहरू परमेश्‍वरका विशिष्ट मागहरू के-के हुन्, कर्तव्य निर्वाह गर्नुका सिद्धान्तहरू के-के हुन्, र परमेश्‍वरको गवाही दिने नतिजा हासिल गर्नका निम्ति कसरी कार्य गर्ने र परमेश्‍वरको देखापराइका लागि तड्पिने सबैले उहाँको आवाज सुनून्, साँचो मार्ग छानबिन गरून्, र सकेसम्म चाँडो परमेश्‍वरसामु फर्कून् भनेर कसरी सुसमाचारलाई अझ प्रभावकारी रूपमा विस्तार गर्ने भन्ने जस्ता मामलाहरूबारे अनजान हुन्छन्। तिनीहरू किन यी कुराहरूबारे अनजान हुन्छन्? यो सिधै झूटा अगुवाहरू वास्तविक काम गर्न असफल हुनुसँग सम्बन्धित छ। यसको मुख्य कारण के हो भने, झूटा अगुवाहरूलाई नै सत्यता सिद्धान्तहरू के हुन्, वा मानिसहरूले के-कस्ता सिद्धान्तहरू बुझ्नु र पछ्याउनुपर्छ भनेर थाहा हुँदैन। तिनीहरू सिद्धान्तहरूबिना कार्य गर्छन्, र कहिल्यै मानिसहरूलाई आफ्ना कर्तव्यमा अभ्यासका सिद्धान्तहरू र मार्गहरू खोज्नमा अगुवाइ गर्दैनन्। जब कुनै झूटो अगुवाले कुनै समस्या फेला पार्छ, तब ऊ आफैले त्यसलाई समाधान गर्न सक्दैन, र उसले अरूसँग सङ्गति र खोजी गर्दैन, जसका कारण प्रत्येक काममा बारम्बार कार्यहरू दोहोर्‍याएर गर्नुपर्ने हुन्छ। यो आर्थिक र भौतिक स्रोतको मात्र होइन, मानिसहरूको ऊर्जा र समयको पनि बरबादी हो। यस्ता परिणामहरू सिधै झूटा अगुवाहरूको कमजोर क्षमता र गैरजिम्मेवारीसँग सम्बन्धित हुन्छन्। झूटा अगुवाहरूले जानाजान दुष्टता गर्छन् र बाधाहरू निम्त्याउँछन् भनेर भन्‍न नसकिए पनि, तिनीहरू आफ्नो काममा सत्यता सिद्धान्तहरू बिलकुलै खोज्दैनन्, सधैँ आफ्नै इच्छाका आधारमा कार्य गर्छन् भनेर चाहिँ भन्‍न सकिन्छ। यो निश्चित हो। झूटा अगुवाहरूले सत्यता सिद्धान्तहरू बुझ्दैनन्, न त तिनका बारेमा अरूलाई प्रस्ट रूपमा सङ्गति गर्न नै सक्छन्; बरु, तिनीहरूले मानिसहरूलाई मनपरी गर्न खुल्ला छोडिदिन्छन्। यसले निश्चित काममा प्रभारी रहेका कतिपय मानिसलाई अनजानमै स्वेच्छाचारी र जानाजान ढङ्गले काम गर्न, आफ्नो इच्छाअनुसार चल्न र मनपरी गर्नतिर डोर्‍याउँछ। फलस्वरूप, वास्तविक नतिजाहरू थोरै मिल्ने मात्र नभई, मण्डलीको काम पनि भद्रगोल हुन्छ। जब कुनै झूटो अगुवा बरखास्त हुन्छ, तब उसले आत्मचिन्तन नगर्ने वा आफूलाई नचिन्‍ने मात्र होइन, उसले कुतर्क पनि गर्छ र आफ्नै पक्षमा तर्क गर्छ, र सत्यतालाई कति पनि स्विकार्दैन, अनि उसले पश्चात्ताप गर्ने मनसाय बिलकुलै राख्दैन। उसले आफूले पक्कै राम्रोसँग त्यो काम गर्न सक्ने भन्दै परमेश्‍वरको घरले आफूलाई अर्को मौका देओस् भनेर समेत माग गर्न सक्छ। के तिमीहरू तिनीहरूलाई विश्‍वास गर्छौ? तिनीहरू आफैलाई पटक्कै चिन्दैनन्, न त सत्यतालाई नै स्विकार्छन्। त्यसोभए, के तिनीहरूले आफ्नो मार्ग परिवर्तन गर्न सक्छन्? तिनीहरूसित सत्यता वास्तविकता छैन भने, के तिनीहरूले राम्रोसँग त्यो काम गर्न सक्छन्? के त्यो सम्भव छ? तिनीहरूले यस पटक राम्रोसँग काम गरेनन्—यदि तिनीहरूलाई अर्को मौका दिइयो भने, के तिनीहरूले राम्ररी गर्न सक्नेछन्? त्यो सम्भव छैन। निश्चितताका साथ भन्‍न सकिन्छ कि झूटा अगुवाहरूसित कार्यक्षमता हुँदैन; बेलाबेलामा, तिनीहरूले धेरै नै परिश्रम गर्लान् र तिनीहरू निकै व्यस्त हुन सक्लान्, तर यो अन्धो व्यस्तता हो, र यसले कुनै नतिजा दिँदैन। झूटा अगुवाहरूमा निकै कमजोर क्षमता हुन्छ, तिनीहरूले सत्यता बिलकुलै बुझ्दैनन्, र वास्तविक काम गर्न सक्दैनन् भनेर देखाउन यो नै पर्याप्त छ। यसले काममा धेरै समस्याहरू उत्पन्न गराउँछ, तर तिनीहरूले सत्यताबारे सङ्गति गरेर तिनलाई समाधान गर्न सक्दैनन्, केवल मानिसहरूलाई प्रावधानहरू पालना गर्न अर्ती दिन थोरै खोक्रा धर्मसिद्धान्तहरू प्रयोग गर्छन्, र फलस्वरूप तिनीहरूले कामलाई लथालिङ्ग पार्छन् र भद्रगोल अवस्थामा छोड्छन्। झूटा अगुवाहरूले काम गर्ने शैली र त्यसले निम्त्याउने परिणामहरू यही हो। सबै अगुवा र कामदारहरूले यसलाई एउटा चेतावनीका रूपमा लिनुपर्छ।

मण्डलीभित्र देखा पर्ने विभिन्‍न असन्तुष्टिपूर्ण समस्याहरू प्रत्यक्ष रूपमा झूटा अगुवाहरूसँग सम्बन्धित हुन्छन्—यो टार्न नसकिने समस्या हो। यी झूटा अगुवाहरूमा सत्यता बुझ्ने क्षमताको कमी हुन्छ, तैपनि तिनीहरू आफूले सबै कुरा बुझेको र जानेको छु भन्‍ने सोच्छन्, र त्यसपछि तिनीहरू आफ्नै कल्पना र धारणाहरूका आधारमा काम गर्छन्। तिनीहरूले सत्यता सिद्धान्तहरू वा परमेश्‍वरले तोक्‍नुभएका मापदण्डहरूसम्बन्धी तिनीहरूको बुझाइको अभाव समाधान गर्न कहिल्यै सत्यता खोज्‍ने गर्दैनन्। मैले धेरै अगुवा र कामदारहरूसँग अन्तरक्रिया गरेको छु, र म बारम्बार तिनीहरूलाई भेट्छु। जब हामी भेला हुन्छौँ, तब म तिनीहरूलाई सोध्छु, “के तिमीहरूसँग कुनै समस्याहरू छन्? के तिमीहरूले काममा रहेका समस्याहरू अभिलेख गरेका छौ? के तिमीहरूले आफै समाधान गर्न नसक्‍ने कुनै समस्याहरू छन्?” मैले सोधिसकेपछि, तिनीहरू ट्वाल्ल पर्छन्, र तिनीहरूले हृदयमा शङ्का गर्छन्: “हामी अगुवा हौँ; के हामीसँग कुनै समस्या हुन सक्छ? यदि हामीसँग समस्या छ भने, के मण्डलीको काम धेरै पहिले नै अवरुद्ध भएको हुन्थेन र? यो कस्तो प्रश्‍न हो? हामी प्रवचनहरू सुन्छौँ र सङ्गति गर्छौँ, र परमेश्‍वरका वचनहरू हातमा बोक्छौँ। मण्डलीमा अगुवाइ गर्ने हामी धेरै छौँ, तैपनि कसरी तपाईँ अझै चिन्ता गर्न सक्नुहुन्छ? यो प्रश्‍न गरेर तपाईँले हामीलाई स्पष्ट रूपमै कम आँकिरहनुभएको छ। हामीसँग कसरी समस्याहरू हुन सक्छन्? यदि हामीसँग समस्याहरू हुन्थे भने, हामीहरू अगुवा नै हुन्थेनौँ। तपाईँको प्रश्‍न निकै अनुचित छ!” हरेक पटक जब म तिनीहरूलाई कुनै समस्या छ कि छैन भनेर सोध्छु, तब तिनीहरू यस्तै स्थितिमा हुन्छन्—तिनीहरू हरव्यक्ति भावशून्यता र मूर्खताका नमुना हुन्। मण्डलीको कामका विभिन्‍न भागहरूमा धेरै समस्याहरू हुन्छन्, तर यी मानिसहरूले ती समस्या देख्‍न वा पत्ता लगाउन सक्दैनन्। तिनीहरूले व्यक्तिगत जीवन प्रवेशसँग सम्बन्धित सवालहरू, वा काममा रहेका सत्यता सिद्धान्तहरूसँग सम्बन्धित सवालहरू उठाउन सक्दैनन्। तिनीहरूले यी सवालहरू उठाउन नसक्‍ने हुनाले, म तिनीहरूलाई सोध्छु, “परमेश्‍वरका वचनहरू अनुवाद गर्ने काम कसरी अघि बढिरहेको छ? अहिले कति भाषामा अनुवाद गरिनुपर्छ, तँलाई थाहा छ? सुरुमा कुनकुन भाषाहरूमा अनुवाद गरिनुपर्छ, र कुनकुन भाषाहरूमा पछि गरिनुपर्छ? निश्‍चित भाषाहरूका लागि परमेश्‍वरका वचनहरूका कति प्रतिहरू छापिनुपर्छ?” तिनीहरूले जवाफ दिन्छन्, “अँ, ती वचनहरू अनुवाद भइरहेका छन्।” म तिनीहरूलाई सोध्छु, “अनुवादमा कति हदसम्‍म प्रगति भएको छ? के कुनै समस्याहरू छन्?” तिनीहरूले जवाफ दिन्छन्, “मलाई थाहा छैन; मैले सोध्नुपर्छ।” मैले तिनीहरूलाई यी कुराहरूबारे सोध्नुपर्छ, तर तिनीहरूलाई उत्तरहरू थाहा हुँदैन। त्यसोभए तिनीहरूले यति समयदेखि के काम गरिरहेका हुन्छन्? म तिनीहरूलाई सोध्छु, “के तैँले पछिल्लो पटक दाजुभाइ-दिदीबहिनीहरूले सोधेका समस्याहरू समाधान गरिस्?” तिनीहरूले जवाफ दिन्छन्, “मैले तिनीहरूसँग भेला आयोजना गरेँ—एउटा दिनभरिको भेला।” म तिनीहरूलाई सोध्छु, “भेलापछि समस्याहरू समाधान भए?” तिनीहरूले जवाफ दिन्छन्, “के तपाईँले अझै पनि समस्याहरू छन् भने, हामीले अर्को भेला गर्नुपर्छ भनेर भन्‍नुभएको हो?” म भन्छु, “मैले तैँले भेला आयोजना गरिस् कि गरिनस् भनेर सोधेको होइन। मैले त पेशागत समस्याहरू समाधान भएका छन् कि छैनन् भनेर सोधिरहेको छु। के यी मानिसहरूले सिद्धान्तहरू बुझेका छन्? के तिनीहरूले कर्तव्य निर्वाह गर्दा कुनै सिद्धान्तहरू उल्लङ्घन गरेका छन्? के तैँले कुनै समस्याहरू पत्ता लगाएको छस्?” तिनीहरूले जबाफ दिन्छन्, “ए, समस्याहरू? मैले ती समाधान गरेँ। मैले दाजुभाइ-दिदीबहिनीहरूका लागि भेला आयोजना गरेँ।” के यो कुराकानी जारी रहन सक्छ? (अहँ, सक्दैन।) के यो कुराकानी सुन्दा तिमीहरूलाई रिस उठ्दैन? (उठ्छ।) यी अगुवाहरू कस्ता छन्? के तिनीहरू छद्म-आत्मिक मूर्खहरू मात्रै होइनन् र? तिनीहरूमा अगुवा र कामदारहरूको क्षमता हुँदैन; तिनीहरू अन्धा हुन्छन्, तिनीहरूले काम कसरी गर्ने भन्‍ने कुरा बुझ्दैनन्, र तिनीहरूले हरेक प्रश्‍नको जवाफ “मलाई थाहा छैन” भनेर दिन्छन्, र जब तैँले तिनीहरूलाई प्रश्‍नहरू सोधिरहन्छस्, तब तिनीहरूले भन्छन्, “जे भए नि मैले भेला आयोजना गरेँ; यो कुरा छोड्नुहोस्!” के यी अगुवाहरूले वास्तविक काम गरेका हुन्छन्? के तिनीहरू मानकअनुरूपका अगुवाहरू हुन्? (होइनन्।) तिनीहरू झूटा अगुवाहरू हुन्। के तिमीहरूलाई यस्ता अगुवाहरू मन पर्छ? यदि तिमीहरूले त्यस्ता अगुवाहरू भेट्यौ भने, तिमीहरूले के गर्नुपर्छ? कति अगुवाहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई भेट्दा यसो भन्छन्, “आज तपाईँहरूसँग जे-जस्ता समस्या भए नि सुरुमा कर्तव्य कसरी राम्ररी निर्वाह गर्ने भन्‍नेबारे सङ्गति गरौँ।” त्यसपछि कति मानिसहरूले भन्छन्, “हामीले आफ्नो कर्तव्यमा पेशागत विधिहरूको समस्या सामना गरेका छौँ: के हामीले गैरविश्‍वासीहरूमाझ लोकप्रिय रहेका व्यावसायिक विधिहरू प्रयोग गर्नुपर्छ?” के यो अगुवाहरूले समाधान गर्नुपर्ने समस्या होइन र? यदि कति समस्याहरू दाजुभाइ-दिदीबहिनीहरूमाझ सङ्गति गरेर हल गर्न सकिँदैन भने, ती समस्याहरू हल गर्न अगुवाहरूले हस्तक्षेप गर्नुपर्छ—यो अगुवाहरूको जिम्मेवारीसित जोडिएको हुन्छ। झूटा अगुवाहरूले यी समस्याहरू सामना गर्दा के गर्छन्? तिनीहरूले भन्छन्, “यो पेशागत समस्या हो; यो तिमीहरूको समस्या हो, मसँग यसको के सम्बन्ध छ र? यो विषयमा आफै सङ्गति गर, तर सुरुमा म तिमीहरूका लागि भेला आयोजना गर्नेछु। आजको भेलामा, हामी सामञ्जस्यपूर्ण सहकार्यबारे सङ्गति गर्नेछौँ। तिमीहरूले भर्खरै सोधेको प्रश्‍न सामञ्जस्यपूर्ण सहकार्यसँग सम्बन्धित छ। तिमीहरूले मिलेर यी कुराहरूबारे छलफल र सङ्गति गर्न, र थप अनुसन्धान गर्न सक्‍नुपर्छ; कोही पनि आत्मधर्मी हुनु हुँदैन, र बहुमतको समर्थन भएको हरकुनै निर्णय हरकसैले स्विकार्नुपर्छ—के यो सामञ्जस्यपूर्ण सहकार्यको सवाल होइन र? सामञ्जस्यपूर्ण सहकार्य कसरी गर्ने, वा समस्याहरू देखा पर्दा कसरी छलफल गर्ने भन्‍ने तिमीहरूलाई थाहा छैन जस्तो छ। तिमीहरू मलाई हरेक समस्याबारे सोधिरहन्छौ। तिमीहरू केका लागि मलाई सोधिरहेका छौ? के मैले यी कुराहरू बुझेको छु? यदि मैले बुझेको भए, के तिमीहरूसँग कुनै काम हुनेथ्यो? तिमीहरू मलाई सबै कुराबारे सोधिरहन्छौ। के यो मैले सम्हाल्नुपर्ने समस्या हो? मेरो जिम्‍मेवारी त सत्यतामा सङ्गति गर्नु मात्र हो; पेशागत समस्याहरू आफै समाधान गर। मलाई ती कुराको के सरोकार? जे भए नि, मैले तिमीहरूलाई सङ्गति गरिसकेको छु र सामञ्जस्यपूर्ण सहकार्य गर्न भनिसकेको छु—यदि तिमीहरूले त्यसो गर्न सक्दैनौ भने, यो कर्तव्य निर्वाह नगर। मैले मेरो सङ्गति सकिसकेको छु; जाओ, आफै समस्या समाधान गर।” के यी अगुवाहरूलाई समस्याहरू कसरी हल गर्ने भन्‍ने थाहा हुन्छ? (अहँ, थाहा हुँदैन।) यो कसरी हल गर्ने भन्‍ने थाहा नभए नि, तिनीहरू आफूलाई अत्यन्तै औचित्यपूर्ण ठान्छन्, र तिनीहरू जिम्मेवारीबाट पन्छिन सिपालु हुन्छन्। बाहिरबाट हेर्दा, तिनीहरूले आफ्नो काम गरिसकेका हुन्छन्, तिनीहरू निरीक्षण गर्न कार्यस्थल पुगेका हुन्छन्, र तिनीहरू सुस्त भइरहेका हुँदैनन्। तर, तिनीहरूले वास्तविक काम गर्न वा वास्तविक समस्याहरू हल गर्न सक्दैनन्, जसको अर्थ तिनीहरू झूटा अगुवाहरू हुन् भन्‍ने हुन्छ। के तिमीहरूले यस्ता झूटा अगुवाहरू खुट्ट्याउन सक्छौ? तिनीहरूले कुनै पनि समस्या सामना गर्दा उपयुक्त सत्यताहरू सङ्गति गर्न सक्दैनन्: तिनीहरूले केही खोक्रा धर्मसिद्धान्त र वादहरू मात्रै बोल्छन्, जसलाई तिनीहरूले निकै उच्च र गहन सुनिने गरी बोल्छन्, र मानिसहरूले ती सुनेपछि, तिनीहरूले सत्यता बुझ्नु त कता हो कता, बरु उल्टै तिनीहरू अन्योलग्रस्त र दिग्भ्रमित पनि हुन्छन्। झूटा अगुवाहरूले गर्ने काम यही हो।

हरेक कर्तव्य उचित तरिकाले निर्वाह गर्नका निम्ति बुझ्नुपर्ने सत्यता सिद्धान्तहरूमा सङ्गति गर्ने काममा, झूटा अगुवाहरू पूर्ण रूपमा प्रकाश हुन्छन्। तिनीहरूले सत्यता सिद्धान्तहरूमा सङ्गति गर्न, वा मानिसहरूलाई कर्तव्य निर्वाह गर्दा सत्यता सिद्धान्तहरू पालना र अभ्यास गर्न अगुवाइ गर्न, वा तिनीहरूलाई सत्यता वास्तविकता बुझ्न र त्यसमा प्रवेश गर्न अगुवाइ गर्न सक्दैनन्—तिनीहरूले अगुवाहरूद्वारा पूरा गरिनुपर्ने जिम्मेवारी पूरा गर्न सक्दैनन्। यति मात्र होइन, तिनीहरूले फरकफरक कामका सुपरिवेक्षकहरू र विभिन्‍न महत्त्वपूर्ण कामका लागि जिम्मेवार व्यक्तिहरूका परिस्थितिहरूबारे पनि सुसूचित रहन सक्दैनन्, र तिनीहरूले यसबारे केही बुझे नि, त्यो सही हुँदैन। यसले विभिन्‍न काममा ठूलो बाधा र हानि ल्याउँछ। अगुवा र कामदारहरूको चौथो जिम्मेवारीअन्तर्गत आज हामीले खुलासा गर्न लागेका झूटा अगुवाहरूका विभिन्‍न प्रकटीकरणहरू यिनै हुन्।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्