अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (२९) खण्ड एक

विषयवस्तु पन्ध्र: विभिन्‍न महत्त्वपूर्ण काम व्यवस्थित ढङ्‍गबाट अगाडि बढोस् भन्‍ने कुरा सुनिश्‍चित गर्नका लागि सबै किसिमका महत्त्वपूर्ण कार्य-कर्मचारीहरूलाई बाहिरी संसारको हस्तक्षेपदेखि रक्षा गर्दै तिनीहरूको सुरक्षा गर्ने, र तिनीहरूलाई सुरक्षित राख्‍ने

अगुवा र कामदारहरूका जिम्मेवारीहरूबारे पछिल्लो पटक सङ्गति गर्दा हामीले कहाँ छोडेका थियौँ? (पछिल्लो पटक, हामीले मुख्य रूपमा अगुवा र कामदारहरूको चौधौँ जिम्मेवारीअन्तर्गत मानवताका आधारमा विभिन्‍न प्रकारका मानिसहरूलाई खुट्ट्याउनुसँग सम्बन्धित अन्तिम तीनवटा प्रकटीकरणहरूबारे सङ्गति गरेका थियौँ। ती तीन प्रकटीकरणहरू यस प्रकार छन्: कायर र शङ्कालु हुनु, समस्या पैदा गर्ने प्रवृत्ति हुनु, र जटिल पृष्ठभूमि हुनु।) हामीले पछिल्लो पटक अगुवा र कामदारहरूको चौधौँ जिम्मेवारीका अन्तिम तीनवटा विषयहरूबारे सङ्गति पूरा गर्‍यौँ, त्यसकारण आज हामी पन्ध्रौँ जिम्मेवारीबारे सङ्गति गर्नेछौँ। पन्ध्रौँ जिम्मेवारी के हो? (“विषयवस्तु पन्ध्र: विभिन्‍न महत्त्वपूर्ण काम व्यवस्थित ढङ्‍गबाट अगाडि बढोस् भन्‍ने कुरा सुनिश्‍चित गर्नका लागि सबै किसिमका महत्त्वपूर्ण कार्य-कर्मचारीहरूलाई बाहिरी संसारको हस्तक्षेपदेखि रक्षा गर्दै तिनीहरूको सुरक्षा गर्ने, र तिनीहरूलाई सुरक्षित राख्‍ने।”) “सबै किसिमका महत्त्वपूर्ण कार्य-कर्मचारीहरूलाई बाहिरी संसारको हस्तक्षेपदेखि रक्षा गर्दै तिनीहरूको सुरक्षा गर्ने, र तिनीहरूलाई सुरक्षित राख्ने।” यो जिम्मेवारीमा अगुवा र कामदारहरूका जिम्मेवारीहरूको अर्को पक्ष संलग्‍न छ; यो अगुवा र कामदारहरूले राम्ररी गर्नैपर्ने एउटा निश्‍चित काम पनि हो। यो काम केसँग सम्बन्धित छ? (यो परमेश्‍वरका चुनिएका मानिसहरूलाई सुरक्षित राख्‍नुसँग सम्बन्धित छ।) यसमा व्यक्तिगत सुरक्षाका मामलाहरू संलग्‍न छन्। के यो विषय मण्डलीको काममा बारम्बार सामना गरिँदैन र? के तिमीहरू यो विषयसँग अपरिचित छौ? (छैनौँ।) यो विषय चिनियाँ दाजुभाइ-दिदीबहिनीहरूका निम्ति अपरिचित छैन, किनभने चीनको सामाजिक वातावरणमा विश्‍वासीहरूलाई सताइन्छ र पक्राउ गरिन्छ, र तिनीहरूलाई तिनीहरूको कर्तव्य निर्वाहमा र जीवनका सबै पक्षहरूमा सुरक्षाको प्रत्याभूति आवश्यक हुन्छ। त्यसकारण, यो काम अगुवा र कामदारहरूका जिम्मेवारीहरूको दायराभित्रै पर्छ; यो ऐच्छिक कुरा होइन। कुनै देशमा धार्मिक स्वतन्त्रता भए पनि वा नभए पनि, विभिन्‍न महत्त्वपूर्ण कर्तव्य पूरा गर्ने कर्मचारीहरूको बसोबासको उचित बन्दोबस्त गर्नु अगुवा र कामदारहरूले गर्नैपर्ने एउटा निश्‍चित काम हो। यो कामको केन्द्रबिन्दु वा विशिष्ट मागहरू फरक हुन सक्छन्, तर मुख्य कुरा दाजुभाइ-दिदीबहिनीहरूले आफ्नो कर्तव्य सुरक्षित र निर्धक्‍क भएर निर्वाह गर्न सक्छन् कि सक्दैनन्, र तिनीहरूको कर्तव्यका परिणामहरू सुनिश्‍चित गर्न सकिन्छ कि सकिँदैन भन्‍ने हो। त्यसकारण, तँ लोकतान्त्रिक देशमा बस्छस् भन्दैमा यो कामलाई बेवास्ता नगर् वा तेरा लागि यो अप्रासङ्गिक छ भन्‍ने नठान्। तँ बस्ने देशको शासन प्रणाली जस्तोसुकै भए पनि वा त्यहाँ विश्‍वासीहरूलाई सताउने गरिएको होस् वा नहोस्, यो काम अगुवा र कामदारहरूका जिम्मेवारीहरूको दायराभित्रै पर्छ; यो अगुवा र कामदारहरूले गर्नैपर्ने काम हो—यसबाट कसैलाई पनि छूट हुँदैन, र यसलाई “अतिरिक्त” कामका रूपमा लिइनु हुँदैन। त्यसकारण आज हामी यो विषयसँग सम्बन्धित विभिन्‍न किसिमका सबै समस्याहरूबारे सङ्गति गरौँ।

महत्त्वपूर्ण कार्य-कर्मचारीहरूको दायरा

सुरुमा, पन्ध्रौँ जिम्मेवारीमा उल्लिखित “सबै प्रकारका महत्त्वपूर्ण कार्य-कर्मचारीहरू” भन्‍नुको अर्थ के हो भनी हेरौँ। के यो हामीले सङ्गति गर्नुपर्ने विषय होइन र? (हो।) त्यसोभए, “सबै प्रकारका महत्त्वपूर्ण कार्य-कर्मचारीहरू” ले केलाई जनाउँछ? सुरुमा हामी यस कामका लक्ष्यहरूको दायरा स्थापित गरौँ। यसबारे कसले बोल्न सक्छ? (सबै प्रकारका महत्त्वपूर्ण कार्य-कर्मचारीहरूमा भिडियो समूहका, चलचित्र निर्माण समूहका, शुद्धाशुद्धि जाँच टोलीका, र भजन समूहका दाजुभाइ-दिदीबहिनीहरू, र अरू महत्त्वपूर्ण कर्तव्य पूरा गर्ने मानिसहरू पर्छन्। यसका साथै, यसमा विभिन्‍न महत्त्वपूर्ण कामहरूमा मुख्य भूमिका खेल्ने केही दाजुभाइ-दिदीबहिनीहरू, साथै हरेक समूहका सुपरिवेक्षकहरू पनि पर्छन्।) यसमा अरू कसले थप्‍न चाहन्छ? (यसमा अगुवा र कामदारहरू पनि पर्छन्।) अगुवा र कामदारहरूलाई वास्तवमै राम्ररी रक्षा गरिनुपर्छ। अरू को पर्छन्? (साधारण मामलाहरू सम्हाल्ने महत्त्वपूर्ण कर्मचारीहरू पनि पर्छन्, जस्तै वित्तसम्बन्धी कर्मचारीहरू।) (अनि परमेश्‍वरमा विश्‍वास गरेका र कर्तव्य पूरा गरेका कारण पक्राउ सूचीमा वा पुलिसको रेकर्डमा रहेका दाजुभाइ-दिदीबहिनीहरूलाई पनि सुरक्षा चाहिन्छ।) यो अर्को वर्ग हो, र यो एक विशेष समूह हो। अब कति वटा वर्गहरू छन् भनेर सारांशीकृत गरौँ। पहिलो वर्गमा अगुवा र कामदारहरू समावेश हुन्छन्। दोस्रो वर्गमा परमेश्‍वरको घरका विभिन्‍न कामका लागि अपरिहार्य कर्मचारीहरू, विशेषगरी विभिन्‍न कामका टोली अगुवा र सुपरिवेक्षकहरू साथै राम्रो क्षमता र आत्मिक बुझाइ भएका, र सिद्धान्तहरू बुझ्न सक्‍ने र स्वतन्त्र रूपमा महत्त्वपूर्ण काम वहन गर्न सक्‍ने क्षमता भएका कर्मचारीहरू समावेश हुन्छन्। विभिन्‍न काम सम्हाल्ने कर्मचारीहरू धेरै प्रकारका हुन्छन्, जस्तै लेखन-पठनको काम गर्ने, भजनको काम गर्ने, चलचित्र निर्माणको काम गर्ने, आदि, साथै सुसमाचार प्रचार गर्ने, गवाही दिने, वा सुसमाचार निर्देशकका रूपमा काम गर्नेलगायतका कर्मचारीहरू। यसअलावा, यसमा वित्त, संरक्षण, र बाहिरी मामलाहरूको काम सम्हाल्ने कर्मचारीहरू पनि समावेश हुन्छन्। यी व्यक्तिहरूले मण्डलीको काममा सहयोगी भूमिका खेल्छन् र तिनीहरू अपरिहार्य हुन्छन्; तिनीहरू सबै विभिन्‍न काम सम्हाल्ने कर्मचारीको हिस्साका रूपमा समावेश हुन्छन्। यो दोस्रो प्रमुख वर्ग हो। तेस्रो प्रमुख वर्गमा मण्डलीको खतरनाक काममा संलग्‍न हुनेहरू पर्छन्। खासगरी, धार्मिक स्वतन्त्रता नभएका अधिनायकवादी शासन भएका देशहरूमा केही अत्यन्तै खतरनाक कामहरू हुन्छन्, जस्तै पुस्तक छाप्‍ने, पुस्तक ढुवानी गर्ने, मण्डलीका सम्पत्तिहरूको रक्षा गर्ने, साथै महत्त्वपूर्ण कर्तव्य पूरा गर्ने कर्मचारीहरूलाई अतिथि सत्कार गर्ने र उनीहरूको बसोबासको बन्दोबस्त गर्ने। अरू को पर्छ? (बाहिर सूचना प्रवाह गर्ने केही सामान्य मामलाका कर्मचारीहरू पनि हुन्छन्; तिनीहरूले पूरा गर्ने कर्तव्यहरू पनि तुलनात्मक रूपमा खतरनाक नै हुन्छन्।) यी व्यक्तिहरू खतरनाक काममा संलग्‍न भएको मानिन्छ। तर, यी मानिसहरूले अवश्य नै कहिलेकाहीँ मात्रै यो काम गरिरहेका हुँदैनन्; बरु, तिनीहरू त यी महत्त्वपूर्ण र खतरनाक कामहरू गर्नमा विशेषज्ञ नै हुन्छन्, जस्तै सूचना प्रवाह गर्ने, कार्य प्रबन्धहरू वितरण गर्ने, परमेश्‍वरको घरका सबै भिडियो, चलचित्र, वा रेकर्ड गरिएका प्रवचनहरू वितरण गर्ने, आदि इत्यादि। धार्मिक स्वतन्त्रताविनाका अधिनायकवादी देशहरूमा, परमेश्‍वरका चुनिएका कुन-कुन मानिसहरूले महत्त्वपूर्ण कर्तव्य पूरा गरिरहेका छन् र खतरनाक काम गरिरहेका छन् भन्‍नेबारे अगुवा र कामदारहरू प्रस्ट हुनैपर्छ। छोटकरीमा भन्दा, यी व्यक्तिहरू पनि महत्त्वपूर्ण कार्य-कर्मचारीहरूको एउटा वर्ग हुन्, र अगुवा र कामदारहरूले तिनीहरूको सुरक्षालाई विशेष ख्याल गर्नैपर्छ; यसलाई बेवास्ता गर्न मिल्दैन। यो तेस्रो वर्ग हो। चौथो वर्ग मण्डलीको कामको अर्को अपरिहार्य समूह हो। यी व्यक्तिहरूमा विशेष सीप र वरदानहरू हुन्छन्, जस्तै सुसमाचार प्रचार गर्ने, प्रवचनहरू दिने, मण्डलीलाई मलजल गर्न, वा निश्चित कामहरू आयोजना गर्ने जिम्मेवारी लिने कार्यमा दक्ष हुन्छन्। यी व्यक्तिहरू अगुवा र कामदार, विभिन्‍न कामका सुपरिवेक्षक, वा खतरनाक काममा संलग्‍न मानिस हुन सक्छन्। त्यस्ता मानिसहरूविना, तिनीहरूले सम्हाल्ने महत्त्वपूर्ण काममा दरार हुनेछ, र अरू कसैले पनि तिनीहरूको भूमिका पूरा गर्न सक्दैन। त्यसकारण, यी व्यक्तिहरूलाई रक्षा गरिनुपर्छ, र उनीहरूको सुरक्षा सुनिश्‍चित गरिनुपर्छ। यो मानिसहरूको एउटा वर्ग हो। अर्को वर्गमा धर्मलाई सताइने देशहरूमा परमेश्‍वरमा विश्‍वास गरेका कारण पक्राउका लागि खोजीसूचीमा परेका वा पुलिसको रेकर्डमा भएका मानिसहरू पर्छन्। पक्राउ पुर्जीको दायरा वा तिनीहरूले मण्डलीमा गर्ने काम जेसुकै भए नि, यदि तिनीहरू परमेश्‍वरमाथिको विश्‍वास र कर्तव्य निर्वाह गरेका कारण खोजीसूचीमा परेका छन् भने, अगुवा र कामदारहरूले तिनीहरूलाई रक्षा गर्ने उपायहरू खोज्नुपर्छ, र तिनीहरूलाई कर्तव्य पूरा गर्नका लागि तुलनात्मक रूपमा सुरक्षित स्थानहरूमा राख्ने प्रबन्ध मिलाउनुपर्छ। धार्मिक आस्थालाई सताउने सबै देशहरूमध्ये, चीनको सतावट सबैभन्दा गम्भीर छ। चीनका विभिन्‍न प्रान्त र क्षेत्रहरूमा, धेरै मानिसहरू पक्राउ परेका वा खोजीसूचीमा राखिएका छन्, र तिनीहरू घर फर्कन सक्दैनन्। संसारभरि र हरेक महादेशमा धार्मिक आस्थालाई सताउने चीनजस्तै केही देशहरू छन्, र यी देशहरूमा, सर्वशक्तिमान् परमेश्‍वरलाई स्विकारेका कारण, सतावट सामना गर्ने र घर फर्कन नसक्‍ने मानिसहरू पनि छन्। जो सतावटमा परेका छन् र घर फर्कन सक्दैनन् तिनीहरूलाई अगुवा र कामदारहरूले सक्दो चाँडो पूर्णकालीन कर्तव्य मण्डलीमा राख्‍ने बन्दोबस्त गर्नुपर्छ। अगुवा र कामदारहरूले तिनीहरूलाई स्थानीय अवस्थाअनुसार तुलनात्मक रूपमा अलि सुरक्षित वातावरणमा बसाल्नुपर्छ ताकि तिनीहरूले आफ्नो कर्तव्य पूरा गर्न सकून्। यो राम्ररी गर्नैपर्ने एउटा प्राथमिक काम हो। पक्राउ परेका वा खोजीसूचीमा रहेका यी व्यक्तिहरू सुरक्षा आवश्यक पर्ने कर्मचारीहरूको पाँचौँ वर्गमा पर्छन्। विभिन्‍न महत्त्वपूर्ण काम सम्हाल्ने कर्मचारीहरूमा अर्को वर्ग पनि छ, जुन विशेष छ। यी व्यक्तिहरू अहिले अगुवा वा कामदार नहुन सक्छन्, न त तिनीहरू खतरनाक काममा नै संलग्‍न हुन्छन्, तर तिनीहरूले यसभन्दा पहिले धेरै कर्तव्यहरू पूरा गरेका हुन्छन् र तिनीहरूको कामले वृहत् दायरा समेटेको हुन्छ। तिनीहरूलाई धेरै अतिथि सत्कारक परिवारहरूबारे थाहा हुन्छ र महत्त्वपूर्ण कर्तव्य पूरा गरिरहेका केही कर्मचारीहरूबारे पनि थाहा हुन्छ। त्यसकारण, यदि त्यस्ता व्यक्तिहरूलाई पक्राउ गरियो भने, यसले मण्डलीको काममा पनि प्रकोप ल्याउनेछ। यी व्यक्तिहरूलाई “भित्री कुरा भएका मानिसहरू” भनिनुपर्छ, र तिनीहरूलाई सबै प्रकारका महत्त्वपूर्ण कार्य-कर्मचारीहरूको सूचीमा पनि समावेश गरिनुपर्छ। परमेश्‍वरका चुनिएका सबै मानिसहरूको सुरक्षाको प्रत्याभूति गर्ने र मण्डलीको काम सामान्य रूपमा अघि बढ्न सक्‍ने कुरा सुनिश्‍चित गर्ने उद्देश्यका लागि अगुवा र कामदारहरूले तिनीहरूको सुरक्षा सुनिश्‍चित गर्नुपर्छ। विशेष गरी यो वर्गका कतिपय व्यक्तिहरू निकै लापरवाह हुन्छन्; तिनीहरू सतर्क हुन जान्दैनन्, र तिनीहरूमा त्यति धेरै बुद्धि नै हुँदैन। तिनीहरूमा सधैँ जोश देखाएर कार्य गर्ने, र बाहिर बेपरवाह रूपमा कामकुरा गर्ने प्रवृत्ति हुन्छ। कहिल्यै पक्राउ नपरेका वा यातना नभोगेका हुनाले, तिनीहरूलाई केही बिग्रियो भने त्यसमा हुने खतरा र त्यसका सम्भावित परिणामहरूबारे थाहै हुँदैन, ती परिणामहरूको गम्भीरता कस्तो हुनेछ भनेर तिनीहरूले बुझ्नु त झन् परको कुरा हो। तिनीहरू आफूले परमेश्‍वरमा विश्‍वास मात्रै गरिरहेको छु, केही नराम्रो गरिरहेको छैनँ भन्‍ने विश्‍वास गर्ने हुनाले, तिनीहरू केही कुराको पनि डर मान्दैनन्। परिणामस्वरूप, केही समयसम्म स्थानीय स्तरमा काम गरेपछि, तिनीहरू निकै चर्चित बन्‍न सक्छन् र सरकारी निगरानीमा पर्न सक्छन्। के त्यसले खतरा पैदा गर्दैन र? तिनीहरू पक्राउ परेपछि, यदि तिनीहरूले यातना दिएर गरिएको सोधपुछ सहन सकेनन् भने, तिनीहरू दाजुभाइ-दिदीबहिनीहरूलाई धोका दिएर यहूदा बन्‍न सक्छन्। यसले मण्डलीमा ठूलो घाटा ल्याउनेछ र अरू दाजुभाइ-दिदीबहिनीहरूलाई मुछ्नेछ, र तिनीहरूलाई पक्राउ पर्ने र जेल जाने खतरामा पार्नेछ, र यसले मण्डलीका विभिन्‍न काममा गम्भीर असर पार्नेछ। त्यसकारण, मण्डलीले त्यस्ता व्यक्तिहरूको सुरक्षालाई पनि प्राथमिकता दिनुपर्छ। यदि तिनीहरूलाई लुकाउनका लागि स्थानीय स्तरमा कुनै सुरक्षित ठाउँ भेट्टाउन सकिएन भने, तिनीहरूलाई आफ्नो कर्तव्य पूरा गर्नका लागि अन्यत्र तुलनात्मक रूपमा अलि सुरक्षित ठाउँमा स्थानान्तर गर्नुपर्छ। यो मानिसहरूको अर्को वर्ग हो। तिनीहरूको विशेष खालको अवस्थाका कारण, अगुवा र कामदारहरूले तिनीहरूको बासस्थान मिलाउने बन्दोबस्त गर्नुपर्छ, त्यसैले तिनीहरूलाई पनि सबै प्रकारका महत्त्वपूर्ण कार्य-कर्मचारीहरूको सूचीमा समावेश गरिन्छ। जम्मा कति वटा वर्गका मानिसहरू छन्? (छ वटा। पहिलो वर्गमा अगुवा र कामदारहरू पर्छन्। दोस्रो वर्गमा परमेश्‍वरको घरका विभिन्‍न काम सम्हाल्ने अपरिहार्य कर्मचारीहरू पर्छन्; यसमा सुपरिवेक्षकहरू, टोली अगुवाहरू, र सुसमाचार निर्देशकहरू; र कामको बोझ लिन सक्‍ने मानिसहरू पर्छन्। तेस्रो वर्गमा मण्डलीको खतरनाक काममा संलग्‍न हुने कर्मचारीहरू पर्छन्। चौथोमा विशेष सीप र वरदान भएका मानिसहरू पर्छन्। पाँचौँ वर्गमा पुलिस रेकर्डमा भएका मानिसहरू, खेदोमा परेका मानिसहरू, र खोजीसूचीमा रहेका मानिसहरू पर्छन्। अनि छैटौँ वर्गमा भित्री सूचना थाहा भएका मानिसहरू पर्छन्।) हामीले मूलतः विभिन्‍न काममा संलग्‍न सबै महत्त्वपूर्ण कर्मचारीहरूलाई समेटेका छौँ, तर थप्‍नुपर्ने एउटा वर्ग छ: यदि मण्डलीका कुनै पनि दाजुभाइ वा दिदीबहिनीहरूले आफ्नो कर्तव्य पूरा गर्न बाहिर जानुपरेकाले, उनीहरू पक्राउ परेकाले, वा अरू कुनै अप्रत्याशित अवस्था आइपरेकाले, आफ्ना नाबालिग छोराछोरीको हेरचाह गर्न सक्दैनन् भने, अगुवा र कामदारहरूले ती छोराछोरीलाई उचित घरमा राख्‍ने बन्दोबस्त गर्नुपर्छ ताकि तिनीहरूसँग जीविकोपार्जनको माध्यम होस्। यो पनि एउटा विशेष काम हो। यो काम मण्डलीको कामसँग सम्बन्धित नभए पनि, र यो विशेष परिस्थितिहरूबाट मात्रै उत्पन्‍न हुने भए पनि, अगुवा र कामदारहरूले यी नाबालिग छोराछोरीका लागि उपयुक्त स्थानहरू मिलाउने जिम्मेवारी लिनैपर्छ। यदि तिनीहरूका उपयुक्त आफन्तहरू छैनन्, वा यदि तिनीहरूका आफन्तहरू गैरविश्‍वासी हुन् र उनीहरू तिनीहरूलाई स्विकार्न चाहँदैनन् भने, मण्डलीले नै तिनीहरूलाई स्विकार्नुपर्छ। मण्डलीले तिनीहरूका लागि उपयुक्त अतिथि सत्कारक निवासको बन्दोबस्त गर्ने मात्र होइन, तिनीहरूको हेरचाहको जिम्मेवारीमा दाजुभाइ-दिदीबहिनीहरू पनि खटाउनुपर्छ। तिनीहरूका लागि उपयुक्त स्थानको बन्दोबस्त गरेपछि, यदि तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्छन् भने, त्यो अवश्य नै सबैभन्दा उचित हुन्छ, र तिनीहरू वयस्क भएपछि, तिनीहरूले मण्डलीमा आफ्नो कर्तव्य पूरा गर्न सक्छन्। यदि तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्दैनन् भने, जब तिनीहरू वयस्क हुन्छन् र समाजमा प्रवेश गर्छन्, तब तिनीहरू उप्रान्त मण्डलीसँग जोडिनेछैनन्, र हाम्रो जिम्मेवारी पूरा हुनेछ। हामीले त्यो बिन्दुभन्दा अगाडि तिनीहरूको मामलामा चिन्ता लिनुपर्ने छैन। के यो उचित हो? (हो।) यो काममा मण्डलीका विभिन्‍न काम समावेश नभए पनि, यसलाई अगुवा र कामदारहरूको जिम्मेवारीको दायरामै समावेश गरिनुपर्छ। यदि मण्डलीमा आफ्नो कर्तव्य निर्वाह गर्ने मानिसहरूका छोराछोरीलाई कुनै ठाउँ खोजेर राख्नु आवश्यक छ भने, अगुवा र कामदारहरूले, त्यो अवस्था थाहै नभएको अवस्थामा बाहेक, यसलाई बेवास्ता गर्न मिल्दैन। यदि तिनीहरूलाई यसबारे थाहा छ भने, तिनीहरूले प्रश्‍नहरू सोध्नुपर्छ, यसलाई सम्हाल्नुपर्छ, र तिनीहरूका लागि उचित स्थानको बन्दोबस्त गर्ने जिम्मेवारी लिनुपर्छ। अगुवा र कामदारहरूले आफ्नो कर्तव्य निर्वाह गरिरहेका दाजुभाइ-दिदीबहिनीहरू—विशेषगरी महत्त्वपूर्ण काम गर्ने व्यक्तिहरू—यस मामलामा चिन्तामुक्त हुनुपर्ने सुनिश्‍चित गर्नुपर्छ। यो काम राम्ररी गर्न गाह्रो हुँदैन, होइन र? (अहँ, हुँदैन।) महत्त्वपूर्ण कार्य-कर्मचारीहरूका कम्तीमा पनि छवटा वर्गहरू छन्। सातौँ वर्ग अतिरिक्त वर्ग हो, यसले अत्यन्तै विशेष प्रकारको परिस्थितिको प्रतिनिधित्व गर्छ। पहिलो छ वटा वर्गमा सूचीबद्ध गरिएका विभिन्‍न कर्मचारी सबै पाष्टरीय एकाइ वा देशमा नहुन सक्छन्। तर, चाहे जुनसुकै देश भए पनि, अगुवा र कामदारहरू र महत्त्वपूर्ण कर्तव्य पूरा गरिरहेकाहरूलाई रक्षा गर्नु अत्यन्तै महत्त्वपूर्ण काम हो। यो सबै मण्डली अगुवा र कामदारहरूले ध्यान दिनैपर्ने काम हो, र यो तिनीहरूले राम्ररी पूरा गर्नैपर्ने जिम्मेवारी हो।

महत्त्वपूर्ण कार्य-कर्मचारीहरूलाई बाहिरी संसारको हस्तक्षेपबाट रक्षा गर्नु

अ. अतिथि सत्कारक परिवारले अपनाउनुपर्ने सुरक्षा

हामीले महत्त्वपूर्ण कार्य-कर्मचारीहरू को-को हुन् भनेर स्पष्ट पारिसकेका छौँ, त्यसैले अब हामी अगुवा र कामदारहरूले गर्नैपर्ने विशेष कामहरूलाई हेरौँ—त्यो हो, सबै प्रकारका महत्त्वपूर्ण कार्य-कर्मचारीहरूलाई बाहिरी संसारको हस्तक्षेपबाट रक्षा गर्दै तिनीहरूको सुरक्षा गर्नु, र तिनीहरूलाई सुरक्षित राख्‍नु। त्यसोभए, अगुवा र कामदारहरूले आफ्ना जिम्मेवारी पूरा गरेका छन् भनेर मानिनका लागि, उनीहरूलाई बाहिरी संसारको हस्तक्षेपबाट प्रभावकारी रूपमा रक्षा गर्नका लागि के-कस्तो निश्‍चित काम गर्नुपर्छ? निश्‍चित काम गर्ने कुरामा, कतिपय अगुवा र कामदारहरू आफू अप्ठ्यारोमा परेझैँ महसुस गर्छन्, तिनीहरू कसरी कार्य गर्ने भन्‍ने कुरामा अनिश्‍चित भएर आफ्नो टाउको कन्याउँदै तनाव लिएर बस्छन्। यी महत्त्वपूर्ण कार्य-कर्मचारीहरूका लागि स्थानको बन्दोबस्त गर्ने एउटा महत्त्वपूर्ण सिद्धान्त छ: तिनीहरूको सुरक्षा सुनिश्‍चित गर्न तिनीहरूलाई बाहिरी संसारको हस्तक्षेपबाट रक्षा गर्नैपर्छ। महत्त्वपूर्ण कार्य-कर्मचारीहरूलाई चाहे दाजुभाइ-दिदीबहिनीहरूका घरमा राखियोस् वा भाडाको घरमा राखियोस्, अत्यावश्यक कुरा के हो भने, तिनीहरूको सुरक्षा चाहिँ सुनिश्‍चित हुनैपर्छ। तिनीहरूको सुरक्षा सुनिश्‍चित गर्नु भनेको तिनीहरूलाई बाहिरी संसारको हस्तक्षेपबाट रक्षा गर्नु हो। त्यसोभए, तिनीहरूलाई बाहिरी संसारको हस्तक्षेपबाट रक्षा गर्न अगुवा र कामदारहरूले के गर्नुपर्छ? यसका लागि महत्त्वपूर्ण कर्तव्य निर्वाह गरिरहेका मानिसहरूलाई उचित स्थानमा राखिने बन्दोबस्त गरिनु आवश्यक पर्छ। यसलाई दुईवटा पक्षबाट हेरौँ: एउटा त अतिथि सत्कारक परिवारको आन्तरिक वातावरण हो, र अर्को बाहिरी वातावरण हो। आन्तरिक वातावरणको सम्बन्धमा, पहिला त अतिथि सत्कारक साँचो विश्‍वासी हुनैपर्छ, जो अतिथि सत्कार गर्न इच्छुक हुनुपर्छ, कुराहरूको गोपनीयता कायम राख्‍न, होसियार भएर काम गर्न, र बाहिरी संसारलाई बुद्धिमानी ढङ्गले सम्हाल्न सक्‍ने हुनुपर्छ। यदि कुनै विशेष अवस्था उत्पन्‍न भयो भने, तिनीहरूले यसमा कसरी प्रतिक्रिया दिने भन्‍ने कुरा जानेको हुनुपर्छ; तिनीहरूले निष्क्रिय रूपमा नभई सक्रिय रूपमा यसलाई सम्हाल्न र सम्बोधन गर्न सक्‍नुपर्छ। यसका साथै, स्थानीय स्तरमा तिनीहरूको राम्रो ख्याति हुनुपर्छ, वा स्थानीय स्तरमा केही प्रतिष्ठा र सम्पर्क हुनुपर्छ। तिनीहरू प्रभावशाली नभए पनि कम्तीमा आफ्नो उचित स्थानमा बस्‍ने र राम्रो जीवन जिउने र कहिल्यै समस्या ननिम्त्याउने वा आफ्नो घरमा शङ्कास्पद व्यक्तिहरूलाई आकर्षित नगर्ने हुनुपर्छ। तिनीहरूसँग जुवातास खेल्न वा मदिरा पिउन भेला हुने साथीहरू हुनु हुँदैन। यसअलावा, बाहिरी संसार र छिमेकीहरूसँगको तिनीहरूको सम्बन्ध तुलनात्मक रूपमा सामान्य हुनुपर्छ। तिनीहरू ऋणको कुनै विवादमा मुछिएको हुनु हुँदैन र छिमेकीहरूसँग द्वन्द्वरत हुनु हुँदैन। अर्को शब्दमा भन्दा, तिनीहरूको घरको वातावरण तुलनात्मक रूपमा शान्त हुनुपर्छ, अतिथि सत्कारकका जटिल सम्बन्धहरू हुनु हुँदैन, र तिनीहरूका घरमा बाधाहरू पैदा गर्ने बाहिरी मानिसहरू त्यति धेरै आउनु हुँदैन, आदि इत्यादि—सबै पक्षहरू उपयुक्त हुनुपर्छ। अझ भन्‍ने हो भने, अतिथि सत्कारकका छोराछोरी वा आफन्तहरूले परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वासलाई समर्थन गर्नुपर्छ, वा कम्तीमा पनि तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई अतिथिसत्कार गर्ने कुराको विरोध गर्नु हुँदैन, र अवश्य नै यी कुराहरूबारे बेपरवाह रूपमा कुरा गर्दै हिँड्नु हुँदैन। कतिले यसो भन्लान्, “यी सबै मापदण्डहरू पूरा गर्ने अतिथि सत्कारक परिवार भेट्टाउन सजिलो छैन!” यसले तुलनात्मक रूपमा उपयुक्त ठाउँ भेट्टाउनुपर्छ भन्‍न खोजेको हो; पूर्ण सिद्धता जरुरी छैन। कम्तीमा जिउने वातावरण चाहिँ उचित हुनुपर्छ—शान्त र बाहिरी हस्तक्षेपबाट मुक्त हुनुपर्छ—जसले महत्त्वपूर्ण कार्य-कर्मचारीहरूलाई बाहिरी संसारको हस्तक्षेपबाट रक्षा गर्ने माग पूरा गर्छ। कतिपय अतिथि सत्कारक परिवारहरूमा परिवारका हरेक सदस्य विश्‍वासी नभए पनि, अतिथि सत्कारकले घरभित्र प्रतिष्ठा पाएको हुन्छ र उसले नै निर्णय गर्ने गर्छ। तिनीहरूका गैरविश्‍वासी छोराछोरी वा आफन्तहरूले परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वासमा वा तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई अतिथि सत्कार गरेकोमा हस्तक्षेप गर्ने आँट गर्दैनन्; भित्री रूपमा असहमत नै भए पनि तिनीहरूले यो जानकारी परिवारभन्दा बाहिरका मानिसहरूलाई बाँड्ने आँट गर्दैनन्। यदि साँच्‍चै नै केही भइदियो भने, तिनीहरूले सुरक्षा प्रदान गर्न सहयोग समेत गर्न सक्छन्। यसरी, यस अतिथि सत्कारक घरमा बस्‍ने दाजुभाइ-दिदीबहिनीहरू पनि बाहिरी संसारको हस्तक्षेपबाट अप्रभावित रहन सक्छन्। कतिपय अवस्थाहरूमा अतिथि सत्कारक डरपोक हुन्छ, उसलाई आफ्‍ना छोराछोरीले परमेश्‍वरमाथिको उसको विश्‍वासको खुलासा गर्लान्, आफ्‍ना छिमेकीहरूले उसको विश्‍वासबारे थाहा पाएर रिपोर्ट गर्लान्, र विशेषगरी परिस्थिति खराब होला र आफू पक्राउ परिएला भन्‍ने डर हुन्छ। दाजुभाइ-दिदीबहिनीहरूको अतिथि सत्कार गर्न थालेपछि, ऊ हरेक दिन बेचैन हुन्छ, दिनमा खान वा राती सुत्न सक्दैन, र उसले चोरजस्तै चिन्तित र त्रसित भएर दिन कटाउँछ। जब उसले केही हुन लागेको छ भन्‍ने सुन्छ, जस्तै सरकारले घर दर्ता जाँच गर्ने योजना गरिरहेको छ वा सरकारी कर्मचारीहरू विभिन्‍न बहानामा कुनै काम गर्न उसको घरमा आउँदैछन् भन्‍ने सुन्छ, तब ऊ अत्यन्तै डराउँछ र ऊ आफै पनि यसमा नमुछिऊँ भन्‍नका लागि निरन्तर दाजुभाइ-दिदीबहिनीहरू तुरुन्तै घर छाडेर जाऊन् भन्‍ने चाहन्छ। जब दाजुभाइ-दिदीबहिनीहरूले यस्तो देख्छन्, तब तिनीहरू तुरुन्तै स्थानान्तर हुनुपर्छ, किनभने त्यस्तो ठाउँ अतिथि सत्कार गर्न उचित हुँदैन; यसलाई केही दिनका लागि अस्थायी रूपमा बस्न मात्रै प्रयोग गर्न सकिन्छ। यदि अतिथि सत्कारक परिवारका छोराछोरी, आफन्तहरू, वा साथीहरू दुष्ट मानिस हुन् र तिनीहरूले अतिथि सत्कारकले विश्‍वासीहरूलाई बास दिइरहेको छ भन्‍ने थाहा पाएपछि, दाजुभाइ-दिदीबहिनीहरूलाई बाधा दिन वा प्रहरीको जिम्मा लगाउन पनि सक्छन् भने, यो अत्यन्तै खतरनाक कुरा हो। त्यस्तो अतिथि सत्कारक परिवारसँग बस्‍नु उचित हुँदैन। कतिपय आमाबुबाले आफ्ना छोराछोरीका अगाडि दास जस्तो व्यवहार गर्छन्; तिनीहरूले “ठीकै छ, मेरा छोराछोरीले मेरो कुरा सुन्छन्” भन्लान्, तर वास्तवमा, तिनीहरूका छोराछोरीको आज्ञाकारिता परिस्थितिमा निर्भर हुन्छ। जब तिनीहरूका आफ्नै स्वार्थहरू संलग्न हुन्छन्, तब ती छोराछोरीले तिनीहरूको कुरा सुन्दैनन्। त्यस्तो व्यक्तिले आफूले दाजुभाइ-दिदीबहिनीहरूलाई अतिथि सत्कार गरिरहेको कुरा छोराछोरीलाई थाहा दिने आँट गर्दैनन्। यदि तिनीहरूका छोराछोरी वा आफन्तहरूले थाहा पाए भने, तिनीहरूले अवश्य नै दाजुभाइ-दिदीबहिनीहरूलाई घरबाट निकाल्छन्, र ती अतिथि सत्कारकले तिनीहरूलाई रोक्न सक्दैनन्—आफ्नै घरमा पनि तिनीहरूले अन्तिम निर्णय गर्न पाउँदैनन्। त्यस्तो व्यक्तिले अतिथि सत्कार गर्न उचित हुँदैन; तिनीहरूसँग चाहना होला तर अतिथि सत्कारक बन्‍ने साहस हुँदैन। के कायर व्यक्तिले साँच्‍चै नै अतिथि सत्कार गर्ने आँट गर्न सक्छ? यदि तैँले दाजुभाइ-दिदीबहिनीहरूको सुरक्षा सुनिश्‍चित गर्न सक्दैनस् भने, तँ यो कर्तव्यका लागि उचित छैनस्—तैँले यसका लागि स्वयंसेवा गर्नु हुँदैन र तैँले अगुवा र कामदारहरूलाई खोक्रा वाचाहरू गर्नु हुँदैन, र तैँले यो कर्तव्य स्विकार्नु पनि हुँदैन। यदि अगुवा र कामदारहरूले त्यस्तो घरमा दाजुभाइ-दिदीबहिनीहरूको अतिथि सत्कार गर्ने बन्दोबस्त गर्छन् भने, के तिमीहरूलाई त्यो उपयुक्त हो भन्‍ने लाग्छ? (लाग्दैन।) यो अत्यन्तै अनुपयुक्त कुरा हो। दाजुभाइ-दिदीबहिनीहरूलाई खतराको मुखमा नपार। सायद दाजुभाइ-दिदीबहिनीहरू अरू ठाउँमा बस्दा नै धेरै सुरक्षित हुन्थे होला; यदि तैँले तिनीहरूलाई यस्तो व्यक्तिको घरमा राख्‍ने बन्दोबस्त गरिस्, जसका छोराछोरी वा आफन्तहरू गैरविश्‍वासी छन् र तिनीहरूले त्यहाँ विश्‍वासीहरू बसिरहेका छन् भन्‍ने पत्ता लाग्नेबित्तिकै यसबारेमा रिपोर्ट गरेर तिनीहरूलाई पुलिसको जिम्मा लगाउन सक्छन्, यसरी तिनीहरूको जीवन खतरामा पार्छन् भने, के त्यो अतिथि सत्कारकलाई सन्ताप आइपर्दैन र? यदि उक्त अतिथि सत्कारक त्यस्ता अवस्थामा दाजुभाइ-दिदीबहिनीहरूको रक्षाका लागि आफ्नो ज्यान जोखिममा पार्न तयार हुन्छ र उसले प्रभावकारी रूपमा तिनीहरूको सुरक्षा सुनिश्‍चित गर्न सक्छ भने, र यदि उसले सामान्यतया ठूलो बुद्धि देखाउँछ भने, यो अतिथि सत्कारक परिवार अझै पनि उपयुक्त विकल्‍प हुन सक्छ। तर, यदि उसले दाजुभाइ-दिदीबहिनीहरूलाई रक्षा गर्न आफ्नो ज्यान जोखिममा पार्न सक्दैन, र, उसको परिवारका गैरविश्‍वासीहरूले दाजुभाइ-दिदीबहिनीहरूको रिपोर्ट गरेर पुलिसको जिम्मा लगाउने धम्की दिँदा, ऊसँग कुनै समाधान हुँदैन र ऊ कछुवाले आफ्नो टाउको खोलमा लुकाएजस्तै पछि हट्न मात्रै सक्छ, तर दाजुभाइ-दिदीबहिनीहरूलाई रक्षा गर्दैन र तिनीहरूलाई पुलिसको जिम्मा लगाउन गैरविश्‍वासीहरूलाई अनुमति दिन्छ भने, यो घर अतिथि सत्कार गर्नका लागि उचित हुँदैन। यदि दाजुभाइ-दिदीबहिनीहरू अस्थायी रूपमा केही दिनका लागि त्यहाँ बस्छन्, अनि त्यसपछि उपयुक्त ठाउँ भेट्नेबित्तिकै तुरुन्तै त्यो ठाउँमा सर्छन् भने, त्यो बल्लतल्ल सहनीय हुन्छ। आफ्नो कर्तव्य पूरा गर्नका लागि त्यस्ता घरमा लामो समयसम्म बस्‍नु उचित हुँदैन। अतिथि सत्कारकले कम्तीमा पनि दाजुभाइ-दिदीबहिनीहरूको सुरक्षाको रक्षा गर्न सक्‍नुपर्छ—अतिथि सत्कारकबाट गरिने एउटा माग यही हो। बाहिरी संसारको हस्तक्षेपबाट जोगिनका लागि आफ्नो कर्तव्य पूरा गर्नेहरूका हकमा, एक हिसाबले तिनीहरूको जिउने वातावरण उचित हुनुपर्छ; यसअलावा, अतिथि सत्कारकका आफ्नै गुणहरू पनि सबै हिसाबमा उचित हुनुपर्छ—अर्थात्, तिनीहरूले महत्त्वपूर्ण कार्य-कर्मचारीहरूलाई बाहिरी संसारको हस्तक्षेपबाट रक्षा गर्न सक्‍नुपर्छ। तिनीहरूले यो कुरा हासिल गर्न सक्छन् भने मात्रै अगुवा र कामदारहरूले महत्त्वपूर्ण कार्य-कर्मचारीहरूलाई तिनीहरूका घरमा राख्‍ने बन्दोबस्त गर्न सक्छन्। यदि अतिथि सत्कारकको आस्था थोरै छ र ऊ अयोग्य र काँतर छ, उसले आफ्नै घरमा अन्तिम निर्णय आफै गर्न सक्दैन, र उसको कुनै पनि गैरविश्‍वासी सन्तान वा आफन्तले आएर उसलाई नियन्त्रण गर्न सक्छ भने, यो निकै कष्टदायी कुरा हो। त्यस्तो ठाउँ अतिथि सत्कार गर्नका लागि पूर्ण रूपमा अनुचित हुन्छ। धेरै वटा कोठा भएको, आरामदायी वातावरण भएको, र अवस्था राम्रो भएको ठूलै घर भए पनि, त्यो अतिथि सत्कारका लागि उचित हुँदैन। उचित जिउने वातावरण भएर मात्रै पुग्दैन; अतिथि सत्कारक पनि उचित हुनैपर्छ। यहाँ मुख्य कुरा के हो भने, अतिथि सत्कारकले सबभन्दा पहिले त आफूले अतिथि सत्कार गरिरहेका कर्तव्य पूरा गर्ने कर्मचारीहरू बाहिरी संसारको हस्तक्षेपबाट सुरक्षित हुने कुरा सुनिश्‍चित गर्न सक्‍नैपर्छ। त्यसपछि मात्रै जिउने वातावरणबारे विचार गरिनुपर्छ। अलिक कम उपयुक्त वातावरण पनि स्वीकार्य हुन्छ—चाहे त्यो सानो ठाउँ होस्, सीमित इन्टरनेट होस्, सरल खाना होस्, वा पानीको पहुँच कम सहज होस्। यदि अतिथि सत्कारक उचित छ, उसले खतरा उत्पन्‍न हुँदा उचित प्रतिक्रिया दिन सक्छ, विभिन्‍न जटिल अवस्थाहरूलाई व्यवस्थापन गर्न सक्छ, र खासगरी उत्‍पन्‍न हुन सक्‍ने कुनै पनि विशेष परिस्थितिहरूलाई उचित रूपमा सम्हालेर दाजुभाइ-दिदीबहिनीहरूको सुरक्षाको प्रत्याभूति गर्न सक्छ भने, ऊ मानकअनुरूपको अतिथि सत्कारक हो। अतिथि सत्कारक परिवारको जिउने वातावरणप्रतिका हाम्रा मागहरू उच्च छैनन्; सबैभन्दा महत्त्वपूर्ण भनेको यसले सुरक्षा सुनिश्‍चित गर्न सक्‍नुपर्छ। यस बुँदाबारे विस्तारमा गइरहनु आवश्यक छैन।

आ. निवास स्थलको वातावरणसम्बन्धी मागहरू

अतिथिसत्कारक परिवारको निवासवरपरको बाहिरी वातावरणको हकमा भन्दा, अगुवा र कामदारहरूले विचार गर्नैपर्ने पहिलो कुरा भनेको त्यो सुरक्षित छ कि छैन भन्‍ने हो। अतिथिसत्कारक परिवारका अवस्थाहरू जस्तोसुकै भए पनि वा त्यो निवास दाजुभाइ-दिदीबहिनीको घर भए पनि वा भाडाको घर भए पनि, त्यसको बाहिरी वातावरण सुरक्षित छ कि छैन भनेर विचार गर्नु जरुरी हुन्छ; सबैभन्दा महत्त्वपूर्ण कुरा यही हो। सर्वप्रथम, यदि यस अतिथिसत्कारक परिवारको परमेश्‍वरमाथिको विश्‍वासबारे त्यति धेरै थाहा छैन र सार्वजनिक सुरक्षा ब्यूरोमा तिनीहरूको विश्‍वासबारे कुनै रेकर्ड छैन भने मात्रै यो उचित हुन्छ। यदि विगतमा, दाजुभाइ-दिदीबहिनीहरू त्यहाँ भेला हुँदा, छिमेकीहरूले यसबारे सरकारलाई रिपोर्ट गर्थे, र यो परिवारले बारम्बार अपरिचित मानिसहरूसँग भेलाहरू आयोजना गर्छ भन्‍ने कुरा सरकारलाई पहिले नै थाहा छ भने, यो स्थान अतिथिसत्कारका लागि उपयुक्त हुँदैन। यदि भाडामा लिइएको हो भने पनि त्यस्तो परिवारको घर भाडामा लिनु उचित हुँदैन। यो एउटा पक्ष हो। यसअलावा, कतिपय ठाउँमा सार्वजनिक सुरक्षा कमजोर हुन्छ, र बारम्बार डकैती, हत्या, र अरू विभिन्‍न मामलाहरू देखा परिरहन्छन्। त्यहाँका बासिन्दाहरू पनि तुलनात्मक रूपमा अलि जटिल व्यक्तिहरू हुन्छन्, अनि प्रायजसो घर दर्तापत्र र परिचयपत्रहरू जाँच गर्न, संदिग्ध अपराधीहरूको अनुसन्धान गर्न, र यस्तै अन्य काम गर्न प्रहरी त्यहाँ प्रायः आइरहन्छ। मलाई भन् त, यदि तँ त्यस्तो ठाउँमा बसिस् भने, के तैँले बारम्बार हस्तक्षेप भोग्दैनस् र? (भोग्छु।) त्यस्ता ठाउँहरू पनि बस्‍नलाई उपयुक्त हुँदैनन्। त्यहाँ हरेक केही दिनमा ढोका ढकढक्याउँदै प्रहरी आइपुग्छ, र नजिकै चोरी वा हत्या भएको छ भनेर भन्छ र अनुसन्धानमा सहकार्य गर्न अनुरोध गर्छ, र दोषीलाई देखेमा तुरुन्तै रिपोर्ट गर्न मानिसहरूलाई लगाउँछ। त्यहाँ सधैँ हर प्रकारका बहानामा ढोका ढकढक्याउँदै प्रहरी आइरहन्छ, र तिनीहरूले घटना अनुसन्धान गरिरहेको दाबी गर्छन्, तर वास्तवमा तिनीहरूले बाहिरी मानिसहरू र अपरिचितहरूको चियो गरिरहेका हुन्छन्—अझ ठ्याक्‍कै भन्दा, तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरू खोजिरहेका हुन्छन्। के तँलाई त्यस्तो अतिथिसत्कारक घरमा बस्दा कुनै सुरक्षा महसुस हुन्छ? (हुँदैन।) निस्सन्देह, तँ दिनभरि डरमा हुनेछस्। यी बाहिरी आपराधिक घटनाहरू अतिथिसत्कारक परिवारसँग सम्बन्धित नभए पनि अझै तँलाई सहज महसुस हुँदैन। यस्तो वातावरणमा जिउँदा प्रायः तँलाई तेरो व्यक्तिगत सुरक्षा खतरामा छ भन्‍ने महसुस भइरहन्छ। कुन दिन प्रहरीले दाजुभाइ-दिदीबहिनीहरूलाई देखेर यी अपरिचितहरूलाई सोधपुछ गर्न थाल्ला, र पक्राउसमेत गर्ला भन्‍ने कसलाई के थाहा। के तँ यो भयानक परिस्थिति हो भनेर भन्दैनस् र? (भन्छु।) यसका साथै, धेरैजसो चिनियाँ मानिसमा सुरक्षा सचेतनाको कमी हुन्छ; कसैले ढकढक्याएको सुन्‍नेबित्तिकै, तिनीहरूले ढोका खोलिहाल्छन्, र तिनीहरू प्रायजसो ढोकामा चाबी पनि लगाउँदैनन्, जसले गर्दा सजिलै घटनाहरू घट्न सक्छन्। स्वतन्त्रता र प्रजातन्त्र भएका पश्‍चिमी देशहरूमा, निजी निवासहरूलाई निजी क्षेत्र मानिन्छ। यदि कुनै बाहिरी व्यक्ति अनुमतिविना निजी क्षेत्रमा प्रवेश गर्‍यो भने, त्यसलाई गैरकानुनी मानिन्छ, र त्यहाँ बस्‍ने मानिसहरूले प्रहरी बोलाउँछन्। त्यसपछि घुसपैठ गर्ने व्यक्तिलाई कानुनी रूपमा जिम्मेवार ठहराइन्छ। त्यसकारण, यदि अपरिचितले ढोका ढकढक्यायो भने, तैँले ढोका खोल्नुपर्दैन—तैँले इन्कार्न सक्छस्। कसैले तँलाई भेट्नका लागि समय मिलाएको थियो नै भने पनि, यदि तँ तयार छैनस् वा तैँले आफ्नो मन बदलेको छस् भने, ढोका खोल्नुपर्दैन; तँ तिनीहरूलाई भेट्न अर्को समय मिलाउन सक्छस्। पश्‍चिमी देशहरूका मानिसहरूसँग यस्तो अधिकार हुन्छ, तिनीहरूसँग यो कानुनी चेतना हुन्छ। तर चिनियाँ मानिसहरूमा यो कानुनी चेतनाको कमी हुन्छ। तिनीहरूले ढोका ढकढक्याएको सुन्दा तुरुन्तै ढोका खोलिहाल्छन्। यसले सतर्कताको कमी, आत्मरक्षाको चेतनाको कमी, र सम्बन्धित कानुनहरूसँगको अपरिचितता देखाउँछ। चीन तानाशाही राज्य भएकाले, र यहाँ एक पार्टी शासनलाई कानुनभन्दा माथि राखिएको हुनाले, यसको कानुनी प्रणाली देखावटी रूप मात्रै हो। ठूलो रातो अजिङ्गरले चीनमा कानुन र व्यवस्थालाई पूर्ण रूपमा बेवास्ता गर्दै काम गर्छ, बेपरवाह रूपमा दुष्कर्म गर्छ, र मानिसहरूसँग कुनै पनि मानव अधिकार हुँदैन। चिनियाँ मानिसहरू मानव अधिकारहरूप्रति ध्यान दिँदैनन्, न त तिनीहरूले अनुशासनात्मक प्रावधानहरू पालना गर्ने र कानुन मान्‍ने बोध नै विकास गरेका हुन्छन्; खासगरी, तिनीहरूमा आत्मरक्षाको चेतनाको कमी हुन्छ, र धेरैजसो मानिसलाई आफ्नो सुरक्षा गर्न कानुन कसरी प्रयोग गर्ने भन्‍ने नै थाहा हुँदैन। परिणामस्वरूप, सुरक्षाको कुनै प्रत्याभूति हुँदैन। सारांशमा भन्दा, कमजोर सार्वजनिक सुरक्षा भएको कुनै पनि ठाउँमा, जटिल पृष्ठभूमि र पहिचान भएका बासिन्दाहरू भएका, बारम्बार जाँचहरू हुने, वा बारम्बार विभिन्‍न आपराधिक मामलाहरूको घटना घट्ने कुनै पनि ठाउँमा, मानिसहरू सजिलै बाहिरी संसारको हस्तक्षेपबाट प्रभावित हुन्छन्। त्यस्तो ठाउँ बस्‍नका लागि उपयुक्त हुँदैन। महत्त्वपूर्ण कार्य-कर्मचारीहरूका लागि आवासको बन्दोबस्त गर्दा विचार गर्नुपर्ने सार्वजनिक सुरक्षाको तत्त्व यही हो।

आफ्नो कर्तव्य निर्वाह गरिरहेका मानिसहरूका लागि बस्‍ने वातावरण होसियारीसाथ छनौट गर्नैपर्छ; व्यस्त शहरी क्षेत्र र खतरनाक स्थानहरूदेखि टाढा रहनु नै सबैभन्दा राम्रो हो। हामीले कुन-कुन स्थानहरूलाई व्यस्त शहरी क्षेत्रहरू भनेर भनिरहेका छौँ? यसमा रेलवे, राजमार्ग, चौबाटो, र बजारनजिक रहेका ठाउँहरू समावेश हुन्छन्। विशेषगरी प्रमुख रेलवे लाइनहरूमा, जहाँ हरदिन असङ्ख्य रेलहरू आवतजावत गर्छन्, र हरेकपटक रेल जाँदा-आउँदा नजिकका घरहरूको भुइँ काँपिरहन्छ। यस्तो वातावरणमा, आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा शान्ति भेट्टाउनु पूर्ण असम्भव हुन्छ। यसअलावा, घरबाट टाढा बसेर आफ्नो कर्तव्य निर्वाह गर्दै वर्षौँ बिताएका कतिपय मानिस निरन्तर तनावमा जिउँछन्, र तिनीहरूको हृदय सबैभन्दा राम्रो अवस्थामा हुँदैन, जसले गर्दा तिनीहरूलाई त्यस्ता ठाउँहरूमा बस्‍न अझै बढी अनुचित हुन्छ। यदि शान्त वातावरण चाहिने निश्‍चित कामहरू, जस्तै रेकर्डिङ गर्ने वा लेखन-पठनको कामहरूका हकमा भन्दा, कम्तीमा पनि कुनै होहल्‍लाको हस्तक्षेप हुनु हुँदैन, र सुरक्षाको पनि सुनिश्‍चितता हुनैपर्छ—यही नै आदर्शमय हुनेछ। यदि पूर्ण रूपमा सुरक्षित ठाउँ छैन भने, तुलनात्मक रूपमा सुरक्षित ठाउँ खोज्नैपर्छ। यस्तो अवस्थामा, थोरै होहल्‍ला स्वीकार्य नै हुन्छ, र हामीले मापदण्डहरू धेरै उच्च राख्‍नु हुँदैन; जिउने वातावरण सुरक्षित छ भने, यो नै पर्याप्त हुनेछ। साथै, यदि घर प्रमुख यातायात क्षेत्रमा, जस्तै ट्राफिक लाइटहरू भएको ठाउँनजिक वा चौबाटोमा पर्छ भने, त्यहाँ हरदिन अनगिन्ती पैदल यात्री र सवारीसाधनहरू आवतजावत गर्छन्। त्यस्तो घर धेरै बटुवाहरूको नजरमा पर्छ, र झट्ट हेर्दा नै, बटुवाहरूले सजिलै भित्रका कुराहरू देख्‍न सक्छन्। विशेषगरी राती जब बत्तीहरू बालिएका हुन्छन्, तब घरभित्रको अवस्था स्पष्टै देखिन्छ। के तँ अझै पनि त्यस्तो घरमा बस्‍न स्वीकार्य हुन्छ भनेर भन्छस्? के यो वातावरण उपयुक्त हुन्छ त? (अहँ, हुँदैन।) यो अवश्य नै उपयुक्त हुँदैन। यस्तो ठाउँमा बस्‍ने मानिसहरूले प्रायजसो हस्तक्षेपको समस्या भोग्छन्, र प्रायजसो अपरिचित मानिसहरूले तिनीहरूलाई नियालेर हेरिरहेको देख्छन्। जब तिनीहरूको आँखा अपरिचितको आँखासँग जुध्छ, तब तिनीहरू झस्कन्छन्, र हरदिन असहज महसुस गर्छन्, र निरन्तर आफूलाई कसैले हेरिरहेजस्तो महसुस गर्छन्—यसको पछाडि कोही छ कि, र उसले परिस्थितिलाई निर्देशित र नियन्त्रित पो गरिरहेको छ कि, कसलाई के थाहा हुन्छ र। के तँलाई त्यस्तो वातावरणमा जिउँदा सहज महसुस गर्न सकिन्छ भन्‍ने लाग्छ? साथै, कतिपय घर खराब ध्वनिरोधी क्षमता भएका र कम गुणस्तरका हुन्छन्, त्यसकारण घरभित्र ठूलो आवाजमा बोल्दा वा भजन बजाउँदा, बाहिरका मानिसहरूले सबै कुरा सुन्‍न सक्छन्। साथै, कतिपय घरहरू समुदायको सबैभन्दा अग्‍लो स्थानमा हुन्छन्, र त्यस्तो अवस्थामा ती घरहरूमा चट्याङ लाग्‍ने सम्भावना धेरै हुने मात्र होइन, दाजुभाइ-दिदीबहिनीहरूले घरबाहिर पाइला टेक्‍नेबित्तिकै वरपरका छिमेकीहरूले पनि देखिहाल्छन्। तिनीहरूलाई कहिलेकाहीँ भेन्टिलेशनका लागि वा शीतलताका लागि झ्यालहरू खोल्‍नसमेत असुविधा हुन्छ; झ्याल राम्रोसँग बन्द गरेर पर्दा तानिएको हुनैपर्छ, त्यसकारण प्रकाश कहिल्यै भित्र छिर्दैन, र बाहिर निस्केर यताउता गर्नु त झन् बढी असुविधाजनक हुन्छ। बाहिरका मानिसहरूले नियालेर हेर्लान् र ध्यान देलान् भन्‍नेबारे निरन्तर चिन्ता भइरहन्छ। दाजुभाइ-दिदीबहिनीहरू एकैपटक आउने-जाने नगरे पनि, हरेक पटक कुनै व्यक्ति प्रवेश गर्दा वा बाहिर निस्कँदा बाहिरका मानिसहरूले स्पष्ट रूपमा देख्‍न सक्छन्। अनि अन्त्यमा, त्यस घरमा कति जना अपरिचित मानिसहरू बस्छन् भन्‍नेबारे तिनीहरूलाई समग्र रूपमा थाहा भइहाल्छ। के तिमीहरू त्यहाँ बसेर पनि मानिसहरूको सुरक्षा सुनिश्‍चित गर्न सकिन्छ भनेर भन्छौ? (अहँ, सकिँदैन।) कतिपय मानिसले सोच्छन्, “हामी प्रायजसो घरभित्रै आफ्नो कर्तव्य निर्वाह गरिरहेका हुन्छौँ, र हामी बाहिर गए पनि पालैपालो त्यसो गर्छौँ र एकैपटक बाहिर जाँदैनौँ। यसरी अभ्यास गर्दा, वरपरका छिमेकीहरूलाई केही थाहा हुँदैन।” तर तँ पालैपालो बाहिर गए पनि, यदि कसैले तँ अपरिचित व्यक्ति होस् भन्‍ने थाहा पायो भने यसले पनि समस्या ल्याउनेछ। धेरै गैरविश्‍वासीले आफै पनि राम्रो जीवन जिउँदैनन्, र त्यसमाथि अरूका मामलाहरू अवलोकन गर्न र चियोचर्चो गर्नमा विशेष आनन्द लिन्छन्। कतिपयले त तेरो जासुसी गर्न, र तँ घरभित्र के गर्छस् भनेर हेर्न दूरबीनसमेत प्रयोग गर्न सक्छन्। यदि तिनीहरूले विश्‍वासीहरू भेला भइरहेका छन् भन्‍ने पत्ता लगाए भने, इनामका लागि तुरुन्तै सरकारलाई यसबारे रिपोर्ट गर्छन्। त्यस्तो व्यक्तिले तँलाई निसाना बनायो भने, के त्यो खतरनाक परिस्थिति हुँदैन र? (हुन्छ।) तिनीहरूले तँलाई निसाना बनाएपछि, के त्यसबाट कुनै असल कुरा आउन सक्छ र? तँ अन्ततः अवश्य नै पक्राउ पर्नेछस्! देश वा क्षेत्र जुनसुकै भए पनि, अरूको चियोचर्चा गर्ने मानिसहरूको कहिल्यै कमी हुँदैन। तिनीहरूले तँलाई निगरानी गरेर एक पैसा नकमाए पनि, त्यो काम गर्न तिनीहरू एकदमै इच्छुक हुन्छन्—तिनीहरूले अरूको चियोचर्चा गरेर समय बिताउन आफ्नो गोजीबाट पैसासमेत तिर्छन् र आफ्नै काममा समेत ढिलाइ गर्छन्। अनि यदि तँलाई रिपोर्ट गरेर इनाम पाइन्छ भने त, तिनीहरू त्यसो गर्न झनै आतुर हुन्छन्। विशेषगरी चीनजस्तो तानाशाही शासनमा, परमेश्‍वरमा विश्‍वास गर्नेहरूलाई निगरानी गर्ने मानिसहरू अत्यन्तै धेरै हुन्छन्। तिनीहरूले सत्यताप्रति वितृष्णा राख्ने हुनाले र परमेश्‍वरमा विश्‍वास गर्नेहरूप्रति तिनीहरूलाई वितृष्णा महसुस हुने हुनाले, तिनीहरूले विश्‍वासीहरू मिलेर अन्तरक्रिया गरिरहेका वा भेला भइरहेका छन् भन्‍ने पत्ता लगाउनेबित्तिकै, त्यसबारे रिपोर्ट गरिहाल्छन्। यदि रिपोर्ट गर्दा इनाम पाइन्छ भने त झन् तिनीहरूले त्यसो गर्दा अथक सन्तुष्टि नै प्राप्त गर्छन्। के यसले मण्डलीमा सजिलै समस्या ल्याउँदैन र? (ल्याउँछ।) यदि तँमाथि यसरी हस्तक्षेप हुँदै छ भने, के यो अगुवा र कामदारहरूले राम्ररी स्थानको बन्दोबस्त नगरेकाले भएको होइन र? यदि अगुवा र कामदारहरूले कामकुराबारे राम्ररी विचार नगरेका कारण, महत्त्वपूर्ण कार्य-कर्मचारीहरूलाई राख्‍ने स्थान र वातावरण अनुपयुक्त भएका रहेछन् भने, त्यसबाट आउने परिणामहरू यिनै हुन्। यदि व्यक्ति बस्‍ने स्थानले धेरै ध्यान आकर्षित गर्छ भने, यसले गर्दा परिस्थिति सजिलै गलत बन्‍न सक्छ। अनि कुनै कुरा गलत भयो र तैँले त्यसपछि मात्रै यो ठाउँ बस्‍नका लागि उपयुक्त छैन भन्‍ने कुरा महसुस गरिस् भने, त्यो ढिलो भइसकेको हुन्छ। त्यसकारण, आफ्नो कर्तव्य निर्वाह गर्नेहरूका लागि उपयुक्त बस्‍ने ठाउँ छनौट गर्नु पनि एउटा मुख्य काम हो, र खराब छनौटले सजिलै खतरा निम्त्याउन सक्छ।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्