अगुवा र कामदारहरूका जिम्मेवारीहरू (१६) खण्ड दुई
२. परमेश्वरका वचनहरू र कामबारे धारणाहरू फैलाउनु
धारणाहरू फैलाउने यी मानिसहरू परमेश्वरका वचनहरू मापन गर्न, परमेश्वरको काम मापन गर्न, र परमेश्वरको सार र परमेश्वरको स्वभाव मापन गर्न पनि आफ्नै धारणाहरू प्रयोग गर्छन्। तिनीहरू आफ्ना धारणाहरूभित्र रहेर परमेश्वरमा विश्वास गर्छन्, आफ्ना धारणाहरूभित्र रहेर परमेश्वरलाई हेर्छन्, र आफ्ना धारणाहरूभित्रै रहेर परमेश्वरले भन्नुहुने हरेक वचन, परमेश्वरले गर्नुहुने हरेक काम, र परमेश्वरले खडा गर्नुहुने हरेक वातावरण अवलोकन र छानबिन गर्छन्। जब परमेश्वरले गर्नुहुने कुरा तिनीहरूका धारणाहरूअनुरूप हुन्छ, तब तिनीहरू परमेश्वर धर्मी हुनुहुन्छ, परमेश्वर विश्वासयोग्य हुनुहुन्छ, र परमेश्वर पवित्र हुनुहुन्छ भन्दै ठूलो स्वरमा परमेश्वरको प्रशंसा गर्छन्। जब परमेश्वरले गर्नुहुने कुरा तिनीहरूका धारणाहरूअनुरूप हुँदैन, र तिनीहरूका हितहरूमा गम्भीर घाटा हुन्छ, र तिनीहरूले ठूलो पीडा सहन्छन्, तब तिनीहरू परमेश्वरले बोल्नुहुने वचनहरू र उहाँले गर्नुहुने काम इन्कार्छन्; तिनीहरूले धेरै मानिसहरूलाई परमेश्वरलाई गलत बुझ्न र उहाँविरुद्ध सतर्क हुन उक्साउनका लागि, “परमेश्वरका वचनहरूमा यति सजिलै विश्वास नगर, र परमेश्वरका वचनहरू अभ्यास पनि नगर; नत्र, यदि तिम्रो फाइदा उठाइयो र तिमीले घाटा भोग्यौ भने, यसका लागि कसैले पनि जिम्मेवारी लिनेछैन” र आदि इत्यादि भन्दै धारणाहरूसमेत फैलाउँछन्। उदाहरणका लागि, परमेश्वर भन्नुहुन्छ, “मेरा लागि निष्कपट रूपमा समर्पित गर्नेहरूलाई म अवश्यै धेरै आशिष् दिनेछु”—के यी वचनहरू सत्यता होइनन् र? यी वचनहरू शतप्रतिशत सत्यता हुन्। तिनमा कुनै उग्रता वा छल छैन। ती झूटहरू वा भव्य सुनिने विचारहरू होइनन्, ती कुनै प्रकारका आत्मिक सिद्धान्त त झनै होइनन्—ती त सत्यता हुन्। सत्यताका यी वचनहरूको सार के हो? त्यो के हो भने, परमेश्वरको लागि आफूलाई अर्पित गर्दा तँ निष्कपट हुनुपर्छ। “निष्कपट” को अर्थ के हो? इच्छुक हुनु र अशुद्धतारहित हुनु; पैसा वा ख्यातिद्वारा उत्प्रेरित नहुनु, र निश्चय नै आफ्ना अभिप्राय, कामना, र उद्देश्यहरूका लागि काम नगर्नु हो। तँलाई जबरजस्ती गरिएकोले, वा तँलाई उक्साइएको, बाध्य पारिएको, वा तानिएको हुनाले तैँले आफूलाई समर्पित गरेको हुँदैनस्, बरु, यो त तँभित्रबाट, स्वेच्छापूर्ण रूपमा आउँछ; यो विवेक र समझबाट पैदा हुन्छ। निष्कपट हुनु भनेको यही हो। परमेश्वरका लागि आफूलाई समर्पित गर्ने इच्छुकताका हिसाबमा भन्नुपर्दा, निष्कपट हुनु भनेकै यही हो। त्यसोभए, जब तँ परमेश्वरप्रति आफूलाई समर्पित गर्छस्, तब व्यावहारिक रूपमा निष्कपटता कसरी प्रकट हुन्छ? तँ झूट वा धोकामा संलग्न हुँदैनस्, कामबाट जोगिन चलाकीको सहारा लिँदैनस्, र झाराटारुवा रूपमा कामकुरा गर्दैनस्; तँ आफ्नो सारा हृदय र मन अर्पित गर्छस्, आफूले सक्दो गर्छस्, र आदि इत्यादि कुराहरू गर्छस्—यहाँ उल्लेख गर्नुपर्ने विवरणहरू धेरै छन्! छोटकरीमा भन्दा, निष्कपट हुनुमा सत्यता सिद्धान्तहरू समावेश हुन्छन्। परमेश्वरले मानिसहरूबाट गर्नुहुने मागपछाडि एउटा मानक र सिद्धान्त हुन्छ। कतिपय मानिसहरू भन्छन्, “यदि मैले परमेश्वरमा विश्वास गर्नमा आफ्नो निष्कपटता र मेरा थोरै बचतहरू सबै अर्पित गरेँ भने, के मैले अझै धेरै प्राप्त गर्नेछु? यदि म अझै धेरै कुरा प्राप्त गर्न सक्छु भने, यो सबै कुरा अर्पित गर्नु सार्थक हुन्छ!” तिनीहरूले भेटी चढाएपछि, आफूलाई परमेश्वरले आशिष् नदिनुभएको देख्छन् र यसबारे मनन गर्दै यस्तो सोच्छन्: “सायद म पर्याप्त रूपमा अर्पित भएको छैन होला, त्यसकारण म अझै धेरै अर्पित हुनेछु। म बाहिर गएर सुसमाचार प्रचार गर्नेछु।” जब तिनीहरू सुसमाचार प्रचार गर्दा कठिनाइहरू सामना गर्छन्, तब प्रार्थना गर्छन्। कहिलेकहीँ, जब तिनीहरू खाना खान छुटाउँछन् र राम्ररी सुत्दैनन्, तब अझै पनि प्रार्थना गर्न जारी राख्छन्। तिनीहरू यसो सोच्छन्: “परमेश्वरका लागि निष्कपट रूपमा आफूलाई समर्पित गर्नेहरूले अवश्यै धेरै आशिष् पाउनेछन् भनेर परमेश्वरले भन्नुभएको छ। सायद मेरो निष्कपटता अझै पर्याप्त छैन होला, त्यसकारण म अझै धेरै प्रार्थना गर्नेछु।” प्रार्थनामार्फत तिनीहरू आस्था प्राप्त गर्छन् र अलिकति कठिनाइ सहनुपर्दा पनि रिसाउँदैनन्। तिनीहरू सुसमाचार प्रचार गर्दा केही नतिजाहरू देख्न थाल्छन् र सोच्छन्: “अब मसँग केही निष्कपटता छ। अब म तुरुन्तै घर जान्छु, र मेरो परिवारको जीवन सुधार भएको छ कि छैन, मेरो छोराछोरीको रोग निको भएको छ कि छैन, र पारिवारिक व्यापार सहज रूपमा अघि बढिरहेको छ कि छैन, हेर्नेछु—परमेश्वरबाट आशिष्हरू आएका छन् कि छैनन्, त्यो हेर्नेछु।” के यो परमेश्वरका लागि निष्कपट रूपमा आफूलाई समर्पित गर्नु हो? (होइन।) यो के हो त? (लेनदेन।) यो परमेश्वरसँग सौदा गर्नु हो। तिनीहरूले आफूले चाहेको कुरा गर्न, र त्यसबाट आफूले चाहेको कुरा प्राप्त गर्न आफ्नै धारणाहरूमा आधारित भएर आफ्नै विधिहरू र आफूले “निष्कपटता” ठानेको कुरा प्रयोग गरिरहेका हुन्छन्। तिनीहरू परमेश्वरले बोल्नुभएका यी वचनहरू पुष्टि गर्न आफूले बुझेको “निष्कपटता” निरन्तर प्रयोग गर्छन्, परमेश्वरले के गर्ने अभिप्राय राख्नुहुन्छ, उहाँले के गर्नुभएको छ, र के गर्नुभएको छैन भनेर निरन्तर सोधपुछ गर्छन्, र परमेश्वरले तिनीहरूलाई आशिष् दिनुहुनेछ कि दिनुहुनेछैन, र उहाँले तिनीहरूलाई ठूलो आशिष् दिनुहुनेछ कि दिनुहुनेछैन भन्नेबारे निरन्तर अनुमान लाउँछन्। तिनीहरू तिनीहरूले के कुरा अर्पित गरेका छन् र तिनीहरूले कति कुरा प्राप्त गर्नुपर्छ, परमेश्वरले आफूलाई त्यो कुरा दिनुभएको छ कि छैन र परमेश्वरका वचनहरू पूरा भएका छन् कि छैनन् भनेर निरन्तर हिसाबकिताब गरिरहेका हुन्छन्। तिनीहरूले निरन्तर परमेश्वरको अभिव्यक्ति जाँच्ने तथ्यहरू खोजिरहेका हुन्छन्। परमेश्वरप्रति आफूलाई समर्पित गर्दा, तिनीहरूले सधैँ परमेश्वरका वचनहरू साँचो हुन् कि होइनन् भनेर पुष्टि गर्न चाहिरहन्छन्। तिनीहरूको उद्देश्य भनेकै परमेश्वरप्रति आफूलाई समर्पित गर्दा परमेश्वरका आशिष्हरू आफूले प्राप्त गर्न सक्छु कि सक्दिनँ भनेर हेर्नु हो। तिनीहरूले निरन्तर परमेश्वरलाई जाँचिरहेका हुन्छन्, उहाँका वचनहरू पुष्टि गर्न सधैँ परमेश्वरका आशिष्हरू आफूमाथि आएको हेर्न चाहन्छन्। जब तिनीहरू परमेश्वरका वचनहरू आफूले कल्पना गरेझैँ सजिलै पूरा हुँदैनन्, र परमेश्वरका वचनहरूको सच्चाइ पुष्टि गर्न गाह्रो छ भन्ने देख्छन्, तब परमेश्वरबारे तिनीहरूका धारणाहरू अझै गम्भीर बन्छ। अनि सँगसँगै, तिनीहरू परमेश्वरले बोल्नुहुने हरेक वचन सत्यता हुन्छ नै भन्ने आवश्यक छैन भनेर दृढ विश्वास गर्न थाल्छन्। हृदयमा यस्तो कुरा लुकेको हुँदा, तिनीहरूले परमेश्वरबारे शङ्का र प्रश्न गर्न थाल्छन्, प्रायजसो उहाँबारे धारणाहरू विकास गर्ने गर्छन्। धारणाहरूले भरिएका हृदय भएका यी मानिसहरूले मण्डली जीवन जिउने र दाजुभाइ-दिदीबहिनीहरूसँग अन्तरक्रिया गर्ने क्रममा, समय-समयमा परमेश्वरबारे आफ्ना केही धारणाहरू प्रकाश गर्छन्। तिनीहरू परमेश्वरका वचनहरूबारे धारणाहरू विकास गर्छन् र परमेश्वरको काम मापन गर्न आफ्नै धारणाहरू प्रयोग गर्ने पनि गर्छन्। जब परमेश्वरको काम निरन्तर तिनीहरूको धारणाहरूअनुरूप हुँदैन र जब त्यो तिनीहरूको अपेक्षाहरूबाट पूर्ण रूपमा विपरीत हुन्छ, तब तिनीहरू परमेश्वरप्रति आफ्नो असन्तुष्टि पोख्न आफ्ना धारणाहरू फैलाउँछन्। उदाहरणका लागि, परमेश्वरले उहाँको काम समाप्त हुन लागेको छ, र मानिसहरूले परमेश्वरलाई पछ्याउन र उहाँप्रति आफूलाई समर्पित गर्न, र परमेश्वरको काममा सहकार्य गर्न सबै कुरा त्याग्नुपर्छ, र उप्रान्त सांसारिक सम्भाव्यताहरू, सद्भावपूर्ण परिवार, र अरू यस्तै कुराहरू पछ्याउनु हुँदैन भनेर भन्नुहुन्छ। परमेश्वरले यी वचनहरू बोल्नुभएपछि, परमेश्वर धेरै काम गर्न जारी राख्नुहुन्छ। तीन, पाँच, सात, वा आठ वर्ष बित्छन्, र कतिपय मानिसहरूले परमेश्वरको काम अझै पनि स्थिर रूपमा अघि बढिरहेको देख्छन्, तर उहाँको काम समाप्त भइरहेको वा ठूलो विपत्ति आसन्न रहेको र सबै विश्वासीहरूले शरण लिएको कुनै सङ्केत देख्दैनन्। परमेश्वरको काम मापन गर्न आफ्ना धारणाहरू प्रयोग गर्नेहरूले परमेश्वरको काम तुरुन्तै समाप्त होस् भन्ने सोच्छन् ताकि विश्वासीहरू परमेश्वरका अद्भुत आशिष्हरूमा सहभागी हुन सकून्। तर परमेश्वर यसरी कार्य गर्नुहुन्न; उहाँ मानव धारणा र कल्पनाहरूअनुसार यो मामला पूरा गर्नुहुन्न। अनि प्रतीक्षा गर्न नसक्नेहरू बेचैन बन्छन् र तिनीहरूले यसो भन्दै शङ्का गर्न थाल्छन्: “के परमेश्वरको काम पहिले नै समाप्त हुन लागेको होइन र? के यो चाँडै समाप्त हुनुपर्ने होइन र? के परमेश्वरले महाविपत्तिहरू आसन्न छन् भनेर भन्नुभएको छैन र? परमेश्वरको घरले किन अझै पनि धेरै काम गरिरहेको छ? परमेश्वरको काम ठ्याक्कै कहिले समाप्त हुनेछ? यो कहिले सक्किनेछ?” यी मानिसहरूलाई सत्यता वा परमेश्वरका मागहरूमा कत्ति पनि चासो हुँदैन। तिनीहरूलाई मुक्ति हासिल गर्न सत्यता अभ्यास गर्ने, परमेश्वरमा समर्पित हुने, वा शैतानको प्रभावबाट उम्कने कार्यप्रति कुनै चासो हुँदैन। तिनीहरूलाई त केवल र विशेषगरी परमेश्वरको काम कहिले समाप्त हुनेछ, तिनीहरूको परिणाम जीवन हुनेछ कि मृत्यु हुनेछ, तिनीहरू आशिष्हरूको आनन्द उठाउन कहिले राज्यमा प्रवेश गर्न सक्नेछन्, र राज्यका सुन्दर दृश्यहरू कस्ता हुनेछन् भन्नेजस्ता कुराहरूमा मात्रै चासो हुन्छ। तिनीहरूका सबैभन्दा ठूलो चिन्ता नै यी हुन्। त्यसकारण, केही समयसम्म कष्ट सहेपछि र स्वर्ग र पृथ्वी अपरिवर्तित नै रहेको देखेपछि, र संसारका देशहरू सामान्यझैँ अघि बढिरहेको देखेपछि, तिनीहरू यसो भन्छन्, “परमेश्वरका यी वचनहरू कहिले पूरा हुनेछन्? मैले कैयौँ वर्षदेखि प्रतीक्षा गरिरहेको छु—ती किन अझै पूरा भएका छैनन्? के परमेश्वरका वचनहरू साँच्चै नै पूरा हुन सक्छन् त? परमेश्वर आफ्नो वचनमा अडिग रहनुहुन्छ कि रहनुहुन्न?” त्यसैले, यी मानिसहरू धैर्यता गुमाउँछन्, बेचैन बन्छन्, र जीवन जिउन संसारमै फर्किजाने अवसरहरू खोजी गर्न चाहन थाल्छन्।
परमेश्वरको काम र परमेश्वरले व्यक्त गर्नुहुने सत्यताहरू सधैँ मानव कल्पनाहरूभन्दा बाहिर जान्छन् र ती सधैँ मानव धारणाहरूभन्दा पर हुन्छन्। मानिसहरूले चाहे जसरी प्रयास गरे पनि, तिनलाई बुझ्न वा मापन गर्न सक्दैनन्। तिनीहरूलाई परमेश्वरको कामका विधिहरू ठ्याक्कै के-के हुन् वा यसले ठ्याक्कै केकस्ता उद्देश्यहरू हासिल गर्ने अभिप्राय राख्छ भन्ने कुरा थाहै हुँदैन, त्यसकारण अन्ततः कतिपय मानिसहरू शङ्का गर्न थाल्छन्: “के परमेश्वर साँच्चै अस्तित्वमा हुनुहुन्छ? परमेश्वर ठ्याक्कै कहाँ हुनुहुन्छ? परमेश्वरले सत्यताहरू व्यक्त गरिरहनुहुन्छ, तर के उहाँले अति धेरै व्यक्त गर्नुहुन्न र? के परमेश्वरले हामीलाई उहाँको राज्यमा ल्याउनुहुनेछ भनेर भन्नुभएन र? हामी कहिले स्वर्गको राज्यमा प्रवेश गर्न सक्छौँ? यी कुराहरू कसरी अझै साकार वा पूरा भएका छैनन्? अझै ठ्याक्कै कति वर्ष लाग्नेछ? सधैँ परमेश्वरको दिन नजिकै छ भनेर भनिन्छ, तर यो ‘नजिकै’ भन्ने कुरा उल्लेख भएको धेरै वर्ष भइसक्यो—यो किन यति टाढा छ र यो किन कहिले पनि नटुङ्गिनेजस्तो देखिन्छ?” तिनीहरू यसरी सोच्ने मात्र होइन, यी शङ्काहरू जताततै फैलाउनेसमेत गर्छन्। यसले के समस्या इङ्गित गर्छ? यति धेरै प्रवचन सुनेपछि पनि, तिनीहरूले किन अझै पनि सत्यता पटक्कै बुझेका हुँदैनन्? तिनीहरू किन सधैँ परमेश्वरको काम सीमित गर्न मानव धारणा र कल्पनाहरू प्रयोग गर्छन्? यी कुराहरूलाई तिनीहरू किन परमेश्वरका वचनहरूअनुसार हेर्न सक्दैनन्? के तिनीहरूले परमेश्वरको अस्तित्व पुष्टि गर्न र परमेश्वरका वचनहरूमार्फत मुक्ति पाउने मार्ग निर्धारित गर्न सक्छन्? के तिनीहरूले परमेश्वरले बोल्नुहुने यी सबै वचनहरू र उहाँले गर्नुहुने सबै कामकुरा मानिसहरूलाई मुक्ति दिनका लागि हुन् भनेर बुझेका हुन्छन्? के सत्यता प्राप्त गरेर अनि मुक्ति प्राप्त गरेर मात्रै मानिसहरूले परमेश्वरले मानवजातिलाई प्रतिज्ञा गर्नुभएका सबै आशिष्हरू प्राप्त गर्न सक्छन् भन्ने कुरा तिनीहरू बुझ्छन्? तिनीहरूले बोल्ने कुराहरू र तिनीहरूले फैलाउने धारणाहरूबाट, तिनीहरू परमेश्वरले के गरिरहनुभएको छ वा परमेश्वरले यो सबै काम गर्नु र यी सबै वचनहरू बोल्नुको उद्देश्य के हो भन्ने कुरा आधारभूत रूपमा बुझेकै हुँदैनन् भन्ने कुरा स्पष्ट हुन्छ। तिनीहरू त बस अविश्वासीहरू हुन्! धेरै वर्ष प्रवचन सुनेपछि र परमेश्वरको घरमा धेरै वर्ष अल्याङटल्याङ गरेपछि, तिनीहरूले के प्राप्त गरेका हुन्छन्? तिनीहरूले त परमेश्वर अस्तित्वमा हुनुहुन्छ कि हुनुहुन्न भनेर समेत पुष्टि गरेका हुँदैनन्, यो कुराको कुनै निश्चित उत्तर तिनीहरूसँग हुँदैन। मण्डलीमा तिनीहरू कस्तो भूमिका खेल्छन्? आशिष् नपाई केही समयसम्म श्रम गरेपछि, तिनीहरू अरूलाई बहकाउन र बाधा दिन अनैतिक रूपमा धारणाहरू फैलाउँछन्। तिनीहरूले लापरवाह रूपमा बोल्ने कुराहरू परमेश्वर र उहाँको कामविरुद्ध गरिने आलोचनाहरू हुन्। तिनीहरूमध्ये कतिपय यसो भन्छन्, “म त परमेश्वरको काम तीनदेखि पाँच वर्षमा पूरा हुनेछ भन्ने सोच्थेँ; अहिले दश वर्ष बितिसके पनि अझै यो काम पूरा हुँदैन भनेर त मैले अपेक्षै गरेको थिइनँ। यो काम कहिले पूरा हुनेछ? गवाही लेखहरू निरन्तर लेखिँदै छन्; भजन प्रस्तुति र चलचित्रहरूका भिडियोहरू निरन्तर निर्मित हुँदै छन्; सुसमाचार प्रचार निरन्तर गरिँदै छ—यो कहिले समाप्त हुनेछ?” तिनीहरू अरूलाई समेत सोध्छन्: “के तिमीहरू पनि त्यस्तै सोच्दैनौ र? ठिकै छ, तिमीहरूले जेसुकै सोचे पनि मेरो विचार त्यही हो। म इमानदार व्यक्ति हुँ; म आफ्नो मनमा जे छ त्यही बोल्छु, मनमा जे छ त्यो नबोल्ने, र सबै कुरा गुम्साएर राख्ने कतिपय मानिसहरूजस्तो छैनँ।” तिनीहरू कति “इमानदार” छन्, जेसुकै बोल्न पनि आँट गर्ने! अझै खराब कुरा त, तिनीहरू यस्तोसमेत भन्छन्, “यदि परमेश्वरको काम चाँडै समाप्त भएन भने, म बस जागिर खोज्नेछु, केही पैसा कमाउनेछु, र आफ्नो जीवन जिउनेछु। परमेश्वरमा विश्वास गरेका यतिका वर्षहरूमा, मैले धेरै मिठो खानपान, धेरै रमाइला ठाउँ, धेरै भौतिक आनन्द गुमाएको छु! यदि मैले परमेश्वरमा विश्वास नगरेको भए, म हवेलीमा जिइरहेको हुनेथिएँ, मसँग कार हुनेथियो, र विगतका यी वर्षहरूमा मैले कैयौँपटक संसारको यात्रासमेत गरिसकेको हुनेथिएँ। विगतलाई फर्केर हेर्दा, परमेश्वरमा विश्वास नगर्दाको जीवन निकै राम्रो थियो; म निकै खुसी थिएँ। त्यो अलिक खोक्रो भए पनि मैले कुनै प्रतिबन्धविना देहगत सुखहरूको आनन्द लिन, राम्ररी खानपिउन, र आफूले चाहेको जेसुकै गर्न सक्थेँ। परमेश्वरमा विश्वास गरेको यी वर्षहरूका दौरान, मैले धेरै कष्ट भोगेको छु, र आफूसँग अत्यन्तै कठोर भएको छु! मैले थोरै सत्यता प्राप्त गरेको भए पनि र हृदयमा अलिक सुरक्षित महसुस गरेको भए पनि, यी सत्यताहरूले ती देहगत सुखहरूको स्थान लिन सक्दैनन्! यसबाहेक, परमेश्वरको काम कहिल्यै समाप्त हुँदैन रहेछ र परमेश्वर कहिल्यै मानिसहरूअघि देखा पर्नुहुन्न रहेछ, त्यसकारण मलाई कहिल्यै साँचो रूपमा सुरक्षित महसुस हुँदैन। भनिन्छ, सत्यता बुझ्दा र प्राप्त गर्दा शान्ति र आनन्द आउँछ, तर शान्ति र आनन्द हुनुको के फाइदा र? मसँग अझै पनि कुनै देहगत आनन्द छैन!” यी विचारहरू तिनीहरूको मनमा अनगिन्तीपटक घुमेका हुन्छन्, र तिनीहरूले ती कुराहरू अति धेरैपटक मनमनै दोहोर्याएका हुन्छन्। जब तिनीहरूले आफ्ना धारणाहरूमा दृढ रहने पर्याप्त औचित्य छ भन्ने विश्वास गर्छन् र जब तिनीहरूलाई समय आएको छ र तिनीहरू परमेश्वरको काममा नाटीकुटी गर्न पर्याप्त रूपमा योग्य छन् भन्ने लाग्छ, तब तिनीहरू माथि उद्धृत गरिएका टिप्पणी र धारणाहरू नफैलाई बस्न सक्दैनन्। तिनीहरू परमेश्वरप्रतिको आफ्नो असन्तुष्टि र परमेश्वरको कामबारे आफ्ना धारणा र गलतफहमीहरू फैलाउँछन्, र अझै धेरै मानिसहरूलाई बहकाएर परमेश्वर र उहाँको कामलाई गलत बुझ्न लगाउने प्रयास गर्छन्। अवश्य नै, गुप्त मनसाय भएका केही मानिसहरू पनि हुन्छन्, जो अझै धेरै मानिसहरूलाई परमेश्वरप्रति आफूलाई समर्पित गर्नबाट रोक्न, र तिनीहरूलाई आफ्नो हालका कर्तव्य त्याग्न र परमेश्वरलाई इन्कार्न लगाउन चाहन्छन्; यदि मण्डली फुट्ने हो भने, तिनीहरूका लागि त्यो नै सबैभन्दा राम्रो कुरा हुनेथियो। तिनीहरूको उद्देश्य के हो? “यदि म आशिष्हरू प्राप्त गर्न सक्दिनँ भने, तिमीहरूमध्ये कसैले पनि आशिष् पाउने आशा गर्नु हुँदैन। म तिमीहरू सबैका लागि सबै कुरा बिगारिदिनेछु ताकि तिमीहरू कसैले पनि सत्यता वा परमेश्वरले प्रतिज्ञा गर्नुभएका आशिष्हरू प्राप्त गर्ने आशा गर्न नसक!” आशिष्हरू प्राप्त गर्ने आफ्नो कुनै आशा नभएको देख्दा, तिनीहरू थप प्रतीक्षा गर्ने धैर्यता गुमाउँछन्। तिनीहरू आफू पनि आशिष्हरू प्राप्त गर्दैनन्, र अरूले पनि ती प्राप्त नगरून् भन्ने चाहन्छन्। त्यसकारण, जब तिनीहरू धारणाहरू फैलाउँछन्, तब एक हिसाबमा तिनीहरूले आफ्नो असन्तुष्टि पोखिरहेका हुन्छन्, परमेश्वरको कामको कुनै पनि कुरा मानव धारणा र कल्पनाहरूसँग मिल्दैन, र परमेश्वरको काम गर्ने विधिले मानिसहरूका भावनाहरूलाई ख्याल नै गर्दैन भनेर गुनासो गरिरहेका हुन्छन्। साथसाथै, तिनीहरू अझै धेरै मानिसहरूलाई बहकाएर तिनीहरूलाई परमेश्वरबारे गलत बुझ्ने र गुनासो गर्ने, परमेश्वरबारे धारणाहरू विकास गर्ने, र आस्था गुमाउने तुल्याउन चाहन्छन्। तिनीहरू आफूले जस्तै परमेश्वरबारे आफ्ना गलतफहमी र धारणाहरूका कारण अझै धेरै मानिसहरूले उहाँलाई त्यागून् भन्ने चाहन्छन्।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।